कार्तिक मसान्तको
सँघार । नेपालको पुर्वी तराई । मिर्मिरे विहानले छोडेका आला पदचापहरु । म आकाशमा
छु । जमिनवाट एक तला माथी । पुर्व फर्किएको छु । पद्मासनमा वसेको छु । एक तमासले
प्राणायाम गरिरहेको छु । वन्द आँखा । कोही छैन वरिपरी । नितान्त एक्लो म । ध्यान छ
प्रकृतिमा विद्यमान आवाजमा । यसो गर्दाको आनन्द नै अर्को छ ।
योग साधना केन्द्रमा
पूर्ण ध्यानको अध्याय सकेपछि मैले धेरै जना साधक साधिकालाई यो प्रश्न सोधेको छु ।
“ध्यान गर्दा प्रकृतिमा
रहेको कुन कुन आवाज सुन्नु भयो त ?”
विभिन्न किसिमका
उत्तर आँउछन् । केही पनि सुनिएन । कुखुरी काँ । परेवाको घुरघुर । भँगेराको चिरिविरी
। मान्छे वोलेको । मन्दिरमा घण्टि वजेको । गाडिको हर्न । आदि । आँखा चिम्लेर राम्ररी
सुन्ने हो भने केही न केही पक्कै सुनिन्छ । प्रकृतिमा जहिले पनि जहाँ पनि केही न
केही आवाज हुन्छ । कृत्रिम आवाज उत्पन्न गर्ने साधन नभएका निर्जन ठाँउमा पनि ध्वनीका
अँशहरु यथेष्ट हुन्छन् । शुन्य आवाज भएको स्थान वा समय शायद नहुँदो हो । भए पनि
त्यो यो चराचर जगत भन्दा वाहिर होला । साहित्यकारको कथामा होला । वातावरण विज्ञको
कल्पनामा होला । केही बर्ष अघि मेरा अनन्य मित्र डेभिड ग्रिन र म पर्सा वन्यजन्तु
आरक्षमा ध्वनी मापक यन्त्र लिएर पुगेका थियौ । सडकवाट पाँच किलोमिटर जति भित्र पसेर
जँगलको आवाज नापेका थियौ हामीले । सवारी साधनको आवाज नसुनिने त्यो घना जँगलमा ५५
डेसिवेल को अँक देखिएको थियो । पात वजेको वा किराहरुको बोली समेटिएको त्यो
समष्टिगत रुपलाई पृष्टभूमिको आवाज भनिन्छ । जसको आधारमा कुनै स्थानमा ध्वनि
प्रदुषण छ कि छैन भन्ने कुराको यकिन गरिन्छ । यसकारण ध्यान गर्दा केही पनि सुनिएन
भन्नु को अर्थ साधक या सधिकाको ध्यान प्रकृतिको आवाज सुन्ने तिर भन्दा अन्यत्रै
गएको ठहर्छ भन्ने मेरो बुझाई रहेको छ ।
म आँखा खोल्छु ।
राम्रो उज्यालो भै सकेको छ । दृष्टि रेखामा छ छिमेकीको घर । दुवै तिर नरिवलका रुख । नरिवलका छिमेकी छन केराका
वोटहरु । नरिवलको तुलना हिम पर्वत सँग गर्ने हो भने केराको वोट हुन्छ चुरे पहाड ।
तर तिनको श्री आफैमा पुर्ण छ । भुँईमा शोभा दिएका छन । नरिवलको तुलनामा तिनको
उपस्थिति वाक्लो छ । भुँईमा उभिएका लगभग
एक तला को उचाईका अग्ला राता फुलका वोटले रगँमन्चमा थप शोभा दिएका छन । नरिवलका पातले
आकाशमा पुन्ज वनाएका छन । छाता जस्तो आकार छ । तर उघ्रिएको छाताले अर्ध-गोला वनाउँछ भने नरिवलका पातले समग्रमा पूर्ण गोला । नरिवलका पातहरु छिद्र
छिद्र परेका छन् । ती छिद्रवाट नछेकिएको आकाश देखिन्छ । सुरिलो रुखले ति पात पुन्जलाई
जमिनसँग जोडेको छ । जसरी मेरो शरिरलाई घरका भित्ताहरुले धर्तिमा जोडेका छन । प्रत्यक्ष
वा अप्रत्यक्ष रुपमा जे जे सँग पनि जोडिएको छ । आकाश पनि जमिन सँग जोडिएको छ । म
तपाई सँग । अनि तँपाई र म दुवै जना उ सँग । यो “जोड” अर्थात “योग” को विज्ञान पनि अचम्मको
छ । सामान्य वीजगणितिय जोडमा एकमा एक जोड्दा दुई हुन्छ । एक मा एक घटाउँदा शुन्य
वाँकी रहन्छ । तर गणितको क्षेत्र भन्दा वाहिर यो नियम नलाग्न सक्छ । महाकवि
लक्ष्मिप्रसाद देवकोटाले ‘पागल”
कवितामा यो ‘जोड घटाउ’ को नयाँ विज्ञान
यसरी परिभाषित गरेका छन् ।
तिमी चतुर छौ वाचाल
तिम्रो शुद्ध गणित-सूत्र हरहमेशा चलिरहेको छ
मेरो गणितमा एक वाट एक झिक एकै वाँकी रहन्छ !
गणितको सिमित सँसार
बुझेका सामान्य जनहरुलाई यो महाकविको परिभाषा अपत्यारिलो लाग्न सक्छ । आफ्नो
दिमागको कित्ता वाहिर गएर कुनै विषयमा निचोड निकाल्नु पर्यो भने सामान्य व्यक्तिले
भन्न सक्छ- यो त दैवी चमत्कार भयो वा कसैको पागलपन हो
। जीवन र जगतलाई वुझ्ने विषयमा होस या विज्ञान वा अध्यात्मको वुझाईमा होस यो समस्या
जो सँग पनि हुन्छ । “यो मेरो कित्ता वाहिरको विषय हो यसैले मैले निचोड निकाल्नुको अर्थ नलाग्न
सक्छ” भनेर कित्ताकाट गर्ने सामर्थ्य धेरै कम सँग मात्र
हुन्छ ।
अलि अलि तुवालो र
चिसो को मिश्रण छ । म विस्तारै प्राणायामको धारले अघि सम्मको शारिरिक आलस्यतालाई
चिर्ने प्रयास गर्छु । तर विगत केही महिनामा सँकलन भएको जडताको अँश अधिक नै छ । जडताले
शरिर र मन दुवैलाई गाँजेको छ । शरिर र मनको अन्योन्याश्रित सम्बन्ध छ । मनले नमाने
पछि शरिरले मान्ने कुरा भएन । दह भएर
जमेको जडताको तुलनामा मेरो प्रयासको प्रवाह निम्छरो ठहर्छ । तर एकाएक यथास्थिति
चिरिन्छ । एक किसिमको रोमान्चले मन भरिन्छ । अघि सम्मको आलस्य र स्थिरता मिसिएको
परिवेशमामा एकाएक आनन्द र हर्षको वर्षा हुन्छ । पिपलको जराले चट्टान दुई फ्याक
पारेको अनुभूति हुन्छ । मेरो वरिपरि
विद्यमान परिवेशको अवस्थामा एका एक परिवर्तन आँउछ । स्थिर वातावरण एकाएक चलायामान
हुन्छ । यो गतिशिलताको आगमन सँगै म भित्र आसन्न अप्रसन्नताको विलय हुन्छ । ठोस वरफलाई
मुग्राले हिर्काएर फुटाएको जस्तो । म भित्र जमेको आलस्यले घनिभूत जडताको पोको पनि
परिस्थितीको यो प्रहारले थिचिएर धुलोपिठो हुन्छ । दृष्टि रेखामा छिमेकीको घरको माथी आकाशमा गोलाकार
ताप पुन्जको उदय हुन्छ । मेरो लागि त्यो आकस्मिकता । प्रकृतिको लागि त नित्य कर्म
। सूर्योदयको चेतना मलाई नभएको होईन । तर त्यो
क्षणमा मेरो ध्यान त्यस विषयमा थिएन । ध्यान गर्नेले पृष्टभमिको आवाज नसुनेको
जस्तो ।
योग साधना केन्द्रमा
सूर्य नमस्कार गर्नु भन्दा अघि मन्त्रोच्चारणका साथ साथै भन्ने गरिएको छ ।
“हे! प्रभु ! मेरो जीवन पनि हजुरको जस्तै तेजवान होस ।
हरेक दिन हरेक क्षण म भित्र अन्तरनिहित अथाह उर्जालाई प्रयोग गर्न सँकु । मेरो
जीवन पद्धति पनि हजुरको जस्तै अनुशासित होस । म
पनि मेरा हरेक कर्मलाई पूर्णता दिन सकुँ । तिनलाई समयको साईतमा सम्पन्न
गर्न सकुँ । हरेक वर्ष, हरेक दिन र हरेक सेकेण्ड अविछिन्नता पस्कन
सँकु । मेरो अन्तस्करणमा त्यो क्षमता कहिले पनि नटुटोस ।“
म पनि मन्त्र उच्चारण
गर्दै सूर्य नमस्कार गर्छु । अनि म त्यो आकस्मिकतालाई परिभाषित गर्ने विशेषणहरुको
गर्न खोजीमा लाग्छु । सहजता । शालिनता ।
नियमितता । जाज्वल्यमान रुप । पूर्णता । उर्जाको अथाह श्रोत । शक्तिको विराट
स्वरुप । अनुशासनको अलौकिक उदाहरण । अहिले त एक टक लगाएर पनि हेर्न सकिन्छ । भक्तालुहरु
खुशीले भाव व्यक्त गर्दा हुन- “हो
पक्कै हो । सूर्य नारायणको उदय भएको हो ।“ आकाशमा निलो, सेतो र रातोको मिश्रण भएको पृष्टभूमि । पूर्ण गोलाकार रुप । रँग रातो ।
घर कै माथी । मानौ सूर्य को उदयलाई नरिवलका रुखले वाटो छोडिदिएका छन ।
जगदीश घिमिरेले लेखे-
‘बिहान दस
मिनेट राम्ररी सूर्य नमस्कार गर्दा लगभग दिनभरिलाई पुग्ने व्यायाम हुन्छ । सूर्य
नमस्कार यौगिक र गतिशिल एरोबिक व्यायामका सबै उत्कृष्ट तत्वले परिपूर्ण समग्र
व्यायाम हो । ‘
तपस्याले या नित्य
पालना गरिएको अनुशासनले जीवन सफल हुन सक्छ । नियमित साधनाले चिताएको पुग्न सक्छ । तर
जगदीश घिमिरेले भनेको जस्तो कठोर अनुशासनको काम गर्न सजिलो छैन । राम्रो वानी पार्न सहज हुँदैन
। यस विषयमा अर्ति दिन सजिलो छ । पालना गर्न कठिन ।
बिपी
कोईरालाले लेखेका छन्-
“सूर्य उदयले,
गुलाफ फक्रेको कुराले पनि तपाईँलाई रिझाउन सकेन भने तपाईँको जीवनको
एउटा पक्ष त सुकेको रहेछ । मरेतुल्य भएको रहेछ, तपाईँले
सूर्योदयलाई राम्रो भन्न सक्नुभएन र रोमान्चित हुनुभएन भने । हो, त्यो रोमान्चकता जसले उत्पन्न गर्दछ, त्यही ठाँउमा
धर्म पनि बसेको हुन्छ ।“
यो अनुच्छेद उल्लेख
भएको लेख उनको अन्तिम रचना रहेछ । ‘म ईश्वरलाई
कसरी बुझ्दछु ?” भन्ने प्रश्नको उत्तर दिने प्रयास गरेका
रहेछन बिपीले त्यो लेखमा । क्यान्सर अस्पतालको छतमा उभिएर अर्ग दिन सूर्योदय पर्खिएकी युवतीको भक्कानिएको मनलाई नजिकवाट
नियाल्दा उनलाई त्यो अनुभूति भएछ । शायद सूर्यलाई पुकारेर उनलाई खनिएको ठूलो
सँकटलाई किनारा लगाउने विचार युवतीको थियो । आपद विपदमा मान्छेले प्रयोग गर्ने अन्तिम
अस्त्र हो “भगवानको पुकारा” । कँहि
पढेको थिँए – भगवानका अरु रुपलाई वाहिरी आँखाले देख्न सकिन्न
तर सूर्य भगवानलाई भने जसले पनि आफ्नै वाहिरी आँखाले देख्न सक्छ । सूर्यनारायणलाई
देवताका पनि देवताको रुपमा पनि लिईन्छ । जे होस तराईमा विताएको त्यो अविष्मरणिय सूर्योदयको
क्षणले मेरो अन्तस्करणमा जुन सुवास फैलाईदियो त्यही अनुभुति बिपीका शब्दहरुमा
पाउँदा मलाई हर्ष लागेको छ । साँच्चै हो
सूर्योदय वा सूर्यास्त हुँदा वा फूल फूलेको देख्दा रोमान्चित नहुने मन वोकेर
हिँडेको व्यक्तिको जीन्दगी आनन्दको राजमार्ग छोडेर विषादको जँगलमा भौतारिएको हुन
सक्छ । ईश्वरको सिर्जनामा परेको एउटा अलौकिक वस्तु हो- ‘मान्छेको
मन’ । सँसार यसैमा अडिएको छ । मन मा माया छ । मनमा सन्तोष छ
। खुशी छ । आनन्द छ । तृष्णा छ । भोक छ । पीडा छ । कलह, ईर्स्या,
आवेग, रिस, औडाहा, हतार, ग्लानी, पश्चाताप, आग्रह,
पुर्वाग्रह, कुण्ठा, नैराश्यता
सबै मनमा अटाउछँ । तौलन मिल्ने हो भने मान्छेहरुले सुखका मालिकहरु लाई सोध्ने थिए
होला- “तिमी सँग कति टनको आनन्द छ ?”
अनि दुखियाहरु उत्तर दिन्थे होला – म सँग
हजारौ टनको दु:ख छ । तर मनमा कति अनुभूति राख्न सकिन्छ ।
भौतिक रुपमा तौलिन शायदै सकिएला ।
शास्त्रमा भनिएको
रहेछ-
“मनो जयति यो जयति ब्रम्हाणम्” अर्थात जसले मन
जित्दछ त्यसले ब्रम्हाण्ड पनि जित्न सक्छ । तर यथार्थ अर्कै छ । जित्नु त परै जावस
यसलाई एक मिनट सम्म पनि स्थिर राख्न कठिन
छ । किनभने मन चन्चल छ । अस्थिर छ ।
एकाएक असाध्य रोगवाट
थलिएर जीवनाकाशको उच्चतम विन्दुबाट खसेर न्युनतम विन्दुमा पुगेका उनै जगदिश
घिमिरेले लेखे-
“आँखा कि
अचानक प्रचण्ड अन्धकारबाट पुग्दा तिरमिराउँछन् कि प्रचण्ड उज्यालोबाट प्रचण्ड
अन्धकारमा पुग्दा । म जीवनको प्रचण्ड उज्यालोवाट एकाएक प्रचण्ड अन्धकारमा पुगेको
थिँए । मेरा आँखा जोडले तिरमिराएका थिए । दिव्य ज्ञानतुल्य त्यो तिरमिरिले मलाई
नयाँ दृष्टि दियो ।“
मान्छेले भोगेको
परिवेशमा दुई किसिमका परिवर्तन हुन सक्छन् । एउटा नितान्त व्यक्तिगत हुन्छ । सोचमा
परिवर्तन । आचरणमा परिवर्तन । व्यवहारमा परिवर्तन । चरित्रमा परिवर्तन । रुपको या शारिरिक
अवस्थाको परिवर्तन । अर्को आफ्नो वरिपरिको वातावरणमा हुने परिवर्तन । कालखण्डको यथास्थितिमा
आएको परिवर्तन । रात र दिन । हिँउद र वर्षात । घाम लागिरहेको वेला पानी पर्नु ।
अन्धकारलाई चिर्दै उज्यालो हुनु । जगदिश घिमिरे र विपीले औल्याएका परिवर्तन यिनै
हुन । मान्छेको जीवनमा या प्रकृतिमा आउने परिवर्तन । प्रकृतिमा आउने परिवर्तन सँग
मान्छेले आफ्नो जैविक या मानसिक सँयन्त्रलाई जोड्न सकंछ । त्यसावाट उर्जा लिन सक्छ
। त्यसको धारले आफू भित्रको कलुषिता खुर्कन सक्छ । जडताको दहलाई छेक्ने आली
भत्काउन सक्छ । विषादलाई विग्रह गर्न सक्छ । अर्थात परिवर्तन अघि र पछिको अवस्थामाको
वीचको सङ्क्रमणकाललाई जसले आत्मसात गर्न सक्छ त्यसले सृष्टि गर्न सक्छ या
जीवनाकाशमा परिवर्तनको अनुभूति गर्न सक्छ । जगदिश घिमिरेले उल्लेख गरेको “तिरिमिरी” र बिपीले देखेको “रोमान्चकता” यही बीचको स्थिति हो । बुझ्नेले त्यहाँ “नयाँ
दृष्टि” पाउन सक्छ । मँसिर सँक्रान्ती-सँघारको
त्यो दिनको मिर्मिरेमा सूर्योदयको अनुभूतिले मेरो जडता च्यातिएको थियो । आलस्यताको
पोको फुटेको थियो । त्यहाँ मैले यो ‘लेख’ लेख्ने दृष्टि पाएको थिँए ।
माथी उल्लेखित बिपीको
लेखमा उनले ईश्वर सम्बन्धि गहन विचार उल्लेख गरेका छन । क्यान्सर अस्पतालको छतमा
भेटिएकी युवतीको पुकारा सुनेर ईश्वरले उनलाई केही सहयोग गर्लान भन्ने कुरामा
बिपीलाई विश्वास थिएन । किनभने उनले लेखे- अधबैँसे थिई,
त्यसै हुनाले आफ्ना दुलाहाका लागि होला वा छोरा वा छोरीका लागि होला,
ऊ प्रार्थाना गरिरहेकी थिई । अब देवताले त्यसलाई सुन्ने ? कतिलाई सुन्ने ? ………..त्यही
स्वास्नीमान्छे जसले क्यान्सर अस्पतालमा त्यसरी रोई, त्यसको
मलाई छाप परेको छ, मैले केही गर्न सक्ने भए त्यसको लागि त म
केही गर्ने थिँए भन्ने लागेको छ ।
वास्तवमा यस्ता प्रश्नको उत्तर दिन कठिन छ ।
सँसारमा अरबौ नरनारी छन । अन्य पशुपन्छी र वनस्पती गरेर खरबौको सँख्या छ । तीनलाई सँकट परेको वेलामा ती युवतीले जस्तो
ईश्वरको पुकारा गर्ने कैयौ होलान । सबैका समस्या वा चाहना अलग अलग होलान । के
ईश्वरले ति सबैलाई वा ति मध्ये चुनिएकालाई सम्बोधन गर्लान त ? यक्ष प्रश्नहरु सिर्जना हुन्छन । अब कि त यी प्रश्नलाई लक्ष्मीप्रसाद देवकोटाले
दिएको घटाउको जस्तो उत्तर दिनु पर्यो ? र भन्नु पर्यो “यो अध्यात्मको विषय हो । त्यहाँ विधाताको उत्तर दिने नियम अर्कै हुन सक्छ ।
मान्छेको कित्ताको ज्ञानले उसलाई नै रचना गर्ने सर्जकको कित्ताको प्रश्नको उत्तर
दिन सकिन्न । कुवाको भ्यागुत्तोले नदी वा समुद्रको सँसार कल्पना गर्न सक्छ र ?“
यहाँ निर दुईवटा
तर्कहरु मनन योग्य छन । पहिलो हो, नियमित ईश्वरको
प्रार्थना वा कुनै अनुशासित गतिविधि जस्तै- मिर्मिरेमा सूर्य
नमस्कार गर्दा सबै भन्दा वढी फाईदा पुग्ने भनेको त्यो साधना गर्ने मान्छेलाई नै हो
। नगर्ने भन्दा गर्ने मान्छे पक्कै पनि वढी अनुशासित हुन्छ । ईश्वर प्राप्त गर्ला
नगर्ला त्यो अनुत्तरित प्रश्न हो तर उसले केही न केही जैविक वा मानसिक उपलब्धी हासिल
त पक्कै गर्छ । उसले सतर्कता वा होशमा जीवन जिउन सक्छ । जीवन-यात्रामा तुलनात्मक रुपमा कम जोखिमको सामना गर्छ । असल साधकले ध्यान गर्दा
प्रकृतिमा विद्यमान आवाज सुन्नु मात्र त के निरन्तरको साधनाले समाधि नै प्राप्त
गर्न सक्छ ।
दोस्रो, के प्रार्थना को प्राप्ती हुँदै
हुँदै न त ? वा विधाताले कसैको पुकारा सुन्छन त ? भन्ने सामान्य हिसावमा अनुत्तरित प्रश्नहरु हुन । तर विपीले उल्लेख गरेकी
युवतीले आफ्नो प्रार्थानाले प्राप्त गरेको र प्रमाण समेत पोखिएको फल भनेको विपीको पग्लिएको मन हो । युवतीले सूर्य भगवानलाई गरेको
पुकारा देख्दा त्यो कृयाकलापका साक्षी बिपीको सहयोग गर्ने मन पलायो । यसर्थ मान्छेको मष्तिष्कले कल्पना समेत गर्न
नसक्ने अनन्त क्षेत्रफल भएको कित्ताका स्वामी सृष्टिकर्ता, पालनकर्ता
र विनाशकर्ताको मन के नपग्लेला र ?
अर्को यक्ष प्रश्न सिर्जना हुन्छ । यसको उत्तर पाउनका लागि म एक
अर्को अलौकिक सूर्योदयको पर्खाईमा छु ।
लेख थालनी – कार्तिक मसान्त २०७१
उर्लावारी, मोरङ
विट मारेको – माघ १८,
२०७१
कोटेश्वर, काठमाण्डौ
ईमेल: nawa.khatiwada@gmail.com
भरिया पत्रिका (प्रकाशोन्मुख)