Saturday, April 27, 2013

घमासान युद्ध



-  त्यो घमासान युद्ध मेरै घरमा भयो
घटना दिँउसो घटेछ भन्नु होला मित्र
होईन, युद्धको समय रात्रीको मध्यान्ह थियो
सामान्य झडप भएछ भन्ने ठान्नु होला
होईन, त्यहाँ मारामारी नै भयो
दाउमा परेको एउटा जीवनको अन्त्य नै भयो ।
अपुरणिय क्षती भएछ कि भन्नु होला
होईन त्यस्तो केही भएन
खाली शान्ती विथोल्ने आक्रमणकारीको मृत्यु मात्र भयो ।    

शुरुवात आक्रमणकारी वाट भयो
मस्त निदाएको व्यक्ति माथी साँघातिक हमला वोल्यो
हामी तिन जनकै निद्ना विथोलियो, भलभल रगत वग्यो,
औषधीको खोजी भयो
टिटानसको भय भयो
आकस्मिक उपचारका साथै
भोलि अस्पताल जाने निर्णय समेत भयो ।

घाईतेको उपचार पछि प्रत्याक्रमणको पालो हाम्रो भयो
हतियारको खोजी भयो
उ भाग्न सक्ने नाकाहरुमा तालाबन्दी भयो
हामी तयार थियौ
उ कतै लुकेको थियो
तयारीको सुईको पाए पछि
हाम्रो हुङ्कारले उ भयभित भयो ।

एक कुनावाट अर्को कुना
एता वाट उता
हामी रँगमन्चमा हुँदा, नेपथ्यमा
हामी हान्ने दाउमा, उ शत्रुको पन्जावाट उम्कने दाउमा
हाम्रो क्रम यथावत चल्यो
त्यो खेल त्यस्तै रहेछ
युद्ध भनेको त्यस्तै रहेछ
आफ्नो ओतमा अर्को पसेपछी 
शहरमा चितुवा पसे जस्तो
एउटा पक्षको हार हुनै पर्ने
अर्को पक्षको जीत हुनै पर्ने

हो यस्तै भयो
उसले हाम्रा हतियारको स्वाद चाख्यो
हिसाँको वदलामा हिसाँ पायो
केही छिनमा नै उसको फुर्ति शुन्यमा झर्यो
उसको पनि रगत ह्वाल्ल वग्यो
चिन्ता अधमरो विँउतिएर फेरी आक्रमण गर्ला कि भन्ने थियो
यसैले उसलाई निष्प्राण पार्ने अध्याय शुरु भयो ।   

हो यस्तै भयो आखिर उसको मृत्यु भयो
खेल अनिश्चितताको काटियो
द्वन्दको अवसान भयो
पराजय उस्को भयो जय हाम्रो भयो
हर्षको वृष्टि भयो
सन्त्रासको विस्थापन भयो
विजय उन्मादको उपस्थिति भयो    
अव मैदान पुरै हाम्रो नियन्त्रणमा थियो
हिँस्रकको खाली लाश मात्र बाँकी थियो ।

यसरी कविताको अन्त्य पनि भयो
यति पढे पछि
तँपाईलाई पक्कै  उस्को हुलियाको चिन्ता भयो
यदि यस्तै हो भने
थाहापाईराख्नुहोस मित्र !
उ त केवल एक निशाचर थियो
पूजाकोठाको अक्षेताले पोसिएको बडेमानको मुसो थियो ।

विहानको ३:३० वजे
नोभेम्वर ०३, २०१२
कोटेश्वर