Thursday, February 17, 2011

पराई भूगोल : तन्नेरी आस्वाद

विमानस्थलको तापमान शुन्य डिग्री भएको घोषणा सँगै म सिँगापुर टोकियोको यात्रामा सँयोगवस चढिएको भीमकाय शरीर भएको एयरवस ३८० लाई फेरी भेटौला भन्दै अध्यागमन तर्फ लम्किएँ । मैले धेरै चोटि टेक्ने अवसर पाएका हवाई मैदानहरु मध्ये पर्छ टोकियोको नारिता विमानस्थल । नेपालमा घर छोडेको १६ घण्टा भैसकेको थियो तर मेरो अघि नारितावाट मितो शहरको लगभग दुई घण्टाको वसयात्रा लम्पसार परेको थियो । आगन्तुक कक्षमा पुगेर वस यात्रा अघि गर्नु पर्ने कामहरुमा केन्द्रित भँए । पैसा साट्ने, वसको टिकट किन्ने र न्यानो लुगा लगाउने काम सकेर म नक्साको खोजीमा लाँगे । मेरो उपस्थिति विमानस्थल सूचना केन्द्र हुँदै पर्यटक सूचना केन्द्रमा हुन पुग्यो । त्यँहा थरि थरिका नक्सा र सूचनाको भकारीमाथी जमेर वसेका दुई युवतीहरु फेला परे ।

दुई वर्ष अघि वँगालादेश जाँदा मलाई नेपालको पर्यटन सम्पदाको अन्तराष्ट्रिय महत्व र वजारको वारेमा गहिरो अनुभूति भएको थियो । बँगालादेश, जापान र सिँगापुर जस्ता मुलुकहरु प्राकृतिक सम्पदामा हामी भन्दा धेरै गरिव लाग्छ मलाई । मानव सँसाधनको उपयोग गरी साँस्कृतिक धरोहर र पुर्वाधारहरुको निर्माण गर्नु पर्ने यथार्थता बुझेर उनीहरुले आर्थिक विकासको मुलमन्त्र यसैलाई वनाए । हामी प्राकृतिक होस या पुरातात्विक, सम्पदामा धेरै विविध छौ, धेरै सम्पन्न छौ अनि यसैमा मख्ख पनि छौ। हामीले न त हामीसँग भएका अथाह सँभावनाको उपयोग गर्न सकेका छौ न त तिनको विज्ञापन नै । तर जापानले भने आफूसँग भएका स साना महत्वका सम्पदालाई समेत राम्रो विज्ञापन गरेको छ । त्रिभुवन विमानस्थलमा जम्मा एउटा नक्सा पाउन समेत हम्मे हम्मे पर्छ । म ती युवतीहरुका दाँया वाँया थुपारिएका रासका रास नक्सा देखेर भाव विभोर भँए । मैले मितो शहर समेत समेटिएको वृहत टोकियोको नक्सा माँगे । उनिहरुले नक्सा दिदै मेरो थलो सोधे । जापानीहरु सामान्यतया यसरी काम भन्दा वाहेकको विषय पस्कदैनन् । “ल ! यिनीहरु त रमाईला होलान जस्तो छ ’ मैले गमे ।

‘वातासी नेपारु कारा, निहोन्गो मो सुकोसि हानासिमास’ ( म नेपालवाट आएको हुँ, जापानी भाषा पनि अलि अलि वोल्न सक्छु ।)

“सुगोईईई…….. ” (कस्तो राम्रो) । दँग परे उनीहरु ।

हामीले जापानीहरुवाट सिक्नु पर्ने महत्वपूर्ण आयाम कुन वेला कसरी प्रशँसा गर्नु पर्छ भन्ने हो । मलाई लाग्छ प्रशँशा गर्ने, धन्यवाद भन्ने अनि कसै प्रति कृतज्ञता या आभार प्रकट गर्ने जस्ता मानव सँवेगका सामान्य शब्दहरुको सिर्जनाको पाठशालामा हामीले पढेका नै छैनौ । तर यस्को जापानी पाठशाला उत्कृष्ट छ, उनीहरुले त्यै गरे । म अझ उत्साहित भँए र यिनीहरुलाई दिल खोलेर हँसाउन पाए अझ रमाईलो हुने थियो भन्ने सोच मनमा आयो । अलि अलि मात्र जापानी भाषा जान्ने मेरो हैसियतले उनिहरुको भाषामा केही वोलेर हाँस्ने क्षण सिर्जना गर्नु चानचुने कुरा थिएन् । मैले मेरो नामसँग जोडिएको प्रसँग पस्किए ।

“वातासीवा नावाराजी देस, वाराजी तो ओनाजी ” (मेरो नाम नवराज हो र यो वाराजी जस्तै हो ) । मेरो निसाना अचुक भयो । उनिहरु मेरो कुरा सुनेर खित्का छोडेर हाँसे । यो अस्त्रले मैले जापान वसाईका धेरै अवसरहरुमा रमाईलो पस्केको छु । जापानी भाषामा वाराजी भनेको गाँउघर तिर लगाईने पराले चप्पल हो ।

जापान पुगेको तीन दिन पछि म मितो शहरको एउटा जापानी रेष्टुरेन्टमा जापानी प्राध्यापकहरु र विदेशवाट आएका म जस्ता सँगोष्ठीका सहभागीहरु सम्मिलित एक रात्री भोजमा थिएँ । हामी २० जना जति थियौँ । त्यसमा जम्मा एक जना मात्र स्नातक अन्तिम वर्षकी अविवाहित महिला पात्र थिईन् । जापानमा वेलुकाको जमघटमा मदिराजन्य पेय पदार्थ पिउनु भनेको सामान्य कुरा हो । हामी रुचि अनुसारको पेय पदार्थ र जापानी परिकारको आनन्दमा रमायौ । ति जापानी युवती कत्ति पनि विचलित नभैकन हामी सँग पुरुष सहभागी जत्तिकै घुलमिल भएकी थिईन् । मलाई नेपालमा त्यस्तै गतिविधि भएको भए के हुन्थ्यो होला भन्ने कल्पनाले तान्यो । पहिलो कुरो त नेपाली समाजको परिवेशमा कुनै पनि महिलाले आफ्नो परिवार ईत्तर जमघटमा त्यति राती सम्म वस्ने आँट गर्नु असामान्य हुन्थ्यो । दोस्रो परिवारले पनि त्यसरी मदिराजन्य पेय पदार्थ पनि वेरोकटोक पिउन पाईने रात्री भोजमा सरिक हुन एक्लै कुनै पनि अविवाहित छोरी चेलीलाई अनुमति दिने थिएनन् । हुन ता हामी सँग यस्तो जमघटले निम्त्याउने विकराल जोखिम पनि नभएका होईनन् । जापानमा पुरुष र स्त्रीको विचमा सम्बन्ध स्थापित हुनु अघि लामो समय सम्मको सामिप्यता र विश्वासको वलियो सँयोजन हुन्छ । म सरिक भएका यस्ता जमघटमा ईज्जत र शालिनताको लक्ष्मण रेखा काट्ने दुश्प्रयास गरेको मैले देखेको छैन् । तर हामीकँहा उमेर पुगेका युवा युवतीको छोटो अन्तरालमा नै सम्बन्ध स्थापना हुन सक्ने भएर हो या सामान्य कुराकानीमा पनि अनुशासन या शालिनताको घेरा झिनो भएर हो स्थिति फरक छ । केही समय अघि नेपालमा म पनि आयोजक भएको एक अन्तराष्ट्रिय सम्मेलनको रात्री भोजमा सम्मेलनकी सहभागी एक विदेशी युवतीको अघि नशामा लठ्ठिएका एक समकक्षी मित्रले गरेको कृयाकलापले मलाई तुरुन्तै ठोस निर्णय लिन वाध्य पारेको थियो । सर्वसुलभ यातायात र उत्कृष्ट सुरक्षा व्यवस्था पनि यसको अर्को कारण हुन सक्छ । वास्तवमा आर्थिक विकासका धेरै वटा पाटाहरु छन् । हामीले नेपालमा पनि यि विभिन्न पक्षहरुलाई उजागर गर्न र यस्ता विषयहरुमा आम वहस गर्न जरुरी छ ।

टोकियो यात्राको अर्को एउटा रात्री भोजको सन्दर्भ पनि रोचक छ । टोकियो विश्वविद्यालयका मेरा समकक्षी मित्रहरुले मेरो सम्मानमा आयोजना गरेको रात्रीभोजमा हामी छ जना थियौ जसमा दुई जना अविवाहित जापानी युवतीहरु थिए । चार जना पुरुष पात्रहरु चै विवाहित परेछौ जसको समिश्रण पनि रोचक थियो । एक जापानी, एक कोरियन, एक भारतिय र म नेपाली । गफको एउटा विषय वन्यो “जापानी युवा युवतीहरु किन विवाह नगरी जीवन यापन गर्न चाहान्छन्।“ आफै अविवाहित भएकाले ती युवतीहरुलाई आफ्नो व्यक्तिगत जीवन भन्दा माथी उठेर जापानी युवा पुस्ताको प्रतिनिधि पात्रको रुपमा उभिन हामीले प्रेरित गर्यौ । उनीहरु उत्साहित भए । जापानको खस्कदो जनसँख्या वृद्धिदर र जेष्ठ नागरिकको उर्लदो भेलको समस्या सँग जोडिएकोले हाम्रो छलफलको विषय वस्तु गहन थियो । उनिहरुले पश्चिमा सभ्यताको नक्कल, महगो जीविकोपार्जन, एकल महिलाहरुको जीवन विवाहितको भन्दा स्वछन्द हुन्छ भन्ने सोच, युवा युवतीको विचमा विहे गर्ने सम्मको सम्बन्ध स्थापित हुन लाग्ने लामो अवधि, समाजमा विवाह र रगतको नाताको सिर्जनाले जीवनको पूर्णता प्राप्ती हुन्छ भन्ने सृष्टिको विधानको सट्टा अविवाहित जीवन, समलिँगी सम्बन्ध, कुमारी आमा जस्ता विकृतिजन्य सँस्कारहरुले पश्रय पाउनु आदि कारणहरु उल्लेख गरे ।

नेपाल फर्कने क्रममा सिँगापुरको चाँगी अन्तराष्ट्रिय विमानस्थलमा राती दुई वजे आईपुगेको र काठमाण्डौको लागि प्रस्थान गर्ने समय विहानको नौ वजे मात्र भएकोले म सँग यथेष्ट समय थियो । म प्रस्थान गर्ने द्वारको आसपासमा नेपालीहरु भेटिए उनीहरु सँग कुराकानी गरेर समय विताउन सकिने सँभावनालाई यथार्थतामा परिणत गर्न त्यता लम्किएँ । नभन्दै सिडनीवाट आएको युवायुवति मिश्रित एक टोली फेला पर्यो । म उनीहरु सँग एक पछि अर्को गर्दै कुराकानीमा अल्मलिएँ । पात्र “क” थिए त्रिविवि किर्तिपुर वाट ग्रामिण विकासमा स्नातकोत्तर गरेर अष्ट्रेलिया पसेका युवा । उनले नेपालको डिग्रीले अष्ट्रेलियामा वसाई सरेर स्थायी आप्रवासी हुने उनको सपना पुरा हुने नदेखेर सिडनीमा समुदाय विकास सम्बन्धित दुई वर्षको व्यावसयिक तालिम लिएछन् । अहिले उनले जेष्ठ नागरिकहरुलाई सेवा दिने केन्द्रमा उनीहरुसँग खेल्ने र उनीहरुका आवश्यकता पुरा गर्ने काम पाएका रहेछन् ।

उनले भने “सर म त चोक्टा खान गएकी वुहारी झोलमा डुवेर मरी भन्ने उखानको उदाहरणिय पात्र हुन पुगेको छु । मेरो नेपालको डिग्री र मिहिनेतको कुनै महत्व रहेन । मेरो पहिचान अव एक सामान्य श्रम गर्ने श्रमिकको रुपमा स्थापित भएको छ । “
पात्र “ख” थिईन् नेपालकी आर्किटेक्ट ईन्जिनियर चेली तर अष्ट्रेलियाकी जेष्ठ नागरिक केन्द्रमा काम गर्ने श्रमिक । उनको वेदना पनि कमको थिएन् ।

पात्र “ग” थिए नेपालवाट वायोटेकनोलोजीमा स्नातक गरी अष्ट्रेलियामा सूचना प्रविधिमा स्नातकोत्तर गर्दै गरेका युवा । उनको स्थिति अरु दुईको तुलनामा राम्रो थियो ।
उनीहरुले नेपाल र अष्ट्रेलियाको शिक्षा, आफ्ना सन्तान प्रति अभिभावकको दृष्टिकोण र विद्यार्थीहरुको भविष्य प्रतिको चिन्ता आदि विषयहरुमा आफ्ना अनुभवहरु पस्किए । नेपालमा धेरै पढेर ठुला ठुला कामहरु गर्ने सपना साँच्ने क्रममा आर्जित शिक्षाले उमेर अनुरुप दिनु पर्ने व्यावहारिक ज्ञानको अभाव भएको तर्क प्रस्तुत गरे । विश्वविद्यालयमा प्राप्त डिग्री र आर्जन गरेको ज्ञानको दायरा तथा वजारमा सिर्जना हुने जिवीकोपार्जनका अवसरहरुको विचमा नेपालको तुलनमा अष्ट्रेलियामा धेरै कम खाडल भएको विवरण उनीहरुले पेश गरे ।

पात्र “ख” ले भनिन् “मैले आर्किटेक्ट भएर ठुला सँरचनाको नौलो नक्शा वनाउने त कुरा छोडौ, यो विश्राम स्थलको लम्बाई कति होला भनेर अन्दाज गरेर नजिकको उत्तर पस्कने आत्मविश्वास पनि जगेर्ना गर्न नसकेकी रहिछु । फोटो कपि गर्ने, सामान उचालेर पल्लो कोठामा लैजाने, आफु कहाँ छु भनेर अरुलाई टेलीफोनमा जानकारी दिने जस्ता सामान्य कामको समेत ज्ञान र ती काम गर्ने आत्मविश्वाश नहुनु मेरोलागि अष्ट्रेलियामा चुनौतिका विषयहरु भए। “

उनीहरुका जीवनका यी यथार्थताहरु ध्यान पुर्वक सुनीरहेको थिँए । अष्ट्रेलिया लगायतका विकसित मुलुकहरुले आधुनिकताको लोभ देखाएर कसरी हाम्रा वृति विकासको महाभारतको उचाईमा पुगिसकेका नेपाली युवा युवतीहरुलाई श्रमिकमा झारेर आफ्नो श्रम वजारको आवश्यकता पुरा गरिरहेछन् भन्ने प्रश्नको उत्तरको रुपमा म ती पात्रहरुलाई अवलोकन गरिरहेको थिँए । मैले मन मनमा भने “हे तन्नेरी हो ! पराई भूगोलले शैक्षिक योग्यता र वृति विकासका उचाई घटाएका यी सँस्मरणहरुलाई नेपालमा वृति विकासको महाभारतको पहाड चढिरहेका तिमीहरुका भाई वहिनीहरुलाई सुनाउन नविर्सनु। नेपालमा सिपयुक्त शिक्षा र व्यवहारिक ज्ञान सम्प्रेषण गर्ने दिशामा अलिकति भए पनि आफ्नो उर्जा खर्चनु ।“ मेरो जापान भ्रमणको अनुभव लेख्नका लागि यथेष्ट विषय वस्तु सँकलन भै सकेको थियो । घडि हेरेँ, विहानको ६ वजिसकेको थियो, म स्टार वक कफिको स्टल खोज्न लम्किएँ ।