पेशागत कामको सिलसिलामा एकजना मित्रलाई टेलिफोन गरें । दुई तीन घण्टी पश्चात नै टेलिफोन उठ्यो र महिलाको स्वरले हेलो भन्यो । मैले यतावाट भने म फलानो अफिसबाट नवराज खतिवडा बोल्दैछु, कृपया फलानो सरलाई पाउन । म सकेसम्म टेलिफोनगर्दा सबैभन्दा पहिला मेरो परिचय दिने गर्छु । यसमा दुईवटा फाइदाहरु हुन्छन् पहिलो त टेलिफोन उठाउने मान्छेले मलाई तपाइँ कहाँ बाट को बोल्नु भएको भनेर सोध्दैन । उसंग मेरो कम समयमात्र अलमल हुन्छ । खोजेको मान्छेसंग सहजै सर्म्पर्क हुन्छ । दोस्रो यसले टेलिफोन उठाउने व्यक्तिलाई मनोवैज्ञानिक तवरमा एउटा निश्चिन्तता प्रदान गर्दछ र उसले मेरो कुराकानीलाई गम्भिर प्रकृतिको दर्जामा राख्छ र प्राथमिकता पनि दिन्छ । मेरो यस्तो मान्यता विपरित ती महिला टेलिफोनमा खित्का छोडेर हाँसिन । मेरो टेलिफोनको कुराकानीको इतिहासमा यो एकदमै अनौठो कुरा भयो । मैले ती महिला हाँसेको कारण जान्न चाहेँ, उनले भनिन् तपाईले पहिलानै आफ्नो नाम र ठेगाना भनेको हुनाले अचम्म लागेर हाँसेकी । हेलो भन्नासाथ दिइएको मेरो परिचयले उनलाई मलाइ उनी हाँसेकोमा अनौठो लागे जस्तै अचम्म लागेछ ।
केही दिन अगाडिको अर्को घटना हो, एक जना जापानी मित्रसंग हामीले नेपालमा अत्याधुनिक सरसामानको आयात त गरेका छौ तर ती सामानहरुको समुचित प्रयोग गर्ने तौरतरिका अर्थात स्थानिय वातावरण सुहाउँदो सफ्टवेयरको सिर्जना गर्ननसकेको बारेमा छलफल हुँदा मैले टेलिफोनको उदाहरण दिएको थिएँ । अधिकांश टेलिफोनकर्ताको मुलभुत उदेश्य आफ्नो कुरा टेलिफोन उठाउने मान्छेले छोटो समयमा स्पष्ट बुझोस भन्ने हुन्छ । ब्यापारिक हिसाबमा त वार्तालापले आफनो कुराको सकारात्मक नतिजा ल्याओस भन्ने हुन्छ । तर टेलिफोनमा सभ्य र शिष्ट तरिकाले कसरी कुरा गर्ने भन्नेबारे न त दुर संचारले कुनै शिक्षा दिन्छ, न त बिद्यालयमा नै यो सिकाइन्छ, न त घरमानै यस प्रकारको चेतना प्रदान गरिन्छ । धेरैजसो टेलिफोन गर्ने मान्छेले आफ्नो परिचय दिनु त कता हो कता उल्टै टेलिफोन उठाउने मान्छेलाई तपाइँ को बोल्नु भएको भनेर प्रश्न गर्छ । एक पटक यस्तै भयो, मेरो घरमा कसैले फोन गर्यो र भन्यो र तपाईँ को बोल्नु भएको । मैले आफ्नो नामको बदलामा प्रतिप्रश्न राखेँ तपाईले कसलाई खोज्नु भएको तर उसले पुनः आफ्नो प्रश्न दोहोर्यायो । त्यसपछि मैले नम्र भएर भने रहेर्नुहोस टेलिफोन तपाईले गर्नु भएको हो, यसकारण सामान्य सिद्धान्त अनुसार सबैभन्दा पहिला तपाइँको कर्तव्य तपाइँको परिचय दिनु हुन आउँछ । मैले यति भने पछि उसले लाइन काट्यो । टेलिफोन उठाए पश्चात पटक पटक सुनिने अर्को चलनचल्तिको वाक्य रयो कहाँ पर्यो हो । आक्कल झुक्कल अलमलिएर यसो भन्नु सामान्य हो तर अधिकांश फोनहरुको वार्तालाप यसरी शुरु हुनु असामान्यनै हो । मलाई फोन गर्ने व्यक्तिले रयो कहाँ पर्यो भन्नासाथ म त्यो व्यक्तिलाई फोन वार्तालापको सामान्य सिद्धान्त थाहा नभएका मान्छेहरुको समुहमा राखिहाल्छु । दोस्रो फोन कहाँ गरेँ भन्ने पनि निधो गर्न नसक्ने व्यक्ति व्यावहारिक र आत्मविश्वासको हिसावमा अति कमजोर दर्जामा पर्छ भन्ने निर्क्यौल पनि निकाल्न सकिन्छ । कतिपय संवादहरुमा टेलिफोनकर्ताले हेलो पश्चात प्रश्न गर्छ चिन्नु भयो मलाई र नकारात्मक जवाफ पाएमा के सम्झनुहुन्थ्यो त मलाइ भनेर गनगन गर्न शुरु गर्छ ।
टेलिफोनमा कसरी कुरा गर्ने भन्ने देखि लिएर बिहान सबेरै वा राती अबेर कसैको घरमा फोन गर्नु हुदैन भन्ने कुराको विकसित जापानी समाजमा राम्रो चेतना छ । राती अबेर कसैको फोन आएमा पक्का पनि कुनै अत्यन्त जरुरी काम परेको सम्झन्छ, फोन उठाउने मान्छेले । फोन गर्नेले पनि सबैभन्दा पहिला आफ्नो परिचय दिन्छ र आफूले राती अबेर कुरा गर्नु परेकोमा माफी माग्छ । अनि मात्र भद्र भाषामा कामको कुरा गर्छ ।
मेरो हालको पेशा कलेजमा पढाउनु हो । मेरा बिद्यार्थीको कहिलेकहि राती ९ वजे र कहिलेकहि विहान ६ बजे तिर फोन आँउछ । टेलिफोन गर्नुपर्ने कारण बिद्यार्थीको व्यक्तिगत विषय हुन्छ । कसै कसैले त कार्यालय सम्बन्धित कुरा पनि घरमा गरेमा बढि प्रभावकारी हुने मान्यता राखेको पाएको छु । कसै कसैले कार्यालय सम्बन्धित कामको लागि पनि तपाईको आवासको फोन नम्बर पाउन भनेर सहजै भन्छन् । यी सबै उदाहरणहरुसंग गासिएको बिषय भनेको कुन संयन्त्र या सुविधाको कसरी प्रयोग गर्ने भन्ने शिक्षाको अभाव हो । टेलिफोन हामीसंग भएको धेरै भएको छैन् । यसलाई सभ्य तरिकाले कसरी प्रयोग गर्न सकिन्छ भन्ने कुरा कहि न कहि बाट सिक्नु जरुरी छ । टेलिफोन गर्ने मान्छेको कर्तव्य सबैभन्दा पहिला अभिवादनको कुनै शब्दवाट शुरु गरेर आफ्नो परिचय दिनु हुन आउंछ । लामो कुरा गर्नु पर्ने भए सम्वन्धित मान्छेसंग सम्पर्क भए पछि उ संग समय भए नभएको यकिन गर्नु जरुरी हुन आँउछ । सकेसम्म राती अबेर र बिहान सबेरै कसैको घरमा फोन गर्नु उपर्युक्त हुदैन् । गर्नै परे पनि सबैभन्दा पहिला अबेर फोन गर्नु परेकोमा क्षमा याचना गर्दै छोटो र सान्दर्भिक कुरा गर्नु उचित हुन आउँछ ।
मेरा अर्का एक इन्जिनियर मित्र हुनुहुन्छ, समसामयिक विषयहरुको वार्तालापको सिलसिलामा एक पटक वहाँले भन्नु भयो रकुन समाज कति विकसित छ भन्ने कुरालाई मेरो कारणले अरुलाई कुनै व्यावधान उत्पन्न हुने हो कि भन्ने बिषयमा मान्छेहरु कति संबेदनशिल छन् भन्ने कुराले नाप्न सकिन्छ । मैले टेलिफोनको यो विषयमा पनि एक व्यक्तिको अर्कोसंग सर्म्पर्क हुँदा को संवेदनशिलता लागु हुने देखेको छु ।
हुन त हाम्रो समाजमा मैले गरेको सोर्है आना ठीक र म मेरो भलोमा मात्र चिन्तित हुनु जरुरी छ भन्ने मान्यता विकसित भइरहेको छ । यसरी हेर्दा समाजमा मौलाइरहेको मान्यता प्रतिको मेरो दृष्टिकोण र विद्वान मित्रको टिप्पणिमा म समानता पाउँछु । टेलिफोनसंग सम्बन्धित मेरो अर्को अनुभव पनि यहाँ उल्लेख गरौं । म एउटा व्यावसायिक सन्चार सेवामा लाइनमा थिएँ । एक जना महानुभाव कतै टेलिफोन गर्दै थिए । उनको सर्म्पर्क हुन सकेन, बदलामा कम्प्युटरले तपार्इँले डायल गरेको नम्वर मिलेन भनेको सुनियो । उनले प्रतिक्रिया जनाए रहे प्रभु मसंग भएको नम्बर यही हो, मैले अर्को नम्बर कहांबाट ल्याउँ। र हामी तिर हेर्दै उनले दुरसन्चारको कम्प्युटर ब्रिग्रिएर त्यसो भएको अनुमान लगाए । पछि थाहा भयो ति माहानुभावले नम्बरनै गलत डायल गरेका रहेछन् । यस्ता विषयहरु धेरै छन् जहाँ एक व्यक्तिले अर्को व्यक्तिलाई कसरी व्यबहार गर्ने भन्ने कुराले महत्वपर्ण भूमिका खेलेको हुन्छ । अझ त्यसमा पनि टेलिफोन, इमेल जस्ता अत्याधुनिक सुविधाहरुको उपयोग कसरी गर्दा उचित हुन्छ भन्ने विषयमा चेतना कतै न कतैवाट आउनु जरुरी देखिन्छ ।