Saturday, September 19, 2026

कोभिड–१९ नियन्त्रण : नेतृत्वको लिटमस परीक्षा

गत महिना यो शताब्दीकै भयानक त्रासदी भएर फैलिरहेको विश्वव्यापी महामारी कोभिड–१९ सँग जोडिएको एउटा समाचार भाइरल भयो । ‘न्युजिल्याण्डकी प्रधानमन्त्री संसारमै सम्भवत सबैभन्दा प्रभावशाली राजनेता हुन् ।’

यो महामारीले मध्य जेठसम्ममा संसारका २०० भन्दा बढी राष्ट्रमा फैलिएर ३ लाख ७५ हजार व्यक्तिको ज्यान लिइसकेको छ । स्थानीय निकायदेखि केन्द्रीय सरकारसम्म, नगरप्रमुखदेखि सरकार प्रमुखसम्म र सामान्य क्लबदेखि विश्व स्वास्थ्य सङ्गठनसम्म संसारका सबै नेतृत्व पङ्क्तिमा रहेका नेता, कार्यकर्ता र सर्वसाधारण कोरोनाको रोकथाम र नियन्त्रण गर्ने कार्यमा जुटेका छन् । यस्तो विषम परिस्थितिसँग जुझ्ने कार्यमा हरेक नेताले आफ्नो योगदान गरेका छन् । यो पृष्ठभूमिमा भाइरल भएको समाचारले एउटा प्रश्न सिर्जना गर्छ–‘के त्यस्तो जादु गरिन् त ४८ लाख जनसङ्ख्या भएको टापु राष्ट्रकी ती प्रमुख कार्यकारीले ?’

सञ्चारमाध्यमहरूले लेखेका छन्– प्रधानमन्त्री ज्यासिन्डा आर्डेन्सले परिस्थितिको मिहिन आकलन गरिन् । उनले आफ्ना नागरिकको भित्री कष्ट र मर्म जरैदेखि बुझिन् । हरेकको दुःख र संकटको आर्तनादमा सहानुभूतिको लेप लगाइन् । जनताले उनको फेसबुकमार्फत गरिएको प्रत्यक्ष प्रसारणमा सरकार प्रमुखमात्र देखेनन्, काखको नानी स्याहार्दै गरेकी र पसिनाले लथपथ भएको लुगा लगाएकी ३९ वर्षीया राष्ट्रमाता पनि देखे ।

यो दृष्टान्तमा अध्येताहरूले राजनेतामा हुनुपर्ने एउटा विशेष चरित्र स्पष्ट देखे । डा. विश्वनाथ प्रेमले शब्द कुँदेको र शिशिर योगीले गाएको एक गीतमा यस्तो चरित्रको उल्लेख गरिएको छ । उक्त कालजयी गीतमा यस्तो नायकको खोजी गरिएको छ–

‘पाएर शक्ति सत्ता गर्दैन जो कुकर्म
आफ्नै सरी अरूको जो बुझ्छ त्रित्री मर्म’

यसरी आर्डेन्सको उदाहरणले डा. प्रेमले लेखेका शब्दले सर्वव्यापी र सर्वमान्य नेतृत्व कौशलको सिद्धान्त बोकेका रहेछन् भन्ने प्रमाणित गरेको छ ।

अहिलेको प्रलयकारी संक्रमणजस्तै सन् १९९७ मा थाइल्याण्डबाट सुरु भएको चरम आर्थिक संकटले विश्वव्यापी रूप लिएको थियो । खासगरी दक्षिणपूर्वी एशियाका मुलुकहरू यो चपेटामा नराम्ररी फसेका थिए । यो विषयलाई जोडेर ‘संकटमा नेतृत्व’ शीर्षकमा प्रवचन दिँदै भर्खरै सेवाबाट अवकाश लिएका फिलिपिन्सका पूर्वराष्ट्रपति फिडेल रामोसले एक प्रवचनमा भनेका थिए– ‘संकट भनेको नेताको दर्जा र हैसियत छुट्याउने एउटा उत्कृष्ट अवसर हो । यो यस्तो भट्टी हो जसले एउटा नेताको चरित्रलाई इस्पात बनाउँछ । संकटसँगको मुठभेटमा अल्लारे ठिटो र धैर्यवान पुरुष सर्लक्क छुट्टिन्छ ।’

रोमन साम्राज्यको पतन लेखेर ख्याति कमाएका इतिहासविद इडवार्ड गिबन (१७३७–१७९४) को एउटा अभिव्यक्ति यहाँ सान्दर्भिक हुन्छ । ‘समुद्रमा अकस्मात आएका आँधीबेहरी र तुफान सक्षम जहाज चालकका पक्षमा हुन्छ ।’

सम्भवत धेरै कम नेतागण या उनका अनुयायीले यो अति महत्वको विषय बुझेका होलान् । कुनै एउटा निर्दिष्ट गन्तव्य बनाएर हिँडेको पानीजहाज नचिताइएको आँधीबेहरी वा तुफानको भुमरीमा फस्यो भने सामान्य जहाज चालकले त्यो आपतकालीन स्थिति कसरी सामना गर्ला !

यहीँनिर फिलिपिन्सका पूर्व राष्ट्रपति रामोसले भनेको कुरा चरितार्थ हुन्छ । जुन चालकले जहाजलाई संकटको भुमरीबाट उद्धार गरी सकुशल किनारमा पुर्‍याउँछ त्यो चालक सक्षम श्रेणीमा गणना हुन्छ । यसका लागि आँधीबेहरीले ल्याएको वायुवेगको पहिचान गरी त्यही दिशामा जहाज लैजानु पर्ने हुन्छ ।

सक्षम चालकको कुशलताको अर्को पाटो ‘गन्तव्य परिवर्तन’ हो । तुफानको चपेटामा परेको थाहा पाउनासाथ चालकदलको प्रमुखले गन्तव्य परिवर्तन गर्ने निर्णय लिन सक्नुपर्छ । अब जहाजका यात्रुको सुरक्षित अवतरण नयाँ गन्तव्य हुन्छ र तुफानपूर्वको गन्तव्य गौण हुन जान्छ ।

स्पष्ट छ कि एकातिर कोरोना कहरमा आफ्ना नागरिकको जीवन र सुरक्षालाई गन्तव्य बनाउने सरकारप्रमुख वा अन्य नेताहरू ‘विश्वकै प्रभावशाली’ बनेर अखबारको शीर्ष समाचारमा उदाए । अर्कातिर केही नेताहरू भने गन्तव्य परिवर्तन गर्न नसकी वा आफ्नो राजनीतिक अभिष्टको शिकार भई गलत रणनीति अपनाएका कारण हजारौँ नागरिकको मृत्युवरण जोगाउन सकेनन् भनेर आलोचित भएका छन् ।

कतिले यसका कारण आफ्नो राजनीतिक पूँजी झार्दै बचेखुचेको लोकप्रियता पनि गुमाउँदै गएका छन् । यो दोस्रो खेमामा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प, स्पेनका सरकार प्रमुख पेड्रो सानचेज, इन्डोनेशियाका राष्ट्रपति जोको विदोदो, ब्राजिलका जाई बोल्सोनरो र नेपालका प्रधानमन्त्री केपी ओली पनि पर्दछन् ।

यसरी कोभिड–१९ को दूरगामी प्रभावबारे हृदयङ्गम नगरी सतही दृष्टि गर्नाले नियन्त्रणको लागि शीघ्र निर्णय नगर्नाले आज अमेरिका, स्पेन, इटाली, बेलायतजस्ता समृद्ध मुलुकहरू कोरोनाको कहालीलाग्दो चपेटमा परेका छन् । तालिका १ मा प्रशंसित र आलोचित नेतृत्व शैलीको झलक दिने केही मुलुकका विवरण प्रस्तुत गरिएको छ ।

सर्वाधिक चर्चाको विषय भएको न्युजिल्याण्डकी प्रधानमन्त्रीको नेतृत्वशैलीको चुरो शिशिरले गीतमा भनेको जस्तो नागरिकको मर्म बुझेर सोही अनुसारको कर्म गर्नुरहेको छ । उनका स्पष्ट, सिलसिला मिलेका तर्कहरू र सान्त्वना दिने सारगर्भित मन्तव्यमा सर्वसाधारणले आफू समाहित भएको पाए ।

आमसञ्चार विषयको औपचारिक अध्ययन गरेकी आर्डेन्सले आफ्नो क्षमताको भरपूर उपयोग गरिन् र जनता र राष्ट्रमा न्युनतम क्षति हुने दिशामा कदम चालेर विश्वव्यापी लोकप्रियता कमाइन् ।

 जर्मनीकी चान्सलर डा. एन्जेला मर्केलले विज्ञान (क्वान्टम केमेस्ट्री) मा विद्यावारिधि गरेकी छिन् । उनले कोभिड–१९ सँग लड्ने रणनीति बनाउँदा यसै वैज्ञानिक पृष्ठभूमिको भरपूर उपयोग गरिन् ।

निर्जीव भए पनि सजीवको जस्तो विशेषता बोकेको कोरोना भाइरससँग जोडिएका विषयवस्तु नितान्त मौलिक र सूक्ष्मजीव विज्ञानको पछिल्लो अध्ययन अनुसन्धानसँग जोडिएका छन् । कतिपय सवालमा वैज्ञानिकहरू पनि निश्चिन्त हुन नसकेको स्थिति छ ।

खोपको आविष्कारमा सारा विश्व लागेको छ । यो विषयवस्तुको चुरो बुझेकी डा. मर्केलले आफ्नो राजनीतिलाई विज्ञानको अघि होचो बनाउने रणनीति लिइन् । यसकारण उनले सफलता हासिल गरिन् र जनतामाझ उनको लोकप्रियताको पारो अझै अकासियो ।

भियतनामजस्तो विकासशील देशले अपनाएको आंशिक लकडाउन तथा अन्य विशिष्ट पहलहरू भने सराहनीय छन् । उदार कम्युनिस्ट शासन पद्धति भएको मुलुक भएकोले त्यहाँ प्रतिबन्धका सीमाहरू मिच्ने काम भएनन् जसको परिणामस्वरूप अहिले भियतनामले लगाएको प्रतिबन्ध खुकुलो पारेको छ । यसमा राजनीतिक नेतृत्वको अहम् भूमिका रहेको छ ।

आम जनसमुदायले पनि रोकथामको लागि गरिएको आह्वान गम्भीरतापूर्वक अनुशरण गरे । नजिकैको सिङ्गापुरले पनि यस्तै विशिष्ट नीति अवलम्बन गर्‍यो र कोभिड–१९ को ठूलो कहरबाट जोगिएको छ ।

भारतका प्रधानमन्त्रीले १ अरब ३७ करोड जनतालाई पूर्णबन्दीको स्थितिमा राखेको दुई महिनाभन्दा पनि बढी भएको छ । लोकतान्त्रिक मुलुक भएकाले यो कार्य चीन या भियतनाममा जस्तो सजिलो थिएन । उनले पूर्णबन्दीको न्वारान समेत गरी ‘जनता कर्फ्यू’ भनेर जनतालाई आश्वस्त पार्न सके । चौथोपटक गरिएको पूर्णबन्दीको ‘लकडाउन ४.०’ भनी नामकरण गरे । मोदीका यी कदमको प्रशंसा उनका अमेरिकी समकक्षीले समेत गरे ।

विधिको विडम्बना ! स्रोतसाधन र अर्थतन्त्रमा रोल नं १ कहिलिएको सम्पन्न मुलुक संयुक्त राज्य अमेरिका कोभिड–१९ त्रासदीको मारमा पर्ने मुलुकमा पनि पहिलो हुन पुगेको छ ।

विज्ञहरूको राय अँगाल्ने र विज्ञानसम्मत निर्णय गर्ने राष्ट्रहरू यस महामारीबाट छिटो उम्किन सकेका वा उम्किने तरखरमा देखिएका छन् । यस प्रकरणमा अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प नराम्रोसँग चुके । अमेरिकाको सञ्चारमाध्यम सीएनएनले राष्ट्रपतिलाई लक्षित गरी यस्तोसम्म विवेचना गर्‍यो–‘राष्ट्रपति महोदय, यो समय कोरोनाको संक्रमणको जाँच गर्नेमात्र नभई नेतृत्वको परीक्षा लिने पनि हो ।’

रसायन विज्ञानको पढाइमा लिटमस परिक्षण भन्ने एक परम्परागत विधि छ । कुनै तरल पदार्थमा रातो वा निलो लिटमस कागतको टुक्रा डुबाउँदा परिवर्तन भएको रङबाट अम्ल वा क्षार छुटिन्छ । फिलिपिन्सका पूर्वराष्ट्रपतिले भनेको जस्तो ‘संकट’ को सामना भनेको नेताको लागि एक लिटमस परीक्षण हो ।
दुर्भाग्य ! अमेरिकाजस्तो शक्तिशाली राष्ट्रका राष्ट्राध्यक्ष पनि यो परीक्षणमा ‘क्षार’ को कित्तामा पुगेका छन् ।

कोरोना त्रासदीको अर्को शिकार स्पेन भएको छ । त्यहाँ हालसम्ममा २७ हजार सर्वसाधारणको मृत्यु भइसकेको छ । इरान र इटलीको बेहाल देखेको स्पेनले समस्यालाई कम आकलन गर्नु नै दुर्भाग्य भएको छ । त्यहाँका राष्ट्राध्यक्ष पेट्रो सानचेज अनिर्णयको बन्दी भएको र प्रतिकार्यका कदम चाल्न ढिलाइ गरेको कारणले यो क्षतिलाई स्पेनको पछिल्लो इतिहासमा एक नाटकीय कालरात्रिको रूपमा चित्रण गरिएको छ ।

नेपालको सन्दर्भमा इडवार्ड गिबनले भनेको जस्तो संकटमा राजनेताको गन्तव्य परिवर्तन भएको देखिएन । पूर्णबन्दीको सूचना पाएलगत्तै पूर्वप्रधानमन्मन्त्री झलनाथ खनालले आत्मसंस्मरण लेख्ने योजना सार्वजनिक गरे ।

नेपालको कायापलट गर्ने सपना देखेर जनयुद्धमा होमिएका नेकपाका अध्यक्ष प्रचण्डले पूर्णबन्दीको समय सदुपयोग भन्दै ‘आफ्नै निवास परिसरमा साइकल कुदाएको’ श्रव्यदृश्य सामग्री सार्वजनिक गरे ।

अर्का पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले लकडाउनको फुर्सद प्रयोग गर्न कप्युटरमा चेस खेल्ने गरेको अन्तर्वार्ता दिए । अहिलेलाई झट्ट सुन्दा ठीकै लागे पनि भोलिको पुस्ताले नेताको यस्तो कुरा पढ्दा नेतृत्वले उचित निर्णय लिन नसकेको नै हो भन्ने ठम्यायो भने उनीहरूलाई ग्लानि हुनेछ । यस्तो भए अदूरदर्शी व्यक्तिलाई नेता बनाएकोमा उनीहरूले आफ्ना पूर्खालाई धिक्कार्ने छन् ।

कोभिड–१९ को सन्दर्भमा नेपालको दुर्भाग्य हुनुपछिका विभिन्न कारकमा यी प्रतिनिधि दृष्टान्तहरू पर्दछन् । विश्व स्वास्थ्य संगठनले कोभिड–१९ को रोकथाम र प्रतिकार्यका लागि सम्प्रेषण गरेको दस्तावेज ‘कोभिड–१९ रणनीतिक पूर्वतयारी र प्रतिकार्य योजना’ होस् या विश्वव्यापी विपद वा महामारीको जोखिम न्युनीकरणका लागि तयार पारिएको ‘सेन्दाई फ्रेमवर्क’ होस्, यी दस्तावेजमा यस्तो अकल्पनीय र त्रासदपूर्ण समयमा नेता, पेशाविद, संस्था वा सरकारी निकायको के भूमिका हुन्छ भन्ने कुरा स्पष्ट लेखिएको छ ।

हाम्रा राज्य संयन्त्रहरू र नेताका सल्लाहकारहरूको पहुँच यस्ता रणनीतिक कागजातमा नभएको होइन तर समाजको अगुवाइ गर्ने बिल्ला भिरेका हामी सबै अर्कमण्यताको खोल ओडेर ‘निरोको बाँसुरी’ को सादृश्य मञ्चनमा लागेका छौँ ।

प्रधानमन्त्री केपी शर्मा ओली आफू बिरामी अवस्थामै भारतका प्रधानमन्त्रीले आयोजना गरेको सार्क मुलुकहरूको बैठकमा सहभागी भए । चीनबाट विशेष जहाजमा विद्यार्थीहरू ल्याइए । यी केही कार्यलाई सकारात्मकरूपमा हेरिएको भए पनि मन्त्रालयका एक प्रवक्तालाई कोभिड–१९ को पछिल्लो जानकारी एकतर्फीरूपमा सम्प्रेषण गर्न लगाएर प्रधानमन्त्री लगायतको पार्टीको सर्वोच्च निकाय भने अध्यादेश ल्याउने, पार्टी फुटाउने, कसैलाई प्रधानमन्त्री बनाउने आश्वासन बाँड्नेजस्ता भद्दा राजनीतिक अभिष्टका मार्गचित्र कोर्नमा नै अल्मलिएको आरोप लागेको छ ।

नेपालमा अहिलेसम्म कोरोना संक्रमणका कारण ८ जनाको मृत्यु भएको छ । यो विश्व महाव्याधिको सामाजिक–आर्थिक र वातावरणीय असर अब छिट्टै देखिन थाल्नेछन् । कोभिड–१९ को ठूलो संकट टरिरहेको यो लाभको समयलाई नेतृत्वले सदुपयोग गर्नु पर्ने हो । विडम्बना ! नेतृत्व अझै पनि त्यो ठूलो संकटको बेवास्ता गरिरहेको छ ।

राजनीतिक परीक्षा शतप्रतिशत अंक ल्याएर उतीर्ण गर्नुपर्ने परीक्षा हो । त्यसमा पनि जनता र राष्ट्रले सारा विश्वको नै गन्तव्य परिवर्तन गर्न सक्ने त्रासदी खेपेको बेला परिस्थिति र जनताको ‘भित्री मर्म र चुरो कुरो’ बुझ्न नसक्नु राजनीतिक परीक्षामा शून्य अंक ल्याएर अनुत्तीर्ण हुनु हो भन्दा अतिशयोक्ति नहोला ।

कोरोना कहर सामिप्यको एउटा महत्वपूर्ण पाठ भनेको सबल नेतृत्व, प्रत्युपन्न मति र दूरदर्शी नीतिनिर्माण हरेक समस्यासँग जुझ्ने सबैभन्दा बलिया आधारहरू रहेछन् भन्ने प्रमाणित भएको छ । दोस्रो, स्वास्थ्य, कृषि उत्पादन, आपूर्ति व्यवस्था, रोजगारी, अनलाइन शिक्षण सिकाइ आदि कठिन परिस्थितिमा सर्वसाधारणलाई प्रत्यक्ष प्रभाव पार्ने विषयहरू रहेछन् भन्ने हो ।

कोरोना कहरको कहालीलाग्दो वर्तमान अझै हाम्रासामु भएकाले नेतृत्वगणलाई सच्चिन र ग्रेस मार्क ल्याएरै भए पनि विश्वविद्यालयले निर्धारण गरेको उत्तीर्ण प्राप्तांक ल्याउने अवसर भने बाँकी नै छ भन्नुमा दुईमत नहोला ।

(डा. भुजु र कट्टेल रिसोर्सेस हिमालय फाउन्डेसनसँग आबद्ध छन् । यस्तै डा. खतिवडा र बजिमय नेपाल विकास अनुसन्धान प्रतिष्ठानसँग । प्रस्तुत विचारहरू लेखकहरूका निजी हुन् ।)

प्रकाशित मिति : २० जेठ २०७७, मंगलबार  २ : ४७ बजे 

साभार : https://khabarhub.com/2020/02/171521/ 

वातावरण संरक्षण कि व्यवस्थापन !

निश्चय नै विश्वमा वातावरण विनाश बढ्दो क्रममा छ । यसले मानव अस्तित्वमाथि नै संकट उत्पन्न हुन थालेको भन्ने चिन्ता पनि प्रकट हुने गरेको छ ।

वातावरण विनाशको तीव्रताका अनेक लक्षणहरू देखिएका छन् । प्राकृतिक वातावरण संरक्षण आजको विश्वको ज्वलन्त चिन्ता र चासोको विषय हो । आज विश्व वातावरण दिवसका अवसरमा नेपालको सन्दर्भमा केही कुरा गरौँ ।

हाल नेपालमा राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष र अन्य संरक्षित वनसहित करिब ४५ प्रतिशित भूमि संरक्षित वन क्षेत्रले ढाकेको छ । यस अतिरिक्त संरक्षण क्षेत्रहरू पनि छन् । सीमसार क्षेत्रहरू संरक्षित छन् । ‘राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन’ ले वन्यजन्तुतको प्राकृतिक वासस्थानको संरक्षण गर्छ । अन्य कतिपय ऐनहरूमा प्राकृतिक वातावरण संरक्षणका प्रावधानहरू छन् । नेपाल प्राकृतिक वातावरण संरक्षण सम्बन्धी अन्तर्राष्ट्रिय सन्धि–सम्झौताहरूको पक्षराष्ट्र रहेको छ ।

संरक्षित वन क्षेत्रको हिसाबले नेपाल निकै उत्कृष्ट अवस्थामा छ । कुल भूभागको ४० प्रतिशतभन्दा माथि वनक्षेत्र हुनु चानचुने कुरा होइन । शून्य वन अर्थात वन नै नभएका कति देशहरू समृद्धशाली छन् । यति धेरै वन क्षेत्र भएर पनि नेपालले वनबाट अपेक्षित लाभ हासिल गर्न सकेको छैन । वनको उचित व्यवस्थापन र सदुपयोग हुन सकेको छैन ।

वन्यजन्तुका लागि राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष र अन्य संरक्षित क्षेत्रहरू छन् । वन्यजन्तुहरू कहिलेकाहीँ मानवबस्तीमा छिर्छन् । चितवनतिर कहिलेकाहीँ मध्य शहरमा गैँडा हिँड्छ । बाघ, हात्ती, गैँडा जस्ता जनावरले मानिस मार्ने घटनाहरू हुने गरेका छन् । मानिस र वन्यजन्तुका बीच द्वन्द्व चलिहरन्छ । जब राज्यद्वारा संरक्षित क्षेत्रका संरक्षित जनावारले मानिसको ज्यान लिन्छ वा अन्य हानी पुर्‍याउँछ, त्यो उच्च सरोकारको मुद्दा बन्छ । संरक्षित क्षेत्रको उचित व्यवस्थापन हुन नसक्दा यस्तो समस्या बारम्बार देखापर्छ ।

शहरी क्षेत्र भएर बग्ने नदी/खोलाहरू असीमित रूपमा प्रदूषित छन् । राजधानी उपत्याकामा नदीहरू मृत अवस्थामा छन्; नदी होइन, ढल बनेका छन् । नदीमा जलचर हुँदैन र मानिसको संस्कृतिसँग जोडिँदैन भने त्यो नदी नै रहँदैन । पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म शहरी क्षेत्र भएर बग्ने सबै नदीको दुर्दशा छ ।

विराटनगरको केसलिया होओस् कि काठमाडौँका वाग्मती र विष्णुमती होउन् वा काभ्रेको पुण्यमाता किन नहोस् सबै ढलमा परिणत भएका छन् । मिथिला संस्कृतिसँग जोडिएका जनकपुरका सरोवरहरू प्रदूषण र अतिक्रमणले अस्तित्वको संकटमा छन् । शहरी क्षेत्रमा देशभरि यस्तै अवस्था छ । प्रकृतिले हामीलाई अनेक उपहार दिएको छ तर हामीले व्यवस्थापन गर्न सकेका छैनौँ । हाम्रा अनमोल प्राकृतिक सम्पदाहरू जोगाउन सकेका छैनौँ ।

शहरी क्षेत्रहरू भल बाढीको चपेटमा पर्न थालेका छन् । काठमाडौँ उपत्यकाका घनाबस्तीहरू मनसुनको भलमा अनपेक्षित ढङ्गले डुबानमा पर्न थालेका छन् । हामीले शहर बसायौँ, ठूलाठूला घरहरू बनायौँ तर भल निकासको उचित व्यवस्थापन गरेनौँ । पूर्व–पश्चिम राजमार्गमा बसेका अधिकांश शहरहरू मध्य मनसुनमा कैयौँ दिन डुबानमा पर्ने गरेका छन् । जनधनको क्षति हुने गरेको छ ।

कङ्क्रिटको शहर बढ्दै गएपछि शहरी क्षेत्रमा जमिनले वर्षाको पानी सोस्ने क्रम घट्यो । थारै समयमा आकाशे पानीले ठूलो क्षमता देखाउँछ । जमिनले पानी सोस्न नपाएपछि भलको समस्या बढ्छ र यसले अनपेक्षित क्षति गराउँछ । शहरी क्षेत्रमा पानीको प्राकृतिक वहाव खलबिलयो तर शहरी योजनाले भलको उचित निकास दिन सकेन । अब हरेक वर्ष भलको डुबानमा पर्नु, त्यसको रमिता हेर्नु र क्षति व्यहोर्नु बासिन्दाहरूको नियति बन्न थालेको छ ।

यता जमिनले पर्याप्त पानी शोषण गर्न नसक्दा जमिनमुनि पानीको सतह घट्दैछ । फेरि, जमिनमुनिको पानी तानेर सिँचाइ गर्ने क्रम पनि बढ्दो छ ।

हाम्रा लागि डढेलो अर्को ठूलो विपद् बन्दैछ । वनमा डढेलो लगाउने हाम्रो परम्परागत धारणा परिवर्तन हुन सकेको छैन । हामीसँग डढेलो नियन्त्रण गर्ने प्राविधक संयन्त्र पनि छैन । वायु प्रदूषण हाम्रो अर्को ठूलो चिन्ताको विषय हो । काठमाडौँ शहर विश्वका उच्च प्रदूषित शहरहरूको सूचीको अग्रस्थानमा पर्न थालेको छ । काठमाडौँको चर्चा बढी भए पनि तराई क्षेत्रका ठूला शहरहरू पनि कम प्रदूषित छैनन् । वायु प्रदूषण नियन्त्रण गर्ने उपायहरू अवलम्बन हाम्रो प्राथमिकतामा पर्न सकेको छैन ।

फोहोरमैला व्यवस्थापन अत्यन्त कमजोर छ । ठूला शहरहरू जैविक र अजैविक सबै प्रकारका फोहरहरूले प्रदूषित बन्दै गएका छन् । आधुनिक प्रविधिको द्रुत विकाससँगै अजैविक फोहरको मात्रा बढ्दो छ । हामीले ल्यान्डफिल बाहेक फोरहमैला व्यवस्थाको अर्को प्रविधि भित्र्याउनै सकेका छैनौँ । ल्यान्डफिल पनि वैज्ञानिक छैन ।

उपयुक्त ल्यान्डफिल साइटहरू पहिचान गर्न र तिनीहरूलाई राज्यप्रणालीको नियन्त्रणमा राख्न सकिएको छैन । फलस्वरूप कहिलेकाहीँ हप्ता दिनसम्म पनि शहरको फोहोर उठ्दैन । यस्तो समस्या काठमाडौँको मात्रै होइन, अन्य शहरहरूमा पनि देखिन थालेको छ ।

आर्थिक वर्ष २०७८/७९ को बजेटले व्यापारघाटा कम गर्न ढुङ्गा, गिटी र बालुवा निकासी गर्ने भनेपछि यसले पक्ष–विपक्षमा ठूलै बहस सिर्जना गरेको छ । अहिले पनि ढुङ्गा, गिटी र बालुवाको व्यवस्थापन राणाकालको मुखियाका पालाको जस्तै छ । पहिलेका जिल्ला विकास समिति (जिविस) ले गरेजत्तिको व्यवस्थापन पनि छैन अहिले । आजकाल आईई गर्ने भनेको ठेक्का लगाउनलाई हो, लगाउन हुँदैन कि भनेर जाँच्नलाई होइन, वातावरण संरक्षणका लागि होइन ।

नेपालले ढुङ्गा, गिटी र बालुवा निकासी गर्न नसक्ने होइन तर चुरे पहाडका भित्ता फोरेर, नदीबाट धमाधाम बालुवा निकालेर होइन । इन्जिनियरिङ, भूगर्भशास्त्रीय र अन्य आवश्यक वैज्ञानिक अनुसन्धान गरेर त्यसको सुझाबअनुसार मात्रै उत्खनन् गर्नुपर्छ । नदीबाट बालुवा निकाल्दा नदीको सतह र पानीको वहावको वैज्ञानिक अध्ययन हुनुपर्छ ।

मानिसले विकास निर्माणको काम प्रकृतिमै गर्ने हो, प्राकृतिक स्रोतसाधन नै प्रयोग गर्ने हो । यस क्रममा प्राकृतिक वातावरणमा क्षति पुग्छ तर विकास त रोकिँदैन । प्रकृति र मानव समुदायमा कमभन्दा क्षतिमा विकासका काम गर्नुपर्छ । यसो गर्न गहन वैज्ञानिक अनुसन्धान आवश्यक पर्छ । हामीलाई स्मार्ट विकास र स्मार्ट शहरहरूको आवश्यकता छ । हाम्रो निकै पुरानो शहर राजविराज आज कुन अवस्थामा छ ! निकै नयाँ शहर सुर्खेत कता जाँदैछ ! गम्भीरतापूर्वक विचार गर्ने र शिक्षा लिने बेला भएको छ ।

हामीले प्रतिघण्टा सय किलोमिटरका दरले गाडी गुड्ने उच्च प्रविधियुक्त राजमार्ग सोचेर काम गर्नुपर्छ । हाम्रा शहरका घरहरू पर्याप्त घाम छिर्ने र हावा खेल्ने किसिमका हुनुपर्छ तर के आज हाम्रो सरकारी संयन्त्रले यसतर्फ गम्भीरतापूर्वक सोचेको छ ! काठमाडौँबाट दुई–तीन सय किलोमिटर टाढा बसेर पनि काठमाडौँमा जागिर वा व्यवसाय गर्न सक्ने स्मार्ट विकास सोचेको छ ! यस्तो योजना बनाउँदैछ ! र, काठमाडौँ जस्तै अन्य शहरहरूको सन्दर्भमा पनि !

नेपालमा एक लाखभन्दा बढी पहाडी थुम्काहरू छन् । यी यीमध्ये हजार, दुई हजार थुम्का सम्याएर स्मार्ट शहर बसाउन सकिन्छ । यस्ता आधुनिक बस्तीलाई द्रुत गतिका मार्गले ठूला शहरसँग जोड्न सकिन्छ । यसो गर्दा दुई–तीन सय किलोमिटर टाढाबाट काठमाडौँ आएर जागिर र व्यवसाय गर्न सक्ने अवस्था हुन्छ । धेरै देशले यस्तो काम गरेका छन् । यस्तो योजना हामीले किन बनाउन नसकेको होला !

सुरुङमार्ग र रेलमार्गको कुरा पनि यसैमा जोडिनुपर्छ ।

हाम्रो चुरे क्षेत्र धेरै संवेदनशील छ । यसको उपयोग गर्न धेरै वैज्ञानिक अध्ययन आवश्यक पर्छ । भविष्यको ख्याल नगरी क्षणिक फाइदाका लागि चुरेलाई चलायौँ भने हामीले ठूलो दुर्गति व्यहोर्नु पर्नेछ । चुरेभन्दा तलको जमिनको प्राकृतिक वातावरण र बस्ती जोगाउन हामीले चुरे जोगाउनुपर्छ ।

आजको नेपालको मुख्य वातावरणीय मुद्दा वातावरण संरक्षण होइन, वातावरण व्यवस्थापन हो । नेपालले जुन वातावरणीय विनाश भोग्दैछ, त्यो प्रकृति संरक्षण नगरेर होइन, संरक्षित क्षेत्रको उचित व्यवस्थापन नगरेर हो । बाघ, गैँडा, हात्ती आदि जनावरका लागि हामीले निकुञ्ज र आरक्षण बनाएर यिनको संरक्षण गरेका छौँ । हामीसँग उपलब्ध चितवन, बर्दिया, शुक्लाफाँटा र पर्साको वासस्थानले कति वटा बाघ, गैँडा र हात्ती धान्न सक्छ ! हामीले संरक्षण गरेको वासस्थानको क्यारिङ क्यापासिटी कति हो ! यसमा गहन अध्ययन, सोहीअनुसार योजना र कार्यान्वयन आवश्यक छ । यसरीमात्र हामीले पारिस्थितिक प्रणालीको पुनरुत्थान गर्न सक्छौँ ।

कुन ठाउँमा कति ठूलो शहर बसाउने, कृषि भूमिको संरक्षण कसरी गर्ने, कति कृषिभूमि जोगाएर राख्ने भन्ने विषयमा बृहत्, वैज्ञानिक र दूरदर्शी योजना निर्माण र कार्यान्वयन अर्को ठूलो आवश्यकता हो । यसो हुन नसके जसरी काठमाडौँको उर्वर कृषिभूमि मासियो त्यसरी नै अन्यन्त्र पनि मासिने छ र कङ्क्रिटको जङ्गल विस्तार हुँदै जानेछ । यस्तो क्रम विभिन्न ठाउँमा द्रुत गतिले अघि बढ्दैछ ।

यस्ता विविध आयामहरूको गहन वैज्ञानिक अध्ययन नभई व्यवस्थित ढङ्गले वातावरण संरक्षण हुन सक्दैन । संरक्षित क्षेत्रहरूको व्यवस्थापन र प्रकृति संरक्षण सहितको दिगो विकासका लागि हामीलाई उपयुक्त सूत्र, मन्त्र र संयन्त्र चाहिएको छ ।

(वातावरण इन्जिनियर तथा अनुसन्धाता डा. खतिवडासँग सविना कार्कीले गरेको कुराकानीमा आधारित)

साभार : https://khabarhub.com/2021/05/276651/ 

सूर्यमानको सौर्य

 पैसठ्ठी वर्षअघि, १ अप्रिल १९५६ मा ललितपुर जिल्लाको पाटन नगरीमा एक बालकको जन्म भयो । बुबा पूर्णबहादुर शाक्य र आमा चन्द्रमाया शाक्यको कोखमा जन्म लिएका ती बालक कालान्तरमा नेपालमा वातावरण इन्जिनियरिङ विधाको श्रीगणेश गर्ने नायक बन्लान् भन्ने कुरा शायद विधातालाई मात्र थाहा थियो ।

सृष्टिका सर्जकले बुबाको नाम पूर्ण, आमाको चन्द्र र बालकको नाम सूर्य जुराइदिएका थिए । नेपालको वातावरणसम्बन्धी प्राविधिक कित्तामा ती नायक ‘पूर्णचन्द्र’ भएर उदाए । अनि, आफ्नो नाम चरितार्थ गर्दै ‘कहिले नअस्ताउने सूर्य’ को पदचिह्न र आफ्ना केही महत्वपूर्ण अनुष्ठान तपाईं–हाम्रो जिम्मा लगाएर यही वैशाख २० गते अन्तर्राष्ट्रिय विश्व प्रेस स्वतन्त्रता दिवसका दिन ब्रह्मलीन भए ।

सूर्यमान शाक्यले भारतको पटनाबाट सिभिल इन्जिनियरिङ विषयमा स्नातक गरेका थिए, अमेरिकाको न्यु जर्सीबाट वातावरण इन्जिनियरिङमा स्नातकोत्तर । सम्भवतः यो विधामा उच्च शिक्षाको पगरी गुथ्ने उनी पहिलो नेपाली नागरिक थिए ।

सूर्यमान पुराना सामान, त्यसमा पनि पुरानो घडीका अतिशय शौखिन थिए । उनको नाडीमा बजारमा नपाइने पुरानो मोडेलको घडी हुन्थ्यो । उनी कक्षामा विद्यार्थीलाई पढाउँदा यस्ता पुरातात्त्विक महत्त्वका सामानको अगणित मूल्यका बारेमा रोचक दृष्टान्त प्रस्तुत गर्थे । कुनै विद्यार्थीले सूर्यमानको घडी पुरस्कारका रूपमा कक्षा अवधिभर मात्र पनि बाँध्न पायो भने ऊ आफूलाई धन्य ठान्दथ्यो ।

एक पटक सूर्यमान घडी किन्ने सुरले स्वीट्जरल्याण्डको एक पसलमा पुगेछन् । पसल बेलुकी ५ बजे बन्द हुँदो रहेछ । उनी समय सीमाभन्दा केही मिनट अघि मात्र त्यहाँ प्रवेश गरेका रहेछन् । पसलको साहुजीले उनलाई अत्याउने सुर झिकेछ ।

‘पसल बन्द गर्ने बेला भयो । कृपया चाँडै गर्नु होला ।’

‘मैले राम्रो बुझिनँ । के भन्नु भयो रे ?’ ‘मसँग समय छैन । अर्को कुनै दिन आउनु होला ।’

यस्तो सुनेपछि सूर्यमानले आफ्नो देब्रे हातको नाडी साहुलाई देखाउँदै अचम्मको कित्ता सिर्जना गरेछन् ।

‘उदेक लाग्छ ! सयौँको संख्यामा घडी हुनेसँग समय छैन । मेरो साथमा घडी छैन तर घडी किन्ने समय छ ।’

यसरी भइपरी आएको परिस्थितिमा रौनक थपेर दर्शक श्रोतालाई मन्त्रमुग्ध पार्ने आद्वितीय क्षमताका धनी थिए सूर्यमान । उनी विषय प्रसङ्गलाई नाटकीय रूप दिन औधी सिपालु थिए । दर्शक–श्रोतामध्ये कसैलाई मन्चमा निमन्त्रणा गर्दथे र तिनैलाई सहभागी गराएर छानो उडाउने हाँसो सिर्जना गर्दै प्रस्तुतिमा बेजोडको रङ्गरोगन गर्दथे ।

ती दर्शक–श्रोता कक्षा कोठाका विद्यार्थी हुन या कुनै समारोहका सहभागी वा कुनै चिया पसलका ग्राहक, सूर्यको प्रत्युत्पन्न बुद्धिको रापको तापक्रम आकाशिएकै हुन्थ्यो ।

युट्युबमा ‘दि स्टोरीटेलर’ शीर्षकमा नेपालमा ‘वातावरण’ शब्द परिभाषित गर्ने पहिलो व्यक्तिका रूपमा चित्रण गरिएको सूर्यमान शाक्य सम्बन्धित एक सामग्री छ । २०७७ साल वैशाख अन्तिमसम्ममा २७ हजार दर्शकले यो सामग्री हेरिसकेको तथ्यांक सूचकले देखाएको छ ।

सूर्यमानको प्रस्तुतिले यस्तो उल्लेखनीय लोकप्रियता हासिल गर्नुमा उनको मौलिक शैली मुख्य हो । त्यो भीडीओ सामग्रीमा सूर्यमान दर्शक दीर्घाका दुई जना सहभागीलाई स्वयंसेवकका रूपमा मन्चमा बोलाउँछन् । उनीहरु मन्चमा प्रवेश गर्नासाथ दर्शकको ध्यान सुर्यमानतिर केन्द्रित हुन्छ । अबसूर्यमान भन्छन्–

‘तपाईंहरु मेरो बडीगार्ड । मैले बोलेको राम्रो भएन भनेर दर्शकले गोलभेँडा फ्याँके भने समात्ने जिम्मा तपाईंहरुको ।’

त्यतिन्जेल लगभग चकमन्नको स्थितिमा रहेको वातावरणमा एकाएक हाँसोको फोहोरा सिर्जना हुन्छ ।

स्वयंसेवकहरुलाई सूर्यमान एकएक वटा पुराना शब्दकोश दिन्छन् र तिनमा ‘वातावरण’ शब्द खोज्न आदेश दिन्छन् । एउटा शब्दकोशमा त्यो शब्द नै भेटिँदैन । अर्कोमा शब्द त भेटिन्छ तर त्यसमा अहिलेको कालखण्डले बोकेको ‘वातावरण’ शब्दको अर्थ लेखिएको हुँदैन । त्यसपछि माहौल तताउँदै उनी आफ्नो शैक्षिक उपाधि र तत्कालीन श्रमबजारको यसरी व्याख्या गर्छन्–

‘शब्दकोशमा वातावरण शब्दको अर्थ छैन । म वातावरण इन्जिनियरिङको स्नातकोत्तर तहको उपाधि बोकेर उभिएको छु । तपाईंहरु अनुमान गर्न सक्नुहुन्छ त्यस वेला म कति हतोत्साही भएँ हुँला ?’

दर्शकको ताली र हाँसोको आयतनले सभाकक्ष भरिएर छताछुल्ल हुन्छ । यसरी प्रस्तुतिमा मूल्य थपिन्छ । सहभागीहरु मन्त्रमुग्ध मात्र हुँदैनन्, उनीहरुले वातावरण इन्जिनियरिङ कान्छो विधा भएको जानकारी पाउनुका साथै यसलाई मूलधारमा ल्याउन गर्नुपरेको अथक मिहिनेतको बारेमा पनि सटीक जानकारी प्राप्त गर्छन् ।

सूर्यमान प्रत्युत्पन्न बुद्धिका खानी नै थिए । स्वदेशी होओस् कि विदेशी, शिक्षक होओस् या पत्रकार, विमानस्थलमा टिकट जाँच गर्ने कर्मचारी होओस् कि अध्यागमनमा हतियार बोकेर बसेको कमान्डो, पहिलो पटक भेट भएको होओस् या पुरानो घनिष्ट, उनी ती पात्रहरुसँग केही न केही संवाद गर्थे र हँसाएरै छोड्थे ।

उनी रोटरी क्लब अफ पाटन साउथका पूर्वअध्यक्ष थिए । क्लबको डिस्ट्रिक्ट ३२९२ लाई असिस्टेन्ट गभर्नरको पदमा बसेर सेवा गरेका थिए । क्लबकी पूर्वगभर्नर जया शाहको नेतृत्वमा सन् २०१७ मा नेपालका १७० जना रोटरी पदाधिकारीहरु भुवनेश्वर पुगेका थिए । त्यहाँ उनीहरुको सम्मेलन भएको थियो । सूर्यमान पनि त्यो टोलीमा थिए ।

सम्मेलनका केही सत्र नेपाली प्रतिनिधिहरुका लागि मात्र आयोजना गरिएका थिए । एकजना भारतीय स्रोतव्यक्तिले एउटा सत्रमा भित्ताको स्लाइडमा एक सिने कलाकारको तस्विर देखाए । तालिम कक्षमा उपस्थित १५ दर्जन सहभागीहरुलाई उनले सोधे–

‘तपाईंहरुमध्ये कसैले भन्नसक्नु हुन्छ, यो तस्विर कसको हो ?’

सभामा मौनता छायो । जवाफ दिन कोही पनि जुर्मुराएन । रोटरी क्लबमा व्यावसायिक घरानका नाम कहलिएका उद्यमीदेखि पेशागत र वृत्तिविकासको हिसाबमा समाजका अब्बल दर्जाका व्यक्तिहरुसम्मको उपस्थिति थियो । महिलाहरु पनि उल्लेख्य संख्यामा थिए । तस्विरमा देखाइएकी सुन्दरीलाई कसैले चिन्न सकेन अथवा चिने पनि उभिएर नाम भन्ने साहस गरेन ।

स्रोव्यक्तिले प्रश्न फेरि दोहोर्‍याए । फेरि सबै मौन बसे ।

अन्त्यमा केही नलागेर स्रोव्यक्तिले ती सुन्दरीको हुलियाको एक अंश बताए । फेरि पनि मौनताको यथास्थितिमा परिवर्तन आएन । स्रोत व्यक्तिले अन्तिम जाल फ्याँके ।

‘म अन्तिम पटक यहाँहरुको ध्यानाकर्षण गर्दैछु । कसैले अन्दाज गर्नु होला यी नारी को हुन् ?’

अब भने रङ्गमन्चमा सूर्यमान उदाए । उनी जुरुक्क उठे, मुठ्ठे जुँगामा ताउ लगाए, अनुहारमा एक कृत्रिम आक्रोश सिर्जना गरे । उनको अनुहारमा सिर्जना भएको यस्तो कालो बादलले घनघोर वर्षा गराउँथ्यो भन्ने उनका अनुयायीहरु धेरैलाई थाहा छ ।

‘एक पटक प्रश्न फेरि दोहोर्‍याउनु होला ।’

सूर्यमानको कुराले श्रोता र वक्ता दुवैलाई गम्भीर बनायो । स्रोतव्यक्तिले प्रश्न दोहोर्‍याए ।

‘तपाईं चिन्ने कुरा गर्नुहुन्छ । मैले त तिनलाई प्रस्ताव राखेको थिएँ ।’

‘क्या बात ! सूर्यमान ! वाह ! क्या जवाफ !’

सभामा बादल लागेको आकाशमा एकै साथ मेघ गर्जन र बिजुली चम्केको हिसाबमा गडगडाहट ताली र हाँसोको वर्षा भयो ।
सभाको मर्करी सामान्यतिर झर्न के लागेको थियो उनले फेरि थपे ।

‘मेरो प्रस्ताव उनले मानेकी थिइन् तर उनका बाउले खलनायकको भूमिका खेले ।’

सभामा फेरि हाँसोको वर्षा भयो ।

तस्विरकी नायिका चर्चित बलिउड कलाकार सत्रुघन सिन्हाकी छोरी सोनाक्षी थिइन् । त्यस वेला उनी रोटरी सद्भावना दूत रहिछन् ।

शास्त्रमा गणेशजीलाई ठूलो महत्त्व दिइएको छ । सबैभन्दा धेरै रूप भएका देवता भनेर पनि गणेशजी मानिन्छन् । कमलादीको आसपास पुग्दा त्यहाँ रहेका सिद्धिविनायकलाई सूर्यमान जहिले पनि दाहिने परिक्रमा गरेर मात्र आफ्नो गन्तव्यमा गएको उनीसँग सहयात्रा गरेका धेरैले स्मरण गर्छन् ।

सूर्यमान सन् १९९२ को मोडेल मारुती कार चढ्थे । उनको कारको नम्बर ७७७७ थियो । उनको गाडी देखेका र चढेका अधिकांशमा यो नम्बरले छाप छोडेको छ । उनी आफ्नो सवारीसाधनलाई धेरै माया गर्थे । यसको मर्मतसम्भार बडो होशियारीसाथ गर्थे । आफ्नो गाडीको नाम ‘फर्सिडिज बेन्ज’ राखेका थिए ।

उनी हत्तपत्त ‘फर्सिडिज बेन्ज’ को राज भन्दैनथे । केही किनारका कुराले पृष्ठभूमि बनाएर मात्र यसको नामको अर्थ प्रष्ट्याउँथे । उनी गर्बका साथ सुनाउँथे–

‘फर्सीको मोलमा मर्सिडिजको मजा पाइन्छ । यसैले यो फर्सिडिज बेन्ज भनेको हो ।’

गणेशजी नेतृत्व कौशलको परिचायकको रूपमा पनि लिइन्छन् । उनका आँखा साना छन् । कान ठूला छन् र पेट पनि ठूलो छ । दूरदृष्टि, अरूका कुरा सुन्ने र आलोचनाको जस्तोसुकै विष पनि पचाउन सक्ने नै असल नेताका विशेषता हुन, जुन गणेशजीमा व्याप्त थिए । विधाताको कृपा हो– शास्त्रका गणेशजीमा पाइने धेरै विशेषताले सूर्यमान शाक्य पनि ओतप्रोत थिए ।

गणेशजीको हातमा लड्डु हुन्छ । मिष्टान्नहरुको वर्णक्रममा लड्डु शीर्ष स्थानमा राखिन्छ । अधिकांश सर्वसाधारणको प्रिय मिठाई हो लड्डु । गणेशजी नेतृत्वको प्रतीक भएकाले उनी विशिष्ट भोजन गर्थे भन्ने कुराको अन्दाज धेरैले गर्दछन् ।

मिष्टान्न र खानाका परिकारको सन्दर्भमा पनि सूर्यमान शाक्यसँग सङ्गत गरेका धेरै सहकर्मी र विद्यार्थीहरुले नौला ज्ञान आर्जन गरेका छन् । तारे होटलमा कार्यक्रम भएका वेला उनी विद्यार्थीहरुलाई कुन परिकार कसरी ग्रहण गर्ने भन्ने कुरा सिकाउँथे ।

फोहोरमैला व्यवस्थापनका अध्येता भएका कारणले पनि यो विषय महत्त्वपूर्ण थियो । जावलाखेलको ‘स्थानीय विकास प्रशिक्षण केन्द्र’ मा विद्यार्थीहरुलाई तालिम दिँदाको एक रोचक प्रसङ्ग छ । उनले विद्यार्थीहरुलाई ‘शून्य फोहोर’ अर्थात ‘जिरो वेस्ट’ का बारेमा पढाएका रहेछन् । एकदिन तालिमको सत्र सकिएपछि प्रशिक्षण केन्द्रको चमेनागृहका सञ्चालकले उनीसमक्ष उजुरी गरेछन् ।

‘भोलिदेखि म तपाईंका प्रशिक्षार्थीलाई खाना खुवाउन सक्दिनँ ।’

‘किन मेरा विद्यार्थीले के गरे र त्यस्तो ?’

‘तपाईंले शून्य फोहोर भनेर पढाउनुभएको रहेछ । तपाईंका विद्यार्थीले टेबुलमा राखेको मात्र होइन, भान्सामा पकाएको पनि सबै सिध्याए ।
सञ्चालक पनि रङ्गी स्वभावका रहेछन् ।

सूर्यमानले ‘शून्य फोहोर’ को ज्ञानबर्द्धक प्रसङ्ग धेरै जनालाई प्रसार गरेका छन् । उनी आफ्ना कक्षामा यस्ता विषयसँग जोडिएका र आफैँले सिर्जना गरेका सामग्री अनौपचारिक पाठ्यवस्तुका रूपमा प्रयोग गर्थे । फोहोरमैला व्यवस्थापनको कक्षा लिने अन्य स्रोतव्यक्तिले पनि सूर्यमानसरका यस्ता दृष्टान्त धेरै ठाउँमा सुनाएका छन् ।

सूर्यमान बडो स्वाद लिएर खान्थे । कुखुराको या खसीको मासुको झोल र धानको भात उनको प्रिय खाना थियो । मौका पर्नासाथ सडक किनाराका पसलको चियाको रसास्वादन गर्थे । तारे होटलको ब्रेकफास्ट लिने उनको आफ्नो शैली थियो । उनी भन्थे–

‘सयौँ परिकार भएका स्थानमा कुन लिने कुन नलिने भन्ने निर्णय गर्न बडो सकस पर्छ । यसकारण म सबैभन्दा पहिला ताजा जुस भएको कुनोमा जान्छु । त्यहाँ उभिएर पहिलो ग्लास जुस पिउँदा पिउँदै म आँखा घुमाउँछु । कति किसिमका परिकार छन्, पाउरोटी सेकाउने टोस्टर कहाँ छ, अण्डाको अम्लेट कहाँ बन्दैछ । दोस्रो ग्लास जुस पनि म उभिएरै पिउँछु र निर्णय लिन्छु– आज म आरम्भमा कुन कुन परिकार लिन्छु त भनेर ।’

यही मे ४ मा रोटरी क्लब अफ पाटन साउथमा भएको श्रद्धाञ्जलि सभामा विनीता शर्माले भावविह्वल हुँदै भनिन्–

‘सूर्यमान शाक्यलाई मैले सरको नाता लगाइनँ, दाइको नाता लगाएँ । मैले यो क्लबमा आएर एक प्रिय दाइ पाएकी थिएँ । मान्छे अजम्बरी हुँदैन । एक दिन सबै जानु छ । स्वर्गमा पनि पक्कै रोटरी क्लबको मिटिङ् हुन्छ होला । म प्रार्थाना गर्छु– हे प्रभु ! सूर्यमान दाइको धन्यवाद मन्तव्य म स्वर्गमा पनि सुन्न पाऊँ ।’

विनीतालाई मात्र होइन, अरू धेरैलाई यस्तो लागेको होला ।

सूर्यमानको सौर्यको मान सर्वत्र छ । त्यो मानका साक्षी दोलखा र सिन्धुपाल्चोकका झोलुङ्गे पुल, गुहेश्वरीको फोहोरपानी प्रशोधन केन्द्र, सवारीसाधन प्रदूषण सम्बन्धमा नब्बेको दशकमा लागु भएका नीतिनियम, ओखरपौवा फोहोरमैला विसर्जन स्थल र स्किम्स कलेज आदि छन् ।

फोहोरमैला व्यवस्थापनको चर्चित ‘नट इन माई ब्याकयार्ड’ अर्थात ‘निम्बी’ शब्दलाई सूर्यमानले ‘यिम्बी’ अर्थात ‘यस इन माई ब्याकयार्ड’ बनाइदिए । यस अर्थमा ‘यिम्बी’ पनि सूर्यको मानको साक्षी छ ।

सूर्यमानको मानका साक्षी तपाईं हामी सबै हौँ, उनी बाँचेको युग हो । वातावरण व्यवस्थापनको क्षेत्रमा र समग्र नेपालको द्रुत आर्थिक विकासका क्षेत्रमा सूर्यमानले चिताएका केही काम बाँकी भए ती पूरा गर्ने जिम्मा अब हाम्रो काँधमा आएको छ ।

हार्दिक श्रद्धाञ्जलि कहिल्यै नअस्ताउने सूर्यलाई !

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  ९ : ०१ बजे 

श्रोत  : https://khabarhub.com/2021/10/267924/ 

 

 

 

 

 

 

विश्वविद्यालयको विशिष्ट पदका आकांक्षीहरूका लागि

 खुला प्रतिस्पर्धाबाट छनौट भई म काठमाडौँ विश्वविद्यालय (कावि) को सहप्राध्यापकको पदमा नियुक्त भएको केही दिन भएको थियो । विश्वविद्यालय उत्कृष्ट हुन विद्यार्थी, प्राध्यापक र कर्मचारीहरू प्रत्येक दिन तोकिएको कार्यकक्षमा वा कक्षाकोठामा उपस्थित भएर आफ्नो अध्ययन वा वृत्तिविकासमा लगनशील भई संलग्न हुनु जरुरी हुन्छ ।

आफ्नो मातहतका हजारौँ अनुयायीलाई थप जाँगर र उत्साहका साथ काम गर्न प्रोत्साहन गर्ने प्रमुख कार्यकारी वा उपकुलपतिले कसरी आफ्नो कार्यकक्षलाई चुस्त, दुरुस्त राख्लान् वा उनीहरूलाई कसरी प्रभाव पार्लान् भन्ने कौतूहल मेरो मनमा थियो । एक दिन मेरो चिन्तनमा रहेको यस विषयको अस्पष्टता र अन्यौलको चिरफार गरिदिने रोचक प्रसङ्ग सिर्जना भयो ।

स्विजरल्यान्डको विश्वप्रसिद्ध प्राज्ञिक थलो स्विस फेडेरल इन्स्टिच्युट अफ टेक्नोलोजी लाउसानेमा दुई कार्यकाल अध्यक्ष भई अवकाश प्राप्त र संसारमै नाम कहलिएका इमिरेटस प्राध्यापक जिन क्लाउड बडुक्स काविका शुभचिन्तक र हितैषीका रूपमा कहलिएका रहेछन् । उनी एक भ्रमणका सिलसिलामा कावि आएका बेला काम सम्पन्न गरी संस्थापक उपकुलपति प्राडा सुरेशराज शर्मासँग उनकै निवासमा भेट गर्न जाने कार्यक्रम तय भएको रहेछ ।

उनलाई सवारीसाधन बिसौनीसम्म पुर्‍याउन आएका प्राडा रमेश मास्केले मलगायत अन्य केही प्राध्यापकहरूको जमाततर्फ हेर्दै भने, ‘प्राध्यापक बडुक्सको साथ लागेर पूर्वभिसी सरको घर गई काठमाडौँसम्म जाने सहयात्री चाहिएको छ । तपाईंहरूमध्ये कसैले फुर्सद निकाल्न सक्नुहुन्छ कि !’

 हामीले मुखामुख गर्‍यौँ । यसमा कसैले रुचि देखाएन । मेरो मनले भन्यो, ‘प्राध्यापक बडुक्ससँग केही घण्टा एकान्तमा कुरा गर्न पाउने अवसर गुमाउनु हुँदैन । तुरुन्त आशय प्रकट गर् ।’ मैले तुरुन्तै निर्णय लिएँ ।

मैले प्राडा मास्केको ध्यानाकर्षण गर्दै भने, ‘रमेश सर ! म समय निकाल्छु ।’

मैले अवसर पाइहालेँ । सवारीचालकले हामीलाई गाडीमा राखे । प्राध्यापक महोदय पछाडिको सिटमा बसे, म अगाडिकोमा । यस्ता विषयमा संवेदनशील हुनु जरुरी हुन्छ भन्ने मैले बुझेको छु ।

सन् २०१४ मा म लगायत केही साथीहरूले धेरै मिहिनेत गरेर एक अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्‍यौँ । दरबारमार्गको याक एण्ड यती होटलमा सम्मेलन उद्घाटन समारोह थियो । प्रथम राष्ट्रपति डा. रामवरण यादवले उद्घाटन गर्ने कार्यक्रम थियो ।

होटलका प्रमुख व्यवस्थापकसँग समन्वय गरेर मैले राष्ट्रपतिको स्वागतका लागि सवारीसाधनको पछाडिको ढोका खोल्नेदेखि लिएर फूल दिएर मन्चसम्म लैजाने कदमहरूको योजना बनाई कार्यान्वयन गरेको थिएँ ।

आयोजक संस्था कावि भए पनि तत्कालीन उपकुलपतिको सचिवालयले मलाई यसमा खासै सहयोग गरेन । यसकारण पनि मलाई कूटनीतिक औपचारिकताका मिहिन अवयवहरूको थप जानकारी हुन गएको थियो ।

धुलिखेलको सिरानबजारमा रहेको शर्मा निवाससम्म पुगुन्जेल मैले मेरा अतिथि महोदयका कुरा सुनेँ । पूर्वउपकुलपति शर्मा र उनका समकक्षी बडुक्सबीच लगभग दुई घण्टा कुराकानी भयो । मैले ल्यापटपमा केही काम गर्नुपर्ने भएको जनाई निवासको बाहिरी कक्षमा पर्खेर बस्ने सोचेँ । हामी अपराह्न चार बजेतिर धुलिखेलबाट काठमाडाँैका लागि प्रस्थान गर्‍यौँ । पर्खने क्रममा मैले विश्वविद्यालय हाँक्न आवश्यक पर्ने केही महत्वपूर्ण सवालहरूको पहिचान गरेँ ।

ती सवालहरूको बारेमा प्राडा बडुक्सको विचार जान्ने कौतूहलले मेरो मन अधैर्य भएको थियो । धुलिखेलका पितामह बेलप्रसाद श्रेष्ठको हिमालय होराइजन होटेलको आसपासमा आइपुगेपछि मैले मेरा आदरणीय अतिथिको ध्यानाकर्षण गर्दै सोधेँ, ‘प्राध्यापक महोदय, यहाँले सम्बोधन गर्ने दीक्षान्त समारोहजस्ता गरिमामय अनुष्ठानमा विद्यार्थी, अभिभावक र अध्यापकहरूको कस्तो उपस्थिति हुने गर्दथ्यो ? र, यहाँको सम्बोधन भाषण कसले तयार गर्दथ्यो ?’

मलाई थाहा थियो कि मेरो दोस्रो प्रश्नको ओज पहिलोको तुलनामा कैयौँ गुणा बढी थियो । किनभने मभित्र गढेर बसेको नेतृत्व कौशल विधाको ज्ञानले भन्छ, ‘सभालाई सम्बोधन गर्दा अब्बल नेताको लागि हजारौँको संख्यामा उपस्थित दर्शकका आँखामा आँखा जुधाएर तिनको मनमा वर्षौँदेखि आसन जमाएका जडताका अवशेष एकै निमेषमा चिर्ने अवसर प्राप्त हुन्छ । यो काम गर्न आवश्यक अचुक अस्त्र नै सम्बोधन भाषणभित्र लुकेको सन्देश हो ।’

मेरो अन्तस्करणमा चट्टानझैँ स्थापित यो मान्यताले सर्वमान्य सिद्धान्तको रूप लिएको भान मलाई भयो । मेरो प्रश्नले प्राध्यापक महोदयका आँखा बलेका थिए । उनले एकै छिन मतिर नियालेर हेरे । अनि मेरो प्रश्नको मुक्तकण्ठले प्रशंसा गर्दै भने, ‘वाउ ! हाउ वन्डरफुल । जेन्टलम्यान, आई हाइली एप्रिसिएट योर भिजन एण्ड थट । दिस इज वन अफ दि मोस्ट इम्पोरटेन्ट डोमेन अफ अ लिडर ।’

मेरो प्रश्नले यति धेरै अंङ्क पाएकोमा मेरा पनि आँखा नबल्ने कुरो थिएन । उनको जवाफले झन ठूलो मूल्य थप गर्‍यो जुन अहिलेसम्म पनि मेरो हृदयको शिलालेखमा सुनौला अक्षरमा कुँदिएको छ । कहिलेकाहीँ मेरा श्रोता दशौँ हजारको संख्यामा हुन्थे । मेरो भाषण लेख्ने एक प्राध्यापक थिए । भाषण लेखनमा उनको विशेष अभिरुचि थियो ।’

यस जवाफले स्पष्ट संकेत गर्‍यो– आफ्ना सयौँ कर्मचारीको औकात र सिपको बारेमा अध्ययन गरी कसलाई कुन काम लगाउने भन्ने विषय उपकुलपति वा कार्यकारीलाई थाहा हुन जरुरी छ ।

काविलगायत अन्य विश्वविद्यालयमा भाइरस बनेर अध्यापक, कर्मचारी वा विद्यार्थीले आफूलाई सत्तापक्ष वा प्रतिपक्षी दलहरूसँग गर्ने राजनीतिको भद्दा खेलले शैक्षिक व्यवस्थापन वा प्रशासन सञ्चालनका विषयहरू प्रभावित छन् । यस्ता राजनीतिक गतिविधि र स्थानीय जनता वा संघसंस्थाले अघि सारेका माग सम्बोधन गर्दै उनीहरूसँग सम्झौता गर्नेजस्ता काम सम्पन गर्ने क्षमता भएका अध्यापकहरूलाई चयन गरी विवाद मिलाउने वा सर्वमान्य सिद्धान्तका आधारमा परीक्षा सञ्चालन गर्ने वा प्रशासन चलाउने सवालमा विश्वविद्यालयका अधिकांश पदाधिकारीहरू चुकेका छन् ।

जीवनमा कहिल्यै पनि राजनीति नगरेको, मुद्दा मामिला वा वादविवाद मिलाउने काम नगरेको, प्रकृति विज्ञान वा गणितजस्ता विषयको अध्यापनमा अभ्यस्त प्राध्यापकलाई बलिको बोको बनाई यस्ता काम कारबाहीमा फसाइदिने संस्कारले जरो गाडेको छ ।

यसले गर्दा तालबन्दी र हडतालजस्ता निषेधका गतिविधिहरूले प्रश्रय पाएका छन् । शैक्षिक संस्थाहरूमा महिनौँसम्म पठनपाठन नहुने समस्या सिर्जना हुने गरेको छ । प्रा. बडुक्सले अपनाएको ‘सही मान्छे, रुचिको काम’ सिद्धान्तको प्रयोगले हाम्रा पनि धेरै समस्याहरू समाधान हुने मैले अनुमान गरेँ ।

मेरो दोस्रो प्रश्न थियो, ‘कसैले नितान्त व्यक्तिगत समस्याका कारणले तपाईंलाई भेट्न चाहेमा के व्यवस्था थियो ?’

उनले यसको पनि सटिक जवाफ दिए ।

 

उनको कार्यालय समय रहेछ बिहान आठ बजेदेखि बेलुकी साढे चार बजेसम्म तर उनी बिहान ६ बजे नै कार्यकक्षमा पुग्दा रहेछन् । कार्यालय सुरु हुनुअघिको दुई घण्टा अग्रिम सूचना दिएर जोकोहीले पनि उनलाई भेट्न सक्ने नियम बनाएका रहेछन् । कार्यालय समय सुरु भएपछि उनको औपचारिक भेटघाट मात्र हुने रहेछ ।

उनले गर्वका साथ भने, ‘मैले दुवै कार्यकालमा हरेक दिन बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म कार्यकक्षमा उपस्थित हुने अनुशासन पालना गरेँ । यो मैले जीवनमा गर्व गर्ने एक विषयमध्ये हो । यस्तै कामले मानिसको जीवन सफल हुने हो । यसले संस्थाको उद्देश्य प्राप्तिमा ठूलो महत्व राख्छ ।’

उनको कार्य शैलीका अन्य विशेषता पनि रहेछन् । उनले विभिन्न समूह बनाएर रात्रिभोज आयोजना गर्ने थिति पनि बनाएका रहेछन् । यस्ता समारोहमा कहिले ५० वर्ष नाघेका प्राध्यापकहरू, कहिले महिला प्राध्यापकहरू त कहिले युवा प्राध्यापकहरूले निमन्त्रणा पाउँदा रहेछन् । उनीहरूसँग घुलमिल गर्ने र उनीहरूका सामूहिक समस्याहरूमा छलफल गर्ने चलन उनको संस्थामा रहेछ ।

उनले भने, ‘आफ्ना अनुयायीहरूलाई म कार्यरत संस्थाको कार्यकारी हाम्रो पिरमर्का सुनेर सम्बोधन गर्न सक्छ भन्ने आत्मविश्वास जगाउनु असल नेतृत्वको अर्को महत्वपूर्ण पाटो हो ।’

नेपालको धेरै पटक भ्रमण गरेका र पूर्वउपकुलपति शर्मासँग घनिष्ट सम्बन्ध रहेका यी सफल कार्यकारीका कार्यशैली र अनुभवहरू भर्खरै बामे सर्न लागेको काविजस्तो शैक्षिक संस्थाका पदाधिकारीहरूले कति अनुशरण गरे, त्यो अनुसन्धानको विषय होला । मैले भने स्थायी दरबन्दीमा पद बहाली भई सात वर्ष बिताउँदा यस्ता महारथी कार्यकारीहरूका प्रेरणादायी अनुभूतिहरूको टेको लगाएर धेरै महत्वपूर्ण निर्णयहरू गरी सफलता हासिल गरेको छु ।

छोटो अवधिमै वातावरण इन्जिनियरिङ विधाको कार्यक्रम संयोजकको थप जिम्मेवारी मैले पाएँ । मसँग नेपालमा वातावरण प्रभाव मूल्याङ्कन विषयका पितामह प्राडा. रामबहादुर खड्काद्वारा सञ्चालित स्क्कीम कलेजको प्राज्ञिक विभागको प्रमुख र नेपाल विकास अनुसन्धान प्रतिष्ठानको कार्यकारी निर्देशक तहको कार्यकारी अनुभव थियो ।

स्कूल अफ साइन्सका तत्कालीन डिनले विद्यार्थीहरूले गरेको अनुशासन उल्लंघन छानविन गरी दोषीलाई कारबाही चलाउने छानबिन समितिमा मलाई संयोजकको भूमिका दिएका थिए । विद्यार्थीसँग विवादमा एक विशिष्ट पदाधिकारीलाई जुत्ता प्रहार गर्ने एक प्राध्यापकको छानविन र सुनुवाइ समितिमा पनि म थिएँ ।

मेरो सात वर्षे कार्यकालको आरम्भतिरै सेमेस्टरको अन्तिम परीक्षाको नतिजा प्रकाशित भएको दुई दिनपछि मैले कल्पनै नगरेको एक घटना भयो ।

एक अभिभावकले फोन गरे, ‘सर ! मेरो छोरोको चार वटा विषय लागेछ । यो पीडा उसले सहन सकेन । दुई दिनदेखि ढोका बन्द गरेर बसेको छ । विष पनि किनेर ल्याएको रहेछ । आत्महत्या गर्न ठिक्क परेको छ । सबैले सम्झायौँ । केही लागेन । अब सरमात्र एक अन्तिम व्यक्ति हुनुहुन्छ, जसले मेरो छोरोलाई बचाउन सक्नुहोला ।’ उनी फोनमै रुन थाले ।

म अप्रत्यासितरूपमा आइलागेको समस्या विश्लेषण गर्न लागेँ । ममाथिका पदाधिकारीहरूको सहयोगले कुनै मूल्य अभिवृद्धि नगर्ने दृष्टान्तहरू यसअघिका अन्य घटनाहरूले देखाइसकेका थिए । मेरासामु मेरै बुद्धि र विवेकबाहेक अरू साधन थिएन ।

अभिभावकसँगको फोनवार्तालाई निरन्तरता दिँदै मैले सोधेँ, ‘उसको साथमा मोबाइल फोन छ ?’

‘छ तर ऊ कसैको पनि फोन उठाउँदैन ।’

मैले त्यसैलाई अस्त्र बनाउने विचार गरेँ । फोन गरेँ । उठेन । तीनपटक गर्दा पनि फोन उठेन । मैले मेसेन्जरमा एक सन्देश पठाएँ ।

‘म डा. नवराज खतिवडा हुँ । कृपया एक पटक फोन गर । विशेष कुरा गर्नु छ ।’ मेरो रणनीतिले काम गर्‍यो । उनले फोन गरे । मैले जानेको मनोवैज्ञानिक सिद्धान्तको फेर समातेर कुरा गरेँ । दुई बजे दिउँसो मेरो कार्यकक्षमा बोलाएँ ।

केही बेरमा अभिभावकको फोन आयो । छोरो ढोका खोलेर बाहिर आएको सन्देश दिए । म ढुक्क भएँ ।

नभन्दै दुई बजे ती विद्यार्थी मेरो कार्यकक्षमा आए । उनले भने, ‘सर ! चार विषय लागेपछि मैले बाँच्नुको कुनै अर्थ देखिनँ । विष पनि किनेर ल्याएँ । सुसाइड नोट पनि लेखेँ । सरसँग कुरा नभएको भए शायद मेरो जीवन अन्त्य भइसकेको हुने थियो ।’

मैले उनीसँग जीवन र जगतका धेरै कुरा गरेँ । सकेसम्म सम्झाएँ । आत्महत्या लिखत लिएर भोलि फेरि भेट्न आउन अनुरोध गरेँ ।

भोलिपल्ट पनि उनी आए । आठ पृष्ठको रहेछ आत्महत्या लिखत । त्यो मैले लिएँ । उनी त्यसपछि म कहाँ आएनन् । अभिभावकको कुनै फोन पनि आएन । मैले लिखतको छायाँप्रति र यो घटनाको विवरण उपकुलपतिको कार्यालयमा बुझाएँ ।

प्राध्यापक बडुक्सको आफ्ना अनुयायीसँग अन्तक्र्रिया गर्ने र उनीहरूका गुनासा सुन्ने कार्यशैलीसँग मैले उल्लेख गरेको प्रसङ्ग पनि मेल खान्छ भन्ने मेरो मान्यता छ । विश्वविद्यालको सफल सञ्चालनका लागि यस्ता दृष्टान्तहरू नजिर बन्छन् ।

किन विद्यार्थीहरू अनुत्तीर्ण हुन्छन् ? यो के भर्ना प्रक्रियाको कमजोरी हो ? कि विद्यार्थीले कक्षा कोठामा पढाएको नबुझेको हो ? कि शिक्षकले पढाउन नजानेको हो ? हरेक घटना या दृष्टान्तले यस्ता प्रश्नहरू सिर्जना गर्छ । यिनका उत्तरले मौजुदा पद्धतिमा सुधार गर्न र आगामी कार्यदिशा तय गर्न सहयोग पुर्‍याउँछन् ।

अहिले काविलगायत केही विश्वविद्यालयमा विशिष्ट पदाधिकारीको चयन गर्ने प्रक्रिया सुरु भएको छ । विश्वविद्यालयले राजनीतिक गतिविधि, लागु पदार्थ दुर्व्यसन, परीक्षाकक्ष र कक्षा कोठाका अनियमित कार्य, शैक्षिक संस्थाभित्र हुने अश्लिल क्रियाकलाप आदिमा शून्य सहनशीलताको रणनीति अख्तियार गर्न सक्ने इच्छाशक्ति उम्मेदवारमा हुनै पर्छ ।

आफूलाई योग्य उम्मेदवारको सूचीमा राख्न चाहनेले प्राडा बडुक्सजस्ता देश विदेशका शैक्षिक संस्थाका कार्यकारीहरूको अनुभवबाट ज्ञान लिनु कल्याणकारी हुनेछ भन्नेमा दुई मत नहोला ।

(लेखक काविका पूर्व सहप्राध्यापक हुन् ।)

प्रकाशित मिति : १३ पुस २०७७, सोमबार  ६ : २९ बजे

श्रोत : https://khabarhub.com/2020/28/231278/ 

Monday, August 3, 2026

हात्तिसार क्याम्पसका दिग्गज गुरु


झापाका कर्मवीर समाजसेवी श्रीप्रसाद ओलीको स्मृतिग्रन्थमा गोपाल सङ्ग्रौलाले एक हरफ यसो लेखेका छन्: “उपरोक्त महाभारतीय सुक्तिअनुसार श्रीप्रसाद ओली करोडमा एक हुनुभयो।”

तथ्याङ्कशास्त्रको फेर समात्दा करोडमा एक हुने हिसाब जोकोहीलाई पनि लागू हुन सक्छ। तर, सामाजिक वा राजनीतिक कित्ताको मनोविज्ञानले करोडमा एक हुनु भनेको सामान्य धरातलबाट माथि उठ्नु हो, जसका कारण लाखौँ–करोडौँ मानिसले त्यस पात्रलाई विशेष व्यक्तिका रूपमा चिन्ने गर्छन्।

सङ्ग्रौलाको लेखमा उद्धृत गरिएको यस्ता उदाहरणीय व्यक्तिको लोकप्रियतासँग जोडिएको महाभारतको त्यो श्लोक कालजयी छ:
शतेषु जायते शूरः सहस्रेषु च पण्डितः ।
वक्ता दश सहस्रेषु दाता भवति कोटिषु ॥

अर्थात्, सयमा एक शूर जन्मिन्छ, हजारमा एक मात्र विद्वान् हुन्छ। त्यस्तै, वक्ता भने दश हजारमा एक हुन्छ, तर दाता करोडमा मात्र एक हुन्छ।

उक्त श्लोकमा उल्लेख भएको “दाता” लाई विस्थापित गरी “राजनेता” भन्ने शब्द पनि राख्न सकिएला। किनभने दाता करोडमा एक हुन्छ भने चमत्कारिक नेता पनि करोडमै एक हुन्छ। तर, अहिलेको कालखण्डमा भने श्लोकको मर्म पनि कुण्ठित भएजस्तो लाग्छ, किनभने विपरीतधर्मी संस्कारको हिलोमा चुर्लुम्म डुबेको नेपाल राष्ट्रको वर्तमानमा कमल फुलाउने चमत्कारिक नेता रङ्गमञ्चमा देखिँदैन।

विगतमा भने केही प्रगति नभएको होइन। राजनीतिमा नभए पनि अन्य क्षेत्रमा नारायण गोपाल, तारादेवी, लक्ष्मीप्रसाद देवकोटाजस्ता हस्तीहरूले करोडौँ नेपाली जनताको मन जिते। अहिले सतहमा देखिएका लाखौँ–करोडौँ नेपालीले चिन्ने “नमूना व्यक्तिहरू” मुख्यतया तीन–चार किसिमका पाइएका छन्। पहिलोमा, लोकप्रिय कलाकार, गायक वा चलचित्रका नायक–नायिका पर्छन्। दोस्रोमा, मुलुकको इन्द्रासनमा बसेका नेता वा विशिष्ट पदाधिकारीहरू पर्छन्। प्रसिद्धिको चर्चा गर्दा यहाँ एउटा भद्र सावधानी देखा पर्छ—सर्वसाधारणले चिन्ने करोडमा वा लाखमा एकको पगरी गुँथ्नेहरू अलोकप्रियताको चरमचुलीमै पुगेका पनि हुन सक्छन्। वास्तवमा लोकप्रियलाई माथि उचाल्ने काममा अलोकप्रियको पनि हात हुन्छ। यसैले त रावणले रामको नाम अझ उचो बनाएको छ भने कंसले कृष्णको।

तेस्रो वर्गमा, स्थापित व्यावसायिक घरानाका सञ्चालक पर्छन् भने चौथोमा असल कर्म गरेर आफ्ना अनुयायी वा शुभेच्छुकहरूको मनमा बस्न सफल व्यक्तिहरू हुन्।

गुरु जगतबहादुर के. सी. लोकप्रियताको कसीमा चौथो वर्गमा पर्नुहुन्छ भन्ने मेरो मान्यता छ। धरान उप–महानगरपालिकाका प्रसिद्ध तीर्थस्थल दन्तकाली, बुढासुब्बा र पिण्डेश्वर पुग्ने सडक किनारमा अवस्थित हालको केन्द्रीय प्रविधि क्याम्पस (तात्कालीन विज्ञान तथा प्रविधि अध्ययन संस्थान) लाई जनजिब्रोले अहिले पनि “हात्तिसार क्याम्पस” भन्छ। जगत गुरुका छत्रछायाँमा दीक्षित भएका विद्यार्थीहरू उनलाई हात्तिसार क्याम्पसका “हीरा” नै मान्छन् भन्ने मलाई लाग्छ।

त्यस अध्ययन संस्थानबाट खाद्य प्रविधिमा स्नातक तहको अध्ययन गर्दा आफूले जगत सरको नेतृत्व कौशललाई नजिकबाट नियालेको बताउँछन्—सिंहबहादुर खड्का। आफूलाई जगत सरको एक अनुयायीका रूपमा चिनाउँदै उनी भन्छन्: “मेरो मूल्याङ्कनमा जगत सरका तीन अभूतपूर्व विशेषता थिए। पहिलो, उनी दूरदृष्टि भएका प्रशासक थिए। दोस्रो, उनी विषय विज्ञताका कट्टर समर्थक थिए। तेस्रो, सरोकारवालाको व्यवस्थापनमा उनको क्षमता उच्चकोटिको थियो।”

सिंह मात्र होइन, हात्तिसार क्याम्पसका पूर्वविद्यार्थी वा खाद्य प्रविधिसँग जोडिएका जो कोही पनि जगत सरको नेपालमा खाद्य प्रविधि विधाको विकासमा अतुलनीय योगदान रहेको ठान्छन्। हात्तिसार क्याम्पसको प्रमुख कार्यकारीको सेवा अवधि पूरा गरी उनले केही समयका लागि पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति पदमा बसेर पनि सेवा गरे। यसैगरी, अन्य समकक्षीहरूसँग मिलेर काठमाडौँको वानेश्वरमा अर्को खाद्य प्रविधि क्याम्पसको पनि स्थापना गरे।

सिंहले सरोकारवालासँग समन्वय गर्ने सिलसिलाको एउटा प्रसङ्ग पनि सम्झिए:
“जगतसरमा आफूभन्दा सानो ओहोदाका व्यक्तिलाई पनि नमस्कार गर्ने सभ्य संस्कार थियो। उनी पदमा भएका बेला धरानमा खरेल थरका एक प्रभावशाली ठानेदार थिए। एक दिन जगतसरले उक्त ठानेदारलाई नमस्कार गरेछन्। यो घटनाको हल्ला धरानभर तुरुन्तै फैलियो। केही मानिसहरूले यसलाई नाक खुम्च्याएर खिसिट्युरी गर्ने विषय बनाएछन्।”

नेपाल सरकारको सचिव पदबाट सेवानिवृत्त जीवनप्रभा लामाले जगतसरलाई यसरी सम्झिन पुगिन्:
“उहाँ आफ्नो जिम्मेवारी पूरा गर्न दृढ संकल्पका साथ काम गर्नुहुन्थ्यो। कुनै पनि कार्य अधुरो नछोड्ने उहाँको प्रवृत्ति थियो।”

लामाले भनेजस्तै, शैक्षिक संस्थाहरूका साथै नेपालका खाद्य वैज्ञानिक र प्राविधिकहरू जोडिएको संस्था ‘नेफोस्टा’ को स्थापना र सञ्चालनमा पनि जगतसरको महत्त्वपूर्ण भूमिका रहेको थियो।

लगभग ५० वर्षअघिको जगतसरले पढाएको कक्षा सम्झँदै रत्नकुमार श्रेष्ठ र गणेश दवाडीले एकै किसिमको मूल्याङ्कन गरे:
 

“उहाँले हामीलाई आई.टेक. (हालको कक्षा १२) मा रसायनशास्त्र पढाउनुहुन्थ्यो। सैद्धान्तिक व्याख्या गर्दा चुरो समातेर विषयवस्तुसँग जोडिएका व्यावहारिक ज्ञान पनि दिन सक्ने चमत्कारिक क्षमता थियो जगतसरमा। उहाँ कक्षाबाहिर पनि विद्यार्थीहरूसँग घुलमिल गर्दै हल्का स्नायुमा कुराकानी गर्नुहुन्थ्यो।”

त्रिभुवन विश्वविद्यालयबाट रसायनशास्त्रमा स्नातकोत्तर तहको दोस्रो शैक्षिक उपाधि हासिल गरेका जगतसरले आफ्नो कर्मक्षेत्र भने खाद्य प्रविधिलाई बनाए। उनले तेस्रो शैक्षिक उपाधिका रूपमा बेलायतबाट खाद्य प्रविधिमा अर्को स्नातकोत्तर डिग्री लिए। यसकारण, उनको कक्षामा रसायनशास्त्रको सैद्धान्तिक ज्ञानलाई व्यावहारिक पक्षसँग जोड्ने सेतुहरूका बारेमा यथेष्ट चर्चा हुने गथ्र्यो। अधिकांश शिक्षकहरू कक्षामा कोरा सिद्धान्त फलाक्ने काम मात्र गर्छन्। कतिपयले ती सिद्धान्तको अन्तर्य नै बुझेका हुँदैनन्। उनीहरूमा व्यावहारिक पक्षसँग जोड्ने प्रभावकारी शिक्षणको यो कला हुँदैन। खास गरी भौतिकशास्त्र वा रसायनशास्त्रजस्ता विषयहरू विज्ञानका आधारभूत सिद्धान्तले ओतप्रोत भएका हुन्छन्, तर शिक्षकहरू यी विषयहरू कक्षामा पढाउँदा सूत्र प्रयोग गरी जाँचमा सोधिने प्रश्नहरूको जवाफ लेख्ने तरिका मात्र सिकाउन जान्दछन्। ‘घोकेर परीक्षामा ओकल्ने’ यो कुसंस्कारको मानसिक ढुवानी गर्ने परम्पराले हाम्रो शिक्षा क्षेत्र जकडिएको छ। मूर्तिभञ्जक भएर यो विपरीतधर्मी संस्कारलाई तोड्ने शिक्षकहरूलाई सम्मानको दोसल्ला मात्र ओडाइँदैन, उनीहरूले “गुरु” को दर्जा पनि पाउँछन्।

यथास्थितिलाई चिर्ने वा क्रान्तिकारी कदम चाल्ने जगतसरजस्ता व्यक्तिहरू आलोचनाको पात्र वा अराजक भीडको शिकार पनि बन्न पुग्छन्। जगतसर हात्तिसार क्याम्पसको प्रमुख भएका बेला केही यस्तै घटनाहरू भए।

स्नातक तहका विद्यार्थीहरूले जगतसरको खाद्य गुणस्तरको कक्षा बहिष्कार गरे। उनीहरूको आरोप थियो—‘युरोप र बेलायतका फोस्रा गफ दिएर पढाएको तरिका हामीलाई मान्य छैन।’
यो बहिष्कारको पृष्ठभूमिमा त्यसबेलाको राजनीतिक गतिविधिमा लागेका केही विद्यार्थीहरूको हात थियो। क्याम्पस प्रशासनकै हैसियतमा स्वतन्त्र विद्यार्थी युनियन वा विद्यार्थी संगठनहरूका समानान्तर सत्ताहरू चलाइन्थे। युनियन वा संगठनका पदाधिकारी आफूलाई क्याम्पसका प्रशासक सरह ठान्थे। “कहिँ नभएको जात्रा हाँडिगाउँ” मा भनेजस्तो नेपालका कलेज र विश्वविद्यालयमा लागेको यो महामारी रोग अहिले पनि उत्तिकै मात्रामा सर्वत्र छ, व्याप्त छ।

भारतका पूर्व राष्ट्रपति अब्दुल जे. कालमका कालजयी महान् वाणीहरू छन्—विद्यार्थीहरूसँग जोडिएको एउटा भनाइ विशेष छ:
“कहिलेकाहीँ कक्षा छाडेर साथीहरूसँग रमाइलो गर्नु राम्रो हो, किनभने अहिले पछाडि फर्केर हेर्दा मार्कसिटको नम्बरले हाँसो सिर्जना गर्दैन, तर विशेष यादगारहरूले गर्छन्।”

वि.सं. २०३० को दशकमा खुलेको हात्तिसार क्याम्पसमा आरम्भमा खाद्य प्रविधिमा प्रमाणपत्र (आई.टेक.) को पढाइ हुन्थ्यो। ४० को दशकमा आइपुग्दा आई.टेक. लाई हटाएर विज्ञान विषयको प्रमाणपत्र तह (आई.एस्सी.) र खाद्य प्रविधिमा स्नातक (बी.टेक.) तहका कक्षाहरू सञ्चालन गरिए। कालमले भनेका रुखा हाँसो नउमार्ने शैक्षिक उपलब्धि यिनै डिग्री प्राप्ति थिए।

तर, यसको विपरीत जगतसर क्याम्पस प्रमुख भएका बेला हात्तिसार क्याम्पसबाट आई.एस्सी. वा बी.टेक. गरेका पूर्वविद्यार्थीहरूलाई क्याम्पस जीवनका विशेष यादगारहरू के होलान् भनेर सोधियो भने यस्ता उत्तर आउँछन् भन्ने मेरो अनुमान छ:

- गणेश टाकीज र शिव सिनेमा हलमा भर्खरै रिलिज भएका हिन्दी सिनेमाहरू हेर्नका लागि हिरो शैलीमा मान्छेका टाउकामाथि लम्पसार परेर टिकट काटेको क्षण।

- गणेश टाकीज र शिव सिनेमा हलमा भर्खरै रिलिज भएका हिन्दी सिनेमाहरू हेर्नका लागि हिरो शैलीमा मान्छेका टाउकामाथि लम्पसार परेर टिकट काटेको क्षण।

-  कक्षा छाडेर साथीहरूसँग पञ्चकन्या वा भेडेटार घुम्न गएको क्षण।

-  कक्षा छाडेर साथीहरूसँग जुलुसमा भाग लिन गएपछि दालमोठ र चिउरा पानीसँग खाएको क्षण।
- महेन्द्र बहुमुखी क्याम्पसमा ढुङ्गा भेला पारेर प्रहरीको पर्खाइमा बिताएको रात।

-  प्रहरीले समातेर ठानामा लगेर कोचेपछि क्याम्पस प्रमुखको जमानीमा छुटेको क्षण।
-  क्याम्पस प्रमुख जगतबहादुर के. सी. लाई कार्यालयमै थुनेर धर्ना बसेको क्षण।
- मान्छे ढाल्ने अभ्यासका लागि बोरामा बालुवा भरेर बक्सिङ हान्ने अभ्यास गरेको क्षण।

- विद्यार्थी–विद्यार्थीबीच हानाहान गरेर घाइते भएका साथीभाइलाई अस्पताल पुर्याएको क्षण।

- एउटा झुण्ड दगाउने युवाको समूह एकाएक क्याम्पसको हातामा प्रवेश गरी रसायनशास्त्रको प्रयोगात्मक कक्षामा पुगेर त्यहाँ सेतो एप्रोन लगाएर काम गर्न तल्लीन विद्यार्थीलाई भकाभक भकुरेको क्षण।

भारतका पूर्व राष्ट्रपतिले दिएको सन्देशमा आनन्ददायी र सार्थक यादहरूलाई शैक्षिक उपलब्धिभन्दा बढी महत्त्व दिएका छन्। तर, त्यसको मर्म विपरीत माथि उल्लेख गरिएकाजस्ता नेपालका कलेज र विश्वविद्यालयका अधिकांश विद्यार्थीका यादगार राजनीतिले ओतप्रोत भएका अराजक र हिंस्रक गतिविधिहरूसँग जोडिएका छन्।

त्यसबेला राजनीतिक जुलुसमा सहभागी हुने, प्रहरीमाथि ढुङ्गा हान्ने, विद्यार्थी संगठनहरूबीच आपसमा हानाहान र झडप हुने, शैक्षिक संस्थाका प्रमुखहरूलाई कार्यालयमै कैद गर्नेजस्ता घटनाहरू घटे। विराटनगर लगायत केही ठाउँमा केही विद्यार्थी हताहत पनि भए। यस क्रममा धेरै विद्यार्थी घाइते भए भने कतिका अङ्गभङ्ग भए।

जगतसर लगायत त्यसबेलाका अन्य प्रशासकहरूका लागि पहाड बनेर उभिएको चुनौती भनेको विद्यार्थीहरूले स्वामित्व लिएका यी विपरीतधर्मी संस्कारहरूका बाबजुद प्राज्ञिक उन्नयनमा योगदान दिनु रहेको थियो।

उनी विद्यार्थीलाई भन्ने गर्थे: “कोठे राजनीति नगर, विदेश जाऊ, छात्रवृत्तिमा पढ।”

हात्तिसार क्याम्पसका उत्पादनले देश–विदेशमा गएर ठूलो व्यक्तिगत प्रगति गरेका छन्। कतिले विद्यावारिधि गरेका छन्, कति अन्तर्राष्ट्रिय सङ्घ–संस्थामा काम गर्छन्, कति व्यावसायिक घरानाका कार्यकारी भएका छन्। तर, हात्तिसार क्याम्पसको पुरानो नाम ‘विज्ञान तथा प्रविधि अध्ययन संस्थान’ को साखलाई चरितार्थ गर्ने गरी मुलुकले विज्ञान र प्रविधिको विकासमा फड्को मार्न सकेको छैन।

यथास्थितिको पद्धतिमा दोष देख्ने अथवा सनातनी कर्ममा अकर्म देख्ने मान्छेका बारेमा श्रीमद्भागवत गीताले रोचक प्रसङ्ग उल्लेख गरेको छ:
कर्मण्यकर्म यः पश्येदकर्मणि च कर्म यः ।
स बुद्धिमान्मनुष्येषु स युक्तः कृत्स्नकर्मकृत् ॥ १८ ॥
— गीता (४/१८)
यसको अर्थ हुन्छ—जसले कर्ममा अकर्म र अकर्ममा कर्म देख्छ, त्यो सबैभन्दा बुद्धिमान् हो। त्यस्तो व्यक्ति सबै किसिमका कर्ममा सङ्लग्न भएर पनि दिव्य अवस्थामा रहेको हुन्छ।

जगतसरमा विद्यार्थीको कर्ममा पनि अकर्म देख्न सक्ने क्षमता थियो। शिक्षा क्षेत्रमा विद्यमान जडतालाई पहिचान गर्ने ताकत थियो। मूर्तिभञ्जक बन्ने साहस थियो।

यसैले, हात्तिसार क्याम्पसका यी दिग्गज गुरुलाई एक प्रश्न सोध्न मन लागेको छ:
“तपाईंको पेशागत जीवनमा, र खास गरी क्याम्पस प्रमुख भएर शैक्षिक प्रशासन चलाउँदा, विद्यार्थी, शिक्षक र प्रशासकको ऊर्जा तात्कालीन अवस्थामा विद्यमान अशैक्षिक गतिविधिमा खर्च नगरी केवल प्राज्ञिक उन्नयनमा मात्र केन्द्रित गर्न सकेको भए, आज हात्तिसार क्याम्पसको र समग्र मुलुकको अवस्था कस्तो हुन्थ्यो होला?”

भदौ ०२, २०८२
कोटेश्वर, काठमाडौँ
साभार : द्रष्टाका दृष्टिमा प्रा. जगतबहादुर केसी

Friday, July 12, 2024

एक इन्जिनियर पाँचवटा उपसमूहमा कसरी उत्तीर्ण भए !

युवावयको उत्तरार्द्धमा पुगेर पनि अध्ययनको हुटहुटी भएका एक हितैषी छन्। उनी अहिले त्रिभुवन विश्वविद्यालयमा दर्शनाचार्य अर्थात् एमफिल तहमा अध्ययनरत छन्। एक दिन हाम्रो कुराकानीमा कुनै प्राध्यापक किन अतिसार पूर्वाग्रही हुन्छन् भन्ने विषयले प्रवेश पायो।

'हामीलाई पढाउने एक प्राध्यापक त कक्षामा गयल हुनेलाई उपस्थित र उपस्थित हुनेलाई गयल समेत गर्न भ्याउनुहुन्छ।'

'किन यसो गर्नु हुन्छ होला?' 

मेरो प्रश्न स्वाभाविक थियो।

'यसो गर्दा राजदूत वा अन्य कुनै पदमा नियुक्त हुने आधार बन्न सक्छ भन्ने उहाँको मान्यता छ।' 

'राजनीतिक आस्थाका आधारमा विद्यार्थीको मूल्यांकन गर्ने कुप्रथा नेपालबाहेक अन्यत्र नहोला। नेपालमा पनि यो कालखण्ड अघि यस्तो अतिशय स्थिति त थिएन होला।'

मैले अनुभव सुनाउँदै गर्दा मेरो सरस्वती साधनाको अतीत स्मरण भयो। मैले स्नातक तह पढेको 'बिरला इन्स्टिच्युट अफ टेक्नोलोजी' होस् या विद्यावारिधि गरेको थाइल्यान्डको 'एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी', राजनीतिको फेर समातेर विद्यार्थीको मूल्यांकन गरेको थाहा भएन।

म अनुसन्धान र अध्यापनमा संलग्न भएका जापानको 'टोकियो विश्वविद्यालय' वा 'चीनको चुंह्वा सेनजेन इन्टरनेसनल ग्राजुएट स्कुल' को त कुरा नै अलग्ग छ।

'कुनकुन कारणले कुनै प्राध्यापक वा शिक्षक पूर्वाग्रही हुन सक्छ?' यो विषय हाम्रो छलफलको रंगमञ्चमा वैशाख–जेठको रापिलो घामझैं उदायो।

अहिले कुनै कलेजको वा विश्वविद्यालयको कक्षामा विद्यार्थी एमाले, कांग्रेस वा माओवादीको भ्रातृसंगठनको नाइके वा अनुयायी हुन सक्छ। प्राध्यापक पनि यिनै दलको नुन खाने कुनै अमुक प्राध्यापक संघसंगठनको सदस्य हुन सक्छ।

यसो भएपछि आफ्नो चुम्बकीय ध्रुव नमिल्ने विद्यार्थी पर्‍यो भने शिक्षक ऊप्रति पूर्वाग्राही हुन सक्ने सम्भावना रहन्छ। 

पूर्वाग्रही हुने दोस्रो कारण हुन सक्छ लैंगिकता। पुरूष शिक्षकले छात्रालाई वा महिला प्राध्यापकले छात्रलाई पूर्वाग्रही नजरले हेर्न सक्छन्। 

हाम्रो समाजमा अविवाहित शिक्षकले विद्यार्थीमध्येको कसैलाई जीवनसाथी नै बनाएका उदाहरणहरू छन्। यस्तो परिस्थितिमा परीक्षक भएर मूल्यांकन गर्दा लैंगिक अवस्थाका आधारमा पूर्वाग्रही हुनु सामान्य ठहर्ला।

अझ कक्षामा प्रतिष्ठित राजकुमारी वा नेपाल सुन्दरी भएमा एक पुरूष प्रशिक्षकले पूर्वाग्रही हुनबाट आफूलाई मुश्किलले जोगाउन सक्ला।

तेस्रो कारण परीक्षकको तत्कालीन मनस्थितिसँग जोडिएको हुन्छ। मानौं, परीक्षकले मूल्यांकन गर्दा हस्तलिपि राम्रो भएका र प्रस्तुति पनि राम्रो भएका पाँच–छ वटा उत्तरपुस्तिका लहरै जाँच्यो। त्यसपछि एकाएक हस्तलिपि प्रष्ट नभएको र प्रस्तुति पनि निम्छरो रहेको उत्तरपुस्तिका आयो भने परीक्षक पूर्वाग्रही बन्न सक्छ।

यस्तै, निम्छरो प्रस्तुति रहेको क्रमलाई उत्कृष्ट प्रस्तुतिले क्रमभंग गर्‍यो भने पनि परीक्षकको पूर्वाग्रह सतहमा आउन सक्छ।

नोबेल पुरस्कार विजेता डेनियल कानेम्यानले 'किन कोही पूर्वाग्रही हुन्छ' भन्ने प्रश्नको उत्तर 'हेलो असर' सँग जोडेर दिएका छन्। यो असरले मूल्यांकनकर्ताको मस्तिष्कमा गहिरो छाप छाडेको पूर्वअनुभवले पछि आउने निर्णयलाई निर्देशित गर्छ।

डेनियलले उत्तरपुस्तिका जाँच गर्दाको आफ्नै अनुभव लिपिबद्ध गरेका छन्। कुनै विद्यार्थीले पहिलो प्रश्नको उत्तर उत्कृष्ट लेख्यो, त्यसमा उसले अंक पनि उत्कृष्ट पायो। दोस्रो प्रश्नको उत्तर सामान्य वा क्लिष्ट भए पनि परीक्षकको मस्तिष्कमा पहिलो प्रश्नको छापले दोस्रोमा पनि राम्रै अंक पाउने सम्भावना प्रबल रहन्छ रे।

यस विपरीत कुनै विद्यार्थीले पहिलो प्रश्नको उत्तरमा कम अंक पायो भने राम्रै लेखेको भए पनि दोस्रोमा 'हेलो असर' का कारण मूल्यांकन पूर्वाग्रही हुने सम्भावना प्रबल रहन्छ भन्ने व्याख्या डेनियलको छ। 

यस्तो समस्या समाधान गर्न र आफूलाई पूर्वाग्रहबाट जोगाउन डेनियलले नयाँ तरिका प्रयोग गरेछन्। सर्वप्रथम सबै विद्यार्थीको पहिलो प्रश्नको उत्तर जाँच गर्ने। यो काम सकिएपछि सबैको दोस्रो उत्तर जाँच गर्ने। यस्तो तरिकामा उनले आफ्नो पूर्वाग्रही मनोविज्ञान हाबी हुनबाट धेरै हदसम्म जोगिन सकेको व्यहोरा उल्लेख गरेका छन्।

डेनियलले सुझाएजस्तो विश्लेषणको तहमा पुग्न त हामीलाई अझै धेरै समय लाग्ला। अध्यापन र मूल्यांकनमा हाम्रो वर्तमान तरल अवस्थामा छ। त्यसमा पनि प्राविधिक विषयहरूको शिक्षण–सिकाइको अवस्था नाजुक छ।

म विज्ञान, गणित र इन्जिनियरिङ विषयको शिक्षण–सिकाइमा सानैदेखि अभिरूचि राख्थेँ। मलाई सरस्वती देवीको कृपा भयो। पूर्वोत्तर मोरङको राधिका माध्यमिक विद्यालयमा ४ देखि १० कक्षा सम्म पढ्दा मैले 'फर्स्ट ब्वाइ' उपाधि निरन्तर कायम राखेँ।

मेरा दौंतरीहरूलाई गणित सिकाउँथे। ज्यामिति त मलाई कण्ठै हुन्थ्यो। आईएससीको परीक्षा दिएपछि मैले मेरो विद्यालयकै समीपको सनपकुवा माविमा कक्षा १० का विद्यार्थीलाई विज्ञान पढाएँ। 

काठमाडौं आएर भानुभक्त मेमोरियल माविमा पनि अंग्रेजी माध्यमको विज्ञान पढाएँ। स्नातक तहको पढाइपछि म इन्जिनियरिङ विषय पढाउन थालेँ।

काठमाडौं विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा सहप्राध्यापक भएर सात वर्ष पढाएँ। परामर्शदाताको भूमिकामा दुई दशकभन्दा बढी समय विभिन्न इन्जिनियरिङ परियोजनाहरूमा काम गरेँ।

यो अनुभवले मलाई अध्यापनका सम्बन्धमा पूर्वाग्रही र एकांकी पनि बनाएको हुन सक्छ। मैले विज्ञान होस् वा गणित वा इन्जिनियरिङ, शिक्षण–सिकाइको एक मौलिक सिद्धान्त बनाएँ।

सिद्धान्त यस्तो छ– जबसम्म सिद्धान्तलाई प्रयोगात्मक तरिकाले व्याख्या गरिँदैन र विद्यार्थीलाई उपयुक्त अभ्यास गराइँदैन तबसम्म चुरो कुरो बुझ्दैनन्। यसो भएपछि उनीहरू कालान्तरमा परीक्षामा मात्र नभई जीवनमा समेत असफल हुने सम्भावना रहन्छ। 

एक-दुई घटनाले मेरो जीवनभरको यो कमाइमा तुषारापात भएको अनुभव गरेको छु। केही समयअघि म इन्जिनियरिङ विषय पढाइ हुने एक निजी कलेजमा पढाउँथें। कक्षामा विद्यार्थीको नाम बोलाएर प्रश्न सोध्थेँ। कतिपय अभ्यास विद्यार्थीलाई कक्षामै गराउँथेँ। पाठ्यपुस्तकभन्दा बढी व्यवहारमा प्रयोग हुने निर्देशिका वा म्यानुअल प्रयोग गर्थेँ।

इन्जिनियरिङ पढाइको चौथो वर्षमा पुग्दासम्म सामान्य नक्सा पनि नबुझ्ने र लागत अनुमान गर्न नसक्ने हैसियतका विद्यार्थीलाई छोटो समयमा उदाहरणहरूले कुरा बुझाउँथेँ।

एक दिन म एकाएक छाँगाबाट खसेँ जब कक्षा संयोजकले फोन गरेर नौलो सन्देश दिए।

सन्देश यस्तो थियो– सरले विद्यार्थीलाई परीक्षा उत्तीर्ण गर्ने किसिमले पढाउनु भएन भन्ने गुनासो छ। 

'मलाई त्यस्तो लाग्दैन। मैले त उनीहरूलाई जीवनमै उत्तीर्ण हुने किसिमले पढाउने कोशिस गरेको छु। इन्जिनियरिङ विषयको आधारभूत ज्ञान नभई उनीहरू व्यावसायिक जीवनमा कसरी सफल होलान्!'

'यो निजी कलेज हो सर। यहाँको प्राथमिकता विद्यार्थीको सजिलो हेर्ने हो। उनीहरूको गुनासो प्रशासनले नकार्न सक्दैन।'

म विद्यार्थीलाई तराईमा व्यापक प्रयोग हुने चापाकलको उदाहरण दिने गर्छु। धेरै समयसम्म चापाकल बिग्रिएन, वासर फुस्किएन वा मक्किएन भने त्यसको माथिल्लो भागमा खिया पर्छ। खिया परेका नट र बोल्ट खोल्न सकस हुन्छ। रेन्च र नट ट्वाक्क मिल्नुपर्छ नत्र खोल्न सकिन्न।

आपत त्यस बेला पर्छ, जब खिया लागेको नटमा अलि जोड लगाउँदा रेन्चको सतह नै खिइन्छ। यसलाई जनजिब्रोले 'खिया लागेको नटले रेन्चको गुना खायो' भन्छ। 

निजी कलेजमा मेरो पनि रेन्चको गुना नटले खाएजस्तो भयो। मैले नट खोल्न सकिनँ अर्थात् सेमेस्टर पूरा गर्न सकिनँ। मलाई पढाउन आउनुहोला भन्ने फोन आएन। म असफल शिक्षक भएर निस्किएँ। 

विद्यार्थी मूल्यांकनमा मूर्तिभञ्जन गर्ने (यथास्थिति चिर्ने) मेरो सिद्धान्त छ।

सिद्धान्त यस्तो छ– विद्यार्थीले लेखेको मिलेको छैन, प्रश्न एकातिर छ, उत्तर अर्कोतिर तर शिक्षक पूर्वाग्रही भएर उसलाई उत्तीर्ण गरायो भने विद्यार्थी त उम्किएला तर शिक्षक सदाका लागि अनुत्तीर्ण हुन्छ।

मेरो यो दोस्रो सिद्धान्त पनि कहिलेकाहीँ एम्बुसमा परेको आभास भएको छ।

हालसालैको प्रसंग हो। त्रिभुवन विश्वविद्यालमा विद्यावारिधि तहका विद्यार्थीलाई 'विज्ञान र प्रविधिको दर्शनशास्त्र' विषय पढाउँदा मैले अक्षरशिरोमणि मदनमणि दीक्षितले लेखेको निम्न अनुच्छेद साभार गरेँ। 

'गणित र प्रकृति विज्ञानमा मात्र निर्द्वन्द्वता र समीचिनता प्राप्त गर्न सकिँदो हो, चिन्तन र दर्शनमा त्यस्ता निर्द्वन्द्वता प्राप्त गर्न सकिन्न। मानिस गणित होइन। मेरो चिन्तनमा अस्पष्टता र अन्योल मेरो परिचय हो जसलाई लुकाउन वा नलेख्न आवश्यक देखिएन।'

एक विद्यार्थीले हात उठाए। उनको जिज्ञासा मैले स्वीकार गरेँ।

उनले भने– मानिस गणित हो किनभने ऊ बिहानदेखि बेलुकासम्म गणितको प्रयोग गर्छ।

मैले प्रत्युत्तरमा भनेँ– म तपाईं र दीक्षित दुबैको तर्कमा असहमत हुन सक्दिनँ किनभने यो दर्शनशास्त्रको कक्षा हो।

कक्षाका अधिकांश विद्यार्थी मुस्कुराए। 

यसमै लामो चर्चा गर्ने समय थिएन तर केही दिनपछि तिनै विद्यार्थीसँग अर्को प्रसंग आयो। आन्तरिक परीक्षामा उनी लगायत केही विद्यार्थीलाई मैले शून्य अंक दिएँ।

सायद इन्जिनियरिङ विषयको अध्ययन–अध्यापन गर्ने भएर होला मेरो ब्रह्मले कतिपय अवस्थामा डिजिटल अंक अर्थात् शून्य र एक मात्र देख्छ, लेखेको मिलेमा शतप्रतिशत अंक अन्यथा शून्य।

विज्ञान वा इन्जिनियरिङमा साहित्यको लेखेजस्तो असान्दर्भिक वा अपूरो कथा लेखेर अंक प्राप्त हुँदैन।

शून्य र एकको यो शास्त्रले अनौठो परिदृश्य सिर्जना गर्‍यो। तर्क गर्ने ती विद्यार्थीका समकक्षीहरू सहभागी रहेको सामाजिक सञ्जालको एक समूहमा तिनले लेखे– शून्य अंक पाउने म अनुत्तीर्ण भएको हैन, अनुत्तीर्ण त ती शिक्षक हुन् जसले मलाई शून्य अंक दिए।

ती विद्यार्थीले मलाई पूर्वाग्रही र असफल शिक्षक भन्ने आरोप लगाए पनि लोकसेवा आयोगका एक माननीय सदस्यले मेरो तर्कमा सही थपे– इन्जिनियरिङ जस्तो तर्कशास्त्रको फेरो समात्ने विषयमा अनुच्छेद लेख्ने वा आफ्नो धारणा लेख्ने प्रश्नपत्रले परीक्षार्थीको मूल्यांकन हुँदैन।

नेपाल सरकारको लोकसेवा आयोगले सिभिल इन्जिनियरिङ सेवामा विभिन्न उपसमूहहरू बनाएको छ। माननीय सदस्यका अनुसार एक परीक्षार्थीले हाइवे, स्यानिटरी, इरिगेसन, हाइड्रोलोजी र बिल्डिङ एन्ड आर्किटेक्ट गरी पाँचवटै उपसमूहको लिखितमा नाम निकालेछन्।

माननीयलाई आश्चर्य लागेछ, कुनै एक उम्मेदवारले कसरी यो चमत्कारी काम गर्न सक्छ!

माननीयसँग मेरो अन्तक्रिया यही विषयमा भयो।

हाम्रो निचोड निस्कियो– हामीले इन्जिनियरिङको सट्टा इन्जिनियरिङ साहित्यको परीक्षा लिइरहेका छौं। यसकारण यो चमत्कार हुन सम्भव छ। 

नियतिले सायद नीतिनिर्मातालाई पनि पूर्वाग्रही बनाएको छ। राजनीतिक वा अन्य कुनै पूर्वाग्रहका आडमा केही पनि नजानेको र विषयवस्तुको ज्ञान नै नभएको विद्यार्थीलाई उत्तीर्ण गराउनु वा काखी च्याप्नु शिक्षकले आफू भित्रकी सरस्वती देवीको अपमान गर्नु हो।

शास्त्रीय मान्यताअनुसार यसो गर्नेलाई पीडितको श्राप लाग्छ। आजको पुस्तालाई यो मान्यता मान्य छैन। यो पुस्ताले त भन्ला– यस्तो तर्क गर्ने शिक्षक वर्तमान नबुझेर शास्त्रपरम्पराको आड लिने पूर्वाग्रही हुन्।

सेतोपाटी 

आषाढ १६, २०८०

Monday, May 20, 2024

नेपालको अर्थतन्त्रमा “आधा आकाश”

नेपालका लागि पाकिस्तानी राजदूत अब्रार यच हासमीले केही दिनअघि नेपालको एक राष्ट्रिय दैनिकलाई दिएको अन्तर्वार्तामा भनेका थिए नेपालको एक उत्कृष्ट पक्ष भनेको महिला सहभागिता हो, जुन दक्षिण एसियामै सबैभन्दा बढी छ

कसैले तर्क गरेर दक्षिण एसियाका मुलुकहरूमा पाकिस्तान, बङ्गालादेश र मालदिब्सको जनसङ्ख्यामा मुस्लिम समुदायको बाहुल्य भएको हुनाले यी देश भन्दा नेपाल त्यसै माथि हुने भयो भन्न सक्लान् किनभने, फ्रान्स या अस्ट्रेलिया जस्ता विकसित मुलुकमा बसोबास गर्ने मुस्लिम समुदायले समेत अझै पनि आफ्ना परम्परागत मान्यतालाई छाडेका छैनन् । ती समुदायमा महिला कामकाजी भन्दा घरकाजी बढी छन् । तर, दक्षिण एसियामा पर्ने अन्य मुलुक भारतमा हिन्दु बहुसङ्ख्यक छन् भने श्रीलङ्कामा बुद्ध धर्मावलम्बीहरू । यसकारण यी मुलुकसँगको तुलना गर्दा पनि नेपालको स्थान अघि हुनु हाम्रा लागि गर्वको विषय हो ।

सन् २०१८ तिर यो पङ्क्तिकार काठमाडौँ विश्वविद्यालयमा प्राध्यापन गर्दथ्यो । उसको र आगन्तुक प्राध्यापक सूर्यमान शाक्यको अगुवाइमा स्नातकोत्तर तहमा अध्ययन गर्ने ६ जना विद्यार्थी सहित ८ जनाको टोली अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन भारतको हैदरावाद पुगेको थियो । समूहमा दुई छात्रा पनि थिए । सम्मेलनको रात्री भोज हैदराबाद सहरको एक पार्टी प्यालेसमा आयोजना गरिएको थियो । लगभग २०० को हाराहारीमा उपस्थित विभिन्न देशबाट आएका अतिथिलाई सेवा दिन ३५ जना जति कर्मचारीको टोली सक्रिय थियो । टोलीमा दुई जना मात्र युवती थिए, जो मङ्‌गोलियन मूलका जस्ता देखिन्थे । नेपाली टोलीले उनीहरूलाई नेपाली मूलकी चेली ठानेर सोधे

बहिनीहरू नेपालबाट हो ?

उनीहरूले नेपाली बोलेनन्, अङ्ग्रेजीमा जवाफ फर्काए ।

वी आर नट फ्रम नेपाल ।

उनीहरू भारतको उत्तरपूर्वी राज्य मनिपुरका बासिन्दा रहेछन् । उनीहरू कामकै लागि हैदरावाद आएका । सेवाप्रदायक टोलीका पुरुषहरू भने हैदरावादकै स्थानीय जस्ता देखिन्थे । आर्थिक विकासको द्रुत गतिमा हिँडिरहेको भारतमा महिला सहभागिताको यो नगण्य उपस्थिति देखेर नेपाली टोली आश्चर्यचकित भएको थियो । कुल जनसङ्ख्याको एक तिहाई मात्र मुस्लिम जनसङ्ख्या रहेको हैदराबादमा देखिएको एक प्रतिनिधि उदाहरणले पनि समग्र भारतको भन्दा नेपालको स्थिति राम्रो देखायो ।  

नेपालमा अहिले च्याउ झैँ उम्रिएका होटेल, कफी सप र रेष्टुरेन्टहरूमा महिला सहभागिता उच्च रहेको त्यहाँ सेवा लिन जाने जो कोहीले पनि अनुभूति गरेको हुनुपर्छ । काठमाडौँमा ५ वटा शाखा रहेको र बुटवल लगायत नेपालका प्रमुख सहरहरूमा विस्तार गर्ने क्रममा रहेको हाइल्यान्ड विन कफी का सञ्चालक अर्जुन क्षेत्रीका अनुसार उनका लगभग ५० जना कर्मचारी मध्ये ५० प्रतिशत भन्दा बढी महिला रहेका छन् । यस्तै कफीलाई आधार बनाएको चेन रेष्टुरेन्ट हिमालयन जाभा कफीका नेपालमा ५० वटा भन्दा बढी शाखा रहेका छन् । त्यहाँ पनि लगभग ६०० को हाराहारीका कर्मचारीमध्ये आधा सङ्ख्या महिलाको नै रहेको पाइयो ।

कफी पसल वा रेष्टुरेन्ट र ठुला होटेलहरूको सञ्चालनमा केही ताŒिवक भिन्नता हुन्छ । उदाहरणको लागि होटेलहरू रात्रीकालीन समयमा पनि सन्चालन हुन्छन् । रेष्टुरेन्टहरू प्रायः दिउँसो मात्र सञ्चालन हुने भएकाले महिलालाई तुलनात्मक रूपमा काम गर्न सजिलो छ । यही भएर होला सोल्टी लगायतका अन्य तारे होटलमा महिला कामदारको सङ्ख्या कफी सप र रेष्टुरेन्टका तुलनामा अलि कम पाइयो । तर पनि, होटेलमा महिलाले काम गर्ने विषयलाई गर्व र गौरवको दृष्टिकोणले नहेर्ने इतिहास भएको हाम्रो समाजमा होटेल व्यवसायमा समेत महिलाको सहभागिता ३०४० प्रतिशतको हाराहारीमा हुनु राम्रो सङ्केत हो ।  

सन २०१९ मा विश्वविख्यात पत्रिका दि इकोनोमिस्ट ले भियतनामका महिला कामदारको विषयमा आधा आकाश भन्दा बढी शीर्षक राखेर एक आलेख छापेको थियो । लेखका अनुसार समग्र भियतनाममा १५ देखि ६४ वर्ष उमेर समूहका कामकाजी महिलाको सङ्ख्या ७९ प्रतिशत रहेको थियो । समकक्षी पुरुषको त्यो आँकडा भने ८६ प्रतिशत थियो । भियतनामका आधा आकाश समूहको यो तात्कालीन उपलब्धि ओइसिडी भनेर समूह बनाएका विकसित मुलुकहरू मध्ये आइसल्याण्ड, स्विडेन र स्विटजरल्याण्डबाहेक अरू मुलुकको दाँजोमा उच्च थियो । भियतनामले हासिल गरेको अर्थतन्त्रमा महिला सहभागिताको यो उपलब्धि अहिले संसारमा द्रुत आर्थिक विकासको तहल्का मच्चाएको देश मित्रराष्ट्र चीनको भन्दा पनि १० प्रतिशत प्वाइन्टले बढी थियो । चीन, भियतनाम र नेपाल दुवैको छिमेकी हो ।

महिलालई समाजले हेर्ने दृष्टि, महिला नायकत्वको सिँढीको सिरानमा रहेको तगारो अर्थात् सिसाको सिलिङ तथा घरधन्दा र बालबच्चाको स्याहार गर्ने परिपाटी रुढीवादी शैलीमै व्यापक भए तापनि यो फड्को मार्नुमा भियतनामलाई अन्य मुलुकसँगको लडाईँको दर्दनाक इतिहासले सिकाएको पाठ, कन्फ्युसियस र बुद्ध दर्शनको आन्तरिकीकरण र वर्तमानमा नेतृत्वको चामत्कारिक योगदानलाई प्रमुख मानिएको छ ।

दक्षिण एसिया लगायत विश्वका धेरै मुलुकका तुलनामा भियतनामको जस्तो नभए तापनि नेपालमा पनि अर्थतन्त्रमा महिला सहभागिता ह्वात्तै बढेको छ । प्रश्न उठ्छ, यो कसरी सम्भव भयो होला ?

माथि उल्लिखित भियतनामको जस्तो १५ देखि ६४ वर्ष उमेर समूहलाई नेपालमा पनि अर्थतन्त्रमा योगदान गर्ने सक्रिय समूह मान्न सकिन्छ । वि.सं. २०८० लाई आधारवर्ष मान्दा त्यो उमेर समूहको जनसङ्ख्या वि.सं. २०१७ सालदेखि २०६५ का बिचमा जन्मेको हुन्छ । यस बिषयलाई केन्द्रविन्दु बनाएर केही दिन अघि उठेको अर्को एक प्रसङ्ग यहाँ सान्दर्भिक हुन्छ ।

कोटेश्वर भाटभटेनी सुपरमार्केट नजिकको लक्ष्मीनारायण मन्दिरमा प्रातःकालीन योगसाधना सत्रमा सहभागीहरू बिच यस्तै विषयमा छलफल भयो । साधना सत्रमा १६१७ जनाको उपस्थिति थियो । आधा भन्दा बढी महिला थिए । समूहका सहभागीले नेपालको पूर्वी जिल्ला पाँचथरदेखि पश्चिमको स्याङ्जा जिल्लामा जन्म भई अहिले काठमाडौँमा बसोबास गर्ने पृष्ठभूमि बोकेका थिए । सभामा एक प्रश्न सोधियो

तपाईंले कक्षा ३ कुन विद्यालयमा पढ्नुभयो र प्रवेशिका परीक्षा दिनुभएको भए कति सालमा दिनुभयो ?

यो प्रश्नको उत्तर सबैले दिए । सहभागीले प्रवेशिका परीक्षा दिएको साल २०३४ देखि २०५५ सम्मको पाइयो । यसको अर्थ त्यहाँ वि.सं. २०१७ साल भन्दापछि जन्मेका व्यक्तिहरू थिए । छलफलको रोचक निचोड के निस्कियो भने सहभागी पुरुषहरू सबैले प्रवेशिका परीक्षा उत्तीर्ण गरेका थिए । महिलाहरूमा एक जनाबाहेक अरूले विद्यालय जाने मौका पाएका थिए । केहीले प्रवेशिका परीक्षा उत्तीर्ण गरेका थिए भने केहीले थिएनन् ।  विद्यालय नै जाने मौका नपाएकी ती महिलालाई सोधियो

तपाईँले किन विद्यालय जान पाउनु भएन ?

म परिवारकी जेठी छोरी थिएँ । हामी सन्तान धेरै थियौँ । जेठो छोरो अर्थात् मेरो दाइ र मैले पढ्न पाएनौँ । अरूले पढे ।

तपाईं मोबाइल चलाउन जान्नु हुन्छ ?

उनले स्मार्ट फोन नै देखाइन् । र, आत्मविश्वासका साथ भनिन्

मोबाइल त चलाउँछु ।

तपाईंको फेसबुक खाता पनि छ ?

छ त ।

पञ्चायती शासनको अनेक सीमितता बिच पनि २०१७ सालदेखि २०४६ साल सम्मको पुस्ताले जेनतेन विद्यालय भने जान पाएको देखिन्छ । मुलुकका विभिन्न स्थानमा विद्यालय खोल्ने कार्य राणाशासन कालमै सुरु भए तापनि पञ्चायती व्यवस्थामा त्यसले तीव्रता पायो । निजी विद्यालय थिएनन् । सबै सरकारी विद्यालयमा सरकारले निर्धारण गरेका पाठ्यपुस्तक पढिन्थे । पाठ्यक्रम निर्माण, विद्यालयको गतिविधि र शैक्षिक कार्यक्रमहरूको निरीक्षण हुन्थ्यो । अहिले राजनीतिक होस् या व्यवसायिक, नेतृत्व तहमा पुगेका अधिकांश व्यक्तिहरू त्यही कालखण्डका उपज हुन् । त्यस समयमा महिलाहरूले पनि शिक्षाको अवसर (पुरुषका तुलनामा कम रहेको भए पनि) पाएको हुँदा नेपाली महिलाको अवस्था अन्य केही मुलुकका तुलनामा अग्रगामी नै रहँदै आएको मान्न सकिन्छ । यहाँनेर कुन कुरा चाहिँ सत्य हो भने राज्यले शिक्षामा समान अवसर भने तापनि पिछडिन बाध्य पारिएका समुदायबाट महिलाका निम्ति शिक्षामा लगानी र सहभागिता निकै कम रहन गयो, अहिले आएर यो अवस्थामा माथिल्लो परिणाम आइसकेको छ, धेरै ठाउँमा शिक्षित महिलाको उल्लेख्य उपस्थिति रहनु र समाज परिवर्तनको गतिमा महत्त्वपूर्ण योगदान हुनु नेपाली महिलाको समुन्नत पक्ष रहेको छ ।

महिला साक्षरतासँगै सन्तानको शिक्षामा महिलाको सकारात्मक सोच बढेर गयो । शिक्षित आमाले छोरा र छोरीको भेद नगरी आफ्ना सन्तानलाई पढाउने जिम्मेवारी लिइदिँदा शिक्षामा महिलाको पहुँच बढ्न सहयोग पुर्‌यायो । महिला सशक्तीकरणको एउटा आयाम हुन यो पनि हुनगयो भन्दा दुई मत नहोला ।

अर्थतन्त्रको आकाशमा आधा आकाश ले गर्विलो उपस्थिति जनाउनुको दोस्रो कारण, विश्वव्यापीकरण भएको भेदनकारी प्रविधि अर्थात् डिसरप्टिभ टेक्नोलोजीको प्रभाव हो । अहिले आफ्नो बाल्यकालमा विद्यालय जान नपाएका व्यक्तिले पनि स्मार्ट फोन चलाएको छ । भर्खरै सम्प्रेषण भएको खबर ऊ अनलाइनमा पढ्छ । सामाजिक सञ्जालको उपयोग गर्न सक्छ । जिपियस जडित इन ड्राइभर वा पठाओ जस्ता मोबाइल एपहरू चलाउन सक्छ ।         

कोभिड महामारी सुरु हुनुपुर्व यो पङ्तिकार नेपालगञ्जको सीमावर्ती बजार रुपेडिया गएको थियो । रुपेडिया लगायत सीमावर्ती सहरमा किनमेलका लागि नेपाली सर्वसाधारणको भीड लाग्ने गर्छ । साडी बिक्री हुने अधिकांश पसलमा नेपाली चेलीहरू बिक्रेताका रूपमा भेटिए । उनीहरू सबै नेपालगञ्जमा बसोबास गर्दा रहेछन् । साइकल चढेर बिहान ९ बजे रुपेडिया पुग्दा रहेछन् र बेलुकी ५ बजेपछि फेरि साइकलबाटै फिर्ता हुँदा रहेछन् ।

साडी भन्दा अन्य सरसामान पाउने पसलहरूमा भने स्थानीय पुरुषहरूकै उपस्थिति ज्यादा देखियो । एउटा पसलमा संयोगवश भेटिएकी पसल सञ्चालककी धर्मपत्नीलाई यो पङ्तिकारले यसै विषयमा जानकारी लिने उद्देश्यले गरेको कुराकानी रोचक छ ।

आपका दुकान मे कौन रहता है ?

मेरे पति और देवर ।

आप नहीँ रहती ?

नहीँ । मै तो कविकवार हि निकलती हुँ । मेरा तो अन्दरका ही काम होता है ।

रुपेडिया भनेको उत्तर प्रदेशको एक सानो सहर हो तर त्यहाँ महिलाको व्यवसायिक सहभागिताको आँकलन गर्नका निम्ति यो माथिको संवाद नै किन उत्तर प्रदेश लगायतका भारतका सहरमा पनि व्यापार व्यवसाय गर्ने वा होटेलमा काम गर्ने महिलाहरूको सङ्ख्या न्यून वा नगण्य रूपमा रहेको छ भन्ने कुराको रहस्य खोतल्न प्रतिनिधि उत्तर थियो । तर, नेपाली नारीले महिलाले बाहिर काम नगर्ने भन्ने त्यो परम्परागत कुरीतिको घेरा तोडेका कैयौँ दृष्टान्त छन् । अझ पछिल्लो राजनीतिक परिवर्तनपछि त महिलाहरूका निम्ति पितृसत्ताले बनाएको श्रम र साहसका सीमाहरू भत्किएर गएका छन् । बाध्यता हुन् वा आवश्यकता, नेपाली महिलाहरू समान श्रम र साहसिक सहभागिताका निम्ति तत्पर हुँदै गएका छन् । नेपाली समाजमा महिलाका सफलतामा गर्व गर्ने पारिवारिक र सामाजिक दुवै मानसिकता निर्माण हुन थालेका छन् ।   

महिला अघि बढ्नुको अर्को कारक तŒव बसाइँ सराइ पनि हो । अन्य मुलुकका तुलनामा नेपालमा बसाइँ सराइको प्रकृया व्यापक छ । बसाइँ सराइ गरेर तराईका अधिकांश सहर, काठमाडाँै र पोखराजस्ता ठाउँमा लाखौँको सङ्ख्यामा सर्वसाधारणहरूले बसोबास गरेका छन् । यसरी आएका व्यक्तिहरूको नेतृत्व लिने र जोखिम मोल्ने क्षमता स्थानीयको भन्दा बढी हुन्छ ।

महिला सहभागिताको अर्को एक उदाहरण कर्णाली प्रदेश अन्तर्गत रुकुमकोटमा पनि केही हप्ताअघि गरिएको एक भ्रमणमा पाइयो । त्यहाँको एक मात्र पेट्रोल पम्प सञ्चालक महिला र उनका पति रहेछन् । आफ्ना कलिला दुई सन्तानलाई पम्प छेउको टहरामा राखेर आएका सवारी साधनमा इन्धन भर्नु ती महिलाको दिन चर्या बनेको रहेछ । महिलाको उमेर  तीसबत्तिसको हुँदो हो । श्रीमान् र उनी भएर त्यो पम्पको दैनिक सञ्चालन कार्यको जिम्मेवारी लिएका रहेछन् । २५ लाखको सेयर लगानी पनि रहेछ उनीहरूको त्यस व्यवसायमा । पम्प सञ्चालन गरेवापत दुवैले संयुक्त रूपमा ३० हजार बराबरको पारिश्रमिक लिँदा रहेछन्, तर महिलाले विरक्तिएकी स्वरमा आफ्नो वेदना एकै सासमा भनिन् ः

 तीस हजार पाएर के गर्नु ? २५ हजार त यिनकै फि तिर्नु पर्छ ।

कहाँ पढ्छन र ?

बोर्डिङ् स्कुलमा ।

एक जनाको एघार सय त बस भाडा नै तिर्नु पर्छ ।

यसरी राज्यको उपस्थिति शून्य भएको अर्थात् राज्यले रणनीति बनाउन नसकेको आभाष यस्ता दृष्टान्तहरूले दिन्छन् । अन्य मुलुकहरूको उदाहरण हेर्दा के देखिन्छ भने एउटा परिवारमा श्रीमान् र श्रीमती दुवैको मासिक आय आर्जनले उनीहरूका दैनिक जीवनका आवश्यकता पुरा गरी केही वचत समेत हुनु जरुरी छ । रुकुमकोटकी पेट्रोल पम्पकी सञ्चालक लगायतका सर्वसाधारण जनताका छोराछोरीलाई सरकारी विद्यालयमा निःशुल्क वा केही शुल्क लिएर राम्रो पठनपाठनको ग्यारेन्टी गर्ने हो भने उनको व्यवसायप्रतिको लगाव र जीविकोपार्जन स्थायी हुने थियो ।    

अर्थतन्त्रमा महिला सहभागिताको अर्को ज्वलन्त उदाहरण नेपालको एक मात्र अन्तराष्ट्रिय विमानस्थलमा देख्न पाइन्छ । प्रस्थान कक्षमा र आगमन कक्ष दुवैमा राहदानी जाँच आदिको प्रकृया पुरा गर्न अधिकृतहरू बसेका हुन्छन् । केही दशक अघिसम्म त्यहाँ महिला अधिकृतको नाम निशाना हुँदैनथ्यो । तर, आजभोलि विदेश यात्रा गर्ने जो कोहीले पनि त्यहाँ उपस्थित उल्लेख्य महिला अधिकृतको सेवा लिन पाएका छन् । कतिपय महिला अधिकृतले त यात्रुलाई अभिवादन गर्ने गरेको पनि पाइएको छ । अध्यागमन विभागका सूचना अधिकृतका अनुसार अहिले १०० भन्दा बढी अधिकृतको दरबन्दी विभागमा रहेको छ । त्यसमध्ये १० प्रतिशतको हाराहारीमा महिला छन् । त्यसो त नेपाल सरकारको निजामति सेवामा अहिले १५ प्रतिशतको हाराहारीमा महिला छन् । यो सूचक कतिपय मन्त्रालय वा विभागमा औसत भन्दा अधिक छ । उदाहरणका लागि कृषि विभागमा महिलाको सङ्ख्या २० प्रतिशतको हाराहारीमा छ । 

अर्थतन्त्रमा महिलाको उल्लेख्य उपस्थिति गराउन मित्रराष्ट्र जापानको सरकारले लिएको रणनीति यहाँ सान्दर्भिक ठहर्छ । विगतका दशकमा जापानको जन्मदर स्वाट्टै घटेको छ । यसको कारण त्यहाँको जनसङ्ख्यामा जेष्ठ नागरिकको सङ्ख्या अधिक र श्रममा क्रियाशील जनसङ्ख्याको प्रतिशत न्यून भयो । यसको सिधा असर अर्थतन्त्रमा प¥यो । क्रियाशील जनसङ्ख्याको आयआर्जनको ठुलो अंश जेष्ठ नागरिकको रेखदेख र विमा आदिमा खर्च गर्नुपर्ने भयो ।

यो समस्याबाट चिन्तित जापान सरकारले विज्ञहरूलाई अनुसन्धान गर्न लगायो । समस्यालाई सम्बोधन गर्ने केही उपायहरू निस्किए । क्रियाशील उमेर भएका महिला गृहिणी भएर घरमै बस्ने जापानी परम्परालाई तोड्ने नीति ल्याउन सके केही राहत हुने पूर्वानुमान गरियो । यस्तै भयो । गर्भवतीले लामो विदा पाउने तर संलग्न जागिर या काम छोड्नु नपर्ने, नवजात शिशु र विद्यालय जाने उमेर नभएका बालबालिकालाई हेरदेख गर्न शिशु स्याहार केन्द्रको स्थापना गर्ने र कार्यस्थलमा महिलाप्रति हुने दुव्र्यवहारप्रति राज्य कठोर हुने नीति आदि ल्याइए ।

नेपालमा पनि आरक्षण लगायतका केही नीतिहरू नभएका होइनन् । तर, आरक्षणको नीति लगाइएको सरकारी क्षेत्रमा भन्दा आरक्षण नभएको व्यापार र व्यवसायका क्षेत्रमा महिला सहभागिता अत्यधिक बढी भएको चर्चा माथि भइसकेको छ । यसर्थ महिलाको शतप्रतिशत जनसङ्ख्यालाई मूलधारको अर्थतन्त्रमा कसरी ल्याउन सकिन्छ भन्ने विषयमा थप छलफल गरी राज्यको नीतिलाई अझ सशक्त बनाउन जरुरी देखिन्छ । यसले आरम्भमा पाकिस्तानका राजदूतले भनेको जस्तो नेपालका आधा आकाशले उचालेको आर्थिक धर्ती अझै माथि उचालिने पक्का छ । 

(विद्यावारिधि गर्नुभएका नवराज खतिवडा पेसाले ईन्जिनियर हुनुहुन्छ । अध्यापन र अनुसन्धान दुवैमा संलग्न उहाँले नेपाल सरकार र काठमाडौं विश्वविद्यालय लगायतका निकायमा रहेर काम गर्नु भएको छ । हाल नेपाल विकास अनुसन्धान प्रतिष्ठानसँग आबद्ध उहाँका दुई कृति प्रकाशित छन् ।)

अस्मिता, वर्ष १ अङ्क २, कार्तिक-चैत्र २०८०