Sunday, September 28, 2014

सिन्धुको साँघु



खास कुनै पूर्व योजना थिएन । ल्यापटपको स्क्रिनमा गीतको लामो सूचि थियो । मैले कुमार सुब्वा ले गाएको अनि देउराली रुन्छभन्ने नाटकसँग जोडिएको गीत रोजेँ र बजाँए ।

हे ! फुल चुँडेर लाने हो
यहाँ माली रोएको देख्यौ की
खुशी मिलन मनाउने हो
यहाँ विछोड भएको देख्यौ की

लगभग चालिसको सँख्यामा उपस्थित श्रोतामाझ गहिरो मौनता छायो ।  सभालाई सम्बोधन गर्दै मैले भने-
कुमारले गाए जस्तै भयो । हिजो सिन्धुपाल्चोक जिल्लाको वन साँघु माध्यमिक विद्यालयमा सुनकोसी पहिरोले चुँडेर लगेका ३१ जना विद्यार्थीहरु र अन्य सर्वसाधारण जनताको चिर शान्तिको कामना गर्न आयोजित शोक सभामा रुँदै गरेका मालीहरु सँग भेट भयो । त्यहाँ मैले दैवको प्रहारले एकाएक रित्तिएका कोखहरुहरु देँखे । बाढीले पुरेका घरका भग्नावशेषहरु देँखे । अस्ति सम्म हरियाली वोकेको जमिन खण्डहरमा परिणत भएको देँखे । भत्किएको सडक देँखे । वालुवाले पुरिएका सँरचना देँखे । एका एक बिक्षिप्त भएको प्रकृतिको रुप देखेँ । विनाश देखेँ । विपद देखेँ । पीडा देखेँ । विछोडका आला घाउ देखेँ ।

आफैँले अनुभूति गरेका यि सिन्धुपाल्चोकको जुरे पहिरो सँग जोडिएका आर्तनादका गाथाहरु शायद धेरै पछि सम्म सम्झनामा रहनेछन् । सुन्दा भन्दा आँफ्नै आँखाले देख्दा झन धेरै पीडाबोध भयो । तर प्रलयमा धन्न वाँचेका या आफन्त गुमाएका स्थानिय सर्वसाधारण, विद्यालयको भवन पुरिएर पाखामा पढ्न वाध्य भएका विद्यार्थी र जुरे पहिरो छिचोलेर यात्रा गरिरहेका यात्रुहरुले अहिले भोगि रहेका समस्याहरु र तिनलाई किनारा लगाउन गरिएका पहलहरु देखेर म लगायत म सँग गएका मेरो दौतरीहरुको पनि मन रोयो । जति गर्नु पर्ने हो त्यो त थिएन नै । तर जति गर्न सकिन्थ्यो त्यो पनि देखिएन । खाँडीचौर पुग्नु भन्दा केही किमी यता गाडि रोक्नु पर्यो । हाम्रो मात्र नभएर दशौ मालवाहक ट्रक, बस र साना सवारी साधनहरु रोकिएका थिए । सडकको दाहिने तिर सुनकोसी नदी किनारको भिर र देव्रे तिर  ठाडो टेवा पर्खाल भएकोले यात्रुहरुलाई सडकमा नउभिनुको विकल्प थिएन । ओर्लिएर वाटोको सिरान तिर अघि बढियो । पर्यटक देखि लिएर सर्वसाधारण यात्रु र सवारी साधनका चालकहरुको बाक्लो भीड थियो । नदी कटान भएर सडक भत्किएकोले डोजरले भित्तो खनेर वाटो खोल्ने काम गरिरहेको थियो । केही प्रहरीहरु भीडलाई तर्काउँदै थिए । सडक विभाग लेखेको झण्डा वोकेका एक कनिष्ट कर्मचारी पनि देखिए । नशामा चूर भएको एक व्यक्ति पनि आफूलाई आधिकारिक व्यक्ति भएको भ्रम सिर्जना गरिरहेको थियो । तर त्यहाँ सूचनाको अभाव थियो । सवारी साधन कहाँ रोक्ने ? सडक सवारी चल्न योग्य हुनका लागि अनुमानित कति समय लाग्ला ? हिँडेरै पारी जान चाहनेका लागि अवरोध छलेर पारी जाने कुनै वैकल्पिक गोरेटो छ कि ? सडक चर्किएकोले कता तिर उभिँदा जोखिम कम हुन्छ ? यस्ता प्रश्नहरु बाक्लै थिए । प्रहरीले अनुमानका आधारमा सूचना दिई रहेको स्पष्ट थियो । झण्डा बोक्ने सडक विभागका कर्मचारी विरामी जस्ता पनि देखिन्थे । हरेक व्यक्ति आधिकारिक सूचना खोजिरहेको थियो । पर्यटकहरु अन्यौलमा थिए । लाग्थ्यो- यस्तो वेलामा राज्यले जति गर्नु पर्ने हो त्यसको झिनो अँश मात्र उपस्थित थियो । त्यो पनि साह्रै फितलो ।  

हामीलाई लिनका लागि वनसाँघु माविका प्रध्यानाध्यापक पारी आईसक्नु भएको थियो । यसैले सोधी खोजी गरि ठाडा कान्ला पार गर्दै लगभग २०० मिटर माथी उक्लेर हामी पारी पुग्यौ । विद्यालयमा शोक सभाको आयोजना गरी नेपाल विकास अनुसन्धान प्रतिष्ठानमा सँकलन गरेको रकम हस्तान्तरण गर्यौ । अस्थायी विद्यालय प्लास्टिक र  बाँसका भाटा प्रयोग गरेर वनाईएको देखियो । कक्षा कोठालाई वरीपरीवाट प्लास्टिकले ढाकेकोले पुरै वन्द जस्तो लाग्थ्यो । पढाई हुने कक्षा कोठामा प्राकृतिक उज्यालो र स्वच्छ वायु ओहोर दोहोर गर्ने प्रावधान हुनु पर्छ भन्ने सामान्य ईन्जिनियरिङ्ग मान्यता समेतलाई ध्यान दिएको पाईएन । अस्थाई विद्यालय वनाउनमा सहयोग गर्ने दुई गैर सरकारी सँस्थाका ठूला ठूला साईन वोर्ड झुण्डेका थिए । अस्थायी निर्माणमा सरकारी निकायहरुको सहयोग त्यहाँ थिएन कि भन्ने शँका उब्जने ठाँउ प्रशस्त थियो । कार्यक्रममा एक अभिभावकले विपद व्यवस्थापन र पुनर्स्थापनमा सँलग्न सरकारी निकाय र पदाधिकारीहरुको चर्को आलोचना गरे । हामीलाई त्यो अनुपयुक्त लागेन ।

जुरे पहिरोले सिर्जना गरेको जलाशय हेर्न जाने क्रममा सुनकोसी जल विद्युत उत्पादन केन्द्रको थिग्रयाउने पोखरी बाढीले पुरिएको परैवाट स्पष्ट देखियो । नदिको पानी जलविद्युत गृहमा लैजानका लागी वनाईएको बाँधको देव्रे पाटोलाई नदिको भेलले क्षति पुर्याईरहेको थियो । यही क्रम जारी रहेमा केही दिनमा बाँध भत्किने स्पष्ट देखिन्थ्यो । नदी कटान रोकेर बाँधलाई जोगाउने कुनै उपाय अबलम्बन गरिएको देखिएन । बर्षायामको बाढी थामिने समय सम्म जालीमा ढुँगा भरेर नदीलाई पुरानै वाटो तिर तर्काउने पहल किन नगरिएको होला ? भन्ने प्रश्न मेरो मनमा उब्जियो । त्यस स्थानमा पनि बाटो भत्किएकोले डोजरले वाटो खोल्ने काम गरिरहेको थियो । केही प्रहरीहरु थिए । तर त्यहाँ पनि उनीहरु खाली आफ्नो तजबीजमा प्रश्नका उत्तर दिने र सुरक्षाका सामान्य कुराहरु मात्र व्यक्त गरिरहेका थिए । जोखिम व्यवस्थापन गर्ने या यात्रुहरुलाई सेवा दिने अभिभारा वोकेका निकायका कुनै कर्मचारी त्यहाँ थिएनन् । डोजर रोकिएको मौका पारी चार पाउ टेकेर हामीले अप्ठेरो भाग छिचोलेर अघि बढ्यौ । वनसाँघु माध्यमिक विद्यालयको बाढिले पुरेको भवन देखियो । नदीको जलप्रवाहवाट लगभग १०० मिटरको दुरीमा अवस्थित यो भवन त्यसै पनि जोखिममा थियो जस्तो लाग्यो । यस्ता नदी किनारामा निर्माण गरिएका अन्य स्थानका शिक्षण सँस्था वा बस्तीहरु पनि जोखिममा होलान् । सुनकोसी त्रासदी प्रकरणवाट के यस्तो विषयको लेखाजोखा गर्नु पर्ने पाठ हामीले सिक्न सक्यौ त ? सटिक प्रश्न उभियो ।

जुरे पहिरोको अहिलेको रुप लगभग ४ वर्ग किलोमिटरमा फैलिएको सामान्य अनुमान मैले गरेँ । कस्तो प्राकृतिक चमत्कार हो त यो ? एक किलोमिटर भन्दा पनि अग्लो पर्वत त्यसरी पर्लक्कै पल्टिएको छ । केही समय सम्म नदी थुनिएर जलाशय नै वन्यो । नदीमा एक प्राकृतिक साँघुको रुप वन्यो । बाँधको रुप वन्यो ।  एक रातमा जलाशाय वन्यो । अजिवको शब्द सँयोग भयो । पहिरो गएर प्राकृतिक साँघु वन्ने क्रममा माँखा-१ को वनसाँघुनाम गरेको बिद्यालय बगायो । ईन्जिनियरिङ्ग र आधुनिक प्रविधि लगाएर त्यस्तो काम गर्ने हो भने करौडौको लागत लाग्ने थियो । सयौ मान्छेले महिनौ काम गर्नु पर्थ्यो । कैयौ टन निर्माण सामाग्री लाग्ने थियो । तर प्राकृतिक सन्तुलनमा आएको सानो विचलनले एकाएक लाखौ टनको चट्टान. ढुँगा र माटोको पिण्ड स्खलित भयो । जटिल विज्ञान (Complexity Science) ले यहि भन्छ । कहिलेकँही उही अवयवहरुको अन्तरक्रियाले असामान्य परिस्थितिले जन्म लिन्छ । ढुँगा उही छ । माटो उही छ । वनस्पति उही छ । तर प्रकृतिले अचम्म पस्किन्छ । त्यो अचम्मले विपद निम्त्याउन सक्छ । प्रलय ल्याउन सक्छ । जापानको चुनामी या अन्य देशमा आएका भुईचाला हरु यस्तैना असामान्य परिस्थितिका नमुना हुन । रोकथाम गर्न सकिन्न । तर प्रलय पछि उपलब्ध साधन र श्रोत परिचालन गरि राम्रो व्यवस्थापन गर्न सकिन्छ ।   

जुरे पहिरो छिचोल्ने यात्रुहरुको लाम देखियो । नाम्लो लगाएर वार्हविसेवाट सामान ल्याउनेको लर्को पनि देखियो । काठमाण्डौ जान लागेका चिनिया पर्यटकहरु भेटिए । तातोपानी जान लागेका दक्षिण भारतका नागरिकहरु पनि बाक्लै देखिए । पहिरोको केन्द्र भागवाट लेदो पानी बगेको देखियो । माटो बग्ने क्रम रोकिएको थिएन । आकाशमा बादल र घामको लुकामारी चलिरहेको थियो । मलाई लाग्यो- पानी पर्यो भने फेरी पहिरो जान सक्छ । ताल परे हिड्दै गरेका यात्रुलाई फेरी पुर्न सक्छ । तर यस विषयमा विश्लेषण गरेर आपतकालिन सहयोग गर्ने वा पूर्व सावधानी अपनाउन सहयोग पुर्याउने सूचनाको फेरी अभाव थियो त्यहाँ । हामी फर्किदाँ जलविद्धुत केन्द्रको बाँधमा फेरी आवागमन रोकिएको थियो । यसकारण हामीले फेरी कान्लामाथी उक्लिएर बैकल्पिक वाटो प्रयोग गर्नु पर्ने बाध्यता आयो । जँगल र धानको खेतका आलीको सामान्य गोरेटो बाटो वडो मुश्किलले पार गरियो । म लगायत समूहका केही साथीहरु ठाँउ ठाँउमा पछारिदै अघि बढ्यौ । हामीलाई यस्तो वाटोको पूर्वानुमान गर्न पनि कसैले सघाएन । झन आश्चर्यको प्रसँग त त्यस वेला जोडियो जब हामीलाई सहयोग गर्न भनेर सँगै हिँडेका बनसाँघु विद्यालयका एक अभिभावकले मलाई यो प्रश्न सोधे-

अलि अलि गरेर हजुरहरु जस्ता दाताले दिएको सहयोगलाई जम्मा गरेर नयाँ विद्यालय निर्माण गर्ने योजना छ । यसका लागि दुई स्थानमा जमिन प्राप्त भएको छ । एक टुक्रा हालको जुरे पहिरोको आडमा छ भने अर्को अलि तल । हजुरको विचारमा कुन जमिनमा यसपालीको जस्तो विपद पर्ने जोखिम कम होला । यो निर्णय हामीले तुरुन्त गरि काम सुरु गर्नु पर्ने छ ।

मैले दुवै सँभाव्य स्थानको अवलोकन गरेँ र मेरो ब्रम्हले दिएको राय पेश गरेँ । तर मेरो विश्लेषणमा मात्रै भर नपर्न पनि भने । फेरी मलाई लाग्यो । राज्य यहाँ पनि अनुपस्थित छ । यति सामान्य काम समेत गर्ने थिति छैन् । शिक्षा मन्त्रालय अन्तर्गत अरबौका परियोजना भएको सुनिन्छ । दैवि प्रकोप उद्धार समितिमा करौडौको दान प्राप्त भएको सुनिन्छ । शिक्षण सँस्थाहरु भौगर्भिक विज्ञहरुको हुल समेटेर बसेका छन् । बर्षै पिच्छे हजारौको सँख्यामा ईन्जिनियरको उत्पादन हुन्छ । तर वन साँघु माध्यमिक विद्यालय को नयाँ भवन वनाउनका लागि त्यो ज्ञान परिचालित हुन सक्दैन् । वर्तमानको यथार्थता यही हो । मुलुकले भोगेको तितो सत्य यही हो । यसैले मैले यो विसँगतिलाई ईगित गर्दै विद्यालमा रकम हस्तान्तरण गर्दा मेरो मन्तव्यमा भनेको थिँए ।

तँपाईहरुको पिडामा सानै भए पनि मल्हम लगाउन हामी आईपुगेका छौ । यहाँहरुको आश्रयस्थलमा जुन क्षति भएको छ त्यो अपूरणिय छ । यी ३१ जना विद्यार्थीको अभावले यहाँहरुलाई जीवन भरि पिरोल्ने छ । तर मेरो यहाँहरुलाई एउटा निवेदन छ ।  यो प्रकरणवाट शिक्षा लिएर आज यहाँहरुको सामुन्नेमा भई रहेको पुनर्स्थापना र पुननिर्माणमा जुन रिक्तता र विसँगतिले वास गरेको छ त्यो भोलिका दिनमा नहोस भन्ने कामना गरौ । आफ्नै अघि यो विनाश देखेका र विद्यालय गुमाएका यी नानीहरुलाई यसरी  शिक्षित वनाऔ कि यिनले यो अभावलाई पुर्न सकुन । भविष्यमा पर्ने प्राकृतिक प्रहारलाई सामना गर्न सकुन । यस विषयका नीति निर्माता वनुन । ईन्जिनियरीङ्ग प्रयोग गरि अस्थायी विद्यालय वनाउन सकुन । यात्रुलाई सूचना दिन सकुन । पद्धति वसाल्न सकुन । सही नेतृत्व दिन सकुन । यिनको पालामा तपाई हामीलाई जस्तो पीडा र दुख झेल्नु नपरोस ।

कार्यक्रममा वोल्दा म अलि भावनात्मक नै भएछु । मैले सोचे जस्तो हुने भए शायद मनवहादुर मुखियाले लेखेको र कुमार सुब्बाले गाएको माथीको गीतमा भनिए जस्तो भवितव्य परेर आफ्नो माटो सँग विछोड भएर कोही गए पनि बाँकी भएका मालीहरुको घाउमा चाँडै मल्हम लाग्ने थियो । सायद सिन्धुका देउरालीहरु अलि कम रुने थिए ।  विछोडको व्यथा अल्पायुको हुने थियो । तर वर्तमानको यक्ष प्रश्न यहि हो- के यस्तो हुने दिन आउला त ?

नेपाल विकास अनुसन्धान प्रतिष्ठान
ललितपुर,  सेप्टेम्बर १७, २०१४   

Monday, July 21, 2014

प्रकृति गुरु



त्य रात म धुलिखेलम वसेँ । गुरु पुर्णिमाको रात भए पनि आकाशमा जूनको उज्यालोको नामोनिशाना थिएन । बादलको बाक्लो उपस्थिति थियो । काठमाण्डौ विश्वविद्यालयको धुलिखेल केन्द्रिय क्याम्पस हातामा थिँए म ।  बेलुकीको खाना विद्यार्थीहरुको क्यान्टिनमा भयो । विश्वविद्यालय परिसरमा हिँडडुल गर्दा उकाली ओरालीको आनन्द लिन पाईन्छ । म क्यान्टिनलाई ताकेर तल ओर्लदै थिँए । एक हुल  छात्राहरु माथी उक्लदै रहेछन । मेरो उनीहरु सँग जम्काभेट भयो ।

उनीहरुले अभिवादन गरे ।

गुड ईभिनिङ्ग सर ।

गुड ईभिनिङ्ग एण्ड ………….

अभिवादन फर्काउँदै उनीहरुलाई अलिकता अन्यौल पस्किदिँए । मेरो स्वभाव यस्तै छ । सिर्जित परिस्थितीको भरपर उपयोग गर्ने । उनीहरु एक अर्काको अनुहार हेर्न थाले । मैलै मेरो अनिलाई कायम राखेँ ।

एण्ड ? ”

एण्ड ? ”

उनीहरुले मेरो प्रश्न बुझे । त्यो दिन केही विशेष हो भन्ने उनीहरुलाई पर्यो । पछिल्तिरको समूहकी एक छात्राले आत्तिएको स्वरमा भनिन् ।

ह्याप्पी बर्थ डे सर ! ”

कौतुहलताको भावलाई एकाएक बेजोडको हाँसोले विस्थापित गर्यो । मैले मिलेन भने । सरले सोधेको प्रश्नको उत्तर सकेसम्म मिलाउन पाए हुन्थ्यो भन्ने उनीहरुलाई लाग्छ । त्यस कारण सही परिस्थितिमा सही प्रश्न सोध्न पनि विशेष कौशल चाहिन्छ । यसरी परिस्थितिलाई प्रसँगमा बदल्न सक्ने कला चानचुने हुँदैन । जुन शिक्षकसँग त्यो कला हुन्छ त्यो भविष्यमा गुरु बन्न सक्छ भन्ने मेरो मान्यता छ ।  कक्षाकोठामा पनि यही हुन्छ । म सकेसम्म उनीहरुवाटै सही जवाफ निकाल्ने अभियानलाई टुँगोमा नपुगुन्जेल प्रश्न सोधि रहन्छु । उनीहरुको मष्तिष्कको शान्त तलाउमा ढुँगा हानेर हलचल ल्याउने प्रया गर्छु । उनीहरुका अन्दाजी उत्तरहरुमा छलफल चलाउँछु ।  सृष्टिको नियम नै यही छ । हरेकको सोच्ने तरिका अलग अलग छ । हरेकको उभिएको धरातल फरक छ । पृष्टभूमि फरक छ । दिईएको परिस्थिति वा प्रश्नलाई उनीहरु कुनै न कुनै पृष्टभूमि सँग जोडेर सही उत्तर निकाल्ने प्रयास गर्छन् । म सँग भएको गुरुत्वको सानो अँश त्यसैमा रमाउँछ ।  सिर्जना त्यँही फुल्छ । ज्ञान त्यही फुल्छ । 

फेरी मौन तर त्यो झाँगिन पाएन । हुलमध्येको एक जनालाई फुरेछ । उनले तिव्र गतिमा हाँस्दै भनिन्-

! ह्याप्पी गुरु पुर्णिमा सर ।

हाउ वन्डरफुल ! थ्याङ्क यू सो मच !”

भए भरका सवैले एकै स्वरमा भने-  ह्याप्पी गुरु पुर्णिमा सअअअअअर ।

म सुत्रधारको भुमिकामा थिँए । रगँमन्च तयार भै सकेको थियो । मैले रँगमन्चकी नायिका तिर हत्केलालाई ठाडो पारेर हात वढाएँ । उनको हात त्यसै गरेर मेरो हात तिर आयो । आकाशमा हाई फाईभ को सिर्जना भयो । स्यावासी पाएकोले उनको अनुहारमा चमक थपियो । खुशीको सीमा आकासियो । एकाएक अरु वेलाको जस्तै सामान्य परिस्थितिमा रोचक प्रसँगको पहाड उभियो । समूहमा प्रश्न सोध्नुको आनन्द यही छ । विलक्षण प्रतिभा भएको कोही न कोही निस्कन्छ र खोजेको जवाफ प्रस्फुटन हुन्छ । सही जवाफ दिनेलाई हौसला दिँदा प्रेरणाको थप श्रोत हुन्छ । यसरी विद्यार्थीहरु सँगको भेटले यो पालाको गुरु पूर्णिमाको दिन साँच्चि नै रमाईलो भएको थियो ।        
भोलिपल्ट विहान म एकै छिन घुम्न निस्के । बाहिरको मौसम एकदमै राम्रो भेटियो । आकाशमा बादल, जमिनमाथी कुहिरो, पातलो घनत्वमा बर्सिरहेको जुम्रे पानी र कागको काँकाँको सँगत । अस्ताउन लागेको आषाढ । उदाउन लागेको श्रावण तर रँगमन्चमा त्यो रमणय क्षणलाई रसस्वादन गर्ने नरनारी एकाध दुई मात्र थिए । उनीहरु आनन्दमा हराउने भन्दा पनि काम विशेषमा लन थिए । काठमाण्डौ विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थी वा अध्यापन गराउने प्राध्यापक कोही बाटोमा भेटिन्छ कि भन्ने आशा त्यतिकै बिलायो । विहान ढिलो उठ्ने सँस्कृतिको नतिजा यही हो । कागको काँकाँको सँगत अझ प्रखर भयो । योग साधना केन्द्रमा धेरै जना सहभाग भएर एकै साथ ॐ को उच्चारण गर्दा जुन उचाईको आनन्द प्राप्त हुन्छ सायद सृष्टिकर्ताले कागहरुको सामूहिक बोलीमा पनि त्यही प्रकृति पस्केका होलान् भन्ने कल्पना मेरो मनमा पलायो । म विश्वविद्यालय परिसर छिचोलेर व्यक्तिगत घर र पसलहरु भएको स्थानमा पुगेँ । दार खौरने क्रिम किन्ने विचार आयो तर आश्चर्य ! एउटा पनि पसल खुलेको थिएन् । सेवाग्राही नभएकोले सेवा प्रदायकहरु जाग्ने कुरै एन । काग र अन्य चरा उठेर नित्य कर्ममा लागिसकेका थिए । राति चराहरु पनि बास्छन् । मध्य रातमा त्यसरी एक तमासले काग कराएको कसैले सुनेको छैन होला । ईश्वरले यो सब मिलाएर बनाएका छन् । रातको समयमा मान्छे लगायतका अन्य प्राणीहरुको गतिविधि शून्य प्राय हुन्छ । यसलाई मिलाउन निद्राको आविष्कार गरेका छन् त विशिष्ट चित्रकारले ।

केही समय अघि लामटा उपत्यका घुमेर आएका वातावरण विज्ञान र ईन्जिनियरिङका केही विद्यार्थीलाई मैले सोधेको थिँए-

तिमीले य भ्रमणवाट सिकेको सबैभन्दा विशिष्ट कुरा के हो ? “

उनीहरुले सामान्य उत्तर दिए । शायद नयाँ ठाँउमा पुग्ने पर्यटकले पनि त्यही देख्छ ।  त्यस ठाँउको मौलिकपन, भूगोल र प्राकृतिक सुन्दरता देख्छ र त्यही भन्छ तर म चाहान्थे शैक्षिक भ्रमणमा उनीहरुका विज्ञान र ईन्जिनियरिङ आँखा खुलुन र उनीहरुले यस्तो उत्तर दिउन्-

मैले प्रकृतिको विधानलाई नजिक वाट नियाल्ने मौका पाँए सर । वाह ! त्यो ईन्जिनियरिङ । वाह ! त्यो कलाकारिता ।  चट्टानमा चट्टान खप्टिएर पहाड बनेको छ । प्रत्येक कण कण नियमले वाँधिएको मात्रै छैन त्यहाँ विचित्रको जादु छ । चट्टानमाथि माटो छ । माटोमाथि घाँस छ । एउटाले अर्को लाई धानेको छ । अनौठा नियमहरु छन् । पानी तल वग्छ । तातो वाय माथि । माटोको आफ्नै नियम छ । पानीको आफ्नै विधान छ । वनस्पतिको आफ्नै शास्त्र छ । जरा पातलिन्छ । वोट आकाशिन्छ । किट पतङ्ग, पुतली, चरा, प्राणी हरेकको आफ्नै विज्ञान छ । एउटा डाँडोको रुप अर्कोसँग मिल्दैन् । पाखाहरु फरक छन् । जँगलहरु फरक छन् । कसरी भयो त्यो सिर्जना ? कसरी त्यति धेरै विविधतालाई सुत्रबद्ध गरिएको छ ? कसरी समेटिएका छन् य हरेकका जीवन कथाहरु ? कागको आवाज अर्कै छ । भँगेराको चिँचिँ अर्कै छ । बाह्य रुप, शरिरको बनावट, जन्मने तरिका, बाँच्ने तरिका सबै फरक फरक छन् । फरक हुनुको पनि कारण छ । त्यो कारणको पनि विधान छ ।  विज्ञानले ठेलीका ठेली पुस्तक निकालेको छ यिनै प्रकृतिले सिर्जना गरेका ज्ञान समेटेर ।  मैले पुस्तकमा पढेको र  त्यँहा देखिएको दृष्य र त्यसको सँरचना भित्रको तत्वज्ञानमा समानता देँखे । यसले मेरो मन प्रसन्न भयो सर ! मैले आफ्नो ज्ञानभण्डारमा थुप्रेको कितावी ज्ञानलाई आफ्नै आँखा अगि देखिएको त्यो वास्तविकता सँग दाँज्ने अवसर प्राप्त गरेँ । लामटाङ भ्रमणको उपलब्धि यही हो सर ! “

केही बर्षअगि म चितवनको देवघाटमा पुगेको थिँए । काली गण्डकी र त्रिशुलीको विशाल जल प्रवाह एक अर्कामा त्यति सहज र शालन तरिकाले मिसिएको देखेर मलाई लागेको थियो- “वाह ! प्रकृति ! विराट अनुष्ठान भनेको यही हो ?“ 

एउटा अम्खोराको पानी अर्कोमा खन्याउँदा आवाज आँउछ । सानो धारोको पानी पनि धरर गर्दै बग्छ । तर हजारौ क्युबिक मिटर प्रति सेकेण्डको हाव बोकेर सयौ किलो मिटर यात्रा तय गरेर आएका ती जलप्रवाहहरु कति शान्त पाराले मिसिएका छन् । जलप्रवाहको परिमाणकै तुलनाको आवाज निस्कने हो भने कस्तो हुन्थ्यो होला ? यसरी मेरा कल्पनाका तरङ्ग हरु अगि बढेका थिए । यहि प्रकृतिलाई गुरु थापेर विज्ञान यहाँ सम्म आईपुगेको छ । प्रकृतिमा भएकै ज्ञान समेटेर ईन्जिनियरिङको ढोका खोलिएको छ । चट्टानको खातले खपेको भार देखेर धैरै तला भएको भवन वनाउने ज्ञान पलायो । भुईँमा खसेको स्याउले रकेट जन्मायो । आकाशमा उडेको चिलले हवाईजहाज वनाउने प्रेरणा दियो तर प्रकृतिमा उपलब्ध ज्ञानको तुलनामा हाम्रो बुझाई अझ अल्प छ । हाम्रै जीवन कालमा या हाम्रा सन्ततिका समयमा अझ कस्ता कस्ता आविष्कार होलान ? कल्पना गर्न समेत चर्को छ ।

मलाई कहिलेकहीँ लाग्छ, यस चराचर जगतका सम्पूर्ण प्राणी र वनस्पति ती जगत पिता प्रभु अर्थात प्रकृति आमाप्रति अनुगृहित छन् जसको कल्पना, सिर्जना र ओतले हरेकको अस्तित्व र श्री यस जगतमा फुल्न पाएको छ । गुरु जनहरु प्रति अनुगृहित हुने यो विशेष तिथिको साईत पारेर म तिनै चमत्कारिक सर्जकलाई स्मरण गर्न चाहान्छु-

हे प्रकृती ! हे प्रभु ! गुरु पुर्णिमाको यस पवित्र अवसरमा कोटी कोटी नमन !  
---------------------------------------- समाप्त--------------------------------------------
साभार : शब्दाङ्कुर (साहित्यप्रधान मासिक), वैशाख २०७३, अङ्क १७५
नोट-
धुलिखेलमा रात विताएको दिन- शनिवार, आषाढ २८, २०७१
लेखन शुरु भएको दिन- कोटेश्वर,  आईतवार, आषाढ २९, २०७१
विट मारिएको दिन-  सौराहा, साउने सोमवार, श्रावण ०५, २०७१

Friday, June 20, 2014

ईन्जिनियरिङ्गको अड्कल र साहित्यको कल्पना



ईन्जिनियरिङग विषय लिई चार वर्षे स्नातक तहको अध्ययन गर्ने प्रथम वर्षका विद्यार्थीलाई आन्तरिक परिक्षामा मैले सोधेको एक प्रश्न यस्तो थियो ।
तिम्रो टाउको जत्रो ढुँगाको तौल अन्दाजी कति होला ?“
विद्यार्थीहरुले यो प्रश्नको उत्तर विभिन्न किसिमले दिए । टाउको जत्रो ढुँगाको तौल १-२ किलोग्राम देखि २५-३० किलोग्राम सम्म हुन सक्ने उनीहरुको अनुमान थियो । कसैले त त्यो उत्तर कसरी आयो भनेर हिसाब समेत गरेका थिए । त्यस मध्ये एकजना उत्तरदाताले प्रस्तुत गरेको तर्कले मेरो ध्यानाकर्षण गर्यो । त्यो तर्कमा गहनता मात्र थिएन । त्यहाँ अडकल सँग जोडिएको रोचक अन्तरवस्तु समेत थियो । त्यही तर्कलाई केन्द्रविन्दुमा राखेर यो लेखको रचना समेत भयो ।
टाउको र भकुण्डोको आयतन लगभग वरावर हुन्छ । अन्तराष्ट्रिय मान्यताको भकुण्डोको व्यास २० सेन्टिमिटर जति हुन्छ । सुत्र प्रयोग गर्दा यत्रो गोलो वस्तुको आयतन ५ लिटर जति निस्कन्छ । एक लिटर पानीको तौल एक किलोग्राम हुने र पानी भन्दा ढुँगा दुई गुणा जति गर्हौ हुने भएकोले टाउको जत्रो ढुँगाको तौल १० किलोग्रामको आसपासमा हुन्छ।
यसरी खोजमूलक र सही उत्तर लेख्ने ती विद्यार्थीलाई मैले उत्कृष्ट अँक दिँए । उत्तर पुस्तिकामा अति राम्रोभनेर स्यावासी समेत लेखेँ । यो रोचक उत्तरको प्रसँग एक दुई जना समकक्षी साथीहरुलाई पनि सुनाएँ । उनीहरुले पनि सृजनात्मक उत्तरभन्ने प्रतिकृया दिए । ईन्जिनियरिङ्ग विषयको मूलाधार भनेको विज्ञान नै हो । चार वर्षेको स्नातक तहको अध्ययनमा पहिलो दुई वर्ष त धेरै जसो भौतिक शास्त्र, रसायन शास्त्र र गणित कै पढाई हुन्छ । यसकारण विद्यार्थीको उत्तर यथार्थको नजिक भएता पनि त्यस तर्कमा विज्ञानकै अँश अधिक हुनु अस्वभाविक थिएन । त्यही सेमेष्टरका विद्यार्थीको एक कक्षामा केही हप्ता अघि विज्ञान र ईन्जिनियरिङ्गको फरक बुझाउनका लागि मैले एउटा रित्तो कपको प्रयोग गरेको थिँए । मैले रित्तो कप उनीहरुलाई देखाएर सोधेको थिँए ।
यो कप भरि छ कि खाली ? ”

आश्चर्य भयो ! उनीहरुको मत बाझियो । आधा जतिले त्यसमा हावा भएकाले भरिभनेका थिए । खालीभन्नेहरुले कपको काम तरल पदार्थ बोक्ने भएकाले हावाले भरिनुको कुन अर्थ नभएको भन्ने जवाफ दिएका थिए । वैज्ञानिक हिसाबमा हावाले भरिनुको अर्थ भएता पनि व्यवहारिक हिसावमा थिएन् । यसकारण उही तथ्यलाई विज्ञान र ईन्जिनियरिङ्ग वा अर्थशास्त्रले फरक फरक तरिकाले परिभाषित गर्न सक्छन भनेर विद्यार्थीलाई बुझाउन कपको उदाहरण सफल भएको थियो । आफ्नो अघि आईलागेको प्राविधिक समस्यालाई चिर्ने कार्यको प्रस्थान विन्दु हुन्छ- त्यस समस्याको आकार अनुमान । आकार अनुमान गर्नको लागि समस्या सँग जोडिएको भौतिक स्वरुपको मापन गर्नु पर्ने हुन्छ । उदाहरणको लागि पहाडको उचाई, नदीको वहाव या कुनै पाईपको मोटाई नै अन्दाज गर्ने कुरालाई लिन सकिन्छ । यसकारण एउटा ईन्जिनियरले फित्ताले ननापि वा तराजुमा नजोखि वा कुनै हिसाब नगरिकन वस्तुको आकार या तौल अनुमान गर्न सक्नुपर्छ । विद्यार्थी जीवनमा जसले यो काम निमेषभरमा नै गर्न सक्ने दक्षता हासिल गर्छ त्यसको अन्दाज कौशलताविशिष्ट हुन सक्छ । यही चुरोको सेरोफेरोमा मेरो मनमा एक गहन प्रश्न उब्जियो । भकुण्डोको आयतन सँग तुलना गरी पानीको घनत्वको तथ्यलाई प्रयोग गरी ढुँगोको तौल अन्दाज गर्ने तरिका वैज्ञानिक त अवश्य भयो तर के यो व्यावहारिक पनि भयो त ?  म चिन्तनको दायरालाई फराकिलो पार्न थाल्छु । विद्यार्थीहरुले समस्या समाधानका अरु तरिकाको पनि कल्पना गरेका थिए । केहीले आफ्नो शरिरको वजनको आधारमा टाउकोको तौल अनुमान गरेका थिए । केहीले ईँटा, फर्सि या तरबुजाको तौल सँग तुलना गरि ढुँगाको तौल अन्दाज गरेका थिए ।

दिईएको परिस्थितिमा वा समस्या सिर्जिएको स्थानको वरिपरि साधन र श्रोतको उपलब्धता सिमित हुनसक्छ । कतिपय अवस्थामा हातमा फिता वा साथमा क्यालकुलेटर समेत नहुन सक्छ । फेरी अरुले सामान्य दिमाग मात्र प्रयोग गरी दिन सक्ने समाधानमा आफुले स्केल या क्यालकुलेटर खोज्दा हास्यपात्र पनि बन्न सकिन्छ । यस्तो वेला तन्काउन मिल्ने वा थप्दै जान सकिने वा एउटा धारको सट्टामा अर्को फेर्न सकिने भनेको चिन्तन वा कल्पना नै हो । समस्या सानै भएपनि त्यसलाई चिर्न ज्ञानको अथाह भण्डार प्रयोग गर्न सकिन्छ । विभिन्न तरिकाले सोच्न सकिन्छ । यसकारण कुनै समस्यालाई पर्गेल्नका लागि कत्रो फैलावाट भएको वा कति गहन कल्पना शक्ति खर्च गर्ने भन्ने सवाल महत्वपूर्ण हुन आँउछ ।

ईन्जिनियरिङ्ग विधामा त कल्पना शक्तिको नै विशिष्ट स्थान छ । सामान्य अन्दाज गर्ने देखि लिएर वृहत सँरचना समेतको नक्शा वा नमुना कल्पना शक्तिले नै बन्छ । जसरी वास्तविक अनुहार क्यामेराले खिचेको तस्विरमा हुबहु वनेर निस्कन्छ त्यसरी नै कागजमा कोरिएको नक्शा निर्माण पश्चात वास्तविक सँरचनामा परिणत  हुन्छ । यसकारण के को आधारमा कल्पना गर्ने ? कुन विधि अपनाउने ? उत्तर कसरी पस्कने ? अर्थात विद्यार्थीको कल्पना वा पूर्वानुमान गर्ने क्षमता कसरी अभिवृद्धि गर्ने ? स्वभाविक प्रश्नहरु उब्जिएका छन् ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाले कल्पना शीर्षकको निबन्धमा लेखेका छन- ……उस (कल्पना) लाई वस्तुको उपस्थितिको जरुरतै छैन, स्मृतिपटमा परेको छाया जगाएर ऊ अनुपस्थित वस्तुहरुको सूक्ष्म स्वरुप सत्यप्रदर्शन गर्दछ । ………..हामी कल्पना द्वारा आँखा चिम्ली चिम्ली बाह्य सँसारका वस्तु र तिनका सम्बन्धहरु भेट्टाउन सक्छौ ।………..

यसरी साहित्यको कल्पना र ईन्जिनियरिङ्गको अडकलबाजीमा समानता पाईन्छ । महाकविले लेखे जस्तै आफ्नो अघि अनुपस्थित वस्तुहरुको लम्बाई, चौडाई, उचाई वा गोलाईको अनुमान गर्ने सिलसिलामा सर्वप्रथम मष्तिष्कले त्यो वस्तुको छायाको परिकल्पना गर्दछ । समस्या त्यसवेला सिर्जना हुन्छ जव मष्तिष्कले वस्तुको छायाको कल्पना गर्न सक्दैन । किनभने त्यहाँ तिखो दृष्टि नहुन सक्छ । या कल्पना गर्नेले कुनै आधारशिला नै फेला पार्दैन् । बोधो दृष्टिकोणले निशाना लाग्दैन् । सही अडकल आँउदैन् । त्यसकारण बोधो दृष्टिलाई तिक्ष्ण बनाउने अर्थात आफ्नो अडकलवाजी लाई सत्यताको नजिक पुर्याउने कौशलता सिर्जना गर्नु विशेषगरि ईन्जिनियरिङ्ग पढ्ने विद्यार्थीका लागि अपरिहार्य हुन आँउछ ।
केही समय अघि मेरा एक मित्रको कारमा हामी धुलिखेलवाट काठमाण्डौ तिर गईरहेका थियौ । केही समय अघि देखि परेको घनघोर पानी अझै थामिएको थिएन । हामी अकस्मात रोकियौ । हाम्रो अघि लगभग १०० मिटर जति सडकमा फैलिएको पानीको दह थियो । ठूला गाडि त पाङ्ग्रा अग्लो भएको कारणले पानी मिचेर पास भएका थिए । तर हामीले आँट गरेनौ । मैले वाँया तिर एक लेनको सडकलाई आफ्नो वाटो वनाएर उर्ली उर्ली वगेको पानीलाई नियाले । लगभग घुँडा-घुँडा आउने पानी थियो । मैले सडकको चौडाई, पानीको औसत गहिराई र भेलको गति अन्दाज गरी जल प्रवाहको परिमाण अनुमान गरेँ । यस विषयमा मेरा मित्रको पनि विचार जान्ने ईच्छा भयो र वहाँलाई सोँधे ।
यो पानीको वहाव कति होला ? “
वहाँले वडो सामान्य र सहज हिसावमा उत्तर दिनु भयो ।
मेरो विचारमा १.५ देखि ३ घनमिटर प्रति सेकेण्डको वीचमा हुनुपर्छ ।
म दङ्गदास परेँ । यसका दुई कारण थिए । पहिलो: मेरो अनुमान वहाँको उत्तर सँग ठ्याक्कै मिलेको थियो । दोस्रो: वहाँको सपाट उत्तरमा जुन ओज र आत्मविश्वास थियो त्यो स्मरणिय र अतुलनिय थियो । वहाँले त्यो उत्तर दिँदा कत्तिवेर पनि नअलमलिईकन दिनु भएको थियो । मैले अर्थशास्त्रमा नोबेल पुरस्कार जित्ने अध्येता डेनियल कानेम्यानले लेखेको थिङ्कीङ्ग फास्ट एण्ड स्लोभन्ने पुस्तकको प्रसँग सम्झिएँ । पुस्तकमा उनले कुनै आकस्मिक परिस्थितिमा हामी कसरी विचार गर्दछौ भन्ने कुराको विश्लेषण गरेका छन् । डेनियलले परिस्थिती र सोच्ने व्यक्तिको क्षमता अनुरुप दुई वटा सोच-प्रणालीले काम गर्ने उल्लेख गरेका छन् । प्रणाली-१ ले कुनै पनि प्रश्नको सपाट जवाफ निमेषभरमा नै दिन सक्छ । तर कठिन सवाल (जस्तै: १७ × २४) को सही जवाफ दिनका लागि प्रणाली-२ को जरुरी पर्दछ । मलाई भलपानीको वहावलाई आँकलन गर्न केही वेर लागेको थियो तर मेरा मित्रले शायद प्रणाली-१ प्रयोग गरेर सपाट उत्तर दिएका थिए । मष्तिष्कले प्रणाली-२ को प्रयोग विशेष अवस्थामा मात्र गर्दछ । यसको निचोड निस्कियो-मित्रको बगेको पानीसँग सम्बन्धित अनुभव यथेष्ट छ ।
टाउको वरावरको ढुँगाको तौल आँकलन गर्दा मष्तिष्कले आयतन मात्र मिल्ने भकुण्डो स्मरण गर्छ कि तौल र आयतन दुवै मिल्ने फर्सि या तरवुजा स्मरण गर्छ त ? यो कुरा समस्यालाई मष्तिष्कले कसरी आफूले जानेको प्रसँग या अनुभुति सँग तुलना गर्दछ भन्ने कुरामा भर पर्दछ । अर्को तर्फ फुटबल खेलको अनुभव अधिक भएको तर फर्सि कहिले पनि नतौलेको व्यक्ति भए उस्को ध्यान फुटवल तिर जानु  स्वभाविक नै हो । अर्थात देवकोटाले उल्लेख गरे जस्तो प्रश्न मष्तिष्कले कल्पना गर्ने छायाको स्वरुप र आकार कस्तो हुन्छ भन्नेहो ।  यसकारण ईन्जिनियरिङ्ग विधामा कुनै समस्यालाई सपाट र सही उत्तर दिनका लागि त्यो समस्या सँग मिल्ने पृष्टभूमि या प्रसँग निमेषभरमा नै जोड्न सक्नु पर्छ । डेनियलको विश्लेषण अनुसार कहिलेकहीँ मष्तिष्कले गलत वा अप्रासँगिक उत्तर पनि दिन सक्छ । यसका मुख्यतया तीन कारण हुन्छन् । पहिलो: पृष्टभूमि या आधारभुत दायरालाई महत्व नदिई प्रश्नलाई अति हलुका तवरमा लिनु । दोस्रो: उत्तर प्राप्त गर्न अल्छि गर्नु । र तेश्रो उत्तरलाई पन्छाउनु या प्रश्न नै गलत छ भन्ने तिर मन लैजानु । विद्यार्थीहरुले उत्तर लेख्न नसक्नु वा गलत उत्तर दिनुको मूल कारक यिनै हुन् । तर सही अन्दाज या पूर्वानुमान गर्नका लागि उपलब्ध विकल्पहरुलाई कुनै नजिरसँग या आधार सँग तुलना गर्न जरुरी छ । आफ्नो अन्तस्करणमा उत्पन्न भएको अड्कललाई पाए सम्मका तथ्यहरुले प्रमाणित गर्नु पनि जरुरी हुन आँउछ ।
दक्ष ईन्जिनियर वन्नका लागि पहिलो शर्त हुन्छ- कुनै परिमाणको व्यावहारिक वा अर्थपूर्ण अन्दाज गर्न सक्नु । विद्यार्थीहरुको पूर्वानुमान गर्ने क्षमता अभिवृद्धि गर्दा सिर्जना भएका यि प्रसँगहरुले हाम्रो शिक्षा प्रणालीमा कस्ता कस्ता अनुमान गर्ने तौर तरिका सिकाउने गरिएको छ र त्यसको व्यवहारिक उपयोग कस्तो रहेको छ भन्ने विषयहरुको उठान गरेका छन् । आशा गरौ यस विषयमा विद्वत वर्गको थप ध्यानाकर्षण हुनेछ ।