Saturday, February 13, 2010

मेरो सरस्वती पूजा

माघ ०६ गते अर्थात जनवरी २० को विहान म मिर्मिरेमा नै उठें । 

सरस्वती पूजा पनि भएको र दिनभरी नै व्यस्त रहनु पर्ने भएको हुनाले समयलाई योजनाबद्ध तरिकाले व्यवस्थापन गर्नु पर्नै चुनौति मेरो सामु लमतन्न परेको थियो । आज भारतका प्रख्यात योग गुरु रामदेवले नेपालीहरुका लागि हरिद्वारमा आयोजना गरेको योग शिविरको अन्तिम दिन हेर्ने मेरो अभिलाषा लाई तुषारापात गरिदिएको थियो लोडसेडिंगले । जम्मा १५ मिनट भए पनि समापनको दिनको आरम्भको सम्बोधन कार्यक्रम हेर्न पाएकोमा म सरस्वती माता प्रति कृतज्ञ भएको थिए । 

मेरो नित्य गर्ने योग सकेर जे त पर्ला भनि चिसो पानीले नै नुहाउने विचार गरें । तर बाथरुमको सावर वनाउन दिएको हुनाले बैकल्पिक धारोको टुटी वाट वाल्टीमा पानी संकलन गरी मगले नुहाउनु पर्ने भयो । वैकल्पिक धारोको पानी सिधै टवको एक छेउमा मात्र खस्ने गरी त्रुटिपूर्ण तरिकाले वनाईएको हुनाले वाल्टी भुईँमा राख्दा पानी पाखा जाने भयो । अगाडि तेर्सिएको समस्यालाई काटेको सानो टुक्रा पाईपले समाधान गर्न सकेन् । केही दिन अगाडि हेरेको अमिर खानको थ्रि ईडियट चलचित्र सम्झदै परि्स्थतिजन्य समाधान खोज्ने तिर मेरो दिमाग लागिसकेको थियो । प्लास्टिकको एउटा झोलाले मेरो समस्याको अल्पकालिन समाधान गरिदियो । 

पूजा कोठामा गएर सरस्वतीको आराधाना गरे । आज मेरो साथ दिन आईपुग्ने सरस्वती यन्त्रलाई यही ल्याएर राख्छु भन्दै पुस्तकमा उपलव्ध केही र आफैलाई कण्ठ आउने दुईवटा मन्त्रह्ररु जपें । त्यसपछि म पुत्र सिरिन संग मेरो कार्यालयको नजिक स्थापित सरस्वतीको मन्दिर गएं । 

सवैभन्दा पहिला मैले मन्दिरलाई दाहिने परिक्रमा गर्ने सोचका साथ मन्दिर प्रांगणको बाह्य वृतमा पाईला राख्दा राख्दै बाँयातिर रहेको विशाल घण्टीमा मेरो ध्यान गयो । दर्शनार्थीको लामलाई बीचैमा छिचोलेर मैले घण्टि तिर हात के बढाएको थिए लाममा उभिएकी रातो सारीमा सजिएकी म भन्दा केही बर्ष पाकी देखिने महिलाले पनि घण्टिमा हात बढाईन् । हाम्रा हातहरु एकै पटक जस्तो अघि वढे तर मैले उनको पालो मिचेको जस्तो अनुभुति गरें । यो अनुभुतिको कारण मैले उनको अनुहार हेरें । तिनले पनि मलाई हेरिन । हामी हेराहेरमा अलमलियौ । घण्टि बजाउने अबसर अरुले नै लिए । मलाई केही हतार थिएन् । केही क्षण पछि घण्टि खालि भयो । मेरो पालो थियो । ती महिलाको ध्यान घण्टिमा भन्दा अन्यत्रै भएको मैले लख काटें । अब म एक्लो थिए । घण्टि पुरै मेरो नियन्त्रणमा थियो । मैले ती महिलालाई यो पालो तपाईको हो भनेर संकेत गरें । उनले अति नै भव्य मुस्कानले मेरो संकेतलाई प्रत्युत्तर पस्कदै घण्टि बजाईन् । मैले सरस्वती देवीको प्रांगणमा एक अपरिचित व्यक्तिलाई उनले चाहेको केही दिन सकें । सारै हर्षित भएं । मैले उनलाई मेरो आफ्नो केही दिईन् । उनको मसंग जे थियो त्यहि दिएं । मलाई लाग्यो आजको पावन तिथिमा दिनको शुरुवात अति नै विशिष्ट रुपमा भएको छ ।

धोविघाट र झम्सिखेलको साँधमा वनाईएको यो आस्थाको केन्द्रमा शारदादेवीका दुई मूर्तिहरु प्रतिस्थापित गरिएका छन् । मैले ठूली शारदाको चरण स्पर्श गर्दै एक वालिकासंग रमाईलो पस्केको थिंए । "विद्यादेवी र तिमी को अग्लो ? " जवाफमा तिनले अविस्मरणिय मुस्कान फर्काएकी थिईन् । मुस्कानको प्रत्युत्तरमा मैले भने" तिमी पनि भविष्यमा यस्तै अग्ली हुन्छ्यौ ? " नेपालमा रमाउनुको आनन्द यसैमा छ । तपाई जुन सुकै समयमा जहाँ पनि रमाईलो वाँड्न सक्नु हुन्छ र यसले जीवनलाई घनिभूत वनाउन सक्नु हुन्छ । अहिले सम्म मैले सार्वजिक स्थल या सवारी साधनमा अरुको म संग थाँति भएको रमाईलो बाँड्न पाएको छु । म संग कुरा गर्ने अपरिचितले असुरक्षित महशुस गरेको सम्झना म संग छैन् । हामी नेपालीको लागि यसरी खुलेर एक अर्कामा हराउन सक्ने स्थल विश्वमा अन्यत्र कही छैन् । यो हाम्रा पुर्खाले हामीलाई सुम्पेर अहिले सम्म सुरक्षित रहेको हामी सवै रमाउन सक्ने अमूल्य निधि होईन त ?

मन्दिर परिसरमा अर्को पनि एउटा अविस्मरणिय क्षण सिर्जना भयो । मन्त्र लेखिएको सुनको जलप लागेको सरस्वति यन्त्र सधैको लागि म संग हुने क्षण थियो त्यो । मैले एउटा यन्त्रको माग राखें प्रसाद पनि वितरण गरिरहेका भाईहरु संग । सिरिन पनि नजिकै थियो । पहिले देखि योजना नगरेको एउटा विचार मनमा उव्जियो र भने-

 "तिमी पनि एउटा यन्त्र लिन्छौ त ?" 

 उसले सकारात्मक भाव जनायो । यन्त्र वापत लिईने सहयोगको रकम तिर्न के लागेको थिएं, उसले भन्यो  

"म यो अस्तिको एक हजारवाट किन्छु । "

केही समय अघि एउटा प्रवचन दिन जान तयार हुदै गर्दा विचार गरिएर छानिएको टाई र जुत्ता लगाउदै मैले उसलाई भनेको सम्झे । 

 "मेरो प्रवचनलाई प्रभावकारी बनाउन मेरो व्यक्तित्वमा यिनले पनि केही मूल्य थप गर्छन् ।"  

"त्यसो भए हिड्ने वेलामा दक्षिणा दियो भने साईत पर्छ भन्छन् तपाईसंग अहिले त्यो अवसर " उसले ठट्टामा भनेको थियो । 

मैले पनि त्यो अवसरलाई थप उत्पादनमूलक वनाउने लक्ष्यका साथ उसलाई एक हजारको नोट तेर्स्याउदै भनेको थिंए- 

"म तिम्रो तर्कवाट प्रभावित भएं तर मैले नसोचेको कुनै गहकिलो काम गर्नु ।"  

उ आश्चर्यचकित भएको थियो ।

ओहो ! यो त मैले नसोचेको काम भयो । म हर्षले विभोर भंए । मलाई पुत्र सुखको एक अर्को क्षण भेटेको अनुभुति भयो । केही समय अघि मन्दिर आउदै गर्दा मैले ट्याक्सी चालक माईल्दाईलाई ठट्यौलि पारामा भनेको थिए । 
  
"असल पुत्र हुन सजिलो कि असल पिता ? "

रामदेव गुरुले पटक पटक भन्ने गरेको वाक्य "असल शिष्य भन्दा असल आचार्य बन्न कठिन छ" यहां स्मरणिय छ । असल पुत्र या शिष्य हुने अभिभारा आफ्नो हातमा हुन्छ तर उल्लेखित अन्य दुई असल पात्र बन्ने या नवन्ने भन्ने अरुको हातमा । अरुको मन जित्न विवेक, विचार र व्यवहारले मात्र सकिन्छ जुन सहज हूदैन । मन नजिति न त असल पिता वन्न सकिन्छ न त असल आचार्य नै ।

भगवतीको दर्शन पश्चात म समीपको मेरो कार्यालयमा गएं र केही काम गरें । दिउँसो म सम्मिलित हुनु पर्ने तीन वटा प्रमुख गतिविधि थिए । पहिलो थियो कोटेश्वर महादेवस्थानको एउटा ब्रतबन्धको कार्यक्रम, दोस्रो दुई बजे शिक्षा मन्त्रालयको एउटा बैठक र अन्तिम छोरीको विद्यालयको सांस्कृतिक कार्यक्रमको अवलोकन । संयोग नै हुनु पर्छ कुनै न कुनै रुपमा यी सबै गतिविधिहरु सरस्वतीको आशिर्वाद आवश्यक पर्ने समूहमा भएको मैले वोध गरेको थिएं । 

सरस्वती पूजाको भोलिपल्ट भक्तपुर बहुमुखी क्याम्पसमा व्यक्तित्व विकास र नेतृत्व शीर्षकमा दिनु पर्ने प्रवचनको लागि आवश्यक प्रोजेक्टर र स्पीकर बोकेर कार्यालय नजिक ट्याक्सी खोज्दा मध्यान्हको १२ बजिसकेको थियो । ब्रतबन्धमा सहभागी भएर डा. भट्टराईलाई १ बजे भेटी पुतलिसडकवाट शिक्षा मन्त्रालयको वैठकमा आवश्यक पर्ने सिडी समेत संकलन गर्नु पर्ने भएकोले मेरो मन आत्तिई सकेको थियो सबै काम समयमा भ्याउन सकिन्नकि भनेर । 

भेटिएको ट्याक्सीमा केही नभनी म सामान राखेर बसें । चालकले सीटमा बसी सकेपछी मोलमोलाई गर्न थाल्यो मैले मिटरमा मात्र जाने भने । उसले अडान छोडेन । मैले त्यो सवारी छोडे ।  
अर्को तिर ध्यान केन्द्रित गरे । दोस्रोले मान्यो । मैले ट्याक्सी यात्राको समयको पुरा सदुपयोग गरें मोवाईलको मदतले । घरमा सम्पर्क गरी छोरीको कार्यक्रमको लागि आवश्यक भिडियो क्यामेरा लिएर घर नजिकैको मोडमा आईराख्न अराए । सोचे अनुसारको काम भयो । ट्याक्सी वाट नओर्लिकन नै प्रोजेक्टर र स्पीकर को ठाँउ भिडियो क्यामेराले लिई सकेको थियो । 

महादेवस्थानमा पुगेर ब्रतबन्ध स्थल खोज्न थाले । लौ ! यो त सोच्दै नसोचेको कुरा भयो । जता हेरे पनि जग्गे मात्रै । श्रीपन्चमीको साईतमा विवाह बन्धनमा बाँधिने र ब्रतबन्ध दीक्षीत हुनेहरुको भीड भाड मात्रै । मलाई त आफू सम्मिलित हुने जग्गे पत्ता लगाउन हम्मे हम्मे पर्यो । यस्तो वेलामा हो मन्दिर परिसरमा आसिन सामाजिक संघ सस्था या प्रहरीले मदत पुराउने । मैले उपस्थित एक प्रहरीलाई सोधे पनि । उनी त म भन्दा पनि अनभिज्ञ पो रहेछन् । 

सुरक्षा र सूचना एक अर्का संग परिपुरक छन् । सुरक्षाको अनुभुति गराउने पहिलो विषयवस्तु भनेको सूचना नै हो । तर त्यहां पहिलो थियो दोस्रो थिएन् । केही समय अघि मैले कसै संग व्यक्त गरेको थिए "हाम्रो समस्या भनेको शीशा नहुनुको होईन, थुप्रिएको कसिगंर कसरी बढार्ने भन्ने मात्र हो ।" त्यहि कुराको स्मरण भयो ।

म एउटा समूह वाट अर्को समूहमा जादै परिचितहरुको अनुहार खोज्न थाले । लगभग १० मिनटको मिहिनेत पछी सामान्य हुने स्थिति भयो मेरो । तर अचम्म वटुकहरु त तीन जना पो रहेछन् । म संग दुईवटा मात्र खाम थिए । अर्को आपद आई पर्यो । मैले एक वटुकका अभिभावक संग मलाई हतार भएको अनुरोध गरे । उनले भिक्षा दिनेकामका लागि अरु १० मिनट लाग्ने जानकारी दिए । 

अव म संग १० मिनटमा सक्नु पर्ने तीन वटा काम थिए । महादेवस्थान परिसरमा नै रहेको ज्ञानदेवीको मन्दिर पुग्ने, खाम किन्ने र शौचालय प्रयोग गर्ने । म विजुलीको तोडमा पसल भएको स्थान तिर आए र खाम पाउन सकिने सम्भावना भएको पसलमा गए । पसलमा दुई जना वहिनीहरु थिए । मैले खाम मागे । उनीहरुसंग भएको खाम सानो आकारको मात्र रहेछ । उनीहरु किन सानो खाम राम्रो भनेर तर्क राख्न थाले । मैले तिन वटा खाम लिएर तिनमा पैसा राख्न थाले । ल मार्यो म संग रु ५०० को नोट मात्र रहेछ तर खामको मुल्य २ रुपैया मात्र । साहुनी बहिनीहरु खुद्रा नभए त हूदैन् भन्ने तिर गए म परिस्थितिजन्य उपाय सोच्ने तिर लागे । केही उपयोगी अलि मूल्य बढी भएको सामान छ की भनेर नजर घुमाउन थाले । 

पसलमा त्यस्तो केही थिएन् तर मैले तुरुन्तै एउटा नौलो समाधान सोचें । तीनवटाको सट्टा मेरा दुई खाम दिने । उनीहरुले माने । मैले समयको भरपूर सदुपयोग गर्दै साहुनी बहिनीहरुलाई सरस्वति मन्दिर स्थल कहांनिर हो भनेर सोधे । म परिसरको पुर्वी भागमा रहेको सरस्वति माताको मन्दिरमा पुगें र दर्शन गरे । अव मेरो १० मिनटको समयसीमा किनारा तिर लम्कदै थियो । म संग शौचालय प्रयोग गर्ने काम बाँकिनै थियो । 

म परिसरको उत्तरमा रहेको सार्वजिनक स्थल व्यवस्थापनमा सहयोग पुराउने कार्यालयमा पुगे र कार्यकक्षमा आसिन एक महिला कर्मचारीलाई शौचालय कता छ भनेर सोधे । उनको जवाफले मेरो समस्या समाधान नहुने भयो । उनले जम्मा एउटा शौचालय भएको तर त्यसमा चाबी लागेको यथार्थ वताईन् । म रनभुल्लमा परें । 

राज्यले केही समय अघि सम्पन्न गरेको कालापत्थरको जलवायु परिवर्तनको मन्त्रिपरिषदको वैठक सम्झे । राज्यका प्रमुख कार्यकारीले अगुवाई गरेको कोपेनहेगनको नेपालको जम्बो सहभागीता सम्झे । महादेवस्थान परिसरमा यो जस्तो कुनै विशेष समयमा जम्मा हुने सयौं मान्छे, शौचालयमा लागेको चाबी र राज्यका प्राथमिकता का विषयहरु सम्झे । मैले शीशामा अर्को सघनरुपले टासिएको कसिंगर देखें ।

मैले निमेषभरमा नै वटुकहरुलाई दक्षिणा दिने र मुखसुद्भि गर्ने काम सकें र अभिभावकहरुसंग विदा भएं । अब मलाई ट्याक्सीलिएर डा. भट्टराईकहां पुग्नु थियो । म हतार हतार गर्दै महादेबस्थान परिसरको पश्चिम उत्तरमा अवस्थित सिंढि ओर्लिए । अव मलाई तीनकुनेको कान्तिपुर परिसरको आसपास सम्म हिड्नु पर्ने वाध्यता थियो । भिडियो क्यामेरा र मेरो ल्यापटप भएको झोलाको कारण म द्रुत गतिमा हिड्न पनि नसक्ने स्थितिमा थिए । सिंढिको फेदमा के पुगेको थिए मुलवाटो मा जाम भएर वैकल्पिक वाटो समातेको एउटा नेपाल यातायातको वस पो फेला पर्यो ।  

धन्य! वीणापुस्तक धारिणि ! तिम्रो आशिर्वाद । बसमा म बसेको सीट पछाडी शान्तिनगरमा अध्यापन गर्ने परिचित दीज्यू हुनु हुदो रहेछ । मैले ज्ञानदेवीको पूजा गर्ने दिनको शुभकामना बांडे । अव मलाई डा. भट्टराईलाई मेरो परिवर्तित यात्राको बारेमा जानकारी दिनु पर्ने थियो । मोवाईल सम्पर्क भयो बहांलाईनै ट्याक्सी लिएर आउन भने । हाम्रो १० मिनट पछि शान्तिनगर द्वारमा भेट गर्ने सल्लाहा भयो । मैले दिज्यू संग विदा माग्दै पैसा तिर्ने पर्स छाम्दा फेरी मसंग खुद्रा नभएको यथार्थ सम्झिएं र खलासी भाईलाई त्यो सत्य पस्किए । दिज्यूले म दिन्छु भन्नु भयो । मैले धन्यवाद भन्दै त्यो पर्म कुनै दिन तिर्ने कवोल गरे ।

शान्तिनगरमा ओर्ले पछि म संग भएका दुईवटा काम "भोलिपल्ट प्रवचनमा बाड्नु पर्ने सामाग्रीको फोटोकपी गर्ने र छोरीको कार्यक्रमको लागि भिडियोको चक्का किन्ने " सम्पन्न गर्ने अवसरको खोजीमा लागें । म उपर्युक्त पसलको खोजीमा थिएं । वाटो उत्तरमा फोटोकपी पनि लेखेको फोटो स्टुडियो पनि भएको पसल देखेर त्यतै लम्के । पसलमा साहुनी ढाड घाम तिर फर्काएर कुर्सीमा वसेर बांधिएका हातमाथी टाउको राखेर आराम गरिरहेको पाएं । 

सिंढि चढेको मेरो आवाजले तिनी चनाखो भईन् । मैले सोधें " डु यु ह्यभ ईलेकट्रिसिटि ?" उनले भनिन " नो" । हाम्रो विगतको शिक्षा नीतिले पस्केको राम्रो विषय हो यो जसले पनि अलि अलि मात्र भए पनि किन नहोस अग्रेजी बुझ्दछ वोल्दछ । 

हुन ता हामी वीच नराम्रो र विग्रेको विगत मात्र देख्ने संस्कारले डेरा जमाएको छ किन भने शीशा कुचो लगाउनु पर्ने कसिगंर नै कसिंगरले ढाकिएको छ तर खोजी गरे हामीले गरेका काम मध्ये राम्रा पनि नभएका होईनन् । उनको जवाफमा मेरो एउटा काम नहुने संकेत थियो । उनले मलाई आवश्यक चक्का पनि नभएको जानकारी दिईन् । 

मैले परिस्थिति प्रतिकुल भए पछि रमाईलो थप्ने उदेश्यले भने "उसो भए के पाईन्छ त यो पसलमा ?" उनि नाजावाफ भईन् । 

मैले भने " मलाई थाहा भयो के पाईन्छ यहां । ग्राहक नआएर हातमाथी टाउको राखेर घाम तापीरहेकी साहुनी पाईन्छ यो पसलमा ।" उनि खित्का छोडेर हांसिन् । 

उनले मलाई खुला मनले मदत गरिन । चक्का पाईन सक्ने पसल देखाईदिईन् । मैले दोस्रो पसलमा चक्का किन्दै गर्दा राजमार्गको अर्को तर्फ लोडसेडिगको क्षेत्र फरक भएको र विजुली हुनसक्ने जानकारी लि्ईसकेको थिए । नभन्दै हो रहेछ । तर फोटोकपी पसलमा भीड र साहुभाई एक जना मात्र । मैले वाक शक्तिको लगानी गरे र दुईवटै यन्त्रले मेरो काम गर्ने भए म फोटोकपी गर्छु भने । उनले माने । मैले केही मिनटमानै १५० प्रति फोटो कपी गरे र सडकमा आए । डा. भट्टराई ट्याक्सी रोकेर मलाई खोज्दै हुनुहुदो रहेछ।

हामी पुतलीसडकमा सिडी संकलन गरी जयनेपाल हल तिर लाग्यौ । भोलिको प्रवचनमा सहभागिहरुको वीचमा प्रतिस्पर्धा गराई जगदीश घिमिरेको अन्तर्मनको यात्रा र थ्रि ईडियट चलचित्रका दुईवटा टिकट पुरस्कारमा राख्ने निश्चयमा पुगिसकेको थिए म । थ्रि ईडियटमा परिस्थितिजन्य समस्या समाधानका राम्रा उदाहरण छन् । जयनेपालमा टिकट किनेर शिक्षा मन्त्रालय पुग्दा घण्टाघरले दुई बजेको संकेत दिईसकेको थियो । एक घण्टामा त्यहांको काम सकेर मलाई तीन बजे प्रज्ञा प्रतिष्ठान पुग्नु थियो छोरीको कार्यक्रम हेर्न । 

सरस्वति पूजाको साईतमा म शिक्षा मन्त्रालय पुगेको थिएं । शिक्षा मन्त्रालयले मलाई प्रदान गरेका दुई अमूल्य उपहारको संझना मलाई भयो केशर महलको वीचको प्रांगण छिचोलेर बैठक हुने कोठामा जांदै गर्दा । पहिलो थियो २०३६ सालको प्रवेशिका परिक्षामा प्रथम श्रेणीमा उतिर्ण गरेका विद्यार्थीलाई शिक्षा मन्त्रि मरिचमान सिंहको हस्ताक्षर भएको प्रमाण पत्र । अर्को कोलम्बो योजना अन्तर्गत भा्रतमा ईन्जिनियरिग पढ्न पाएको छात्रवृति । आज म जहां छु त्यहां पुर्याउने संयन्त्र त्यै छात्रबृति हो । 

मैले यो पावन अवसरमा शिक्षा मन्त्रालयलाई कृतज्ञता अर्पण गरे । कमलादी पुग्दा तीन बजी सकेको थियो । म हतार हतार भित्र पसेर क्यामेरा मिलाउन थाले । मन्चमा कार्यक्रम शुरु भैसकेको थियो । छोरीले त शुरुमै उसको प्रस्तुति छ भनेकी थिई । क्यामेराको पर्दामा छोरीलाई देखे पछि मलाई ढुक्क भयो । 

कार्यक्रम सके पछी हामी भृकुटीमण्डप हुंदै घर फर्कियौ । मैले अन्तर्मनको यात्रा किन्दा संझे यो मैले किनेको पांचौ प्रति हुनु पर्छ । बुद्धिदेवीको जयन्तिको अन्तिम प्रसाद भयो मेरो फेसबुक यात्रा । 

मेरी पुर्व विद्यार्थी बविनाले लेखेकी रहिछन् "यदि म खुशी हुन सक्छु भने किन दुखी हुने

मैले थपे - "यो दृष्टिकोणमा भर पर्ने कुरा हो । ओहो ! यस्तो राम्रो फूलमा पनि काँडा भनेर नरमाईलो मान्न पनि सकिन्छ या यस्तो तिखा काँडा भएको हाँगामा पनि फूल भनेर आनन्दित हुन पनि ।"