Thursday, December 16, 2010

नब्बे नौ को फुकेत

“यो लुगाको कति दाम पर्छ ?” मैले एउटा सानो नानीले लगाउने जामा जस्तो तर सिङ्गो लुगा छनौट गर्दै सोँधे ।

उनले सहजताका साथ उत्तर पस्किईन् “ यसलाई नब्बे नौ भाट पर्छ।“

ग्राहक र विक्रेताको वीचमा हुने गरेका सामान्य संवादमा प्रयोग गरिने चलनचल्तीका शब्दजाल भन्दा फरक रुपले प्रकट भएको यो ' नब्वे नौ' अर्थात 'उनानसय' ले अहिले सम्म पनि मेरो मानसपटलको एउटा कुनोलाई ओगटेको छ । एक जोड्दा एक सय हुने त्यो अङ्क लाई मैले बुझे भन्दा फरक तरिकाले अभिव्यक्त गरिएको त्यो अविस्मरणिय क्षणको एकल श्रोता पात्रको भूमिका निर्वाह गर्न पाउँदा म नँयापनको अनुभुति गरिरहेको थिँए । मेरा सन १९९४ देखि १९९९ सम्मका आधा दर्जन वर्षहरुका थाईल्याण्ड वसाईमा 'काओ काओ' अर्थात 'नौ नौ' लेखिएका अङ्कहरुको सगँत गर्न मैले पाएको थिँए । एकसयमा एकमात्र कम दाम राख्दा ग्राहकहरुको मनोविज्ञानमा पर्ने असरको फाईदा उठाई उसको ध्यानाकर्षण गर्ने उदेश्य हुनु पर्छ यो अङ्क जडित मुल्यको लोकप्रियतामा ।

मेरो मुलुक भन्दा निकै टाढा गैरनेपाली भाषा वोलिने ठाँउमा नेपाली भाषामा वोलेर सामान खरिद गर्न पाँउदा म रमाई रहेको थिँए । त्यसमाथी यो अङ्कलाई नयाँ तरिकाले सम्प्रेषण गर्ने विषयले म र मलाई सामान वेच्ने ति युवतीको वीचमा सिर्जित त्यो रोचक क्षणमा मुल्य थप गरिरहेको थियो । उनी पनि नेपाली मुलकी थिईन् । सन्दर्भ थाईल्याण्डको हो ।

नेपाली मुलका त्यति धेरै मान्छेहरु फुकेतमा रोजगारी गरेर जीवन यापन गरिरहेछन् भन्ने वारेमा मलाई थाहा थिएन् । कहिले कँही थाहा नहुनुले पनि रोचक र आश्चर्यले भरिएका क्षणहरु सिर्जना गर्दा रहेछन् भन्ने कुरा यसपल्टको फुकेत यात्राले स्पष्ट पारेको छ ।

जलविज्ञानको अनुसन्धानसँग सम्वन्धित अन्तराष्ट्रिय सम्मेलनमा कार्यपत्र प्रस्तुत गर्ने तथा एक प्राविधिक सत्रको अध्यक्षता गर्ने भूमिका निर्वाह गर्न म थाईल्याण्डको पर्यटकिय नगरी फुकेत पुगेको थिँए। फुकेतवाट लगभग दुई घण्टाको समुद्री यात्रामा रहेको 'फि फि' टापुमा हाम्रो प्राविधिक भ्रमण तय गरिएको थियो । टापुका एक हजार वासिन्दा र विक्रेताले दिनको दश हजार पर्यटकलाई सेवा प्रदान गर्ने रोचक तथ्याँङ्क सुनाए सम्मेलन आयोजक थाई मित्रले मलाई । हामीले उक्त टापुमा सिर्जना हुने निकासपानीको शुद्धिकरकरणका लागि निर्माण गरिएको आधुनिक सिमसार र टापुमा वितरण गरिने पिउने पानीको पोखरीको अवलोकन गर्यौ । त्यसपछि एक थाई चमेनाघरमा दिवा भोजनको अपुर्व अवसर प्राप्त भयो । लगभग एक दशक पछि मैले प्रसिद्ध थाई सुप 'तोमयाम' सँग भुटेको भात खान पाँए । दिवा भोज पछि हामी लाग्यौ स्थानिय वजारमा केही उपहारहरु किन्ने गतिविधिमा । मैले फुकेतमा नै केही किन्ने निर्णय गरेको भए पनि वथान विज्ञानको सिद्धान्त अनुरुप समूहको रमाईलोमा रम्न जापान वाट आएका दुई नेपाली लगायत केहि विदेशी साथीहरुसहित हामी मुल वजार तर्फ लाग्यौ । एउटा पसलमा विष्णुजीले वँहाको छोरीको जामा किन्दै गर्दा मैले त्यो पसलका विक्रेता भाईहरुलाई नियालेँ । ति थाई मूलका थिएनन् । थाईल्याण्डमा लगभग नेपाली वा वर्मावासीसँग मिल्ने समुदायहरु र चिनिया मुलका मानिसहरु वसोवास गर्छन् । हामीले अलि अलि थाई र ‘ह्याभ’ र ‘नो ह्याभ’ जस्ता शव्द प्रयोग गरिएको 'थाँय्ग्रेजी' भाषा प्रयोग गरी उनिहरुसँग मोल मोलाई गर्यौ । त्यस पछि म मेरा सहयात्रीहरुलाई छोडेर एक्लै अगाडिको अर्को पसलमा छिँरे । पसलमा उपहार दिने थैली, तस्विर सजाउने फ्रेम, महिलाले कपालमा लगाउने क्लिप आदि थिए । तर पसलमा कोहि पनि थिएन् । म सामानहरु हेर्दै थिँए । एक वाईस तेईस वर्ष जतिकी युवतीले पसलमा प्रवेश गरिन् ।

मैले तिनलाई कुनै पर्यटकनै होलिन भन्ने ठाँने किनभने तिनको रुप थाई मुलको जस्तो थिएन । मैले निमेषभरमानै ति युवती भारतको काश्मिर क्षेत्र तिर वस्ने होलिन् भन्ने अनुमान गरेँ । तर अचम्म उनले म तिर हेरेर विक्रेताको भाषा पो वोल्न थालिन ।

“सवादि खा”, उनले थाई भाषामा मलाई अभिवादन गरिन् ।

“सवादि खाप” मैले उत्तर वोलेँ ।

“थाओराई खाआआ”, उनले ' के चाहियो यँहालाई' भनेर मलाई सोधिन ‘खा’ सँग जोडिएको ‘आ’ लाई थाई शैलीमा लामो पार्दै ।

“थाई पुत नित नोए खाप” (म थाई अलि अलि मात्र जान्दछु ।) “क्यान यु स्पीक ईँगलिस” मैलै अव ति विक्रेता भएको शतप्रशित पक्का गर्दै उनको प्रश्नको अनपेक्षित उत्तर पस्किएँ र यस्तो प्रश्न राँखे जसको उत्तर मैले खोजेको जस्तो आएमा मेरो तिनी सँगको कुराकानीको आयु वढ्न सक्ने सँभावना थियो। ति विछट्टै सुन्दर थिईन् । ‌औसत थाई युवती भन्दा अग्ली, आर्यन मुलका स्त्रीजातमा अति आकर्षक देखिने ठुला आँखा र अलि लामो नाक भएकी र गोरो वर्णकी ति कन्या मेरो सामुन्नेमा थाई विक्रेता भएर प्रस्तुत भएकी थिईन् । जापानका युवतीहरुलाई देखेर मलाई के लाग्दथ्यो भने उनीहरुको शरिरमा अनावश्यक मासुको थुप्रो कतै छैन् । जुन अँगमा जति चाहिने हो त्यति मात्र छ । शरीरमा लपक्कै टाँसिने गरि लगाएको लुगाले छरिता र आकर्षक देखिएका जापानीहरुलाई रेलमा यात्रा गर्दा होस या पैदल यात्रा गर्दा होस कहिले कहि म नेपालका हाम्रा कन्याहरु सँग तुलना गर्थे । कहाँ उनिहरुको सतर्कता अपनाईएको सन्तुलित खानपान, व्यायाम र मिहिनेतले कम्प्युटरमा कुँदिएको जस्तो वान्की परेको जीउ कहाँ विहान आठ वजे सम्म निन्द्रा देवी को शरणमा परेर जे पायो त्यही जति वेला पायो उति वेला हजम गरेर लापरवाहीले जस्तो हुन्छ त्यस्तै वन्न दिईएको र जता पनि अनावश्यक रुपले पोखिएको हाम्रा आधुनिक नेपाली महिलाहरुको भद्दा जीउ । मेरा सामुन्नेको वर्तमानमा उभिएकी युवतीको पनि जापानी शैलीको कुँदिएको जिउडाल थियो ।

“येस आई क्यान स्पीक ईँगलिस” उनले भनिन् ।

“वट यु डोन्ट लुक लाईक थाई” मैले मौकाको फाईदा उठाँए।

“आई एम नट अ थाई आई एम अ नेपाली” उनले भनिन् । म हर्ष र आश्चर्य दुवैले दुई सय प्रतिशत भरिँए ।

“हे! भगवान!! तिमी नेपाली हौ ? तिमी नेपाली वोल्न सक्छ्यौ त ?” मेरो भाषाको धरातल वेजोडले आकाशियो । म अलि अलि जानेको थाई भाषावाट केही जानेको अँग्रेजी हुदै मैले सबै भन्दा आत्म विश्वासका र गर्वकासाथ वोल्न सक्ने मेरो मातृभाषा नेपालीमा आईपुगेको थिँए ।

“किन नसक्नु ! ल तपाईँ पनि नेपाली हुनु हुदो रहेछ। मलाई त अघिनै शँका लागेको थियो” उनले भनिन् ।

“तिम्रो नाम के हो र घर कहाँ हो? ” मैले परिचय आदान प्रदानको नेपाली शैली प्रयोग गरेँ।

“सीमा अधिकारी र घर वर्मा ।” त्यो क्षणलाई रोचक वनाउनको लागि प्रस्तुत उत्तर भन्दा अर्को कुनै उत्तर हुन सक्थ्यो जस्तो मलाई एक रत्ति पनि लागेन । 'सीमा' भनेको मलाई मन परेको शव्द, जाजरकोटमा मैले जीवनका महत्वपुर्ण क्षणहरु विताएको एक गाविसको नाम र यसै वाट मैले मेरो प्रकाशन केन्द्रको नाम राखेको छु “सीमा अनुसन्धान एवँ प्रकाशन केन्द्र ।“ “अधिकारी” मेरो ससुराली । अहो ! त्यो लावण्य, त्यो रुप, त्यो सामिप्यता, त्यो एकाएक सिर्जना भएको क्षणभँगुर र त्यो शब्द जोडी । एक पछि एक मुल्य थप भईरहेको छ । एक पछि एक क्षण रोमान्चकारी भईरहेको छ ।

“अधिकारी मेरो ससुराली हो र नाताले तिमी मेरी साली पर्यौ ।” मैले रमाईलो थप्ने उदेश्यका साथ यथार्थता पस्के । त्यो सुन्दर भगवतिको तस्विर जस्तो अनुहारमा मुस्कानको सेचन भयो । सामिप्यता वढेको अनुभुति भयो । म सँग एउटा विहान मिर्मिरेमा सुन्ने मोवाईलमा कैद गरिएको ध्यानको अडियो छ । त्यसमा एकान्तमा वसेर जीन्दगीका पूर्ण ध्यान केन्द्रित गरिएका र शतप्रतिशत समर्पण भाव भरिएका क्षणहरुको कल्पना गर्न लगाउँछन् ध्यान गराउने गुरुले । अहिले सम्झन्छु अडियोको परिभाषा सँग मिल्ने सँयोगले सिर्जना भएका र परिस्थितिको नाटकिय परिवर्तन भएका जीवनका स्मरण योग्य क्षणहरुमा यो वार्तालाप पनि थपिएको छ ।

“हामी यहाँ धेरै नेपाली छौ तर हत्तपत्त आफूलाई नेपाली भन्दैनौ। ईन्डियनहरुले नेपाली भन्ने थाहा पाए भने मोलमा दलाली गर्छन् ।” उनले मलाई पराईको सँज्ञाको विशेषण मुक्त गरिदिईन् ।

सीमा सँग नेपालीको नाता लागि सकेको थियो । मैले फुकेतमा किन्ने विचार गरेका केही उपहारका सामानहरु अलिअलि फेरवदलका साथ सीमाकै पसलमा किन्ने विचार गरेँ । त्यतिन्जेलमा मेरा सहयात्रीहरु पनि आईपुगे । मैले विष्णुजी र सुजाताको परिचय सीमा सँग गराई दिँए । सीमाले मलाई परल मुल्य भन्दा वढी लिन्नन् भन्ने विश्वास मलाई भईसकेको थियो । वरु मैले उनलाई मेरो आवश्यकता भने । उनले मलाई भरपुर मदत गरिन् । मैले लगभग पाँच सय भाटका सामान किने सीमाको पसलमा । ती सामानले पाँच सय भाटको मोल भन्दा कैयौ गुणा वढी नेपालीको नाताको मुल्य समाहित गरेको भान मलाई भयो। एउटा फुलदानी वाहेक अरु सामानहरु फुकेतको उपहारको रुपमा बाँडिए । तर फुलदानी मेरो कार्यालयको आगन्तुक कक्षमा सीमाको मुस्कान अविरल पस्कीरहेको छ ।

समाप्त