Thursday, June 9, 2016

सूर्य दर्शन र नयाँ दृष्टि




कार्तिक मसान्तको सँघार । नेपालको पुर्वी तराई । मिर्मिरे विहानले छोडेका आला पदचापहरु । म आकाशमा छु । जमिनवाट एक तला माथी । पुर्व फर्किएको छु । पद्मासनमा वसेको छु । एक तमासले प्राणायाम गरिरहेको छु । वन्द आँखा । कोही छैन वरिपरी । नितान्त एक्लो म । ध्यान छ प्रकृतिमा विद्यमान आवाजमा । यसो गर्दाको आनन्द नै अर्को छ ।

योग साधना केन्द्रमा पूर्ण ध्यानको अध्याय सकेपछि मैले धेरै जना साधक साधिकालाई यो प्रश्न सोधेको छु ।

ध्यान गर्दा प्रकृतिमा रहेको कुन कुन आवाज सुन्नु भयो त ?”

विभिन्न किसिमका उत्तर आँउछन् । केही पनि सुनिएन । कुखुरी काँ । परेवाको घुरघुर । भँगेराको चिरिविरी । मान्छे वोलेको । मन्दिरमा घण्टि वजेको । गाडिको हर्न । आदि । आँखा चिम्लेर राम्ररी सुन्ने हो भने केही न केही पक्कै सुनिन्छ । प्रकृतिमा जहिले पनि जहाँ पनि केही न केही आवाज हुन्छ । कृत्रिम आवाज उत्पन्न गर्ने साधन नभएका निर्जन ठाँउमा पनि ध्वनीका अँशहरु यथेष्ट हुन्छन् । शुन्य आवाज भएको स्थान वा समय शायद नहुँदो हो । भए पनि त्यो यो चराचर जगत भन्दा वाहिर होला । साहित्यकारको कथामा होला । वातावरण विज्ञको कल्पनामा होला । केही बर्ष अघि मेरा अनन्य मित्र डेभिड ग्रिन र म पर्सा वन्यजन्तु आरक्षमा ध्वनी मापक यन्त्र लिएर पुगेका थियौ । सडकवाट पाँच किलोमिटर जति भित्र पसेर जँगलको आवाज नापेका थियौ हामीले । सवारी साधनको आवाज नसुनिने त्यो घना जँगलमा ५५ डेसिवेल को अँक देखिएको थियो । पात वजेको वा किराहरुको बोली समेटिएको त्यो समष्टिगत रुपलाई पृष्टभूमिको आवाज भनिन्छ । जसको आधारमा कुनै स्थानमा ध्वनि प्रदुषण छ कि छैन भन्ने कुराको यकिन गरिन्छ । यसकारण ध्यान गर्दा केही पनि सुनिएन भन्नु को अर्थ साधक या सधिकाको ध्यान प्रकृतिको आवाज सुन्ने तिर भन्दा अन्यत्रै गएको ठहर्छ भन्ने मेरो बुझाई रहेको छ ।     

म आँखा खोल्छु । राम्रो उज्यालो भै सकेको छ । दृष्टि रेखामा छ छिमेकीको घर  । दुवै तिर नरिवलका रुख । नरिवलका छिमेकी छन केराका वोटहरु । नरिवलको तुलना हिम पर्वत सँग गर्ने हो भने केराको वोट हुन्छ चुरे पहाड । तर तिनको श्री आफैमा पुर्ण छ । भुँईमा शोभा दिएका छन । नरिवलको तुलनामा तिनको उपस्थिति वाक्लो छ ।  भुँईमा उभिएका लगभग एक तला को उचाईका अग्ला राता फुलका वोटले रगँमन्चमा थप शोभा दिएका छन । नरिवलका पातले आकाशमा पुन्ज वनाएका छन । छाता जस्तो आकार छ । तर उघ्रिएको छाताले अर्ध-गोला वनाउँछ भने नरिवलका पातले समग्रमा पूर्ण गोला । नरिवलका पातहरु छिद्र छिद्र परेका छन् । ती छिद्रवाट नछेकिएको आकाश देखिन्छ । सुरिलो रुखले ति पात पुन्जलाई जमिनसँग जोडेको छ । जसरी मेरो शरिरलाई घरका भित्ताहरुले धर्तिमा जोडेका छन । प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा जे जे सँग पनि जोडिएको छ । आकाश पनि जमिन सँग जोडिएको छ । म तपाई सँग । अनि तँपाई र म दुवै जना उ सँग । यो जोड अर्थात योगको विज्ञान पनि अचम्मको छ । सामान्य वीजगणितिय जोडमा एकमा एक जोड्दा दुई हुन्छ । एक मा एक घटाउँदा शुन्य वाँकी रहन्छ । तर गणितको क्षेत्र भन्दा वाहिर यो नियम नलाग्न सक्छ । महाकवि लक्ष्मिप्रसाद देवकोटाले पागल कवितामा यो जोड घटाउको नयाँ विज्ञान यसरी परिभाषित गरेका छन् ।

तिमी चतुर छौ वाचाल
तिम्रो शुद्ध गणित-सूत्र हरहमेशा चलिरहेको छ
मेरो गणितमा एक वाट एक झिक एकै वाँकी रहन्छ !

गणितको सिमित सँसार बुझेका सामान्य जनहरुलाई यो महाकविको परिभाषा अपत्यारिलो लाग्न सक्छ । आफ्नो दिमागको कित्ता वाहिर गएर कुनै विषयमा निचोड निकाल्नु पर्यो भने सामान्य व्यक्तिले भन्न सक्छ- यो त दैवी चमत्कार भयो वा कसैको पागलपन हो । जीवन र जगतलाई वुझ्ने विषयमा होस या विज्ञान वा अध्यात्मको वुझाईमा होस यो समस्या जो सँग पनि हुन्छ ।  यो मेरो कित्ता वाहिरको विषय हो यसैले मैले निचोड निकाल्नुको अर्थ नलाग्न सक्छभनेर कित्ताकाट गर्ने सामर्थ्य धेरै कम सँग मात्र हुन्छ ।  

अलि अलि तुवालो र चिसो को मिश्रण छ । म विस्तारै प्राणायामको धारले अघि सम्मको शारिरिक आलस्यतालाई चिर्ने प्रयास गर्छु । तर विगत केही महिनामा सँकलन भएको जडताको अँश अधिक नै छ । जडताले शरिर र मन दुवैलाई गाँजेको छ । शरिर र मनको अन्योन्याश्रित सम्बन्ध छ । मनले नमाने पछि शरिरले मान्ने कुरा भएन ।  दह भएर जमेको जडताको तुलनामा मेरो प्रयासको प्रवाह निम्छरो ठहर्छ । तर एकाएक यथास्थिति चिरिन्छ । एक किसिमको रोमान्चले मन भरिन्छ । अघि सम्मको आलस्य र स्थिरता मिसिएको परिवेशमामा एकाएक आनन्द र हर्षको वर्षा हुन्छ । पिपलको जराले चट्टान दुई फ्याक पारेको अनुभूति हुन्छ ।  मेरो वरिपरि विद्यमान परिवेशको अवस्थामा एका एक परिवर्तन आँउछ । स्थिर वातावरण एकाएक चलायामान हुन्छ । यो गतिशिलताको आगमन सँगै म भित्र आसन्न अप्रसन्नताको विलय हुन्छ । ठोस वरफलाई मुग्राले हिर्काएर फुटाएको जस्तो । म भित्र जमेको आलस्यले घनिभूत जडताको पोको पनि परिस्थितीको यो प्रहारले थिचिएर धुलोपिठो हुन्छ ।  दृष्टि रेखामा छिमेकीको घरको माथी आकाशमा गोलाकार ताप पुन्जको उदय हुन्छ । मेरो लागि त्यो आकस्मिकता । प्रकृतिको लागि त नित्य कर्म ।   सूर्योदयको चेतना मलाई नभएको होईन । तर त्यो क्षणमा मेरो ध्यान त्यस विषयमा थिएन । ध्यान गर्नेले पृष्टभमिको आवाज नसुनेको जस्तो ।

योग साधना केन्द्रमा सूर्य नमस्कार गर्नु भन्दा अघि मन्त्रोच्चारणका साथ साथै भन्ने गरिएको छ ।
हे! प्रभु ! मेरो जीवन पनि हजुरको जस्तै तेजवान होस । हरेक दिन हरेक क्षण म भित्र अन्तरनिहित अथाह उर्जालाई प्रयोग गर्न सँकु । मेरो जीवन पद्धति पनि हजुरको जस्तै अनुशासित होस । म  पनि मेरा हरेक कर्मलाई पूर्णता दिन सकुँ । तिनलाई समयको साईतमा सम्पन्न गर्न सकुँ । हरेक वर्ष, हरेक दिन र हरेक सेकेण्ड अविछिन्नता पस्कन सँकु । मेरो अन्तस्करणमा त्यो क्षमता कहिले पनि नटुटोस ।   

म पनि मन्त्र उच्चारण गर्दै सूर्य नमस्कार गर्छु । अनि म त्यो आकस्मिकतालाई परिभाषित गर्ने विशेषणहरुको गर्न खोजीमा लाग्छु ।  सहजता । शालिनता । नियमितता । जाज्वल्यमान रुप । पूर्णता । उर्जाको अथाह श्रोत । शक्तिको विराट स्वरुप । अनुशासनको अलौकिक उदाहरण । अहिले त एक टक लगाएर पनि हेर्न सकिन्छ । भक्तालुहरु खुशीले भाव व्यक्त गर्दा हुन- हो पक्कै हो । सूर्य नारायणको उदय भएको हो । आकाशमा निलो, सेतो र रातोको मिश्रण भएको पृष्टभूमि । पूर्ण गोलाकार रुप । रँग रातो । घर कै माथी । मानौ सूर्य को उदयलाई नरिवलका रुखले वाटो छोडिदिएका छन ।

जगदीश घिमिरेले लेखे-
बिहान दस मिनेट राम्ररी सूर्य नमस्कार गर्दा लगभग दिनभरिलाई पुग्ने व्यायाम हुन्छ । सूर्य नमस्कार यौगिक र गतिशिल एरोबिक व्यायामका सबै उत्कृष्ट तत्वले परिपूर्ण समग्र व्यायाम हो ।

तपस्याले या नित्य पालना गरिएको अनुशासनले जीवन सफल हुन सक्छ । नियमित साधनाले चिताएको पुग्न सक्छ । तर जगदीश घिमिरेले भनेको जस्तो कठोर अनुशासनको काम  गर्न सजिलो छैन । राम्रो वानी पार्न सहज हुँदैन । यस विषयमा अर्ति दिन सजिलो छ । पालना गर्न कठिन ।

बिपी कोईरालाले लेखेका छन्-                                         
सूर्य उदयले, गुलाफ फक्रेको कुराले पनि तपाईँलाई रिझाउन सकेन भने तपाईँको जीवनको एउटा पक्ष त सुकेको रहेछ । मरेतुल्य भएको रहेछ, तपाईँले सूर्योदयलाई राम्रो भन्न सक्नुभएन र रोमान्चित हुनुभएन भने । हो, त्यो रोमान्चकता जसले उत्पन्न गर्दछ, त्यही ठाँउमा धर्म पनि बसेको हुन्छ ।

यो अनुच्छेद उल्लेख भएको लेख उनको अन्तिम रचना रहेछ । म ईश्वरलाई कसरी बुझ्दछु ?” भन्ने प्रश्नको उत्तर दिने प्रयास गरेका रहेछन बिपीले त्यो लेखमा । क्यान्सर अस्पतालको छतमा उभिएर अर्ग दिन  सूर्योदय पर्खिएकी युवतीको भक्कानिएको मनलाई नजिकवाट नियाल्दा उनलाई त्यो अनुभूति भएछ । शायद सूर्यलाई पुकारेर उनलाई खनिएको ठूलो सँकटलाई किनारा लगाउने विचार युवतीको थियो । आपद विपदमा मान्छेले प्रयोग गर्ने अन्तिम अस्त्र हो भगवानको पुकारा। कँहि पढेको थिँए भगवानका अरु रुपलाई वाहिरी आँखाले देख्न सकिन्न तर सूर्य भगवानलाई भने जसले पनि आफ्नै वाहिरी आँखाले देख्न सक्छ । सूर्यनारायणलाई देवताका पनि देवताको रुपमा पनि लिईन्छ । जे होस तराईमा विताएको त्यो अविष्मरणिय सूर्योदयको क्षणले मेरो अन्तस्करणमा जुन सुवास फैलाईदियो त्यही अनुभुति बिपीका शब्दहरुमा पाउँदा मलाई हर्ष लागेको छ ।  साँच्चै हो सूर्योदय वा सूर्यास्त हुँदा वा फूल फूलेको देख्दा रोमान्चित नहुने मन वोकेर हिँडेको व्यक्तिको जीन्दगी आनन्दको राजमार्ग छोडेर विषादको जँगलमा भौतारिएको हुन सक्छ । ईश्वरको सिर्जनामा परेको एउटा अलौकिक वस्तु हो- ‘मान्छेको मन। सँसार यसैमा अडिएको छ । मन मा माया छ । मनमा सन्तोष छ । खुशी छ । आनन्द छ । तृष्णा छ । भोक छ । पीडा छ । कलह, ईर्स्या,  आवेग, रिस, औडाहा, हतार, ग्लानी, पश्चाताप, आग्रह, पुर्वाग्रह, कुण्ठा, नैराश्यता सबै मनमा अटाउछँ । तौलन मिल्ने हो भने मान्छेहरुले सुखका मालिकहरु लाई सोध्ने थिए होला- तिमी सँग कति टनको आनन्द छ ?” अनि दुखियाहरु उत्तर दिन्थे होला म सँग हजारौ टनको दु:ख छ । तर मनमा कति अनुभूति राख्न सकिन्छ । भौतिक रुपमा तौलिन शायदै सकिएला ।    

शास्त्रमा भनिएको रहेछ- “मनो जयति यो जयति ब्रम्हाणम् अर्थात जसले मन जित्दछ त्यसले ब्रम्हाण्ड पनि जित्न सक्छ । तर यथार्थ अर्कै छ । जित्नु त परै जावस यसलाई एक मिनट सम्म पनि स्थिर राख्न  कठिन छ । किनभने मन चन्चल छ । अस्थिर छ ।  
एकाएक असाध्य रोगवाट थलिएर जीवनाकाशको उच्चतम विन्दुबाट खसेर न्युनतम विन्दुमा पुगेका उनै जगदिश घिमिरेले लेखे-

आँखा कि अचानक प्रचण्ड अन्धकारबाट पुग्दा तिरमिराउँछन् कि प्रचण्ड उज्यालोबाट प्रचण्ड अन्धकारमा पुग्दा । म जीवनको प्रचण्ड उज्यालोवाट एकाएक प्रचण्ड अन्धकारमा पुगेको थिँए । मेरा आँखा जोडले तिरमिराएका थिए । दिव्य ज्ञानतुल्य त्यो तिरमिरिले मलाई नयाँ दृष्टि दियो ।

मान्छेले भोगेको परिवेशमा दुई किसिमका परिवर्तन हुन सक्छन् । एउटा नितान्त व्यक्तिगत हुन्छ । सोचमा परिवर्तन । आचरणमा परिवर्तन । व्यवहारमा परिवर्तन । चरित्रमा परिवर्तन । रुपको या शारिरिक अवस्थाको परिवर्तन । अर्को आफ्नो वरिपरिको वातावरणमा हुने परिवर्तन । कालखण्डको यथास्थितिमा आएको परिवर्तन । रात र दिन । हिँउद र वर्षात । घाम लागिरहेको वेला पानी पर्नु । अन्धकारलाई चिर्दै उज्यालो हुनु । जगदिश घिमिरे र विपीले औल्याएका परिवर्तन यिनै हुन । मान्छेको जीवनमा या प्रकृतिमा आउने परिवर्तन । प्रकृतिमा आउने परिवर्तन सँग मान्छेले आफ्नो जैविक या मानसिक सँयन्त्रलाई जोड्न सकंछ । त्यसावाट उर्जा लिन सक्छ । त्यसको धारले आफू भित्रको कलुषिता खुर्कन सक्छ । जडताको दहलाई छेक्ने आली भत्काउन सक्छ । विषादलाई विग्रह गर्न सक्छ । अर्थात परिवर्तन अघि र पछिको अवस्थामाको वीचको सङ्क्रमणकाललाई जसले आत्मसात गर्न सक्छ त्यसले सृष्टि गर्न सक्छ या जीवनाकाशमा परिवर्तनको अनुभूति गर्न सक्छ । जगदिश घिमिरेले उल्लेख गरेको तिरिमिरीर बिपीले देखेको रोमान्चकता यही बीचको स्थिति हो । बुझ्नेले त्यहाँ नयाँ दृष्टि पाउन सक्छ । मँसिर सँक्रान्ती-सँघारको त्यो दिनको मिर्मिरेमा सूर्योदयको अनुभूतिले मेरो जडता च्यातिएको थियो । आलस्यताको पोको फुटेको थियो । त्यहाँ मैले यो लेखलेख्ने दृष्टि पाएको थिँए ।    

माथी उल्लेखित बिपीको लेखमा उनले ईश्वर सम्बन्धि गहन विचार उल्लेख गरेका छन । क्यान्सर अस्पतालको छतमा भेटिएकी युवतीको पुकारा सुनेर ईश्वरले उनलाई केही सहयोग गर्लान भन्ने कुरामा बिपीलाई विश्वास थिएन । किनभने उनले लेखे- अधबैँसे थिई, त्यसै हुनाले आफ्ना दुलाहाका लागि होला वा छोरा वा छोरीका लागि होला, ऊ प्रार्थाना गरिरहेकी थिई । अब देवताले त्यसलाई सुन्ने ? कतिलाई सुन्ने ? ………..त्यही स्वास्नीमान्छे जसले क्यान्सर अस्पतालमा त्यसरी रोई, त्यसको मलाई छाप परेको छ, मैले केही गर्न सक्ने भए त्यसको लागि त म केही गर्ने थिँए भन्ने लागेको छ ।

 वास्तवमा यस्ता प्रश्नको उत्तर दिन कठिन छ । सँसारमा अरबौ नरनारी छन । अन्य पशुपन्छी र वनस्पती गरेर खरबौको सँख्या छ ।  तीनलाई सँकट परेको वेलामा ती युवतीले जस्तो ईश्वरको पुकारा गर्ने कैयौ होलान । सबैका समस्या वा चाहना अलग अलग होलान । के ईश्वरले ति सबैलाई वा ति मध्ये चुनिएकालाई सम्बोधन गर्लान त ? यक्ष प्रश्नहरु सिर्जना हुन्छन । अब कि त यी प्रश्नलाई लक्ष्मीप्रसाद देवकोटाले दिएको घटाउको जस्तो उत्तर दिनु पर्यो ? र भन्नु पर्यो यो अध्यात्मको विषय हो । त्यहाँ विधाताको उत्तर दिने नियम अर्कै हुन सक्छ । मान्छेको कित्ताको ज्ञानले उसलाई नै रचना गर्ने सर्जकको कित्ताको प्रश्नको उत्तर दिन सकिन्न । कुवाको भ्यागुत्तोले नदी वा समुद्रको सँसार कल्पना गर्न सक्छ र ?“  

यहाँ निर दुईवटा तर्कहरु मनन योग्य छन । पहिलो हो, नियमित ईश्वरको प्रार्थना वा कुनै अनुशासित गतिविधि जस्तै- मिर्मिरेमा सूर्य नमस्कार गर्दा सबै भन्दा वढी फाईदा पुग्ने भनेको त्यो साधना गर्ने मान्छेलाई नै हो । नगर्ने भन्दा गर्ने मान्छे पक्कै पनि वढी अनुशासित हुन्छ । ईश्वर प्राप्त गर्ला नगर्ला त्यो अनुत्तरित प्रश्न हो तर उसले केही न केही जैविक वा मानसिक उपलब्धी हासिल त पक्कै गर्छ । उसले सतर्कता वा होशमा जीवन जिउन सक्छ । जीवन-यात्रामा तुलनात्मक रुपमा कम जोखिमको सामना गर्छ । असल साधकले ध्यान गर्दा प्रकृतिमा विद्यमान आवाज सुन्नु मात्र त के निरन्तरको साधनाले समाधि नै प्राप्त गर्न सक्छ ।    

दोस्रो,  के प्रार्थना को प्राप्ती हुँदै हुँदै न त ? वा विधाताले कसैको पुकारा सुन्छन त ? भन्ने सामान्य हिसावमा अनुत्तरित प्रश्नहरु हुन । तर विपीले उल्लेख गरेकी युवतीले आफ्नो प्रार्थानाले प्राप्त गरेको र प्रमाण समेत पोखिएको फल भनेको विपीको  पग्लिएको मन हो । युवतीले सूर्य भगवानलाई गरेको पुकारा देख्दा त्यो कृयाकलापका साक्षी बिपीको सहयोग गर्ने मन पलायो ।  यसर्थ मान्छेको मष्तिष्कले कल्पना समेत गर्न नसक्ने अनन्त क्षेत्रफल भएको कित्ताका स्वामी सृष्टिकर्ता, पालनकर्ता र विनाशकर्ताको  मन के नपग्लेला र ? अर्को यक्ष प्रश्न सिर्जना हुन्छ । यसको उत्तर पाउनका लागि म एक अर्को अलौकिक सूर्योदयको पर्खाईमा छु ।

लेख थालनी कार्तिक मसान्त २०७१
उर्लावारी, मोरङ
विट मारेको माघ १८, २०७१
कोटेश्वर, काठमाण्डौ
ईमेल: nawa.khatiwada@gmail.com

भरिया पत्रिका (प्रकाशोन्मुख)    

Wednesday, June 1, 2016

यात्रा होस त यस्तो !




बेलुकी ६ बजे कलंकी आइपुग्ने उर्दी थियो सूचनाजी को । उहाँको नाम सुलोचना भएता पनि सूर्यमान सर र मैंले उहाँको नामलाई एक अक्षरले छोट्ट्याउने निधो गरेका थियौँं । किनभने उहाँले हाम्रो भुवनेश्वरको यात्राको व्यवस्थापन विभाग सम्भाल्नु भएको थियो । बस र रेलको टिकट आरक्षण गर्ने र त्यस सम्बन्धित सूचना उपलब्ध गराउने कामको जिम्मा सुलोचनाजीले लिनु भएकाले सूचना नाम राख्यौं ।

हाम्रो यात्रा आरम्भ हुने दिन फागु पूर्णिमा परेको थियो । होली मनाउने चक्करमा मेरो कार ग्यारेजवाट निकाल्नै नमिल्ने गरि कुनै वरिष्ठ महानुभावले आफ्नो गाडी थन्क्याई दिएकोले घरबाट निस्कने बेलामा समस्या उब्जियो । तर चाड पर्वको दिन भएता पनि ट्याक्सी सहजै फेला परेकोले एक निकासको सहजै विकास भयो । सूर्यमान सरलाई ग्वार्कोमा टिपेर कलकीँ पुग्दा घडिको सूईले ६ बजाएकै थिएन । सूचनाजीले तोकेको समयसीमा अगावै गन्तव्यमा पुगेकोमा हामी दङ्ग थियौं । 

भारतको उडिसा राज्यको भुवनेश्वरमा सम्पन्न हुन लागेको रोटरी क्लबको कार्यशाला गोष्ठीमा सहभागी हुने १६ जनाको टोली सडक र रेलमार्ग भएर जाने तय भएको थियो । सूचनाजीले पानस यातायात बसको टिकट मिलाउनु भएको रहेछ । तर बसको सिटमा बस्दा बस्दै नेपालमा यात्रुलाई दिईने गुणस्तरीय सेवा सुविधाको पद्धतिको विकास अझै भैनसकेको भान हुने प्रसंग सिर्जना भयो ।

हाम्रो लागि आरक्षण गरिएका केही सिट अरु यात्रुलाई नै बेचिएका रहेछन । सूचनाजीले न्यायालयमा वकिलले गरे जस्तो बहस गर्न थाल्नु भयो । टिकट उपलब्धकर्तालाई सर्त मिचिएको, बोली फेरिएको र अन्याय गरिएको आदी तर्क मिसाएर नम्र गाली, उच्च स्वरमा प्रस्तुत गर्दा पनि उ एक कानले सुनेर अर्को कानले उडाउथ्यो । आखिर अलिकति त्याग गरेर भए पनि उहाँले गतिलै सिट मिलाएरै छोड्नु भयो । सूचनाजीको अडान लिने र तर्क गर्ने क्षमताको हामीले मुक्त कण्ठले प्रशंसा गर्यौ ।

सिटमा अलिकति किचकिच परे ता पनि बसका अन्य सुविधाहरु भने प्रशंसनीय थिए । मिनिरल वाटर र दालका प्याकेटहरु बाँडिए । ४२ ईन्चको टिभी स्क्रिनमा चलचित्र देखाइयो । ठाँउ ठाँउमा शौच गर्न बस रोकियो । सिट भन्दा बढि यात्रु राखिएन यस्तै थियो यात्रा । 

पूर्वान्हको साढे एक बजे हेटौंडा नजिकको मनहरीमा बसले छोटो विश्राम लियो । ओर्लेर हेर्छु त चिया पिउनेको लर्को । अर्को एक बस पनि सँगै रोकिएको रहेछ । यात्राको आरम्भमा सूर्यमान सरले पाब्लो नेरुदाले लेख्नु भएको एउटा महत्वपूर्ण कविता अंश सुनाउनु भएको थियो । 

तिमी विस्तारै मर्न सुरु गर्दछौ
यदि तिमी यात्रा गर्दैनौ
पढ्दैनौ
जीवनका आवाज सुन्दैनौ
आफूले आफूलाई प्रशंसा गर्दैनौ

तिमी विस्तारै मर्न शुरु गर्दछौ
यदि तिमी लुगाको रगं फेर्दैनौ
अपरिचितहरु सँग बोल्दैनौ
कुनै सपनाको पछि पनि लाग्दैनौ,
अरुले दिएको एकाध सल्लाहा पन्छाउन सक्दैनौ ।  

कविताको मर्म यही यात्रामा चरितार्थ हुने प्रवल सम्भावना थियो । किनभने यो यात्राका एक सारथी हुनुहुन्थ्यो सूर्य सर । मेरा लागि उहाँ बाहेक अधिकांश सहयात्रीहरु अपरिचित थिए । उहाँसँग हिड्नुको रमाईलो यही छ । म ठोकुवा गर्छु सूर्यमान शाक्यसँग प्रत्युत्पन्न बुद्धिको खानी छ । जस्तो सुकै परिवेशमा पनि हास्य भाव सिर्जना गर्न सक्ने । जसलाई पनि भक्कानो फुट्ने गरी हँसाउन सक्ने ।

हामी चियाको चुस्की लिन थाल्यौ ।

'दमकलको फोन नम्बर राखेको छ ?' सूर्य सरको कडा स्नायू मिश्रित ठूलो स्वरको बोली सुनियो ।
'किन चाहियो र हजुर दमकलको नम्बर ?' चिया साहुनीको आसनमा विराजमान भएकी अधवैसेँ महिलाले प्रत्युत्तर दिइन । सबैले आश्चर्यचकित मुद्रामा रंगमञ्चको केन्द्रमा उभिएको नायकलाई हेर्न थाले ।
'यत्रो ठूलो आगोमा चुरोट सल्काउँदा मेरो जुँगामा डढेलो लाग्यो भने तपाईँहरुले निभाउन सक्नुहुन्छ ?' हाँसोको ज्वालामुखी नै बिस्फोट भयो ।

उहाँले साहुनीसँग सलाई माग्नु भएको रहेछ । साहुनीले सखुवाका दाउराले हुर्र हुरी दन्किरहेको बडेमानको आगो तिर देखाईदिईछन् । त्यही विषयलाई जोडेर जुँगाको डढेलो शीर्षकमा अविस्मरणीय प्रसंग सिर्जना भएको थियो । 
विहान तीन बजे वीरगन्ज पूगियो । अब केही घण्टा आराम गर्ने निधो भयो । सूचनाजीको अलावा हाम्रो टोलीमा विनिताजी पनि हुनुहुन्थ्यो । उहाँलाई भने हामीले शिष्टाचार महापालको पगरी गुथाउन अबेर गरेनौं। उनको चिटक्क परेको जीउडाल, हँसिलो चेहरा र आकर्षक व्यक्तित्वले हाम्रो यात्राको नायकत्व उत्कर्षमा पुगेको भान हुन्थ्यो ।  

"ल त्यो होटेलमा कोठा पाईएको छ । चार चार जनाको समूहले एउटा कोठा लिनु होला ।" शिष्टाचार महापालको आदेश आयो । हामी निन्द्रा र थकाईले चुर भैसकेका थियौ । लडाईमा जर्नेलले दिएको आदेश जवानले तुरुन्त पालना गरेझैँ हामी पनि आफ्ना झिटिगुन्टा सम्हालेर कोठातिर लम्कियौं ।

सूर्य सर, प्रल्हादजी, सुशीलजी र म गरि चार जनाको समूह एक कोठामा भेला भयौ । सुशीलजी पल्टिनु भयो । बाँकी तीनजनाले भने गफ गर्न आरम्भ गर्यौ । एकाएक हामीसँग मिसिने ध्येय राखेर एक अर्को साथी हाम्रो कोठामा छिर्नुभयो । हाम्रो अनुहारमा आश्चर्यका धर्का कोरिए । दाल मे कुछ काला है भन्ने उखान सम्झिन बाध्य भयौ । यो शिष्टाचार महापालको आदेशको ठाडो उलङ्घन थियो । हाम्रो कोठामा छिर्ने पाँचौ व्यक्ति हुनुहुँदो रहेछ अर्का मृदुभाषी मित्र मोहन कार्की । 

'हिसाब नै मिलेन । हामी पाँचजना यो कोठामा बस्नु पर्ने भयो ।' मोहनजीले गुनासो भावमा कारण प्रस्तुत गर्नु भयो ।
'किन हिसाब मिलेन ?' मैंले प्रश्न राखेँ ।

'हामी जम्मा १६ जना छौँ । आठ पुरुष र आठ महिला । चार चार जनाको दरले चार वटा कोठामा बस्न मिल्नु पर्ने ।' प्रल्हादजीको तर्क थियो ।

मलाई भने मेरा एक अनन्य मित्र कोमल धमलाले भनेको एक सुत्र वाक्यको स्मरण भयो । एक आपसमा चिनजान नभएका एक जोडी वयस्क पुरुष र स्त्रीले सँगै रात विताउँदा निम्नानुसार भए बात लाग्दैन कुनै गोष्ठी जस्तो कार्यक्रम भए उनीहरु अलग अलग कोठामा बस्न सक्छन । दुवै कुनै अभियानका सारथी भए र आवश्यक परेमा एउटै कोठामा दुई अलग अलग खाटमा सुतेर रात विताउन सक्छन् । तर यदि युद्ध वा विपद जस्तो भयाभयको स्थिती भएमा उनीहरु एउटै खाटमासमेत सुत्न सक्छन् ।       

तर हिसाब नमिलेको कारण मर्यादा पालकसँग भेट नहुन्जेल प्रष्ट हुने सम्भावना थिएन । भोलिपल्ट चिया खाने बेलामा प्रल्हादजीले हिसाब नमिलेको कारण पत्ता लगाई छोड्नुभयो । काले काले मिलेर खाँउ भाले भने जस्तो जोडी जोडी मिलेर मोहनजीलाई बिजोडी पारेछन् । प्रल्हादजीले स्पष्ट पार्नु भयो ।

हाम्रो समूहमा तीन दम्पती पनि रहेछन् । दुई दम्पतीले एउटा सिँगै कोठा लिएछन् । अर्को एक दम्पतीले एउटा । यसरी पाँच पुरुष र पाँच महिलाको समूह वन्न पुगेछ र शिष्टाचार महापालको सोझो गणित खोलै खोला गएछ ।
मैंले रमाईलो थपेँ 'यस्तै गोलमाल हुन्छ भनेर हामीले ईन्जिन मात्र लिएर हिँडेका हौँ । हाम्रा त डिब्बा घरमै छन् । के सम्झिनु भएको छ र..'

'हाम्रा पनि डिब्बा घरमा छन । ईन्जिन तपाईको अघि छ ।' विनिताजीले थप्नु भयो । अहिलेको जमानामा आखिर को भन्दा को कम  हुन्छ र ।

यसपटक लुगा मिलाउँदा टाई राख्न विर्सेछु । यो यात्रालाई व्यवस्थित बनाउन खटिनु भएका केन्द्रिय सूचना प्रमुख राजीब पोखरेलजीको दौरा सुरुवालको उर्दी  भने मैंले पूर्ण रुपले पालना गरेको थिएँ । मैंले दुईजोर दौरा सुरुवाल, एउटा कोट, एक जोर सुट र तीनवटा ढाका टोपी बोकेको थिएँ । घरमा उपहार पाएका ढाका टोपीको खात लागेको थियो । तर सबै टोपी मेरो टाउको मा नछिर्ने । यसैले केही दिन अघि नेपाल विकास अनुसन्धानका कार्यालय सहयोगी कृष्ण कार्कीलाई मैंले दुईवटा नयाँ टोपी साट्न पठाएको थिएँ ।

म‌ंगलबजार जानु । सकेसम्म साटेर एक साईज ठूलो ल्याउनु । साट्न नसके एउटा नयाँ किन्नु ।
कृष्णलाई काम मात्र दिनु पर्छ । जे पनि फत्ते हुन्छ । स‌ंभवत यति निपुण कार्यालय सहयोगी विरलै पाईन्छन् होला । आखिर कृष्णले टोपी साटेर ल्याई छाड्यो । भुवनेश्वरको सम्मेलनमा म यी दुई टोपीको उद्घाटन गर्ने योजनामा थिएँ । तर टाई विर्सेकोमा थक्क थक्क लागेको थियो । एक मनले भन्यो आखिर सुट लगाउने सम्मेलनको दोस्रो दिन हो भुवनेश्वरमानै किने त भै हाल्छ नि ।   

चिन्ता नलिनुस । मैंले दुई वटा ल्याएको छु । काम चलाउला । सूर्य सरले उपाय निकाल्नुभयो ।
टाईको कुरा निस्के पछि वहाँले व्युनस आयर्स जाँदाको एउटा प्रसँग सुनाउनु भयो । करिब दुई दशक अघि वहाँ एक शिष्टमण्डलको सहभागी भएर अर्जेन्टिनाको राजधानी पुग्नु भएको रहेछ ।  शिष्टमण्डलका नाईके एक सहायक मन्त्री रहेछन । सम्मेलनको मूल समारोहमा सहभागी हुन जानुअघि मन्त्री महोदयले बास बसेको होटल कै अर्को कोठावाट सूर्य सरलाई फोन गरेछन् ।

"शाक्यजी मलाई एउटा कन्ठ लगौटी चाहियो ।"

सूर्य सरले टाई पठाईदिनु भएछ । माननीयले फेरि फोन गरेछन् ।

"शाक्यजी  तपाईले किन कुरो नबुझेको । कन्ठ लगौटीको गाँठो नपारी पठाईदिनु भयो । गाँठो पार्न जानेको भए त मैंले फुल मन्त्री पड्काई हाल्थे नि .."

भोलि पल्ट विहान चार बजे हावडा स्टेशनमा ओर्लियौ । प्लेटफर्म नं २३ को नजिकको क्लोक रुममा सामान थन्क्याएर कलकत्ताको प्रख्यात काली मन्दिर दर्शनार्थ निस्कियौं ।

हावडाबाट मन्दिर जाने सिधा बस सेवा रहेछ । बिचमा र अगाडि ढोका भएको ठूलो बस । प्लास्टिकका सिट । उभिएकाले समात्ने डण्डी र लोतीको व्यवस्था । मलाई भने जापानमा गरिएका बस यात्राहरु ताजा भएर आए । हाम्रा नेपालका शहरी क्षेत्रमा सेवा दिने बसमा भने लोती को त कुरै छोडौं समात्ने डण्डी समेत हुँदैन । शहरी यातायात सेवा प्रदायकले बुझ्नु पर्ने विषय यही हो । शहरमा यात्रा गर्दा धेरै जसो यात्रुहरु केही स्टप पछि ओर्लने हुन्छन् ।

सबैजनालाई बस्नै पर्ने बाध्यता पनि हुँदैन । जेष्ठ नागरिक, गर्भवती र काखे नानी च्यापेकाहरु छोटो दुरीमा यात्रा आक्कल झुक्कल मात्र गर्छन् ।

यसकारण बसभित्र राम्ररी समातेर उभिने ठाँउ भयो भने काफी हुन्छ । गद्दावाल सिट चाहिदैन । वीचमा ढोका भयो भने यात्रु चढ्दा र ओर्लदा अरु यात्रुलाई कम बाधा पुग्छ । यसरी एउटै बसमा धेरै यात्रुले सहज यात्रा गर्न पाउँछन् ।        
बसबाट ओर्लेर हिँड्दै थियौं। शुशीलजीले काली मन्दिरको बारेमा सुनाउनुभयो ।
योगीको आत्मकथा भन्ने विश्व प्रसिद्ध पुस्तकमा यो मन्दिरको बारेमा उल्लेख गरिएको छ । त्यो पुस्तकका पात्रद्वय लाहिरी महाशाय र परम हंश स्वामीको यो मन्दिरसँग भावनात्मक सम्बन्ध जोडिएको छ ।
प्रल्हादजी अर्थात पिथ्रीले पनि एक जमानाका नेपालका लोकप्रिय राजनीतिज्ञ जोगमेहर श्रेष्ठको बारेमा एक रोचक प्रसंग सुनाउनुभयो । उहाँको पूरा नाम रहेछ प्रल्हादप्रसाद पराजुली । मैंले वहाँको नयाँ न्वारान गरिदिँए, पिथ्री ।  

एक पटक भाषण गर्दा जोगमेहरले भनेछन् ... 'सके ठिटी मिलाउने हो नसके छोरी दिने हो ।'

विहानको समय भएकाले सडकमा दर्शन गर्ने मान्छे भन्दा माग्ने धेरै थिए । हाम्रो टोली ससाना समूहमा विभाजित थियो । प्रल्हाद जीका कुरा साह्रै मिठा थिए तर सुन्ने श्रोता हामी दुई तीन जना मात्र भयौँ । हामी दिल खोलेर हाँस्यौ ।
नेपाली हास्यव्यँग्य साहित्यमा सूर्यबहादुर पिवाको पनि नाम उच्चकोटीमा रहेछ । मैंले केही दिनअघि उहाँको स्वास्नीका बारेमा लेख्ने पिवा हुँ मू भन्ने निबन्ध पढेको थिएँ । उहाँले कलास्का (स्वास्नी चाहियो) भन्ने नेवारी शब्दलाई कलाकारसँग जोड्नु भएको छ । जोगमेहरको भाषणमा पनि त्यस्तै भएछ । खाटी नेवारको जिब्रोलाई तू र ड भन्न महाभारत हुन्छ । उनले भन्न खोजेको यस्तो रहेछ 'सके स्थिती मिलाउने हो नसके छोडि दिने हो ।'

कालीदेवीको मन्दिर भएको हुनाले म उच्च स्वरमा नौरथामा चण्डी पाठ गर्दा पढिने मन्त्रहरु उच्चारण गर्न थालेँ ।

शरणागत दिनात्रम परिताण परायणे
सर्वस्याती हरे देवी नारायणी नमस्तुते ।

केही बर्षअघि मनकामना देवीको दर्शन गर्न जाँदा लाममा उभिदाँ उभिदै मैंले यो दुई हरफ कण्ठस्थ गरेको थिएँ । यी लगायत अन्य केही श्र्लोकहरु मन्दिरको पर्खालमा लेखिएको पाएको थिएँ । बडो प्रिय लाग्छन चण्डिमा लेखिएका मन्त्रहरु । भगवतीको मन्दिरमा दर्शन गर्दा ठूलो स्वरमा मन्त्र जप्नुको आनन्द बेग्लै छ । 
कालीमाताको दर्शन गर्दा एक रोचक घटना भयो । म नजिकैका दर्शनार्थी र पुरोहितहरुले मजाले सुन्ने गरी मन्त्र जप्दै अघि बढ्दै थिँए । मान्छेको घुँईचो बाक्लो थियो । म भन्दा अघिका दर्शनार्थीलाई एक पुरोहितले भनेको सुने 'दान पेटिकामे एक सय रुपैयाँ डालना ।'

म भने हातमा दुई रुपैयाँको सिक्का बोकेर काली माताको अघि उभिएको थिएँ । देवी देवताको दर्शन गर्ने मेरो आफ्नै शैली छ । म सिक्का चढाउन रुचाउँछु । मन्त्र उच्चारण गर्छु । देवी देवताको अघि उभिएर मन मनमा यसो भन्छु अहिलेसम्म मलाई जे प्राप्त भएको छ त्यसमा म खुशी छु र यसको लागि हजुर प्रति धन्य छु ।

शायद मन्त्र जप्दै गरेकोले होला मलाई भने अरुलाई भने जस्तो यति उतिु भनेनन् । मैंले सिक्का दान पेटिकामा खसालेँ । अरु दर्शनार्थी भन्दा फरक भएको महशुश भयो । टिका लगाई मागेँ र कालीमाता सँग विदा माग्दै बाहिरिएँ ।  

हामीसँग हावडा भुवनेश्वरको यात्राका लागि कोरोमण्डल एक्सप्रेसको दिउँसोको टिकट थियो । कालीमन्दिरको दर्शन पश्चात मेट्रो रेल चढेर न्यू मार्केटको भ्रमणमा निस्केका थियौँ । तर त्यो समय हाम्रो लागि मात्र विहान थियो । न्यू मार्केटका लागि भने मध्य रात बराबर । चहलपहल शून्य थियो । पसलहरु खुलेकै थिएनन । धेरै मिहिनेतका वावजुद स्वल्पहारका लागि एक रेष्टुरेन्ट फेला पार्यौ । त्यसपछि बस चढेर सिधै हावडा स्टेशन पुग्यौ ।    

हाम्रो १६ जनाको समूहमा दमौली रोटरी क्लबका ३ साथीहरु मिसिनु भएको थियो । अब हामी एक अर्कामा परिचित भैसकेका थियौँ । हाम्रा परिचयका गाँठाहरु विस्तारै खुल्दै गए । कोरोमण्डल एक्सप्रेस र रक्सौल हावडाको घ्याघ्याचे मिथिला एक्सप्रेसले कछुवा र खरायोको कथा स्मरण गराएका थिए ।

हावडा भुवनेश्वरको रेलयात्रामा हामीले विभिन्न विषयमा कुराकानी गर्यौ । छोरा छोरीका, नाती नातीनाका, कलेज पढ्दाका, आ आफ्ना व्यावसायका, राजनीतिका र जीवन भोगका विषयहरुले हामीलाई ओघटे । सबैभन्दा रमाईलो त हाम्रो समूहका तीन दम्पतीका व्यवहारहरु थिए । आखिर मानवीय स्वभाव न हो अलि अलि घोचपेच त भै हाल्छ । श्रीमतिजीहरुले श्रीमानजीहरुलाई भनेको सुनियो लौ ब्रस गरी हाल्नु ।  दार्ही खौरी हाल्नु । ट्वाईलेट गै हाल्नु । हाम्रो सुटकेश एक पटक चेक गर्नु त ।

"खै हजुरको मोबाइल  हराउला नि । म राखि दिन्छु भन्दा नमान्ने । वहाँको त कुरै नगरौ । मलाई त केही खान मन लाग्यो व्यवस्था गर्नु आदि ।"

श्रीमानजीहरुले भनेको सुनियो- " ! कस्तो गरि पल्टेको?  मेरो औषधी निकाल त  सम्झाउनु पर्छ नि मलाई कसरी सबै कुरा थाहा हुन्छ?  मैंले उनको सिट साटि दिएँ । लेडिज लेडिजसँगै भए सजिलो होला भनेर आदि ।" 
मैंले सूर्य सरको यस विषयमा  खुसुक्क ध्यानाकर्षण गरेँ । उहाँले भन्नुभयो 'त्यति मात्र हो र  कुन एगँलमा औषधि खाने । कति आँ गर्ने एक चक्की औषधीलाई किन त्यत्रो पानी आम्मा मा ...'

सूचनाजी व्यवस्थापनमा मात्र होईन सेवा भावमा समेत पोख्त हुनु हुँदो रहेछ । चिसो दुध कफी बनाएर सबैको प्यास बुझाईदिनु भयो । रेल भित्रै दही च्युराको खाजाको व्यवस्था गर्नु भयो । तर समस्या भने प्लेटको पर्यो । मैंले बुद्धि निकालेँ दुई लिटरको मिनरल वाटर बोटलको पिँध काटेर कचौरा बनाउने । काम भयो । दहि च्युरा खाँदा खाँदै मैंले प्रसंग निकाले मलाई अति मन पर्ने मोही भातको । अरुले पनि आफ्ना मन पर्ने खानाका प्रसंग उधिने ।

हामी राती दश बजे भुवनेश्वर पुग्यौ । होटलमा चेक ईन गर्ने, सुटकेश कोठामा पुर्याउने, वाई फाईको बारेमा बुझ्ने, कोठाका सुविधाले काम गर्छन गर्दैनन पत्ता लगाउने, लुगा आईरन गर्न दिने र फ्रेस हुने काम विजुलीको गतिमा भए । मैंले होटलको सेवा कक्षमा फोन गरेर कान सफा गर्ने ब्रस, सेम्पु आदि मगाएँ ।

सूर्य सरले हामीलाई रेल्वे स्टेशनबाट होटल ल्याउने गाडीको चालकसँग नजिकै रहेका रेष्टुरेन्टको बारेमा जानकारी लिनु भएछ । हामी होटल पुगेको २०-२५ मिनटपछि नजिकैको ढाबामा पुग्यौ । हामी बलियो भाग्य लिएर त्यहाँ पुगेका रहेछौ । ढाबा बन्द हुन लाई केही मिनट मात्र बाँकी रहेछ । परिकार प्याकिङ मात्र हुने जानकारी पाईयो । तर त्यो भने हाम्रा लागि सुखद समाचार थियो ।       

यसरी घरबाट हिँडेको तेस्रो दिनमा हामी भुवनेश्वर पुगेका थियौ । दैलोदेखि दैलोसम्म अर्थात डोर टु डोरको हिसाबमा हामीले ५३ घण्टाको यात्रा गरेका थियौँ । तर मलाई यो यात्रा अविष्मरणीय हुनुका साथै पूर्ण पनि लागेको थियो । किन भने सबै यात्रामा यस्तो रमाईलो उब्जदैन । रोटरी सम्मेलनको रात्री भोजको साँस्कृतिक कार्यक्रममा प्रस्तुत गरिएको योग नृत्यको गीतको बोलले पनि त्यही अर्थ लगाएको थियो ।

ॐ सर्वेशाँ स्वस्तिर्भवतु । ॐ सर्वेशाँ पूर्णँभवतु ।।      
अर्थात
सबैको भलो होस । सबै कुरा पूर्ण होस ।।

मार्च २६, २०१६

सूर्यास्ना होटेल, भुवनेश्वर, उडिसा

साभार : http://ujyaaloonline.com/news/56807/nawaraj-yatra/