त्रिभुवन विमानस्थलको नवनिर्मित आन्तरिक
टर्मिनल भवनमा निर्धारित समयभन्दा पन्ध्र मिनट जति अगावै पुगेँ । कात्तिकको
पहिलो हप्ताको पारिलो घामसँग प्रत्यक्ष भेट भयो । यो साल मनसुनी वर्षा
ढिलोसम्म टिकेको थियो । यसैले भर्खरै ज्यान पाएका घामका सुनौला किरणहरु
लोभलाग्दा हुने नै भए ।
नयाँ टर्मिनल भवन पश्चिम मोहोडाको बनाइएको
हुनाले प्रतिक्षालय न्यानो र घमाइलो हुने रहेछ । म घाम मज्जाले लागेको
कुर्सी खोजेर बसेँ । तर तिम्ल्याहा कुर्सीहरु एक आपसमा जोडिएकाले छुट्टै
कुर्सीमा एक्लै बस्ने अवसर मिलेन । लक्षित कुर्सीको देब्रेतिर पहाडे मूलका
दुई पुरुष बसेका थिए । दाहिने तिरको कुर्सी भने खाली थियो । म चुपचाप
ल्यापटप खोलेर लेख्न थालेँ ।
आज मेरो अनलाइन लेख्ने योजना छ । जे
देखिन्छ, जे भेटिन्छ त्यसलाई जस्ताको तस्तै शब्दमा तात्तातै परिणत
गरिहाल्ने । लेखनमा सकेसम्म वर्तमान काल नै प्रयोग गर्ने । यसलाई मैले
अनलाइन लेखन अर्थात साजी लेखनको सँज्ञा दिएको छु । यात्रामा सिर्जना हुने
भनेका कि त नौला दृष्य हुन, कि त परिचित वा अपरिचित व्यक्तिसँग बोलिने
सम्वादहरु ।
मेरो ध्यान बिथोलियो । दाहिने तिरको कुर्सीमा भने एक मधिसे मूलका व्यक्ति हातमा बोर्डिङ् पास र नागरिकता च्यापेर बस्न आई पुगे ।
"आप किधर जा रहे हैँ ?" उनले हामीतिर लक्ष्य गरी हिन्दीमा प्रश्न सोधे ।
हाउभाउ र प्रश्नले उनी कुनै सूचनाको
खोजीमा छन् जस्तो लाग्यो । बसको खलासीले यात्रुको शिकार गर्दा सोध्ने
प्रश्न यही हो । उसँग 'बस कहाँ जान्छ' भन्ने सूचना हुन्छ तर उ यात्रुलाई
सोध्छ- 'कहाँ सम्म हो' ? तपाईँ जुन सुकै ठाउँ जानुहोस् वा उसको बस जुनसुकै
ठाउँमा जाने होस् । उसले सकेसम्म रुट मिलाएर तपाईलाई लैजाने सपना पालेको
हुन्छ ।
"कसलाई ? मलाई भन्नु भएको ?" मैले हिन्दीको सट्टा नेपाली वोलेँ । जवाफ दिइन । प्रश्न नै सोधेँ ।
उनी अकमकाए ।
"आप कहाँ जा रहा है ?" मेरा देब्रेतिर बसेका मित्रले आगन्तुकलाई सोधे ।
"हातमा नेपाली नागरिकता भएपछि नेपाली
बोल्न सम्म त जानेका होलान्" भन्ने मेरो अनुमान थियो । आगन्तुकले भने
'त्यहाँ भेटिएका सबै यात्रुले हिन्दी बुझ्दछन्' भन्ने अनुमान गरेका थिए
होला । मेरो सोचाई ठ्याक्कै मिल्यो । उनी सिमरा जानेरहेछन् । प्रस्थान
कक्षको सूचनाको खोजीमा रहेछन् । हामीले प्रस्थान कक्ष देखाईदियौ ।
अहिले म मुख्य प्रतिक्षालयमा दक्षिणतिर
फर्केर बसेको छु । अब के को बरेमा लेख्ने भनेर नौला दृष्यहरु खोज्दै छु ।
कोही ईष्टमित्र भेटिन्छ कि भनेर आँखा डुलाउँदै छु । एकाएक दृष्टिपटको
रँगमन्च जाज्वल्यमान हुन्छ । खैरो रगँको बुट लगाएर अर्को लहरमा तर
ठ्याक्कै मेरो सामुन्नेमा कुर्सीमा बसेकी एक युवती पर्छिन् । म सकेसम्म
उनको रुप, बसाई र व्यक्तित्वलाई शब्दमा उतार्ने प्रयासमा गर्छु । तर
हौसिएको मनको महल गर्ल्यामगुर्लुङ् ढल्छ । सास अलि फुलेको जस्तो हुन्छ ।
उकुस मुकुस बढ्छ । शरीरको तापक्रममा बृद्धि भएको जस्तो हुन्छ । पसिना आएको
जस्तो पनि अनुभूति हुन्छ ।
"खुब साजी खजाना बटुल्ने भएको । भेटिस !
तथाकथित नियात्राकार । आयो निदुली अब तेरो काल !" म भित्रको लेखकलाई कसैले
साउती गरे जस्तो लाग्यो ।
"नक्कलीले आजै त्यस्तो भिर्नु परेको । अनि
त्यही सामुन्नेको लहरमा बस्नु परेको । मलाई दशा लागेका । आज अनलाईन लेख्ने
बाचा बाँधेको अनि यही सिटमा अन्मरिन परेको ।" अर्को मनले भैपरिआएको
परिवेशलाई अस्वीकार नगर्नका लागि केही सान्त्वना बटुल्यो ।
तर नियात्राकारले हिम्मत हार्ने कुरो भएन । बरु लेखाईको गियर परिवर्तन गर्ने निधो गर्यो ।
मेरो दृष्टिपटलमा रहेकी युवतीले
एक थान मात्र लुगा लगाएकी छन् । उनको जीउ र खुट्टा गरी दुई तिहाई मात्र
ढाकिएको छ। रातो रगँको लुगा भएकोले उनको व्यक्तित्व त्यसमा राम्रैसँग
खुलेको छ । गर्धनदेखि घुँडा सम्मको शरीर ढाक्ने यो लुगालाई के भन्दा हुन
थाहा भएन । नेपालीमा त नाम पनि नहुँदो हो । कम्मरमा बाँधेर गोलीगाँठा सम्म
ढाक्नेलाई जामा भनिन्छ । जामा जस्तै तर ती भन्दा छोटा वस्त्रलाई स्कर्ट
भनिन्छ । उनका हातका बाहुला भने घडी बाँधिने ठाउँसम्म आईपुगेका छन् ।
लुगाले घुँडाबाट पाँच अँगुल जति माथी सम्मको भाग ढाकिएकोले बाँकी प्रष्ट
देखिएका छन्।
"धन्य प्रभु ! तिम्रो कृपाले यिनले बस्दा
एक आपसमा गोडा जोडाएकी छन् । नत्र यो प्रतिज्ञारत लेखकको आज हविगत के हुने
थियो । यी हातले लेख्ने आधुनिक कलमले अनेकथरी चिजबिजको वर्णन गर्नु पर्ने
थियो ।" मैले विधातालाई सम्झिएँ ।
स्कर्ट लाउने जो कोही लाई भैपरिआउने यो
ठूलो फसाद होला । कुर्सीमा वा सोफामा बसेका बेला गोडाको भाग एक अर्कामा
नजोड्ने हो भने भित्री लुगासमेत देखिन सक्छ । कतिपय गोडा खप्ट्याएर छड्के
पारी बसेका हुन्छन ।
"भित्री लुगा पनि नलगाउने वेसोमतिहरु हुन्छन रे ।" कहिँ पढेको सम्झन्छ नियात्राकार ।
"आज यिनको पनि बुद्धि बिग्रेको भए ।" उसको मनको ढुकढुकी अझै बढ्छ ।
"विदेश होइन । नेपाल हो । यस्तो पराकाष्टा हुँदैन ।" मन थामथुम पार्छ ऊ ।
उनको मझौला कद र अलि मोटो शरीर भएर पनि
होला गोडा जोड्न सजिलो भएको । लामतिघ्रेलाई त यति गर्न पनि कठिनै हुँदो हो
। तिघ्रा जोडाउनुको अर्थ पनि पनि जे नदेखिनु पर्ने हो त्यही नदेखियोस्
भनेर होला । सार्वजनिक स्थलमा भन्दा औपचारिक बैठकमा झन सकस पर्दो हो ।
"गर्नेलाई भन्दा देख्नेलाई लाज ।" मैले लोकोक्ति सँझिए ।
यसैले स्कर्टको अझ त्यसमा पनि छोटो
स्कर्टको पहिरन मलाई अनौठो नै लाग्छ । म भने त्यही दृष्यमा केन्द्रित भएर
ल्यापटपमा लेखिरहेको छु । म त्यता निरन्तर हेर्न सक्दिन । घरि घरी चोरी
दाउले मात्र हेर्छु ।
"बाबै ! शाकाहारी भएर सबै स्थानमा कहाँ व्यवहार चल्छ र ?" मैले नियात्राकार महोदयलाई सान्त्वना दिएँ ।
यिनै हरफहरु लेख्दा लेख्दै उनी उठेर गइन । मेरो प्रेतरुपी नियात्राकारलाई ठूलो राहत मिल्यो ।
युवती हिँडेको केही क्षणमा भने कथाले
अर्को नाटकीय मोड लियो । त्यही सिटमा एउटा मोटो मान्छे आएर बस्यो । उसले
जिन्सको पाइन्ट लगाएको छ । उस्का भने तिघ्रा जोडिएका छैनन् । मलाई अचम्मको
अनुभूति भै रहेको छ । स्वभाविक हो उस्को भित्री लुगा र लाजको अस्त्र
छोपिएको छ । तर उसको बारेमा लेख्दा भने मलाई अघिको जस्तो कुरी कुरी लाग्दैन
। म निर्धक्क भएर त्यस व्यक्ति लाइ हेर्छु । नियात्राकार निर्धक्क मात्र
होइन छाती फुलाएर लेख्छ । म पुरुष भएको हुनाले यसो हुनु स्वभाविकै होला ।
यहाँ निर म नियात्राकारको कमजोरी फेला पार्छु । वास्तवमा एउटा लेखक भनेको
तटस्थ हुन सक्नु पर्ने हो । शाकाहारी होस् या माँशाहारी होस् । तरुनी होस्
या तरुनो होस् । वेश्या होस् या अप्सरा । कुनै विषयको लेखनमा पनि आग्रह या
पुर्वाग्रह नहुनु पर्ने हो ।
यस विषयको एउटा उल्लेखनीय पक्ष छ ।
महिलाको तुलनामा पुरुषका भने अङ्ग प्रदर्शन गर्ने खालका पहिरन खासै भए
जस्तो लाग्दैन । शरीरको आकार वा माँशपेशी प्रदर्शन गर्ने भन्ने छुट्टै कुरो
हो । वास्तवमा गुन्यु वा जामाकै छोटो रुप स्कर्ट हो । कट्टुको लामो रुप
सुरुवाल । यी दुई खालका लुगामा भएको तात्विक भिन्नता भनेको भुँई हुनु र
नहुनु हो । गुन्यु, साडी वा फरियाको भुँई हुँदैन, ह्वाँगै हुन्छ, तर
कट्टु, सुरुवाल र पाईजामाको भुँई हुन्छ । चाहे त्यो सिरानमा नै किन नहोस्
।
यो लुगा लगाउने कुरा पनि गजबकै हो ।
अनुहार देखाउन हुने । टाउको, हात, खुट्टा सार्वजनिक गर्न हुने । तर केही
सँवेदनशील अङ्गहरु छोप्नु पर्ने । कथमकदाचित सार्बजनिक भै हालेमा शरम
लाग्ने । नदेखिनु पर्ने अङ्ग देखिन्छ कि भनेर सतर्क हुनु पर्ने । हुन त
मुस्लिम समुदायमा अझै पनि युवतीहरुले अनुहार पनि सार्वजनिक स्थलमा छोपेर
हिँड्नु पर्ने परिपाटी छ । हाम्रै नेपाली समाजमा पनि केही समय अघि सम्म
शरिरका अङ्ग पुरै छोपेर लुगा लगाउने चलन थियो । तर अहिले साडी लगाउने
महिलाहरुले पनि चोलोको पछाडिको भाग आधा ह्वाङ्गै पारेको देख्छु । पाईन्ट
लगाउने युवा युवतीले च्यातिएर प्वालै प्वाल पारिएको लगाएको देख्छु ।
सार्वजनिक स्थलमा पनि पृथ्वीका अप्सरा र परीहरुले पारदर्शी लुगा लगाएर
तिघ्रा टल्काएको वा बक्षस्थलको आकार प्रष्ट्याएको वा तिनलाई छोप्ने ढकनी र
तुना देखाएको पाँउछु ।
अनि कसैले भनेको सम्झन्छु-
उहिले बाजेका पालामा
लाज छोप्न लुगा लगाइन्थ्यो ।
हाम्रा बाआमाका पालामा
लाज उघार्न लुगा लगाइन थाल्यो ।
अहिले हाम्रा पालामा
लुगा छोप्न लाज लगाइन्छ ।
जानी जानी लाज उघार्ने लुगा लगाउनु र
कहिलेकाहि अन्जानमा दुर्घटना भएर भित्री अङ्ग देखिनुमा फरक छ । बैँकक
विमानस्थलमा घटेको मेरो आफ्नै जिपर काण्ड सम्झिएँ । वेसुरे भएँछु, पाइन्टको
जिपर त खुलै रहेछ । अध्यागमनको काम सकेर सुरक्षा जाँचको लागी पेटी आदी
फुकाल्ने क्रममा कसो कसो जिपर पनि खुलेछ । एउटी औपचारीक पहिरन लगाएकी हातमा
शरीर जाँच्ने लट्ठी बोकेकी अग्ली सुरक्षाकर्मीले हातले ईशारा गरेर
देखाइदिई । म त लाज र शरमले पानी पानी भएँ । हत्तपत्त अरु कसैले पनि देख्ला
कि भनेर जिपरको व्याकरण मिलाएँ । जहाज भरी त्यसको मात्रै सम्झना आयो । अरु
चिनजानका साथीभाइका अघि 'यो हरिलठ्ठकको जिपर खुलै थियो' भनेर त्यही
युवतीले भन्दिने कुयोग आइलागेको भए अझ कति लाज लाग्थ्यो होला । कन्त बिजोगै
हुन्थ्यो होला ।
त्यसो त यस्तो बेलामा केटाहरु मात्र भएको
स्थिति भयो र परिस्थितिको सामना गर्न जान्यो भने रमाइलो पनि सिर्जना हुन्छ ।
मेरो जागिरे जीवनको दोस्रो खुट्किलोमा पाइला राखेको बेला जाजरकोटमा एउटा
रोचक प्रसँग सिर्जना भएको थियो । मेरा हाकिम बडो रौसे थिए । एक पटक
जिल्लाका प्रमुखहरु समेत भएर बाटामा हिँडेको बेला बुढाको जिपर खुलै रहेछ ।
"सरको पोष्ट अफिस पो खुलै रहेछ ।" कसैले उनलाई सतर्क गराईदियो ।
"के भन्छ यो खोपजङ्ग ?" उनले अलि आत्तिएको स्वर निकाले । उनी आफ्ना दौँतरी र कनिष्ठलाई ठट्टा गरेर "खोपजङ्ग' भन्थे ।
तर तुरुन्तै आफूलाई सम्हाले अनि स्वभाविक भएर भने-
"पोष्ट अफिस खुलेर के भो त ! आखिर चिट्टी पत्र आएका छैनन् क्यारे ।" कान्लो छुने गरी बाटामा हाँसो पोखिएको थियो।
त्यसो त नग्नतालाई सार्वजनिक गर्न मिल्ने र
नग्न जमात भए पनि एकले अर्कालाई क्वारक्वार्ती नहेर्ने स्थानहरु नभएका
होईनन् । समुद्रिकिनारमा बालुवामा पल्टिँदा वा छालसँग खेल्दा लगौटी आकारका
न्युन क्षेत्रफल भएका वस्त्रले सँवेदनशील अङ्ग ढाक्ने चलन छ । थाईल्याण्ड र
जापानका समुद्रितटमा घुम्न जाँदा यस्ता पर्यटकीय स्थलहरुमा शरिरका
सँवेदनशील अङ्ग मात्र ढाकेका नारीपुरुष नदेखिएको होईन । अझ जापानमा त
तातोपानीका दहहरुमा निवस्त्र भएर मजा लिने चलन छ । प्राय यस्ता दहहरुमा
स्त्री र पुरुषका लागि अलग अलग कक्षहरु हुन्छन् । तर केही यस्ता दहहरु पनि
छन् रे जहाँ नरनारी दुवै निवस्त्र भएर तातोपानीमा डुबुल्की मारेर आनन्द
लिन्छन रे । तर आफूलाई भने तीन-तीन वर्ष जापानमा बस्दा यस्तो अवसर जुरेन ।
पराईजनको नङ्नतालाई नचाहँदा नचाहँदै
हेर्नु पर्ने बाध्यता भने बैँककमामा रहँदा अनुभुति गरिएको छ । स्वीमिङ्
पुलमा पौडि खेली सकेपछि स्नानघरमा नुहाएर लुगा फेर्दा यो अनौठो दृष्य
देखिन्थ्यो । स्नानघरमा पुरै भित्ता ढाक्ने गरि ऐना राखिएको थियो । खासगरी
चिनिया मित्रहरु एक धरो पनि लुगा नलगाई ऐना तिर फर्केर आफ्नो शरिर नियाल्ने
वा तौलियाले जीउ पुछ्ने गर्थे । आफू भने स्नानकक्षमा नै जीउ पुछेर कट्टु
लगाई बाहिर निस्कने ।
"हरामी त पशुपतिनाथ परिसरका कालभैरवले
जस्तो अस्त्र ठड्याएर बसेको । कस्तो कु-साईत पर्यो ।" ऐनामा देखिएको दृष्य
देखेर यसरी मुरमुरिएका सम्झना ताजा छ ।
शायद आफ्नो नग्नताको गोपनियतालाई
सार्वजनिक नगर्ने सँस्कार भएर नै यसो भएको होला । किनभने केही समय अघिसम्म
पनि र अहिले पनि गाउँघरमा सार्वजनिक धारामा वा नदी खोलामा नुहाउने चलन छ ।
यस्तो वेला पुरुषले कट्टु लगाएर वा स्त्रीले पेटीकोट माथी सारेर वक्षस्थल
समेत छोप्ने चलन छ । अरुको अघि नाङ्गै नुहाउने काम भनेको स-साना नानीहरुको
हकमा बाहेक ठूलाले गर्दैनन् ।
बुद्ध एयरको काठमाण्डौ-विराटनगरको उडानमा
दुईवटा भने उल्लेखनीय घटना घटे । मैले टिकट जाँच कक्षमा देब्रे तिरको
झ्यालको सिट मिलाउन भनेको थिएँ । नभन्दै मैले रोजेकै सीट पाएँ । तर म
पुग्दा एक भलादमीले मेरो सीटमा आसन जमाएको पाँए । सँयोगवश एक एयर होस्टेज
अर्थात हवाई सुन्दरी नजिकै थिईन । मैले उनलाई बोर्डिङ् पास दिँए । उनले
मेरो सीट देखाईदिईन । भलादमी मलामी-गाम्भिर्यताको काँचुली ओड्दै ओल्लो
सीटमा सरे । तर बसीबसी मलाई झ्यालको सीटमा जाने ईशारा गरे । त्यसरी जान
सँभव थिएन । उनलाई मैले उठ्ने आदेश नै दिनु पर्यो ।
"यो मान्छे भलादमी होईन । तन्तु नभएको जन्तु हो ।
यो सँग मेरो भाषा मिल्दैन । कुरो गर्नु वेकार छ । तर अन्तिम मौका दिन्छु ।
हेरौ यसले चकलेट कति लिन्छ । मुठ्ठीभरी लियो भने पक्कै यो गड्यौल्यान्छे
नै हो । म यो सँग बोल्दै बोल्दिन ।" मेरा छिमेकी सह-यात्रीका बारेमा
मष्तिष्कमा यिनै भावनाहरु उम्रिए ।
नभन्दै उसले एक मुठी चकलेट हडप्यो । मैले
हवाई सुन्दरी सँग आँखा जुधाउँदै दुईवटा लिएँ । सुन्दरी पनि तन्तु नभएकै
परिछिन कि क्या हो ! या त उनको हिँड्ने वेलामा लोग्नेसँग झगडा गरेकी थिईन ।
मलामी गाम्भिर्यताको काँचुली भिरेको मुस्कानरहित अनुहार । नत्र मैले
दुईवटा मात्र चकलेट लिएर उनी तिर हेर्दा मुस्कुराउनु पर्ने !
सेवा प्रदायक र सेवाग्राहीको स्नायू
मिल्यो भने रमाईलो सिर्जना हुन्छ । दुवैको काम पनि सहजताका साथ सम्पन्न
हुन्छ । त्रिभुवन विमानस्थलको टिकट जाँच कक्षमा सिर्जना भएको एक रोचक
प्रसँगको स्मरण ताजा भयो ।
म र सूर्यमान सर गोमा एयरको उडानवाट सुर्खेत जाने क्रममा थियौँ ।
जाँच कक्षमा वहाँ भन्दा अघि थिएँ । मेरो काम सकियो । वहाँको पालो आयो ।
"श्रीमतिको मोवाईल नम्बर दिनु त, सर ।"
सूर्य सरलाई टिकट जाँच गर्ने युवतीले भनिन । म सँग पनि नजिकका आफन्तको
रुपमा श्रीमतिको सम्पर्क नम्बर मागेकी थिईन ।
"कुन चहीँको दिँउ ?" वहाँले बडो सहजताका साथ प्रतिप्रश्न राख्नु भयो । युवती र उनका सहकर्मीहरु डल्लो परेर हाँसे ।
वास्तवमा कुनै पनि पेशाकर्मी वा सेवा प्रदायकको लागि यो बडो महत्वको विषय हो ।
मेरो शँका यथार्थमा परिणत भयो जब तिनै हवाई सुन्दरीले विराटनगर विमानस्थलमा जहाज थामिए पछि अन्तिम सन्देश सुनाईन ।
"लोड ब्यालेन्सको कारणले पहिला पछाडिबाट ओर्लि दिनु होला ।"
मलाई उनको भाषिक त्रुटि भएको अभिव्यक्ति
भन्दा उनको खुम्चिएको खाप्चो र आक्रोस मिश्रित बोलीमा चासो थियो । उनले
गाम्भिर्यताको मखुण्डो यथावत राखिन ।
रोड शेषको एक होटलमा मेरोलागि बासको ब्यवस्था गरिएको थियो । कोठामा पुगेर मलाई काजमा खटाउने कार्यालय प्रमुखलाई फोन गरेँ ।
"तपाईँको यात्रा ईभेन्टफुल त भएन ?" वहाँको आशय थियो-कुनै अप्ठ्यारो त आईलागेन ।
"मेरो यात्रा ईभेन्ट नै ईभेन्टले भरिपूर्ण भयो सर !" मैले भने ।
यदि यात्रामा रोचक घटनाहरु भए । कोही
अपरिचितसँग कुरा गर्ने मौका पर्यो । हवाई सुन्दरीहरु पनि उस्तै फरासिला र
मुस्कानको धर्को तनक्क पार्ने वर्गका भेटिए भने त्यो यात्रा ईभेन्टफूल
हुन्छ । अर्थात पट्यारलाग्दो हुँदैन । यो विद्या सिकाउने मेरा गुरु
थिए-जर्ज टेलर । अमेरिकी सहयोग नियोगको एउटा परियोजनामा म उनी सँग काम
गर्थे । उनले आफ्नो नेपाली नाम राखेका थिए- गोर्गे दर्जी ।
विराटनगरमा मेरो एक दिनको मात्र बसाई थियो
। भोलिपल्ट अपरान्हकै उडानवाट फर्किने योजना थियो । लगभग एक घण्टा अगावै
विमानस्थल आईपुगेँ । टिकट जाँचकक्षमा फेरी एउटा रमाईलो सिर्जना भयो ।
"मलाई दाहिने तिरको झ्यालको सिट दिनु होला ।" मेरो हिमाल हेर्ने रहरलाई मैले यथावत राखेँ ।
"डा. साहेबले पनि वाहिर हेर्न मजा मान्नु
हुँदो रहेछ ।" जाँच-कक्षका कर्मचारी बोले । उनले टिकटमा मेरो नामको अघि
लेखिएको "डाक्टर" को उपाधिलाई उधिन्न भ्याए । मलाई यिनीसँग भने स्नायू
मिल्ला जस्तो लाग्यो ।
"यस्तै हो । कसैलाई बाहिर हेर्दा मजा लाग्छ । कसैलाई नहेर्दा मजा लाग्छ ।" मैले अलि ठूलै स्वरमा प्रत्युत्तर दिएँ ।
मेरा पछिल्तिर म भन्दा पाका व्यक्ति लाममा
थिए । उनी भन्दा पछि एक युवती थिईन । बुढालाई मेरो कुराले छोएन । युवती
भने एकाएक खित्का छोडेर हाँसिन । मेरो जवाफ उनलाई जँचेछ । मैले उनलाई माथी
देखि तल सम्म हेरेँ । जीउ पुरै ढाकिएको लुगा लगाएकी थिईन । भुँई भएको
पाईन्ट र कोट । मलाई भने स्कर्टको धँगधगीले छोडेको थिएन ।
"तपाई पनि बाहिर हेर्दा मजा मान्ने व्यक्ति पर्नु भो ?" मैले मौकामा चौका हाने ।
"हो नि । मलाई पनि दाहिने तिर झ्यालकै सिट चाहियो ।" उनले माग प्रस्तुत गरिन ।
काठमाण्डौ आईपुग्दा झमक्कै साँझ पर्यो । म
सँग कागजातले भरिएको एउटा बोरा पनि भएकोले ट्रलीको खोजीमा निस्किएँ ।
ट्याक्सी पार्किङ् क्षेत्र सम्म आउँदा बल्ल एउटा फेला पर्यो ।
ट्रलिमा सामान राख्दै थिएँ । मेरै छेउमा
सम्भालिनसक्नु सँख्यामा झोलाझ्याम्टा भएका सहयात्रीहरुको कल्याङ्मल्याङ्ले
ध्यानाकर्षण गर्यो । उनीहरु मध्येका तीनजना मेरै उडानमा थिए । विराटनगरमा
जहाज चढ्दै गर्दा उनीहरुलाई फोटो खिच्दै गरेको देखेको थिँए ।
"यो ट्रलिमा राखे हुन्छ केही सामान ।" मैले उनीहरुको ध्यानाकर्षण गराएँ ।
"हुन्छ नि । ल यो ठूलो चै राख त ।" अधवैसै महिलाले उनीहरुको समूहको एक युवकलाई अराईन ।
"नानी अङ्कललाई ट्रली ठेल्न सघाउ त ।" उनैले युवतीलाई पनि अराईन । शायद युवती उनकी छोरी थिईन ।
एक अर्थमा हाम्रो यात्रा की नायिका यिनै
थिईन । उनको पहिरन र हाउभाउले मैले निचोड निकालेँ । एकै छिन भए पनि
नायिकासँग सँगै हिँड्न आईलागेको यो मौकालाई उपयोग गर्ने सुर निकालेँ । तर
प्रेतको रुपमा म सँग हिँडेको नियात्राकार भने उनको पहिरन नियाल्न थाल्यो ।
"लौ! यिनले पनि भुँई ह्वाँगै भएको घुँडा भन्दा माथी सम्म मात्र छोप्ने वस्त्र लगाएकी छन ।" नियात्राकारको निचोड निक्लियो ।
"यात्रामा पनि स्कर्ट जस्ता छोटा वस्त्र लगाउनुको अर्थ के हो ?" मेरो मनमा प्रश्न जन्मियो तर उनलाई सोध्न सकिन ।
तर मैले मेरा हाकिमलाई मेरो यात्रा वृतान्तको निचोड यसरी सुनाउने निधो भने गरेँ ।
"सर ! मेरो यात्रा ईभेन्टफूल मात्र हैन स्कर्टफूल पो भयो ।
यात्रा गरिएका दिनाङ्क : कार्तिक ०६ र ०७ गते
नियात्रा विट मारिएको दिन : कार्तिक १४, २०१६
कोटेश्वर, काठमाण्डौ ।
साभार : http://ujyaaloonline.com/news/65781/niyatra/