Monday, June 26, 2017

अवकाश जीन्दगी



नयाँ वर्षको पहिलो दिनको अघिल्लो रातलाई प्रायः न्यु इयर्स इभभनेर मनाउने चलन छ । अर्कोतिर त्यसलाई गएको वर्षको रातअर्थात् ओल्ड इयर्स नाइटभनेर पनि कतिपय मुलुकहरूमा मनउने चलन रहेछ । यसरी एउटै पर्व वा उत्सवलाई कस्तो रङले पोत्ने भन्ने कुरा सँस्कार लगायतका विविध विषयसँग जोडिएको छ । प्रश्न विगत सम्झेर रमाउने कि आगतलाई कल्पेर खुशी हुने भन्ने हो । अवकाश लगायतका कतिपय सवालमा यो आगतविगतको शृङ्खलासँग जोडिएका गहन विषयहरू छन् । 

मेरा अभिन्न मित्र कुन्दनदास श्रेष्ठले केही दिनअघि एक रोचक प्रसङ्ग सुनाउनुभयो ।  

एकान्तको एक कार्यालयमा सधैँ ढोका ढप्क्याइएको हुन्थ्यो । कार्यालय खुल्ने समय भएपछि एउटा किशोर हातमा पत्रिका च्यापेर ढोकामा देखा प¥यो । उसले ढोकामा टक् टक् आवाज दियो ।

को हो ?’ भित्र कोही थियो । झर्केको बोली सुनियो ।

मन्त्रीज्यूले हजुरलाई मिटिङमा बोलाउनु भएको छ ।किशोरले खबर भन्यो ।

त्यो मूला मन्त्री ! मलाई बोलाउने ! आउँदैन रे भन्दे । हा.. हा. हा. ।भित्रबाट अट्टाहसपूर्ण आवाजमा जवाफ आयो ।

किशोरले यो काम निरन्तर गथ्र्याे । यी तिन क्रियाहरू सधैँका नियति थिएदश बजे ढोकाको ढक् ढक्, मिटिङको खबर र भित्रबाट आक्रोशित जवाफ । एक दिन कसैले यो उदेकलाग्दो हर्कतका बारेमा चाल पायो र किशोरलाई प्रश्न ग¥यो ।

के को तमासा हो यो ?’

मलाई केही थाहा छैन तर मैले ढोका ढक्ढक्याएर खबर भने वापत महिनाको ४ हजार तलब पाउँछु ।किशोरले  गम्भीर हुँदै जवाफ दियो ।

त्यो कृत्रिम कार्यालय एक अवकाशप्राप्त सचिवको थियो रे ! उनलाई अति नै पीडा दिएका एक मन्त्रीसँग बदला लिनका लागि उनले त्यो प्रपञ्च रचेका थिए रे !

कुनै पदीय दायित्वको समायावधि सकिएपछि अवकाश पाइन्छ तर अवकाश कसरी लिने ? आफू कार्यरत संस्था वा निकायबाट बहिर्गमन हुँदा कस्तो रणनीति अपनाउने ? राष्ट्रसेवक, व्यावसायिक प्रतिष्ठानको कर्मचारी वा राजनीतिक नियुक्ति पाएर सार्वजनिक निकायमा पदवहाली गरेको प्रमुख कार्यकारी जो कोही भए तापनि सेवा प्रवेश गर्दा जुन किसिमको महत्वकाङ्क्षा, उत्साह या कार्ययोजना हुन्छ,  सेवानिवृत्त हुँदा त्यो किसिमको रौनक प्रायःजसो हुँदैन । सरकारका उपल्ला निकायका पदाधिकारीहरूको हकमा त पहिलो एकसय दिनको मूल्याङ्कनसमेत गरिन्छ । यो अवधिलाई हनिमून पिरियडको सङ्ज्ञा समेत दिइन्छ तर सबै हनिमून अवधि एकैनासका हुँदैनन् । यस्तै सबै बहिर्गमनका पदचिहृनहरू पनि उस्तै हुँदैनन् । विभिन्न किसिमका सेवाप्रवेश र सेवानिवृत्त हुने तौरतरिका प्रतिविम्बित गर्ने विषयमा कुन्दनजी र मेरो थप वार्तालाप भयो ।

मैले कुन्दनजीको मनासाय बुझ्न प्रश्न गरेँ

कुनै ठूलै समारोह वा कार्यक्रममा सयौँ व्यक्तिहरूको सहभागिता हुन्छ । ती सहभागीहरू सबै विभिन्न समयमा कार्यक्रमको थलोमा आउँछन् र विभिन्न समयमा प्रस्थान गर्छन् । कार्यक्रममा सामान्यतयाः सबैभन्दा ढिलो प्रवेश गर्ने सहभागी को होला ?’  

त्यो व्यक्ति होप्रमुख अतिथि ।

अनि, सबैभन्दा चाँडो प्रस्थान गर्ने नि ?’

त्यो पनि प्रमुख अतिथि नै हो ।

कुन्दनजीका जवाफ सही थिए ।

रोचक कुरा के छ भने प्रमुख अतिथि समारोहमा प्रवेश हुँदा र उनको प्रस्थान हुँदा सबै सहभागीहरू गडगडाहट ताली बजाउन लालायित हुन्छन् । कतिपय कार्यक्रममा उनीहरूले उठेर प्रमुख अतिथिको स्वागत तथा बिदाइ गर्छन् ।

अर्कोतिर तोकिएको अवधिको अन्तिम समयसम्म कार्यक्रम स्थलमा को बस्छ होला ?’

आयोजक ।

कुन्दनजीको लागि त्यो प्रश्नमा कुनै खास चुनौती थिएन । वहाँको सहज प्रस्फुटित जवाफ थियो त्यो । 

आयोजक वा सेवाप्रदायकको अलावा पनि त्यहाँ दुई तीन अन्य समूहहरू हुन्छन् जसलाई कार्यक्रम सकियोभन्ने जानकारी समेत दिनुपर्छ । ती हुन्माइक, कार्पेट वा कुर्सी आदि उपलब्ध गराउने सेवाप्रदायकका कर्मचारीहरू, मदिराले लठ्ठ परेर होश गुमाएकाहरू र अझै केही पाइन्छ कि भनेर आस गर्नेहरू । वृत्तिविकास वा अवकाशका जानिफकारहरू भन्छन्कुनै पनि कर्मचारीको आगमन वा बहिर्गमनको शैली समारोहमा आएका प्रमुख अतिथिको जस्तो हुनुपर्छ । आगमन र बहिर्गमन दुवै समयमा सम्मानित हुने । यहाँ त अवकाश हुने अधिकांशको समारोहको अन्त्यसम्म बस्ने आसेहरू वा मदिराले लठ्ठ परेर होश गुमाएका हुस्सुहरूको जस्तो हुन्छ । कतिपय त जन्ममिति वा जागिरबहाली मिति सच्याएर  अवकाश हुने मिति पर सार्न समेत उद्यत हुन्छन् । कोही कोही कुर्सीमा टाँसिन आफ्नै पिँधमा खोटो दल्ने काम गर्न शक्तिकेन्द्रको द्वारमा लम्पसार पर्छन् । कतिपयचाहिँ अवकाश हुँदा आफूसँग राखेका सवारीसाधन वा अन्य सरसामानहरू गायब पार्ने ध्याउन्नमा लाग्छन् । मन्त्रीनिवास जस्ता सरकारी सुविधा त पर्दा च्यात्ने, बैठक कोठामा दिसापिसाब गर्ने र हुनेसम्मको उपद्रो गरेरमात्र आवासगृह छोड्ने कार्य भएका छन् ।         

तीस वर्षअघिको अतीतको सम्झना हुन्छ । लोकसेवा आयोगको परीक्षा उत्तीर्ण गरी म जाजरकोटको खानेपानी कार्यालय मार्फत श्री ५ को सरकारको सेवामा म हाँजिर भएको थिएँ । जाजरकोट बसाइमा मैले तीन जना हाकिम व्योहोर्ने मौका पाएँदामोदर भट्टराई, रामलखन मण्डल र हरिश्चन्द्र शाह । अहिले वहाँहरू तीनै जनाको अवकाश भइसकेको छ । दामोदर भट्टराईका घतलाग्दा फेसबुक पोस्टहरू पढ्न पाउँछु । रमाइलो लाग्छ । अरू दुई भूतपूर्व हाकिम साबहरूसँग भने सम्पर्क छैन । मण्डलसरको भने अवकाशसँग जोडिएको एक प्रसङ्ग छ ।  खानेपानी विभागवाट सेवानिवृत्त हुनुअघि विभागकै अर्का इन्जिनियर दीपक पुरीसँग वहाँले यस्तो वातमार्नु भएछ

पुरीजी, ल भन्नुहोस् त अवकाशपछि के गर्ने होला ?’

बजारमा परामर्शदाताको कामको लाइन लागेको छ नि त सर !

मलाई त्यस्तो केही त आउँदैन । अहिलेसम्म रिपोट सिपोटको काम गरिएकै छैन । कसरी होला र !

मण्डलसरको अभिव्यक्तिमा ठूलो सन्देश लुकेको मैले पाएँ । कतिपयले आ.. सकिहालिन्छ नि ! त्यो कन्सल्टेन्सी भनेको रकेट साइन्स होइन क्यारे भन्ने ठानेर जीवनभरिकै ठूलो दुःख व्यहोरेका छन् ।

मैले काठमाडांै तराई द्रुतमार्ग लगायत केही परियोजनामा अन्तर्राष्ट्रिय परामर्शदाता डेभिड ग्रीनसँग सहकार्य गर्ने मौका पाएको थिएँ । एशियाली विकास बैङ्क (एडिबी) लगायतका दातृ संस्थाहरूका लागि परामर्श सेवासम्बन्धी कार्य गर्दा के गर्न हुन्छवा के गर्न हुँदैनभन्ने विषयमा मैले डेभिडबाट धेरै सिकेको छु । म संलग्न नभएको एडिबीकै एक परियोजनामा नेपाल सरकारको सेवावाट अवकाशप्राप्त एक वातावरण विज्ञ डेभिडसँग काम गर्थे । तिनको कार्य सम्पादनबाट डेभिड खुशी थिएनन् ।

टाइफाइड भएको बहानामा उनले हप्तौँसम्म कुनै सम्पर्क गरेनन् । इमेल पनि आफू लेख्न सक्दैनन् । छोरालाई लेख्न लगाउँछन् । उनको भाषाको स्तर पनि निम्न कोटीको छ । त्यस्तो पाराले काम हुन्छ त ?’

यस्तै विश्व बैंकको सहयोगमा सञ्चालित वृद्ध भत्ता बैङ्कमार्फत भुक्तानि दिने एक अध्ययन गर्ने कार्यका लागि परामर्शदाताहरूको टोलीमा राष्ट्र बैङ्कबाट अवकाश प्राप्त दुई अधिकृतहरू पनि रहेछन् । उनीहरूलाई दिइएको काम पार लगाउन महाभारत भएछ । तथ्याङ्क विश्लेषण गरेर ग्राफ र चार्ट बनाउनेजस्ता सामान्य प्राविधक कामहरूका लागि पनि उनीहरूले खेताला लगाउनु परेछ । जीवनभर आदेश दिएर वा निर्णयात्मक सहीछापमात्र गरेकाहरूका लागि जीवनको उत्तराद्र्धमा आएर इमेल र इन्टरनेटको भरमा सम्पूर्ण काम गर्नु भनेको फलामको च्युरा चपाउनुजस्तै हो । कतिपयले रहरले वा कतिपयले लक्ष्मी भित्रायाउनेमनसायले नदुखेको कपाल डोरी लगाएर दुखाएका छन् ।  

केही छट्टुहरूले फाइदा पनि लुटेका छन् । कुनै प्राविधिक मन्त्रालयमा काम गर्ने एक विशिष्ट श्रेणीका कर्मचारी अवकाश हुनु दुई वर्षपूर्वदेखि कार्यालयको आधिकारिक इमेलभन्दा आफ्नो व्यक्तिगत जिमेल प्रयोग गर्थे । मैले एक दिन उनीसँग यसको औचित्यको बारेमा जिज्ञासा राखेँ ।

सरकारी इमेल प्रयोग गरेर अवकाश भएको भोलिपल्ट के हामीले घोघो खाने ? डलरखेती गर्नु परेन ?’ यस्तो जवाफ आयो ।   

म जाजरकोट खानेपानी कार्यालयमा हुँदा क्षेत्रीय निर्देशक थिए, राजधानीका रैथाने । उनले मलाई एकपटक पुरानो मितिमा खानेपानीको पाइप खरिद गर्ने कार्यमा संलग्न गराउन खोजेका थिए । त्यस्ता कामको के दुरगामी प्रभाव पर्दथ्यो मलाई जानकारी थिएन । उनले मलाई गुन पनि लगाएका थिए । नेपालगन्जमा खानेपानीको एक परियोजना कार्यालय थियो । ती हाकिम पप्लुका शौखिन थिए । उनी र अरू केही वरिष्ठ इन्जिनियरहरूसँग बसेर मैले जीवनमा पहिलो पटक दश रुपियाँ प्वाइन्ट पप्लु खेलेको थिएँ । पछिसम्म पनि काठमाडौंको आफ्नो निवासमा साथीभाइ र वहालवला इन्जिनियरहरूसँग बसेर उनी पप्लु जमाउँथे । अवकाशप्राप्त जीवन भने उनको पदमा आसीन भएजस्तो रसिलो भएन ।

आजभोलि त मकहाँ कोही पनि तास खेल्न आउँदैन ।

यसरी उनले विरक्तिभाव पोखेको अझै पनि स्मरण गर्नेहरू छन् । दौँतरीहरूको तुलनामा उनी चाँडै बिते । बित्नुभन्दा केही अघिसम्म पनि परिवारमा केही असामान्य व्यवहार गर्थे रे ! उनलाई नजिकबाट चिन्नेहरू भन्छन्उनको अवकाश जीवन सहज हुन सकेन ।

नेपाल प्रशासनिक प्रतिष्ठानले गरेको एक अध्ययनमा पूर्वकर्मचारीहरूले अवकाश भएको औसत सात वर्षमा इहलिला समाप्त हुने उल्लेख छ । यसको मतलब ७० काट्ने भाग्यमानीहरू कमै हुन्छन् । छोराछोरी विदेशमा हुनेहरूलाई झन् सकस छ । नातिनातिनाको मुख हेर्दै समय बिताउने अवसर समेत छैन ।

सुभद्रा पन्तले राष्ट्रिय वाणिज्य बैङ्कबाट एक वर्षअघि अवकाश प्राप्त गर्नुभएको रहेछ । केही दिनअघि योगसाधना केन्द्रमा वहाँसँग भेट भयो । साइत पारेर वहाँलाई सोधेँ

के अन्तर छ त जागिरमा हुँदा र अहिलेको जीवनमा ?’

लगाइराखेको हीराको हार अकस्मात लुछेर धमिलो दहमा फ्याँकिदिएको अवस्था हुँदो रहेछ ।

अर्थात हीराकै हारको के कुरा ! कानको मुन्द्री भनौन, थुतेर लगिदियो । हजुर चैँ बुच्चे कान लिएर हिँड्ने बाध्यता छ होइन त ?’

हो त ।

यसरी जागिरलाई नै सर्वस्व ठानेकाहरू जमात पनि ठूलो छ । जागिरसँग आफ्नो दिनचर्याको नङ र मासुको सम्बन्ध बनाएकाहरूले जागिरको अन्त्यलाई एक विकराल सङ्कटको रूपमा लिएका छन् । अझ त्यसमा अवकाशपश्चात के गर्ने भन्ने प्रश्नको उत्तर नखोजेका, आफ्ना सन्तान विदेश पठाएका र कुनै इलम नजानेका वा विशेष रुचि नपालेका अवकाशेहरूको सेवानिवृत्त भएपछिको जीवन सकसपूर्ण भएको छ ।

गतसाल वेत्रावती किनारमा नब्बे काटेका एक वृद्ध फेला परेका थिए । उनी हाम्रो साहित्यिक जमघटमा अतिथि भएर मिसिएका थिए । दौड प्रतियोगिता गरेमा हामी जस्तालाई सहजै पछार्लान् जस्तो उनको जिउडाल थियो । यस्ता फूर्तिला सज्जनलाई मैले सोधेँ

तपाईंको दीर्घ जीवनको रहस्य के हो ?’

उनले दिएको जवाफमा अवकाशेहरूलाई काम लाग्ने गहन सन्देश पाएको थिएँ ।

उनले भनेका थिए

मलाई लाग्छ, म नपुगे कुनै कार्यक्रम नै हुँदैन । यसैले यस्ता कार्यक्रम म छोड्दिनँ । कुनै बाधा अड्चन आए मेरा अनुभव सुनाइदिन्छु । त्यसैका भरका कति गाँठा आफैँ फुक्छन् । सबैले मलाई मान पनि दिएका छन् । मलाई लाग्छ मेरो बुढ्यौलीको खाँबो यही हो ।

जापानका पूर्व राजदूत केदारभक्त माथेमाका पिताश्रीसँग पनि नब्बेकै हाराहारीमा जापानमा भेट भएको थियो । वहाँको पनि दिनचर्या र फूर्ति देखेर मैले माथेमा सरलाई सोधेको थिएँ

के हो हजुरका पिताश्रीको यो तन्नेरीपनको गाँठी कुरो ?’

विशेष रुचि ।

नौ दशक काटेका बुढा त्यस बेलासम्म पनि घरका नातिनातिना वा बुहारीहरूसँग फिल्म हेर्न जान्थे रे ! कोही खाली बसेको देख्यो कि किताब पढ्न लगाएर सुन्थे रे ! अनि भित्री लुगाहरू सकेसम्म आफैँ धुन्थे रे !

यसरी बाँकी जीवनलाई हेर्ने आँखा नभएकाहरूका लागि अवकाशे जीवन एक बोझ बन्न पुग्छ । यसकारण अवकाश हुनुपूर्व नै मैले जे पाएको छु, यथेष्ट छ । अब बाँकी जीवनमा यो गर्छुभन्ने धारणा उमार्ने हो भने जो कोहीले पनि नवजीवन पाउनसक्छ । विगत जति लम्ब्यायो,  आगतको आयु अझै घट्छ । यो सामान्य सिद्धान्त हो । अन्य केही गर्न नसके आफ्नो जीवनको गाथा लेख्न त पक्कै सकिन्छ । किनभने कलमकापी लिएर लेख्न नजान्ने अहिलेको जमाना मा को पो छ र !

बुद्धजयन्ती, २०७४

१२६ जनकल्याण गल्ली

कोटेश्वर, काठमाडौं 

लिङ्क :   http://ehimalayatimes.com/bichar-sahitya/12094

Sunday, June 25, 2017

झोलाको बार भत्किदाँ



पूर्वी नेपालमा प्रचलित केही शब्दहरु मध्ये एउटा हो-लोदर । यसपटकको पश्चिम नेपालको यात्रामा मलाई पनि नराम्रो सँग लोदर लाग्यो । तर सृष्टिको सिद्धान्त छ- कुनै परिस्थिति जति तल खस्छ त्यसले उतिकै नापोमा राम्रो हुने सँभावना पनि बोकेर ल्याउँछ । लिङ्गे पिङ् एकातिर जति मचिन्छ त्यतिकै उचाईमा अर्को तिर पनि मचिन्छ । एउटै पहाडमा उकाली र ओराली उस्तै प्रकृतिका हुन्छन् ।

बुद्ध एयरको अपरान्हको अन्तिम उडानबाट म नेपालगन्ज जान लागेको थिएँ । नेपालगन्जमा नेपाल र भारतका राप्ती नदी सरोकार समूहलाई वातारणीय प्रभाव मूल्याङ्कन विषयमा तालिम दिनु थियो । बुद्ध एयरका हवाई सुन्दरीहरुको कालो पहिरन मलाई कत्ति पनि जँचेन । बँगालादेशमा कालो बुर्का किन लगाउँछन ? भन्ने विषयलाई  जोडर लेखिएको नियात्रा छापिएको पत्रिकाको अँक झोलामा थियो । मैले आफूलाई जानी जानी जहाजबाट ओर्लने अन्तिम यात्रु बनाएँ । नेपालथरकी हवाई सुन्दरीलाई त्यो पत्रिका दिँदै भने ।

बँगालादेशमा कालो बुर्का किन लगाउँछन ? यसमा लेखिएको छ । तँपाईहरुको पहिरन पनि कालो भएछ । पढेर व्यवस्थापनलाई केही सुझाव दिनु होला ।
उडानमा निति फाउन्डेशनका सौमित्रजी र म सँगै थियौ । वास्तवमा नेपालगन्जमा आयोजना गरिएको कार्यशाला गोष्ठीमा मलाई पण्डितजी को भूमिका दिनै उनै थिए । म यस्ता गोष्ठीलाई हलुका स्नायूमा भन्नु पर्दा विकासे रुद्रिको सँज्ञा दिन्छु । गोष्ठी नेपालगन्जको अहिले नयाँ खोलिएको होटेलमा आयोजना गरिएको रहेछ ।

    म तोकिएको कोठामा पुग्ना साथ रुद्रि वाचनको तयारीमा जुटेँ । मिनि बार खोलेर हेरेँ । क्यान वियर र जुस आदि देखिए । मलाई भने एकाएक वोतलको वियर पिउँदै स्लाईडमा काम गर्ने सुर चढ्यो । रुम सर्भिसलाई फोन गरेर वियर मगाएँ । तर वियरको आगमनले एउटा अचम्म लाग्ने परिस्थिति सिर्जना गर्यो । वियर ल्याउने केटाले त्यसको विल पनि साथमा ल्यायो र नगद भुक्तानी गर्नु पर्ने नियम भएको जिकिर गर्यो । यो नौलो काईदा मलाई पचेन । मैले वियर फिर्ता गरेँ । एकैछिनमा फोन आयो ।

आपने दारु मगाया था ना । उसके लिए आपको क्यास देना पडेगा ।

वो दारु नही था । वो तो वियर था ।

मैले पनि भित्तैमा पुग्ने गरी जवाफ दिएँ । जवाफको पहिलो वाक्य हिन्दी बोलेर मैले भाषाको गियर परिवर्तन गरेर अँग्रेजी बोल्न थालेँ । आफ्नै मुलुक भित्र भएको भाषिक गन्जागोल मलाई बिझाईरहेको थियो । मगाएको सामान पनि फिर्ता गर्नु पर्ने स्थिति लोदर लाग्नुको पहिलो प्रमाण भयो ।

रुद्रिमा पनि भाषाको ठूलो समस्या सिर्जना भयो । भारतका सहभागी गोरखपुर तिरका बासिन्दा थिए । उनीहरु हिन्दिमा बोल्थे । नेपालीहरु मध्ये केही हिन्दि नबुझ्ने थिए । अँग्रेजी दुवैलाई समस्या थियो । मलाई केही हिन्दी आँउथ्यो । तर औपचारिक कार्यक्रममा मैले हिन्दिमा बोल्ने जमर्को नगर्ने मान्यता राखेको थिएँ । अन्ततोगत्वा मैले कठिनाईका साथ तिनवटै भाषा प्रयोग गरि रुद्रिवाचनलाई विट मारेँ । तर श्रोताका भावशून्य अनुहार, पूर्व वक्ताका रुखा प्रस्तुती,  

सहभागीहरुको असमान स्तर र निरस विषयवस्तु आदिको कारण रुद्रि वाचनमा पनि मजैले लोदर लाग्यो ।
मेरो अपरान्ह ५:१० को बुद्धकै उडानबाट काठमाण्डौ फर्किने टिकट थियो । सौमित्रको अरु दुई दिन बस्नु पर्ने काम भएकोले यो फिर्ती यात्रामा म नितान्त एक्लो थिएँ । विमानस्थलका लागि तिन बजे तिर प्रस्थान गरेँ । होटल परिसर वाहिर के निस्कनु थियो, नेपालगन्जको गर्मीले हार्दिक स्वागत गर्यो । सडकमा रिक्साको सवारीको नामोनिसाना थिएन । रिक्सालाई तिन पाङ्ग्रे टेम्पोले विस्थापन गरेछ । तराईका शहरमा यो रिक्सा हटाउ अभियानले अभूतपूर्व सफलता प्राप्त गरेको छ ।
राँझा विमानस्थलमा पुगेर सामान जाँच गराएँ । कार्यशालामा आफ्नो प्रस्तुतिमा रङ् भर्नका लागि मैले वातावरणीय प्रभाव मुल्याङ्कन सम्बन्धित एक कार्टुन सामाग्री ल्याएको थिएँ । त्यसले गर्दा सूरक्षा जाँचको ट्याग लगाउनु पर्ने मेरा दुई पोका भए । हातमा पछाडि भिर्ने झोला थियो । विमानस्थलमा असामान्य चहल पहल देखियो । मनमा चिसो पस्यो । सामान जाँच गर्ने प्रहरी जवानहरुले नै नचिताएको सूचना प्रवाह गरे ।

पाँच बजेको उडान सात बजेलाई सरेको छ ।

नभन्दै काउन्टरमा बुझ्दा पनि त्यहि जानकारी पाईयो । मौसमको खराबीका कारण चौतर्फी उडानहरु प्रभावित भएका रहेछन । मेरो निर्धारित उडान भन्दा अघि काठमाण्डौ जानु पर्ने जहाजकै अत्तो पत्तो रहेनछ । बुद्धकै कार्यालयमा सामान राखेर म हाते झोला च्यापेर टर्मिनल भवनवाट बाहिर निस्किएँ । हिजो वियरपान गर्न नपाएको रनाहाको अवशेष बाँकि नै थियो । म विमानस्थल परिसरको चमेना गृहमा पुगेँ । त्यहाँ पनि अत्यधिक भीड थियो । ग्राहक धेरै भएको ठाउँमा सेवा निम्छरो हुन्छ । यसैले मैले टर्मिनल भवन वाहिर गएर केही खाजा पनि खाने सोच बनाएँ ।

लगभग एक घण्टा बाहिर विताएर फर्किँदा चहल पहल अझ बढेको पाएँ । बस्ने ठाउँ पनि मुश्किलले भेटियो । चिनजानका साथीभाई कोही भेटिन्छन कि भनेर आँखा डुलाएँ । कोही पनि भेटिएन ।  हाम्रो भन्दा अघिल्लो जहाज त आयो तर त्यो विमानस्थलमा नै थला पर्यो भन्ने सुनियो । जहाज पनि थला पर्दो रहेछभन्ने ज्ञान मलाई अस्ति बँगालदेश बाट फर्किदाँ भएको थियो ।

त्रिभुवन विमानस्थलमा जहाज अवतरण गर्दा बँगाली हवाई सुन्दरीले उदघोषणमा भनेकी थिईन-

विमान पूर्ण रुपले थला पर्छिन ।

जहाज पूर्ण रुपले नरोकिए सम्म मोवाईल फोनको प्रयोग नगर्नु होलाभन्ने वाक्यलाई बँगालीमा भन्दा जहाज थला पर्ने कुरो आएको थियो । यो अविष्मरणिय प्रसँग फेरी एक पटक ताजा भयो ।

    साँझको छ बज्यो । न त थला परेको जहाजले उड्ने सुरसार गर्यो न त हाम्रो जहाजको टुङ्गो लाग्यो । शौर्य एयरले उडान रद्द भएको घोषणा गर्यो । हामीलाई भने अझै टुङ्गो नलागेको जानकारी दिईयो । अनिश्चयका बादलहरु बुर्कुसी मार्दै रमाउन थाले । उडान रद्द हुने लगभग पक्का भयो । तर मौषम विदले घनघोर बर्षा हुने भविष्यवाणी गरे जस्तै बुद्ध एयरका सम्पर्क कर्मचारीले आज रद्द भएको उडान भोलि सुचारु हुन सक्ने झिनो सँभावना मात्र व्यक्त गरे । मेरो मानसपटलमा भैपरिआएको परिस्थिति सँग जोडिएको यक्ष प्रश्नको जन्म भै सकेको थियो ।

अब के गर्ने ?

सौमित्रजीलाई फोन गरेर स्थिति अवगत गराएँ । उनले मेरो लागि लोदर लागेको होटेलमा कोठा आरक्षण गराईदिने बचन दिए । तर चिन्ता बस्ने भन्दा पनि कहिले फर्कने भन्ने थियो । मेरो जस्तै अनिश्चयको आँधीले सातो उडाएका यात्रुहरुको सक्रियता एकाएक बढ्यो । कसैले नयाँ जानकारी ल्याउला कि ? वा कुनै वैकल्पिक व्यवस्था होला कि ? भन्नेमा सबैले चासो राख्न थाले । म पनि चनाखो भएँ । नेपालीहरुले त नेपालीको भाषा बुझ्दथे । के भई रहेको छ भन्ने सहजै अनुमान गर्थे । तर नेपाली भाषा नबुझ्ने र एक्लै यात्रा गरिरहेका विदेशीहरुका लागि भने यो सन्त्रासको छेउ टुप्पो थाहा हुने कुरो थिएन । मेरो मनमा यो भाव मडारिनुको एक कारण थियो । मँगोलियन मूलका एक विदेशी मोवाईल चलाई रहेका थिए । म उनी छेउ गएँ ।

एक्सक्युज मि, आर यु अल्सो टेकिङ बुद्ध एयर ?”

उनले होभने । जापानिज रहेछन । मैले जापानी भाषामा अभिवादन गरेँ । उनलाई स्थितिको अवगत गराएँ । मैले उनलाई दिएको जानकारी सुखद थिएन । तर त्यसले उनको अन्यौललाई चिरेको थियो । यसकारण भनिएको छ-  

अनिश्चयको साँझमा रुमल्लिनु भन्दा अब झन अन्धकार हुन्छ भन्ने थाहा पाउनु जाती हुन्छ। किनभने यसो हुँदा जडताको शिकार भएको व्यक्तिले अन्धकार सँग सामना गर्न आफूलाई तयार गर्ने अवसर पाउँछ ।

आई हाईली एप्रिसिएट युर हेल्प । थ्याङ्क यू सो मच ।

उनले मेरो जानकारीको प्रशँशा गरे । तर त्यो कष्टकर थियो । हरेक कालो बादलमा चाँदीको घेरा हुन्छ । यसले कुनै व्यक्ति वा पद्धतिलाई जडताको शिकार हुन वाट बचाउँछ । हाम्रो स्थितिमा पनि त्यस्तै भयो ।

हजुर नवराज सर हुनुहुन्छ, होईन ।एक पुरुष पात्रले मलाई औल्याएर सोधे ।

हो । तर, कसरी चिन्नु हुन्छ मलाई ?” मेरा आश्चर्य र हर्षका ढोका एकाएक खुले ।

मलाई रीता म्याडमले पढाउनु भएको हो । फेसबुकमा देखेको हजुरको तस्विर सँझिए ।

उनी सुवेन्द्र ताम्रकार रहेछन । पोखरामा शिक्षकको काम गर्दा रहेछन । उनी मेरा लागि भुँईचालो गएर भत्केको घरले थिचिएको व्यक्तिलाई उद्दार गर्न पुगेको उद्दारकर्मि जस्तै भएर उदाए । विलखबन्दमा एक अर्का यात्रुसँग उनको केही क्षण अघि परिचय भएको रहेछ । उनी भने मोवाईलमा कसैसँग कुरा गर्दै थिए । जीप भाडामा दिने साहुसँग कुरा गर्दै रहेछन । जीप पाईयो भने टिकट रद्द गरेर त्यसमा जाने उनको सोच रहेछ । केही समय अघि एक आपसमा परिचय भएका दुई युवती पनि त्यो अवसर छोप्ने दाउमा रहेछन । यसरी म सहित पाँच जनाको समूह भै सकेको कुरा सुवेन्द्रले भने ।
मैले पनि त्यो विकल्पलाई नगुमाउने विचार गरेँ । आखिर एउटा स्कर्पियो पाईयो । मैले सुवेन्द्रसँग सल्लाह गरि जापानिजलाई पनि हामीले सडकमार्गवाट जाने निधो गरेको र एउटा सिट खाली भएको व्यहोरा अवगत गराएँ । उ दँग पर्यो र हाम्रो प्रस्तावलाई सहर्ष स्विकार गर्यो ।

जे होस,  हवाई यात्रामा पूर्ण विराम लागे पनि सतहमार्गको यात्राको तयारी भएको थियो । हामी ६ जनाको शशक्त दस्ताको निर्माण भएको थियो । साढे सात बजे हामी राँझाबाट काठमाण्डौको लागि प्रस्थान गर्यौ । जिपमा दुई युवतीहरु बीचको सीटमा बसे । मैले पछाडिको सिट रोजेँ । कारण थियो जापानिज मित्रलाई साथ दिनु । सन्दिपजी, जसले गाडि मिलाउनु भएको थियो वहाँ अगाडि चालक सँगैको सिटमा बस्नु भयो । सुविन्द्रजी युवतीहरुको देब्रेतिर झ्यालपट्टि बस्नु भयो ।

नेपालगन्जवाट कोहलपुर आउने सडक स्तरोन्नति गरिएको छ । रात्रीको समय । स्तरीय सडक । सडकमा नगण्य सवारी साधन । तय गर्ने निर्धारित दुरी ५०० किमि भन्दा पनि बढी । स्कर्पियो लाई बतासिनका लागि यि कारणहरु काफि थिए । यात्राको शुरु भएर होला गफ गर्ने हाम्रो तीन समूह बन्यो । जापानिज मित्र र म उस्का र मेरा पेशागत सँलग्नताका कुरा खोतल्न थाल्यौ । सुवेन्द्र र सन्दिपजी सवारी साधनका कुरा गर्न थाले । दुई युवतिहरु आ-आफ्ना भूगोलका ।
केही बेर पछि मैले सबैको ध्यानाकर्षण गर्दै भने-

हाम्रा गफ गर्ने पार्टि धेरै भए । अब एउटै पार्टि गर्ने । तर गफमा लैङ्गिक समानता हुनु पर्छ । सबै भन्दा पहिला चेलिहरुको पुरा परिचयवाट शुरु गरे कसो होला ?”

मेरो प्रस्तावमा पुरुषवर्गले सहमति जनाएँ । चेलिहरु भने मौन बसे ।

घर कहाँ पर्यो त नि चेलिहरुको ?”

मेरो कपिलवस्तु हो ।

झ्यालतिर बसेकी चेलीले रँगमन्च सम्भालिन ।

अनि बीचमा बस्ने चेलीको ?”

सोधेर फटाफट उत्तर दिनु भन्दा हजुरहरुले नै यस बारेमा अनुमान गरे कसो होला ?”

उनको भने गफको रँगमन्चमा प्रवेश घुमाउरो थियो ।

हामीले धानखोलामा खाना खायौ । त्यतिन्जेलमा हामी एक अर्कामा धेरै खुलिसकेका थियौ । घुमाउरो जवाफ दिने चेलीको नाम करिश्मा रहेछ । उनी मध्य-पश्चिमान्चल क्षेत्रमा आधारशिविर बनाएको एक गैरसरकारी सँस्थाको कार्यक्रम सँयोजक पदमा काम गर्दिरहिछन । एक दिने अभिमुखिकरण तालिमका लागि राजधानी जाँदै रहिछन । सन्दिपजी भने पेशाले ईन्जिनियर हुनु हुँदो रहेछ । लगनखेलमा वहाँको आफ्नै फर्म रहेछ । रँगमन्चमा सहज प्रवेश गर्ने चेलीको नाम शर्मिला रहेछ । उनी भने काठमाण्डौमा वसेर परीक्षा दिने तयारी गर्दै रहिछन । उनको अमेरिका जाने निधो भै सकेको रहेछ ।

किन जान लाग्नु भो त नि अमेरिका ?”

नर्स अमेरिका किन जान्छन ?  सर पनि कुरा बुझ्न ट्युबलाईट जस्तै हो कि क्या हो ?”

शर्मिलाले मलाई फूलको जवाफ काँडाले दिईन । सबै गलल हाँसे । करिश्मा र शर्मिला दुवैले नर्सिङ्को स्नातक तहको अध्ययन सकेका रहेछन ।

नारायणघाट सम्मको यात्रामा कुनै लोदर लागेन । दु:ख सुख हामी निधायौ । रात्रीको दुई बजे तिर हामी फेरी गफको रँगमन्चमा प्रवेश गर्यौ । स्कर्पियो सयौँ सवारी साधनको वीचमा चेपिएको थियो । नारायणघाट-मुग्लिन खण्डको सडकको स्तरउन्नति गर्ने कार्य बर्षौ पुरानो भएको थियो । कतिपयले नेपालमा किन पूर्वाधारका यस्ता काममा अनपेक्षित ढिलाई हुन्छ भन्ने विषयमा सिधा सपाट धारणा बनाएका छन । निर्माण कार्यमा नगद फल्छ । काम जति लम्ब्यायो उती धेरै नगदको बाली लाग्छ । लोडसेडिग हुँदा पनि यस्तै भन्थे । आखिर कुलमान भ्रमभन्जक भएर निस्किए । सडक निर्माणमा पनि कुलमान जस्ता भ्रमभन्जक अवश्य निस्केलान । म अरु चुपलागेका बेला यस्तै कल्पना गर्दै थिएँ ।

गाडीको सँकेत सुईले हुने सम्मको कम स्पिड देखाउँछ ।चालकले भने ।

हुन पनि हामी दश किमि प्रति घण्टाले पनि गुडेका थिएनौ । यस हिसाबले मुग्लिन पुग्न मात्रै पाँच घण्टा लाग्ने भो । चालिस किलोमिटरको दुरीलाई पाँच घण्टा लगाउनुको एउटा पिडा एकातिर थियो । अर्कातिर मेरो दाहिने घुँडो एकाएक दु:ख्न थाल्यो । पछाडिको सिट अलि अप्ठ्यारो नै थियो । फेरी मेरा दाहिनेतिरका झोला शत्रु वनेर उदाएका  थिए । घरि घरि तिनले मलाई ठेलेर मेरो बसाई झन असहज बनाउँथे । मैले साथीहरुलाई मेरो पिडा भने । विहानको तिन बजे तिर हामीले सिट साट्यौ । म अगाडिको सिटमा गएँ । जापानिज मित्रलाई चेलीहरु सँगैको सिट दियौँ । सुविन्द्रजि र सन्दिपजि पछाडिको सिटमा बस्नु भयो ।

सात बजे मुग्लिन पुगियो । सुविन्द्रजीको पोखरा जानु पर्ने भएकाले वहाँ त्यहाँवाट छुट्टिनु भयो । मुग्लिनमा हामीले चिया नास्ता सेवन गर्यौ । मैले हाम्रो यात्रा खर्चको फेरीहस्त निकालेँ । सुविन्द्रजीसँग नगद कम रहेछ । जापानिज सँग डलर मात्र रहेछ । मुग्लिनको एटियमले काम गरेन । यी भने झिना मसिना लोदर थिए । तिनलाई हामीले मिचमाच पार्यौ ।
मुग्लिनबाट प्रस्थान गर्दा मैले जापानिजलाई अगाडिको सिटमा बस्न अनुरोध गरेँ । अब भने म चेलिहरुको साथमा थिएँ । मैले देब्रेतिरको झ्यालकै सिट पाएँ  । वीचमा करिश्मा थिईन । तर उनको र मेरो बीचमा एउटा पछाडि भिर्ने झोला थियो । यात्राको शुरुवात देखि नै त्यो झोलाले मेरो ध्यानाकर्षण गरेको थियो । सबैका झोला पछाडि राख्ने वेलामा करिश्माको पनि पछाडि राख्न सोधिएको थियो ।

मलाई सजिलो हुन्छ । म यसलाई साथ मै राख्छु ।

    उनी रक्षात्मक भएकी थिईन । नचिनेका पुरुषहरुसँग गाडीमा सँगै बस्दा पक्कै पनि उनलाई असजिलो भएको हुँदो हो । त्यो असजिलोको आयतन घटाउन उनले झोलाको सहारा लिएकी थिईन । कुरो स्पष्ट थियो ।
करिश्माजी, यो झोलाको बार हाम्रो विदेशी मित्रलाई पनि लगाईयो ?” मैले उनको मन चोर्ने प्रयास गरेँ ।

विदेशी त झन पराई भएन र ?”

चिनजान भै सक्यो । उज्यालो पनि भयो । अब त यो बार भत्काए हुँदैन ?”

हाम्रो गफको रगँमन्चमा झोलाको बारले विशिष्ट स्थान पायो । सार्वजनिक स्थलमा सेक्सुवल ह्यारासमेन्ट अर्थात यौनजन्य उत्पिडनका दृष्टान्तहरुको पनि वहस भयो ।

मलेखु र गल्छीको बीचतिर गाडि रोकियो । राजमार्गको देब्रेतिर शौचालय र एक किराना पसल थिए । पसलको नाम तिर मेरा दृष्टि परे । सटरको शीरमा लेखिएको थियो: साला-भेना किराना पसल । पसलमा दुई जना अधवैसे पुरुषहरु थिए ।

यो पसलको नाम किन साली-भेना भएन ?” मैले मुस्कुराउँदै सोधेँ ।

शायद राम्रा साली नभएर होला ।उत्तर दिने व्यक्ति शायद मूल साहुजी थिएनन् ।

मैले उनीहरुलाई केही समय अघि सुनेको राम्रा सालीको चुटकिला सुनाएँ ।

असाध्यै राम्रा साली भएको एक भिनाजु ससुराली पुगेछ । गफगाफको सिलसिलामा सासु र ससुरालाई भनेछ ।

हजुरहरु सँग रसबरी र लालमोहन हुँदा हुँदै मलाई कसार किन भिडाईदिएको ?”

त्यो क्षणसम्म आफ्नै काममा ध्यान दिएका साहुजी एकाएक हाँसोको धर्को पुरै तन्काएर हाँसे । उनका साथी पनि बेजोडले नै हाँसे ।

हाँसो थामिए पछि साहुजीले भने-

हो सर । त्यस्तै भएको हो । रसबरीको स्वाद लिने अरु नै जौडै निस्किए ।

रसबरी र कसारको यो चुटकिला मैले मेरा सहयात्रीलाई पनि सुनाएँ । मलाई लाग्यो-लोदरलाई परास्त गर्ने यी अस्त्रहरु प्रस्फुटन हुन समूह मिल्नु पर्दो रहेछ । परिस्थित अनुकुल हुनु पर्दो रहेछ । यस पटकको भैपरि आएको सडक यात्रामा यस्तै भयो । तर लोदरको सिलसिला भने घर नपुगुन्जेल सम्म कायम नै रह्यो ।

जापानिज मित्रलाई त्रिपुरेश्वरमा छोडेर ठमेल पुग्दा दिनको एघार बजेको थियो । ठमेलको मर्स्याङ्दी होटेलमा करिश्माको तालिम चलेको रहेछ । उनलाई त्यहाँ पुर्याएर शर्मिलालाई छोड्न चावहिल गयौँ । चावहिलमा हामी गणेशस्थान तिर लागेछौ । चावहिल चोक वाट गौशाला हुँदै आउने ध्येयले गाडि चक्रपथमा के पुगेको थियो त्यहाँ त भीमकाय जाम देखियो । फेरी फर्केर गएकै बाटो आउदाँ लगभग आधा घण्टा जाममा परियो । मलाई कोटेश्वरमा छोडेर सन्दिपजीको बालकुमारी जाने योजना थियो । मेरो घरमा भने एक जना मित्र मलाई भेट्न आई सक्नु भएको थियो । यसैले गृहमन्त्रिको फोन तारन्तार आईरहेको थियो । कोटेश्वर पुलिस चौकीवाट भित्र छिरेका मात्र के थियौ-भेटियो मेलम्चिको खाडल । गाडि घुमाएर महादेवस्थान मार्ग हुँदै वीचको सानो गल्ली भएर श्रीशान्ती मार्ग निस्कने प्रयास गरियो । सानो गल्लीमा फेरी विपरित दिशाबाट आएको सानो मालबाहक टिपरले बाटो छेक्यो । टिपर चालकको अनुहारमा बेफ्वाँकको आक्रोस देखियो । बाटो उस्कै बाउको सम्पति हो झै गरी आखाँ रातो पारेर हामीलाई हेर्न थाल्यो । हामी सँयमित भयौँ । त्यसले फेरी  २० मिनटको लोदर थप्यो । यसरी नेपालगन्ज-काठमाण्डौको ढोका देखि ढोका सम्मको २२ घण्टे लोदर यात्राको समापन भयो ।  मैले घर पुगेर निचोड निकालेँ । मच्चिएको लिङ्गे पिङ्को जस्तै यो यात्राका चरम सीमाहरुको खोजी गरेँ-एकातिर लोदर भेटियो भने अर्को तिर भत्केको बार

चैत्र ३०, २०७३
सिद्धार्थ होटेल, सुर्खेत
शुक्रवार, बैशाख १, २०७४ मा मिर्मिरे अनलाईनमा प्रकाशित
लिङ्क:   http://www.mirmireonline.com/2017/04/archives/60506