Thursday, December 16, 2010

नब्बे नौ को फुकेत

“यो लुगाको कति दाम पर्छ ?” मैले एउटा सानो नानीले लगाउने जामा जस्तो तर सिङ्गो लुगा छनौट गर्दै सोँधे ।

उनले सहजताका साथ उत्तर पस्किईन् “ यसलाई नब्बे नौ भाट पर्छ।“

ग्राहक र विक्रेताको वीचमा हुने गरेका सामान्य संवादमा प्रयोग गरिने चलनचल्तीका शब्दजाल भन्दा फरक रुपले प्रकट भएको यो ' नब्वे नौ' अर्थात 'उनानसय' ले अहिले सम्म पनि मेरो मानसपटलको एउटा कुनोलाई ओगटेको छ । एक जोड्दा एक सय हुने त्यो अङ्क लाई मैले बुझे भन्दा फरक तरिकाले अभिव्यक्त गरिएको त्यो अविस्मरणिय क्षणको एकल श्रोता पात्रको भूमिका निर्वाह गर्न पाउँदा म नँयापनको अनुभुति गरिरहेको थिँए । मेरा सन १९९४ देखि १९९९ सम्मका आधा दर्जन वर्षहरुका थाईल्याण्ड वसाईमा 'काओ काओ' अर्थात 'नौ नौ' लेखिएका अङ्कहरुको सगँत गर्न मैले पाएको थिँए । एकसयमा एकमात्र कम दाम राख्दा ग्राहकहरुको मनोविज्ञानमा पर्ने असरको फाईदा उठाई उसको ध्यानाकर्षण गर्ने उदेश्य हुनु पर्छ यो अङ्क जडित मुल्यको लोकप्रियतामा ।

मेरो मुलुक भन्दा निकै टाढा गैरनेपाली भाषा वोलिने ठाँउमा नेपाली भाषामा वोलेर सामान खरिद गर्न पाँउदा म रमाई रहेको थिँए । त्यसमाथी यो अङ्कलाई नयाँ तरिकाले सम्प्रेषण गर्ने विषयले म र मलाई सामान वेच्ने ति युवतीको वीचमा सिर्जित त्यो रोचक क्षणमा मुल्य थप गरिरहेको थियो । उनी पनि नेपाली मुलकी थिईन् । सन्दर्भ थाईल्याण्डको हो ।

नेपाली मुलका त्यति धेरै मान्छेहरु फुकेतमा रोजगारी गरेर जीवन यापन गरिरहेछन् भन्ने वारेमा मलाई थाहा थिएन् । कहिले कँही थाहा नहुनुले पनि रोचक र आश्चर्यले भरिएका क्षणहरु सिर्जना गर्दा रहेछन् भन्ने कुरा यसपल्टको फुकेत यात्राले स्पष्ट पारेको छ ।

जलविज्ञानको अनुसन्धानसँग सम्वन्धित अन्तराष्ट्रिय सम्मेलनमा कार्यपत्र प्रस्तुत गर्ने तथा एक प्राविधिक सत्रको अध्यक्षता गर्ने भूमिका निर्वाह गर्न म थाईल्याण्डको पर्यटकिय नगरी फुकेत पुगेको थिँए। फुकेतवाट लगभग दुई घण्टाको समुद्री यात्रामा रहेको 'फि फि' टापुमा हाम्रो प्राविधिक भ्रमण तय गरिएको थियो । टापुका एक हजार वासिन्दा र विक्रेताले दिनको दश हजार पर्यटकलाई सेवा प्रदान गर्ने रोचक तथ्याँङ्क सुनाए सम्मेलन आयोजक थाई मित्रले मलाई । हामीले उक्त टापुमा सिर्जना हुने निकासपानीको शुद्धिकरकरणका लागि निर्माण गरिएको आधुनिक सिमसार र टापुमा वितरण गरिने पिउने पानीको पोखरीको अवलोकन गर्यौ । त्यसपछि एक थाई चमेनाघरमा दिवा भोजनको अपुर्व अवसर प्राप्त भयो । लगभग एक दशक पछि मैले प्रसिद्ध थाई सुप 'तोमयाम' सँग भुटेको भात खान पाँए । दिवा भोज पछि हामी लाग्यौ स्थानिय वजारमा केही उपहारहरु किन्ने गतिविधिमा । मैले फुकेतमा नै केही किन्ने निर्णय गरेको भए पनि वथान विज्ञानको सिद्धान्त अनुरुप समूहको रमाईलोमा रम्न जापान वाट आएका दुई नेपाली लगायत केहि विदेशी साथीहरुसहित हामी मुल वजार तर्फ लाग्यौ । एउटा पसलमा विष्णुजीले वँहाको छोरीको जामा किन्दै गर्दा मैले त्यो पसलका विक्रेता भाईहरुलाई नियालेँ । ति थाई मूलका थिएनन् । थाईल्याण्डमा लगभग नेपाली वा वर्मावासीसँग मिल्ने समुदायहरु र चिनिया मुलका मानिसहरु वसोवास गर्छन् । हामीले अलि अलि थाई र ‘ह्याभ’ र ‘नो ह्याभ’ जस्ता शव्द प्रयोग गरिएको 'थाँय्ग्रेजी' भाषा प्रयोग गरी उनिहरुसँग मोल मोलाई गर्यौ । त्यस पछि म मेरा सहयात्रीहरुलाई छोडेर एक्लै अगाडिको अर्को पसलमा छिँरे । पसलमा उपहार दिने थैली, तस्विर सजाउने फ्रेम, महिलाले कपालमा लगाउने क्लिप आदि थिए । तर पसलमा कोहि पनि थिएन् । म सामानहरु हेर्दै थिँए । एक वाईस तेईस वर्ष जतिकी युवतीले पसलमा प्रवेश गरिन् ।

मैले तिनलाई कुनै पर्यटकनै होलिन भन्ने ठाँने किनभने तिनको रुप थाई मुलको जस्तो थिएन । मैले निमेषभरमानै ति युवती भारतको काश्मिर क्षेत्र तिर वस्ने होलिन् भन्ने अनुमान गरेँ । तर अचम्म उनले म तिर हेरेर विक्रेताको भाषा पो वोल्न थालिन ।

“सवादि खा”, उनले थाई भाषामा मलाई अभिवादन गरिन् ।

“सवादि खाप” मैले उत्तर वोलेँ ।

“थाओराई खाआआ”, उनले ' के चाहियो यँहालाई' भनेर मलाई सोधिन ‘खा’ सँग जोडिएको ‘आ’ लाई थाई शैलीमा लामो पार्दै ।

“थाई पुत नित नोए खाप” (म थाई अलि अलि मात्र जान्दछु ।) “क्यान यु स्पीक ईँगलिस” मैलै अव ति विक्रेता भएको शतप्रशित पक्का गर्दै उनको प्रश्नको अनपेक्षित उत्तर पस्किएँ र यस्तो प्रश्न राँखे जसको उत्तर मैले खोजेको जस्तो आएमा मेरो तिनी सँगको कुराकानीको आयु वढ्न सक्ने सँभावना थियो। ति विछट्टै सुन्दर थिईन् । ‌औसत थाई युवती भन्दा अग्ली, आर्यन मुलका स्त्रीजातमा अति आकर्षक देखिने ठुला आँखा र अलि लामो नाक भएकी र गोरो वर्णकी ति कन्या मेरो सामुन्नेमा थाई विक्रेता भएर प्रस्तुत भएकी थिईन् । जापानका युवतीहरुलाई देखेर मलाई के लाग्दथ्यो भने उनीहरुको शरिरमा अनावश्यक मासुको थुप्रो कतै छैन् । जुन अँगमा जति चाहिने हो त्यति मात्र छ । शरीरमा लपक्कै टाँसिने गरि लगाएको लुगाले छरिता र आकर्षक देखिएका जापानीहरुलाई रेलमा यात्रा गर्दा होस या पैदल यात्रा गर्दा होस कहिले कहि म नेपालका हाम्रा कन्याहरु सँग तुलना गर्थे । कहाँ उनिहरुको सतर्कता अपनाईएको सन्तुलित खानपान, व्यायाम र मिहिनेतले कम्प्युटरमा कुँदिएको जस्तो वान्की परेको जीउ कहाँ विहान आठ वजे सम्म निन्द्रा देवी को शरणमा परेर जे पायो त्यही जति वेला पायो उति वेला हजम गरेर लापरवाहीले जस्तो हुन्छ त्यस्तै वन्न दिईएको र जता पनि अनावश्यक रुपले पोखिएको हाम्रा आधुनिक नेपाली महिलाहरुको भद्दा जीउ । मेरा सामुन्नेको वर्तमानमा उभिएकी युवतीको पनि जापानी शैलीको कुँदिएको जिउडाल थियो ।

“येस आई क्यान स्पीक ईँगलिस” उनले भनिन् ।

“वट यु डोन्ट लुक लाईक थाई” मैले मौकाको फाईदा उठाँए।

“आई एम नट अ थाई आई एम अ नेपाली” उनले भनिन् । म हर्ष र आश्चर्य दुवैले दुई सय प्रतिशत भरिँए ।

“हे! भगवान!! तिमी नेपाली हौ ? तिमी नेपाली वोल्न सक्छ्यौ त ?” मेरो भाषाको धरातल वेजोडले आकाशियो । म अलि अलि जानेको थाई भाषावाट केही जानेको अँग्रेजी हुदै मैले सबै भन्दा आत्म विश्वासका र गर्वकासाथ वोल्न सक्ने मेरो मातृभाषा नेपालीमा आईपुगेको थिँए ।

“किन नसक्नु ! ल तपाईँ पनि नेपाली हुनु हुदो रहेछ। मलाई त अघिनै शँका लागेको थियो” उनले भनिन् ।

“तिम्रो नाम के हो र घर कहाँ हो? ” मैले परिचय आदान प्रदानको नेपाली शैली प्रयोग गरेँ।

“सीमा अधिकारी र घर वर्मा ।” त्यो क्षणलाई रोचक वनाउनको लागि प्रस्तुत उत्तर भन्दा अर्को कुनै उत्तर हुन सक्थ्यो जस्तो मलाई एक रत्ति पनि लागेन । 'सीमा' भनेको मलाई मन परेको शव्द, जाजरकोटमा मैले जीवनका महत्वपुर्ण क्षणहरु विताएको एक गाविसको नाम र यसै वाट मैले मेरो प्रकाशन केन्द्रको नाम राखेको छु “सीमा अनुसन्धान एवँ प्रकाशन केन्द्र ।“ “अधिकारी” मेरो ससुराली । अहो ! त्यो लावण्य, त्यो रुप, त्यो सामिप्यता, त्यो एकाएक सिर्जना भएको क्षणभँगुर र त्यो शब्द जोडी । एक पछि एक मुल्य थप भईरहेको छ । एक पछि एक क्षण रोमान्चकारी भईरहेको छ ।

“अधिकारी मेरो ससुराली हो र नाताले तिमी मेरी साली पर्यौ ।” मैले रमाईलो थप्ने उदेश्यका साथ यथार्थता पस्के । त्यो सुन्दर भगवतिको तस्विर जस्तो अनुहारमा मुस्कानको सेचन भयो । सामिप्यता वढेको अनुभुति भयो । म सँग एउटा विहान मिर्मिरेमा सुन्ने मोवाईलमा कैद गरिएको ध्यानको अडियो छ । त्यसमा एकान्तमा वसेर जीन्दगीका पूर्ण ध्यान केन्द्रित गरिएका र शतप्रतिशत समर्पण भाव भरिएका क्षणहरुको कल्पना गर्न लगाउँछन् ध्यान गराउने गुरुले । अहिले सम्झन्छु अडियोको परिभाषा सँग मिल्ने सँयोगले सिर्जना भएका र परिस्थितिको नाटकिय परिवर्तन भएका जीवनका स्मरण योग्य क्षणहरुमा यो वार्तालाप पनि थपिएको छ ।

“हामी यहाँ धेरै नेपाली छौ तर हत्तपत्त आफूलाई नेपाली भन्दैनौ। ईन्डियनहरुले नेपाली भन्ने थाहा पाए भने मोलमा दलाली गर्छन् ।” उनले मलाई पराईको सँज्ञाको विशेषण मुक्त गरिदिईन् ।

सीमा सँग नेपालीको नाता लागि सकेको थियो । मैले फुकेतमा किन्ने विचार गरेका केही उपहारका सामानहरु अलिअलि फेरवदलका साथ सीमाकै पसलमा किन्ने विचार गरेँ । त्यतिन्जेलमा मेरा सहयात्रीहरु पनि आईपुगे । मैले विष्णुजी र सुजाताको परिचय सीमा सँग गराई दिँए । सीमाले मलाई परल मुल्य भन्दा वढी लिन्नन् भन्ने विश्वास मलाई भईसकेको थियो । वरु मैले उनलाई मेरो आवश्यकता भने । उनले मलाई भरपुर मदत गरिन् । मैले लगभग पाँच सय भाटका सामान किने सीमाको पसलमा । ती सामानले पाँच सय भाटको मोल भन्दा कैयौ गुणा वढी नेपालीको नाताको मुल्य समाहित गरेको भान मलाई भयो। एउटा फुलदानी वाहेक अरु सामानहरु फुकेतको उपहारको रुपमा बाँडिए । तर फुलदानी मेरो कार्यालयको आगन्तुक कक्षमा सीमाको मुस्कान अविरल पस्कीरहेको छ ।

समाप्त

Friday, September 17, 2010

ज्ञान आर्जनको आरन

“सर मेरो जीन्दगीमा हिजो दोस्रो पटक आँखावाट आँसु आए । पहिलो सन्दर्भ मेरो पिताजी परलोक हुँदाको थियो भने दोस्रो मैले सोच्दै नसोचेको तरिकाले सिर्जना भएको हिजो वेलुकाको प्रसँग भयो । तर यी दुईमा एउटा प्रष्ट फरक के थियो भने पहिलोमा दु:खका आँसु थिए भने दोस्रो हर्षका ।“ कोटेश्वरमा रामेश्वरजीको ट्याक्सीमा वस्नासाथ हाम्रो वार्तालापको शुरुवात उनले गरेका थिए मैले पनि त्यो गहिराईमा नसोचेको सन्दर्भ कोट्याएर ।
“किन के भयो त्यस्तो ?” मैले सोधेँ ।
“ताड्नेवाले कयामतके नजर रखते है ।“ अर्थात जोखिम मोल्ने मान्छेले त्यसको अन्तिम नतिजामा दृष्टि पुर्याएको हुन्छ । मैले रामेश्वरजीवाट अहिले सम्म सिकेको यो महत्वपूर्ण शिक्षा हो । उनी कुनै ‍शैक्षिक डिग्री नलिएका भए पनि औपचारिक शिक्षाको उपल्लो सिँढी उक्लेका व्यक्ति भन्दा कम लाग्दैनन् मलाई । उनलाई पढ्न लेख्न खासै आउदैन् । कहिले कँहि म भरपाईमा सहि गराँउछु उनि दुखले सही गर्छन् । मोवाईलमा सम्पर्क नम्वरहरु व्यवस्थापन गर्ने काम पनि कठिनपूर्वक गरेको देखेको छु । जोखिम मोल्ने मान्छे दुरदर्शी र चौडा छाती भएको मात्र हुँदैन् उसको प्रतिघात क्षमता पनि विशिष्ट प्रकृतिको हुन्छ । उ हत्तपत्त सँवेदनशिल हुँदैन् । केही समय अघि आर्यघाटमा चितामा जलिरहेकी आफ्नी जीवनसँगिनीको अघिल्तिर वसेका एक वृद्धको अनुहारमा मुस्कान देखेर म पो सँवेदनशील भएको थिएँ । रामेश्वरजी आँफै विशिष्ट प्रतिघात क्षमता भएका व्यक्ति लाग्छ मलाई ।
उनले भने “सरले दिनु भएको अँग्रेजी अखवारको त्यो अँश मैले मेरो ठूलो छोरीलाई पढ्न दिएँ । जव उ त्यसलाई वढो महत्वका साथ पढ्न थाली र प्रत्येक वाक्यको अर्थ नेपालीमा मलाई बुझाउन थाली । मेरा आँखावाट आँसु चुहिए सर । म जीन्दगीमा दोस्रो पटक रोँए ।“
मैले गरेको कुनै झिनो कामले यति ठूलो प्रभाव पार्ला भन्ने मैले सपनामा पनि सोचेको थिईन् । म आश्चर्य र हर्ष दुवै भरिँए । हिजो विहान सधैँझै मैलै कोटेश्वरमा दैनिक पत्रिका किने । रामेश्वरजीको ट्याक्सी तयार रहेछ, मेरो स्थिति पैदलयात्रु वाट सवारीयात्रुमा परिणत हुना साथ मेरो गन्तव्य सिँहदरवार भएको उनलाई जनाँए । तिनकुनेको मोडमा आए पछि उनले नम्रतापुर्वक भने “यदि सरलाई ढिला हुन्न भने उत्तरकुनावाट घुमौ सर ? वच्चाको मोजा किनेको थिँए, उनिहरुलाई मुलसडकमा वोलाएर दिन पाए हुन्थ्यो ।“
रामेश्वरजीसँग भेट भएको तीन वर्प जति भैसकेको छ । मैले उनलाई एक ईमान्दार र फरासिला सवारीचालकको रुपमा पाएको छु । एकदिन मेरा एक नजिकका मित्र र म दुवैजना सगै उनको ट्याक्सीमा कार्यालय गयौ । उनले मिटर खोलेका थिएनन् । मैले दुई सय रुपैया दिँए । रामेश्वरजीले यो त वढी हुन्छ भन्दै मलाई पैसा फिर्ता दिएको देखेर मेरा मित्रले जिव्रो टोकेका थिए । उनले दररेट भन्दा वढी माग गर्दैनन् । आफ्नो उत्तरदायित्व, हक र अधिकारमा सचेत छन् उनी । मैले मोवाईलमा फोन गरेर वोलाए भने उनी जहाँ भए पनि मलाई पहिलो प्राथमिकतामा राख्छन् र सके सम्म मेरो आवश्यकता पुरा गर्छन् । म पनि मलाई सवारी चाहियो भने उनलाईनै पहिलो प्राथमिकतामा राख्छु । उनको ट्याक्सी लिएर म धेरै पटक धुलिखेल र नगरकोट गएको छु । उनि म ट्याक्सीमा चढे पछि मलाई गन्तव्यमा पुराउने कार्यलाई पहिलो प्राथमिकतामा राख्छन् । काठमाण्डौ विश्वविद्यालयको धुलिखेल गन्तव्य वनाएको विद्यार्थी र शिक्षक भरिएको वस समेत दिनभरी वास वस्ने यथार्थता वोकेर पन्ध्र मिनट लगाएर वनेपामा विहान नौ वजे तेल भर्छ । अरु सार्वजनिक वाहनहरुको त कुरै छोडौ । उनी तिनकुनेको पश्चिम उत्तर कुनामा दुई छोरी, एक छोरा र श्रीमतिका साथ लगभग दुई दशक देखि काठमाण्डौमा जिविकोपार्जन गरेर वसेका छन् । कतिपय समयमा मेरो र उनको सँवाद उनका परिवारले सुनेका छन् । मलाई लिएर हिडेका वेला उनको परिवारसग मोवाईलमा कुरा हुँदा वडो गर्वका साथ म सरलाई लिएर जादैछु भन्छन् । उनकै भनाईमा उनका परिवारका सदस्यहरु पनि हाम्रो सम्बन्धलाई आदरका साथ लिन्छन् । उनकी जीवनसँगीनीको ईच्छा वेलुकी ६-७ वजेपछिको समय घरको लागि हुनुपर्छ भन्ने छ तर उनले मुस्कुराउदै पटक पटक भनेका छन् “ तर अफिसको काममा म सरसँग जाँदैछु भने पछि जतिसुकै ढिला गए पनि मिठो खानका साथ उच्च सत्कार पाईन्छ ।“ विगत तिन वर्षमा मैले उनका परिवारका सदस्यहरुलाई भेट्ने मौका पाएको थिईन् । कहिलेकहिँ उतावाट उनीहरुले फोन नउठाएका भने होईनन् ।
मैले हतार नभएको र त्यसरी गए कुनै अन्यथा नहुने जानकारी गराए पछि उनले ट्यक्सी विमानस्थल तर्फ मोडे र छोरालाई सडकमा वोलाए । म पत्रिकाको चाङ्गमा उनको छोरालाई मिल्ने कुनै समाचार या लेख छ कि भनेर हेर्न थाले । अन्नपुर्ण पोस्टको साहसिक पर्यटन सम्बन्धि एक समाचार रहेछ । मैले ठट्टाको भावमा उनको छोरालाई दिँदै ल यो पढेर यसको सार तिम्रो वुवालाई सुनाउनु भने । हामी वानेश्वरमा पुग्दा मैले काठमाण्डौ पोष्टमा जाँचमा कसरी उत्तर दिने भन्ने लेख फेला पारेँ । त्यसमा रातो मसीको चिनो लगाएर रामेश्वरजी लाई दिँदै मैले भने “ ल यो तँपाईको छोरीको लागि, पढेर नेपालीमा अर्थ लगाउ भन्नु होला । ” सिँहदरवारमा ओर्लदै गर्दा पत्रिकाका ति दुई पृष्टलाई उनले जतनले राखेको देखेको थिँए ।
रामेश्वरजीले भावुक मुद्रामा हिजोको प्रँसगका थप रोचक अँश सुनाए । उनकी छोरी सानोमा अलि असामान्य स्वभावकी रहिछ । कतै सुस्त मनस्थिति भएका समूहतिर पो तानिन्छे कि भन्ने चिन्ता रहेछ उनलाई । अक्षर चिनाउन हम्मे हम्मे परेछ । अँग्रेजीको यस चिनाउन त महाभारत नै भएको रहेछ । छोरीले विद्यालय जान थाली तर कस्तो पढ्छे अरु समकालिनहरुको दाँजोमा उसको क्षमताको विकास कस्तो भएको छ भन्ने कुराको अनुभुति गर्ने आरनरुपी अवसरहरु खासै सिर्जना भएका रहेनछन् । उनले थपे “त्यही यस अक्षर चिन्न त्यत्रो सँघर्ष गरेकी छोरीले अँग्रेजीमा लेखेको मेरो लागि काला अक्षर भैसी वरावर भएको लेख शव्द शव्दको अर्थ लगाएर मलाई वुझाई ।”
विगत केही दिन देखि यो प्रसँग मेरो मानसपटलमा घुमीरहेको छ । केही समय अघि मेरा अनन्य मित्र डा तारानिधि भट्टराईले मलाई सार भनेको र पछि काका पँडित भवानीप्रसाद खतिवडाले अर्थ्याईदिएको तलको श्लोकको सँझना भयो ।
आचार्यात पादमादात्ते पादम शिष्य स्वमेदया ।
कालचक्रेन पादमादात्ते पादम स्व व्रम्हचारिभि ।।
अर्थात ज्ञान आर्जन गर्ने विषयका चार कारक हुन : गुरु, विद्यार्थी आँफै, प्रकृया अर्थात समय र सिकेको ज्ञानको व्यवहारिक प्रयोग । सिकाई लाई शतप्रतिशत भार दिने हो भने यी चार कारकले एक एक चौथाई भार वोकेका हुन्छन् । रामेश्वरजीकी छोरीले मैले दिएको अखवार शतप्रतिशत क्षमता प्रयोग गरेर पढेकी हुनुपर्छ जसले उनका नयन रसाउने क्षण सिर्जना गर्यो । उसले पक्कै बुझेकी होली उसका माता पिताले आदरका साथ हेर्ने व्यक्तिले दिएको पाठ्य सामाग्री पढ्न सकि र त्यसको अर्थ वुझाउन सकि भने उ प्रतिको पारिवारिक दृष्टिकोणमा झन सकारात्मक प्रभाव पर्ने छ । त्यसैले उसले त्यो क्षणलाई एक एतिहासिक अवसरको रुपमा लिएको हुनु पर्छ । अर्को तर्फ उसले उसका पिताजीलाई अँग्रेजीको ज्ञान न्युन छ भन्ने तथ्यलाई समेत ह्रदयगँम गरेकी हुनु पर्छ । मैले यहा जोड्न खोजेको सन्दर्भ के हो भने रामेश्वरजीको घरमा सिर्जना भएको त्यो क्षण जस्तै हामीले प्रत्येक वालवालिकाको दिनचर्यामा ज्ञान आर्जन गर्ने त्यस्तै उच्च मुल्य वोकेका क्षणभँगुरहरु सिर्जना गर्नु जरुरी छ । विद्यालयको त कुरै छोडौ विश्वविद्यालयका समेत कतिपय कक्षाकोठामा यस्ता सिकाईका वहुमुल्य रत्न जडित क्षणभँगुरहरु सिर्जना गर्न सके रामेश्जरजीको जस्तै प्रत्येक अभिभावकका आँखा हर्षका आँसुले भरिने थिए भन्ने कुरामा दुई मत नहोला ।
शनिवार, असोज ०२, २०६७

Saturday, September 4, 2010

कानाकी सान र तीज

नेपाली लोक गीत सुन्ने रहर पूरा गर्न म संग लिएका दुइवटा सिडि फिर्ता गर्दै कानाकी सानले सबै महिलाले रातो पहिरनमा सजिएर हर्ष विभोर भएर नाचेको गीतको महत्वको बारेमा मलाई सोधिन् । कानाकी सान र म टोकियो नजिक हायामामा अवस्थित एउटा कार्यालयका सहकर्मी हौ । उनी चालीसको हाराहारीकी अविवाहित जापानी महिला हुन् । जब उनीसंग महिला सम्बन्धी या दाम्पत्य जीवनका कुरा चल्छन् म अप्ठेरोमा परेको महशुस गर्छु । मैले सतर्कता अपनाउदै बोले “ नेपालका अधिकाशं महिलाले दाम्पत्य जीवनको दीर्घायुको कामना गर्दै मनाउने तीज पर्वमा सामूहिक स्वरमा गाइने गीत हो यो ।" मैलै पतिको स्थानमा "दाम्पत्य जीवन" भन्ने शब्द जोडीको चयन वार्तालाप छोट्याउने हिसाबले जानाजानी गरेको थिंए । कान्तिपुरमा केही दिन देखि तीज पर्वका बिषयमा छापिएका लेखहरुमा यो अन्यायपूर्ण र लैँगिक हिसाबमा त ठूलो विभेद छर्लङ्ग पार्ने चाड हो भनेर व्यक्त गरिएका विचारहरुले पुर्वाग्रही भएको मेरो दिमाग कानाकीको प्रतिकृयाले रन्थनियो । हुन त अहिले नेपालमा परिवर्तनको नाममा हाम्रा आस्थाका केन्द्र या धरोहरहरुमा अन्तर्निहित सतही खोटहरु उधिन्ने कामको गति तिब्ररुपले बढेको छ । संसारमा नेपाललाई चिनाउन सक्ने र सवै नेपालीहरु अट्न सक्ने सगरमाथा र लुम्विनीका भाई वहिनीहरु के हुन सक्छन् । हामीले सोच्ने फुर्सद पाएका छैनौ । उनले भनिन् "नेपालमा लैगिक विभेदको खाडल ठूलो भएको भन्ने पो सुनेकी थिएं यो पर्वको कुरा त त्यसको विपरित देखियो ।" उनको अर्को प्रश्न यदि दाम्पत्य जीवनको कल्पनानै नभएकाहरुलाई पनि तीजको महत्व छ त भन्ने थियो । यसलाई अन्तिम प्रश्न बनाउदै दाम्पत्य जीवनको कल्पनानै नगर्ने सवाल हाम्रो मुलधारको सोचको विषय होईन भन्ने सामान्य उत्तर पस्केर म उम्केको थिंए ।
सायद यति मात्र भएको भए पनि यो लेखकको पेशागत दायरा भन्दा पृथक यस बिषयमा आधारात सम्म बसेर यो लेख सिर्जना हुने थिएन् होला । कान्तिपुरमा प्रकाशित तारा भट्टराई र प्रतिमा विश्वास राई का तीज ईतर विचार विश्लेषण र कानाकीको सहज प्रतिकृयाले म अन्यौलको माहौलमा रहेकै बेला कान्तिपुरमा एक समाचार प्रकाशमा आयो "पतिको प्रशिक्षणले स्वर्णसम्म ।" सन्दर्भ थियो बिना खडका लामाको दसौं दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदकको विजय । मेरो मथिगंलमा यो त्रिकोणात्मक विचार मन्थन भई रहेको समयमा केहि बर्ष अगाडीको दांग जिल्लाको सदरमुकाम घोराहि जांदाको एक प्रसंग ताजा भयो । म बसेको होटलको तालिम कक्षको फ्लिप बोर्डमा मेरा आंखा परेका थिए । घरेलु हिसांका उपचारका विधिहरुमात्र लेखिएका थिए त्यहां । मैलै रोकथाम या पुर्व सावधानीका विधिहरु पनि केही छन् की भनि पल्टाई पल्टाई हेरेको थिए ।
कानाकीको आशय मैले के बुझें भने महिलाले मात्र काम बाट एक दिन फुर्सद भएर एक आपसमा रमाउन पाउनु गौरबको कुरा हो । यसरी नाबालक देखि बृद्धा सम्म एक सुत्रमा बांधिएर स्त्री बिशेषलेमात्र रमाईलो गर्ने पर्व अन्य मुलुकमा छन छैनन् अनुसन्धानको विषय हुन सक्छ । जापान जस्ता मुलुकमा यसरी सबैजनालाई एक सुत्रमा बाध्ने कृयाकलापलाई बढो महत्वका साथ हेरिन्छ । किनभने सांस्कृतिक सम्पदा र एकताका प्रतिक मात्र नभएर यीनले देशको अर्थतन्त्र धान्ने ब्यापारमा समेत ठूलो टेवा दिन्छन् । क्रिश्चियन धर्म नमान्ने भएता पनि जापानीहरु क्रिसमसमा रम्नुको कारण हो: अधिक आर्थिक कारोवार हुने एउटा मौकाको सदुपयोग । तीजको कारणले सिर्जना भएका गीतहरु र लाखौ महिलाले यस चाडमा गर्ने खरिदका उदाहरण हेर्न सकिन्छ । यस्तो रमाईलो भेलाको हरेक मान्छेको जीवनको अभिन्न अंग दाम्पत्य जीवनसं‌गको सम्बन्ध भएको कुराले उनिलाई अझ छोएको हुनु पर्छ भन्ने मलाई लाग्यो । किनभने अहिले त कामको व्यस्तता, खस्कदा सामाजिक मान्यताहरु र पश्चिमा जीवनशैलीको प्रभावले दाम्पत्य जीवनको कल्पनानै नगर्ने समूह विकसित मुलुकहरुमा बढ्दो छ ।

उपचारका विधिमात्र जानेका गैर सरकारी संस्थाहरुले घरेलु हिसां सम्मको यात्रा गरी सके पछी उम्कने पुल मात्र खोज्ने भन्दा डुंगा‌मानै सहयात्री भई रहने उपायहरु समेत जानकारी दिनु पर्ने होईन र ? किन महिला अधिकारको वकालत गर्ने अधिकांश पेशाकर्मीहरुकै दाम्पत्य जीवनमा खडेरीग्रस्त छन् ? विचार सम्प्रेसण गर्नेहरुले एकाएक आध भत्किएका उदाहरण समातेर अवधारणा बनाउनु भन्दा तिजको परम्परासंग जोडीएका अवैज्ञानिक पक्षहरु भए तीनलाई कसरी असान्दर्भिक बनाउन सकिन्छ भन्ने शोध गर्न वान्छनिय ठहर्छ । जस्तै एक दिन भरी पानी नपिउने कुरा शरिर विज्ञानको हिसाबमा जायज छ त ? दाम्पत्य जीवनलाई उत्कृष्ट मात्र नबनाई पति पत्नि एक अर्काको पेशागत सगरमाथामा पुग्ने सारथी सम्म बन्न सक्छन् भन्ने उदाहरण बिना खडका लामाको सफलताले हामीलाई पस्केको छ । तीजको गतिविधिले पत्निको त्याग जतिकै योगदान मैलै पनि दाम्पत्य जीवनमा अर्पण गर्नु जरुरी छ भन्ने भावना पतिमा जागृत गर्छ भन्ने रुपमा किन नलिने ?
हायामा, जापान
भदौ २०६३

वाणी विहीन सम्वाद

तिमी होइनौ कसरी भनौ भावनाहरु तिम्रै हुन
पराइ हुन सकछौ कसरी नसोचौ नेपथ्यमा छौ ।

टाढा छौ कसरी भनौ मेरै सामुन्नेमा छौ
नजिक छौ कसरी भनौ अदृश्य छौ ।

तिमी पल्लो कोठामा पनि हुन सक्छौ
छिमेकी घर, अर्को शहर वा दोश्रो महादेश जहाँ पनि हुन सक्छौ ।

म रंगमन्चमा छु तिमी नेपथ्यमा
तर पनि
हामी माया पिरतीका कुरा गछौ
हामी देश दुखेका कुरा गर्छौ
हामी अतितको राम्रोमा रम्छौ
भविष्यका सपना बुन्छौ

तर
यो कस्तो संयोग हो ?
तिमी टाढा भएर पनि नजिक छौ
नजिक भएर पनि टाढा छौ
किनकि
तिमी माउसको एक क्लिक मात्र पर छौ ।


फेव्रुअरी ११, २००२
हायामा, जापान

Friday, July 16, 2010

समारोह सम्बोधन

ओसिन भाषा संस्थान स्थापनाको गौरवमय छ बर्ष पुगेको र हुराई प्रतिष्ठानको शुभारम्भको पुनित अवसरमा श्रावण ०१, २०६७ मा काठमान्डौमा आयोजित समारोहमा डा नवराज खतिवडाले दिएको मन्तव्य

समारोहकी सभाध्याक्षा श्री आकेमी होन्दा पोखरेलज्यू
समारोहका प्रमुख अतिथि श्री युजी कितागावाज्यू
समारोहका विशेष अतिथि पूर्व राजदुत डा विष्णुहरि नेपालज्यू
समारोहकी विशेष अतिथि जापानी राजदुतावासकी तृतिय सचिव श्री नास्तुको हासिमोतोज्यू
समारोहका विशेष अतिथि विश्व भाषा क्याम्पसका जापानी भाषा विभागका प्रमुख श्री कामिमुराज्यू
समारोहका अतिथि श्री ओमबहादुर खड्काज्यू
समारोहका अतिथि श्री गोविन्द धितालज्यू
ओसिन भाषा संस्थान र हुराई प्रतिष्ठानका कर्मचारी मित्रहरु
जापानमा केही समय विताई जीवनका नौला अनुभुति संगालेका तथा जापान जाने सोचका साथ यहा उपस्थित भएका भाई वहिनीहरु
तथा अन्य उपस्थित सम्पूर्ण महिला एवं सज्जनवृन्द !!
धेरै दिनको गर्मि र उकुसमुकस पछि आजभोलि हामीले वर्षाको अनुभुति गर्न पाएका छौ । वर्षाको या सिम सिमे पानीको कुरा गर्दा मलाई जापानको एउटा रोचक घटनाको संस्मरण हुन्छ । आजभन्दा दश वर्ष अघिको कुरा हो । त्यसवेला मेरी श्रीमति, मेरा दुई छोरा छोरी र म जापानको साईतामाको मिसातो शहरमा बस्दथ्यौ । रेलको स्टेशनवाट हाम्रो निवास २० मिनटको दुरीमा थियो । एक दिन स्टेशनवाट निवास जादै गर्दा एक्कासि पानी पर्न शुरु भयो । हामीले छाता वोकेका थिएनौ । हामी चारैजना सिम सिमे पानीमा भिज्दै छिटो छिटो हिड्न थाल्यौ । एकै छिन पछि एउटा मझौला आकारको ट्रक हाम्रो नजिकै आएर रोकियो । अचम्म ट्रकका चालकले हामी तिर केही भन्दै विभिन्न लम्बाईका चारवटा छाता तेर्स्याए । हामी अवाक भयौ । ती सह्रिदयी जापानी मित्रलाई हामी चिनेका थिएनौ । जापानी भाषा अलि अलि मात्र जान्ने भएकाले हामीले उनको गुन फर्काउने राम्रा शब्द पनि व्यक्त गर्न सकेनौ ।
सन्दर्भ दिने कुराको छ ।
हाम्रो एतिहासिक ग्रन्थ उपनिषद भन्छ ।
“श्रद्धेय दियम, अश्रद्धेय दियम, ह्रिय दियम, भिय दियम, श्रिय दियम, संविदा दियम”
अर्थात श्रद्धाले देउ, अश्रद्धा भए पनि देउ, लाजले देउ, भयले देउ, एश्वर्यले देउ अनि प्रेमपुर्वक देउ,
मेरो विश्लेषणमा तपाई जापानीजहरु दिने कुरामा अति नै अघि हुनु हुन्छ । यस अर्थमा जापान संग जोडिएका संस्थाहरु त्यो दिने अनुष्ठानमा अग्र पँक्तिमा पर्नु हुन्छ ।
आज यसरी यो गरिमामय सभामा अतिथिको रुपमा मलाई वोलाएर केही वोल्ने मौका दिनु भएकोमा म अत्यन्तै गौरवान्वित भएको छु । यस्तो पुनित अवसर दिनु भएकोमा म आयोजक वर्गलाई ह्रिदयदेखि नै कृतज्ञता अर्पण गर्न चाहान्छु ।
मैले टोकियो विश्वविद्यालयमा उत्तर विद्यावारिधि अनुसन्धान (Post-doctoral Research) का दुई वर्ष विताएको छु । यस्तै योकोहामा नजिक हायामामा अवस्थित जापानको शिक्षा मन्त्रालय अन्तर्गतको अनुसन्धान केन्द्र आईजिईयसमा एक बर्ष । यो तिन वर्षको अनुभवमा मैले आर्जन गरेका केही अनुभुतिहरु म यँहा पस्कने अनुमति चाहान्छु ।
दश वर्ष अघिकै जापान वसाईको अर्को सन्दर्भ हो यो । टोकियोको एउटा सुपरमार्केटमा घुम्दै गर्दा एक अपरिचित नेपाली मित्र फेला परे । नेपालीको नाता जोडियो । हामी नेपालीहरुको विशिष्ट पक्ष हो यो । हामी आफु आफुमा पराई देख्न सक्दैनौ । ति मित्र र मेरो भलाकुसारी शुरु भयो । उनि नेपाल सरकारले पठाएको एउटा तालिमवाट भागेर गैरकानुनी हिसाबमा ज्यालादारी काम गर्ने मजदुर भएका रहेछन् । तपाईले के पाउनुभयो आठ बर्षमा मैले सोधे । उनले के भने होला । तपाईहरु अनुमान गर्न सक्नु हुन्छ । हो उनले धनराशी नै भने । फेरी मैले अर्को प्रश्न राखे । तपाई तालिम सकेर नेपाल फर्केको भए के पाउनुहुन्थ्यो त । म फेरी यो सभामा प्रश्न राख्न चाहान्छु । ति मित्रले के जवाफ दिए होला भनेर । उनले भने ‘पारिवार संग बस्दाको आनन्द र सामाजिक प्रतिष्ठा” र थपे “वास्तवमा भन्ने हो भने वाटो विराएर जंगल पसी बर्षौ कन्दमुल खाएर बाँचेको मान्छेको जस्तो रुप भएको छ मेरो” ।
मेरो व्यक्तिगत दृष्टिकोणमा जापान जानु ठूलो कुरा होईन् । जापानी भाषा सिक्नु पनि ठूलो कुरा होईन् । महत्वपूर्ण कुरा तपाई जीवनमा के गर्न चाहानु हुन्छ भन्ने हो । लगभग बीस बर्ष अघि म उमेरको हिसाबमा तपाईहरुको स्थानमा थिँए । प्रश्न अवको बीस बर्ष पछि तपाईहरु कहा पुग्ने भन्ने हो ।
जापानजाने सोचमा हुनुहुन्छ भने त्यहाँ वाट के कोसेली लिएर फर्कने भन्ने कुरा पनि सोच्ने सल्लाहा म दिन्छु । तपाईको गाँउ, टोल र समाजका लागि जापानवाट ल्याउनु पर्ने अमुल्य निधिहरु थुप्रै छन् । त्यहाँका मानिसहरुको कर्म प्रतिको श्रद्धा, विज्ञान र प्रविधिको प्रयोगका नमुनाहरु, सकारात्मक सोचका डालीहरु , आफ्ना समिपमा रहेका व्यक्तिहरु प्रतिको श्रद्धा र सम्मान जापानवाट ल्याउने सूचि पर्ने मुख्य कोसेली यीनै हुन् । यस्तै प्राज्ञिक दक्षता, पेशागत शीप र अनुभव र योग्यताका प्रमाणपत्रहरु सूचिका थप बुँदाहरु हुन् ।
उपस्थित महिला तथा सज्जनवृन्द !
आजको मेरो यो सम्बोधनलाई मैले युवा पिढीकै वृति विकासको सेरोफेरोमा केन्द्रित गरेको छु । युवाहरुमा रहेको एउटा प्रमुख चुनौति स्वचालित घेराबन्दी हो । स्वचालित घेराबन्दी अर्थात locked in effect को एउटा उदाहरण म यस सभामा निवेदन गर्न चाहान्छु ।
आजभन्दा १४० वर्ष अघिको टाईपराईटरको आविस्कारको कुरा हो । हामी मध्ये केहीलाई त यसको अनुभव पक्कै होला । टाईपराईटर एउटा विजुली नचाहिने हातैले चलाउन मिल्ने यन्त्र हो र यसमा कम्प्युटरमा जस्तै कि बोर्ड हुन्छ । कि बोर्डमा औलाले थिचेपछि अक्षर कुदिएको एउटा सानो मुग्रो चल्छ । त्यसले रिबनमाथी अड्काईएको कागतमा धक्का दिन्छ र अक्षर छापिन्छ । बजारमा आएको नया यो मेशिनमा एउटा कमजोरी देखियो । टाईपिष्टहरु यति छरिता भएकी टाईप गर्दा अक्षरका मुग्राहरुको झडप हुन शुरु भयो । झडपले गर्दा मुग्राहरु सजिलै फिर्ता भएनन । लेखाईको गति मन्द भयो । समस्या सम्बन्धित ईन्जिनियर कहाँ आयो । ईन्जिनियरको निद्रामा विराम लाग्यो । उनी गहन अनुसन्धानमा लागे । उनले के पत्ता लगाए भने मान्छेका सबै औलाहरु उतिकै चलाख हुदैनन् र शब्दहरुमा पनि सबै अक्षरहरुको दोहोरिने क्रम एउटै हुदैन् । यो सिद्धान्तको सहारामा उनले QWERTY KEY BOARD को नमुना तयार गरे । QWERTY ढाँचामा चोर औला जस्ता फूर्तिला औलाहरुले कम प्रयोग हुने अक्षरहरु र कान्छी र माझी औला जस्ता तुलनात्मक हिसाबमा ढिलो चल्ने औलाहरुले बढि प्रयोग हुने अक्षरहरु जस्तै a, e, I थिच्ने प्रावधान मिलाईएको हुन्छ । यो सिर्जना पछि अघिको समस्या समाधान भयो । टाईपिस्टहरुले मुग्राको झडपको सामना गर्नु परेन् ।
नदिहरुमा धेरै पानी बग्यो । जमानाले पल्टा खायो । कम्प्युटरको आविस्कार भयो । त्यसलाई पनि कि बोर्ड चाहियो । स्मरण रहोस कम्प्युटर एउटा विद्युतिय उपकरण हो । यसमा मुग्राहरुको आवश्यकता पर्दैन् । औला जतिसुकै चाडो चलाए पनि केही फरक पर्दैन् । फेरी कम्प्युटरमा मुसो अर्थात माउस चलाउनु पर्छ तिनै दुई हातले । केरमेट गर्ने व्याक स्पेस कि छ जुन टाईपराईटरमा थिएन् । यति हुदाँ हुदै पनि तपाई म अनि वहा वहा अर्थात हामी सबै qwerty key board नै प्रयोग गर्छौ अर्थात हामी सबै प्रविधिको स्वचालित घेराबन्दी भित्र कैद छौ । यसको प्रतिक स्वरुप युवा जमात पनि लहै लहैको घेराबन्दीमा कैद भएको छ । विना तर्क भिडको आकार बढाउँछ । विना विचार र लक्ष्यका साथ जुलुसमा रमाउँछ ।
सवाल मुलबाटो हिड्ने सहजताको हो । म नेपालको दुरदराजको प्रतिनिधित्व गर्दछु । लेक बेसीको यात्राको जानकारी राख्छु । बेसी वट लेक जाने मुलवाटो हिड्ने भन्दा अलि बढि जोखिम मोलेर गोरेटो हिड्ने व्यक्ति गन्तव्यमा चाडो पुग्छ । मुलवाटो या गोरेटो हिड्नेको कार्य सूचिमा नयाँ वाटो पत्ता लगाउने गतिविधि पर्न सक्दैन् । जोखिम नमोली तपाई अरु भन्दा फरक हुन सक्नु हुन्न । पेन्सिल तिखार्दा शरिर नतासी नयाँ दस्तावेज सिर्जना गर्ने पेन्सिलको टुँडो निस्कदैन् । तपाई अरुको लहै लहैमा मात्र सिमित हुनु भयो भने अरुले गरेको जति पनि प्रगति गर्न नसक्ने संभावना प्रवल रहन्छ ।
तपाईहरुको यो यात्रामा साथ दिनकालागि समर्पित दुई वटा संस्था मध्ये ओसिन भाषा संस्थान स्थापनाको गौरवमय छ बर्ष पुगेको यस घडिमा म ओसिन भाषा संस्थाको उत्तरोत्तर प्रगति र यसकी छ वर्ष कान्छी वहिनी हुराई प्रतिष्ठानको दीर्घ जीवनको मंगलमय कामना गर्दछु । दिवंगत पर्शुराम पोखरेलको सपना साकार पार्न आफ्नो पृष्ठभूमिलाई समेत तिलान्जलि दिएर नेपालको असल बुहारीको रुपमा कर्मक्षेत्रमा कटिबद्ध आकेमी होन्दा पोखरेकल सामाको उज्जवल भविष्यको लागि ईश्वरसंग प्रार्थाना गर्दछु ।
र अन्त्यमा यहाँ उपस्थित सम्पूर्ण भाई बहिनीहरुको वृतिविकास यात्रामा अहिले सम्म नहिडिएको सर्वोत्कृष्ट पथ प्राप्त होस भन्दै मेरा यी दुई शब्दलाई विश्राम दिन चाहान्छु ।
…………………………………………अस्तु …………………………………..

Friday, April 16, 2010

के मैले भुइँ चट्टान छोएँ त ?

पाठकलाई सुझाव
(यदि तपाई चालिस वर्षभन्दा कम उमेरको हुनु हुन्छ, जीवनयात्रामा सन्तुष्ट हुनु हुन्छ र आफ्नो कर्तव्यपथमा अविचलित हुनुहु्न्छ भने कृपया यो लेख अहिले नपढ्नु होला ।)


अन्तत पारी पट्टिको उकालो शीखरको गन्तव्यको लक्ष लिईएको यात्रामा अहिले वारीको ओरालो हिड्दै गरेको व्यक्तिले वर्तमानको उस्को उल्टो यात्रालाई कसरि लेला र फेदिमा पुगे पछि के अनुभुति गर्ला ?

केहि समय अघि लागु पदार्थको दुर्वस्यनमा फसेको एक आफन्तलाई मैले भनेको थिए “तिमीले तिम्रो यो दुर्वस्यनी जीवनको भुँई चट्टानमा पुगेको अनुभुति गर्न सक्यौ भने तिमी जीवनको अँध्यारो ओरालो वाट उज्यालो उकालोमा पाईला राखिसकेका हुनेछौ ।“

किनभने भुँई चट्टान भनेको सबैभन्दा होचो भूगोल हो । सबैभन्दा गहिरो भू-भाग हो । ओरालो यात्रामा हामी हाम्रो उचाई घटाईरहेका हुन्छौ भने उकालोमा उचाई वढाईरहेका । तर फेदीको भुँई चट्टानमा उभिंदा हामी सापेक्षित शुन्य उचाईको धरातलमा टेकिरहेका हुन्छौ ।

के मैले शुन्य उचाईको धरातल छोएँ त?

जीवन गोरेटोमा पाईला चालिरहेको कुनै एउटा यात्रीले जब थाहा पाँउछ उसका अगाडिका प्रत्येक पलहरुले उ हिडेको धरातलको उचाई घटाईरहेका छन् पक्कै पनि यदि उ सचेत छ भने उसले असाध्य पिडाको अनुभूति गर्दछ । विरामीको आशँकामा चिकित्सककहाँ पुगेको एक व्यक्तिलाई थाहा हुन्छ कुनै असाध्य रोगका जीवाणुले उस्को जीवन यात्राको धरातलको उचाई घटाई रहेछन् । उस्को पिडाबोध उसैलेमात्र बुझ्न सक्द्छ । समस्या त्यसवेला अझ गहन हुन्छ जव कसैलाई ओरालोको यात्राको मात्र जानकारी हुन्छ न त उसलाई फेदीको समथर धरातल या पारीको उकालोको पुर्वानुमान । सामान्य ज्वरो आएको व्यक्तिलाई चिकित्सकले कुनै असाध्य रोगको पूर्वानुमान गरेको क्षण ओरालो यात्राको संकेत हुन सक्छ । त्यस व्यक्तिले त्यो वाटो ठाडो भीरमा परिणत भएको अनुभूति गर्दछ यदि चिकित्सकले उसलाई ज्वरोको कारण क्यान्सर हो भन्ने जनाउ दियो भने ।

मेरो स्थिति पनि शुरुमा शुन्य धरातलको जानकारी नभएको ओरालोमा यात्रा गरिरहेको यात्रीको जस्तो भएको अनुभूति गरेंको थिए मैले । २०५० साल तिर कास्की जिल्लामा खानेपानीको मूल हेर्ने क्रममा खुट्टा चिप्लिएर म ठाडो भीरमा केही मिटर खसेको थिँए । भ्रमण समूहका एक मित्रले देउताकै रुपमा प्रकट भएर मलाई बचाएका थिए । तर मेरो दिनचर्या र मानसिक स्थितिको यो नौलो परिवेशको विषय कुनै दुर्घटनाको कारण भीरमा खसिरहेको व्यक्तिको नभएर ओरालोमा पाईला चलाईरहेको यात्रुको जस्तो हो भनेर महशुस गर्न मलाई केही महिना लागेको थियो । मलाई शारिरिक रुपमा केही भएको थिएन् । मेरो भोजन, निद्रा र मैथुन चाहानामा कुनै फरक भएको अनुभूति भएको थिएन् । तर म जीवनयात्रामा अहिले सम्म नभोगिएको विकराल असामान्य परिवेशको शिकार भएको थिएँ । मेरो त्यो पीडादायी यात्राको क्षितिजमा भुँई चट्टान पनि छ त्यसलाई यो ओरालोको यथास्थितिको अन्त्यमा भेट्न सकिन्छ भन्ने यथार्थता बोध हुन मलाई लगभग ६ महिना लागेको थियो ।

मैले अनुभूति गरेका मानसिक तनाव सम्बन्धि यी अनुभवहरु पस्कदा पक्कै पनि मेरो जस्तो समस्या सगँ जुझिरहेका अन्य दौतरीहरु र चिरपरिचित या अपरिचित जो कोही व्यक्तिहरुलाई पनि फाईदा पुग्ने देखेको छु । किनभने यो समस्याको प्रमुख चुनौति भनेको यसको वारेमा आफ्नो साथीभाई या नातासम्बन्धीको मान्छे त कुरै छोडौ अत्यन्त नजिकको जीवनसाथी या परिवारको सदस्यलाई समेत खुलेर परामर्श लिन नसकिनु हो ।

यस्तै हाम्रो समाजमा यस विषयमा विज्ञको परामर्श लिने प्रणाली पनि विकसित नभएकोले मैले आफूले भोगेको यथार्थतालाई जस्ताको तस्तै प्रस्तुत गर्ने जमर्को गरेको छु । तलका हरफहरु मैले ओरालो यात्रामानै सिर्जेका हुनाले मैले वर्तमान कालकै प्रयोग गरेको छु ।

सामान्य अवस्थामा हुँदा मैले सहजै निर्णय लिन सक्ने उस्तै प्रकृतिको र मापको समस्या आज भोलि कैयौँ गुणा विकराल भएर मेरो सामु उभिन्छ । म जसो तसो तनावपूर्ण स्थितिमानै भए पनि म सँग भएको सम्पूर्ण उर्जा खर्चेर निर्णय लिन्छु । तर निर्णय लिई सके पछि म झन तनावमा पर्छु कारण निर्णयका विकल्पहरु तिर मेरो ध्यान आकर्षित हुन्छ । म सोच्दछु मैले लिएको निर्णय यसका विकल्पको तुलनामा कमजोर छ होचो छ । यसले अपेक्षित नतिजा ल्याउन सक्दैन् । अनि जति जति म यस विषयमा सोच्दै जान्छु म थप तनाव र नकारात्मक सोच को दलदलमा फस्दै जान्छु । अनि यसले मलाई म आफु अतिनै कठिन वाटो वाटो वाट हिंडिरहेको भान गराउँछ । जीन्दगीकै अहिलेसम्मको सबैभन्दा जटिल परिवेशवाट गुज्रिरहेको अनुभुति हुन्छ ।

कतिपय अवस्थामा म अनिर्णयको बन्दि हुन्छु । परिवारका सदस्यहरुले ल्याएका स साना प्रस्तावहरुमा समेत म निर्णय लिन त परै जावोस राय समेत दिन सक्दिन् । म सामान्य उत्तर "सोच्नु पर्छ या विचार गर्दैछु" भन्ने जोखिम रहित अनुत्पादनमूलक जवाफ पस्केर निर्णय लिनु पर्ने विषयलाई पर सार्छु । म मेरा सम्बन्धका सामान्य परिस्थितिहरुमा पनि दिशा या धार परिवर्तन गर्नसक्ने क्षमता राख्ने कुईनेटाहरु या घुम्तिहरुको परिकल्पना गर्न थाल्छु । सामान्य मान्छेले सामान्य अवस्थामा गर्ने भन्दा या आवश्यकता भन्दा गहन विश्लेषणमा म डुब्छु । उदाहरणको लागि हवाईयात्रामा रहेको मेरो नजिकको आफन्तको बारेमा मेरो मानसपटलमा केही विचार सिर्जना भयो भने म सम्भावना अति न्युन भएको हवाई दुर्घटनाको विभत्स दृष्यको परिकल्पनामा शक्ति खर्चन थाल्छु अनि विस्तारै चिन्ता र संवेगको दुनियामा हराउन थाल्छु ।

म दैनिक गतिविधिहरुमा आई पर्ने स साना गर्ने जोखिमहरुसंग डराउने गर्छु । मलाई मैले गरेका कार्यहरुमा विश्वास लाग्दैन् । कार्यालय वन्द गरिसकेर कार्यालय परिसरको गेटमा पुगे पछि पनि म कार्यालयमा पुन: फर्केर पानी तताउने जारको प्लग निकालेको छैन की या हिटरको स्वीच वन्द गर्न विर्सेको छ की भनेर जाँच गर्छु । कार्यालयको ताला लगाउन विर्सेकी भनेर त म एक दुई पटक घर नजिकै पुगेको ट्याक्सीलाई फर्काएर पुन: कार्यालय फर्केको पनि छु । तर गेटमा ताला लागेकै हुन्छ स्वीच वन्द गरेकै हुन्छ । मेरो आफै प्रतिको आफ्नो विश्वासनै धरमरमा परेको लाग्छ मलाई ।

मेरा विचारहरुमा शक्तिहिनताको अनुभुति हुन्छ । यसकारण म ती विचारहरुलाई कार्यान्वयन गर्ने कुरामा जोखिम नै जोखिम देख्छु । म वाटामा काँडै काँडा मात्र देख्छु । मेरो विचारले लगाएको जुत्ता म एकदमै जीर्ण देख्छु। यस्तो अवस्थामा मेरो विचार यात्रामा अघि बढेको कल्पना मेरो दिमागमा आउँछ । म देख्छु काँडाले घोचिएर मेरो विचार घाईते हुन्छ रगताम्य हुन्छ । र म अन्त्यमा ती विचारलाई कार्यान्वयन नगर्ने निर्णयमा पुग्छु ।

म हरेक फोनका घण्टिहरुवाट डराउँछु । मलाई फोनको वार्ताले कुनै नयाँ काम या मेरो परिवेशमा कुनै जटिलता थप्छ की भन्ने डर लाग्छ । म मा त्यो नयाँ काम या सूचनाले सिर्जना गर्ने अवसर प्रति कुनै उत्साह या उमंग उमार्दैन । त्यसले ममा बाँकी भएको उर्जा पनि क्षय गरेको अनुभुति हुन्छ मलाई । यसकारण म एक दुई घण्टीमा फोन उठाउदिन् । कहि्ले कहि त रिंग सुन्दा सुन्दै पनि म त्यसलाई मिस कलमा परिणत गरिदिन्छु । परामर्शदाता सम्बन्धित कैयन ईमेलहरुलाई मैले पढ्न थाँती राखेको छु । मलाई त्यो व्यक्ति विशेषको ईमेल प्रति वितृष्णा जागेर आउँछ । म त्यो ईमेलको नेपथ्यमा म थप संलग्न हुनु पर्ने कामको रास या वन्धनका फलामे साङ्गलाहरु देख्छु । यसकारण म त्यो थप जटिलता विनाको वर्तमानलाई नै सके सम्म लम्याउने उपक्रममा लाग्छु । उदेकलाग्दो कुरा त के छ भने ती ईमेललाई म विर्सन पनि सक्दिन् । मेरो अन्त:स्करणमा तिनले स्थान जमाएकै हुन्छन् । मेरो कर्तव्य या पेशाधर्म तिनलाई पढेर जवाफ लेख्ने हो या तिनमा अन्तरनिहित निर्देशनलाई पालना गर्ने हो भन्ने दायित्ववोधले पनि मलाई सताउँछ । अनि म चिन्ता र ईमेल नपढेको पश्चातापको पोखरीमा विना चाल डुब्दै जान्छु ।

काम सम्बन्धिको मेरो अनुभव झनै अपत्यारिलो छ । कुनै पनि नयाँ कामको थालनी गर्ननै सकेसम्म मन लाग्दैन् । लागे पनि त्यसको मेलो सार्न महाभारत हुन्छ । कुनै समयमा छोटो समयमा सकिने सानो तिल जत्रो काम पनि पहाड बनेर उभिन्छ । जेनतेन कामका अंशहरु छिचोल्दै अघि बढे पछि अनौठौ अनुभुति त्यसवेला हुन्छ जव बाकी रहेको मानौ १० प्रतिशत काम पुन: शतप्रतिशतको रुप लिएर पहाडको रुपमा अघिल्तिर तेर्सिन्छ । एउटा आयोजनाको प्रतिवेदनलाई अन्तिम रुप दिए पछिका प्रिन्ट गर्ने र वाईन्डिंग गर्ने कामहरु यसरीनै पहाड बनेर तेर्सिएका क्षणहरु अहिले झलझली आँखा अघि नाचेका छन् ।

यसरीनै ओरालोमा बहदै गर्दा म एकदिन गीताको अध्याय दुईको निम्न श्र्लोकमा अडिन्छु ।

कार्पण्यदोषोपहत स्वभाव:
पृच्छामि त्वां धर्म समूंढचेता ।।

दुई सेनाको वीचमा भगवान कृष्णसंग सवांदमा लिन भएका अर्जुनले व्यक्त गरेका शब्दहरु हुन ती । मलाई 'कार्पण्य दोष' ले आकर्षण गर्छ । म कार्पण्यको आशय बुझ्छु । अर्जुनले आफु यो दोषले पिडितभएकोले आफ्नो कर्तव्यपथमा अघि वढ्न सामर्थ्य आफूसंग नभएको यथार्थ भगवानसामु राखेका छन् । उनको उर्जालाई कार्पण्यले थिचेको हुन्छ, उनको शरीर शिथिल हुन्छ , छाला पोलेको अनुभुति हुन्छ, शरिर काम्न लाग्छ । उनि उभिन पनि नसक्ने स्थितिमा पुग्छन् । मेरो समस्याको चुरो म कार्पण्यमा खोज्न थाल्छु । मानौ पिप नै पिप भरिएको अधिक जलन भईरहेको पिलोमा सुईरो रोपेर केही् आनन्दको अनुभुति भएझै हुन्छ मलाई । मलाई पनि कार्पण्य दोषले घेरेको अनुभुति हुन्छ मलाई । मलाई लाग्छ मेरो यथास्थितिको अव अन्त्य हुन्छ । म कालो वादलमा चाँदीको घेरा देख्छु । ओरालो यात्रामा म टक्क अडिन्छु । मलाई अर्जुनस्थितिमा भगवानको साथ पाएझै लाग्छ । म ओरालोको आयुको मापन गर्ने स्थितिमा हुन्छु । मेरो दृष्टिरेखाको क्षितिजमा भुइँ चट्टान देख्छु । मलाई पारीको धमिलो उकालो वाटो देखे जस्तो अनुभुति हुन्छ । तर यो ओरालो यात्रामा समय र धरातलको संयोजनलाई छोड्न असम्भव छ । म आकाशमा उड्न सक्तिन् । तर यो नौलो अनुभूतिले ममा केही उर्जा थप्छ । मलाई लाग्छ अब मेरो कष्टदायी यात्राको अन्त्य हुदैछ ।

पहिलो खेस्रा - जुलाई २८, २००९
दोस्रो खेस्रा – जनवरी ०१, २०१०
तेस्रो खेस्रा - अप्रिल १४, २०१०
अन्तिम रुप - अप्रिल १५, २०१०

Saturday, February 13, 2010

मेरो सरस्वती पूजा

माघ ०६ गते अर्थात जनवरी २० को विहान म मिर्मिरेमा नै उठें । 

सरस्वती पूजा पनि भएको र दिनभरी नै व्यस्त रहनु पर्ने भएको हुनाले समयलाई योजनाबद्ध तरिकाले व्यवस्थापन गर्नु पर्नै चुनौति मेरो सामु लमतन्न परेको थियो । आज भारतका प्रख्यात योग गुरु रामदेवले नेपालीहरुका लागि हरिद्वारमा आयोजना गरेको योग शिविरको अन्तिम दिन हेर्ने मेरो अभिलाषा लाई तुषारापात गरिदिएको थियो लोडसेडिंगले । जम्मा १५ मिनट भए पनि समापनको दिनको आरम्भको सम्बोधन कार्यक्रम हेर्न पाएकोमा म सरस्वती माता प्रति कृतज्ञ भएको थिए । 

मेरो नित्य गर्ने योग सकेर जे त पर्ला भनि चिसो पानीले नै नुहाउने विचार गरें । तर बाथरुमको सावर वनाउन दिएको हुनाले बैकल्पिक धारोको टुटी वाट वाल्टीमा पानी संकलन गरी मगले नुहाउनु पर्ने भयो । वैकल्पिक धारोको पानी सिधै टवको एक छेउमा मात्र खस्ने गरी त्रुटिपूर्ण तरिकाले वनाईएको हुनाले वाल्टी भुईँमा राख्दा पानी पाखा जाने भयो । अगाडि तेर्सिएको समस्यालाई काटेको सानो टुक्रा पाईपले समाधान गर्न सकेन् । केही दिन अगाडि हेरेको अमिर खानको थ्रि ईडियट चलचित्र सम्झदै परि्स्थतिजन्य समाधान खोज्ने तिर मेरो दिमाग लागिसकेको थियो । प्लास्टिकको एउटा झोलाले मेरो समस्याको अल्पकालिन समाधान गरिदियो । 

पूजा कोठामा गएर सरस्वतीको आराधाना गरे । आज मेरो साथ दिन आईपुग्ने सरस्वती यन्त्रलाई यही ल्याएर राख्छु भन्दै पुस्तकमा उपलव्ध केही र आफैलाई कण्ठ आउने दुईवटा मन्त्रह्ररु जपें । त्यसपछि म पुत्र सिरिन संग मेरो कार्यालयको नजिक स्थापित सरस्वतीको मन्दिर गएं । 

सवैभन्दा पहिला मैले मन्दिरलाई दाहिने परिक्रमा गर्ने सोचका साथ मन्दिर प्रांगणको बाह्य वृतमा पाईला राख्दा राख्दै बाँयातिर रहेको विशाल घण्टीमा मेरो ध्यान गयो । दर्शनार्थीको लामलाई बीचैमा छिचोलेर मैले घण्टि तिर हात के बढाएको थिए लाममा उभिएकी रातो सारीमा सजिएकी म भन्दा केही बर्ष पाकी देखिने महिलाले पनि घण्टिमा हात बढाईन् । हाम्रा हातहरु एकै पटक जस्तो अघि वढे तर मैले उनको पालो मिचेको जस्तो अनुभुति गरें । यो अनुभुतिको कारण मैले उनको अनुहार हेरें । तिनले पनि मलाई हेरिन । हामी हेराहेरमा अलमलियौ । घण्टि बजाउने अबसर अरुले नै लिए । मलाई केही हतार थिएन् । केही क्षण पछि घण्टि खालि भयो । मेरो पालो थियो । ती महिलाको ध्यान घण्टिमा भन्दा अन्यत्रै भएको मैले लख काटें । अब म एक्लो थिए । घण्टि पुरै मेरो नियन्त्रणमा थियो । मैले ती महिलालाई यो पालो तपाईको हो भनेर संकेत गरें । उनले अति नै भव्य मुस्कानले मेरो संकेतलाई प्रत्युत्तर पस्कदै घण्टि बजाईन् । मैले सरस्वती देवीको प्रांगणमा एक अपरिचित व्यक्तिलाई उनले चाहेको केही दिन सकें । सारै हर्षित भएं । मैले उनलाई मेरो आफ्नो केही दिईन् । उनको मसंग जे थियो त्यहि दिएं । मलाई लाग्यो आजको पावन तिथिमा दिनको शुरुवात अति नै विशिष्ट रुपमा भएको छ ।

धोविघाट र झम्सिखेलको साँधमा वनाईएको यो आस्थाको केन्द्रमा शारदादेवीका दुई मूर्तिहरु प्रतिस्थापित गरिएका छन् । मैले ठूली शारदाको चरण स्पर्श गर्दै एक वालिकासंग रमाईलो पस्केको थिंए । "विद्यादेवी र तिमी को अग्लो ? " जवाफमा तिनले अविस्मरणिय मुस्कान फर्काएकी थिईन् । मुस्कानको प्रत्युत्तरमा मैले भने" तिमी पनि भविष्यमा यस्तै अग्ली हुन्छ्यौ ? " नेपालमा रमाउनुको आनन्द यसैमा छ । तपाई जुन सुकै समयमा जहाँ पनि रमाईलो वाँड्न सक्नु हुन्छ र यसले जीवनलाई घनिभूत वनाउन सक्नु हुन्छ । अहिले सम्म मैले सार्वजिक स्थल या सवारी साधनमा अरुको म संग थाँति भएको रमाईलो बाँड्न पाएको छु । म संग कुरा गर्ने अपरिचितले असुरक्षित महशुस गरेको सम्झना म संग छैन् । हामी नेपालीको लागि यसरी खुलेर एक अर्कामा हराउन सक्ने स्थल विश्वमा अन्यत्र कही छैन् । यो हाम्रा पुर्खाले हामीलाई सुम्पेर अहिले सम्म सुरक्षित रहेको हामी सवै रमाउन सक्ने अमूल्य निधि होईन त ?

मन्दिर परिसरमा अर्को पनि एउटा अविस्मरणिय क्षण सिर्जना भयो । मन्त्र लेखिएको सुनको जलप लागेको सरस्वति यन्त्र सधैको लागि म संग हुने क्षण थियो त्यो । मैले एउटा यन्त्रको माग राखें प्रसाद पनि वितरण गरिरहेका भाईहरु संग । सिरिन पनि नजिकै थियो । पहिले देखि योजना नगरेको एउटा विचार मनमा उव्जियो र भने-

 "तिमी पनि एउटा यन्त्र लिन्छौ त ?" 

 उसले सकारात्मक भाव जनायो । यन्त्र वापत लिईने सहयोगको रकम तिर्न के लागेको थिएं, उसले भन्यो  

"म यो अस्तिको एक हजारवाट किन्छु । "

केही समय अघि एउटा प्रवचन दिन जान तयार हुदै गर्दा विचार गरिएर छानिएको टाई र जुत्ता लगाउदै मैले उसलाई भनेको सम्झे । 

 "मेरो प्रवचनलाई प्रभावकारी बनाउन मेरो व्यक्तित्वमा यिनले पनि केही मूल्य थप गर्छन् ।"  

"त्यसो भए हिड्ने वेलामा दक्षिणा दियो भने साईत पर्छ भन्छन् तपाईसंग अहिले त्यो अवसर " उसले ठट्टामा भनेको थियो । 

मैले पनि त्यो अवसरलाई थप उत्पादनमूलक वनाउने लक्ष्यका साथ उसलाई एक हजारको नोट तेर्स्याउदै भनेको थिंए- 

"म तिम्रो तर्कवाट प्रभावित भएं तर मैले नसोचेको कुनै गहकिलो काम गर्नु ।"  

उ आश्चर्यचकित भएको थियो ।

ओहो ! यो त मैले नसोचेको काम भयो । म हर्षले विभोर भंए । मलाई पुत्र सुखको एक अर्को क्षण भेटेको अनुभुति भयो । केही समय अघि मन्दिर आउदै गर्दा मैले ट्याक्सी चालक माईल्दाईलाई ठट्यौलि पारामा भनेको थिए । 
  
"असल पुत्र हुन सजिलो कि असल पिता ? "

रामदेव गुरुले पटक पटक भन्ने गरेको वाक्य "असल शिष्य भन्दा असल आचार्य बन्न कठिन छ" यहां स्मरणिय छ । असल पुत्र या शिष्य हुने अभिभारा आफ्नो हातमा हुन्छ तर उल्लेखित अन्य दुई असल पात्र बन्ने या नवन्ने भन्ने अरुको हातमा । अरुको मन जित्न विवेक, विचार र व्यवहारले मात्र सकिन्छ जुन सहज हूदैन । मन नजिति न त असल पिता वन्न सकिन्छ न त असल आचार्य नै ।

भगवतीको दर्शन पश्चात म समीपको मेरो कार्यालयमा गएं र केही काम गरें । दिउँसो म सम्मिलित हुनु पर्ने तीन वटा प्रमुख गतिविधि थिए । पहिलो थियो कोटेश्वर महादेवस्थानको एउटा ब्रतबन्धको कार्यक्रम, दोस्रो दुई बजे शिक्षा मन्त्रालयको एउटा बैठक र अन्तिम छोरीको विद्यालयको सांस्कृतिक कार्यक्रमको अवलोकन । संयोग नै हुनु पर्छ कुनै न कुनै रुपमा यी सबै गतिविधिहरु सरस्वतीको आशिर्वाद आवश्यक पर्ने समूहमा भएको मैले वोध गरेको थिएं । 

सरस्वती पूजाको भोलिपल्ट भक्तपुर बहुमुखी क्याम्पसमा व्यक्तित्व विकास र नेतृत्व शीर्षकमा दिनु पर्ने प्रवचनको लागि आवश्यक प्रोजेक्टर र स्पीकर बोकेर कार्यालय नजिक ट्याक्सी खोज्दा मध्यान्हको १२ बजिसकेको थियो । ब्रतबन्धमा सहभागी भएर डा. भट्टराईलाई १ बजे भेटी पुतलिसडकवाट शिक्षा मन्त्रालयको वैठकमा आवश्यक पर्ने सिडी समेत संकलन गर्नु पर्ने भएकोले मेरो मन आत्तिई सकेको थियो सबै काम समयमा भ्याउन सकिन्नकि भनेर । 

भेटिएको ट्याक्सीमा केही नभनी म सामान राखेर बसें । चालकले सीटमा बसी सकेपछी मोलमोलाई गर्न थाल्यो मैले मिटरमा मात्र जाने भने । उसले अडान छोडेन । मैले त्यो सवारी छोडे ।  
अर्को तिर ध्यान केन्द्रित गरे । दोस्रोले मान्यो । मैले ट्याक्सी यात्राको समयको पुरा सदुपयोग गरें मोवाईलको मदतले । घरमा सम्पर्क गरी छोरीको कार्यक्रमको लागि आवश्यक भिडियो क्यामेरा लिएर घर नजिकैको मोडमा आईराख्न अराए । सोचे अनुसारको काम भयो । ट्याक्सी वाट नओर्लिकन नै प्रोजेक्टर र स्पीकर को ठाँउ भिडियो क्यामेराले लिई सकेको थियो । 

महादेवस्थानमा पुगेर ब्रतबन्ध स्थल खोज्न थाले । लौ ! यो त सोच्दै नसोचेको कुरा भयो । जता हेरे पनि जग्गे मात्रै । श्रीपन्चमीको साईतमा विवाह बन्धनमा बाँधिने र ब्रतबन्ध दीक्षीत हुनेहरुको भीड भाड मात्रै । मलाई त आफू सम्मिलित हुने जग्गे पत्ता लगाउन हम्मे हम्मे पर्यो । यस्तो वेलामा हो मन्दिर परिसरमा आसिन सामाजिक संघ सस्था या प्रहरीले मदत पुराउने । मैले उपस्थित एक प्रहरीलाई सोधे पनि । उनी त म भन्दा पनि अनभिज्ञ पो रहेछन् । 

सुरक्षा र सूचना एक अर्का संग परिपुरक छन् । सुरक्षाको अनुभुति गराउने पहिलो विषयवस्तु भनेको सूचना नै हो । तर त्यहां पहिलो थियो दोस्रो थिएन् । केही समय अघि मैले कसै संग व्यक्त गरेको थिए "हाम्रो समस्या भनेको शीशा नहुनुको होईन, थुप्रिएको कसिगंर कसरी बढार्ने भन्ने मात्र हो ।" त्यहि कुराको स्मरण भयो ।

म एउटा समूह वाट अर्को समूहमा जादै परिचितहरुको अनुहार खोज्न थाले । लगभग १० मिनटको मिहिनेत पछी सामान्य हुने स्थिति भयो मेरो । तर अचम्म वटुकहरु त तीन जना पो रहेछन् । म संग दुईवटा मात्र खाम थिए । अर्को आपद आई पर्यो । मैले एक वटुकका अभिभावक संग मलाई हतार भएको अनुरोध गरे । उनले भिक्षा दिनेकामका लागि अरु १० मिनट लाग्ने जानकारी दिए । 

अव म संग १० मिनटमा सक्नु पर्ने तीन वटा काम थिए । महादेवस्थान परिसरमा नै रहेको ज्ञानदेवीको मन्दिर पुग्ने, खाम किन्ने र शौचालय प्रयोग गर्ने । म विजुलीको तोडमा पसल भएको स्थान तिर आए र खाम पाउन सकिने सम्भावना भएको पसलमा गए । पसलमा दुई जना वहिनीहरु थिए । मैले खाम मागे । उनीहरुसंग भएको खाम सानो आकारको मात्र रहेछ । उनीहरु किन सानो खाम राम्रो भनेर तर्क राख्न थाले । मैले तिन वटा खाम लिएर तिनमा पैसा राख्न थाले । ल मार्यो म संग रु ५०० को नोट मात्र रहेछ तर खामको मुल्य २ रुपैया मात्र । साहुनी बहिनीहरु खुद्रा नभए त हूदैन् भन्ने तिर गए म परिस्थितिजन्य उपाय सोच्ने तिर लागे । केही उपयोगी अलि मूल्य बढी भएको सामान छ की भनेर नजर घुमाउन थाले । 

पसलमा त्यस्तो केही थिएन् तर मैले तुरुन्तै एउटा नौलो समाधान सोचें । तीनवटाको सट्टा मेरा दुई खाम दिने । उनीहरुले माने । मैले समयको भरपूर सदुपयोग गर्दै साहुनी बहिनीहरुलाई सरस्वति मन्दिर स्थल कहांनिर हो भनेर सोधे । म परिसरको पुर्वी भागमा रहेको सरस्वति माताको मन्दिरमा पुगें र दर्शन गरे । अव मेरो १० मिनटको समयसीमा किनारा तिर लम्कदै थियो । म संग शौचालय प्रयोग गर्ने काम बाँकिनै थियो । 

म परिसरको उत्तरमा रहेको सार्वजिनक स्थल व्यवस्थापनमा सहयोग पुराउने कार्यालयमा पुगे र कार्यकक्षमा आसिन एक महिला कर्मचारीलाई शौचालय कता छ भनेर सोधे । उनको जवाफले मेरो समस्या समाधान नहुने भयो । उनले जम्मा एउटा शौचालय भएको तर त्यसमा चाबी लागेको यथार्थ वताईन् । म रनभुल्लमा परें । 

राज्यले केही समय अघि सम्पन्न गरेको कालापत्थरको जलवायु परिवर्तनको मन्त्रिपरिषदको वैठक सम्झे । राज्यका प्रमुख कार्यकारीले अगुवाई गरेको कोपेनहेगनको नेपालको जम्बो सहभागीता सम्झे । महादेवस्थान परिसरमा यो जस्तो कुनै विशेष समयमा जम्मा हुने सयौं मान्छे, शौचालयमा लागेको चाबी र राज्यका प्राथमिकता का विषयहरु सम्झे । मैले शीशामा अर्को सघनरुपले टासिएको कसिंगर देखें ।

मैले निमेषभरमा नै वटुकहरुलाई दक्षिणा दिने र मुखसुद्भि गर्ने काम सकें र अभिभावकहरुसंग विदा भएं । अब मलाई ट्याक्सीलिएर डा. भट्टराईकहां पुग्नु थियो । म हतार हतार गर्दै महादेबस्थान परिसरको पश्चिम उत्तरमा अवस्थित सिंढि ओर्लिए । अव मलाई तीनकुनेको कान्तिपुर परिसरको आसपास सम्म हिड्नु पर्ने वाध्यता थियो । भिडियो क्यामेरा र मेरो ल्यापटप भएको झोलाको कारण म द्रुत गतिमा हिड्न पनि नसक्ने स्थितिमा थिए । सिंढिको फेदमा के पुगेको थिए मुलवाटो मा जाम भएर वैकल्पिक वाटो समातेको एउटा नेपाल यातायातको वस पो फेला पर्यो ।  

धन्य! वीणापुस्तक धारिणि ! तिम्रो आशिर्वाद । बसमा म बसेको सीट पछाडी शान्तिनगरमा अध्यापन गर्ने परिचित दीज्यू हुनु हुदो रहेछ । मैले ज्ञानदेवीको पूजा गर्ने दिनको शुभकामना बांडे । अव मलाई डा. भट्टराईलाई मेरो परिवर्तित यात्राको बारेमा जानकारी दिनु पर्ने थियो । मोवाईल सम्पर्क भयो बहांलाईनै ट्याक्सी लिएर आउन भने । हाम्रो १० मिनट पछि शान्तिनगर द्वारमा भेट गर्ने सल्लाहा भयो । मैले दिज्यू संग विदा माग्दै पैसा तिर्ने पर्स छाम्दा फेरी मसंग खुद्रा नभएको यथार्थ सम्झिएं र खलासी भाईलाई त्यो सत्य पस्किए । दिज्यूले म दिन्छु भन्नु भयो । मैले धन्यवाद भन्दै त्यो पर्म कुनै दिन तिर्ने कवोल गरे ।

शान्तिनगरमा ओर्ले पछि म संग भएका दुईवटा काम "भोलिपल्ट प्रवचनमा बाड्नु पर्ने सामाग्रीको फोटोकपी गर्ने र छोरीको कार्यक्रमको लागि भिडियोको चक्का किन्ने " सम्पन्न गर्ने अवसरको खोजीमा लागें । म उपर्युक्त पसलको खोजीमा थिएं । वाटो उत्तरमा फोटोकपी पनि लेखेको फोटो स्टुडियो पनि भएको पसल देखेर त्यतै लम्के । पसलमा साहुनी ढाड घाम तिर फर्काएर कुर्सीमा वसेर बांधिएका हातमाथी टाउको राखेर आराम गरिरहेको पाएं । 

सिंढि चढेको मेरो आवाजले तिनी चनाखो भईन् । मैले सोधें " डु यु ह्यभ ईलेकट्रिसिटि ?" उनले भनिन " नो" । हाम्रो विगतको शिक्षा नीतिले पस्केको राम्रो विषय हो यो जसले पनि अलि अलि मात्र भए पनि किन नहोस अग्रेजी बुझ्दछ वोल्दछ । 

हुन ता हामी वीच नराम्रो र विग्रेको विगत मात्र देख्ने संस्कारले डेरा जमाएको छ किन भने शीशा कुचो लगाउनु पर्ने कसिगंर नै कसिंगरले ढाकिएको छ तर खोजी गरे हामीले गरेका काम मध्ये राम्रा पनि नभएका होईनन् । उनको जवाफमा मेरो एउटा काम नहुने संकेत थियो । उनले मलाई आवश्यक चक्का पनि नभएको जानकारी दिईन् । 

मैले परिस्थिति प्रतिकुल भए पछि रमाईलो थप्ने उदेश्यले भने "उसो भए के पाईन्छ त यो पसलमा ?" उनि नाजावाफ भईन् । 

मैले भने " मलाई थाहा भयो के पाईन्छ यहां । ग्राहक नआएर हातमाथी टाउको राखेर घाम तापीरहेकी साहुनी पाईन्छ यो पसलमा ।" उनि खित्का छोडेर हांसिन् । 

उनले मलाई खुला मनले मदत गरिन । चक्का पाईन सक्ने पसल देखाईदिईन् । मैले दोस्रो पसलमा चक्का किन्दै गर्दा राजमार्गको अर्को तर्फ लोडसेडिगको क्षेत्र फरक भएको र विजुली हुनसक्ने जानकारी लि्ईसकेको थिए । नभन्दै हो रहेछ । तर फोटोकपी पसलमा भीड र साहुभाई एक जना मात्र । मैले वाक शक्तिको लगानी गरे र दुईवटै यन्त्रले मेरो काम गर्ने भए म फोटोकपी गर्छु भने । उनले माने । मैले केही मिनटमानै १५० प्रति फोटो कपी गरे र सडकमा आए । डा. भट्टराई ट्याक्सी रोकेर मलाई खोज्दै हुनुहुदो रहेछ।

हामी पुतलीसडकमा सिडी संकलन गरी जयनेपाल हल तिर लाग्यौ । भोलिको प्रवचनमा सहभागिहरुको वीचमा प्रतिस्पर्धा गराई जगदीश घिमिरेको अन्तर्मनको यात्रा र थ्रि ईडियट चलचित्रका दुईवटा टिकट पुरस्कारमा राख्ने निश्चयमा पुगिसकेको थिए म । थ्रि ईडियटमा परिस्थितिजन्य समस्या समाधानका राम्रा उदाहरण छन् । जयनेपालमा टिकट किनेर शिक्षा मन्त्रालय पुग्दा घण्टाघरले दुई बजेको संकेत दिईसकेको थियो । एक घण्टामा त्यहांको काम सकेर मलाई तीन बजे प्रज्ञा प्रतिष्ठान पुग्नु थियो छोरीको कार्यक्रम हेर्न । 

सरस्वति पूजाको साईतमा म शिक्षा मन्त्रालय पुगेको थिएं । शिक्षा मन्त्रालयले मलाई प्रदान गरेका दुई अमूल्य उपहारको संझना मलाई भयो केशर महलको वीचको प्रांगण छिचोलेर बैठक हुने कोठामा जांदै गर्दा । पहिलो थियो २०३६ सालको प्रवेशिका परिक्षामा प्रथम श्रेणीमा उतिर्ण गरेका विद्यार्थीलाई शिक्षा मन्त्रि मरिचमान सिंहको हस्ताक्षर भएको प्रमाण पत्र । अर्को कोलम्बो योजना अन्तर्गत भा्रतमा ईन्जिनियरिग पढ्न पाएको छात्रवृति । आज म जहां छु त्यहां पुर्याउने संयन्त्र त्यै छात्रबृति हो । 

मैले यो पावन अवसरमा शिक्षा मन्त्रालयलाई कृतज्ञता अर्पण गरे । कमलादी पुग्दा तीन बजी सकेको थियो । म हतार हतार भित्र पसेर क्यामेरा मिलाउन थाले । मन्चमा कार्यक्रम शुरु भैसकेको थियो । छोरीले त शुरुमै उसको प्रस्तुति छ भनेकी थिई । क्यामेराको पर्दामा छोरीलाई देखे पछि मलाई ढुक्क भयो । 

कार्यक्रम सके पछी हामी भृकुटीमण्डप हुंदै घर फर्कियौ । मैले अन्तर्मनको यात्रा किन्दा संझे यो मैले किनेको पांचौ प्रति हुनु पर्छ । बुद्धिदेवीको जयन्तिको अन्तिम प्रसाद भयो मेरो फेसबुक यात्रा । 

मेरी पुर्व विद्यार्थी बविनाले लेखेकी रहिछन् "यदि म खुशी हुन सक्छु भने किन दुखी हुने

मैले थपे - "यो दृष्टिकोणमा भर पर्ने कुरा हो । ओहो ! यस्तो राम्रो फूलमा पनि काँडा भनेर नरमाईलो मान्न पनि सकिन्छ या यस्तो तिखा काँडा भएको हाँगामा पनि फूल भनेर आनन्दित हुन पनि ।"

Wednesday, January 13, 2010

टेलिफोन शिष्टता

पेशागत कामको सिलसिलामा एकजना मित्रलाई टेलिफोन गरें दुई तीन घण्टी पश्चात नै टेलिफोन उठ्यो महिलाको स्वरले हेलो भन्यो मैले यतावाट भने फलानो अफिसबाट नवराज खतिवडा बोल्दैछु, कृपया फलानो सरलाई पाउन सकेसम्म टेलिफोनगर्दा सबैभन्दा पहिला मेरो परिचय दिने गर्छु यसमा दुईवटा फाइदाहरु हुन्छन् पहिलो टेलिफोन उठाउने मान्छेले मलाई तपाइँ कहाँ बाट को बोल्नु भएको भनेर सोध्दैन उसंग मेरो कम समयमात्र अलमल हुन्छ खोजेको मान्छेसंग सहजै सर्म्पर्क हुन्छ दोस्रो यसले टेलिफोन उठाउने व्यक्तिलाई मनोवैज्ञानिक तवरमा एउटा निश्चिन्तता प्रदान गर्दछ उसले मेरो कुराकानीलाई गम्भिर प्रकृतिको दर्जामा राख्छ प्राथमिकता पनि दिन्छ मेरो यस्तो मान्यता विपरित ती महिला टेलिफोनमा खित्का छोडेर हाँसिन मेरो टेलिफोनको कुराकानीको इतिहासमा यो एकदमै अनौठो कुरा भयो मैले ती महिला हाँसेको कारण जान्न चाहेँ, उनले भनिन् तपाईले पहिलानै आफ्नो नाम ठेगाना भनेको हुनाले अचम्म लागेर हाँसेकी । हेलो भन्नासाथ दिइएको मेरो परिचयले उनलाई मलाइ उनी हाँसेकोमा अनौठो लागे जस्तै अचम्म लागेछ

केही दिन अगाडिको अर्को घटना हो, एक जना जापानी मित्रसंग हामीले नेपालमा अत्याधुनिक सरसामानको आयात गरेका छौ तर ती सामानहरुको समुचित प्रयोग गर्ने तौरतरिका अर्थात स्थानिय वातावरण सुहाउँदो सफ्टवेयरको सिर्जना गर्ननसकेको बारेमा छलफल हुँदा मैले टेलिफोनको उदाहरण दिएको थिएँ अधिकांश टेलिफोनकर्ताको मुलभुत उदेश्य आफ्नो कुरा टेलिफोन उठाउने मान्छेले छोटो समयमा स्पष्ट बुझोस भन्ने हुन्छ ब्यापारिक हिसाबमा वार्तालापले आफनो कुराको सकारात्मक नतिजा ल्याओस भन्ने हुन्छ तर टेलिफोनमा सभ्य शिष्ट तरिकाले कसरी कुरा गर्ने भन्नेबारे दुर संचारले कुनै शिक्षा दिन्छ, बिद्यालयमा नै यो सिकाइन्छ, घरमानै यस प्रकारको चेतना प्रदान गरिन्छ धेरैजसो टेलिफोन गर्ने मान्छेले आफ्नो परिचय दिनु कता हो कता उल्टै टेलिफोन उठाउने मान्छेलाई तपाइँ को बोल्नु भएको भनेर प्रश्न गर्छ एक पटक यस्तै भयो, मेरो घरमा कसैले फोन गर्यो भन्यो तपाईँ को बोल्नु भएको मैले आफ्नो नामको बदलामा प्रतिप्रश्न राखेँ तपाईले कसलाई खोज्नु भएको तर उसले पुनः आफ्नो प्रश्न दोहोर्यायो त्यसपछि मैले नम्र भएर भने रहेर्नुहोस टेलिफोन तपाईले गर्नु भएको हो, यसकारण सामान्य सिद्धान्त अनुसार सबैभन्दा पहिला तपाइँको कर्तव्य तपाइँको परिचय दिनु हुन आउँछ मैले यति भने पछि उसले लाइन काट्यो टेलिफोन उठाए पश्चात पटक पटक सुनिने अर्को चलनचल्तिको वाक्य रयो कहाँ पर्यो हो आक्कल झुक्कल अलमलिएर यसो भन्नु सामान्य हो तर अधिकांश फोनहरुको वार्तालाप यसरी शुरु हुनु असामान्यनै हो मलाई फोन गर्ने व्यक्तिले रयो कहाँ पर्यो भन्नासाथ त्यो व्यक्तिलाई फोन वार्तालापको सामान्य सिद्धान्त थाहा नभएका मान्छेहरुको समुहमा राखिहाल्छु दोस्रो फोन कहाँ गरेँ भन्ने पनि निधो गर्न नसक्ने व्यक्ति व्यावहारिक आत्मविश्वासको हिसावमा अति कमजोर दर्जामा पर्छ भन्ने निर्क्यौल पनि निकाल्न सकिन्छ कतिपय संवादहरुमा टेलिफोनकर्ताले हेलो पश्चात प्रश्न गर्छ चिन्नु भयो मलाई नकारात्मक जवाफ पाएमा के सम्झनुहुन्थ्यो मलाइ भनेर गनगन गर्न शुरु गर्छ

टेलिफोनमा कसरी कुरा गर्ने भन्ने देखि लिएर बिहान सबेरै वा राती अबेर कसैको घरमा फोन गर्नु हुदैन भन्ने कुराको विकसित जापानी समाजमा राम्रो चेतना राती अबेर कसैको फोन आएमा पक्का पनि कुनै अत्यन्त जरुरी काम परेको सम्झन्छ, फोन उठाउने मान्छेले फोन गर्नेले पनि सबैभन्दा पहिला आफ्नो परिचय दिन्छ आफूले राती अबेर कुरा गर्नु परेकोमा माफी माग्छ अनि मात्र भद्र भाषामा कामको कुरा गर्छ

मेरो हालको पेशा कलेजमा पढाउनु हो मेरा बिद्यार्थीको कहिलेकहि राती वजे कहिलेकहि विहान बजे तिर फोन आँउछ टेलिफोन गर्नुपर्ने कारण बिद्यार्थीको व्यक्तिगत विषय हुन्छ कसै कसैले कार्यालय सम्बन्धित कुरा पनि घरमा गरेमा बढि प्रभावकारी हुने मान्यता राखेको पाएको छु कसै कसैले कार्यालय सम्बन्धित कामको लागि पनि तपाईको आवासको फोन नम्बर पाउन भनेर सहजै भन्छन् यी सबै उदाहरणहरुसंग गासिएको बिषय भनेको कुन संयन्त्र या सुविधाको कसरी प्रयोग गर्ने भन्ने शिक्षाको अभाव हो टेलिफोन हामीसंग भएको धेरै भएको छैन् यसलाई सभ्य तरिकाले कसरी प्रयोग गर्न सकिन्छ भन्ने कुरा कहि कहि बाट सिक्नु जरुरी टेलिफोन गर्ने मान्छेको कर्तव्य सबैभन्दा पहिला अभिवादनको कुनै शब्दवाट शुरु गरेर आफ्नो परिचय दिनु हुन आउंछ लामो कुरा गर्नु पर्ने भए सम्वन्धित मान्छेसंग सम्पर्क भए पछि संग समय भए नभएको यकिन गर्नु जरुरी हुन आँउछ सकेसम्म राती अबेर बिहान सबेरै कसैको घरमा फोन गर्नु उपर्युक्त हुदैन् गर्नै परे पनि सबैभन्दा पहिला अबेर फोन गर्नु परेकोमा क्षमा याचना गर्दै छोटो सान्दर्भिक कुरा गर्नु उचित हुन आउँछ

मेरा अर्का एक इन्जिनियर मित्र हुनुहुन्छ, समसामयिक विषयहरुको वार्तालापको सिलसिलामा एक पटक वहाँले भन्नु भयो रकुन समाज कति विकसित भन्ने कुरालाई मेरो कारणले अरुलाई कुनै व्यावधान उत्पन्न हुने हो कि भन्ने बिषयमा मान्छेहरु कति संबेदनशिल छन् भन्ने कुराले नाप्न सकिन्छ मैले टेलिफोनको यो विषयमा पनि एक व्यक्तिको अर्कोसंग सर्म्पर्क हुँदा को संवेदनशिलता लागु हुने देखेको छु

हुन हाम्रो समाजमा मैले गरेको सोर्है आना ठीक मेरो भलोमा मात्र चिन्तित हुनु जरुरी भन्ने मान्यता विकसित भइरहेको यसरी हेर्दा समाजमा मौलाइरहेको मान्यता प्रतिको मेरो दृष्टिकोण विद्वान मित्रको टिप्पणिमा समानता पाउँछु टेलिफोनसंग सम्बन्धित मेरो अर्को अनुभव पनि यहाँ उल्लेख गरौं एउटा व्यावसायिक सन्चार सेवामा लाइनमा थिएँ एक जना महानुभाव कतै टेलिफोन गर्दै थिए उनको सर्म्पर्क हुन सकेन, बदलामा कम्प्युटरले तपार्इँले डायल गरेको नम्वर मिलेन भनेको सुनियो उनले प्रतिक्रिया जनाए रहे प्रभु मसंग भएको नम्बर यही हो, मैले अर्को नम्बर कहांबाट ल्याउँ। र हामी तिर हेर्दै उनले दुरसन्चारको कम्प्युटर ब्रिग्रिएर त्यसो भएको अनुमान लगाए पछि थाहा भयो ति माहानुभावले नम्बरनै गलत डायल गरेका रहेछन् यस्ता विषयहरु धेरै छन् जहाँ एक व्यक्तिले अर्को व्यक्तिलाई कसरी व्यबहार गर्ने भन्ने कुराले महत्वपर्ण भूमिका खेलेको हुन्छ अझ त्यसमा पनि टेलिफोन, इमेल जस्ता अत्याधुनिक सुविधाहरुको उपयोग कसरी गर्दा उचित हुन्छ भन्ने विषयमा चेतना कतै कतैवाट आउनु जरुरी देखिन्छ

२००६-११-१४ काठमाण्डौ