Friday, June 20, 2014

ईन्जिनियरिङ्गको अड्कल र साहित्यको कल्पना



ईन्जिनियरिङग विषय लिई चार वर्षे स्नातक तहको अध्ययन गर्ने प्रथम वर्षका विद्यार्थीलाई आन्तरिक परिक्षामा मैले सोधेको एक प्रश्न यस्तो थियो ।
तिम्रो टाउको जत्रो ढुँगाको तौल अन्दाजी कति होला ?“
विद्यार्थीहरुले यो प्रश्नको उत्तर विभिन्न किसिमले दिए । टाउको जत्रो ढुँगाको तौल १-२ किलोग्राम देखि २५-३० किलोग्राम सम्म हुन सक्ने उनीहरुको अनुमान थियो । कसैले त त्यो उत्तर कसरी आयो भनेर हिसाब समेत गरेका थिए । त्यस मध्ये एकजना उत्तरदाताले प्रस्तुत गरेको तर्कले मेरो ध्यानाकर्षण गर्यो । त्यो तर्कमा गहनता मात्र थिएन । त्यहाँ अडकल सँग जोडिएको रोचक अन्तरवस्तु समेत थियो । त्यही तर्कलाई केन्द्रविन्दुमा राखेर यो लेखको रचना समेत भयो ।
टाउको र भकुण्डोको आयतन लगभग वरावर हुन्छ । अन्तराष्ट्रिय मान्यताको भकुण्डोको व्यास २० सेन्टिमिटर जति हुन्छ । सुत्र प्रयोग गर्दा यत्रो गोलो वस्तुको आयतन ५ लिटर जति निस्कन्छ । एक लिटर पानीको तौल एक किलोग्राम हुने र पानी भन्दा ढुँगा दुई गुणा जति गर्हौ हुने भएकोले टाउको जत्रो ढुँगाको तौल १० किलोग्रामको आसपासमा हुन्छ।
यसरी खोजमूलक र सही उत्तर लेख्ने ती विद्यार्थीलाई मैले उत्कृष्ट अँक दिँए । उत्तर पुस्तिकामा अति राम्रोभनेर स्यावासी समेत लेखेँ । यो रोचक उत्तरको प्रसँग एक दुई जना समकक्षी साथीहरुलाई पनि सुनाएँ । उनीहरुले पनि सृजनात्मक उत्तरभन्ने प्रतिकृया दिए । ईन्जिनियरिङ्ग विषयको मूलाधार भनेको विज्ञान नै हो । चार वर्षेको स्नातक तहको अध्ययनमा पहिलो दुई वर्ष त धेरै जसो भौतिक शास्त्र, रसायन शास्त्र र गणित कै पढाई हुन्छ । यसकारण विद्यार्थीको उत्तर यथार्थको नजिक भएता पनि त्यस तर्कमा विज्ञानकै अँश अधिक हुनु अस्वभाविक थिएन । त्यही सेमेष्टरका विद्यार्थीको एक कक्षामा केही हप्ता अघि विज्ञान र ईन्जिनियरिङ्गको फरक बुझाउनका लागि मैले एउटा रित्तो कपको प्रयोग गरेको थिँए । मैले रित्तो कप उनीहरुलाई देखाएर सोधेको थिँए ।
यो कप भरि छ कि खाली ? ”

आश्चर्य भयो ! उनीहरुको मत बाझियो । आधा जतिले त्यसमा हावा भएकाले भरिभनेका थिए । खालीभन्नेहरुले कपको काम तरल पदार्थ बोक्ने भएकाले हावाले भरिनुको कुन अर्थ नभएको भन्ने जवाफ दिएका थिए । वैज्ञानिक हिसाबमा हावाले भरिनुको अर्थ भएता पनि व्यवहारिक हिसावमा थिएन् । यसकारण उही तथ्यलाई विज्ञान र ईन्जिनियरिङ्ग वा अर्थशास्त्रले फरक फरक तरिकाले परिभाषित गर्न सक्छन भनेर विद्यार्थीलाई बुझाउन कपको उदाहरण सफल भएको थियो । आफ्नो अघि आईलागेको प्राविधिक समस्यालाई चिर्ने कार्यको प्रस्थान विन्दु हुन्छ- त्यस समस्याको आकार अनुमान । आकार अनुमान गर्नको लागि समस्या सँग जोडिएको भौतिक स्वरुपको मापन गर्नु पर्ने हुन्छ । उदाहरणको लागि पहाडको उचाई, नदीको वहाव या कुनै पाईपको मोटाई नै अन्दाज गर्ने कुरालाई लिन सकिन्छ । यसकारण एउटा ईन्जिनियरले फित्ताले ननापि वा तराजुमा नजोखि वा कुनै हिसाब नगरिकन वस्तुको आकार या तौल अनुमान गर्न सक्नुपर्छ । विद्यार्थी जीवनमा जसले यो काम निमेषभरमा नै गर्न सक्ने दक्षता हासिल गर्छ त्यसको अन्दाज कौशलताविशिष्ट हुन सक्छ । यही चुरोको सेरोफेरोमा मेरो मनमा एक गहन प्रश्न उब्जियो । भकुण्डोको आयतन सँग तुलना गरी पानीको घनत्वको तथ्यलाई प्रयोग गरी ढुँगोको तौल अन्दाज गर्ने तरिका वैज्ञानिक त अवश्य भयो तर के यो व्यावहारिक पनि भयो त ?  म चिन्तनको दायरालाई फराकिलो पार्न थाल्छु । विद्यार्थीहरुले समस्या समाधानका अरु तरिकाको पनि कल्पना गरेका थिए । केहीले आफ्नो शरिरको वजनको आधारमा टाउकोको तौल अनुमान गरेका थिए । केहीले ईँटा, फर्सि या तरबुजाको तौल सँग तुलना गरि ढुँगाको तौल अन्दाज गरेका थिए ।

दिईएको परिस्थितिमा वा समस्या सिर्जिएको स्थानको वरिपरि साधन र श्रोतको उपलब्धता सिमित हुनसक्छ । कतिपय अवस्थामा हातमा फिता वा साथमा क्यालकुलेटर समेत नहुन सक्छ । फेरी अरुले सामान्य दिमाग मात्र प्रयोग गरी दिन सक्ने समाधानमा आफुले स्केल या क्यालकुलेटर खोज्दा हास्यपात्र पनि बन्न सकिन्छ । यस्तो वेला तन्काउन मिल्ने वा थप्दै जान सकिने वा एउटा धारको सट्टामा अर्को फेर्न सकिने भनेको चिन्तन वा कल्पना नै हो । समस्या सानै भएपनि त्यसलाई चिर्न ज्ञानको अथाह भण्डार प्रयोग गर्न सकिन्छ । विभिन्न तरिकाले सोच्न सकिन्छ । यसकारण कुनै समस्यालाई पर्गेल्नका लागि कत्रो फैलावाट भएको वा कति गहन कल्पना शक्ति खर्च गर्ने भन्ने सवाल महत्वपूर्ण हुन आँउछ ।

ईन्जिनियरिङ्ग विधामा त कल्पना शक्तिको नै विशिष्ट स्थान छ । सामान्य अन्दाज गर्ने देखि लिएर वृहत सँरचना समेतको नक्शा वा नमुना कल्पना शक्तिले नै बन्छ । जसरी वास्तविक अनुहार क्यामेराले खिचेको तस्विरमा हुबहु वनेर निस्कन्छ त्यसरी नै कागजमा कोरिएको नक्शा निर्माण पश्चात वास्तविक सँरचनामा परिणत  हुन्छ । यसकारण के को आधारमा कल्पना गर्ने ? कुन विधि अपनाउने ? उत्तर कसरी पस्कने ? अर्थात विद्यार्थीको कल्पना वा पूर्वानुमान गर्ने क्षमता कसरी अभिवृद्धि गर्ने ? स्वभाविक प्रश्नहरु उब्जिएका छन् ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाले कल्पना शीर्षकको निबन्धमा लेखेका छन- ……उस (कल्पना) लाई वस्तुको उपस्थितिको जरुरतै छैन, स्मृतिपटमा परेको छाया जगाएर ऊ अनुपस्थित वस्तुहरुको सूक्ष्म स्वरुप सत्यप्रदर्शन गर्दछ । ………..हामी कल्पना द्वारा आँखा चिम्ली चिम्ली बाह्य सँसारका वस्तु र तिनका सम्बन्धहरु भेट्टाउन सक्छौ ।………..

यसरी साहित्यको कल्पना र ईन्जिनियरिङ्गको अडकलबाजीमा समानता पाईन्छ । महाकविले लेखे जस्तै आफ्नो अघि अनुपस्थित वस्तुहरुको लम्बाई, चौडाई, उचाई वा गोलाईको अनुमान गर्ने सिलसिलामा सर्वप्रथम मष्तिष्कले त्यो वस्तुको छायाको परिकल्पना गर्दछ । समस्या त्यसवेला सिर्जना हुन्छ जव मष्तिष्कले वस्तुको छायाको कल्पना गर्न सक्दैन । किनभने त्यहाँ तिखो दृष्टि नहुन सक्छ । या कल्पना गर्नेले कुनै आधारशिला नै फेला पार्दैन् । बोधो दृष्टिकोणले निशाना लाग्दैन् । सही अडकल आँउदैन् । त्यसकारण बोधो दृष्टिलाई तिक्ष्ण बनाउने अर्थात आफ्नो अडकलवाजी लाई सत्यताको नजिक पुर्याउने कौशलता सिर्जना गर्नु विशेषगरि ईन्जिनियरिङ्ग पढ्ने विद्यार्थीका लागि अपरिहार्य हुन आँउछ ।
केही समय अघि मेरा एक मित्रको कारमा हामी धुलिखेलवाट काठमाण्डौ तिर गईरहेका थियौ । केही समय अघि देखि परेको घनघोर पानी अझै थामिएको थिएन । हामी अकस्मात रोकियौ । हाम्रो अघि लगभग १०० मिटर जति सडकमा फैलिएको पानीको दह थियो । ठूला गाडि त पाङ्ग्रा अग्लो भएको कारणले पानी मिचेर पास भएका थिए । तर हामीले आँट गरेनौ । मैले वाँया तिर एक लेनको सडकलाई आफ्नो वाटो वनाएर उर्ली उर्ली वगेको पानीलाई नियाले । लगभग घुँडा-घुँडा आउने पानी थियो । मैले सडकको चौडाई, पानीको औसत गहिराई र भेलको गति अन्दाज गरी जल प्रवाहको परिमाण अनुमान गरेँ । यस विषयमा मेरा मित्रको पनि विचार जान्ने ईच्छा भयो र वहाँलाई सोँधे ।
यो पानीको वहाव कति होला ? “
वहाँले वडो सामान्य र सहज हिसावमा उत्तर दिनु भयो ।
मेरो विचारमा १.५ देखि ३ घनमिटर प्रति सेकेण्डको वीचमा हुनुपर्छ ।
म दङ्गदास परेँ । यसका दुई कारण थिए । पहिलो: मेरो अनुमान वहाँको उत्तर सँग ठ्याक्कै मिलेको थियो । दोस्रो: वहाँको सपाट उत्तरमा जुन ओज र आत्मविश्वास थियो त्यो स्मरणिय र अतुलनिय थियो । वहाँले त्यो उत्तर दिँदा कत्तिवेर पनि नअलमलिईकन दिनु भएको थियो । मैले अर्थशास्त्रमा नोबेल पुरस्कार जित्ने अध्येता डेनियल कानेम्यानले लेखेको थिङ्कीङ्ग फास्ट एण्ड स्लोभन्ने पुस्तकको प्रसँग सम्झिएँ । पुस्तकमा उनले कुनै आकस्मिक परिस्थितिमा हामी कसरी विचार गर्दछौ भन्ने कुराको विश्लेषण गरेका छन् । डेनियलले परिस्थिती र सोच्ने व्यक्तिको क्षमता अनुरुप दुई वटा सोच-प्रणालीले काम गर्ने उल्लेख गरेका छन् । प्रणाली-१ ले कुनै पनि प्रश्नको सपाट जवाफ निमेषभरमा नै दिन सक्छ । तर कठिन सवाल (जस्तै: १७ × २४) को सही जवाफ दिनका लागि प्रणाली-२ को जरुरी पर्दछ । मलाई भलपानीको वहावलाई आँकलन गर्न केही वेर लागेको थियो तर मेरा मित्रले शायद प्रणाली-१ प्रयोग गरेर सपाट उत्तर दिएका थिए । मष्तिष्कले प्रणाली-२ को प्रयोग विशेष अवस्थामा मात्र गर्दछ । यसको निचोड निस्कियो-मित्रको बगेको पानीसँग सम्बन्धित अनुभव यथेष्ट छ ।
टाउको वरावरको ढुँगाको तौल आँकलन गर्दा मष्तिष्कले आयतन मात्र मिल्ने भकुण्डो स्मरण गर्छ कि तौल र आयतन दुवै मिल्ने फर्सि या तरवुजा स्मरण गर्छ त ? यो कुरा समस्यालाई मष्तिष्कले कसरी आफूले जानेको प्रसँग या अनुभुति सँग तुलना गर्दछ भन्ने कुरामा भर पर्दछ । अर्को तर्फ फुटबल खेलको अनुभव अधिक भएको तर फर्सि कहिले पनि नतौलेको व्यक्ति भए उस्को ध्यान फुटवल तिर जानु  स्वभाविक नै हो । अर्थात देवकोटाले उल्लेख गरे जस्तो प्रश्न मष्तिष्कले कल्पना गर्ने छायाको स्वरुप र आकार कस्तो हुन्छ भन्नेहो ।  यसकारण ईन्जिनियरिङ्ग विधामा कुनै समस्यालाई सपाट र सही उत्तर दिनका लागि त्यो समस्या सँग मिल्ने पृष्टभूमि या प्रसँग निमेषभरमा नै जोड्न सक्नु पर्छ । डेनियलको विश्लेषण अनुसार कहिलेकहीँ मष्तिष्कले गलत वा अप्रासँगिक उत्तर पनि दिन सक्छ । यसका मुख्यतया तीन कारण हुन्छन् । पहिलो: पृष्टभूमि या आधारभुत दायरालाई महत्व नदिई प्रश्नलाई अति हलुका तवरमा लिनु । दोस्रो: उत्तर प्राप्त गर्न अल्छि गर्नु । र तेश्रो उत्तरलाई पन्छाउनु या प्रश्न नै गलत छ भन्ने तिर मन लैजानु । विद्यार्थीहरुले उत्तर लेख्न नसक्नु वा गलत उत्तर दिनुको मूल कारक यिनै हुन् । तर सही अन्दाज या पूर्वानुमान गर्नका लागि उपलब्ध विकल्पहरुलाई कुनै नजिरसँग या आधार सँग तुलना गर्न जरुरी छ । आफ्नो अन्तस्करणमा उत्पन्न भएको अड्कललाई पाए सम्मका तथ्यहरुले प्रमाणित गर्नु पनि जरुरी हुन आँउछ ।
दक्ष ईन्जिनियर वन्नका लागि पहिलो शर्त हुन्छ- कुनै परिमाणको व्यावहारिक वा अर्थपूर्ण अन्दाज गर्न सक्नु । विद्यार्थीहरुको पूर्वानुमान गर्ने क्षमता अभिवृद्धि गर्दा सिर्जना भएका यि प्रसँगहरुले हाम्रो शिक्षा प्रणालीमा कस्ता कस्ता अनुमान गर्ने तौर तरिका सिकाउने गरिएको छ र त्यसको व्यवहारिक उपयोग कस्तो रहेको छ भन्ने विषयहरुको उठान गरेका छन् । आशा गरौ यस विषयमा विद्वत वर्गको थप ध्यानाकर्षण हुनेछ ।

Monday, April 28, 2014

आमा




लगभग तिन दशक अघिको कुरा हो । म त्यसवेला किर्तिपूरमा वस्थेँ । प्राय साझा वसमा यात्रा गर्दथेँ । एक पटक एक जना महिला टेकुमा ओर्लिईन् । ओर्लिए लगत्तै हस्याङ्ग फस्याङ्ग गर्दै पुन: वसमा आईन् । उनको कार्यसूचिमा त्यसवेला एउटा मात्र काम रहेछ । यसैले होला कुनै परवाह नगरिकन भनिन् ।

मेरो त छोरै विर्सेछ ।

उनको छोरो वसमा निधाएको रहेछ । उनी एकसुरमा वसवाट ओर्लिछन् । तर बडो ईमान्दार पुर्वक आफ्नो अवचेतन स्थितिलाई आत्मसात गरेर यथार्थ कुरा हामी यात्रुलाई पनि सुनाईन ।

यसपटकको काठमाण्डौ-नेपालगन्ज हवाई यात्रामा पनि त्यही प्रसँग दोहोर्याउने अवसर  प्राप्त भयो । चेक ईन काउन्टरमा पुग्दा मेरा अघि दुई जना युवती थिए । एक जनाले कम्मरमा सानो वच्चा वोकेकी थिईन् । एकाएक उनीहरुले एक आपसमा ईसारा गरे । अनि एक सुरमा सामान जाँच गराउने ठाँउ तिर दौडिए । म आश्चर्यमा परेँ । मेरा दृष्टि त्यही आश्चर्यको पछि दगुरे । उनीहरुको कार्य सूचिमा पनि अकस्मात एउटा महत्वपूर्ण काम आईलागेछ । सामान जाँचस्थलमा विर्सिएको झोला सँकलन गर्ने । काम फत्ते गरे पश्चात यात्रुहरुको लाममा उनीहरु अब मेरो पछि लागे ।  
मैले रोमान्चित हुँदै उनीहरुलाई सम्बोधन गरेँ ।

 कसो नानी नै विर्सिएन् ।

काखको नानी पनि विर्सिएला त ! “

साथमा भएको काखको बच्चा र झोलालाई मैले एउटै गजोले नापेर त्यो अभिव्यक्ति को तीर तेर्स्याएको थिँए ।  तर नानी च्यापेकी युवतीको रक्षात्मक तर्क मिश्रित उनीहरु हाँसो छताछुल्ल भएर पोखियो । मैले उभिँदा उभिँदै तिस वर्ष अघिको प्रसँग सुनाए । कुरैकुरामा मेरो वोर्डिङ्ग पास लिने काम सकियो ।  म प्रस्थान कक्ष तिर लागेँ । उडान हुन केही समय बाँकी थियो । खाली कुर्सी खोजेर म विद्यार्थीहरुको गृह कार्य जाँच गर्न थालेँ । एक्कासी मेरो ध्यान विथोलियो । तिनै युवती एउटा हातले वच्चा च्यापेर र अर्को हातमा दुईवटा झोला झुण्ड्याएर मेरो आडमा वस्न आईपुगिन । उनको अनुहारमा प्रसन्नता थिएन् ।

बच्चाको साथै सामान पनि भएकाले भित्र सम्म आउने मिल्ने पास लिएको थियो । तर वहाँलाई आउनै दिएन् ।
पृष्टभूमिका यी अप्ठ्याराहरुलाई आधार वनाएर हवाई यात्रामा दुई झोलाको साथै बच्चा पनि सम्भाल्नु पर्ने सम्भाव्य अप्ठेरोको सँकेत ओकली रहेकी थिईन् उनी । मैले सहयोगी हात फैलाएँ ।

म मदत गरौला नि त ! “

उनको कुनै जवाफ आएन तर मैले भने मौनतामा स्विकारोक्ति भएको अनुमान गरेँ । अव विद्यार्थीको कापी जाँच गर्ने कार्यलाई थाँती राख्ने प्रेरणाको उदय भै सकेको थियो । मेरो अगाडि दुई पात्र थिए। बच्चीको नाम श्रेया रहेछ । उनीहरु अष्ट्रेलिया वाट केही दिन अघि मात्र नेपाल आएका रहेछन् । काठमाण्डौमा केहि दिन वसेर श्रेयाको मामाघर जान लागेका रहेछन् । बच्चीका बुवा अष्ट्रेलियमा नै काम गर्दा रहेछन् ।

अष्ट्रेलियमा सानो बच्चा लिएर हिड्न कति सजिलो छ तर यहाँ कति गार्हो ।
श्रेयाकी आमाले भनिन् ।

बच्चा बोक्ने क्यारियरको व्यवस्था गरेर हिड्नु भएको भए सजिलो हुन्थ्यो नि त ?”

यस्तो अप्ठेरो पर्ला भन्ने चिताईएन् ।

उनको उत्तरले मलाई अलि आश्चर्यमा पार्यो । काखमा पहिलो बच्चा थियो ।  अष्ट्रेलिया जस्तो सुविधा सम्पन्न मुलुकमा हुर्काउँदा पनि बच्चा स्याहार्ने आधुनिक तरिकाको ज्ञान नहुनु भनेको आश्चर्यकै विषय हो । अथवा ज्ञान भएर पनि नेपाली पाराको बानी चलिहाल्छ नि वा भईहाल्छ नि ले काम गरेको हुन सक्ने अनुमान मैले गरेँ । श्रेयाले शायद भोक लागेको सँकेत दिईरहेकी थिई ।  उनी वोतलमा पाउडर दुध वनाएर ख्वाउन थालिन् ।

उडानको सँकेत सँगै मलाई आकस्मिक तवरमा आईलागेका दुईवटा र आफ्नो गरी तिनवटा झोलाको भारी वोकेर विमान सम्म जाने बसमा उनको पछि पछि गएँ । साँच्चिकै उनैले भनेको जस्तो भयो । सानो बच्चा भएकी आमा वा अरु कुनै असाहाय यात्री भएमा पनि उसलाई मदत गर्न न त विमानका कर्मचारीको न त अन्य यात्रुको नै रवैया देखियो । वसमा यात्रुसँगै जाने विमानका कर्मचारी आफ्नै धुनमा थिए । शायद टिकट सँगै लिएर हो मेरा सहयात्री आमा-छोरी हिड्रने वाटोको अर्को पट्टि ठ्याक्कै दाहिने तिरको सिटमा परे । श्रेया घरि घरि उसलाई असहज भएको सँकेत गर्थी । युवति उसलाई ठूलो बच्चालाई जस्तो गरेर भन्थिन्-

श्रेया ! तिमीलाई के भयो ? किन मामुलाई दु:ख दिएको ? ल एकछिन ज्ञानी हौ त ।

शिशु हुनुको यथार्थ त्यही हो शायद । कार्य सूचिमा एक बुँदे माग हुनु । माग पुरा नहुन्जेल सम्म आन्दोलन जारी राख्नु । उस्तै परे अनसनमा वस्नु । आफूलाई सम्भालिरहेको पात्रको जसरी भए पनि ध्यानाकर्षण गर्नु । आमाको अभिव्यक्ति र प्रयासले उनको विद्रोहको आगो लाई निभाउने काम गर्न सकेको थिएन् । श्रेयालाई वोतलको खानाले पनि भुल्याउन सकेको थिएन् । न  त खेलौना जस्ता कुनै भौतिक वस्तुले । म घरि घरि उनको ध्यानाकर्षण गर्ने प्रयास गर्थे । हातको हाउभाउ र आवाजले । आफ्नै आमा असफल भई रहेको अवस्थामा कुनै पराईले त्यो स्थान पाउने सँभावना झिनो थियो ।  त्यो परिस्थितिले मेरो दिमागमा एउटा नयाँ विचार जन्मायो । श्रेयाले आमाको दूध खान खोजेको हो कि ? प्रस्थान कक्षको बसाई देखि त्यस वेला सम्म युवतिले स्तनपान गराएको देखिएन । एक मनले भन्यो शायद आमाको दुध खाने अवसर श्रेयाको भाग्यमा लेखेको छैन् । अष्ट्रेलियामा जन्मिएर हुर्कनु र आधुनिक सँसारको भोग गर्ने आमा पाउनुको निचोड यस्तै हुन सक्छ । रुप विग्रने डरले कैयौ युवतीहरुले आफ्ना बच्चालाई स्तनपान नगराएर पूर्ण आमा वन्ने अवसर वाट आफूलाई बन्चित गराएका छन् ।  तुरुन्तै मैले एक अठोट गरेँ । छुट्टिने वेला सम्ममा म यो विषय खोतल्छु र कस्तो जवाफ आँउदो रहेछ हेर्छु ।

आमा र स्तनपान सँग जोडिएको एक रोचक प्रसँग केही दिन अघि फेसबुकमा भेटिएको थियो । एक पटक सुनेपछि सँधै सम्झिने यस्ता थोरै मात्रै विषयहरु हुन्छन् । कवितात्मक शैलीको त्यो सामाग्री हिन्दीमा थियो ।

एक पटक आफ्नो वाल्यकालमा फर्कनु होस । जतिवेला तँपाई आमाको काखमा लुटपुटिदै स्तनपान गर्नु हुन्थ्यो । त्यसवेला तँपाईले आमाको एकातिरको स्तनलाई मुखमा लिएर अर्को स्तनमा आफ्ना स-साना खुट्टाले कैयौ पटक हिर्काउनु भयो होला । तर आमाले कहिले पनि स्तनपानवाट तँपाईलाई विमुख गर्नु भएन । एकातिरको अङ्गले चोट सहन गर्दै अर्कोतिरको अङ्गले अमृत पिलाउन सक्ने आदित्तिय क्षमता परमपिता परमेश्वरले कसैलाई दिएको छ भने ति आमा हुन ।

पक्कै हो । स्तनधारी प्राणीका बच्चाहरुको लागि सृष्टिकै सबैभन्दा विशिष्ट खाना हो आमाको दूध । आमाको एउटा हातको सिरानी र अर्को हातको विछ्यौना शायद सँसारकै सबैभन्दा आरामदायी शयनकक्ष हो । स्तनपान गराउँदा गराउँदै आमाका हातका औलाहरुले ताल मिलाएर गरेको स्पर्श वा कपाल मुसारिदिँदाको अनुभूती काखमा लुटपुटिएको नानी लागि निद्राको सँसारमा पुर्याउने अचुक अस्त्रहरु हुन् । यसैले नेपाली लोकोक्तिले भन्छ- “आमाको काख, अरुको लाख । लामो समय सम्म यस्तो अमूल्य अमृतपान गर्न पाउने भाग्यमानी सन्तानमा म पनि पर्छु । स्कूल जाने उमेर सम्म पनि मेरो यो बानी थियो रे । कहिले कहिँ स्मरण गराउनु हुन्छ मेरी आमाले । मेरी बहिनी र मेरो उमेरको बीचमा लामो अन्तराल भएकोले पनि शायद यस्तो भएको होला । हुन ता स्तनपान गराउने चाहना हुँदा पनि प्राविधिक कारणवश कहिले कँहि यो सम्भव नहुन सक्छ । कसै कसैको दुध नै नआउने वा कम आउने भन्ने सुनेको छु । मेरी छोरीले पनि केही महिना पश्चात  यो अवसरवाट बन्चित हुन पर्यो । कारण थियो आमाको स्वास्थ्यमा प्रतिकुलता  

श्रेयाको विद्रोह अझै चर्कदोँ थियो । मलाई लाग्यो शायद यात्रामा स्तनपान मैत्री पहिरन नभएर समस्या भएको हो कि? सृष्टिकर्ताले लाजका गहना र शिशुको आहाराको श्रोत एउटै वनाईदिएका छन् । विज्ञानले भन्छ- त्यो त खाली करौडौ कोष र लचकदार माशँपेशीको डल्लो मात्र हो । माग र परिस्थिति अनुसार कहिले काम वासना त कहिले सबैभन्दा पोषिलो आहारा ओकल्छ । आधुनिक जमानामा अझ अन्य विशेषता थपिएका छन् । लाजका गहनाको आकार, प्रकार र पूर्णता जोडिएको छ नारीको रुप र शौन्दर्य र व्यक्तित्वसँग । आकर्षक शरिर आवश्यक पर्ने चलचित्रको पात्र तथा मोडेलिङ्ग गर्ने नारीहरुका लागि यिनको महत्व अझ वढि छ । तर हाम्रा गाँउघर तिर सार्वजनिक स्थानमा वा अपरिचित व्यक्तिहरुका अघिल्तिर पनि लाजै नमानी स्तनपान गराउने चलन अझै पनि छ । केही समय अघि सम्म शहरमा पनि  महिलाले स्तनपान मैत्री पहिरन ब्लाउज वा चोली लगाउँथे । विमान आफ्नै गतिमा उडिरहेको थियो । मेरो नजिकको सिटमा भने सलल वग्न पर्ने मातृत्वमा कुनै अवरोध रहेको जस्तो भान परेर होला त्यसवेला मेरो मन मष्तिष्क यिनै आरोह अवरोहले भरिएका थिए ।

हामीले लगभग आधा दुरी तय गरिसकेका थियौ । एकाएक श्रेयाको उकुसमुकुस वन्द भएको सँकेत आयो । शायद निद्रा लागेको हो कि भनेर मैले आमा-छोरी तिर पुलुक्क हेरेँ । मेरो अघिको शँकाको पहाडमा एकाएक भूँईचालो आयो । युवती श्रेयालाई स्तनपान गराईरहेकी  थिईन । उनको माथीको लुगा परम्परागत नभएर आधुनिक जस्तो देखिन्थ्यो । ब्लाउज जस्तो देखिने त्यो लुगाको पुछारको भागलाई अलिकता माथी सारेर श्रेयाको माग पुरा गरिएको थियो । हाम्रा आमा हजुरआमा सँग पछ्यौरा हुने गर्थ्यो । त्यसले आमाको बक्षस्थल र शिशुको अनुहार समेत छोप्न मिल्थ्यो । त्यसले आमाको लाज र सँकोच मेटिदिन्थ्यो । युवती प्रतिको मेरो सोच एकाएक परिवर्तन भयो । मलाई एक किसिमको आनन्द लाग्यो । मनमनमा भनेँ- स्तनपान गराएर उनले पूर्ण आमा भएको आभाष दिई रहेकी छिन् । 

आज भन्दा लगभग एक दशक अघिको अर्को प्रसँग ताजा भएर आयो । मेरी श्रीमति अध्ययनको सिलसिलामा २ वर्षका लागि जापान गएकी थिईन । छोरा र छोरी को हेरदेख गर्ने पूर्ण अभिभारा मेरो काँधमा आएको थियो । मेरा साढु दाई ले त्यही मौकामा एक दिन हाम्रो परिस्थितिलाई लक्षित गरेर भन्नु भयो-

ति हाँसे पनि सुख छैन मनमा विर्सेकी आमा भनी ।
ति रोए पनि सुख छैन मनमा सँझेकी  आमा भनी ।।

राष्ट्र कवि माधव घिमिरेले लेख्नु भएका यि हरफहरु एकै भनाईमा मष्तिष्कले टिप्यो र अहिले पनि कण्ठस्थ छन्। यसरी आमाको अभाव व्यहोरेका प्रत्येक बुवाहरुको मन कसरी भक्कानिदो रहेछ भनेर मैले पनि चाल पाँए । यसैकारण होला छोरा छोरीका लागि आमाको जति महत्व छ वुवाको पनि कम छैने । कसैले भनेका छन्- वुवा र आमा, यि दुई पात्रहरु यदि तँपाई सँग छन भने तपाई सँसारकै वैभवशाली व्यक्ति हुनुहुन्छ । 

परिचारिकाले नेपालगन्जमा  विमान अवतरण गर्न लागेको सँकेत दिईन । मैले फेरी युवतिका झोला सम्हाले । आगन्तुक कक्षमा श्रेयाका हजुरबा र हजुरआमा लिन आएका रहेछन् । आमाको मन पनि वच्चाको जस्तै त हो । कति वेला छोरी र नातिनीको मुहार हेर्न पाईएला भनेर एक सुत्रिय पर्खाईमा रहिछन वुढिमान्छे ।  भविष्यको समेत हिसाब गर्दा मेरै अघि तीन जना आमा हरुको अपूर्व मिलन भयो । मैले सोचे- “श्रेयाकी हजुरआमाले पनि पक्कै स्तनपान गराएको हुनु पर्छ । यसैले त्यहाँ भेला भएका दुई नारीहरुलाई  पूर्ण आमाको उपाधि दिन सकिन्छ । एक दिन श्रेया पनि आमा बन्छे । तर उ पनि के पूर्ण आमा बन्लि त ? यो मेरो प्रश्नको उत्तर शायद उनै सृष्टिकर्ता या त समयले मात्र दिन सक्लान् । अफसोच पहिलोको यहाँ प्रत्यक्ष उपस्थिति छैन । दोस्रोले उत्तर दिने वेला नै भएको छैन् ।

वर्तमान समयले त अव मेरा हवाई यात्रामा भेटिएका पात्रहरु सँग छुट्टिनु पर्ने वेला भएको सँकेत दिई रहेको थियो । यसैले उनीहरुसँग विदाईका हातहरु हल्लाउदै म आफ्नो गन्तव्य तिर लाँगे । 

पूर्वान्ह ४ बजे
आमाको मुख हेर्ने दिन
वैशाख १६, २०७१
कोटेश्वर, काठमाण्डौ