Sunday, October 30, 2011

पराजित अशक्तता

मैले फेसबुकमा लेखेँ -
“असोज २५, २०६८ का दिन अपरान्ह ४ बजे सिर्जनशिल लेखिका झमक घिमिरे सँग भेट भयो । “जीवन काँडा कि फूल” कृतिमा आफ्नै जीवनसँग जोडेर उनले “जिउदो लाश” को परिभाषालाई अझ परिस्कृत रुपमा पस्केकी छन् । झमक वहिनी ! मैले त तिमी सँगको भेटमा “पराजित अशक्तता” को अलौकिक उदाहरण पो फेला पारेँ ।“

यसरी एउटा समानार्थी झल्कने शब्द जोडीले मेरो दिमागमा प्रवेश पायो । मैले “अशक्तता” लाई “लाश” सँग मित लगाईदिएँ । ‘पूर्ण अशक्तता’ लाई छाँया प्रति निकाल्ने मेशिनमा राखेर वटन दवाएमा ‘लाश’ निस्कनु पर्छ । वास्तवमा कुनै प्राणीको शारिरिक र मानसिक दुवै प्रणालीले काम गरेन भने त्यो जिँउदो रहदैन् र लाश वन्छ। तर शारिरिक अशक्तता मात्रले लाश वन्दैन् । मानसिक अशक्तताले मात्र पनि लाश वन्दैन् । शारिरिक अशक्तता भएको तर मानसिक हिसाबले शक्त भएको व्यक्ति या त कुरुप देखिन्छ या अपाँग या अन्धो या वहिरो कहलाईन्छ । शारिरिक हिसाबले शक्त र मानसिक अशक्तता भएको व्यक्ति पागल कहलाईन सक्छ । शरिर र मन दुवैको अचेतन अवस्था हो लाश । लाश जड हुन्छ । जिउँदोको सजिवता मरेपछि निर्जिवतामा परिणत हुन्छ र लाश वन्छ । लाशमा जिउँदोको पदार्थ अँश मात्र वाँकी रहन्छ । प्राण विनाको शरिर भनेको मासु, हाड र छालाको थुप्रो मात्र हो जो सडेर माटोमा मिल्छ । अर्थात जिउँदो जीवको प्राण या आत्मालाई शरिरवाट विच्छेद गरे लास वन्छ । लासलाई त्यतिकै छोडे त्यो सिनो वन्छ र त्यसले व्याक्टेरिया, व्वासो र गिद्धको आहाराको काम गर्छ ।

यँहा निर एउटा गहन विषयले वहसमा प्रवेश पाँउछ । शारिरिक र मानसिक रुपले उत्तिकै सबल मान्छेहरुको सक्रियता किन फरक हुन्छ । किन ति दुई समूहका नरनारीको जीवन उपलब्धीमा विविधता हुन्छ । अझ भनौ किन कतिपय शक्तहरु पनि अशक्तताको भारी वोकेर हिडेका छन् ? झमकको कलमले किन अशक्ततालाई जिँउदो लाशको प्रसँगसँग जोड्नु पर्यो ? मरेको प्राणी वा साँच्चिकै लाश र जिँउदो लाशमा के फरक छ ? अझ ठाडो हिसाबमा भन्दा किन हात पाउ भएका सवै ईन्द्रियहरु सवल भएका र मानसिक रुपले कुनै समस्या नभएका व्यक्तिहरु पनि अशक्तताको शिकार हुन्छन् ।

हात नचलेर र पाउले लेख्न सिकी पौराणिक कथामा दुर्गा वा कालीले देवताले पनि नदेखाएको पराक्रम देखाए जस्तो अशक्तता माथी अलौकिक विजय प्राप्त गरेका युग नायक वा नायिका हरुको सँख्या ६ अरव जन भएको यो विश्वमा विरलै होला । नेपाली भाषीको मात्रको कुरा गर्दा पाँच करोडमा सायद झमक वाहेक अरुको नाम नआउला ।

मदन पुरस्कार पाउन सफल आफ्नो कृतिमा उनले लेखेकी छन् ।
“यदि मैले मेरा हातका औलाहरु नचल्ने थाहा भए पछि खुट्टाले लेख्न नसिकेको भए आज म एउटा जिँउदो लास हुने थिँए ।“

यसरी क्षमता वा शक्ति हुँदाहुदै त्यसलाई उजागर गर्न नसक्नु अनि जीवनलाई फुल वनाउने सम्भावना तिर पाईला नचाल्नु र अकर्मण्यता, निस्कृयता र नैरास्यताको दलदलमा भासिनु जिउँदो लाशको परिभाषा सँग जोडिएको सन्दर्भ हो भन्ने मैले बुँझे । खप्तड बाबाका कृतिहरुमा पनि यस विषयमा उल्लेख गरीएको छ । बाबाको भनाईमा अश्रद्धा, आलस्य, उद्योगहीनता, भय, सँशय, जडता र अविश्वास आदि अशक्तताकै प्रकृतिका दोषहरु हुन् ।

समाजमा विभिन्न प्रकृतिका व्यक्तिहरु हुन्छन् । कोही शक्त भएर पनि जिँउदो लाशको भूमिकामा हुन्छन् । कोही शक्तिको दुरुपयोग गर्छन जस्तै : कुख्यात अपराधी, तानाशाह, आतकँकारी वा लागु पदार्थका दुर्व्यसनी। कर्तव्य पथमा विचलित भएर वृद्ध आमावुवा वा रगतको नाताका आफन्त लाई दुश्मन ठानेर परिवार र समाजमा नरपिशाच या दानवको पहिचान वोक्ने कुसन्तानहरु पनि हाम्रै वरपर नभएका होईनन् । प्रत्येक पात्र एउटा वृक्ष हो । अशक्तताको विउले आवश्यक जल, जमिन र मल पायो भने कालान्तरमा जिँउदो लाश को वृक्ष वन्न सक्छ । एक क्षणको आनन्दको मोहमा रोपिएको लागु पदार्थको एक सर्को विउले केही वर्षको अन्तरालमा नर पिशाचको भीमकाय रुख सिर्जना हुन्छ । परिश्रम, लगन, सृजना या सकारात्मक सोचको विउले मदन पुरस्कार प्राप्त गर्न सक्षम हुने साहित्यकारको प्रार्दुभाव हुन सक्दो रहेछ । अर्थात शरीरमा सन्चित शक्ति वा तागत लाई पहिचान गरी तीनका अँशलाई एकत्र गर्ने अनि सामर्थ्य को हतियार सिर्जना गर्ने र त्यसले अशक्तता का भाईरसहरुलाई प्रहार गर्ने । यही नै जिँउदोको परिचय हो । जिँउदो लाशको विपरित पहिचान हो । कसैको दिनचर्यामा सक्षमता वा सामर्थ्यको उपस्थिति हुन नहुनु भनेको त्यो शुन्य स्थानमा अक्षमता वा जडताले चलखेल गर्ने मौका पाउनु हो भन्ने वुझिन्छ ।

मैले “पूजा गरौ शमनका परेवाहरुको“ शीर्षक कवितामा लेखेको छु -
हिँसाको आफ्नै अस्तित्व छैन् शान्ति उपस्थित नहुनु मात्र हो ।
अन्धकारको आफ्नै जीवन हुदैन ज्योति विद्यमान नहुनु मात्र हो ।।

मलाई झमकको दृष्टान्तलाई रँगमन्चमा राखेर यसैमा एक हरफ थप्न मनलाग्छ –
अशक्तताको आफ्नै अस्तिव छैन् जीवन्तबोध नहुनु मात्र हो ।

यो तर्कले एउटा यक्ष प्रश्न सिर्जना गर्छ “किन शारिरक र मानसिक हिसावमा सवल मान्छेहरु पनि झमकले जस्तो अशक्ततालाई मार्न सक्दैनन् र जडताको शिकार हुन्छन् ?” किन हात भएकाहरु लेख्तैनन्? किन कलम चलाउन जान्नेहरुको साथमा कलम हुदैन् ? झमकका हातका औलाहरु चल्दैनन् । भगवानले उनलाई अरबौलाई दिएको अभिन्न अँग नदिएर सृष्टिकर्तामा पनि निर्दयिताको अँश छ भन्ने कुरा प्रमाणित गरेका छन् ।

 तर किन ल्यापटप वोकेर हिड्नेहरु या साथमा सँधै डेस्क टप हुनेहरु कम्प्युटरको पर्दामा ‘क’ ‘ख’ समेत लेख्न सक्दैनन् ?

किन मस्तिष्क पूर्ण रुपले विकसित भएका, हात पाउ सन्चालनमा कुनै अप्ठ्यारो नभोगेका लेख्न सक्नेहरु पनि अशक्तताको ढाकर वोकेर हिडेका छन् । झमकले जस्तो पुरस्कार या लोकप्रियता पाउन पाएत भन्ने कल्पनामा उडेका छन् ?

 किन अशक्तता का भाईरसहरु वोकेर हिड्नेहरुको या जडताको गुँडमा वाध्यताका जीवन विताउनेहरुको जमात ठूलो छ ?

किन खाने पिउने र भोग विलासमा रमाउने र कतिपय अवस्थामा समय कटाउन समेत धौ धौ पर्ने यथार्थता वोकेर पशुजन्य जीवन विताउने सहयात्रीहरु पनि झमककै वरपर छन् ?

रोचक कुरा त के छ भने आफ्नो अगाडि काँडै काँडाको झाडी देख्नेहरु यस्तो प्रश्न सुन्न या पढ्न समेत चाहदैनन् । उनीहरुका लागि देखिएका प्रत्येक वनस्पतीहरु उन्यूका वोट हुन् । बाँसका झ्याँग हुन् । क्षितिजका जमिनहरु वालुवाका मरुभूमी हुन् । कसैले पहरामा पनि कसरी फूल फूलायो या हिलोमा कसरी कमल उमार्यो भन्ने तिर उनीहरु जाँदैनन् । त्यो चेतको थैली उनीहरुको पोल्टामा छैन् । उनिहरु अक्षमताको भारी वोकेर हिडेका छन् । अशक्तताको पहिरन भिरेका छन् । यसैले उनीहरु जिँउदा लाशहरु हुन् ।

अशक्तहरुको अर्को दुर्गुण के हो भने या त उनिहरु दिन जान्दै जान्दैनन् या त कम दिन्छन् । उनीहरु एक किसिमको दुराग्रह पालेर वसेका हुन्छन् । उनिहरुसँग के छ ? जीन्दगीमा उनीहरुले के पाएका छन् ? आदि विषयमा समेत उनिहरुको ज्ञान अल्प हुन्छ । यसको असर के हुन्छ भने कम दिए पछि उनीहरु कम नै पाउँछन् । जति धेरै दिन सकिन्छ उति नै अनुपातमा पाईन्छ भन्ने मेरो मान्यता रहेको छ । दिनुको मेरो आफ्नै परिभाषा छ ।

टेम्पोको सिटमा एक डेग सरेर अर्कोलाई सजिलो पार्नु पनि कसैलाई केही दिनु हो ।

सामान किन्दा विक्रेताको काम सजिलो गर्न खुद्रा मिलाएर पैसा दिनु भनेको पनि दिनु हो ।

 मीठो वचन वोलेर आफ्नो कुरा सुनिरहेको व्यक्तिलाई हँसाउनु पनि दिनु हो ।

 मन्दिरमा दर्शन गर्दा होस या वैकमा चेक साट्दा पङ्तिमा उभिएका मध्ये कसैको पालो नमिच्नु पनि दिनु हो ।

अरु प्रति सँवेदनसिल हुनु भनेको पनि दिनु हो ।

अरुको काम सजिलो गर्नु पनि दिनु हो ।

 कृति प्रकाशन गरेर कसैलाई पढ्ने खुराक दिनु पनि दिनु नै हो ।

कुनै सम्पती या भौतिक वस्तु दिईन्छ भने त्यसमा रहेको आफ्नो हक अरुलाई सर्छ । अन्नदान, प्राणदान, नेत्रदान, रक्तदान, मुष्ठीदान, भिक्षादान आदि केही यस्ता हक सर्ने उदाहरणहरु हुन भने विचारदान, श्रमदान, क्षमादान, कन्यादान र अभयदानलाई अलि भिन्न कोटीमा राख्न सकिन्छ । अरुको आवश्यकता बुझेर नराखिएको मागलाई सम्बोधन गरि प्रापकको अनुहारमा मुस्कान देखियो भने सबैभन्दा उच्चकोटीको दान हुन्छ भन्ने मलाई लाग्छ ।

दिने विषयका म पात्र भएका केही प्रसँगहरु रोचक छन् । एकपटक स्टेशनरी पसलमा म केही सामान किन्दै साहुजी सँग रमाईलो गर्दै थिँए । मेरो वानी नै भएको छ मान्छेहरुसँग कुरा गर्दा वक्ताको भन्दा श्रोता सँग सम्बन्धित विषयलाई उठान गर्ने र त्यसमा रोचकताको भर्याङ्ग थप्दै जाने । साहुजीले मेरो मुक्तकण्ठले प्रशँसा गर्थे अनि म थप हौसिन्थे। हाम्रो वार्तालापको खहरे नदीमा मिसिएको आभास मलाई त्यसवेला भयो जब साहुजी मलाई रोकेर दुई वच्चाहरुको सामान किन्ने आग्रहलाई सम्बोधन गर्न थाले । दाजु वहिनी जस्ता देखिने तिनीहरु पहिरनको हिसावले निम्न आर्थिक हैसियत भएका परिवारका जस्ता थिए । दाजु सँग पाँच रुपैयाको नोट थियो । उसले रोजेको कापीको मूल्य सोध्यो । साहुजीले त्यसको मूल्य रु दश पर्छ भने । म ग्राहक र साहुजीको यो वार्तालापको एकल श्रोता पात्रको भूमिका निर्वाह गरिरहेको थिँए । साहुजीको जवाफ मैदानमा खस्नासाथ मैले वच्चाको अनुहारको चमक उडेको देँखे । तुरुन्तै निर्णय लिएँ र भने ।

“ साहुजी! वावुलाई दश जाने नै कापी दिनुहोस । उस्को पाँच रुपैया म तिरीदिन्छु ।“

साहुजीले मैले भनेको माने । वच्चाको अनुहारमा खुशीका लहर देखिए । उनीहरु हिँडेपछी हाम्रो वार्तालापले पुन गति पायो । केही वेरपछी म पनि किनेका सामाग्रीको मूल्य तिरेर साहुजीसँग विदा भँए । वाटामा मैले किनेका सामान र मैले तिरेको मूल्यको हिसाव सोच्न थाले । म झसँग भएँ । साहुजीले त्यो वच्चाको कापीको पाँच रुपैया जोड्न विर्सेछन् । मलाई खल्लो अनुभुति भयो । भोलिपल्ट म फेरी त्यही पसलमा पुँगे ।

“साहुजी ! यो हिजोको वच्चाको कापीको पाँच रुपैँया । मैले त भुसुक्कै विर्सेछु ।“ मेरो ईमान्दारिता ग्राहक र विक्रेताको वीचमा विरलै हुने यो सँवादको माध्यमवाट प्रदर्शन भईरहेको थियो ।

साहुजीले कति कर गर्दा पनि त्यो पैसा लिन मानेनन् । त्यसपछिका खरिदहरुमा मैले छुटका मागहरु राख्नु पहिलेनै साहुजीले मेरो लागि विशेष दाम भनेर अरुलाई भन्दा केही कम मोलमा सामान दिन थाले । मैले कापीको पाँच रुपैया मात्र तिर्ने प्रयास गरेको थिएँ तर साहुजीले मलाई त्यसको कैयौ गुणा वढी छुट दिए । यसरी दिने र पाउनेको समिकरण जहिले पनि दोहोरो हुन्छ भन्ने मेरो मान्यतामा यो प्रसँग नजीर भएर वसेको छ ।

 “दान महिमा” को रमाईलो त त्यसवेला सिर्जना हुन्छ जव आफूले दिएको “एक अँश“ कैयौ गुणाले वृद्धि भएर फर्कन्छ । जसले केही दिदैन । उसले केही पनि नपाउने सभावना धेरै हुन्छ । यसकारण मेरो विश्लेषणमा दिन नसक्ने हरु पनि अशक्तहरु हुन् । झमकले जस्तो चमत्कार नै गर्नु पर्दैन् । दिनको लागि आफ्नो वरिपरी अथाह अवसरहरु हुन्छन् । असँख्य दानपात्रहरु हुन्छन् । तर दिन मन लाग्यो भन्दैमा जसलाई पायो त्यसलाई जे पायो त्यही जतिवेला भन्यो त्यति वेला दिने कुरो हुदैन् । त्यस्तो साईत नजुरेको दानले दुर्घटना पनि निम्त्याउन सक्छ । त्यसकारण कुन साईतमा कसलाई के दिने भन्ने वारेमा चिन्तन हुनु जरुरी छ ।

सिर्जना गर्नु, परिश्रम गर्नु, यथास्थितिमा नजकडिनु, मौलिकताको महत्व र प्रभावको ज्ञान हुनु, अवसरको पहिचान गर्न सक्नु, नया ढगँले सोच्नु, श्रम गर्दा नयाँ पन को अनुभूति गर्नु आदि शक्त हरुका विशेषता हरु हुन् । शक्तहरु अव के गर्नु पर्छ भन्ने कुरामा अलमलिदैनन् । चुनौति देखि डराउदैनन् । प्रत्येक पल र साथमा शान्ति वा सन्तुष्टि खोज्दछन् । यसका विपरित कृयाकलापहरु गर्छन अशक्तहरुले । यो विश्लेषणवाट तीन चरित्रहरु सतहमा देखिन्छन् । पहिलो: यि विशेषताहरुको वारेमा ज्ञान नै नभएको । दोस्रो ज्ञान भएको तर व्यवहारमा प्रयोग गर्न नसक्ने । तेस्रो: ज्ञान पनि भएको र व्यवहारमा पनिप्रयोग गर्न सक्ने । तथ्याँक विज्ञानले के प्रमाणित गरेको छ भने कुनै पनि समूहमा अब्बल, मध्यम र कमसल गरी तीन किसिमका पात्रहरु हुन सक्छन् । जस्तै: उही उमेरका मान्छेहरु भएको भीडमा अग्लो, होचो र सामान्य गरी तीन किसिमका कद भएका मान्छेहरु पाईन सक्छन् । अब्बल या कमसल चरित्र भएका व्यक्तिहरुको सँख्या मध्यमको भन्दा धेरै कम हुन्छ । सबल नेतृत्व दिने या युगपुरुषको सँज्ञा पाउने व्यक्तिहरु लाखौमा एक दुई मात्र हुन्छन् । सामान्य चरित्र भएका सामान्य मान्छेहरुको सँख्या लाखौमा हुन्छ । तर विशिष्ट चरित्र भएकालाई औलामा गन्न सकिन्छ ।

यसैले झमकले जस्तो अशक्तताका पिँजरारुपी पर्खाल हरुलाई नियमित परिश्रमले परास्त गर्दै जीउँदो लाश वन्ने सँभावनालाई निमिट्यान्न पार्नेहरुको सँख्या पनि सानो हुन्छ । आलस्य, उद्योगहीनता, र जडताको रुप लिएको झिल्ली भित्रको सँसारलाई प्युपाले जसरी तोडेर पुतली वनाउँछ झमकले पनि नेपाली साहित्यको बगैचामा आफूलाई पुतली वनाएर उडाएकी छन् । परिश्रमले अशक्त वाट शक्त वन्न सक्छ । जिँउदो लाश वन्ने सभावनालाई टार्न सक्छ । अशक्ततालाई प्रहार गर्न सक्छ । पहरामा सुनाखरी फुलाउन सक्छ । काँडैकाँडाको वुट्यानमा फुल फुल्न सक्छ । उन्युको माझमा पनि गेवँराको फूल फूल्न सक्छ । शसक्त उदाहरण हाम्रै अघिल्तिर छ । प्रेरणा र साहसकी मुहान झमकलाई मेरो तर्फवाट दुईवटा शुभकामना दिन चाहन्छु ।

-जडताको खोल ओडेर पुतलीलाई कुँजो वनाएका सम्पूर्ण युवाहरुमा उनले अशक्तता माथी गरेको विजयको सन्देस पुगोस ।

-झमकको कलमले विश्व साहित्यको समुद्रमा पनि मोति दिन सकोस र त्यसले नोबेल पुरस्कार प्राप्त गरोस ।

कार्तिक १३, २०६८
कोटेश्वर
काठमाण्डौ