Sunday, November 11, 2012

दानावारीको चिनो



महाभारतको युद्ध शुरु हुनु भन्दा केही क्षण अगाडि मात्र पाँच पाण्डव मध्येका विशिष्ट पात्र अर्जुनको स्वभावमा आएको अकल्पनिय परिवर्तनलाई व्यवस्थापन गर्ने क्रममा सिर्जना भएको ग्रन्थको नाम हो गीता। गीता दर्शनका सर्जक योगेश्वर भगवान श्रीकृष्णको साक्षात्कार गर्न यत्र तत्र पाईन्छ । तर आस्थाका केन्द्रहरुमा अर्जुनको भने दर्शन दुर्लभ भएको लाग्छ मलाई । तिनै धनुर्धारी कर्मयोद्धा को दर्शन गर्न पाईने र उनलाई नजिकवाटनै स्मरण गर्न पाईने तीर्थ अर्जुनधाराम यसपटक पुँगे । म जन्मेको हुर्केको ठाँउको सेरोफेरोमा अवस्थित भएको यो विशिष्ट महत्वको धाममा पाईला टेक्ने साईत जुराईदिएको थियो दानावारीमा कल्पना गरिएको वैकल्पिक उर्जासम्बन्धित एक परियोजनाको कामले ।

कार्तिक १९, २०६९ को दिन काठमाण्डौ विश्वविद्यालयको काम छोट्याएर म एघार वजे सार्वजनिक वसमा कोटेश्वर आँए । सामान मिलाउने काम वाँकी नै थियो । दुई रातको वास र स्थलगत निरक्षणको काम मात्र भएकोले म साथमा दुईवटा हलुका झोला वोकी दुई वजे विमानस्थल पुँगे । मेरो गन्तव्य भद्रपुरको उडान समयमा नै रहेछ । विमान सम्म पुराउने वसमा चढ्दै थिएँ । ढोकै निर वसेको एक विदेशीले म तिर हेरेर केही भनेको जस्तो लाग्यो । मैले बुझिन ।

सरी, आई डिड नट गेट यु ( मैले तिमीले भनेको वुझिन् )।मैले वेतोडकै अँग्रेजी वोलेछु ।

ईट वाज नट मिन्ट फर यु वट यु स्पिक गुड ईगलिस (तिम्लाई लक्षित गरेको होईन् तर तिमी राम्रो अँग्रेजी वोल्दा रहेछौ)।उत्तर आयो । 

नेपालीले प्रशँशा गरेको भए मजाक गर्दै छ वा ध्वाँस भर्दै छ भन्नु हुन्थ्यो । किनभने आर्थिक विकासमा गरिव भनेर चिनिने नेपाली हरु मुक्त कण्ठको प्रशँशा गर्नमा र कसैले गरेको तारिफलाई सकारात्मक रुपमा ग्रहण गर्नमा पनि गरिव नै छन् । म पनि त्यही ड्याङ्गको मुला हुँ । तर विदेशीको ईशारालाई आत्मसात नगर्नुको कुनै अर्थ थिएन् । मैले उसलाई धन्यवाद दिदै तर मेरो मातृभाषा नेपाली नभएको स्पष्टोक्ति दिँए। उ सँगै वसेकी महिलाले मातृभाषाको सन्दर्भमा उनीहरु पनि उस्तै हुन भनी । नेदरल्याण्डसवासी रहेछन ती मेरा सहयात्रीहरु ।  यति एयरको त्यो उडानमा उनीहरुकै वाहुल्यता थियो । झापाको कुनै गाँउमा घर वनाउने कार्यमा स्वयँसेवा गर्न हिँडेका रहेछन् ।

विमानमा सँयोगवस म मेरो प्रशँसक वसेको सीटको ठ्याक्कै पछिको सीटमा वस्न पुगे म । राम्रो सिट छानेकोमा वस्दा वस्दै  उस्को पनि तारिफ गरेँ । काठमाण्डौ उपत्यका के नाघेका मात्र थियौँ, हिमालका सेता चुचुरा हाम्रा दृष्टिमा परे । पछाडी फर्केर उसले देखिएको हिमालाई औल्याउदै सोध्यो ।

 ईज दयाट माउण्ट एभरेष्ट (सगरमाथा त्यही हो त ) ?”

यस दि फस्ट वन ( हो पहिलो त्यही हो ।)

उ मुस्कुरायो । उस्को हाउभाउले मैले अघि नै लख काटेको थिएँ उ रमाईलो मिजासको व्यक्ति हो भनेर । मैले सगरमाथा चिन्ने कुरै थिएन् । तर मैले उसलाई सगरमाथा उभिएको क्षेत्र चै देखाईदिन सक्छु भने । किनभने म सुनकोशी, भोटेकोशी, तामाकोशी र अरुण नदीको भुगोल सँग परिचित थिँए । यी चारै नदीले चर्चेको ठाँउमा कँहि न कँहि म स्थल मार्ग वाट पुगेको छु । म स्थलगत भ्रमण गरेको ठाँउ आकाशवाट पनि लगभग चिन्दछु । अरुलाई पनि त्यस्तै होला भन्ने ठान्दछु ।  अरुण नदी पुग्न लागे पछि मैले सगरमाथा ती मध्ये एक हुनु पर्छ भनेर वाँया तिरका एक श्रृङ्खलाका केही चुचुरालाई ईगित गरेँ । तर लगत्तै राम्ररी नै ठम्याउने गरि दाहिने तिर देखिएका कुम्भकर्ण र कन्चनजङ्घालाई चिनाईदिएँ । प्रख्यात सगरमाथा नचिन्ने तर अरु दुई चुचुरा ठम्याउन सक्नुको कारण उसले सोध्यो ।

विकज आई वाज वोर्न दियर (किनभने म त्यही जन्मेको हुँ)।मैले ठट्याउलो पारामा सत्य कुरा भने ।

यु वेअर वोर्न ईन द माउण्टेन (तिमी हिमालमा जन्मेका हौ त ? )“ उ आश्चर्यचकित भयो।

मैले तिनै हिमालको फेदवाट अलि तलको गाँउ मेरो जन्म थलो हो भनेर अर्थ्याएँ

दानावारी पुग्दा  वेलुकीको छ वजेको थियो । गरुवा कलेजका शिक्षक खगेन्द्र निरौला र  युवा वर्ष माविका प्रधानाध्यापक शेर वहादुर सरलाई यस यात्राका सम्पर्क सुत्रको रुपमा स्थापित गरेको थिँए । वँहाहरुले नै म र विर्तामोडमा म सँग मिसिनु भएका ईन्जिनियर मित्रको वासको टुँगो लगाईदिनु भएको थियो । खोलापारीको वजार शीतली पुगे पछी मैले वँहाहरु सँग फोनमा सम्पर्क गरेँ । वास वस्ने घर उहि गत वर्ष आउँदा वसेको घर रहेछ । त्यसो त दानावारीको यो भ्रमण मेरो तेस्रो थियो । दोस्रोमा रात विताउने मौका परेको थिएन् । कसैको घरमा वस्दा त्यतिवेला रमाईलो हुन्छ जव तँपाई आतिथ्य प्रदान गर्ने व्यक्तिहरु सँग भिज्नु हुन्छ । त्यसको लागि कुराको सुरुवात तँपाईले गर्नु पर्छ भन्ने मेरो मान्यता छ । म टोकियोको प्रिन्स लगायत धेरै तारे होटलहरुमा वसेको छु । होटल र घरको सत्कारको सामान्य फरक के हो भने घरको आतिथ्यतामा भावको मात्रा वढी हुन्छ । त्यहाँ प्रेम भाव, समर्पण भाव र सत्कार भावका अँशहरु हुन्छन् ।  होटलको सेवा सुविधाको तयारीमा कसरी भौतिक मूल्य अधिक वनाउने भाव मिसिएको हुन्छ । तर घरको सेवामा थपिएर आउने सदभावको कुनै मुल्य हुँदैन् । घरका जाहानले खाने र अतिथिले खाने परिकार एउटै हुन्छ । एकै ठाँउमा वसेर एकै पटक पनि खाईन्छ । पकाउनेले खाने मान्छेलाई व्यक्तिगत हिसावमा चिनेको हुन्छ ।  नचिने पनि कल्पना हुन्छ । कहिले कहि त पाहुनाको लागि भनेर घरका जाहानहरु अन्यत्र सरेर आफ्नो नीजी कोठा समेत छोडिदिएको मैले पाएको छु । हामी वसेको घरमा वुवा, आमा र कलेज पढ्ने छोरी सन्जुगरी तिन जनाको परिवार रहेछ । पहिलो पटक हाम्रो समूह ठूलो भएकोले मैले वँहाहरु सँग घुलमिल हुने झिनो मौका मात्र पाएको थिँए । हामीले केही वेर गफ गर्यौ । खाना तयार भयो । लगभग आफ्नै वारिमा उत्पादन भएका कच्चा पदार्थले वनेका परिकार थालको वरीपरी थिए । दुधजन्य चार परिकार थिए । प्रेम र समर्पण भाव मिसिएको स्वादिष्ट भोजन ग्रहण गरियो । खगेन्द्र सरहरु आएपछि भोलिपल्टको गरिने कार्यहरुको योजना वन्यो । हामीले योग सत्र चै त्यही घरको वार्दलीमा गर्ने टुँगो लगायौ।

विहान पाँच वजे उठेर योग सुरु गर्नु चानचुने कुरा थिएन् । म साढे चार देखिनै तयार थिँए । भुईतलामा भान्सा कोठाको वाहिर वसी जस्ताको छानामा वजेको शीतको थोपाको आनन्द लिँदै प्राणायाम गर्न थाँले । कालो कार्तिकको त्यो मिर्मिरेले मेरो तराईमा वितेको युवा अवस्थालाई आँखा अघि ल्याई दियो । चराहरु उठिसकेका थिए । नजिकैको गोठमा गाईवस्तु समेतले रात र दिनको त्यो प्रहरलाई आत्मसात गरिसकेका थिए ।  साढे पाँच सम्ममा  १५ जना जतिको समूह जम्मा भयो । मैले गुरुको आसन जमाएँ । ल्यापटप र स्पीकर साथैमा हुनाले सजिलो भयो। सहभागी सवैले साथ दिनु भयो । योग कहिल्यै पनि नगरेका सहभागीहरुको प्रतिकृया सुनेर मलाई आनन्दको अनुभूति भयो । वहाँहरुका केही अभिव्यक्तिहरु यस्ता थिए ओहो ! यसो गर्दा त अँग अँगका कुँजिएका नसाहरु पनि फुक्ने रहेछन् । यसरी दिनै पिछे शरीर तन्काउने हो भने के को रोगले छुन्थ्यो ? लौ ! अव सल्लाह गरेर प्रत्येक दिन योग गर्नु पर्ने भयो।सात वजे हिड्ने हाम्रो योजना मुताविक मैले योग सत्रलाई केही छोट्याउनु पर्यो ।

करिव आठ वजे हाम्रो स्थलगत निरिक्षणको यात्रा सुरु भयो । चियावारीको वीचवाट हामी पैदल अघि वढ्यौ । लोधिया खोलामा पुगे पछी शेर वहादुर सर र वँहाको भाईका दुई मोटरसाईकलमा हामी सवार भयौँ । ट्रयाक्टरले आफ्नो अनुकुल वनाएको त्यो पाहाडी वाटो सहज थिएन् । सानो डिलमा मोटरसाईकल हिड्ना साथ मेरो आङ् सिरिङ्ग गर्दथ्यो । घरि घरि त्यो जोखिमपूर्ण यात्रालाई साहासिक पर्यटनको रुपमा लिएर चित्त बुझाउँथे । मेरा दुवै हातले सीटको पछिल्तिर रहेको समात्ने डण्डीलाई एक छिन पनि छोडेनन् । हिले खोला तरे पछी एउटा घरमा अडियौ । स्थानिय सरोकारवालाहरु सँगको केही वेरको अन्तरक्रिया पछि धान कुट्ने मिलको सँभ्व्यावता अध्ययन गर्न हिले खोला तिर लाग्यौ । जलप्रवाह को मात्रा र कति उचाईवाट पानी खसाल्न सकिन्छ भने दुई प्रमुख मापकहरुको लेखाजोखा गरियो । खोलाको छेउको एउटा घरको आँगनमा प्यास मेटाउन के उभिएका थियौ, घरमुली वहिनीले वोटैमा पाकेको मालभोग केराको घरी हाम्रा अघि लडाईदिनु भयो । पाकेर पटपटी चिरा परेका कोसा अघिल्तिर थिए,  हामी विहान देखिका भोका थियौ । मैलै एक छिन पछिको खाना खाने व्यवस्था सम्झेर दुई कोसाले चित्त बुझाएँ । मिलपछिको हाम्रो लक्ष्य थियो युवा वर्ष मावि मा परिकल्पना गरीएको सौर्य उर्जा सँयन्त्रको सर्वेक्षण । तर हामी पहिला विद्यालयकै अध्यक्ष पदम फागो ज्यू को घर तिर लाग्यौ जहाँ हाम्रो खाना पाकेको थियो । छोरा र वुहारी आफ्नो गुँड छोडेर जाने अहिलेको नेपाली गाँउघरको समस्याले फागो परिवार पनि अछुतो थिएन् । आमाले वडो मिहिनेतले वोडीको झोल भएको तरकारी, गोलभेडाको अचार र अमलेट वनाउनु भएको रहेछ । हामीले वडो स्वाद मानेर खायौ ।
खाना पछि हामी एकै छिन अध्यक्ष लगायत अन्य केही व्यक्तिहरुसँग  गफ गर्न थाल्यौ । मैले साईत यही हो भनेर खाना वापत केही रकम दिने कुरा निकालेँ । मेरो प्रस्तावलाई अध्यक्षले ठाडै अस्वीकृत गरिदिए । अरुले त्यसमा सही थपे । म रनभुल्लमा परेँ । गाँउघरमा सरकारी कामले हिँड्दा यो समस्या प्राय: सिर्जना हुन्छ ।

अतिथीहरु सँग पैसा लिने चलन नै छैन् ।यस वेलामा सिर्जने अभिव्यक्ति यही हो ।
धन्य हाम्रो चलन । धन्य सँस्कार । म मनमनै यो सेवाभाव र आत्मियता भित्र लुकेको आदर्शता लाई नमन गर्छु । तर मेरो मन मान्दैन् । म मेरो कर्तव्यवाट विमुख हुन सक्दिन् । पुन: भान्सामा जान्छु ।

आमा यस्तो मिठो खाना खुवाउनु भयो । यो हाम्रो तर्फवाट सानो सहयोग । खानाको पैसा भन्ने नठान्नु होला । सँभव भए नाति नातिनालाई केही किनिदिनु होला यसले ।मैले केही रकम  दिदै भने । आमा मुस्कुराउनु भयो र हात वढाउनु भयो । मेरो तीर ठीक निशानामा पर्यो । मैले सफलता हासिल गरेँ । वहाँहरुले लगाएको गुनको केही अँश तिरेको अनुभूति भयो ।

विद्यालयको काम सकेर हाम्रो यात्रा अघि वढ्यो । तीनवटा मोटरसाईकले पाँच जना सवारीलाई पहाडको नागवेली वाटोमा सालाखाला १५ किमी प्रतिघण्टाको दरले दौडाएका थिए । समुद्र सतहको तुलनामा हाम्रो औसत उचाई बढिरहेको थियो । दानावरी गाविसको वार्ड न ९ को पश्चिम उत्तर दिशा तिर  अघि वढेका थियौ ।  स्थान, काल, र पात्र को परिवर्तन हुने क्रम जारी थियो । वाटोको अप्ठ्यारो भागमा मेरो ध्यान वाईकको सन्तुलनमा जान्थ्यो भने सम्म या सतह मिलेको भागमा यात्राको आनन्द लिनमा । आधा घण्टामा हामी आदर्श बुद्ध प्राथमिक विद्यालयमा पुग्यौ । १२६ जना विद्यार्थी रहेको त्यो विद्यालयमा ५ जना शिक्षकहरु रहेछन् । छात्राको सँख्या अधिक रहेछ । केटाको समूह विद्यालय भन्दा तीन कान्ला जति तल अवस्थित चौरीमा भकुण्डो खेलिरहेका थिए । केटीहरु भने विद्यालयसँगै जोडिएको चौरमा चप्पल लडाउने खेल खेलिरहेका । शिक्षकवर्ग भने घाम ताप्दै विद्यार्थीको गतिविधि नियालि रहेका । विद्यार्थीहरु दुई समूहमा विभाजित भई तासको घर वनाए जस्तो उनीहरुका चप्पलको थुप्रो ठड्याई त्यसलाई निशाना वनाई लडाउने त्यो रोचक खेल रहेछ । आफू सँग भएका साधन र श्रोतको प्रयोग गरी त्यसैवाट काम चलाउने त्यो काईदा स्मरणिय रह्यो । जापानका विद्यालय वा सामुदायिक भवनहरुमा रहेका जिदो कानजस्ता विद्यार्थीको उमेर र ज्ञान भण्डारको हिसावमा लामो अनुसन्धान गरी तयार पारिएका सुविधा यी विद्यार्थीलाई पस्किदिने हो भने अझ रमाउथे होला । मैले कल्पना गरेँ । भौतिक पुर्वाधारको यथेष्ट सुविधा नहुँदा दुईवटा कक्षाका विद्यार्थीलाई एउटै कोठामा राख्नु पर्ने वाध्यता रहेछ । एउटा कक्षाको पढाई त दुई तिर मात्र वार भएको कोठामा हुदो रहेछ । यी यथार्थ भित्र लुकेका अवसरहरुको खोजी हाम्रा मुलुकका युवा नेताहरुले गर्ने नै छन् भन्ने सोच समेत त्यसवखत मेरो मानसटलमा उदायो ।             

आदर्श वुद्ध विद्यालयको भ्रमण पश्चात हाम्रो गन्तव्य थियो खरवानी गाँउ । हामी डाँडै डाँडा अघि वढ्यौ । वाटोको एक खण्ड त यति विग्रिएको रहेछ की दुई वाईकको पछि वसेका म र ईन्जिनियर मित्रले वाईकवाट नओर्ली भएन् । खरवानी का वासिन्दालाई खाने पानीको ठूलो समस्या रहेछ । पानीका श्रोतहरु घरवाट लगभग दश मिनटको पैदल दुरीमा मात्र भेटिने । पानी गाग्रामा ओसार्नु पर्ने । हामीले सौर्य पम्पको प्रयोग गरि पानी तानेर वितरण गर्न सकिन्छ कि भनेर अध्ययन गर्यौ । म सँग २ मिटरको टेप मात्र थियो । पानीको मूलवाट घर सम्मको उचाई नाप्नु पर्ने भयो । लगभग १०० मीटरको त्यो ठाडो उचाई २ मिटरको टेपले नाप्न कठिन थियो । मेरो दिमाग सम्भावित सजिलो उपायको खोजीमा रन्थनायो । चप्पल लडाईखेलमा विद्यार्थीले आफूसँग उपलब्ध श्रोतको प्रयोग गरेको झझल्को र  जँहा ईच्छा तहाँ उपायभन्ने उक्तिको मर्मको सँयोग परेको जस्तो भयो । मेरो दृष्टि खोल्साका वाँस झ्याँगमा गयो । मुलको छेउमा उभिएको झ्याङ्गको लगभग सिरानमा अर्को झ्याँग थियो । तीनवटा  झ्याँगको लम्बाईले घर र मूलको वीचको उचाई निकाल्न सकियो । आँख्लाको सँख्या र दुई आँख्ला वीचको हिसावले बाँसको लम्बाई निकाले । मेरो काम भयो । यसै गरी अर्को मुललाई आधार मानेर पनि त्यस्तै हिसाब गर्नु थियो । तर दोस्रो मुलको वरीपरी त केही रुख त थिए तर अघिल्लो जस्तो झ्याङ्गको तह थिएन् । केही मिटर माथी गए पछि रुख विनाको वारी मात्र थियो ।  म नयाँ चुनौतिको सामना गर्दै थिँए । वारीका कान्लाले मेरो ध्यानाकर्षण गर्यो । कान्लाको सँख्या गन्ती र एउटा कान्लोको उचाईको नापोले मेरो दोस्रो चुनौति पनि समाधान भयो । म मनमनै मुस्कुराएँ ।

खरवानी गाँउको भ्रमण पश्चात हामी अम्लिसे हुँदै अघि बढ्यौ । गैडे खोलमा निर्माण गर्न विचाराधिन लघु जलविद्युत परियोजना स्थल को निरिक्षण गर्ने काम वाँकी थियो । वाँध निर्माण गर्न सकिने स्थानको खोजीमा ईन्जिनियर मित्र जानु भयो भने म जल प्रवाहको परिमाण नाप्न थालेँ । काम सक्दा घाम अस्ताउने वेला भएको थियो । हामी माई नदीको किनार हुदै युवा वर्ष मा वि तिर फर्कियौ । सूर्यास्तको छाँया नदीको पानीमा स्पष्ट देखियो । वाईक रोकेर मैले पृष्टभमिमा अस्ताउन लागेका सूर्य नारायणको विम्ब आउने गरि एक तस्विर लिएँ । विहान चिताएका र दिन भरीमा सम्पन्न गरीएको  कामको अन्तर शुन्यको नजिक पुगेको थियो । योजना मुताविक काम सम्पन्न भएकोमा हामी हर्षले भरियौ ।  

हामी विहान गएकै खोला किनार र खेत वारी हुदै फर्कियौ । रात्री वास फेरी सन्जुकै घरमा तय गरिएको थियो । दिनभरीको थकानले वेलुकीको खानाको स्वादमा सुनमा सुगन्धझैँ मुल्य थपेको थियो । खाना पश्चात नजिकैको मन्दिर आयोजना गरिएको भजनमा सहभागी हुन गईयो । भजन टोलीमा शेरवहादुर सर लगायत अन्य भक्तजनहरुको रमाईलो उपस्थिती रहेछ । कर्णप्रिय शव्द र हार्मोनियम लगायतका वाजाले पस्किएको सँगितले लठ्ठ हुन पाउँदा को नरमाउला र ? केही भक्तजनहरुको नृत्य समेत अवलोकन गर्ने अवसर जुट्यो । भजनका हरफहरुमा प्रस्तुत भएको कृष्णया शिवको शब्दलाई दुवै हातले नमस्तेको मुद्राले सँकेत गर्दा अति सुन्दर देखिँदो रहेछ । एक चेलीको नृत्यमा पाईएको यो ज्ञान मेरो लागि नौलो थियो।   

भोलिपल्ट सन्जुको घरमा हामीले प्राप्त गरेको आतिथ्य सत्कारको गुन तिर्ने क्रममा अघिल्लो दिनको जस्तै चुनौति मेरा सामुन्ने विकराल पहाड वनेर खडा भयो । सानो रकम दिने मेरो ईच्छा थियो । वहाँहरुको त्यसलाई ग्रहण गर्ने चाहना थिएन्। हाम्रो हिड्ने तरखर हुदै थियो, टिका र फूलको थाली लिएर हामीलाई विदाई भेट गर्न सन्जु वहिनी प्रस्तुत भईन् । उनले टिका लगाईदिईन् । मैले थालीमा दक्षिणा राखिदिएर मेरो धोको पूरा गरेँ । विदाईका हातहरु हल्लिए । मन भारी भयो ।    
खगेन्द्र सरको अनुरोधमा गरुवा वहुमुखि क्याम्पसमा समय व्यवस्थापनवृति विकासमामैले एक कक्षा पनि लिँए। विद्यार्थीहरुसँग रमाईलो अन्तरक्रिया भयो । विभिन्न पेशा या व्यवसायमा सँलग्न एक हुल व्यक्तिहरुको पिरामिड वनाउने हो भने किन नेताया उद्दमीहरु सबैभन्दा माथी हुन्छन् त भन्ने प्रश्नमा एक विद्यार्थीले क्षमताभनेर दिएको उत्तर अवष्मरणिय रह्यो । यसवाट मैले हाम्रा युवा पुस्ता प्रति आशावादी हुने अर्को एक आयाम थपिएको गर्वका साथ महशुस गरेँ ।    
फर्कने क्रममा अर्जुनधारा धामको भ्रमण गर्दा कुरुक्षेत्रमा भएको लडाईमा मृत्यु शैय्या मा पुगेका भिष्म पितामहलाई धरतीमा वाण हानेर निकालिएको जल प्रवाहले प्यास मेटाईदिएको किवदन्तीको वारेमा विस्तृत जानकारी लिनु पर्ने आवश्यकता मैले महशुस गरेँ । त्यँहा उम्रिएर धामवाट वाहिर वगेको पानीलाई सँकलन गरी कुनै उपयोगी काममा लगाउन सकिन्छ कि भन्ने विचार पनि उत्पन्न भयो । तर त्यस दिन सम्म कुनै मन्दिरमा नभेटिएका अर्जुनको दर्शन गर्न पाउनुलाई नै मैले जीवनको एक उपलब्धीको रुपमा लिएको छु ।                          

दानावरीका यी सबै प्रसँग र आतिथ्य सत्कारका विशिष्ट रुपहरु अविस्मरणिय चिनोको रुपमा मनमा गढेका छन् । मोवाईलमा रेकर्ड गरिएका भजनका केही अँशहरु भने भौतिक चिनो को रुपमा रहेका छन् । त्यस मध्येका यी दुई हरफहरु मेरो तर्फवाट पाठकवर्गलाई कोसेली ।    

छम छम नाचिदेउ गोपिनी
कृष्णजीको बन्सिको स्वर सुनी

नोभेम्वर ११, २०१२
पुल्चोक
-          समाप्त -

Thursday, October 25, 2012

युवा क्षमता अभिवृद्धिका केही अनुभवहरु



सन २००५ तिरको कुरा हो । काठमाण्डौ महानगरको फोहोर उत्सर्जन सम्बन्धित घरधुरी सर्वेक्षणको एउटा कार्य मेरो जिम्मामा आएको थियो । म सँग काम गर्ने स्नातकोत्तर तहका दुई जना विद्यार्थी थिए । घर घरमा गएर वाल्टीमा जम्मा भएको फोहोरलाई केलाएर एकै खालका टुक्राटाक्रीलाई एकत्र गरी तिनको तौल लिनु पर्ने काम थियो । साधारण मानिसका लागि त्यो काम सुन्दैमा घिन लाग्दो थियो । महिलाले मासिक धर्मको समयमा प्रयोग गरेका प्याड वा  शिशुहरुको मलमूत्र जस्ता आफ्नै परिवारका सदस्यहरुले समेत सहजै विसर्जन गर्न झन्झट मान्ने फोहोरसँग खेल्ने काम त्यो चानचुने थिएन्। शुरुमा मेरा विद्यार्थीहरु हौसिएका थिए । म भने अरुको घरमा गएर फोहोरको नापतौल गर्ने र प्राय मान्छेले तुच्छ सम्झिने त्यस्तो काम गर्नका लागि उनीहरुको उत्साह मर्ला कि भन्ने भयको गह्रौ पोको वोकेर हिडेको थिएँ । उनीहरुको उत्साहलाई ज्युकात्यौँ राख्ने दायित्व मेरो थियो । प्रसँग सर्वेक्षण शुरु भएको दोस्रो या तेस्रो दिन को हो । दुई मध्ये एक विद्यार्थीको घरको फोहोरको पनि नापजाँच गर्नु पर्ने थियो । हामीले फोहोरका वाल्टीलाई आँगनमा ल्यायौ । मैले ती विद्यार्थीका वुवाआमालाई समेत हाम्रो काम हेर्न वोलाएँ ।

ल ! कोट र पन्जा पाउँ त । यहाँको फोहोर छुट्याउने र वजन लिने काम म गर्छु ।  मैले विद्यार्थीद्वयलाई भने । मैले कोट र पन्जा लगाएँ र काम सम्पन्न गरेँ ।

मेरो अभिव्यक्तिले त्यहाँ उपस्थित सवैलाई आश्चर्यमा पारेको अनुभूति मैले गरेको थिएँ । मेरा एक अनन्य मित्र छन् । उनी आफ्नो पेशाधर्म लगायत नेतृत्व कौशलता जस्ता आम चासोका विषयमा विशिष्ट दखल राख्छन् । उनी भन्ने गर्छन् “आफू या माथी जुन सुकै तहको सहकर्मी किन नहोस काम गर्दा उसले सोच्दै नसोचेको अकल्पनिय तर परिणाममुखी प्रसँग या अभिव्यक्ति तपाईँले उसलाई दिन सक्नु भयो भने उ तपाई प्रति नतमस्तक हुन्छ ।  अहिले त्यो फोहोर सर्वेक्षणको प्रसँग सम्झदा मेरो प्रयास थोरवहुत त्यही वाटोमा हिँडेको जस्तो लाग्छ मलाई ।

प्रस्तुत शीर्षकमा घोत्लिँदा नेपाल विकास अनुसन्धान प्रतिष्ठान (नेविअप्र) मा आर्जेका अनुभवहरु नपस्किँदा यो लेख नुन खोर्सानी नपुगेको अचार हुन्छ । नेविअप्रको स्थापना गर्ने हाम्रो एक सपना थियो । थाईल्याण्ड विकास अनुसन्धान प्रतिष्ठान (टिडिआरआई) कै हाराहारीमा काम गर्न सक्ने सँस्थाको सिर्जना गर्ने एक दशक अघिको जापानको टोकियो वसाईमा सिर्जेको दृष्टिकोणले यथार्थतामा परिणत हुने मौका पाएको छ – शिशु नेविअप्र दश बर्षको वालक भएको छ । टिडिआरआईकै दाँजोमा पुग्न अझै धेरै समय लाग्ने छ यो वालकलाई । तर विगतको लगभग एक दशक अवधिमा नेविअप्रमा आत्मसात गरेका ज्ञान र त्यँहा युवा पुस्ता सँग साटिएका अनुभवहरु वहुमुल्य निधिका रुपमा रहेका छन् । मेरा सहकर्मी या मातहतका कर्मचारीहरु सँग सँयुक्तरुपमा काम गर्दा मेरो जोड आफ्नो साथै उनीहरुको पनि क्षमता अभिवृद्धि होस् भन्ने रहन्छ । कुनै पनि एक ढिक्का कामलाई जति जना टोली सदस्यहरु छन् त्यति भाग लगाएर गच्छे अनुसारको वाँडफाँड गरी समय सीमा तोके पछि आधा काम सकिन्छ भन्ने मेरो मान्यता छ । यस प्रकृयामा सवैभन्दा कठिन भाग या अरुले सितिमित गर्न नसक्ने अँश काम अराउनेले आफ्नो मैदानमा राख्नु पर्छ । तर कतिपय अवस्थामा मेरो काम गर्ने तौरतरिका उनिहरुलाई पट्यारलाग्दो र अनुत्पादक पनि लागेको हुन सक्छ । एकै वसाईमा लेख्दा हुने कतिपय ईमेललाई म सर्वप्रथम मेरा माताहतका कर्मचारीलाई खेस्रा गर्न लगाउँथे । छापिएका खेस्रा लाई रातो मसिले पोतेर म फेरी उनिहरुलाईनै ईमेलको अन्तिम रुप दिन भन्थे । मेरो सादा सिद्धान्त के रहन्थ्यो भने उनीहरुको क्षमताले सहजै गर्ने भन्दा एक तह माथीको कठिन काम उनीहरुले गर्न पहल गर्नु पर्छ । आफूले जानेकै या थाहा भएकै काम मात्र गर्दा त्यो खाली यान्त्रिक काम मात्र हुन्छ । त्यहाँ सीप वा ज्ञानको झिनो मुल्य थप मात्र हुन्छ, जस्तै: टाईप गर्ने वा सवारी साधन चलाउने काम । अहिले सम्म नगरिएको चुनौतिपूर्ण काममा हात राख्दा मात्र सिर्जनाको मूल फुट्छ र त्यसैले सम्बन्धित व्यक्तिलाई आरनमा खारेको जस्तो खार्छ । नेविअप्रमा ६ महिना भन्दा बढी समय सम्म लगभग ५० जना कर्मचारीहरु सँग प्रत्यक्ष रुपमा काम गर्ने मौका पाईयो भने लगभग ५०० जना सँग एक पटक अन्तर्वातामा भेट गर्ने वा केही सप्ताह सँगै काम गर्ने अवसर प्राप्त भयो । नेविअप्रले प्रतिष्ठानको आँगन टेक्ने जो कोहीले पनि वृतिविकासका केही न केही कोसेली लिएर जाउन भन्ने मान्यता राखेको छ । अन्तर्वाताका अनुभवहरु पनि स्मरणिय छन् । प्रतिष्ठानमा कामको लागि पहिलो दरखास्त राख्न आईपुग्ने कतिपय उम्मेदवारको जीवनकै पहिलो अन्तर्वाता हुने र सँस्थाको नीति सकेसम्म खुला प्रतिस्पर्धावाट योग्य उम्मेदवार लिने रहेकोले प्राय लिखित र मौखिक दुवै खाले परिक्षाको व्यवस्था गरिन्थ्यो । 

एक पटक हामी सँग लिखित जाँच लिने समय रहेन् । मेरो दिमागमा उम्मेदवारहरुलाई दरखास्त लेख्न लगाउने विचार आयो । सहकर्मी मित्रले मेरो प्रस्ताव मन पराउनुभयो । हामीले प्रत्येक उम्मेदवारलाई छुट्टा छुट्टै मेचको व्यवस्था गरिदियौँ । अन्तर्वार्ताको दरखास्त लेखन कार्यले दुईवटा आश्चर्यजनक प्रसँग निम्त्यायो । एक उम्मेदवार मेचमा राखिएको कम्युटर खोलेर आफूसँग रहेको मेमोरी स्टिक वाट केही सार्दै गरेका भेटिए । उनको हरकतका वारेमा जिकर गर्दा उनले विना हिचकिचाहट दरखास्तको नमुना हेरेको भन्ने जवाफ दिए । दोस्रो उम्मेदवारले दरखास्तमा धेरै त्रुटि गरेका रहेछन् । मेरो रातो कलमले काम पायो । मौखिक जाँचको एक भागमा तिनै त्रुटिहरुको विश्लेषण पनि पर्यो ।

तँपाईले यो दरखास्त लेख्दा तपाईको क्षमताको कति प्रतिशत अँश प्रयोग गर्नु भयो ? “ सच्च्याईएको दरखास्त उनलाई देखाएर मैले सोधेँ ।

यो प्रश्न उनलाई आश्चर्यजनक तवरमा तेर्सियो । तर उनले कति नहिच्किचाईकन जवाफ पस्किए ।  उनको ईमान्दारिताको प्रशँसा अहिले पनि गर्न मन लाग्छ मलाई ।

मैले त्यही ५० प्रतिशत क्षमताको प्रयोग गरेँ होला सरउनले भने ।
यो जवाफ सँभवत मेरो जीवनकालकै आश्चर्यजनक जवाफ मध्ये एक भएर रहेको छ ।

तर ! यसरी तँपाईले जानाजानी कम क्षमताको प्रयोग गरी काम पाउन सक्ने सभाँवनालाई दाउमा राख्नु भएन र? ” मैले भने ।

नेपालमा राम्रो दरखास्त लेखेर कसले पो जागिर पाएको छ र सर !”  उनको प्रत्युत्तरले मलाई त्यसवेला तरङ्गित मात्र पारेन, मैले त्यसपछि यो प्रसँगलाई क्षमता अभिवृद्धि सम्बन्धित धैरै छलफल र गोष्ठीहरुमा उदाहरणको रुपमा प्रयोग गर्ने मौका पाँए ।

आज जे प्राप्त भएको छ त्यसमा हिजो या अस्तिको कृयाकलापको प्रभाव अवश्य नै हुन्छ । यसरी विगतका घटनाहरुलाई आधार मानी तिनका कारकलाई पृष्टभूमिका राखेर अहिले पनि त्यस्तै हुन्छ भनेर पुर्वानुमान गर्नु जायज होईन् । युवाहरुलाई प्रगति पथमा अघि वढ्न नदिने जड तत्व त्यही पुर्वानुमान गर्ने वानी हो भन्ने मलाई लाग्छ । आफूलाई जायज नलागेको सन्दर्भ छ भने त्यसलाई परिवर्तन गर्ने दिशामा समेत योगदान पुर्याउने दायित्व पनि युवाकै हो । दोस्रो महत्वपूर्ण कुरा सबै अवसर या परिस्थितिहरुलाई एउटै गजाले नाप्नु उचित हुदैन् । सर्वमान्य सिद्धान्त, पेशागत आदर्श, वैज्ञानिक विश्लेषणको आधारमा नेविअप्रले काम गर्छ भन्ने ती उम्मेदवारले बुझेका भए सायद त्यस्तो प्रसँगको जन्म हुने थिएन ।   

तर यी माथी उल्लेखित प्रसँगहरु सँझनामा कुईनेटा वनेर वसेका घटनाहरु मात्र हुन् । उल्लेखित पात्रहरुले नेविअप्रकै कारणले परिचय भएका र सम्पर्कमा आएका युवाको प्रतिनिधित्व गर्दैनन् । किनभने कुईनेटाहरु  त चरम विन्दुहरुका उदाहरण हुन । ति उदाहरणहरु त श्रेणी वा लहरका आकस्मिक नमुनाहरु मात्र हुन् । क्षमता अभिबृद्धि,  वृति विकासमा मूल्य थप वा व्यक्तिगत उन्नतिको आधारमा विश्लेषण गर्ने हो भने  नेविअप्रमा केही समय विताएका अधिकाँश युवाहरुले राम्रो प्रगति हासिल गरेका छन् । कतिजनाले त सार्वजनिक समारोहहरुमा नेविअप्र सानिध्यताले उनिहरुको क्षमता अभिवृद्धि भएको अभिव्यक्ति दिएका छन् । कर्म क्षेत्रमा अपरिहार्य रहेका विद्यालयमा वा कलेजमा सिक्न छुट भएका कतिपय सीप वा आर्जन गर्नु पर्ने ज्ञान पछि भए पनि नेविअप्रमा सिक्न पाएकोमा उनिहरु हर्षित छन् । कतिपयले कृतज्ञताका व्यक्तिगत सन्देशहरु पनि पठाएका छन् । 

यसरी भोलिका निर्णयकर्ता र नेतृत्व तहमा पुग्न सक्ने जमातको क्षमता अभिवृद्धि आवश्यकताको अथाह सागरमा सानो अँश भए पनि योगदान दिन पाँउदा आनन्दको अनुभूति हुँदो रहेछ । सागर यो अर्थमा की अहिले हाम्रो अघि पहाड वनेर उभिएका जडताहरु चिर्नका लागि हजारौ युवाहरुको क्षमता अभिवृद्धि गर्न जरुरी छ ।  किनभने ति जडताका चट्टान चिर्ने पिपलका जराहरु आजका युवाहरु नै हुन् । आशा गरौ यी योगदानका स साना थोपाहरु मिलेर मुल वन्नेछ । ति मुलहरु मिलेर सँग्लो खोला वन्ने छ । खोलाहरु वाट नदी र नदीहरु मिलेर अन्त्यमा सागरको निर्माण हुनेछ ।

नवमी २०६९
कोटेश्वर   

Monday, April 23, 2012

'भाषा वहस’ ले नछोएको कित्ता

केही दिन यता नेपाली भाषाका मुर्धन्य विज्ञहरुका विचारोत्तेजक लेखहरु छापाहरुमा बाक्लै छापिएका छन् । आम वहस नचलाईकन, भाषा विज्ञानका अध्येताहरुले विश्वविद्यालयमा वा अन्यत्रै अनुसन्धान गरेर निकालेका निचोडहरुलाई सार्वजनिक नगरिकन, पेशाधर्मीहरुलाई मात्र होईन् मुलुकका सवै तह र तप्काका नागरिकलाई अपरिहार्य रहेको भाषा जस्तो विषयमा सर्वमान्य अवधारणा नवनाईकन प्रेषण गरिएका परिवर्तनका प्रयासहरुलाई “विवेकहिन उन्माद” ले ओतप्रोत भएका वा “आत्मरती” का लागि चालिएका कदमहरु हुन भनि व्याख्या गरिनुमा केही अनौठो नभएको आम पाठकले अनुभूति गरेको हुनु पर्छ । हुन ता राजनैतिक लगायत अन्य क्षेत्रमा समेत तथाकथित मठाधिशहरुले वहाल खाने वा तर मार्ने ( रेन्ट सिकिङ् ) प्रवृती मार्फत परम्परागत धरोहरहरुको या स्थापित मान्यताहरुको वध नगरेका होईनन् । पश्चिमा शिक्षा र सभ्यताको अन्धाधुन्ध नक्कल गरी नेपाली समाजको विकासमा नकारात्मक मूल्य थप गरिएका उदाहरणहरु भाषा ईतर विषयहरुमा पनि प्रचुर मात्रामा पाईन्छन् । यस्तै अध्येता या सर्जकहरु पनि समाजमा आफ्नो पवित्र कित्ताको स्थान थाहा नपाईकन र पेशागत मर्यादाको लक्ष्मणरेखा भित्र केन्द्रित हुन नसकी सत्ताभोगीहरुका चाकडी र चाप्लुसी गर्ने तर्फ लागि स्तुती गायन गर्दा गर्दै मठाधिशहरुको कित्तामा धकेलिएका प्रसँगहरु पनि नभेटिएका हैनन् । सर्वप्रथम त भाषाका कुन कुन सुत्र या सँरचनालाई गीताका श्र्लोकहरु वरावर मान्नु जरुरी छ भन्ने विषयमा सर्वमान्य अवधारणाको विकास गर्न जरुरी छ । जतिसुकै उर्जा खर्चे पनि गीताका श्र्लोकहरुमा कसैले त्रुटि फेला पार्न या ती सुत्र वाक्यहरुलाई सच्याउने दुस्प्रयास गर्न सक्दैन् । गीता आफैमा शतप्रतिशत पूर्ण ग्रन्थ हो । विना खोटको शास्वत सत्य हो । त्यसमा न त कुनै परिवर्तनको जरुरी छ न त वुझ्न सकिएन भनेर सरलिकरणको नै जरुरत छ । त्यता तिर उर्जा खर्च गर्नु भनेको वहुलट्टिपना वाहेक केही हुन सक्दैन् । वरु गीताको अध्ययनमा अधिक से अधिक उर्जा खर्च गरि त्यहाँका सन्देश र कर्म योगका निचोडलाई व्यवहारमा कसरी उतार्ने त्यो महत्वपूर्ण विषय हुन सक्छ । यसकारण गीताको प्रसँगमा जो कोहीले भन्न सक्छ “पाठकलाई प्राप्त अधिकार या अवसर भनेको गीताको पाठ या अध्ययन गर्ने मात्र हो । “
प्रश्न नेपाली भाषाको प्रयोग हुने भूमिमा या नेपाली भाषा प्रयोग गर्ने जनहरुको परिवेशमा आर्थिक विकास, प्रविधि र जिविकोपार्जन सँग जोडिएर आएका भाषागत समस्याहरुलाई कसरी सम्बोधन गर्ने भन्ने हो । यस विषयमा सर्वमान्य अवधारणाको विकास गरी प्रयोगकर्तालाई परिस्कृत, त्रुटिरहित, मौलिक पद्धतिमा मौलाउने अवसर प्रदान गर्नु सरोकारवालाको दायित्व हुन जान्छ । कम्प्युटर, ईमेल, ल्यापटप, सिडि, मोवाईल, मेसेज, ट्राफिक, डेरी, ल्यामिनेशन, डिजिटल, फोटोकपि, एटियम मेशिन जस्ता शब्दहरु नेपाली समाजमा त के विश्वमा नै प्रयोगमा आएको धेरै भएको छैन् । आम नेपाली नागरिक मात्र होईन् भाषाशास्त्री लगायत सम्पूर्ण पेशाधर्मीले अत्यधिक प्रयोग गर्नु पर्ने शब्दहरु हुन यी । के यी शब्दहरुको नेपालीकरण गर्दा हामीलाई सजिलो हुन्छ ? कि त्यो पहलले पनि अध्येताहरुले वताएअनुसार “स” को या “ईकार” को एकल प्रयोग गर्दा थपिने भाँडभैलो मात्र थप्छ ? प्रश्न अरेखिय छ, जटिल छ र सँवेदनशिल पनि छ । किनभने, यदि अध्येताहरु या शास्त्रीहरु या आधिकारिक सँयन्त्रले यस्ता शब्दहरु प्रयोगकर्ता समक्ष पुग्नु अगावै नसोच्दा शब्दहरु विरुप भएका उदाहरणहरु हाम्रै अगाडि छन् । “भ्याकु”, “फ्याटको दुध”, “बाई रोड”, “मोबिल”, “बिटारी”, “गिरेन्ड”, “निस्पेकंटर”, “प्रिसर”, “एक सराई”, “ट्याउसी”, “टिप”, “सिमन्टि”, “सुलोप”, “हात्तिपाईले” र “चिनी रोग” आदि केही यस्ता नमुना शब्दहरु हुन् । सडक खन्ने काममा प्रयोग हुने “ब्याक हो” को नेपाली रुप हो “भ्याकु” । नौनी निकाल्ने कारखानाको दुध लाई भन्ने गरियो “फ्याटको दुध” । पैदल वाटोको विकल्पको रुपमा उदाएको गाडी चल्ने सडक भयो “बाई रोड” । “मोबाईल फोन” भयो “मोबिल फोन” । रेडियो या क्यामेरालाई उर्जा प्रवाह गर्ने “ब्याट्री” भयो “बिटारी” । हवाईजहाज अवतरण गर्ने “ग्राउण्ड” भयो “गिरेन्ड” । “ईनिस्पेक्टर” को “ई” काटिएर वन्यो “निस्पेक्टर” । “प्रेसर” जाँच्न हिँडेका विरामी “प्रिसर” जँचाएर फर्किन्छन् । डाक्टरले भन्छ “एक्स रे” गराएर ल्याउनुस । विरामीले पेश गर्छ “एक सराई रिपोर्ट” । खोजेको वेलामा भाडाको सवारी साधन नपाए पछि कसैले भन्छ “ट्याउसी” पाईएन भने सोचे जतिको सवारी नपाए पछी चालक भन्छ “आज टिप लागेन” । ज्यामीले ‘’सिमन्टि” को वोरा उचाल्छ । डकर्मीले घरको जग “हात्तिपाईले” वाट शुरु गर्छ र भरेङ्गको “सुलोप” नाप्छ। शरीरमा चिनीजन्य पदार्थले लाग्ने मधुमेह को रोगको सट्टा जनजिव्रोले भन्छ “चिनी रोग” । कुनै यफ यम हरुले “थोप्लो” चलाएका छन् । कुनै “दशमलव” मा रमाएका छन् र कुनैले सिधै “प्वाईन्ट” जमाएका छन्। मोवाईल फोनलाई कसैले “हाते” फोन भनेका छन कसैले “डुलुवा” । साधारण जनहरुलाई यो भाँडभैलो र अराजकता हो कि हुनु पर्ने नै यस्तो हो भन्ने अन्यौल हुनु स्वभाविक हो तर भाषा शास्त्रीहरुले के भन्ने ? नीति निर्माताहरुले के भन्ने ? भाषाका विद्वान प्रयोगकर्ताहरुले के भन्ने ?
विवेकहिनता, अकर्मण्यता र अदुरदर्शिताका परिवेशहरु समाहित भएको अहिलेको अवस्थामा आफ्नो उत्तरदायित्व या सरोकार वाट पन्छिनका लागि प्रयोग हुने वाक्य हो “ राजनैतिक स्थिरता नभैकन केही पनि हुँदैन” । के भाषाको अनुसन्धान या नियमन गर्नका लागि पनि यो सत्य हो त ? भाषामा काम गर्नका लागि पनि राजनीति नै प्रथम कारक हो त ?
ल! एक छिन का लागि मानौ यी माथी औल्याईएका जस्ता तर्क गर्न सकिने सवालहरुमा भाषाशास्त्री या अध्येताहरुले अग्रसरता देखाउन सकेनन् । तर वसाई सराई, शहरीक्षेत्रको विकास र प्रविधिको आयातले सिर्जिएका भाषाजन्य अपठ्याराहरुलाई पनि कामचोर प्रवृतिमा रमाएर कानमा तेलहालेर नदेखेको वहाना गर्न मिल्छ ? शहरी क्षेत्रको विस्तार र विकासले नयाँ नयाँ टोल, वस्ति र वजारको विकास भएको छ । पहिला सयको सँख्यामा मान्छेले प्रयोग गर्ने ठाउँ या सुविधाहरु हजारौ या लाखौँले प्रयोग गर्ने भएका छन् । ती स्थान र सुविधाहरुको सहि नामाकरण नहुँदा समस्याहरु सिर्जना भएका छन् । उदाहरणको लागि कोटेश्वर सुर्य विनायक सडकको निर्माण सुधार पश्चात सवारी साधन रोकिने स्थानमा पनि परिवर्तन आएको छ । अहिले वानेश्वर वाट भक्तपुर जाँदा त्यही स्थानलाई “कोटेश्वर वारी” भन्ने सह-चालक भक्तपुरवाट फर्कँदा त्यही स्थानलाई “कोटेश्वर पारी” भन्छ । डुँगामा नदी तर्दा प्रयोग गरिने वारी पारी अहिले सडकमा सवारी साधन प्रयोग गर्दा पनि प्रयोग भएको छ । तर तीन तिर जान सकिने भएकाले कोटेश्वरमा ६ थान “वारी र पारी” को जन्म भएको छ । भन्नेले के फरक पर्यो त भनेर भन्लान तर मानौ “ नवआगन्तुक यात्रुले ट्याक्सी चालकलाई कोटेश्वर पारी लैजा भन्यो” भने चालकले कहाँ लैजाने ? के मुर्धन्य भाषाशास्त्रीको सहयोगमा हाम्रा ईन्जिनियरहरुले यी स्थानहरुलाई “ ईशान कोटेश्वर” वा “आग्नेय कोटेश्वर” भनेर नामाकरण गरी सजिलो पस्कने कामको शुरुवात गरे हुदैन् ? सरकारी अड्डाहरुले यसलाई नियमन गरे हुँदैन ?
यस्तै विकास वा वजार विस्तार सँग सम्बन्धित आगन्तुक शब्दलाई हामीले आम नेपालीलाई कसरी बुझाउने ? “क्लाईमेट रेजिलिएन्ट डेभलपमेण्ट” वा “क्लाईमेट प्रुफिङ्ग” लाई के भन्ने ? “ केमो थेरापी“ लाई के भन्ने ? खवरको छोटो रुप वा “यसयमयस” लाई के भन्ने ? पैसा फाल्ने स्वचालित यन्त्रलाई अर्थात “एटियम” लाई नि ? यस्ता नयाँ शब्दहरु प्राय अँग्रजीमा उदाउने गर्छन् । अँग्रेजी मातृभाषा नभएका मुलुकहरु जस्तै जापान, कोरिया आदिले शिक्षा मन्त्रालय मार्फत शब्द निर्माणको कार्यलाई औपचारिकता दिने गरेका छन् । शब्द नै अक्षर भएका जापानी र कोरियन भाषामा त शब्द निर्माण लगायत भाषालाई कम्प्युटर मैत्री वनाउने कार्य नेपाली भाषाको तुलनामा अझ जटिल छ । सबैभन्दा विशिष्ट सँरचना भएको भाषा सँस्कृतको सानिध्यता र लगभग एक अरब जनले प्रयोग गर्ने हिन्दि जस्ता भाषाको सामिप्यतालाई उपयोग गर्न नसक्नु मठाधिशहरुको विवेकहिन उन्मादमा हराउनु नै होईनत ? उदेक लाग्दो विषय त के छ भने व्यावहारिक भाषा शिक्षाको यत्रो कार्यक्षेत्रको “पराले कुनिउ” माथी वसेर भाषा विज्ञानका गुरुहरु सोधार्थीलाई अनुसन्धान गर्ने विषय भएन भनि टाउको कन्याएर वसेका छन् । केही ले त उनिहरु पनि राजनैतिक स्थायित्वको शुरुवात पर्खेका त होईनन् भनि आशँका गर्ने गरेका छन् । आशा गरौ, वौद्धिक दुर्वलताको भासमा जकडिएर आफ्नो भाउ वढाउनका लागि नक्कली समस्या सिर्जना गरी सत्ता सन्चालन गरिरहेका नन्दि भिरगीँका मालिकहरुले चुनिएका अध्येताहरुले शुरु गरेको यो वहसको अवसरलाई उपयोग गरी सच्चा विद्वान हुने जमर्को गर्ने छन् ।
काठमाण्डौ विश्वविद्यालय
धुलिखेल, काभ्रे

Tuesday, March 27, 2012

वर्तमानको यथार्थता

म जे छु जँहा छु वर्तमानमा छु
यथार्थ भएको छ अतितले कल्पेको भविष्य ।
सोचे जस्तो भए पनि नभए पनि
कल्पे जस्ते भए पनि नभए पनि
म जे छु जँहा छु वर्तमानमा छु

तर हिजो सोचे जस्तो भोली आजमा छैन
अस्ति कल्पेको पर्सि आजमा छैन
कल्पेको प्राप्ति छैन्
रोजेको साथ छैन्
खोजेको सन्तुष्टि छैन्
साँचेको माया छैन्
आनन्द छैन्, पूर्णता छैन्, सुख छैन्, निश्चिन्तता छैन, प्रेम छैन, ……..

सूचि थपिँदो छ । “छैन” को आयतन वढ्दो छ ।

किनभने
म जे छु जँहा छु वर्तमानमा छु

यसैले त भन्न मन लाग्छ….

मनको पखेटा हुँदा हुदै उड्ने पन्छी नै किन चाहियो र ?
जुनको उज्यालो छँदा छदै ताराको धिपधिप खोज्न कहाँ पाईयो र ?