Monday, January 7, 2013

सँकटको लाभ


पहाडको वाटो छ । म एक्लै ओरालो झरिरहेको छु । यसपल्टको  यात्रामा म एक्लै हिडिरहेको छु । कहिलेकँही यसरी एक्लै हिड्नुको पनि अर्कै आनन्द छ । म नितान्त एक्लो हुन्छु । म चाहेर पनि कसैसँग वोल्न सक्दिन् । एक्लै वर्वराउनु वा कराउनुको कुनै अर्थ छैन् । तर कतिपय स्थानमा म गीत गाँउदै हिँडेको छु । अहिले त्यस्ता प्रसँगहरु दुईवटा ताजा भएर आएका छन् । पहिलो हो जाजरकोटको साल्मा गाविसमा वास वसेर भोलिपल्ट सीमा गाविस जाने क्रममा म मेरा सहयात्रीहरुलाई पछि छोडेर एक्लै अघि हिडेको थिएँ । यो २०४६ साल तिरको कुरा हो । म त्यस वेला तन्नेरी थिँए। गीत कुन गाएको थिएँ याद भएन् । वारीमा काम गरिरहेका मानिसहरुले मलाई आश्चर्यजनक तवरमा हेरेको भने सँझना छ ।

अर्को हो जापानको हायामा भन्ने स्थानमा अनुभूति गरिएको मेरो निवासवाट कार्यालय जाँदाको प्रसँग । वसमा जाँदा दश मिनट जतिमा पुगिने वाटो भएता पनि त्यसका विशेषताहरु स्मरणिय थिए । ठाडो उकालो, खोल्साको पुल, जँगल, नागी र फूलवारीको आनन्द त त्यहाँ थियो नै । त्यो यात्राको अर्को रोचक विशेषता थियो- सानो आवाजले कराउँदा पनि प्रतिध्वनी सुन्न सकिने सुरुङ्ग । त्यो वाटोको आनन्द लिन र वस्दा वस्दा कुँजीएको जीउलाई तन्काउने उदेश्यका साथ म कहिलेकहीँ हिडेर कार्यालय जान्थे । सुरुङ्गमा पुगेपछी म नारायण गोपालको “यो सँझिने मन छ …..” वा कवि शिरोमणिको तरुणतपसीका श्लोकहरु सकेसम्म लय हालेर उच्च स्वरमा गाँउथे । सुरुङ्गका भित्ताले मेरो साथ दिन्थे । वडो आनन्दको अनुभुति हुन्थ्यो ।   

म यिनै कल्पनामा रमाउदै हिडिरहेको छु । तर एकास्सी म हिडेको जमिन वग्न थाल्छ । म ढुँगा माटो सँगै वग्न थाल्छु । मेरो झोला म वाट विछोडिन्छ । मेरो मोवाईल म सम्भाल्न सक्दिन् । त्यो पनि विछोडिन्छ । पकेटमा रहेको मेरो पर्स पनि म वाट अलगिन्छ । म ति कुनै पनि वहुमुल्य सेवा दिने सामाग्रीको सुरक्षा गर्न सक्दिन् ।  सायद सँकट भनेको यही हो । आफूले भन्दा अरुले नै चाहेको हुने । सँधै जोगाईएको सामान पनि जोगाउन नसकिनु । दुर्घटना पनि यसरी नै हुँदो हो । म शकुशल सामान्य स्थितिमा रहेको व्यक्ति एकाएक निरिह प्राणी वन्न पुग्छु । अत्तालिन्छु । भगवानको नाम पुकार्छु । म वग्दै छु । ढुगाँ, माटो, मुढा, रुखका हाँगा मेरा साथी भएका छन् । जीवनको सबै भन्दा ठूलो आपत आई लाग्छ मलाई । म अव कुनै हालतमा पनि वाँच्दिन् भन्ने निर्णयमा पुग्छु । मलाई ढुगाँ र मुढाको प्रहार हुन थाल्छ । म मेरो शरीरका अँगहरुलाई जोगाउन सक्दिन् । शास्त्रको उक्ति “शरिर माध्यम खलु धर्म साधनम” अर्थात शरीर नै माध्यम हो भन्ने सिद्धान्तलाई अँगिकार गर्ने जुनसुकै जीवले सँकटमा जोगाउने भौतिक वस्तु हो “शरिर”। तर अव त्यो मेरो नियन्त्रण भन्दा वाहिर गएको भान हुन्छ । तिव्र गतिमा हुँईकिएका वस्तुहरुको प्रहारले मलाई पिडा हुन थाल्छ । 

मेरो स्थिति अकल्पनिय हिसाबले परिवर्तन हुन्छ । प्रत्येक सेकेण्डमा नँया परिस्थिति सिर्जना भई रहेछ । अर्को सेकेण्डमा मेरो कुन अँगमा के ले प्रहार हुन्छ ? म कता पुग्छु ? मेरो साथमा भएको कुन वस्तु मैले गुमाउनु पर्दछ ? मलाई कल्पना गर्ने अवसर नै प्राप्त हुँदैन् । अव के हुन्छ भन्ने कुराको अनुमान गर्न म सक्दिन् । शायद विपद भनेको यही हो भन्ने लाग्छ । लगभग ५०० मिटर वगिसके पछि मेरो अगाडि माटोको एउटा भीमकाय ढिस्को देखा पर्छ । मलाई त्यसले छोप्न थाल्छ । म कसो कसो जोगिन्छु । उछिट्टिएको आवाज आँउछ । त्यसपछी म एक्कैछिन आकाशमा उड्छु । मेरा सहयात्रीहरु पनि उड्छन् । सहयात्री र मेरो एउटा समानता छ । ती पनि म सँगै उडिरहेका छन् । भिन्नता पनि छ । ती निर्जिवको वर्गमा पर्छन् । तीनलाई दुख्दैन् । मलाई दुख्छ । यो चमत्कारिक घटनाका अँशहरु निमेषभरमानै परिवर्तन भईरहेका छन् । म अत्यासको चपेटामा छु । केही सोच्न सक्दिन् । हावामा केही वेर उडे पछि म बाँसको झ्याँगमा पछारिन्छु । गुरुत्वाकर्षणको प्रवेगले आकास्सिएर मेरो शरीरले वोकेको काईनेटिक उर्जा बाँसका लिँगाहरुमा सर्छ । म दुई तिनवटा टुप्पालाई समात्ने कोशिश गर्छु । अनि मेरो वेग अलि कम हुन्छ । म वाँसका हाँगाहरुमा ठोक्किदै तल झर्छु । जमिन भन्दा करिव ५ मिटर माथी अडिन्छु । मेरो शरीर रगत पच्छे हुन्छ । लुगाका केही त्यान्द्रा मात्रा वाँकी हुन्छन् । शरिर दश तिर दुखेको हुन्छ ।
तर म वाँचेकोमा ति सब विर्सन्छु । म मर्न सक्थे । मरेको भए अहिले कँहा पुग्थे होला । शरिर वाँसको झ्याङ्गमा अल्झेको हुन सक्थ्यो । झिँगा र व्याक्टेरियाले आफ्नो काम शुरु गरिसकेका हुन्थे होला । मेरो आत्मा उडेर परमात्मा सँग मिली सकेको हुन्थ्यो । यो जीवनको अन्तिम सत्यको जानकारी मलाई भै सकेको हुन्थ्यो । धन्य भगवान ! धन्य सृष्टिकर्ता ! म वाँचे । यही नै अहिलेको सबैभन्दा हर्षको विषय हो । अलिकति भए पनि पिडा कम भएको जस्तो लाग्छ । जव मान्छे सामान्य अवस्थामा हुन्छ उ आफ्नो परिवेशमा भएको साधन र श्रोतलाई कसरी परिचालन गर्ने र आफ्नो आवश्यकता पुरा गर्ने भन्ने सोच्न थाल्छ । अब के गर्ने ? सबै भन्दा महत्वपूर्ण प्रश्न हो यो । आफुले आफूलाई सोध्ने । यो प्रश्न दिनको एउटा सोधे पनि हुन्छ । घण्टामा वा मिनटमा एउटा सोधे पनि हुन्छ । सेकेण्डमा एउटा सोधे पनि हुन्छ । साधना गर्ने साधकले ले अव साधना गर्ला । अभ्यास गर्ने खेलाडिले अभ्यास गर्ला । गृहकार्य गर्ने विद्यार्थीले त्यही गर्ला । त्याग गर्ने नेताले अव त्याग गर्ला । दान गर्ने दानवीरले दान । कर्म गर्नेले कर्म गर्ला । प्रेम गर्नेले प्रेम । झगडा गर्नेले झगडा गर्ला । गाली गर्नेले गाली । जीवन सिध्याउने सोच भएकाले आत्महत्या गर्ला । “अव के गर्ने” भनेर नसोच्ने  विँउझेको मान्छे कोही नहोला ।        
म एउटा घरको नजिकै पुग्छु । एक मँगोलियन अनुहार भएको मान्छे सँग भेट हुन्छ । उ मलाई देखेर आत्तिन्छ । म यथार्थ वताँउछु । उसले मलाई एउटा फेर्ने लुगा दिन्छ । मलाई अव कसरी घरमा सम्पर्क गर्ने भन्ने चिन्ताले छुन्छ । सबै सम्पर्क नम्बर हराएकोमा चिन्ता हुन थाल्छ । श्रीमतिको नम्बर नसम्झेकोमा चिन्ता हुन थाल्छ । म पनि मान्छे अनौठौ नै छु । आफ्नो सवै भन्दा नजिकको व्यक्तिको नम्बर समेत स्मरण गर्ने वानी छैन । यसको तार्किक कारण भने मोवाईल वा सम्पर्क जानकारी लेखिएको नोटवुक सधै साथमा भएर पनि हुन सक्छ ।  तर आज ती सव वस्तु म वाट विछोडिएका छन् । हराउनु र विछोडिनु । यी शब्दहरु उस्तै लाग्छन् । तर यीनमा समानता पनि छ भिन्नता पनि छ । हराएको क्षणमा के हराउँदै छ भन्ने थाहा हुँदैन् । हराएको वस्तु हराएको छ भन्ने पत्ता लाग्न समय लाग्न सक्छ । किनभने हाम्रा पुर्खाको तुलनामा हामी कैयन धेरै व्यक्ति वा वस्तुको सम्पर्कमा छौ । सानो ठाँउ वा देशमा मात्र होईन विदेशमा समेत सम्पर्क छ हाम्रो । जीवन यापनका लागि हजारौ नयाँ सामान को सिर्जना भएको छ । धेरै सामानको सामिप्यतामा वाँच्ने भए पछी कुनै एउटा हराउनु अनौठो होईन् । तर विछोडिँदा के विछोडिन लागेको छ भन्ने थाहा हुन सक्छ । परिस्थितिले प्रेमी र प्रेमिकाको विछोड हुन सक्छ । परदेश जानेको नजाने सँग विछोड हुन सक्छ । यीनमा समानता भनेको दुवै नभै दिए हुन्थ्यो भन्ने लाग्छ । भै हाले पनि हराएको भेटियोस वा विछोडिएको फर्कियोस भन्ने लाग्छ ।
कतिपय विषयका उतिकै मापका विकल्प नहुँदा रहेछन् । सम्पर्क नम्बरलाई स्मरणमा राख्नु र मोवाईलमा वा नोटवुकमा राख्नु कति फरक रहेछ । यो सँकटको चाँदीको घेरा सायद यही हो । प्रत्येक कालो वादलमा चाँदीको घेरा हुन्छ भनेर कुनै कथाकारले लेखेका थिए । त्यो घेराले जडता अर्थात ईनर्सियालाई निलीदिन सक्छ । भँवरालाई फूले निले जस्तो । भ्यागुत्तोलाई सर्पले निले जस्तो । जडतामा प्रहार भए पछि यथास्थितिमा परिवर्तन हुन्छ । पुरानै स्थिति रहदैन् । चट्टान फुट्छ । वरफ पग्लिन्छ । विजुली चम्कन्छ । व्यक्तिको स्वभाव फरक हुन्छ । नँया वानी लाग्छ ।  परिवर्तन भनेको त्यही हो । जडता जो सँग पनि हुन्छ । जति वेला पनि हुन्छ । म सँग पनि छ । कुनै सँस्था सँग पनि हुन्छ । सरकार सँग पनि हुन्छ । सँकटको राम्रो भनेको यही हो । मैले मेरो जीवनसाथीको अर्थात मेरो आधा आकाशको सम्पर्क नम्बरलाई स्मरणमा नै राख्नु पर्छ भन्ने ज्ञान पलाएको छ । मलाई जस्तै जडतामा वसेका सबैलाई सँकट आएर ज्ञान पलाएको थाहा पाउन पाए कस्तो हुन्थ्यो होला । त्यो ज्ञान प्राप्तिको क्षण विशिष्ट हुन्छ । जावो एउटा नम्बर अर्थात अङ्कहरुको समूह । थोरै भएका कतिपय चिजहरु कति वहुमुल्य हुन्छन् । अमुल्य हुन्छन् । अमृत अमूल्य हुन्छ । थौरैले धेरै ठूलो काम हुन्छ ।  म सँग भएको केही रकम हराएकोमा पनि चिन्ता हुन थाल्छ । म सँग सँधै साथमा हुने यी भौतिक वस्तुहरुको महत्वको वोध अझै वढे जस्तो लाग्छ ।

 म यत्तिकैमा झसँग हुन्छु । कस्तो सपना हो यो । म ओछ्यानवाट जुरुक्क उठ्छु । वत्ति वाल्छु र घडि हेर्छु । रातको दुई वजेको छ । आउने आईतवार मलाई ईलाम जानु छ । यथार्थ त्यो हो । एकैछिन अगाडिको विपद स्थिति यथार्थ होईन् म निश्चिन्त हुन्छु । सायद ईलामको पहाडी वाटोको यात्राको प्रसँगले यो सपना देखिएको हुन सक्छ । तर जे होस । यो घटनाले एउटा रचना त सिर्जना हुने मौका पायो ।

पहिलो खेस्रा कार्तिक १७, २०६९
अन्तिम रुप पौष २४, २०६९
कोटेश्वर, काठमाण्डौ