Friday, July 15, 2016

थरीथरीका भोक


आधुनिक घरका वैठक कोठामा कस्ता सजावट सामग्री राखिन्छन्

यो प्रश्नको उत्तर दिँदा विकसित देश र नेपालको तुलना गर्दै कसैले भनेका थिएउनीहरुको बैठक कोठामा पुस्तकहरु राखिएका हुन्छन् । आगन्तुकले त्यहाँ राखिएक पुस्तकहरुमध्ये कुन कुन नपढिएका रहेछन् भन्ने जानकारी पाउँछ छन् । हाम्रा सभ्रान्तहरुका बैठक कोठामा भने मदिराका बोतलहरु सजाएर राखिएका हुन्छन् । आगन्तुकले त्यहाँ राखिएकामध्ये कुन कुन जातका मदिराको स्वाद लिन बाँकी रहेछ भन्ने चाल पाउँछन् ।’   

एउटा ब्ल्याक लेबलमदिराको बोतलको दाम पचास डलर अर्थात पाँच हजार रुपैयाँ पर्दो हो । अहिलेका नाम चलेका पुस्तक किन्ने हो भने त्यही रकमले अंग्रेजीमा लेखिएका चारवटा वा नेपालीमा लेखिएका दशवटा किताब पाइन्छन् । साझाले निकालेको मुनामदनवा जय भुँडीजस्तो हाँस्यव्यँग्य निबन्ध सँग्रह हो भने पचास वटा नै पाइएला । तर मान्छे मदिरा दिल खोलेर किन्छ । किताब किन्दैन । 

अहिले विदेश आईजाई गर्ने नेपालीको लर्को लामो छ । सरकारी कर्मचारी होस वा कुनै पढे लेखेका सभ्रान्त नयाँ दिल्ली, बैँकक वा दुबई नपुगेको छैन । त्यहाँको ड्युटि फ्रिक्षेत्रमा उ रेड लेबल’ ‘ब्ल्याक लेबलवा ब्ल्यु लेबलकिन्छ । तर ह्वाई नेशन फेल्स’, ‘दि क्यापिटलवा थिङ्किङ्ग फास्ट एण्ड स्लोकिन्दैन । 

प्रश्न तिमीलाई कस्तो किसिमको भोक लाग्छ ?’ भन्ने हो । अनि त्यो भोक शान्त पार्न के औषधि गरिन्छ भन्ने पनि हो ।बाबा, यो के हो ?’ भनेर विदेशबाट आएको आफ्नो बाउलाई कुनै सानो बच्चाले सोध्यो भने यो रक्सी हो । खायो भने मातिन्छ । माते पछि चुरोट तान्न मन लाग्छभन्ने मदिरा सँग जोडिएको सत्य तथ्य भन्ने आँट सायद कुनै पनि बाउलाई हुँदैन । तर यसको विपरित ब्ल्याक लेबलको ठाँउमा उसले गीताको किताब किनेर ल्यायो र बच्चाले त्यसरी नै सोध्यो भने बाउलाई उत्तर दिन कति सजिलो हुँदो हो । त्यो सानो बच्चालाई कति दुरगामी मनोवैज्ञानिक असर पर्दो हो ।
एक वर्ष अघिको कुरा हो । जेठी सासु कमला दिदीको घर हिलेमा पुगेको थिएँ । साडु दाइले संकलन गरेर दराजमा राखेका पुस्तकले मेरो ध्यानाकर्षण गर्यो । शास्त्रीय ग्रन्थहरु तेर्सो ढल्काएर खात लगाएर राखिएका थिए । महाभारतको कथा केन्द्रित एक पुस्तक निकालेर सरसर्ति आँखा दौडाउन थालें । एउटा नीति वाक्यमा पुगेर टक्क अडिएँ ।  

सबैभन्दा उच्च श्रेणीको स्वादिष्ट भोजन सवैभन्दा विपन्नले खान्छ ।

यो वाक्यले गहन अर्थ बोकेको छ भन्ने लाग्यो । एकातिर विशिष्टता बोकेको भोजन, अर्कातिर विपन्नताको भुईं चट्टानमा उभिएको गरीव जन । एकातिर हिमालय पर्वतको टाकुरा अर्कोतिर कालिगण्डकीको पाताल छुने गल्छी । एक दक्षिणपन्थी । अर्को उत्तरपन्थी । भोजनआर्थिक हैसियतका प्रकारहरु समेटेर समानान्तर वर्णक्रम बनाउने हो भने एउटाको पुच्छरतिर अर्काको टाउको हुन्छ ।  खाने मान्छेको आर्थिक हैसियतले उसको गाँसको स्वादिष्टता निर्धारण गर्ने । म यस विषयमा घोरिन थालेँ ।

स्वादिष्टतालाई भोकले परिभाषित गर्ने हो । किनभने त्यही परिकार । उति नै मिहिनेत गरिएको । एउटै ताउलोमा पकाईएको । उही भान्सेले पस्केको । कसैलाई मीठो लाग्न सक्छ । कसैलाई सामान्य । कसैलाई नमीठो । कारण के हो त ?

कारण स्पष्ट छ, भोजनको स्वाद भोकमा निहित छ । भोक छैन भने चौरासी व्यन्जन नै पस्केर दिए पनि केही अर्थ छैन । टाइफाइडले रन्थनिएको बिरामीले ताकत भर्नका लागि पनि खान सक्दैन । तर भोकले रन्थनिएको भरियाले गुन्द्रुकको सितन नै किन नहोस स्वादिष्ट मानेर खान्छ । यसैले नेपाली जनजिब्रोले भन्छ, भोक मिठो कि भोजन मिठो ? पक्कै पनि पहिलो नै मिठो हुन्छ । यसैले नीति शास्त्रले भनेको कुरो सर्वमान्य हिसाबले सत्य नै हो भन्न सकिन्छ ।

भोकसँग जोडिएको महाकविको कविता अँशले भन्छ 
छ भोक मीठो, रसिलो छ प्यास
छ अन्तमा व्यन्जनको सुवास ।  

महाकविको भनाईलाई चरितार्थ गर्ने केही प्रसँगहरु मेरै जीवनका कुइनेटाहरुका रुपमा स्थापित भएका छन् ।

जागिरे जीवनको पहिलो अनुभव । छयालिस सालको चुनाव । मतदान अधिकृतको पगरि भिरेर जाजरकोटको सीमा गाविसमा खटाईएको थिएँ । चुनाव सकेर मतपेटिकाहरु साथै लिएर सदरमुकाम पुग्नु पर्ने आदेश थियो । तर राती हिँड्ने कुरो भएन । हामी छेडा खोला किनारमा बास बस्यौँ । त्यहाँ नुन खोर्सानीको सितनसँग रोटोअर्थात मोटो रोटी खानु पर्ने बाध्यता हाम्रो सामु थियो । तर अहिलेसम्म पनि त्यसको स्वाद जिब्रोमा झुण्डिएको छ । जापान र थाईल्याण्डका भव्य रेष्टुरेन्टमा हजम पारिएका पिज्जाहरुको कुनै विशेष सम्झना छैन । तर छेडा खोलाको रोटोअझै बिर्सेको छैन ।
म जापानमा बस्दा सुनेको थिएँ, त्यहाँ हरेक वर्ष प्रत्येक व्यक्तिले एक दर्जन पुस्तक पढ्छ । रोचक कुरा त के हो भने उसले सातवटा पुस्तक पुस्तकालयबाट लिएर पढ्छ भने पाँचवटा नयाँ आफूले किन्छ । पुस्तक पढ्नु भनेको जापानमा मात्र नभएर सँसारमा नै प्रत्येक व्यक्तिको एक आवश्यकता हो । यसैले पुस्तक लेखन, प्रकाशन र बिक्रिको बिशाल बजार छ ।    

बजारमा निस्केको कुनै नयाँ किताब पढ्न मान्छे किन लालायित हुन्छ त ?
यो प्रश्नको सिधा जवाफ हुन्छ भोक वा धोको मेटाउन । तर यसमा थप केही कारणहरु पनि हुन सक्लान ।बजारमा नयाँ निस्कन लागेको पुस्तक वा मोवाइल वा आइपोड जस्तो उपकरण किन्दा पनि उस्तै मनोविज्ञानले काम गर्छ । यस्ता सामग्रीका ग्राहकहरु तीन किसिमका हुन्छन अरे । पहिलो समूहमा कुनै पुस्तक वा उपकरण बजारमा निस्कँदै छ भन्ने जानकारी राख्ने र निस्कनासाथ घण्टौ लाम लागेर भए पनि खरिद गर्ने । यस्ता ग्राहकहरु कुल सँख्याको दश पन्ध्र प्रतिशत मात्र हुन्छन् । दोस्रो समूहमा समीक्षा पढेर वा अरु कसैको सिफारिशमा खरिद गर्ने पर्छन ।

तेस्रो समूहमा पर्ने ग्राहकहरु भने बाध्यात्मक परिस्थिति आईलाग्यो वा लोकको लाजबाट बच्नुपर्यो भने मात्र सामाग्री खरिद गर्छन । सम्भवत पहिलो समूहमा पर्नेको भोक वा तलतल अत्यधिक हुन्छ । यस्ता व्यक्तिहरुको जीवनका अन्य पाटाहरु पनि सामान्य व्यक्तिका भन्दा फरक हुन्छन ।    

केही विशिष्ट पाठकलाई पढ्ने भोक लागे जस्तै केहीलाई लेख्ने भोक लाग्छ ।  कहिलेकाहीँ त्यो भोक कुनै भवितव्यले उदाएको घटना, प्रसँगले सिर्जना गर्छ । भूँईचालो गएर सुख्खाग्रस्त क्षेत्रमा पनि पानीको मूल उम्रे जस्तो । हाम्रो कालखण्डमा सर्वाधिक बिक्रिको कीर्तिमान तोड्न सफल भएको एउटा पुस्तक भक्तराज बुढाथोकीको ड्राईभिङ शिक्षा’  हो । दुई वर्ष अघि उनीसँग एउटा तालिमको सिलसिलामा भेट भएको थियो ।

सवारी साधन चलाउन सिक्दा म ठूलो दुर्घटनामा परेँ । त्यसले मेरो चेत खोलिदियो । अरु सिकारुलाई मलाई जस्तो नपरोस भनेर किताव लेखेँ ।बुढाथोकीले भने ।

यतिसम्म भएछ कि उनको किताबको हुबहु नक्कल गरी उनकै नाममा अरुले पनि त्यही पुस्तक छापेछन् । दुर्घटनामा पर्नु अघि पुस्तक लेख्ने उनी भित्रकी सरस्वतीको नामो निसाना थिएन ।
निएल पसरिचा नामक एक सामान्य व्यक्ति एकाएक सँसार प्रसिद्ध भए । लाखाै‌ डलर कमाए । उनले तिम्रो जीवनका १००१ अद्वित्तिय चिजहरुनामक पुस्तक लेखे । पुस्तक लेख्नुअघि त्यही विषयको वेवसाईट बनाए । यो सब गर्नको लागि उनको प्रेरणाको श्रोत वन्यो श्रीमतीको उनीसँग पारपाचुके गर्ने निर्णय ।

अन्य खाले भोकहरुमा नेतृत्व लिएर समाजमा परिवर्तन ल्याउने,  अमूल्य सेवा दिएर कसैको भलो गर्ने वा दान दिएर पुण्य कमाउने पनि पर्छन ।

सात आठ महिना अघि मेरो पूर्व विमान परिचारिका उमा गुरुङ्सँग परिचय भयो । केही दिन अघि उनले एकाएक फोन गरिन ।

नक्खु कारागारमा बन्दी जीवन बिताई रहेका दाजुभाईले लेखेका साहित्यिक रचनाको मुल्याँकन गरी पुरस्कार दिने कार्यक्रममा हजुरको सहयोग चाहियो ।

मैले सहर्ष स्वीकारेँ । कविता, निबन्ध र चित्रकलामा उत्कृष्ट ठहराईएका एक दर्जन बन्दीलाई पुरस्कृत गरियो ।

कहाँको विमानमा यात्रुहरुलाई सेवा गर्ने उमा ? विमान भित्रको कहाँको त्यो सुविधा सम्पन्न व्यवस्था ? कहाँको कारागार भित्रको हेर्दैमा कहालीलाग्दो वातावरण ?   उमाजीलाई सेवा गर्न लागेकोभोकदेखेर मलाई उदेक लाग्यो ।  

उनले कार्यक्रमको समीक्षा गर्दै भनिन्

भित्री घाउमा मल्हम लगाउने त साहित्य पो रहेछ ।

मैले मन मनमा भने

बन्दीहरुको घाउमा कति मल्हम लाग्यो त्यो त समयले बताउला । तर यो अनुष्ठानले पूर्व परिचारिकाको सेवा गर्ने भोक भने भने अलिकति भए पनि मरेको हुनु पर्छ ।’ 

साभार : http://ujyaaloonline.com/news/58732/blog/