Friday, June 20, 2014

ईन्जिनियरिङ्गको अड्कल र साहित्यको कल्पना



ईन्जिनियरिङग विषय लिई चार वर्षे स्नातक तहको अध्ययन गर्ने प्रथम वर्षका विद्यार्थीलाई आन्तरिक परिक्षामा मैले सोधेको एक प्रश्न यस्तो थियो ।
तिम्रो टाउको जत्रो ढुँगाको तौल अन्दाजी कति होला ?“
विद्यार्थीहरुले यो प्रश्नको उत्तर विभिन्न किसिमले दिए । टाउको जत्रो ढुँगाको तौल १-२ किलोग्राम देखि २५-३० किलोग्राम सम्म हुन सक्ने उनीहरुको अनुमान थियो । कसैले त त्यो उत्तर कसरी आयो भनेर हिसाब समेत गरेका थिए । त्यस मध्ये एकजना उत्तरदाताले प्रस्तुत गरेको तर्कले मेरो ध्यानाकर्षण गर्यो । त्यो तर्कमा गहनता मात्र थिएन । त्यहाँ अडकल सँग जोडिएको रोचक अन्तरवस्तु समेत थियो । त्यही तर्कलाई केन्द्रविन्दुमा राखेर यो लेखको रचना समेत भयो ।
टाउको र भकुण्डोको आयतन लगभग वरावर हुन्छ । अन्तराष्ट्रिय मान्यताको भकुण्डोको व्यास २० सेन्टिमिटर जति हुन्छ । सुत्र प्रयोग गर्दा यत्रो गोलो वस्तुको आयतन ५ लिटर जति निस्कन्छ । एक लिटर पानीको तौल एक किलोग्राम हुने र पानी भन्दा ढुँगा दुई गुणा जति गर्हौ हुने भएकोले टाउको जत्रो ढुँगाको तौल १० किलोग्रामको आसपासमा हुन्छ।
यसरी खोजमूलक र सही उत्तर लेख्ने ती विद्यार्थीलाई मैले उत्कृष्ट अँक दिँए । उत्तर पुस्तिकामा अति राम्रोभनेर स्यावासी समेत लेखेँ । यो रोचक उत्तरको प्रसँग एक दुई जना समकक्षी साथीहरुलाई पनि सुनाएँ । उनीहरुले पनि सृजनात्मक उत्तरभन्ने प्रतिकृया दिए । ईन्जिनियरिङ्ग विषयको मूलाधार भनेको विज्ञान नै हो । चार वर्षेको स्नातक तहको अध्ययनमा पहिलो दुई वर्ष त धेरै जसो भौतिक शास्त्र, रसायन शास्त्र र गणित कै पढाई हुन्छ । यसकारण विद्यार्थीको उत्तर यथार्थको नजिक भएता पनि त्यस तर्कमा विज्ञानकै अँश अधिक हुनु अस्वभाविक थिएन । त्यही सेमेष्टरका विद्यार्थीको एक कक्षामा केही हप्ता अघि विज्ञान र ईन्जिनियरिङ्गको फरक बुझाउनका लागि मैले एउटा रित्तो कपको प्रयोग गरेको थिँए । मैले रित्तो कप उनीहरुलाई देखाएर सोधेको थिँए ।
यो कप भरि छ कि खाली ? ”

आश्चर्य भयो ! उनीहरुको मत बाझियो । आधा जतिले त्यसमा हावा भएकाले भरिभनेका थिए । खालीभन्नेहरुले कपको काम तरल पदार्थ बोक्ने भएकाले हावाले भरिनुको कुन अर्थ नभएको भन्ने जवाफ दिएका थिए । वैज्ञानिक हिसाबमा हावाले भरिनुको अर्थ भएता पनि व्यवहारिक हिसावमा थिएन् । यसकारण उही तथ्यलाई विज्ञान र ईन्जिनियरिङ्ग वा अर्थशास्त्रले फरक फरक तरिकाले परिभाषित गर्न सक्छन भनेर विद्यार्थीलाई बुझाउन कपको उदाहरण सफल भएको थियो । आफ्नो अघि आईलागेको प्राविधिक समस्यालाई चिर्ने कार्यको प्रस्थान विन्दु हुन्छ- त्यस समस्याको आकार अनुमान । आकार अनुमान गर्नको लागि समस्या सँग जोडिएको भौतिक स्वरुपको मापन गर्नु पर्ने हुन्छ । उदाहरणको लागि पहाडको उचाई, नदीको वहाव या कुनै पाईपको मोटाई नै अन्दाज गर्ने कुरालाई लिन सकिन्छ । यसकारण एउटा ईन्जिनियरले फित्ताले ननापि वा तराजुमा नजोखि वा कुनै हिसाब नगरिकन वस्तुको आकार या तौल अनुमान गर्न सक्नुपर्छ । विद्यार्थी जीवनमा जसले यो काम निमेषभरमा नै गर्न सक्ने दक्षता हासिल गर्छ त्यसको अन्दाज कौशलताविशिष्ट हुन सक्छ । यही चुरोको सेरोफेरोमा मेरो मनमा एक गहन प्रश्न उब्जियो । भकुण्डोको आयतन सँग तुलना गरी पानीको घनत्वको तथ्यलाई प्रयोग गरी ढुँगोको तौल अन्दाज गर्ने तरिका वैज्ञानिक त अवश्य भयो तर के यो व्यावहारिक पनि भयो त ?  म चिन्तनको दायरालाई फराकिलो पार्न थाल्छु । विद्यार्थीहरुले समस्या समाधानका अरु तरिकाको पनि कल्पना गरेका थिए । केहीले आफ्नो शरिरको वजनको आधारमा टाउकोको तौल अनुमान गरेका थिए । केहीले ईँटा, फर्सि या तरबुजाको तौल सँग तुलना गरि ढुँगाको तौल अन्दाज गरेका थिए ।

दिईएको परिस्थितिमा वा समस्या सिर्जिएको स्थानको वरिपरि साधन र श्रोतको उपलब्धता सिमित हुनसक्छ । कतिपय अवस्थामा हातमा फिता वा साथमा क्यालकुलेटर समेत नहुन सक्छ । फेरी अरुले सामान्य दिमाग मात्र प्रयोग गरी दिन सक्ने समाधानमा आफुले स्केल या क्यालकुलेटर खोज्दा हास्यपात्र पनि बन्न सकिन्छ । यस्तो वेला तन्काउन मिल्ने वा थप्दै जान सकिने वा एउटा धारको सट्टामा अर्को फेर्न सकिने भनेको चिन्तन वा कल्पना नै हो । समस्या सानै भएपनि त्यसलाई चिर्न ज्ञानको अथाह भण्डार प्रयोग गर्न सकिन्छ । विभिन्न तरिकाले सोच्न सकिन्छ । यसकारण कुनै समस्यालाई पर्गेल्नका लागि कत्रो फैलावाट भएको वा कति गहन कल्पना शक्ति खर्च गर्ने भन्ने सवाल महत्वपूर्ण हुन आँउछ ।

ईन्जिनियरिङ्ग विधामा त कल्पना शक्तिको नै विशिष्ट स्थान छ । सामान्य अन्दाज गर्ने देखि लिएर वृहत सँरचना समेतको नक्शा वा नमुना कल्पना शक्तिले नै बन्छ । जसरी वास्तविक अनुहार क्यामेराले खिचेको तस्विरमा हुबहु वनेर निस्कन्छ त्यसरी नै कागजमा कोरिएको नक्शा निर्माण पश्चात वास्तविक सँरचनामा परिणत  हुन्छ । यसकारण के को आधारमा कल्पना गर्ने ? कुन विधि अपनाउने ? उत्तर कसरी पस्कने ? अर्थात विद्यार्थीको कल्पना वा पूर्वानुमान गर्ने क्षमता कसरी अभिवृद्धि गर्ने ? स्वभाविक प्रश्नहरु उब्जिएका छन् ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाले कल्पना शीर्षकको निबन्धमा लेखेका छन- ……उस (कल्पना) लाई वस्तुको उपस्थितिको जरुरतै छैन, स्मृतिपटमा परेको छाया जगाएर ऊ अनुपस्थित वस्तुहरुको सूक्ष्म स्वरुप सत्यप्रदर्शन गर्दछ । ………..हामी कल्पना द्वारा आँखा चिम्ली चिम्ली बाह्य सँसारका वस्तु र तिनका सम्बन्धहरु भेट्टाउन सक्छौ ।………..

यसरी साहित्यको कल्पना र ईन्जिनियरिङ्गको अडकलबाजीमा समानता पाईन्छ । महाकविले लेखे जस्तै आफ्नो अघि अनुपस्थित वस्तुहरुको लम्बाई, चौडाई, उचाई वा गोलाईको अनुमान गर्ने सिलसिलामा सर्वप्रथम मष्तिष्कले त्यो वस्तुको छायाको परिकल्पना गर्दछ । समस्या त्यसवेला सिर्जना हुन्छ जव मष्तिष्कले वस्तुको छायाको कल्पना गर्न सक्दैन । किनभने त्यहाँ तिखो दृष्टि नहुन सक्छ । या कल्पना गर्नेले कुनै आधारशिला नै फेला पार्दैन् । बोधो दृष्टिकोणले निशाना लाग्दैन् । सही अडकल आँउदैन् । त्यसकारण बोधो दृष्टिलाई तिक्ष्ण बनाउने अर्थात आफ्नो अडकलवाजी लाई सत्यताको नजिक पुर्याउने कौशलता सिर्जना गर्नु विशेषगरि ईन्जिनियरिङ्ग पढ्ने विद्यार्थीका लागि अपरिहार्य हुन आँउछ ।
केही समय अघि मेरा एक मित्रको कारमा हामी धुलिखेलवाट काठमाण्डौ तिर गईरहेका थियौ । केही समय अघि देखि परेको घनघोर पानी अझै थामिएको थिएन । हामी अकस्मात रोकियौ । हाम्रो अघि लगभग १०० मिटर जति सडकमा फैलिएको पानीको दह थियो । ठूला गाडि त पाङ्ग्रा अग्लो भएको कारणले पानी मिचेर पास भएका थिए । तर हामीले आँट गरेनौ । मैले वाँया तिर एक लेनको सडकलाई आफ्नो वाटो वनाएर उर्ली उर्ली वगेको पानीलाई नियाले । लगभग घुँडा-घुँडा आउने पानी थियो । मैले सडकको चौडाई, पानीको औसत गहिराई र भेलको गति अन्दाज गरी जल प्रवाहको परिमाण अनुमान गरेँ । यस विषयमा मेरा मित्रको पनि विचार जान्ने ईच्छा भयो र वहाँलाई सोँधे ।
यो पानीको वहाव कति होला ? “
वहाँले वडो सामान्य र सहज हिसावमा उत्तर दिनु भयो ।
मेरो विचारमा १.५ देखि ३ घनमिटर प्रति सेकेण्डको वीचमा हुनुपर्छ ।
म दङ्गदास परेँ । यसका दुई कारण थिए । पहिलो: मेरो अनुमान वहाँको उत्तर सँग ठ्याक्कै मिलेको थियो । दोस्रो: वहाँको सपाट उत्तरमा जुन ओज र आत्मविश्वास थियो त्यो स्मरणिय र अतुलनिय थियो । वहाँले त्यो उत्तर दिँदा कत्तिवेर पनि नअलमलिईकन दिनु भएको थियो । मैले अर्थशास्त्रमा नोबेल पुरस्कार जित्ने अध्येता डेनियल कानेम्यानले लेखेको थिङ्कीङ्ग फास्ट एण्ड स्लोभन्ने पुस्तकको प्रसँग सम्झिएँ । पुस्तकमा उनले कुनै आकस्मिक परिस्थितिमा हामी कसरी विचार गर्दछौ भन्ने कुराको विश्लेषण गरेका छन् । डेनियलले परिस्थिती र सोच्ने व्यक्तिको क्षमता अनुरुप दुई वटा सोच-प्रणालीले काम गर्ने उल्लेख गरेका छन् । प्रणाली-१ ले कुनै पनि प्रश्नको सपाट जवाफ निमेषभरमा नै दिन सक्छ । तर कठिन सवाल (जस्तै: १७ × २४) को सही जवाफ दिनका लागि प्रणाली-२ को जरुरी पर्दछ । मलाई भलपानीको वहावलाई आँकलन गर्न केही वेर लागेको थियो तर मेरा मित्रले शायद प्रणाली-१ प्रयोग गरेर सपाट उत्तर दिएका थिए । मष्तिष्कले प्रणाली-२ को प्रयोग विशेष अवस्थामा मात्र गर्दछ । यसको निचोड निस्कियो-मित्रको बगेको पानीसँग सम्बन्धित अनुभव यथेष्ट छ ।
टाउको वरावरको ढुँगाको तौल आँकलन गर्दा मष्तिष्कले आयतन मात्र मिल्ने भकुण्डो स्मरण गर्छ कि तौल र आयतन दुवै मिल्ने फर्सि या तरवुजा स्मरण गर्छ त ? यो कुरा समस्यालाई मष्तिष्कले कसरी आफूले जानेको प्रसँग या अनुभुति सँग तुलना गर्दछ भन्ने कुरामा भर पर्दछ । अर्को तर्फ फुटबल खेलको अनुभव अधिक भएको तर फर्सि कहिले पनि नतौलेको व्यक्ति भए उस्को ध्यान फुटवल तिर जानु  स्वभाविक नै हो । अर्थात देवकोटाले उल्लेख गरे जस्तो प्रश्न मष्तिष्कले कल्पना गर्ने छायाको स्वरुप र आकार कस्तो हुन्छ भन्नेहो ।  यसकारण ईन्जिनियरिङ्ग विधामा कुनै समस्यालाई सपाट र सही उत्तर दिनका लागि त्यो समस्या सँग मिल्ने पृष्टभूमि या प्रसँग निमेषभरमा नै जोड्न सक्नु पर्छ । डेनियलको विश्लेषण अनुसार कहिलेकहीँ मष्तिष्कले गलत वा अप्रासँगिक उत्तर पनि दिन सक्छ । यसका मुख्यतया तीन कारण हुन्छन् । पहिलो: पृष्टभूमि या आधारभुत दायरालाई महत्व नदिई प्रश्नलाई अति हलुका तवरमा लिनु । दोस्रो: उत्तर प्राप्त गर्न अल्छि गर्नु । र तेश्रो उत्तरलाई पन्छाउनु या प्रश्न नै गलत छ भन्ने तिर मन लैजानु । विद्यार्थीहरुले उत्तर लेख्न नसक्नु वा गलत उत्तर दिनुको मूल कारक यिनै हुन् । तर सही अन्दाज या पूर्वानुमान गर्नका लागि उपलब्ध विकल्पहरुलाई कुनै नजिरसँग या आधार सँग तुलना गर्न जरुरी छ । आफ्नो अन्तस्करणमा उत्पन्न भएको अड्कललाई पाए सम्मका तथ्यहरुले प्रमाणित गर्नु पनि जरुरी हुन आँउछ ।
दक्ष ईन्जिनियर वन्नका लागि पहिलो शर्त हुन्छ- कुनै परिमाणको व्यावहारिक वा अर्थपूर्ण अन्दाज गर्न सक्नु । विद्यार्थीहरुको पूर्वानुमान गर्ने क्षमता अभिवृद्धि गर्दा सिर्जना भएका यि प्रसँगहरुले हाम्रो शिक्षा प्रणालीमा कस्ता कस्ता अनुमान गर्ने तौर तरिका सिकाउने गरिएको छ र त्यसको व्यवहारिक उपयोग कस्तो रहेको छ भन्ने विषयहरुको उठान गरेका छन् । आशा गरौ यस विषयमा विद्वत वर्गको थप ध्यानाकर्षण हुनेछ ।