झापाका कर्मवीर समाजसेवी श्रीप्रसाद ओलीको स्मृतिग्रन्थमा गोपाल सङ्ग्रौलाले एक हरफ यसो लेखेका छन्: “उपरोक्त महाभारतीय सुक्तिअनुसार श्रीप्रसाद ओली करोडमा एक हुनुभयो।”
तथ्याङ्कशास्त्रको फेर समात्दा करोडमा एक हुने हिसाब जोकोहीलाई पनि लागू हुन सक्छ। तर, सामाजिक वा राजनीतिक कित्ताको मनोविज्ञानले करोडमा एक हुनु भनेको सामान्य धरातलबाट माथि उठ्नु हो, जसका कारण लाखौँ–करोडौँ मानिसले त्यस पात्रलाई विशेष व्यक्तिका रूपमा चिन्ने गर्छन्।
सङ्ग्रौलाको लेखमा उद्धृत गरिएको यस्ता उदाहरणीय व्यक्तिको लोकप्रियतासँग जोडिएको महाभारतको त्यो श्लोक कालजयी छ:
शतेषु जायते शूरः सहस्रेषु च पण्डितः ।
वक्ता दश सहस्रेषु दाता भवति कोटिषु ॥
अर्थात्, सयमा एक शूर जन्मिन्छ, हजारमा एक मात्र विद्वान् हुन्छ। त्यस्तै, वक्ता भने दश हजारमा एक हुन्छ, तर दाता करोडमा मात्र एक हुन्छ।
उक्त श्लोकमा उल्लेख भएको “दाता” लाई विस्थापित गरी “राजनेता” भन्ने शब्द पनि राख्न सकिएला। किनभने दाता करोडमा एक हुन्छ भने चमत्कारिक नेता पनि करोडमै एक हुन्छ। तर, अहिलेको कालखण्डमा भने श्लोकको मर्म पनि कुण्ठित भएजस्तो लाग्छ, किनभने विपरीतधर्मी संस्कारको हिलोमा चुर्लुम्म डुबेको नेपाल राष्ट्रको वर्तमानमा कमल फुलाउने चमत्कारिक नेता रङ्गमञ्चमा देखिँदैन।
विगतमा भने केही प्रगति नभएको होइन। राजनीतिमा नभए पनि अन्य क्षेत्रमा नारायण गोपाल, तारादेवी, लक्ष्मीप्रसाद देवकोटाजस्ता हस्तीहरूले करोडौँ नेपाली जनताको मन जिते। अहिले सतहमा देखिएका लाखौँ–करोडौँ नेपालीले चिन्ने “नमूना व्यक्तिहरू” मुख्यतया तीन–चार किसिमका पाइएका छन्। पहिलोमा, लोकप्रिय कलाकार, गायक वा चलचित्रका नायक–नायिका पर्छन्। दोस्रोमा, मुलुकको इन्द्रासनमा बसेका नेता वा विशिष्ट पदाधिकारीहरू पर्छन्। प्रसिद्धिको चर्चा गर्दा यहाँ एउटा भद्र सावधानी देखा पर्छ—सर्वसाधारणले चिन्ने करोडमा वा लाखमा एकको पगरी गुँथ्नेहरू अलोकप्रियताको चरमचुलीमै पुगेका पनि हुन सक्छन्। वास्तवमा लोकप्रियलाई माथि उचाल्ने काममा अलोकप्रियको पनि हात हुन्छ। यसैले त रावणले रामको नाम अझ उचो बनाएको छ भने कंसले कृष्णको।
तेस्रो वर्गमा, स्थापित व्यावसायिक घरानाका सञ्चालक पर्छन् भने चौथोमा असल कर्म गरेर आफ्ना अनुयायी वा शुभेच्छुकहरूको मनमा बस्न सफल व्यक्तिहरू हुन्।
गुरु जगतबहादुर के. सी. लोकप्रियताको कसीमा चौथो वर्गमा पर्नुहुन्छ भन्ने मेरो मान्यता छ। धरान उप–महानगरपालिकाका प्रसिद्ध तीर्थस्थल दन्तकाली, बुढासुब्बा र पिण्डेश्वर पुग्ने सडक किनारमा अवस्थित हालको केन्द्रीय प्रविधि क्याम्पस (तात्कालीन विज्ञान तथा प्रविधि अध्ययन संस्थान) लाई जनजिब्रोले अहिले पनि “हात्तिसार क्याम्पस” भन्छ। जगत गुरुका छत्रछायाँमा दीक्षित भएका विद्यार्थीहरू उनलाई हात्तिसार क्याम्पसका “हीरा” नै मान्छन् भन्ने मलाई लाग्छ।
त्यस अध्ययन संस्थानबाट खाद्य प्रविधिमा स्नातक तहको अध्ययन गर्दा आफूले जगत सरको नेतृत्व कौशललाई नजिकबाट नियालेको बताउँछन्—सिंहबहादुर खड्का। आफूलाई जगत सरको एक अनुयायीका रूपमा चिनाउँदै उनी भन्छन्: “मेरो मूल्याङ्कनमा जगत सरका तीन अभूतपूर्व विशेषता थिए। पहिलो, उनी दूरदृष्टि भएका प्रशासक थिए। दोस्रो, उनी विषय विज्ञताका कट्टर समर्थक थिए। तेस्रो, सरोकारवालाको व्यवस्थापनमा उनको क्षमता उच्चकोटिको थियो।”
सिंह मात्र होइन, हात्तिसार क्याम्पसका पूर्वविद्यार्थी वा खाद्य प्रविधिसँग जोडिएका जो कोही पनि जगत सरको नेपालमा खाद्य प्रविधि विधाको विकासमा अतुलनीय योगदान रहेको ठान्छन्। हात्तिसार क्याम्पसको प्रमुख कार्यकारीको सेवा अवधि पूरा गरी उनले केही समयका लागि पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति पदमा बसेर पनि सेवा गरे। यसैगरी, अन्य समकक्षीहरूसँग मिलेर काठमाडौँको वानेश्वरमा अर्को खाद्य प्रविधि क्याम्पसको पनि स्थापना गरे।
सिंहले सरोकारवालासँग समन्वय गर्ने सिलसिलाको एउटा प्रसङ्ग पनि सम्झिए:
“जगतसरमा आफूभन्दा सानो ओहोदाका व्यक्तिलाई पनि नमस्कार गर्ने सभ्य संस्कार थियो। उनी पदमा भएका बेला धरानमा खरेल थरका एक प्रभावशाली ठानेदार थिए। एक दिन जगतसरले उक्त ठानेदारलाई नमस्कार गरेछन्। यो घटनाको हल्ला धरानभर तुरुन्तै फैलियो। केही मानिसहरूले यसलाई नाक खुम्च्याएर खिसिट्युरी गर्ने विषय बनाएछन्।”
नेपाल सरकारको सचिव पदबाट सेवानिवृत्त जीवनप्रभा लामाले जगतसरलाई यसरी सम्झिन पुगिन्:
“उहाँ आफ्नो जिम्मेवारी पूरा गर्न दृढ संकल्पका साथ काम गर्नुहुन्थ्यो। कुनै पनि कार्य अधुरो नछोड्ने उहाँको प्रवृत्ति थियो।”
लामाले भनेजस्तै, शैक्षिक संस्थाहरूका साथै नेपालका खाद्य वैज्ञानिक र प्राविधिकहरू जोडिएको संस्था ‘नेफोस्टा’ को स्थापना र सञ्चालनमा पनि जगतसरको महत्त्वपूर्ण भूमिका रहेको थियो।
लगभग ५० वर्षअघिको जगतसरले पढाएको कक्षा सम्झँदै रत्नकुमार श्रेष्ठ र गणेश दवाडीले एकै किसिमको मूल्याङ्कन गरे:
“उहाँले हामीलाई आई.टेक. (हालको कक्षा १२) मा रसायनशास्त्र पढाउनुहुन्थ्यो। सैद्धान्तिक व्याख्या गर्दा चुरो समातेर विषयवस्तुसँग जोडिएका व्यावहारिक ज्ञान पनि दिन सक्ने चमत्कारिक क्षमता थियो जगतसरमा। उहाँ कक्षाबाहिर पनि विद्यार्थीहरूसँग घुलमिल गर्दै हल्का स्नायुमा कुराकानी गर्नुहुन्थ्यो।”
त्रिभुवन विश्वविद्यालयबाट रसायनशास्त्रमा स्नातकोत्तर तहको दोस्रो शैक्षिक उपाधि हासिल गरेका जगतसरले आफ्नो कर्मक्षेत्र भने खाद्य प्रविधिलाई बनाए। उनले तेस्रो शैक्षिक उपाधिका रूपमा बेलायतबाट खाद्य प्रविधिमा अर्को स्नातकोत्तर डिग्री लिए। यसकारण, उनको कक्षामा रसायनशास्त्रको सैद्धान्तिक ज्ञानलाई व्यावहारिक पक्षसँग जोड्ने सेतुहरूका बारेमा यथेष्ट चर्चा हुने गथ्र्यो। अधिकांश शिक्षकहरू कक्षामा कोरा सिद्धान्त फलाक्ने काम मात्र गर्छन्। कतिपयले ती सिद्धान्तको अन्तर्य नै बुझेका हुँदैनन्। उनीहरूमा व्यावहारिक पक्षसँग जोड्ने प्रभावकारी शिक्षणको यो कला हुँदैन। खास गरी भौतिकशास्त्र वा रसायनशास्त्रजस्ता विषयहरू विज्ञानका आधारभूत सिद्धान्तले ओतप्रोत भएका हुन्छन्, तर शिक्षकहरू यी विषयहरू कक्षामा पढाउँदा सूत्र प्रयोग गरी जाँचमा सोधिने प्रश्नहरूको जवाफ लेख्ने तरिका मात्र सिकाउन जान्दछन्। ‘घोकेर परीक्षामा ओकल्ने’ यो कुसंस्कारको मानसिक ढुवानी गर्ने परम्पराले हाम्रो शिक्षा क्षेत्र जकडिएको छ। मूर्तिभञ्जक भएर यो विपरीतधर्मी संस्कारलाई तोड्ने शिक्षकहरूलाई सम्मानको दोसल्ला मात्र ओडाइँदैन, उनीहरूले “गुरु” को दर्जा पनि पाउँछन्।
यथास्थितिलाई चिर्ने वा क्रान्तिकारी कदम चाल्ने जगतसरजस्ता व्यक्तिहरू आलोचनाको पात्र वा अराजक भीडको शिकार पनि बन्न पुग्छन्। जगतसर हात्तिसार क्याम्पसको प्रमुख भएका बेला केही यस्तै घटनाहरू भए।
स्नातक तहका विद्यार्थीहरूले जगतसरको खाद्य गुणस्तरको कक्षा बहिष्कार गरे। उनीहरूको आरोप थियो—‘युरोप र बेलायतका फोस्रा गफ दिएर पढाएको तरिका हामीलाई मान्य छैन।’
यो बहिष्कारको पृष्ठभूमिमा त्यसबेलाको राजनीतिक गतिविधिमा लागेका केही विद्यार्थीहरूको हात थियो। क्याम्पस प्रशासनकै हैसियतमा स्वतन्त्र विद्यार्थी युनियन वा विद्यार्थी संगठनहरूका समानान्तर सत्ताहरू चलाइन्थे। युनियन वा संगठनका पदाधिकारी आफूलाई क्याम्पसका प्रशासक सरह ठान्थे। “कहिँ नभएको जात्रा हाँडिगाउँ” मा भनेजस्तो नेपालका कलेज र विश्वविद्यालयमा लागेको यो महामारी रोग अहिले पनि उत्तिकै मात्रामा सर्वत्र छ, व्याप्त छ।
भारतका पूर्व राष्ट्रपति अब्दुल जे. कालमका कालजयी महान् वाणीहरू छन्—विद्यार्थीहरूसँग जोडिएको एउटा भनाइ विशेष छ:
“कहिलेकाहीँ कक्षा छाडेर साथीहरूसँग रमाइलो गर्नु राम्रो हो, किनभने अहिले पछाडि फर्केर हेर्दा मार्कसिटको नम्बरले हाँसो सिर्जना गर्दैन, तर विशेष यादगारहरूले गर्छन्।”
वि.सं. २०३० को दशकमा खुलेको हात्तिसार क्याम्पसमा आरम्भमा खाद्य प्रविधिमा प्रमाणपत्र (आई.टेक.) को पढाइ हुन्थ्यो। ४० को दशकमा आइपुग्दा आई.टेक. लाई हटाएर विज्ञान विषयको प्रमाणपत्र तह (आई.एस्सी.) र खाद्य प्रविधिमा स्नातक (बी.टेक.) तहका कक्षाहरू सञ्चालन गरिए। कालमले भनेका रुखा हाँसो नउमार्ने शैक्षिक उपलब्धि यिनै डिग्री प्राप्ति थिए।
तर, यसको विपरीत जगतसर क्याम्पस प्रमुख भएका बेला हात्तिसार क्याम्पसबाट आई.एस्सी. वा बी.टेक. गरेका पूर्वविद्यार्थीहरूलाई क्याम्पस जीवनका विशेष यादगारहरू के होलान् भनेर सोधियो भने यस्ता उत्तर आउँछन् भन्ने मेरो अनुमान छ:
- गणेश टाकीज र शिव सिनेमा हलमा भर्खरै रिलिज भएका हिन्दी सिनेमाहरू हेर्नका लागि हिरो शैलीमा मान्छेका टाउकामाथि लम्पसार परेर टिकट काटेको क्षण।
- गणेश टाकीज र शिव सिनेमा हलमा भर्खरै रिलिज भएका हिन्दी सिनेमाहरू हेर्नका लागि हिरो शैलीमा मान्छेका टाउकामाथि लम्पसार परेर टिकट काटेको क्षण।
- कक्षा छाडेर साथीहरूसँग पञ्चकन्या वा भेडेटार घुम्न गएको क्षण।
- कक्षा छाडेर साथीहरूसँग जुलुसमा भाग लिन गएपछि दालमोठ र चिउरा पानीसँग खाएको क्षण।
- महेन्द्र बहुमुखी क्याम्पसमा ढुङ्गा भेला पारेर प्रहरीको पर्खाइमा बिताएको रात।
- प्रहरीले समातेर ठानामा लगेर कोचेपछि क्याम्पस प्रमुखको जमानीमा छुटेको क्षण।
- क्याम्पस प्रमुख जगतबहादुर के. सी. लाई कार्यालयमै थुनेर धर्ना बसेको क्षण।
- मान्छे ढाल्ने अभ्यासका लागि बोरामा बालुवा भरेर बक्सिङ हान्ने अभ्यास गरेको क्षण।
- विद्यार्थी–विद्यार्थीबीच हानाहान गरेर घाइते भएका साथीभाइलाई अस्पताल पुर्याएको क्षण।
- एउटा झुण्ड दगाउने युवाको समूह एकाएक क्याम्पसको हातामा प्रवेश गरी रसायनशास्त्रको प्रयोगात्मक कक्षामा पुगेर त्यहाँ सेतो एप्रोन लगाएर काम गर्न तल्लीन विद्यार्थीलाई भकाभक भकुरेको क्षण।
भारतका पूर्व राष्ट्रपतिले दिएको सन्देशमा आनन्ददायी र सार्थक यादहरूलाई शैक्षिक उपलब्धिभन्दा बढी महत्त्व दिएका छन्। तर, त्यसको मर्म विपरीत माथि उल्लेख गरिएकाजस्ता नेपालका कलेज र विश्वविद्यालयका अधिकांश विद्यार्थीका यादगार राजनीतिले ओतप्रोत भएका अराजक र हिंस्रक गतिविधिहरूसँग जोडिएका छन्।
त्यसबेला राजनीतिक जुलुसमा सहभागी हुने, प्रहरीमाथि ढुङ्गा हान्ने, विद्यार्थी संगठनहरूबीच आपसमा हानाहान र झडप हुने, शैक्षिक संस्थाका प्रमुखहरूलाई कार्यालयमै कैद गर्नेजस्ता घटनाहरू घटे। विराटनगर लगायत केही ठाउँमा केही विद्यार्थी हताहत पनि भए। यस क्रममा धेरै विद्यार्थी घाइते भए भने कतिका अङ्गभङ्ग भए।
जगतसर लगायत त्यसबेलाका अन्य प्रशासकहरूका लागि पहाड बनेर उभिएको चुनौती भनेको विद्यार्थीहरूले स्वामित्व लिएका यी विपरीतधर्मी संस्कारहरूका बाबजुद प्राज्ञिक उन्नयनमा योगदान दिनु रहेको थियो।
उनी विद्यार्थीलाई भन्ने गर्थे: “कोठे राजनीति नगर, विदेश जाऊ, छात्रवृत्तिमा पढ।”
हात्तिसार क्याम्पसका उत्पादनले देश–विदेशमा गएर ठूलो व्यक्तिगत प्रगति गरेका छन्। कतिले विद्यावारिधि गरेका छन्, कति अन्तर्राष्ट्रिय सङ्घ–संस्थामा काम गर्छन्, कति व्यावसायिक घरानाका कार्यकारी भएका छन्। तर, हात्तिसार क्याम्पसको पुरानो नाम ‘विज्ञान तथा प्रविधि अध्ययन संस्थान’ को साखलाई चरितार्थ गर्ने गरी मुलुकले विज्ञान र प्रविधिको विकासमा फड्को मार्न सकेको छैन।
यथास्थितिको पद्धतिमा दोष देख्ने अथवा सनातनी कर्ममा अकर्म देख्ने मान्छेका बारेमा श्रीमद्भागवत गीताले रोचक प्रसङ्ग उल्लेख गरेको छ:
कर्मण्यकर्म यः पश्येदकर्मणि च कर्म यः ।
स बुद्धिमान्मनुष्येषु स युक्तः कृत्स्नकर्मकृत् ॥ १८ ॥
— गीता (४/१८)
यसको अर्थ हुन्छ—जसले कर्ममा अकर्म र अकर्ममा कर्म देख्छ, त्यो सबैभन्दा बुद्धिमान् हो। त्यस्तो व्यक्ति सबै किसिमका कर्ममा सङ्लग्न भएर पनि दिव्य अवस्थामा रहेको हुन्छ।
जगतसरमा विद्यार्थीको कर्ममा पनि अकर्म देख्न सक्ने क्षमता थियो। शिक्षा क्षेत्रमा विद्यमान जडतालाई पहिचान गर्ने ताकत थियो। मूर्तिभञ्जक बन्ने साहस थियो।
यसैले, हात्तिसार क्याम्पसका यी दिग्गज गुरुलाई एक प्रश्न सोध्न मन लागेको छ:
“तपाईंको पेशागत जीवनमा, र खास गरी क्याम्पस प्रमुख भएर शैक्षिक प्रशासन चलाउँदा, विद्यार्थी, शिक्षक र प्रशासकको ऊर्जा तात्कालीन अवस्थामा विद्यमान अशैक्षिक गतिविधिमा खर्च नगरी केवल प्राज्ञिक उन्नयनमा मात्र केन्द्रित गर्न सकेको भए, आज हात्तिसार क्याम्पसको र समग्र मुलुकको अवस्था कस्तो हुन्थ्यो होला?”
भदौ ०२, २०८२
कोटेश्वर, काठमाडौँ
