Monday, July 11, 2011

भगवान बुद्ध र भियतनाम यात्रा

बिहानको साढे तिन बजेको छ । म हनोइको सनवे होटलमा बास बसेको छु र केही लेखिरहेको छु । हिजो त्यसरी बुद्ध भगवान् संग साक्षात्कार होला, त्यसले मलाई यति भावुक बनाउला र मैले रुँदै यी हरफहरु लेख्नु पर्ला भन्ने मैले सोचेको नै थिईन । अहिले मेरो मन पीडामा छ, मेरा आँखामा आँसु छन, सास फुलेको छ र लेख्ने गति मन्द छ । पाठकहरुलाई विश्वास नलाग्ला, आजभोलि यस्तो हुन सक्ला र ? आजका मान्छे पनि भगवान् भेट्दा रुन्छन र ? तर यही भएको छ । म सनवेको ५२० नं कोठामा एक्लै छु । मेरा अगाडिको टिस्यु पेपर सिँगान र आँसुले निथ्रुक्कै भिजेको छ । मलाई लेख्न मन छ तर अति गाहे भएको छ- मन, कलम र कागत संभाल्न ।

म 'दक्षिणपूर्बी एशियामा जलीय वातावरण' नामक दोस्रो अन्तराष्ट्रिय सम्मेलनमा भागलिन भियतनामको राजधानी हनोइ आएको छु । हुन त यो मेरो भियतनामको दोस्रो भ्रमण हो । तर यसपटक मैले हिजो हनोइवाट लगभग एक सय पचास कि.मी.को दूरीमा रहेको हालोँग वे को भ्रमण गर्ने सुनौलो मौका पाएँ । मलाई विहान तीन बजेनै निद्राले छोड्यो । उठेर कागजातहरु मिलाएँ । योजना मुताविक म छ बजे खाजा खाने हलमा पुगीसकेको थिएँ । मलेशियाबाट आउनुभएका प्राध्यापक डा. लिम र डा. को संगै बसें, रमाईलो वार्तालाप पनि भयो । साढे छ बजे हामीले होटल छोड्यौ । जापान, दक्षिणकोरिया, थाईल्याण्ड लगायत बास मुलुकहरुवाट आएका जलश्रोतका विभिन्न बिधाहरुमा काम गर्ने वैज्ञानिक, इन्जिनियर, प्राध्यापकहरुको हाम्रो टोलीले चारवटा पर्यटक ओसार्ने बसहरु भरिएका थिए । मेरो उपस्थितिले एककाइसको अङ्क बाइस भएको थियो, म दङ्ग थिएं । म बस नं एकमा चढें र श्रीलकांको साथी डा. गेमुनुसगैं बसें । हामी चुंगडोगं पुल, राष्टिय राजमार्ग वान ए, वाक निह प्रान्त हुंदै अगाडि बढयौं । भियतनामी लयमा अंग्रेजी बोल्ने फरासिला थिए हाम्रा पथप्रर्दशक । उनले हातमा माइक्रोफोन लिना साथ उनको मोबाइल बज्थ्यो र हामी सबै हाँस्थ्यौं । हामी आठ लेनको राजमार्ग भएर गुडेका थियौ । खासै धेरै सवारीसाधन नभए पनि भियतनामको नियमअनुसार हामी पचास कि.मी. प्रतिघण्टाको हाराहारीमा गुडेका थियौं । हामीले प्रायजसो वाटोको दुवैतर्फं विकसित भएको रिवन आकारको शहर, आसपासका खेतहरु र सामान्य जंगल छिचोलेका थियौ । नौ वजे हामी एकै छिन विश्राम लिन साओ दो नामक शहरमा रोकियौ । पर्यटकहरुलाई लक्षित गरेर बनाईदिएका सफा शौचालयहरु र उपहारका सामानले भरिएका पसलहरुले हामीलाई स्वागत गरे । सबै सुविधाहरुको स्तर सराहनिय थियो । म घुमी घुमी हस्तकलाका सामानहरुको मजा लिदै थिएँ । मेरो स्विस साथी अग्नेसले परवाट हात हल्लाईन्, म हर्षले विभोर भएं । उनी संग भेट नभएको एक वर्ष भएको थियो । उनीसंग कुरामात्र थालेको थिएं, मेरो अर्को रसिया घर भएको एआईटी, बैङ्ककमा पढाउने साथी डा. सिपिनपनि भेट भयो । डा. सिपिन मेरो जीन्दगीमा भेटभएका मान्छेहरुमध्ये एक प्रतिशतको पनि माथिल्लो आधामा पर्नु हुन्छ- विद्धान, अनुभवी र रमाईलो । मान्छेमा यी तिन कुराको समायोजन भएको छ भने उ सायदै कसैको अाँखामा बिझाउँछ । म उहाँहरुसंगको वार्तालापपछि पुन सामान हेर्न थालें । रातो टिसर्ट लगाएको हट्टाकट्टा अर्को व्यक्तिले मलाई लक्षित गरेर भन्यो- "हाय नवराज हाउ आर यु" । ल उहाँ त मेरो जापानमा बस्दाको कोरियन साथी डा. सो पो हुनुहुंदो रहेछ । लौ ! यो यात्रा त सारै नै रमाइलो हुने भयो । वहाँले मेरो परिवारको वारेमा पनि सोध्नु भयो, तुरुन्तै देशको बारेमा पनि । यस्तो बेला मलाई उत्तर दिन असाध्यै कठिन पर्छ । मैलै मेरो मित्रलाई अहिले सम्म कहिले पनि वनावटी वा झुटो जवाफ दिएको छैन । म एउटा सामान्य देशको सामान्य मान्छे, उहाँ राम्रो प्रगति गरेको देशको मान्छे । तर पनि उहाँ हाम्रो कति माया गर्नुहुन्छ, मेरो प्रगति देख्न चाहानुहुन्छ, नेपालको राम्रो खबर सुन्न चाहानुहुन्छ ।

मेरो सास फेरी फुलेर आयो, आँखा फेरी रसाए, आज मलाई किन यस्तो भइरहेछ ! सोच्दछु, अरु नेपाली दाजुभाइको तुलनामा मलाई धेरै नै कम रुनु परेको होला । म आफूलाई अत्यन्त भाग्यमानी नेपाली सम्झन्छु । पाँचथरको स्याब्रुम्बा जस्तो विकट गाँउमा जन्मेको मान्छे आज यति धेरै विदेशी मित्रहरु बनाउन पाएको छु । संसार घुम्न पाएको छु । मेरो पनि बुद्धको देश छ, सगरमाथाको देश छ, बेद र गीताको पूजा गर्ने थलो छ, भन्न पाएको छू मेरा बिदेशी मित्रहरुलाई । तर आज म रोइरहेको छु । मेरा आँखाबाट बलिन्द्र आँसु खसिरहेछन्, म अत्यन्त भावुक भएको छु । मैले मेरो मित्रलाई मेरो मनको बह भन्न सकिन । 'मलाई दुःख छ, मेरो मुलुकमा अहिले कहिल्यै नभएको भयभित वर्तमान छ, मेरो स्कूल गएको छोरो बेलूका घर फर्कन्छ फर्कदैन थाहा हुँदैन, अत्यन्तै जोखिममा छौं' हामी भन्न सकिनँ । मेरो दुःख सुनाएर उहाँलाई पनि किन दुःखित तुल्याउ । म साँच्चिकै असमञ्जस्यमा परें । मैले सत्य बोल्नु पर्छ । म मेरो मुटु दह्रो बनाउँछु । फेरी सम्झन्छु । पाँच बर्ष पछि भेट भएको साथी, यस्तो कुरा गरेर अब उहाँले फेरी मलाई संझदा मेरो दुःखलाई किन सम्झने बनाऔं । एक छिन भए पनि रमाईलो गरौ र ठीकै छ भनौ । फेरी उहाँ त पत्रिका पढिरहने मान्छे सबै कुरा थाहा छ, म दोधारमा पर्छु ।

'पछि कुरा गरौला त्यस बारेमा' मैले समस्यालाई केहि बेरको लागि पर सारेँ । म केहि न केहि उपाय निकाल्छु ताकी म उहाँलाई मेरा पीडा र आर्तनादका सत्यता नभनीकन मेरो पुरानो संबन्ध यथासक्य निरन्तर राख्न सकुँ । यसरी समस्या थाती राख्दा म सोच्ने मौका पाउँछु र केहि उपाय निस्कन सक्छ भन्ने झिनो आशाको त्यान्द्रोको साहारा लिन्छु म ।

हामी ग्रामीण ईलाका छिचोलेर अगाडी बढ्रयौ । हाम्रा पथप्रदर्शकले भियतनामको बर्णन गर्न थाले । भियतनाम एउटा पीडा र बेदनाको इतिहास भएको मुलुक हो । यहाँको हालको जनसंख्या नौ करोड छ । नेपालको जस्तै लगभग नब्बे प्रतिशत जनता गाउँमा बस्छन् । गाँउले जीवनको चित्रण गर्दै हाम्रा मित्रले भने एउटा उखान छ- 'गाँउको एउटा मान्छेलाई सबै भन्दा पहिला तीन कुराको आवश्यकता पर्दछ, एउटी महिला, एउटा भैंसी र एउटा घर ।' भियतनाममा एउटा भैसी वा राँगाले खेत जोत्ने चलन रहेछ । हामी एघार बजे हा लोँग पर्यटक केन्द्रमा पुग्यौं । चारवटा ठूुूला डुंगा ठीक पारिएका रहेछन् । म डा.गेमुनु संगै डुंगा नं. एकमा बसें । हाम्रा बसका सबै यात्री त्यही डुंगामा बसे । त्यस पछि हामी थिएन गुफा तिर लाग्यौं । समुद्रको त्यो यात्रा मेरो तेस्रो थियो, यस अघि जापानको सादो टापूु जाँदा र बैंककमा मैले यस्तै यात्रा गरेको थिएं ।

गुफा पुग्नु केही बेर अघि म डुंगाको पछाडीको भागमा रहेको शौचालय पुगेर फर्कदै थिए । डुंगाको अगाडी जाने कौशीमा एउटी युवती एक्लै उभिएर एक टकले समुद नियालिरहेकी पांए । मैले उनलाई 'हाय ! हाउ आर यु' भनेँ र केही कुरा गर्न थालें । मलाई उनी संग ठट्टा गर्ने लहड चल्यो र भनेंँ 'तिमी कुन देशबाट आएकी हौ भनेर म अनुमान गरौ ?' उनले 'हुन्छ' भनिन् । मलाई लाग्यो मैले आफूले आफूलाई समस्याको खाडलमा पारें । तर अब मैले ठ्याक्कै मिलाए भने त अति नै रमाईलो हुन्छ । मैले न्वारान देखिको बल निकालेर दिमागी बिश्लेषण गरें र भने 'निहोन' । मैले ठयाक्कै मिलाएछु, उनी खित्का छोडेर हाँसिन् । म पनि खुशीले गदगद भएँ । उनको नाम चेई रहेछ । थप रमाइलो गर्ने सुरले मैले फेरी भने 'अब तिमी अनुमान गर म कुन देशबाट होला ?' उनले केही बेर घोरिएर भनिन् 'नेपाल' । ओहो! यो त मेरो जिन्दगीको अविस्मरणीय कुरा हुने भयो एक जना जापानी युवतीले मेरो स्वरुप हेरेर म कुन देशको हो भन्न सक्ने ! मैले नलगाएको भए पनि मेरो नेपाली ढाकाटोपी अझै चुलिएको अनुभव भयो मलाई । हामीले निकै बेर कुरा गर्यौ , उनी जापान को तोहोकु बिश्वबिद्यालयमा पढ्रने विद्यार्थी रहिछन् ।

हामी थिएन कुङ्गग गुफा पुग्दा दिउसोको मध्यान्ह भएको थियो । एक सय मिटर लामो गुफा निकै ठुलो रहेछ, हाम्रो पोखराको महेन्द्र गुफा जस्तो । गुफामा मेरो इन्डोनेसियाका दुई युवती मारिया र उनको साथी संग परिचय भयो । नेपालको बारेमा उनीहरुलाई थाहा रहेछ । हामीले 'सेभेन इयर्स ईन तिवेट' भन्ने फिल्मको बारेमा कुरा गर्यौ ।

गुफामा आधा घण्टा विताएर हामी पुनः डुंगामानै फर्कियौ । दिउंसोको खाना डुङ्गाको रेष्टुरांमानै भयो । समुद्र छ, जता हेरे पनि पानी नै पानी । शिखर वाट आएको म सागरमा अर्थात शुन्य उचाईमा छु । समुद्रमा फुत्त बाहिर निस्केको चटटानका थुम्काहरुले हामी लाई स्वागत गरे । यस पटक मैले क्यामेरा नल्यएकोमा पछुतो लाग्यो । खाना पछि म केही बेर छतमा गएं । बँगालादेशी मित्रहरुसंग भलाकुसारी भयो । मैले हा लोँग वे का वातावरण व्यवस्थापकसंग समुद्रकिनारमा रहेका वस्तीहरुमा खानेपानीको आपुर्ती तथा निकास पानीको विसर्जनका विषयमा केही जिज्ञासाहरु राखें ।

हामी तीन बजे फेरी जमिन र सागरको संगमस्थलमा फर्कियौ । म आँउदा चढेको बस नम्वर एक तिर लम्कदै थिएं । टोकियो विश्वविद्यालयका इन्जिनियरिङ्ग विभागका भुतपूर्व डिन प्राध्यापक डा. ओगाकीसंग जम्काभेट भयो । मेरो अभिवादन फर्काउदै वहांले मलाई तानेर एकान्तमा लानु भयो र अतिनै चिन्तित मुद्रामा सोध्नु भयो 'तिम्रो मुलुकको अवस्था कस्तो छ ? अहिले के तिम्रा परिवारजन शकुशल छन् ?" म फेरी अप्ठयारामा परें । उहाँको मनमा म, मेरो परिवार र मेरो देशका लागि त्यति धेरै स्थान हुनु भनेको अत्यन्तै ठुलो कुरा हो । उहाँको संसारका कैयौ देशका कैयौ मान्छेहरु संग दैनिक भेट हुन्छ । जापान मात्र हैन, पुर्वी एशियामात्र हैन सारा संसारका जल तथा वातावरणविज्ञहरुले उहाँलाई चिन्छन् । उहाँले मलाइ सगरमाथा भन्दा पनि अग्लो महत्व दिनु भएको छ, मेरो मुलुकले के गुन लगाएको छ त उहाँलाई ? म सोचमा पर्छु । म उहाँको सदभावले हर्ष विभोर हुन्छु, तर फेरी हर्षको अन्नपुर्णाको उचाइबाट विस्मातको समुद्रतलमा आइपुग्छु मैले दिनुपर्ने उत्तरको प्रारुप सम्झेर । मुलुकको कुरा आउनासाथ आजभोलि मेरो मन छिया छिया हुन्छ । म कसरी भनौ आंसुले बगेका नदीहरुका कथा । म कसरी भनौ मैले बाह् बर्ष अगाडि भेटेको जाजरकोटको स्यापी इतिहासको सबैभन्दा विकराल संकटमा छ भनेर । आज मेरो दुल्लु पुरानो दुल्लु रहेन् । मेहेलकुना आर्तनादका कथाहरुले भरिएको छ , मलाइ हुर्काउने सिद्धथान र देवीथानको दर्शन गर्ने तिर्थालुले शान्तिको अविरल भाकल चढाउन परेको यथार्थता ! म कसरी भनौ विचारले मान्छेको मन जित्न सकिन्छ भन्ने तथ्य ओझेलमा परेको कुरा ! म कसरी भनौ आज मेरो मुलुक कालचक्रको सबैभन्दा विकराल हार हारको महाभारत दोहोर्याइ रहेको छ ! म फेरी सामान्य उत्तर दिन्छु । 'प्राध्यापक महोदय! म यहाँसंग पछि लामो समय लिएर कुरा गर्छु, हुँदैन ?'

हामी चढेको बस तीन बजे हनोईको लागि प्रस्थान गर्यो । वाटोमा केही बेर अपाङ्गहरुले बनाएका हस्तकलाका सामानहरु पाइने स्थानमा हामी रोकियौ । म सामानहरु हेर्दै थिएं । मुर्तिहरु, समुद्रका ढुङ्गाहरु, सिपी र मोतिका दानाहरु देखिए । एककास्सी मेरा आँखा चिनेको आकृतिमा परे । पदमासनमा बसेको, शान्त, सौम्य, शीतल त्यो आकृती । के साँच्चीनै हो त ? नियालेर हेरें, अनि मेरा अाँखा एक टक लगाएर त्यो आकृतिमा परिरहे । नेपालबाट हजारौ किलोमिटर टाढा पनि मैले चिनेको जानेको आकृति छ । लुम्विनी र स्वयम्भूमा विराजमान हन भएका भगवान् यहाँ पनि हुनुहुन्छ ? मैले भगवान् बुद्ध संग थाइल्याण्डमा साक्षात्कार गरेको छु । जापानमा चिवामा रहेको संसारको सवैभन्दा अग्लो बुद्ध भगवानको मूर्तिमा चढेर बुद्धत्वको अथाह सागर भित्र हराएको अनुभव गरेको छु । तर यसरी हा लोँग वे को किनारमा पनि भगवान्सँग भेट होला भन्ने मैले चिताएको थिइनँ । मैले भगवानको एउटा सानो मूर्ति किने ।

अहिले म होटेलमा शाक्यमुनिको अगाडि एक्लै छु । विचारले मान्छेलाई जितेर शाक्यमुनि लुम्बिनीवाट यहाँसम्म आइपुग्नु भएको छ । हाम्रा पथप्रर्दशकले भनेको सम्झे, 'भगवान नौ करोड भियतनामीहरुको मनमा पनि हुनु हुन्छ ।' मलाइ भगवानले मेरा मित्रहरुले जस्तै सोधेको आभास भयो । 'नवराज ! तिमीले मेरो जन्मस्थलको के खवर ल्याएका छौ ?' म फेरी भकानिन्छु, आज म जीवनको सबैभन्दा कठिन मोडवाट यात्रा गरीरहेको छु । मेरो चालिस बर्षको जीवन अनुभवमा मनको घाउ यति धेरै कहिलेपनि दुःखेको थिएन् । भोलि विहान मेरो कोठा सफा गर्ने युवती छक्क पर्ने छिन कागजका यी रुमालको खात देखेर । म फेरी आँसुका भललाइ टिस्युले सोस्दछु । मेरो शरीरबाट रोदन मात्र निस्कन्छ । मलाई उत्तर दिन अतिनै गाहो भएको छ । म कुन कुन अक्षरलाइ कसरी जोडेर भगवानलाइ खवर भनौ ? मैले आज दिनभरी यो प्रश्नको उत्तर थाती राखेको छुु । म भाग्न चाहान्छु । जुन खेलको परिणाम शून्य हुन्छ त्यो खेल खेल्नै पर्छ र भगवान् ? यो प्रश्न उत्तरको मैदानमा जान त परै जाओस् मलाई त दर्शकदीर्घामा समेत बस्ने रहर छैन । तर मैले अब बोल्नै पर्ने हुन्छ, भगवानलाई नभन्नुको कुनै औचित्य रहने छैन । म अब यो जवाफलाइ धेरै थाती राख्न सक्तिनँ ।

'भगवान् ! मैले खवर वोकेर ल्याएको चिठी धागोले बाँधिएको छ । म कसरी खोलौ यो चिठ्ठी, कसरी वाँचौ यो खवर । भगवान् ! नियालेर हेर्नुहोस यो मेरो पहिरन रङ्गीन देखिए पनि यसमा हजारौ सेता धागाको अंश छ । भगवान ! हामीले यती लामो बरखी कहिले पनि बारेका थिएनौ । भगवान ! हामी हामी रहेनौ । भावना र विचारले मन जितेको सबैभन्दा दिगो हुन्छ भन्ने भगवानले पच्चीस सय वर्षअघि सिर्जना गरेको ज्ञानलाइ आत्मसात् गर्न सकेनौ । हामीले लुम्बिनीमा पराजयको खेती गरेका छौ । हामीले स्वयम्भूको आँखामा सुइरोले रोपेर रगत निकालेका छौ । भगवान ! 'अहिसां परमो धर्म' को मान्यतालाइ हामीले कुुल्चेका छौ । हामीले आफ्नै बा, आमा, दाई, भाई र दिदी बहिनी को संहार गरेका छौ । कसैको केही नविगारेका अवोध नानीहरुको बाँच्ने अधिकार खोसेर अकाल मृत्युु पस्किदिएका छौ । भगवान ! म माफी चाहान्छु मैले राम्रो खवर ल्याउन सकिनँ । लुम्बिनीमा उम्रेर संसारमा फैलेका मानवकल्याणका, निर्वाणका, बोधिसत्वका ज्ञानरुपी अथाह सागरका धनी भए पनि हामीले झिना मसिना सवालहरु समाधान गर्न सकेनौ । भगवान् ! मेरो शीर झुकेको छ । म अब रमाएर स्वयम्भूको कुरा गर्ने स्थितीमा रहिन् । भगवान ! मैले सेतो साडी लगाएका असंख्य विधवाको खवर ल्याएको छु । अकाल मृत्युले सिर्जिएका हजारौ टुहुराहरुको खवर ल्याएको छु । भगवान ! आज से फोकसोण्डोको पानीमा रगत मिसिएको छ, माईपोखरीमा आँसुको खोला मिसिएको छ । हामीले डोल्पा गुम्वाताराका हजारौं धर्माकर, दिपाकंर र अमिताभहरुलाई भेरीमा नौजवान नेपालीका जिउँदा लासहरु बगाएर देखाएका छौ । सोलुका खोल्साहरुमा स्यालहरुलाई नरभक्षी बनाएका छौँ । भगवान ! भिक्षुलाई दान दिन नसक्नुमा कुनै अन्याय हुदैन, तर हामीले धर्मपाथमा हिडेका भिक्षुको दान पात्र खोसेका छौ । भगवान ! मेरो वर्तमान शोकाकुल छ । मेरा भाइहरुको लाशको विस्कुन लागेको छ । मेरा बहिनीहरु आफ्नो पुछिएको सिंउदोको कथा समेत बोल्न सक्दैनन् । भगवान ! मेरो बौद्धिक दरिद्रतालाइ धिक्कार छ । भगवान ! यो सबै हुनुको कारक म पनि एउटा हुँ । मैले पहिरेको नेपाली विज्ञको यो पगरीलाई धिक्कार छ । मैले मेरा भाइ बहिनीलाइ दुईहजार बर्ष भन्दा पनि वढी बाँचेको र रमेको हाम्रो सभ्यता र समाजको आफ्नोपन र सह अस्तित्वको मैदान देखाउन सकिनँ । तीस करोड भन्दा पनि बढी मनहरुलाई डोर्याउन सक्ने बुद्धत्वको अथाह सागरमा बसेर गरिबी, रोग र अशिक्षाको विरुद्धमा जाबो दुई करोडले लड्न पर्ने जीत-जीतको यज्ञ सिर्जना गर्न नसक्नु मेरो लाछीपन हो । भगवान ! म अन्याय र असत्यका 'अ' हरुलाई मेटाउन सकने सात्विक विचारको सिर्जना गर्न नसकेर नितान्त दर्शकदीर्घामा बसेर यो हार हारको लडाई हेर्न विवश छु । मलाई थाहा छ, यो मैदानवाट कुनै पनि खेलाडीले विजयको माला लगाएर निस्कने छैन् । मरेका लाशहरु, पुछिएका सिउँदाहरु, अवोध टुहुरा मात्र यस मैदानबाट निस्कने छन् । हामीले हजारौं बर्ष पुरानो हाम्रो बुद्धत्व, सभ्यता र समाजको पूर्णतामा अन्तरनिहित अवयवहरुलाई केलाउन सकेनौ । हामीले मन जितेर शासन गर्न सकिने कुरालाई छायामा पारेका छौ । भगवान ! हामीले आफनै गुंडमा आगो सल्काएका छौ । "

'भगवान ! म अव म प्रतिप्रश्न राख्ने अनुमति चाहान्छु । म मेरा मित्रहरुलाइ के उत्तर दिउँ ? म अब मेरो जवाफ थाती राख्न चाहन्न । म हाम्रा हिजोका पीडा र बेदनाहरुलाई हाम्रो जीवनकालका अन्तिम विफलताहरु बनाउन चाहान्छु । म मेरा भाई बहिनीलाई विजयविजयको यज्ञ देखाउन चाहान्छु । म अब गोसाइकुण्ड र बीसहजारी तालहरुको पानी सङ्लो पार्ने शान्तिका श्रोतहरु चाहान्छु । भगवान ! म मेरो जन्मभूमिका प्रत्येक पीपलचौतारीबाट शमनका परेवाहरु उडाउन चाहान्छु ।" यत्तिकैमा म रोकिए । मेरो ढोकामा सुनिएको ढक ढक आवाजले मेरो ध्यान आकर्षित ग¥यो । मेरा आँखा टेलिफोनको घडीमा गए । बिहानको सात बजिसकेको रहेछ । म भिजेका टिस्युलाई पन्छाएर ढोका खोल्न उठें ।

डिसेम्बर ०२, २००४
हनोइ, भियतनाम

साभार: गरिमा (फागुन २०६२)

Sunday, July 10, 2011

निगाता, सादो र नागाओकामा रमाउदा

हाम्रो यसपटक सादोटापु घुम्नजाने योजना बन्यो । सप्ताहअन्तको बिदासंग शुक्रबार र सोमबार मिलाएर चारदिनको कार्यक्रम बनायौ । तदअनुसार अगस्त १० को बिहान आठ पचासको ओमिया बाट निगाताजाने सिनकानसेन ९बुलेट ट्ेन० मा रवाना भयौ । यात्राटोलीमा सहभागि थियो मेरो र सुर्य आचार्यजीको परिवार । म्याक्स आसाही नामको उक्त सिनकानसेनको भुइ तला छोडेर पहिलो तलामा आसन जमाएर हामी बाहिरको मजा लिन थाल्यौ । हरिया धान खेत र चिटिक्क परेका घरहरु भएका बस्तीहरुले हाम्रो स्वागत गर्न थाले । ओमिया देखि निगाताको तीन सय किलोमिटरको दुरी तयगर्न दुइ घण्टाको समय काफी छ भन्नेकुरा यथार्थमा परिणत हुदै थियो । मेरोलागि यो रेलयात्रा सतहमार्गबाट गरिएका यात्राहरुमध्येको सबैभन्दा गतिमान थियो । हामी दुइ दम्पतीहरु आप्नै धुनमा थियौ भने हाम्रा चारजना नानीहरु पनि आप्नै धुनमा रमाएका थिए । हामी चढेको सवारी साधन भने घरी घुम्तीहरु छल्न पहाड छेडेर बनाइएका सुरुङमार्ग र घरी पहाडहरु बीचको समथर भूभाग हुदै द्रुत गतिमा अगाडि बढिरहेको थियो ।

निगाता शहर टोकियोको उत्तर पश्चिममा अबस्थित निगाता प्रिफेक्चरको सदरमुकाम हो । पांच लाख आबादी समेटेर बसेको निगाता जापानसागरको किनारमा अबस्थित जापानका शहरहरुमध्ये सबैभन्दा ठुलो शहर हो । शहरिकरणको सय बर्षको ईतिहास बोकेर बसेको यो शहरले जापानको महत्वपूर्ण अन्तराष्ट्यि बन्दरगाहको दर्जा पनि पाएको रहेछ । हामी दश चालिस बजे निगाताको जापान रेलवेको स्टेशनमा ओर्लिएर नानीहरुको सिनकानसेनको अघिल्तिर उभिएर फोटो खिच्ने रहर पूरा गर्न थाल्यौ । फोटोसत्र पछि निकासद्वार खोज्दै थियौ । कसैले हामीलाईनै लक्षित गरेर हात हल्लाएको देखियो । हाम्रो अनुमान सहि ठहरियो उनी हामीलाई लिन आएका पारसभाइनै रहेछन् । एकैछिन पछि बिनोदजी पनि आइपुग्नु भयो । हाम्रो योजना अनुसारको पहिलो गन्तब्य राष्ट्यि बिज्ञान संग्रालय पुग्दा मध्यान्ह भईसकेको थियो । संग्रालयका मुख्य आकर्षणहरु दुइ शीर्षकमा केन्द्रित थिए, आधुनिक मानव जीवनमा र प्रकृतिमा बिज्ञानको प्रयोग ।

संग्रालय भ्रमण पश्चात हामी बिनोदजीको निवासतिर लाग्यौ । मनिषा भाउजूको बिहानदेखिको पर्खाईलाई हामीले अपरान्हको चार बजे मात्र अन्त्य गर्न सक्षम भयौ । निगातामा अध्ययनरत अन्य नेपाली साथीहरु ज्ञानुजी, अमृतजी, कौशलजी र पंकजजीसंग रमाईलो गफगाफ गरियो । बेलुकी सबैजना भएर इगाराशी नाम गरेको समुद्रीकिनारको पैदल यात्रामा निस्कियौ । दिन र रातको साझा समयको त्यो प्रहरमा समुद्रको अथाह पानीसंग घण्टौसम्म लुकामारी खेलेर आएको शीतल पवनको स्पर्शले हामीलाई आनन्दको चरम सीमामा पु¥यायो । बालुवामा प्रत्येक पाइलाका डोबहरु छोड्दै अगाडि बढ्न थाल्यौ । नानीहरु त झन असाध्यै रमाए । हामीहरु एक किलोमिटर जति हिडेपछि कन्सर्ट भइरहेको ठांउ नजिक समुद्रकिनारका सिढीहरुमा बसेर भलाकुसारी गर्न थाल्यौ । केटाकेटीहरु न हुन, पारसभाइ र अमृतजीको उनीहरुसंग रमाउने बानी छ भन्ने कुरा तुरुन्तै पत्ता लगाए । लौ वहाहरुले त हातमा समातेर फनन घुमाइदिनु भयो, नानीहरु दंग परे । रात अलिक छिप्पिन थालेपछि हामी बिनोदजीको निवासतिर फर्किनको लागि बालुवामाथी इंटा राखेर बनाइएको बाटो हिडन थाल्यौ । बाटामा पर्यटकहरुलाइ सूचना दिनको लागि भूइमा राखिएको धातु को पातामा कुदिएका अक्षरहरुले निगाता सोल, पेगंयोगं र भ्लाडिभोसटक संग भौगोलिक सामिप्यता राख्दछ भन्ने कुरा दर्शाए । कुन ठांउमा कस्तोे सुबिधा आवश्यक छ भन्ने बुझेर उपलब्ध प्रबिधिको समुचित प्रयोग गरी भौतिक संरचनाको निमार्ण गर्नु नै बिकसित हुनुको परिचायक हो भन्ने कुरा आधुनिक जापानलाइ हेरेर सजिलै अनुभव गर्न सकिन्छ ।

हाम्रो यात्राको दोस्रो दिन बिहान मेरो छ बजे तिर निदा खल्यो । मेरो छोरा सिरिन पनि उठिसकेको थियो । मैले उसलाइ लिएर घुम्न निस्के । हामी समुद्रकिनारतर्फ लाग्यौ । बिहानको चिसो चिसो हावाले हामीलाई स्वागत ग¥यो । बिनोदजीको निवास नजिकैको मन्दिर जस्तो धार्मिक स्थल, स्राइन, मा एउटा जापानीे प्रार्थना गर्दैगरेको भेटियो । हामी पनि स्राइनमा पस्यौ । स्राइन र मन्दिरको मुख्य फरक पूजा र आराधना गर्ने देउताको मूर्ति हुनु र नहुनुमा निर्भर गर्छ । नेपालको बिशेषता बस्तीपिच्छे मन्दिर हुनु भए जस्तै जापानको बिशेषता बस्तीपिच्छे स्राइन हुनु हो । आफू संग भएका ससाना सम्पदालाई पनि ठूलो महत्व दिएर लोकप्रिय बनाउन सकिन्छ भन्नेकुरा जापानबाट सिक्नुुपर्ने बिषयहरुको सूचिमा पर्ने प्रमुख बुंदा हो ।

समुद्रकिनारपुग्नु अघिको एक अर्को दृष्य मेरो मानसपटलमा अझै ताजा छ । हामीले हिजो देखेका कन्सर्टकोलागि बाटाका छेउमा राखिएका बिजुलीबत्तीका खम्बाहरुलाई केहि ज्यामीहरु क्रेनले उचालेर ट्रकमा राख्दै थिए । केहि फोहोर टिप्न ब्यस्त देखिए । जापानीहरु बासी काम पस्कदैनन् भन्ने कुराको अर्को उदाहरण मैले देखें । हामी समुद्रकिनारको बालुवामा केहि क्षण हिड्यौ । एक अधबैसे माछा मारीरहेको भेटियो । सिरिनले उसलाई सोध्यो साकनानो एसा वा दोरे देसका माछाको चारो कुनचहि होला  उसले देखाएर भन्यो कोनो चिसाइ चिसाइ यात्सु देस यो सानो सानो टुका हो । हाम्रो बिहानको हिडाइ आनन्ददायी रह्यो । हामी कुरा गर्दै क्षितिजमा रहेका समुद्र, पहाड, र निगाता शहरका आंखाले भ्याउने सम्मका भूभागहरु हेर्दै रमायौ । हामी कोठामा फर्कदा सबैजना उठिसक्नुभएको रहेछ । बिनोदजीको हातबाट निर्मित स्वादिष्ट ब्रेकफास्ट सेवनगरी हामी सबजना भएर समुद्रमा खेल्न निस्क्यौ । समुद्रका छालहरुसंग दुई घण्टा रमाएर हामीले एघार बजे समुद्र छोड्यौ, अनि लाग्यौ बस चढेर निगाताको डाउनटाउनतिर । हाम्रो साथमा हुनुहुन्थ्यो, ज्ञानुजी, अमृतजी, कौशलजी र पारसभाइ । पारसभाइलाई त हामीले हाम्रो निगाता भ्रमणको पथप्रर्दशक भएबापत टोलीनेताको दर्जानै दियौ । डाउनटाउनको पूजा साउथ इन्डियन रेष्टुरेण्टमा भयो हाम्रो बिहानको खाना । खानापछिको हाम्रो गन्तब्य थियो, डाउनटाउनको मुख्य आकर्षण नेक्स्ट २१ अर्थात सम्पूर्ण निगाताको दृष्य हेर्न मिल्ने अठार तले टावर । सिनानो नदी, २००२ को फिफा वल्र्डकप रंगशाला, सिनकानसेनको लाइन, बन्दरगाह, समुद्र र सम्पूर्ण शहरलाईनै हामीले भरपूर मजा लिएर क्यामेरामा कैद ग¥यौ । त्यसपछि हामी ट्याक्सी चढेर लाग्यौ, बन्दरगाहतिर । हामीले तीन बजेर चालिस मिनेटमा रवाना हुने फेरीबोटको टिकट लियौ । आधिकारिक रुपले फेरीबोट भनिएता पनि त्यो बाहन हाम्रो लागि बिशाल जहाजनै थियो । सयवटा भन्दापनि बढि गाडीहरु राख्न मिल्ने, चार तला भएको र भित्रै खाने, बस्ने, पल्टने र खेल्ने सुबिधा उपलब्ध उक्त भीमकाय सवारी साधनको तेस्रो तलाको एउटा गोलमेचमा हामीले आसन जमायौ । उक्त समुद्रीयात्राको गन्तब्य थियो, सादो टापू ।

जापानको प्रमुख भूभाग बाट ३५ किलोमिटर टाढा जापानसागरमा अबस्थित सादो टापू क्षेत्रफलको हिसाबमा काठमाण्डौ उपत्यका भन्दा झण्डै दुई गुणा ठूलो छ । सुनखानी र कालापानीको ऐतिहासिक महत्व राख्ने सादो जापानकै प्रमुख टापूहरुको अग्रपङ्तीमा आंउछ । निगाताबाट सादो पुग्न फेरीबोटमा दुई घण्टाको यात्रा गर्नु पर्छ । शीखर नै शीखर भएको मुलुकमा हुर्किएका हामीले सागरमा हिडिरहेको त्यो फेरीबोटमा नौला र मन रमाउने थुप्रै अनुभवहरु संगाल्ने मौका पायौ । निलो पानीमाथी फेरीबोटले बनाएका सेता छालहरुको डोबको सजिवता निर्जिवतामा परिणत भएका र निमेषभरमानै एकैक्षण अघिसम्म संगैभएका घरहरु टाढिएका र क्षितिजमा देखिएका पहाडहरु नजिकिएका दृष्यहरुले हामीलाई मन्त्रमुग्ध बनाए । सबभन्दा रोचक त उडिरहेका समुद्री चरा अर्थात सिगलहरुलाई आहारा ख्वाउनु थियो । फेरीबोटकै गतिमा उडिरहेका सिगलहरु हाम्रो हातको खानाको टुक्रा झम्टेर खोसेर लैजान्थे । दुई घण्टा समय चालै नपाइ बित्यो । सांझको छ बजे रेत्स्यु शहरको बन्दरगाहमा प्लेकार्ड बोकेर हाम्रो स्वागतार्थ उभिएकी होटलकी सन्चालिका बज्यैलाई भेटे पश्चात उनकै गाडीमा बसेर हामी होटल पुग्यौ ।

हाम्रो यात्राको तेस्रो दिन बिहान मलाइ सात बजे अगावै निद्राले छोड्यो । मलाइ केहि लेख्ने बिचार आएकोले झ्यालबाट बाहिर हेर्दै लेख्न बसें । हामी पाचौ तलामा थियौ । झ्यालबाट बाहिर हेर्दा आनन्दको अनुभव भईरहेको थियो । समुद्रसंग जोडिएको ताल, सानो शहर, पहाड, जङ्गल र धान रोपिएका केहि फांटहरु समग्रमा भन्नुपर्दा त्यस दृष्यका अवयवहरु यिनै थिए । एउटै नजरमा सागर र शीखर लाई समेट्न पाउने यस्तो अवसर बिरलै पाइन्छ । तालमा सानो चलिरहेको डुंगा देखिन्छ । डुंगामा पहेला लुगामा सजिएका दशजना जति मान्छे देखिन्छन् । उनीहरु केहि क्षण एक ठांउमा रोकिन्छन्, अनि फेरि अघि बढ्छन् । बिहान सबेरै उनीहरुको लक्ष माछा मार्नु हुन सक्छ, म अनुमान गर्छु ।

म फेरि बाहिर हेर्छु । टापुको एक भाग तालको पानीसंगै नदी र बगर जस्तै भएर मेरा दृष्टीले भ्याउन सक्ने दुरीसम्म फैलिएको छ । जमिनको भागमा धान खेत र जंगल देखिन्छ । लौ त्यंहा त बाटो पनि रहेछ । एउटा बाहन हिडिरहेको देखियो । धान खेतको माझमा एउटा हावा द्वारा चल्ने मिल पनि देखियो । म मेरा दृष्टीको उचाई बढाउछु । डांडालाई बादलले ढाकेको छ । हिजो सादो आंउदा फेरीबोटबाट देखिएको पहाडको शीर छोपिएको छ । हिजो त्यंहा एउटा घर जस्तो संरचना देखिएको थियो । पुरै डांडालाइ जंगलले ढाकेको छ । घरहरु डांडाको पुछारमा तालसंग जोडिएको अलि अलि भिरालो परेको भूभागमा बनाइएका छन् । लाग्छ, जापानीहरुले यो ठांउको सुन्दरता पस्किन भरमग्दुर प्रयास गरेका छन् ।

झ्यालबाट देखिएको तालको पानी हामी बसेको होटलसम्म फैलिएको छ । वास्तवमा भन्नुपर्दा यो होटल पानीमाथीनै निर्माण गरिएको छ । पानीमा ससाना तरङ्गहरु देखिन्छन् । हिजो हामीलाई पराजित गर्ने निगाताका छालको तुलनामा यिनीहरुको कुनै ज्यान छैन् भने पनि हुन्छ । तर गहिरिएर बिचार गर्दा उनीहरुको आफ्नै अस्तित्व भेटिन्छ । उनीहरु पानीमा देखिएका अग्ला घरहरुका छायांलाई बन्न नदिने सामथ्र्य राख्छन् । अग्ला घरहरुको छायां स्पष्ट देखिदैन । खालि भूईचालोले हल्लिएको घर जस्तो मात्र देखिन्छ । घरको छायांलाई भूकम्पित गराउने काममा तरङ्गहरु सफल देखिन्छन् । म पुनः मेरो दृष्टीको उचाई बढाउछु । बादलको छोप्ने क्रम र डांडाको ढाकिने क्रम क्रमशः बढ्दो छ । बादल तल झर्दैछ, शायद ऊ अहिले मलाई शीखरको मजा लिन नदिने मुडमा छ । म बादललाई भन्छु एकैछिन छोपेर केहि बिग्रदैन्, तर कृपया पानीचै नपार, पानीले हाम्रो घुम्ने योजना बिथोलदिन सक्छ । 

हामीलाई दिउसो तिन बजेको फेरीबोटबाट निगाता फर्कनु थियो, यसैले रेत्स्यु शहरकै समुद्रकिनार घुम्ने निधो ग¥यौ । होटलकी सन्चालिका बज्यैले उनकै सवारी साधनमा होटलबाट पन्ध्र मिनटजतिको दुरीमा रहेको समुद्रकिनारमा छोडिदिईन् । हामी सबैभन्दा पहिला पेटपूजा गर्ने चाहना राखी नजिकै कुनै पसल भेटिने आशामा केही मिटर के हिडेका थियौ, लह लह परेको धान खेत र खेतपारी रमाईलो गांउपो देखा प¥यो । धान खेतको बीचतिर पुग्दा नपुग्दै हाम्रा क्यामेराहरु झोलाबाट निस्किसकेका थिए । बिभिन्न कोणबाट मन अघाउन्जेल तस्बीर र फिल्म खिचेर हामी गांउतिर लाग्यौ । गांउ बैभवशाली थियो । पीच बाटो, चिटिक्क परेका घरहरु, बिजुली र टेलिफोनका लाईन र घरैपिच्छे कारको तांतीको दृष्य देखियो । ल एक जना बृद्धा आफ्नो सामान राख्न पनि मिल्ने र भरोसा पनि दिने दुई पाङ्ग्रे बैशाखी समातेर हिडिरहेको देखियो । बुढेसकाल सम्मपनि आफ्नो काम आफै गरी गर्ब गर्ने जापानी संस्कारको प्रशंशा गर्नै पर्छ । बैभवशाली मुलुक बन्नकोलागि आवश्यक कारक तत्व श्रमको सम्माननै हो भन्ने बिषयमा दुइ मत नहोला ।

टाढाबाट हेर्दा जंगलजस्तो देखिने तर नजिक पुगेपछी पातला रुखहरुको बीचमा घर, करेशाबारी र खेतको मिश्रित रुप देख्दा हामीलाई नेपालकै कुनै गांउ घुमे जस्तै आनन्द आयो । हामीलाई नेपालकै जस्तो कुकुरहरुले पनि स्वागत गरे । केहीक्षणको पैदल यात्रा पछि एउटा स्राइन भेटियो । बाटो छोडेर केही सिढी चढेपछि स्राइनको द्वारमा पुगियो । स्राइन सुनसान भए पनि अतिनै सफा थियो । कुनै पनि दर्शनिय स्थल सफा या फोहोर हुनुमा दर्शनार्थीहरुकै मानसिकता र योगदानले प्रमुख भूमिका खेलेको हुन्छ । जापानीहरु सरसफाईको यस बिषयमा पनि बिश्वकै अग्रपङ्तीमा आउछन् ।

समुद्र किनारमा आईपुगेपछि हामी पुनः पसलको खोजीमा निस्कियौ । धेरै बेरको कसरत पछि कप नुडल्सको मात्र ब्यवस्था हुन सक्यो त्यो पनि पसल्नी दिदीले हामो मर्का बुझी उनको कारमा एक थर्मस तातो पानी हामी बसेको स्थान सम्म ल्याइदिएको सहयोगले । समय भएपछि होटेलकी सन्चालिका बज्यैले हामीलाई लिएर होटेल हुदै बन्दरगाहमा छोडीदिएर उनले पु¥याउने सेवामा कुनै कमीभएको महशुस हुनदिईनन् । अघिल्लो दिनको जस्तै फेरीबोटको भरपुर आनन्दमा डुब्दै साढे पांच बजे निगाता बन्दरगाहमा पुगियो ।

निगाता बाट लोकल रेलमा नागाओका पुग्यौ । स्टेशनमा सुनिलजी हामीलाई लिन आउनुभएको रहेछ । नागाओकामा अध्ययनार्थ आउनुभएको अर्को मित्र मदनजी र सुनिलजीको परिवारसंग रातीसम्म रमाईला बार्तालाप गरियो । पूनम भाउजूले जापानीहरुसंग ओशोबाना नाम गरेको फूललाई सुकाएर फ्रेममा सजाउने सा¥है राम्रो कला सिक्नु भएको रहेछ । हामीले त्यसको मुक्त कण्ठले प्रशंसा ग¥यौ । मैले भाउजू द्वारा निर्मित ओशोबानाका फ्रेमहरु हेरेर सोचें, नेपालीहरुसंग राम्रो अवसर पाएमा जुनसुकै बिषयमा पनि निपुण हुने अन्तरनिहित क्षमता हुन्छ ।

यात्राको चौथो तथा अन्तिम दिनको बिहानको कार्यक्रमकोलागि हाम्रो यात्रा टोली दुई समूहमा बिभाजित भयो । नानीहरुलाई लिएर भाउजूहरु पार्कतिर लाग्नु भयो । सूर्यजी र म सुनिलजी र मदनजीसंग लाग्यौ बहाहरुको अध्ययन संस्था नागाओका प्रबिधि बिश्वबिद्यालय तर्फ । बिश्वबिद्यालयमा भएको ठांउको भू(धरातल हेर्दा हामी कतै त्रिभुवन बिश्वबिद्यालय किर्तिपुरमा त आईपुगेनौ जस्तो लाग्यो । त्यंहाको भवन, छात्रबास र प्रयोगशालाहरु र समग्र प्राज्ञिक वातावरण उत्कृष्ट लाग्यो । हामी पार्कमा आईपुग्दा थाहा भयो अर्को टोली केहिक्षण अघि मात्र त्यंहा पुगेको रहेछ । समय अभावका कारण सबैजना भएर पार्कमा घुम्ने योजनालाई अधुरै राखेर नागाओकाका बन्धुहरुसंग बिदाईका हातहरु हल्लायांै ।

नागाओकाबाट चढेको लोकल रेललाई हामीले ईचिगो युजावामा छोड्यौं । त्यसपछिको रेललाइ पुनः मिनाकामीमा परिवर्तन ग¥यौ । नागाओकादेखि मिनाकामीसम्मको यात्रामा देखिएका स्की रिसोर्टहरुले भनिरहेका थिए, अब केहि महिनापछि हामी पूर्णरुपले हिउले पुरिने छौ । नेपालका उच्च पहाडी लेकहरुमा पाइने नागीहरु जस्तै देखिने यी स्की रिसोर्टहरुले हरेक बर्ष कैयौ स्कीप्रेमीहरुलाइ सेवा पु¥याउछन् । रेल सुरुङमार्ग, पहाडको फेदी, नदीको किनार र ससाना फांटहरु हुदै ओमियातिर बढिरहेको थियो । बाहिरको दृष्यमा धानका खेतहरु, बांसका झ्यांगहरु, तरकारी बेर्नाका ब्याडलाई प्लास्टिकले छोपेका संरचनाहरु समेटिएका थिए । तरकारी खेति अतिनै मिहिनेतका साथ गरिएको देखिन्छ । बस्तीहरु नदीका दुई किनारामा छन् । हामी घरी वारी घरी पारी गर्दै अगाडि बढ्छौ । मानौ म पृथ्वी राजमार्गबाट मुग्लीन गईरहेको छु । यी पहाडहरु, घुम्तीहरु, नदीहरु हेर्दा लाग्छ हाम्रो काठमाण्डौ पनि रेलमार्गबाट सहजै जोडिन सक्छ, बुलेट ट्ेन सुर्खेत र पोखरा पनि पुग्न सक्छ । पहाडहरु, चट्टानहरु, घुम्तीहरु र नदीहरु बाधक होईनन् बाधक त खालि सोच र सम्मति नहुनु मात्र हो । जापानीहरुले हरेक टुक्रा जमिनको सदुपयोग गरेका छन् । बैज्ञानिक तरिका अपनाएर कुन जमिनको कस्तो प्रयोगले बढि फाईदा हुन्छ भन्ने कुरामा सचेत छन् । यसैले त डाडामा र भिराला पाखाहरुमा खालि जंगलमात्र छ । बिजुलीका तार, रेलमार्ग र सडक, र खानेपानीका पाईपहरुबाट जेलिएका बस्तीहरु केवल समथर भागमा मात्र छन । अबिछिन्न रुपले समानान्तर निर्माण गरिएका रिटेनिग वाल र भलपानी तर्काउने निकास संरचनाहरुले रेलमार्ग र सडकलाई गतिलो सुरक्षा कवच प्रदान गरेका छन् । बिस्तारै पहाडका आकृतिहरु पूर्णतया समथर भूभागले बिस्थापित हुदै जान्छन् । अब ससाना कारखानाहरु पनि देखिन थाल्छन् । हामी चारदिनको रमाईलो यात्राको अन्त्यमा आइसकेका थियौ । निगाता, सादो र नागाओका मनमोहक दृष्यहरुल।ई मानसपटलमा कैदी बनाएर ओमियाबाट हामी बसेको शहर मिसातो तर्फ प्रस्थान ग¥यौ ।

टोकियो, जापान अगस्त, २००१
साभार ( नेसाज (नेपाली बिद्धार्थी समाज, जापान) को मुखपत्र

Sunday, July 3, 2011

हिमालयको कुवेतमा

पुस मसान्त शुक्रवार थियो । मकर संक्रान्तिको पूर्वसन्ध्या, म होटल सोल्टी परिसरमा अन्तर्राष्ट्रिय सम्मेलनको प्राविधिक सत्र सकेर प्राध्यापक एडवार्ड स्टेनटिफोर्डसंग चियापानका लागि होटल लबीवाट बगैंचातर्फ लम्कदै थिएँ । ढोका खोलेर वाहिर के निस्केका थियौ, प्राध्यापकको उत्तेजित उदगार "ह्वाट अ लभ्ली सनसाईन” झ्वाट्ट सुनेँ ।

दुई वर्ष अघि तुलसीपुरमा पञ्चायतकालीन माननीयसंग भेट भएको थियो । अनौठो संयोग थियो त्यो । म दाङ उपत्यकामा माघीको मजामा थिएँ । पूर्व नेताजीले मेरो मानसपटलले कहिले नठम्याएको शब्द अर्थ्याए - "संक्रान्तिको भनेको सहज परिवर्तन' । ज्योतिषविद्हरु वा राजनेताले यसको सही अर्थ लगाउलान् तर मैले यही सिद्धान्तको सहारा लिदै मेरा अंग्रेज गुरुलाई भने "लडन र टोकियोका आ-आफ्नै विशेषता होलान् तर नेपालको राजधानीमा सम्मेलन गर्नुको आनन्द यही हो, हामीले मकर संक्रान्तिमा पनि सूर्यको प्रकाशको मजा लिन पाएका छौ ।”

स्टेनटिफोर्डको यो दोस्रो नेपाल भ्रमण हो । एक वर्ष अघि एक कार्यशालामा भाग लिन काठमाण्डौ आएका फोहोर मैला व्यवस्थापनका यी अध्येताले पटक पटक पुनरावलोकन गरीएका सामाग्री प्रकाशन गरेका रहेछन । त्यो थाहा पाउँदा मैले जिब्रो टोकेको थिएँ । यसैले अति सतर्क हुदै कुरा गर्दै थिएँ । आफूले जाने भन्दा कैयौ गुना बढाएर बोल्ने लालबुझक्कढी नेपाली बानीले मलाई भड्खालामा पार्ला की भन्ने ठूलो चिन्ता हुन्छ यस्तो वेला । तर गुरुले यसलाई अत्यन्तै सकारात्मक पारामा लिँदै भने "दिस इज एनोदर एसेट टु द कुवेत अफ हिमालया ।"

हुन त आफनो आङमा गुजराँती भैँसी पालेर अर्काको आङमा लिखा देख्ने आडम्वरी वर्गमा पर्ने नेपाली मात्रको समस्या हो यो । वेलायती होस् या जापानी, अरुको वोलीमा असल के छ, त्यो तुरुन्तै खोजी त्यस माथि सकारात्मक परिणाम दिने भर्याङ लगाउन सिपालु हुन्छन् । यो हिमालयको कुवेत भन्ने शब्दजोडी ले मलाई चकित पार्यो । एक दशक अघि म बैककमा पढदा पनि अर्का डच गुरुले भन्ने गरेको यो नेपालको हालसम्म नभएको विशेषण किन वेलायती गुरु समेतले दोहोरयाए । म घोरिएँ ।
----
माघे सक्रान्ती, शनिवार पनि । नानीहरुलाई लिएर मनोहरा किनार, गोठाटारतिर घुम्न निस्के । कोटेश्वरवाट काँडाघारी जाने टेम्पोमा पस्यौँ । म छोरी काखमा लिएर देब्रेतिरको दोस्रो सिटमा बसें । पहिलोमा एकजना मेरै उमेरका मित्र थिए । उनि अलिक सरेका भए हामीलाई सजिलो हुन्थयो । सरेनन् । हामी अरुको भलो चिताउनमा कमजोर छौ । केही विसौनी पर मेरो देब्रेतिरको सिट खाली भयो हामी सरयौ । मेरा छिमेकी मित्रले नयाँ चढ्ने यात्रुलाई हामी बिचमा सिर्जना भएको खालि ठांउतिर संकेत गरें ।
मैले मुख फोरेँ "तपाइ यता सरे उहाँलाई सहज हुन्थ्यो ।“
उनले माने ।

पिच बाटो सकिए पछि एक्कासी टेम्पोमा धुलो पस्न शुरु भयो । छिमेकी मित्रको उत्तेजित उदगार "कस्तो छारो आयो“सुनियो । नेपाली भएर नेपालमा यात्रा गर्नुको मजा यै छ । हामी यात्रु होस् या ग्राहक, एक आपसमा सहज कुराकानी गर्छौ, आफुलाई लागेको कुरा निर्धक्क बोल्छौ । छारोले मलाइ रोमान्चित गरायो। मेरा यात्रु छिमेकीले छारो र धुलो एकै हो भनेर अर्थ्याए । उनि ओखलढुंगावाट आएका रहेछन् । हामीले "छारो“ बाट सुरु भएको वार्तालाप निरन्तर राख्यौ र बाटो काटेको पत्तै भएन् । अन्तिम विसौनीमा हामी ओर्लियौ । उनले भने "नया वानेश्वर यही हो ?“ सबै यात्रु हासेँ । खलासी पनि मजाले हाँस्यो । उसलाई ओखलढुंगावाट आएका ती नयाँ मान्छे नयाँ वानेश्वरमा ओर्लने भन्ने थाहा रहेछ तर शनिवार मान्छे नपाइने पिरले ६ रुपैयाँको कमाइ निश्चन्त गर्न चुप लागेको अनुमान मैलें सहजै गरें । अरुलाई भडखालामा पारेर आफ्नो स्वार्थ सिद्ध गर्ने प्रवृतीको अर्को एक उदाहरण पस्किए ती खलासीले ।
----

अपरान्ह साढेचार बजे मलाई पुन: सोल्टी पुग्नु थियो । कोटेश्वरमा सवा चार बजिसकेको थियो । म पार्क गरिएका दुईवटा ट्याक्सी मध्ये पछाडीको जानीजानी छोडेर अलिक भलादमी जस्तो देखिएको चालक भएको अगाडिको टयाक्सीमा बसेँ र रमाइलो गर्दै भने "मलाई तेह मिनटमा सोल्टी होटेल पुरयाउनुस“। चालक मुस्काए । सोल्टीबाट स्टेनटिफोर्डलाई लिएर मलाई मान भवनको होटल क्लारिओन पुग्नु थियो । कालीमाटी पुग्दा मलाई टयाक्सीको मिटर सही भएको पक्का भयो । मैले टयाक्सी चालकलाई हौसला बढोस भन्ने चाहनाले वार्तालाप सुरु गर्दै भने तपाईको मिटर एकदम सही लाग्यो, इमान्दारीताको कदर गर्नु पर्छ भन्छन्, मैले तपाइकै टयाक्सीमा मान भवन जाने विचार गरें, एक छिन पर्खन सक्नु हुन्छ ? “

सोल्टी परिसरको मुल गेटमा म चार बजेर उननतिस मिनटमा पुगें । मेरा बेलायती गुरु सूर्यास्तको मजा लिदै मलाइ गेटमा नै पर्खिरहेका । टयाक्सीमा सरासर हामी क्लारिओन पुग्यौं । सूर्यमान शाक्य सरले हाम्रो स्थान अग्रिम बुकिङ गरेका रहेछन । विशालनाथ उप्रेति सर सहित हामी चार जना गफमा जम्यौ । मलाई यो नेपालको मध्य पूर्बी विश्वको बिशेषणबारे बेलायती गुरुको दृष्टिकोण थाहा पाउने व्याकुलताले पिरोलेको थियो । म मनलाई धैर्य रहन आग्रह गर्दै मौकाको ताकमा थिए । हाम्रो सोल्टीको सम्मेलन विकसित मुलुकमा फोहोर मैला व्यवस्थापन शीर्षकमा आयोजना गरिएको थियो । बेलायती गुरुले जैबिक फोहोमैलालाई मल बनाइ कसरी फाइदा लिन सकिन्छ भन्ने मूल प्रस्तुती गरेका थिए । यसबाट कियोटो सम्झौता बाट विकसित भएको 'क्लीन डेभलपमेण्ट मेकानिजम (सिडियम)' मार्फत नेपाल जस्ता मुलुकहरुले कसरी फाइदा लिन सक्छन् भन्ने अवधारणा थियो स्टेनटिफोर्ड को प्रस्तुतिमा । मौका पाउना साथ मैले हिमालयको कुवेतको सन्दर्भ निकाले ।

सम्भावित सयौँ जलविद्युत आयोजना सिडियम संयन्त्रमार्फत बाध्यात्मक विदेशी लगानीमा यहाँको जलश्रोत उपयोग गरी नेपाल हिमालयको कुवेत भएको हेर्ने चाहना रहेछ गुरुको । बेलायत या जापानका कार्बनडाइअक्साइड जस्ता प्रदुषण जन्य विकार अत्यधिक निकाल्ने उद्योगले कम विकसित मुलुकमा जलविद्युत् उत्पादन गर्ने, फोहोमैलाबाट मल बनाउने जस्ता वातावरण मैत्री आयोजनाहरुमा लगानी गर्नु पर्ने प्रावधान राखिएको छ, सिडियम संयन्त्रमा । नेपालमा यो अवधारणामा आधारित बायोग्यास सम्बन्धी दुइवटा परियोजनाले स्वीकृती पाइसकेका छन् । हामी गुरुको नेपाल कुवेत जस्तै कुबेर हुन सक्ने कुरामा मग्न थियौ, झयाप्प बत्ती निभ्यो । मेरो मनमा चिसो पस्यो यो लोडसेडिङको कारामत हो । कस्तो संयोग ।

मैले जीवन अनुभवमा सिकेको कुरा यो अझै नराम्रो हुन सक्थयो भन्ने सोचेमा वा नराम्रोमा पनि राम्रो खोजेमा जीवन सहज हुन्छ । मैले स्टेनटिफोर्डतिर फर्केर भने "मैनबत्तीमा हामी जम्न सक्छौ भनेर यो बिजुली गएको हो“। वहाँले यो विगतको कसैको खराब योगदानको परिणाम हो भन्नु भयो । हिटर बन्द भयो, हामी चिसो महशुस गर्न थाल्यौ । भान्साकोठामा दुषित हावा बाहिर फाल्ने पंखा बन्द भएछ, हामीलाइ पिरो खारले पनि स्वागत गरयो । तर हामीले गुरुको कुरा सुनीरहयौ ।

देश विकासको महान यज्ञमा राजनेता र नागरिकको काम असल योगदानलाइ सम्मान र कदर गर्दै खरावलाइ पन्छाउनु हो । जति चाढै असल योगदानको जगेर्ना हुन्छ त्यतिकै समयमा मुलुक पनि विकसित हुन्छ । मेरो दिमागमा अर्को नविर्सने कुरा पस्यो । मैले तुल्सीपुरका माननीयको सहज क्रान्तिको परिभाषा सम्झेँ । आज भोली छापामा पंचायतकालका योगदानको असल खराब पक्षको विश्लेषण भइरहेको सम्झे । विहानको काँडाघारी यात्रामा खलासीको योगदानको कुरा सम्झे । कोटेश्वरबाट सोल्टी जांदाको चालक मित्रको योगदानको कुरा संझे । बिजुलीको आगमन संगै हाम्रो बसाई पनि सकियो । मैले बेलायती गुरु संग हात मिलाउदै भने “आइ कनसिडर दिस टु वी दि वेष्ट सेसन अफ दि कनफरेन्स“ ।
(लेखक नेपाल विकास अनुसन्धान प्रतिष्ठान सँग आबद्ध छन्)
कान्तिपुर ४ माघ २०६२ (January 17, 2006)

Saturday, June 25, 2011

आरिगातो बाबा सान

एक नेपाली मित्र जापानको सरकारी कार्यालयमा काम गर्थे । उनलाई पटक-पटक कामको सिलसिलामा सरकारी कारमा टाढाका गाउँमा जानु पर्थ्यो । उनका एक जापानी सहकर्मी थिए । गाउँमा जाँदा-आउँदा काम नहुने भएकाले एकपटक उनले समय कटाउन अखवार किनेर कारमै पढ्न थाले । त्यस दिन उनले जापानी सहकर्मीको अनुहार अलि मलिन पाए । बाटोमा चमेना गृहमा समेत उनी पत्रिका वोकेरै गए र त्यहा पनि पढे । सहकर्मीको अनुहारमा गम्भिरता झन वढ्यो ।
जापानीहरु अरुलाई आफूजस्तै ठान्छन् र भरसक अरुको कारणले सिर्जित असामान्य परिस्थिति उसैवाट निराकरण होस भन्ने चाहान्छन् । सकेसम्म अरुको विरोध नगरी वा वादविवाद नगरी समस्याको समाधान चाहान्छन् । नेपाली मित्रको चालामाला उनलाई असह्य भयो । अन्तमा उनले मुख खोले । “मित्र म तपाईँको समय कटाउन पत्रिका पढाईको प्रशँसा गर्दछु । तर यो सरकारी कार हो । अहिले हामी सरकारी कामको सिलसिलामा छौ । तपाईँकै कारण आज जनसाधरणले हामी उपर फरक दृष्टिकोण राखे ।“ नेपाली मित्रले कुरा वुझेनन् । फेरी उनले भने- सरकार प्रति जनसाधरणको अथाह आस्था छ । सरकारले कमाएको पनि तपाईँ र मजस्तै कर्मचारीको इमान्दारी, अनुशासन, र कर्तव्यपरायणले गर्दा हो । कामको समयमा सरकारी साधनमा वसेर व्यक्तिगत काम गर्दा त्यो आस्था विथोलिन्छ ।‘
म त्यसताका टोकियो विश्वविद्यालयमा अनुसन्धानको सिलसिलामा एकजना जापानी प्राध्यापकसँग काम गर्थे । एक दिन उनी अखवार अघि राखेर गम्भिर मुद्रामा वसिरहेको पाएँ । त्यस दिन जापानी अखवारमा नेपालको समाचार छापिएको रहेछ । समाचारमा जापानले अनुदानस्वरुप दिएको सरकारी गाडि व्यक्तिगत काममा प्रयोग भएको उल्लेख रहेछ । प्राध्यापकले मसँग भने-“चिन्ता अनुदानको होईन, मूल प्रश्न एक जनाले त्यस्तो काम गरेवाट पर्ने दुरगामी प्रभावको हो । सानो गल्तिले त्यस्तै बैढँगका काम खप्टिदैँ पहाड वन्न सक्छ । र त्यसले समाजलाई अधोगतितिर लैजान्छ । “
उनको यस्तो टिप्पणीवारे म मौन थिँए । उतिवेला मैले प्राध्यापकले फेरि नेपाल वा मलाई सम्झँदा त्यो खबर सम्झिनेछन् भन्ने लख काटेको थिँए ।
सन्दर्भ हालैको जापानी स्वयँसेवक कियोसी बाबाको विदाई र केहीसमय अघिको सवारीसाधनको लाइसेन्स प्रकरणको हो । नँया वानेश्वर चौकमा उनले नियम मिच्ने वर्दिमा रहेका उच्चपदस्थ सरकारी कर्मचारीलाई रोक्न बजाएको सिट्ठी नेपालका कुना-कुनामा सुनिएको थियो, सन्चारमाध्यमको सहायताले । यस घटनामा सँलग्न सवारीसाधन, सरकारी कर्मचारी, सन्चारका साधन, नागरिक समाज र जापानी स्वयँसेवकको मार्गदर्शनसँग मेल खाने भएकाले मैले माथिका उदाहरण प्रस्तुत गरेको हुँ । हामी र जापानी नागरिकबीच मैले बुझेको विभेद सोचको हो । सरकारप्रति जनसाधारणको आस्था विथोलिने चिन्ता जापानीमा प्रवल छ । त्यही चिन्ताले उनीहरुको दिनचर्यालाई मार्गदर्शन दिएको छ र काम गर्ने उर्जा पनि प्रदान गरेको छ । यसले गर्दा सरकारप्रति उनीहरुको आत्मविश्वास वढी छ र आफूले गरेको काम प्रतिको सन्तुष्टि पनि उच्च छ । प्राध्यापकको निचोडमा नेपाली किन गरिब र पिछडिएका छन र समस्याको पहाड झेलीरहेका छन भन्ने प्रश्नको सपाट उत्तर पाईन्छ । सरकारी साधन, सार्वजनिक सुविधा, सामूहिक प्रतिफलका लागि आवश्यक व्यक्तिगत योगदानको मर्म नबुझ्नुको निचोडनै अढाई करोड नेपालीको विद्यमान गरिवी र पछौटेपन होभन्दा अत्युक्ति नहोला । सत्ता, सरकारी साधन, सार्वजनिक सम्पति भनेका भोग गर्ने चिज होईनन् । वीस वर्ष पछिको नेपालको स्वरुप निर्धारणमा एकजना सरकारी कर्मचारी वा नीति/निर्माताको आजको योगदानको अँश स्पष्ट हुन्छ । यस्तै वीस वर्षअघिको एक कर्मचारी वा नीति / निर्माताको योगदानको प्रतिफल नै नेपालको वर्तमानस्वरुप हो भन्नमा दुईमत नहोला ।
म जापानमा हुँदाको अर्को घटना । एउटा कम्पनीले वितरण गरेको दूध पिएर केही स्कूलका नानीहरु विरामी भए । पछि थाहा भयो दुधमा जीवाणु रहेछन् । उक्त कम्मनीले वजारमा रहेका आफ्ना सबै उत्पादा तुरुन्तै फिर्ता लियो । कारखान वन्द गरियो । केही समयपछि एक दिन टेलिभिजनमा कम्मनीक महाप्रबन्धकको वक्तव्य प्रसारण गरियो । उनले कम्पनीको दशकौँको ईतिहासमानै कठिन अवस्था सिर्जना भएको सुनाए । “अग्रजहरुको पसिनाले कमाईएको कम्पनी प्रतिको आस्था विटुलिएको छ । यस्तो घटना मेरो कार्यकालमा भएकोले म घटनाको जिम्मेवारी लिदै पदवाट राजीनामा दिन्छु । “
केही समयदेखि चर्चामा रहेका जापानी स्वयँसेवक कियोसी बाबाले देखाएको साहस, अनुशासन र जिम्मेवारी वोधको उदाहरण यसरी यी प्रसँग सँग गाँसिएका छन । नया वानेश्वर चोकमा उनले बजाएको सिट्टिको प्रतिध्वनी नेपालका कुना कुमा फैलिनु को कारण एक जनाले नियम मिच्दा वा एउटा नियम मिचिनाले भविष्यमा पालना गरिनु पर्ने नियम कानुनहरु पनि मिचिने सम्भावना वढेर जान सक्छ भन्ने यथार्थता नै हो । त्यस माथी सयौँ सवारीसाधन गुड्ने सडकमा त यो कुरा अति महत्वपूर्ण हुन्छ । चालक र यात्रुहरुको यात्रा सुरक्षित त्यसवेला मात्र हुन्छ जव हरेक सवारीले ट्राफिक नियमको पालना गर्छन् । छिमेकी सवारीसाधनको अप्ठ्यारोलाई ध्यानमा राख्नाले उसले पनि आफ्नो छिमेकीको अप्ठ्यारोलाई विचार गर्छ । यसैले सवैको गुड्ने वाटोमा व्यावधान खडा हुँदैन् । सडकमा गुडेका सवै सवारीको हैसियत एउटै हुन्छ चाहे त्यो टेम्पो होस या सरकारी कार । एउटाको लापरवाही वा नियम मिचाईले समस्याको पहाड वन्न सक्छ । उदाहरणको लागि घण्टौ सम्म ट्राफिक जाम हुन सक्छ ।
आजका कुनै पनि राजनैतिक, सामाजिक, शैक्षिक समस्याका पाहाडलाई केलाँउदै जाने हो भने केही दशक अगाडिदेखि कसैले यति सानो गल्ति वा नियम मिच्दा के फरक परीहाल्छ भनेर लिएका स-साना निर्णयले गर्दा नै यो विकराल रुप लिएको सहजै अनुमान लगाउन सकिन्छ । यसरी प्रत्येक कर्मचारी वा नागरिकले आफ्नो नियन्त्रणमा रहेका गतिविधिलाई नियमसँगत गर्ने हो भने विकसित नेपाल धेरै टाढा छैन भन्ने उदाहरण हाम्रा अतिथि कियोसी बाबाले पस्किए । बाबाको यस्तो कार्यको स्वाभिमानी नेपालीले अवश्यपनि सँझिरहने छन । बाबाको सिट्ठीमा त्यस्तै सिट्ठीहरु खप्टिँदै गएर ट्राफिक व्यवस्थापनको नियमसँगत पहाड वन्न सकोस् । हामी सबै मिलेर भनौ “आरिगातो बाबा सान अर्थात धन्यवाद बाबा” ।
कान्तिपुर सोमवार ०७ कात्तिक २०६२ (October 24, 2005)

Tuesday, June 7, 2011

यदि यस्तो हुने भए …………………………….

दिउँसो मध्यान्हको समय थियो । वागवजार श्रेष्ठ टेलरिङ्गको परिसरमा काम सकेर पुल्चोक आउने लागि ट्याक्सी चढ्नका लागि वागवजारलाई रत्नपार्क र पुतली सडक जोड्ने सडक तिर म लम्किए । सडकमा राखिएका दुईवटा ट्याक्सी मध्ये मैले अघिल्तिरको रोज्ने निर्णय हिँड्दा हिँड्दै गरेँ जवकि दुरीको हिसावले त्यो टाढा थियो । काठमाण्डौका सडकहरुमा लगभग एक दशक भयो मैले यी भाडाका सवारी साधनहरु चढ्ने गरेको । आज भोलि त जुन जँहा भेटिन्छ त्यही छनौट गर्दा पनि "मैले हजुरलाई केही समय अघि पनि सेवा प्रदान गरेको थिएँ" भन्ने चालकहरु वाक्लै भेटिन थालेका छन् । कुन सवारी साधनको छनौट गर्ने भन्ने मेरा केहि सूचकहरु छन् । कानमा मुन्द्रि लगाएको, लामो कपाल पालेको, अनुहारमा आक्रोसका चिन्हहरु वोकेको, मैलो र पेशा असुहाउँदो लुगा लगाएको हुलिया भएको चालक मेरो छनौटमा पर्दैन् । यसको विपरित प्रफुल्ल अनुहार भएको, टोपी लगाएको, पेशा र मौसम अनुकुल सफा लुगा लगाएको र व्यक्तित्वमा झट्ट हेर्दा कुनै खट्किने सँकेत नदेखिएको चालक मेरो प्राथमिकतामा पर्दछ । यस्तै अर्को सूचक आफ्नो दृष्टि पर्दा देखिने चालकको गतिविधि हो । कुनै कुनै गुरुजीहरु आफू वस्ने सिट पछाडि ढल्काएर गोडा स्टेरिँग माथी राखेर निधाई रहेका हुन्छन् त कुनै चुरोट तानी रहेका । यस्तो दृष्य पस्किरहेको सवारी साधन मेरो रोजाईमा पर्ने सवालनै भएन् । विसौनीमा पर्खिरहेको सवारी साधनको चालक आफ्नो वाहनको शीसा पुछिरहेको पाईएमा म त्यसलाई अव्वल दर्जामा राख्छु र मेरो गन्तव्यमा जाने विषयमा कुरा मिलेमा म अरु विकल्प रोज्दै रोज्दिन् । अनि वाटामा रमाईलो पनि पस्कन्छु ।
' ल भन्नुहोस त मैले तपाँईको सवारी नै किन रोजेँ ? '
सोच्दै नसोचेको यस्तो प्रश्नको जवाफ प्राय गुरुजीहरु सँग हुँदैन् । अनि म मेरो सहयात्रीको काम सजिलो पारिदिन्छु ।
' तपाईँ गाडीको शिसा पुछ्दै हुनुहुन्थ्यो नि त त्यही देखेर रोजेको । '
मेरो वार्तालापलाई थप जीवन दिँदै म अर्को प्रश्न तेर्स्याउँछु ।
' किन शीसा पुछ्दै गरेको दृष्यले गाडि चयन गर्ने निर्णय लिन सघाँउछ ? '
हामी छलफल गर्छौ र निचोड निकाल्छौ । "शिसा पुछ्ने चालक आफ्नो कमाई खाने भाँडोको माया गर्छ । उ मिहिनेती छ । परिश्रमको कमाईमा विश्वास गर्छ र समयको सदुपयोग गर्छ ।"
पुल्चोक पुगुन्जेल सम्म म चालक सँग गफ गर्दिन् । उसले ह्याट लगाएको थियो र नाक मुख मास्कले छोपेको थियो । उ आफ्नै सुरमा थियो म आफ्नै सुरमा ।
मास्कको सम्बन्धमा एउटा रमाईलो प्रसँग छ । केही महिना अघि म एउटा टयाक्सीमा जाँदै थिँए । जाममा मैले चढेको ट्याक्सीको चालकले छिमेकी ट्याक्सीको चालक सँग सोध्यो ।
"के छ हालखवर ? "
छिमेकी चालकले वोलेको राम्रो बुझिएन् । उसले मास्क लगाएको थियो ।
मैले चढेको ट्याक्सीको चालकले रमाईलो पारामा भन्यो ।
"तिम्रो कट्टु खोलेर कुरा गरन यार केही पनि वुझिएन् ? "
मलाई मनमनै हाँसो उठ्यो । मास्कलाई कट्टुको सँज्ञा दिईएको सुनेर । मैले वुझेको कट्टु भनेको घुँडा भन्दा माथी कम्मर भन्दा तल लगाईने वस्त्र हो । उहिले ईँजार भएका कट्टु हुन्थे । अहिले आफैँ कसिने हुन्छन् । उहिलेका यी वस्त्र लामा हुन्थे र सार्वजनिक स्थानमा पनि यिनको प्रदर्शन हुन्थ्यो । अहिले यि नानो नापोका हुन्छन् र भित्रीको काम मात्र गर्छन् । तिनलाई लामो नापका वाहिरी वस्त्रले छोपेका हुन्छन् । मास्क र कटटुको जेन्डर छुट्टिदैन् दौरा र चोलीको जस्तो । यो पुरुषलाई पनि चाहिन्छ । स्त्रीलाई पनि चाहिन्छ । एउटै नामले पुकारिन्छ । हाम्रै मुलुकमा केही समय अघि सम्म लगौँटी लगाउने चलन थियो । त्यसले भित्र के छोपेको छ भन्ने स्पष्ट थाहा हुन्थ्यो । अर्थात छोपिएको वस्तुको स्वरुप या आकारको वारेमा दर्शकलाई राम्रै जानकारी हुन्थ्यो । आज भोलि यो चलन मासिएको छ । जीउमा लपक्कै टाँसिएका वस्त्रका कारण या जानाजानी प्रदर्शन गरिएका पुरुषहरुका छाती या पाखुरा सम्मको जानकारी अझै पनि प्रशस्तै पाईन्छ तर लगौटीको जस्तो पुरुषको गोप्य अङ्गको आकारको वारेमा दर्शकलाई खासै जानकारी हुदैन् । स्त्रीहरुको सन्दर्भमा पुरानो चलन अनुसार गुन्यु चोलीमा पेटको तल्लो भाग र पिँडुला देखिन्थ्यो भने अहिले सँवेदनसिल अङ्गहरुका आकार अनुमान गर्न सकिने या केही प्रतिशत भू भाग नै स्पष्ट देखिएको जस्तो गरि वस्त्र लगाउने चलन आएको छ । आजभोलीका युवा युवतीहरु यो मामलामा निकै अघि छन् । पाईन्टको माथिल्लो एकल भागलाई अभिप्रायका साथ परम्परागत हिसाबमा भन्दा छोटो गरीने हुनाले अलिकति सकस पर्ना साथ जीउको पछाडिको पुछार भाग देखिन्छ । देख्ने मान्छेलाई लाज लाग्ने गरी । यसलाई विकासे पाईन्टको नाम दिन्छु म । यो लाज भन्ने कुरा पनि अनौठो प्रकृर्तिको हुन्छ । आफ्नो सार्वजनिक गर्न नहुने शरीरको भाग अरुले देखे भने अनि आफूलाई वढी लाज लाग्छ । तर समस्या कहाँ निर छ भने आजभोली देखाउनेले कस्ले हेरेको छ भनेर पर्वाह नगर्ने चलन आएको छ । जस्तै मोटरसाईकलमा सवार पछाडी वसेका विकासे पाईन्ट लगाएका युवतीहरु चालकसँग लपक्कै टाँसिएर आफ्नो शरीरलाई नागवेली आकारको वनाउँछन् अनि जीउको पुछारको भू भाग देखाउँदै हुँईकिन्छन् । छिमेकी सवारीसाधनमा वसेकाले त्यो दृष्य मजाले हेर्छन् । तर देखाउनेलाई लाज हुँदैन । हुन ता आजभोलि वस्त्र लगाउनुको परिभाषा पनि फेरिई सकेको छ । मैले मेरो कवितामा लेखेको छु ।
वैँककमा विकास छ. एआईटिमा वुद्दिको खानी छ
गर्खाकोटमा शुद्धता छ
छोट्टीहरुलाई एड्स लागेको छैन
उनिहरु गादो आङ् उघार्न होईन छोप्न लगाउँछन् ।
(छोट्टी – वयस्क युवती, गादो – पछ्यौरा जस्तो सामान पनि राख्न मिल्ने पहिरन)

पुल्चोकमा पुगे पछि म उसलाई गाडी रोक्न भन्छु र म सँग हजारको नोट मात्रै भएको यथार्थता पस्कन्छु । मेरो परिस्थितिले रोचक सँवाद सिर्जना गर्छ ।

" तपाँई सँग एक हजारको खुजुरा होला ?" उ मास्क खोल्छ अनि मेरो उत्तर फर्काउँछ ।

" छ सर ! म त यस्तै पर्ला भनेर खुद्रा वोकेर हिड्छु । "

" कस्तो राम्रो ! मैले आज पहिलो पटक यसरी पुर्व सावधानी अपनाउने चालक फेला पारेँ । कतिले त खुद्रा भए पनि नहेरीकन छैन् भन्छन् । कतिले खुद्रा भए पनि तपाईँ सँगै होला अलि राम्रो सँग हेर्नुहोस न पनि भन्छन् । एक चोटि त एक जनाले तन्किएर मेरो पर्समा नै नजर पुर्यायो । कतिपय गुरुजीहरु त खुद्रा नभएकै परिस्थितिको टुङ्गो लागेमा त्यो धेरै मुल्यको नोट साटेर दिने जिम्मा यात्रुकै हो भन्ने ठानेर गजक्क परेर वस्छन् । आफुलाई हतार हुन्छ अनि कतिपय अवस्थामा त कतै केही सामान किनेर समेत सवारीचालकलाई उम्काउने काम गरेको छु ।" मैले लामै गुनासो पोखेँ ।


" समय त हाम्रो पनि त वहुमुल्य हुन्छ नि सर । तपाईँलाई ओराल्ना साथ अर्को यात्रु भेटिन सक्छ । कति यात्रुले त साटेर आँउछु भनि आँउदै नआउने पनि हुन्छन् । अर्को कुरा सेवा मैले दिने हो नि तपाईँलाई । हजुरले भनेको जस्तो गर्दा त त यात्रुले चालकलाई सेवा दिएको भयो नि हैन र सर ।"

मेरो दश वर्षको ट्याक्सी यात्रामा यी चालकको चालाले चामलमा तिल भेटिए जस्तै अनुभूति भयो । मलाई लाग्यो यदि यस्तो हुने भए…………………. । यि तिलको सँख्या थप गर्न पाए यात्रु हरुलाई पनि सुविधा हुने थियो । गुरुजीहरुको पेशा पनि मौलाउने थियो ।

सँवादको अर्को अँश अझ रोचक छ । मैले यस्तो राम्रो सोच भएको पेशाधर्मीलाई केही नँया कुरा दिनै पर्यो भन्ने सोचेँ । जापानको उदाहरण दिएँ । जापानमा सामान किन्दा या पैसाको कारवार गर्दा वोलेर गर्ने चलन छ । मैले हाम्रो पैसा लेनदेनलाई नाटकिय रुप दिदै यसरी व्याख्या गरेँ ।

गुरुजी : सरको रु १५० भयो ।
यात्रु : ल लिनु होस यो रु १००० ।

गुरुजी त्यसलाई पाखैमा दुवैले देखिने गरी राख्छन् ।

गुरुजी : ल हजुरको यो रु ८५० लिनुहोस ।
यात्रु : धन्यवाद, मैले गने । ठीक छ ।

गुरुजी : फेरी पनि सेवा गर्ने मौका दिनुहोला सर ।

यात्रु ट्याक्सीवाट ओर्लिए पछि मात्र गुरुजी दिईएको नोट अरु पैसा सँग मिसाउँछन् ।
मैले यसरी व्याख्या गर्दा गुरुजी ध्यान दिएर सुनिरहेका थिए । मैले भने यसरी व्यावहार गर्दा समस्या सिर्जना हुदैन र दुवै पक्षको सहमति हुन्छ लेनदेनमा । मैले अरु गुरुजीहरुलाई पनि यो जापानमा मैले सिकेको ज्ञान वाँडेको छु । तर यी त उत्कृष्ट श्रोता भएर पो निस्के ।
उनले भने ।
" सर ! आज मलाई ठूलो ज्ञान दिनुभो । यसरी व्यावहार गर्दा चर्का चर्की पर्ने र लेनदेन विटुलो हुने सँभावना रहदैन् । म यसलाई मैले सेवा पुर्याएका वहुसँख्यक यात्रीहरुले दिएको सन्देसको रुपमा ग्रहण गर्छु । सँधै यसरीनै व्यवहार गर्ने प्रयत्न गर्छु । "
समाप्त
(तपाईँलाई यो लेख कस्तो लाग्यो पढेर प्रतिकृया लेख्न नविर्सनु होला । )

Monday, April 18, 2011

सदावहार गुरुलाई भेटी

केही समयअघि कोटेश्वर योग साधना केन्द्रमा केशव अधिकारीद्वारा निर्माण गरिएको एक सिडी फेला पारेँ। एक योग गुरूले त्यो सिडीको प्रतिलिपी वनाउन पाए हुने थियो भन्ने ईच्छा व्यक्त गर्नु भयो । मलाई पनि त्यो सिडीमा रहेको गुरुसँग सम्बन्धित एक भजन सारै कर्णप्रिय लागेको हुनाले भजनलाई आफ्नो कम्प्युटरमा सार्न पाए हुने थियो भन्ने लाग्यो । सिडीको प्रतिलिपी वनाउनु अघि मैले सोचेँ "सिडीको सिधै प्रतिलिपी वनाँउदा यस्तो राम्रो भजन गाउने स्रष्टा प्रति अन्याय हुन्छ ।" म हानिएर न्युरोडको सिडी पसलमा पुगेँ र त्यो सिडीको प्रति किन्ने ईच्छा व्यक्त गरेँ । दुर्भाग्यवश सिडी फेला परेन र पसलेले त्यो सिडी वजारमा नआएको जानकारी दिए । सिडीमा निर्माताको नाम भन्दा वाहेकको अरु जानकारी थिएन् । स्रष्टाको सिर्जनालाई मूल्य तिरेर सम्मान गर्ने मेरो सोचमा पूर्णविराम लाग्यो । भजनका प्रतिलिपीहरु वने ।

गुरुनै हुन ज्ञानदाता, गुरुनै मन्त्रद्रष्टा ।
गुरुनै हुन प्रेमसागर, गुरुनै हुन् मुक्तिदाता ।।

तमस चिर्दै शिष्यलाई गुरु दिन्छन् आलोक ।
गुरु मिले जीवन धन्य दिव्य हुन्छ त्रिलोक ।।


"गुरुनै हुन मन्त्रद्रष्टा" भन्ने वाक्याँश पटक पटक प्रतिध्वनित भईरह्यो र माथी उल्लेखित अन्तिम वाक्यको 'मिले" भन्ने शब्द त धेरै पटक भजन सुने पछी मात्र बुझेँ । सुनेको थिएँ "शिक्षकले शिक्षा दिन्छन् तर गुरुले शिक्षा र दिक्षा दुवै" । त्यतिले मात्र मन मानेन । एक दिन योग शिविरमा प्राणायाम गर्दा यो भजन वजिसके पछि मैले हात उठाएर योग सिकाईरहेका गुरुलाई सोधेँ ।

"गुरुदेव ! गुरु र शिक्षकमा के फरक छ ? "

केही वेर छलफल चल्यो । कसैले एउटै हो भने । कसैले गुरुको नेपाली रुप शिक्षक हो भने । तर एक जना साधकको उत्तर ले मेरो ध्यानाकर्षण गर्यो ।

" गुरु भनेको सर्जक हो । पँडित भनेको व्याख्याकार । शिक्षक भनेको सिकाउने व्यक्ति ।"


मैले यसरी वुझेँ । गुरुको मन्त्रमा सिर्जना यो अर्थमा हुन्छ कि त्यो जप्दै जाने हो भने त्यसले आजको "म" को सिर्जना हुन्छ अर्थात काँचो माटो वाट मट्याँग्रा बन्छ, ईँटा बन्छ, रीकापी वन्छ, कप बन्छ । मैनको थुप्रोवाट मैनवत्ती बन्छ, मान्छेको मुर्ति बन्छ । कुन्ति पुत्र द्रोणाचार्य गुरुको मन्त्र पाएर  अर्जुन वन्छ । गोरखनाथको मन्त्रमा पृथ्वी नारायणले नेपाल वनाउने उर्जा प्राप्त गर्छन् । गुरु षडाननका शिष्यहरु समाजका पथप्रदर्शक बन्छन् । आजका जति पनि अध्येताहरु छन्, तिनीहरु सबै गुरुका सिर्जना हुन् । अर्थात गुरुलाई कुन बिउ कुन माटोमा उम्रिन्छ भन्ने थाहा हुन्छ । कुन वृक्षमा कस्तो फल लाग्छ भन्ने पुर्वानुमान गर्ने अपूर्व क्षमता हुन्छ गुरुसँग । शिष्य भनेको एउटा उर्वरा भूमि हो । त्यँहा अर्जुन उम्रिन सक्छ की दुर्योधन ? गुरुलाई ज्ञान हुन्छ । शिष्य भनेको एउटा सेतो कागज हो । त्यँहा कुन मसिले के लेखिन सक्छ गुरुलाई थाहा हुन्छ । गुरुको आदेश वा उपदेश जोखिम रहीत हुन्छ । जव कसैले वास्तविक गुरुको सामिप्यता पाँउछ र उ गुरुलाई स्वीकार्छ, त्यो क्षण प्रस्थान विन्दु वन्छ निर्भयका साथ अघि वढ्नको लागि । गुरुको आलोकले सिन्चित भएको शिष्य विन्ध्याचल पर्वत उडाएर ल्याउन सक्छ । धर्तिमा हेरेर आकाशमा द्रुत गतिमा घुमिरहेको निशानालाई अचुक वनाउन सक्छ । गुरुको मार्गदर्शन भनेको गीता हो, नारायण गोपालको गीत हो, लेखनाथको तरुणतपसी हो जहाँ कुनै खोट हुँदैन, अपुर्णताको अँश पनि हुँदैन । गुरुको मन्त्रमा अथाह उर्जा हुन्छ । मार्ग हुन्छ र निश्चित गन्तव्य पनि हुन्छ । यसैले गुरु 'अहिलेको म' का सृजनाका श्रोत हुन । म यो तर्कसँग सहमत हुन्छु ।

आज भन्दा लगभग तीन दशक अघिको सन्दर्भ हो । म विज्ञान विषयमा प्रविणता प्रमाणपत्र तहको विद्यार्थी थिँए, धरान क्याम्पस हात्तिसारमा । मेरो एउटा विषय थियो "नेपाली" र मेरा शिक्षक थिए 'माधव पोखरेल' । त्यसवेलाको एउटा प्रसँग अझै पनि ताजा छ । नेपालीको पढाई भैरहेको छ । माधव सरले अनुच्छेदको साराँश लेख्न सिकाउँदै हुनुहुन्छ। अनुच्छेदको शिर्षक छ "पुस्तकालयको व्यवस्थापनका लागि डेवी डेसिमल पद्धति" । मैले त्यस कक्षामा साराँश लेख्ने तरिकाका अतिरिक्त पुस्तकालयमा पुस्तक कसरी खोज्ने भन्ने ज्ञान पनि पाँए । पछि म विरला प्राद्यौकिक सँस्थान भारतमा ईन्जिनियरिङ्ग पढ्दा पुस्तकालयमा पुस्तक खोज्दा डेवीको पद्धति प्रयोग गर्थेँ । जस अनुसार भौतिक शास्त्रको पुस्तक खोज्नु पर्यो भने ५३० सँख्या लेखिएको दराजमा जान्थे, पुस्तक ठ्यक्कै भेटिन्थ्यो र माधव सरलाई सम्झन्थे । यसरी माधव सरको कक्षा एउटा ढुँगाले दुईवटा चरा मार्ने रणनीतिले भरिएको हुन्थ्यो । विज्ञान विषय पढ्ने विद्यार्थीहरुको लागि सजिलो पार्ने उदेश्यले होला नेपाली साहित्येत्यर सामाग्रीको प्रयोग गरीएको । तर पाठ्यक्रममा भएका साहित्यका सामाग्रीहरु पनि उत्तिकै रोचक तरिकाले पस्कने अद्भभूत कला थियो माधवसर सँग । वसाईँ उपन्यास होस या पारिजातको "मैले नजन्माएको छोरो" होस । अहिलेसम्म पनि नविर्सिएका प्रसँगहरु छन् । नजन्मिएको छोरो भनेको ओथारो वसिएको टेवुलटेनिसको वल जस्तै हो भन्ने वहाँको कथनले अझै दिमागको कुनामा डेरा जमाएको छ । हामी नेपाली र नेपाल परिचय मात्र नेपालीमा अध्ययन गर्दथ्यौ, वाँकी सबै अँग्रेजीमा । अरु विज्ञानका विषय भएकाले, अग्रेजीमा पढ्नु पर्ने भएकोले र नेपालीमा धेरै नम्बर नआउने परम्परा भएकाले नेपालीमा हामी त्यति ध्यान दिन सक्दैनथ्यौ । यसैले मलाई माधवसर भित्र लुकेको गुरुत्वको पहिलो आभास त्यतिवेला भयो जव मेरो हातमा प्रमाण पत्र तहको लब्धाङ्क पत्र पर्यो । मेरो नेपाली विषयमा ८१ नम्बर आएको रहेछ । यो प्राप्ताङ्क समान पूर्णाङ्क भएका र प्रयोगात्मक अँश समेत भएका भौतिक शास्त्र र रसायन शास्त्रका नम्बर भन्दा पनि बढी थियो ।

म त्यसको दुई दशक पछि मेरो कविता सँग्रहको एक पाण्डुलिपी वोकेर माधव सरको त्रिविवि किर्तिपुरको कार्यालयमा पुँगे र डराउँदै भने ।

" सर! म हजुरको पूर्व विद्यार्थी । वृति विकासको सिलसिलामा रुखो विषयको पछि कुँदे । आफ्नो पेशा ईत्तरको विधा भए पनि एउटा पुस्तक प्रकाशन गर्ने धोको वोकेर हजुरको कुटीमा आएको छु । यो पाण्डुलिपी पढेर भूमिका लेखिदिनु भए आभारी हुने थिएँ ।"

म कति पानीमा थिँए भन्ने कुरा मलाई थाहा थिएन् । आफैले आफैलाई साहित्यको समुद्रमा मुल्याङ्कन गर्नु भनेको चानचुने कार्य थिएन् । त्यो पनि आफ्नो पढाई र अनुभवको विधा ईत्तर विषयमा । मैले कुनै साहित्यको पुस्तक प्रकाशन गरेको थिइन् । कसैद्वारा मेरा कविताको समिक्षा पनि गराएको थिईन् । नेपालीको पढाई भनेको विद्यालय र कलेजको मात्र थियो । विद्यालयमा नेपाली विषय अध्यापन गराउने गुरुको शास्त्री सम्मको योग्यता भएता पनि वँहाकोलागि पनि आधुनिक नेपालीको पढाई र लेखाई नौलो विषय नै थियो । साथै नेपालीलाई भाषा सिकाईको हिसावमा र विज्ञान, गणितजस्ता उमेरको र ज्ञानको वृद्धिसँगै जटिलताको आयतन बढाउनु पर्ने विषयहरुलाई पनि पढाउन सकिने माध्यमको सन्दर्भमा नेपाली विषय कसरी पढाउनु पर्छ भन्ने आयाम नँया शिक्षाको प्रयोगमा थिएन् । फलस्वरुप महाकवि देवकोटाका कविता र लेखनाथ पौड्यालका नीति सन्देश नभई 'मेरो नेपाली' किताव पूर्ण हुँदैन भन्ने मानसिकताले तयार पारिएको पाठ्यक्रमको घोकन्ते पढाईले मेरो नेपाली भाषाको स्तर माथी उठेको मलाई लागेको थिएन । पाठ्यक्रमको यो रोग अहिले पनि यथावत नै देखेको छु । एउटा प्रसँग पस्कन्छु । राम्रो हेक्का भएन तर आज भोली पनि कक्षा चार या पाँचमा महाकविको तलको कविता पढाईन्छ ।

पाईन्न शान्ति किन हो कुन ठाँउ मिल्छ ।
तर्किन्न त्यो रुख मनि जुन साथ मिल्छ ।।

एक पँडितजीले कान्तिपुर टेलिभिजनको प्रातकालिन कार्यक्रममा "तर्किन्न" लाई "तर्किन्छ" भनेर वाचन गरी त्यसै अनुरुप व्याख्या गरेको सुनेको छु । कविताअँशको दोस्रो वाक्य त मैले अहिले सम्म पनि राम्ररी वुझेको छैन् । यहाँनिरको प्रश्न हो- ११-१२ बर्ष उमेर भएका विद्यार्थीलाई यो कविता पढाउनु भनेको सिकाई विज्ञान (Cognitive Science) को मान्यता अनुरुप पर्छ कि पर्दैन ?

मेरो परिवेश पनि कुनै नौलो थिएन् । वातावरण ईन्जिनियरिङ्गको विद्यार्थी, कविताको पोको वोकेर भाषा विज्ञानमा विद्यावारिधीको उपाधि प्राप्त गरी नेपाली भाषा अध्ययनको सगरमाथाको चुचुरोमा अवस्थित ऋषिमुनीको कुटिमा उभएको थिएँ म ।

"पहेँलो मसीको कलमले एउटा धर्को तान्नुहोस्, त्यसैको समानान्तर पारेर नजिकै अर्को धर्को तान्नु होस् । यसैगरी पालैपालो पहेँलो र निलो धर्को तान्दै सबै पन्ना भरिदियो भने त्यो पान्ना हरियो देखिन्छ । हरियो रङ्गको धर्को कलाकारले तानेको छैन्, तर पहेँलो र निलो रङ्गको सहविन्यास (Juxtaposition) वाट निस्कने अर्थ हरियो नै हो । नवराज खतिवडाका कवितामा त्यही सहविन्यासको प्रयोग भएको छ ।"

आफ्नो लेखनको वारेको आफ्नै मुल्याँकनको दोधार, अनिश्चष्य र अन्धकारलाई चिर्दै माधव सरका यी माथिका हरफहरु मेरा सिर्जनाका मुल्याङ्कनको रुपमा मैले मेरो कृतिको भूमिकाको रुपमा मैले पाएँ । मेरो खुशी र आनन्दको सीमा रहेन् । माधवसरको गुरुत्वको दोस्रो परिचय पाएको अनुभुति मलाई भयो । माथि उल्लेखित अधिकारी बन्धुको भजनमा 'अन्धकार चिर्दै गुरु शिष्यलाई प्रकाश दिन्छन्' भन्ने   वाक्यको सिर्जना त्यसै भएको होईन् । म कहिले कहिँ गुरुको विषयमा चिन्तन गर्दा सँस्कृतको एक वाक्याँश सम्झन्छु ।

"शिष्यात ईच्छेत पराजयम ।"

अर्थात पुरुषार्थको हिसाबमा या नायकत्वको हिसाबमा या अध्येताको हिसाबमा हेर्ने हो भने एउटा अध्यापक वा शिक्षक असल गुरुको उपाधि पाउन त्यस वेला लायक हुन्छ जव उ शिष्य वाट एकदिन पराजित हुने लक्ष्यका साथ ज्ञान प्रवाह गर्छ । शिष्यले पाउनु पर्ने शिक्षा र दीक्षा दुवैमा शतप्रतिशत पूर्णता हुन्छ । त्यहाँ कुनै शर्त हुदैन् । त्यहाँ कुनै आग्रह हुँदैन । कुनै पुर्वाग्रह हुँदैन् । अनि अन्धकार चिरिन्छ । मैले मेरो कवितामा लेखेको छु ।

"अन्धकारको आफ्नै जीवन हुदैन, ज्योति विद्यमान नहुनु मात्र हो ।"

विद्यार्थी पनि अन्धकार वोकेर हिडेको एउटा वर्तमान हो । यो वर्तमानमा प्रकाशको प्रवाहको आवश्यकता छ । आजको गुरुको आशिर्वादको त्यो सानो झिल्को झाँगिदै भोली सूर्य वन्न सक्छ, महानायक वन्न सक्छ, युगपुरुष वन्न सक्छ भन्ने भावले कुनै आग्रह पुर्वाग्रह विना जसले ज्ञान दिन्छ त्यो नै गुरु हो । म कहिले कहिँ यस विषयमा सोच्दा मेरा एक अनन्य मित्र सूर्यमान शाक्यले विद्यार्थीलाई पेन्सिलसँग तुलना गरेको एउटा प्रसँग सम्झन्छु । उनले भनेका थिए "पेन्सिलको शरिर भनेको विद्यार्थी हो र मेट्ने भनेको शिक्षक ।" पेन्सिलले सिर्जना गर्छ, विद्यार्थीले पनि सिर्जना गर्छ । राम्रो सिर्जना गर्न पेन्सिलको टुँडो तिखो हुनु जरुरी छ जसका लागि उसलाई तिखारिने पिडादायी प्रकृया वाट पार हुनु पर्छ । पेन्सिलको शरीर जस्तै हाम्रो पनि कुनै अँग काटिने हो भने हामीलाई कति पिडा हुन्छ कल्पना गर्दै जिउ सिरिङ्ग हुन्छ । तर जतिसुकै पिडादायी भए पनि त्यो प्रकृया विना पेन्सिल तिखारिदैन् । यसकारण सिकाईको प्रकृया पनि त्यही समान हुन्छ । यदि तिमी अर्जुन, एकलब्य, आईन्सटाईन, ब्रुसली जस्ता विधा-नायक हुन चाहन्छौ, महामानव हुन चाहान्छौ, सर्जक या कर्मठ पेशाकर्मी हुन चाहान्छौ र पेन्सिलले जस्तो सिर्जना गर्न चाहान्छौ भने तिमीले पनि ज्ञान प्राप्तीको त्यो पिडादायी प्रकृया पार गर्नै पर्छ । पेन्सिलको मेट्ने भागको काम भनेको गल्ती सच्याउनु हो । मैले पटक पटक मेरा विद्यार्थी या कर्मचारीलाई भन्ने गरेको छु । मेरालागी गल्तीका दुईवटा सँकेत हुन्छन् । पहिलो हो गल्तीले तिमी काम गर्दै छौ भन्ने जनाउँछ । जड अवस्थामा वसेको व्यक्तीले कुनै गल्ती गर्दैन् । झमक घिमिरेले आफ्नो पहरो जस्तो जीवनमा पनि फूल फुलाएकि छन् । उनी लेख्छिन् ।

"मैले हातका औँलाहरुले केही नसमातेपछी खुट्टाका औँलाको प्रयो नगरेको भए अहिले यो शरिर जीउँदो लाश सरह हुने थियो ।"

झमकको यो वाक्यले मलाई जिँउदो लाशको परिभाषा छर्लङ्ग पारिदियो । जडता र मुर्दा अर्थात जिउँदो लाशमा धेरै समानता छ भन्ने मलाई लाग्छ । यसकारण गल्ती गर्नु भनेको जिउँदो हुनुको परिचायक हो । यसैले जहाँ जीवन्तता हुन्छ त्यहाँ गल्ती हुन सक्छ । गल्तीको अर्को सँकेत "अव तिमी फेरी जानेर त्यही प्रकृया या गतिविधी या दोहोर्याउदैनौ" भन्ने हो । अर्थात अव तिमीलाई कुन गोरेटो जँगलमानै हराउँछ भन्ने बोध भएको छ । यसरी मेट्ने भनेको शिक्षक हो जसले गल्ती गर्ने मौका दिन्छ या तिमीले गल्ती गर्ना साथ सच्च्याईदिन्छ । म भन्ने गर्छु 'जव जव तिमी जीवन यात्रामा अघि वढ्दै जान्छौ तिम्रो मेट्नेको आकार घट्दै जान्छ ।' मैले मेरो विद्यार्थी जीवनको पेन्सिलसँग बाँधिएका मेरा मेट्ने गुरुहरुलाई विद्यालयमा या क्याम्पसमानै छोडेको छु । यसैले अहिले म विना मेट्नेको पेन्सिल हूँ । कतिपय अवस्थामा मलाई गल्ती गर्ने स्वतन्त्रता नै हुँदैन । मेरो कार्यालयको मेचका फायलहरु गल्तिविहिन निर्णयहरुको पर्खाईमा हुन्छन् । तर जव जव म माधव सरलाई भेट्छु लाग्छ मैलै मेरो मेट्ने पुन फेला पारेको छु । यसैले कहिले कहि म वँहाको एका विहानै पुजा विथोल्छु । केही समय अघि यस्तै भयो ।

"सर ! मोवाईल फोनलाई नेपालीमा "हाते" भन्नेकी "डुलुवा" भन्ने ? "

"सर ! "रापिड ईकोनोमिक डेभलेपमेन्ट : अ कि फर स्टेट रिस्टकचरिङ्ग" को नेपाली अनुवाद के हुन्छ ? "

यति मात्र नभएर वँहा जापान गएको वेलामा समेत म स्काईपमा गुरुलाई दु:ख दिन्छु ।

"क्लाईमेट रेजिलियन्स" लाई "जलवायु प्रतिघात अभिवृद्दि" भन्न मिल्छ, सर ?

यस्तो वेला म प्राय शब्दकोश अघि राखेर वस्छु । किनभने मलाई थाहा छैन् वँहाले मलाई वहाँका शिष्यहरुको कुन समूहमा राख्नु हुन्छ । यदि म सामान्य शिष्यहरुको जमात भन्दा माथी पर्ने रहेछु भने वहाँले सोच्न सक्नु हुन्छ "ओहो ! यो मेरो चेलो त मेधावी भनेको लट्ठक पो रहेछ यस्तो जावो प्रश्न लिएर आँउछ " । प्रत्येक शिष्यको औकात अनुसारको कित्ता हुन्छ भने मलाई लाग्छ। जव जव म माधव सरको दैलो ढक ढकाउँछु । मेरा अन्धकाररुपी अन्यौल र अज्ञानतालाई गुरुका आलोकले सिँचेका छन् । चिरेका छन् । माधव सरसँग वैज्ञानिक नेपालीको समुद्रनै छ। त्यो गँगाजल लाई मेरो ज्ञानको सानो दहमा ओसार्ने क्रममा मैले माधव सरमा अन्तरनिहित गुरुत्वका थप प्रमाणहरु फेला पार्ने गरेको छु ।

माधव सरको अर्को प्रकाशमा नआएको विशेषता भनेको वँहाको नेपाली हस्ताक्षर लेखन शैली हो । वँहा नेपालीलाई पनि अँग्रेजी जस्तो जोडेर लेख्नु हुन्छ । के यो देवनागरी लिपीको प्रयोगमा एक जादु होईन त ? लिपीविदहरुले उत्तर देलान। वहाँको लेखाईमा प्रचलित भन्दा फरक तरिकाले धर्काहरु तानिन्छन् र अक्षरका वृतहरु कोरिन्छन् । जस्तै: "मा" लेख्दा 'म' र यस्को 'आकार' धर्को कलम नउठाई लेखिन्छन् । नेपाली अक्षरहरु पनि जोडेर लेख्न सकिन्छ यसले हस्तलिपी पनि राम्रो हुन्छ र चाँडो पनि लेख्न सकिन्छ भन्ने विषयमा सोध भएको छ कि छैन् म अनभिज्ञ छु । एप्पल कम्पुटरका स्टिभ जब्सले गरेको लेखन प्रयोगले कम्पुटरमा फन्टको विकास भए जस्तो माधव सरको जोडेर लेख्ने कलाले पनि नेपालीको अर्को फन्ट सिर्जना गर्न सक्छ । भविष्यमा यो सिर्जना होला कि नहोला त्यो त समयको गर्भमा भएको विषय हो तर अहिलेलाई भने माधव गुरुलाई वँहाको सदावहार शिष्यको अर्को प्रश्न तयार भयो ।

" सर ! के नेपालीमा पनि जोडिएका अक्षर भएको फन्ट तयार गर्न सकिन्छ ? "

वैशाख ०५, २०६८ काठमाण्डौ

Thursday, February 17, 2011

पराई भूगोल : तन्नेरी आस्वाद

विमानस्थलको तापमान शुन्य डिग्री भएको घोषणा सँगै म सिँगापुर टोकियोको यात्रामा सँयोगवस चढिएको भीमकाय शरीर भएको एयरवस ३८० लाई फेरी भेटौला भन्दै अध्यागमन तर्फ लम्किएँ । मैले धेरै चोटि टेक्ने अवसर पाएका हवाई मैदानहरु मध्ये पर्छ टोकियोको नारिता विमानस्थल । नेपालमा घर छोडेको १६ घण्टा भैसकेको थियो तर मेरो अघि नारितावाट मितो शहरको लगभग दुई घण्टाको वसयात्रा लम्पसार परेको थियो । आगन्तुक कक्षमा पुगेर वस यात्रा अघि गर्नु पर्ने कामहरुमा केन्द्रित भँए । पैसा साट्ने, वसको टिकट किन्ने र न्यानो लुगा लगाउने काम सकेर म नक्साको खोजीमा लाँगे । मेरो उपस्थिति विमानस्थल सूचना केन्द्र हुँदै पर्यटक सूचना केन्द्रमा हुन पुग्यो । त्यँहा थरि थरिका नक्सा र सूचनाको भकारीमाथी जमेर वसेका दुई युवतीहरु फेला परे ।

दुई वर्ष अघि वँगालादेश जाँदा मलाई नेपालको पर्यटन सम्पदाको अन्तराष्ट्रिय महत्व र वजारको वारेमा गहिरो अनुभूति भएको थियो । बँगालादेश, जापान र सिँगापुर जस्ता मुलुकहरु प्राकृतिक सम्पदामा हामी भन्दा धेरै गरिव लाग्छ मलाई । मानव सँसाधनको उपयोग गरी साँस्कृतिक धरोहर र पुर्वाधारहरुको निर्माण गर्नु पर्ने यथार्थता बुझेर उनीहरुले आर्थिक विकासको मुलमन्त्र यसैलाई वनाए । हामी प्राकृतिक होस या पुरातात्विक, सम्पदामा धेरै विविध छौ, धेरै सम्पन्न छौ अनि यसैमा मख्ख पनि छौ। हामीले न त हामीसँग भएका अथाह सँभावनाको उपयोग गर्न सकेका छौ न त तिनको विज्ञापन नै । तर जापानले भने आफूसँग भएका स साना महत्वका सम्पदालाई समेत राम्रो विज्ञापन गरेको छ । त्रिभुवन विमानस्थलमा जम्मा एउटा नक्सा पाउन समेत हम्मे हम्मे पर्छ । म ती युवतीहरुका दाँया वाँया थुपारिएका रासका रास नक्सा देखेर भाव विभोर भँए । मैले मितो शहर समेत समेटिएको वृहत टोकियोको नक्सा माँगे । उनिहरुले नक्सा दिदै मेरो थलो सोधे । जापानीहरु सामान्यतया यसरी काम भन्दा वाहेकको विषय पस्कदैनन् । “ल ! यिनीहरु त रमाईला होलान जस्तो छ ’ मैले गमे ।

‘वातासी नेपारु कारा, निहोन्गो मो सुकोसि हानासिमास’ ( म नेपालवाट आएको हुँ, जापानी भाषा पनि अलि अलि वोल्न सक्छु ।)

“सुगोईईई…….. ” (कस्तो राम्रो) । दँग परे उनीहरु ।

हामीले जापानीहरुवाट सिक्नु पर्ने महत्वपूर्ण आयाम कुन वेला कसरी प्रशँसा गर्नु पर्छ भन्ने हो । मलाई लाग्छ प्रशँशा गर्ने, धन्यवाद भन्ने अनि कसै प्रति कृतज्ञता या आभार प्रकट गर्ने जस्ता मानव सँवेगका सामान्य शब्दहरुको सिर्जनाको पाठशालामा हामीले पढेका नै छैनौ । तर यस्को जापानी पाठशाला उत्कृष्ट छ, उनीहरुले त्यै गरे । म अझ उत्साहित भँए र यिनीहरुलाई दिल खोलेर हँसाउन पाए अझ रमाईलो हुने थियो भन्ने सोच मनमा आयो । अलि अलि मात्र जापानी भाषा जान्ने मेरो हैसियतले उनिहरुको भाषामा केही वोलेर हाँस्ने क्षण सिर्जना गर्नु चानचुने कुरा थिएन् । मैले मेरो नामसँग जोडिएको प्रसँग पस्किए ।

“वातासीवा नावाराजी देस, वाराजी तो ओनाजी ” (मेरो नाम नवराज हो र यो वाराजी जस्तै हो ) । मेरो निसाना अचुक भयो । उनिहरु मेरो कुरा सुनेर खित्का छोडेर हाँसे । यो अस्त्रले मैले जापान वसाईका धेरै अवसरहरुमा रमाईलो पस्केको छु । जापानी भाषामा वाराजी भनेको गाँउघर तिर लगाईने पराले चप्पल हो ।

जापान पुगेको तीन दिन पछि म मितो शहरको एउटा जापानी रेष्टुरेन्टमा जापानी प्राध्यापकहरु र विदेशवाट आएका म जस्ता सँगोष्ठीका सहभागीहरु सम्मिलित एक रात्री भोजमा थिएँ । हामी २० जना जति थियौँ । त्यसमा जम्मा एक जना मात्र स्नातक अन्तिम वर्षकी अविवाहित महिला पात्र थिईन् । जापानमा वेलुकाको जमघटमा मदिराजन्य पेय पदार्थ पिउनु भनेको सामान्य कुरा हो । हामी रुचि अनुसारको पेय पदार्थ र जापानी परिकारको आनन्दमा रमायौ । ति जापानी युवती कत्ति पनि विचलित नभैकन हामी सँग पुरुष सहभागी जत्तिकै घुलमिल भएकी थिईन् । मलाई नेपालमा त्यस्तै गतिविधि भएको भए के हुन्थ्यो होला भन्ने कल्पनाले तान्यो । पहिलो कुरो त नेपाली समाजको परिवेशमा कुनै पनि महिलाले आफ्नो परिवार ईत्तर जमघटमा त्यति राती सम्म वस्ने आँट गर्नु असामान्य हुन्थ्यो । दोस्रो परिवारले पनि त्यसरी मदिराजन्य पेय पदार्थ पनि वेरोकटोक पिउन पाईने रात्री भोजमा सरिक हुन एक्लै कुनै पनि अविवाहित छोरी चेलीलाई अनुमति दिने थिएनन् । हुन ता हामी सँग यस्तो जमघटले निम्त्याउने विकराल जोखिम पनि नभएका होईनन् । जापानमा पुरुष र स्त्रीको विचमा सम्बन्ध स्थापित हुनु अघि लामो समय सम्मको सामिप्यता र विश्वासको वलियो सँयोजन हुन्छ । म सरिक भएका यस्ता जमघटमा ईज्जत र शालिनताको लक्ष्मण रेखा काट्ने दुश्प्रयास गरेको मैले देखेको छैन् । तर हामीकँहा उमेर पुगेका युवा युवतीको छोटो अन्तरालमा नै सम्बन्ध स्थापना हुन सक्ने भएर हो या सामान्य कुराकानीमा पनि अनुशासन या शालिनताको घेरा झिनो भएर हो स्थिति फरक छ । केही समय अघि नेपालमा म पनि आयोजक भएको एक अन्तराष्ट्रिय सम्मेलनको रात्री भोजमा सम्मेलनकी सहभागी एक विदेशी युवतीको अघि नशामा लठ्ठिएका एक समकक्षी मित्रले गरेको कृयाकलापले मलाई तुरुन्तै ठोस निर्णय लिन वाध्य पारेको थियो । सर्वसुलभ यातायात र उत्कृष्ट सुरक्षा व्यवस्था पनि यसको अर्को कारण हुन सक्छ । वास्तवमा आर्थिक विकासका धेरै वटा पाटाहरु छन् । हामीले नेपालमा पनि यि विभिन्न पक्षहरुलाई उजागर गर्न र यस्ता विषयहरुमा आम वहस गर्न जरुरी छ ।

टोकियो यात्राको अर्को एउटा रात्री भोजको सन्दर्भ पनि रोचक छ । टोकियो विश्वविद्यालयका मेरा समकक्षी मित्रहरुले मेरो सम्मानमा आयोजना गरेको रात्रीभोजमा हामी छ जना थियौ जसमा दुई जना अविवाहित जापानी युवतीहरु थिए । चार जना पुरुष पात्रहरु चै विवाहित परेछौ जसको समिश्रण पनि रोचक थियो । एक जापानी, एक कोरियन, एक भारतिय र म नेपाली । गफको एउटा विषय वन्यो “जापानी युवा युवतीहरु किन विवाह नगरी जीवन यापन गर्न चाहान्छन्।“ आफै अविवाहित भएकाले ती युवतीहरुलाई आफ्नो व्यक्तिगत जीवन भन्दा माथी उठेर जापानी युवा पुस्ताको प्रतिनिधि पात्रको रुपमा उभिन हामीले प्रेरित गर्यौ । उनीहरु उत्साहित भए । जापानको खस्कदो जनसँख्या वृद्धिदर र जेष्ठ नागरिकको उर्लदो भेलको समस्या सँग जोडिएकोले हाम्रो छलफलको विषय वस्तु गहन थियो । उनिहरुले पश्चिमा सभ्यताको नक्कल, महगो जीविकोपार्जन, एकल महिलाहरुको जीवन विवाहितको भन्दा स्वछन्द हुन्छ भन्ने सोच, युवा युवतीको विचमा विहे गर्ने सम्मको सम्बन्ध स्थापित हुन लाग्ने लामो अवधि, समाजमा विवाह र रगतको नाताको सिर्जनाले जीवनको पूर्णता प्राप्ती हुन्छ भन्ने सृष्टिको विधानको सट्टा अविवाहित जीवन, समलिँगी सम्बन्ध, कुमारी आमा जस्ता विकृतिजन्य सँस्कारहरुले पश्रय पाउनु आदि कारणहरु उल्लेख गरे ।

नेपाल फर्कने क्रममा सिँगापुरको चाँगी अन्तराष्ट्रिय विमानस्थलमा राती दुई वजे आईपुगेको र काठमाण्डौको लागि प्रस्थान गर्ने समय विहानको नौ वजे मात्र भएकोले म सँग यथेष्ट समय थियो । म प्रस्थान गर्ने द्वारको आसपासमा नेपालीहरु भेटिए उनीहरु सँग कुराकानी गरेर समय विताउन सकिने सँभावनालाई यथार्थतामा परिणत गर्न त्यता लम्किएँ । नभन्दै सिडनीवाट आएको युवायुवति मिश्रित एक टोली फेला पर्यो । म उनीहरु सँग एक पछि अर्को गर्दै कुराकानीमा अल्मलिएँ । पात्र “क” थिए त्रिविवि किर्तिपुर वाट ग्रामिण विकासमा स्नातकोत्तर गरेर अष्ट्रेलिया पसेका युवा । उनले नेपालको डिग्रीले अष्ट्रेलियामा वसाई सरेर स्थायी आप्रवासी हुने उनको सपना पुरा हुने नदेखेर सिडनीमा समुदाय विकास सम्बन्धित दुई वर्षको व्यावसयिक तालिम लिएछन् । अहिले उनले जेष्ठ नागरिकहरुलाई सेवा दिने केन्द्रमा उनीहरुसँग खेल्ने र उनीहरुका आवश्यकता पुरा गर्ने काम पाएका रहेछन् ।

उनले भने “सर म त चोक्टा खान गएकी वुहारी झोलमा डुवेर मरी भन्ने उखानको उदाहरणिय पात्र हुन पुगेको छु । मेरो नेपालको डिग्री र मिहिनेतको कुनै महत्व रहेन । मेरो पहिचान अव एक सामान्य श्रम गर्ने श्रमिकको रुपमा स्थापित भएको छ । “
पात्र “ख” थिईन् नेपालकी आर्किटेक्ट ईन्जिनियर चेली तर अष्ट्रेलियाकी जेष्ठ नागरिक केन्द्रमा काम गर्ने श्रमिक । उनको वेदना पनि कमको थिएन् ।

पात्र “ग” थिए नेपालवाट वायोटेकनोलोजीमा स्नातक गरी अष्ट्रेलियामा सूचना प्रविधिमा स्नातकोत्तर गर्दै गरेका युवा । उनको स्थिति अरु दुईको तुलनामा राम्रो थियो ।
उनीहरुले नेपाल र अष्ट्रेलियाको शिक्षा, आफ्ना सन्तान प्रति अभिभावकको दृष्टिकोण र विद्यार्थीहरुको भविष्य प्रतिको चिन्ता आदि विषयहरुमा आफ्ना अनुभवहरु पस्किए । नेपालमा धेरै पढेर ठुला ठुला कामहरु गर्ने सपना साँच्ने क्रममा आर्जित शिक्षाले उमेर अनुरुप दिनु पर्ने व्यावहारिक ज्ञानको अभाव भएको तर्क प्रस्तुत गरे । विश्वविद्यालयमा प्राप्त डिग्री र आर्जन गरेको ज्ञानको दायरा तथा वजारमा सिर्जना हुने जिवीकोपार्जनका अवसरहरुको विचमा नेपालको तुलनमा अष्ट्रेलियामा धेरै कम खाडल भएको विवरण उनीहरुले पेश गरे ।

पात्र “ख” ले भनिन् “मैले आर्किटेक्ट भएर ठुला सँरचनाको नौलो नक्शा वनाउने त कुरा छोडौ, यो विश्राम स्थलको लम्बाई कति होला भनेर अन्दाज गरेर नजिकको उत्तर पस्कने आत्मविश्वास पनि जगेर्ना गर्न नसकेकी रहिछु । फोटो कपि गर्ने, सामान उचालेर पल्लो कोठामा लैजाने, आफु कहाँ छु भनेर अरुलाई टेलीफोनमा जानकारी दिने जस्ता सामान्य कामको समेत ज्ञान र ती काम गर्ने आत्मविश्वाश नहुनु मेरोलागि अष्ट्रेलियामा चुनौतिका विषयहरु भए। “

उनीहरुका जीवनका यी यथार्थताहरु ध्यान पुर्वक सुनीरहेको थिँए । अष्ट्रेलिया लगायतका विकसित मुलुकहरुले आधुनिकताको लोभ देखाएर कसरी हाम्रा वृति विकासको महाभारतको उचाईमा पुगिसकेका नेपाली युवा युवतीहरुलाई श्रमिकमा झारेर आफ्नो श्रम वजारको आवश्यकता पुरा गरिरहेछन् भन्ने प्रश्नको उत्तरको रुपमा म ती पात्रहरुलाई अवलोकन गरिरहेको थिँए । मैले मन मनमा भने “हे तन्नेरी हो ! पराई भूगोलले शैक्षिक योग्यता र वृति विकासका उचाई घटाएका यी सँस्मरणहरुलाई नेपालमा वृति विकासको महाभारतको पहाड चढिरहेका तिमीहरुका भाई वहिनीहरुलाई सुनाउन नविर्सनु। नेपालमा सिपयुक्त शिक्षा र व्यवहारिक ज्ञान सम्प्रेषण गर्ने दिशामा अलिकति भए पनि आफ्नो उर्जा खर्चनु ।“ मेरो जापान भ्रमणको अनुभव लेख्नका लागि यथेष्ट विषय वस्तु सँकलन भै सकेको थियो । घडि हेरेँ, विहानको ६ वजिसकेको थियो, म स्टार वक कफिको स्टल खोज्न लम्किएँ ।