Friday, June 1, 2018

सदस्य–सचिवज्यू ! मलामी गाम्भीर्य किन !

यो आलेखका पंक्तिकारद्वयका अन्तस्करणमा विगत दुई वर्षदेखि ‘मलामी–गाम्भीर्य’ शब्द जोडीले इन्द्रासनमा इन्द्र बसेझैँ अड्डा जमाएका छन् । यसको श्रेय संस्मरणात्मक निबन्धका मूर्धन्य लेखक धनुषचन्द्र गोतामेलाई जान्छ । निर्दलीय पञ्चायती व्यवस्थाको उत्तरार्धमा सञ्चार मन्त्रालयको सचिव पदमा नियुक्त भएर आएका उनका हाकिम विष्णुप्रताप शाहको पदीय आचरणको शल्यक्रिया गर्दै उनले यो शब्दावली प्रयोग गरेका छन् । 

उनी लेख्छन्–

‘विष्णुप्रताप शाह धेरै हाँसोठट्टा र गफगाफ आफ्ना प्रशंसक वा चाटुकारहरू वरपर राखेर गर्थे । अरूका सामु पर्नासाथ कृत्रिम खोलभित्र पसिहाल्थे । अनि अभिनयकारी ढंगबाट अनुहारमा चिन्तायुक्त मलामी–गाम्भीर्य बेरेर स्वरसताको धोद्रेपनले विश्वसंकटबाट शोकाकुल भई बसेको आभाष दिएपछिको मानिस उनीसित बसेर हजुरका स्नायुमा गफ गर्न अघिसरा हुने ?’

यसरी शासन सत्ताको उपभोग गर्ने सिंहासनमा बसेको व्यक्तिको मुद्रा घाट जान लागेको मलामीको जस्तो हुन सक्दो रहेछ । मलामी–गाम्भीर्यको विपरीत प्रफुल्ल मुद्रा वा विनोदी मुद्रा हुन सक्छ । मनोविज्ञानको कसीमा मलामी कित्ता भनेको गम्भीर–विनोदी वर्णक्रम–स्केलको बाँया किनारा हो । अर्को मलामी भेटेको बेला स्वाभाविक रूपले सधैँ गरिने अभिवादनको आदानप्रदान समेत हुँदैन । कतिपयलाई देहावसान भएको व्यक्तिको नजिकको आफन्तसँग बोल्ने वा सान्त्वना दिने शब्दहरूको खोजी गर्न पनि कठिन हुन्छ । अझ कोही पहिलो पटक मलामी जाँदैछ भने उसको मनस्थितिमा गाम्भीर्य मापो गहन हुनु स्वाभाविक हो । 

केही समयअघि सुनजोडी एक महत्वपूर्ण कार्यालयको सदस्य–सचिवको कार्यकक्षमा पुगे । श्रीमान् सचिवज्यूको कार्यकक्षबाट आएको आवाजले वहाँ आफ्ना दौँतरी वा सहकर्मीहरूका बीचमा हुनुहुन्छ भन्ने स्पष्ट थियो । भित्रको रमाइलोले बाहिरको सन्नाटा ख्वाप्लक्कै खाएको थियो । सदस्य–सचिवज्यूका सहयोगीले सुनजोडीलाई पर्खने आदेश दिए । 

त्यो परिस्थितिको आकलन गर्दै सूर्यमानले सुटुक्क नवराजलाई भने–

‘क्यावात ! सदस्य–सचिवको विनोदी मुद्रा । तर त्यसको आयु कति लामो होला ? त्यसको अन्दाज आज हुने भयो ।’

केही क्षणपछि श्रीमान्को कार्यकक्षमा रंगीन अन्तक्र्रियामा संलग्न आगन्तुकहरू बाहिरिए । सुनजोडी आदेश पाएर भित्र प्रवेश गर्‍यो । सदस्य–सचिवज्यू घुम्ने कुर्सीमा विराजमान भेटिनु भयो । वहाँले एकै हातले नमस्कार फर्काउनु भयो । सूर्यमानले शंका गरेअनुरूप नै हाकिम साहेबले आफ्नो भावभंगी परिवर्तन गर्नुभयो । जाडोमा भुवादार सिरक ओढेझैँ मलामी–गाम्भीर्यको झिल्ली ओढेको स्पष्ट अनुभूति भयो । 

मलामी–गाम्भीर्य धारण गरेको कर्मचारी वा नेताको अन्य आचरण कस्तो हुन्छ त ? जस्तोसुकै मौसममा पनि उसको अनुहार तनावग्रस्त हुन्छ । बोलीमा प्राय रिस र अहंकार मिसिएको हुन्छ । आफ्नो अधीनका कुनै निमुखा कर्मचारीले काम विगार्‍यो भने शरीरको रोमरोमबाट अहंकारको फणा फिँजाएर कुटिल मुद्रामा हिंस्रक व्यवहार गर्ने वा आतंक सिर्जना गर्नेसम्म हुन सक्छ । यस्ता जनहरूको आफूभन्दा माथिल्लो ओहोदाका कर्मचारीसँग भने चोचोमोचो मिलाउने वा चाकरी गर्ने हिसाबले सरल मुद्रामा नै बोलीचाली हुन्छ । 

कतिपयले मातहतका कर्मचारी भर्ना गर्दै उनीहरूको व्यक्तिगत जीवनका कमजोर पक्षलाई दाउमा लगाउने हिसाब पनि गरेका हुन्छन् । अथवा कार्य सम्पादन मूल्यांकनलाई हतियार बनाएर आर्थिक लाभ लिने वा स्वार्थ पूरा गर्नेसम्मका हरकत सजिलै हुन्छन् । यस्ता हाकिमले तलका कर्मचारीलाई कार्यकक्षमा बोलाए भने प्रायका खुट्टा भारी हुने वा उनीहरूले बहाना बनाएर भरिसक्के देखा नपर्ने रणनीति बनाउने गर्छन् । 

सुनजोडी (सूर्यमान र नवराज) का अनन्य मित्र कुन्दनदास श्रेष्ठले केही समयअघि लक्ष्मीनारायणको मूर्ति बनाउन लगाएछन् । उनलाई नारायणको मुखाकृतिमा अलिकति मुस्कान भाव थप्न पाए हुन्थ्यो भन्ने लागेछ । तर, मूर्तिकारले श्रेष्ठको प्रस्ताव अस्वीकार गरेछन् । 

उनले यस्तो स्पष्टीकरण दिएछन्–

‘जुन आकृति बल र शक्तिको प्रतीक हो उसको अनुहारमा गाम्भीर्य भाव नै सुहाउँछ ।’

चराचर जगतका स्वामीहरू नारायण वा शिवको मुखाकृति गाम्भीर्यको प्रतीक होला तर के उच्च ओहोदाको कुर्सीका बस्ने स्वामीलाई त्यो भाव निर्विकल्प हो त ?

पोहोर सालको प्रसंग हो । घोष्ट राइटिङ नेपालद्वारा सञ्चालन गरिएको सिर्जनात्मक लेखन कक्षामा त्रिभुवन विश्वविद्यालयकी रेक्टर सुधा त्रिपाठीलाई स्रोत व्यक्तिको रूपमा निमन्त्रणा गरिएको थियो । यो आलेखका सहलेखक डा. नवराज खतिवडाको पनि त्रिपाठीको कक्षामा उपस्थिति थियो । त्रिपाठीले मलामी गाम्भीर्यको कवच धारण गरेकी थिइन् । उनको कक्षा चलिरहेको थियो । प्रस्तुतिमा कुनै विनोदी भाव थिएन । न कुनै रोचक विषयवस्तु नै थियो । एकाएक उनको मोवाइलको घन्टी बज्यो । उनी ‘माफ गर्नुहोला, यो अनपेक्षित जरुरी कल हो, मैले उठाउनै पर्छ’ भन्ने औपचारिकता पनि पूरा नगरी फोन उठाउँछिन् । सहभागी सबैले सुन्ने गरी फोनमा कुरा गर्छिन्– म कक्षामा छु तर कुरा गर्न समस्या छैन ।’

कुरा शुरु हुनासाथ कुहिरो फाटेर पहाड देखिए जस्तो गरी उनको अनुहारको मलामी–गाम्भीर्य विलय हुन्छ । फोन वार्तामा उनी विनोदपूर्ण शैलीमा हल्का भएर मस्किदै कुरा गर्छिन् । सहभागीहरू यो वार्तालाई कक्षाको पहिलो तथा अन्तिम भइपरी आएको रमाइलोको रूपमा स्वीकार गर्न बाध्य हुन्छन् । संवादको अन्त्य भएपछि सहभागीतिर फर्किंदै उनी फेरि गाम्भीर्यको खोल ओड्न पुग्छिन् । 

यसरी कुनै अप्रत्यासित क्रियाले गाम्भीर्यका पर्दा च्यातिएका उदाहरणहरू हाम्रै वरिपरि मात्र नभएर शास्त्रमा पनि मनग्गे पाइन्छन् । विश्वामित्र चामत्कारिक साधनाशक्ति भएका ऋषि थिए । उनी मान्छेलाई जिउँदै स्वर्ग पठाउने क्षमता राख्थे । एक पटक उनी कठोर तपस्या गर्न ध्यानस्थ भएको खबर स्वर्गका राजा इन्द्रकहाँ पुग्यो । विश्वामित्रको सफलताले इन्द्रासन डगमगाउने जोखिम देखियो । इन्द्रले यो संकटमोचन गर्न स्वर्गकी अप्सरा मेनकालाई बोलाए । 

‘यो असम्भव काम हो । मबाट हुन सक्दैन ।’ अप्सरा मेनकाले भनिन् । 

‘तिमीलाई जे सहयोग चाहिन्छ, म दिन तयार छु तर तिमीले जसरी पनि विश्वामित्रको ध्यान भंग गर्नुपर्छ ।’

‘हुन्छ, तर मलाई यो कामका लागि वायु र कामदेवको साथ चाहिन्छ ।’

इन्द्रले उनको शर्त पूरा गरे । मेनका पृथ्वीमा आइन् । उनी विश्वामित्रको ध्यानस्थलको समिपमा गएर नाच्न थालिन् । बत्तीस लक्षणले युक्त भएकी सुन्दरीको कामुक नृत्यले विश्वामित्रको ध्यान तोडियो । वायुले ऐन मौकामा मेनकाको पातलो बस्त्र उडाइदियो । निर्वस्त्र भएकी मेनकाको नृत्य रोकिएन । कामदेवले यो साइतमा विश्वामित्रलाई आक्रमण गरे । अब विश्वामित्रको मनस्थितिको कित्ता एकसय असी डिग्रीले परिवर्तन भयो । उनको ध्यानस्थ स्थिति शून्यमा झर्‍यो, कामातुर भाव आकाशियो । उनी मेनकाको मोहिनीजालमा मात्र फसेनन्, उनीहरूको यौनक्रियाकलाप झांगिएर छोरी शकुन्तलाको जन्म समेत भयो । 
 
विशिष्ट श्रेणीका पदाधिकारी लगायतका अन्य अधिकृत कर्मचारीका कार्यकक्षमा पुगेर अमिलो मन बनाएर फर्कनेहरूले सोध्ने केही सिधा प्रश्नहरू छन् । किन ओडिन्छ कार्य–कक्षमा आक्रोशको खोल ? किन लाग्छ मलामी–गाम्भीर्यको पर्दा ?

‘ओहोदा र पदले सिर्जना गर्ने रवाफको मनोविज्ञान एकातिर छ भने मैले जीवनमा अकुत धन आर्जन गर्न सकिनँ, मेरा साथीभाइहरू कता कता पुगे’ भन्ने सोचले सिर्जना गरेको हीनताबोध अर्कोतिर हुन्छ । यही कारण विशिष्ट श्रेणीजस्तो गरिमामय पद हापेर डिभी लटरीमा अमेरिका गई होटलमा भाँडा माझ्ने वा तालिम लिने वा नेपालको नाममा कुनै औपचारिक काममा जापान पुगेको व्यक्ति वधशालामा गाई काट्ने काम गर्न पुगेका उदाहरणहरू पनि छन् । त्यहाँ पुगेर विगत जीवन झलझली सम्झेर विषादको मात्रा बढाई आत्महत्या गर्नेहरूको सूची पनि लामो छ । 

चारपटक नेपालका प्रधानमन्त्री बन्ने शौभाग्य पाएका लोकेन्द्रबहादुर चन्दले लेखेका छन्– 

‘कुर्सी, जसले अल्छी अध्यापकहरूलाई स्कुलमा निरंकूशतासाथ शासन गर्न दियो भने त्यसले उनी (प्रशाशक र राजनीतिज्ञ) हरूलाई पनि केही नगरेर नै सारा संसारमाथि नै निश्चिन्ततापूर्वक र निरंकूशतासाथ शासन गर्ने अवसर नदिई कहाँ छोड्छ होला ।’ 

चन्दले कुर्सीलाई निरंकूशताको प्रतीक मानेका छन् । कुर्सीमा बसेर अध्यापकले विद्यार्थीलाई शासन गर्छन् भने प्रशासक र राजनीतिज्ञले जनतालाई । निचोड के हो भने, कुर्सीमा बस्नेहरू कृत्रिम गाम्भीर्यको हतियारले निरीह सेवाग्राहीलाई प्रहार गर्छन् । 

निरंकूशताको शिखर भएर कृत्रिम गाम्भीर्यको कवच धारण गरेर कुर्सीमा विराजमान अधिकृत वा राजनीतिज्ञले निरीह बनेर गएको सेवाग्राहीलाई आतंकित पारेर रित्तो हात पठाउने जोखिम प्राय रहन्छ । 

समूहमा र एक्लै हुँदा मान्छेको आचरणमा के फरक पर्छ ? ‘सुकरातका पाइला’ शीर्षकको उपन्यासका लेखक डा. गोविन्दराज भट्टराईले मलामी–गाम्भीर्यको रसायन शास्त्रको व्याख्या यसरी गरेका छन्–

‘यस्ता व्यक्तिहरूको चरित्र र व्यवहारमा भिन्नता छ । उनीहरूले ‘म वरद व्यक्तित्व हुँ’ भन्ने भ्रम पालेका हुन्छन् । त्यो कृत्रिम कवचमा एकातिर दम्भ हुन्छ । अहंकार हुन्छ । अर्कोतिर हिनताबोध हुन्छ । उनीहरूसँग अरूलाई दिने केही हुँदैन । ‘छैन र हुँदैन’ को पोको बोकेर बसेका हुन्छन् । निचोडमा उनीहरूसँग देखाउन मिल्ने खिया नलागेको गहना केही पनि हुँदैन ।’

नेपाल सरकारको सेवामा स्थानीय विकास मन्त्रालयको सचिवको पदमा रहेर ओखरपौवा फोहोरमैला विसर्जन स्थलको निर्माणमा समेत उल्लेखनीय योगदान पुर्‍याएका खेमराज नेपालले पनि मलामी–गाम्भीर्यका बारेमा रोचक टिप्पणी गरेका छन् । 

‘किन ओडिन्छ त कार्यकक्षमा मलामी–गाम्भीर्यको मखुण्डो ?’ यो प्रश्नको उत्तरमा उनले तीनवटा विशेष कारणहरू उल्लेख गरेका छन्– पहिलो, लोकसेवाको परीक्षा उत्तीर्ण गरेर अधिकृतको पगरी गुथेपछि उसको ज्ञान अर्को लोकसेवाको परीक्षाको लागि मात्र उपयोगी हुन्छ । कार्यकक्षमा चाहिने ज्ञानभण्डार भनेको टिप्पणी उठाउनका लागि आवश्यक पर्ने चानचुन एक हजार जति शब्दहरू हुन् । यसकारण त्यति सानो कित्तामा सिमित भएको व्यक्तिसँग भइपरी आउने परिस्थिति सामना गर्नका लागि गाम्भीर्य बाहेक अर्को हतियार साथमा हुँदैन । यसैले ऊ आफूसँग भएको एकमात्र हतियारको सहारा लिन बाध्य हुन्छ । 

दोस्रो, अहिले उच्चओहोदाको पदमा पुग्नका लागि अपरिहार्य भर्‍याङ कुनै राजनीतिक दलको खरानी धस्नु पर्ने बाध्यता हो । आफ्नो क्षमता र कौशलमा विश्वास राखेर अडान लिई काँडेतारको बाटो हिँड्नुभन्दा आफ्नो अक्षमतालाई दलको राजनीतिक कवचले ढाकछोप गर्नु धेरै सहज छ । यसकारण यो चोरबाटो हिँडेर उच्च पद हात पार्नेहरूका लागि पदीय गरिमा र मर्यादा पालना गर्नेभन्दा दलसँगको नातालाई प्रगाढ बनाइराख्ने ध्यान हुनु स्वाभाविक हुन्छ । यसको लागि मलामी–गाम्भीर्य धारण गर्नु एकमात्र सहज विकल्प हो । 

तेस्रो, फंगिन चरित्र र सोच भएको पदाधिकारीले मात्र गाम्भीर्य–विनोदी वर्णक्रमको दायाँ कित्तामा आफूलाई उभ्याउन सक्छ । यस्तो आचरण प्राकृतिक रूपले स्वआर्जन गर्नुको पहिलो र एकमात्र शर्त हो ‘अकुत सम्पत्ति आर्जन गरी ऐश आरामको जीवन यापन गर्छु’ भन्ने तिर्सना नहुनु । आठ रेक्टरको भुइँचालोले पनि उसको इमान र नैतिकताको जग हल्लाउन नसक्नु । यस्तो सत्पात्र पदाधिकारीसँग गाम्भीर्यको सिरकभित्र लुकाउनुपर्ने कुनै संवेदनशील अंग हुँदैन । यसैले ऊ फंगिन हुन्छ । जहिले पनि जन्ती गएजस्तो प्रफुल्ल मुद्रामा हुन्छ, मलामी जस्तो हुँदैन । 

अंग्रजीमा एउटा भनाइ छ–
‘हृयापिनेस इज नट गिभन वट इट इज टेकन बाइ च्वाइस ।’

यसको सिधा अनुवाद हुन्छ– खुशी कसैले दिने भाव होइन, यो त आफैँले छनौट गर्ने हो ।

खुशीजस्तै गाम्भीर्य भाव पनि छनौट गर्ने विषय हो । कार्यकक्षमा बस्नेलाई मलामी–गाम्भीर्यको कवच लगाऊ भन्ने आदेश कसैको पनि हुँदैन । यो त उसले स्वआर्जन गर्ने आचरण हो । ‘कुर्सीमा बस्दा कसरी बस्नुपर्छ’ र ‘सेवाग्राहीसँग कसरी प्रस्तुत हुनुपर्छ’ भनेर आफ्ना अग्रजहरूबाट पाएको र आफैँले सिकेको एक प्रवृत्ति हो । चाहेको खण्डमा उसले यो खोल च्यात्न सक्छ । जसरी प्युपा झिल्ली च्यातेर पुतली भएर उड्छ, त्यसरी नै मलामी–गाम्भीर्यको सिरक ओडेको पात्रले आफूभित्र रहेको पुतली बाहिर निकाल्न सक्छ । अर्थात मलामी रूप धारण गरेको पात्र जन्ती वा देउसेजस्तै रउसे बन्न सक्छ । कार्यकक्षको आफ्नो दिनचर्या हरेक क्षण आनन्ददायक बनाउन सक्छ । प्रत्येक सेवाग्राहीको मन जित्न सक्छ । 

आध्यात्मिक जगत एवं आधुनिक संसारका बारेमा गहन दखल राख्ने नेपाल सरकारका उच्चपदस्थ कर्मचारी कोमल धमलाका अनुसार अन्तस्करणमा मन, चित्त, बुद्धि र अहंकार गरी चार खण्डहरू हुन्छन् । मनले आँट गर्ने काम गर्छ भने चित्तले त्यो कामको आकलन वा मूल्यांकन गर्छ । बुद्धिले निर्णय लिन्छ भने अहंकार अर्थात इगोले त्यसको कार्यान्वयन गर्छ । यो सिद्धान्तअनुसार कुर्सीमा बसेको मान्छे विनोदप्रिय छ भने उसको कार्यान्वयनमा अहंकारको अंश न्यून हुन्छ । तर, मलामी–गाम्भीर्यको खोल ओढेको व्यक्तिको हकमा भने त्यो अंश अधिक हुन्छ । यसैले कुर्सीको नजिकै उभिएको वा भुइँमा बसेको व्यक्तिले त्यसको सपाट अनुभूति गर्न सक्छ । 

खासगरी अतिविशिष्ट कार्यकक्षमा मलामी–गाम्भीर्यले जरा गाडेको अहिलेको परिप्रेक्ष्यमा यसलाई भेदन गर्ने उपायहरूको खोजी गरिनु अत्यावश्यक छ । तर, यो विषयको महत्वपूर्ण प्रश्न भने पहाड बनेर उभिएकै छ–

‘के विश्वामित्रको गाम्भीर्य तोड्ने जस्ता मेनका अस्त्रहरू अहिलेको जमानामा पनि छन त ?’
हिमालय टाईम्स
लिङ्क :  http://ehimalayatimes.com/bichar-sahitya/22885