काठमाडौँ विश्वविद्यालयको चारवर्षे स्नातक तहका अन्तिम वर्षका विद्यार्थीहरूलाई पढाउँदै गर्दा एक दिन मैले एक विद्यार्थीले पटकपटक हाई काढेको देखेर एकछिन कक्षाको ध्यान अन्यत्रै मोड्ने विचार गरेँ । "यदि कक्षा चलिरहेको बेला कुनै विद्यार्थी निदाएको शिक्षकले चाल पाए भने उनले के सोच्न सक्लान्" भनेर सम्भावित कारणहरू उल्लेख गर्न मैले मेरा विद्यार्थीहरूलाई उत्साहित गरेँ । उनीहरूले मेरो प्रश्नको उत्तरमा "त्यो विद्यार्थीलाई अल्छी लागेको, पढाइको विषय चाखलाग्दो नभएको, विद्यार्थीले पहिल्यै विषयवस्तु जानिसकेको वा कक्षा सकिएपछि गरिने कुनै पढाइइतर कार्यमा ध्यान गएको हुन सक्ने" आदि कारणहरू प्रस्तुत गरे ।
यस्तै नै अर्को एउटा घटना थियो । केही समयअघि मैले स्किम कलेज, वानेश्वरका स्नातकोत्तर तहमा अध्ययन गर्ने विद्यार्थीहरूका लागि जाइकामार्पmत नेपालमा अनुसन्धानको कार्यमा संलग्न एक जना जापानी प्राध्यापकको विशेष प्रवचनको कार्यक्रम राखेको थिएँ । उनले नुवाकोटका केही स्थानहरूमा भूक्षय केके कारणले कति परिणाममा हुन्छ भन्नेबारेमा केही वर्ष खर्चेर अनुसन्धान गरेका थिए । त्यस दिन म अरूअरू दिनभन्दा बढी सतर्क थिएँ । शौचालयदेखि कार्यकक्षसम्म अस्तव्यस्तता व्यहोर्ने बानी भएको नेपाली परिवेशमा सानोभन्दा सानो कुरा पनि व्यवस्थित गर्नु अति जरुरी छ भन्ने मान्यता र संस्कारमा हुर्किएका जापानी अतिथिको सत्कार गर्नु मेरा लागि चानचुने काम थिएन । मैले सकेसम्म परिवेशलाई व्यवस्थित गर्ने प्रयत्न गरेँ ।
जापानी प्राध्यापकको प्रवचन उपयोगी थियो । मैले पनि केही नयाँ कुरा सिकेँ । अतिथि प्राध्यापकलाई बिदा गरिसकेपछि तिनै विद्यार्थीहरूको कक्षामा मैले पढाउनु थियो । मैले विद्यार्थीहरूलाई ‘अतिथि प्राध्यापकको प्रस्तुति कस्तो लाग्यो’ भन्ने प्रश्न गरेँ । प्रश्नको जवाफमा विद्यार्थीहरूले एक स्वरमा भने— ‘हामीलाई खासै काम लाग्ने प्रस्तुति थिएन, खास गरेर भन्न खोजेको कुरा बुझिएन । अंग्रेजीको स्तर पनि अति कमसल पाइयो । बरु कति बेला प्रवचन सकिएला र बाहिर जान पाइएला भन्ने चिन्ताले पो सतायो ।’
उनीहरूको त्यस्तो अनपेक्षित उत्तर सुनेर म चकित भएँ । मलाई मेरो त्यत्रो मेहनत बालुवामा खन्याएको पानीसरह खेर गएकै हो त भन्ने चिन्ताले सताउन थाल्यो । तर मैले अलिकति पनि विचलित नभई उनीहरूलाई एउटा त्यस्तै समान प्रकारको परिस्थितिको बारेमा आफ्नो राय राख्न भनेँ ।
परिस्थिति यस प्रकारको थियो—
मेरा विद्यार्थीमध्ये कोही वा म नै जापानी प्राध्यापकजस्तै अनुसन्धानको सिलसिलामा जापानमा छौँ । त्यहाँका कुनै एक जापानी प्राध्यापकको निमन्त्रणामा हामी कुनै विश्वविद्यालयको कक्षामा पुग्छौँ र जापानी विद्यार्थीहरूलाई आफ्नो अनुसन्धानको बारेमा प्रवचन दिन्छौँ । प्रवचन दिने मान्छे बिदा भएपछि मैले मेरा विद्यार्थीलाई भर्खरै सोधेजस्तै जापानी प्राध्यापक आफ्ना विद्यार्थीलाई सोध्छन्— "कस्तो लाग्यो तिमीहरूलाई यी नेपाली अनुसन्धानकर्ताको प्रस्तुति ?"
यसै ठाउँमा मैले विद्यार्थीहरूका सम्मुख एउटा प्रश्न राखेँ । प्रश्न थियो— "अब जापानी विद्यार्थीहरूले कस्तो उत्तर देलान्" मैले अत्यन्त उत्सुकताका साथ आफ्ना विद्यार्थीहरूको उत्तर जान्न खोजेको प्रश्न यही थियो ।
मेरा विद्यार्थीहरूले कत्ति पनि विचार नगरी सहज तवरमा भने— "उनीहरूले पनि हामीले भनेझै प्रस्तुतिमा कुनै दम नभएको, खास केही नबुझिएको, अंग्रेजी अति नै चाँडो बोलेको जस्ता उत्तर नै देलान् ।"
विद्यार्थीहरूको यस्तो उत्तर सुनेपछि मेरो चिन्ताको विषय हराइसकेको थियो । कारण, उनीहरूको त्यस्तो उत्तर सुनेपछि यो नकारात्मक सोचको नतिजा मात्र हो भन्ने निक्र्यौलमा म पुगिसकेको थिएँ । अन्तरमनमा आज म यी विद्यार्थीहरूलाई केही दिएर नै छोड्छु भन्ने अठोट गरेर मैले जापानमा बिताएका दुई वर्षको दौरानमा अनुभूत गरेको त्यहाँको संस्कृतिको आधारमा सकारात्मक सोचको पाटो उजागर गर्न सुरु गरेँ ।
मैले भनेँ— "जापानी विद्यार्थीहरूको उत्तर त्यस्तो कदापि हुँदैन । उनीहरूको ध्यान प्रस्तुतिबाट सिक्न सकिने नौलो विषयमा मात्र केन्द्रित हुन्छ । यस आधारमा म भन्न सक्छु, जापानी विद्यार्थीहरूले सोच्ने र दिने उत्तर यस्तो हुन सक्छ— नेपालजस्तो विकासमा पछि परेको मुलुकबाट आएर पनि यो तहको अनुसन्धान गर्न सक्नु भनेको धेरै राम्रो हो । अंग्रेजीको बोलाइको स्तर पनि हाम्रोभन्दा राम्रो छ । ती अनुसन्धानकर्ताले कत्ति पनि संकोच नमानी विषयलाई प्रस्तुत गरे । हामीले यी नेपाली अनुसन्धानकर्ताबाट सिक्नुपर्ने केही विषयहरू पक्कै छन् ।"
मेरा कुरा विद्यार्थीहरू एकाग्र भएर सुनिरहेका थिए । उनीहरूको भाव परिवर्तन भइरहेको देखेर म मनमनै हर्षित थिएँ । उनीहरूको सोच्ने शैली परिवर्तन गर्नेतर्पm अलिकति मात्र भए पनि योगदान पु¥याउन सकेकोमा पनि म अलि बढी हर्षित भएको थिएँ ।
हुन ता आफ्नो अघिल्तिर उपस्थित परिस्थितिवाट के राम्रो र उपयोगि ज्ञान आर्जन गर्न सकिन्छ जसले केही मुल्य थप्न सक्छ भन्ने विषयमा हामीले सिक्नु पर्ने धेरै छ । फेरि तीन वर्ष जति अघि अध्यापन गर्दाकै अर्को एउटा सन्दर्भ पस्कन चाहान्छु । एक दिन मैले सूचना आदान प्रदान गर्ने दक्षता अलि कम भएका एक विद्यार्थी मेरो कार्यकक्षमा पर्खि रहेको पाँए । ती विद्यार्थी एक जना जापानिज प्राध्यापकको सम्पर्कमा आएका रहेछन्। उनको जापान पढ्न जान पाए हुन्थ्यो भन्ने मनसाय रहेछ । जापानी प्राध्यापकको ई मेल पनि देखाए । त्यो ई मेलको प्रत्युत्तर कसरी लेखेमा उनको जापान पढ्न जाने कुरा अघि बढ्ला भन्ने चिन्ताको विषयलाई मैले गरिदिएको खेस्रा जवाफले किनारा लगाईदिएको थियो । त्यसको लगभग तीन बर्ष पछि नेपाल विकास अनुसन्धान प्रतिष्ठानको शोधकक्षमा एकाएक झुल्किएका तीनै विद्यार्थीलाई देखेर म एकै साथ हर्ष र आश्चर्यले भरिएँ । उनले तीन वर्ष अघि मैले गरिदिएको मदतले उनले सोचे जस्तै भएको र उनि जापानमा डेढ बर्ष बसेर उच्च शिक्षा समेत हासिल गरि फर्केको सुनेर मेरो मन प्रफुल्ल भयो । उनि नेपालको एक दुर्गम पहाडी गाँउवाट आएका एक प्रखर युवा भएकाले नेपालको समृद्धि र उनको आफ्नै वृतिविकासको लागि जापानवाट पक्कै पनि वहुमुल्य रत्नहरु ल्याएका होलान भन्ने अनुमान गरि मैले उनलाई प्रश्न राखें । "तपाँईले जापानमा अनुभुति गरेको वा त्यहाँ वाट सिकेको कुनै वहुमुल्य कुरा सुनाउनु होस ।" सभाकक्षमा उनकै उमेर समानका अरु तीन युवाहरु पनि थिए । मेरो प्रश्नको जवाफ दिन उनले कति पनि विचार गरेनन् र अझ हाँस्दै भने "मलाई उदेक लागेको कुरा पार्कमा कुकुरको पछि पछि दौडेर त्यसको विष्टालाई हातले टिपेर झोलामा राखेको नै हो ।" उनको भनाईमा अन्तर्निहित मुल्य केलाउने तिर मेरो ध्यान गयो तर जापानिजहरुको सरसफाई प्रतिको लगाव र होश प्रति लक्षित गरेर उनले त्यो अनुभुति सुनाएका थिएनन भन्ने कुरा मेरो प्रतिप्रश्नले छर्लङ्ग पारिसकेको थियो । मलाई मनमा औडाहा भयो । मैले खोजेको जवाफ त्यो थिएन्। म चाहान्थे उनले नेपालका दुर्गम गाँउमा पनि जापानमा जस्तो पाहाड खोपेर वनाईएका सुरुङ्गवाट द्रुत रेल लैजान सकिने रहेछ भनेर भनुन । काठमान्डौलाई ईलाम र दार्चुला संग रेलमार्गले जोड्न सकिन्छ । जापानको जस्तै द्रुत रेलमार्ग वनाएमा उनको गाँउवाट केही घण्टामा काठमाण्डौ पुग्न सकिन्छ । काठमाण्डौ वा पोखरा जस्ता शहरमा आवतजावत गर्नका लागि रेलमार्गका सन्जाल बिछ्याउन सकिन्छ । जापानीहरुले गरे जस्तो हरेक टुक्रा जमिनमा या त भौतिक पूर्वाधार उभ्याउन सकिन्छ या त केहि फलाउन सकिन्छ । पहाडहरु हाम्रै जस्ता हुन । उनिहरुले योजनाबद्ध भू उपयोग गरेर डाँडामा या त स्की रेसोर्टहरु वनाएका छन् या वनजंगलले ढाकेका छन् । पहाडका फेदका समथर भूभागमा रेल र सडकका सन्जाल विस्तारित गरेका छन् । यसले गर्दा समथर भू भागमा बाक्लो वस्ती, शहर र कलकारखाना स्थापित भएका छन्। नेपालमा पनि त्यो अवधारणाको विकास गर्न सकिन्छ । पश्चिमवाट पुर्व बग्ने सुनकोशि या कालिगण्डकी वा पुर्व वाट पश्चिम बग्ने भेरी या राप्तिको किनारामा भएका समथर जमिनमा रेल, विद्युत र सन्चारको सन्जाल विस्तार गरी जापानको जस्तै रोजगारीका अवसर सिर्जना गर्न सके पहाडका टाकुरामा दुखमा निर्वाह गरिरहेका घरपरिवार त्यस्ता आर्थिक गतिविधि अधिक भएका ठाँउमा झर्ने थिए । यसवाट कम साधन र श्रोतमा नै वहुसंख्यक नेपालीलाई यातायात, विद्युत र सन्चारका सेवाहरु सरल तरिकाले प्रदान गर्न सकिन्थ्यो। यस्ता नयाँ नयाँ अवधारणा लागु गर्न सके हाम्रो पनि उनिहरुको जस्तै विकास हुन सक्छ । जापानीहरुको प्रगति देखेर के अनुभूति गरियो भने देश निर्माणको लागि आवश्यक पर्ने तत्व भनेको निस्वार्थ कर्म रहेछ। तर उनले यसो भनेनन् ।
ल! नेपालको या उनको दुर्गम गाँउको लागि त उनले केही कोसेली ल्याएको कुरा सुनाएन् , मैले अपेक्षा गरेको थिएँ आफ्नो वृति विकासको लागि त केही ल्याएका होलान्। उनि त्यसमा पनि चुकेको भान भयो मलाई । श्रमको सम्मान गर्नु नै जापानीहरुको धर्म भने पनि हुन्छ । यसैले सानो होस या ठूलो होस, कार्यालयमा होस, खेतवारीमा होस या कारखानामा होस जुन काम गरीएको हुन्छ त्यसको आदर गरिन्छ जापानमा । समाजमा काम नगरिकन बस्नु भनेको साह्यैनै लाज लाग्ने विषय हुन्छ जापानमा । यसकारण जीवनमा उन्नति गर्नका लागि कुनै न कुनै काममा निरन्तर लागि रहन जरुरी रहेछ । मेरा पूर्व विद्यार्थीले यसो पनि भनेनन् । मलाई यसैमा केही विझेको अनुभूति भयो । हामी मूल्य थप गर्ने सवालमा अति कमजोर भए जस्तो भान हुन्छ मलाई । हाम्रो शिक्षा पद्धतिले पनि यो विषयमा आवश्यक मात्रामा नसिकाए जस्तो लाग्छ । कुनै पनि परिस्थितिमा केही न केहि यस्तो गतिविधि हुन सक्छ जसले समाजको या व्यक्तिको उन्नतिमा अत्यधिक मूल्य थप्न सक्छ । सकारात्मक सोच राखि त्यस्तो गतिविधिमा ध्यान केन्द्रित गर्ने हो भने हाल हाम्रो सामु देखिएका कैयन समस्याहरुका सहज समाधानहरु प्राप्त गर्न सकिन्छ भन्ने कुरामा दुई मत नहोला।
जापान भौतिक विकास या आर्थिक हिसाबमा मात्र वैभवशाली होइन, जापानी समाज सकारात्मक सोचमा पनि अति धनी छ । जापानीहरूमा कुनै पनि सन्दर्भ या कस्तै विपरीत परिस्थितिमा पनि सकारात्मक या आपूmलाई काम लाग्ने पक्षमा ध्यान केन्द्रित गर्न सक्ने क्षमताको अत्यधिक विकास भएको मैले पाएको छु । नकारात्मक पक्षको पहाड नै अघिल्तिर भए पनि जापानीहरूमा रहेको सकारात्मक पक्षको तिल खोजेर त्यसकै बारेमा सोच्ने प्रवृत्तिले पनि जापान समृद्धशाली हुनुको एउटा कारण हो जस्तो मलाई लाग्छ । तर सकारात्मक सोचको अभाव हुनु, आपूmलाई निराशावादी किनारामा उभ्याउनु र आत्मविश्वासको अभाव हुनुजस्ता व्यक्तित्व विकासका बाधक पक्ष हाबी भएका ज्वलन्त उदाहरण हाम्रो सन्दर्भमा यथेष्ट भेटिन्छन् । कुनै सवालमा प्रतिक्रिया दिनुप¥यो भने हामी खराब पक्षको मात्र वकालत गर्छौं । असल पक्ष पत्ता लगाउन पनि हामीलाई धौधौ पर्छ । पत्ता लागिहाले पनि त्यो उजागर गर्न हामी संकोच मान्छौँ । कसैले प्रशंसा गरिहाले पनि त्यसको पछाडि स्वार्थ लुकेको वा प्रशंसा अवास्तविक भएको भन्नेतिर सोच्नेहरूको जमात पनि हामीबीच बाक्लै छ । यस्ता प्रवृत्तिले व्यक्तित्व विकासका साथै समाज या समग्र मुलुककै विकासमा अवरोध सिर्जना गरेको छ ।
यसैले जापान या अन्य विकसित मुलुकहरूबाट उन्नत प्रविधि या आर्थिक सहयोग मात्र होइन सकारात्मक सोच या चिन्तनजस्ता सामान्य तर बहुमूल्य निधिहरू पनि आयात गर्न जरुरी छ भन्ने कुरा हामी सबैले बुझ्नु जरुरी छ ।