Monday, October 17, 2016

कथा नायिकासँगको भेट




घोष्ट राईटिङ्ले आयोजना गरेको सिर्जनात्मक लेखनको कक्षा सकेर धुलिखेल जाने वस समात्न म नयाँ वानेश्वरको वस बिसौनी आईपुग्दा विहानको साढे नौ वजेको थियो । प्राय यो रुटको वस भीड हुन्छ । तर आज भने लगभग आश्चर्य भएको थियो । आधा जति सिट खाली थिए । खाली सीट पाए पछि म कुन सिटमा वस्ने भनेर केही न केही तर्क गर्छु आफ्नै मनमा । दाहिने तिरको घाम लाग्ने सिट खोज्दै म वसको पछिल्लो भाग तिर लम्किएँ । अन्तिमका तीन सिट मेरा रोजाईमा परेका थिए । तर पहिलो, चक्का माथी थियो । दोस्रो, अलि साँघुरो थियो । तेश्रो, अन्तिमको लामो सिट थियो । मेरा रोजाईमा यि तिनवटै परेनन । म पु:न अघिल्तिर लम्किएँ र दाहिने तिरकै सिटमा एक युवती सँग वस्न पुगेँ । उनी झ्याल तिर थिईन । म सिटमा वस्दा वस्दै उनी नै पहिले वोलिन ।

ओहो हजुर पो हुनु हुँदो रहेछ । म पनि कहाँ देखेको देखेको जस्तो लागेर सोच्दै थिँए ।

मैले उनलाई नियालेर हेरेँ । निलो कोट लगाएकी थिईन । कोटको सतहमा उनका केश राशीहरु नदीका दुई भँगाला जस्ता भएर सपक्क वसेका थिए । हिँउदको नदीको पानीमा देखिएको जस्तो चमक उनको केशमा देखिएको थियो । अनुहार थियो उज्यालो र प्रसन्न । उनी मँगोलियन मूलकी जस्ती देखिन्थिन । अधवैशे युवती थिईन । वाटुलो चेहरामा थेप्चो नाक र मझौला आकारका आँखा विछट्टै शोभायामान देखिएका थिए । निधारमा टिको लगाएकी थिईन । मैले केही दिन अघि धुलिखेलवाट काठमाण्डौ जाँदा उनीसँगै सिटमा परेको र लामो कुराकानी भएको प्रसँग सम्झिएँ ।

त्यैत मलाई पनि अनुहार परिचित जस्तो लाग्यो । अस्ति हामी सँगै कुरा गर्दै धुलिखेलवाट आएका थियौ नि होईन त ।

हो त नि सर ! कस्तो रमाईलो कुराकानी भयो । त्यस दिन म कति तनावमा थिँए तर हजुरको कुराले मलाई ठूलो सान्त्वना मिलेको थियो ।

उनले एकदमै आदरका साथ सरको नाता जोडिन । त्यो सर भित्र विश्वविद्यालयमा पढाउने व्यक्तित्व लुकेको थियो । तनाव भएका वेला पनि उनले मन भुलाउने विषयहरु मेरो गफमा उनले पाएकी थिईन । उनलाई मैले अस्तिको भेटमा मेरो पेशाको वारेमा पनि भनेको थिँए । उनले पनि उनको व्यक्तिगत कुराहरु धेरै भनेकी थिईन । धुलिखेलको एक सरकारी कार्यालयमा काम गर्दिरहिछन । काठमाण्डौ उपत्यकाको पश्चिम पट्टिको ग्रामिण ईलाकावाट हरेक दिन सार्वजनिक यातायातमा धुलिखेल आउने जाने गर्दिरहिछन ।   

म वनेपा पुगिसकेको थिँए। घरिघरि वसको झ्यालवाट छिरेको घामले ल्यापटपको स्क्रिन एकदमै धमिलो वनाई दिएको थियो । यसैले मैले बाध्यतावश मेरा औलाहरुलाई विश्राम दिनु पर्यो । ल्यापटपमा एकै छिन अघि भेटिएकी युवतिको अधुरो कथा कैद भएको थियो। अहिले म झ्याल पट्टि नै वसेको थिँए जहाँ केही समय अघि उनी बसेकी थिईन । यति तात्तातो लेखन पस्किने ईच्छा शक्ति शायद उम्रने थिएन । यदि आज विहान डा. दयाराम श्रेष्ट सम्भव ले कथा कसरी लेख्ने भनेर नसिकाउनु भएको भए । ति युवती सँग छुट्टिना साथ उनी सँग भएको भेटलाई विषय वनाएर  कथा लेख्ने सुर चढि सकेको थियो । आजै कथा सक्न पाए भोलि प्रशिक्षणमा सहभागी साथीहरुलाई मेरो रचना वाँड्न सकिन्थ्यो । कथाकी नायिकाको वास्तविक नाम मलाई थाहा थिएन । मैले सोधिन पनि । सोधेकै भए पनि वास्तविक नाम राख्ने कुरा पनि भएन । यसैले अहिले म उनको काल्पनिक नाम सोचिरहेको छु । यस्ता नारी पात्रलाई दिईने नाम मध्ये मलाई एकदम मन पर्ने एउटा नाम सिमा हो । मैले थाईल्याण्डको फि फि टापुमा भेटिएकी सिमाको वारेमा पनि एउटा नियात्रा लेखेको थिँए । तर दयाराम गुरुले दिनु भएको ज्ञान अनुरुप त्यो नियात्रा होईन कथा नै हो । साँच्चिकै निर्णय गरेँ यहि नाम राखिदिन्छु । तर चिन्ताको विषय भने अव  कथामा ज्यान कसरी भर्ने भन्ने छ । मलाई यो कथा लेखन आजै सक्न मन छ ।

सिमासँग कुरा अघि बढ्यो ।

मैले हजुर सँग भएको कुराकानी दाईहरुलाई पनि सुनाएँ । मेरो कस्तो भाग्य रहेछ कस्ता राम्रा मान्छेहरुसँग भेट हुन्छ वस यात्रामा भने । उनले हाम्रो पहिलो भेट र मेरो कुराकानीले उनीमाथी पारेको प्रभावलाई आँकलन गर्दै भनिन ।

! साँच्ची ! कसरी सुरुवात भयो त्यो दिन हाम्रो कुरा ? ” मैले साँच्चि नै विर्से छु त्यो पहिलो भेटमा कुराकानी शुरु भएको प्रसँग । मौका परे म त वोल्न खोज्दछु मेरा यात्रामा भेटिएका छिमेकी सँग । तर सधै परिस्थिति अनुकुल हुँदैन । पात्र पनि सिमा जस्ता विरलै हुन्छन् ।

हजुर छेउ तिर अलि अप्ठेरो सँग वसेको जस्तो लागेर मैले वस्न सजिलो भएन कि हजुरलाई भनेकि थिँए । उनले सम्झिईन ।

शायद मेरो शरिरको आकारको कारण हो या साँघुरो सिटको कारण हो त्यस्तै भएको थियो । उनले आफूलाई सकेसम्म सानो वनाएर मलाई सिट छोडिदिएकि थिईन । यात्रामा यस्ता छिमेकी शायदै पाईन्छन् । अरुको दु:ख देख्ने अनि आफूले सकेको सहयोग गर्ने भावना धेरै कममा हुन्छ । मनमा भए पनि कतिपयले व्यक्त गर्न सक्दैनन् ।

त्यही त हजुरको पनि अरुको अप्ठेरो देख्ने आँखा र सहयोगी भावना भएको मन भएर नै हाम्रो कुराकानी भयो । यसरी भावना मिल्यो भने त हो नि फेरी भेट हुँदा पनि वोल्न मन लाग्ने । अनि त्यो व्यक्ति प्रति श्रद्धा पनि जाग्ने होईन त । मैले पनि मन फोरेँ ।

हाम्रो पहिलो यात्रामा उनको मोवाईल पटक पटक बजेको थियो । उनकी आमा एकास्सी वेहोस भएकीले उनले कार्यालय पुग्ना साथ काठमाण्डौ फर्किनु परेको थियो । चक्रपथ भन्दा धेरै वाहिरवाट विरामी ल्याउनु पर्ने भएकोले ट्याक्सी पाईएको थिएन । उनको भाई पनि कहि काममा गएको थियो । सिमा उनका वुवा सँग र भाई सँगै पटक पटक फोन सम्पर्कमा थिईन र मलाई सुनाउदै पनि थिईन । उनका श्रीमान विदेशमा रोजगारी गर्न गएका रहेछन । उनी माईतिमा सानो छोरा लिएर वसेकी रहिछन । धुलिखेल आसपास मा नै डेरा लिएर वस्ने सुर उनको रहेछ । तर छोरालाई अहिले सम्म मनाउन नसकेकि रहिछन । मैले म सँग भएका  धुलिखेल र वनेपाका केही विद्यालयहरुका वारेमा पनि उनी सँग चर्चा गरेको थिँए ।

आज पनि हजुर सँगै कुरा गर्दै जानु हुन्थ्यो तर म कोटेश्वरमा ओर्लिएर वाईकमा जानु पर्ने छ ।उनले म सँग कुरा गर्ने अवसर गुमाउनु पर्ने बाध्यतालाई ईगित गर्दै भनिन ।

! हो र ! तर त्यो पनि मेरो लागि राम्रै हुने भयो । मैले परिस्थितिलाई नजिक वाट नियाले । त्यसमा ठाडो, सकारात्मक र रोमान्चक भर्याङ् लगाएँ । उनले म वाट त्यो अपेक्षा गरेकी थिईनन् ।

! तपाईले गफ गर्नुको सट्टा केही पढ्न पाउने हुनु भयो हो ? यसैले राम्रो भन्नु भएको हो । मैले सँकेत गरेको राम्रोलाई अनुमान गर्दै सीमाले भनिन ।

होईन । म झ्याल तिर वस्न पाउने भएँ र घाम ताप्दै जान पाउने भएँ भनेर हो ।

उनी हाँसिन । हिमालमा घाम लागेको जस्तो भयो । वान्की परेका सेता दाँत देखिए ।

कस्तो मनासिव कुरा गर्नु भयो । यसरी नै त हो नि मान्छेले खुशी प्राप्त गर्ने । खुशी ठूलै हुनु पर्छ भन्ने के छ र । कति मान्छेहरु छन यस्ता स साना कुराले दिने आनन्दको वारेमा विचार नै गर्दैनन् ।उनले पनि मेरो अभिव्यक्तिमा भर्याङ् लगाईन ।

मैले म स्नातक पढ्दा एक जना मित्र सँग पदयात्रामा गएको वेला भेटिएका एक सहयात्रीले भनेको कुरा सँझिए । उनले भनेका थिए- मान्छे खुशीको ठूलो नदी प्राप्त गर्न चाहान्छ । त्यसकै खोजीमा भौतारिन्छ । यात्रामा निस्कन्छ । यस क्रममा उ कैयन स-साना खोल्सी र खोलाहरु पार गर्छ । उसलाई त्यो ठूलो नदीको नशा लागेको हुन्छ र खुशीका ति स-साना खोल्सी र खोलाहरु तरेको अनुभूति नै गर्दैन । आखिर तिनै स-साना खोल्सीहरु मिलेर नै नदी बन्ने त हो ।

उनी जाँदा जाँदै मैले यो खुशीको आकारको वारेको मेरो मष्तिष्कमा रहेको अनुभूति सुनाउन भ्याँए । अनि विदाईका हात हल्लाउदै भनेँ-हाम्रो दैनिकीमा एउटै रुट छ । फेरी अवश्य नै भेट होला ।

अपरान्ह ३:०० वजे
काविवि पुस्तकालय
धुलिखेल
पौष १४, २०७१