Monday, April 22, 2024

बतासे बनभोज

डाक्टर साहेबले बस भित्र प्रवेश गर्दा केही सह-यात्रीले आसन जमाईसकेका थिए । दुई दर्जन जति सिट भएको दायाँ र वायाँ दुवैतिर दुई दुई जना बस्न मिल्ने सुविधा भएको बस थियो । उनले आफूलाई पछिल्तिरको खाली सिटमा बस्ने उम्मेदवार बनाए ।

बसको अग्रभागमा आसन जमाएका एक पुरुष पात्रको आवाज पछाडि सम्म सुनियो ।

यहाँ पनि सिडिओ नै बन्न खोजेर होला त !”

समूहमा अधिकाँश पूर्व प्रशासक र कर्मचारी थिए । प्रमुख जिल्ला अधिकारीको भुमिकामा लामो समय रही सेवा निवृत भएका एक महानुभाव बसमा चढ्नुको साटो बाहिर उभिएर केही गम्न थालेछन् । यसैले खरो टिप्पणीको शिकार भैहाले ।

पिकनिक जाँदा कुर्सि बोकेर आउन पाईन्न ।

अर्का एक पूर्व सिडिओ साहेब पनि के कम ! उनले आगोमा घ्यु थपे ।    

कोटेश्वर महादेवस्थानमा हरेक दिन झिसमिसेको हिँडाई सकेर चिया-पानका लागि भेला हुने समूहले बनभोज कार्यक्रमको आयोजना गरेको थियो । सामाजिक सन्जालमा कोटेश्वर प्रात: सायँ मैत्री समूह को  नामले लोकप्रिय यो समूहका एक फरासिला र मृदुभाषी पूर्व प्रशासकले बनभोज कार्यक्रमको सँयोजकको नियुक्ति पाएका थिए । आफ्नो जागिरे जीवनमा भेटिएका एक को-अर्डिनेटरलाई उनको माताहतका एक कर्मचारीले कुईनेटर साहब भनेर सम्बोधन गर्थे भनी एक सहभागीले सुनाए । रमाईलोको भोकप्यास सँगालेर बनभोजमा काकाकुल भई हिँडेका जमातले यो उपाधीलाई नटिप्ने कुरो भएन । यसैले बनभोज कार्यक्रम भरी सँयोजकले उपाधी पाए-कुईनेटर महोदय ।

बस हिँडे लगत्तै पछिल्तिरको सिटका एक सज्जनले कसैको नाम लिएरै खोजी गरे ।

फलानो महोदय खै त !

भाउजु सँग बस्नु भा छ

अर्काको भाउजुसँग बस्नु भा कि आफ्नै सँग ?

आफ्नै सँग ।

यो सुन्नासाथ ती सज्जन बसको पश्चभाग तिर सरे । उनको स्थानमा अर्काकै भाउजुले आसन जमाईन ।  

कुईनेटर महोदयले धुलिखेल र पनौतीको बीचको वतासे डाँडामा अवस्थित बनभोज स्थलका सन्चालकलाई फोन गरेर भनेका रहेछन-

तेईस जनाको टोली छ । ६ जोडी र ११ बुङ्गा ।

धेरै मान्छे जम्मा हुने सभा-समारोह वा रसरङ्का कार्यक्रमहरुमा नौजवान र भूतपूर्व नौजवानहरु दुवै जान चाहन्छन् रे । तर दुवै समूहका फरक फरक उदेश्य हुन्छन् रे । पहिलो समूहको उदेश्य नयाँ साथी फेला पार्ने र सम्बन्ध गाँस्ने हुन्छ रे तर दोस्रोको आफ्ना अनुभव सुनाउने ।

यस्तै भयो । बनभोज टोलीका सदस्यहरु आ-आफ्ना अनुभवका पोका पन्तेरा खोल्न थाले । यसको श्रीगणेश गरे एक योग गुरुले । उनी एक पोको अँङ्गुर लिएर बोनेटको सिटमा गए । अनि उद्घोष गरे- विहान दश वटा वेलुका दश वटा अँङ्गुर खाने व्यक्ति निरोगी हुन्छ । भन्नलाई दश भने पनि उनी सबैलाई पाँच-पाँचवटा अङ्गुरका दाना बाँड्दै बसको पछाडि सर्न थाले । डाक्टर साहेबका छिमेकीले अङ्गुर लिँदै आफ्नो माग राखे-

यो त विहानको लागि भयो बेलुकाको भाग खै त ?

सूर्यविनायकको आसपासमा देब्रेतिर देखिएको शुभकामना पार्टी प्यालेसमा जम्मा भएको भीडले सबैको ध्यानाकर्षण गर्‍यो । हातमा झण्डा पनि बोकेका भीडपात्रहरुको उपस्थिति देखेर कसैले टिप्पणी गरिहाल्यो ।

भर्खरै मन्चन भएको सुन्दरीकाण्डका नायक पूर्व मन्त्रीको विवाह गराईदिन लागे होला । आखिर जिम्मा त लाउनै पर्‍यो । विवाह गराईदिए पछि त पार्टीका सुप्रिम कमान्डरहरुलाई पनि हाईसन्चो हुने भयो ।

सबैले हो मा हो मिलाए । प्रस्तावित तर्कमा दम भएको अनुमान सबैको थियो ।  

बनभोज टोलीमा ससुराली खलक, ज्वाईँ, सालो, भिनाजु, अङ्कलजी, जिबा, मौसुफ सरकार आदिको उपस्थिति थियो । अँकलजी र अर्का एक सज्जनले डाक्टर साहेबले आईएस्सी गरेकै कलेजमा स्नातक तहको अध्ययन पूरा गरेकोले यी तिन जवानका विचको त्रिशँकु झनै घनिष्ट हुने नै भयो । ति सज्जनले डाक्टर साहेबलाई डाक्टरभनि सम्बोधन गर्थे । डाक्टरले भने उनलाई दाई। एक जनाले साईनो लगाए पछि अरुले पनि त्यही भेडा बुद्धि को मियो  समाउने नै भए ।

कुनै प्रसँग चल्दै थियो । भिनाजुले अलि घुमाउरो पाराले आफ्नो अभिव्यक्ति रङ्गमन्चमा खन्याए । पछाडिवाट दाईले अर्को खरो टिप्पणी गरे-

भिनाजुले चोकेमा हालेकै छ ।

भक्तपुरको होटेल भ्यु भृकुटीको आडैमा रहेको पेट्रोल पम्पमा बस तेल भर्न रोकियो । शौचालय प्रयोग गर्ने क्रममा डाक्टरले मौका छोपेर एक चुटकिला सुनाईहाले ।

एउटा जिल्लामा खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने कार्यक्रम रहेछ । प्रमुख अतिथी परेछन काङ्ग्रेसका एक वरिष्ठ नेता । उनी कार्यक्रमस्थलमा रहेको शौचालयमा गएछन् । त्यहाँ मेलफिमेल लेखिएको थियो । उनले पढेछन- माले र फेमाले । आयोजक प्रति आक्रोश व्यक्त गर्दै उनले भनेछन्-

प्रमुख अतिथी बनाउने काङ्ग्रेसको नेतालाई अनि शौचालयमा चै मालेफेमाले लेख्ने ?  

यो सुने लगत्तै टोलीका वरिष्ट सदस्य सप्तरीका पूर्व प्रमुख जिल्ला अधिकारीले आफ्नो रोचक अनुभव सुनाए ।

छिन्नमस्ता गाँउपालिकाका अध्यक्षले आफ्नो घरमा कसै गर्दा पनि शौचालय बनाएनन् । त्यही निहुमा उनलाई ल्याएर दुई दिन थुनियो । त्यो कारबाहीले उनको ज्याद्रोपन केही मात्रामा त सेलायो । तर पनि शौचालय निर्माणमा लगानी गरेनन र सबैको हारगुहारले उनको घरमा शौचालय बनेरै छोड्यो ।

डाक्टरलाई बनभोजमा परिचयात्मक कार्यक्रमको सन्चालन गर्न मौसुफ सरकारको आदेश थियो । यसैले उनी घरिघरि टोलीको कुरा सुन्थे । गफले चरम विन्दु छोएर ओरालो लागेपछि ऊनी मनमनै कार्यक्रमको खाका कोर्न तल्लिन हुन्थे । एघार जोडी बनाएर हरेक जोडीलाई पालै पालो परिचय गर्न लगाउने योजना उनको थियो । समस्याको परिधीमा जोडी कसरी बनाउने भन्ने प्रश्न थियो । केन्द्र भाग अझ पेचिलो थियो-छ जना देवीजीहरुलाई को सँग जोडी बनाउने ? एकातिर, उनीहरुकै श्रीमान् हरु सँग बनाउँदा खेलमा रौनक नथपिने भय थियो । अर्कातिर, अरुका श्रीमानसँग जोडी बनाए अर्थको अनर्थ लाग्ने जोखिम ।

डाक्टरको मष्तिस्कमा चट्याङ् परे झैँ झड्का लाग्यो । उनलाई गजबको र सर्वमान्य हुन सक्ने उपाय सुझ्यो।

कुम जोडेर सिटमा सँगै बसेका दुई व्यक्तिलाई जोडी बनाउने । यसो गर्दा महिला सहभागीको पनि हल निस्कियो किनभने उनीहरु जोडी बाँधेरै बसेका थिए।

नभन्दै यो उपायले काम गर्‍यो। डाक्टरले जोडी बाँधिएका दुई मध्ये एकले अर्काको परिचय दिनु पर्ने नियम बनाए । परिचयको काम सकिए पछि उत्कृष्टको चयन मतदान मार्फत गरियो । जिबाले कवितात्मक शैलीमा आफ्ना दौँतरीको परिचय दिए । उनले अत्यधिक मत ल्याए, पुरस्कार पनि पाए ।

बनभोजका अर्का रसिला सहभागी थिए-जेपी मोरग्यान । उनका नामका अघिल्ला अक्षर पनि जे र पी भएकाले मैत्री समूहमा उनले यो अमेरिकी नाम पाएका थिए ।

तारेको कुखुराको मासु मजा लिँदै जेपीले आफू बाजुरामा हाकिम भएर जाँदाको रोचक अनुभव सुनाए ।

जेपीका भान्से त्यहाँकै स्थानीय रहेछन् । भान्से सँग भएका कतिपय संवाद जेपीलाई कण्ठै रहेछन् । एक पटक उसले भेडाको मासु किनेर ल्याएछ । मासु यति चाम्रो रहेछ कि चबाउनै मुश्किल । जेपीले भान्सेलाई केरकार गरेछन् ।  

मासु किन चाम्रो छ ?”

२३ सिटी लगाया हुम साब ।

भान्सेले कुकरमा लागेको सिटीको फेरिहस्त नै दिएछ । 

जिउँदो कुखुरा किनेर ल्याउँदा एक केजी, डेढ केजी वा दुई केजी जत्रो भएनी दाम भने रु १५० नै पर्दो रहेछ । एक पटक भान्सेले एउटै कुखुराको मासुले धेरै छाक सम्म काम चलाएछ । विस्तारै मासुको मात्रा कम हुँदै आलुको मात्रा अधिक हुन थालेछ । जेपीले केरकार गरेछन् ।

यो मासु हो कि आलु हो ?”

मासु कम भया हो आलु मिसाया हुम ।

थरी थरीका गफ । थरी थरीका प्रसँग । पेशागत जीवनका आरोह अवरोहहरुका कथा । देखिएका, सुनिएका भोगिएका अनगिन्ती सम्झना । सबै विन्दास । सबै हलुका स्नायूमा ।

बनभोजको सामाग्री र खानपानको व्यवस्थापन वतासे डाँडामा होटल र फार्म खोलेर एकिकृत सेवा दिँदै आएका स्थानीय श्रोत व्यक्तिले गरेका थिए । उनले बाजा पनि तयार गरे । गाना सुरु हुना साथ बनभोज टोलेहरु जर्‍याक जुरुक उठे । हातले फन्का मारेर कम्मर मर्काउँदै भूतपूर्व नौजवानहरुले रँगमन्चमा प्रवेश गरे ।    

माली गाईलाई बाटेको दाम्ला
मेरो माया छोडेर काँ जाम्ला !

परिचयात्मक कार्यक्रममा कविता लेखेर पुरस्कार जितेका जिबाले सिँहदरबार नजिकको माईतिघरमा घर टहरा भएका वेलाको रोचक प्रसँग सुनाए ।   

त्यसवेला साईकलवाट आवत जावत गर्नेहरुको संख्या उलेख्य थियो । एक व्यक्तिले कुनै पसल अघि साईकल राखेर कतै गएका रहेछन् । उनी फर्किँदा त साईकल गायब ।  

उनी ठूलो स्वरले कराउन थालेछन् । वरीपरिका मान्छे भेला भए ।  

मेरो साईकल भेटिएन भने ३६ साल दोहोर्‍याईदिन्छु ।

चोरले साईकल फिर्ता गर्ने कुरो भएन । कसले लग्यो भन्ने कसलाई के थाहा ?  तर साईकल धनी झन जोडले कराउन थालेछन् ।  

मेरो साईकल भेटिएन भने ३६ साल दोहोर्‍याईदिन्छु ।

साईकल हराउने पात्रले पटक पटक त्यही वाक्य दोहोर्‍याएकोले एकजना हुलपात्रले यथास्थिति चिरेछन ।

आखिर ३६ सालमा भएको चैँ के थियो ?”

त्यसवेला पनि मेरो साईकल हराएको थियो । म पैदल घर गएको थिएँ ।

वनभोज कार्यक्रमका अर्का नक्षत्र थिए-अँकलजी । उनले बेलुन नृत्य खेलाए । दुई समूह बनाएर प्रश्नोत्तर गर्ने रोचक खेल खेलाए । जादुको किताव हातमा लिएर जादु नै देखाए ।  

अँकलजीको साथमा आन्टीजी पनि थिईन । आन्टीजी भने दार्जिलिङ्की चेली रहीछन् । उनीहरुको विवाह २०३७ सालमा भएको रहेछ । धरानबाट जन्ती जानु पर्ने दार्जिलिङ । मेची नदीमा पुल नभएको अवस्था । नेपाल र भारतमा छुट्टा छुट्टै गाडीको व्यवस्था गर्नु पर्ने । जन्ती बेहुली घर पुग्दा अबेर भएछ । घर गाउँलेले कुरा काटेछन्-बेहुलाले धोका दियो ।  

तर जब जन्ती बिहेघरमा पुग्यो । घर गाउँलेको बीचमा अर्को गाँईगुईँले प्रवेश पाएछ ।

बेहुला त दुई जना पो आएछन् । 

बेहुला भएका अँकलजी र अर्को एकजनाले दुबोको माला लगाएका रहेछन् । पहिरन पनि लगभग उस्तै । यसैले त्यो अन्यौल सिर्जना भएको रहेछ ।

साला-भिनाका प्रसँग पनि चुलीमै पुगको अनुभूति सहभागीलाई त्यसवेला भयो जब भिनाजुले पत्यार नलाग्ने घोषणा गरे ।  

म भन्दा मेरो सालो १० बर्ष जेठो छ । बुढी दिदी तन्नेरी भेनालाई भिडाउने षडयन्त्र गर्ने दस्ताको अगुवाई गर्ने मेरै सालो हो।

यसैलाई भर्‍याङ लगाएर दाईले भने सालो महिमाको अर्को गाथा गाए ।

सबैका साला काला हुँदैनन् ।

नाचगान पछि बिङगो खेल्ने कार्यक्रम भयो । डाक्टरले विङ्गो मास्टरको भूंमिका निर्वाह गरे । जीवनमा पहिलो पल्ट यो खेलको आनन्द लिने पनि सहभागी केही देखिए । बनभोजको दिवा भोजन भने अपरान्ह भोजन भयो ।  

प्रशासन र लेखाका तौरतरिका थाहा नहुँदा कसरी बलिको बोको बनाउँछन भन्ने कुराको प्रसँग एक पूर्व प्रशासकले कोट्याए ।  एक जना ओभरसियर विहे पश्चात पहिलो पटक ससुराली गएछ ।  ससुरालीको मेजमानको आनन्द लिएर कार्यालयमा उपस्थित भएपछि उसका केही कर्मचारी साथीले सल्लाहा दिएछन् ।  

पहिलो पटक ससुराली गएको त भ्रमण भत्ता पाईन्छ नि !   

नभन्दै उनीहरुकै उक्साहाटमा ति ओभरसियरले भ्रमणभत्ताको कागजात भरेर सहीछाप गरेछन् । त्यसपछि उनी त्यो कागजात लिएर स्वीकृतिका लागि स्थानीय विकास अधिकारीकहाँ गएछन् ।

बतासे डाडाँको बनभोज साँझ ७ बजे कोटेश्वर महादेवस्थानमा गएर टुङ्गियो । डाक्टरले घर पुगेर आफ्नो डायरीमा बनभोजको स्मरण लेखे ।

यस्तो चमत्कारिक बनभोजमा सहभागी हुने अवसर सबैको भाग्यमा कहाँ लेखेको हुन्छ र ?”

 

कोटेश्वर, काठमान्डौ  

वैशाख १०, २०८१

Saturday, July 29, 2023

ह्याप्पी ग्रिन डे

साउन ११ गते, सोमबार अर्थात साउने सोमबार । अघिल्लै दिन महादेवीको उर्दी जारी थियो, परिवारका सबै सदस्यले ब्रत लिने अर्थात नियमितरूपले सेवन गरिने परिकारमा बन्देज । शाकाहारी भोजन । बिहान शिवजीको पूजाआजा आदि ।

ब्रत भए नि नभए नि नियमित काममा बन्देज हुने कुरो भएन । आजभोलि म ‘पठाओ’ नामक सेवा प्रदायकका ट्याक्सी प्रयोग गर्छु । रङ्गीबिरङ्गी सवारी चालकहरूसँग भेट हुन्छ । कुनैले नक्साको कुरा बुझ्दैन । कुनैलाई कुन ठाउँ कता पर्छ भन्ने थाहा हुँदैन ।

धेरैलाई चार दिशा छुट्याउने भेउ छैन । कोही ग्राहकको सिग्नल अठ्याएर फोन नगरी बस्छन् । कोही फोन गर्छन् र सोध्छन्–

कहाँ हुनुहुन्छ ?’

यो प्रश्नले म झस्कन्छु । निचोड निकाल्छु, सवारी चालक व्यावसायिक परेन । अनि सिधा जवाफ दिन्छु ।

ठ्याक्कै लोकेसनमा छु ।’

ऊ के कम ! मेरो आशय नबुझी फेरि भन्छ, ‘लोकेशन कहाँ हो र ?’

अब मेरो कन्सिरी तातेर आउँछ । भैरव अर्यालले ‘टाउको’ शीर्षकको निबन्धमा लेखेझैँ ‘तृतीय पुरुष’ सम्बोधन गरेर आक्रोश व्यक्त गर्न मन लाग्छ ।

लोकेसन तेरा टाउकामा छ ।’

भित्र जे भए नि बाहिर संयमित हुन्छु । चालकको सवारीसाधन भएको स्थान नक्सामा हेर्छु र म भएको ठाउँमा आउने उपाय बताउँछु ।

आज पनि प्रायः हुने गरेकै दृष्टान्त दोहोरियो । नेपाल थरका एक जना चालकले मेरो सङ्केत अठ्याए तर फोन उनैले गरे ।

हजुर कहाँ हुनुहुन्छ ?’

म लोकेसनमा छु ।’

हुन्छ म जीपीयस चलाएर आउँछु ।’

मैले राहत महसुस गरेँ । नभन्दै उनी आइपुगे । घर सिन्धुली रहेछ । स्नातक तहको पढाइसकेका रहेछन् । कोरिया जाने धुनमा रहेछन् ।

म प्रायः चालकहरूसँग कुराकानी गर्छु । यो अन्यत्र नपाइने र सम्भवत नेपालमा मात्रै पाइने रमाइलो हो । म चालकको घरको भूगोलबाट वार्ता आरम्भ गर्छु । अधिकांशको घर काठमाडौँ बाहिर हुन्छ । जीपीयस जडित ट्याक्सीले कसरी उत्कृष्ट सेवा दिनसक्छ भन्ने कुरा मैले जानेको जति बताइदिन्छु ।

अघिल्लो दिन मलेशियाबाट ठूलो सङ्ख्यामा कामदारका लास नेपाल आएको खबर छापिएको थियो । मैले त्यही खबरलाई अधार मानेर उनलाई नेपालमै इलम गर्ने सल्लाह दिएँ । उनले ध्यान दिएर सुने ।

मेरो गन्तव्य थियो जावलाखेलको बरिस्ता कफी लाभाजा । स्ट्यान्डर्ड चार्टर्ड बैँक भएको भवनको पहिलो तलामा छ यो कफी पसल ।

म केही काम गर्नुपर्‍यो भने मुड बनाउन कफी पसल चाहार्छु । कफी मगायो, ल्यापटप खोल्यो र शुरू गर्‍यो आफ्नो काम । कति सहज पारेको छ प्रविधिले !

पसल, बैंक र कार्यालयहरू भर्खर खुल्दै थिए । म सरासर माथि उक्लिएँ । कफी पसलको अग्रभागमा बाटो छेकेर उभिएका दुई युवती भेटिए । उनीहरू दोस्रो तलामा रहेको क्लिनिकले राखेको जानकारीपाटी हेर्दै केही गफमा मस्त थिए । मेरो सम्बोधनले झस्किए ।

एक्सक्युज मी । अलिकता बाटो छोडिदिनुहुन्छ कि ?’

मैले बाटो पाएँ । उनीहरूसँग केही संवाद गर्ने बुद्धि पलाएको आभास भयो । आखिर म ‘प्रत्युत्पन्नमति’ की वाग्देवीको भक्त न परेँ ! म रोकिएँ, १८० डिग्रीको फन्को मारेँ र दुईमध्ये मेरा लागि अधिक बाटो छोडिदिने देवीजीसँग आँखा जुधाउँदै भने,

रङ्गमन्च नै बिथोल्नु प¥यो । क्षमा गर्नु होला ।’

उनीहरूले मुखामुख गरे । मैले स्पष्ट पारेँ ।

स्टेजको बीचबाट हिँड्नुपर्‍यो भनेको क्या !’

के फरक पर्‍यो र आखिर बाटो त सबैको हो !’

मुस्कान मिश्रित आवाज आयो । मेरो प्रत्युत्पन्नमतिको तीरले पूर्णता हासिल गरेको थियो । म तृप्त भएँ ।

दुर्भाग्य ! कफी पसल बन्द रहेछ । अघि आएकै बाटो ओर्लिएँ । अर्को पसलतिर लागेँ । जावलाखेलबाट कुमारीपाटीतिर जाँदा ‘डल्ले मोमोको पसल’ पुग्नुअघिको भवनको चौथो तलामा मेरो रोजाइको अर्को कफी पसल छ । त्यसैलाई गन्तव्य बनाएँ, त्यो पनि बन्द !

त्यसपछि नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (जनजिब्रोमा स्टाफ कलेज) को विपरीत दिशामा रहेको हिमालयन हाइल्यान्ड कफी पसल पुगेँ । यो पसलका सञ्चालकसँग म परिचित छु । उनीहरूले बत्तिसपुतली र वानेश्वरमा पनि शाखा चलाएका छन् । अर्को दुर्भाग्य ! त्यो पनि बन्द रहेछ ।

त्यसपछि म पुगेँ लबिम मलको भुइँतलामा रहेको हिमालयन जाभा कफी । यो खुलै थियो । शायद मै पहिलो ग्राहक थिएँ । अमेरिकानो मगाएँ । लामखुट्टेको टोकाइका बाबजुद कफी पिउने र स्लाइडको तयारी गर्ने दुवै काम सम्पन्न भए ।

म पुल्चोकस्थित कार्यालयमा मध्याह्न १२ बजेतिर पुगेँ । अपराह्न साढे दुई बजे एशियाली विकास बैँककी परियोजना अधिकृतसँग जुम बैठक तय थियो । कोरोना कहरका कारण उनी लन्डनमै बसेर काम गर्दैछिन् । हाम्रा सबै काम भर्चुअल दुनियाँमा सम्पन्न हुन्छन् । म कहिलेकाहीँ ‘देवी प्रसङ्ग’ सिर्जना गरेर साथीभाइसँग ठट्टा गर्छु ।

म आजभोलि दुई देवीको निर्देशन पालना गर्छु । एक महादेवी र अर्की कामको रिमोट हातमा लिएर लन्डनमा बस्ने देवी ।’

छलफलको लागि गृहकार्य एक बजेतिरै सकियो । मसँग अब साढे एक घण्टा समय थियो । म जिउ तन्काउन कार्यकक्षबाट बाहिर निस्किएँ । वित्तीय व्यवस्थापकसँग भेट भयो ।

साउने सोमबारको शुभकामना ।’

हजुरलाई पनि शुभकामना । सरलाई म पनि सम्झिरहेकी थिएँ । एउटा चेक दिनु थियो ।’

कतिपय कार्यालयमा लेखा शाखा र प्रशासन शाखाका कर्मचारी भेट भए म ठट्यौली पारामा भन्छु–

मलाई लेखा शाखामा जाऊँ जाऊँ लाग्छ, त्यसले बोलाइरहोस् जस्तो लाग्छ तर प्रशासनपट्टि भने आँखा लाउन पनि मन लाग्दैन ।’

यसरी रमाइलो उम्रिन्छ । कार्यसम्पादनसँग जोडिएका यस्ता ठट्यौली र विनोदप्रिय कुराकानी नै कार्यालयहरूमा लम्पसार परेर मडारिइरहने मलामी–गाम्भीर्य चिर्ने अस्त्रहरू हुन् ।

चेक लिएर आफैँ बैँक जाने निधो गरेँ । पुल्चोकको मेरो कार्यालयका वरिपरि धेरैवटा वाणिज्य बैँकका शाखाहरू छन् । तोकिएको बैँकको चेक सटही काउन्टरमा पुग्दा खासै भिड थिएन । सुरक्षाकर्मीले मलाई एकछिन पर्खन आदेश दिइन् । अधिकांश काउन्टर बन्द थिए । केही मिनटको पर्खाइपछि काउन्टरमा एक महिला कर्मचारी उदाइन् । मैले अघि बढ्ने आदेश पाएँ ।

उनी चेकलाई नगदमा रूपान्तरण गर्ने काममा लागिन्, म उनलाई नियाल्न लागेँ । निधारमा रातो टीका थियो, नाडीमा हरिया चुरा, हरियै सलवारकुर्ता लगाएकी थिइन् । साउने सोमबारको फल प्राप्त गर्ने कित्तामा यी चेली पनि रहिछन् !

 

दुई वटा हस्ताक्षर गरी मोबाइल नम्बर पनि लेखेर मैले चेक बुझाएँ ।

उनी चेकलाई नगदमा रूपान्तरण गर्ने काममा लागिन्, म उनलाई नियाल्न लागेँ । निधारमा रातो टीका थियो, नाडीमा हरिया चुरा थिए । हरियै रङको सलवारकुर्ता लगाएकी थिइन् । साउने सोमबारको फल प्राप्त गर्ने कित्तामा यी चेली पनि रहिछन् ! उनले मतिर हेरिन् र औपचारिक प्रश्न सोधिन् ।

यो रकम तपाईंको तलब हो ?’

होइन ।’

उसो भए के को आम्दानी हो त ?’

बैंकिङ कारोबारको बारेमा मेरो ज्ञानभण्डार सानो छ । सेयर कारोबार गर्न पनि खासै रुचि छैन । सानोतिनो रकमको पनि केरकार गर्नुको अर्थ देख्दिनँ । विदेशी मुद्रा सटही गर्दा पनि यो झन्झट मैले व्यहोरेको छु । अमेरिकी डलरका हरेक नोटहरूको नम्बर कागतमा लेख्न लगाउँछन् । सानोतिनो नगद सटहीका लागि पनि घण्टौँ लाग्छ । विदेशमा, खास गरी विमानस्थलहरूमा, चुट्कीभरमा यी काम हुन्छन् ।

मेरो संस्था सेवाप्रदायक हो । मैले परामर्श सेवा दिए वापतको रकम हो ।’

उनले प्रतिप्रश्न गरिनन् । मैले रकम समातेँ अनि उनीतिर हेर्दै भनेँ, ‘थ्याङ्क यू, ह्याप्पी ग्रीन डे !’

उनले नबुझेको जस्तो गरेर हेरिन् ।

तपाईंले पनि साउने सोमबार मानेको जस्तो लागेर शुभकामना दिएको ।’

उनी मजैले हाँसिन् । मास्क लगाएकाले अनुहारको पूरै भाव पढ्न सकिनँ ।

थ्याङ्क यु सो मच ।’

उनी मेरो शुभकामनामा सहज प्रस्तुत भइन् । यसरी साउने सोमबारको साधना दोस्रो पटक प्रखरित भयो । म कार्यालय फर्किएँ । लन्डनकी देवीजीसँगको छलफल परिणाममुखी भयो ।

बिहान शिवजीको पूजा गर्दा मैले रातो अक्षताको टीको लगाएको थिएँ । विदेशीहरूलाई चासो पर्ला भनेर मैले देवीजीलाई जुमको भिडियो खोल्नासाथ भनेँ ‘आजको सोमबार नेपालमा पर्वको रूपमा मनाइन्छ । यसैले मैले निधारमा रातो टीका लगाएको छु ।’

भर्चुअल प्लेटफर्ममा आजभोलि छलफल गर्दा भिडियो खोलेर बोल्न मिल्ने सुविधा छ । कतिपयले यो सुविधाको सही उपयोग गरेका छन्, कतिपयले जानेका छैनन् ।

केही दिनअघि एक विशिष्ट व्यक्ति मदिराले लट्ठ भएको अवस्थामा जोडिएका थिए । कतिपयले पृष्ठभूमिका अनावश्यक दृष्यहरू देखाउँछन् । कोही पहिरनको बेवास्ता गर्छन् । कोही चियाखाजा खाइरहेको भिडिओ देखाउँछन् ।

अपराह्न पनि म थप दुई वटा जुम बैठकमा सहभागी भएँ । पहिलो थियो डा. रुजु शर्माले संयोजन गरेको छलफल । उनले भिडियो खोलिन्, हरियो वस्त्र लगाएकी थिइन् तर निधारमा टीको भने देखिनँ । मैले शुभकामना दिँदै भनेँ, ‘हरियो दिनको शुभकामना । अनि खै त टीका ?’

उनले प्रसन्नतापूर्वक जवाफ दिइन् ।

सानो लगाएकी थिएँ, मेटिइसकेछ ।’

दोस्रो थियो रोटरी नारी समूहले आयोजना गरेको ‘एजलेस ट्यालेन्ट’ अर्थात ‘उमेरविहीन प्रतिभा’ विषय केन्द्रित छलफल ।

मेरा दौँतरी स्वर्गीय सूर्यमान शाक्यले मलाई सन् २०१० मा रोटरी क्लबको सदस्य बन्न सिफारिस गरेका थिए । यो क्लबको सदस्य भएर मैले स्वदेशी र विदेशी गरी धेरैवटा क्लबहरूका बैठकहरूमा सहभागी मौका पाएको छु । अहिले नेपाल लगायत संसारभरि नै असल नेतृत्वको खाँचो छ । रोटरी अभियानले त्यो खाँचो केही हदसम्म सम्बोधन गर्न सक्छ भन्ने मलाई लाग्छ ।

सोमबारको त्यो कार्यक्रममा नेपाल र भारतका विभिन्न रोटरी क्लबहरूमा विशिष्ट पदाधिकारी नारीहरूको उपस्थिति थियो । पूर्व गभर्नर जया शाह र यो वर्षका गभर्नर सन्तोष रिजालको उपस्थिति थियो ।

केही बेर सुनेपछि मैले हात उठाएँ ।

यसरी कुनै समारोहमा वा सामूहिक भेलामा आफूलाई प्रदर्शन गरी एकै झ्वाँकमा भुइँमान्छेबाट नायक बन्न सक्ने अद्वितीय गुणले भरिभराउ थिए मेरा मित्र सूर्यमान । उनले मलाई धेरै गुन लगाएका छन् । मैले उनैलाई सम्झिँदै यो कार्यक्रममा पनि ‘नेतृत्व कौशल’ को त्यो कडी प्रदर्शन गर्ने सुर झिकेँ ।

कार्यक्रम सञ्चालिकाले मलाई अवसर दिइन् ।

मैले भनेँ, ‘मैले अहिले भर्खरै गुगलदेवीको सहयोगले के थाहा पाएँ भने रोटरी क्लबको ११५ वर्षको इतिहासमा एक नौलो काम हुन लागेको छ । पहिलो पटक एक नारी आरआई प्रेसिडेन्ट अर्थात रोटरी क्लबकी अन्तराष्ट्रिय अध्यक्ष हुन लागेकी छन् । ती भाग्यमानी नारी हुन् क्यानाडाकी जेनिफर जोन्स । म यो सभामा के निवेदन गर्न चाहन्छु भने तपाईंहरूसँग पनि त्यो ताकत छ । नारी नेतृत्वका गहिरा खाडलहरू पुरिन बाँकी छन् । नेपालले पहिलो महिला प्रधानमन्त्री पाएको छैन । भारतले दोस्रो महिला प्रधानमन्त्री पाएको छैन । नेपाल रोटरीको पहिलो महिला गभर्नर आदरणीय जया शाह यहाँ उपस्थित हुनुहुन्छ । दोस्रो महिला गभर्नर हुने अवसर तपाईंहरूसँग छ । यहाँ उपस्थित हुनुभएका सम्पूर्ण नारी प्रतिनिधिलाई नायकत्वको सगरमाथा आरोहण गर्नका लागि हृदयदेखि नै शुभकामना दिन्छु ।’

मेरो सम्बोधनमा ताली बजेका केही सङ्केतहरू देखिए । पछि मेरो प्रशंसामा डा. दिनेशराज मानन्धरको फोन आयो ।

मलाई लाग्यो, हरियो दिनको सबैभन्दा सशक्त शुभकामना त्यही थियो ।

दिउँसो साटेको चेकको रकम खाममा राखेर दिइएको थियो । त्यो खाम मैले सटको खल्तीमा ठाडो पारेर राखे । यो तरिका पनि मलाई सूर्यमानले नै सिकाएका थिए । घरमा पुगेपछि खामले महादेवीको ध्यानाकर्षण गर्‍यो । उनको मुहारमा प्रसन्नताका लहर देखिए । उनले मैले प्रसार गरेको मौन भाकाको सन्देश सहजै बुझिन् ।

मनमनमा भनेँ, ‘ह्याप्पी ग्रीन डे कैलाशपति ! आजको मेरो दिन सफल भयो ।’

खबरहब अनलाईनमा प्रकाशित  

https://khabarhub.com/2021/31/293451/