Monday, August 29, 2011

कालो गुलाफ

लगभग दुई वर्ष अघि नेपाल विकास अनुसन्धान प्रतिष्ठानको धोविघाटको कार्यालय परिसरमा फुलेका रँगिविरगीँ गुलावका फुलहरु मध्येको गाढा रातो समूहमा देखाउदै मैले मेरा एक मित्रलाई भने ।

“ म यो गुलाफ कालो देख्छु ।“

“तपाईँले यस्तै प्रकारका अभिव्यक्ति अरुलाई पनि दिनुभयो भने उनिहरुले या त यसलाई मजाक ठान्छन् या तपाईलाई पागल ।“ उनले मन्तव्य राखे ।

मित्रको दोस्रो वाक्याँशले मेरो ध्यानाकर्षण गर्यो । मान्छेले या त सामान्यतया अनुभुति गर्न सकिने प्रसँगलाई आत्मसात गर्न सकेन या दैनिक जीवनको रँगमन्चका सहभागीहरु या दर्शकको दृष्टिकोणमा उल्टो व्यवहार गर्न थाल्यो भने उसलाई पागल भनिन्छ । रातो रँगको पत्र भएको सर्वव्यापी फूललाई कालो देख्नु भनेको असामान्य अवस्थानै हो यसकारण त्यस्तो पात्रलाई पागलको सँज्ञा दिईनु कुनै अनौठो होईन् । मित्रको भनाई वेठिक थिएन् ।

महाकवि देवकोटा या अन्य महानायक या युगपुरुषहरुले व्योहोरेका विशिष्ट प्रकृतिका प्रसँग या उनिहरुले प्रेषण गरेका अभिव्यक्तिका कारण अरुले पहिराईदिएका दिमाग सड्केको देखि पागल सम्मको पगरीलाई केन्द्र भागमा राखेका कृतिहरु धेरैले पढेका छन्। यथास्थिति कायम गर्ने वा ईतिहास ईतर नहुने कृयाकलाप गर्दा कसैको ध्यान जाँदैन तर दर्शकको नजरमा नौलो या अनौठो काम गर्नेलाई यो त पागल भएछ भन्नु स्वाभाविक हो । तर यहाँ प्रसँग अरुले रातो देख्ने फूललाई कसैले किन कालो देख्छ भन्ने हो । फूललाई देख्ने आँखाले हो । मिर्मिरेमा वँगैचामा वसेर छिप्पिदै गएको सूर्यको प्रकाशसँगै कालो गुलाफ विस्तारै रातो भएको अनुभुति गर्नुको रमाईलो वेग्लै छ । सूर्यको प्रकाश या अन्य कुनै उज्यालोमा मात्र फूलको रँग चिनिन्छ । अँध्यारोमा रातो फूल पनि कालो देखिन्छ । अन्धकार कालो हुन्छ तर भनिन्छ,

“केही देखिदैन् निष्पट अँध्यारो छ” ।

अध्यारो रातमा विजुली चम्केको वेलामा पनि रँगको अनुभुति हुन सक्छ । तर समस्या यँहा दिँउसोनै रातोलाई कालो देख्नुको हो । आँखाले देखेको फूलको रँगको अनुभुति गर्ने मनले हो । मन सन्तुष्ट या सामान्य स्थितिमा भए उसले रातो, पहेँलो, सेतोको अनुभुति गर्छ । यसैमा अभिव्यक्ति पनि दिन सक्छ।

“कस्तो राम्रो रातो गुलाफको फूल, यो टिपेर कसैलाई शुभकामना दिन पाए कति रमाईलो हुने थियो ।”

तर रातो रोचकता मा नरमेको मनको सन्दर्भ हो यो । विरामी भएर जिव्रोले स्वाद लिन नसकेको वेलामा अरुलाई मिठो भएको विरामीलाई नमिठो भए जस्तो । वहिराले सँगित, भजन या दोहोरीको आवाजलाई एउटै तराजुमा राखे जस्तो । विरामी युवकलाई वत्तिस लक्षणले युक्त अप्सरारुपी युवतीको यौवनलाई हेर्नमा कुनै मन नभए जस्तो । यी सवै उदाहरणहरुमा हामीले तुलनात्मक रुपले केही मापन गरिरहेका हुन्छौ । हाम्रो मापनको एउटा धरातल हुन्छ । अँध्यारो वा कालो एउटा धरातल हो । अर्थात शुन्यको स्थिति । आँखाले देखे पछि मनले रँगको चेतनालाई कालो धरातल भन्दा माथी उकासे पछि रातो वा पहेँलो देखिन्छ । मानसिक सन्तुलन गुमाएको मान्छे चेतना शुन्यको स्थितिमा हुन्छ । उस्को धरातल कालो हुन्छ । अरुको लागि रातो, पहेलो, निलो देखिएको सँसार उसको लागि कालो हुन्छ । चेतना शुन्य हुनु भनेको यही हो । मैले मानसिक सन्तुलन गुमाएको थिईन् । खाली रातो देख्ने चेतनामा कमि आएको थियो । रातोमा रम्ने जाँगर थिएन । रँग मा रम्ने मन कुँजिएको थियो ।

तर मेरा मित्रको विश्लेषणमा प्रतिवाद गर्ने साहस म मा थिएन् । म त्यसवेला जीवनदेखि थाकेको स्थितिमा थिँए । ममा कुनै उत्साह थिएन् । जाँगर थिएन् । म जेमा पनि अँध्यारो देख्थे । रातोलाई पनि कालो देख्थे । पहेलोलाई पनि कालो देख्थे । एउटा स्वास्थ्य तन्नेरीलाई विपरित लिँगीको सुन्दरता, यौवन र लावण्यले जुन आकर्षण गर्नु पर्ने हो त्यो थिएन् । “रातो राम्रो गुलियो मिठो” को मर्म विपरित भए झैँ । यौवनको आकर्षण भनेको चुम्बक जस्तो हो । चुम्बकले फलाम जातको वस्तु पाएमा आकर्षण गरिहाल्छ । छोयो भने त त्यो फलामको टुक्रा पनि चुम्बकमा परिणत हुन्छ र अर्को फलामको टुक्रालाई पनि चुम्बक वनाउने हैसियत राख्छ । मलाई पनि लावण्यको मादकताले तान्नु पर्ने हो तर म फलाम तत्वका गुणहरु लिएर पनि म काठमा परिणत भएको थिए जसलाई चुम्बकले तान्न सक्दैन् । म भित्रको सँयन्त्रमा रातोको उचाईलाई देख्ने क्षमता हराएको थियो । रातो पहाड पनि थिचिएर कालोको भुँईमा पुगेको आभास भएको थियो । मेरो लागि खालि समथर जमिन मात्र थियो कालो रगँको अर्थात अँध्यारोको । त्यँहा कुनै रातो पहाड ठडिएको थिएन, पहेँलो चुरे थिएन् र सेतो सिवालिक पनि थिएन् । यस अर्थमा म पागल थिईन् । खालि रातोलाई पहिचान गर्ने मेरो चेतना शुन्यमा परिणत भएको थियो । मेरो मन धमिलो भएको थियो । मेरो रँग छुट्ट्याउने क्षमता गायव भएको थियो । म जस्तो गुलाफलाई पनि कालो देख्थे ।

मेरो समस्या कुनै समस्या थियो या थिएन त्यसमा पनि म दोसाँधमा थिएँ । त्यस्तो वेलामा दोसाँधमा हुनु भनेको पीडादायी हुँदो रहेछ । शारिरिक भन्दा मनको पीडा बेजोडको हुँदो रहेछ । जव मान्छेमा निर्णय लिने क्षमता क्षीण भएर जान्छ र उ अनिर्णयको वन्दी हुन्छ । जीवनको गतिशिलतामा पूर्ण विराम लाग्छ । पानीका छालहरु सेलाउदै जान्छन् । पोखरी शान्त हुदै जान्छ । जडताको जगेर्ना हुन थाल्छ । दोवाटोमा उभिएर यो वाटो जाने की त्यो भनेर सोच्नु अनि निर्णय गर्न समय लगाउनु अनि ति निर्णयका नतिजाहरुलाई शँका उपशँकाको दृष्टिकोणले हेर्नु भनेको आफूलाई कमजोर वनाउदै लानु हो । जडताको आयतन वढाउनु हो । मेरो लागि रातो गुलाफ कालो भएको समयको एउटा सन्दर्भ यसै प्रकृतिको छ ।

मेरो भानिज दाई र म पसलमा सामान किन्दै थियौ । मैले पैसा दिनलाई पर्स निकाले । तीन सय चानचुनको खरिद थियो । म सँग दुई विकल्प थिए । पाँच सयको नोट दिने की खुद्रा दिने । खुद्रा दिएमा के हुन्छ भन्ने तिर मेरो दिमाग गयो । लाग्यो “त्यो खरिद पछि पनि सामानहरु किन्नु पर्ने हुन सक्छ र घर जाँदा सवारीसाधनलाई भाडा दिनु पर्ने हुन सक्छ र मलाई खुद्रा आवश्यक पर्न सक्छ ।“ यसकारण पहिलो विकल्पलाई तिलान्जली दिनु पर्छ भन्ने भावना सिर्जना भयो। तर फेरी दोस्रो निर्णय लिँदा आई पर्ने जोखिम तिर मेरो ध्यान गयो । साहुजी सँग खुद्रा नहुन पनि सक्छ । उसले म सँग खुद्रा भएको देखिसकेको छ । यसकारण खुद्रा दिनोस भनेर माग राख्न सक्छ । त्यो मागलाई प्रतिवाद गर्ने झमेला सिर्जना हुन्छ । के गर्ने म दोधारमा हुन्छु । म यसरी म घरी खुद्रा निकाल्छु घरी एउटा नोट । अनिर्णयको भासमा वग्दै जाँदा परिस्थिति असामान्य हुन पुग्छ ।

“ तिमीले खुद्रा दिए हुन्छ, पछि चाहिएमा म सँग छ ।“ भानिज दाईको प्रतिकृयाले मौनता चिर्छ ।

मेरो अनिर्णयको काँडो वहाँले निकालिदिनु हुन्छ । म अस्वाभाविक सोचमा डुवेको वँहालाई थाहा हुन्छ ।

तर समस्या को जड के हो भने प्रत्येक निर्णय लिँदा यसरी सारथीको साथ पाउन असम्भव छ । कतिपय समयमा परिवारका सदस्यहरुको कटु आलोचनाको शिकार भएको छु मा यही कारणले । उनिहरु कुनै कुनै विषयमा वोली भुईमा खस्न साथ मेरो निर्णय चाहान्थे । ममा त्यो विजुलीको चमकमा अर्थात शुन्य समय अन्तरालमा निर्णय लिने क्षमता थिएन् । मैले केही साथीहरु पनि यो समस्यावाट पिडित पाँए । एक जनाको हकमा त कर्मचारीहरुले हाकिमको गिर्दो निर्णय गर्ने क्षमता र बढ्दो जडताका कारण राजिनामा दिएर अन्यत्र गएको पनि पाँए । समस्या के हो भने यो व्यथावाट पिडित व्यक्तिले आफ्नो कथाव्यथा हत्तपत्त व्यक्त गर्न चाहदैँन । अरुको त परै जावोस आफ्नो सवैभन्दा नजिकको जीवनसाथीलाई समेत भन्न सक्दैन्।

मेरो कालो गुलाफको सँसारमा त्यसवेला साहस थपियो जव मैले कवि शिरोमणी लेखनाथ पौड्यालका तलका हरफहरु पढे ।
कालो मन्दाकिनीको जल, जलनिधिका मोतिको ज्योति कालो,
कालो सौदामिनीको चहक, सब शरच्चन्द्रको कान्ति कालो ।
कैलास-श्रेणि कालो, झलमल गरने सूर्यको विम्ब कालो,
यो सारा सृष्टि कालो, मन बिच छ भने दम्भ दुर्भाव कालो ।

स्वर्गकी गँगा पनि काली हुन सक्छिन् । समुद्रको मोति पनि कालो हुन सक्छ । विजुली चम्कदाको चहक र शरद ऋतुको चन्द्रमा पनि काला देखिन सक्छन् । चाँदी जस्तो टल्किने हिमालय पर्वत पनि कालो देखिन सक्छ । सूर्यको पिण्ड पनि कालो देखिन सक्छ । अर्थात मनमा घमण्ड छ भने या मनको भाव कलुषित छ भने यो सारा सिर्जनानै कालो देखिन्छ ।

धन्य कवि ! मैले त केवल गुलाफ मात्र कालो देखेँ । परिस्थिति त फूलको तुलनामा कैयौ गुणा आयतन भएका वस्तुहरु पनि काला देखिन सक्ने रहेछन् । मैले विस्तारै वुझे मनको कालो को महिमा । मेरो दृष्टिकोण अव मनको कालोमा गएर अडियो । त्यो कालोलाई विस्थापित गर्ने सेतोको खोजीमा म लागेँ । त्यो तुषलाई हटाउन मन अडेको प्राणलाई स्वास्थ्य र अनुशासित गर्नु पर्ने यथार्थता फेला पारेँ । यस्तै अन्त्यमा मेरो खोज प्राण भरिएको शरिरमा गयो । आज भोलि म शरिर, प्राण र मनको त्रिशँकु सँरचनामा कालो गुलाफको परिभाषा खोजीरहेको छु । अस्तु ।
सोमवारे औँसी, साउन २०६८
पुल्चोक, ललितपुर