महाभारतको युद्ध शुरु हुनु भन्दा
केही क्षण अगाडि मात्र पाँच पाण्डव मध्येका विशिष्ट पात्र अर्जुनको स्वभावमा आएको
अकल्पनिय परिवर्तनलाई व्यवस्थापन गर्ने क्रममा सिर्जना भएको ग्रन्थको नाम हो “गीता” । गीता दर्शनका सर्जक योगेश्वर भगवान
श्रीकृष्णको साक्षात्कार गर्न यत्र तत्र पाईन्छ । तर आस्थाका केन्द्रहरुमा
अर्जुनको भने दर्शन दुर्लभ भएको लाग्छ मलाई । तिनै धनुर्धारी कर्मयोद्धा को दर्शन
गर्न पाईने र उनलाई नजिकवाटनै स्मरण गर्न पाईने तीर्थ “अर्जुनधारा”
म यसपटक पुँगे । म जन्मेको हुर्केको ठाँउको सेरोफेरोमा अवस्थित भएको
यो विशिष्ट महत्वको “धाम” मा पाईला
टेक्ने साईत जुराईदिएको थियो दानावारीमा कल्पना गरिएको “वैकल्पिक
उर्जा” सम्बन्धित एक परियोजनाको कामले ।
कार्तिक १९,
२०६९ को दिन काठमाण्डौ विश्वविद्यालयको काम छोट्याएर म एघार वजे
सार्वजनिक वसमा कोटेश्वर आँए । सामान मिलाउने काम वाँकी नै थियो । दुई रातको वास र
स्थलगत निरक्षणको काम मात्र भएकोले म साथमा दुईवटा हलुका झोला वोकी दुई वजे
विमानस्थल पुँगे । मेरो गन्तव्य भद्रपुरको उडान समयमा नै रहेछ । विमान सम्म
पुराउने वसमा चढ्दै थिएँ । ढोकै निर वसेको एक विदेशीले म तिर हेरेर केही भनेको
जस्तो लाग्यो । मैले बुझिन ।
“सरी, आई
डिड नट गेट यु ( मैले तिमीले भनेको वुझिन् )।“ मैले वेतोडकै
अँग्रेजी वोलेछु ।
“ईट वाज नट मिन्ट फर यु वट यु
स्पिक गुड ईगलिस (तिम्लाई लक्षित गरेको होईन् तर तिमी राम्रो अँग्रेजी वोल्दा
रहेछौ)।“ उत्तर आयो ।
नेपालीले प्रशँशा गरेको भए मजाक
गर्दै छ वा ध्वाँस भर्दै छ भन्नु हुन्थ्यो । किनभने आर्थिक विकासमा गरिव भनेर
चिनिने नेपाली हरु मुक्त कण्ठको प्रशँशा गर्नमा र कसैले गरेको तारिफलाई सकारात्मक
रुपमा ग्रहण गर्नमा पनि गरिव नै छन् । म पनि त्यही ड्याङ्गको मुला हुँ । तर
विदेशीको ईशारालाई आत्मसात नगर्नुको कुनै अर्थ थिएन् । मैले उसलाई धन्यवाद दिदै तर
मेरो मातृभाषा नेपाली नभएको स्पष्टोक्ति दिँए। उ सँगै वसेकी महिलाले मातृभाषाको
सन्दर्भमा उनीहरु पनि उस्तै हुन भनी । नेदरल्याण्डसवासी रहेछन ती मेरा सहयात्रीहरु
। यति एयरको त्यो उडानमा उनीहरुकै
वाहुल्यता थियो । झापाको कुनै गाँउमा घर वनाउने कार्यमा स्वयँसेवा गर्न हिँडेका
रहेछन् ।
विमानमा सँयोगवस म मेरो प्रशँसक
वसेको सीटको ठ्याक्कै पछिको सीटमा वस्न पुगे म । राम्रो सिट छानेकोमा वस्दा वस्दै उस्को पनि तारिफ गरेँ । काठमाण्डौ उपत्यका के
नाघेका मात्र थियौँ, हिमालका सेता
चुचुरा हाम्रा दृष्टिमा परे । पछाडी फर्केर उसले देखिएको हिमालाई औल्याउदै सोध्यो
।
“ईज दयाट माउण्ट एभरेष्ट (सगरमाथा त्यही हो त ) ?”
“यस दि फस्ट वन ( हो पहिलो त्यही
हो ।)”
उ मुस्कुरायो । उस्को हाउभाउले मैले
अघि नै लख काटेको थिएँ उ रमाईलो मिजासको व्यक्ति हो भनेर । मैले सगरमाथा चिन्ने
कुरै थिएन् । तर मैले उसलाई सगरमाथा उभिएको क्षेत्र चै देखाईदिन सक्छु भने ।
किनभने म सुनकोशी, भोटेकोशी, तामाकोशी र अरुण नदीको भुगोल सँग परिचित थिँए । यी चारै नदीले चर्चेको
ठाँउमा कँहि न कँहि म स्थल मार्ग वाट पुगेको छु । म स्थलगत भ्रमण गरेको ठाँउ
आकाशवाट पनि लगभग चिन्दछु । अरुलाई पनि त्यस्तै होला भन्ने ठान्दछु । अरुण नदी पुग्न लागे पछि मैले सगरमाथा ती मध्ये
एक हुनु पर्छ भनेर वाँया तिरका एक श्रृङ्खलाका केही चुचुरालाई ईगित गरेँ । तर
लगत्तै राम्ररी नै ठम्याउने गरि दाहिने तिर देखिएका कुम्भकर्ण र कन्चनजङ्घालाई
चिनाईदिएँ । प्रख्यात सगरमाथा नचिन्ने तर अरु दुई चुचुरा ठम्याउन सक्नुको कारण
उसले सोध्यो ।
“विकज आई वाज वोर्न दियर (किनभने
म त्यही जन्मेको हुँ)।“ मैले ठट्याउलो पारामा सत्य कुरा भने
।
“यु वेअर वोर्न ईन द माउण्टेन
(तिमी हिमालमा जन्मेका हौ त ? )“ उ आश्चर्यचकित भयो।
मैले तिनै हिमालको फेदवाट अलि तलको
गाँउ मेरो जन्म थलो हो भनेर अर्थ्याएँ ।
दानावारी पुग्दा वेलुकीको छ वजेको थियो । गरुवा कलेजका शिक्षक
खगेन्द्र निरौला र युवा वर्ष माविका
प्रधानाध्यापक शेर वहादुर सरलाई यस यात्राका सम्पर्क सुत्रको रुपमा स्थापित गरेको
थिँए । वँहाहरुले नै म र विर्तामोडमा म सँग मिसिनु भएका ईन्जिनियर मित्रको वासको
टुँगो लगाईदिनु भएको थियो । खोलापारीको वजार शीतली पुगे पछी मैले वँहाहरु सँग
फोनमा सम्पर्क गरेँ । वास वस्ने घर उहि गत वर्ष आउँदा वसेको घर रहेछ । त्यसो त
दानावारीको यो भ्रमण मेरो तेस्रो थियो । दोस्रोमा रात विताउने मौका परेको थिएन् ।
कसैको घरमा वस्दा त्यतिवेला रमाईलो हुन्छ जव तँपाई आतिथ्य प्रदान गर्ने व्यक्तिहरु
सँग भिज्नु हुन्छ । त्यसको लागि कुराको सुरुवात तँपाईले गर्नु पर्छ भन्ने मेरो
मान्यता छ । म टोकियोको प्रिन्स लगायत धेरै तारे होटलहरुमा वसेको छु । होटल र घरको
सत्कारको सामान्य फरक के हो भने घरको आतिथ्यतामा भावको मात्रा वढी हुन्छ । त्यहाँ
प्रेम भाव, समर्पण भाव र सत्कार भावका अँशहरु
हुन्छन् । होटलको सेवा सुविधाको तयारीमा
कसरी भौतिक मूल्य अधिक वनाउने भाव मिसिएको हुन्छ । तर घरको सेवामा थपिएर आउने
सदभावको कुनै मुल्य हुँदैन् । घरका जाहानले खाने र अतिथिले खाने परिकार एउटै हुन्छ
। एकै ठाँउमा वसेर एकै पटक पनि खाईन्छ । पकाउनेले खाने मान्छेलाई व्यक्तिगत
हिसावमा चिनेको हुन्छ । नचिने पनि कल्पना
हुन्छ । कहिले कहि त पाहुनाको लागि भनेर घरका जाहानहरु अन्यत्र सरेर आफ्नो नीजी
कोठा समेत छोडिदिएको मैले पाएको छु । हामी वसेको घरमा वुवा, आमा
र कलेज पढ्ने छोरी “सन्जु” गरी तिन
जनाको परिवार रहेछ । पहिलो पटक हाम्रो समूह ठूलो भएकोले मैले वँहाहरु सँग घुलमिल
हुने झिनो मौका मात्र पाएको थिँए । हामीले केही वेर गफ गर्यौ । खाना तयार भयो ।
लगभग आफ्नै वारिमा उत्पादन भएका कच्चा पदार्थले वनेका परिकार थालको वरीपरी थिए ।
दुधजन्य चार परिकार थिए । प्रेम र समर्पण भाव मिसिएको स्वादिष्ट भोजन ग्रहण गरियो
। खगेन्द्र सरहरु आएपछि भोलिपल्टको गरिने कार्यहरुको योजना वन्यो । हामीले योग
सत्र चै त्यही घरको वार्दलीमा गर्ने टुँगो लगायौ।
विहान पाँच वजे उठेर योग सुरु गर्नु
चानचुने कुरा थिएन् । म साढे चार देखिनै तयार थिँए । भुईतलामा भान्सा कोठाको वाहिर
वसी जस्ताको छानामा वजेको शीतको थोपाको आनन्द लिँदै प्राणायाम गर्न थाँले । कालो
कार्तिकको त्यो मिर्मिरेले मेरो तराईमा वितेको युवा अवस्थालाई आँखा अघि ल्याई दियो
। चराहरु उठिसकेका थिए । नजिकैको गोठमा गाईवस्तु समेतले रात र दिनको त्यो प्रहरलाई
आत्मसात गरिसकेका थिए । साढे पाँच
सम्ममा १५ जना जतिको समूह जम्मा भयो ।
मैले गुरुको आसन जमाएँ । ल्यापटप र स्पीकर साथैमा हुनाले सजिलो भयो। सहभागी सवैले
साथ दिनु भयो । योग कहिल्यै पनि नगरेका सहभागीहरुको प्रतिकृया सुनेर मलाई आनन्दको
अनुभूति भयो । वहाँहरुका केही अभिव्यक्तिहरु यस्ता थिए “ओहो ! यसो गर्दा त अँग अँगका कुँजिएका नसाहरु पनि फुक्ने रहेछन् । यसरी
दिनै पिछे शरीर तन्काउने हो भने के को रोगले छुन्थ्यो ? लौ !
अव सल्लाह गरेर प्रत्येक दिन योग गर्नु पर्ने भयो।“ सात वजे
हिड्ने हाम्रो योजना मुताविक मैले योग सत्रलाई केही छोट्याउनु पर्यो ।
करिव आठ वजे हाम्रो स्थलगत
निरिक्षणको यात्रा सुरु भयो । चियावारीको वीचवाट हामी पैदल अघि वढ्यौ । लोधिया
खोलामा पुगे पछी शेर वहादुर सर र वँहाको भाईका दुई मोटरसाईकलमा हामी सवार भयौँ ।
ट्रयाक्टरले आफ्नो अनुकुल वनाएको त्यो पाहाडी वाटो सहज थिएन् । सानो डिलमा
मोटरसाईकल हिड्ना साथ मेरो आङ् सिरिङ्ग गर्दथ्यो । घरि घरि त्यो जोखिमपूर्ण
यात्रालाई साहासिक पर्यटनको रुपमा लिएर चित्त बुझाउँथे । मेरा दुवै हातले सीटको
पछिल्तिर रहेको समात्ने डण्डीलाई एक छिन पनि छोडेनन् । हिले खोला तरे पछी एउटा
घरमा अडियौ । स्थानिय सरोकारवालाहरु सँगको केही वेरको अन्तरक्रिया पछि धान कुट्ने
मिलको सँभ्व्यावता अध्ययन गर्न हिले खोला तिर लाग्यौ । जलप्रवाह को मात्रा र कति
उचाईवाट पानी खसाल्न सकिन्छ भने दुई प्रमुख मापकहरुको लेखाजोखा गरियो । खोलाको
छेउको एउटा घरको आँगनमा प्यास मेटाउन के उभिएका थियौ,
घरमुली वहिनीले वोटैमा पाकेको मालभोग केराको घरी हाम्रा अघि
लडाईदिनु भयो । पाकेर पटपटी चिरा परेका कोसा अघिल्तिर थिए, हामी विहान देखिका भोका थियौ ।
मैलै एक छिन पछिको खाना खाने व्यवस्था सम्झेर दुई कोसाले चित्त बुझाएँ । मिलपछिको
हाम्रो लक्ष्य थियो युवा वर्ष मावि मा परिकल्पना गरीएको सौर्य उर्जा सँयन्त्रको
सर्वेक्षण । तर हामी पहिला विद्यालयकै अध्यक्ष पदम फागो ज्यू को घर तिर लाग्यौ
जहाँ हाम्रो खाना पाकेको थियो । छोरा र वुहारी आफ्नो गुँड छोडेर जाने अहिलेको
नेपाली गाँउघरको समस्याले फागो परिवार पनि अछुतो थिएन् । आमाले वडो मिहिनेतले
वोडीको झोल भएको तरकारी, गोलभेडाको अचार र अमलेट वनाउनु भएको
रहेछ । हामीले वडो स्वाद मानेर खायौ ।
खाना पछि हामी एकै छिन अध्यक्ष
लगायत अन्य केही व्यक्तिहरुसँग गफ गर्न
थाल्यौ । मैले साईत यही हो भनेर खाना वापत केही रकम दिने कुरा निकालेँ । मेरो
प्रस्तावलाई अध्यक्षले ठाडै अस्वीकृत गरिदिए । अरुले त्यसमा सही थपे । म रनभुल्लमा
परेँ । गाँउघरमा सरकारी कामले हिँड्दा यो समस्या प्राय: सिर्जना हुन्छ ।
“अतिथीहरु सँग पैसा लिने चलन नै
छैन् ।“ यस वेलामा सिर्जने अभिव्यक्ति यही हो ।
धन्य हाम्रो चलन । धन्य सँस्कार । म
मनमनै यो सेवाभाव र आत्मियता भित्र लुकेको आदर्शता लाई नमन गर्छु । तर मेरो मन
मान्दैन् । म मेरो कर्तव्यवाट विमुख हुन सक्दिन् । पुन: भान्सामा जान्छु ।
“ आमा यस्तो मिठो खाना खुवाउनु
भयो । यो हाम्रो तर्फवाट सानो सहयोग । खानाको पैसा भन्ने नठान्नु होला । सँभव भए
नाति नातिनालाई केही किनिदिनु होला यसले ।“ मैले केही
रकम दिदै भने । आमा मुस्कुराउनु भयो र हात
वढाउनु भयो । मेरो तीर ठीक निशानामा पर्यो । मैले सफलता हासिल गरेँ । वहाँहरुले
लगाएको गुनको केही अँश तिरेको अनुभूति भयो ।
विद्यालयको काम सकेर हाम्रो यात्रा
अघि वढ्यो । तीनवटा मोटरसाईकले पाँच जना सवारीलाई पहाडको नागवेली वाटोमा सालाखाला
१५ किमी प्रतिघण्टाको दरले दौडाएका थिए । समुद्र सतहको तुलनामा हाम्रो औसत उचाई
बढिरहेको थियो । दानावरी गाविसको वार्ड न ९ को पश्चिम उत्तर दिशा तिर अघि वढेका थियौ । स्थान, काल,
र पात्र को परिवर्तन हुने क्रम जारी थियो । वाटोको अप्ठ्यारो भागमा
मेरो ध्यान वाईकको सन्तुलनमा जान्थ्यो भने सम्म या सतह मिलेको भागमा यात्राको
आनन्द लिनमा । आधा घण्टामा हामी आदर्श बुद्ध प्राथमिक विद्यालयमा पुग्यौ । १२६ जना
विद्यार्थी रहेको त्यो विद्यालयमा ५ जना शिक्षकहरु रहेछन् । छात्राको सँख्या अधिक
रहेछ । केटाको समूह विद्यालय भन्दा तीन कान्ला जति तल अवस्थित चौरीमा भकुण्डो
खेलिरहेका थिए । केटीहरु भने विद्यालयसँगै जोडिएको चौरमा चप्पल लडाउने खेल
खेलिरहेका । शिक्षकवर्ग भने घाम ताप्दै विद्यार्थीको गतिविधि नियालि रहेका ।
विद्यार्थीहरु दुई समूहमा विभाजित भई तासको घर वनाए जस्तो उनीहरुका चप्पलको थुप्रो
ठड्याई त्यसलाई निशाना वनाई लडाउने त्यो रोचक खेल रहेछ । आफू सँग भएका साधन र
श्रोतको प्रयोग गरी त्यसैवाट काम चलाउने त्यो काईदा स्मरणिय रह्यो । जापानका विद्यालय
वा सामुदायिक भवनहरुमा रहेका “जिदो कान” जस्ता विद्यार्थीको उमेर र ज्ञान भण्डारको हिसावमा लामो अनुसन्धान गरी
तयार पारिएका सुविधा यी विद्यार्थीलाई पस्किदिने हो भने अझ रमाउथे होला । मैले
कल्पना गरेँ । भौतिक पुर्वाधारको यथेष्ट सुविधा नहुँदा दुईवटा कक्षाका विद्यार्थीलाई
एउटै कोठामा राख्नु पर्ने वाध्यता रहेछ । एउटा कक्षाको पढाई त दुई तिर मात्र वार
भएको कोठामा हुदो रहेछ । यी यथार्थ भित्र लुकेका अवसरहरुको खोजी हाम्रा मुलुकका
युवा नेताहरुले गर्ने नै छन् भन्ने सोच समेत त्यसवखत मेरो मानसटलमा उदायो ।
आदर्श वुद्ध विद्यालयको भ्रमण
पश्चात हाम्रो गन्तव्य थियो खरवानी गाँउ । हामी डाँडै डाँडा अघि वढ्यौ । वाटोको एक
खण्ड त यति विग्रिएको रहेछ की दुई वाईकको पछि वसेका म र ईन्जिनियर मित्रले वाईकवाट
नओर्ली भएन् । खरवानी का वासिन्दालाई खाने पानीको ठूलो समस्या रहेछ । पानीका
श्रोतहरु घरवाट लगभग दश मिनटको पैदल दुरीमा मात्र भेटिने । पानी गाग्रामा ओसार्नु
पर्ने । हामीले सौर्य पम्पको प्रयोग गरि पानी तानेर वितरण गर्न सकिन्छ कि भनेर
अध्ययन गर्यौ । म सँग २ मिटरको टेप मात्र थियो । पानीको मूलवाट घर सम्मको उचाई
नाप्नु पर्ने भयो । लगभग १०० मीटरको त्यो ठाडो उचाई २ मिटरको टेपले नाप्न कठिन
थियो । मेरो दिमाग सम्भावित सजिलो उपायको खोजीमा रन्थनायो । “चप्पल लडाई” खेलमा विद्यार्थीले आफूसँग उपलब्ध
श्रोतको प्रयोग गरेको झझल्को र “जँहा ईच्छा तहाँ उपाय” भन्ने उक्तिको मर्मको सँयोग
परेको जस्तो भयो । मेरो दृष्टि खोल्साका वाँस झ्याँगमा गयो । मुलको छेउमा उभिएको
झ्याङ्गको लगभग सिरानमा अर्को झ्याँग थियो । तीनवटा झ्याँगको लम्बाईले घर र मूलको वीचको उचाई
निकाल्न सकियो । आँख्लाको सँख्या र दुई आँख्ला वीचको हिसावले बाँसको लम्बाई निकाले
। मेरो काम भयो । यसै गरी अर्को मुललाई आधार मानेर पनि त्यस्तै हिसाब गर्नु थियो ।
तर दोस्रो मुलको वरीपरी त केही रुख त थिए तर अघिल्लो जस्तो झ्याङ्गको तह थिएन् ।
केही मिटर माथी गए पछि रुख विनाको वारी मात्र थियो । म नयाँ चुनौतिको सामना गर्दै थिँए । वारीका
कान्लाले मेरो ध्यानाकर्षण गर्यो । कान्लाको सँख्या गन्ती र एउटा कान्लोको उचाईको
नापोले मेरो दोस्रो चुनौति पनि समाधान भयो । म मनमनै मुस्कुराएँ ।
खरवानी गाँउको भ्रमण पश्चात हामी
अम्लिसे हुँदै अघि बढ्यौ । गैडे खोलमा निर्माण गर्न विचाराधिन लघु जलविद्युत
परियोजना स्थल को निरिक्षण गर्ने काम वाँकी थियो । वाँध निर्माण गर्न सकिने
स्थानको खोजीमा ईन्जिनियर मित्र जानु भयो भने म जल प्रवाहको परिमाण नाप्न थालेँ ।
काम सक्दा घाम अस्ताउने वेला भएको थियो । हामी माई नदीको किनार हुदै युवा वर्ष मा
वि तिर फर्कियौ । सूर्यास्तको छाँया नदीको पानीमा स्पष्ट देखियो । वाईक रोकेर मैले
पृष्टभमिमा अस्ताउन लागेका सूर्य नारायणको विम्ब आउने गरि एक तस्विर लिएँ । विहान
चिताएका र दिन भरीमा सम्पन्न गरीएको कामको
अन्तर शुन्यको नजिक पुगेको थियो । योजना मुताविक काम सम्पन्न भएकोमा हामी हर्षले
भरियौ ।
हामी विहान गएकै खोला किनार र खेत
वारी हुदै फर्कियौ । रात्री वास फेरी सन्जुकै घरमा तय गरिएको थियो । दिनभरीको
थकानले वेलुकीको खानाको स्वादमा “सुनमा सुगन्ध”
झैँ मुल्य थपेको थियो । खाना पश्चात नजिकैको मन्दिर आयोजना गरिएको
भजनमा सहभागी हुन गईयो । भजन टोलीमा शेरवहादुर सर लगायत अन्य भक्तजनहरुको रमाईलो
उपस्थिती रहेछ । कर्णप्रिय शव्द र हार्मोनियम लगायतका वाजाले पस्किएको सँगितले
लठ्ठ हुन पाउँदा को नरमाउला र ? केही भक्तजनहरुको नृत्य समेत
अवलोकन गर्ने अवसर जुट्यो । भजनका हरफहरुमा प्रस्तुत भएको “कृष्ण”
या “शिव” को शब्दलाई
दुवै हातले “नमस्ते” को मुद्राले सँकेत
गर्दा अति सुन्दर देखिँदो रहेछ । एक चेलीको नृत्यमा पाईएको यो ज्ञान मेरो लागि
नौलो थियो।
भोलिपल्ट सन्जुको घरमा हामीले
प्राप्त गरेको आतिथ्य सत्कारको गुन तिर्ने क्रममा अघिल्लो दिनको जस्तै चुनौति मेरा
सामुन्ने विकराल पहाड वनेर खडा भयो । सानो रकम दिने मेरो ईच्छा थियो । वहाँहरुको
त्यसलाई ग्रहण गर्ने चाहना थिएन्। हाम्रो हिड्ने तरखर हुदै थियो,
टिका र फूलको थाली लिएर हामीलाई विदाई भेट गर्न सन्जु वहिनी
प्रस्तुत भईन् । उनले टिका लगाईदिईन् । मैले थालीमा दक्षिणा राखिदिएर मेरो धोको
पूरा गरेँ । विदाईका हातहरु हल्लिए । मन भारी भयो ।
खगेन्द्र सरको अनुरोधमा गरुवा
वहुमुखि क्याम्पसमा “समय व्यवस्थापन”
र “वृति विकासमा” मैले
एक कक्षा पनि लिँए। विद्यार्थीहरुसँग रमाईलो अन्तरक्रिया भयो । विभिन्न पेशा या
व्यवसायमा सँलग्न एक हुल व्यक्तिहरुको पिरामिड वनाउने हो भने किन “नेता” या “उद्दमी” हरु सबैभन्दा माथी हुन्छन् त भन्ने प्रश्नमा एक विद्यार्थीले “क्षमता” भनेर दिएको उत्तर अवष्मरणिय रह्यो । यसवाट
मैले हाम्रा युवा पुस्ता प्रति आशावादी हुने अर्को एक आयाम थपिएको गर्वका साथ
महशुस गरेँ ।
फर्कने क्रममा अर्जुनधारा धामको
भ्रमण गर्दा कुरुक्षेत्रमा भएको लडाईमा मृत्यु शैय्या मा पुगेका भिष्म पितामहलाई
धरतीमा वाण हानेर निकालिएको जल प्रवाहले प्यास मेटाईदिएको किवदन्तीको वारेमा
विस्तृत जानकारी लिनु पर्ने आवश्यकता मैले महशुस गरेँ । त्यँहा उम्रिएर धामवाट
वाहिर वगेको पानीलाई सँकलन गरी कुनै उपयोगी काममा लगाउन सकिन्छ कि भन्ने विचार पनि
उत्पन्न भयो । तर त्यस दिन सम्म कुनै मन्दिरमा नभेटिएका अर्जुनको दर्शन गर्न
पाउनुलाई नै मैले जीवनको एक उपलब्धीको रुपमा लिएको छु ।
दानावरीका यी सबै प्रसँग र आतिथ्य
सत्कारका विशिष्ट रुपहरु अविस्मरणिय चिनोको रुपमा मनमा गढेका छन् । मोवाईलमा
रेकर्ड गरिएका भजनका केही अँशहरु भने भौतिक चिनो को रुपमा रहेका छन् । त्यस
मध्येका यी दुई हरफहरु मेरो तर्फवाट पाठकवर्गलाई कोसेली ।
छम
छम नाचिदेउ गोपिनी
कृष्णजीको
बन्सिको स्वर सुनी
नोभेम्वर ११,
२०१२
पुल्चोक
- समाप्त -