Monday, April 18, 2011

सदावहार गुरुलाई भेटी

केही समयअघि कोटेश्वर योग साधना केन्द्रमा केशव अधिकारीद्वारा निर्माण गरिएको एक सिडी फेला पारेँ। एक योग गुरूले त्यो सिडीको प्रतिलिपी वनाउन पाए हुने थियो भन्ने ईच्छा व्यक्त गर्नु भयो । मलाई पनि त्यो सिडीमा रहेको गुरुसँग सम्बन्धित एक भजन सारै कर्णप्रिय लागेको हुनाले भजनलाई आफ्नो कम्प्युटरमा सार्न पाए हुने थियो भन्ने लाग्यो । सिडीको प्रतिलिपी वनाउनु अघि मैले सोचेँ "सिडीको सिधै प्रतिलिपी वनाँउदा यस्तो राम्रो भजन गाउने स्रष्टा प्रति अन्याय हुन्छ ।" म हानिएर न्युरोडको सिडी पसलमा पुगेँ र त्यो सिडीको प्रति किन्ने ईच्छा व्यक्त गरेँ । दुर्भाग्यवश सिडी फेला परेन र पसलेले त्यो सिडी वजारमा नआएको जानकारी दिए । सिडीमा निर्माताको नाम भन्दा वाहेकको अरु जानकारी थिएन् । स्रष्टाको सिर्जनालाई मूल्य तिरेर सम्मान गर्ने मेरो सोचमा पूर्णविराम लाग्यो । भजनका प्रतिलिपीहरु वने ।

गुरुनै हुन ज्ञानदाता, गुरुनै मन्त्रद्रष्टा ।
गुरुनै हुन प्रेमसागर, गुरुनै हुन् मुक्तिदाता ।।

तमस चिर्दै शिष्यलाई गुरु दिन्छन् आलोक ।
गुरु मिले जीवन धन्य दिव्य हुन्छ त्रिलोक ।।


"गुरुनै हुन मन्त्रद्रष्टा" भन्ने वाक्याँश पटक पटक प्रतिध्वनित भईरह्यो र माथी उल्लेखित अन्तिम वाक्यको 'मिले" भन्ने शब्द त धेरै पटक भजन सुने पछी मात्र बुझेँ । सुनेको थिएँ "शिक्षकले शिक्षा दिन्छन् तर गुरुले शिक्षा र दिक्षा दुवै" । त्यतिले मात्र मन मानेन । एक दिन योग शिविरमा प्राणायाम गर्दा यो भजन वजिसके पछि मैले हात उठाएर योग सिकाईरहेका गुरुलाई सोधेँ ।

"गुरुदेव ! गुरु र शिक्षकमा के फरक छ ? "

केही वेर छलफल चल्यो । कसैले एउटै हो भने । कसैले गुरुको नेपाली रुप शिक्षक हो भने । तर एक जना साधकको उत्तर ले मेरो ध्यानाकर्षण गर्यो ।

" गुरु भनेको सर्जक हो । पँडित भनेको व्याख्याकार । शिक्षक भनेको सिकाउने व्यक्ति ।"


मैले यसरी वुझेँ । गुरुको मन्त्रमा सिर्जना यो अर्थमा हुन्छ कि त्यो जप्दै जाने हो भने त्यसले आजको "म" को सिर्जना हुन्छ अर्थात काँचो माटो वाट मट्याँग्रा बन्छ, ईँटा बन्छ, रीकापी वन्छ, कप बन्छ । मैनको थुप्रोवाट मैनवत्ती बन्छ, मान्छेको मुर्ति बन्छ । कुन्ति पुत्र द्रोणाचार्य गुरुको मन्त्र पाएर  अर्जुन वन्छ । गोरखनाथको मन्त्रमा पृथ्वी नारायणले नेपाल वनाउने उर्जा प्राप्त गर्छन् । गुरु षडाननका शिष्यहरु समाजका पथप्रदर्शक बन्छन् । आजका जति पनि अध्येताहरु छन्, तिनीहरु सबै गुरुका सिर्जना हुन् । अर्थात गुरुलाई कुन बिउ कुन माटोमा उम्रिन्छ भन्ने थाहा हुन्छ । कुन वृक्षमा कस्तो फल लाग्छ भन्ने पुर्वानुमान गर्ने अपूर्व क्षमता हुन्छ गुरुसँग । शिष्य भनेको एउटा उर्वरा भूमि हो । त्यँहा अर्जुन उम्रिन सक्छ की दुर्योधन ? गुरुलाई ज्ञान हुन्छ । शिष्य भनेको एउटा सेतो कागज हो । त्यँहा कुन मसिले के लेखिन सक्छ गुरुलाई थाहा हुन्छ । गुरुको आदेश वा उपदेश जोखिम रहीत हुन्छ । जव कसैले वास्तविक गुरुको सामिप्यता पाँउछ र उ गुरुलाई स्वीकार्छ, त्यो क्षण प्रस्थान विन्दु वन्छ निर्भयका साथ अघि वढ्नको लागि । गुरुको आलोकले सिन्चित भएको शिष्य विन्ध्याचल पर्वत उडाएर ल्याउन सक्छ । धर्तिमा हेरेर आकाशमा द्रुत गतिमा घुमिरहेको निशानालाई अचुक वनाउन सक्छ । गुरुको मार्गदर्शन भनेको गीता हो, नारायण गोपालको गीत हो, लेखनाथको तरुणतपसी हो जहाँ कुनै खोट हुँदैन, अपुर्णताको अँश पनि हुँदैन । गुरुको मन्त्रमा अथाह उर्जा हुन्छ । मार्ग हुन्छ र निश्चित गन्तव्य पनि हुन्छ । यसैले गुरु 'अहिलेको म' का सृजनाका श्रोत हुन । म यो तर्कसँग सहमत हुन्छु ।

आज भन्दा लगभग तीन दशक अघिको सन्दर्भ हो । म विज्ञान विषयमा प्रविणता प्रमाणपत्र तहको विद्यार्थी थिँए, धरान क्याम्पस हात्तिसारमा । मेरो एउटा विषय थियो "नेपाली" र मेरा शिक्षक थिए 'माधव पोखरेल' । त्यसवेलाको एउटा प्रसँग अझै पनि ताजा छ । नेपालीको पढाई भैरहेको छ । माधव सरले अनुच्छेदको साराँश लेख्न सिकाउँदै हुनुहुन्छ। अनुच्छेदको शिर्षक छ "पुस्तकालयको व्यवस्थापनका लागि डेवी डेसिमल पद्धति" । मैले त्यस कक्षामा साराँश लेख्ने तरिकाका अतिरिक्त पुस्तकालयमा पुस्तक कसरी खोज्ने भन्ने ज्ञान पनि पाँए । पछि म विरला प्राद्यौकिक सँस्थान भारतमा ईन्जिनियरिङ्ग पढ्दा पुस्तकालयमा पुस्तक खोज्दा डेवीको पद्धति प्रयोग गर्थेँ । जस अनुसार भौतिक शास्त्रको पुस्तक खोज्नु पर्यो भने ५३० सँख्या लेखिएको दराजमा जान्थे, पुस्तक ठ्यक्कै भेटिन्थ्यो र माधव सरलाई सम्झन्थे । यसरी माधव सरको कक्षा एउटा ढुँगाले दुईवटा चरा मार्ने रणनीतिले भरिएको हुन्थ्यो । विज्ञान विषय पढ्ने विद्यार्थीहरुको लागि सजिलो पार्ने उदेश्यले होला नेपाली साहित्येत्यर सामाग्रीको प्रयोग गरीएको । तर पाठ्यक्रममा भएका साहित्यका सामाग्रीहरु पनि उत्तिकै रोचक तरिकाले पस्कने अद्भभूत कला थियो माधवसर सँग । वसाईँ उपन्यास होस या पारिजातको "मैले नजन्माएको छोरो" होस । अहिलेसम्म पनि नविर्सिएका प्रसँगहरु छन् । नजन्मिएको छोरो भनेको ओथारो वसिएको टेवुलटेनिसको वल जस्तै हो भन्ने वहाँको कथनले अझै दिमागको कुनामा डेरा जमाएको छ । हामी नेपाली र नेपाल परिचय मात्र नेपालीमा अध्ययन गर्दथ्यौ, वाँकी सबै अँग्रेजीमा । अरु विज्ञानका विषय भएकाले, अग्रेजीमा पढ्नु पर्ने भएकोले र नेपालीमा धेरै नम्बर नआउने परम्परा भएकाले नेपालीमा हामी त्यति ध्यान दिन सक्दैनथ्यौ । यसैले मलाई माधवसर भित्र लुकेको गुरुत्वको पहिलो आभास त्यतिवेला भयो जव मेरो हातमा प्रमाण पत्र तहको लब्धाङ्क पत्र पर्यो । मेरो नेपाली विषयमा ८१ नम्बर आएको रहेछ । यो प्राप्ताङ्क समान पूर्णाङ्क भएका र प्रयोगात्मक अँश समेत भएका भौतिक शास्त्र र रसायन शास्त्रका नम्बर भन्दा पनि बढी थियो ।

म त्यसको दुई दशक पछि मेरो कविता सँग्रहको एक पाण्डुलिपी वोकेर माधव सरको त्रिविवि किर्तिपुरको कार्यालयमा पुँगे र डराउँदै भने ।

" सर! म हजुरको पूर्व विद्यार्थी । वृति विकासको सिलसिलामा रुखो विषयको पछि कुँदे । आफ्नो पेशा ईत्तरको विधा भए पनि एउटा पुस्तक प्रकाशन गर्ने धोको वोकेर हजुरको कुटीमा आएको छु । यो पाण्डुलिपी पढेर भूमिका लेखिदिनु भए आभारी हुने थिएँ ।"

म कति पानीमा थिँए भन्ने कुरा मलाई थाहा थिएन् । आफैले आफैलाई साहित्यको समुद्रमा मुल्याङ्कन गर्नु भनेको चानचुने कार्य थिएन् । त्यो पनि आफ्नो पढाई र अनुभवको विधा ईत्तर विषयमा । मैले कुनै साहित्यको पुस्तक प्रकाशन गरेको थिइन् । कसैद्वारा मेरा कविताको समिक्षा पनि गराएको थिईन् । नेपालीको पढाई भनेको विद्यालय र कलेजको मात्र थियो । विद्यालयमा नेपाली विषय अध्यापन गराउने गुरुको शास्त्री सम्मको योग्यता भएता पनि वँहाकोलागि पनि आधुनिक नेपालीको पढाई र लेखाई नौलो विषय नै थियो । साथै नेपालीलाई भाषा सिकाईको हिसावमा र विज्ञान, गणितजस्ता उमेरको र ज्ञानको वृद्धिसँगै जटिलताको आयतन बढाउनु पर्ने विषयहरुलाई पनि पढाउन सकिने माध्यमको सन्दर्भमा नेपाली विषय कसरी पढाउनु पर्छ भन्ने आयाम नँया शिक्षाको प्रयोगमा थिएन् । फलस्वरुप महाकवि देवकोटाका कविता र लेखनाथ पौड्यालका नीति सन्देश नभई 'मेरो नेपाली' किताव पूर्ण हुँदैन भन्ने मानसिकताले तयार पारिएको पाठ्यक्रमको घोकन्ते पढाईले मेरो नेपाली भाषाको स्तर माथी उठेको मलाई लागेको थिएन । पाठ्यक्रमको यो रोग अहिले पनि यथावत नै देखेको छु । एउटा प्रसँग पस्कन्छु । राम्रो हेक्का भएन तर आज भोली पनि कक्षा चार या पाँचमा महाकविको तलको कविता पढाईन्छ ।

पाईन्न शान्ति किन हो कुन ठाँउ मिल्छ ।
तर्किन्न त्यो रुख मनि जुन साथ मिल्छ ।।

एक पँडितजीले कान्तिपुर टेलिभिजनको प्रातकालिन कार्यक्रममा "तर्किन्न" लाई "तर्किन्छ" भनेर वाचन गरी त्यसै अनुरुप व्याख्या गरेको सुनेको छु । कविताअँशको दोस्रो वाक्य त मैले अहिले सम्म पनि राम्ररी वुझेको छैन् । यहाँनिरको प्रश्न हो- ११-१२ बर्ष उमेर भएका विद्यार्थीलाई यो कविता पढाउनु भनेको सिकाई विज्ञान (Cognitive Science) को मान्यता अनुरुप पर्छ कि पर्दैन ?

मेरो परिवेश पनि कुनै नौलो थिएन् । वातावरण ईन्जिनियरिङ्गको विद्यार्थी, कविताको पोको वोकेर भाषा विज्ञानमा विद्यावारिधीको उपाधि प्राप्त गरी नेपाली भाषा अध्ययनको सगरमाथाको चुचुरोमा अवस्थित ऋषिमुनीको कुटिमा उभएको थिएँ म ।

"पहेँलो मसीको कलमले एउटा धर्को तान्नुहोस्, त्यसैको समानान्तर पारेर नजिकै अर्को धर्को तान्नु होस् । यसैगरी पालैपालो पहेँलो र निलो धर्को तान्दै सबै पन्ना भरिदियो भने त्यो पान्ना हरियो देखिन्छ । हरियो रङ्गको धर्को कलाकारले तानेको छैन्, तर पहेँलो र निलो रङ्गको सहविन्यास (Juxtaposition) वाट निस्कने अर्थ हरियो नै हो । नवराज खतिवडाका कवितामा त्यही सहविन्यासको प्रयोग भएको छ ।"

आफ्नो लेखनको वारेको आफ्नै मुल्याँकनको दोधार, अनिश्चष्य र अन्धकारलाई चिर्दै माधव सरका यी माथिका हरफहरु मेरा सिर्जनाका मुल्याङ्कनको रुपमा मैले मेरो कृतिको भूमिकाको रुपमा मैले पाएँ । मेरो खुशी र आनन्दको सीमा रहेन् । माधवसरको गुरुत्वको दोस्रो परिचय पाएको अनुभुति मलाई भयो । माथि उल्लेखित अधिकारी बन्धुको भजनमा 'अन्धकार चिर्दै गुरु शिष्यलाई प्रकाश दिन्छन्' भन्ने   वाक्यको सिर्जना त्यसै भएको होईन् । म कहिले कहिँ गुरुको विषयमा चिन्तन गर्दा सँस्कृतको एक वाक्याँश सम्झन्छु ।

"शिष्यात ईच्छेत पराजयम ।"

अर्थात पुरुषार्थको हिसाबमा या नायकत्वको हिसाबमा या अध्येताको हिसाबमा हेर्ने हो भने एउटा अध्यापक वा शिक्षक असल गुरुको उपाधि पाउन त्यस वेला लायक हुन्छ जव उ शिष्य वाट एकदिन पराजित हुने लक्ष्यका साथ ज्ञान प्रवाह गर्छ । शिष्यले पाउनु पर्ने शिक्षा र दीक्षा दुवैमा शतप्रतिशत पूर्णता हुन्छ । त्यहाँ कुनै शर्त हुदैन् । त्यहाँ कुनै आग्रह हुँदैन । कुनै पुर्वाग्रह हुँदैन् । अनि अन्धकार चिरिन्छ । मैले मेरो कवितामा लेखेको छु ।

"अन्धकारको आफ्नै जीवन हुदैन, ज्योति विद्यमान नहुनु मात्र हो ।"

विद्यार्थी पनि अन्धकार वोकेर हिडेको एउटा वर्तमान हो । यो वर्तमानमा प्रकाशको प्रवाहको आवश्यकता छ । आजको गुरुको आशिर्वादको त्यो सानो झिल्को झाँगिदै भोली सूर्य वन्न सक्छ, महानायक वन्न सक्छ, युगपुरुष वन्न सक्छ भन्ने भावले कुनै आग्रह पुर्वाग्रह विना जसले ज्ञान दिन्छ त्यो नै गुरु हो । म कहिले कहिँ यस विषयमा सोच्दा मेरा एक अनन्य मित्र सूर्यमान शाक्यले विद्यार्थीलाई पेन्सिलसँग तुलना गरेको एउटा प्रसँग सम्झन्छु । उनले भनेका थिए "पेन्सिलको शरिर भनेको विद्यार्थी हो र मेट्ने भनेको शिक्षक ।" पेन्सिलले सिर्जना गर्छ, विद्यार्थीले पनि सिर्जना गर्छ । राम्रो सिर्जना गर्न पेन्सिलको टुँडो तिखो हुनु जरुरी छ जसका लागि उसलाई तिखारिने पिडादायी प्रकृया वाट पार हुनु पर्छ । पेन्सिलको शरीर जस्तै हाम्रो पनि कुनै अँग काटिने हो भने हामीलाई कति पिडा हुन्छ कल्पना गर्दै जिउ सिरिङ्ग हुन्छ । तर जतिसुकै पिडादायी भए पनि त्यो प्रकृया विना पेन्सिल तिखारिदैन् । यसकारण सिकाईको प्रकृया पनि त्यही समान हुन्छ । यदि तिमी अर्जुन, एकलब्य, आईन्सटाईन, ब्रुसली जस्ता विधा-नायक हुन चाहन्छौ, महामानव हुन चाहान्छौ, सर्जक या कर्मठ पेशाकर्मी हुन चाहान्छौ र पेन्सिलले जस्तो सिर्जना गर्न चाहान्छौ भने तिमीले पनि ज्ञान प्राप्तीको त्यो पिडादायी प्रकृया पार गर्नै पर्छ । पेन्सिलको मेट्ने भागको काम भनेको गल्ती सच्याउनु हो । मैले पटक पटक मेरा विद्यार्थी या कर्मचारीलाई भन्ने गरेको छु । मेरालागी गल्तीका दुईवटा सँकेत हुन्छन् । पहिलो हो गल्तीले तिमी काम गर्दै छौ भन्ने जनाउँछ । जड अवस्थामा वसेको व्यक्तीले कुनै गल्ती गर्दैन् । झमक घिमिरेले आफ्नो पहरो जस्तो जीवनमा पनि फूल फुलाएकि छन् । उनी लेख्छिन् ।

"मैले हातका औँलाहरुले केही नसमातेपछी खुट्टाका औँलाको प्रयो नगरेको भए अहिले यो शरिर जीउँदो लाश सरह हुने थियो ।"

झमकको यो वाक्यले मलाई जिँउदो लाशको परिभाषा छर्लङ्ग पारिदियो । जडता र मुर्दा अर्थात जिउँदो लाशमा धेरै समानता छ भन्ने मलाई लाग्छ । यसकारण गल्ती गर्नु भनेको जिउँदो हुनुको परिचायक हो । यसैले जहाँ जीवन्तता हुन्छ त्यहाँ गल्ती हुन सक्छ । गल्तीको अर्को सँकेत "अव तिमी फेरी जानेर त्यही प्रकृया या गतिविधी या दोहोर्याउदैनौ" भन्ने हो । अर्थात अव तिमीलाई कुन गोरेटो जँगलमानै हराउँछ भन्ने बोध भएको छ । यसरी मेट्ने भनेको शिक्षक हो जसले गल्ती गर्ने मौका दिन्छ या तिमीले गल्ती गर्ना साथ सच्च्याईदिन्छ । म भन्ने गर्छु 'जव जव तिमी जीवन यात्रामा अघि वढ्दै जान्छौ तिम्रो मेट्नेको आकार घट्दै जान्छ ।' मैले मेरो विद्यार्थी जीवनको पेन्सिलसँग बाँधिएका मेरा मेट्ने गुरुहरुलाई विद्यालयमा या क्याम्पसमानै छोडेको छु । यसैले अहिले म विना मेट्नेको पेन्सिल हूँ । कतिपय अवस्थामा मलाई गल्ती गर्ने स्वतन्त्रता नै हुँदैन । मेरो कार्यालयको मेचका फायलहरु गल्तिविहिन निर्णयहरुको पर्खाईमा हुन्छन् । तर जव जव म माधव सरलाई भेट्छु लाग्छ मैलै मेरो मेट्ने पुन फेला पारेको छु । यसैले कहिले कहि म वँहाको एका विहानै पुजा विथोल्छु । केही समय अघि यस्तै भयो ।

"सर ! मोवाईल फोनलाई नेपालीमा "हाते" भन्नेकी "डुलुवा" भन्ने ? "

"सर ! "रापिड ईकोनोमिक डेभलेपमेन्ट : अ कि फर स्टेट रिस्टकचरिङ्ग" को नेपाली अनुवाद के हुन्छ ? "

यति मात्र नभएर वँहा जापान गएको वेलामा समेत म स्काईपमा गुरुलाई दु:ख दिन्छु ।

"क्लाईमेट रेजिलियन्स" लाई "जलवायु प्रतिघात अभिवृद्दि" भन्न मिल्छ, सर ?

यस्तो वेला म प्राय शब्दकोश अघि राखेर वस्छु । किनभने मलाई थाहा छैन् वँहाले मलाई वहाँका शिष्यहरुको कुन समूहमा राख्नु हुन्छ । यदि म सामान्य शिष्यहरुको जमात भन्दा माथी पर्ने रहेछु भने वहाँले सोच्न सक्नु हुन्छ "ओहो ! यो मेरो चेलो त मेधावी भनेको लट्ठक पो रहेछ यस्तो जावो प्रश्न लिएर आँउछ " । प्रत्येक शिष्यको औकात अनुसारको कित्ता हुन्छ भने मलाई लाग्छ। जव जव म माधव सरको दैलो ढक ढकाउँछु । मेरा अन्धकाररुपी अन्यौल र अज्ञानतालाई गुरुका आलोकले सिँचेका छन् । चिरेका छन् । माधव सरसँग वैज्ञानिक नेपालीको समुद्रनै छ। त्यो गँगाजल लाई मेरो ज्ञानको सानो दहमा ओसार्ने क्रममा मैले माधव सरमा अन्तरनिहित गुरुत्वका थप प्रमाणहरु फेला पार्ने गरेको छु ।

माधव सरको अर्को प्रकाशमा नआएको विशेषता भनेको वँहाको नेपाली हस्ताक्षर लेखन शैली हो । वँहा नेपालीलाई पनि अँग्रेजी जस्तो जोडेर लेख्नु हुन्छ । के यो देवनागरी लिपीको प्रयोगमा एक जादु होईन त ? लिपीविदहरुले उत्तर देलान। वहाँको लेखाईमा प्रचलित भन्दा फरक तरिकाले धर्काहरु तानिन्छन् र अक्षरका वृतहरु कोरिन्छन् । जस्तै: "मा" लेख्दा 'म' र यस्को 'आकार' धर्को कलम नउठाई लेखिन्छन् । नेपाली अक्षरहरु पनि जोडेर लेख्न सकिन्छ यसले हस्तलिपी पनि राम्रो हुन्छ र चाँडो पनि लेख्न सकिन्छ भन्ने विषयमा सोध भएको छ कि छैन् म अनभिज्ञ छु । एप्पल कम्पुटरका स्टिभ जब्सले गरेको लेखन प्रयोगले कम्पुटरमा फन्टको विकास भए जस्तो माधव सरको जोडेर लेख्ने कलाले पनि नेपालीको अर्को फन्ट सिर्जना गर्न सक्छ । भविष्यमा यो सिर्जना होला कि नहोला त्यो त समयको गर्भमा भएको विषय हो तर अहिलेलाई भने माधव गुरुलाई वँहाको सदावहार शिष्यको अर्को प्रश्न तयार भयो ।

" सर ! के नेपालीमा पनि जोडिएका अक्षर भएको फन्ट तयार गर्न सकिन्छ ? "

वैशाख ०५, २०६८ काठमाण्डौ