Saturday, September 19, 2026

कोभिड–१९ नियन्त्रण : नेतृत्वको लिटमस परीक्षा

गत महिना यो शताब्दीकै भयानक त्रासदी भएर फैलिरहेको विश्वव्यापी महामारी कोभिड–१९ सँग जोडिएको एउटा समाचार भाइरल भयो । ‘न्युजिल्याण्डकी प्रधानमन्त्री संसारमै सम्भवत सबैभन्दा प्रभावशाली राजनेता हुन् ।’

यो महामारीले मध्य जेठसम्ममा संसारका २०० भन्दा बढी राष्ट्रमा फैलिएर ३ लाख ७५ हजार व्यक्तिको ज्यान लिइसकेको छ । स्थानीय निकायदेखि केन्द्रीय सरकारसम्म, नगरप्रमुखदेखि सरकार प्रमुखसम्म र सामान्य क्लबदेखि विश्व स्वास्थ्य सङ्गठनसम्म संसारका सबै नेतृत्व पङ्क्तिमा रहेका नेता, कार्यकर्ता र सर्वसाधारण कोरोनाको रोकथाम र नियन्त्रण गर्ने कार्यमा जुटेका छन् । यस्तो विषम परिस्थितिसँग जुझ्ने कार्यमा हरेक नेताले आफ्नो योगदान गरेका छन् । यो पृष्ठभूमिमा भाइरल भएको समाचारले एउटा प्रश्न सिर्जना गर्छ–‘के त्यस्तो जादु गरिन् त ४८ लाख जनसङ्ख्या भएको टापु राष्ट्रकी ती प्रमुख कार्यकारीले ?’

सञ्चारमाध्यमहरूले लेखेका छन्– प्रधानमन्त्री ज्यासिन्डा आर्डेन्सले परिस्थितिको मिहिन आकलन गरिन् । उनले आफ्ना नागरिकको भित्री कष्ट र मर्म जरैदेखि बुझिन् । हरेकको दुःख र संकटको आर्तनादमा सहानुभूतिको लेप लगाइन् । जनताले उनको फेसबुकमार्फत गरिएको प्रत्यक्ष प्रसारणमा सरकार प्रमुखमात्र देखेनन्, काखको नानी स्याहार्दै गरेकी र पसिनाले लथपथ भएको लुगा लगाएकी ३९ वर्षीया राष्ट्रमाता पनि देखे ।

यो दृष्टान्तमा अध्येताहरूले राजनेतामा हुनुपर्ने एउटा विशेष चरित्र स्पष्ट देखे । डा. विश्वनाथ प्रेमले शब्द कुँदेको र शिशिर योगीले गाएको एक गीतमा यस्तो चरित्रको उल्लेख गरिएको छ । उक्त कालजयी गीतमा यस्तो नायकको खोजी गरिएको छ–

‘पाएर शक्ति सत्ता गर्दैन जो कुकर्म
आफ्नै सरी अरूको जो बुझ्छ त्रित्री मर्म’

यसरी आर्डेन्सको उदाहरणले डा. प्रेमले लेखेका शब्दले सर्वव्यापी र सर्वमान्य नेतृत्व कौशलको सिद्धान्त बोकेका रहेछन् भन्ने प्रमाणित गरेको छ ।

अहिलेको प्रलयकारी संक्रमणजस्तै सन् १९९७ मा थाइल्याण्डबाट सुरु भएको चरम आर्थिक संकटले विश्वव्यापी रूप लिएको थियो । खासगरी दक्षिणपूर्वी एशियाका मुलुकहरू यो चपेटामा नराम्ररी फसेका थिए । यो विषयलाई जोडेर ‘संकटमा नेतृत्व’ शीर्षकमा प्रवचन दिँदै भर्खरै सेवाबाट अवकाश लिएका फिलिपिन्सका पूर्वराष्ट्रपति फिडेल रामोसले एक प्रवचनमा भनेका थिए– ‘संकट भनेको नेताको दर्जा र हैसियत छुट्याउने एउटा उत्कृष्ट अवसर हो । यो यस्तो भट्टी हो जसले एउटा नेताको चरित्रलाई इस्पात बनाउँछ । संकटसँगको मुठभेटमा अल्लारे ठिटो र धैर्यवान पुरुष सर्लक्क छुट्टिन्छ ।’

रोमन साम्राज्यको पतन लेखेर ख्याति कमाएका इतिहासविद इडवार्ड गिबन (१७३७–१७९४) को एउटा अभिव्यक्ति यहाँ सान्दर्भिक हुन्छ । ‘समुद्रमा अकस्मात आएका आँधीबेहरी र तुफान सक्षम जहाज चालकका पक्षमा हुन्छ ।’

सम्भवत धेरै कम नेतागण या उनका अनुयायीले यो अति महत्वको विषय बुझेका होलान् । कुनै एउटा निर्दिष्ट गन्तव्य बनाएर हिँडेको पानीजहाज नचिताइएको आँधीबेहरी वा तुफानको भुमरीमा फस्यो भने सामान्य जहाज चालकले त्यो आपतकालीन स्थिति कसरी सामना गर्ला !

यहीँनिर फिलिपिन्सका पूर्व राष्ट्रपति रामोसले भनेको कुरा चरितार्थ हुन्छ । जुन चालकले जहाजलाई संकटको भुमरीबाट उद्धार गरी सकुशल किनारमा पुर्‍याउँछ त्यो चालक सक्षम श्रेणीमा गणना हुन्छ । यसका लागि आँधीबेहरीले ल्याएको वायुवेगको पहिचान गरी त्यही दिशामा जहाज लैजानु पर्ने हुन्छ ।

सक्षम चालकको कुशलताको अर्को पाटो ‘गन्तव्य परिवर्तन’ हो । तुफानको चपेटामा परेको थाहा पाउनासाथ चालकदलको प्रमुखले गन्तव्य परिवर्तन गर्ने निर्णय लिन सक्नुपर्छ । अब जहाजका यात्रुको सुरक्षित अवतरण नयाँ गन्तव्य हुन्छ र तुफानपूर्वको गन्तव्य गौण हुन जान्छ ।

स्पष्ट छ कि एकातिर कोरोना कहरमा आफ्ना नागरिकको जीवन र सुरक्षालाई गन्तव्य बनाउने सरकारप्रमुख वा अन्य नेताहरू ‘विश्वकै प्रभावशाली’ बनेर अखबारको शीर्ष समाचारमा उदाए । अर्कातिर केही नेताहरू भने गन्तव्य परिवर्तन गर्न नसकी वा आफ्नो राजनीतिक अभिष्टको शिकार भई गलत रणनीति अपनाएका कारण हजारौँ नागरिकको मृत्युवरण जोगाउन सकेनन् भनेर आलोचित भएका छन् ।

कतिले यसका कारण आफ्नो राजनीतिक पूँजी झार्दै बचेखुचेको लोकप्रियता पनि गुमाउँदै गएका छन् । यो दोस्रो खेमामा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प, स्पेनका सरकार प्रमुख पेड्रो सानचेज, इन्डोनेशियाका राष्ट्रपति जोको विदोदो, ब्राजिलका जाई बोल्सोनरो र नेपालका प्रधानमन्त्री केपी ओली पनि पर्दछन् ।

यसरी कोभिड–१९ को दूरगामी प्रभावबारे हृदयङ्गम नगरी सतही दृष्टि गर्नाले नियन्त्रणको लागि शीघ्र निर्णय नगर्नाले आज अमेरिका, स्पेन, इटाली, बेलायतजस्ता समृद्ध मुलुकहरू कोरोनाको कहालीलाग्दो चपेटमा परेका छन् । तालिका १ मा प्रशंसित र आलोचित नेतृत्व शैलीको झलक दिने केही मुलुकका विवरण प्रस्तुत गरिएको छ ।

सर्वाधिक चर्चाको विषय भएको न्युजिल्याण्डकी प्रधानमन्त्रीको नेतृत्वशैलीको चुरो शिशिरले गीतमा भनेको जस्तो नागरिकको मर्म बुझेर सोही अनुसारको कर्म गर्नुरहेको छ । उनका स्पष्ट, सिलसिला मिलेका तर्कहरू र सान्त्वना दिने सारगर्भित मन्तव्यमा सर्वसाधारणले आफू समाहित भएको पाए ।

आमसञ्चार विषयको औपचारिक अध्ययन गरेकी आर्डेन्सले आफ्नो क्षमताको भरपूर उपयोग गरिन् र जनता र राष्ट्रमा न्युनतम क्षति हुने दिशामा कदम चालेर विश्वव्यापी लोकप्रियता कमाइन् ।

 जर्मनीकी चान्सलर डा. एन्जेला मर्केलले विज्ञान (क्वान्टम केमेस्ट्री) मा विद्यावारिधि गरेकी छिन् । उनले कोभिड–१९ सँग लड्ने रणनीति बनाउँदा यसै वैज्ञानिक पृष्ठभूमिको भरपूर उपयोग गरिन् ।

निर्जीव भए पनि सजीवको जस्तो विशेषता बोकेको कोरोना भाइरससँग जोडिएका विषयवस्तु नितान्त मौलिक र सूक्ष्मजीव विज्ञानको पछिल्लो अध्ययन अनुसन्धानसँग जोडिएका छन् । कतिपय सवालमा वैज्ञानिकहरू पनि निश्चिन्त हुन नसकेको स्थिति छ ।

खोपको आविष्कारमा सारा विश्व लागेको छ । यो विषयवस्तुको चुरो बुझेकी डा. मर्केलले आफ्नो राजनीतिलाई विज्ञानको अघि होचो बनाउने रणनीति लिइन् । यसकारण उनले सफलता हासिल गरिन् र जनतामाझ उनको लोकप्रियताको पारो अझै अकासियो ।

भियतनामजस्तो विकासशील देशले अपनाएको आंशिक लकडाउन तथा अन्य विशिष्ट पहलहरू भने सराहनीय छन् । उदार कम्युनिस्ट शासन पद्धति भएको मुलुक भएकोले त्यहाँ प्रतिबन्धका सीमाहरू मिच्ने काम भएनन् जसको परिणामस्वरूप अहिले भियतनामले लगाएको प्रतिबन्ध खुकुलो पारेको छ । यसमा राजनीतिक नेतृत्वको अहम् भूमिका रहेको छ ।

आम जनसमुदायले पनि रोकथामको लागि गरिएको आह्वान गम्भीरतापूर्वक अनुशरण गरे । नजिकैको सिङ्गापुरले पनि यस्तै विशिष्ट नीति अवलम्बन गर्‍यो र कोभिड–१९ को ठूलो कहरबाट जोगिएको छ ।

भारतका प्रधानमन्त्रीले १ अरब ३७ करोड जनतालाई पूर्णबन्दीको स्थितिमा राखेको दुई महिनाभन्दा पनि बढी भएको छ । लोकतान्त्रिक मुलुक भएकाले यो कार्य चीन या भियतनाममा जस्तो सजिलो थिएन । उनले पूर्णबन्दीको न्वारान समेत गरी ‘जनता कर्फ्यू’ भनेर जनतालाई आश्वस्त पार्न सके । चौथोपटक गरिएको पूर्णबन्दीको ‘लकडाउन ४.०’ भनी नामकरण गरे । मोदीका यी कदमको प्रशंसा उनका अमेरिकी समकक्षीले समेत गरे ।

विधिको विडम्बना ! स्रोतसाधन र अर्थतन्त्रमा रोल नं १ कहिलिएको सम्पन्न मुलुक संयुक्त राज्य अमेरिका कोभिड–१९ त्रासदीको मारमा पर्ने मुलुकमा पनि पहिलो हुन पुगेको छ ।

विज्ञहरूको राय अँगाल्ने र विज्ञानसम्मत निर्णय गर्ने राष्ट्रहरू यस महामारीबाट छिटो उम्किन सकेका वा उम्किने तरखरमा देखिएका छन् । यस प्रकरणमा अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प नराम्रोसँग चुके । अमेरिकाको सञ्चारमाध्यम सीएनएनले राष्ट्रपतिलाई लक्षित गरी यस्तोसम्म विवेचना गर्‍यो–‘राष्ट्रपति महोदय, यो समय कोरोनाको संक्रमणको जाँच गर्नेमात्र नभई नेतृत्वको परीक्षा लिने पनि हो ।’

रसायन विज्ञानको पढाइमा लिटमस परिक्षण भन्ने एक परम्परागत विधि छ । कुनै तरल पदार्थमा रातो वा निलो लिटमस कागतको टुक्रा डुबाउँदा परिवर्तन भएको रङबाट अम्ल वा क्षार छुटिन्छ । फिलिपिन्सका पूर्वराष्ट्रपतिले भनेको जस्तो ‘संकट’ को सामना भनेको नेताको लागि एक लिटमस परीक्षण हो ।
दुर्भाग्य ! अमेरिकाजस्तो शक्तिशाली राष्ट्रका राष्ट्राध्यक्ष पनि यो परीक्षणमा ‘क्षार’ को कित्तामा पुगेका छन् ।

कोरोना त्रासदीको अर्को शिकार स्पेन भएको छ । त्यहाँ हालसम्ममा २७ हजार सर्वसाधारणको मृत्यु भइसकेको छ । इरान र इटलीको बेहाल देखेको स्पेनले समस्यालाई कम आकलन गर्नु नै दुर्भाग्य भएको छ । त्यहाँका राष्ट्राध्यक्ष पेट्रो सानचेज अनिर्णयको बन्दी भएको र प्रतिकार्यका कदम चाल्न ढिलाइ गरेको कारणले यो क्षतिलाई स्पेनको पछिल्लो इतिहासमा एक नाटकीय कालरात्रिको रूपमा चित्रण गरिएको छ ।

नेपालको सन्दर्भमा इडवार्ड गिबनले भनेको जस्तो संकटमा राजनेताको गन्तव्य परिवर्तन भएको देखिएन । पूर्णबन्दीको सूचना पाएलगत्तै पूर्वप्रधानमन्मन्त्री झलनाथ खनालले आत्मसंस्मरण लेख्ने योजना सार्वजनिक गरे ।

नेपालको कायापलट गर्ने सपना देखेर जनयुद्धमा होमिएका नेकपाका अध्यक्ष प्रचण्डले पूर्णबन्दीको समय सदुपयोग भन्दै ‘आफ्नै निवास परिसरमा साइकल कुदाएको’ श्रव्यदृश्य सामग्री सार्वजनिक गरे ।

अर्का पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले लकडाउनको फुर्सद प्रयोग गर्न कप्युटरमा चेस खेल्ने गरेको अन्तर्वार्ता दिए । अहिलेलाई झट्ट सुन्दा ठीकै लागे पनि भोलिको पुस्ताले नेताको यस्तो कुरा पढ्दा नेतृत्वले उचित निर्णय लिन नसकेको नै हो भन्ने ठम्यायो भने उनीहरूलाई ग्लानि हुनेछ । यस्तो भए अदूरदर्शी व्यक्तिलाई नेता बनाएकोमा उनीहरूले आफ्ना पूर्खालाई धिक्कार्ने छन् ।

कोभिड–१९ को सन्दर्भमा नेपालको दुर्भाग्य हुनुपछिका विभिन्न कारकमा यी प्रतिनिधि दृष्टान्तहरू पर्दछन् । विश्व स्वास्थ्य संगठनले कोभिड–१९ को रोकथाम र प्रतिकार्यका लागि सम्प्रेषण गरेको दस्तावेज ‘कोभिड–१९ रणनीतिक पूर्वतयारी र प्रतिकार्य योजना’ होस् या विश्वव्यापी विपद वा महामारीको जोखिम न्युनीकरणका लागि तयार पारिएको ‘सेन्दाई फ्रेमवर्क’ होस्, यी दस्तावेजमा यस्तो अकल्पनीय र त्रासदपूर्ण समयमा नेता, पेशाविद, संस्था वा सरकारी निकायको के भूमिका हुन्छ भन्ने कुरा स्पष्ट लेखिएको छ ।

हाम्रा राज्य संयन्त्रहरू र नेताका सल्लाहकारहरूको पहुँच यस्ता रणनीतिक कागजातमा नभएको होइन तर समाजको अगुवाइ गर्ने बिल्ला भिरेका हामी सबै अर्कमण्यताको खोल ओडेर ‘निरोको बाँसुरी’ को सादृश्य मञ्चनमा लागेका छौँ ।

प्रधानमन्त्री केपी शर्मा ओली आफू बिरामी अवस्थामै भारतका प्रधानमन्त्रीले आयोजना गरेको सार्क मुलुकहरूको बैठकमा सहभागी भए । चीनबाट विशेष जहाजमा विद्यार्थीहरू ल्याइए । यी केही कार्यलाई सकारात्मकरूपमा हेरिएको भए पनि मन्त्रालयका एक प्रवक्तालाई कोभिड–१९ को पछिल्लो जानकारी एकतर्फीरूपमा सम्प्रेषण गर्न लगाएर प्रधानमन्त्री लगायतको पार्टीको सर्वोच्च निकाय भने अध्यादेश ल्याउने, पार्टी फुटाउने, कसैलाई प्रधानमन्त्री बनाउने आश्वासन बाँड्नेजस्ता भद्दा राजनीतिक अभिष्टका मार्गचित्र कोर्नमा नै अल्मलिएको आरोप लागेको छ ।

नेपालमा अहिलेसम्म कोरोना संक्रमणका कारण ८ जनाको मृत्यु भएको छ । यो विश्व महाव्याधिको सामाजिक–आर्थिक र वातावरणीय असर अब छिट्टै देखिन थाल्नेछन् । कोभिड–१९ को ठूलो संकट टरिरहेको यो लाभको समयलाई नेतृत्वले सदुपयोग गर्नु पर्ने हो । विडम्बना ! नेतृत्व अझै पनि त्यो ठूलो संकटको बेवास्ता गरिरहेको छ ।

राजनीतिक परीक्षा शतप्रतिशत अंक ल्याएर उतीर्ण गर्नुपर्ने परीक्षा हो । त्यसमा पनि जनता र राष्ट्रले सारा विश्वको नै गन्तव्य परिवर्तन गर्न सक्ने त्रासदी खेपेको बेला परिस्थिति र जनताको ‘भित्री मर्म र चुरो कुरो’ बुझ्न नसक्नु राजनीतिक परीक्षामा शून्य अंक ल्याएर अनुत्तीर्ण हुनु हो भन्दा अतिशयोक्ति नहोला ।

कोरोना कहर सामिप्यको एउटा महत्वपूर्ण पाठ भनेको सबल नेतृत्व, प्रत्युपन्न मति र दूरदर्शी नीतिनिर्माण हरेक समस्यासँग जुझ्ने सबैभन्दा बलिया आधारहरू रहेछन् भन्ने प्रमाणित भएको छ । दोस्रो, स्वास्थ्य, कृषि उत्पादन, आपूर्ति व्यवस्था, रोजगारी, अनलाइन शिक्षण सिकाइ आदि कठिन परिस्थितिमा सर्वसाधारणलाई प्रत्यक्ष प्रभाव पार्ने विषयहरू रहेछन् भन्ने हो ।

कोरोना कहरको कहालीलाग्दो वर्तमान अझै हाम्रासामु भएकाले नेतृत्वगणलाई सच्चिन र ग्रेस मार्क ल्याएरै भए पनि विश्वविद्यालयले निर्धारण गरेको उत्तीर्ण प्राप्तांक ल्याउने अवसर भने बाँकी नै छ भन्नुमा दुईमत नहोला ।

(डा. भुजु र कट्टेल रिसोर्सेस हिमालय फाउन्डेसनसँग आबद्ध छन् । यस्तै डा. खतिवडा र बजिमय नेपाल विकास अनुसन्धान प्रतिष्ठानसँग । प्रस्तुत विचारहरू लेखकहरूका निजी हुन् ।)

प्रकाशित मिति : २० जेठ २०७७, मंगलबार  २ : ४७ बजे 

साभार : https://khabarhub.com/2020/02/171521/ 

वातावरण संरक्षण कि व्यवस्थापन !

निश्चय नै विश्वमा वातावरण विनाश बढ्दो क्रममा छ । यसले मानव अस्तित्वमाथि नै संकट उत्पन्न हुन थालेको भन्ने चिन्ता पनि प्रकट हुने गरेको छ ।

वातावरण विनाशको तीव्रताका अनेक लक्षणहरू देखिएका छन् । प्राकृतिक वातावरण संरक्षण आजको विश्वको ज्वलन्त चिन्ता र चासोको विषय हो । आज विश्व वातावरण दिवसका अवसरमा नेपालको सन्दर्भमा केही कुरा गरौँ ।

हाल नेपालमा राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष र अन्य संरक्षित वनसहित करिब ४५ प्रतिशित भूमि संरक्षित वन क्षेत्रले ढाकेको छ । यस अतिरिक्त संरक्षण क्षेत्रहरू पनि छन् । सीमसार क्षेत्रहरू संरक्षित छन् । ‘राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन’ ले वन्यजन्तुतको प्राकृतिक वासस्थानको संरक्षण गर्छ । अन्य कतिपय ऐनहरूमा प्राकृतिक वातावरण संरक्षणका प्रावधानहरू छन् । नेपाल प्राकृतिक वातावरण संरक्षण सम्बन्धी अन्तर्राष्ट्रिय सन्धि–सम्झौताहरूको पक्षराष्ट्र रहेको छ ।

संरक्षित वन क्षेत्रको हिसाबले नेपाल निकै उत्कृष्ट अवस्थामा छ । कुल भूभागको ४० प्रतिशतभन्दा माथि वनक्षेत्र हुनु चानचुने कुरा होइन । शून्य वन अर्थात वन नै नभएका कति देशहरू समृद्धशाली छन् । यति धेरै वन क्षेत्र भएर पनि नेपालले वनबाट अपेक्षित लाभ हासिल गर्न सकेको छैन । वनको उचित व्यवस्थापन र सदुपयोग हुन सकेको छैन ।

वन्यजन्तुका लागि राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष र अन्य संरक्षित क्षेत्रहरू छन् । वन्यजन्तुहरू कहिलेकाहीँ मानवबस्तीमा छिर्छन् । चितवनतिर कहिलेकाहीँ मध्य शहरमा गैँडा हिँड्छ । बाघ, हात्ती, गैँडा जस्ता जनावरले मानिस मार्ने घटनाहरू हुने गरेका छन् । मानिस र वन्यजन्तुका बीच द्वन्द्व चलिहरन्छ । जब राज्यद्वारा संरक्षित क्षेत्रका संरक्षित जनावारले मानिसको ज्यान लिन्छ वा अन्य हानी पुर्‍याउँछ, त्यो उच्च सरोकारको मुद्दा बन्छ । संरक्षित क्षेत्रको उचित व्यवस्थापन हुन नसक्दा यस्तो समस्या बारम्बार देखापर्छ ।

शहरी क्षेत्र भएर बग्ने नदी/खोलाहरू असीमित रूपमा प्रदूषित छन् । राजधानी उपत्याकामा नदीहरू मृत अवस्थामा छन्; नदी होइन, ढल बनेका छन् । नदीमा जलचर हुँदैन र मानिसको संस्कृतिसँग जोडिँदैन भने त्यो नदी नै रहँदैन । पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म शहरी क्षेत्र भएर बग्ने सबै नदीको दुर्दशा छ ।

विराटनगरको केसलिया होओस् कि काठमाडौँका वाग्मती र विष्णुमती होउन् वा काभ्रेको पुण्यमाता किन नहोस् सबै ढलमा परिणत भएका छन् । मिथिला संस्कृतिसँग जोडिएका जनकपुरका सरोवरहरू प्रदूषण र अतिक्रमणले अस्तित्वको संकटमा छन् । शहरी क्षेत्रमा देशभरि यस्तै अवस्था छ । प्रकृतिले हामीलाई अनेक उपहार दिएको छ तर हामीले व्यवस्थापन गर्न सकेका छैनौँ । हाम्रा अनमोल प्राकृतिक सम्पदाहरू जोगाउन सकेका छैनौँ ।

शहरी क्षेत्रहरू भल बाढीको चपेटमा पर्न थालेका छन् । काठमाडौँ उपत्यकाका घनाबस्तीहरू मनसुनको भलमा अनपेक्षित ढङ्गले डुबानमा पर्न थालेका छन् । हामीले शहर बसायौँ, ठूलाठूला घरहरू बनायौँ तर भल निकासको उचित व्यवस्थापन गरेनौँ । पूर्व–पश्चिम राजमार्गमा बसेका अधिकांश शहरहरू मध्य मनसुनमा कैयौँ दिन डुबानमा पर्ने गरेका छन् । जनधनको क्षति हुने गरेको छ ।

कङ्क्रिटको शहर बढ्दै गएपछि शहरी क्षेत्रमा जमिनले वर्षाको पानी सोस्ने क्रम घट्यो । थारै समयमा आकाशे पानीले ठूलो क्षमता देखाउँछ । जमिनले पानी सोस्न नपाएपछि भलको समस्या बढ्छ र यसले अनपेक्षित क्षति गराउँछ । शहरी क्षेत्रमा पानीको प्राकृतिक वहाव खलबिलयो तर शहरी योजनाले भलको उचित निकास दिन सकेन । अब हरेक वर्ष भलको डुबानमा पर्नु, त्यसको रमिता हेर्नु र क्षति व्यहोर्नु बासिन्दाहरूको नियति बन्न थालेको छ ।

यता जमिनले पर्याप्त पानी शोषण गर्न नसक्दा जमिनमुनि पानीको सतह घट्दैछ । फेरि, जमिनमुनिको पानी तानेर सिँचाइ गर्ने क्रम पनि बढ्दो छ ।

हाम्रा लागि डढेलो अर्को ठूलो विपद् बन्दैछ । वनमा डढेलो लगाउने हाम्रो परम्परागत धारणा परिवर्तन हुन सकेको छैन । हामीसँग डढेलो नियन्त्रण गर्ने प्राविधक संयन्त्र पनि छैन । वायु प्रदूषण हाम्रो अर्को ठूलो चिन्ताको विषय हो । काठमाडौँ शहर विश्वका उच्च प्रदूषित शहरहरूको सूचीको अग्रस्थानमा पर्न थालेको छ । काठमाडौँको चर्चा बढी भए पनि तराई क्षेत्रका ठूला शहरहरू पनि कम प्रदूषित छैनन् । वायु प्रदूषण नियन्त्रण गर्ने उपायहरू अवलम्बन हाम्रो प्राथमिकतामा पर्न सकेको छैन ।

फोहोरमैला व्यवस्थापन अत्यन्त कमजोर छ । ठूला शहरहरू जैविक र अजैविक सबै प्रकारका फोहरहरूले प्रदूषित बन्दै गएका छन् । आधुनिक प्रविधिको द्रुत विकाससँगै अजैविक फोहरको मात्रा बढ्दो छ । हामीले ल्यान्डफिल बाहेक फोरहमैला व्यवस्थाको अर्को प्रविधि भित्र्याउनै सकेका छैनौँ । ल्यान्डफिल पनि वैज्ञानिक छैन ।

उपयुक्त ल्यान्डफिल साइटहरू पहिचान गर्न र तिनीहरूलाई राज्यप्रणालीको नियन्त्रणमा राख्न सकिएको छैन । फलस्वरूप कहिलेकाहीँ हप्ता दिनसम्म पनि शहरको फोहोर उठ्दैन । यस्तो समस्या काठमाडौँको मात्रै होइन, अन्य शहरहरूमा पनि देखिन थालेको छ ।

आर्थिक वर्ष २०७८/७९ को बजेटले व्यापारघाटा कम गर्न ढुङ्गा, गिटी र बालुवा निकासी गर्ने भनेपछि यसले पक्ष–विपक्षमा ठूलै बहस सिर्जना गरेको छ । अहिले पनि ढुङ्गा, गिटी र बालुवाको व्यवस्थापन राणाकालको मुखियाका पालाको जस्तै छ । पहिलेका जिल्ला विकास समिति (जिविस) ले गरेजत्तिको व्यवस्थापन पनि छैन अहिले । आजकाल आईई गर्ने भनेको ठेक्का लगाउनलाई हो, लगाउन हुँदैन कि भनेर जाँच्नलाई होइन, वातावरण संरक्षणका लागि होइन ।

नेपालले ढुङ्गा, गिटी र बालुवा निकासी गर्न नसक्ने होइन तर चुरे पहाडका भित्ता फोरेर, नदीबाट धमाधाम बालुवा निकालेर होइन । इन्जिनियरिङ, भूगर्भशास्त्रीय र अन्य आवश्यक वैज्ञानिक अनुसन्धान गरेर त्यसको सुझाबअनुसार मात्रै उत्खनन् गर्नुपर्छ । नदीबाट बालुवा निकाल्दा नदीको सतह र पानीको वहावको वैज्ञानिक अध्ययन हुनुपर्छ ।

मानिसले विकास निर्माणको काम प्रकृतिमै गर्ने हो, प्राकृतिक स्रोतसाधन नै प्रयोग गर्ने हो । यस क्रममा प्राकृतिक वातावरणमा क्षति पुग्छ तर विकास त रोकिँदैन । प्रकृति र मानव समुदायमा कमभन्दा क्षतिमा विकासका काम गर्नुपर्छ । यसो गर्न गहन वैज्ञानिक अनुसन्धान आवश्यक पर्छ । हामीलाई स्मार्ट विकास र स्मार्ट शहरहरूको आवश्यकता छ । हाम्रो निकै पुरानो शहर राजविराज आज कुन अवस्थामा छ ! निकै नयाँ शहर सुर्खेत कता जाँदैछ ! गम्भीरतापूर्वक विचार गर्ने र शिक्षा लिने बेला भएको छ ।

हामीले प्रतिघण्टा सय किलोमिटरका दरले गाडी गुड्ने उच्च प्रविधियुक्त राजमार्ग सोचेर काम गर्नुपर्छ । हाम्रा शहरका घरहरू पर्याप्त घाम छिर्ने र हावा खेल्ने किसिमका हुनुपर्छ तर के आज हाम्रो सरकारी संयन्त्रले यसतर्फ गम्भीरतापूर्वक सोचेको छ ! काठमाडौँबाट दुई–तीन सय किलोमिटर टाढा बसेर पनि काठमाडौँमा जागिर वा व्यवसाय गर्न सक्ने स्मार्ट विकास सोचेको छ ! यस्तो योजना बनाउँदैछ ! र, काठमाडौँ जस्तै अन्य शहरहरूको सन्दर्भमा पनि !

नेपालमा एक लाखभन्दा बढी पहाडी थुम्काहरू छन् । यी यीमध्ये हजार, दुई हजार थुम्का सम्याएर स्मार्ट शहर बसाउन सकिन्छ । यस्ता आधुनिक बस्तीलाई द्रुत गतिका मार्गले ठूला शहरसँग जोड्न सकिन्छ । यसो गर्दा दुई–तीन सय किलोमिटर टाढाबाट काठमाडौँ आएर जागिर र व्यवसाय गर्न सक्ने अवस्था हुन्छ । धेरै देशले यस्तो काम गरेका छन् । यस्तो योजना हामीले किन बनाउन नसकेको होला !

सुरुङमार्ग र रेलमार्गको कुरा पनि यसैमा जोडिनुपर्छ ।

हाम्रो चुरे क्षेत्र धेरै संवेदनशील छ । यसको उपयोग गर्न धेरै वैज्ञानिक अध्ययन आवश्यक पर्छ । भविष्यको ख्याल नगरी क्षणिक फाइदाका लागि चुरेलाई चलायौँ भने हामीले ठूलो दुर्गति व्यहोर्नु पर्नेछ । चुरेभन्दा तलको जमिनको प्राकृतिक वातावरण र बस्ती जोगाउन हामीले चुरे जोगाउनुपर्छ ।

आजको नेपालको मुख्य वातावरणीय मुद्दा वातावरण संरक्षण होइन, वातावरण व्यवस्थापन हो । नेपालले जुन वातावरणीय विनाश भोग्दैछ, त्यो प्रकृति संरक्षण नगरेर होइन, संरक्षित क्षेत्रको उचित व्यवस्थापन नगरेर हो । बाघ, गैँडा, हात्ती आदि जनावरका लागि हामीले निकुञ्ज र आरक्षण बनाएर यिनको संरक्षण गरेका छौँ । हामीसँग उपलब्ध चितवन, बर्दिया, शुक्लाफाँटा र पर्साको वासस्थानले कति वटा बाघ, गैँडा र हात्ती धान्न सक्छ ! हामीले संरक्षण गरेको वासस्थानको क्यारिङ क्यापासिटी कति हो ! यसमा गहन अध्ययन, सोहीअनुसार योजना र कार्यान्वयन आवश्यक छ । यसरीमात्र हामीले पारिस्थितिक प्रणालीको पुनरुत्थान गर्न सक्छौँ ।

कुन ठाउँमा कति ठूलो शहर बसाउने, कृषि भूमिको संरक्षण कसरी गर्ने, कति कृषिभूमि जोगाएर राख्ने भन्ने विषयमा बृहत्, वैज्ञानिक र दूरदर्शी योजना निर्माण र कार्यान्वयन अर्को ठूलो आवश्यकता हो । यसो हुन नसके जसरी काठमाडौँको उर्वर कृषिभूमि मासियो त्यसरी नै अन्यन्त्र पनि मासिने छ र कङ्क्रिटको जङ्गल विस्तार हुँदै जानेछ । यस्तो क्रम विभिन्न ठाउँमा द्रुत गतिले अघि बढ्दैछ ।

यस्ता विविध आयामहरूको गहन वैज्ञानिक अध्ययन नभई व्यवस्थित ढङ्गले वातावरण संरक्षण हुन सक्दैन । संरक्षित क्षेत्रहरूको व्यवस्थापन र प्रकृति संरक्षण सहितको दिगो विकासका लागि हामीलाई उपयुक्त सूत्र, मन्त्र र संयन्त्र चाहिएको छ ।

(वातावरण इन्जिनियर तथा अनुसन्धाता डा. खतिवडासँग सविना कार्कीले गरेको कुराकानीमा आधारित)

साभार : https://khabarhub.com/2021/05/276651/ 

सूर्यमानको सौर्य

 पैसठ्ठी वर्षअघि, १ अप्रिल १९५६ मा ललितपुर जिल्लाको पाटन नगरीमा एक बालकको जन्म भयो । बुबा पूर्णबहादुर शाक्य र आमा चन्द्रमाया शाक्यको कोखमा जन्म लिएका ती बालक कालान्तरमा नेपालमा वातावरण इन्जिनियरिङ विधाको श्रीगणेश गर्ने नायक बन्लान् भन्ने कुरा शायद विधातालाई मात्र थाहा थियो ।

सृष्टिका सर्जकले बुबाको नाम पूर्ण, आमाको चन्द्र र बालकको नाम सूर्य जुराइदिएका थिए । नेपालको वातावरणसम्बन्धी प्राविधिक कित्तामा ती नायक ‘पूर्णचन्द्र’ भएर उदाए । अनि, आफ्नो नाम चरितार्थ गर्दै ‘कहिले नअस्ताउने सूर्य’ को पदचिह्न र आफ्ना केही महत्वपूर्ण अनुष्ठान तपाईं–हाम्रो जिम्मा लगाएर यही वैशाख २० गते अन्तर्राष्ट्रिय विश्व प्रेस स्वतन्त्रता दिवसका दिन ब्रह्मलीन भए ।

सूर्यमान शाक्यले भारतको पटनाबाट सिभिल इन्जिनियरिङ विषयमा स्नातक गरेका थिए, अमेरिकाको न्यु जर्सीबाट वातावरण इन्जिनियरिङमा स्नातकोत्तर । सम्भवतः यो विधामा उच्च शिक्षाको पगरी गुथ्ने उनी पहिलो नेपाली नागरिक थिए ।

सूर्यमान पुराना सामान, त्यसमा पनि पुरानो घडीका अतिशय शौखिन थिए । उनको नाडीमा बजारमा नपाइने पुरानो मोडेलको घडी हुन्थ्यो । उनी कक्षामा विद्यार्थीलाई पढाउँदा यस्ता पुरातात्त्विक महत्त्वका सामानको अगणित मूल्यका बारेमा रोचक दृष्टान्त प्रस्तुत गर्थे । कुनै विद्यार्थीले सूर्यमानको घडी पुरस्कारका रूपमा कक्षा अवधिभर मात्र पनि बाँध्न पायो भने ऊ आफूलाई धन्य ठान्दथ्यो ।

एक पटक सूर्यमान घडी किन्ने सुरले स्वीट्जरल्याण्डको एक पसलमा पुगेछन् । पसल बेलुकी ५ बजे बन्द हुँदो रहेछ । उनी समय सीमाभन्दा केही मिनट अघि मात्र त्यहाँ प्रवेश गरेका रहेछन् । पसलको साहुजीले उनलाई अत्याउने सुर झिकेछ ।

‘पसल बन्द गर्ने बेला भयो । कृपया चाँडै गर्नु होला ।’

‘मैले राम्रो बुझिनँ । के भन्नु भयो रे ?’ ‘मसँग समय छैन । अर्को कुनै दिन आउनु होला ।’

यस्तो सुनेपछि सूर्यमानले आफ्नो देब्रे हातको नाडी साहुलाई देखाउँदै अचम्मको कित्ता सिर्जना गरेछन् ।

‘उदेक लाग्छ ! सयौँको संख्यामा घडी हुनेसँग समय छैन । मेरो साथमा घडी छैन तर घडी किन्ने समय छ ।’

यसरी भइपरी आएको परिस्थितिमा रौनक थपेर दर्शक श्रोतालाई मन्त्रमुग्ध पार्ने आद्वितीय क्षमताका धनी थिए सूर्यमान । उनी विषय प्रसङ्गलाई नाटकीय रूप दिन औधी सिपालु थिए । दर्शक–श्रोतामध्ये कसैलाई मन्चमा निमन्त्रणा गर्दथे र तिनैलाई सहभागी गराएर छानो उडाउने हाँसो सिर्जना गर्दै प्रस्तुतिमा बेजोडको रङ्गरोगन गर्दथे ।

ती दर्शक–श्रोता कक्षा कोठाका विद्यार्थी हुन या कुनै समारोहका सहभागी वा कुनै चिया पसलका ग्राहक, सूर्यको प्रत्युत्पन्न बुद्धिको रापको तापक्रम आकाशिएकै हुन्थ्यो ।

युट्युबमा ‘दि स्टोरीटेलर’ शीर्षकमा नेपालमा ‘वातावरण’ शब्द परिभाषित गर्ने पहिलो व्यक्तिका रूपमा चित्रण गरिएको सूर्यमान शाक्य सम्बन्धित एक सामग्री छ । २०७७ साल वैशाख अन्तिमसम्ममा २७ हजार दर्शकले यो सामग्री हेरिसकेको तथ्यांक सूचकले देखाएको छ ।

सूर्यमानको प्रस्तुतिले यस्तो उल्लेखनीय लोकप्रियता हासिल गर्नुमा उनको मौलिक शैली मुख्य हो । त्यो भीडीओ सामग्रीमा सूर्यमान दर्शक दीर्घाका दुई जना सहभागीलाई स्वयंसेवकका रूपमा मन्चमा बोलाउँछन् । उनीहरु मन्चमा प्रवेश गर्नासाथ दर्शकको ध्यान सुर्यमानतिर केन्द्रित हुन्छ । अबसूर्यमान भन्छन्–

‘तपाईंहरु मेरो बडीगार्ड । मैले बोलेको राम्रो भएन भनेर दर्शकले गोलभेँडा फ्याँके भने समात्ने जिम्मा तपाईंहरुको ।’

त्यतिन्जेल लगभग चकमन्नको स्थितिमा रहेको वातावरणमा एकाएक हाँसोको फोहोरा सिर्जना हुन्छ ।

स्वयंसेवकहरुलाई सूर्यमान एकएक वटा पुराना शब्दकोश दिन्छन् र तिनमा ‘वातावरण’ शब्द खोज्न आदेश दिन्छन् । एउटा शब्दकोशमा त्यो शब्द नै भेटिँदैन । अर्कोमा शब्द त भेटिन्छ तर त्यसमा अहिलेको कालखण्डले बोकेको ‘वातावरण’ शब्दको अर्थ लेखिएको हुँदैन । त्यसपछि माहौल तताउँदै उनी आफ्नो शैक्षिक उपाधि र तत्कालीन श्रमबजारको यसरी व्याख्या गर्छन्–

‘शब्दकोशमा वातावरण शब्दको अर्थ छैन । म वातावरण इन्जिनियरिङको स्नातकोत्तर तहको उपाधि बोकेर उभिएको छु । तपाईंहरु अनुमान गर्न सक्नुहुन्छ त्यस वेला म कति हतोत्साही भएँ हुँला ?’

दर्शकको ताली र हाँसोको आयतनले सभाकक्ष भरिएर छताछुल्ल हुन्छ । यसरी प्रस्तुतिमा मूल्य थपिन्छ । सहभागीहरु मन्त्रमुग्ध मात्र हुँदैनन्, उनीहरुले वातावरण इन्जिनियरिङ कान्छो विधा भएको जानकारी पाउनुका साथै यसलाई मूलधारमा ल्याउन गर्नुपरेको अथक मिहिनेतको बारेमा पनि सटीक जानकारी प्राप्त गर्छन् ।

सूर्यमान प्रत्युत्पन्न बुद्धिका खानी नै थिए । स्वदेशी होओस् कि विदेशी, शिक्षक होओस् या पत्रकार, विमानस्थलमा टिकट जाँच गर्ने कर्मचारी होओस् कि अध्यागमनमा हतियार बोकेर बसेको कमान्डो, पहिलो पटक भेट भएको होओस् या पुरानो घनिष्ट, उनी ती पात्रहरुसँग केही न केही संवाद गर्थे र हँसाएरै छोड्थे ।

उनी रोटरी क्लब अफ पाटन साउथका पूर्वअध्यक्ष थिए । क्लबको डिस्ट्रिक्ट ३२९२ लाई असिस्टेन्ट गभर्नरको पदमा बसेर सेवा गरेका थिए । क्लबकी पूर्वगभर्नर जया शाहको नेतृत्वमा सन् २०१७ मा नेपालका १७० जना रोटरी पदाधिकारीहरु भुवनेश्वर पुगेका थिए । त्यहाँ उनीहरुको सम्मेलन भएको थियो । सूर्यमान पनि त्यो टोलीमा थिए ।

सम्मेलनका केही सत्र नेपाली प्रतिनिधिहरुका लागि मात्र आयोजना गरिएका थिए । एकजना भारतीय स्रोतव्यक्तिले एउटा सत्रमा भित्ताको स्लाइडमा एक सिने कलाकारको तस्विर देखाए । तालिम कक्षमा उपस्थित १५ दर्जन सहभागीहरुलाई उनले सोधे–

‘तपाईंहरुमध्ये कसैले भन्नसक्नु हुन्छ, यो तस्विर कसको हो ?’

सभामा मौनता छायो । जवाफ दिन कोही पनि जुर्मुराएन । रोटरी क्लबमा व्यावसायिक घरानका नाम कहलिएका उद्यमीदेखि पेशागत र वृत्तिविकासको हिसाबमा समाजका अब्बल दर्जाका व्यक्तिहरुसम्मको उपस्थिति थियो । महिलाहरु पनि उल्लेख्य संख्यामा थिए । तस्विरमा देखाइएकी सुन्दरीलाई कसैले चिन्न सकेन अथवा चिने पनि उभिएर नाम भन्ने साहस गरेन ।

स्रोव्यक्तिले प्रश्न फेरि दोहोर्‍याए । फेरि सबै मौन बसे ।

अन्त्यमा केही नलागेर स्रोव्यक्तिले ती सुन्दरीको हुलियाको एक अंश बताए । फेरि पनि मौनताको यथास्थितिमा परिवर्तन आएन । स्रोत व्यक्तिले अन्तिम जाल फ्याँके ।

‘म अन्तिम पटक यहाँहरुको ध्यानाकर्षण गर्दैछु । कसैले अन्दाज गर्नु होला यी नारी को हुन् ?’

अब भने रङ्गमन्चमा सूर्यमान उदाए । उनी जुरुक्क उठे, मुठ्ठे जुँगामा ताउ लगाए, अनुहारमा एक कृत्रिम आक्रोश सिर्जना गरे । उनको अनुहारमा सिर्जना भएको यस्तो कालो बादलले घनघोर वर्षा गराउँथ्यो भन्ने उनका अनुयायीहरु धेरैलाई थाहा छ ।

‘एक पटक प्रश्न फेरि दोहोर्‍याउनु होला ।’

सूर्यमानको कुराले श्रोता र वक्ता दुवैलाई गम्भीर बनायो । स्रोतव्यक्तिले प्रश्न दोहोर्‍याए ।

‘तपाईं चिन्ने कुरा गर्नुहुन्छ । मैले त तिनलाई प्रस्ताव राखेको थिएँ ।’

‘क्या बात ! सूर्यमान ! वाह ! क्या जवाफ !’

सभामा बादल लागेको आकाशमा एकै साथ मेघ गर्जन र बिजुली चम्केको हिसाबमा गडगडाहट ताली र हाँसोको वर्षा भयो ।
सभाको मर्करी सामान्यतिर झर्न के लागेको थियो उनले फेरि थपे ।

‘मेरो प्रस्ताव उनले मानेकी थिइन् तर उनका बाउले खलनायकको भूमिका खेले ।’

सभामा फेरि हाँसोको वर्षा भयो ।

तस्विरकी नायिका चर्चित बलिउड कलाकार सत्रुघन सिन्हाकी छोरी सोनाक्षी थिइन् । त्यस वेला उनी रोटरी सद्भावना दूत रहिछन् ।

शास्त्रमा गणेशजीलाई ठूलो महत्त्व दिइएको छ । सबैभन्दा धेरै रूप भएका देवता भनेर पनि गणेशजी मानिन्छन् । कमलादीको आसपास पुग्दा त्यहाँ रहेका सिद्धिविनायकलाई सूर्यमान जहिले पनि दाहिने परिक्रमा गरेर मात्र आफ्नो गन्तव्यमा गएको उनीसँग सहयात्रा गरेका धेरैले स्मरण गर्छन् ।

सूर्यमान सन् १९९२ को मोडेल मारुती कार चढ्थे । उनको कारको नम्बर ७७७७ थियो । उनको गाडी देखेका र चढेका अधिकांशमा यो नम्बरले छाप छोडेको छ । उनी आफ्नो सवारीसाधनलाई धेरै माया गर्थे । यसको मर्मतसम्भार बडो होशियारीसाथ गर्थे । आफ्नो गाडीको नाम ‘फर्सिडिज बेन्ज’ राखेका थिए ।

उनी हत्तपत्त ‘फर्सिडिज बेन्ज’ को राज भन्दैनथे । केही किनारका कुराले पृष्ठभूमि बनाएर मात्र यसको नामको अर्थ प्रष्ट्याउँथे । उनी गर्बका साथ सुनाउँथे–

‘फर्सीको मोलमा मर्सिडिजको मजा पाइन्छ । यसैले यो फर्सिडिज बेन्ज भनेको हो ।’

गणेशजी नेतृत्व कौशलको परिचायकको रूपमा पनि लिइन्छन् । उनका आँखा साना छन् । कान ठूला छन् र पेट पनि ठूलो छ । दूरदृष्टि, अरूका कुरा सुन्ने र आलोचनाको जस्तोसुकै विष पनि पचाउन सक्ने नै असल नेताका विशेषता हुन, जुन गणेशजीमा व्याप्त थिए । विधाताको कृपा हो– शास्त्रका गणेशजीमा पाइने धेरै विशेषताले सूर्यमान शाक्य पनि ओतप्रोत थिए ।

गणेशजीको हातमा लड्डु हुन्छ । मिष्टान्नहरुको वर्णक्रममा लड्डु शीर्ष स्थानमा राखिन्छ । अधिकांश सर्वसाधारणको प्रिय मिठाई हो लड्डु । गणेशजी नेतृत्वको प्रतीक भएकाले उनी विशिष्ट भोजन गर्थे भन्ने कुराको अन्दाज धेरैले गर्दछन् ।

मिष्टान्न र खानाका परिकारको सन्दर्भमा पनि सूर्यमान शाक्यसँग सङ्गत गरेका धेरै सहकर्मी र विद्यार्थीहरुले नौला ज्ञान आर्जन गरेका छन् । तारे होटलमा कार्यक्रम भएका वेला उनी विद्यार्थीहरुलाई कुन परिकार कसरी ग्रहण गर्ने भन्ने कुरा सिकाउँथे ।

फोहोरमैला व्यवस्थापनका अध्येता भएका कारणले पनि यो विषय महत्त्वपूर्ण थियो । जावलाखेलको ‘स्थानीय विकास प्रशिक्षण केन्द्र’ मा विद्यार्थीहरुलाई तालिम दिँदाको एक रोचक प्रसङ्ग छ । उनले विद्यार्थीहरुलाई ‘शून्य फोहोर’ अर्थात ‘जिरो वेस्ट’ का बारेमा पढाएका रहेछन् । एकदिन तालिमको सत्र सकिएपछि प्रशिक्षण केन्द्रको चमेनागृहका सञ्चालकले उनीसमक्ष उजुरी गरेछन् ।

‘भोलिदेखि म तपाईंका प्रशिक्षार्थीलाई खाना खुवाउन सक्दिनँ ।’

‘किन मेरा विद्यार्थीले के गरे र त्यस्तो ?’

‘तपाईंले शून्य फोहोर भनेर पढाउनुभएको रहेछ । तपाईंका विद्यार्थीले टेबुलमा राखेको मात्र होइन, भान्सामा पकाएको पनि सबै सिध्याए ।
सञ्चालक पनि रङ्गी स्वभावका रहेछन् ।

सूर्यमानले ‘शून्य फोहोर’ को ज्ञानबर्द्धक प्रसङ्ग धेरै जनालाई प्रसार गरेका छन् । उनी आफ्ना कक्षामा यस्ता विषयसँग जोडिएका र आफैँले सिर्जना गरेका सामग्री अनौपचारिक पाठ्यवस्तुका रूपमा प्रयोग गर्थे । फोहोरमैला व्यवस्थापनको कक्षा लिने अन्य स्रोतव्यक्तिले पनि सूर्यमानसरका यस्ता दृष्टान्त धेरै ठाउँमा सुनाएका छन् ।

सूर्यमान बडो स्वाद लिएर खान्थे । कुखुराको या खसीको मासुको झोल र धानको भात उनको प्रिय खाना थियो । मौका पर्नासाथ सडक किनाराका पसलको चियाको रसास्वादन गर्थे । तारे होटलको ब्रेकफास्ट लिने उनको आफ्नो शैली थियो । उनी भन्थे–

‘सयौँ परिकार भएका स्थानमा कुन लिने कुन नलिने भन्ने निर्णय गर्न बडो सकस पर्छ । यसकारण म सबैभन्दा पहिला ताजा जुस भएको कुनोमा जान्छु । त्यहाँ उभिएर पहिलो ग्लास जुस पिउँदा पिउँदै म आँखा घुमाउँछु । कति किसिमका परिकार छन्, पाउरोटी सेकाउने टोस्टर कहाँ छ, अण्डाको अम्लेट कहाँ बन्दैछ । दोस्रो ग्लास जुस पनि म उभिएरै पिउँछु र निर्णय लिन्छु– आज म आरम्भमा कुन कुन परिकार लिन्छु त भनेर ।’

यही मे ४ मा रोटरी क्लब अफ पाटन साउथमा भएको श्रद्धाञ्जलि सभामा विनीता शर्माले भावविह्वल हुँदै भनिन्–

‘सूर्यमान शाक्यलाई मैले सरको नाता लगाइनँ, दाइको नाता लगाएँ । मैले यो क्लबमा आएर एक प्रिय दाइ पाएकी थिएँ । मान्छे अजम्बरी हुँदैन । एक दिन सबै जानु छ । स्वर्गमा पनि पक्कै रोटरी क्लबको मिटिङ् हुन्छ होला । म प्रार्थाना गर्छु– हे प्रभु ! सूर्यमान दाइको धन्यवाद मन्तव्य म स्वर्गमा पनि सुन्न पाऊँ ।’

विनीतालाई मात्र होइन, अरू धेरैलाई यस्तो लागेको होला ।

सूर्यमानको सौर्यको मान सर्वत्र छ । त्यो मानका साक्षी दोलखा र सिन्धुपाल्चोकका झोलुङ्गे पुल, गुहेश्वरीको फोहोरपानी प्रशोधन केन्द्र, सवारीसाधन प्रदूषण सम्बन्धमा नब्बेको दशकमा लागु भएका नीतिनियम, ओखरपौवा फोहोरमैला विसर्जन स्थल र स्किम्स कलेज आदि छन् ।

फोहोरमैला व्यवस्थापनको चर्चित ‘नट इन माई ब्याकयार्ड’ अर्थात ‘निम्बी’ शब्दलाई सूर्यमानले ‘यिम्बी’ अर्थात ‘यस इन माई ब्याकयार्ड’ बनाइदिए । यस अर्थमा ‘यिम्बी’ पनि सूर्यको मानको साक्षी छ ।

सूर्यमानको मानका साक्षी तपाईं हामी सबै हौँ, उनी बाँचेको युग हो । वातावरण व्यवस्थापनको क्षेत्रमा र समग्र नेपालको द्रुत आर्थिक विकासका क्षेत्रमा सूर्यमानले चिताएका केही काम बाँकी भए ती पूरा गर्ने जिम्मा अब हाम्रो काँधमा आएको छ ।

हार्दिक श्रद्धाञ्जलि कहिल्यै नअस्ताउने सूर्यलाई !

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  ९ : ०१ बजे 

श्रोत  : https://khabarhub.com/2021/10/267924/ 

 

 

 

 

 

 

विश्वविद्यालयको विशिष्ट पदका आकांक्षीहरूका लागि

 खुला प्रतिस्पर्धाबाट छनौट भई म काठमाडौँ विश्वविद्यालय (कावि) को सहप्राध्यापकको पदमा नियुक्त भएको केही दिन भएको थियो । विश्वविद्यालय उत्कृष्ट हुन विद्यार्थी, प्राध्यापक र कर्मचारीहरू प्रत्येक दिन तोकिएको कार्यकक्षमा वा कक्षाकोठामा उपस्थित भएर आफ्नो अध्ययन वा वृत्तिविकासमा लगनशील भई संलग्न हुनु जरुरी हुन्छ ।

आफ्नो मातहतका हजारौँ अनुयायीलाई थप जाँगर र उत्साहका साथ काम गर्न प्रोत्साहन गर्ने प्रमुख कार्यकारी वा उपकुलपतिले कसरी आफ्नो कार्यकक्षलाई चुस्त, दुरुस्त राख्लान् वा उनीहरूलाई कसरी प्रभाव पार्लान् भन्ने कौतूहल मेरो मनमा थियो । एक दिन मेरो चिन्तनमा रहेको यस विषयको अस्पष्टता र अन्यौलको चिरफार गरिदिने रोचक प्रसङ्ग सिर्जना भयो ।

स्विजरल्यान्डको विश्वप्रसिद्ध प्राज्ञिक थलो स्विस फेडेरल इन्स्टिच्युट अफ टेक्नोलोजी लाउसानेमा दुई कार्यकाल अध्यक्ष भई अवकाश प्राप्त र संसारमै नाम कहलिएका इमिरेटस प्राध्यापक जिन क्लाउड बडुक्स काविका शुभचिन्तक र हितैषीका रूपमा कहलिएका रहेछन् । उनी एक भ्रमणका सिलसिलामा कावि आएका बेला काम सम्पन्न गरी संस्थापक उपकुलपति प्राडा सुरेशराज शर्मासँग उनकै निवासमा भेट गर्न जाने कार्यक्रम तय भएको रहेछ ।

उनलाई सवारीसाधन बिसौनीसम्म पुर्‍याउन आएका प्राडा रमेश मास्केले मलगायत अन्य केही प्राध्यापकहरूको जमाततर्फ हेर्दै भने, ‘प्राध्यापक बडुक्सको साथ लागेर पूर्वभिसी सरको घर गई काठमाडौँसम्म जाने सहयात्री चाहिएको छ । तपाईंहरूमध्ये कसैले फुर्सद निकाल्न सक्नुहुन्छ कि !’

 हामीले मुखामुख गर्‍यौँ । यसमा कसैले रुचि देखाएन । मेरो मनले भन्यो, ‘प्राध्यापक बडुक्ससँग केही घण्टा एकान्तमा कुरा गर्न पाउने अवसर गुमाउनु हुँदैन । तुरुन्त आशय प्रकट गर् ।’ मैले तुरुन्तै निर्णय लिएँ ।

मैले प्राडा मास्केको ध्यानाकर्षण गर्दै भने, ‘रमेश सर ! म समय निकाल्छु ।’

मैले अवसर पाइहालेँ । सवारीचालकले हामीलाई गाडीमा राखे । प्राध्यापक महोदय पछाडिको सिटमा बसे, म अगाडिकोमा । यस्ता विषयमा संवेदनशील हुनु जरुरी हुन्छ भन्ने मैले बुझेको छु ।

सन् २०१४ मा म लगायत केही साथीहरूले धेरै मिहिनेत गरेर एक अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्‍यौँ । दरबारमार्गको याक एण्ड यती होटलमा सम्मेलन उद्घाटन समारोह थियो । प्रथम राष्ट्रपति डा. रामवरण यादवले उद्घाटन गर्ने कार्यक्रम थियो ।

होटलका प्रमुख व्यवस्थापकसँग समन्वय गरेर मैले राष्ट्रपतिको स्वागतका लागि सवारीसाधनको पछाडिको ढोका खोल्नेदेखि लिएर फूल दिएर मन्चसम्म लैजाने कदमहरूको योजना बनाई कार्यान्वयन गरेको थिएँ ।

आयोजक संस्था कावि भए पनि तत्कालीन उपकुलपतिको सचिवालयले मलाई यसमा खासै सहयोग गरेन । यसकारण पनि मलाई कूटनीतिक औपचारिकताका मिहिन अवयवहरूको थप जानकारी हुन गएको थियो ।

धुलिखेलको सिरानबजारमा रहेको शर्मा निवाससम्म पुगुन्जेल मैले मेरा अतिथि महोदयका कुरा सुनेँ । पूर्वउपकुलपति शर्मा र उनका समकक्षी बडुक्सबीच लगभग दुई घण्टा कुराकानी भयो । मैले ल्यापटपमा केही काम गर्नुपर्ने भएको जनाई निवासको बाहिरी कक्षमा पर्खेर बस्ने सोचेँ । हामी अपराह्न चार बजेतिर धुलिखेलबाट काठमाडाँैका लागि प्रस्थान गर्‍यौँ । पर्खने क्रममा मैले विश्वविद्यालय हाँक्न आवश्यक पर्ने केही महत्वपूर्ण सवालहरूको पहिचान गरेँ ।

ती सवालहरूको बारेमा प्राडा बडुक्सको विचार जान्ने कौतूहलले मेरो मन अधैर्य भएको थियो । धुलिखेलका पितामह बेलप्रसाद श्रेष्ठको हिमालय होराइजन होटेलको आसपासमा आइपुगेपछि मैले मेरा आदरणीय अतिथिको ध्यानाकर्षण गर्दै सोधेँ, ‘प्राध्यापक महोदय, यहाँले सम्बोधन गर्ने दीक्षान्त समारोहजस्ता गरिमामय अनुष्ठानमा विद्यार्थी, अभिभावक र अध्यापकहरूको कस्तो उपस्थिति हुने गर्दथ्यो ? र, यहाँको सम्बोधन भाषण कसले तयार गर्दथ्यो ?’

मलाई थाहा थियो कि मेरो दोस्रो प्रश्नको ओज पहिलोको तुलनामा कैयौँ गुणा बढी थियो । किनभने मभित्र गढेर बसेको नेतृत्व कौशल विधाको ज्ञानले भन्छ, ‘सभालाई सम्बोधन गर्दा अब्बल नेताको लागि हजारौँको संख्यामा उपस्थित दर्शकका आँखामा आँखा जुधाएर तिनको मनमा वर्षौँदेखि आसन जमाएका जडताका अवशेष एकै निमेषमा चिर्ने अवसर प्राप्त हुन्छ । यो काम गर्न आवश्यक अचुक अस्त्र नै सम्बोधन भाषणभित्र लुकेको सन्देश हो ।’

मेरो अन्तस्करणमा चट्टानझैँ स्थापित यो मान्यताले सर्वमान्य सिद्धान्तको रूप लिएको भान मलाई भयो । मेरो प्रश्नले प्राध्यापक महोदयका आँखा बलेका थिए । उनले एकै छिन मतिर नियालेर हेरे । अनि मेरो प्रश्नको मुक्तकण्ठले प्रशंसा गर्दै भने, ‘वाउ ! हाउ वन्डरफुल । जेन्टलम्यान, आई हाइली एप्रिसिएट योर भिजन एण्ड थट । दिस इज वन अफ दि मोस्ट इम्पोरटेन्ट डोमेन अफ अ लिडर ।’

मेरो प्रश्नले यति धेरै अंङ्क पाएकोमा मेरा पनि आँखा नबल्ने कुरो थिएन । उनको जवाफले झन ठूलो मूल्य थप गर्‍यो जुन अहिलेसम्म पनि मेरो हृदयको शिलालेखमा सुनौला अक्षरमा कुँदिएको छ । कहिलेकाहीँ मेरा श्रोता दशौँ हजारको संख्यामा हुन्थे । मेरो भाषण लेख्ने एक प्राध्यापक थिए । भाषण लेखनमा उनको विशेष अभिरुचि थियो ।’

यस जवाफले स्पष्ट संकेत गर्‍यो– आफ्ना सयौँ कर्मचारीको औकात र सिपको बारेमा अध्ययन गरी कसलाई कुन काम लगाउने भन्ने विषय उपकुलपति वा कार्यकारीलाई थाहा हुन जरुरी छ ।

काविलगायत अन्य विश्वविद्यालयमा भाइरस बनेर अध्यापक, कर्मचारी वा विद्यार्थीले आफूलाई सत्तापक्ष वा प्रतिपक्षी दलहरूसँग गर्ने राजनीतिको भद्दा खेलले शैक्षिक व्यवस्थापन वा प्रशासन सञ्चालनका विषयहरू प्रभावित छन् । यस्ता राजनीतिक गतिविधि र स्थानीय जनता वा संघसंस्थाले अघि सारेका माग सम्बोधन गर्दै उनीहरूसँग सम्झौता गर्नेजस्ता काम सम्पन गर्ने क्षमता भएका अध्यापकहरूलाई चयन गरी विवाद मिलाउने वा सर्वमान्य सिद्धान्तका आधारमा परीक्षा सञ्चालन गर्ने वा प्रशासन चलाउने सवालमा विश्वविद्यालयका अधिकांश पदाधिकारीहरू चुकेका छन् ।

जीवनमा कहिल्यै पनि राजनीति नगरेको, मुद्दा मामिला वा वादविवाद मिलाउने काम नगरेको, प्रकृति विज्ञान वा गणितजस्ता विषयको अध्यापनमा अभ्यस्त प्राध्यापकलाई बलिको बोको बनाई यस्ता काम कारबाहीमा फसाइदिने संस्कारले जरो गाडेको छ ।

यसले गर्दा तालबन्दी र हडतालजस्ता निषेधका गतिविधिहरूले प्रश्रय पाएका छन् । शैक्षिक संस्थाहरूमा महिनौँसम्म पठनपाठन नहुने समस्या सिर्जना हुने गरेको छ । प्रा. बडुक्सले अपनाएको ‘सही मान्छे, रुचिको काम’ सिद्धान्तको प्रयोगले हाम्रा पनि धेरै समस्याहरू समाधान हुने मैले अनुमान गरेँ ।

मेरो दोस्रो प्रश्न थियो, ‘कसैले नितान्त व्यक्तिगत समस्याका कारणले तपाईंलाई भेट्न चाहेमा के व्यवस्था थियो ?’

उनले यसको पनि सटिक जवाफ दिए ।

 

उनको कार्यालय समय रहेछ बिहान आठ बजेदेखि बेलुकी साढे चार बजेसम्म तर उनी बिहान ६ बजे नै कार्यकक्षमा पुग्दा रहेछन् । कार्यालय सुरु हुनुअघिको दुई घण्टा अग्रिम सूचना दिएर जोकोहीले पनि उनलाई भेट्न सक्ने नियम बनाएका रहेछन् । कार्यालय समय सुरु भएपछि उनको औपचारिक भेटघाट मात्र हुने रहेछ ।

उनले गर्वका साथ भने, ‘मैले दुवै कार्यकालमा हरेक दिन बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म कार्यकक्षमा उपस्थित हुने अनुशासन पालना गरेँ । यो मैले जीवनमा गर्व गर्ने एक विषयमध्ये हो । यस्तै कामले मानिसको जीवन सफल हुने हो । यसले संस्थाको उद्देश्य प्राप्तिमा ठूलो महत्व राख्छ ।’

उनको कार्य शैलीका अन्य विशेषता पनि रहेछन् । उनले विभिन्न समूह बनाएर रात्रिभोज आयोजना गर्ने थिति पनि बनाएका रहेछन् । यस्ता समारोहमा कहिले ५० वर्ष नाघेका प्राध्यापकहरू, कहिले महिला प्राध्यापकहरू त कहिले युवा प्राध्यापकहरूले निमन्त्रणा पाउँदा रहेछन् । उनीहरूसँग घुलमिल गर्ने र उनीहरूका सामूहिक समस्याहरूमा छलफल गर्ने चलन उनको संस्थामा रहेछ ।

उनले भने, ‘आफ्ना अनुयायीहरूलाई म कार्यरत संस्थाको कार्यकारी हाम्रो पिरमर्का सुनेर सम्बोधन गर्न सक्छ भन्ने आत्मविश्वास जगाउनु असल नेतृत्वको अर्को महत्वपूर्ण पाटो हो ।’

नेपालको धेरै पटक भ्रमण गरेका र पूर्वउपकुलपति शर्मासँग घनिष्ट सम्बन्ध रहेका यी सफल कार्यकारीका कार्यशैली र अनुभवहरू भर्खरै बामे सर्न लागेको काविजस्तो शैक्षिक संस्थाका पदाधिकारीहरूले कति अनुशरण गरे, त्यो अनुसन्धानको विषय होला । मैले भने स्थायी दरबन्दीमा पद बहाली भई सात वर्ष बिताउँदा यस्ता महारथी कार्यकारीहरूका प्रेरणादायी अनुभूतिहरूको टेको लगाएर धेरै महत्वपूर्ण निर्णयहरू गरी सफलता हासिल गरेको छु ।

छोटो अवधिमै वातावरण इन्जिनियरिङ विधाको कार्यक्रम संयोजकको थप जिम्मेवारी मैले पाएँ । मसँग नेपालमा वातावरण प्रभाव मूल्याङ्कन विषयका पितामह प्राडा. रामबहादुर खड्काद्वारा सञ्चालित स्क्कीम कलेजको प्राज्ञिक विभागको प्रमुख र नेपाल विकास अनुसन्धान प्रतिष्ठानको कार्यकारी निर्देशक तहको कार्यकारी अनुभव थियो ।

स्कूल अफ साइन्सका तत्कालीन डिनले विद्यार्थीहरूले गरेको अनुशासन उल्लंघन छानविन गरी दोषीलाई कारबाही चलाउने छानबिन समितिमा मलाई संयोजकको भूमिका दिएका थिए । विद्यार्थीसँग विवादमा एक विशिष्ट पदाधिकारीलाई जुत्ता प्रहार गर्ने एक प्राध्यापकको छानविन र सुनुवाइ समितिमा पनि म थिएँ ।

मेरो सात वर्षे कार्यकालको आरम्भतिरै सेमेस्टरको अन्तिम परीक्षाको नतिजा प्रकाशित भएको दुई दिनपछि मैले कल्पनै नगरेको एक घटना भयो ।

एक अभिभावकले फोन गरे, ‘सर ! मेरो छोरोको चार वटा विषय लागेछ । यो पीडा उसले सहन सकेन । दुई दिनदेखि ढोका बन्द गरेर बसेको छ । विष पनि किनेर ल्याएको रहेछ । आत्महत्या गर्न ठिक्क परेको छ । सबैले सम्झायौँ । केही लागेन । अब सरमात्र एक अन्तिम व्यक्ति हुनुहुन्छ, जसले मेरो छोरोलाई बचाउन सक्नुहोला ।’ उनी फोनमै रुन थाले ।

म अप्रत्यासितरूपमा आइलागेको समस्या विश्लेषण गर्न लागेँ । ममाथिका पदाधिकारीहरूको सहयोगले कुनै मूल्य अभिवृद्धि नगर्ने दृष्टान्तहरू यसअघिका अन्य घटनाहरूले देखाइसकेका थिए । मेरासामु मेरै बुद्धि र विवेकबाहेक अरू साधन थिएन ।

अभिभावकसँगको फोनवार्तालाई निरन्तरता दिँदै मैले सोधेँ, ‘उसको साथमा मोबाइल फोन छ ?’

‘छ तर ऊ कसैको पनि फोन उठाउँदैन ।’

मैले त्यसैलाई अस्त्र बनाउने विचार गरेँ । फोन गरेँ । उठेन । तीनपटक गर्दा पनि फोन उठेन । मैले मेसेन्जरमा एक सन्देश पठाएँ ।

‘म डा. नवराज खतिवडा हुँ । कृपया एक पटक फोन गर । विशेष कुरा गर्नु छ ।’ मेरो रणनीतिले काम गर्‍यो । उनले फोन गरे । मैले जानेको मनोवैज्ञानिक सिद्धान्तको फेर समातेर कुरा गरेँ । दुई बजे दिउँसो मेरो कार्यकक्षमा बोलाएँ ।

केही बेरमा अभिभावकको फोन आयो । छोरो ढोका खोलेर बाहिर आएको सन्देश दिए । म ढुक्क भएँ ।

नभन्दै दुई बजे ती विद्यार्थी मेरो कार्यकक्षमा आए । उनले भने, ‘सर ! चार विषय लागेपछि मैले बाँच्नुको कुनै अर्थ देखिनँ । विष पनि किनेर ल्याएँ । सुसाइड नोट पनि लेखेँ । सरसँग कुरा नभएको भए शायद मेरो जीवन अन्त्य भइसकेको हुने थियो ।’

मैले उनीसँग जीवन र जगतका धेरै कुरा गरेँ । सकेसम्म सम्झाएँ । आत्महत्या लिखत लिएर भोलि फेरि भेट्न आउन अनुरोध गरेँ ।

भोलिपल्ट पनि उनी आए । आठ पृष्ठको रहेछ आत्महत्या लिखत । त्यो मैले लिएँ । उनी त्यसपछि म कहाँ आएनन् । अभिभावकको कुनै फोन पनि आएन । मैले लिखतको छायाँप्रति र यो घटनाको विवरण उपकुलपतिको कार्यालयमा बुझाएँ ।

प्राध्यापक बडुक्सको आफ्ना अनुयायीसँग अन्तक्र्रिया गर्ने र उनीहरूका गुनासा सुन्ने कार्यशैलीसँग मैले उल्लेख गरेको प्रसङ्ग पनि मेल खान्छ भन्ने मेरो मान्यता छ । विश्वविद्यालको सफल सञ्चालनका लागि यस्ता दृष्टान्तहरू नजिर बन्छन् ।

किन विद्यार्थीहरू अनुत्तीर्ण हुन्छन् ? यो के भर्ना प्रक्रियाको कमजोरी हो ? कि विद्यार्थीले कक्षा कोठामा पढाएको नबुझेको हो ? कि शिक्षकले पढाउन नजानेको हो ? हरेक घटना या दृष्टान्तले यस्ता प्रश्नहरू सिर्जना गर्छ । यिनका उत्तरले मौजुदा पद्धतिमा सुधार गर्न र आगामी कार्यदिशा तय गर्न सहयोग पुर्‍याउँछन् ।

अहिले काविलगायत केही विश्वविद्यालयमा विशिष्ट पदाधिकारीको चयन गर्ने प्रक्रिया सुरु भएको छ । विश्वविद्यालयले राजनीतिक गतिविधि, लागु पदार्थ दुर्व्यसन, परीक्षाकक्ष र कक्षा कोठाका अनियमित कार्य, शैक्षिक संस्थाभित्र हुने अश्लिल क्रियाकलाप आदिमा शून्य सहनशीलताको रणनीति अख्तियार गर्न सक्ने इच्छाशक्ति उम्मेदवारमा हुनै पर्छ ।

आफूलाई योग्य उम्मेदवारको सूचीमा राख्न चाहनेले प्राडा बडुक्सजस्ता देश विदेशका शैक्षिक संस्थाका कार्यकारीहरूको अनुभवबाट ज्ञान लिनु कल्याणकारी हुनेछ भन्नेमा दुई मत नहोला ।

(लेखक काविका पूर्व सहप्राध्यापक हुन् ।)

प्रकाशित मिति : १३ पुस २०७७, सोमबार  ६ : २९ बजे

श्रोत : https://khabarhub.com/2020/28/231278/