चारवटा गाडीमा एघार जना यात्रु र चारै जना चालकले हाम्रो यात्रा टोलीको संरचना बनेको थियो । यात्राको गन्तव्य सूचीमा थिए, मर्स्याङ्दी नदीमा बनेका तिन र खुदी खोलाको एक गरी चार वटा जलविद्युत्केन्द्र । बाटामा पर्ने, अध्ययनकोचरणमा रहेको, बहुचर्चितबुढीगण्डकी जलविद्युत् परियोजना स्थलको पनि अवलोकन गर्ने योजना पनि थियो ।
कलङ्कीमा भेटेर चारैवटा गाडी एकै साथ जाने सल्लाह काम लागेन । यसको एक मात्र कारण थियो- कलङ्की देखि नैकाप सम्ममा सहज तरिकाले गाडी रोकेर पर्खने ठाउँ कतै नभेटिनु । यस्तो बेलामा मोबाइल फोनले गज्जबको काम दिन्छ । को-कता पुग्यो, कसलाई कतिबेर पर्खनुपर्छ, कसैलाई केही समस्या पर्यो कि, तुरुन्त थाहा हुन्छ ।
एघार जनाले एक अर्काको अनुहार हेर्दै बोल्ने अवसर पाउन नौबिसेबाट केही किलोमिटर अगाडि रहेको ह्याम्लेट रेस्टुरेन्ट नै पुग्नु पर्यो । आफैले परिकार पस्केर, चाहेको परिमाणमा लिन मिल्ने खाजा र तातो चियाले हाम्रो भोक शान्त पार्ने र बिहानको तलतल मेटाउने काम गर्यो । चमेना गृह भरिभराउ थियो । विदेशीहरु पनि प्रशस्तै । यो गतिविधिले पृथ्वी राजमार्गमा पर्यटन सेवाको व्यावसायिकता बढेको सङ्केत गर्थ्यो ।
ह्याम्लेटबाट अघि बढ्ना साथ 'पहिलो गाँसमानै ढुङ्गा' लागेको अनुभूति हुने एउटा अनौठो घटना भयो । हाम्रो एउटागाडीलाई ट्राफिक जवानले सिटी फुकेर रोके । सिधै चालकको लाइसेन्स मागे रउनलाई सडक किनारमा रहेको ट्राफिक कार्यालयमा केरकार गर्न लगे ।
"किन विदेशीलाई गाडीमा बोकेको ? जरिवाना नतिरी जान पाइन्न ।" केरकार गर्ने प्रहरी अधिकृतले निर्णय सुनाए ।
"वहाँ विदेशी होइन । नेपाली नागरिक हो ।" चालकले सफाइ दिए ।
विदेशीलाई निजी गाडीमा लान नपाइने ! विदेशीले हवाई यात्राको भाडा बढी तिर्नु पर्ने ! विदेशीले शौचालय प्रयोग गरेको बढी शुल्क तिर्नु पर्ने ! यी अलौकिक नियम र प्रचलनहरु सर्वमान्य सिद्धान्तमा आधारित छैनन् । विगतमा कसैले गरेको कुनै अदुरदर्शी निर्णयको आडमाकेही स्वार्थ केन्द्रको फाइदाका लागि यी जड भएर बसेका छन् । सहीनेतृत्वको फेला परे परिवर्तन गर्न असम्भव छैन । आफ्नो अघि उत्पन्न प्रतिकूलपरिस्थितिमा हामीले कुनै प्रतिकृया जनाएनौँ तर मन थामेर सकारात्मक सोचकोकित्ता सिर्जना गर्नेतिर लाग्यौँ ।
पक्राउ परेको गाडीको अग्रसिटमा यात्रासंयोजक रूपाजी थिइन । उनको व्यक्तित्व, रूप र लावण्य गैर-नेपालीको जस्तोभएकोले ट्राफिकको शङ्काको बाकस उघ्रिएको थियो । बाकस रित्तो देखेर उनीहरुले 'दिनभरीको सिकार कान्छा बाउको अनुहार' भन्ने उखान सम्झिए होलान् । हामीलाई भने आश्चर्य र हाँसोले भरिएको वार्तालाप गर्ने टेको प्राप्त भयो।
"ल ! हाम्रो यात्राकी हिरोइनको त टुङ्गो ट्राफिकले लगाइ दियो ।" रूपालाई लक्षित गर्दै कुनै मित्रले टिप्पणी गरे ।
"हिरोको टुङ्गो भने त्यति सजिलै नलाग्ला ? कडा प्रतिस्पर्धा हुने छाँट छ ।" अर्का मित्रलेथपे ।
हाम्रो एघार जनाको हाम्रो टोलीमा दुई जना मात्र महिला थिए । ट्राफिकको ठम्याइलाई आधार नबनाए पनि दुईबाट एक छान्ने काम धेरैकठिन थिएन । अर्कातिर पुरुषहरुको बिचमा पनि 'को भन्दा को कम' को स्थितिथियो । विज्ञता, अनुभवर व्यक्तित्वको हिसाबमा एउटा माछापुच्छ्रे जस्तोलाग्थ्यो भने अर्को अन्नपूर्ना । यसरी यात्रा टोलीको सहभागिताको विशिष्टताएकातिर थियो भने अर्कातिर नेपाल विकास अनुसन्धान प्रतिष्ठानका कार्यकारीनिर्देशक डा.जयकुमार गुरुङको प्रत्यक्ष निर्देशनमा तय गरिएको उच्चकोटिकोयात्रा-प्रबन्ध । यसैले यो यात्रा हरेक दृष्टिले अविस्मरणीय हुनेछभन्नेमा हामी विश्वस्त थियौँ ।
बेनीघाट पुगेपछि हाम्रा सवारी साधनहरुत्रिशूली नाघेर गोर्खा जिल्लाको आरुघाट जाने सडक तिर लागे । बुढीगण्डकी र त्रिशूलीको दोभानको निकट गल्छीमै नै निर्माण गर्नेयोजना भएको जलविधुत्परियोजनाको सेतुबन्ध अर्थात् ड्याम निर्माण हुने स्थलको अवलोकन गर्यौँ ।
"ऊ त्यो झ्याम्म परेको रुखसम्म पानीको सतहपुग्ने अनुमान छ ।" बुढीगण्डकी जलविद्युत् परियोजनाका अध्यक्ष डा.लक्ष्मीप्रसाद देवकोटाले रुख देखाउँदै भन्नु भयो ।
"यो त पत्याउनै हम्मे पर्ने विषय पो भयो त ।" कसैले टिप्पणी गरे । देखाइएको रुख हामी उभिएको ठाउँबाट एक सयमिटर जति माथि थियो ।
'त्यसै इन्जिनियर । कुलेखानीमा पनि ड्यामबन्नु अघि यसै भन्थे होला ।" अर्का मित्रले सटिक जवाफ दिए । अब पनिनपत्याउनुको कुनै अर्थ थिएन ।
मनकामना दर्शन गर्ने केबुलकार स्टेसन, कुरिनटार पुग्नु अघि सडकको दायाँ किनारामा रहेको रिभरसाइड रिसोर्टमा हाम्रो दिवा-भोजनको प्रबन्ध थियो । सुन्तला पाइने मौसम । गोर्खा जिल्लाको सामीप्य । रिसोर्ट परिसरमा खुला आकाश मुनि कौसीमा बसेर पारिलोघाम ताप्दै सुन्तलाको ताजा जुसले भोजन शुरु भयो । पृष्टभूमिमा त्रिशूली नदी बगेको दृश्य र सुसाएको आवाज थिए । यसरी मिहिन रूपले समायोजनगरिएका कृयाकलापका कारण आनन्द र हर्षको मर्करी आकासिएको थियो ।
दिवा भोजन पश्चात् हाम्रा सवारी साधनहरुपृथ्वी राजमार्गको सीमारेखामा नै जोडिएर रहेको मर्स्याङ्दी जलविद्युत्केन्द्र परिसरमा पुगेर रोकिए । यो जलविद्युत् केन्द्रको सिरानतिर अन्यदुईवटा नयाँ जलविद्युत् केन्द्रको निर्माण भएकाले यसले अहिले 'तल्लो' कोउपमा पाएको छ । त्यहाँका पदाधिकारीहरुसँगको अन्तर्क्रिया पश्चातहामीले निचोड निकाल्यौँ-यो त मर्स्याङ्दी नदीको 'जेठो' मात्र होइन अहिलेसम्म अनवरत रूपमा अत्यधिक सामर्थ्यले विद्युत् उत्पादन गर्ने सर्वोत्कृष्टपूर्वाधारको नमुना पो रहेछ ।
"बाघ बुढो र स्याल तन्नेरी हुँदैन ।" मैले लोकोक्ति स्मरण गरेँ ।
कारण नभई कारक हुँदैन । केन्द्रको सफलताकोएक कारण रहेछ-पदाधिकारी र कर्मचारीको दृढ मनोबल र उच्च आत्मविश्वास । वर्तमान परिप्रेक्ष्यमा जलविद्युत् केन्द्र विभिन्न प्राविधिक कठिनाइकाबाबजुद पूर्ण क्षमतामा सञ्चालन गर्न सक्नु नै साहसिक र प्रशंसनीय काम भएकोहाम्रो ठम्याइ रह्यो । यस काममा जुटेका त्यहाँका कर्मचारीकोकर्तव्यपरायणता र हामीलाई प्रदान गरिएको आतिथ्य सत्कारको मुक्त कण्ठलेप्रशंसा गर्यौँ ।
नदीको पानीको धार परिवर्तन गरी सुरुङमा पठाउन निर्माण गरिएको सेतुबन्ध र थिग्य्राउने पोखरीको अवलोकन सक्दा नसक्दासाँझ पर्नै लागेको थियो । हामीले केन्द्रका कर्मचारीसँग बिदाइका हात मिलायौँ र बेसीशहरको लागि प्रस्थान गर्यौँ ।
डुम्रे पुग्नुअघि नै हाम्रा गाडीका हेडलाइट बलिसकेका थिए । डुम्रे - बेसीशहर सडक खण्डको चार पाँच स्थानमा मदिरा पिएर लठ्ठ भएका व्यक्तिले हात उठाएर गाडी रोक्ने प्रयास गरे । मादक पदार्थ सेवन (मापसे) को राष्ट्रिय रोग बडो विचित्रको छ । रोजगारी, जीविकोपार्जन, वृत्तिविकास, बन्धुत्व, पारिवारिक सामाञ्जस्य देश निर्माण आदि सबै विषयलाई मापसे प्रवृत्तिले गौण बनाइदिएको छ । सम्भवत: नेतृत्वपङ्तिका लागि कौशल देखाउन मिल्ने अथाह अवसर भएको अर्को महत्वपूर्ण क्षेत्र मापसेको नियमन गर्ने काम हो ।
रातीको साढे सात बजे बास बस्ने होटलमा पुग्यौँ । पहाडको भित्ता हलुका हिसाबले सम्याएर ठुलो क्षेत्रफलमा बनाइएकोहोटल आकर्षक थियो । हामीमध्ये अधिकांशलाई बेँसीशहरले पहिलो पटक स्वागत गरेको थियो तर होटल व्यवस्थापनको लापरबाही र आतिथ्य सत्कारमा देखिएका कमीकमजोरीले हाम्रो मन जित्न सकेन ।
मलाई कोठा देखाउने ठिटाको रूप सामान्यथिएन । उसले होटलमा काम गर्दा सामान्यतया लगाइने औपचारिक पोसाक लगाएको थिएन । उसको अघिल्तिरको कपाल फेदै देखि काटिएको थियो भने पछिल्तिर जुरेलीको जस्तो पुच्छर थियो । मेरो कोठामा बत्ती बलेन । मेरो गुनासोलाई ठिटालेसम्बोधन गर्ने बाचा त गर्यो तर ऊ मलाई उभ्याएर दश मिनट जति हरायो । कोठाकोबत्ती बाल्ने क्रममा म उसको नजिकै पुगेँ । मुख ह्वास्स गनायो । मापसे गरेकोयो पात्र सँगको मुठभेडले सावधानीको छैटौँ इन्द्रिय जागरुक भयो ।
खानाको परिकार छनोट गर्ने क्रममा अर्को आश्चर्य पदार्पण भयो । रेस्टुरेन्टमा कागती थिएन । होटलको बारमाअन्र्तराष्ट्रिय स्तरका महँगा चार पाँच थरीका मदिरा बिक्रीमा थिए तर लमजुङजस्तो पर्यटनको बिँडो थामेको पहाडी जिल्लामा अवस्थित होटलमा जाबो कागती थिएन । मेनुमा लेखिएका र हाम्रो टोलीको पहिलो छनोटमा परेका केही परिकार नबन्ने सूचना बोकेर जुल्फे र उसका साथीहरु उभिएका थिए । त्यहाँ प्रतिकृयात्मक हुनुको कुनै अर्थ थिएन । यसैले मैले कुशल व्यवस्थापनको सिद्धान्त अनुरूप उपलब्ध साधनश्रोतमै चल्ने निधो गरेँ । बिहानचाँडै उठेर ध्यान गर्ने र सूर्योदय सँगै सूर्य नमस्कार गर्ने धोको थियो । मैले जुल्फेलाई हौस्याएर छतमा ओछ्याउने म्याट व्यवस्था गर्न अराएँ ।
नभन्दै म बिहान साढे चार बजे छतमा पुग्दाम्याट बेरेर राखिएको पाएँ । जुल्फेलाई मनमनै धन्यवाद दिएँ । आधा घण्टासम्म मौन ध्यान गरेँ । आकाशमा तारा स्पष्ट देखिएका थिए । दृष्टिरेखाको अन्त्यमा भीमकाय पर्वत श्रृङ्खला थिए । दिशाबोध हुन सकेन । अनुमानित पूर्व दिशातिर फर्केर बसेँ । यो जीवनकालमै अनुभूति गरेको एक विशिष्ट मिर्मिरे बिहान थियो । चिसो हावाको स्पर्श । परबाट आएकोमर्स्याङ्दीको स्वाँ: को प्राकृतिक आवाज । आकाश छोएर उभिएका डाँडाले मनलाईरोमाञ्चक बनाए । बिस्तारै उज्यालोको मात्रा बढ्दै गयो । साढे पाँचतिर डा. दिवस वस्नेत मेरो कित्तामा मिसिन आउनु भयो । हामी दुईले ध्यान सम्बन्धी एक अडियो सुन्यौँ । हर्षको सगरमाथा त्यसवेला सिर्जना भयो जब एकाएक दुई पहाडको बीचमाहिमालको सेतो चुली देखियो । म हत्तपत्त मोबाइल ठिक पारेर हिमालको दृश्य कैदगर्न लागेँ ।
यो अवर्णनीय मनोहर दृश्यको तस्बिर लिनेक्रममा मेरो मोबाइलको क्यामेराको सीमा थाहा भयो । हिमालमा फोकस गरे नजिककोवस्तु स्पष्ट नदेखिने । नजिकको वस्तुमा फोकस गरे हिमाल नदेखिने।
"भेटिस् ! बडो राम्रो तस्बिर खिच्छुभनी फुर्ती लगाउँथिस् नि ।" मैले कल्पना गरेँ । यदि मोबाइल चेत भएको जीवित प्राणी भएको भए म यस्तै भन्थेँ होला ।
कतै पढेको स्मरण भयो-
"आँखाले देख्ने पनि एउटा दायरा हुन्छ । यिनले धेरै टाढाको वस्तु देख्दैनन् । यसैले हेर्दै गरेको हवाईजहाज एकाएकहराउँछ । आँखाले धेरै नजिकको पनि देख्दैन । न त परेला देख्छ न त गाजल ।"
आफ्नो तस्विर खिच्नुको खासै अर्थ थिएन । यसर्थ हिमाल र सूर्योदयको अघाउन्जेल खिचियो । उदाउँदो सूर्यलाई सूर्य नमस्कार पनि गरेँ ।
खाजा खाएर आठ बजे निस्कने सल्लाहथियो तर धारामा पानी नै आएन । धारो बल्ल बल्ल रसायो । अझै पनि तातो पानी आएन । बाल्टीमा जम्मा गरेर नुहाउने विचार गरेँ । स्नान कक्षमा बाल्टी थियो तर मग थिएन । आगन्तुक कक्षमा फोन गरेर मग मगाएँ । जुल्फेको साथीले स्टिलको कचौरा ल्यायो । यस्तो चर्तिकला देख्दा मलाई होटल व्यवस्थापन प्रति दयालागेर आयो । यस्तो ठाउँमा पनि ग्राहकलाई सेवा दिन नसक्नु लाजमर्दो नैहो । कल्पना गरेँ-
“झन् पर्यटकको हालत के हुन्छ होला ?”
बिहानको खाजामा सुन्तलाको ताजा जुस पिउने विचार थियो । होटलको ताल देखेर त्यो पाइएला भन्ने कुरामा शङ्कालाग्यो । नभन्दै त्यही भयो । ताजा जुस हुने कुरो थिएन । जुसको सट्टा दुध भने पाइयो ।
हाम्रो टोली निर्धारित समयमा मित्रराष्ट्र चिनको सिनो हाइड्रो कम्पनीले हालै निर्माण सम्पन्न गरेको "उपल्लो"अर्थात् "कान्छो" मर्स्याङ्दी जलविद्युत् केन्द्रको विद्युत् गृहमा पुग्यो ।एक नेपाली इन्जिनियरले हाम्रो स्वागत गरे । मर्स्याङ्दीलगायतनेपालकाप्राय नदीमा द्रुत गतिमा जलविद्युत् केन्द्रहरुको निर्माण भइरहेको छ । यस हिसाबले यो केन्द्रको "कान्छो" उपाधि खोसिएर केही समय पछि नै 'साहिँलो' हुने यथार्थ हाम्रा अघि थियो । मेरो मनमा भने साबिकको "कान्छो" केन्द्रकोबारेमा कौतुहलको रूपमा एक प्रश्न थियो ।
"पचास मेगाबाट क्षमताको यो आयोजना निर्माण तिन वर्षमै कसरी सम्पन्न भयो ? जबकि अरूले जस्तै यसले पनि भुइँचालो र नाकाबन्दीको सङ्कट बेहोर्नु परेको थियो ।"
विद्युत् गृहको कन्ट्रोल रुममा चिनियाँप्राविधिकहरुको सहयोगीकारूपमा भेटिएका नेपाली प्राविधिकले मुस्कुराउँदैमेरो प्रश्नको उत्तर दिए ।
"यसको चुरो कुरो एउटै छ । नेपालीहरु पहिला विवाद गर्छन् काम पछि । चिनियाहरु भने पहिला काम गर्छन् विवाद पछि ।"
विद्युत् उत्पादन गृह पश्चात् सेतुबन्ध रनौलो प्रविधि प्रयोग गरिएको थिग्य्राउने पोखरीको निरीक्षण गर्न गयौँ । पोखरीको डिजाइनमा नौलो प्रविधि प्रयोग गर्ने डा. हरि पण्डित हाम्रै यात्राटोलीमा हुनुहुन्थ्यो । भर्खर मात्र सञ्चालनमा आएको आयोजनाको तात्तातो भ्रमणगर्न पाउँदा हामी सबै मन्त्रमुग्ध भएका थियौँ ।
त्यस दिनको दोस्रो गन्तव्य थियो चारमेगाबाट क्षमताको खुदी जलविद्युत् केन्द्र । विद्युत् गृहको अवलोकन पश्चात्हामी करिब २ किलोमिटर पैदल हिँडेर यसको सेतुबन्ध स्थलको निरीक्षणमा गर्यौँ ।खुदी खोलाको झोलुगे पुल तरेर पारिलो घामको मजा लिँदै खोला किनारमा पेनस्टकपाइपको समानान्तर भएर हिँड्यौँ ।
कञ्चन पानी बगिरहेको खोलाको मनमोहक दृश्यले मोहित भएर डा. जयकुमारले एक विशिष्ट परिकल्पना गर्नु भयो ।
"जापानमा तातो पानीमा नुहाउने ओनसिन जस्तै हामीले पनि खोलामा नुहाउने क्रीडा स्थल बनाए के होला ?"
मलाई वहाँको परिकल्पना सिर्जनात्मक रअर्थपूर्ण लाग्यो । वास्तवमा हामीले पर्यटकहरुलाई लोभ्याउने र आनन्द दिनेआधुनिक सुविधायुक्त क्रीडास्थल नगण्य मात्र बनाएका छौँ । डा. जयकुमारकोयो अवधारणाको मैले उच्च मुल्याङ्कन गरेँ । भोलिपल्ट बन्दिपुरको दृश्यावलोकनस्थलबाट सूर्योदयको आनन्द लिँदा पर्यटक खासै देखिएनन् । जबकि हामी बसेकैहोटेलमा उल्लेखनीय सङ्ख्यामा पर्यटक थिए । शायद सूर्योदयको रसास्वादनगर्ने आनन्ददायक सुविधा नभएर हो कि भन्ने शङ्का मेरो मनमा उब्जियो । टोकियोको समुद्रीकिनारमा एक टावरको टुप्पामा २ सय ७० डिग्रीको दृश्यावलोकनगर्न सकिने रेष्टुरेन्टमा पुगेको थिएँ । बन्दिपुरको टाकुरामा त २ सय ७०मात्र होईन ३ सय ६० डिग्रीकै दृश्यावलोकन गर्न मिल्ने अवलोकन कक्ष वा रेस्टुरेन्ट बनाउन सकिने सम्भावना मैले देखेँ ।
यो यात्रामा नेपालमा द्रुत गतिमा आर्थिक विकास हुन नसक्नुका कारणहरु बारे यात्रा सहभागीका खारिएका अवधारणा सुन्न पाइयो ।
"थोडा खाना, बनारसमे रहना ।" जे पाइएकोत्यसैमा सन्तोष गर्ने हाम्रो संस्कार नै विकासको अवरोधको रूपमा रहेको छभन्ने सागरजीको सूत्रवाक्य थियो ।
रत्नमणीजीले "किन सोधिएको प्रश्न गलत पनिहुन सक्छ" भन्ने मान्यताको विकास हाम्रो समाजमा हुन सकेन भन्ने प्रश्नमाथि आफ्नो विचार यसरी राख्नु भयो-
"कनिष्ठ कर्मचारी, कारिन्दा, विद्यार्थीवा शिष्यले प्रश्न गर्ने हैसियत राख्दैनन् ।"
चार मेगावाटको खुदी जलविद्युत् केन्द्रपश्चात् "माहिलो" अर्थात् "मध्य" मर्स्याङ्दी जलविद्युत् आयोजनाको पनिनिरीक्षण गरेका थियौँ । त्यस दिन बास बस्न बन्दिपुर पुगेका थियौ । बेसीशहरको तुलनामा बन्दिपुरले गरेको स्वागत उत्कृष्ट थियो । बिहान सुन्तलाको जुस पिउने मेरो रहर भने बन्दिपुरले पनि पूरा गर्न सकेन ।
एघार जनाको हाम्रो टोलीलाई तिनवटा भवनमा राखिएको थियो । हामीले ढिलो खबर गरेको हुनाले यसमा हाम्रो गुनासो थिएन । ताजा जुसको अभाव लगायतका अन्य केही कमजोरी भने बन्दिपुरको होटलले पालेकोपाइयो । सागरजीको कोठाको ताला खुलेनछ । वहाँले मोवाईलको टर्चले उज्यालो बनाएर ताला खोल्ने कोसिस गर्दा मोबाइल खसेर नराम्रोसँग चर्किएछ । त्यसपछि वहाँ मदतका लागि आगन्तुक कक्षमा आउनु भएछ ।
"कुन ? ४११ नं. को कोठाको हो ? त्यसको हत्तपत्त खुल्दैन ।" होटलकी एक महिला कर्मचारीले टिप्पणी गरिछिन् ।
यसको मतलब व्यवस्थापनलाई समस्याको अग्रिमजानकारी थियो । मुस्किलले एकसय रुपैयाँ पर्ने तालाका कारण वहाँको हजारौँ पर्ने मोबाइल दाउमा परेको थियो ।
बन्दिपुर बजारका दुई मौलिक दृश्यले भने मेरो ध्यानाकर्षण गरे । पहिलो, मध्यबजारमा सवारी साधनको आवागमनमा लगाइएको रोक । दोस्रो, २००१ सालमा स्थापना गरिएको बन्दिपुर पद्म पुस्तकालय । पुस्तकालय अहिले पनि सञ्चालनमा रहेको यथार्थले मेरो मन फुरुङ्ग भयो ।
बन्दिपुरबाट प्रस्थान गर्ने साइत बिहानकोनौ बजे प्रस्ताव गरिएको थियो । काठमाडौँ फर्किँदा भने हाम्रो साथमा तीनवटामात्र गाडी थिए । मलेखुमा केही कोसेली किनेर अघि बढ्यौँ । म चढेको गाडीमा तीनजना यात्रु थियौँ । चुलिएको हाम्रो गफगाफ मोवाईलको घण्टीले बिथोल्यो । मेरा अनन्य मित्र सूर्यमान सरको कल रहेछ । मैले हाम्रो यात्रा रसहभागी टोलीको विवरण सुनाएँ । अरूको नाम सुन्दा सामान्य प्रतिकृया जनाएपनि सागरजीको नाम सुने पछि वहाँ एकाएक चर्को स्वरमा बोल्न थाल्नु भयो ।
"ए सागरजी पनि हुनुहुन्छ । फिल्ममा हिरो खेल्न जानु पर्ने मान्छेलाई तपाइँहरुले अलमल्याउनु भएको सुन्दा विस्मात लाग्यो ।"
सूर्य सरलाई विस्मात लागे पनि हामीलाई भनेत्यसले हौस्यायो । यात्रा चलचित्रको अन्त्यमा भए पनि हिरोको छनोट भएकोथियो । हिरोइनको छनौट गर्न ट्राफिक प्रहरीले सघायो भने हिरोको छनोट गर्नसूर्य सरले । मैले नागढुङ्गा नजिकैको रिसोर्टमा दिवा भोजन गर्दा यो प्रसङ्गनिकालेर सबैलाई हसाएँ । यसले यात्रा टोलीको क्यामेराको काम सम्हालेका बिजयभाइ र गीता बहिनीलाई हौस्याएछ । उनीहरुले चलचित्रकै सुटिङ् जस्तो गरी हाम्रो यात्राका अन्तिम दृश्यहरु क्यामेरामा कैद गरे ।
रिसोर्टमा पनि होटलको सेवा प्रदायककोव्यवहारले हामीलाई हर्षित बनाउन सकेन । बेसीशहरको होटलको जुल्फे औपचारिक पहिरनमा थिएन । मापसे गरेको थियो तर उसको अरु व्यवहार सामान्य थियो । तर रिसोर्टमा भने एक सेवकले असभ्य व्यवहार समेत देखाए । परिकारको गुणस्तरदेखि रिसोर्टका अन्य सुविधा प्रशंसनीय थिए । सम्भवत: पर्यटनव्यवसायीहरुले सेवा प्रदान गर्दा मूल्य अभिवृद्धि गर्नु पर्ने यस्तै विषय हुन् । नेपालको द्रुत आर्थिक विकासका बाधकहरुको सन्दर्भमा कतै मैलेनै उल्लेख गरेको एक सूत्रवाक्यको स्मरण भयो-
"शीसा छ तर अलिकति फोहोर छ ।"
त्यो शीसा ढाकेको कसिङ्गर हरेक क्षेत्रमा छ। हामीले यसपालीको भ्रमण ताका जलविद्युत् केन्द्रहरुबाट उल्लेखनीय रूपमा उत्पादित उज्यालोको सहाराले सिसामा थुप्रिएको तर अन्धकारमा रहेको कसिङ्गर नियाल्ने सम्भावना देख्यौँ । यो नै मर्स्याङ्दी यात्राको सबैभन्दामहत्वपूर्ण उपलब्धि भयो ।
कार्तिक २७, २०७३
कोटेश्वर, काठमाडौँ
साभार : उज्यालो अनलाईन