डा. नवराज खतिवडा र सूर्यमान शाक्य
यही फागुन ३ गते सम्माननीय प्रधानमन्त्री
केपी शर्मा ओलीले शपथ ग्रहणपछि प्रधानमन्त्री कार्यालय सिंहदरबारमा पदभार
ग्रहणका क्रममा घोषणाको एउटा लिखित फाइल पल्टाएर पढ्नुभयो । अन्तिम
बुँदातिर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (अंग्रेजीमा ः
काउन्सिल फर टेक्निकल एजुकेशन एण्ड भोकेशनल ट्रेनिङ) को संक्षिप्त रूप
उच्चारण गर्दा ‘सिसिटिभी’ भन्नुभयो । भन्नुपर्ने थियो ‘सिटिइभिटी’ ।
प्रधानमन्त्रीले लिखित सामग्री पढ्नुभएको थियो । प्रधानमन्त्रीका रूपमा
पहिलो घोषणामै त्रुटि हुनगयो । प्रधानमन्त्रीले उच्चारण गरेको ‘सिसिटिभी’
लाई ‘क्लोज सर्किट टिभी’ संक्षिप्त रूप ‘सिसिटिभी’ को अर्थमा धेरैले
खिसीट्युरी गरे । उडाउनसम्म उडाए ।
त्यस्तो
अप्रत्यासित उच्चारणलाई प्रधानमन्त्रीबाट भएको मानवीय त्रुटी वा प्राविधिक
समस्याको संज्ञा दिन सकिन्थ्यो । तर दुर्भाग्यको क्षण त त्यसबेला सिर्जना
भयो जब सम्माननीय प्रधानमन्त्रीका नजिकै उभिएका एकजना सहयोगी उहाँको त्रुटी
सच्याइदिने आशयले नजिकै गएर फुसफुसाए । उनलाई त्यसो गर्ने निर्देशन
सम्भवतः थिएन । उनले स्वविवेक प्रयोग गरेका हुनसक्थे । तर, यसले ‘करेलालाई
निमको थाँक्रो’ को काम गरेको भान तात्कालीन दर्शक र पछि सामाजिक सञ्जालमा
भिडियो हेर्नेहरूलाई पर्न गयो । प्रधानमन्त्रीले ती सहयोगीलाई प्रतिप्रश्न
गर्नुभयो ।
‘के भनेर मैलै ?’
‘सिसिटिभी
।’ सहयोगी फेरि फुसफुसाए । भिडियो भाइरल हुनुमा यो सच्याउने काम नै मूल
कारक बन्यो । प्रधाननन्त्रीले शब्द सच्याउनु भयो तर भिडियो दोहो¥याएर
हेर्नेले फेरि पनि प्रमले
‘सिसिटिभि’ नै भनेको सुने ।
फेसबुकका
भित्तामा यो विषयमा केही प्रतिक्रिया आए । प्रम ओलीका समर्थक र दलका
कार्यकर्ताहरूले मानवीय त्रुटि भने । मनोरञ्जनका अन्य साधनमा सोख नभएका तर
राजनीतिक हास्यव्यंग्य मन पराउनेहरूले यो घटनाबाट भरपुर आनन्द लिए । भाषण र
शब्द संयोजनको शिखर नेता ओलीलाई आंैलो ठड्याउन नपाएका विपक्षीले ‘पहिलो
गाँसमा ढुंगा’ को संज्ञा दिएर उनको उछित्तो काड्ने प्रसंग बनाए । यस्ता
प्रकरण सामान्य हुन् भनेर प्रमका सल्लाहाकार वा रणनीतिकारहरूले समस्याको जड
पत्ता लगाउनेतिर ध्यान दिएनन् । शब्द चयन एवं उच्चारण र उखान टुक्का
प्रयोगमा नेपालका अहिलेसम्मकै प्रधानमन्त्रीको तुलनामा केपी शर्मा ओलीको
प्रस्तुति शिखरमा छ । उनका विपक्षीहरू यसमा असहमत हुँदैनन् । तर, यस्तो
अनर्थ किन भयो त ? यसका पछि बहुल कारणहरू देखिन्छन् ।
पहिलो
कारण हो, भाषण पत्रमा ‘सिटिइभिटी’ शब्द अंग्रेजीमा लेखिनु । यदि त्यो शब्द
भाषणको अन्य अंशजस्तै देवनागरी लिपीमा र प्रत्येक अक्षरका पछि थोप्लो
राखेर ‘सी.टी.इ.भी.टी.’ लेखिएको भए यस्तो नहुन सक्थ्यो । अहिले पूरै राज्य
अंग्रेजीको आतंकमा छ । बच्चादेखि बूढासम्म र सडक किनाराको विज्ञापनदेखि
राजनेताको भाषणपत्रसम्म अंग्रेजी अतिक्रमणको शिकार भएका छन् । देवनागरी
लिपीमा मात्रै लेखिएका कागजात अब पुराताŒिवक महŒवका दस्तावेज भएका छन् । यो
रचना तयार पारिएको दिनसम्म प्राविधिक शिक्षा तथा तालिम परिषद्को वेबसाइट
अंग्रजी भाषामा मात्र थियो । अंग्रेजी आतंकको यो समयमा नेपाली भाषामा
वेबसाइट नहुनु कुनै अनौठो कुरो भएन ।
यस्तै
नेपाल सरकार मातहतका कतिपय कार्यालयका साइनबोर्डमा पनि अंग्रेजी भाषा
मात्र प्रयोग भएको पाइन्छ भने अधिकृतदेखि मन्त्रीसम्मका विजनेस कार्डसमेत
अंग्रेजीमा छन् ।
दोस्रो, भाषण
लेख्ने व्यक्तिले भाषणपत्र वाचन गर्दा के समस्या आउनसक्छ भन्ने विषयमा
पूर्वानुमान गरेर सावधानी नअपनाउनु । यो आलेखका एक लेखक सूर्यमान शाक्यलाई
कुनै समयमा नेपालका पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको भाषणपत्र
तयार गर्ने अवसर परेको थियो । भाषण तयार गर्ने अक्षरको आकार दुई हरफबीचको
अन्तर र कहाँ रोकिने हो आदि विषयमा गहन विचार गरी तयारी गर्नुपर्छ ।
रोकिनुपर्ने ठाउँमा थोप्लाको लहर बनाउन सकिन्छ ।
सन्
१९९४ को विश्व वातावरण दिवसमा राष्ट्रका नाममा सन्देश दिने कार्यक्रम थियो
। गिरिजाप्रसाद प्रधानमन्त्री भएकाले वातावरण संरक्षण परिषद्का पदेन
अध्यक्षसमेत हुनुहुन्थ्यो । सन्देशको लिखत तयार पार्ने मूल जिम्मा सदस्य
सचिवको हैसियतले शाक्यको थियो । सन्देशका प्रमुख आकर्षणमा पेट्रोलले चल्ने
सवारी साधनले फ्याक्ने धुँवामा कार्वन मोनोअक्साइडको अंश ३.५ र डिजेलले
चल्ने सवारी साधनको हृयुज स्मोक युनिट अर्थात् यच यस यु को अंश ६५. ५
हुनुपर्ने थियो । सन्देशमा यी प्राविधिक शब्दहरू राख्नाले प्रमलाई कठिनाइ
हुनसक्थ्यो । नराख्नाले सन्देशले अपेक्षित गरिमा नपाउन सक्दथ्यो ।
प्राविधिक र राजनीतिक सीमाको यो लक्ष्मणरेखा नबुझी भाषण लेख्ने वा अरू
काममा अपनत्व लिने प्रथा नै समकालीन नेपालको सबैभन्दा ठूलो दुर्गुण हो ।
‘सिसिटिभी’ दुर्घटनाले यही शिक्षा दिएको छ ।
नेपालमा
भाषण लेख्ने काममा या त अयोग्य सावित भएर विषादग्रस्त मनस्थिति बोकेको
कर्मचारी वा आफ्नो विश्वासपात्र नातेदार सहयोगीलाई खटाइन्छ । यस्ता
पात्रलाई भाषण कलाको वा लेखनको ज्ञान हुनु त परै जाओस् यस्तो विषयमा
विज्ञताको जरुरी पर्छ भन्ने चेतसमेत हुँदैन ।
पञ्चायती
व्यवस्थाकालको भाषणपत्र लेखनको एक रोचक प्रसंग लोकप्रिय लेखक धनुषचन्द्र
गोतामेले उल्लेख गरेका छन् । गोतामे प्रधानमन्त्री नगेन्द्रप्रसाद रिजालका
सहयोगीका रूपमा काम गर्थे । राजा वीरेन्द्रले संविधान दिवसमा बोल्ने भाषण
लेख्न रिजाललाई अहराएका रहेछन् । रिजालले कलमजीवीका रूपमा ख्याति कमाएका
गोतामेलाई यो कामको जिम्मा दिएछन् । राजदरबारले नेपाली राजनीतिका अर्का
खेलाडी तुलसी गिरीलाई पनि त्यही भाषण लेख्न लगाएको रहेछ । तलकाले राजाको यो
चलाखीपनको भेउ पाउने कुरो थिएन ।
गोतामे
लेख्छन्न् ‘त्यो दुईपाने लिखत तयार पार्न मलाई जुन परिश्रम गर्नुप¥यो र
जति मथिंगल हुडल्नु प¥यो त्यति गाह्रो मलाई चारसय पानाको उपन्यास लेख्दा
पनि परेको थिएन ।’
त्यसबेला यदि
राजाले तात्कालीन प्रमले तयार गरेको भन्दा अन्यको भाषण पढ्नुको अर्थ प्रमको
पदरिक्तताको संकेत मिल्ने रहेछ । धन्य ¤ उनको लेखनले धर्म थामेछ । राजाले
रिजालले दिएको भाषण नै पढेछन् ।
तेस्रो,
प्रवचनका क्रममा कर्मचारी वा निकटतस्थ व्यक्तिले क्षति न्यूनीकरण गर्ने
उद्देश्यले गरेको अनियोजित हस्तक्षेप । भाषण सकिएपछि प्रमको अनुमति लिएर
उद्घोषकले ‘प्रमको सम्बोधनमा सिटिइभिटीको उच्चारणमा अन्यथा हुन गएको’ भनी
दर्शकसँग याचना गर्नसक्थे । यसो हुँदा यो सामान्य मानवीय त्रुटीको कित्तामा
मात्र सीमित हुन्थ्यो र यत्रो खैलबैला हुने थिएन । हाम्रो समाजमा या राज्य
सञ्चालनको कित्तामा भएका यस्ता दृष्टान्तले श्रीमद्भागवत गीतामा भगवान्
कृष्णले भनेको एउटा भनाइको संस्मरण गराउँछन् ।
‘जतिसुकै
अनुष्ठान गरिएको अरूको धर्मभन्दा आफ्नै धर्मपालना जाती हुन्छ । बरू आफ्नो
धर्म पालना गर्दागर्दै निधन भयो भने त्यो श्रेयकर हुन्छ तर अरूको धार्मिक
कित्ताको प्रवेश भयाभय हुन्छ ।’
यहाँ
त अधिकांश परिवेशमा गीतामा भनिएको भन्दा उल्टो हुन्छ । सहयोगीलाई पदासीन
प्रमुखभन्दा जान्ने भएको अभिनय गर्नुपर्छ । कनिष्ठ कर्मचारी आफ्नो पदीय
जिम्मेवारीभन्दा हाकिमको कर्तव्यमा बढी सजग हुन्छ । यसरी ‘खुकुरीभन्दा कर्द
लाग्ने’ भनेजस्तो हुन्छ र राजनेतासमेत असफल बन्ने गरी भड्खालोे सिर्जना
हुन्छ ।
प्रम ओलीलाई भाषणमा त्रुटी
भयो भनेर बिथोल्ने कर्मचारीको राजाको कार्यकालमा भएको भए हरिबिजोग हुने
थियो । प्रथमतः यदि राजाले भाषण गर्दा कुनै गल्ती गरेका भए पनि कानमा गएर
फुसफुसाउने हिम्मत कसैको हुने थिएन । राणाकालमा झन् के हुन्थ्यो होला ?
राजसंस्थामा राजनीतिगत कमजोरी अवश्य थिए होला तर पदीय जिम्मेवारी बोध र
सार्वजनिक समारोहहरूको गरिमा अहिलेको तुलनामा उच्च कोटीको थियो ।
बहुदल
आइसेकपेछिको प्रसंग हो । विश्व पानी दिवसको उपलक्ष्यमा एक समारोहको आयोजना
गरिएको थियो । प्रमुख अतिथि थिए तात्कालीन भौतिक योजनामन्त्री बलबहादुर
राई । उनलाई पनि लिखित भाषण पढ्न दिइएको थियो । उनले ‘खानेपानी’ लाई ‘र वा
ने पानी’ भनेर पढे । यसले त्यहाँ मात्र हाँसो सिर्जना भएन अहिले पनि त्यो
भाषण सम्झेर हाँस्नेहरू छन् ।
प्रश्न
त्यो प्रकरणमा भाषण गर्ने वक्ताको त्रुटि कति हो ? के त्यो त्रुटि रोकथाम
गर्ने उपाय थियो ? के भाषण लेख्ने वा समारोहको आयोजना गर्ने
पदाधिकारीहरूलाई यस्तो हुनसक्छ भन्ने चेत थियो ? आजभोलि नेताका भाषण
लेख्नेहरूले यस्ता विषयको अध्ययन गर्ने गरेका छन त ? के यस्ता सम्भावित
जोखिमको आकलन गरी भाषणकर्तालाई सचेत गराउनु जरुरी हुन्छ ?
यो
लेखका सहलेखक डा. नवराज खतिवडाले एकपटक स्विस फेडेरल इन्स्टिच्युट अफ
टेक्नोलोजीका पूर्वअध्यक्षसँगको भेटमा एक जिज्ञासा राखेका थिए । लेखकसँग
विश्व प्रसिद्ध त्यस शैक्षिक संस्थामा दुई कार्यकालको अनुभव थियो ।
‘तपाईंले बृहत् सभाहरूलाई सम्बोधन गर्ने भाषण पत्रको तयारी कसरी हुन्थ्यो ?’
उनले जवाफमा भनेका थिए ।
‘चामत्कारिक
भाषण भनेको कुशल नेतृत्वको एक ब्रहृमास्त्र नै हो । मैले यो बुझेको थिएँ ।
यसैले मैले यो कामका लागि लेखनकलाका उस्ताद एक प्राध्यापकलाई जिम्मा लाएको
थिएँ ।’
नेपालकै सन्दर्भमा पनि
राम्रा भाषण नभएका होइनन् । हरेक वर्ष गरिने अर्थमन्त्रीहरूका भाषणलाई
उदाहरणको रूपमा लिन सकिन्छ । अर्थमन्त्रीको भाषण केही मिनेट नभएर झण्डै दुई
घण्टा लामो हुन्छ । तर, अहिलेसम्म फेसबुकमा भिडिओ भाइरल हुनेगरी कुनै
अनर्थ भएको अभिलेख छैन । अर्थ मन्त्रालयमा महिनौंदेखि गरिने तयारी,
पूर्वाभ्यास र परम्परागत संस्कारले यसो भएको हुनसक्छ ।
अवश्य
नै हो, पदीय जिम्मेवारी बोकेको एक कर्मचारीले टिप्पणी उठाएको जस्तो शब्दको
थुप्रोले दर्शक या श्रोताको मन जित्न सक्दैन । यसैले विशिष्ठ भाषणमा
सुन्नेको हृदय छुने आवेग पनि हुनुपर्छ । यो मनोभाव बुझ्नका लागि लाखौं
श्रोतालाई घण्टौं एउटै थलोमा मन्त्रमुग्ध पार्नसक्ने शैली र समकालीन
परिप्रेक्ष्यको गहन अध्ययन हुनु जरुरी छ । जीवनमा एक शब्द पनि नकोरेका
व्यक्तिबाट राष्ट्रलाई सम्बोधन गर्ने र लाखौं जनतासम्म पुग्ने सारगर्वित
भाषणको अपेक्षा गर्नु भनेको मुर्खताबाहेक अरू केही हुन सक्दैन् ।
अर्थशास्त्रका
नोवेल पुरस्कार डेनियल कानेम्यानले मान्छे कुनबेला यान्त्रिक भएर सोच्दछ र
कुनबेला सतर्कताका साथ आफ्ना क्रियाकलाप गर्छ भन्ने विषयमा अनुसन्धान
गरेका छन् । उनका अनुसार लामो समयसम्म बानी परेको या रटेको या कुनै जोखिमको
अनुमान नभएको अवस्थामा यान्त्रिक भएर काम गर्छ । यस्तोबेला उसले शतप्रतिशत
ध्यान आफूले गरेको काममा नदिएको हुनसक्छ ।
भर्खरै
पदभार ग्रहण गरेर मन्त्रिमण्डल पनि विस्तार गर्न नसकिरहेका र माओवादीसँग
राजनीतिक गठबन्धनको गृहकार्यमा रहेका प्रधानमन्त्रीलाई परिषद्को कुनै
झिनोमसिनो सभामा सम्बोधन गर्दा उनले उच्च सतर्कता नअपनाउनु स्वाभाविक थियो ।
यसलाई उनले आफूलाई गर्नुपर्ने कामको मिहिनेतका रूपमा लिनु कुनै अनौठो होइन
। प्रधानमन्त्रले पढ्ने सामग्री वा भाषण लेख्ने कर्मचारी वा सहयोगी र
सच्याउने व्यक्तिको भने प्रवृत्तिमा शंका गर्नु स्वभाविक हुनजान्छ । प्रश्न
यो प्रकरणबाट कसले कति आनन्द लियोभन्दा पनि कसले कति शिक्षा लियो भन्ने हो
।
http://ehimalayatimes.com/bichar-sahitya/22245
http://ehimalayatimes.com/bichar-sahitya/22245