Friday, November 10, 2017

पर्मको मर्म

मेरो साथमा ‘जदौका निबन्ध’ शीर्षक भएको पुस्तक थियो । केही दिनदेखि मैले यो कृति बोकेर हिँडेको छु । फुर्सद पाउँदा वा कतै एक्लै यात्रा गर्नु पर्दा म प्रायः पुस्तक पढ्ने वा ल्यापटपमा लेख लेख्ने वा दैनिक पत्रिकाका शनिबासरीय परिशिष्टांकहरू पढ्ने गर्छु । उल्लिखित पुस्तकका लेखक रेडियो नेपालमा कुनै जमानामा ‘साहित्य संसार’ नामको अति लोकप्रिय कार्यक्रम सञ्चालन गरेर ख्याति कमाएका चर्चित साहित्यकार दाहाल यज्ञनिधि हुन् । 
म कोटेश्वरबाट तीन पांग्रे सवारी साधनमा चढेको थिएँ । गन्तव्य थियो कृष्णगल्ली । आजभोलि पुस्तक पढ्दा घत परेको शब्द वा वाक्यमा चिनो लगाउने बानी लागेको छ । आज भने साथमा पुस्तक मात्र थियो, न झोला थियो न त कलम । म चालकतिर कुनामा थिएँ । कुनाको सिट राजकीय हुन्छ । अमेरिकामा कुनाको जग्गा वा घर राजकीय मानिन्छ रे । शायद अरूको दखल कम पर्ने भएर होला ।  
‘बहिनीसँग कलम छ ?’
मेरो देब्रेतिर बसेकी युवतीलाई सोधेँ । 
उनी किशोरीवय भर्खरै पार गरेकी जस्ती देखिन्थिन् । पछाडि भिर्ने झोला काखमा राखेर बसेकी थिइन् । केही नबोली झोलाबाट डट्पेन निकालिन् र मतिर बढाइन् । मैले चिनो लाउने काम सकेँ । उनको नासो फिर्ता गरेँ । थापाथली पुगेपछि मेरो सामुन्नेको लहरमा तीनवटा सिट खाली भए । म त्यता सरेँ । अब मलाई गुन लगाउने युवती मेरो सामुन्नेमा भइन् । म भने निबन्धमै हराएँ । कृष्णगल्ली पुग्न लाग्दा ओर्लने ठाउँको भेउ नपाएको झैँ गरेर तिनले दायाँ–बायाँ हेरिन् । म कृष्णगल्लीमा ओर्लिएँ । उनी पनि ओर्लिन् । म केही कदम अघि थिएँ । उनी मेरै पछि लागिन् । म उभिएँ । 
‘जाने ठाउँ अलमल भयो कि के हो ?’
‘लबिम मल भनेको थियो । यतै होइन र ?’
‘हो, यतै हो । अब अलमल हुँदैन । म पनि त्यतै जाने हो ।’
‘ए.., हो ¤’
‘तात्तातै पर्म तिर्न पाउने भएँ नि त मैले ¤’
अब भने हामी पैदल यात्री हिँड्ने पेटी ढाकेर सँगसँगै हिँड्न थाल्यौँ । पेटीमा हिँड्ने मान्छे पातला थिए । मैले ‘पर्म’ लाई नै हाम्रो कुराकानीको शीर्षक बनाउने विचार गरेँ । उनलाई बोल्ने समय नै नदिई प्रश्न गरेँ– ‘पर्म भनेको थाहा त होला नि ?’
‘छैन त ।’
‘तिम्रो घर कहाँ हो र ? तिमी भने हैँ अन्यथा नलिनू ।’
‘चितवन हो । भइहाल्छ नि ।’
‘एउटा घरपरिवारको सदस्य खेताला भएर अर्को कहाँ गएर काम गर्ने । अनि पर्म लाग्छ ।’
‘ए..., बुझेँ । उसो भए अघि मैले हजुरलाई कलम दिएको पर्म भयो, हैन त ?’
‘हो, अनि मैले लबिम मल देखाइदिएर पर्म तिरेँ । अनि तिमी अहिले कहाँ के गर्दै ?’
‘भर्खर लोकसेवा पास गरेर सरकारी सेवामा प्रवेश ।’
‘प्रशासनिक कि प्राविधिक ?’
‘प्राविधिक, ईन्जिनियर पद हो ।’
म आश्चर्यमा परेँ । मलाई हाई फाईभ अर्थात पाँच औंले बधाई दिनका लागि यो भन्दा राम्रो साइत अर्को कुर्नुपर्ने थिएन । उनलाई उभिने इशारा गरेँ । दाहिने हात आकाशमा पु¥याएँ । धिमा गतिमा उनीतिर बढाएँ । कहिल्यै पनि एक अर्काको स्पर्श नगरेका हाम्रा हातहरूले आकाशमा ताली पिटे । दुवैका अनुहारमा आश्चर्य र खुशीका भावहरूले आकाशिने मौका पाए । 
‘लौजा ¤ बधाई दिनु त यस्तो । म पनि इन्जिनियर हुँ । कुनै जमानामा म पनि लोकसेवा पास गरेर इन्जिनियरिङ सेवामा प्रवेश गरेको थिएँ । बडो आनन्दको अनुभूति भयो । तिम्रो कार्यालय चैँ कुन हो ?’
‘खानेपानी तथा ढल निकास विभाग ।’
‘हे भगवान...¤ यो त चमत्कारै भो ¤’
मैले त्यही विभागमा पाँच वर्ष स्थायी दरबन्दीमा काम गरेँ । यसरी सामान्य भेटघाटमा पनि एउटै कित्ता फेला पर्नु । अनि कित्ताको खलोसमेत एउटै हुनु एक सुखद संयोग थियो । मैले फेरि सशक्त पाँच औले बधाई दिएँ । मैले उनको नाम सोधेँ । मेरो बिजिनेस कार्ड दिएँ । अति नै आनन्दको महसुस गर्दै हामी छुट्टियौँ । 
यात्रामा पुस्तक पढ्ने कार्यले सिर्जना भएको यो रोचक प्रसंग थियो । यात्रा गर्दाको वा पर्खने समयलाई लेखपढमा लगाउन सकिँदो रहेछ भन्ने बुद्धि जापानमा हुँदा पलाएको हो । हाम्रो समाजका अधिकांश नरनारीको यो बुद्धि बङ्गारो उम्रन बाँकी नै छ । कसैले केही भन्ला कि ¤ वा लेखपढ त स्कुल कलेजमा पो गर्ने हो, जहाँ पायो त्यहीँ गर्ने हो र भन्ने संकोचको भकारी बोक्नेहरूको भीड भएकाले यस्तो भएको हो भन्ने मेरो मान्यता छ । मैले भने यो संकोचको भारी जापानको रेल यात्रामा बिसाएँ । 
त्यसबेला म साइतामा जिल्लाको मिसातो शहरमा बस्थेँ । मेरो निवासबाट टोकियो विश्वविद्यालय पुग्न ९० मिनट लाग्थ्यो । यो समयावधिको मुख्य अंश अर्थात ७० मिनेट मैले रेलयात्रा गर्नुपथ्र्याे । आउने र जाने गरेर हरेक दिन लगभग साढे दुई घण्टाको समय म रेलयात्रामा बिताउँथे । सुरुका केही दिनहरू त मैले बाहिर हेरेर वा विभिन्न रङका सुकिलामुकिला जापानिज यात्रुहरूलाई हेरेर बिताएँ । केही दिनमै मैले यात्रा सँस्कारको एक सूत्र फेला पारेँ । सहयात्रीलाई हेर्नु भनेको अशोभनीय मानिँदो रहेछ । रेलमा यात्रा गर्ने जो कोहीको पनि हातमा एउटा एउटा पुस्तक हुँदो रहेछ । रेलमा उभिएर पनि मज्जाले पढ्न मिल्दो रहेछ । 
मैले आफूले आफूलाई प्रश्न गरेँ– यी अधिकांश जापानिजले यात्रामा पढ्न हुन्छ भने तैँले पढ्न किन हुँदैन ?
त्यस दिन मेरो कुण्ठाको बरफ पग्लिएर पानी भएको थियो । बरफ ठोस पदार्थ हो । आफँै हिँड्दैन तर पानी ओरालोतिर बग्छ । ‘अरूले देख्ने गरी लेखपढ किन गर्ने’ भन्ने मेरो कुण्ठा तरल भएर शायद जापानको वरिपरि रहेको सागरमा मिसिएको थियो ।   
जापानमा म नेजु स्टेसनबाट मिसातो स्टेशनसम्म नियमित यात्रा गर्थें । यो पनि अर्को सुखद संयोग भएको छ– अहिले म कहिलेकाहिँ धुलिखेलबाट सार्वजनिक बसमा काठमाडांैसम्मको यात्रा गर्छु । यात्रा गर्दा प्रायः विद्यार्थीहरू सँगै पर्छन् । अनुकूल परिस्थिति पर्दा उनीहरूको भाडा म तिरिदिन्छु । अनि ‘पर्म’ को प्रसंग निकाल्छु । 
‘तिमीलाई पर्म भनेको थाहा छ ?’ 
टेम्पो यात्रामा भेटिएकी इन्जिनियरलाई जस्तै सोध्दछु । 
अधिकांशलाई थाहा हुँदैन । एकले अर्कोका लागि आलोपालो गरी काम गरिदिने चलन नै पर्म हो भनी अथ्र्याउँछु । 
‘त्यसको मतलब मैले हजुरको भाडा कुनै दिन तिर्नुपर्ने भयो होइन त ?’
पर्मको मर्म बुझेर उनीहरू मलाई सोध्छन् । हाम्रो वार्ता अघि बढ्छ । 
‘सही हो तर त्यो मेरो भाडा होइन अरू कसैको हुनेछ ¤’
‘अरू कसको होला त ?’
यहाँनिर म उनीहरूलाई त्यो सम्भाव्य पात्रको बारेमा सोच्न बाध्य पार्छु । त्यो पात्र को हुन सक्ला भन्ने प्रश्नले उनीहरूको मथिंगल खैलाबैला हुन्छ । मैले एकजनाको ३० रुपियाँ भाडा तिरिदिएको हुन्छु तर त्यो खैलाबैलाको मूल्य हजारौँको भए झैँ लाग्छ । 
‘तिम्रो कुनै विद्यार्थीको वा तिम्रो मातहतमा काम गर्ने कर्मचारीको तर त्यसबेला तिमीले आजको यो प्रसंग कोट्याउनु पर्नेछ र उसलाई पनि तिमीले लगाएको पर्म सार्ने तरिका बताउनुपर्ने छ ।’
मैले मेरो कवितामा लेखेको छु– 
मलाई पर्म लगाउनुहोस् असल कर्महरूको 
म उत्तम फर्काउने प्रण गर्छु । 
मैले आजका सन्तति अर्थात भोलिका कर्णधारलाई लगाएको पर्म उनले उनका पनि सन्ततिलाई अवश्यै तिर्नेछन् भन्ने मेरो आशा छ । त्यो समयको गर्भमा रहेको एक बहुमूल्य गाडधन हो । त्यसको श्रीवृद्धिले स्नोबल अर्थात हिउँको भकुण्डो सिर्जना गर्नेछ । हिउँ नै हिउँ भएको ठाउँमा त्यो भकुण्डो जति गुड्कियो त्यति नै त्यसको आयतन ठूलो हुनेछ । यसो हुँदा नेपाली धरतीले मलाई सुम्पेको अभिभारा केही मात्रामा भए पनि तिरिन्छ । यसरी नै नेपाली समाजका सन्ततिलाई अहिलेका गुरु, अभिभावक, नेता र पेशाविद्हरूले पर्म लाउने हो भने समृद्ध नेपालको गन्तव्यको दूरी केही कदमले भए पनि घट्ने छ भन्ने मेरो मान्यता छ । पर्म लाउने मात्र होइन शास्त्रले त एक आदर्श गुरुको वा एक असल अभिभावकको कर्तव्य आफ्ना शिष्य वा सन्तानलाई शिक्षादीक्षा दिँदा ‘यिनले एक दिन मलाई पराजय गरून्’ भन्ने इच्छा भावले दिनुपर्छ भनेको छ । शास्त्रको ‘पुत्र’ वा ‘शिष्य’ भन्ने शब्दलाई ‘नेता’ ले विस्थापित गरेर मैले यस्तो वाक्य बनाएको छु– 
‘नेतात इच्छेत पराजयम्’ 
यसको आशय आफूले उत्पादन गरेका वा प्रशिक्षण दिएका भविष्यका नेताहरूले आफूले भन्दा पनि विशिष्ट योगदान दिऊन् भन्ने हो । अहिलेको मात्रै ज्ञान र क्षमताले भविष्यका चुनौती सामना गर्न असम्भव हुन्छ । 
शास्त्रले मात्र होइन ‘नेतृत्व कौशल’ को आधुनिक पढाइमा पनि ‘लिडर्स डेभलपिङ् लिडर्स’ अर्थात एक असल नेताले गर्नुपर्ने सबैभन्दा महŒवपूर्ण काम आफ्नो शेख पछिका नेता उत्पादन गर्ने हो भनिन्छ । एक जमाना थियो नेपालीहरू बैठक कोठामा वा आफ्नो कार्यकक्षमा राजारानीका तस्विर राख्थे । राजारानीको रंगमञ्च इतिहास भएपछि बीपी कोइराला वा मनमोहन अधिकारीका तस्विर राख्न थाले । 
यो कालखण्डले तलको एक गम्भीर प्रश्न जन्माएको छ । 
‘के अहिले रंगमञ्चमा उदाएका नेताहरूले पर्म लगाएको कर्म विशिष्ट छ ? के भविष्यमा उनीहरूको पनि तस्विर बीपी वा मनमोहनको जस्तै पूजनीय हुनेछ ?’ 
साहित्यमा कठोर विम्ब प्रयोग गर्न सक्ने उनै धरतीपुत्र दाहाल यज्ञनिधिले ‘सेरिएकाको जदौ शेरबहादुरलाई’ शीर्षकको निबन्धमा भनेका छन्–
भुँईकुरुवालाई नागरिकलाई ससम्मान ‘देश’ दिन सक्ने नेता हामीलाई चाहिएको छ ।
हामीलाई कस्तो नेता चाहिएको छ ? यो प्रश्नको यस्तो कालजयी उत्तर दिनसक्ने वाक्य अहिलेसम्म मैले कतै पढेको थिइनँ । उनका निबन्ध पढ्दा मलाई लाग्यो उनी एक कर्मठ धरतीपुत्र मात्र होइनन् एक व्युत्पन्न सरस्वती पुत्र पनि हुन् । उनीसँग म सहमत छु । वास्तवमा अहिलेसम्म कुनै पनि भुँईकुरुवा नेपालीले ससम्मान ‘देश’ फेला पारेका छैनन् । पारेका भए यति धेरै संख्यामा भुँईकुरुवाहरू विदेशिने थिएनन् । यस हिसाबमा दाहाल यज्ञनिधिले दिशानिर्देश गरेको बाटोमा कि त अहिलेका नेताहरू हिँडून्, सक्दैनन् भने कम्तीमा आफ्ना अनुयायीलाई उनीहरूले भनून्–
यो देशका नागरिकलाई ससम्मान देश दिने जिम्मेवारी अब तिम्रो काँधमा आएको छ । 
आश्विन २६, २०७४

साभार : http://ehimalayatimes.com/bichar-sahitya/18058

Wednesday, September 27, 2017

नेतृत्व अक्षमताको रहस्य



पहिलो चरणमा निर्वाचन सम्पन्न भएको एक नगरपालिकामा फोन गरेँ । नगरप्रमुखसँग भेटको समय निर्धारण भयो । उनको मोबाइल नम्बर पनि साथमा थियो तर कार्यालय समयमा औपचारिक कामको सिलसिला हो भने सकेसम्म ल्याण्डलाइन नै प्रयोग गर्नुपर्छ भन्ने मान्यता अवलम्बन गर्नु निको ठानेँ ।
यो नगरप्रमुखको सचिवालय हो ?’
मैले अभिवादन गर्दै सोधेँ ।
होइन त । सचिवालयको नम्बर अर्कै छ ।
फोन उठाउनेले नम्बर दिए । मैलै नगरप्रमुखको सहयोगी नाम सोधेँ । दिइएको नम्बरमा फोन लगाएँ ।
उता बाट जवाफ आयो । फोन उठाउने एक पुरुष थिए ।
नगरप्रमुखको सहयोगी फलानालाई पाउँन ।
मैले अघिल्लो फोनवार्तामा दिइएको नामको व्यक्ति खोजेँ ।
उनी त बाहिर गएकी छन् । म नगर प्रमुख बोल्दैछु । भन्नुहोस् कति कामका लागि वहाँलाई खोज्नु भो
मेरो अनुमान विपरीत निस्कियो । मैले निचोड निकालेँत्यहाँ कार्यालय सचिव व्यस्त थिए तर नगरप्रमुख फुर्सदिला । कार्यालय र आफ्नो मातहतका कर्मचारीबाट आफूले गर्न चाहेको काम सम्पन्न गराउनु कार्यकारी वा नेतृत्वको प्रमुख काम हो । यसका लागि मातहतको सचिवालय चुस्त दुरुस्त हुनुपर्छ । आफैं संलग्न भएर के गर्ने के नगर्ने भन्ने विषयमा पनि प्रमुखलाई थाहा हुनुपर्छ । कुचो लगाउने, टेलिफोन उठाउने र सवारीसाधन चलाउनेजस्ता काममा आफूलाई संलग्न गराउनु क्षमताभित्रको अक्षमता हो । नेतृत्व कौशलताको यो कसी नगर प्रमुखदेखि सरकार प्रमुख सबैमा लागू हुन्छ । दुर्भाग्य ¤ इन्द्रासनमा बसेका हाम्रा कतिपय पदाधिकारीहरूले यो विषयको गाम्भीर्य बुझेको देखिँदैन ।
केही दिनअघि बिबिसी नेपालीसेवाको एक कार्यक्रममा नेपालका सम्माननीय प्रधानमन्त्रीले प्रश्नकर्तालाई हप्काए । सवालजवाफप्रकरणको भिडियो सामग्री भाइरल बन्यो । एककान दुईकान गर्दै खबरले संसार पिट्यो । टेलिभिजन हेर्न नभ्याएका दर्शकले मुलुकका प्रमुख कार्यकारीको यो लीला युट्युवमा हेरे । लीला नायकले आफूले खबर जगतको खरबारीमा लगाएको आगो निभ्न नपाउँदै फेरि अर्को अनौठो हर्कत गरे । सप्तरी जिल्लामा बाढीपीडितको भेलामा लिखित मन्तव्य दिँदा एक पूर्वमन्त्रीले चढाएको ज्ञापनपत्र पढे । शासनसत्ताको बागडोर सहृमालेका नायकले लिखित भाषण पढ्दा असान्दर्भिक कुरो बोल्दैछु भन्ने भेउसमेत पाएनन् । छेउमा बसेका प्रमुख जिल्ला अधिकारीले नजिकै आएर काम बिग्रेको संकेत गरेपछि मात्र प्रधानमन्त्रीले थाहा पाए ।
बौद्धिक जमातले टिप्पणी ग¥र्योमुलुकका आधा दर्जन प्रदेशमा स्थानीय चुनाव सफलताका साथ सम्पन्न गरेर यश कमाएका प्रधानमन्त्री शेरबहादुर देउबाले भईपरी आएका यस्ता विधर्मी क्रियाकलापले आफ्नो कद स्वाट्टै घटाए । मैले यही प्रसंग केही दिनअघि साथीभाइको एक समूहमाझ राखेँ ।
केही न केही गुदी त होला शेबदेमा, नभए चारचार पटकसम्म मुलुकको बागडोर हाँक्ने पदमा कसरी पुग्थे ?’
नेतृत्व कौशलको के त्यस्तो चिज होला त देउबामा ?’ एक मित्रले गुदीलाई कौशलसँग जोडे ।
कुरोमा दम छ भन्ने बुझेका मेरा दौँतरीहरूले मुखामुख गरे । उनीहरू केही बेर गम्न पुगे ।
मलाई थाहा छ । शेबदेसँग के छ भन्ने कुरा ।एकमित्रले हात उठाए ।
ल जाओस् । मैदान खाली छ ।मैले बहसको हरियो बत्ती बालेँ ।
डा. आरजु राणा ।वरिपरिका अपरिचितहरूको पनि ध्यानाकर्षण हुने गरी हाँसोको फोहोरा फुट्यो ।
यो हस्यौलीभित्र लुकेको मर्ममा अहिले नेपाली जनताको ध्यानाकर्षण भएको छ । के हाम्रा अगुवाहरूमा नेतृत्व कौशलको बीउ नै छैन ?
संस्मरणात्मक निबन्धका अध्येता धनुषचन्द्र गोतामेले लेखेका छन्
चन्द्रशमशेर, जुद्ध शमशेरजस्ता प्रधानमन्त्रीहरूले कृत्रिमरूपमा धारण गर्ने गाम्भीर्य, तनावयुक्त तमतमाउँदो अनुहार, गरिब प्रजाले टालेको सुरुवालमै तुक्र्याउने गरी झिक्ने क्रोधयुक्त चित्कारमा आफ्नो रवाफ र पदीय गरिमाको जुन नापो छाडेर गए त्यसको धङधङी आजको लोकतान्त्रिक व्यवस्थामा पनि आंशिक रूपमा विद्दमान छ
एउटा विदेशी सञ्चारमाध्यमले आयोजना गरेको त्यस्तो कार्यक्रममा प्रधानमन्त्री नै जान जरुरी थियो कि थिएन ? कि सरकारलाई सञ्चार संयन्त्रको प्रयोग गरी कुनै विशेष सवालमा जनमत तयार गर्ने वा आफ्नो रणनीति सार्वजनिक गर्नुपर्ने बाध्यात्मक परिस्थिति थियो ? के जोखिम र सम्भाव्य नकारात्मक परिणामका बारेमा रणनीतिकार वा सल्लाहकारहरूले गृहकार्य गरेका थिए ? आयोजकले प्रश्नकर्तालाई जस्तै प्रधानमन्त्रीलाई पनि अभ्यास गर्ने अवसर दिएका थिए त ?


यो बहसमा यस्ता सर्वमान्य सिद्धान्तमा आधारित वस्तुनिष्ठ पक्षमा ध्यानकेन्द्रित गर्न अनावश्यक ठहर्छ । किनभने प्रधानमन्त्रीको सचिवालयका पदाधिकारीहरूलाई पक्कै पनि यस्ता कुराले बेल पाकेर कागलाई हर्ष न विस्मातभएजस्तो हुन्छ । प्रधानमन्त्रीको खोपीमा पहुँच भएका लालबुझक्कड कोही भए भन्न सक्छन्यो विदेश हो र ¤ झिनामसिना कुरामा पनि ध्यान दिनुपर्ने ?
उहिलेका प्रधानमन्त्रीहरू निरंकुश शासनसत्ताको नेतृत्व गर्थे । त्यसबेला समाचार जड भएर बसिरहन्थ्यो । अहिलेको जस्तो बिजुली गतिमा सारा संसारमा फैलिने संयन्त्रहरू थिएनन् । अहिले क्षणभरमै साराले थाहा पाउने प्रविधि छ । यस कारण शब्दमा या व्यवहारमा धोती फुस्केकोचाल नपाउने नेताका दिन गए । युवा नेतृत्वले बुझ्नुपर्ने यो अति संवेदनशील र महŒवपूर्ण कुरा हो ।
ओहोदाको उन्माद र दम्भको विधर्मी संस्कारमाथि टिप्पणी गरेका गोतामेले एकअर्को प्रसंगमा भनेका छन्बडो प्रत्युत्पन्न बुद्धि भएको मानिसले मात्र हास्य र व्यंग्य समयानुकूल व्यक्त गर्न वा लिपिबद्ध गर्न सक्छ ।
उनले नेपालका भूतपूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले भाषण गर्दाको एक रोचक प्रसँग पनि उल्लेख गरेका छन्
आमसभामा चश्मा पुछ्दै हाम्रा भू. पू. प्रधानमन्त्रीले सभामा बसेका सुन्दर महिलाहरूको अनुहार राम्रोसित हेर्न सकूँ, त्यसैका लागि आफ्नो चश्मा पुछ्दै छु भन्नुमा कुनै हलुकापन छैन ।
दर्शक वा श्रोतागण दुई किसिमले हाँस्छन् । एउटा देउवाले जस्तो भाषणको सट्टा ज्ञापनपत्र पढेको जस्तो अनर्थ हुन गएमा । अर्को भट्टराईले चश्मा पुछेको जस्तो परिस्थितिजन्य क्रियाकलापले विनोदी भाव सिर्जना हुन सकेमा ।
दुई वर्ष अघिको प्रसंग हो । एउटा क्याम्पसमा स्नातकोत्तर तहमा भर्ना भएका सयभन्दा बढी विद्यार्थीको अभिमुखीकरणको कार्यक्रममा सहभागी भएको थिएँ । भौतिक विज्ञानका एक प्राध्यापकले लामो भाषण गरे । उनले अब म अन्तिममा यो एउटा महŒवपूर्ण कुरा भन्छुभन्ने वाक्य नै तीनपटक भने । लगभग तीन सयको संख्यामा उपस्थित श्रोतागणलाई केही चासो थिएन । उनको पट्यारलाग्दो प्रवचन सकियो । श्रोतागणले गडगडाहट ताली पिट्यो । ताली ठूलो खड्गो काटियोभन्ने आशयको थियो ।
उद्घोषकले प्राध्यापकको भाषणको भव्य प्रशंसा गर्दै भनेआदरणीय सरले आफ्ना ओजस्वी अभिव्यक्तिले हामी सबैलाई मुत्रमग्धपारेर जानुभयो ।
सभाकक्षमा हाँसोको आँधीबेहरी आयो । उद्घोषकको जिब्रो लटपटिएर मन्त्रमुग्धको ठाउँमा अन्यथा हुन गएको थियो । एक त पट्यारलाग्दो भाषणको अस्वाभाविक प्रशंसा, अर्को शब्दको गोलमालले स्मरण गराएको कट्टु कित्ताको जिनिस ।
जस्तोसुकै विषम परिस्थितिमा पनि आफ्नो वायु कलुषित हुन नदिई र भईपरी आएको प्रश्नले आफ्नो इन्द्रासनको रौँ पनि हल्लाउन सक्दैन भन्ने अनुभूति गरेर हलुका स्नायुले जवाफ दिनसक्नु नै राजनेताको विशेषता हो । एकातिर यो कुरा बुझ्ने राजनीति शास्त्र वा नेतृत्व विज्ञानका पण्डितहरूको अभाव छ । बुझ्नेको संख्या केही भए पनि अघिल्लो दिन तिनै नेताको भाषण पत्रिकामा पढेर भोलिपल्ट उनैलाई सल्लाह बक्सन जानेहरू छन् । अर्कोतिर नेताहरू यत्रो वर्ष जेल बसेर म सर्वगुण सम्पन्न भएको छु, मैले सिक्नुपर्ने केही बाँकी छैनको दम्भ बोकेर हिँडेका छन् ।
केहीलाई छोडेर वामपन्थी कित्ताका अधिकांश नेताहरूले आक्रोशपूर्ण शैलीमा भाषण गर्दा र सकेसम्म गाली गलौजको भाषा प्रयोग गर्दा प्रभाव पर्छ भन्ने ठानेका हुन्छन् । उनीहरूका गुरुहरूले जानेको पनि त्यस्तै हुन्छ र प्रशिक्षण नै त्यही दिइएको हुन्छ ।
डा. दुर्गाप्रसाद भण्डारीले दैनिक जीवनका गतिविधिहरूमा विनोदप्रियताको महŒव उजागर गर्दै भनेका छन्चिन्तन, मनन र सिर्जना गर्ने सबैमा हास्य र शान्त रसहरूको प्रधानता रहन्छ ।
डा. भण्डारीले भाषणमा विनोदी भावको महŒवलाई जोडेर अल्बर्ट आइन्सटाईनले आफ्नो सापेक्षतावादको सिद्धान्त व्याख्या गरेको एक दृष्टान्तसमेत पेश गरेका छन्
जब म विनोदशुन्य राजनीतिज्ञ अथवा विनोदशुन्य राजनीतिक शास्त्रको प्राध्यापकको भाषण सुन्छु तब एक घण्टा एक वर्ष जस्तो लाग्छ, जब म कुनै सुन्दरी स्त्रीको बाहुपाशमा हुन्छु तब एक वर्ष एक घण्टाजस्तो लाग्छ ।
हाम्रा प्रधानमन्त्री शेरबहादुर देउवाको नामै पनि अरूभन्दा अब्बल छ । शेरशब्द फारसीबाट आएको हो । यसको अर्थ नेपालीमा सिंहहुन्छ । सिंहवनको राजा मानिन्छ । नेपालका प्रधानमन्त्रीको कार्यालय रहेको भवन परिसरलाई सिंहदरबारभनिन्छ । बाघ, चितुवा र सिंहका धेरै चरित्र समान छन् । सिंहको एउटा चरित्र भने फरक छ । सिंहिनीहरू र उनीहरूका सन्तान समूहमा बस्छन् । हात्तीको पनि सामूहिक जीवन हुन्छ । पोथी हात्तीहरूको समूहमा छोरी, आमा, हजुरआमा, सानीमा र ठूल्यामा आदिको बाहुल्य हुन्छ । उनीहरू एक सयदेखि दुई सयसम्मको संख्याको हुलमा रहन्छन् । अभागी वयस्क भाले भने एकल हुन्छ । बथानमा रहेका हात्ती वा सिंहको एक नाइके हुन्छ । संकट परेका बेलामा उसको प्रधान भूमिका रहन्छ । बथानको एक मात्र रक्षाकवच सामूहिक उपस्थितिहो । दशकौंको समूहमा रहेका हात्तीमाथि जाइलाग्न जुन जनावर पनि डराउँछ ।
शीर्षस्थ नेताको या प्रधानमन्त्रीजस्तो उच्च सार्वजनिक पद एक शक्तिशाली रक्षात्मक अस्त्र हो । यो प्रयोग नगरेरै कतिपय समस्याहरू टरेर जान्छन् । यसको दुरुपयोग हुँदा सर्वसाधारणको अपेक्षामा ठेस लाग्छ । अन्ततः यसले अलोकप्रिय नतिजा निकाल्छ । जस्तो, अहिले हाम्रा प्रधानमन्त्रीलाई भएको छ ।
नेतृत्वमा बसेको व्यक्तिलाई गल्ती गर्ने, चुक्ने वा गल्ती दोहो¥याउने सुविधा हुँदैन । मान्छेको जस्तो उच्च चेतना नभएका जंगली जनावरले पनि पद्धतिअनुसार नेतृत्व गरेको हुन्छ । यसकारण फरकफरक विचार र सोच भएका सर्वसाधारणको विराट समूहलाई नेतृत्व गर्दै एउटै राजमार्गमा हिँडाउन ठूलै रणनीतिको खाँचो पर्छ । यसैले एकै पहलमा वा एक पटकमा मातहतको एउटै व्यक्तिलाई काम अराएको भरमा आफूले चाहेको जस्तो वा संस्थाको हितअनुकूल काम हुन सक्ने कार्यविधि पहिचान गर्नु राजनेताको क्षमता हो । आफ्ना गतिविधि वा भाषण विनोदीपूर्ण वा धैर्यका साथ सम्पन्न गर्न सिक्नु युवा नेताहरूका लागि अपरिहार्य छ । अहिले कार्यरत वा इतिहास भइसकेका उच्च ओहोदामा आसीन व्यक्तिको गतिविधि जतिसुकै अलोकप्रिय भए पनि त्यसबाट एउटा सकारात्मक सन्देश त पाइन्छ नै ।
त्यो सन्देश युवाले यसरी आत्मसात गर्न सक्नेछन्भविष्यमा नेतृत्व गर्ने म जस्ताका लागि यो एक महŒवपूर्ण दृष्टान्त हो । मेरो पालामा त्यस्तो अलोकप्रिय काम हुने छैन ।
प्रकाशक : हिमालयन टाईम्स
लिङ्क : http://ehimalayatimes.com/bichar-sahitya/15107

Sunday, August 6, 2017

४५ त्रासदी

केही महिनाअघि एक वाणिज्य बैंकको शाखा कार्यालयमा गएको थिएँ । बैंकका व्यवस्थापक र मेरो केही वर्षअघिदेखि नै चिनजान थियो । यसकारण मेरो काम अग्रभागमा रहेकी एक कर्मचारीको जिम्मा दिएर म व्यवस्थापकको कोठामा पसेँ । ‘मेनेजर साहिबा’ लाई मेरा कुरा रोचक लाग्छन् । मलाई पनि हतार थिएन । उनले मेरो सत्कार गर्दै कफी मगाइन् । हामी कफी पिउँदै गफमा रत्तिन थाल्यौं । ढोकामा एक अधबैँसे महिला देखा परिन् । उनले ढोकामा उभिएरै व्यवस्थापकको ध्यानाकर्षण गरिन् ।

‘हजुरसँग केही कुरा गर्नु थियो ।’

‘एकै छिन बाहिरै पर्खनु ल ।’

‘भइहाल्छ नि !’

महिला ओझेल भइन् । हाम्रो कुरा फेरि सिरु भयो । केही मिनटमै उनलाई फेरि खबर आयो । नगद कक्षमा कुनै सानोतिनो बिघ्नबाधा आइलागेको रहेछ । उनी मलाई पर्खन अनुरोध गर्दै बाहिरिइन् । मैले आफूलाई कफीमै अल्झाएँ । उनले मैले अनुमान गरेभन्दा बढी समय लिइन् । मेरो मन छटपटिन थाल्यो । मैले ढोका सँगैका सीसाका भित्ताबाट चिहाएँ । मेनेजर साहिबा तिनै अधबैँसे महिलासँग माथ्लो तला जाने सिँढीमा उभिएर कुरा गर्दै थिइन् । दुवैको मुद्रा र अनुहारको भावले महिलाको समस्या गम्भीर प्रकृतिकै होला भन्ने लख काट्न मलाई बेर लागेन ।

व्यवस्थापकभित्र आइन् । हाम्रो कुराकानीले निरन्तरता पायो । मैले कफीको अन्तिम घुट्कोको स्वाद लिइसकेको थिएँ । यसैबीच फेरि एक पटक तिनै अधबैँसे आगन्तुक ढोकामा प्रस्तुत भइन् ।

‘हवस् त, बहिनी म लाग्छु ।’

‘हुन्छ, कामको चिन्ता नलिनू । बरु शरीरको ख्याल गर्नू । हेर्नु त कस्तो दुब्लो देखिनुभएको छ !’
व्यवस्थापकको अभिव्यक्तिले मेरो छैटौं इन्द्रिय सक्रिय भयो । सोचेँ– जीउ दुब्लाउनुसँग बैंकको कामको केही सम्बन्ध छ ! शंका निवारण गर्ने सुर झिकेँ ।

‘मामला के हो म्यानेजर साहिबा ?’

व्यवस्थापकले मलाई सुनाएअनुसार बैंकबाट ती महिला र उनका श्रीमान् दुवै मिलेर केही ऋण लिएका रहेछन् । केही महिनाअघि उनीहरूको सम्बन्धविच्छेद भएछ । त्यो घटनापछि श्रीमान्ले बैंकका कागजातहरूमा सही गर्न आलटाल गर्न थालेछन् । उनीहरूका छोराछोरी विदेश पसिसकेकाले भई परिआएका पहिरो पन्छाउँदै एक्लै जीवन संघर्ष गर्दै रहिछन् ती अवला नारी ।

‘ती महिलाको उमेर कति होला ?’

‘त्यही पैँतालीसको आसपास होला ।’

म झसँग भएँ । कारण थियो उमेर जनाउने संख्या अर्थात् ४५ । यो ४५ वर्षको आसपासका उमेरका महिला र पुरुष दुवैको जीवनमा विशेष प्रकृतिका विचलन आउँदा रहेछन् । खास गरी ४० र ५० को बीचको कुनै कालखण्डमा ती महिलाले जस्तै प्रत्येक नरनारीले जीवनका अप्ठ्यारा घुम्ती र ठाडा भीरपहरा भएका बाटाहरूको यात्रा गर्नुपर्ने रहेछ । म विगत दश वर्षदेखि यस विषयमा सूक्ष्म अध्ययन गर्दैछु ।
विश्वेश्वरप्रसाद कोइरालाको तीन घुम्ती उपन्यासको सुरुवात नै यो ‘४५’ बाट गरिएको छ ।

तीन घुम्तीको पहिलो अनुच्छेद भन्छ–
४५ वर्षको उमेर पुगेपछि सायद स्वास्नीमानिसलाई कुनै निश्चित थलोमा पुगेजस्तो लाग्छ, जहाँबाट अगाडिको सफर गर्नुपर्ने आवश्यकताको अनुभव हुँदैन, मानौं जीवनले भार बिसाएर विश्रामको शान्ति पाउँछ । शरीरमा पहिलेको जस्तो चाञ्चल्य रहँदैन, वाद्र्धक्यको स्थूलताले चञ्चलतालाई सम्भव हुन दिँदैन शरीरमा । कञ्चटतिरका केश पनि एकाएक सेतिँदै जान्छन् र तिनलाई चिम्टाले टिपेर उखेल्ने जाँगर पनि अब रहँदैन ।
उपन्यासकी मूल पात्र एक अधबैँसे नारी छिन् । उनको अन्तर्मन उजागर गर्न विश्वेश्वरप्रसादले स्वास्नीमानिसको उदाहरण दिएका हुन् । विधिको विधान हो– यो अनुभूति वा त्यस उमेरमा स्त्री–पुरुषले देखाउने व्यवहार वा उनीहरूका चरित्रको लिंग भेद हुँदैन । पुरुषलाई पनि विश्वेश्वरप्रसादले भनेजस्तो स्त्रीलाई जस्तै हुँदो हो । लोग्नेमानिसको तुलनामा स्वास्नीमानिसको जीउले बढी जटिल जैविक परिवर्तनहरूको सामना गर्नुपर्ने हुन्छ । मासिकधर्मको ुसुरुवात र अन्त्य, गर्भधारण र प्रसूति केही प्रमुख जैविक अवस्थाहरू पार गर्नुपर्छ । पैँतालीसकै हाराहारीमा मासिक धर्मको अवसान पनि हुन्छ । यी जैविक परिवर्तनहरू व्यक्तिको मानसिक स्थिति, दाम्पत्य जीवन र पारिवारिक बन्धनको जटिलतासँग पनि जोडिएका छन् ।

६ वर्षअघि अर्थात् २०६८ सालमा म भारतको आसाम राज्यको विद्युत प्रसारणसम्बन्धी एउटा परियोजनामा काम गर्थें । त्यसबेला काठमाडौं–गुवाहटीको सिधा उडान नभएको र कलकत्ता भएर जाने उडानहरू पनि धेरै पातला भएका कारण म नयाँदिल्ली भएर आउने जाने गर्थें । नयाँदिल्लीमा मेरा स्नातक गर्दाका एक मारवाडी साथी थिए । उनले इन्जिनियरिङमा स्नातकोत्तर गरेपछि जागिर खाएनन् । आफ्नै कम्पनी खोले । अरू साथीहरूबाट सुनेको थिएँ– उनले तरक्की गरेका छन् । वर्षेनी आठ दस करोडको कारोबार गर्छन् । दक्षिण दिल्लीमा आफ्नै कार्यालय छ । भारतका अन्य शहरहरूमा शाखा पनि खोलेका छन् ।

म उनको कार्यालयमा पुग्दा उनको दिवा भोजनको समय भएको रहेछ । मेरा मित्रले मारवाडीको नैसर्गिक परम्परालाई निरन्तरता दिएका छन् भन्ने कुरा बुझ्न उनको जिउडाल र पस्केको भोजन दुवै पर्याप्त थिए । दुई दशकपछिको पहिलो भेट थियो तैपनि बात मार्न लामो समय हामी दुवैसँग थिएन । उनले मेरा लागि १५–२० मिनेट समय छुट्याएको बताए । तर बोल्दैजाँदा अनौठो घटना भयो । हाम्रो कुराकानीमा कुनै कारणवश
‘डिप्रेसन’ ले प्रवेश पायो ।

‘म भर्खरै समस्याको यो भुमरीबाट फुत्कन सफल भएँ ।’

मैले मेरा मित्रलाई यो अभिव्यक्ति दिनासाथ उनको अनुहारको भाव एकाएक बदलियो । २०६८ सालमा म ४६ वर्षको उमेर पूरा गरेर ४७ मा हिँड्दै थिएँ । पैंतालीसको संकटकाल बडो कष्टपूर्ण तरिकाले काटेको थिएँ । मसँग
यो त्रासदी व्यहोरेको ताजा अनुभव थियो ।

उनी जुरुक्क उठेर म बसेको सोफामा आए । मेरो हात समाते । एकदम निरीह भएर भने–
नवराज ¤ मेरो प्रिय मित्र, तिम्रो बित्ने काम छैन भने मसँग अरू केही बेर बस । म पनि यो असाध्य रोगको शिकार भएको छु ।

मलाई थाहा थियो– डिप्रेसन वा दुव्र्यसनका समस्यामा जति अरूलाई मद्दत गरिन्छ उती आफ्नो रोग निको हुन्छ । मेरो त्यस्तो बित्ने काम केही थिएन । किनभने गुवाहटीका लागि मेरो उडान भोलिपल्ट मात्र थियो । मैले उनको अनुरोध स्वीकारेँ ।

उनले स्वागतकक्षमा फोन गरे–

मेरो आजको सबै पूर्वनिर्धारित बैठकहरू रद्द गरिदिनू । फोन आयो भने सन्देश टिपोट गरेर राख्नू ।
उनले उनकी धर्मपत्नीलाई पनि हाम्रो कुराकानीमा सहभागी हुन बोलाए । उनलाई आइलागेको समस्याका कारण व्यवसाय खस्कन थालेकाले श्रीमतीलाई कम्पनीका निर्देशक बनाएका रहेछन् ।

उनले आफूले भोगेका आर्तनादका क्षणहरू सम्झिए–

जुन तरिकाले म निर्णय लिन्थेँ । अहिले फिटिक्कै सक्दिनँ । मैले तालिम दिएका राम्रा कर्मचारीहरू मेरो सेलाएको नेतृत्व र निर्णयात्मक क्षमतामा आएको ह्रासका कारण लाखापाखा लागे । मेरो कम्पनी ओरालो लागेको छ । म जीवनकालकै विकराल संकटको सामना गरिरहेको छु ।  

मेरा सखाको समस्या बुझ्न बेर लागेन । उनको दिनचर्याको फेहरिस्तले नै उनको विषादको पोको सजिलै खोल्यो । उनी बिहान ढिलो उठ्थे । उठ्नासाथ  खाजा खाएर आफ्नै गाडीमा कार्यालय जान्थे । एउटै कार्यकक्षमा बसेर बेलुका छ–सात बजेसम्म काम गर्थे । दिउँसोको खाना पनि कार्यालयमा एक्लै बसेर खान्थे । बेलुका घर आएर खाना खाएपछि पनि कार्यालयकै पेचिला र जटिल विषयमा चिन्तन मनन गर्थे ।
मैले यी सब कुराको जानकारी लिएँ । मेरा अनुभवहरू पनि सुनाएँ ।

एक तमासले हाम्रा कुरा सुनिरहेकी मित्रकी धर्मपत्नीले मेरो उपस्थितिलाई अनियमित आकस्मिकताको संज्ञा दिँदै भनिन्–

मुझे तो लग रहा है आज भगवानले हमारी सुनली और आपको दुत के रूपमे भेज दिया ।
मेरा भारतीय मित्रसँगको वार्तालाप र मेरो अहिलेसम्मको अनुभवले सिकाएको छ– ‘डिप्रेसन’ को एक समाधान सूत्र आफ्ना दौँतरी वा नजिकका आफन्तसँग खुलस्त कुरा गर्नु हो ।

इकोनोमिष्ट पत्रिकाले केही वर्षअघि एक लेखमा हरेक मान्छेको जीवनमा ‘खुसी आयाम’ ले अंग्रेजीको यू अक्षरको निर्माण गर्छ भन्ने रोचक विषयवस्तु प्रस्तुत गरेको थियो ।  संसारकै औसत निकाल्ने हो भने ४६ वर्षको उमेर सबैभन्दा ‘बेखुसी’ हुने उमेर हो अरे ! यू को पहिलो हात ओरालो झर्छ । भुइँमा पुगेर उपत्यका बनाउँछ । अनि फेरि अर्को हात उकालो लाग्छ । यसैगरी युवा अवस्थामा जो कोही सर्वाधिक खुसी हुन्छ । रंगिन सपना देख्छ । महत्वाकांक्षाको मचानमा उक्लिन्छ । तीसदेखि पचासको उमेरमा मान्छेको जीवनमा खुसीको मर्करी सबैभन्दा तल हुन्छ । पचास पुगेपछि फेरि ‘यू’ को अर्को हात ठडिन थाल्छ । साठी या सत्तरीको उमेरमा मान्छेको जीवनमा युवा अवस्थाकै जस्तो अधिक खुसीका क्षण प्राप्त हुन्छन् ।      

किन ४५ वा ४६ को उमेरमा जो कोही पनि बेखुसीको पराकाष्टा व्योहोर्न पुग्छ ? बीस–पच्चीस वर्षसम्म एउटै बिछ्यौनामा रात कटाएको जीवन साथीमा एकाएक किन खोट देख्न थाल्छ ? घर छ । जागिर छ । छोराछोरी स्नातक गरिरहेका छन् । खान लाउनको दुःख छैन तर ऊ अहिले भोगचलन गरिरहेको कित्ताभन्दा अर्को उर्बर देख्छ । अथवा एउटा उही उमेरको व्यक्तिसँग नाता तोडेर अर्को उही उमेरको व्यक्तिसँग नाता जोड्न किन उद्यत हुन्छ ?

चिकित्सा मनोविद् अञ्जनकुमार ढकाल यो यक्ष प्रश्नको सपाट जवाफ दिन्छन् । उनको निचोड छ– ४५ को उमेरताका ‘व्यक्तित्व विचलन’ अर्थात पर्सनालिटि डिसअर्डर हुन्छ । यो समस्या बहीर्मुखी स्वभावको व्यक्तिलाई अलि कम र अन्तर्मुखीलाई बढी हुन्छ । दैनिक जीवनमा आइपर्ने तनाव र व्यावहारिक उतारचढावको व्यवस्थापन गर्न नसक्दा मान्छे एक्लिँदै जान्छ । उसको मनमा विषादको आयतन बढ्दै जान्छ । चालै नपाइकन ‘भुसको आगो’ ले जस्तो भित्रभित्रै खरानी बनाइदिन्छ । अन्त्यमा व्यावसायमा टाट पल्टने, आत्महत्या गर्ने, परपुरुष वा परस्त्रीसँग सम्बन्ध स्थापित गर्ने, पारपाचुके गर्ने, जोगी बन्ने आदि परिणामहरू निस्कन सक्छन् ।    

शास्त्रमा पनि यो विषय महत्वका साथ उल्लेख गरेको पाइन्छ । श्रीमद्भागवत गीताको पहिलो अध्यायको शीर्षक नै ‘अर्जुनविषादयोग’ राखिएको छ । यो शीर्षकको नेपालीमा सिधा अनुवाद ‘अर्जुनविरक्ति  सन्दर्भ’ हुन्छ । अर्जुन पनि ‘व्यक्तित्व विचलन’ को समस्याले ग्रसित भएका थिए । त्यस्तो बलशाली व्यक्तित्वले लडाइँको मैदानमा भगवान् श्रीकृष्णसँग भावविहृवल भएर पुकारा गरे–

कार्पण्य दोषका कारण मेरो स्वभावमा परिवर्तन आएको छ । मेरा लागि अब यो लडाइँ अर्थविहीन छ ।
गर्न लागेको काममा कुनै अर्थ नभेटिनु वा त्यो महत्वहीन लाग्नु भनेकै समस्याको सुरुवात हो । कुनै पनि व्यथा सुरु भएपछि त्यसको चाप बढ्दै जानु स्वाभाविक हुन्छ । व्यथा बल्झिँदै गएर परकाष्ठामा अन्त्य हुनसक्छ । यसकारण कतिपयले जीवनलीलामा आफंैले पूर्णविराम लगाउँछन् । अर्थात एउटा गन्तव्य निधो गरेर हिँडेको मान्छे बीच बाटोमा पुगेर हल न चल भएर थलिन सक्छ । वा, मति अझ बिग्रियो भने गएको दिशाको उल्टो अर्कोतिर फनक्क फर्कन पनि सक्छ । पूर्व दिशामा जानुपर्ने व्यक्ति पश्चिमतिर पनि जान सक्छ । वास्तवमा ‘विषाद’, ‘विरक्ति’, खिन्नता’, ‘नैराश्य’, र ‘दिक्दारी’ जस्ता शब्दहरू समानार्थी हुन् ।  

शास्त्रजस्तै प्रचलित अन्य दर्शनले पनि यस विषयमा आफ्नै कित्ताको निर्माण गरेका छन् । विषादजन्य समस्या लिएर भौँतारिएका निरीह मनुवाहरूलाई ज्योतिषीले चिनाटिपन हेरेर विरक्त लाग्नुको वा मति बिग्रनुको कारण सहजै भनिदिन्छ । ज्योतिषीले भन्ने कारण यस्ता हुन सक्छन्– ग्रहको चलखेल, साढेसाती शनिदशा वा उल्काको आक्रमण ।

मेरो आफ्नै ४५ त्रासदीमा म पनि विरक्तिएर ज्योतिषी कहाँ पुगेको थिएँ । उनले उल्काले उखपात गरेको तर्क दिएका थिए ।    

अर्थशास्त्रका नोबेल पुरस्कार विजेता डेनियल कानेम्यानले आफ्नो विश्वप्रसिद्ध पुस्तक ‘थिंकिङ् फास्ट एण्ड स्लो’ मा एक सिद्धान्तको व्याख्या गरेका छन् । मानिसलगायत सबै प्राणीमा लागू हुने त्यो सिद्धान्त हो– नोक्सान पन्छाउने प्रवृत्ति । जसअनुसार नयाँ लाभ लिनभन्दा नोक्सानी हुनबाट जोगाउन मानिस वा प्राणीले बढी संघर्ष गर्छ । टोलको कुकुर बाहिरिया शत्रुसँग ज्यानै जोखिममा पारेर भए पनि लडाइँ जितेरै छाड्छ । पतिपत्नी वा प्रेमी प्रेमिकाबीचको सम्बन्ध यथास्थितिमा राख्ने यो प्रवृत्ति एक अत्यन्तै प्रभावशाली रुढिवादी शक्ति हो । यसैले सौता हाल्ने लोग्नेहरू कमै हुन्छन् । पोइल जाने स्वास्नी पनि कमै हुन्छन् । तर ४५ को उमेरको सेरोफेरोमा पुगेपछि विश्वेश्वरप्रसादले भने जस्तो वा अर्जुनलाई कार्पण्य दोष लागेजस्तो नरनारीमा ‘व्यक्तित्व विचलन’ आउने सम्भावना बढेर जान्छ । जसको कारण ऊ पुरानो संसार छोडेर नयाँको लाभ लिने हर्कतसमेत गर्न सक्छ ।  यस्तो बेलामा सतर्कता अपनाउन नसक्ने वा यो त्रासदीको व्यवस्थापन गर्न सजग नहुने हो भने यसले विकराल विपत्ति निम्त्याउन सक्छ भन्ने विषयमा दुईमत नहोला ।    

जेठ ३१, २०७४
कोटेश्वर, काठमाडौं
प्रकाशक : हिमालयन टाईम्स
मिति :जुन १७, २०१७
लिङ्क : http://ehimalayatimes.com/bichar-sahitya/13764

Saturday, August 5, 2017

जिँउदो मान्छे: मरेको प्रहर




हामी लगभग एक दर्जन जतिको समूहमा थियौ । कोही केही बोलेको थिएन । नाटक-नेपथ्यकै झझल्को लाग्ने गरि कोठा वाहिरका मान्छेको कोलाहल, चराको चिरविर र मन्दिरको घण्टा मिसिएको आवाज जवरजस्ति झ्यालवाट पसेको थियो । पृष्टभुमिको त्यो आवाजलाई मिचेर हामीले चाहिए जति आयतनको सन्नाटा सिर्जना गर्ने प्रयास गरेका थियौ । कोमल सरले भूमिका वाँध्नु भयो-अव म यहाँहरुलाई एउटा विशेष गीत सुनाउँछु जसले केही दिन देखि असामान्य रुपमा मेरो ध्यानाकर्षण गरेको छ । मोवाईलमा सानो स्वरमा वजेको गीतलाई वेतारको आधुनिक प्रविधीले स्पीकर मार्फत घन्कायो ।

मर्ने कसैलाई रहर हुँदैन, तर नमरेको कुनै प्रहर हुँदैन ।
भागेर जाँउ कुन ठाँउ जाँउ, मान्छे नमर्ने शहर हुँदैन । ………………

मैले पनि यो गीत सुनेको धेरै भएको थिएन । तर यसले पहिलो पटकमा नै मेरो पनि ध्यानाकर्षण गरेको थियो । मान्छेहरुको नयाँ गीतसँग प्राय रेडियो, टिभी, चलचित्र वा ईन्टरनेटमा भेट हुन्छ । तर मेरो भने यो कर्णप्रिय गीत सँगको भेट घोष्ट राईटिङ् नामक सँस्थाले आयोजना गरेको सृजनात्मक लेखनको प्रशिक्षण-कक्षामा भएको थियो । त्यो पनि चानचुने भेट थिएन । किनभने गीत कसरी लेख्ने भन्ने विषयको चर्चा हुँदा त्यै गीतले उदाहरण वन्ने मौका पाएको थियो । प्रशिक्षक थिए- डा. कृष्णहरी वराल । यो उनैले लेखेको र धेरैले मन पराएको गीत थियो । मैले घरमा आएर यु ट्युववाट डाउनलोड गरेको थिँए र एक दुईवटा यस्तै समूहमा विशेष प्रसँगमा सुनाएको थिँए ।
गीत सुनिसकेपछि मेरो मनमा एक प्रश्न उब्जियो ।

गीतको पहिलो हरफको तर नमरेको कुनै प्रहर हुँदैनभन्ने वाक्याँशको अर्थ के होला ?“ मैले धेरै नसोचि समूहमा प्रश्न हुत्याईदिँए ।

सँसारमा अरबौ मान्छे छन् । कुनै पनि वेला कोही न कोही मरेकै हुन्छ । त्यही होला ।कोमल सरले आफ्नो विचार राख्नु भयो ।

मान्छे एक दिन अवश्य नै मर्छ । प्रत्येक पलले त्यो जीवनको अन्तिम दिन वा क्षणलाई नजिक तान्छ । अर्थात हरेक दिनको अवसान सँगै हाम्रो आयु २४ घण्टाले कम हुन्छ । यही होला ।देवी सरको मत विल्कुल फरक धारमा थियो । त्यस परिभाषामा व्यक्ति मौलो थियो समूहको हवाला थिएन ।
प्रत्येक पलमा हामी कुनै न कुनै रुपमा नवाँचेको अनुभुति गरिरहेका हुन्छौ । वाहिर देख्दा जिँउदो देखिए पनि भित्री मान्छे मरेको हुन सक्छ ।मैले भने तेस्रो धार समातेँ ।
यो प्रसँगले दुईवटा हालैका घटनाहरु ताजा भएर आए । केही समय अघि सरोकारवालाहरु समावेश भएको एक गोष्ठीमा मैलै प्रस्तुति गरेको थिँए । त्यहाँ राजनीतिक दलका जिल्ला स्तरका नेता पनि थिए । प्रस्तुतिक्रममा पूर्वयोजना विना एक प्रतिकको प्रयोग गर्न पुगेँ- भान्साघर लाई शिक्षालयको रुपमा लिन सकिन्छ भने शौचालयलाई राजनीति । किनभने भान्साघरमा चाहिएको पाक्छ र मीठो खान पाईन्छ । शौचालय भने जतिसुकै ननिको लागे पनि प्रयोग नगरी धरै छैन । राजनीति भनेको पनि त्यस्तै हो ।गोष्ठीको विषय थियो नगर स्तरिय सरसफाई योजनाको तर्जुमा
सुनेको थिँए-केदारमान व्यथितले पनि केही समय राजनीतिमा मुछिए पछि यस्तै आशयको अभिव्यक्ति दिएका थिए रे । गोष्ठीमा मेरो तर्क सुने पछि एका एक माहौल चिसियो । स्थानिय नेताहरुको पारो निकै चढेछ । पाखुरा सुर्कँदै उफ्रन थाले । अस्वभाविक स्थिती सिर्जना हुने जस्तो लागेर मैले क्षमा माँगे र मेरा शब्दहरु फिर्ता लिँए ।
मलाई पछि लाग्यो- मैले त्यो अभिव्यक्तिको प्रयोग नगरेको भए स्थिति असामान्य तर्फ मोडिने थिएन । मेरो व्यक्तित्व र ओजपूर्ण प्रवचनले जुन उचाई लिई रहेको थियो । त्यो एकाएक भिरवाट खसेको ढुँगो जस्तो भएको थियो । मेरो व्यक्तित्व र पहिचान आक्रोस र मनोमालिन्यको चक्रव्युहमा फसेको थियो । मेरो शिर झुक्यो । गाला रातो भयो । शान्त वातावरणलाई विथोल्ने गरि आँधी आयो । चट्याङ् पर्यो । मलाई लाग्यो आज वातावरण विज्ञ डा. नवराज खतिवडा को एक अँश मरेको छ ।
हुन ता अर्को मनले भनेको थियो- तैँले भन्न खोजेको उनीहरुले बुझेनन । तँ गलत थिईनस । समकालिन राजनीति सार्वजनिक शौचालय वरावर नै त भएको छ नि । दुर्घन्धित । जता पनि दिसै दिसाको रास । पिसावै पिसावको आहाल । न टेक्ने ठाँउ छ । न उभिने छ । तर के गर्ने आपत परे पछि जसरी पनि त्यो सुविधा प्रयोग गर्नै पर्छ । सरोकार राख्नै पर्छ । राजनीतिमा पनि त मन नपरे पनी सँलग्न हुनै पर्छ । चासो राख्नै पर्छ । राजनैतिक जामको निकास खोजिनै पर्छ । तर त्यो सभामा बहस गर्नु भनेकोराजाको काम छोडि फलानाको देवालीभने जस्तो हुने थियो । एकाएक मेरो अभिव्यक्ति निरिहि वा निष्प्राण मात्र भएको थिएन त्यसले विपरित धारको मुल्य अभिवृद्धि गरेको थियो । शायद! साँच्चिनै म एक अँश मरेको थिँए । सार्वजनिक थलोमा सिर्जिएको जीवनको त्यो एक तितो अनुभव थियो ।
चुनाव हारेको वा कुनै कारणवश एकाएक राजनैतिक पुँजी स्वाहा पार्न पुगेको नेताको चर्चा हुँदा भनिन्छ- यिनको राजनैतिक मृत्यु भएको छ । अक्षमताका कारण वा अन्य कुरै कारणले कुनै परिस्थितिमा दुरगामी निर्णय लिन नसकी सामाजिक रुपले परित्याक्त अगुवाको पनि अवसान भएकोभन्ने सुनिएको छ । साहित्य आकाशमा भने मृत्युले अलि फरक पहिचान वनाएको हुँदो रहेछ । हरेक कृतिको प्रकाशन पछि स्रष्टाको मृत्यु भएको ठाँनिदो रहेछ । गीतको एल्वम सार्वजनिक भए पछि गायकको अस्तित्व पनि मृत्युकै धारमा वग्दो रहेछ । लोकका सामुन्ने आफूले भनेको जस्तो भएन वा लोकप्रियतामा ह्रास आउने कुनै काम भएमा सामान्य जनजिव्रोले पनि भन्छ- आज मरेकै दिन भयो ।
एक अर्को घटना पनि त्यस्तै रह्यो । साहित्यानुरागी समाज र घोष्ट राईटिङ्ले केही समय अघि एक वनभोज कार्यक्रमको आयोजना गरेको थियो । म र वनभोजमा सहभागी एक युवती मिलेर मायाको सँवादशिर्षकमा एक गिति नाटकको मन्चन गरेका थियौ । रँगमन्चमा एकाएक एक जोडि नाच्न थालेका देखेर दर्शकदिर्घामा रोमान्च सिर्जिएको थियो । नारायण गोपाल र मिरा राणाले गाएकोमेरो जोवन लैजाउवोलको गीत नेपथ्यमा वजेको थियो । वनभोजका सहभागीहरुका अघि एकाएक हिँउदको वर्षा जस्तो आश्चर्य फलेको थियो । सडकमा केही खैलावैला हुँदा जसरी मान्छे एकत्र हुन्छन । त्यहाँ पनि त्यही भएको थियो । वरीपरीको जनलहरले पनि उर्लिएको भेल झैँ दर्शकको सँख्या वढाएको थियो । हाम्रो प्रस्तुतीको अन्त्यमा गडगडाहट तालीको वर्षा भयो । वाह ! क्यावात !का अभिव्यक्ति सुनिए । वनभोज वाट फर्कदाँ वाटोमा पनि त्यो नौलो कार्यक्रमको चर्चा भयो । फेसवुकका भित्तामा अभिनयका अँशहरु प्रेषण गरिए । धेरै जना साथीभाईले वाह ! वाह !गरे । अति निकटस्थ मित्रहरुले फोन समेत गरे । एक जना अनन्य मित्रले घुमाउरो पारामा प्रशँशा गर्नु भयो- मित्रवर ! यो उमेरमा के यस्तो हर्कत गरेको । तँपाईका घरका मान्छे त वकिलको खोजिमा निस्केका छन भन्ने सुनिन्छ नि ।
नभन्दै वनभोजको त्यो गतिविधि परिवारजनले मन पराएनन । नाच्नु मात्र होईन पछ्यौरा समेत ओडाईदिएको । कस्तो अचम्म ।भन्ने सम्मका प्रतिकृयाहरु सुनिए । अभिनयको पनि थाहा नभएको व्यक्तिले सार्वजनिक रुपमा परस्त्री सँग नारिएर माया पिरतिको अभिनय गर्नु के जरुरी थियो त ? गम्भिर प्रश्न पहाड वनेर ठडिएको थियो । आधा जुनी पार गरी नाति नातिना खेलाउने उमेरमा एका एक वैँस भरिएर सार्वजनिक रुपले पोखिनु अनौठो घटना भएको थियो । मेरा परिवारका सदस्यहरुको नजरमा त्यो कार्यले मेरो कद केही घटाएको थियो । नवराजको श्रीडगमगाएको थियो । मलाई लाग्यो- उनीहरुको दृष्टिकोणमा यो कारणले पति नवराज वा बाबु नवराजको केही अँश मरेको छ । वनभोज नगएको भए वा त्यहाँ गएर त्यो उपद्रो नगरेको भए चन्द्रमामा कुनै दाग देखिने थिएन । शँकाको कालो वादल मडारिने थिएन । तर सिक्कामा अँकित गाई र त्रिशुलको सँसारको वीचमा झिनो साँध भए झै मेरो लागि त्यो प्रकरणमा गाईको दुनिय पनि पूर्ण रुपले जीवित थियो । वनभोजका सहभागी लगायत अन्य साथीभाईले प्रशँशा गरेका थिए । कल्पना गरेँ । अभिनयको यो प्रकरण नाटकका अभियन्ता अशेष मल्ल लाई सुनाउने हो भने शायद भन्नु होला वाह नवराजजी ! तँपाईको कल्पना, निर्देशन र अभिनय प्रशँसनिय छ । यसले तँपाईको अभ्यन्तरमा कलाको त्यो मूल छ भन्ने प्रमाणित गर्छ । कम्मर कस्नु होस । भविष्य उज्जवल छ । परिवार जनले कुरा काट्नु भनेको त तपाईको सफलताको सँकेत हो । केही जन्मनका लागि केही मर्नु पर्छ । विधाताको विधान यहि हो ।
मैले नमरेको कुनै प्रहर हुँदैन को अर्थ त्यसरी लगाँए । हामी कुनै न कुनै रुपमा कुनै पनि वेला मरिरहेका हुन्छौ । कहिले आफ्नै नजरमा त कहिले अरुको नजरमा । भौतिक रुपमा मर्नु भनेको त प्राण पखेरु उड्नु हो । शास्त्रले यसलाई आत्मा र शरिरको वियोग भन्छ । रुखवाट पात झरेको जस्तो । पहिरोले ढुँगा उछिट्याए जस्तो । तर व्यक्तित्वको स्खलन हुनु । एकाएक अलोकप्रिय हुनु । अपमानित हुनु । हिनतावोध हुने प्रकरणमा फस्नु । कसैको नजरमा गिर्नु । हिँसा, हत्या वा वलात्कारमा सँलग्न भएर पछि पश्चातापले पाक्नु । आदि । जिँउदै मर्नु का स्वरुपहरु हुन ।

देशप्रेमको कवितामा लेखिएको छ
मर्यो जिँउदै त्यो जसले विर्स्यो देशको माटो ।
यि सवै अभौतिक मृत्युका रुप हुन । अर्थात हामी जिँउदै पनि मरिरहेका हुन्छौ । यहाँ स्थान, काल र पात्र आकस्मिक हुन सक्छन । जो कसैलाई पनि कुनै पनि वेला कुनै पनि स्थानमा भवितव्य पर्न सक्छ । अर्थात अभौतिक मृत्युको अनुभूति भईरहेको हुन सक्छ । जिँउदै मर्नु को उल्टो शायद जिँउदै जाग्नु हुन्छ । जो जिँउदै जाग्न सक्दैन त्यो जिँउदो लाश हुन्छ ।

झमक घिमिरेले लेखेकी छन-
यदि मैले मेरा हातका औलाहरु नचल्ने थाहा भए पछि खुट्टाले लेख्न नसिकेको भए आज म एउटा जिँउदो लास हुने थिँए ।

आदिकवि भानुभक्तले प्रश्नत्तोरमा भनेका छन-
ज्युँदै मर्याको भनि नाम कस्को?
उद्यम विना वित्तछ काल जस्को ।
मलाई यतिले चित्त वुझेन । एका विहानै डा. बराललाई फोन सम्पर्क गरेँ र सोधेँ-

नमरेको कुनै प्रहर हुँदैन को अर्थ के होला ? यहाँले के प्रसँगमा त्यो लेख्नु भयो ? ”

सामान्य मान्छे मर्न चाहँदैन । तर जीवनको अन्तिम सत्य मर्नु हो । त्यो गन्तव्यमा पुग्नका लागि यात्रा गर्नै पर्छ । हरेक प्रहरको त्यो लघु यात्रा पनि मृत्यु नै हो । कपाल फुल्नु, दाँत झर्नु वा रोग लाग्नु भनेका पनि स-साना मृत्युहरु हुन । यि सवै खोला मिलेर एक दिन नदी हुँदै महासागर वन्छ । नाई नभन्नु ल २ चलचित्र को कथा वस्तु यसैमा आधारित छ ।

शुरुमा उल्लेखित हाम्रो बहसमा तर्क गर्ने देवी सरको विचारको पोयो डा. वरालको उत्तरले समाएको थियो । मैले त्यसै दिन वेलुका यु ट्युवमा उल्लखित चलचित्र हेरेँ । यसरी मेरो लागि कुनै विशेष गीतमा यति चर्चा भए पछि हेरिएको चलचित्रको रुपमा नाई नभन्नु ल २ ले कृतिमान राख्यो । नभन्दै चलचित्रको पुरै कथा नमरेको कुनै प्रहर हुँदैनभन्ने विषयमा केन्द्रित रहेछ ।
मलाई भने मैले अर्थ्याएको अभौतिक मृत्युमा अझै मन गाडिएको थियो । मृत्युको आधिकारिक परिभाषा जान्ने ईच्छा जाग्यो । शब्दकोष पल्टाएर हेरेँ-
मृत्यु : १. देहावसान, निधन, मरण
२. प्राणीको शरीर सदाको निमित्त चेतनाहीन भई लाश हुने प्राकृतिक नियम
३. अन्त्य, समाप्ति
यसरी यो लेखोटको पनि भौतिक मृत्युभएको छ । शब्दकोशका अनुसार मृत्युको समानार्थी शब्द अन्त्यभएकोले यसो भनेको हुँ । मेरो विचार सर्वमान्य अवधारणा अनुरुप नहुन सक्छ । नमिल्ने जस्तो लागेमा सच्याएर यो लेखलाई कृपया जीवन दान दिन नविर्सनु होला ।
प्रकाशक : तरुण खबर डट कम
मिति : अगष्ट ०५, २०१५ 
http://tarunkhabar.com/2015/08/05/1914/