Sunday, December 11, 2011

नवराज को माहात्म्य

पण्डितजीले मेरो न्वारानको नाम नन्दिकेशर राखिदिएको भएता पनि वुवा आमाले जन्मदाको साईतलाई छुने पहिलो अक्षर “न” लाई कायामै राखी मेरो नाम नवराज राखिदिनु भएको रहेछ । नवराज शब्दलाई एकमुष्ट रुपमा नेपाली शब्दकोषले स्थान दिएको पाईएन् । तर नव र राज दुवैको अलगअलग रुपमा विशेष महत्वको परिचय पाईयो ।

शब्दकोषको परिभाषा अनुसार नव का मुख्य दुई अर्थ हुन्छन् : नयाँ या नौलो र अङ्क नौ । पहिलो अर्थ लाग्ने नवलाई टाउको वनाएका र प्रचलनमा रहेका धेरै विशिष्ट महत्व राख्ने शब्दहरु छन् । केही उदाहरणहरु हुन: नववर्ष, नवजात शिशु, नवयुवक वा नवयुवती र नवउपवेशवाद आदि । यस्तै गन्तिमा सबै भन्दा धेरै मुल्य भएको एकल अङ्क नौ सँग लगनगाँठो जोडेर वनेका केही शब्दहरु हुन : नवदुर्गा, नवरत्न, नवरात्री, नवमी, नवरस, आदि । राजमा पुच्छर जोडिएका शब्दहरुले राजा, राज्य वा शाशनव्यवस्था सम्बन्धित अर्थ राख्छन् ।

नेपालमा राजा शब्दको राजनैतिक महत्व अव कम भएको देखिएता पनि केही शब्दहरु जस्तै: राजपत्र, राजदुत, राजधानी, राजनीति जस्ता शव्दहरुले चिरकालसम्म उत्तिकै महत्व पस्किरहनेछन भन्ने मलाई लागेको छ । यस विश्लेषण अनुसार नवराज को शाब्दिक अर्थको वारेमा केही पुर्वानुमान गर्न सकिएला तर मेरो लागि नवराज भनेको नन्दिकेशरको औपचारिक र वैधानिक रुप हो । राज्यले वा मान्छेहरुले मेरो व्यक्तित्व, चरित्र वा प्रगति लाई चिन्ने एक मात्र माध्यम हो ।

उमेरले कान्छो मान्छेलाई जिस्क्याउनु परेमा वा घोचपेच गरेर वोलाउनु परेमा वा हप्काउनु परेमा आक्कल झुक्कल “नन्दे” भनेर गरीएको सम्बोधन नै मेरो सम्झनामा रहको मेरो नामको पहिलो परिवर्तित रुप हो । नन्दे शब्द नन्दिकेशरकै लघुरुप हो । तर मेरो लागि यो लघुकुरुप थियो । नन्दे भनेर गरेको सम्बोधनमा म कहिले पनि रमाईन् ।

तर नवराजको लोकप्रियताको खवर थाहा नभएकी मेरी एक फुपु लगायत केही आफन्तले “नन्दु भाई” भनेर सम्बोधन गरेको चहीँ त सामान्य लाग्दथ्यो । त्यसरी जानी जानी वा कुनै उदेश्य राखेर वा अन्जानमा मेरा थुप्रै न्वारानहरु भएका छन् । विभिन्न साईतमा सिर्जित ती शब्दहरुले या त मेरो नाम सँग या त मेरो थर सँग या त दुवैसँग नाता राखेका छन् ।

समयरेखामा टडकारो देखिने र सम्झदै अनौठो लाग्ने शब्द हो “हाथीघोडा ” । युवा अवस्थाको रमाईलो, भविष्यको कल्पनामा हराउने समय र एउटा अर्कै पृष्टभूमिको दौँतरीको प्रतिकृया थियो त्यो । “खतिवडा”लाई “हाथीघोडा”ले विस्थापन गरेको थियो । भारतको राँची शहरमा ईन्जिनियरीङ्गमा स्नातक गर्दा एउटा बँगाली साथीको सिर्जना थियो त्यो ।

अर्को रमाईलो अनुभूति थाईल्याण्डमा पनि भयो । मेरो “नवराज” त्यँहा भयो “नवरात ” त्यसले विभिन्न प्रसँगहरुमा हाँसो र रोचकता बाक्लै पस्कियो । थाई भाषामा “नवरात” भन्ने स्त्रीहरुको नाम हुँदो रहेछ यो खासमा नौवटा रत्न बुझाउने सँस्कृत शब्द “नवरत्न” वाट उत्पन्न भएको रहेछ । त्यसवेला म विवाहित मात्र होईन छोराको वावु पनि भैसकेको थिँए । हुँदा हुँदा आफ्नै कक्षाको एक सहपाठी थाई युवतिले एक दिन भनिन् ।

“ नवरात ! तिमी सुन्दर छौ, नौजवान छौ तर के गर्नु तिम्रो विवाह भैसकेको छ ।“ म अलमल्लमा परेको थिएँ । यस्तो प्रश्नको झटपट जवाफ मसँग थिएन् । साच्चै भन्नु पर्दा आफ्ना दौँतरी नारीहरुसँग “पुरुष स्त्री सम्बन्धका” या “माया पिरतीका” खुलेर कुरा गर्ने कला मसँग थिएन् । एक तरुण युवकले एक तरुनी युवती सँग कुरा गर्नु या जिस्कनु भनेको सम्बन्ध स्थापित गरिहाल्नु हो परम्परागत सामाजिक मान्यताको शिकार भएका हुलपात्रहरुको एक अँश त थिए नि म पनि ।

तर उनको आग्रह मैले बुझेँ । तिनले मेरो विवाहित स्थितीलाई लक्ष गरेर मलाई जिस्क्याउने मनशायले त्यो अभिव्यक्ति पस्केकी थिईन् । नवरातले कुनै सटिक उत्तर दिन नसकेको फाईदा उठाँउदै तिनले मलाई शब्दजालले मर्माहत गराउने क्रम जारी राखिन् । कहिले रसायनशास्त्रको प्रयोगशालामा त कहिले पुस्तकालयमा एक्लै पायोकी प्रसँग त्यहि निकाल्थिन् । मेरो पालो एक दिन हिम्मत गरेर भने ।

”मैले दुवैजना श्रीमतिको साथमा जीवन विताउने निर्णय लिएको छु । यसैले तिमीले अव चिन्ता लिनु पर्दैन् । मेरो विहे भएर केही विग्रेको छैन् नवरातको सामिप्यता तिमीलाई पनि उपलब्ध हुन सक्छ ।“ उनले खोजेको यो जवाफ मात्र रहेछ । म त्यस पछि उनका शब्दवाण वाट मुक्त भएँ ।

यसपछी नामथर सँग जोडिएको यो रमाईलोले जापानमा अर्को उचाईमा पुग्ने अवसर प्राप्त गर्यो । त्यँहा मलाई औपचारिक प्रसँगमा “नावाराजी कातेईवादा ” र अन्य समयमा “नावाराजी सान” भनेर पो वोलाउन थालियो । जापानी भाषाको वारहखरी को तालिका देवनागरीको भन्दा सानो हुँदो रहेछ । यसकारण न को ठाँउमा ना, व को ठाउँमा वा र ख को ठाँउमा क, ड को ठाँउमा द अक्षरहरुले काम लिनु पर्ने वाध्यता रहेछ । एकदिन टोकियो विश्वविद्यालयको प्रागँणमा अलि ठट्यौलो पाराको एक जना जापानी मित्रसँग भेट भयो । मैले मेरो परिचय पेश गरेँ ।

उनले भने “नावाराजी तो वाराजी ओनाजी देस का ? (नवराज र वाराजी भनेका उस्तै उस्तै हुन त ?)।“ वाराजी भनेको जापानी भाषामा परालको चप्पल भन्ने बुझिँदो रहेछ ।

व्यावहार गर्दा सकेसम्म मर्का बुझेर सँवेदनसिल भई अरुको काम सजिलो पार्ने हिसावले कर्म गर्ने मुलुकमा थिएँ म । त्यसपछि मैले पनि सुरु गरेँ “वातासिवा नावाराजी देस वाराजी तो ओनाजी” ।

मलाई देखे पछि उनीहरुले पहिला वाराजीको प्रसँग सम्झन्थे अनि दोस्रो चरणमा मेरो नाम सम्झन्थे भन्ने मलाई लाग्न थाल्यो । टोकियो नजिकैको हायामा शहरको कुनामा अवस्थित मैल काम गर्ने सँस्थाका अध्यक्षले समेत भेट भएको भोलिपल्ट नै ‘वाराजी’को भर्याङ्ग लगाएर मेरो नाम स्पष्ट सम्झनु भएको थियो ।

यसरी पहिलो भेटमा नै कुनै सन्दर्भ जोडेर आफ्नो नाम अरुलाई सम्झने गराउन सक्नु वा कसैको नाम सँग उसको व्यक्तित्वको कुनै पाटो जोडेर आफनो स्मरण भण्डारमा थन्क्याउन सक्नु भनेको त नेतृत्व कौशलताको महत्वपूर्ण अँश पो रहेछ । यो गाँठीकुरो मैले केही समय अघि नेतृत्व कौशलता र सँस्था रुपान्तरण व्यवस्थापन विषयक पुस्तकमा फेला पारेको हुँ । वाराजीको प्रयोगले धेरै जना जापानिजहरुलाई हँसाएको पनि छु मैले । जापानिजलाई हँसाउनु भनेको चानचुने काम हैन् । मैले “शहर रोबटहरुको” शीर्षक कवितामा लेखेको छु ।

भावनामा रोबटहरु पृथक भेटिन्छन्

न कुनै गुहारले उनिहरुको विवेक वदलिन सक्छ

न त कुनै टुक्काले नै मुस्कान उब्जिन सक्छ

अमेरिकन कम्पनीवाट सन्चालित “कस्टको” नाम गरेको जापानको एउटा व्यवस्थित र विराट वजारमा परिचय पत्र वनाउनु पर्ने थियो । अँग्रेजीमा आवेदन पत्र भरिएको थियो तर वजारका कर्मचारीहरुले नामको शुरुको “यन” अक्षर लाई “यच” ले विस्थापित गरिदिएछन् । यसैले परिचय पत्रमा मेरो नाम “हवराज” भयो । एक वर्षको अन्तरालमा म धेरै पटक “हवराज” नामको परिचय लिएर वजार प्रवेश गरेको छु । एउटा अँग्रेजी अक्षरको विस्थापनले भएको परिवर्तन वुझ्न कुनै दिमागी कसरतको जरुरत परेन तर एउटा अन्तराष्ट्रिय सम्मेलनको आगन्तुक कक्षमा मलाई “वनराज” खतिवडा नामको परिचय पत्र दिईयो । यसरी मैले जँगलको महामहिमको उपाधि प्राप्त गर्ने समेत मौका पाएँ तर मेरो नामको दोस्रो अक्षर कसरी कुन सिद्धान्तको आधारमा पहिलो स्थानमा पुगेर “नव” शब्द “वन” भन्ने कुरामा म अझै अनभिज्ञ छु ।

यस्तै मेरो थर एक पटक “कथिवडा” भयो । यो एक सामान्य त्रुटि थियो । अँग्रेजीमा लेख्दा “क” लाई “ख” सँग छुट्याउने अक्षर “यच” लाई दुई डेग दाहिने सारिदिए पछि “ख” “क” भएको थियो र “त” “थ” भएको थियो । यस्तै माछापुच्छ्रे बैँकले एक पटक मेरो अर्को न्वारान गरेको थियो “व” को ठाँउमा “न” राखेर । यसरी ”नवराज” भएको थियो “ननराज” । टोकियो रोटरी क्लव जापानको ईमेलमा मज्जाले मेरो नामको “राज” भएर आएछ “ताज” । शब्दकोषको साहारा लिएँ । ताजको अर्थ हुँदो रहेछ राजमुकुट वा श्रीपेच । ए ! भगवान किन मेरो नामसँग नेपालमा राजनीतिले तुहाएका शब्दहरु मात्र जोडिन आँउछन् ।

कहिँ यहि नवराजलाई राजनेता हुन त लेख्या छैन ? गम्भिर प्रश्न पहाड वनेर उभिन्छ । जापानको आईजिईयस अफिसको कागजातमा मेरो थर भयो “खतिव्” । यो लेख्ने कोठा सानो भएको परिणाम थियो तर नेपालमा नै नेपाल ईन्भेष्टमेण्ट बैँकले मेरो नाम वनाईदियो “नवज्रा खतिवडा” । यो हुनुको कारण थियो “ज” जनाउने “जे” लाई तिन स्थान वायाँ सार्नु ।

यो नाममा मैले स्त्री जातको सुवास फेला पारेँ । कसो त्यो वैकले सुश्री वा श्रीमति नवज्ना खतिवडा लेखिदिएन । यस्तै टोकियो जापानको प्रिन्स होटलले मेरो एकको स्थानमा दुई वटा “आर” अक्षर थोपरेर मेरो नाम वनाईदियो “नवर्ज खतिवडा” । यो रुपान्तरण बुझ्न पनि कुनै गहन अध्ययनको जरुरी परेन तर बुझिनसक्नु त्यसवेला भयो जब आफ्नै ससुराली शहर विराटनगरमा मेरो नामाकरण गरियो “पवन खतिवडा” । “नवराज” लाई “पवन” वनाउने ति ससुराली सर्जक को थिए मलाई सम्झना छैन् ।

एशियाली विकास वैँकका प्राविधिक सहायताका विभिन्न परियोजनाहरुमा मैले डेभिड ग्रिन नामथर भएका अत्यन्तै रमाईला मित्रसँग सहकार्य गर्ने मौका पाएँ । उनले एक्कासी मलाई ईमेल मार्फत “नव” भनेर सम्बोधन गरे । नवराजको लघुरुप थियो नव । मलाई मेरो परिचयको यो शुक्ष्मरुप विशेष महत्वको लाग्यो । “नवराज” ले मात्र गर्न सक्ने तर “नव” ले गर्न नसक्ने केही थिएन् । मलाई चिन्नलाई चार अक्षरको शब्दकोषले समेत नरुचाएको नवराज नै भन्नु पर्ने केही थिएन् । कहाँ छोटो र छरितो “नव” ? कहाँ लामपुच्छ्रे “नवराज” । डेभिडको यो आविस्कार किन र कसरी भयो भन्ने कुरा सामान्य नै हुनु पर्छ । अँग्रेजीमा लेख्दा मेरा नामथरका तीन शब्दहरु हुन्छन् : नव, राज र खतिवडा । ईमेल आदान प्रदान गर्दा डेभिडले राज लाई वीचको नाम ठानेर शुरुको नवलाई मात्र टिपेको हुनु पर्छ । तर मलाई उनले “हाय नव हाउ आर यू ?” भनेर सम्बोधन गर्दा एक किसिमको नौलोपन लाग्थ्यो र रमाईलो पनि ।

सधै अरुको काम सजिलो गर्न खप्पिस जात भएकोले होला जापानिजहरुले नामलाई जानी जानी परिस्थिति अनुकुल परिवर्तन गरेको मैले पाएको छु । एक दिन मेरो कार्यालयमा एक जापानिज युवति आईपुगिन् । परिचयको क्रममा उनले आफ्नो नाम मिना भनिन् । यो त नेपाली नाम भएको जिकिर मैले गरेँ ।

उनले भनिन् “मेरो नाम मिनाको नाकातानी हो । तर अव नेपाल बसुन्जेल मेरो नाम मिना । जव मैले थाहा पाएँ मिना नेपाली नाम हो मैले मेरो नामको अन्तिम अक्षर “को” लाई केही दिनको लागि आराम दिएकी छु ।“ यस प्रसँग पछि मेरो पनि घैँटामा घाम लाग्यो । आज भोलि म पनि विदेशीहरुलाई परिचय दिँदा मेरो पुरै नाम भनेर “तपाईले मलाई “नव” भनेर सम्बोधन गर्न सक्नु हुन्छ” भनी लघुरुपले उनिहरुको काम सरलिकरण गर्ने वानी वसालेको छु । यो अनुभुति गराईदिएकोमा म डेभिड र मिनाको प्रति आभारी छु ।

यतिन्जेल मेरो नामको नालिवेली त हजुरले पढ्नु भयो । तँपाईको नाम पनि यसरी बाङ्गिएको, थेप्चिएको वा मर्किएको प्रसँग छ कि । छ भने कि यस्तै लेख लेख्नु होला । म अवश्य नै पढ्ने छु । छैन भने पनि तपाँईको नाम अरुले प्रयोग गर्दा होस गर्नु होला । नाम लेख्ने ठाँउमा वा आफूले परिचय दिँदा आफ्नो नाम स्पष्ट प्रस्तुत गर्नु होला । तँपाईको नामले नवराजको जस्तो फूलवुट्टा भर्ने, तन्किने र नेप्टिने समस्या झेल्नु नपरोस । मेरो यहि शुभकामना छ ।

- अस्तु -