Sunday, November 22, 2009

जापानबाट सिक्नु पर्ने दुई विषय : सकारात्मक सोच र मूल्य थप

काठमाडौँ विश्वविद्यालयको चारवर्षे स्नातक तहका अन्तिम वर्षका विद्यार्थीहरूलाई पढाउँदै गर्दा एक दिन मैले एक विद्यार्थीले पटकपटक हाई काढेको देखेर एकछिन कक्षाको ध्यान अन्यत्रै मोड्ने विचार गरेँ । "यदि कक्षा चलिरहेको बेला कुनै विद्यार्थी निदाएको शिक्षकले चाल पाए भने उनले के सोच्न सक्लान्" भनेर सम्भावित कारणहरू उल्लेख गर्न मैले मेरा विद्यार्थीहरूलाई उत्साहित गरेँ । उनीहरूले मेरो प्रश्नको उत्तरमा "त्यो विद्यार्थीलाई अल्छी लागेको, पढाइको विषय चाखलाग्दो नभएको, विद्यार्थीले पहिल्यै विषयवस्तु जानिसकेको वा कक्षा सकिएपछि गरिने कुनै पढाइइतर कार्यमा ध्यान गएको हुन सक्ने" आदि कारणहरू प्रस्तुत गरे ।

मैले उनीहरूको चिन्तनको धारविपरीत शिक्षकले सोच्न सक्ने कुनै सकारात्मक पक्षबारे विचार गर्न भनेँ । विद्यार्थीहरूले भन्न सकेनन् । मैले जापानमा सुनेको यस विषयको सम्भावित सकारात्मक पाटाका पाना पल्टाउँदै भनेँ— ‘शिक्षकले यो कक्षामा निदाउने विद्यार्थीले रातभरि नसुती पढेको हुनुपर्छ । बिचरा अनिदो भए पनि मेरो कक्षा नछोड्ने विचारले आएको छ भनेर पनि त सोच्न सकिन्छ नि । कक्षामा विशेष रूपको मौन छायो । त्यसको अर्थ थियो मेरो तर्क कक्षाका सम्पूर्ण सहभागी विद्यार्थीहरूलाई गहिरो सोचमा डुबाउन सक्षम भयो ।

यस्तै नै अर्को एउटा घटना थियो । केही समयअघि मैले स्किम कलेज, वानेश्वरका स्नातकोत्तर तहमा अध्ययन गर्ने विद्यार्थीहरूका लागि जाइकामार्पmत नेपालमा अनुसन्धानको कार्यमा संलग्न एक जना जापानी प्राध्यापकको विशेष प्रवचनको कार्यक्रम राखेको थिएँ । उनले नुवाकोटका केही स्थानहरूमा भूक्षय केके कारणले कति परिणाममा हुन्छ भन्नेबारेमा केही वर्ष खर्चेर अनुसन्धान गरेका थिए । त्यस दिन म अरूअरू दिनभन्दा बढी सतर्क थिएँ । शौचालयदेखि कार्यकक्षसम्म अस्तव्यस्तता व्यहोर्ने बानी भएको नेपाली परिवेशमा सानोभन्दा सानो कुरा पनि व्यवस्थित गर्नु अति जरुरी छ भन्ने मान्यता र संस्कारमा हुर्किएका जापानी अतिथिको सत्कार गर्नु मेरा लागि चानचुने काम थिएन । मैले सकेसम्म परिवेशलाई व्यवस्थित गर्ने प्रयत्न गरेँ ।

जापानी प्राध्यापकको प्रवचन उपयोगी थियो । मैले पनि केही नयाँ कुरा सिकेँ । अतिथि प्राध्यापकलाई बिदा गरिसकेपछि तिनै विद्यार्थीहरूको कक्षामा मैले पढाउनु थियो । मैले विद्यार्थीहरूलाई अतिथि प्राध्यापकको प्रस्तुति कस्तो लाग्यो भन्ने प्रश्न गरेँ । प्रश्नको जवाफमा विद्यार्थीहरूले एक स्वरमा भने— ‘हामीलाई खासै काम लाग्ने प्रस्तुति थिएन, खास गरेर भन्न खोजेको कुरा बुझिएन । अंग्रेजीको स्तर पनि अति कमसल पाइयो । बरु कति बेला प्रवचन सकिएला र बाहिर जान पाइएला भन्ने चिन्ताले पो सतायो ।

उनीहरूको त्यस्तो अनपेक्षित उत्तर सुनेर म चकित भएँ । मलाई मेरो त्यत्रो मेहनत बालुवामा खन्याएको पानीसरह खेर गएकै हो त भन्ने चिन्ताले सताउन थाल्यो । तर मैले अलिकति पनि विचलित नभई उनीहरूलाई एउटा त्यस्तै समान प्रकारको परिस्थितिको बारेमा आफ्नो राय राख्न भनेँ ।

परिस्थिति यस प्रकारको थियो

मेरा विद्यार्थीमध्ये कोही वा म नै जापानी प्राध्यापकजस्तै अनुसन्धानको सिलसिलामा जापानमा छौँ । त्यहाँका कुनै एक जापानी प्राध्यापकको निमन्त्रणामा हामी कुनै विश्वविद्यालयको कक्षामा पुग्छौँ र जापानी विद्यार्थीहरूलाई आफ्नो अनुसन्धानको बारेमा प्रवचन दिन्छौँ । प्रवचन दिने मान्छे बिदा भएपछि मैले मेरा विद्यार्थीलाई भर्खरै सोधेजस्तै जापानी प्राध्यापक आफ्ना विद्यार्थीलाई सोध्छन्"कस्तो लाग्यो तिमीहरूलाई यी नेपाली अनुसन्धानकर्ताको प्रस्तुति ?"

यसै ठाउँमा मैले विद्यार्थीहरूका सम्मुख एउटा प्रश्न राखेँ । प्रश्न थियो"अब जापानी विद्यार्थीहरूले कस्तो उत्तर देलान्" मैले अत्यन्त उत्सुकताका साथ आफ्ना विद्यार्थीहरूको उत्तर जान्न खोजेको प्रश्न यही थियो ।

मेरा विद्यार्थीहरूले कत्ति पनि विचार नगरी सहज तवरमा भने"उनीहरूले पनि हामीले भनेझै प्रस्तुतिमा कुनै दम नभएको, खास केही नबुझिएको, अंग्रेजी अति नै चाँडो बोलेको जस्ता उत्तर नै देलान् "

विद्यार्थीहरूको यस्तो उत्तर सुनेपछि मेरो चिन्ताको विषय हराइसकेको थियो । कारण, उनीहरूको त्यस्तो उत्तर सुनेपछि यो नकारात्मक सोचको नतिजा मात्र हो भन्ने निक्र्यौलमा म पुगिसकेको थिएँ । अन्तरमनमा आज म यी विद्यार्थीहरूलाई केही दिएर नै छोड्छु भन्ने अठोट गरेर मैले जापानमा बिताएका दुई वर्षको दौरानमा अनुभूत गरेको त्यहाँको संस्कृतिको आधारमा सकारात्मक सोचको पाटो उजागर गर्न सुरु गरेँ ।

मैले भनेँ"जापानी विद्यार्थीहरूको उत्तर त्यस्तो कदापि हुँदैन । उनीहरूको ध्यान प्रस्तुतिबाट सिक्न सकिने नौलो विषयमा मात्र केन्द्रित हुन्छ । यस आधारमा म भन्न सक्छु, जापानी विद्यार्थीहरूले सोच्ने र दिने उत्तर यस्तो हुन सक्छनेपालजस्तो विकासमा पछि परेको मुलुकबाट आएर पनि यो तहको अनुसन्धान गर्न सक्नु भनेको धेरै राम्रो हो । अंग्रेजीको बोलाइको स्तर पनि हाम्रोभन्दा राम्रो छ । ती अनुसन्धानकर्ताले कत्ति पनि संकोच नमानी विषयलाई प्रस्तुत गरे । हामीले यी नेपाली अनुसन्धानकर्ताबाट सिक्नुपर्ने केही विषयहरू पक्कै छन् ।"

मेरा कुरा विद्यार्थीहरू एकाग्र भएर सुनिरहेका थिए । उनीहरूको भाव परिवर्तन भइरहेको देखेर म मनमनै हर्षित थिएँ । उनीहरूको सोच्ने शैली परिवर्तन गर्नेतर्पm अलिकति मात्र भए पनि योगदान पु¥याउन सकेकोमा पनि म अलि बढी हर्षित भएको थिएँ ।

हुन ता आफ्नो अघिल्तिर उपस्थित परिस्थितिवाट के राम्रो र उपयोगि ज्ञान आर्जन गर्न सकिन्छ जसले केही मुल्य थप्न सक्छ भन्ने विषयमा हामीले सिक्नु पर्ने धेरै छ । फेरि तीन वर्ष जति अघि अध्यापन गर्दाकै अर्को एउटा सन्दर्भ पस्कन चाहान्छु । एक दिन मैले सूचना आदान प्रदान गर्ने दक्षता अलि कम भएका एक विद्यार्थी मेरो कार्यकक्षमा पर्खि रहेको पाँए । ती विद्यार्थी एक जना जापानिज प्राध्यापकको सम्पर्कमा आएका रहेछन्। उनको जापान पढ्न जान पाए हुन्थ्यो भन्ने मनसाय रहेछ । जापानी प्राध्यापकको ई मेल पनि देखाए । त्यो ई मेलको प्रत्युत्तर कसरी लेखेमा उनको जापान पढ्न जाने कुरा अघि बढ्ला भन्ने चिन्ताको विषयलाई मैले गरिदिएको खेस्रा जवाफले किनारा लगाईदिएको थियो । त्यसको लगभग तीन बर्ष पछि नेपाल विकास अनुसन्धान प्रतिष्ठानको शोधकक्षमा एकाएक झुल्किएका तीनै विद्यार्थीलाई देखेर म एकै साथ हर्ष र आश्चर्यले भरिएँ । उनले तीन वर्ष अघि मैले गरिदिएको मदतले उनले सोचे जस्तै भएको र उनि जापानमा डेढ बर्ष बसेर उच्च शिक्षा समेत हासिल गरि फर्केको सुनेर मेरो मन प्रफुल्ल भयो । उनि नेपालको एक दुर्गम पहाडी गाँउवाट आएका एक प्रखर युवा भएकाले नेपालको समृद्धि र उनको आफ्नै वृतिविकासको लागि जापानवाट पक्कै पनि वहुमुल्य रत्नहरु ल्याएका होलान भन्ने अनुमान गरि मैले उनलाई प्रश्न राखें । "तपाँईले जापानमा अनुभुति गरेको वा त्यहाँ वाट सिकेको कुनै वहुमुल्य कुरा सुनाउनु होस ।" सभाकक्षमा उनकै उमेर समानका अरु तीन युवाहरु पनि थिए । मेरो प्रश्नको जवाफ दिन उनले कति पनि विचार गरेनन् र अझ हाँस्दै भने "मलाई उदेक लागेको कुरा पार्कमा कुकुरको पछि पछि दौडेर त्यसको विष्टालाई हातले टिपेर झोलामा राखेको नै हो ।" उनको भनाईमा अन्तर्निहित मुल्य केलाउने तिर मेरो ध्यान गयो तर जापानिजहरुको सरसफाई प्रतिको लगाव र होश प्रति लक्षित गरेर उनले त्यो अनुभुति सुनाएका थिएनन भन्ने कुरा मेरो प्रतिप्रश्नले छर्लङ्ग पारिसकेको थियो । मलाई मनमा औडाहा भयो । मैले खोजेको जवाफ त्यो थिएन्। म चाहान्थे उनले नेपालका दुर्गम गाँउमा पनि जापानमा जस्तो पाहाड खोपेर वनाईएका सुरुङ्गवाट द्रुत रेल लैजान सकिने रहेछ भनेर भनुन । काठमान्डौलाई ईलाम र दार्चुला संग रेलमार्गले जोड्न सकिन्छ । जापानको जस्तै द्रुत रेलमार्ग वनाएमा उनको गाँउवाट केही घण्टामा काठमाण्डौ पुग्न सकिन्छ । काठमाण्डौ वा पोखरा जस्ता शहरमा आवतजावत गर्नका लागि रेलमार्गका सन्जाल बिछ्याउन सकिन्छ । जापानीहरुले गरे जस्तो हरेक टुक्रा जमिनमा या त भौतिक पूर्वाधार उभ्याउन सकिन्छ या त केहि फलाउन सकिन्छ । पहाडहरु हाम्रै जस्ता हुन । उनिहरुले योजनाबद्ध भू उपयोग गरेर डाँडामा या त स्की रेसोर्टहरु वनाएका छन् या वनजंगलले ढाकेका छन् । पहाडका फेदका समथर भूभागमा रेल र सडकका सन्जाल विस्तारित गरेका छन् । यसले गर्दा समथर भू भागमा बाक्लो वस्ती, शहर र कलकारखाना स्थापित भएका छन्। नेपालमा पनि त्यो अवधारणाको विकास गर्न सकिन्छ । पश्चिमवाट पुर्व बग्ने सुनकोशि या कालिगण्डकी वा पुर्व वाट पश्चिम बग्ने भेरी या राप्तिको किनारामा भएका समथर जमिनमा रेल, विद्युत र सन्चारको सन्जाल विस्तार गरी जापानको जस्तै रोजगारीका अवसर सिर्जना गर्न सके पहाडका टाकुरामा दुखमा निर्वाह गरिरहेका घरपरिवार त्यस्ता आर्थिक गतिविधि अधिक भएका ठाँउमा झर्ने थिए । यसवाट कम साधन र श्रोतमा नै वहुसंख्यक नेपालीलाई यातायात, विद्युत र सन्चारका सेवाहरु सरल तरिकाले प्रदान गर्न सकिन्थ्यो। यस्ता नयाँ नयाँ अवधारणा लागु गर्न सके हाम्रो पनि उनिहरुको जस्तै विकास हुन सक्छ । जापानीहरुको प्रगति देखेर के अनुभूति गरियो भने देश निर्माणको लागि आवश्यक पर्ने तत्व भनेको निस्वार्थ कर्म रहेछ। तर उनले यसो भनेनन् ।

! नेपालको या उनको दुर्गम गाँउको लागि त उनले केही कोसेली ल्याएको कुरा सुनाएन् , मैले अपेक्षा गरेको थिएँ आफ्नो वृति विकासको लागि त केही ल्याएका होलान्। उनि त्यसमा पनि चुकेको भान भयो मलाई । श्रमको सम्मान गर्नु नै जापानीहरुको धर्म भने पनि हुन्छ । यसैले सानो होस या ठूलो होस, कार्यालयमा होस, खेतवारीमा होस या कारखानामा होस जुन काम गरीएको हुन्छ त्यसको आदर गरिन्छ जापानमा । समाजमा काम नगरिकन बस्नु भनेको साह्यैनै लाज लाग्ने विषय हुन्छ जापानमा । यसकारण जीवनमा उन्नति गर्नका लागि कुनै न कुनै काममा निरन्तर लागि रहन जरुरी रहेछ । मेरा पूर्व विद्यार्थीले यसो पनि भनेनन् । मलाई यसैमा केही विझेको अनुभूति भयो । हामी मूल्य थप गर्ने सवालमा अति कमजोर भए जस्तो भान हुन्छ मलाई । हाम्रो शिक्षा पद्धतिले पनि यो विषयमा आवश्यक मात्रामा नसिकाए जस्तो लाग्छ । कुनै पनि परिस्थितिमा केही न केहि यस्तो गतिविधि हुन सक्छ जसले समाजको या व्यक्तिको उन्नतिमा अत्यधिक मूल्य थप्न सक्छ । सकारात्मक सोच राखि त्यस्तो गतिविधिमा ध्यान केन्द्रित गर्ने हो भने हाल हाम्रो सामु देखिएका कैयन समस्याहरुका सहज समाधानहरु प्राप्त गर्न सकिन्छ भन्ने कुरामा दुई मत नहोला।

जापान भौतिक विकास या आर्थिक हिसाबमा मात्र वैभवशाली होइन, जापानी समाज सकारात्मक सोचमा पनि अति धनी छ । जापानीहरूमा कुनै पनि सन्दर्भ या कस्तै विपरीत परिस्थितिमा पनि सकारात्मक या आपूmलाई काम लाग्ने पक्षमा ध्यान केन्द्रित गर्न सक्ने क्षमताको अत्यधिक विकास भएको मैले पाएको छु । नकारात्मक पक्षको पहाड नै अघिल्तिर भए पनि जापानीहरूमा रहेको सकारात्मक पक्षको तिल खोजेर त्यसकै बारेमा सोच्ने प्रवृत्तिले पनि जापान समृद्धशाली हुनुको एउटा कारण हो जस्तो मलाई लाग्छ । तर सकारात्मक सोचको अभाव हुनु, आपूmलाई निराशावादी किनारामा उभ्याउनु र आत्मविश्वासको अभाव हुनुजस्ता व्यक्तित्व विकासका बाधक पक्ष हाबी भएका ज्वलन्त उदाहरण हाम्रो सन्दर्भमा यथेष्ट भेटिन्छन् । कुनै सवालमा प्रतिक्रिया दिनुप¥यो भने हामी खराब पक्षको मात्र वकालत गर्छौं । असल पक्ष पत्ता लगाउन पनि हामीलाई धौधौ पर्छ । पत्ता लागिहाले पनि त्यो उजागर गर्न हामी संकोच मान्छौँ । कसैले प्रशंसा गरिहाले पनि त्यसको पछाडि स्वार्थ लुकेको वा प्रशंसा अवास्तविक भएको भन्नेतिर सोच्नेहरूको जमात पनि हामीबीच बाक्लै छ । यस्ता प्रवृत्तिले व्यक्तित्व विकासका साथै समाज या समग्र मुलुककै विकासमा अवरोध सिर्जना गरेको छ ।

यसैले जापान या अन्य विकसित मुलुकहरूबाट उन्नत प्रविधि या आर्थिक सहयोग मात्र होइन सकारात्मक सोच या चिन्तनजस्ता सामान्य तर बहुमूल्य निधिहरू पनि आयात गर्न जरुरी छ भन्ने कुरा हामी सबैले बुझ्नु जरुरी छ ।

Rapid Economic Development of Nepal : A Key for State Restructuring

नेपालको द्रुत आर्थिक विकास : राज्य पुर्नसंरचना प्रमुख आधार
हालै सम्पन्न गैरआवासिय नेपालीहरुको विश्व सम्मेलनमा राष्ट्रपतिको उदघाटन सम्वोधनले राज्य पुर्नसंरचना सम्बन्धित एउटा महत्वपूर्ण सन्देश समेटेको थियो । सन्देश थियो "राज्यको पुर्नसंरचना गर्ने आधार वैज्ञानिक हुनु पर्दछ ।" विश्वका कुना कुना वाट आएका सम्मेलनका सहभागीहरुले त्यस समसामयिक र दुरगामी महत्वको सन्देशको मुक्त कण्ठले तारिफ गरेका थिए । अवैज्ञानिक आधारमा गरिएको पुर्नसंरचना सर्वमान्य हुन सक्दैन् र यसले सम्पूर्ण नेपालीहरुको मन जित्न सकेन भने राज्यको पुर्नसंरचनाका नाममा गरिएका कसरत र योगदानहरुको कुनै अर्थ नरहन सक्छ । यही तथ्यलाई ह्रदयंगम गरी महामहिमले विश्वमन्चका नेपालीहरुमाझ उक्त सन्देश प्रवाह गरेको हुनु पर्छ । तर यहाँ प्रश्न के उठ्छ भने कस्तो पुर्नसंरचना वैज्ञानिक दायरा भित्र पर्छ या कस्तो पुर्नसंरचना त्यस भित्र पर्दैन् । हाल वहसमा ल्याईएका जाती, भाषा र भूगोललाई आधार वनाईएका राज्य पुर्नसंरचनाका खाकाहरु कति वैज्ञानिक छन्, तिनले सम्पुर्ण नेपालीको मन जित्न सक्छन् की सक्दैनन्, तिनले राज्य पुर्नसंरचना संग जोडिएको नेपालको द्रुत आर्थिक विकासको आधारभूत उदेश्य लाई सम्बोधन गर्छन् की गर्दैनन् । कस्तो खाकामा विभिन्न तप्काका जनता, समूह या दलहरुको सहमति प्राप्त गर्न सकिन्छ या कस्तो खाकाले राज्य पुर्नसंरचना पछिका आम नेपालीका दैनिकीहरु अहिलेको भन्दा गतिशिल र उन्नत वनाउने दिशामा योगदान दिन सक्छ । प्रश्नहरु जटिल छन् । अहिले छापाहरुमा प्रस्तुत या विभिन्न विज्ञहरु द्वारा सम्पादित राज्य पुर्नसंरचनाका मोडेलहरुलाई विश्लेषण गरिएका अधिकांश टिप्पणीहरु निषेधात्मक भावनाले ओतप्रोत भएका पाईएका छन् । अर्थात "यो त हुनै सक्दैन या यस्तो भयो भने वहुसंख्यक जनताको विरोध हुनेछ या यो तर्क संगत छैन् " आदि जस्ता भावनाहरु बाक्लै भेटिन्छन् । यस्तै दलहरु द्वारा पेश गरिएका राज्य पुर्नसंरचनाका खाकाहरुमा आफ्नै दलका कार्यकर्ता र केही नेताहरुको असहमति प्रकट भएका वेलामा प्रस्तुत खाकाहरुमा वैज्ञानिक र सर्वसम्मत हुनका लागि आवश्यक विशेषताहरुको पहिचान नहुदा राज्य पुर्नसंरचनाको सार्वजनिक वहसले आगामी दिनमा अत्यधिक स्थान ओगट्ने यथार्थता हाम्रो अगाडि तेर्सिएको छ ।

दलहरुले प्रस्तुत गरेका खाकाहरुका आधारहरुमा सार्वजनिक वहस अति कम भएको हुनाले यी खाकाहरु राजनैतिक उदेश्य पूर्तिका हिसाबले आ आफ्ना दलका स्वार्थ पूरा गर्नका लागि पूर्ण होलान् भन्ने अनुमान एउटा सामान्य नागरिकले पनि लगाउन सक्छ । तर आर्थिक उदेश्य पूर्ति गर्ने सवालमा खाकाहरु कति संवेदनशिल छन् भन्ने कुरा महत्वपूर्ण छ । उदाहरणका लागि राजनैतिक अभिष्ट पुरा गर्नका लागि कृषि वसोवास या उद्दमका हिसावमा अति पिछडिएको क्षेत्र समेटेर कुनै राज्यको परिकल्पना गरिएमा त्यँहा आर्थिक विकासका संभावनाहरु यसै पनि झिना हुन सक्छन् । यसो हूंदा नाम मात्रको राज्य को भरमा मात्रै जनताहरु टिकि राख्ने कुरा हूदैन् अन्तत: उनीहरु वसाई सराई गरी आर्थिक रुपले सम्वृद्ध स्थानहरुमा जान्छन् नै । अहिले वयस्क भएका नेपालीहरुको जीवनकालमा नै देशमा आमूल परिवर्तन ल्याउन सक्ने विशेषता अन्तर्निहित भएको खाका त्यो हुन सक्छ जुन आर्थिक आधारको जगमा उभिएको हुन्छ । जसले अहिलेका हरेक व्यक्तिको दैनिक जीवनलाई पीडादायी वनाउने समस्याहरु जस्तै लोडसेडिंग, कष्टकर यातायात वा आकाशिदो मूल्य बृद्धिलाई सम्बोधन गर्न सक्छ । यसरी मजवुत आर्थिक र भौगोलिक आधारहरुमा राजनैतिक मूल्य थपेर कोरिएको खाका धैरै हद सम्मा वैज्ञानिक हुनुका साथै सर्वमान्य पनि हुन सक्छ । यसरी अर्को महत्वपूर्ण प्रश्न के सिर्जना हुन्छ भने आर्थिक र राजनैतिक दुवै उदेश्यहरु पूर्ति गर्ने हिसावले यदि पुर्नसंरचित नेपालको परिकल्पना गर्दा त्यसको स्वरुप कस्तो हुन्छ त ?

गैरआवासिय नेपालीहरुको सम्मेलनको यस पटकको नारा थियो "शान्त र समृद्ध नेपाल- हाम्रो साझा सपना ।" यो पङ्क्तिकार लाई के लाग्छ भने सम्मेलनका सहभागीहरुले उल्लेखित नारा र महामहिमको सन्देशमा अन्तरनिहित मर्मको विचमा विराट अन्तरसम्बन्ध औल्याएको हुनु पर्छ । शान्त र समृद्ध नेपालको सपना त्यस वेलामात्र पुरा हुन्छ जव पुर्नसंरचना गरिएको नेपालमा सबै नेपालीहरु अहिलेको भन्दा विशिष्ट तवरमा जीवन यापन गर्ने शौभाग्य प्राप्त गर्दछन्र । प्रत्येक नेपालीले उच्च स्तरिय आधारभूत सुविधाहरु जस्तै शिक्षा स्वास्थ्य र यातायातको उपभोग गर्न पाउछन्। रोजगारीका अवसरहरु सवैलाई समानरुपमा र विना भेदभाव प्राप्त हुन्छन् । यसको अर्थ हुन्छ राज्यको त्यस्तो पुर्नसंरचना हुन जरुरि छ जसले आर्थिक विकासमा वाधा पुर्याउनुको सट्टा यसको मार्ग प्रशस्त गर्दछ । यसर्थ आर्थिक विकासको मार्ग प्रशस्त गर्ने विशेषता अन्तरनिहित भएको राज्यको पुर्नसंरचना पक्कै पनि वैज्ञानिक हुनेछ । यसले सम्पूर्ण नेपालीको मन जित्न सक्नेछ र यो समृद्ध नेपाल निर्माणको पहिलो कोशे ढुंगा समेत वन्न सक्नेछ भन्ने कुरामा दुई मत नहोला ।

हुन ता सीधा अर्थमा हेर्दा वैज्ञानिक आधार भन्नाले सामान्यतया तर्कसंगत, सर्वसम्मत, तथ्यमा आधारित र जसले विश्लेषण गरे पनि उहि निचोडमा पुगिने भन्ने वुझिन्छ । उदाहरणको लागि नेपालको हालको जनसंख्या तीन करोड हिसाव गर्दा र नेपाललाई सजिलोको लागि दश वटा प्रदेशमा विभाजन गर्ने हो भने प्रत्येक प्रदेशमा लगभग तीस लाख जनसंख्या हुने विश्लेषण गर्न सकिन्छ । अहिलेको स्थायी वसोवास र भविष्यमा घना वस्तिको रुपमा विकास गर्न सकिने भूभागलाई आधार वनाएर राज्यको पुर्नसंरचना गर्न सकिन्छ । यस्तो भएको खण्डमा जनसंख्यामा आधारित पुर्नसंरचनामा विमति राख्नु पर्ने कारण सायदै नहुन सक्छ । यस्तै नेपालको क्षेत्रफल १ लाख ४७ हजार वर्ग किलो मिटरको हिसावमा पुन दश राज्यको पुर्वानुमान गर्दा हरेक राज्यमा लगभग १५ हजार वर्ग किलोमिटर भूभाग पर्न आउँछ । जनसंख्या र क्षेत्रफलमा आधारित खाकाहरु वैज्ञानिक र सर्वसम्मत हुने भए पनि नेपालको सन्दर्भमा कस्तो क्षेत्रगत विभाजनले द्रुत आर्थिक बृद्विदरलाई वढावा दिन्छ भन्ने सवाललाई सम्वोधन गर्न विकास अर्थशास्त्रका अनुभवहरुमा नजर एकत्रित गर्नु वान्छनिय हुन्छ ।

यस विषयसंग सम्बन्धित लोकप्रिय प्रकाशनहरु मध्ये विश्व वैकको विकास प्रतिवेदन २००९ उल्लेखनिय छ । यसले विकासका नीति वा योजनाहरुलाई प्रत्यक्ष प्रभाव पार्ने तीन भौगोलिक आयामहरु उल्लेख गरेको छ । यी तिन आयामहरु हुन आर्थिक सघनता, अवसरको सामिप्यता र राज्यको आन्तरिक विभाजन । कुनै पनि स्थानमा कामदार र पूँजिको उपस्थिति कति बाक्लो छ भन्ने कुराले आर्थिक सघनता निर्धारण गर्दछ त्यसैले यो रोजगारीका अवसर र जनघनत्व संग सिधा ताल्लुक राख्दछ । अर्को हिसाबमा जब कुनै राष्ट्र समृद्ध हुदै जान्छ आर्थिक गतिविधिहरु शहर वा नगर क्षेत्रमा केन्द्रित हूदै जान्छन् । वास्तवमा आर्थिक सघनताका केन्द्रविन्दु शहरहरु गरिवलाई मध्यम वर्गमा परिणत गर्ने संयन्त्र हुन् । नेपालको आर्थिक विकासको वर्तमान स्थितिले के स्पष्ट गर्छ भने आर्थिक सघनताका केन्द्रविन्दुहरु सवैभन्दा धेरै मध्य पहाड र पुर्वी तराईमा छन् भने मध्य पश्चिम र सुदुर पश्चिम पहाडमा सवैभन्दा कम ।

विकाससंग प्रत्यक्ष सरोकार राख्ने दोस्रो आयामले एक स्थान वाट अर्को स्थानको आर्थिक दुरी लाई परिभाषित गर्छ । यसले पुँजीको प्रवाह, कामदारको आवतजावत, सामानको ओसारपसार र सेवा प्रदान गरिने कार्य कति सजिलै संग हुन्छ भन्ने कुराको निर्क्यौल गर्दछ । दुई स्थान वीचको आर्थिक दुरी भौगोलिक विकटताका साथ साथै यातायात व्यवस्था वा राजनैतिक या कानुनी अवरोध र स्थानिय शासनका नीति नियमहरु संग निर्भर गर्दछ । पैदलमार्गवाट आवतजावत गर्दा दोलखा या रामेछाप जनकपुर संग बढि नजिक थिए भने सडक सन्जालको विकास भए पछि ती काठमाण्डौ संग नजिक भए । खोजी गरे यस्ता अन्य धेरै उदाहरणहरु पाउन सकिन्छ ।

तेस्रो पक्ष अर्थात आन्तरिक विभाजनले आर्थिक विकासमा तगाराहरु सिर्जना गर्न सक्छ किन भने खण्डित भू भागहरुका राजनैतिक ईकाईहरुले निर्धारण गरेका मापदण्डहरुमा एकरुपता नहुँदा र सीमा पार गर्दा पुरा गर्नु पर्ने औपचारिकताले दुई स्थानहरुको आर्थिक दुरी अनावश्यक रुपमा वढाई दिन्छ । यस्तै सीमाको सिर्जनाले माल सामान, पूँजि, व्यक्ति र विचारको प्रवाहमा अवरोध सिर्जना गर्दछ । नारायणी नदिको वारी पारी अवस्थित गैंडाकोट र भरतपुरको आर्थिक विकासको स्थितिले यो वास्तविकताको पुष्टी सहजै हुन्छ ।

विश्व वैकको प्रतिवेदनले भौगोलिक अर्थशास्त्रका यी तीन आयामहरुको विश्लेषण र विश्वका विभिन्न मुलुकहरुको विकासक्रमको अध्ययन वाट तीन वटा निचोड निकालेको छ । पातलो वस्ती भएका र आर्थिक रुपले पिछडिएका भू भागहरुलाई सम्वृद्भ वनाउने चुनौति खालि आर्थिक दुरी कम गर्नु मात्र हो । यस्तो स्थितिमा सरकारी नीति पिछडिएका स्थानहरुमा वसोवास गरेका वासिन्दाहरुलाई सम्पन्न स्थानहरुमा वसाई सर्ने कुरालाई प्रोत्साहन गर्ने गरि वनाईनु पर्छ । यदि विपन्न स्थानहरुमा जनघनत्व अधिक छ भने सम्पन्न स्थानहरुका अवसरहरुमा पँहुच पुर्याउनका लागि भौतिक पुर्वाधारको विकास गर्ने नीतिको तर्जुमा गरीनु पर्दछ । अत्यधिक जनघनत्वको चाप भएका विपन्न स्थानहरु यदि जातिय या धार्मिक हिसावमा विभाजन भएका भए आर्थिक विकासको हिसाबमा यो स्थितिलाई सबै भन्दा जटिल प्रकृतिको चुनौतिको रुपमा लिईएको छ । यस्तो परिस्थितिमा आर्थिक विकासका लागि वसाई सराई, भौतिक पुर्वाधार निर्माण र प्रोत्साहनका लक्षित गतिविधिहरु सन्चालन गरिनु जरुरी हुन्छ ।

यसरी आर्थिक विकासका अनुभवहरुलाई मध्यनजर राखेर हेर्दा राज्य पुर्नसंरचनाले ध्यान पुर्याउनु पर्ने प्रमुख पक्ष नेपालका विपन्न भू भागहरुलाई आर्थिक विकासको राष्ट्रिय र अन्तरराष्ट्रिय मूलधारमा कसरी समाहित गर्ने भन्ने हो । राजधानी तथा अन्य शहरहरु र विपन्न भूभागहरुको आर्थिक दुरी कसरी कम गर्न सकिन्छ भन्ने हो । यस्तै विकट र दुर्गम भेकमा छरिएका पातला वस्तिहरुलाई पायक पर्ने स्थानहरुमा आर्थिक सघनताका केन्द्रविन्दुहरु सिर्जना गर्ने र तिनलाई रेलमार्ग या सडक यातायातको सन्जालमा कसरी जोड्न सकिन्छ भन्ने हो । वैज्ञानिक आधारको रुपमा अर्को एउटा उदाहरण यँहा लिन सकिन्छ । हालका ५८ वटा नगरपालिकाहरु र घना वस्ती या विशेष आर्थिक विकास केन्द्रका रुपमा थप ४२ वटा स्थानहरु पहिचान गरि हुन आएका १०० सघन केन्द्रहरुलाई माथि कल्पना गरिएजस्तो दश राज्यमा समानुपातिक रुपमा पर्ने गरि राख्न सकिन्छ । यी नँया स्थानहरु हिमालका पर्यटकिय गन्तव्य स्थल या पहाडका जल विद्दुत उत्पादन गर्ने, रेलमार्ग या सडक मार्गले छिचोलेर जाने वा घना वस्तिका हिसाबले उपयुक्त स्थान या तराईका रेलमार्ग या सडक सन्जालका केन्द्रविन्दु या भारतका सीमा शहरहरु संग जोडिएका स्थानहरु हुन सक्छन् । हाल सन्चालित यातायात मार्ग जस्तै पुर्व पश्चिम राजमार्ग या संभावित रेलमार्ग या राजमार्गहरुले वढि से वढि राज्यहरुलाई सुविधा पुग्नु पर्ने कुरालाई ध्यानमा राख्नु जरुरी हुन आउँछ । संभावित रेलमार्गहरुको कुरा गर्दा हाल वहसमा आएको पूर्व पश्चिम राजमार्गको समानान्तर हुने गरी निर्माण गरिने पहिलो हो भने काठमाण्डौलाई सुनकोशीको किनारहुँदै पुर्व जोड्ने र कालीगण्डकीको किनार र दांग, सुर्खेत उपत्यका हुदै पश्चिम जोड्ने रेल मार्ग दोस्रो हो । घना वस्तिका हिसावले वा विशेष आर्थिक विकास केन्द्रका हिसावले विकास गर्न सकिने स्थानहरुमा अरुण उपत्यका, सुनकोशी, भेरी या कर्णाली नदिका किनारमा रहेका समथर भू भागहरु हुन् ।

यसरी आर्थिक विकासको आधारलाई केन्द्र विन्दुमा राखेर यसमा माथी उल्लेखित जनसंख्या, क्षेत्रफल या भौगोलिक विशेषतालाई थप आधारका रुपमा समेटेर गरिएको पुर्नसंरचना वैज्ञानिक हुनुका साथै सर्वमान्य हुने कुरामा दुई मत नहोला । यसरी प्रस्तुत हुने खाकाले सम्पूर्ण नेपालीको मन जित्नुका साथै समृद्ध नेपालको सपनालाई समेत अवश्यै पनि साकार पार्नेछ । यस विषयमा संविधान सभाको राज्यको पुर्नसंरचना तथा राज्यशक्तिको वाँडफाँड समितिले उच्च प्राज्ञिक उपलब्धि हासिल गरेका विकास अर्थशास्त्री, नगर योजनाविद, क्षेत्रिय योजनाविद, भूगर्भशास्त्री र भूगोलविदहरुको स्वतन्त्र राय लिनु पर्ने आवश्यकता टड्कारो देखिन्छ । (लेखक नेपाल विकास अनुसन्धान प्रतिष्ठानसंग आवद्ध छन् ।)