Saturday, June 20, 2015

योग दीक्षा



योग-दीक्षा
डा. नवराज खतिवडा र शम्भु बराल

वास्तवमा यो सत्य हो कि आजका अधिकाँश युवा युवती वा वयस्कहरु समेत आलस्य र अकर्मण्यताले जेलिएको जीवनशैली विताई रहेछन् । वेरोजगारी, वेथिती, अराजकता, भ्रष्टचार, हिँसा र असुरक्षा जस्ता विशेषताले ओतप्रोत भएका अनिच्छित परिस्थितीहरुको सामाना गर्नु सामान्य भएको छ ।   तर कतिपयका लागि अँध्यारो सुरुगँको यो यात्रा बाध्यात्मक परिस्थितिको उपज भएको छ । आफ्नो गन्तव्यमा डोर्याउने उज्यालोको भेउ नपाएका ती प्रश्न गर्छन्- "किन यस्तो भईरहेछ ? किन अनैतिक आचरण, पेशागत अनादर्श र वेईमानीले प्रश्रय पाएको छ ? किन नकारात्मक सोच र अविश्वासको वाहुल्यता छ ?  आफ्नो सामु उभिएको व्यक्तिको अनुहारवाटै उस्को वदनियत र कपट पूर्ण व्यवहारको  सँकेत मिल्छ । उ मलाई दिने कष्टको कोसेली फुकाउन आतुर देखिन्छ । मेरो सामुन्ने पदार्पण हुने प्रत्येक घटनाक्रम र प्रसँगहरु मेरो सोच र चाहना विपरित भई रहेका छन् । यस्तो विकराल परिस्थितिमा सतपात्र भएर शुद्ध आचरण युक्त जीवन जिउनु भनेको कल्पबृक्षमा फल फलाउनु जस्तो मात्रै होईन र ? यस्तो परिस्थिती वदलिएर मेरै जीवनकालमा स्वास्थ्य, समुन्नत र समृद्ध समाजको निर्माण हुन सक्ला र ?"

दाँयापट्टि सेतो कमिज सुरुवालमा सजिएको पुरुषको विशाल समूह थियो । वाँयापट्टि सेतो सलवार कुर्तामा सजिएका नारीहरुको जमात थियो । गुरुकुल, बैदिक परम्परा र सुसँस्कृतिको विजारोपण गर्ने ईतिहासका परमश्रद्धेय गुरुजन र आदर्श व्यक्तित्वहरु: महर्षि वेदव्यास, महर्षि वाल्मीकी, भगवान बुद्ध, गुरु गोरखनाथ, राजर्षि जनक, माता जानकी र आदर्श नारी भृकुटि आदिको तस्विर साक्षी राखेर सम्पन्न गरिएको त्यो अनुष्ठान मौलिक हुनुका साथै रुप र आकार दुवैमा विराट प्रकृतिको थियो । नँया पुस्तामा नमूना व्यक्तित्वको उदाहरण दिन पनि हम्मे हम्मे पर्ने यो कालखण्डमा ईतिहासको गर्भमा लोप भएका ती महापुरुषहरुको स्मरण आफैमा एक उपलब्धिमूलक अभियान लाग्दथ्यो । योग-दीक्षाको त्यो अपुर्व महायज्ञ एक सप्ताहको लागि आयोजना गरिएको थियो । झट्ट हेर्दा त्यो अनुष्ठानले आज भोलि विश्वविद्यालयहरुले आयोजना गर्ने एक दिने दीक्षान्त समारोहहरुको झलक  समेटेको थियो । मण्डपको केन्द्रभागमा उभिएर हेर्दा लाग्थ्यो- म मानवसागरको वीचमा छु । आँखाले नभ्य्याउन्जेल सम्म मान्छे नै मान्छे । लगभग छ हजारको हाराहारीको सँख्यामा भेला भएका शिष्यहरुलाई एकै साथ दीक्षा दिईएको शायद यो कालखण्डकै विशिष्ट ऐतिहासिक अवसर थियो त्यो । त्यँहा हरेक सहभागी लाई पल्टेर समेत योग गर्न सकिने चकटीको व्यवस्था मात्र थिएन त्यत्रो ठूलो समूहलाई गाँस र वासको नि:शुल्क सेवाको व्यवस्था पनि थियो ।

महाकवि लक्ष्मिप्रसाद देवकोटाले लेखेका छन्-
"त्यही स्वर्ग हो, जहाँ निर्मल आत्माहरु सानिध्यमा बास पाँउछन् ।"

हो यस्तै थियो त्यँहा भेला भएका जनहरुको व्यवहार, ईमान्दारिता र ध्येय । त्यँहा न त वैरभाव थियो न त कुनै स्वार्थी मनोकाँक्षा । न पराईपन न कुनै पुर्वाग्रह । त्यँहाको वातावरण वन्धुत्वले घनिभुत थियो । महाकविले भनेझैँ सहभागीहरुलाई लागको थियो- म निर्मल आत्माहरुको सानिध्यमा स्वर्गमा छु ।
  
गुरुवाट आज्ञा भयो-

"आपद-विपद, नैराश्य वा हतोत्साह, तनाव, मृत्यु र शोक जस्ता परिस्थितिजन्य समस्याहरु तिम्रो व्यक्तिगत जीवनमा मात्र सिर्जना हुने होईनन् । यी घटनाहरु तिम्रा लागि नयाँ होलान् तर सँसारका लागि नँया होईनन् । ती हिजो पनि घटेका थिए । अहिले पनि कतै घटिरहेका छन् । भोलि पनि घट्ने छन् । अहिले यत्तिखेर तिमीलाई नपरे पनि अरु कसैलाई यी घटनाक्रमले छोएका छन् । यी शाश्वत कुरा हुन् । हामी सबै सृष्टिको नियम भित्र वाँधिएका छौ । तर आफ्नो वरीपरि, गाउँ टोल  समाज वा राष्ट्रमा देखिएका वेरोजगारी, गरिबी, अपराधिक कृयाकलाप, वेथिती, अराजकता, भ्रष्टचार, हिँसा र असुरक्षा जस्ता समस्याहरु शास्वत होईनन् । विधाताको विधानमा तिम्रो जीवनकाल दु:ख र पीडामा नै वितोस भनेर लेखिएको छैन् । कसैको परिवेश यदि यस्ता समस्याले ग्रस्त छ भने त्यसको कारण स्पष्ट छ । समाजमा दुष्टहरुको दुष्टता वढेको छ । तर त्यो भन्दा पनि अझ मौलाएको छतिमी जस्ता सज्जनहरु वा दैवी शक्तिका सँवाहकहरुको उदासिनता । यस्तो हुनुको अर्को कारण हो- मान्छे भित्र रोपिएको आत्मविमुखताको वीज । स्वचेतना र आत्मतत्ववाट विमुख भए पछि वेथिती र वेईमानीको सँवाहक वन्न पुग्छ मान्छे । यस वेला उ भित्र घुसखोरी, हिँसा, घृणा, आत्मग्लानी, असँवेदनशीलता, कर्तव्य विमुखता, दूषित विचार, निकृष्ट चरित्र एवँम नीचतम आचरणको भाव  उत्पन्न हुन्छ । खराव शिक्षा र सँस्कारले व्यक्तिलाई यस्तो वनाउँदै लगेको छ । व्यक्तिगत चरित्र को पतन तथा राष्ट्रिय सँकटको अभ्युदय हुनाको कारण नै आत्मविमुखता र असँवेदनशीलताका विष-वृक्षहरुको जँगल घना भएर हो । यसले गर्दा जनमानसमा अविश्वास एवँ निराशाको भाव गहिरो हुन गएको छ । फलस्वरुप करौडौ देशवासीको मन-मस्तिष्क एवँ विचारमा आत्मग्लानिको भावले वास गरेको छ ।"
             
हजारौ कानले यी शब्दहरु एकै साथ सुने । हजारौ आँखाहरुले एक टक लगाएर मन्चमा दृष्टिगोचर गरेका छन् । गुरुका अमृतवाणी सुनिरहेका श्रोता थिए मेची देखि महाकाली सम्मका नेपाली योग शिक्षक, शिक्षिका र साधक साधिकाको समूहहरु । पतन्जली योग पीठ हरिद्वारका सँस्थापक परमश्रद्येय गुरुद्वय स्वामी रामदेव र आचार्य वालकृष्णको सादर निमन्त्रणामा यस पटक हरिद्वार पुग्ने उनीहरुको पालो थियो । नेपालका कुना कन्दरावाट समेत वस र अन्य सवारी साधनहरु आरक्षण गरेर योग सँग जोडिएका समूहहरु हरिद्वार पुगेका थिए । गुरुद्वयले नेपाली सहभागिताको विशिष्टताको चर्चा यसरी गर्नु भयो- "लगभग वरावरीको सँख्यामा नारी र पुरुषको उपस्थिति छ । सम्पूर्ण सहभागीहरुले योग-पहिरन लगाएर दीक्षा लिएको यो पतन्जली योगपीठकै ईतिहासको सवैभन्दा वृहत सहभागिता हो । वर्षातको समयमा पनि वाढी पहिरोको पर्वाह नगरिकन नेपालभरीका नेपालीहरु सहभागी भएका छन् ।  नेपालीहरु जस्तो सुकै प्रतिकुल परिस्थितिलाई पनि अनुकुल वनाउन सक्छन् भने यो अपूर्व उदाहरण हो।" हजारौको उपस्थिती छ तर प्रत्येक व्यक्ति अनुशासित छ । प्रत्येक समूह अनुशासित छ । घण्टौसम्म हलचल नगरिकन प्रवचन सुनेर वसेका छन् । गुरुको सानिध्य र सामिप्यताको अघि भौतिक सुविधाको समेत पर्वाह गरेका छैनन् ।  भौगोलिक विविधता स्पष्ट देखिन्छ । पाँचथर देखि डडेलधुरा सम्म र दोलखा देखि वर्दिया सम्मको सहभागिता छ । विभिन्न जात जातीको सहभागिता छ । जातिय र भौगोलिक विभेदको मनोमालिन्य छैन्। "सँयौ थुँगा फुलका हामी एउटै माला नेपाली" को भाव यँहा चरितार्थ भएको छ ।     

शास्त्रले भन्छ-  
हियते हि मतिस्तात सहै सहै समागता ।
समेश्च समता भेती विशिष्टैश्च विशिष्टताम ।।

अर्थात जस्तो व्यक्तिसँग सँगत भयो आफ्नो प्रकृति पनि त्यस्तै हुन्छ । 

नेपाल राज्य भित्र वसोवास गर्ने तीनकरोड नेपालीहरु मध्येको सानो अँश त्यँहा थियो र शास्त्रमा भनिए जस्तो धेरैले प्रयत्न गरे पनि विविध कारणवश गुरुद्वयको सानिध्यता प्राप्त गर्ने अवसर छ हजारलाई मात्र प्राप्त भएको थियो । के स्थानिय राजनीतिज्ञ, के शिक्षक, के अवकाश प्राप्त सरकारी कर्मचारी, के वुद्धिजीवि, के किसान, के गृहिणी, सवै पुगेका थिए हरिद्वार । शास्त्रमा भनिए जस्तै त्यो सत्सँग विशिष्ट प्रकृतिको थियो ।  यो यथार्थलाई उजागर गर्दै र सहभागीहरुको सामर्थ्यलाई पहिचान गर्दै गुरुवाट थप मार्गदर्शन भयो-

"महर्षि वेदव्यास र भगवान वुद्धको अँशलाई समेटेर वसेका छौ तिमी । तिम्रो अनुहारमा माता जानकी र गुरु गोरखनाथको स्वरुप देख्छु म । तर तिमी सोचिरहेका हुन सक्छौ- मेरो परिवेश विसँगती र वेथितीको रासमा विटुलिएको छ । तर त्यो परिवेशलाई आफ्नो अनुकुल वनाउने सामर्थ्य तिमी भित्रै छ । तिमीले चाहेको वस्तु या थिती प्राप्त गर्न नस्कनु भनेको त्यो वस्तु या परिस्थितिको दोष होईन् । त्यो त खाली तिम्रो पात्रताको दोष हो । तिमी सँग योग साधनाले पस्किदिएको चमत्कारी दैवी शक्ति छ । यसैले तिमी तिम्रा समकालिन र समकक्षीले भन्दा वढी प्रभावकारी काम गर्न सक्छौ । वलेको दियोले अर्को दियोलाई सल्काउन सक्छ । निभेकोले सक्दैन् । परिवर्तन तिम्रै जीवनकालमा हुन्छ । दैवीशक्तिको अनुयायीले उदासिनतामा जीवन जिउदैन् । अव तिमी योगी मात्र होईनौ । योद्धा पनि हौ । हामीले अब धर्मयुद्ध लड्नु छ । तिम्रो समाजमा, तिम्रो परिवारमा र तिमी आफै भित्र सल्वलाएको राक्षसी शक्तिलाई पराजय गर्नको लागि कम्मर कस्नु छ । तिमीले सही आवाज निकाल्नु पर्छ अन्यायको विरोधमा । आसुरी शक्तिको विरोधमा । तिमीले यो र यो जस्तै अनुष्ठानमा व्यक्त गरिएका एक एक शब्दलाई ताकतको रुप दिनु जरुरी छ ।"

आशिर्वचनका शब्दहरुको बर्षा जारी थियो ।

"जीवनमा उत्साह र एकाग्रता सदैव हुनु जरुरी छ । उत्साह र एकाग्रताको साथ भए तिमी योगी हुन्छौ । हरेक स्वस्थ्य व्यक्तित्वमा अपरिहार्य यी दुई अवयवहरुको अभावमा तिमी रोगी हुन्छौ । रोगी मान्छेले पशुले जत्तिको पनि खाने, सुत्ने र सन्तान उत्पादन गर्ने काम पनि गर्न सक्दैन् । यस्तै न्युनतम सुविधामा जीवन जीउनु भनेको अधिक पुण्य कमाउनु हो । पुण्य कमाउनका लागि पहिलो शर्त हो स्वास्थ्य शरीर । पुण्य कमाउनका लागि अरुले भन्दा वढी काम गर्न जरुरी छ । सामान्य भन्दा माथी हुनु जरुरी छ ।  यस्तो हुनका लागि दिनचर्या जैविक वनाउन जरुरी छ । जैविक कृयाकलापले  जीवनलाई पूर्ण वनाउँछ । योगीहरुको जीवन जैविक हुनुका साथै सात्विक पनि हुन्छ ।"

गुरुले अगाडि भन्नु भयो-
    
"तिमी जीवनको कुन वाटो हिँडीरहेका छौ अथवा तिम्रो जीवनको अवस्था कस्तो छ भन्ने विषय बडो महत्वको छ । थोरै मात्र मान्छेले उच्च चेतनामा जीवन विताउने अवसलाई उपयोग गर्दछन् ।  अधिकाँश जनहरु निम्न चेतनामा हुन्छन् । यस कथन लाई पहाडको भूगोलसँग पनि तुलना गर्न सकिन्छ । जीवनका यी दुई अवस्था भनेको लेक र वेँसी जस्तै हुन् । बेँसीवाट केही सय मिटरको उचाई उक्ले पछि लेकमा पुगिन्छ । विज्ञान अनुसार उचाई वढे पछि गुरुत्व बलको कारण वस्तुमा अन्तरनिहित उर्जा वढ्छ ।  वेँसीमा औलो लाग्न सक्छ । लेकमा लाग्दैन । एउटै वेलामा वेँसीमा तापक्रम ज्यादा हुन्छ । लामखुट्टेको जोखिम हुन्छ । जीवन पनि यस्तै हो । आलस्य, हिनतावोध र तनावमा रुमलिएको वेँसीको जीवन हो । द्वेष, अहँकार र घमण्डको जीवन वेँसीको जीवन हो । हिँसा गर्नु, अरुलाई दु:ख दिनु वा पाप चिताउनु भनेको जीवनको भुईँ चट्टान हो । तामसी भोजनको वा दुर्व्यसनको लत लाग्नु, अधिक भोगको ईच्छा गर्नु र सेवारहित जीवन विताउनु भनेको निम्न चेतनाको जीवनशैली हो । यस्तो स्थितिमा रहेको व्यक्तिवाट समाजले वा राष्ट्रले नैराष्यता, वितृष्णा वा अनुशासनहिनता वाहेक केही पनि पाँउदैन् ।  यसको विपरित उच्च चेतानाको जीवन जिउनु भनेको सधै भरि होश र सतर्कताको थलोमा आफूलाई पुर्याउनु हो । "मै खाँउ मै लाँउ" को विपरित सेवा भावमा सदैव आफूलाई समर्पण गर्नु हो । आचरण पवित्र राख्नु, अरुलाई मदत गर्नु र भोगविलासको जीवन त्याग गर्नु भनेको टाकुरामा आफूलाई उभ्याउनु हो अर्थात उच्च चेतनामा जीवन जिउनु हो । अराजकता, वेथिति र अन्यायका विरुद्ध लड्ने योद्धाको रुपमा आफूलाई रुपान्तरण गर्ने र आफ्नो जस्तै विचार भएका व्यक्तिहरुलाई सँगठित गर्नु भनेको पनि उच्च चेतनाको जीवन विताउनु हो । उच्च चेतनामा व्यक्तिले आफुलाई सत्यको क्षेत्राधिकार भित्र राख्छ । सत्यले शान्ति सिर्जना गर्दछ । निम्न चेतनामा व्यक्ति असत्यको घेराभित्र कैद हुन्छ जँहा न त ईश्वर हुन्छन् न त शान्ति । तिमी वेँसीको गर्मीवाट लेकको शितल छहारीमा कसरी पुग्न सक्छौ त ? के त्यो क्षमता तिमी भित्र छ ? के तिमीले चाहेको खण्डमा त्यो जडता चिरिन सक्छ त ? तिम्रो वर्तमानको वाटोमा अवस्थित सुरुङ्गमा उज्यालो देखिन्छ त ? अवश्य पनि । किनभने वेँसी वाट लेक पुग्ने वाटो छ । यी दुई स्थानको उचाईको फरक केही सय मिटर मात्र हो । तिमी योगसाधना वा अभ्यासको माध्यमवाट अहिलेको वेसीको वासलाई लेकमा पुर्याउन सक्छौ । उच्च चेतनामा जीवन यापन गर्नु भनेको नै योग हो । यसरी तिमी तिम्रै जीवनकालामा  परिवर्तनको अनुभूति गर्न सक्छौ । यसको लागि चाहिन्छ- सकारात्मक सोच, सँकल्प र साधना । यी तिन "" को त्रिवेणीमा अथाह शक्ति छ । "जाग अव जाग" । निद्रावाट व्युँझ । केही सय मिटरको उर्जा थप । सँकल्प गर । साधना गर । तप गर । वँलेसीमा खसेको थोपा थोपा पानीमा पत्थर प्वाल पार्ने उर्जा भए जस्तो निरन्तरको साधनाले तिमी पनि विराट अनुष्ठानको सँवाहक हुन सक्छौ ।"  

गुरुद्वयको सानिध्यमा छ हजार शिष्यहरुले सवैले केही न केही सँकल्प गरे । प्रण गरे । गुरुसँगको भेटलाई जीवनलाई अझै विशिष्ट वनाउने कोशे ढुँगाको रुपमा दर्ता गरे ।  आफ्नो सानिध्यमा रहेका दैवी शक्तिका रुप हजारौ योग अभ्यासी को उर्जा आफूमा प्रवाह भएको अनुभूति गरे ।  कतिपयले अन्न छोडे । कैयौ माँशाहारी शाकाहारी भए । कतिपयले धुमपान त्यागे । कतिपयले मद्दपान त्यागे । वेँसीको जीवनलाई लेक तिर उकाले । समाजमा केही योगदान दिने प्रण गरे । तिनले अन्याय, अत्याचार र अराजकता पस्कनेहरुको जमातवाट आफुलाई वाहिर मात्र निकालेनन यी "" को अस्तित्व समाप्त पार्ने धर्मयुद्धको शँखनाद समेत गरे । आफ्नै जीवनकालमा रामराज्यको प्रार्दुभाव हुन सक्छ भन्ने सँभावनालाई यथार्थमा वदल्ने शक्ति सँचय गरे । योगसाधनाको अचुक अश्त्रलाई आफ्नो जीवनवाट कहिले पनि नगुमाउने र अरुलाई पनि यसवाटोमा हिडाउन प्रेरित गर्ने सँकल्प गरे । "

"आसुरी शक्तिलाई पराजय गर्न सम्भव छ त ?" भन्ने प्रश्नलाई लक्षित गर्दै गुरुले शिष्यहरुलाई सात दिने योग-दिक्षा अनुष्ठानको अन्तिम दिन यसरी सम्बोधन गर्नु भयो ।

"मान्छेले गरेर भएका सँसारमा जति पनि ठूला आन्दोलन या अनुष्ठानहरु छन् ती सबै सानो घटनावाट सुरु भएका छन् । अध्यात्मिक वा आर्थिक वा राजनैतिक परिवर्तन जस्ता विराट काम सामान्य मान्छेले नै शुरु गरेका छन् । कालान्तरमा विशाल रुप लिएको सँगठनको शुरुवात पनि सानो पहलवाट नै भएको छ । त्यो पहल गर्न सक्ने क्षमता योग साधकमा हुनु पर्छ ।  दीर्घकालिन सोच राखेर सवैले साझा गन्तव्यको लागि काम गर्ने हो भने १५-२० बर्षमा नेपालको कायापलट हुन सक्छ । निर्णयमा  सामूहिकता र काममा स्वतन्त्रता । त्रुटिरहित काम गर्ने जमर्को । समान लक्ष्य तथा गन्तव्यको पहिचान । मन्च, माला र माईकको आशक्तिवाट छुटकारा । अहिले त्याग र पछि सफलता । यस्ता अश्त्रहरुको माध्यमवाट उपलब्धि हासिल गर्नु पर्छ । "

यसरी नेपालको वर्तमान दुरावस्थाका अँश समेटेका कालो वादलको पोको लिएर हरिद्वार गएका सहभागीहरुले त्यो बादलमा चाँदीको घेरा देखेर फर्के । अज्ञानताको तुष मेटिएको थियो । उनीहरुको गुरु दीक्षाको अभूतपूर्व शक्तिले आफूलाई वलेको दियोको रुपमा स्थापित गर्न सक्षम भए । आज नेपालका वस्ती वस्तीमा  र टोल टोलमा हरिद्वारमा वलेका दियाहरुले अन्य लाई पनि सल्काई रहेछन्। हरिद्वार गएका छ हजारले दश दशवटा दिया सल्काए भने केही महिनामा साठीहजार दिया सल्कनेछन् । ति साठीहजारले त्यही प्रकृयाले एक वर्षमा छ लाख दियाहरु सल्कने छन् र यसरी केही वर्षमा नेपालभरीका तीन करोड जनहरु सत्य र शान्तिको लेकमा बास बस्नेछन् । लेकको हावापानी र सँस्कृतिले नयाँ सन्ततिका दिनचर्याहरु आलस्य र जडताको ओझेलवाट वाहिर निस्कने छन् । यसकारण गुरुद्वयको आशिर्वचनमा भनिए जस्तो स्वस्थ, समृद्ध, आध्यात्मिक र वैभवशाली नेपालको सपना हाम्रै जीवनकालमा पूरा हुनेछ भन्ने विषयमा दुई मत नहोला ।   

-          समाप्त -