Friday, September 17, 2010

ज्ञान आर्जनको आरन

“सर मेरो जीन्दगीमा हिजो दोस्रो पटक आँखावाट आँसु आए । पहिलो सन्दर्भ मेरो पिताजी परलोक हुँदाको थियो भने दोस्रो मैले सोच्दै नसोचेको तरिकाले सिर्जना भएको हिजो वेलुकाको प्रसँग भयो । तर यी दुईमा एउटा प्रष्ट फरक के थियो भने पहिलोमा दु:खका आँसु थिए भने दोस्रो हर्षका ।“ कोटेश्वरमा रामेश्वरजीको ट्याक्सीमा वस्नासाथ हाम्रो वार्तालापको शुरुवात उनले गरेका थिए मैले पनि त्यो गहिराईमा नसोचेको सन्दर्भ कोट्याएर ।
“किन के भयो त्यस्तो ?” मैले सोधेँ ।
“ताड्नेवाले कयामतके नजर रखते है ।“ अर्थात जोखिम मोल्ने मान्छेले त्यसको अन्तिम नतिजामा दृष्टि पुर्याएको हुन्छ । मैले रामेश्वरजीवाट अहिले सम्म सिकेको यो महत्वपूर्ण शिक्षा हो । उनी कुनै ‍शैक्षिक डिग्री नलिएका भए पनि औपचारिक शिक्षाको उपल्लो सिँढी उक्लेका व्यक्ति भन्दा कम लाग्दैनन् मलाई । उनलाई पढ्न लेख्न खासै आउदैन् । कहिले कँहि म भरपाईमा सहि गराँउछु उनि दुखले सही गर्छन् । मोवाईलमा सम्पर्क नम्वरहरु व्यवस्थापन गर्ने काम पनि कठिनपूर्वक गरेको देखेको छु । जोखिम मोल्ने मान्छे दुरदर्शी र चौडा छाती भएको मात्र हुँदैन् उसको प्रतिघात क्षमता पनि विशिष्ट प्रकृतिको हुन्छ । उ हत्तपत्त सँवेदनशिल हुँदैन् । केही समय अघि आर्यघाटमा चितामा जलिरहेकी आफ्नी जीवनसँगिनीको अघिल्तिर वसेका एक वृद्धको अनुहारमा मुस्कान देखेर म पो सँवेदनशील भएको थिएँ । रामेश्वरजी आँफै विशिष्ट प्रतिघात क्षमता भएका व्यक्ति लाग्छ मलाई ।
उनले भने “सरले दिनु भएको अँग्रेजी अखवारको त्यो अँश मैले मेरो ठूलो छोरीलाई पढ्न दिएँ । जव उ त्यसलाई वढो महत्वका साथ पढ्न थाली र प्रत्येक वाक्यको अर्थ नेपालीमा मलाई बुझाउन थाली । मेरा आँखावाट आँसु चुहिए सर । म जीन्दगीमा दोस्रो पटक रोँए ।“
मैले गरेको कुनै झिनो कामले यति ठूलो प्रभाव पार्ला भन्ने मैले सपनामा पनि सोचेको थिईन् । म आश्चर्य र हर्ष दुवै भरिँए । हिजो विहान सधैँझै मैलै कोटेश्वरमा दैनिक पत्रिका किने । रामेश्वरजीको ट्याक्सी तयार रहेछ, मेरो स्थिति पैदलयात्रु वाट सवारीयात्रुमा परिणत हुना साथ मेरो गन्तव्य सिँहदरवार भएको उनलाई जनाँए । तिनकुनेको मोडमा आए पछि उनले नम्रतापुर्वक भने “यदि सरलाई ढिला हुन्न भने उत्तरकुनावाट घुमौ सर ? वच्चाको मोजा किनेको थिँए, उनिहरुलाई मुलसडकमा वोलाएर दिन पाए हुन्थ्यो ।“
रामेश्वरजीसँग भेट भएको तीन वर्प जति भैसकेको छ । मैले उनलाई एक ईमान्दार र फरासिला सवारीचालकको रुपमा पाएको छु । एकदिन मेरा एक नजिकका मित्र र म दुवैजना सगै उनको ट्याक्सीमा कार्यालय गयौ । उनले मिटर खोलेका थिएनन् । मैले दुई सय रुपैया दिँए । रामेश्वरजीले यो त वढी हुन्छ भन्दै मलाई पैसा फिर्ता दिएको देखेर मेरा मित्रले जिव्रो टोकेका थिए । उनले दररेट भन्दा वढी माग गर्दैनन् । आफ्नो उत्तरदायित्व, हक र अधिकारमा सचेत छन् उनी । मैले मोवाईलमा फोन गरेर वोलाए भने उनी जहाँ भए पनि मलाई पहिलो प्राथमिकतामा राख्छन् र सके सम्म मेरो आवश्यकता पुरा गर्छन् । म पनि मलाई सवारी चाहियो भने उनलाईनै पहिलो प्राथमिकतामा राख्छु । उनको ट्याक्सी लिएर म धेरै पटक धुलिखेल र नगरकोट गएको छु । उनि म ट्याक्सीमा चढे पछि मलाई गन्तव्यमा पुराउने कार्यलाई पहिलो प्राथमिकतामा राख्छन् । काठमाण्डौ विश्वविद्यालयको धुलिखेल गन्तव्य वनाएको विद्यार्थी र शिक्षक भरिएको वस समेत दिनभरी वास वस्ने यथार्थता वोकेर पन्ध्र मिनट लगाएर वनेपामा विहान नौ वजे तेल भर्छ । अरु सार्वजनिक वाहनहरुको त कुरै छोडौ । उनी तिनकुनेको पश्चिम उत्तर कुनामा दुई छोरी, एक छोरा र श्रीमतिका साथ लगभग दुई दशक देखि काठमाण्डौमा जिविकोपार्जन गरेर वसेका छन् । कतिपय समयमा मेरो र उनको सँवाद उनका परिवारले सुनेका छन् । मलाई लिएर हिडेका वेला उनको परिवारसग मोवाईलमा कुरा हुँदा वडो गर्वका साथ म सरलाई लिएर जादैछु भन्छन् । उनकै भनाईमा उनका परिवारका सदस्यहरु पनि हाम्रो सम्बन्धलाई आदरका साथ लिन्छन् । उनकी जीवनसँगीनीको ईच्छा वेलुकी ६-७ वजेपछिको समय घरको लागि हुनुपर्छ भन्ने छ तर उनले मुस्कुराउदै पटक पटक भनेका छन् “ तर अफिसको काममा म सरसँग जाँदैछु भने पछि जतिसुकै ढिला गए पनि मिठो खानका साथ उच्च सत्कार पाईन्छ ।“ विगत तिन वर्षमा मैले उनका परिवारका सदस्यहरुलाई भेट्ने मौका पाएको थिईन् । कहिलेकहिँ उतावाट उनीहरुले फोन नउठाएका भने होईनन् ।
मैले हतार नभएको र त्यसरी गए कुनै अन्यथा नहुने जानकारी गराए पछि उनले ट्यक्सी विमानस्थल तर्फ मोडे र छोरालाई सडकमा वोलाए । म पत्रिकाको चाङ्गमा उनको छोरालाई मिल्ने कुनै समाचार या लेख छ कि भनेर हेर्न थाले । अन्नपुर्ण पोस्टको साहसिक पर्यटन सम्बन्धि एक समाचार रहेछ । मैले ठट्टाको भावमा उनको छोरालाई दिँदै ल यो पढेर यसको सार तिम्रो वुवालाई सुनाउनु भने । हामी वानेश्वरमा पुग्दा मैले काठमाण्डौ पोष्टमा जाँचमा कसरी उत्तर दिने भन्ने लेख फेला पारेँ । त्यसमा रातो मसीको चिनो लगाएर रामेश्वरजी लाई दिँदै मैले भने “ ल यो तँपाईको छोरीको लागि, पढेर नेपालीमा अर्थ लगाउ भन्नु होला । ” सिँहदरवारमा ओर्लदै गर्दा पत्रिकाका ति दुई पृष्टलाई उनले जतनले राखेको देखेको थिँए ।
रामेश्वरजीले भावुक मुद्रामा हिजोको प्रँसगका थप रोचक अँश सुनाए । उनकी छोरी सानोमा अलि असामान्य स्वभावकी रहिछ । कतै सुस्त मनस्थिति भएका समूहतिर पो तानिन्छे कि भन्ने चिन्ता रहेछ उनलाई । अक्षर चिनाउन हम्मे हम्मे परेछ । अँग्रेजीको यस चिनाउन त महाभारत नै भएको रहेछ । छोरीले विद्यालय जान थाली तर कस्तो पढ्छे अरु समकालिनहरुको दाँजोमा उसको क्षमताको विकास कस्तो भएको छ भन्ने कुराको अनुभुति गर्ने आरनरुपी अवसरहरु खासै सिर्जना भएका रहेनछन् । उनले थपे “त्यही यस अक्षर चिन्न त्यत्रो सँघर्ष गरेकी छोरीले अँग्रेजीमा लेखेको मेरो लागि काला अक्षर भैसी वरावर भएको लेख शव्द शव्दको अर्थ लगाएर मलाई वुझाई ।”
विगत केही दिन देखि यो प्रसँग मेरो मानसपटलमा घुमीरहेको छ । केही समय अघि मेरा अनन्य मित्र डा तारानिधि भट्टराईले मलाई सार भनेको र पछि काका पँडित भवानीप्रसाद खतिवडाले अर्थ्याईदिएको तलको श्लोकको सँझना भयो ।
आचार्यात पादमादात्ते पादम शिष्य स्वमेदया ।
कालचक्रेन पादमादात्ते पादम स्व व्रम्हचारिभि ।।
अर्थात ज्ञान आर्जन गर्ने विषयका चार कारक हुन : गुरु, विद्यार्थी आँफै, प्रकृया अर्थात समय र सिकेको ज्ञानको व्यवहारिक प्रयोग । सिकाई लाई शतप्रतिशत भार दिने हो भने यी चार कारकले एक एक चौथाई भार वोकेका हुन्छन् । रामेश्वरजीकी छोरीले मैले दिएको अखवार शतप्रतिशत क्षमता प्रयोग गरेर पढेकी हुनुपर्छ जसले उनका नयन रसाउने क्षण सिर्जना गर्यो । उसले पक्कै बुझेकी होली उसका माता पिताले आदरका साथ हेर्ने व्यक्तिले दिएको पाठ्य सामाग्री पढ्न सकि र त्यसको अर्थ वुझाउन सकि भने उ प्रतिको पारिवारिक दृष्टिकोणमा झन सकारात्मक प्रभाव पर्ने छ । त्यसैले उसले त्यो क्षणलाई एक एतिहासिक अवसरको रुपमा लिएको हुनु पर्छ । अर्को तर्फ उसले उसका पिताजीलाई अँग्रेजीको ज्ञान न्युन छ भन्ने तथ्यलाई समेत ह्रदयगँम गरेकी हुनु पर्छ । मैले यहा जोड्न खोजेको सन्दर्भ के हो भने रामेश्वरजीको घरमा सिर्जना भएको त्यो क्षण जस्तै हामीले प्रत्येक वालवालिकाको दिनचर्यामा ज्ञान आर्जन गर्ने त्यस्तै उच्च मुल्य वोकेका क्षणभँगुरहरु सिर्जना गर्नु जरुरी छ । विद्यालयको त कुरै छोडौ विश्वविद्यालयका समेत कतिपय कक्षाकोठामा यस्ता सिकाईका वहुमुल्य रत्न जडित क्षणभँगुरहरु सिर्जना गर्न सके रामेश्जरजीको जस्तै प्रत्येक अभिभावकका आँखा हर्षका आँसुले भरिने थिए भन्ने कुरामा दुई मत नहोला ।
शनिवार, असोज ०२, २०६७

Saturday, September 4, 2010

कानाकी सान र तीज

नेपाली लोक गीत सुन्ने रहर पूरा गर्न म संग लिएका दुइवटा सिडि फिर्ता गर्दै कानाकी सानले सबै महिलाले रातो पहिरनमा सजिएर हर्ष विभोर भएर नाचेको गीतको महत्वको बारेमा मलाई सोधिन् । कानाकी सान र म टोकियो नजिक हायामामा अवस्थित एउटा कार्यालयका सहकर्मी हौ । उनी चालीसको हाराहारीकी अविवाहित जापानी महिला हुन् । जब उनीसंग महिला सम्बन्धी या दाम्पत्य जीवनका कुरा चल्छन् म अप्ठेरोमा परेको महशुस गर्छु । मैले सतर्कता अपनाउदै बोले “ नेपालका अधिकाशं महिलाले दाम्पत्य जीवनको दीर्घायुको कामना गर्दै मनाउने तीज पर्वमा सामूहिक स्वरमा गाइने गीत हो यो ।" मैलै पतिको स्थानमा "दाम्पत्य जीवन" भन्ने शब्द जोडीको चयन वार्तालाप छोट्याउने हिसाबले जानाजानी गरेको थिंए । कान्तिपुरमा केही दिन देखि तीज पर्वका बिषयमा छापिएका लेखहरुमा यो अन्यायपूर्ण र लैँगिक हिसाबमा त ठूलो विभेद छर्लङ्ग पार्ने चाड हो भनेर व्यक्त गरिएका विचारहरुले पुर्वाग्रही भएको मेरो दिमाग कानाकीको प्रतिकृयाले रन्थनियो । हुन त अहिले नेपालमा परिवर्तनको नाममा हाम्रा आस्थाका केन्द्र या धरोहरहरुमा अन्तर्निहित सतही खोटहरु उधिन्ने कामको गति तिब्ररुपले बढेको छ । संसारमा नेपाललाई चिनाउन सक्ने र सवै नेपालीहरु अट्न सक्ने सगरमाथा र लुम्विनीका भाई वहिनीहरु के हुन सक्छन् । हामीले सोच्ने फुर्सद पाएका छैनौ । उनले भनिन् "नेपालमा लैगिक विभेदको खाडल ठूलो भएको भन्ने पो सुनेकी थिएं यो पर्वको कुरा त त्यसको विपरित देखियो ।" उनको अर्को प्रश्न यदि दाम्पत्य जीवनको कल्पनानै नभएकाहरुलाई पनि तीजको महत्व छ त भन्ने थियो । यसलाई अन्तिम प्रश्न बनाउदै दाम्पत्य जीवनको कल्पनानै नगर्ने सवाल हाम्रो मुलधारको सोचको विषय होईन भन्ने सामान्य उत्तर पस्केर म उम्केको थिंए ।
सायद यति मात्र भएको भए पनि यो लेखकको पेशागत दायरा भन्दा पृथक यस बिषयमा आधारात सम्म बसेर यो लेख सिर्जना हुने थिएन् होला । कान्तिपुरमा प्रकाशित तारा भट्टराई र प्रतिमा विश्वास राई का तीज ईतर विचार विश्लेषण र कानाकीको सहज प्रतिकृयाले म अन्यौलको माहौलमा रहेकै बेला कान्तिपुरमा एक समाचार प्रकाशमा आयो "पतिको प्रशिक्षणले स्वर्णसम्म ।" सन्दर्भ थियो बिना खडका लामाको दसौं दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदकको विजय । मेरो मथिगंलमा यो त्रिकोणात्मक विचार मन्थन भई रहेको समयमा केहि बर्ष अगाडीको दांग जिल्लाको सदरमुकाम घोराहि जांदाको एक प्रसंग ताजा भयो । म बसेको होटलको तालिम कक्षको फ्लिप बोर्डमा मेरा आंखा परेका थिए । घरेलु हिसांका उपचारका विधिहरुमात्र लेखिएका थिए त्यहां । मैलै रोकथाम या पुर्व सावधानीका विधिहरु पनि केही छन् की भनि पल्टाई पल्टाई हेरेको थिए ।
कानाकीको आशय मैले के बुझें भने महिलाले मात्र काम बाट एक दिन फुर्सद भएर एक आपसमा रमाउन पाउनु गौरबको कुरा हो । यसरी नाबालक देखि बृद्धा सम्म एक सुत्रमा बांधिएर स्त्री बिशेषलेमात्र रमाईलो गर्ने पर्व अन्य मुलुकमा छन छैनन् अनुसन्धानको विषय हुन सक्छ । जापान जस्ता मुलुकमा यसरी सबैजनालाई एक सुत्रमा बाध्ने कृयाकलापलाई बढो महत्वका साथ हेरिन्छ । किनभने सांस्कृतिक सम्पदा र एकताका प्रतिक मात्र नभएर यीनले देशको अर्थतन्त्र धान्ने ब्यापारमा समेत ठूलो टेवा दिन्छन् । क्रिश्चियन धर्म नमान्ने भएता पनि जापानीहरु क्रिसमसमा रम्नुको कारण हो: अधिक आर्थिक कारोवार हुने एउटा मौकाको सदुपयोग । तीजको कारणले सिर्जना भएका गीतहरु र लाखौ महिलाले यस चाडमा गर्ने खरिदका उदाहरण हेर्न सकिन्छ । यस्तो रमाईलो भेलाको हरेक मान्छेको जीवनको अभिन्न अंग दाम्पत्य जीवनसं‌गको सम्बन्ध भएको कुराले उनिलाई अझ छोएको हुनु पर्छ भन्ने मलाई लाग्यो । किनभने अहिले त कामको व्यस्तता, खस्कदा सामाजिक मान्यताहरु र पश्चिमा जीवनशैलीको प्रभावले दाम्पत्य जीवनको कल्पनानै नगर्ने समूह विकसित मुलुकहरुमा बढ्दो छ ।

उपचारका विधिमात्र जानेका गैर सरकारी संस्थाहरुले घरेलु हिसां सम्मको यात्रा गरी सके पछी उम्कने पुल मात्र खोज्ने भन्दा डुंगा‌मानै सहयात्री भई रहने उपायहरु समेत जानकारी दिनु पर्ने होईन र ? किन महिला अधिकारको वकालत गर्ने अधिकांश पेशाकर्मीहरुकै दाम्पत्य जीवनमा खडेरीग्रस्त छन् ? विचार सम्प्रेसण गर्नेहरुले एकाएक आध भत्किएका उदाहरण समातेर अवधारणा बनाउनु भन्दा तिजको परम्परासंग जोडीएका अवैज्ञानिक पक्षहरु भए तीनलाई कसरी असान्दर्भिक बनाउन सकिन्छ भन्ने शोध गर्न वान्छनिय ठहर्छ । जस्तै एक दिन भरी पानी नपिउने कुरा शरिर विज्ञानको हिसाबमा जायज छ त ? दाम्पत्य जीवनलाई उत्कृष्ट मात्र नबनाई पति पत्नि एक अर्काको पेशागत सगरमाथामा पुग्ने सारथी सम्म बन्न सक्छन् भन्ने उदाहरण बिना खडका लामाको सफलताले हामीलाई पस्केको छ । तीजको गतिविधिले पत्निको त्याग जतिकै योगदान मैलै पनि दाम्पत्य जीवनमा अर्पण गर्नु जरुरी छ भन्ने भावना पतिमा जागृत गर्छ भन्ने रुपमा किन नलिने ?
हायामा, जापान
भदौ २०६३

वाणी विहीन सम्वाद

तिमी होइनौ कसरी भनौ भावनाहरु तिम्रै हुन
पराइ हुन सकछौ कसरी नसोचौ नेपथ्यमा छौ ।

टाढा छौ कसरी भनौ मेरै सामुन्नेमा छौ
नजिक छौ कसरी भनौ अदृश्य छौ ।

तिमी पल्लो कोठामा पनि हुन सक्छौ
छिमेकी घर, अर्को शहर वा दोश्रो महादेश जहाँ पनि हुन सक्छौ ।

म रंगमन्चमा छु तिमी नेपथ्यमा
तर पनि
हामी माया पिरतीका कुरा गछौ
हामी देश दुखेका कुरा गर्छौ
हामी अतितको राम्रोमा रम्छौ
भविष्यका सपना बुन्छौ

तर
यो कस्तो संयोग हो ?
तिमी टाढा भएर पनि नजिक छौ
नजिक भएर पनि टाढा छौ
किनकि
तिमी माउसको एक क्लिक मात्र पर छौ ।


फेव्रुअरी ११, २००२
हायामा, जापान