Saturday, December 24, 2016

शौचालय भ्रमण



धुलिखेल केन्द्रिय क्याम्पसमा दुई घण्टाको कक्षा सकेर भर्खर बाहिर निस्केको मात्र थिएँ । मोवाईलको घण्टी बज्यो । यसो हेरेँ । ल्याण्डलाईनको कुनै अपरिचित नम्बर थियो । कुनै कार्यालय कै होला भन्ने अड्कल काटेँ ।
"सर नमस्ते । म हिमालय टाईम्सवाट पार्वती थापा मगर बोल्दैछु ।" शिष्टाचारयुक्त स्पष्ट बोली र परिचित जस्तै गरी व्यक्त गरिएको अभिवादन सुनियो ।  

तर पार्वतीसँग यसअघि भेट भएको वा कुराकानी भएको सँझना फ्याट्ट आएन ।  

"मैले के सेवा गर्न सक्छु त पिटियमजी लाई ।" उनको नाम र थरका सिरानका तीनवटा अँग्रेजी अक्षर टिपेर सम्बोधन गरेँ । उनको हाँसो प्रष्ट सुनियो । मेरो प्रत्युत्पन्न शैली उनलाई रोचक लागेछ ।

भोलिपल्ट शनिवार 'विश्व शौचालय दिवस' थियो । यो मौकामा उनको पत्रिकाले एक परिशिष्टाङ्क प्रकाशित गर्ने निधो गरेको रहेछ । त्यसका लागि सामाग्री बटुल्न मेरो अन्तर्वार्ता लिन खोजेकी रहीछन ।
मैले दिँउसो तिन बजे पुल्चोक पुग्नु थियो । यसर्थ हामीले दुई बजे कोटेश्वरमा भेट्ने सल्लाहा मिलायौँ । कोटेश्वरको सार्वजनिक शौचालयको पनि सँयुक्त निरिक्षण गर्ने योजना बन्यो । उनलाई मोवाईलवाट मिस कल गर्न लगाएँ । नम्बर नोट गरेँ ।

कोटेश्वरमा ओर्लिएर सार्वजनिक शौचालय र ट्राफिक प्रहरी कार्यालयको वीचमा पर्खने ठाउँको खोजिमा लागेँ । एक चमेना गृहले राखेका खाली स्टूलहरु देखिए । म घाम परेको एउटा रोजेर बसेँ । दुई बजिसकेको थियो । पार्वतीलाई फोन सम्पर्क गरेँ ।

"हेलो पिटियम जी ! हजुर कता पुग्नु भो ?"

"म तीनकुने आईपुगेँ सर ! हजुर कहाँ पुग्नु भयो ?"

"म त कोटेश्वर पुगीसकेँ ।"

"हजुर कहाँ निर हुनुहुन्छ ? अनि मैले कसरी चिन्ने होला ?" उनले सोधिन । पहिलो वाक्यमा कौतुहलताको अँश अधिक थियो । दोस्रोमा विनोदी भावको । 

"ट्राफिक प्रहरी कार्यालय र शौचालयको वीच भागमा छु । त्यहाँ स्टूलमा वसेर वदाम खाईरहेको राजकुमार जस्तो सुन्दर युवक नै तपाईले खोजेको व्यक्ति हुनेछ ।"

मेरो जवाफ सुनेर उनी फेरी खित्का छोडेर हाँसिन । मैले नजिकै पसल थापेकी आमै सँग वदाम किने । पारिलो घामको सितन सँग बदाम खान थालेँ ।

उनी मुस्कान छर्दै आईपुगिन । हट्टाकट्टा गठिलो शरिर । खाट्टी मँगोलिन अनुहार । आँखामा चश्मा । जिन्स पाईन्ट र ज्याकेटको पहिरन । कानमा सुन्ने ठेडी कोचेका । मोवाईल खल्तिमा राखेर उनी सुन्ने तारमा जडित माईक्रोफोनवाट म सँग कुरा गर्दै थिईन भन्ने अनुमान गर्न वेर लागेन ।

"कस्तो रमाईलो हुनहुँदो रहेछ सर त ।" एक अर्काले खोजेका व्यक्तिहरु हामी नै हौ भन्ने ठोकुवा भएपछि उनको पहिलो प्रतिकृयामा नै प्रशँशाका फूल फुलेका थिए ।

"यो त कास्टिङ् मात्रै हो । चलचित्र त पुरै बाँकी छ ।" घाँटी सम्म आईपुगेको यस्तो जवाफलाई पनि मैले दबाएँ । आखिर वोलीको पनि त साईत हुन्छ । जवाफ भित्रै दवाईएता पनि वाहिर भने म मुस्कुराएँ ।
हामी दुवै हलुका स्नायुमा एकसुरले कुरा गर्दै शौचालयको साझा कक्षमा पुग्यौ ।

"सर, हजुर उता अनि म्याडम हजुर चै यता ।"

हामी दुवै 'शौच गर्न आएका अनि अलमलमा परेका' जस्तो भान भएछ त्यहाँका शौचालय हेरालुलाई । त्यसैले उनले हामीलाई सतर्क गराउँदै महिला र षुरुष कक्ष देखाईदिए ।

मेरो मन आत्तियो । "काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर" हुने पो छाँट आयो । त्यसैले मैले हाम्रो भ्रमणको विवरण दिनु ढिला गर्नु नहुने ठानेँ ।                                                                       
"वहाँ पत्रकार अनि म ईन्जिनियर । भोलि विश्व शौचालय दिवस मनाईदै छ । यस विषयमा वहाँको पत्रिकाले एक परिशिष्टाङ्क निकाल्दै छ । काठमाण्डौमा भए मध्येको राम्रो शौचालय तपाईँहरुकै हो भन्ने सुनेकाले आएका हौँ। हामी दुवै जना पुरुष र महिला दुवै कक्षको निरिक्षण गर्न चाहान्छौ ।"

"महिलातिर म्याडमले हेर्नु । पुरुषतिर हजुरले हेर्नु,  हुँदैन र ? कोही आईहाल्यो भने हामीलाई अप्ठ्यारो हुन्छ ।" व्यवस्थापन पक्षले हाम्रो ईच्छा पचास प्रतिशत मात्र पुरा गर्ने उपाय सुझायो ।

"एकै छिन त हो । हजुरहरुले यहाँ पहरा दिए कसो होला । कोही आईहाल्यो भने एक छिन पर्खन अनुरोध गर्नु ।" मैले उपाय सुझाएँ ।

वास्तवमा सामान्य अवस्थामा महिला शौचालयमा पुरुष प्रवेश वा पुरुष शौचालयमा महिला प्रवेश भनेको अनौठो नै हुँदो हो । तर म पनि आक्कल झुक्कल यस्तो दुर्घटनामा परेको छु । विश्वविद्यालय लगायतका अन्य सार्वजनिक निकायहरुमा शौचालयमा सरसफाईका लागि पनि पुरुष कक्षमा लोग्नेमान्छे र महिला कक्षमा स्वास्नीमान्छे खटाईएको पाईन्छ । तर थाईल्याण्डमा भने पुरुष कक्षमा पनि निर्धक्क स्वास्नीमान्छेहरुले सरसफाई गरेको देखेको थिएँ । त्यसो गर्दा शौच गर्ने कतिपय पुरुषहरुलाई भने उल्टो लाज भएको भन्ने सुनेको थिएँ ।

"हुन्छ नि त । तर चाँडै गर्नु होला ।" सन्चालकले अनुमति दिए ।
ओलम्पिक खेलकुदमा सिठ्ठि फुक्ना साथ खेलाडी दौडे जस्तो पत्रकार र ईन्जिनियरको जोडीले महिला शौच कक्ष भित्र प्रवेश गर्यो । ढोकाको व्यवस्था गरिएका स-साना छ वटा खण्ड देखिए । खुट्टा टेकेर बस्न मिल्ने प्यान, पानीको धारो र पानी थाप्ने मग देखिए ।

"फ्लस गर्ने ट्याङ्की चै भाँचे ।" सन्चालक मित्रले भने । उनी हाम्रा पछि उभिएका रहेछन ।

"बाहिर पहरा दिने भनेको हैन । हजुर त भित्रै आउनु भएछ त फेरी ।" मैले अलिकति रमाईलो सिर्जना गर्ने धेयले भने ।

"यस्तो विशेष परिस्थितिमा त भित्र पनि पहरा दिनु पर्यो नि । बाहिर साथीलाई अराएको छु ।" उनले पनि वार्तालापमा बेजोडको रँग थपे ।

मैले पार्वतीको अनुहार तिर हेरँ । उनले मेरो अनुहार तिर हेरिन । हामीले मुखामुख गर्यौ । अनि एकै चोटि खित्का छोडेर हाँस्यौ । हाम्रो हाँसोसँग सन्चालक महोदयको मुस्कान मिसियो ।

"हजुरहरु हाँसेको के बुझेर हो मैले बुझिन । तर मैले भित्र पनि पहरा दिनु पर्छ भन्नुको कारण हजुरले यहाँ महिला कक्षमा शौच गर्नु होला कि भनेर हो । कोही कोही केटा मान्छे त कस्तो न होला भनेर हौसिन वेर छैन नि त ।" उनले शौचालयको भीत्री भागमा पनि पहरा दिनुको कारण जौडे नै दिए । "हजुरले" भन्दा म तिर पुलुक्क हेरे । उनको तर्कमा दम थियो ।  

"हो त नि 'महिला शौचालयमा पुरुष प्रवेश' भन्ने त समाचारको मूल शीर्षक नै बन्न सक्छ नि, होईन त पत्रकार महोदय ?" मैले पार्वतीलाई सम्बोधन गर्दै कुरो लाई किनारा लगाएँ ।

भित्तामा शौचालय प्रयोग गर्दा  र स्नान गर्दा लाग्ने शुल्क लेखिएको थियो । दिसा गरेको दश रुपैया र पिसाब गरेको पाँच रुपैया लेखेको थियो । शूल्क सूचिमा महिला र पुरुषमा विभेद थिएन । तर मैले समस्याको एउटा चुरो कुरो बुझेँ । पुरुष कक्षमा दिसा र पिसाब गर्ने छुट्टा छुट्टै सुविधा थिए तर महिला तिर थिएनन ।  

"महिलालाई दिसा गरेको कति रुपैया शुल्क लिने गर्नु भएको छ नि ?" मैले सन्चालक मित्रको ध्यानाकर्षण गराएँ ।
"समस्या नै यहि हो सर । लामो छोटो के गरिस भनेर सोध्न मिल्दैन । पुरुषको जस्तो छुट्टै व्यवस्था भएको भए जता जान्छ त्यसको हिसाबमा शुल्क लिन हुन्थ्यो । महिलाको त जे गरे पनि पाँच रुपैया लिन्छौ ।" उनले भने ।

"यसको मतलब सार्वजनिक शौचालयमा महिलाले दिसा गर्दैनन् । राजस्व सँकलनको आँकडाले त्यही देखाउने भो, हैन त ?" पार्वती त आखिर पत्रकार न परिन । रोचक निचोड निकालिन ।

हामी महिला कक्ष पछि पुरुषको पिसाब फेर्ने कक्ष तिर लाग्यौ । उभिएर फेर्न मिल्ने युरिनलहरुको व्यवस्था गरिएको रहेछ । कतिपय शौचालयहरुमा स-साना नानीहरुका लागि होचा युरिनलहरुको व्यवस्था गरिएको हुन्छ । विदेशका सार्वजनिक शौचालयमा भने फरक क्षमताका प्रयोगकर्ताका लागि पनि छुट्टै व्यवस्था गरिएको हुन्छ । नेपालमै पनि भृकुटिमण्डपमा भएको एक शौचालयमा भने सीमान्तकृत वर्गका लागि मैले एउटा यस्तो शौच-कक्ष देखेको स्मरण भयो । देख्दा सामान्य लागे पनि प्राविधिकहरुले शौचालयको निर्माण गर्दा विचार गर्नु पर्ने यस्ता महत्वपूर्ण विषयहरु छन ।
हामी यिनै विषयहरुको टिपोट गर्दै थियौँ । मैले फेरी रमाईलो उमार्ने जमर्को गरेँ ।

"यहाँ त वहाँ महिला पत्रकार महोदयले शौच गर्ने सँभावना शुन्य छ नि त । फेरी किन पहरा दिई रहनु भएको छ ।" मैले आँखा झिम्क्याउँदै सन्चालक मित्रलाई सोधेँ ।

"के ठेगान, मौका पाए महिलाले पनि उभिएरै फेर्न के बेर ?" मित्रले अनपेक्षित उत्तर दिए ।

"सही हो । अहिले अन्य कतिपय मुलुकमा महिलाले पनि उभिएरै पिसाब फेर्ने सुविधा बनेका छन ।" मैले केही समय अघि दि ईकोनोमिष्ट पत्रिकाले उल्लेख गरेको एक समाचार सँझिदै भने । 

"वाह ! ईन्जिनियर साहब । क्या बात ! शौचालय प्रयोगमा पनि लैङ्गिक समानता अधिकार्मीहरुको लागि त यो हरियो घाँस नै भयो । अनि हाम्रा लागि पनि पहिलो पृष्ठमा नै छापिने समाचार बन्न सक्छ ।" पत्रकार मित्रको रसिलो उद्गार प्रस्फुटन भयो ।    

"तर पार्वती जी, असमानताको खाडल पनि त हेर्नुहोस न । महिलाका लागि छ वटा शौच-कक्ष छन । पुरुषका लागि भने त्यसको दुई गुणा भन्दा पनि बढी । अझ पुरुषलाई भने दिसा र पिसाब गर्न अलग अलग सुविधा छन ।" मैले हाम्रै आँखा अघि देखिएको यथार्थलाई प्रतिनिधि बनाउँदै अधिकाँश सार्वजनिक शौचालयहरुमा भएको सँख्यात्मक असमानतालाई ईगित गरे ।

वास्तवमा अहिले सडकमा, सार्वजनिक स्थलमा र सेवाप्रदायक निकायहरुमा नारी उपस्थिति ह्वात्तै बढेको छ । महिला चालक भएको कुनै सार्वजनिक सवारी साधनमा शतप्रतिशत यात्रु महिला भएको दृष्य अव अनौठो भएन । केही समय अघि सम्म काठमाण्डौ लगायत मुलुकका प्रमुख शहरहरुको भीडमा महिलाहरुको उपस्थिति न्युन हुन्थ्यो । उपस्थित भएका महिलाहरु पनि या त काखमा सानो बच्चा च्यापेर हिँडेका देखिन्थे या त आफ्नो अभिभावक वा कोही दौँतरी सँग हुन्थे । एक्लै हिँड्दैन थे । विहान झिसमिसेमा नै या रात्रीको समयमा एक्लै हिड्नै युवतीहरुको सँख्या त शून्य वरावर हुन्थ्यो । तर अहिले परिस्थिति फेरिएको छ । अर्थशास्त्रीहरु या नीति निर्माताहरुका लागि अर्थतन्त्रमा भएको उल्लेखनीय नारी सहभागिताको यो आयाम विभिन्न हिसाबले अर्थपूर्ण होला । तर वातावरण ईन्जिनियर वा सेवा प्रदायक सँस्थाहरुले अव बन्ने सार्वजनिक शौचालयमा पुरुष र महिला दुवै समूहको लागि आवश्यक पर्नै शौच-कक्षहरुको सँख्याको पूर्वानुमान गरि व्यवस्था गर्न बान्छनीय देखिन्छ ।

अध्ययनले पुष्टि गरे अनुसार पुरुषलाई पिसाब गर्न सालाखाला आधा मिनट समय लाग्छ भने स्त्रीलाई एक मिनट । यो भने जैविक आवश्यकता हो । यसकारण उतिकै भीड हुने स्थानमा शौचालयको योजना वनाउदाँ पुरुषको भन्दा महिलाको शौच-कक्ष सँख्या दुई गुणाले बढी हुनु जरुरी हुन्छ । महिला शौचालयमा ढोका वन्द गर्ने सुविधा पनि हुनु पर्छ । ढोका नभएको वा बन्द नहुने शौच-कक्ष हरुमा कतिपय प्रयोगकर्ताहरुलाई असाध्यै अप्ठेरो लाग्छ । बदलिदो परिवेश अनुसार खासगरी महिलाको पहिरनमा पनि परिवर्तन आएको छ । अहिले अधिकाँश महिलाहरुले पाईन्ट लगाउँछन । सार्वजनिक शौचालयका अधिकाँश प्रयोगकर्ताहरु सक्रिय उमेरका युवा युवती हुन्छन । बृद्ध र बालबालिकाको सँख्या कम हुन्छ। यसकारण सुविधा प्रयोग गर्दा पहिरनको पनि असर पर्छ । सेवा प्रदायक निकायहरुले विचार गर्नु पर्ने केही महत्वपूर्ण विषयहरु यिनै हुन ।

"अहो ! ईन्जिनियर साहब ! सार्वजनिक शौचालयसँग जोडिएका समस्याहरु त बर्गेल्ती पो रहेछन ।" मेरो कुरा सुनेर पार्वतीले लामो श्वास फेर्दै भनिन । 

"हो त नि । पुगेन त अब पत्रकार महोदयलाई भारी ?" जवाफमा मैले भने ।

"आजलाई भारी पुग्यो । अव जानु पर्छ ।" पार्वतीले भनिन ।

"थप केही हुँदा फेरी आए पनि हुन्छ नि म्याडम । तर अर्को पल्ट आउनु भयो भने पहरा बस्न नपर्ने गरी आउनु होला है ।" सन्चालकले पनि रमाईलै गरी विट मारे ।

हामी हाम्रो काम र दिन सफल भएको अनुभूति गर्दै आ-आफ्नो बाटो लाग्यौँ ।

मसिर ०८, २०७३
धुलिखेल, काभ्रे
प्रकाशित मिति: मँसिर १८, २०७३ (December 03, 2016)
प्रकाशक : हिमालय टाईम्स
  

Friday, December 2, 2016

उज्यालोको खोजीमा बेसीँशहर, खुदीबजार घुमेर बन्दीपुर

चारवटा गाडी, एघार जना यात्रु र चार जना चालकले हाम्रो यात्रा टोलीको सँरचना बनेको थियो । यात्राको गन्तव्य सूचिमा थिए, मर्स्याङ्दी नदीमा बनेका तीन र खुदी खोलाको एक गरी चार वटा जलविद्युत केन्द्रहरु । यस्तै बाटामा पर्ने अध्ययनको चरणमा रहेको बहुचर्चित बुढीगण्डकी जलविदयुत परियोजना स्थलको पनि अवलोकन गर्ने योजना थियो ।

कलङ्कीमा भेटेर चारैवटा गाडी सँगै जाने सल्लाहले मूर्तरुप लिन सकेन । यसको एक मात्र कारण थियो- कलङ्कीदेखि नैकापसम्म सहज तरिकाले गाडी रोकेर पर्खने ठाँउ कतै नभेटिनु । यस्तो बेलामा मोवाइल फोनले गज्जबको काम दिन्छ । को-कता पुग्यो ? कसलाई कतिबेर पर्खनु पर्छ ? कसैलाई केही समस्या पर्यो कि ? तुरुन्त थाहा हुन्छ ।

एघार जनाले एक अर्काको अनुहार हेर्दै वोल्ने अवसर प्राप्त गर्न नौविसेबाट केही किलोमिटर अगाडि रहेको ह्याम्लेट रेष्टुरेण्ट  नै पुग्नु पर्यो । आफैले परिकार पस्केर आफैले चाहेको परिमाण लिन मिल्ने तरिकाको खाजा र तातो चियाले हाम्रो भोक शान्त पार्ने र बिहानको तलतल मेटाउने काम गरे। चमेना गृह भरिभराउ थियो । विदेशीहरु पनि प्रशस्तै । यो गतिविधिले पृथ्वी राजमार्गमा पर्यटन सेवाको व्यवसायिकता बढेको सँकेत गरेको भान भयो । तर यो सोच धेरै वेर पाल्न सकिएन ।

ह्याम्लेटबाट अघि बढ्ना साथ 'पहिलो गाँसमा नै ढुँगा' लागेको अनुभूति हुने एउटा अनौठो घटना सिर्जना भयो । हाम्रो एउटा गाडिलाई ट्राफिक जवानले सिटी फुकेर रोके । सिधै चालकको लाईसेन्स मागे र उनलाई सडक किनारामा रहेको ट्राफिक कार्यालयमा केरकार गर्न लगे ।

"किन विदेशीलाई गाडीमा बोकेको ? जरिवाना नतिरी जान पाईन्न ।" केरकार गर्ने प्रहरी अधिकृतले निर्णय सुनाए ।

"वहाँ विदेशी होईन । नेपाली नागरिक हो ।" चालकले सफाई दिए ।

विदेशीलाई नीजि गाडीमा लान नपाईने ? विदेशीले हवाई यात्राको भाडा बढी तिर्नु पर्ने ? विदेशीले शौचालय प्रयोग गरेको बढी शुल्क तिर्नु पर्ने ? यी अलौकिक नियम र प्रचलनहरु सर्वमान्य सिद्धान्तमा आधारित छैनन् । तर विगतमा गरिएको कुनै अदुरदर्शी निर्णयको आडमा केही स्वार्थ केन्द्रको फाइदाका लागि यी जड भएर बसेका छन् । तर सही नेतृत्वको फेला परे परिवर्तन गर्न असम्भव छैन । आफ्नो अघि उत्पन्न प्रतिकुल परिस्थितिमा हामीले कुनै प्रतिकृया जनाएनौ तर मन थामेर सकारात्मक सोचको कित्ता सिर्जना गर्ने तिर लाग्यौ ।   

पक्राउ परेको गाडीको अग्रसीटमा यात्रा सँयोजक रुपाजी थिइन । उनको व्यक्तित्व, रुप र लावण्य गैर-नेपालीको जस्तो भएकोले ट्राफिकको शँकाको बाकस उघ्रिएको थियो । तर बाकस रित्तो देखेर उनीहरुले 'दिनभरीको शिकार कान्छा बाउको अनुहार' भन्ने उखान सम्झिए होलान् । हामीलाई भने आश्चर्य र हाँसोले भरिएको वार्तालाप गर्ने टेको प्राप्त भयो।

"ल ! हाम्रो यात्राकी हिरोइनको त टुँगो ट्राफिकले लगाई दियो ।" रुपालाई लक्षित गर्दै कुनै मित्रले टिप्पणी गरे ।

"हिरोको टुँगो भने त्यति सजिलै नलाग्ला ? कडा प्रतिस्पर्धा हुने छाँट छ ।" अर्का मित्रले थपे ।

हाम्रो एघार जनाको टोलीमा दुई जना मात्र महिला थिए । ट्राफिकको ठम्याइलाई आधार नबनाए पनि दुईबाट एक छान्ने काम धेरै कठिन थिएन । अर्कातिर पुरुषहरुको बीचमा पनि 'को भन्दा को कम' को स्थिति थियो । विज्ञता, अनुभव, र व्यक्तित्व को हिसाबमा एउटा माछापुच्छ्रे जस्तो लाग्थ्यो भने अर्को अन्नपूर्ण । यसरी यात्रा टोलीको सहभागिताको विशिष्टता एकातिर थियो भने अर्कातिर नेपाल विकास अनुसन्धान प्रतिष्ठानका कार्यकारी निर्देशक डा. जयकुमार गुरुङ्को प्रत्यक्ष निर्देशनमा तय गरिएको उच्चकोटिको यात्रा-प्रबन्धको स्तर । यसैले यो यात्रा हरेक दृष्टिले अविष्मरणीय हुनेछ भन्नेमा हामी विश्वस्त थियौँ ।

वेनीघाटमा पुगेपछि हाम्रा सवारी साधनहरु त्रिशुली नाघेर गोर्खा जिल्लाको आरुघाट जाने सडक तिर लागे । बुढीगण्डकी र त्रिशुलीको दोभानको निकट गल्छीमा नै निर्माण गर्ने योजना भएको जलविदुत परियोजनाको सेतुबन्ध अर्थात ड्याम निर्माण हुने स्थलको अवलोकन गरियो ।

"उ त्यो झ्याम्म परेको रुखसम्म पानीको सतह पुग्ने अनुमान छ ।" बुढीगण्डकी जलविद्युत परियोजनाका अध्यक्ष डा. लक्ष्मीप्रसाद देवकोटाले बताउनु भयो ।

"यो त पत्याउनै हम्मे पर्ने विषय पो भयो त ।" कसैले टिप्पणी गरे । देखाइएको रुख हामी उभिएको ठाँउबाट एक सयमिटर जति माथी थियो ।   

'त्यसै ईन्जिनियर । कुलेखानीमा पनि ड्याम वन्नु अघि यसै भन्थे होला ।" अर्का मित्रले सटीक तरिकाले जवाफ दिए । अब पनि नपत्याउनुको कुनै अर्थ थिएन ।    

कुरिनटारको मनकामना दर्शन गर्ने केबुलकार स्टेशन पुग्नु भन्दा अघि सडकको दायाँ किनारामा रहेको रिभरसाईड रिसोर्टमा हाम्रो दिवा-भोजनको प्रबन्ध गरिएको थियो । सुन्तला पाईने मौसम । गोर्खा जिल्लाको सामिप्यता । रिसोर्ट परिसरमा खुला आकाश भएको कौशीमा बसेर पारिलो घाम ताप्दै सुन्तलाको ताजा जुसले भोजनको शुरुवात गरियो । पृष्टभूमिमा त्रिशुली बगेको दृष्य र नदी सुसाएको आवाज थिए । यसरी मिहिन रुपले समायोजन गरिएका कृयाकलापका कारण आनन्द र हर्षको मर्करी आकाशिएको थियो ।

दिवा भोजन पश्चात हाम्रा सवारी साधनहरु पृथ्वी राजमार्गको सीमारेखामा नै जोडिएर रहेको मर्स्याङ्दी जलविद्युत केन्द्र परिसरमा पुगेर रोकिए । यो जलविद्युत केन्द्रको सिरानतिर अन्य दुईवटा नयाँ जलविद्युत केन्द्रहरुको निर्माण भएकाले यसले अहिले 'तल्लो' को उपमा पाएको छ । तर त्यहाँका पदाधिकारीहरुको सँगको अन्तर्क्रिया पश्चात हामीले निचोड निकाल्यौ-यो त मर्स्याङ्दी नदीको 'जेठो' मात्र होईन अहिले सम्म अनवरत रुपमा अत्यधिक सामर्थ्यले विद्युत उत्पादन गर्ने सर्वोत्कृष्ट पूर्वाधारको नमूना पो रहेछ ।

"बाघ बुढो र स्याल तन्नेरी मिल्दैन ।" मैले लोकोक्ति स्मरण गरेँ ।

कारण नभई कारक हुँदैन । केन्द्रको सफलताको एक कारण रहेछ-पदाधिकारी र कर्मचारीको दृढ मनोबल र उच्च आत्मविश्वास । वर्तमान परिप्रेक्ष्यमा जलविद्युत केन्द्रलाई विभिन्न प्राविधिक कठिनाईका वावजुद पूर्ण क्षमतामा सन्चालन गर्न सक्नु नै साहसिक र प्रशँशनीय काम भएको हाम्रो ठम्याई रह्यो ।  यो कार्यमा जुटेका त्यहाँका कर्मचारीको कर्तव्यपरायणता र हामीलाई प्रदान गरिएको आथित्य सत्कारको मुक्त कण्ठले प्रशशा गर्यौ ।

नदीको पानीको धार परिवर्तन गरी सुरुङ्मा पठाउन निर्माण गरिएको सेतुबन्ध र थिग्य्राउने पोखरीको अवलोकन सक्दा नसक्दा साँझ पर्नै लागेको थियो । हामीले केन्द्रका कर्मचारीवर्गसँग बिदाईका हात मिलायौ र वेँसीशहरको लागि प्रस्थान गर्यौ ।

डुम्रे पुग्नु अघि नै हाम्रा गाडिका हेडलाइट बलिसकेका थिए । डुम्रे - बेँसीशहर सडक खण्डको चार पाँच स्थानमा मदिरा पिएर लठ्ठ भएका व्यक्तिहरुले हात उठाएर गाडि रोक्ने प्रयास गरे । मापसेको राष्ट्रिय रोग बडो बिचित्रको छ । रोजगारी, जीविकोपार्जन, वृतिविकास, बन्धुत्व, पारिवारिक सामान्जस्यता र देश निर्माण आदि सबै विषयलाई मापसे प्रवृतिले गौण बनाई दिएको छ । सम्भवत: नेतृत्वपङ्तिका लागि कौशलता देखाउन मिल्ने अथाह अवसर भएको अर्को महत्वपूर्ण क्षेत्र मापसेको नियमन गर्ने काम हो ।    

रात्रीको साढे सात बजे बास बस्ने होटलमा पुगियो । पहाडको भित्तालाई हलुका हिसाबले सम्याएर ठूलो क्षेत्रफलमा बनाईएको होटल आकर्षक थियो । हामी मध्ये अधिकाँशलाई बेँसीशहरले पहिलो पटक स्वागत गर्ने शौभाग्य पाएको थियो । तर होटल व्यवस्थापनको लापरबाही र आतिथ्य सत्कारमा देखिएका कमीकमजोरीले हाम्रो मन जित्न सकेन ।

मलाई कोठा देखाउने ठिटाको रुप सामान्य थिएन । उसले होटलमा काम गर्दा लगाईने औपचारिक पोशाक लगाएको थिएन । उसको अघिल्तिरको कपाल फेदै लगाएर काटिएको थियो भने पछिल्तिर जुरेलीको जस्तो पुच्छर पालेको थियो । मेरो कोठामा बत्ति बलेन । मेरो गुनासोलाई ठिटाले सम्बोधन गर्ने बाचा त गर्यो तर उ मलाई उभ्याएर दश मिनट जति हरायो । कोठाको बत्ति बाल्ने क्रममा म उसको नजिकै पुगेँ । मुख ह्वास्स गनायो । मापसे गरेको यो पात्र सँगको मुठभेडले सावधानीको छैटौ इन्द्रिय जागरुक भयो ।

खानाको परिकार छनौट गर्ने क्रममा अर्को आश्चर्यको पदार्पण भयो । रेष्टुरेन्टमा कागती थिएन । होटलको बारमा अन्तराष्ट्रिय स्तरका महँगा चार पाँच थरीका मदिरा बिक्रिमा थिए । तर लमजुङ् जस्तो पर्यटनको बिँडो थामेको पहाडी जिल्लामा अवस्थित होटलमा जाबो कागती थिएन । मेनुमा लेखिएका र हाम्रो टोलीको पहिलो छनौटमा परेका केही परिकार नबन्ने सूचना बोकेर जुल्फे र उसका साथीहरु उभिएका थिए । त्यहाँ प्रतिकृयात्मक हुनुको कुनै अर्थ थिएन । यसैले मैले कुशल व्यवस्थापनको सिद्धान्त अनुरुप उवलब्ध साधन र श्रोतमा टेको लगाउने निधो गरेँ । विहान चाँडै उठेर ध्यान गर्ने र सूर्य उदय सँगै सूर्य नमस्कार गर्ने धोको थियो । मैले जुल्फेलाई हौस्याएर छतमा ओछ्याउने म्याटको व्यवस्था गर्न अराएँ ।

नभन्दै म विहान साढे चार बजे छतमा पुग्दा म्याट बेरेर राखिएको पाएँ । खुसीले गदगद हुँदै जुल्फेलाई मन मनमा धन्यवाद दिएँ । आधा घण्टा सम्म मौन ध्यान गरेँ । आकाशमा तारा स्पष्ट देखिएका थिए । दृष्टिरेखाको अन्त्यमा भीमकाय पर्वत श्रृखँला थिए । दिशाबोध हुन सकेन । अनुमानित पूर्व दिशातिर फर्केर बसेँ । यो जीवनकालमा नै अनुभुति गरिएको एक विशिष्ट मिर्मिरे बिहान थियो । चिसो हावाको स्पर्श । परवाट आएको मर्स्याङ्दीको स्वा: को प्राकृतिक आवाज । आकाश छोएर उभिएका डाँडाले मनलाई रोमान्चक बनाए । विस्तारै उज्यालोको मात्रा बढ्दै गयो । साढे पाँच तिर डा. दिवस मेरो कित्तामा मिसिन आउनु भयो । हामी दुईले ध्यान सम्बन्धित एक अडियो सुन्यौ । हर्षको सगरमाथा त्यसवेला सिर्जना भयो जब एकाएक दुई पहाडको बीचमा हिमालको सेतो चुलि देखियो । म हत्तपत्त मोवाईल ठीक पारेर हिमालको दृष्य कैद गर्न लागेँ ।

यो अवर्णणिय मनोहर दृष्यको तस्विर लिने क्रममा मेरो मोवाईलको क्यामेराको सीमा थाहा भयो । हिमालमा फोकस गरे नजिकको वस्तु स्पष्ट नदेखिने । नजिकको वस्तुमा फोकस गरे हिमाल नदेखिने।

"भेटिस आज भने । बडो राम्रो तस्विर खिच्छु भनि फुर्ति लगाउँथिस नि ।" मैले कल्पना गरेँ । यदि मोवाईल चेत भएको जिवित प्राणी भएको भए म यस्तै भन्थे होला ।

कतै पढेको स्मरण भयो-

"आँखाले देख्ने पनि एउटा दायरा हुन्छ । यीनले धेरै टाढाको वस्तु देख्दैनन । यसैले हेर्दै गरेको हवाईजहाज एकाएक हराउँछ । आँखाले धेरै नजिकको पनि देख्दैन । न त परेला देख्छ न त गाजल ।"

आफ्नो तस्विर खिच्नुको खासै अर्थ थिएन । यसर्थ हिमाल र सूर्योदयको अघाउन्जेल खिचियो । उदाउँदो सूर्यलाई निशाना बनाएर सूर्य नमस्कार पनि गरेँ ।

हाम्रो खाजा खाएर आठ बजे निस्कने सल्लाहा थियो । तर धारामा पानी नै आएन । धारो बल्ल बल्ल रसायो । तर पनि तातो पानी आएन । बाल्टीमा जम्मा गरेर नुहाउने विचार गरेँ । स्नान कक्षमा बाल्टी थियो तर मग थिएन । आगन्तुक कक्षमा फोन गरेर मग मगाएँ । जुल्फेको साथीले स्टिलको कचौरा लिएर आयो । यस्तो चर्तिकला देख्दा मलाई होटल व्यवस्थापन प्रति दया लागेर आयो । यस्तो ठाँउमा पनि ग्राहकलाई सेवा दिन नसक्नु भनेको लाजमर्दो नै हो । कल्पना गरेँ-झन पर्यटकहरुको हालत के हुन्छ होला ?

विहानको खाजामा सुन्तलाको ताजा जुस पिउने मेरो विचार थियो । तर होटलको ताल देखेर त्यो पाईएला भन्ने कुरामा शँका लाग्यो । नभन्दै त्यही भयो । ताजा जुस हुने कुरो थिएन । तर जुसको सट्टा दुध भने पाईयो ।  
हाम्रो टोली निर्धारित समयमा मित्र राष्ट्र चिनको सिनो हाईड्रो कम्पनिले हालै निर्माण सम्पन्न गरेको "उपल्लो" अर्थात "कान्छो" मर्स्याङ्दी जलविद्युत केन्द्रको विद्युत गृहमा पुग्यो । एक नेपाली ईन्जिनियरले हाम्रो स्वागत गरे ।  मर्स्याङ्दी लगायत नेपालका प्राय नदीमा द्रुत गतिमा जलविद्युत केन्द्रहरुको निर्माण भई रहेको छ । यस हिसाबले यो केन्द्रको "कान्छो" उपाधि खोसिएर केही समय पछि नै 'साँहिलो' हुने यथार्थ हाम्रा अघि थियो । मेरो मनमा भने साबिकको "कान्छो" केन्द्रको बारेमा कौतुहलको रुपमा एक प्रश्न रहेको थियो ।

"पचास मेगावाट क्षमताको यो आयोजनाको निर्माण तिन बर्षमा नै कसरी सम्पन्न भयो ? जबकी अरुले जस्तै यस्ले पनि भुँईचालो र नाकाबन्दीको सँकट ब्योहोर्नु परेको थियो ।"

विद्युत गृहको कन्ट्रोल रुममा चिनिया प्राविधिकहरुको सहयोगीको रुपमा भेटिएका नेपाली प्राविधिकले मुस्कुराउँदै मेरो प्रश्नको उत्तर दिए ।

"यसको चुरो कुरो एउटै छ । नेपालीहरु पहिला विवाद गर्छन काम पछि । चिनियाहरु भने पहिला काम गर्छन विवाद पछि ।"

विद्युत उत्पादन गृह पश्चात सेतुबन्ध र नौलो प्रविधि प्रयोग गरिएको थिग्य्राउने पोखरीको निरिक्षण गर्न गयौँ । पोखरीको डिजाईनमा नौलो प्रविधि प्रयोग गर्ने डा. हरि पण्डित हाम्रै यात्रा टोलीमा हुनुहुन्थ्यो । भर्खर मात्र सन्चालनमा आएको आयोजनाको तात्तातो भ्रमण गर्न पाँउदा हामी सबै मन्त्रमुग्ध भएका थियौँ ।

त्यस दिनको दोस्रो गन्तव्य थियो चार मेगावाट क्षमताको खुदी जलविद्युत केन्द्र । विद्युत गृहको अवलोकन पश्चात हामी करिब २ किलोमिटर पैदल हिँडेर यसको सेतुबन्ध स्थलको निरिक्षणमा गयौ । खुदी खोलाको झोलुगे पुल तरेर पारिलो घामको मजा लिँदै खोला किनारमा पेनस्टक पाईपको समानान्तर भएर हिँड्यौ ।

कन्चन पानी बगिरहेको खोलाको मनमोहक दृष्यले मोहित भएर डा. जयकुमारले एक विशिष्ट परिकल्पना गर्नु भयो ।

"जापानमा तातो पानीमा नुहाउने ओनसिन जस्तै हामीले पनि खोलामा नुहाउने क्रिडा स्थल बनाए के होला ?"
मलाई वहाँको परिकल्पना सिर्जनात्मक र अर्थपूर्ण लाग्यो । वास्तवमा हामीले पर्यटकहरुलाई लोभ्याउने र आनन्द दिने आधुनिक सुविधायुक्त क्रिडास्थलहरु नगण्य मात्र बनाएका छौ । डा. जयकुमारको यो अवधारणाको मैले उच्च मुल्याङ्कन गरेँ । भोलिपल्ट बन्दिपुरको दृष्यावलोकन स्थलवाट सूर्योदयको आनन्द लिँदा पर्यटकहरु खासै देखिएनन । जबकि हामी बसेकै होटेलमा उल्लेखनीय सँख्यामा पर्यटक थिए । शायद सूर्योदयको रस्वास्वादन गर्ने आनन्ददायक सुविधा नभएर हो कि ? भन्ने शँका मेरो मनमा उब्जियो । टोकियोको समुद्रिकिनारमा एक टावरको टुप्पामा २ सय ७० डिग्रिको दृष्यावलोकन गर्न सकिने रेष्टुरेन्टमा पुगेको थिएँ । बन्दिपुरको टाकुरामा त २ सय ७० मात्र होईन ३ सय ६० डिग्री कै दृष्यावलोकन गर्न मिल्ने अवलोकन कक्ष वा रेष्टुरेन्ट बनाउन सकिने सँभावना मैले देखेँ ।    

यो यात्रामा नेपालमा द्रुत गतिमा आर्थिक विकास हुन नसक्नुका कारणहरु बारे यात्रा सहभागीका खारिएका अवधारणा सुन्न पाईयो ।

"थोडा खान बनारसमे रहना ।" जे पाईएको त्यसैमा सन्तोष गर्ने हाम्रो सँस्कार नै विकासको अवरोधको रुपमा रहेको छ भन्ने सागरजीको सुत्रवाक्य थियो । 

रत्नमणीजीले "किन सोधिएको प्रश्न गलत पनि हुन सक्छ?" भन्ने मान्यताको विकास हाम्रो समाजमा हुन सकेन भन्ने प्रश्न माथी आफ्नो विचार यसरी राख्न भयो-

 "कनिष्ठ कर्मचारी, कारिन्दा, विद्यार्थी वा शिष्यले प्रश्न गर्ने हैसियत राख्दैनन । हाम्रो सँस्कारले प्रश्न गर्ने प्राधिकार अर्थात अथोरिटि भएको व्यक्तिलाई मात्र दिएको छ ।"

चार मेगावाटको खुदी जलविद्युत केन्द्र पश्चात "माहिलो" अर्थात "मध्य" मर्स्याङ्दी जलविद्युत आयोजनाको पनि निरिक्षण गरेका थियौ । त्यस दिन बास बस्न बन्दिपुर पुगेका थियौ । बेँसीशहरको तुलनामा बन्दिपुरले पस्किएका गाँस र बास दुवै उत्कृष्ट थिए । तर बिहान सुन्तलाको जुस पिउने मेरो रहर भने बन्दिपुरले पनि पुरा गर्न सकेन ।

एघार जनाको हाम्रो टोलीलाई तीनवटा भवनमा राखिएको थियो । हामीले ढिलो खबर गरेका हुनाले यसमा हाम्रो गुनासो थिएन । तर ताज जुसको उपलब्धी लगायतका अन्य केही कमजोरी भने बन्दिपुरको होटलले पालेको पाईयो । सागरजीको कोठाको ताला खुलेनछ ।  वहाँले मोवाईलको टर्चले उज्यालो बनाएर ताला खोल्ने कोशिष गर्दा मोवाइल खसेर नराम्रोसँग चर्किए छ । त्यसपछि वहाँ मद्धतका लागि आगन्तुक कक्षमा आउनु भएछ ।

"कुन ४ सय ११ नै को कोठाको हो ? त्यसको हत्तपत्त खुल्दैन ।" होटलकी एक महिला कर्मचारीले टिप्पणी गरिछिन् ।

यसको मतलब व्यवस्थापनलाई समस्याको अग्रिम जानकारी थियो । मुश्किलले एकसय रुपैयाँ  पर्ने तालाका कारण वहाँको हजारौ पर्ने मोवाइल दाउमा परेको थियो ।

बन्दिपुर बजारका दुई मौलिक दृष्यले भने मेरो गहिरो ध्यानाकर्षण गरे । पहिलो, मध्यबजारमा सवारी साधनको आवागमनमा लगाईएको रोक । दोस्रो, २००१ सालमा स्थापना गरिएको बन्दिपुर पद्म पुस्तकालय । पुस्तकालय अहिले पनि सन्चालनमा रहेको यथार्थले मेरो मन भरङ्ग भयो ।

बन्दिपुरवाट प्रस्थान गर्ने साईत विहानको नौ बजे प्रस्ताव गरिएको थियो । काठमाण्डौ फर्किदाँ भने हाम्रो साथमा तीनवटा मात्र गाडि थिए । मलेखुमा केही कोसेली किनेर अघि बढ्यौ । म चढेको गाडिमा हामी तीनजना यात्रु थियौ । हाम्रो चुलिएको गफगाफलाई मोवाईलको घण्टीले बिथोल्यो । मेरा अनन्य मित्र सूर्यमान सरको कल रहेछ । मैले हाम्रो यात्रा र सहभागी टोलीको विवरण सुनाएँ । अरुको नाम सुन्दा सामान्य प्रतिकृया जनाए पनि सागरजीको नाम सुने पछि वहाँ एकाएक चर्को स्वरमा बोल्न थाल्नु भयो ।

"ए सागर जी पनि हुनुहुन्छ । फिल्ममा हिरो खेल्न जानु पर्ने मान्छेलाई तपाईहरुले अलमल्याउनु भएको सुन्दा विस्मात लाग्यो ।"

सूर्य सरलाई विस्मात लागे पनि हामीलाई भने त्यसले हौस्यायो । यात्रा चलचित्रको अन्त्यमा भए पनि हिरोको छनौट भएको थियो । हिरोईनको छनौट गर्न ट्राफिक प्रहरीले सघायो भने हिरोको छनौट गर्न सूर्य सरले । मैले नागढुङ्गा नजिकैको रिसोर्टमा दिवा भोजन गर्दा यो प्रसँग निकालेर सबैलाई हसाएँ । यसले यात्रा टोलीको क्यामेराको काम सम्भालेका बिजय भाई र गीता बहिनीलाई हौस्याएछ । उनीहरुले चलचित्रकै सूटिङ् जस्तो गरि हाम्रो यात्राका अन्तिम दृष्षहरु क्यामेरामा कैद गरे ।  

रिसोर्टमा पनि होटलको सेवा प्रदायकको व्यवहारले हामीलाई हर्षित बनाउन सकेन । बेशीशहरको होटलको जुल्फे औपचारिक पहिरनमा थिएन । मापसे गरेको थियो तर उसको व्यवहार असभ्य थिएन । तर रिसोर्टमा भने एक सेवकले असभ्य व्यवहार समेत देखाए । तर परिकारको गुणस्तर देखि रिसोर्टका अन्य सुविधाहरु प्रशँशनीय थिए ।  सम्भवत: पर्यटन व्यवसायीहरुले सेवा प्रदान गर्दा मूल्य अभिवृद्धि गर्नु पर्नै यस्तै विषयहरु हुन । नेपालको द्रुत आर्थिक विकासका बाधकहरुको सन्दर्भमा कतै मैले नै उल्लेख गरेको एक सूत्रवाक्यको स्मरण भयो ।      

"शीशा छ तर अलिकति फोहोर छ ।"

त्यो शीशा ढाकेकी कसिँगर हरेक क्षेत्रमा छ । हामीले यसपालीको भ्रमण ताका जलविद्युत केन्द्रहरुबाट उल्लेखनीय रुपमा उत्पादित उज्यालोको सहाराले शीशामा थुप्रिएको तर अन्धकारमा रहेको कसिँगरलाई नियाल्ने सम्भावना देख्यौँ । यो नै मर्स्याङ्दी यात्राको सबैभन्दा महत्वपूर्ण उपलब्धी भयो ।

कार्तिक २७, २०७३

कोटेश्वर, काठमाण्डौ      

        

Monday, November 21, 2016

विराटनगर हवाई यात्राको साजी नियात्रा : लुगा छोप्न लाज लगाइन्छ

त्रिभुवन विमानस्थलको नवनिर्मित आन्तरिक टर्मिनल भवनमा निर्धारित समयभन्दा पन्ध्र मिनट जति अगावै पुगेँ । कात्तिकको पहिलो हप्ताको पारिलो घामसँग प्रत्यक्ष भेट भयो । यो साल मनसुनी वर्षा ढिलोसम्म टिकेको थियो ।  यसैले भर्खरै ज्यान पाएका घामका सुनौला किरणहरु लोभलाग्दा हुने नै भए ।

नयाँ टर्मिनल भवन पश्चिम मोहोडाको बनाइएको हुनाले प्रतिक्षालय न्यानो र घमाइलो हुने रहेछ । म घाम मज्जाले लागेको कुर्सी खोजेर बसेँ ।  तर तिम्ल्याहा कुर्सीहरु एक आपसमा जोडिएकाले छुट्टै कुर्सीमा एक्लै बस्ने अवसर मिलेन ।  लक्षित कुर्सीको देब्रेतिर पहाडे मूलका दुई पुरुष बसेका थिए । दाहिने तिरको कुर्सी भने खाली थियो । म चुपचाप ल्यापटप खोलेर लेख्न थालेँ ।

आज मेरो अनलाइन लेख्ने योजना छ । जे देखिन्छ, जे भेटिन्छ त्यसलाई जस्ताको तस्तै शब्दमा तात्तातै परिणत गरिहाल्ने । लेखनमा सकेसम्म वर्तमान काल नै प्रयोग गर्ने । यसलाई मैले अनलाइन लेखन अर्थात साजी लेखनको सँज्ञा दिएको छु । यात्रामा सिर्जना हुने भनेका कि त नौला दृष्य हुन,  कि त परिचित वा अपरिचित व्यक्तिसँग बोलिने सम्वादहरु ।

मेरो ध्यान बिथोलियो । दाहिने तिरको कुर्सीमा भने एक मधिसे मूलका व्यक्ति हातमा बोर्डिङ् पास र नागरिकता च्यापेर बस्न आई पुगे ।   

"आप किधर जा रहे हैँ ?" उनले हामीतिर लक्ष्य गरी हिन्दीमा प्रश्न सोधे ।
हाउभाउ र प्रश्नले उनी कुनै सूचनाको खोजीमा छन् जस्तो लाग्यो । बसको खलासीले यात्रुको शिकार गर्दा सोध्ने प्रश्न यही हो । उसँग 'बस कहाँ जान्छ' भन्ने सूचना हुन्छ तर उ यात्रुलाई सोध्छ- 'कहाँ सम्म हो' ? तपाईँ जुन सुकै ठाउँ जानुहोस् वा उसको बस जुनसुकै ठाउँमा जाने होस् । उसले सकेसम्म रुट मिलाएर तपाईलाई लैजाने सपना पालेको हुन्छ ।

"कसलाई ? मलाई भन्नु भएको ?"  मैले हिन्दीको सट्टा नेपाली वोलेँ । जवाफ दिइन । प्रश्न नै सोधेँ ।
उनी अकमकाए ।  

"आप कहाँ जा रहा है ?"  मेरा देब्रेतिर बसेका मित्रले आगन्तुकलाई सोधे ।

"हातमा नेपाली नागरिकता भएपछि नेपाली बोल्न सम्म त जानेका होलान्" भन्ने मेरो अनुमान थियो । आगन्तुकले भने 'त्यहाँ भेटिएका सबै यात्रुले हिन्दी बुझ्दछन्' भन्ने अनुमान गरेका थिए होला । मेरो सोचाई ठ्याक्कै मिल्यो । उनी सिमरा जानेरहेछन् । प्रस्थान कक्षको सूचनाको खोजीमा रहेछन् । हामीले प्रस्थान कक्ष देखाईदियौ ।

अहिले म मुख्य प्रतिक्षालयमा दक्षिणतिर फर्केर बसेको छु । अब के को बरेमा लेख्ने भनेर नौला दृष्यहरु खोज्दै छु । कोही ईष्टमित्र भेटिन्छ कि भनेर आँखा डुलाउँदै छु ।  एकाएक दृष्टिपटको रँगमन्च जाज्वल्यमान हुन्छ ।  खैरो रगँको बुट लगाएर अर्को लहरमा तर ठ्याक्कै मेरो सामुन्नेमा कुर्सीमा बसेकी एक युवती पर्छिन् । म सकेसम्म उनको रुप,  बसाई र व्यक्तित्वलाई शब्दमा उतार्ने प्रयासमा गर्छु । तर हौसिएको मनको महल गर्ल्यामगुर्लुङ् ढल्छ । सास अलि फुलेको जस्तो हुन्छ । उकुस मुकुस बढ्छ । शरीरको तापक्रममा बृद्धि भएको जस्तो हुन्छ । पसिना आएको जस्तो पनि अनुभूति हुन्छ ।

"खुब साजी खजाना बटुल्ने भएको । भेटिस ! तथाकथित नियात्राकार । आयो निदुली अब तेरो काल !" म भित्रको लेखकलाई कसैले साउती गरे जस्तो लाग्यो ।

"नक्कलीले आजै त्यस्तो भिर्नु परेको । अनि त्यही सामुन्नेको लहरमा बस्नु परेको । मलाई दशा लागेका । आज अनलाईन लेख्ने बाचा बाँधेको अनि यही सिटमा अन्मरिन परेको ।" अर्को मनले भैपरिआएको परिवेशलाई अस्वीकार नगर्नका लागि केही सान्त्वना बटुल्यो । 

तर नियात्राकारले हिम्मत हार्ने कुरो भएन । बरु लेखाईको गियर परिवर्तन गर्ने निधो गर्यो ।

मेरो दृष्टिपटलमा रहेकी युवतीले एक थान मात्र लुगा लगाएकी छन् । उनको जीउ र खुट्टा गरी दुई तिहाई मात्र ढाकिएको छ। रातो रगँको लुगा भएकोले उनको व्यक्तित्व त्यसमा राम्रैसँग खुलेको छ । गर्धनदेखि घुँडा सम्मको शरीर ढाक्ने यो लुगालाई के भन्दा हुन थाहा भएन । नेपालीमा त नाम पनि नहुँदो हो । कम्मरमा बाँधेर गोलीगाँठा सम्म ढाक्नेलाई जामा भनिन्छ । जामा जस्तै तर ती भन्दा छोटा वस्त्रलाई स्कर्ट भनिन्छ ।  उनका हातका बाहुला भने घडी बाँधिने ठाउँसम्म आईपुगेका छन् । लुगाले घुँडाबाट पाँच अँगुल जति माथी सम्मको भाग ढाकिएकोले बाँकी प्रष्ट देखिएका छन्।

"धन्य प्रभु ! तिम्रो कृपाले यिनले बस्दा एक आपसमा गोडा जोडाएकी छन् । नत्र यो प्रतिज्ञारत लेखकको आज हविगत के हुने थियो । यी हातले लेख्ने आधुनिक कलमले अनेकथरी चिजबिजको वर्णन गर्नु पर्ने थियो ।" मैले विधातालाई सम्झिएँ ।

स्कर्ट लाउने जो कोही लाई भैपरिआउने यो ठूलो फसाद होला । कुर्सीमा वा सोफामा बसेका बेला गोडाको भाग एक अर्कामा नजोड्ने हो भने भित्री लुगासमेत देखिन सक्छ । कतिपय गोडा खप्ट्याएर छड्के पारी बसेका हुन्छन । 

"भित्री लुगा पनि नलगाउने वेसोमतिहरु हुन्छन रे ।" कहिँ पढेको सम्झन्छ नियात्राकार ।

"आज यिनको पनि बुद्धि बिग्रेको भए ।" उसको मनको ढुकढुकी अझै बढ्छ ।

"विदेश होइन । नेपाल हो । यस्तो पराकाष्टा हुँदैन ।" मन थामथुम पार्छ ऊ । 

उनको मझौला कद र अलि मोटो शरीर भएर पनि होला गोडा जोड्न सजिलो भएको ।  लामतिघ्रेलाई त यति गर्न पनि कठिनै हुँदो हो । तिघ्रा जोडाउनुको अर्थ पनि पनि जे नदेखिनु पर्ने हो त्यही नदेखियोस् भनेर होला । सार्वजनिक स्थलमा भन्दा औपचारिक बैठकमा झन सकस पर्दो हो ।

"गर्नेलाई भन्दा देख्नेलाई लाज ।"  मैले लोकोक्ति सँझिए ।

यसैले स्कर्टको अझ त्यसमा पनि छोटो स्कर्टको पहिरन मलाई अनौठो नै लाग्छ । म भने त्यही दृष्यमा केन्द्रित भएर ल्यापटपमा लेखिरहेको छु । म त्यता निरन्तर हेर्न सक्दिन । घरि घरी चोरी दाउले मात्र हेर्छु ।
"बाबै ! शाकाहारी भएर सबै स्थानमा कहाँ व्यवहार चल्छ र ?" मैले नियात्राकार महोदयलाई सान्त्वना दिएँ । 
यिनै हरफहरु लेख्दा लेख्दै उनी उठेर गइन । मेरो प्रेतरुपी नियात्राकारलाई ठूलो राहत मिल्यो ।
युवती हिँडेको केही क्षणमा भने कथाले अर्को नाटकीय मोड लियो । त्यही सिटमा एउटा मोटो मान्छे आएर बस्यो । उसले जिन्सको पाइन्ट लगाएको छ । उस्का भने तिघ्रा जोडिएका छैनन् । मलाई अचम्मको अनुभूति भै रहेको छ ।  स्वभाविक हो उस्को भित्री लुगा र लाजको अस्त्र छोपिएको छ । तर उसको बारेमा लेख्दा भने मलाई अघिको जस्तो कुरी कुरी लाग्दैन । म निर्धक्क भएर त्यस व्यक्ति लाइ हेर्छु । नियात्राकार निर्धक्क मात्र होइन छाती फुलाएर लेख्छ । म पुरुष भएको हुनाले यसो हुनु स्वभाविकै होला । यहाँ निर म नियात्राकारको कमजोरी फेला पार्छु । वास्तवमा एउटा लेखक भनेको तटस्थ हुन सक्नु पर्ने हो । शाकाहारी होस् या माँशाहारी होस् । तरुनी होस् या तरुनो होस् ।  वेश्या होस् या अप्सरा । कुनै विषयको लेखनमा पनि आग्रह या पुर्वाग्रह नहुनु पर्ने हो ।

यस विषयको एउटा उल्लेखनीय पक्ष छ । महिलाको तुलनामा पुरुषका भने अङ्ग प्रदर्शन गर्ने खालका पहिरन खासै भए जस्तो लाग्दैन । शरीरको आकार वा माँशपेशी प्रदर्शन गर्ने भन्ने छुट्टै कुरो हो । वास्तवमा गुन्यु वा जामाकै छोटो रुप स्कर्ट हो । कट्टुको लामो रुप सुरुवाल । यी दुई खालका लुगामा भएको तात्विक भिन्नता भनेको भुँई हुनु र नहुनु हो । गुन्यु, साडी वा फरियाको भुँई हुँदैन, ह्वाँगै हुन्छ,  तर कट्टु, सुरुवाल र पाईजामाको भुँई हुन्छ । चाहे त्यो सिरानमा नै किन नहोस् ।  

यो लुगा लगाउने कुरा पनि गजबकै हो । अनुहार देखाउन हुने । टाउको, हात, खुट्टा सार्वजनिक गर्न हुने ।  तर केही सँवेदनशील अङ्गहरु छोप्नु पर्ने । कथमकदाचित सार्बजनिक भै हालेमा शरम लाग्ने । नदेखिनु पर्ने अङ्ग देखिन्छ कि भनेर सतर्क हुनु पर्ने । हुन त मुस्लिम समुदायमा अझै पनि युवतीहरुले अनुहार पनि सार्वजनिक स्थलमा छोपेर हिँड्नु पर्ने परिपाटी छ । हाम्रै नेपाली समाजमा पनि केही समय अघि सम्म शरिरका अङ्ग पुरै छोपेर लुगा लगाउने चलन थियो । तर अहिले साडी लगाउने महिलाहरुले पनि चोलोको पछाडिको भाग आधा ह्वाङ्गै पारेको देख्छु । पाईन्ट लगाउने युवा युवतीले च्यातिएर प्वालै प्वाल पारिएको लगाएको देख्छु । सार्वजनिक स्थलमा पनि पृथ्वीका अप्सरा र परीहरुले पारदर्शी लुगा लगाएर तिघ्रा टल्काएको वा बक्षस्थलको आकार प्रष्ट्याएको वा तिनलाई छोप्ने ढकनी र तुना देखाएको पाँउछु ।

अनि कसैले भनेको सम्झन्छु-


उहिले बाजेका पालामा
लाज छोप्न लुगा लगाइन्थ्यो ।
हाम्रा बाआमाका पालामा
लाज उघार्न लुगा लगाइन थाल्यो ।
अहिले हाम्रा पालामा
लुगा छोप्न लाज लगाइन्छ ।

जानी जानी लाज उघार्ने लुगा लगाउनु र कहिलेकाहि अन्जानमा दुर्घटना भएर भित्री अङ्ग देखिनुमा फरक छ । बैँकक विमानस्थलमा घटेको मेरो आफ्नै जिपर काण्ड सम्झिएँ । वेसुरे भएँछु, पाइन्टको जिपर त खुलै रहेछ । अध्यागमनको काम सकेर सुरक्षा जाँचको लागी पेटी आदी फुकाल्ने क्रममा कसो कसो जिपर पनि खुलेछ । एउटी औपचारीक पहिरन लगाएकी हातमा शरीर जाँच्ने लट्ठी बोकेकी अग्ली सुरक्षाकर्मीले हातले ईशारा गरेर देखाइदिई । म त लाज र शरमले पानी पानी भएँ । हत्तपत्त अरु कसैले पनि देख्ला कि भनेर जिपरको व्याकरण मिलाएँ । जहाज भरी त्यसको मात्रै सम्झना आयो । अरु  चिनजानका साथीभाइका अघि 'यो हरिलठ्ठकको जिपर खुलै थियो' भनेर त्यही युवतीले भन्दिने कुयोग आइलागेको भए अझ कति लाज लाग्थ्यो होला । कन्त बिजोगै हुन्थ्यो होला ।

त्यसो त यस्तो बेलामा केटाहरु मात्र भएको स्थिति भयो र परिस्थितिको सामना गर्न जान्यो भने रमाइलो पनि सिर्जना हुन्छ । मेरो जागिरे जीवनको दोस्रो खुट्किलोमा पाइला राखेको बेला जाजरकोटमा एउटा रोचक प्रसँग सिर्जना भएको थियो । मेरा हाकिम बडो रौसे थिए । एक पटक जिल्लाका प्रमुखहरु समेत भएर बाटामा हिँडेको बेला बुढाको जिपर खुलै रहेछ ।

"सरको पोष्ट अफिस पो खुलै रहेछ ।" कसैले उनलाई सतर्क गराईदियो ।

"के भन्छ यो खोपजङ्ग ?" उनले अलि आत्तिएको स्वर निकाले  । उनी आफ्ना दौँतरी र कनिष्ठलाई ठट्टा गरेर "खोपजङ्ग' भन्थे ।

तर तुरुन्तै आफूलाई सम्हाले अनि स्वभाविक भएर भने- 
"पोष्ट अफिस खुलेर के भो त ! आखिर चिट्टी पत्र आएका छैनन् क्यारे ।" कान्लो छुने गरी बाटामा हाँसो पोखिएको थियो।

त्यसो त नग्नतालाई सार्वजनिक गर्न मिल्ने र नग्न जमात भए पनि एकले अर्कालाई क्वारक्वार्ती नहेर्ने स्थानहरु नभएका होईनन् । समुद्रिकिनारमा बालुवामा पल्टिँदा वा छालसँग खेल्दा लगौटी आकारका न्युन क्षेत्रफल भएका वस्त्रले सँवेदनशील अङ्ग ढाक्ने चलन छ । थाईल्याण्ड र जापानका समुद्रितटमा घुम्न जाँदा यस्ता पर्यटकीय स्थलहरुमा शरिरका सँवेदनशील अङ्ग मात्र ढाकेका नारीपुरुष नदेखिएको होईन । अझ जापानमा त तातोपानीका दहहरुमा निवस्त्र भएर मजा लिने चलन छ । प्राय यस्ता दहहरुमा स्त्री र पुरुषका लागि अलग अलग कक्षहरु हुन्छन् । तर केही यस्ता दहहरु पनि छन् रे जहाँ नरनारी दुवै निवस्त्र भएर तातोपानीमा डुबुल्की मारेर आनन्द लिन्छन रे । तर आफूलाई भने तीन-तीन वर्ष जापानमा बस्दा यस्तो अवसर जुरेन ।

पराईजनको नङ्नतालाई नचाहँदा नचाहँदै हेर्नु पर्ने बाध्यता भने बैँककमामा रहँदा अनुभुति गरिएको छ ।  स्वीमिङ् पुलमा पौडि खेली सकेपछि स्नानघरमा नुहाएर लुगा फेर्दा यो अनौठो दृष्य देखिन्थ्यो । स्नानघरमा पुरै भित्ता ढाक्ने गरि ऐना राखिएको थियो । खासगरी चिनिया मित्रहरु एक धरो पनि लुगा नलगाई ऐना तिर फर्केर आफ्नो शरिर नियाल्ने वा तौलियाले जीउ पुछ्ने गर्थे । आफू भने स्नानकक्षमा नै जीउ पुछेर कट्टु लगाई बाहिर निस्कने ।

"हरामी त पशुपतिनाथ परिसरका कालभैरवले जस्तो अस्त्र ठड्याएर बसेको । कस्तो कु-साईत पर्यो ।" ऐनामा देखिएको दृष्य देखेर यसरी मुरमुरिएका सम्झना ताजा छ ।

शायद आफ्नो नग्नताको गोपनियतालाई सार्वजनिक नगर्ने सँस्कार भएर नै यसो भएको होला । किनभने केही समय अघिसम्म पनि र अहिले पनि गाउँघरमा सार्वजनिक धारामा वा नदी खोलामा नुहाउने चलन छ । यस्तो वेला पुरुषले कट्टु लगाएर वा स्त्रीले पेटीकोट माथी सारेर वक्षस्थल समेत छोप्ने चलन छ ।  अरुको अघि नाङ्गै नुहाउने काम भनेको स-साना नानीहरुको हकमा बाहेक ठूलाले गर्दैनन् ।
बुद्ध एयरको काठमाण्डौ-विराटनगरको उडानमा दुईवटा भने उल्लेखनीय घटना घटे । मैले टिकट जाँच कक्षमा देब्रे तिरको झ्यालको सिट मिलाउन भनेको थिएँ । नभन्दै मैले रोजेकै सीट पाएँ । तर म पुग्दा एक भलादमीले मेरो सीटमा आसन जमाएको पाँए । सँयोगवश एक एयर होस्टेज अर्थात हवाई सुन्दरी नजिकै थिईन । मैले उनलाई बोर्डिङ् पास दिँए । उनले मेरो सीट देखाईदिईन । भलादमी मलामी-गाम्भिर्यताको काँचुली ओड्दै ओल्लो सीटमा सरे । तर बसीबसी मलाई झ्यालको सीटमा जाने ईशारा गरे । त्यसरी जान सँभव थिएन । उनलाई मैले उठ्ने आदेश नै दिनु पर्यो ।

"यो मान्छे भलादमी होईन । तन्तु नभएको जन्तु हो । यो सँग मेरो भाषा मिल्दैन । कुरो गर्नु वेकार छ । तर अन्तिम मौका दिन्छु । हेरौ यसले चकलेट कति लिन्छ । मुठ्ठीभरी लियो भने पक्कै यो गड्यौल्यान्छे नै हो । म यो सँग बोल्दै बोल्दिन ।" मेरा छिमेकी सह-यात्रीका बारेमा मष्तिष्कमा यिनै भावनाहरु उम्रिए ।
नभन्दै उसले एक मुठी चकलेट हडप्यो । मैले हवाई सुन्दरी सँग आँखा जुधाउँदै दुईवटा लिएँ । सुन्दरी पनि तन्तु नभएकै परिछिन कि क्या हो !  या त उनको हिँड्ने वेलामा लोग्नेसँग झगडा गरेकी थिईन । मलामी गाम्भिर्यताको काँचुली भिरेको मुस्कानरहित अनुहार । नत्र मैले दुईवटा मात्र चकलेट लिएर उनी तिर हेर्दा मुस्कुराउनु पर्ने !

सेवा प्रदायक र सेवाग्राहीको स्नायू मिल्यो भने रमाईलो सिर्जना हुन्छ । दुवैको काम पनि सहजताका साथ सम्पन्न हुन्छ । त्रिभुवन विमानस्थलको टिकट जाँच कक्षमा सिर्जना भएको एक रोचक प्रसँगको स्मरण ताजा भयो ।

म र सूर्यमान सर गोमा एयरको उडानवाट सुर्खेत जाने क्रममा थियौँ ।

जाँच कक्षमा वहाँ भन्दा अघि थिएँ । मेरो काम सकियो । वहाँको पालो आयो ।

"श्रीमतिको मोवाईल नम्बर दिनु त, सर ।" सूर्य सरलाई टिकट जाँच गर्ने युवतीले भनिन । म सँग पनि नजिकका आफन्तको रुपमा श्रीमतिको सम्पर्क नम्बर मागेकी थिईन ।  
"कुन चहीँको दिँउ ?" वहाँले बडो सहजताका साथ प्रतिप्रश्न राख्नु भयो । युवती र उनका सहकर्मीहरु डल्लो परेर हाँसे ।

वास्तवमा कुनै पनि पेशाकर्मी वा सेवा प्रदायकको लागि यो बडो महत्वको विषय हो ।
मेरो शँका यथार्थमा परिणत भयो जब तिनै हवाई सुन्दरीले विराटनगर विमानस्थलमा जहाज थामिए पछि अन्तिम सन्देश सुनाईन ।

"लोड ब्यालेन्सको कारणले पहिला पछाडिबाट ओर्लि दिनु होला ।"
मलाई उनको भाषिक त्रुटि भएको अभिव्यक्ति भन्दा उनको खुम्चिएको खाप्चो र आक्रोस मिश्रित बोलीमा चासो थियो । उनले गाम्भिर्यताको मखुण्डो यथावत राखिन । 

रोड शेषको एक होटलमा मेरोलागि बासको ब्यवस्था गरिएको थियो । कोठामा पुगेर मलाई काजमा खटाउने कार्यालय प्रमुखलाई फोन गरेँ ।

"तपाईँको यात्रा ईभेन्टफुल त भएन ?" वहाँको आशय थियो-कुनै अप्ठ्यारो त आईलागेन ।

"मेरो यात्रा ईभेन्ट नै ईभेन्टले भरिपूर्ण भयो सर !" मैले भने ।

यदि यात्रामा रोचक घटनाहरु भए । कोही अपरिचितसँग कुरा गर्ने मौका पर्यो । हवाई सुन्दरीहरु पनि उस्तै फरासिला र मुस्कानको धर्को तनक्क पार्ने वर्गका भेटिए भने त्यो यात्रा ईभेन्टफूल हुन्छ । अर्थात पट्यारलाग्दो हुँदैन । यो विद्या सिकाउने मेरा गुरु थिए-जर्ज टेलर । अमेरिकी सहयोग नियोगको एउटा परियोजनामा म उनी सँग काम गर्थे । उनले आफ्नो नेपाली नाम राखेका थिए- गोर्गे दर्जी ।

विराटनगरमा मेरो एक दिनको मात्र बसाई थियो । भोलिपल्ट अपरान्हकै उडानवाट फर्किने योजना थियो । लगभग एक घण्टा अगावै विमानस्थल आईपुगेँ । टिकट जाँचकक्षमा फेरी एउटा रमाईलो सिर्जना भयो ।
"मलाई दाहिने तिरको झ्यालको सिट दिनु होला ।" मेरो हिमाल हेर्ने रहरलाई मैले यथावत राखेँ ।
"डा. साहेबले पनि वाहिर हेर्न मजा मान्नु हुँदो रहेछ ।" जाँच-कक्षका कर्मचारी बोले । उनले टिकटमा मेरो नामको अघि लेखिएको "डाक्टर" को उपाधिलाई उधिन्न भ्याए । मलाई यिनीसँग भने स्नायू मिल्ला जस्तो लाग्यो ।

"यस्तै हो । कसैलाई बाहिर हेर्दा मजा लाग्छ । कसैलाई नहेर्दा मजा लाग्छ ।" मैले अलि ठूलै स्वरमा प्रत्युत्तर दिएँ ।

मेरा पछिल्तिर म भन्दा पाका व्यक्ति लाममा थिए । उनी भन्दा पछि एक युवती थिईन । बुढालाई मेरो कुराले छोएन । युवती भने एकाएक खित्का छोडेर हाँसिन । मेरो जवाफ उनलाई जँचेछ । मैले उनलाई माथी देखि तल सम्म हेरेँ । जीउ पुरै ढाकिएको लुगा लगाएकी थिईन । भुँई भएको पाईन्ट र कोट । मलाई भने स्कर्टको धँगधगीले छोडेको थिएन । 

"तपाई पनि बाहिर हेर्दा मजा मान्ने व्यक्ति पर्नु भो ?" मैले मौकामा चौका हाने ।

"हो नि । मलाई पनि दाहिने तिर झ्यालकै सिट चाहियो ।" उनले माग प्रस्तुत गरिन । 

काठमाण्डौ आईपुग्दा झमक्कै साँझ पर्यो । म सँग कागजातले भरिएको एउटा बोरा पनि भएकोले ट्रलीको खोजीमा निस्किएँ । ट्याक्सी पार्किङ् क्षेत्र सम्म आउँदा बल्ल एउटा फेला पर्यो ।
ट्रलिमा सामान राख्दै थिएँ । मेरै छेउमा सम्भालिनसक्नु सँख्यामा झोलाझ्याम्टा भएका सहयात्रीहरुको कल्याङ्मल्याङ्ले ध्यानाकर्षण गर्यो । उनीहरु मध्येका तीनजना मेरै उडानमा थिए ।  विराटनगरमा जहाज चढ्दै गर्दा उनीहरुलाई फोटो खिच्दै गरेको देखेको थिँए ।

"यो ट्रलिमा राखे हुन्छ केही सामान ।" मैले उनीहरुको ध्यानाकर्षण गराएँ ।

"हुन्छ नि । ल यो ठूलो चै राख त ।" अधवैसै महिलाले उनीहरुको समूहको एक युवकलाई अराईन ।

"नानी अङ्कललाई ट्रली ठेल्न सघाउ त ।" उनैले युवतीलाई पनि अराईन । शायद युवती उनकी छोरी थिईन ।
एक अर्थमा हाम्रो यात्रा की नायिका यिनै थिईन । उनको पहिरन र हाउभाउले मैले निचोड निकालेँ । एकै छिन भए पनि नायिकासँग सँगै हिँड्न आईलागेको यो मौकालाई उपयोग गर्ने सुर निकालेँ । तर प्रेतको रुपमा म सँग हिँडेको नियात्राकार भने उनको पहिरन नियाल्न थाल्यो ।

"लौ! यिनले पनि भुँई ह्वाँगै भएको घुँडा भन्दा माथी सम्म मात्र छोप्ने वस्त्र लगाएकी छन ।" नियात्राकारको निचोड निक्लियो ।

"यात्रामा पनि स्कर्ट जस्ता छोटा वस्त्र लगाउनुको अर्थ के हो ?" मेरो मनमा प्रश्न जन्मियो तर उनलाई सोध्न सकिन ।

तर मैले मेरा हाकिमलाई मेरो यात्रा वृतान्तको निचोड यसरी सुनाउने निधो भने गरेँ ।
"सर ! मेरो यात्रा ईभेन्टफूल मात्र हैन स्कर्टफूल पो भयो ।


यात्रा गरिएका दिनाङ्क : कार्तिक ०६ र ०७ गते
नियात्रा विट मारिएको दिन : कार्तिक १४, २०१६
कोटेश्वर, काठमाण्डौ ।
साभार : http://ujyaaloonline.com/news/65781/niyatra/

Monday, October 17, 2016

कथा नायिकासँगको भेट




घोष्ट राईटिङ्ले आयोजना गरेको सिर्जनात्मक लेखनको कक्षा सकेर धुलिखेल जाने वस समात्न म नयाँ वानेश्वरको वस बिसौनी आईपुग्दा विहानको साढे नौ वजेको थियो । प्राय यो रुटको वस भीड हुन्छ । तर आज भने लगभग आश्चर्य भएको थियो । आधा जति सिट खाली थिए । खाली सीट पाए पछि म कुन सिटमा वस्ने भनेर केही न केही तर्क गर्छु आफ्नै मनमा । दाहिने तिरको घाम लाग्ने सिट खोज्दै म वसको पछिल्लो भाग तिर लम्किएँ । अन्तिमका तीन सिट मेरा रोजाईमा परेका थिए । तर पहिलो, चक्का माथी थियो । दोस्रो, अलि साँघुरो थियो । तेश्रो, अन्तिमको लामो सिट थियो । मेरा रोजाईमा यि तिनवटै परेनन । म पु:न अघिल्तिर लम्किएँ र दाहिने तिरकै सिटमा एक युवती सँग वस्न पुगेँ । उनी झ्याल तिर थिईन । म सिटमा वस्दा वस्दै उनी नै पहिले वोलिन ।

ओहो हजुर पो हुनु हुँदो रहेछ । म पनि कहाँ देखेको देखेको जस्तो लागेर सोच्दै थिँए ।

मैले उनलाई नियालेर हेरेँ । निलो कोट लगाएकी थिईन । कोटको सतहमा उनका केश राशीहरु नदीका दुई भँगाला जस्ता भएर सपक्क वसेका थिए । हिँउदको नदीको पानीमा देखिएको जस्तो चमक उनको केशमा देखिएको थियो । अनुहार थियो उज्यालो र प्रसन्न । उनी मँगोलियन मूलकी जस्ती देखिन्थिन । अधवैशे युवती थिईन । वाटुलो चेहरामा थेप्चो नाक र मझौला आकारका आँखा विछट्टै शोभायामान देखिएका थिए । निधारमा टिको लगाएकी थिईन । मैले केही दिन अघि धुलिखेलवाट काठमाण्डौ जाँदा उनीसँगै सिटमा परेको र लामो कुराकानी भएको प्रसँग सम्झिएँ ।

त्यैत मलाई पनि अनुहार परिचित जस्तो लाग्यो । अस्ति हामी सँगै कुरा गर्दै धुलिखेलवाट आएका थियौ नि होईन त ।

हो त नि सर ! कस्तो रमाईलो कुराकानी भयो । त्यस दिन म कति तनावमा थिँए तर हजुरको कुराले मलाई ठूलो सान्त्वना मिलेको थियो ।

उनले एकदमै आदरका साथ सरको नाता जोडिन । त्यो सर भित्र विश्वविद्यालयमा पढाउने व्यक्तित्व लुकेको थियो । तनाव भएका वेला पनि उनले मन भुलाउने विषयहरु मेरो गफमा उनले पाएकी थिईन । उनलाई मैले अस्तिको भेटमा मेरो पेशाको वारेमा पनि भनेको थिँए । उनले पनि उनको व्यक्तिगत कुराहरु धेरै भनेकी थिईन । धुलिखेलको एक सरकारी कार्यालयमा काम गर्दिरहिछन । काठमाण्डौ उपत्यकाको पश्चिम पट्टिको ग्रामिण ईलाकावाट हरेक दिन सार्वजनिक यातायातमा धुलिखेल आउने जाने गर्दिरहिछन ।   

म वनेपा पुगिसकेको थिँए। घरिघरि वसको झ्यालवाट छिरेको घामले ल्यापटपको स्क्रिन एकदमै धमिलो वनाई दिएको थियो । यसैले मैले बाध्यतावश मेरा औलाहरुलाई विश्राम दिनु पर्यो । ल्यापटपमा एकै छिन अघि भेटिएकी युवतिको अधुरो कथा कैद भएको थियो। अहिले म झ्याल पट्टि नै वसेको थिँए जहाँ केही समय अघि उनी बसेकी थिईन । यति तात्तातो लेखन पस्किने ईच्छा शक्ति शायद उम्रने थिएन । यदि आज विहान डा. दयाराम श्रेष्ट सम्भव ले कथा कसरी लेख्ने भनेर नसिकाउनु भएको भए । ति युवती सँग छुट्टिना साथ उनी सँग भएको भेटलाई विषय वनाएर  कथा लेख्ने सुर चढि सकेको थियो । आजै कथा सक्न पाए भोलि प्रशिक्षणमा सहभागी साथीहरुलाई मेरो रचना वाँड्न सकिन्थ्यो । कथाकी नायिकाको वास्तविक नाम मलाई थाहा थिएन । मैले सोधिन पनि । सोधेकै भए पनि वास्तविक नाम राख्ने कुरा पनि भएन । यसैले अहिले म उनको काल्पनिक नाम सोचिरहेको छु । यस्ता नारी पात्रलाई दिईने नाम मध्ये मलाई एकदम मन पर्ने एउटा नाम सिमा हो । मैले थाईल्याण्डको फि फि टापुमा भेटिएकी सिमाको वारेमा पनि एउटा नियात्रा लेखेको थिँए । तर दयाराम गुरुले दिनु भएको ज्ञान अनुरुप त्यो नियात्रा होईन कथा नै हो । साँच्चिकै निर्णय गरेँ यहि नाम राखिदिन्छु । तर चिन्ताको विषय भने अव  कथामा ज्यान कसरी भर्ने भन्ने छ । मलाई यो कथा लेखन आजै सक्न मन छ ।

सिमासँग कुरा अघि बढ्यो ।

मैले हजुर सँग भएको कुराकानी दाईहरुलाई पनि सुनाएँ । मेरो कस्तो भाग्य रहेछ कस्ता राम्रा मान्छेहरुसँग भेट हुन्छ वस यात्रामा भने । उनले हाम्रो पहिलो भेट र मेरो कुराकानीले उनीमाथी पारेको प्रभावलाई आँकलन गर्दै भनिन ।

! साँच्ची ! कसरी सुरुवात भयो त्यो दिन हाम्रो कुरा ? ” मैले साँच्चि नै विर्से छु त्यो पहिलो भेटमा कुराकानी शुरु भएको प्रसँग । मौका परे म त वोल्न खोज्दछु मेरा यात्रामा भेटिएका छिमेकी सँग । तर सधै परिस्थिति अनुकुल हुँदैन । पात्र पनि सिमा जस्ता विरलै हुन्छन् ।

हजुर छेउ तिर अलि अप्ठेरो सँग वसेको जस्तो लागेर मैले वस्न सजिलो भएन कि हजुरलाई भनेकि थिँए । उनले सम्झिईन ।

शायद मेरो शरिरको आकारको कारण हो या साँघुरो सिटको कारण हो त्यस्तै भएको थियो । उनले आफूलाई सकेसम्म सानो वनाएर मलाई सिट छोडिदिएकि थिईन । यात्रामा यस्ता छिमेकी शायदै पाईन्छन् । अरुको दु:ख देख्ने अनि आफूले सकेको सहयोग गर्ने भावना धेरै कममा हुन्छ । मनमा भए पनि कतिपयले व्यक्त गर्न सक्दैनन् ।

त्यही त हजुरको पनि अरुको अप्ठेरो देख्ने आँखा र सहयोगी भावना भएको मन भएर नै हाम्रो कुराकानी भयो । यसरी भावना मिल्यो भने त हो नि फेरी भेट हुँदा पनि वोल्न मन लाग्ने । अनि त्यो व्यक्ति प्रति श्रद्धा पनि जाग्ने होईन त । मैले पनि मन फोरेँ ।

हाम्रो पहिलो यात्रामा उनको मोवाईल पटक पटक बजेको थियो । उनकी आमा एकास्सी वेहोस भएकीले उनले कार्यालय पुग्ना साथ काठमाण्डौ फर्किनु परेको थियो । चक्रपथ भन्दा धेरै वाहिरवाट विरामी ल्याउनु पर्ने भएकोले ट्याक्सी पाईएको थिएन । उनको भाई पनि कहि काममा गएको थियो । सिमा उनका वुवा सँग र भाई सँगै पटक पटक फोन सम्पर्कमा थिईन र मलाई सुनाउदै पनि थिईन । उनका श्रीमान विदेशमा रोजगारी गर्न गएका रहेछन । उनी माईतिमा सानो छोरा लिएर वसेकी रहिछन । धुलिखेल आसपास मा नै डेरा लिएर वस्ने सुर उनको रहेछ । तर छोरालाई अहिले सम्म मनाउन नसकेकि रहिछन । मैले म सँग भएका  धुलिखेल र वनेपाका केही विद्यालयहरुका वारेमा पनि उनी सँग चर्चा गरेको थिँए ।

आज पनि हजुर सँगै कुरा गर्दै जानु हुन्थ्यो तर म कोटेश्वरमा ओर्लिएर वाईकमा जानु पर्ने छ ।उनले म सँग कुरा गर्ने अवसर गुमाउनु पर्ने बाध्यतालाई ईगित गर्दै भनिन ।

! हो र ! तर त्यो पनि मेरो लागि राम्रै हुने भयो । मैले परिस्थितिलाई नजिक वाट नियाले । त्यसमा ठाडो, सकारात्मक र रोमान्चक भर्याङ् लगाएँ । उनले म वाट त्यो अपेक्षा गरेकी थिईनन् ।

! तपाईले गफ गर्नुको सट्टा केही पढ्न पाउने हुनु भयो हो ? यसैले राम्रो भन्नु भएको हो । मैले सँकेत गरेको राम्रोलाई अनुमान गर्दै सीमाले भनिन ।

होईन । म झ्याल तिर वस्न पाउने भएँ र घाम ताप्दै जान पाउने भएँ भनेर हो ।

उनी हाँसिन । हिमालमा घाम लागेको जस्तो भयो । वान्की परेका सेता दाँत देखिए ।

कस्तो मनासिव कुरा गर्नु भयो । यसरी नै त हो नि मान्छेले खुशी प्राप्त गर्ने । खुशी ठूलै हुनु पर्छ भन्ने के छ र । कति मान्छेहरु छन यस्ता स साना कुराले दिने आनन्दको वारेमा विचार नै गर्दैनन् ।उनले पनि मेरो अभिव्यक्तिमा भर्याङ् लगाईन ।

मैले म स्नातक पढ्दा एक जना मित्र सँग पदयात्रामा गएको वेला भेटिएका एक सहयात्रीले भनेको कुरा सँझिए । उनले भनेका थिए- मान्छे खुशीको ठूलो नदी प्राप्त गर्न चाहान्छ । त्यसकै खोजीमा भौतारिन्छ । यात्रामा निस्कन्छ । यस क्रममा उ कैयन स-साना खोल्सी र खोलाहरु पार गर्छ । उसलाई त्यो ठूलो नदीको नशा लागेको हुन्छ र खुशीका ति स-साना खोल्सी र खोलाहरु तरेको अनुभूति नै गर्दैन । आखिर तिनै स-साना खोल्सीहरु मिलेर नै नदी बन्ने त हो ।

उनी जाँदा जाँदै मैले यो खुशीको आकारको वारेको मेरो मष्तिष्कमा रहेको अनुभूति सुनाउन भ्याँए । अनि विदाईका हात हल्लाउदै भनेँ-हाम्रो दैनिकीमा एउटै रुट छ । फेरी अवश्य नै भेट होला ।

अपरान्ह ३:०० वजे
काविवि पुस्तकालय
धुलिखेल
पौष १४, २०७१