Saturday, December 24, 2016

सिसियुमा १२ घण्टा



सिसियु वार्डमा एघार जना विरामी राख्न मिल्ने सुविधा रहेछ । ह्विलचेयरमा राखेर मलाई आकस्मिक कक्षवाट त्यहाँ ल्याईयो । म पुग्दा मुटुको समस्या भएका रोगीहरुलाई राखिने त्यो सँवेदनशिल उपचार कक्षमा दुई जना मात्र विरामी थिए । मेरो लागि बेड नँ २०३ तोकियो । त्यहाँ विरामी हेर्ने आफन्त वा कुरुवाले 'एकै छिन मात्र उभिन मिल्ने' नियम रहेछ । त्यसकारण अन्यत्र जस्तो बेडको छेउमा वस्ने कुर्सीको सुविधा हुने त कुरै भएन । विहानको चार बजेको थियो । मेरो अवस्था अरुको जस्तो असामान्य भने थिएन । यसैले म कम्बल ओडेर निदाउने कोशिशमा लागेँ ।

विहान ६ बजेतिर म आफै विउँझिए । केही विरामी थपिएका थिए । ड्युटिमा रहेका चिकित्सक र नर्सहरुको चहलपहल बढेको थियो । अड्कल काटे-उनीहरुको पालो अदलबदल हुने समय भएको हुनु पर्छ ।

"न्यु पिन्च छ है सबैलाई ।"

रातो स्वीटर र निलो पाईन्टमा सजिएर आएकी एक आगन्तुकले ड्युटिमा रहेका सवै नर्सको ध्यानाकर्षण गरिन । नयाँ लुगा लगाउनेलाई खास गरी दौतरीहरुले चिमोटेर यस्तो अभिव्यक्ति 'दिने' बुझेको थिएँ । तर यहाँ लुगा लगाएकाले चै अरुलाई पो 'न्यु पिन्चको बधाई दिएको' सुनियो ।

मेरो काम बेडमा पल्टिनु सिवाय केही थिएन । यसर्थ मष्तिष्कले मात्र पनि गर्न सक्ने विकल्पहरु सिमित थिए । अब फेरी निदाउने सक्ने कुरै थिएन । उपचार कक्षमा भित्तामात्र थिए, झ्याल थिएनन । यसकारण प्राकृतिक उज्यालो भित्र पस्ने सभाँवना समेत शुन्य थियो । यसले गर्दा झ्यालवाट वाहिर हेरेर समय कटाउने विकल्पमा दर्हो विर्को लागेको थियो । तर पनि मैले धैर्य गर्दै केही सोच्नु पर्ने बाध्यातमक परिस्थिती थियो । तीनवटा उपाय सुझे- छिमेकी विरामीलाई हेर्ने,  नर्सहरुको गतिविधि नियाल्ने वा केही चिन्तन गर्ने । तेस्रो कठिन थियो । पहिलोले दु:ख थप्ने मात्र जोखिम थियो । जे जस्तो भए पनि दोस्रो गतिविधि अर्थात नर्सहरुकै कृयाकलापमा ध्यान केन्द्रित गर्नु नै मेरो लागि सर्वोत्तम विकल्प थियो । किनभने त्यसमा 'निरोगी कृयाकलाप' प्रशस्त देखिन्थे ।   

वार्डमा पस्ने ढोकामा चहलपहल बढ्यो । एउटा नयाँ विरामी ल्याईयो ।

"कुन बेडमा राख्ने होला ?" कसैले उभिएर रमिते भएकाहरु माझ प्रश्न हुत्यायो ।

"तिनलाई चारमा सार्ने । अनि तीनमा यसलाई राख्ने ।"

यो निर्णय गर्ने अधिकारी थिईन- रातो युनिफर्म लगाएकी एक महिला । त्यसो त पहिरनको रँगका आधारमा त्यहाँ विरामीलाई सेवा दिने कर्मचारीलाई चार भागमा बाँड्न सकिन्थ्यो । खैरो, रातो, निलो र सेतो लगाउने । खैरो लगाउनेहरु सबैभन्दा कनिष्ठ थिए । उनीहरु भुँई पुछ्ने वा शौचालयको रेखदेख गर्ने जस्ता कार्यमा खटिएका देखिन्थे । रातो लगाउनेहरु विरामी ल्याउने, लैजाने र तन्ना फेर्ने जस्ता काम गर्थे । नर्सहरुले निलो लुगा लगाएका थिए भने चिकित्सकहरुले सेतो कोट ।    

"तँलाई" भन्ने शब्द आदरार्थीको कित्तामा सबैभन्दा तुच्छ मानिन्छ । यो प्राय आफूले हेपेका, उमेरले साना वा गाली गर्दा प्रयोग गरिन्छ । यसकै हाराहारीमा निर्जिव वस्तुलाई सम्बोधन गर्दा "यसलाई" भनिन्छ । रातो लुगा लगाएकी महिलाले प्रयोग गरेको यो शब्दले मलाई आश्चर्यको दु:खद कित्तामा पुर्यायो ।

"किन मलाई ४ नँ मा सार्ने ? के बेड नँ ३ मा नयाँ बिरामीलाई सहज हुन्छ ? कि ४ नँ मा मलाई सजिलो हुन्छ ?"
सँभवत: यी प्रश्नहरुको त्यहाँ कुनै अस्तित्व थिएन । म यी प्रश्नको जिवन्तता भन्दा पनि नयाँ विरामीलाई प्रयोग गरिएको  
"यस" भन्ने सर्वनामको सेरोफेरोमा हराएँ ।

"तँपाईलाई ४ नँ मा सार्नु पर्ने भो ।" मलाई निर्णय सुनाईयो । त्यसो गर्नुको कारण सुनाईएन । मैले पनि कुनै चासो राखिन । आदेश पालना गरेँ । निचोड निकालेँ-कसलाई कुन बेडमा राख्ने भन्ने निर्णय कनिष्ठ कर्मचारीले हचुवामा गर्दा रहेछन ।

चार नँ बेड सबै भन्दा कुनामा थियो । मेरो लागि भित्तो अझ नजिक भएको थियो भने ढोका र नर्सहरु भेला हुने स्टेशन झन टाढा । अब भने नर्सहरुको हो हल्ला बाक्लिएको थियो । उनीहरुको आफ्नै हल्लाले 'त्यो क्रिटिकल केयर युनिट अर्थात सिसियू हो' भन्ने यथार्थ ओझेलमा परेको थियो । सघन उपचार कक्षमा वा चिरफार गर्ने ठाँउमा कति आवाज वा उज्यालो हुनु पर्छ भन्ने मापदण्ड पक्कै हुनुपर्छ । जाडो मौसममा शीत-ताप यन्त्र चलाएर तापक्रम कति डिग्रीमा स्थिर राख्ने भन्ने पनि हुन्छ ।  सेवा दिनेहरु नै विरामी वा उपचार सम्बन्धि भन्दा पनि आफ्ना व्यक्तिगत कुराहरु वा "हिजो के भयो?" वा "फेसबुकमा फलानाले राखेको फोटो हेरिस ? भन्ने जस्ता गन्थनले गाँजिएका देखिन्थे । घरिघरि त "वाँसघारीमा रुप्पी कराएको जस्तो" भान हुन्थ्यो ।  केही बेर पछि नर्स स्टेशनको कल्याङ्मल्याङ् बेड तिर सर्यो । उनीहरु दुई दुई जना भएर हरेक विरामीको छेउमा फाईल लिएर आए । आफ्नो जिम्माको विरामीलाई अर्को लाई सार्न थाले ।

"डा. फलानाको पेसेन्ट । विहान चार बजे चेस्ट पेन भएर ईमरजेन्सीमा ल्याएको । औषधी यो चलाएको छ।" यस्तै वार्तालापले वार्ड भरियो ।

दुई जना नर्सले मेरै अघिल्तिर मेरै वारेमा कुरा गरे । तर यस्तो लाग्थ्यो- उनीहरुलाई मेरो उपस्थितिको कुनै पर्वाह छैन । उनीहरु तृतिय पुरुष अर्थात "तँ" वा "त्यो" को भाषा प्रयोग गरिरहेका थिए । मलाई भने 'अड्डासार' भन्ने शब्दको स्मरण भयो । जसरी प्रहरीको जिम्मामा भएको कैदीलाई एक ईलाका वाट अर्कोमा सरुवा गर्दा यसो गरिन्छ । त्यहाँ भने सही छाप र साक्षीको समेत प्रावधान हुँदो हो ।

"पाँच नम्बरको मान्छेलाई बोलाईदे ।" अर्कीले झन अर्कीलाई भनेको सुनियो ।
पाँच नम्बरमा एक बुढी आमा थिईन । एकै छिनमा एक अधवैसेँ महिला आईन ।

"नरुनु आमा । किन रुनू भएको ? केही हुँदैन । म जान्न । हजुर सँगै बस्छु ।" आगन्तुकले भनिन् ।
शायद जीवनवाट हरेश खाई सकेकी थिईन । या त कुनै कारणले धेरै नै सँवेदनशिल भएकी थिईन । एकातिर बिरामीको यस्तो रोदन थियो भने अर्कातिर नर्सहरुको एक आपसको रमाईलो र हँसिमजाक ।   
चिकित्सकहरुको टोली आयो ।

"नमस्ते दाई । हजुरलाई के भएको हो ?" मलाई हेर्ने चिकित्सकले गरेको यो सम्बोधन भने शालिन थियो । मैले सकारात्मक हुने एउटा सिँढी भने फेला पारेको थिएँ । हुन ता नर्सहरुले कामै पर्दा वा कुनै जानकारी दिँदा "बुवा" या 'अङ्कल' ले सम्बोधन नगरेका होईनन । तर कुनै विरामीका बारेमा एक आपसमा कुरा गर्दा भने तृतिय पुरुषकै प्रयोग गर्थे । सेवाप्रदायक र सेवाग्राही सँग जोडिएको एउटा रोचक विषय छ-दुई पक्षका विच विद्यमान सूचनाको असन्तुलित रुप । मेडिकल विधामा त यो झन प्रखर हुन्छ । चिकित्सक र विरामीको विचमा एकहोरो सूचना प्रवाह हुन्छ । रोग वा अव गर्नु पर्ने उपचारका विषयमा चिकित्सकसँग भएको ज्ञान वा सूचना विरामी सँग हुँदैन । यस अर्थमा चिकित्सकले  पेशागत आदर्शको कित्ता नाघेर नियतमा कुनै विचलन ल्याएमा विरामीले त्यसको अथाह मूल्य चुकाउनु पर्दछ । 

मेरो समस्या मुटु सम्बन्धित नभएको निचोड निस्कियो । तर दुईवटा परीक्षण गरेर मात्र डिस्चार्ज गर्ने निधो भयो ।
चिकित्सकहरुको टोली मेरो बेडवाट प्रस्थान गरेपछि मैले ड्युटिमा रहेकी नर्सलाई मेरो हातमा रोपिएको सुई निकाल्न भने । मलाई असामान्य तवरमा दु:खाईको अनुभुति भएको थियो । सुई लगाउँदा प्रशस्त उज्यालो चाहिन्छ । नशा फेला परेन र जथाभावी घोचियो भने विरामीलाई पिडा हुन्छ । नर्सले मलाई घोच्दा सुन्दा सामान्य लाग्ने तर यस महत्वपूर्ण विषयमा ध्यान नपुगेको जस्तो लागेको थियो । न त आकस्मिक कक्षमा न त सिसियुमा नै नशा देखिने सक्ने उज्यालो थियो । म त्यही परिस्थितिको शिकार भएको थिँए । मेरो दु:खाईले त्यही वताएको थियो । उनले सुई निकाल्न नमिल्ने तर्क राखिन । मैले धैर्यता गुमाईन ।

केही समय पश्चात नर्स स्टेशनमा अलि चर्कै स्वरको आवाज सुनियो ।

"एन्जिओप्लाष्ट गरेको विरामीलाई त्यस्तो लापरवाही गर्ने हो ? यही पारा हो भने तिमीहरुले केही पनि सिक्दैनौ । राम्रो डाक्टर बन्ने त सपना मात्र हुन्छ ।"

एक युवा जस्तै देखिने फूर्तिला चिकित्सक ड्युटिमा रहेका उनको मातहतका प्रशिक्षार्थीहरुलाई हप्काउँदै थिए । उनी हिँड्नासाथ विहान रातो स्वेटर लगाएर आउने तर अहिले सेतो कोट लगाएकी युवतीको आक्रोसयुक्त वोली सुनियो ।

"यो डाक्टर आयो भने ईरिटेशनको सगरमाथा नै बोकेर आउँछ । हरेक कुराको सीमा हुन्छ नि !"
मेरै आँखा अघि ति युवा चिकित्सकको अर्ति प्रशिक्षार्थीलाई विष भएको थियो । विद्यार्थीको हैसियतमा रहेका उनीहरुको रोषले स्पष्ट सँकेत गरेको थियो- आफ्ना अग्रजको अभिव्यक्तिले उनीहरुमा न कुनै ग्लानीबोध पलाएको थियो न त सिक्ने तिर्सना नै। अहिले मेडिकल शिक्षामा देखिएको ठूलो समस्या नै यहि हो । पैसा पेलेर डाक्टर हुने परिपाटी विकसित भएको छ । नसिकिकन र नजानिकन हचुवाका भरमा चिकित्सक बनिदैन । आगामी पुस्ताको लागि यो एउटा ठूलो चुनौति पहाड बनेर प्रस्तुत हुने कुरा अवस्यम्भावी छ ।    

"समोसा खाने वेला भएन । एक छिन त आफुले चाहेको कुरा पनि गरौन । कति यो भुमरीमा मात्रै रुमल्लिरहनु ?"
अर्ति तितो मानीरहेकीले प्रशिक्षार्थी चिकित्सकले मिठो समोसाले तितो मेट्ने रणनीति अपनाईन ।
एक अर्को आक्रोशयुक्त गुनासोले मौनता भँग भयो ।

"बाँदर्नीले चाबी कहाँ राखेर हिडी ?"

जिम्मेवारी हस्तान्तरण गरेर गएकी नर्स उपर उनकी दौतरीको आरोप थियो त्यो । आर्तनादको कित्तामा उम्रिएको यो हँसिमजाकको सेरोफेरोमा मैले एउटा निचोड निकाले । एक आपसमा कुरा गर्दा या नर्स स्टेशनमा भएका बेला उनीहरुको कुरा गर्ने शैली, अनुहारको भाव या व्यवहारको रुप अर्कै हुन्थ्यो । उनीहरु प्रसन्न मुद्रामा हुन्थे । अनुहारमा कान्ती हुन्थ्यो । जब उनीहरु विरामीका वार्डमा आँउथे त्यो कान्ती कालो छाँया मा परिणत हुन्थ्यो । त्यहाँ भने औपचारिकताको ध्वाँस पिट्थे । अनुहारको प्रसन्नताको धर्को एकाएक गायब हुन्थ्यो । कतिपय अवस्थामा विरामी वा उनका आफन्तलाई हप्काउँथे । निषेधात्मक आदेशहरुको फरमान जारी गर्थे । यस्तो लाग्थ्यो-पेट्रोल पम्पमा पेट्रोल भरेर उर्जावान भएको सवारीसाधन जस्तो उनीहरु पनि नर्स स्टेशनमा विरामीलाई आतङ्कित पार्ने उर्जा भर्न जान्थे ।  

शौचालय प्रयोगमा पनि नर्सहरुको नियमन थियो । सिसियुका विरामीले धेरै शौचालय प्रयोग गर्न पाईन्न भन्ने मान्यता पालेको देखियो । तर उनीहरु 'धेरै शौचालय प्रयोग नगर्नु" भन्ने आदेश जारी मात्र गर्थे । तर विकल्पको बारेमा बताउँदैन थिए । मेरो शारिरिक स्थिति सामान्य भएकोले म आफै हिँडेर शौचालय जान्थे । एक पटक त्यहाँ पुगेर फर्किदै गर्दा रातो पहिरनमा रहेकी महिलाले भनिन्- 

"किन शौचालयको ढोका बन्द गर्नु भएको ?"

"किनभने अघिल्लो पटक म भित्रै हुँदा एक महिला विरामी पनि भूलवश भित्र आईन । अरुको अघि शौच गर्दा तपाईलाई लाज लाग्दैन र ?"

मेरो स्पष्टिकरण मिश्रित मुखभरिको जवाफले पनि उनलाई बुझो लागेन ।

"तपाईको ड्युटि नर्सले यहाँ पहरा दिनु पर्ने हो नि त ।"

"खै त नर्स ? तपाईँ बेफ्वाँकको भाषण किन छाँट्नु हुन्छ ? उनलाई काम लगाउने पनि तपाईको जिम्मेवारी भए किन रातो लुगा लाउनुहुन्थ्यो होला र ?"

अब भने उनी चुप लागिन । शौचालयमा टिस्यु पेपर पनि थिएन । कतिपय विरामीहरुको दिसा गरेपछि सफा गर्न पुछ्ने पनि बानी हुँदैन । उनीहरु दिसा गरेपछि पानीले धुन्छन् । बेड नँ २०३ का विरामीले दिसा धुन पानी र मग माग गरेको मैले स्पष्ट सुने । खासगरी कतिपय महिला वा बृद्धबृद्धाहरु शौच सम्बन्धि र आफ्नो सँस्कार सम्बन्धिका केही चलनहरु खुलेर व्यक्त गर्न पनि सक्दैनन । यस्तो स्थितिमा सेविकाहरुको आक्रोसले आगो निभाउने भन्दा दन्काउने काम गर्छ ।  
केही समय अघि वीर अस्पतालमा एक हजुरआमाले गरेको विद्रोह सुन्नमा आएको थियो । उनको भित्री अङ्गको चिरफार गर्नु पर्ने काम थियो । सबै तयारी भयो । नर्सले बिरामीलाई अपरेशन गर्नका लागि लुगा फेर्न भनिन्। 

"म बरु त्यसै मर्न तयार छु । तर अहिले सम्म नलगाएको यस्तो फ्याँग्लो लुगा लगाउँदिन ।" हजुरआमाको थरथर काँपेको आवाज सुनियो ।

सम्भवत यो दृष्टान्तले हाम्रो परिवेशमा मेडिकल फिल्डमा गर्नु पर्ने अनुसन्धानका विषयहरुलाई सँकेत गर्छ । हाम्रै सँस्कार र सँस्कृति अनुकुल चिकित्सा पद्धतिलाई हिँडाउन सकिन्छ । खाली चिन्तन र अनुसन्धानको मात्र खाँचो छ ।  

सिसियुवाट मेरो प्रस्थान हुँदा वातावरण तनावग्रस्त बन्यो । विहान देखि म भित्र घाउको पिपजस्तो जमेका मलाई प्रदान गरिएको सेवामा देखिएका विसँगति र लापरवाहीका अवशेषहरुको वेलुन एकैपटक विस्फोट भयो ।  लगभग बारह् बजे तिर मेरा दुईवटा परिक्षणहरु भए । तीनका रिपोर्टले पनि मेरो स्थिति सामान्य देखायो । मैले फेरी ड्युटिकी नर्सलाई मेरो हातमा रोपिएको सूई निकाल्न अनुरोध गरेँ । उनले अपत्यारिलो तर्कले त्यसलाई अस्विकार गरिन ।

असह्य पिडाका बिच मैले दुई वटा निचोड निकालेँ- पहिलो, सिसियुको विरामीलाई त्यहाँ राखुन्जेल स्थिति गम्भिर भएको सँकेत दिनका लगि सूई रोपेरै राखिन्छ । दोस्रो- विरामी उपचार शुल्क नतिरि भाग्न नसकोस भन्ने आशय हो ।

आखिर बेलुकाको पाँच बजे मात्र शुल्क बुझाएको कागजात देखाएपछि नर्सले मेरो हातमा टेपले बाँधिएको सुई निकालिन ।
"चिकित्सकको निर्णय अनुरुप यस्को काम त दिउँसोको १२ बजे नै सकिएको थियो । त्यसै वेला यसलाई निकालेको भए 

मैले पाँच घण्टा दु:खाई सहनु पर्ने थिएन, हैन र ?"

मैले रोष प्रकट गर्दै मेरो आलो घाउमा अलिकति भए पनि मल्हम लगाउने कोशिष गरेँ । तर कुनै ठोस तर्क उनीहरुले दिन सकेनन ।

विदा हुनु अघि मैले वार्डमा रहेका सारा विरामी, तिनका कुरुवा र ड्युटिमा रहेका नर्स र चिकित्सकहरुको ध्यानाकर्षण गर्दै अभियन्ताको रुप निकालेर ठूलो स्वरमा भने-        

"यी सबै विरामीहरु जिउँदा मान्छे हुन, मरेका लाश हैनन । यिनीहरु अहिले विरामी मात्र हुन । मरे भने मात्र लाश हुन्छन । यिनीहरु मरे भने मात्र चितामा पोलिन्छन। तर बाँचे भने घर जान्छन । मरेको लाश मात्र वस्तु हो, जिउँदो मान्छे वस्तु होईन । यो 'पानी राख्ने भाँडो' बस्तु हो । त्यो 'कुर्सी' वस्तु हो । तर म वस्तु होईन विरामी मान्छे हुँ । तपाईहरुले मलाई 'वस्तु' को व्यवहार गर्नु भयो, जिँउदो मान्छेको हैन। यसकारण म तपाईहरुको सेवावाट असन्तुष्ट छु ।"

एक छिन सन्नाटा छायो । उनीहरु सबैका आँखा बलेका थिए । म चाहान्थे यो उनीहरुको जागीरे जीवनकालकै सम्झिन पर्ने सुत्रवाक्य वनोस । मैले गुनासो-पत्र मागेँ र भारी मन लिएर सिसियुवाट प्रस्थान गरेँ ।

घरमा आएपछि सबैले मैले बिद्रोहको बिगुल फुकेको कुरा सुने । तनावग्रस्त पटाक्षेपकी साक्षी मेरी बहिनीले पटक पटक अभिनय शैलिमा परिवार सदस्यहरुलाई घटना विवरण सुनाईन ।

"सिसियुमा बसेर १२ घण्टामा बत्तिस हजार तिरेको असुल पनि त गर्नु पर्यो नि ।" मेरी धर्मपत्नीको प्रतिकृया आयो ।
म भने निभेको आगोले छोडेका कोईलाको कल्पना मात्र गरिरहेको थिँए ।

पौष ०८, २०७३
कोटेश्वर, काठमाण्डौ