Monday, April 23, 2012

'भाषा वहस’ ले नछोएको कित्ता

केही दिन यता नेपाली भाषाका मुर्धन्य विज्ञहरुका विचारोत्तेजक लेखहरु छापाहरुमा बाक्लै छापिएका छन् । आम वहस नचलाईकन, भाषा विज्ञानका अध्येताहरुले विश्वविद्यालयमा वा अन्यत्रै अनुसन्धान गरेर निकालेका निचोडहरुलाई सार्वजनिक नगरिकन, पेशाधर्मीहरुलाई मात्र होईन् मुलुकका सवै तह र तप्काका नागरिकलाई अपरिहार्य रहेको भाषा जस्तो विषयमा सर्वमान्य अवधारणा नवनाईकन प्रेषण गरिएका परिवर्तनका प्रयासहरुलाई “विवेकहिन उन्माद” ले ओतप्रोत भएका वा “आत्मरती” का लागि चालिएका कदमहरु हुन भनि व्याख्या गरिनुमा केही अनौठो नभएको आम पाठकले अनुभूति गरेको हुनु पर्छ । हुन ता राजनैतिक लगायत अन्य क्षेत्रमा समेत तथाकथित मठाधिशहरुले वहाल खाने वा तर मार्ने ( रेन्ट सिकिङ् ) प्रवृती मार्फत परम्परागत धरोहरहरुको या स्थापित मान्यताहरुको वध नगरेका होईनन् । पश्चिमा शिक्षा र सभ्यताको अन्धाधुन्ध नक्कल गरी नेपाली समाजको विकासमा नकारात्मक मूल्य थप गरिएका उदाहरणहरु भाषा ईतर विषयहरुमा पनि प्रचुर मात्रामा पाईन्छन् । यस्तै अध्येता या सर्जकहरु पनि समाजमा आफ्नो पवित्र कित्ताको स्थान थाहा नपाईकन र पेशागत मर्यादाको लक्ष्मणरेखा भित्र केन्द्रित हुन नसकी सत्ताभोगीहरुका चाकडी र चाप्लुसी गर्ने तर्फ लागि स्तुती गायन गर्दा गर्दै मठाधिशहरुको कित्तामा धकेलिएका प्रसँगहरु पनि नभेटिएका हैनन् । सर्वप्रथम त भाषाका कुन कुन सुत्र या सँरचनालाई गीताका श्र्लोकहरु वरावर मान्नु जरुरी छ भन्ने विषयमा सर्वमान्य अवधारणाको विकास गर्न जरुरी छ । जतिसुकै उर्जा खर्चे पनि गीताका श्र्लोकहरुमा कसैले त्रुटि फेला पार्न या ती सुत्र वाक्यहरुलाई सच्याउने दुस्प्रयास गर्न सक्दैन् । गीता आफैमा शतप्रतिशत पूर्ण ग्रन्थ हो । विना खोटको शास्वत सत्य हो । त्यसमा न त कुनै परिवर्तनको जरुरी छ न त वुझ्न सकिएन भनेर सरलिकरणको नै जरुरत छ । त्यता तिर उर्जा खर्च गर्नु भनेको वहुलट्टिपना वाहेक केही हुन सक्दैन् । वरु गीताको अध्ययनमा अधिक से अधिक उर्जा खर्च गरि त्यहाँका सन्देश र कर्म योगका निचोडलाई व्यवहारमा कसरी उतार्ने त्यो महत्वपूर्ण विषय हुन सक्छ । यसकारण गीताको प्रसँगमा जो कोहीले भन्न सक्छ “पाठकलाई प्राप्त अधिकार या अवसर भनेको गीताको पाठ या अध्ययन गर्ने मात्र हो । “
प्रश्न नेपाली भाषाको प्रयोग हुने भूमिमा या नेपाली भाषा प्रयोग गर्ने जनहरुको परिवेशमा आर्थिक विकास, प्रविधि र जिविकोपार्जन सँग जोडिएर आएका भाषागत समस्याहरुलाई कसरी सम्बोधन गर्ने भन्ने हो । यस विषयमा सर्वमान्य अवधारणाको विकास गरी प्रयोगकर्तालाई परिस्कृत, त्रुटिरहित, मौलिक पद्धतिमा मौलाउने अवसर प्रदान गर्नु सरोकारवालाको दायित्व हुन जान्छ । कम्प्युटर, ईमेल, ल्यापटप, सिडि, मोवाईल, मेसेज, ट्राफिक, डेरी, ल्यामिनेशन, डिजिटल, फोटोकपि, एटियम मेशिन जस्ता शब्दहरु नेपाली समाजमा त के विश्वमा नै प्रयोगमा आएको धेरै भएको छैन् । आम नेपाली नागरिक मात्र होईन् भाषाशास्त्री लगायत सम्पूर्ण पेशाधर्मीले अत्यधिक प्रयोग गर्नु पर्ने शब्दहरु हुन यी । के यी शब्दहरुको नेपालीकरण गर्दा हामीलाई सजिलो हुन्छ ? कि त्यो पहलले पनि अध्येताहरुले वताएअनुसार “स” को या “ईकार” को एकल प्रयोग गर्दा थपिने भाँडभैलो मात्र थप्छ ? प्रश्न अरेखिय छ, जटिल छ र सँवेदनशिल पनि छ । किनभने, यदि अध्येताहरु या शास्त्रीहरु या आधिकारिक सँयन्त्रले यस्ता शब्दहरु प्रयोगकर्ता समक्ष पुग्नु अगावै नसोच्दा शब्दहरु विरुप भएका उदाहरणहरु हाम्रै अगाडि छन् । “भ्याकु”, “फ्याटको दुध”, “बाई रोड”, “मोबिल”, “बिटारी”, “गिरेन्ड”, “निस्पेकंटर”, “प्रिसर”, “एक सराई”, “ट्याउसी”, “टिप”, “सिमन्टि”, “सुलोप”, “हात्तिपाईले” र “चिनी रोग” आदि केही यस्ता नमुना शब्दहरु हुन् । सडक खन्ने काममा प्रयोग हुने “ब्याक हो” को नेपाली रुप हो “भ्याकु” । नौनी निकाल्ने कारखानाको दुध लाई भन्ने गरियो “फ्याटको दुध” । पैदल वाटोको विकल्पको रुपमा उदाएको गाडी चल्ने सडक भयो “बाई रोड” । “मोबाईल फोन” भयो “मोबिल फोन” । रेडियो या क्यामेरालाई उर्जा प्रवाह गर्ने “ब्याट्री” भयो “बिटारी” । हवाईजहाज अवतरण गर्ने “ग्राउण्ड” भयो “गिरेन्ड” । “ईनिस्पेक्टर” को “ई” काटिएर वन्यो “निस्पेक्टर” । “प्रेसर” जाँच्न हिँडेका विरामी “प्रिसर” जँचाएर फर्किन्छन् । डाक्टरले भन्छ “एक्स रे” गराएर ल्याउनुस । विरामीले पेश गर्छ “एक सराई रिपोर्ट” । खोजेको वेलामा भाडाको सवारी साधन नपाए पछि कसैले भन्छ “ट्याउसी” पाईएन भने सोचे जतिको सवारी नपाए पछी चालक भन्छ “आज टिप लागेन” । ज्यामीले ‘’सिमन्टि” को वोरा उचाल्छ । डकर्मीले घरको जग “हात्तिपाईले” वाट शुरु गर्छ र भरेङ्गको “सुलोप” नाप्छ। शरीरमा चिनीजन्य पदार्थले लाग्ने मधुमेह को रोगको सट्टा जनजिव्रोले भन्छ “चिनी रोग” । कुनै यफ यम हरुले “थोप्लो” चलाएका छन् । कुनै “दशमलव” मा रमाएका छन् र कुनैले सिधै “प्वाईन्ट” जमाएका छन्। मोवाईल फोनलाई कसैले “हाते” फोन भनेका छन कसैले “डुलुवा” । साधारण जनहरुलाई यो भाँडभैलो र अराजकता हो कि हुनु पर्ने नै यस्तो हो भन्ने अन्यौल हुनु स्वभाविक हो तर भाषा शास्त्रीहरुले के भन्ने ? नीति निर्माताहरुले के भन्ने ? भाषाका विद्वान प्रयोगकर्ताहरुले के भन्ने ?
विवेकहिनता, अकर्मण्यता र अदुरदर्शिताका परिवेशहरु समाहित भएको अहिलेको अवस्थामा आफ्नो उत्तरदायित्व या सरोकार वाट पन्छिनका लागि प्रयोग हुने वाक्य हो “ राजनैतिक स्थिरता नभैकन केही पनि हुँदैन” । के भाषाको अनुसन्धान या नियमन गर्नका लागि पनि यो सत्य हो त ? भाषामा काम गर्नका लागि पनि राजनीति नै प्रथम कारक हो त ?
ल! एक छिन का लागि मानौ यी माथी औल्याईएका जस्ता तर्क गर्न सकिने सवालहरुमा भाषाशास्त्री या अध्येताहरुले अग्रसरता देखाउन सकेनन् । तर वसाई सराई, शहरीक्षेत्रको विकास र प्रविधिको आयातले सिर्जिएका भाषाजन्य अपठ्याराहरुलाई पनि कामचोर प्रवृतिमा रमाएर कानमा तेलहालेर नदेखेको वहाना गर्न मिल्छ ? शहरी क्षेत्रको विस्तार र विकासले नयाँ नयाँ टोल, वस्ति र वजारको विकास भएको छ । पहिला सयको सँख्यामा मान्छेले प्रयोग गर्ने ठाउँ या सुविधाहरु हजारौ या लाखौँले प्रयोग गर्ने भएका छन् । ती स्थान र सुविधाहरुको सहि नामाकरण नहुँदा समस्याहरु सिर्जना भएका छन् । उदाहरणको लागि कोटेश्वर सुर्य विनायक सडकको निर्माण सुधार पश्चात सवारी साधन रोकिने स्थानमा पनि परिवर्तन आएको छ । अहिले वानेश्वर वाट भक्तपुर जाँदा त्यही स्थानलाई “कोटेश्वर वारी” भन्ने सह-चालक भक्तपुरवाट फर्कँदा त्यही स्थानलाई “कोटेश्वर पारी” भन्छ । डुँगामा नदी तर्दा प्रयोग गरिने वारी पारी अहिले सडकमा सवारी साधन प्रयोग गर्दा पनि प्रयोग भएको छ । तर तीन तिर जान सकिने भएकाले कोटेश्वरमा ६ थान “वारी र पारी” को जन्म भएको छ । भन्नेले के फरक पर्यो त भनेर भन्लान तर मानौ “ नवआगन्तुक यात्रुले ट्याक्सी चालकलाई कोटेश्वर पारी लैजा भन्यो” भने चालकले कहाँ लैजाने ? के मुर्धन्य भाषाशास्त्रीको सहयोगमा हाम्रा ईन्जिनियरहरुले यी स्थानहरुलाई “ ईशान कोटेश्वर” वा “आग्नेय कोटेश्वर” भनेर नामाकरण गरी सजिलो पस्कने कामको शुरुवात गरे हुदैन् ? सरकारी अड्डाहरुले यसलाई नियमन गरे हुँदैन ?
यस्तै विकास वा वजार विस्तार सँग सम्बन्धित आगन्तुक शब्दलाई हामीले आम नेपालीलाई कसरी बुझाउने ? “क्लाईमेट रेजिलिएन्ट डेभलपमेण्ट” वा “क्लाईमेट प्रुफिङ्ग” लाई के भन्ने ? “ केमो थेरापी“ लाई के भन्ने ? खवरको छोटो रुप वा “यसयमयस” लाई के भन्ने ? पैसा फाल्ने स्वचालित यन्त्रलाई अर्थात “एटियम” लाई नि ? यस्ता नयाँ शब्दहरु प्राय अँग्रजीमा उदाउने गर्छन् । अँग्रेजी मातृभाषा नभएका मुलुकहरु जस्तै जापान, कोरिया आदिले शिक्षा मन्त्रालय मार्फत शब्द निर्माणको कार्यलाई औपचारिकता दिने गरेका छन् । शब्द नै अक्षर भएका जापानी र कोरियन भाषामा त शब्द निर्माण लगायत भाषालाई कम्प्युटर मैत्री वनाउने कार्य नेपाली भाषाको तुलनामा अझ जटिल छ । सबैभन्दा विशिष्ट सँरचना भएको भाषा सँस्कृतको सानिध्यता र लगभग एक अरब जनले प्रयोग गर्ने हिन्दि जस्ता भाषाको सामिप्यतालाई उपयोग गर्न नसक्नु मठाधिशहरुको विवेकहिन उन्मादमा हराउनु नै होईनत ? उदेक लाग्दो विषय त के छ भने व्यावहारिक भाषा शिक्षाको यत्रो कार्यक्षेत्रको “पराले कुनिउ” माथी वसेर भाषा विज्ञानका गुरुहरु सोधार्थीलाई अनुसन्धान गर्ने विषय भएन भनि टाउको कन्याएर वसेका छन् । केही ले त उनिहरु पनि राजनैतिक स्थायित्वको शुरुवात पर्खेका त होईनन् भनि आशँका गर्ने गरेका छन् । आशा गरौ, वौद्धिक दुर्वलताको भासमा जकडिएर आफ्नो भाउ वढाउनका लागि नक्कली समस्या सिर्जना गरी सत्ता सन्चालन गरिरहेका नन्दि भिरगीँका मालिकहरुले चुनिएका अध्येताहरुले शुरु गरेको यो वहसको अवसरलाई उपयोग गरी सच्चा विद्वान हुने जमर्को गर्ने छन् ।
काठमाण्डौ विश्वविद्यालय
धुलिखेल, काभ्रे