Friday, February 12, 2016

मुम्बईको मोमो र गोवाको काजु

धुलिखेलबाट कोटेश्वर पुग्दा बिहानको ११ बजी सकेको थियो । दिँउसो दुई बजेको उडान थियो । अन्तर्राष्ट्रिय उडानमा तीन घण्टा अघि विमानस्थल पुग्नु पर्छ । यो नियमलाई मूल मन्त्र बनाउँदा बनाउँदै पनि भने जस्तो हुँदैन । दश थरीका काम निस्कन्छन् । धर्म निर्वाह गर्नै पर्यो । अन्यथा पछुतो हुन्छ फेरि । साढे एघारमा नेपाल वायु सेवाको टिकट जाँच कक्षमा पुग्दा सोच्दै नसोचेको सूचना प्राप्त भयो । 
“उडान तीन घण्टा ढिलो छ ।“
एक पटक फोन गर्नु पर्ने थियो । गरिएन ।
“अब तीन घण्टा के गर्ने ?” प्रश्न पहाड बनेर उभियो ।
आफू त मियो भैयो । सबै समस्याको समाधान अन्तिम निकाय । अरु थोक नभए-ल्यापटप खोल्यो । लेख्न बस्यो । तर यस पटक साथमा थिए- श्रीमती र छोरी पनि । खासगरी छोरीका लागि समस्याले भीमकाय रुप नै लिएको थियो । उसले अमिलो अनुहार पारी सकेकी थिई । तर मेरो मनमा भने एउटा भने परिस्थितीलाई सामना गर्ने एक सकारात्मक पाटो उदायो ।
“यात्रामा यस्तै नसोचेको आई पर्छ । त्यस्तो बेलामा के गर्ने त ? यस्तै भै-परि आउने परिस्थितीबाट त छोरीले  सिक्छे नि !”
यो विचारलाई व्यक्त भने गरिएन । भित्रै उदायो । भित्रै अस्तायो ।
तर टिकट जाँच कक्षमा भएका अधिकृत कर्मचारीले कालो बादलमा चाँदीको घेरा पनि देखाए
“कोशिश जारी छ । जहाज बदलेर भए पनि पाँच नबजाउने ।”
हामी अध्यागमन तिर लाग्यौ । एक पुराना मित्र सँग भेट भयो । विदेशमा नै जन्मेर हुर्केका दुई छोराहरु लिएर केही दिनको नेपाल भ्रमण पश्चात वहाँ बैँकक फर्कन लाग्नु भएको रहेछ । केटाहरुले ‘गमन पत्र’ आफै भर्ने जिकिर गरे । तर उनीहरु परे नेपाली लेख्न नजान्ने ।    
“नेपाली भाषामा भर्नु पर्छ । तिमीहरुलाई गार्हो होला ।” मित्रले अभिभावकको भूमिका निभाए । 
“हजुरले सिकाई दिनु हामी आफै लेख्ने हो । आखिर समय छँदैछ ।” उनीहरुको स्वाभिमान कुर्लियो ।
मित्र छोराहरुलाई मदत गर्न थाले । हामी पनि आफ्नो विवरण भर्न थाल्यौ । उनको कान्छो छोरोले झेल झिक्यो ।  उ त रिसाएर ठूलो ठूलो स्वरमा कराउन थाल्यो ।  
“नेपालीमा लेख्नु पर्छ भन्ने अनि फेरि किन अँङ्ग्रेजी अक्षर लेख्ने ?”
उसको भनाई सोर्है आना ठीक थियो । ‘गमन पत्रमा’ विवरण भर्दा अँग्रेजी ठूलो अक्षरमा लेख्नु भनेर नेपालीमा जानकारी दिईएको थियो ।  जन्म मिति पनि ईश्वी संवतमा लेख्नु पर्ने । हामी परनिर्भर रहेछौं भन्ने कान्छोलाई परेछ । यो बेला हरेक नेपालीलाई यस्तै महसुस हुँदो हो । मेरो मथिँगल भने मडारिन थाल्यो ।
“के यस्ता कागजात भर्न नेपाली भाषा अक्षम छ त ? कि अहिलेसम्म पगरी गुथेका नीति निर्माता र कार्यकारीहरु अक्षम भएका हुन् ?”
भाग्यवश उडान एक घण्टा मात्र ढिला भयो । नेपाल वायु सेवा निगमका हरेक दृष्यहरुले दुर्दशा पस्किन्छन् । टिकटमा दुई बजेको उडान समय छ । बोर्डिङ् पासमा पाँच बजे छापिन्छ । अनि उडान हुन्छ तीन बजे । यस्तो गाईजात्रा अरु विमान सेवाले नगर्लान् । यो अरु केही होईन । व्यवस्थापकिय अक्षमताको एक झिनो उदाहरण मात्र हो । बोर्डिङ पासमा बाघ भैरब अझै जिँउदो छ । लोगोमा यसको गर्जन छँदैछ । ‘शाही नेपाल वायू सेवा’को टाउको ‘शाही’ लाई मसानघाटमा पुर्याउनेहरुलाई यसको छोटो रुप ‘आरए’ लाई ‘यनए’ बनाउनु पर्छ भन्ने चेत नभएको जगजाहेर छ । जहाज भित्रका दृष्य त्यस्तै छन् । एक तिहाई सिट मात्र भरिएका छन् । चलचित्र हेर्ने संयन्त्र छैन । सिटका खोल पनि मैला छन् । उडान सम्बन्धी सूचना दिने स्क्रिन पनि छैन । पत्रिका पल्टाएर हेर्न थालेँ । नेपाल वायु सेवाको उडान सम्बन्धित एक जानकारीमूलक रचनाले ध्यानाकर्षण गर्यो । अङ्ग्रेजी र नेपाली दुवै भाषामा उही अभिव्यक्ति प्रस्तुत गरिएको थियो ।   
“सिटमा बसेको बेलामा र जहाजमा टर्बुलेन्स (अधिक हलचल) भएको बेलामा सुरक्षा पेटी बाँध्न सिफारिस गरिन्छ ।“ भन्ने आशयको महत्वपूर्ण सूचनाको हलुका र सामान्य अनुवाद गरेको पाईयो ।”  
“सिटको पेटी सधै‌ैै नै बाँधी राख्नु राम्रो हुनेछ । अनुदित हरफ यस्तो थियो । यसमा टर्बुलेन्स शब्दको अर्थ खुल्ने गरी अनुवाद गरिएको थिएन ।”
विजिनेस क्लास, ग्राउण्ड स्टाफ र कुजिन जस्ता महत्वपूर्ण शब्दहरुका अनुदित रुपहरु न त एकनासका पाईए न  त अर्थपूर्ण । कतिपय पत्रिकामा प्रयोग भएका शब्दहरु उडान अवधिमा गरिएका उदघोषणमा पनि प्रयोग भएका थिए । तर तिनीहरुमा एकरुपता र अर्थको विशिष्टता थिएन । मानक निर्धारण गर्ने यस्तै शुक्ष्म विश्लेषणले हो । देश निर्माण गर्ने अभियन्ताहरुले पल्टाउनु पर्ने ढुंगा यस्तै हुन् ।  
यस्ता अवसरमा म शिशिर योगीको गीत सँझन्छु ।
‘यो देशमा म एउटा मानिस खोजी रहेछु ।‘
मलाई लाग्छ-एउटा मानिस मात्र होईन । नेपाल राष्ट्रमा सयौँ अभियन्ताका लागि अवसरहरु लम्पसार परेका छन् । जता ततै केही बिग्रेको वा धेरथोर नपुगेको देखिन्छ । समस्याहरु नेतृत्व नपाएर चुलिएका पहाड भएका छन् ।  उपलब्ध प्रविधिको प्रयोग भएको छैन । केही सुरुवात नभएको हैन । तर मलजल नपाएर सुक्न लागेको बृक्ष जस्तो भएका छन सार्वजनिक सेवा सुविधाहरु । यस्ता बृक्ष जता जतै छन । नेपाल वायूसेवा, नेशनल ट्रेडिङ् लिमिटेड, खाद्य संस्थान, प्रज्ञा प्रतिष्ठान, नेपाल आयल निगम र  काठमाडौं  उपत्यका खानेपानी लिमिटेड सामान्य सिँचाई र हलुका मलजलले मात्र पनि तुरुन्तै तङरिन सक्ने केही प्रतिनिधि उदाहरण हुन ।
केही दिन अघि विविसीमा एउटा रोचक जानकारी दिईएको थियो । मुम्बईको सुकुम्बासी क्षेत्रमा शौचालयको समस्याका बारेमा । घरमा शौचालय बनाउन आवश्यक जमिन नहुने । यसैले लघु शौचका लागि पनि सार्वजनिक सेवा प्रयोग गर्नु पर्ने । तर महिलाहरुको लघु र दीर्घ शौच गर्नका लागि अलग अलग सुविधा उपलब्ध नहुने । दिनको छ सात पटक सेवा लिँदा धेरै शुल्क तिर्नु पर्ने । पुरुषहरुको भने लघु शौच सित्तैमा हुने । यसैले सालाखाला दिनको एक पटक मात्र दीर्घ शौचका लागि शुल्क तिरे पुग्ने । शहरी आवास र सार्वजनिक शौचालय सँग जोडिएको यो विषय रोचक थियो ।   
“झ्यालतिरको सिट रोज्नु । अवतरण गर्दा मुँबईको शहरी बसोबासको कुरुपता छर्लङ्ग हुन्छ ।“ मित्र सूर्यमान शाक्यको सल्लाहा थियो । विमान पुरै नभरिएको फाईदा मैले लिँए। अवतरण गर्नु पूर्ब नजिकैको झ्यालको सिटमा आसन जमाएँ ।
नभन्दै त्यस्तै देखियो । एकातिर आकाश छुने महल । अर्कातिर अव्यवस्थित झुपडीको लर्को । मैले भियतनामको हनोईमा पनि यस्तो अब्यवस्था देखेको थिँए । त्यहाँ भने लाम्चो आकारका बाकस जस्ता घर । सबै घर जोडिएका । यस हिसाबमा मुम्बई र हनोईलाई काठमाडौं, पोखरा र धरानले जिते । तर हामीले त विशिष्ट सँग दाँजिनु पर्छ । बसोवासका लागि उत्कृष्ट ठहरिएका शहर केप टाउन या भ्यानकुभरलाई भेट्नु छ । फेरि अर्को अभियन्ताको खोजीमा लाग्छ मेरो मन ।
छत्रपति शिबाजी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण पश्चात एउटा भने आनन्द लाग्ने क्षण सिर्जना भयो । हाम्रो विमानले पनि सुरुङ्सँग जोडिन पर्‍यो । काठमाडौंमा यो सुविधा छैन । विमानमा जान हिँडेरै या बस चढेर जानु पर्छ । एक मनले भने लाग्यो हाम्रो आरए पनि के कम छ र ? आखिर शिशा त छ नि ! व्यावस्थापकीय अक्षमताको कसिँगरले पुरिएको मात्र न हो ! त्यो कसिँगर पुछ्ने अभियन्ता चाहिएको त हो ।  
यस पटको यात्राको मौलिक र सुखद पक्ष थियो-सन्तान सुखको अनुभुति । सुपुत्र सिरिन विमानस्थलमा लिन आएको थियो । हामीले पहिलेनै कुरा मिलाएका थियौ । वस टर्मिनलमा भेट्ने भनेर । अन्यथा यो भवसागरमा एक अर्कालाई भेट्नु नै विकराल समस्या हुने ।
भेट हुना साथ उसले मोवाईल चलाउन थाल्यो । केही बेरको कसरत पछि उसले गजबको सूचना जारी गर्यो ।
“दश मिनट लाग्छ रे उबरलाई आइपुग्न । ”
उबर नामको यो पद्धति अचम्मकै रहेछ । मोवाइलमा ‘उबर एप’ डाउनलोड गर्नु पर्ने । पुरै शहरको नक्शा देखिने । अनि स्क्रिनमा आफू उभिएको ठाँउ खोज्ने । त्यसपछि गन्तव्य निश्चित गर्ने । यति गर्ना साथ सबै भन्दा नजिक भएका खाली ट्याक्सीहरुको चित्र देखिन्छ । स्क्रिनमा चालकको नाम र मोवाइल नम्बर पनि उदाँउछ । गन्तव्यमा पुग्ने अनुमानित समय र भाडाको रकमको जानकारी पनि पाईन्छ । सबै कुरा चित्त बुझे- ओके थिच्ने र ट्याक्सी बोलाउने ।
नभन्दै दश मिनट जतिमा उबर आईपुग्यो । सामान राख्न चालकले सघाईदियो । नाकनिक केही गरेन । मिलिक्क गर्दा हामी मुम्बईको सडकमा गतिमान भएका सवारी साधनको हुलमा मिसिई सकेका थियौँ ।
फिल्म सिटि गेटको समिपमा रहेछ-ईन्दिरा गान्धी विकास अनुसन्धान संस्थानको परिसर । हाम्रो आवासको व्यवस्था सिरिनले यो सँस्थाकै अतिथि गृहमा गरेको थियो । सर्वसाधारणले “ईन्दिरा विकास” भन्दा रहेछन् । सिरिनले यो संस्थानमा अर्थशास्त्रमा स्नातकोत्तर गर्न छात्रबृति पाएको हुनाले यो सम्भव भएको थियो । यो संस्थान भारतको केन्द्रीय बैंकको मातहतमा ‘सोच केन्द्र’ अर्थात थिङ्क ट्याङ्क को रुपमा स्थापित भएको रहेछ । नेपालका अभियन्ताहरुका लागि यो अर्को अवसर हो । मेरो मन फेरी हौसिन्छ । अहिलेसम्म नेपालमा औपचारिक रुपमा सोच केन्द्र स्थापना गर्ने अवधारणा नै स्थापित भएको छैन ।
भोलिपल्ट हाम्रो यात्राको साथी भएको थियो- उही उबर क्याब । गन्तव्य थियो साडी बिक्रीको लागि प्रख्यात ठाउँ-दादर । नेपालीका लागि साडी वा सलवार कुर्ता अझै पनि प्रिय छ । हुन ता अहिले काठमाडौं या अन्य शहरमा यस्तो लुगा लगाएका नारीहरु मुश्किलले देखिन्छन् । मुँबईमा भने अझै यी पहिरनले मूलधारका वस्त्रको शंज्ञा पाएका रहेछन् । सडकमा एक त महिलाको बाहुल्यता नदेखिने । अर्को प्रायले साडी नै लगाएका हुने । यो मामिलामा छिमेकीहरुको तुलनामा हामी अग्रस्थानमा छौ । अर्थात हाम्रो परिवेशमा ‘परम्परागत जडताको चट्टान’ फुटाउन सजिलो छ । हामीसँग ‘तुरुन्तै सिक्ने’ क्षमता तुलनात्मक रुपमा उच्च गुणस्तरको छ । उच्च प्रविधियुक्त सेवा-सुविधा मात्र पाईयोस । विना वर्दीका प्रहरीहरुले निमेषभरमा नै तिनलाई आत्मसात गर्नेछन् ।  तर के गर्नु ! विदेशमा सहजै पाईने सुविधा आफ्नो देशमा प्रयोग गर्न नपाएर आशामा नागरिक काकाकुल भएका छन् । समाज बदल्ने सोच राख्ने नेपाली अभियन्ताले बुझ्नु पर्ने यो एक उच्च महत्वको विषय हो ।
“यत्रो ठूलो साडीको दोकान त अहिले सम्म गैएकै थिएन ।” रीताको उद्गार सुनियो । मैले अनुमान लगाएँ-सय जना भन्दा बढी त बिक्रिमा सँलग्न कामदार नै छन् । साडी लगाएकै केही महिला कामदार पनि झुल्किए । अन्यथा प्राय पुरुष कामदार मात्र हुने । तर महिलाहरुको भूमिका भने ग्राहकलाई सम्बन्धित कक्षमा पुर्याईदिने मात्र हुँदो रहेछ । श्रीमति र छोरीले राम्रै खरिद गरे । मैले पनि दुई जोर कुर्ता पाईजामा किने ।  
दादरको किनमेल पश्चातको  गन्तव्य तय भयो-तिनैतिर समुद्र भएको पुरानो प्रशिद्ध शहर भित्रको शहर अर्थात चर्च गेट । त्यहाँ जानुको मूलकारण थियो- मौलिक समुद्रि खाना अर्थात सिफुड को स्वाद लिने । यस अघिका थाईल्याण्ड र जापान बसाईका कारण मेरो परिवारको जिब्रोमा समुद्रि जलचरवाट बनेका स्वादिष्ट परिकारको रस भिजि सकेको थियो । अर्डर पछि झिँगे माछा अर्थात लोबस्टर रोजाउन ल्यायो । हाम्रो रोजाईमा पर्यो-लगभग ३५०० को जिँउदो जलप्राणी । स्वादिष्ट भोजन पश्चात हामी लाग्यौ-जुहु समुद्रि किनार । फेरी उबर क्याबले काम पायो । एक तर्फी बाटोका कारण यस पटक भने उबर भेट्न अलिकता हिँडाईमा परियो । तर उबर ट्याक्सी चढे पछि फेरि यात्रा सहज भयो ।
आज भन्दा लगभग तीस वर्ष अघि बिरला प्राद्यौकि संस्थान, राँचीमा स्नातक गर्दा मैले जीवनमा पहिलो पटक समुद्र देखेको थिँए । त्यो थियो- उरिसा राज्यको पुरी शहरको समुद्र । समुद्र किनारमा बालुवामा खेलिन्छ । नुनिलो पानीका छालसँग पौठेजोरी खेल्न मिल्छ । नदीको भेलमा जस्तो हेलिन मिल्छ । समुद्री किनारा भएका मुलुकहरुको लागि यो प्राकृतिक सम्पदा पर्यटनको महत्वपूर्ण आधार हो । मलाई भने आँखाले प्रत्यक्ष देखेर यी विषयको ज्ञान भएको थियो । त्यस वेला मेरा सहयात्री मित्र थिए-सुनिल सिमखाडा । जो अहिले परिवार सहितै अष्ट्रेलिया भासिएका छन् ।
जुहु समुद्री किनारामा अपेक्षित चहल पहल थिएन । विदेशी पर्यटकहरु नगण्य । अधिकांश भारतियहरु नै थिए । हरिया नरिवलको पेय लगायत केही परिकारहरु पाईने । पर्यटन विभागको कुनै खास ध्यान पुगेको जस्तो देखिएन । समूद्रको पानी पनि दुर्गन्धित । ढलनिकासको गन्ध प्रचुर मात्रामा । हामी हिड्दै अगाडि बढ्यौ । एक ठाँउमा जुत्ता खोलेर नै पानीको भुल्को तर्नु पर्यो । फड्किने कुनै उपाय थिएन । पर्यटकिय स्थलमा यस्तो अव्यवस्था हुनु भनेको पराकाष्टा नै हो ।
अर्को दिनको कार्यक्रम भने मुम्बईको आकर्षणको केन्द्र- एसेल वर्ल्ड थियो । त्यो दिन आईतवार परेको हुनाले अतिथि गृहकै चमेना गृहमा विहानको स्वल्पहार (निबन्धकार धनुषचन्द्र गोतामे को शब्द सापटी) को आनन्द लिईयो । सिरिनका साथीहरु मिसिए । रमाईलो भयो । भारत भरिकै खुला प्रतिस्पर्धाबाट हजारौको सँख्यामध्येबाट चुनिएका तीस जनाले मात्र प्रवेश पाउने “ईन्दिरा विकास” को नियम । त्यही समूहका केही हाम्रो साथमा थिए । कुराकानीमा जुनसुकै प्रसंग निस्के पनि आफ्नो माझिएको विचार प्रस्तुत गर्न सक्ने उनीहरुको क्षमता हुँदो रहेछ । कुराकानीलाई स्वादिला परिकारले साथ दिए । चिया त झनै मिठो । ल जे पर्ला- मैले एक कप थपिदिँए ।
सिरिनले फेरि उबर क्याब मगायो । हामी समुद्रि घाटमा पुग्दा पारी जान लामबद्ध पर्यटकहरुको हुल देखियो । लाममा हामी पनि जोडियौ । हामीले चढ्न पर्ने समुद्रि सवारी साधन अर्थात फेरीको पनि अनुहार देखियो । फेरी अर्थात सानो पानी जहाज । नेपालको सन्दर्भमा भन्नु पर्दा ठूलो डुङ्गा । नजिकै थुप्रेका फोहोरका रासले पनि स्वागत गरे । समुद्रको पानीमा पनि तैरिएका फोहोरले विस्कुन सुकाएको जस्तो देखियो । मैले केही तस्विर लिएँ । आखिर समस्या उस्तै हो । नेपाल होस या भारत । विकसित मुलुकले मात्र यस्ता पर्यटकिय महत्वका स्थानमा बिशेष ध्यान दिएका छन् । अहिले यो ठाँउ जापानमा या सिँगापुरमा होस त ? रुपै अर्को हुन्थ्यो । झट्ट हेर्दा व्यवस्थापनमा कुनै खोट लगाउने पक्ष देखा पर्ने थिएन ।
एसेल वर्ल्ड भनेको डिसने ल्याण्डको अवधारणामा बनाईएको साहसिक र मनोरन्जनात्मक खेलहरुको आनन्द लिन मिल्ने सुविधाले भरिपूर्ण एक विशाल परिसर रहेछ । सन २००१ मा टोकियोमा सपरिवार डिसने ल्याण्ड घुम्न गईएको थियो । तर त्यसवेला सिरिन र दीक्षा साना थिए । हिजो अस्ति जस्तो लाग्छ । तर पन्ध्र वसन्तहरु अतितमा विलिन भै सकेछन् । मध्यान्ह भैसकेको हुनाले पानीजन्य खेलमात्र खेल्ने कि जमिनमा भएका खेल पनि खेल्ने भन्नेमा हाम्रो मत मिलेन । दुवैको टिकट लिएर आखिर खेल्न पाईएन भने के मजा भयो र ? समूहका वयस्कहरुको तर्कले यो धार समात्नु स्वभाविकै थियो । आखिर किशोर मनोविज्ञान कै जित भयो । दुवै समुहको टिकट किनियो । तर सर्वप्रथम जलविहारको पालो आयो । जल-चिप्लेटि देखि लिएर सुरुङ् भित्र छिर्ने लगायतका खेलहरु रहेछन । ईच्छा मात्र भएर नहुने । आँट पनि चाहिने । टाउका पछाडि हात राखेर उत्ताने पर्दै ओरालो सुरुङ् भित्र चिप्लिने खेल मैले पनि खेलेँ । आफ्नो पालो आएपछि प्रस्थान विन्दुबाट शरिरलाई छोडिदिए पछि एकै चोटि गन्तव्यमा गएर रोकिने । अर्थात “हिँडे पछि हुँईकिने” । बीचमा पुगेपछि “एकछिन रोकिन्छु” भन्न नमिल्ने । सिरिन र दीक्षाले भने ठाडो चिप्लेटि पनि खेले । मेरो भने आँट पुगेन ।
जलबिहार पछि हामी भूमिविहार तिर लाग्यौ । ५९ नँ को खेलस्थल नजिकै रहेको पन्जाबी ढाबामा खाना खाईयो । जमिनको समूहतिर रहेका खेलहरुमा सबैभन्दा आकर्षणको केन्द्रमा थियो- सट एण्ड पुल खेल । यसको रुप र चाल देखेर हामी मध्ये तीन जनाले आँट गरेनौ । तर छोरीले भने जिद्धि गरी । उसले पटक पटक दाईलाई साथ गै दिने आग्रह गरी । आखिर उसकै जीत भयो । सिरिन र दीक्षा खेल्ने लामको पुछारमा गएर उभिए ।  
चारकुने सँरचनाको चार तिर छ, छ जनाको समूहमा लहरै कुर्सिमा बसे जस्तो चौबिस जना बस्न मिल्ने सुविधा थियो । सँरचनाको बीचमा लगभग एक सय मिटर अग्लो बडेमानको मियो ठिङ्ग उभिएको थियो। सबै जनाको सुरक्षा सँयन्त्रले शरिर टमक्क बाँधेपछि स्पीकरमा ठूलो आवाज आयो ।
“सट एण्ड पुल खेलमा यहाँहरुलाई स्वागत छ । अब खेलको काउण्ट डाउन शुरु हुन्छ । दश, नौ, आठ………….तीन, दुई एक ।”
गन्ती अन्त्य हुनासाथ चौबिस जना खेलाडी बोकेको त्यो चारकुने सँरचना केन्द्र भागमा रहेको मियोको आड लिएर आकाश तिर एकै झट्कामा हुँईकियो । सबैजनाको सामूहिक चित्कार “आ……………ई” सुनियो । त्यस पछि तल झर्ने र माथी हुँईकने क्रिया प्रतिकृया केही बेर कायाम रहे । मेरो काम भने मोवाईलमा भिडियो र तस्विर खिच्नु थियो । त्यस्तो चलायामान साधनको भिडियो खिच्न अभ्यस्त नभएको हुनाले आफ्नो बुद्धिले भ्याए सम्म भरमग्दुर प्रयास गरेँ । खेल सकेर दुवैजना ठूलो बाजी जितेको भावले हँसिलो मुद्रामा हामी तिर आए ।
लोअर परेल भन्ने ठाँउको एक थाई-बरमिज रेष्टुरेण्टमा हाम्रो रात्रीकालिन भोजनको कार्यक्रम बन्यो। उबर क्याबले अलिक टाढै छोडिदिएकोले केहीबेर हिँड्नु पर्यो । तर गुगल म्यापको सहारामा गल्ली भित्र अवस्थित ‘उसागो’  नाम गरेको त्यो रेष्टुरेन्ट पनि सहजै फेला पर्यो । हाम्रो भोजनमा फेरी समुद्रि जलचर नै प्राथमिकतामा परे । तर उसागीमा भने एउटा अविस्मरणीय रोचक घटना घट्यो । 
हामीले नेपालीमा कुरा गरेको सुनेर हामीलाई परिकार पस्कने एक सेवकले नेपालीमा सोधे-
“तँपाईहरु नेपाली हो ? ”
“हो । तँपाई कहाँको ?”
“कन्चनपुर । हामी धेरै छौ यहाँ । भान्सामा काम गर्नेहरु पनि कन्चनपुरे नेपाली छन ।”
अब हाम्रो बोलचालको भाषा हिन्दीवाट नेपालीमा रुपान्तरण भएको थियो । भित्तिको पुच्छर छिने जस्तो “भाईसाहब” को लामो पुच्छर काटिएर “भाई”  भै सकेको थियो । “म्याड्याम और कुछ ?” को त्यहाँ कुनै अस्तित्व थिएन । रँगमन्चमा “दिदि अरु केही चाहिएला ?” को पदार्पण भएको थियो । औपचारिकता आत्मियतामा बदलियो ।  सँयोगले परिकार पकाउने, टेबलमा ल्याएर पस्किदिने र स्वाद मानी मानी खाने हामी ठूलो परिवार अर्थात एउटै देशका नागरिक थियौ । टेकेको भुँईमात्र मात्र नेपाल थिएन । त्यो मौलिक क्षणको अर्को रोचक पक्ष परिकार सूचिमा मोमो हुनु पनि थियो । मोमो पनि माग गर्नेकी भन्ने कुराकानी भएको थियो । तर अरु परिकारले नै मिचेका थिए ।
हामी भोजनको अन्तिम चरणमा पुगेका थियौ । एउटा सानो ढाकी टेबलमा आई पुग्यो ।
“यो त मोमो रहेछ ।” छोरीले ढाकीको बिर्को खोल्दै भनी ।
“ए भाई ! मोमो त कुरा मात्र भएको थियो तर अर्डर भएको थिएन त ।”
“यो नेपाली भाईहरुको तर्फवाट तँपाईहरुलाई कोसेली ।”
हामी नतमस्तक भयौ । गर्वले शिर ठाडो भयो ।  हर्षले मन चुम्यो । म पाँचथरमा जन्मेको नेपाली । हामी पूर्वेली । उनीहरु सुदुर पश्चिमका । जीवनमा पहिलो पल्ट भेट हुँदैछ । एकै छिन अघि सम्म अपरिचित । तर हामी एउटै देशका । एउटै भाषा बोल्ने । नाता यति त हो । तर कत्रो सदभाव ! कत्रो पर्म ! कत्रो गुन ! कत्रो सत्कार ! आफ्नो पोल्टामा भएको सबैभन्दा गहकिलो पोको फुत्त अर्कालाई दिनु । यो भन्दा महान अरु के हुन सक्ला । धन्य ! मैले नेपाली भएर जन्म लिन पाँए । यति त हो । नगर्दा पनि हुन्थ्यो । नबोल्दा पनि हुन्थ्यो । कोसेली न दिए पनि हुन्थ्यो । तर देखे पछि, बोले पछि, भेटे पछि त्यो आफैँ हुन्छ । भित्रैवाट गरौ गरौ लाग्छ । मन लाग्छ ।  एउटा नेपालीले अर्को नेपालीलाई गर्नु पर्ने सबैभन्दा विशिष्ट कर्म यही हो ।
अर्को दिन भिस्टारा विमान सेवावाट गोवा जाने अग्रिम योजना थियो । काठमाण्डौ आएका बेलामा सिरिनले मुम्बई-गोवाको हवाई र गोवा-मुम्बईको रेलको टिकट किनिदिनुका साथै गोवाको होटल पनि आरक्षण गरिदिएको थयो । यो सब काम उसले  ईन्टरनेट मार्फत गरेको थियो । आफ्नो मुम्बईमा रहेको बैँकको खाता प्रयोग गरि अग्रिम भुक्तानी समेत गरिदिएको थियो । ईण्डियामा विगतमा भएको सूचना प्रविधिको विकास र यसको समाजका तल्लो तप्का सम्म गरिएको प्रयोग प्रशँशनीय छ । सँचार क्षेत्रमा भने हाम्रो मुलुकमा पनि धेरै प्रगति भएको छ । अहिले मोवाईल प्रयोगकर्ताहरु देशका कुना कुनामा पुगे । तर उबर क्याब र ईन्टरनेट पेमेन्ट जस्ता पद्धति भित्र्याउन भने हामी पछि परेका छौ ।
भारतको अग्रपङ्क्तिको उद्दमगृह ‘टाटा’ को लगानीमा शुरु भएको रहेछ-भिस्ताराको सेवा । टिकट जाँच कक्षदेखि लिएर परिचारिकाको सेवासम्म खोट लगाउने कुनै अँश फेला परेन । सरसफाई देखि लिएर यात्रु सँगको व्यवहार सराहनीय थियो । त्यत्रो लामो इतिहास भएको  नेपाल वायु सेवालाई भिस्टारासँग तुलना गर्न पुग्छु म ।
जहाजमा एउटा भने खट्किने घटना सिर्जना भयो । हामी सँयोगवश अन्तिम सिटमा थियौँ । हाम्रा अघि दाहिने र देब्रेतिर गरि करिब दश जना जतिको समूह थियो । उनीहरु ठूलो ठूलो स्वरमा गैर हिन्दी भाषामा कुरा गर्थे । उडान शुरु हुना साथ आफैले ल्याएको समोसा हसुर्न थाले । जहाज उड्न लाग्दा पनि एउटाले भने मोवाईलमा सँवाद जारी राखेकोले परिचारिकाको हप्की खायो । उनीहरु जहाज भित्र छन । जहाजमा अरु पनि यात्रु छन् । जहाजमा यात्रा गर्दाका लिखित र अलिखित दुवै नियम पालना गर्नु पर्छ । एक जना मित्रले ‘सरोकारवालाको सहभागिता’ शब्दजोडीको परिभाषा दिँदै एक पटक भनेका थिए ।
“जहाजमा यात्रा गर्दा तँपाई एक सरोकारवाला पक्कै बन्नु हुन्छ । तर तँपाईले तोकिएको सिटमा बस्नु पर्छ । सीटको पेटी बाँध्नु पर्छ । परिकार छनौट गर्न सक्नु हुन्छ । सरोकार छ नि त भन्दैमा ककपिट भित्र जाने वा त्यहाँ गएर जहाज उडाउन सघाउने ईच्छा गर्नु भयो भने त्यो अमान्य हुन्छ ।”
तर यी अग्रपङ्तिमा बसेका मान्छेहरु राक्षसी प्रवृतिका लाग्थे । जहाज धावन मार्गमा गुडिसक्दा पनि जबरजस्ती उठ्न खोज्थे । परिचारिकाले केही भन्दा नाजावाफ देखिन्थे । तर एक छिन पछि केही त्यस्तै हर्कत गर्थे । यो मामिलामा जापान या कोरियाले धेरै प्रगति गरेका छन । लाम लाग्दा, समूहमा हिँड्दा वा सेवा लिँदा अनुशासनको पालना गर्ने त्यहाँ जस्तो जमात शायद अन्यत्र नहोला ।    
जहाजले गोवा विमानस्थलमा शकुशल अवतरण गर्यो । अन्तिम सिटमा बसेको हुनाले म ओर्लने पनि अन्तिम व्यक्ति बने । मधुर मुस्कानका साथ परिचारिकाहरुले बिदाई गरे । मेरा अघि बसेका दैत्य रुप धारण गरेका पात्रको तुलनामा आफूलाई फरक सावित गर्ने लहड चल्यो । तर त्यसको लागि के गर्ने त ? एउटा उपाय सुझ्यो ।  परिचारिका सँग अन्तिम तर मीठो अनौपचारिक सम्वाद गर्ने ।
“यो जहाजमा कतिवटा सिट छन् त ?” मैले मुस्कान पस्किरहेकी परिचारिकासँग आँखा जुधाउँदै सोधेँ ।
“एक सय अटचालिस छन, सर !” सम्भवत: उनको अभिव्यक्तिमा रहेको सँख्याको जानकारी भन्दा अन्तिमको ‘सर’ सम्बोधन प्रिय थियो ।
फूलको जवाफ फूलले नै दिँए । “फुलको आँखामा फुलै सँसार” । त्यसै भनिएको हैन ।   
“विवेकीले मौका पारेर काँडाले पनि सियोको काम लिन सक्छ ।” भने जस्तै मैले पनि यी दानवी प्रवृतिका झुण्डवाट एक काम लिन समर्थ भएँ । सामान संकलन गर्न दुई तिरका सर्ने पेटी चालु थिए । म एकैछिन अन्यौलमा परेको थिएँ । सूचना खोज्न लागेँ । तर यो झुण्ड हल्ला गर्दै दोस्रो स्थान तिर लाग्यो । म पनि त्यतै लागेँ । नभन्दै हाम्रो सामान त्यसैमा भेटियो ।
अग्रिम शुल्क तिरिएको ट्याक्सी लिने लामै लाईन रहेछ । म पनि त्यसको पुच्छरको एक अँश भएँ । छ सय पचासको बिल बन्यो । भाडा भने सवारी चालकले नै पाउने नियम रहेछ । तर यति हुँदा हुँदै पनि बाटोमा भने उसले चुलोमा अर्को भाँडो बसाल्ने कोशिष गर्न थाल्यो । “डन्ट कुक अन सेभेरल स्टोभ्स” अर्थात “धेरैवटा भाँडामा नपकाउ” भन्ने यो उखान बैँककमा हुँदा जर्मनका एक प्राध्यापकले सुनाएका थिए । बडो सान्दर्भिक लाग्छ यस्ता वेलामा ।
“ ओयो रुम भन्ने सेवा गतिलो हुँदैन । कहिले होटल भेटिन्न । खै तिम्रो होटलको पनि ठेगाना स्पष्ट छैन । समुद्र किनारमा कस्ता राम्रै सुविधा भएका होटल पाईन्छन् ।” आदि । चालकको भनाईको आशय थियो ।
 यस्तै वेला त हो मोवाइलको फाइदा । तर मैले मुश्किलले ओयोको ग्राहक सेवा केन्द्र मार्फत चालक सँग सम्पर्क गराएँ । सेवा केन्द्रले उसालई होटलको ठेगाना अर्थ्याईदियो । यसैले उसका दाबी र तर्कमा हाम्रो ध्यान गएन ।  त्यसपछि उसको मुखमा बडेमानको बुझो लाग्यो ।    
‘ओयो रुम’ भन्ने यो सुविधा उपलब्ध गराउने काम खासमा एक ‘बिचौलिया’ कम्पनीले गर्दो रहेछ । लगभग चालिस मिनटको यात्रा पछि हामी ‘फोर पिलर’ नामको होटेल पुग्यौँ ।
तर होटलमा पुग्ना साथ “पहिलो गाँसमा नै ढुङ्गा” को उखान चरितार्थ भयो । सर्वप्रथम त होटल अलि निर्जन ठाँउमा रहेछ । दोस्रो-ईन्टरनेट सुविधाको लागि आवश्यक वाईफाई पनि उपलब्ध रहेनछ । तेस्रो-तिन व्यक्तिको मूल्य तिरिएको भएता आरक्षित कोठामा बेड भने दुई मात्र । श्रीमती र छोरीको दिक्कलाग्दो प्रतिकृया आयो । तर के गर्ने ? समस्या निस्कियो भनेर प्रतिकृया दिनु मात्रको कुनै अर्थ हुँदैन । म समाधान खोज्न तिर लागेँ । सम्झौता भयो । अर्को कोठा उपलब्ध गराईयो ।    
गोवाको पहिलो दिन पर्यटकलाई घुमाउने बसबाट यात्रा गर्ने निधो भयो । दुई विकल्प थिए ।  समुद्री किनारमा अवस्थित पर्यटकिय स्थलहरुको बाहुल्यता भएको उत्तरी भेक जाने कि ? मन्दिर र चर्च को बाहुल्यता भएको दक्षिणि भेक जाने ? हाम्रो रोजाईमा पहिलो पर्नु अस्वभाविक थिएन । तर तोकिएको समय भन्दा आधा घण्टा ढिलो आएको बसले अरु डेढ घण्टा यात्रु संकलन गर्दैमा बितायो ।
जे होस हामी कोको समुद्री तट पुग्दा विहानको एघार बजिसकेको थियो । यो पहिलो गन्तव्यको प्रमुख आकर्षण थिए- कोको समुद्रमा नौकाबिहार र डल्फिनको डुबुल्कीको दृष्यपान । हाम्रा पथप्रदर्शक मित्र बडा रसिला रहेछन् । उनका चोटिला अभिव्यक्तिले हामीलाई मन्त्रमुग्ध बनायो ।
“साईत पर्यो भने दुई डल्फिन एकै साथ देख्नु हुनेछ । ती मायामा बाँधिएका प्रेमी र प्रेमिका जोडि हुन भन्ने बुझ्नु होला । तर यहाँ तँपाईहरुले पारपाचुके गरेका श्रीमान र श्रीमती मात्र भेट्नु हुनेछ ।”
यो स्मरणीय बयान उनैको थियो । यसले कुनै रोचक गतिबिधि नपाएर ओईलाएका यात्रु गलल हाँसेका थिए ।
ब्यागाटर समुद्री तटको अवलोकनका लागि प्रस्थान गर्नु अघि भ्रमण सहजकर्ता मित्रले अर्को महत्वपूर्ण जानकारी दिए ।  
“यो समुद्र तटको चट्टान लोकप्रिय हुनुको विशेष कारण छ । रँगिला फिल्मकी नायिका उर्मिला मन्टोनडकरले यहि चट्टानमा नाचेकी थिईन । तर आज त्यहाँ तँपाईहरुले चट्टान चैँ देख्नु हुनेछ तर त्यहाँ उर्मिला भने भेटिने छैनन् ।“    
कालागुँटे तटमा भने हामीले साढे एक घण्टा बिताउन पायौँ । सुन जस्तो बालुवा र सागरको कन्चन पानीले हाम्रो दिल खोलेर स्वागत गरे । यहाँ भने पर्यटकको घुँईचो नै देखियो ।   
गोवाको एउटा विशेषता भने नरिवलका रुख मिसिएको जँगल रहेछ । यस्ता सुरिला रुखहरु आकाशै छुने गरी अग्ला भएका लाग्छ मलाई । नरिवलका रुखले आकाशमा बनाएको छाता हेरिरहुँ जस्तो लाग्छ ।  वनजँगलको सघनता र पानीको प्रचुरता गोवाका गहना रहेछन् । समुद्रको अलावा ठूला ठूला पानीका दहहरु र नदीहरु पनि बाक्लै देखिए ।   
गोवा भ्रमणको दोस्रो दिन पनि हामीले कालागुँटे सागरमा नै बितायौँ । हामी बसेको ठाँउ पान्जिमबाट सार्वजनिक बसमा त्यहाँ पुग्यौँ । यो यात्रा दुरीको हिसाबमा १६ किमी, भाडाको हिसाबमा भारु २५ र समयको हिसाबमा एक घण्टाको थियो । गोवामा ट्याक्सीको भाडा भने प्रति किमी सालाखाला रु २५ पर्दो रहेछ । बस मालिक, प्रहरी, महिला सहायता र बालबालिकाको सहायताका सम्पर्क फोन नँ हरु बसका भित्तामा लेखेको मन पर्यो । यस्तै बसको सीटको सँख्या र उभिने संख्या पनि स्पष्ट लेखिएको पाईयो ।    
हामीले पानीका छालसँग अरु पर्यटक जस्तै कुस्ती खेल्यौ । स्थिर पानीमा डुबुल्की मार्दा मात्र शरीर भिज्दछ भने निश्चित उचाई भएको गतिशिल पानीमा खाली उभिए मात्र पुग्छ । परवाट सर्दै आएका उर्जाशील छालहरु किनारमा पुगे पछि अस्तित्व विहिन हुने । बडो रमाईलो भयो । बालुवाको विस्कुनको पनि मजा लिँदै हामीले अधिकांश समय सागरमा नै बितायौं । त्यसपछि हामी बजार घुम्न गयौँ । गोवाको केही न केही कोसेली ल्याउने रहर थियो । पान्जिम र कालगुँटेका बजारको एक मुख्य आकर्षणको रुपमा काजुका पसलहरु देखिए । ठाउँ ठाउँमा खुद्रा बिक्रेता । कुनै कुनै थोक बिक्रेताका साईनबोर्डहरु पनि देखिए । हामी गल्लीतिर अलि एकान्तको एउटा पसलमा पुग्यौ । विभिन्न किसिम र विभिन्न दामका काजुका पोकाहरु देखिए । बोक्रा भएको, बोक्रा नभएको, सतहमा चकलेट राखिएको जस्ता काजुका प्रकारहरु देखिए । काजुबाट बनेका चकलेटहरु पनि हुँदा रहेछन् । काजुले गोवाको कोसेलीको रुप धारण गर्न बेर लागेन । गोवाकै उपज ल्याउन पाएकोमा हामी दँगदास भयौँ ।        
अर्को दिन मारगाँउबाट रेल चढेर मुम्बई आउने योजना थियो । दुरन्तो एक्सप्रेसको टिकट थियो । हामी रेल छुट्ने निर्धारित समय भन्दा एक घण्टा अगावै स्टेशन आईपुगेका थियौ । एक छिन त दुरन्तो रेलको बारेमा कुनै जानकारी नभेटेर रनभुल्लमा परेका थियौँ । गोवामा ठाउँको नामले पनि अलमल्ल पार्दो रहेछ । “यम ए डि” को हिज्जे भएकोले मैले त शुरुमा यसलाई म्याडगाउँ भने । यसको शाब्दिक अर्थ हुन्छ-पागल गाउँ । यसले मैले अहिले सम्म पढ्न नभ्याएको तर पढ्ने सूचिमा राखेको सरुभक्तको कृति पागल बस्तीको स्मरण गरायो ।
रेलको यात्रा आरामदायी नै भयो । तीन पटक त खाना नै वितरण गर्दो रहेछ । रेल भित्रको वातानुकुलित सुविधाले गर्दा भने अलि जाडो महशुश भयो । शायद वातावरणको तापक्रम सँग तालमेल हुन नसकेर होला ।   
हामीले मुम्बाईमा पुन एक रात बितायौँ ।  
काठमाडौं  आउने फिर्ति उडान समय अपरान्ह ५:२५ को थियो । यसैले बिहान मुम्बईका प्रख्यात देवता सिद्धिविनायकको दर्शन गर्न जाने योजना बन्यो । सम्भवत मैले दर्शन गरेका गणेशजीका मन्दिरहर मध्ये यो अहिले सम्मकै ठूलो थियो । मन्दिर जाँदा पनि प्रहरी चेक जाँच हुने नियम चै अनौठो नै लाग्यो । नेपालमा मैले दर्शन गरेका गणेशजीका आस्था पीठहरु कमलादीको सिद्धि विनायक, खोकनाको कार्यविनायक, चोभारको जलविनायक र वातावरण मन्त्रालय सिँहदरबारको बुद्धिविनायकको स्मरण ताजा भयो । व्यवस्थित लाईन, सफा परिसर, चिटिक्क परेका सफा लुगा लगाएका पुजारीहरु र मन्दिर व्यवस्थापन समितिले नै वितरण गरेर बेच्ने पोका-प्रसाद आदि आकर्षणका केन्द्र बने ।     
भिस्टारा वायु सेवा वाट गोवा जाँदा अन्तिम घडीमा मात्र विमानस्थल पुगेकाले यस पटक भने हामी चनाखो भएका थियौ । यसैले टिकट जाँचकक्षमा पुग्दा काउण्टर खुलेकै थिएन । तर यसपटक भने नेपाल वायु सेवाको उडान निर्धारित समयमा नै छ भन्ने जानकारीले हामीलाई उत्साहित बनायो । अध्यागमन कक्षको समेत काम सकेर ड्युटि फ्रि क्षेत्रमा पुग्दा पनि हामी सँग दुई घण्टा समय बाँकी थियो । अब के गर्ने ? प्रश्न उभियो । मलाई भने कतिखेर समय पाईएला र यो नियात्राका शब्दहरु टँकन गर्न पाईएला भन्ने थियो । तर सहयात्री श्रीमति र छोरीलाई अल्झाउने काम न भै यो सँभव थिएन । चमेना गृहमा गएर हामीले केही पेय पदार्थ र खाजा खायौँ । त्यसपछि लाग्यौ-वाईफाईको खोजीमा । कसैले जानकारी दियो- यो सूचना कक्षमा पाईन्छ । हामी त्यसकै खोजीमा लाग्यौ । एक जना गाढा रातो साडी लगाएकी युवती सेवामा हाजिर भेटिईन । उनले हाम्रो पासपोर्ट र बोर्डिङ् पास मागेर रजिष्टरमा विवरण भर्न थालिन । त्यस पछि हामी लाई गोप्य सँकेत भएका दुईवटा चिट दिईन । जाबो वाईफाईको सुविधा दिन पनि यो परम्परागत तरिका प्रयोग गरेको देखेर मुम्बई विमानस्थललाई पूर्ण आधुनिक हुन अझै समय लाग्ने देखेँ । किनभने आजभोलि अरु विमानस्थलमा वाईफाई भनेको कुनै औपचारिकता विना सित्तैमा प्रयोग गर्न पाईन्छ । यसैलाई चुरो बनाएर मैले ति युवतीसँग एक अनौपचारिक प्रसँग सिर्जना गरेँ ।
“सहयोगको लागि धन्यवाद ।’ मेरो अभिव्यक्ति  ।  
“तपाईलाई स्वागत छ ।” युवतीको जवाफ ।  
“म आशा गर्छु यात्रुको नाम लेखेर दर्ता गर्ने यो तरिकाले चाँडै विश्राम पाओस । यसलाई डिजिटल पद्धतिले विस्थापन गरोस ।” मैले उनको अगाडिको खाताका भरिएका पृष्ट देखाउँदै भने ।
“……………….।” जवाफमा उनका शब्द निस्केनन् । अहिलेसम्म गम्भीर भाव पोतिएको अनुहारमा एकाएक जँगलको बीचमा फूल फुलेझैँ मुस्कान उम्रियो । त्यसले सुनमा सुगन्ध थप्यो । एकाएक लालुपातेको फेद देखि शिर सम्म नै ‘लालीमय’ भयो । मुम्बई-गोवा यात्राको सबैभन्दा अन्तिम मुस्कान पनि यहि बन्यो ।   
नेपाल वायु सेवा निगमले फेरी अनिश्चितता पस्केको थियो । अपरान्हको ५:२५ को उडान समय भएता पनि जहाज ६ बजे मात्र अवतरण गरेको थियो । निर्धारित समय भन्दा एक घण्टा ढिलो मात्र हामीले विमानमा प्रवेश गर्न पाएका थियौँ भने लगभग अर्को एक घण्टा धावन मार्गमा उड्नका लागि पर्खनु परेको थियो । यो यात्रामा नेपाल वायू सेवाले पस्केको अन्तिम गाँसको ढुँगा बन्यो- साम्यवादी खानाको परिकार । रोजाईको अवसर थिएन । शाकाहारी परिकार मात्र थियो । ‘किन यस्तो’ भन्ने प्रश्नको गैरजिम्मेबारी उत्तर आयो।
“मांशाहारी परिकार सिरानतिर बसेका यात्रुलाई बाँडेर सकियो ।”
जबकी जहाज आधा मात्र भरिएको थियो र हामी बीच भाग तिर बसेका थियौ ।
महाराष्ट्र र गोवामा “न” को ठाँउमा ”ण” को प्रयोग अधिक हुँदो रहेछ । जस्तै- ‘पानी’ लाई ‘पाणी’, ‘अनि’ लाई ‘अणि’, ‘पान्जिम’ लाई ‘पणजी’ आदि भनिदो रहेछ। रीता र दिक्षाले मलाई पनि “णवराज” भनेर जिस्क्याए । मैले पनि ‘न’ र ‘ण’ को विस्थापन गरेर एक वाक्यको अनौठो कल्पना गरेँ । 
‘णवराज अणि णमुणाले णहरको पाणीले णुहाए ।‘
अर्थात
‘नवराज अनि नमुनाले नहरको पानी ले नुहाए ।‘
साभार :  http://ujyaaloonline.com/news/52861/blog/