Thursday, October 25, 2012

युवा क्षमता अभिवृद्धिका केही अनुभवहरु



सन २००५ तिरको कुरा हो । काठमाण्डौ महानगरको फोहोर उत्सर्जन सम्बन्धित घरधुरी सर्वेक्षणको एउटा कार्य मेरो जिम्मामा आएको थियो । म सँग काम गर्ने स्नातकोत्तर तहका दुई जना विद्यार्थी थिए । घर घरमा गएर वाल्टीमा जम्मा भएको फोहोरलाई केलाएर एकै खालका टुक्राटाक्रीलाई एकत्र गरी तिनको तौल लिनु पर्ने काम थियो । साधारण मानिसका लागि त्यो काम सुन्दैमा घिन लाग्दो थियो । महिलाले मासिक धर्मको समयमा प्रयोग गरेका प्याड वा  शिशुहरुको मलमूत्र जस्ता आफ्नै परिवारका सदस्यहरुले समेत सहजै विसर्जन गर्न झन्झट मान्ने फोहोरसँग खेल्ने काम त्यो चानचुने थिएन्। शुरुमा मेरा विद्यार्थीहरु हौसिएका थिए । म भने अरुको घरमा गएर फोहोरको नापतौल गर्ने र प्राय मान्छेले तुच्छ सम्झिने त्यस्तो काम गर्नका लागि उनीहरुको उत्साह मर्ला कि भन्ने भयको गह्रौ पोको वोकेर हिडेको थिएँ । उनीहरुको उत्साहलाई ज्युकात्यौँ राख्ने दायित्व मेरो थियो । प्रसँग सर्वेक्षण शुरु भएको दोस्रो या तेस्रो दिन को हो । दुई मध्ये एक विद्यार्थीको घरको फोहोरको पनि नापजाँच गर्नु पर्ने थियो । हामीले फोहोरका वाल्टीलाई आँगनमा ल्यायौ । मैले ती विद्यार्थीका वुवाआमालाई समेत हाम्रो काम हेर्न वोलाएँ ।

ल ! कोट र पन्जा पाउँ त । यहाँको फोहोर छुट्याउने र वजन लिने काम म गर्छु ।  मैले विद्यार्थीद्वयलाई भने । मैले कोट र पन्जा लगाएँ र काम सम्पन्न गरेँ ।

मेरो अभिव्यक्तिले त्यहाँ उपस्थित सवैलाई आश्चर्यमा पारेको अनुभूति मैले गरेको थिएँ । मेरा एक अनन्य मित्र छन् । उनी आफ्नो पेशाधर्म लगायत नेतृत्व कौशलता जस्ता आम चासोका विषयमा विशिष्ट दखल राख्छन् । उनी भन्ने गर्छन् “आफू या माथी जुन सुकै तहको सहकर्मी किन नहोस काम गर्दा उसले सोच्दै नसोचेको अकल्पनिय तर परिणाममुखी प्रसँग या अभिव्यक्ति तपाईँले उसलाई दिन सक्नु भयो भने उ तपाई प्रति नतमस्तक हुन्छ ।  अहिले त्यो फोहोर सर्वेक्षणको प्रसँग सम्झदा मेरो प्रयास थोरवहुत त्यही वाटोमा हिँडेको जस्तो लाग्छ मलाई ।

प्रस्तुत शीर्षकमा घोत्लिँदा नेपाल विकास अनुसन्धान प्रतिष्ठान (नेविअप्र) मा आर्जेका अनुभवहरु नपस्किँदा यो लेख नुन खोर्सानी नपुगेको अचार हुन्छ । नेविअप्रको स्थापना गर्ने हाम्रो एक सपना थियो । थाईल्याण्ड विकास अनुसन्धान प्रतिष्ठान (टिडिआरआई) कै हाराहारीमा काम गर्न सक्ने सँस्थाको सिर्जना गर्ने एक दशक अघिको जापानको टोकियो वसाईमा सिर्जेको दृष्टिकोणले यथार्थतामा परिणत हुने मौका पाएको छ – शिशु नेविअप्र दश बर्षको वालक भएको छ । टिडिआरआईकै दाँजोमा पुग्न अझै धेरै समय लाग्ने छ यो वालकलाई । तर विगतको लगभग एक दशक अवधिमा नेविअप्रमा आत्मसात गरेका ज्ञान र त्यँहा युवा पुस्ता सँग साटिएका अनुभवहरु वहुमुल्य निधिका रुपमा रहेका छन् । मेरा सहकर्मी या मातहतका कर्मचारीहरु सँग सँयुक्तरुपमा काम गर्दा मेरो जोड आफ्नो साथै उनीहरुको पनि क्षमता अभिवृद्धि होस् भन्ने रहन्छ । कुनै पनि एक ढिक्का कामलाई जति जना टोली सदस्यहरु छन् त्यति भाग लगाएर गच्छे अनुसारको वाँडफाँड गरी समय सीमा तोके पछि आधा काम सकिन्छ भन्ने मेरो मान्यता छ । यस प्रकृयामा सवैभन्दा कठिन भाग या अरुले सितिमित गर्न नसक्ने अँश काम अराउनेले आफ्नो मैदानमा राख्नु पर्छ । तर कतिपय अवस्थामा मेरो काम गर्ने तौरतरिका उनिहरुलाई पट्यारलाग्दो र अनुत्पादक पनि लागेको हुन सक्छ । एकै वसाईमा लेख्दा हुने कतिपय ईमेललाई म सर्वप्रथम मेरा माताहतका कर्मचारीलाई खेस्रा गर्न लगाउँथे । छापिएका खेस्रा लाई रातो मसिले पोतेर म फेरी उनिहरुलाईनै ईमेलको अन्तिम रुप दिन भन्थे । मेरो सादा सिद्धान्त के रहन्थ्यो भने उनीहरुको क्षमताले सहजै गर्ने भन्दा एक तह माथीको कठिन काम उनीहरुले गर्न पहल गर्नु पर्छ । आफूले जानेकै या थाहा भएकै काम मात्र गर्दा त्यो खाली यान्त्रिक काम मात्र हुन्छ । त्यहाँ सीप वा ज्ञानको झिनो मुल्य थप मात्र हुन्छ, जस्तै: टाईप गर्ने वा सवारी साधन चलाउने काम । अहिले सम्म नगरिएको चुनौतिपूर्ण काममा हात राख्दा मात्र सिर्जनाको मूल फुट्छ र त्यसैले सम्बन्धित व्यक्तिलाई आरनमा खारेको जस्तो खार्छ । नेविअप्रमा ६ महिना भन्दा बढी समय सम्म लगभग ५० जना कर्मचारीहरु सँग प्रत्यक्ष रुपमा काम गर्ने मौका पाईयो भने लगभग ५०० जना सँग एक पटक अन्तर्वातामा भेट गर्ने वा केही सप्ताह सँगै काम गर्ने अवसर प्राप्त भयो । नेविअप्रले प्रतिष्ठानको आँगन टेक्ने जो कोहीले पनि वृतिविकासका केही न केही कोसेली लिएर जाउन भन्ने मान्यता राखेको छ । अन्तर्वाताका अनुभवहरु पनि स्मरणिय छन् । प्रतिष्ठानमा कामको लागि पहिलो दरखास्त राख्न आईपुग्ने कतिपय उम्मेदवारको जीवनकै पहिलो अन्तर्वाता हुने र सँस्थाको नीति सकेसम्म खुला प्रतिस्पर्धावाट योग्य उम्मेदवार लिने रहेकोले प्राय लिखित र मौखिक दुवै खाले परिक्षाको व्यवस्था गरिन्थ्यो । 

एक पटक हामी सँग लिखित जाँच लिने समय रहेन् । मेरो दिमागमा उम्मेदवारहरुलाई दरखास्त लेख्न लगाउने विचार आयो । सहकर्मी मित्रले मेरो प्रस्ताव मन पराउनुभयो । हामीले प्रत्येक उम्मेदवारलाई छुट्टा छुट्टै मेचको व्यवस्था गरिदियौँ । अन्तर्वार्ताको दरखास्त लेखन कार्यले दुईवटा आश्चर्यजनक प्रसँग निम्त्यायो । एक उम्मेदवार मेचमा राखिएको कम्युटर खोलेर आफूसँग रहेको मेमोरी स्टिक वाट केही सार्दै गरेका भेटिए । उनको हरकतका वारेमा जिकर गर्दा उनले विना हिचकिचाहट दरखास्तको नमुना हेरेको भन्ने जवाफ दिए । दोस्रो उम्मेदवारले दरखास्तमा धेरै त्रुटि गरेका रहेछन् । मेरो रातो कलमले काम पायो । मौखिक जाँचको एक भागमा तिनै त्रुटिहरुको विश्लेषण पनि पर्यो ।

तँपाईले यो दरखास्त लेख्दा तपाईको क्षमताको कति प्रतिशत अँश प्रयोग गर्नु भयो ? “ सच्च्याईएको दरखास्त उनलाई देखाएर मैले सोधेँ ।

यो प्रश्न उनलाई आश्चर्यजनक तवरमा तेर्सियो । तर उनले कति नहिच्किचाईकन जवाफ पस्किए ।  उनको ईमान्दारिताको प्रशँसा अहिले पनि गर्न मन लाग्छ मलाई ।

मैले त्यही ५० प्रतिशत क्षमताको प्रयोग गरेँ होला सरउनले भने ।
यो जवाफ सँभवत मेरो जीवनकालकै आश्चर्यजनक जवाफ मध्ये एक भएर रहेको छ ।

तर ! यसरी तँपाईले जानाजानी कम क्षमताको प्रयोग गरी काम पाउन सक्ने सभाँवनालाई दाउमा राख्नु भएन र? ” मैले भने ।

नेपालमा राम्रो दरखास्त लेखेर कसले पो जागिर पाएको छ र सर !”  उनको प्रत्युत्तरले मलाई त्यसवेला तरङ्गित मात्र पारेन, मैले त्यसपछि यो प्रसँगलाई क्षमता अभिवृद्धि सम्बन्धित धैरै छलफल र गोष्ठीहरुमा उदाहरणको रुपमा प्रयोग गर्ने मौका पाँए ।

आज जे प्राप्त भएको छ त्यसमा हिजो या अस्तिको कृयाकलापको प्रभाव अवश्य नै हुन्छ । यसरी विगतका घटनाहरुलाई आधार मानी तिनका कारकलाई पृष्टभूमिका राखेर अहिले पनि त्यस्तै हुन्छ भनेर पुर्वानुमान गर्नु जायज होईन् । युवाहरुलाई प्रगति पथमा अघि वढ्न नदिने जड तत्व त्यही पुर्वानुमान गर्ने वानी हो भन्ने मलाई लाग्छ । आफूलाई जायज नलागेको सन्दर्भ छ भने त्यसलाई परिवर्तन गर्ने दिशामा समेत योगदान पुर्याउने दायित्व पनि युवाकै हो । दोस्रो महत्वपूर्ण कुरा सबै अवसर या परिस्थितिहरुलाई एउटै गजाले नाप्नु उचित हुदैन् । सर्वमान्य सिद्धान्त, पेशागत आदर्श, वैज्ञानिक विश्लेषणको आधारमा नेविअप्रले काम गर्छ भन्ने ती उम्मेदवारले बुझेका भए सायद त्यस्तो प्रसँगको जन्म हुने थिएन ।   

तर यी माथी उल्लेखित प्रसँगहरु सँझनामा कुईनेटा वनेर वसेका घटनाहरु मात्र हुन् । उल्लेखित पात्रहरुले नेविअप्रकै कारणले परिचय भएका र सम्पर्कमा आएका युवाको प्रतिनिधित्व गर्दैनन् । किनभने कुईनेटाहरु  त चरम विन्दुहरुका उदाहरण हुन । ति उदाहरणहरु त श्रेणी वा लहरका आकस्मिक नमुनाहरु मात्र हुन् । क्षमता अभिबृद्धि,  वृति विकासमा मूल्य थप वा व्यक्तिगत उन्नतिको आधारमा विश्लेषण गर्ने हो भने  नेविअप्रमा केही समय विताएका अधिकाँश युवाहरुले राम्रो प्रगति हासिल गरेका छन् । कतिजनाले त सार्वजनिक समारोहहरुमा नेविअप्र सानिध्यताले उनिहरुको क्षमता अभिवृद्धि भएको अभिव्यक्ति दिएका छन् । कर्म क्षेत्रमा अपरिहार्य रहेका विद्यालयमा वा कलेजमा सिक्न छुट भएका कतिपय सीप वा आर्जन गर्नु पर्ने ज्ञान पछि भए पनि नेविअप्रमा सिक्न पाएकोमा उनिहरु हर्षित छन् । कतिपयले कृतज्ञताका व्यक्तिगत सन्देशहरु पनि पठाएका छन् । 

यसरी भोलिका निर्णयकर्ता र नेतृत्व तहमा पुग्न सक्ने जमातको क्षमता अभिवृद्धि आवश्यकताको अथाह सागरमा सानो अँश भए पनि योगदान दिन पाँउदा आनन्दको अनुभूति हुँदो रहेछ । सागर यो अर्थमा की अहिले हाम्रो अघि पहाड वनेर उभिएका जडताहरु चिर्नका लागि हजारौ युवाहरुको क्षमता अभिवृद्धि गर्न जरुरी छ ।  किनभने ति जडताका चट्टान चिर्ने पिपलका जराहरु आजका युवाहरु नै हुन् । आशा गरौ यी योगदानका स साना थोपाहरु मिलेर मुल वन्नेछ । ति मुलहरु मिलेर सँग्लो खोला वन्ने छ । खोलाहरु वाट नदी र नदीहरु मिलेर अन्त्यमा सागरको निर्माण हुनेछ ।

नवमी २०६९
कोटेश्वर