Monday, February 5, 2018

फ्रान्सिस्काको ईमोजी र प्रेमिकाको चिसो मन



निद्राले चाँडै छोड्यो । फेरी सुत्नु भन्दा सामाजिक सन्जालमा रमाउने सुर आयो । किनभने यो सँसारमा रात हुँदैन सधैँ दिन हुन्छ । कोही न कोही उठेकै हुन्छ । कसै न कसैले हरियो बत्ती बालेकै हुन्छ । शून्य भौगोलिक दुरी । सबै साथीभाई स्क्रिनमा । अहिले म कम्युटर कै अघि बसेर दुईवटा काम गर्दैछु । पहिलो, यो प्रत्यक्ष अर्थात साजी नियात्रा टाईप गर्ने । दोस्रो, फेसबुक खोलेर कसैसँग कुरा गर्ने । अनि, 'हिँड्दै छ पाईला मेट्दैछ' को उल्टो "हिँड्दै छ पाईला राख्दैछ" भने जस्तो गर्ने । आधुनिक सँसारले त्यसलाई 'वास्तविक समय' अर्थात रियल टाईम भन्छ

मेरी ईटलीयन साथी फ्रान्सिस्का देखा परी ।

"! मोहिनी देवी ! तिमीलाई कोरियाको यो मिर्मिरे उषावाट न्यानो अभिवादन !"

मैले अँग्रेजीमा यहि भावको वाक्य लेखेँ । हाम्रो सँवाद अघि बढ्यो ।

"गुड मर्निङ, प्रोफेसर !"

कति आनन्द लाग्छ यो मोरीका यस्ता शब्द पढ्दा । अरुले लेख्ने पनि यिनै ए वि सि डि त हुन । तर उस्का शब्दको ओज नै उच्च हुन्छ । उसले अघि लेखी ।

"दक्षिण कोरिया ! त्यो त अद्वित्तिय नै भयो । म त्यहाँ पुगेकी छु र धेरै आनन्द पनि लिएकी छु । वाह त्यहाँको किम्ची ! तपाईँ छुट्टिमा हो ?"

मैले जवाफ दिनु अघि फेरी उस्ले अर्को हरफ थपी ।

"अस्तिको दिन मेरो पियचडी पनि सकियो ।"

उसले दुईवटा ईमोजी पनि पठाई । पहिलोले विजयको सँकेत दियो भने दोस्रोले, मुस्कानको ।

म पनि के कम बधाई सँकेत गर्ने ५० वटा ईमोजी पठाईदिएँ ।

"बधाई छ तिम्रो सफलता र उपलब्धीको लागि । यो मेरो लागि आजको पहिलो र महत्वपूर्ण खुसीको समाचार भयो ।"

उसले मलाई 'केटीले हत्केला आकाश तिर फर्काएको' ईमोजी र थ्याङ्क यू लेखेको विरालोको चित्र भएको स्टिकर पठाई । यो ईटालियन सुन्दरीले पठाएका ईमोजीले मलाई यस विषयमा थप जानकारी खोज्ने कौतुहलता जगाईदियो । अहिले सामाजिक सन्जालमा ईमोजी र ह्यासट्याग जस्ता चित्र सँवादको प्रचलन ह्वात्तै बढेको छ । ईमोजिको उत्पति जापानवाट नै भएको हो अरे । चिन र जापानमा शब्दका चित्रले अक्षर जनाउँछन् । अक्षरको सँवाद भन्दा चित्रको सँवादमा अर्थ बुझ्न कठिन हुँदैन । चित्र बुझ्न भाषा होईन जीवन वा परिवेश बुझे पुग्छ ।

म दानकुक विश्वविद्यालयका प्राध्यापक दोक्कोको निमन्त्रणामा पाँच दिने भ्रमणार्थ दक्षिण कोरियाको राजधानी सोल आएको छु । दक्षिण कोरिया र नेपालको समयान्तर तिन घण्टाको छ । अर्थात नेपालमा रात नवित्दै कोरियनहरुको विहान भै सकेको हुन्छ । हाम्रो एक दिने सम्मेलन थियो । चिनवाट आउनु भएका प्राध्यापक ग्वान र म मात्र दुई विदेशी थियौँ । राष्ट्रका हिसाबमा मैले चिन बराबरको सम्मान पाएको थिएँ । नेपालमा पेशागत कर्म गर्नुको आनन्द यस्तो वेलामा पाईन्छ । मेरो प्रस्तुती दिवाभोज भन्दा अघि थियो । अपरान्हमा हामी दानकुक विश्वविद्यालय परिसरमा गयौँ । दोक्को आग्रह र मेरो सिफारिशमा बाजुरा घर भएका मेरा पूर्व विद्यार्थी निर्मल शाहीले वातावरण ईन्जिनियरिङ्मा स्नातकोत्तर गर्ने अवसर पाए । प्राध्यापक मित्रले हामीलाई 'के-वाटर' पानी प्रसोधन केन्द्रमा प्रशोधन गर्ने सँरचनामा लिएर गए । सोलको एक तिहाई जनसँख्या र सामसुङ् कम्पनीको कारखानालाई आवश्यक पर्ने उच्च गुणस्तरीय पानीको आपूर्ति यहाँ वाट हुँदो रहेछ प्रशोधन केन्द्र पछि हामी १२८ तले गगनचुम्बी भवनको मजा लिन गयौँ । 'सोल टावर'को नामले प्रसिद्ध यो धरहरारुपी सँरचनाको उचाई झण्डै ५०० मिटर रहेछ । दृष्यावलोकन गर्ने १२१ तलामा ४८६ मिटर लेखिएको थियो । भुँईमा हिँडेक कमिलाको ताँती जस्तो सडकमा गुडेका सवारीसाधन । यस्तो रोमान्चकारी अनुभूति मैले यस अघि बैँककको वायोके टावरमा पनि लिएको थिएँ । तर यो त टावरको ठूल्दाई नै लाग्यो । भुँईको वालकोनीवाट आफूले टेकेको जुत्ताको तल कन्चन पानी भएको गहिरो तालमा पीँध देखिए जस्तो धर्ती हेर्दा मन रोमान्चित भयो । कतिको त डरले सातो जाँदो रहेछ ।                    

मलाई सोल स्टेशन नजिकैको 'फोर प्वान्ट्स बाई सेराटन' होटलमा बस्ने प्रबन्ध मिलाईएको थियो । ईन्चोन विमानस्थलमा पुग्दा विहानको ५:३० भएको थियो । सोमवार विश्वविद्यालयमा काम सकेर रात्रीको उडान भरी म विहान सखारै कोरिया आईपुगेको थिएँ ।
मैले ६००१ नँको लिमोजिन बस लिनु पर्छ भने थाहा भए पनि एकपटक निश्चित गर्न मन लाग्यो । सूचना केन्द्रमा गएर निश्चित गरेँ । बस विसौनिमा गएर समय हेर्दा अर्को बस ७:१२ बजे मात्र रहेछ । म सँग १५ मिनट केही गर्ने फूर्सद थियो । पर्यटक सूचना केन्द्रमा गएर होटेल परिसर वरपरको नक्शा सँकलन गर्ने सुर चढ्यो । सूचना केन्द्र खोज्न थालेँ । तर अफसोच त्यहाँ कोही पनि थिएन । यताउता आँखा डुलाएँ । खुल्ने समय ७:०० भनेर लेखेको बोर्ड देखियो । सात बज्न केही मिनट बाँकी थियो । मैले आज कोरियन कर्मचारीको राम्रो जाँच लिन पाउने भएँ भन्ने लाग्यो । तर मलाई आश्चर्य पस्कदैँ सात बज्न ३० सेकेन्ड बाँकी हुँदा एक सेविका आईन । मैले मागे जति नक्शा दिईन । 

होटेलमा पनि म सजिलै पुगेँ । स्वागत कक्षमा मलाई अभिवादन गर्दै मेरो सुरक्षा धरौटीका लागि भिसा कार्ड मागे । उनीहरुलाई मेरो सम्पूर्ण खर्च आयोजकले व्यहोर्ने सूचना रहेनछ । मैले २१ तलाको कोठा पाएँ । चेक-ईनको काम सकिएपछि कोठाको कार्ड-चाबी दिँदै 

सेविकाले सोधिन्-

"डु यु निड एक्स्ट्रा रुम कार्ड ?"

मैले 'पर्दैन' भने तर यो प्रश्न भने मथिङ्गलमा अहिले सम्म पनि घुमिरहेको छ।

"कोठामा एकजना मात्रै बस्ने निश्चित हुँदा हुँदै किन दोस्रो कार्ड चाहिन्छ ?"

त्यो होटलमा स्वागत कक्ष, कफि कर्नर र रेष्टुरेन्ट आदि १९ तलामा थिए । कफि कर्नरको अग्रभागमा राखिएको एक बोर्डले मेरो ध्यान खिचेको थियो ।  

"वी ह्याभ बियर एज कोल्ड एज युअर एक्स गर्ल फ्रेन्डस हार्ट।"  

अर्थात हामीसँग तिम्रो पूर्व प्रेमिकाको मन भन्दा पनि चिसो बियर पाईन्छ । यो सन्देश रोचक लाग्नु स्वभाविक थियो । मैले नजिक पुगेर मन्त्र पाठ गरे जस्तै गरी अलि ठूलो स्वरले सन्देश पढेँ । म सँगै उभिएका मेरा चिनी प्राध्यापक मुस्कुराए । हाम्रो गतिविधिले कफि कर्नरकी सेविकाको ध्यानाकर्षण भयो । उनी पनि हामी तिर हेरेर मुस्कुराईन ।
मैले सेविकासँग आँखा जुधाउँदै सोधेँ ।

"दिस ईज क्वाईट कन्भिन्सिङ् । बट आई ह्याभ अ क्वेश्चन ।"

"यस प्लिज ।"

"हाउ एबाउट दि हट कफि ?"

उनी लगायत अन्य वरिपरिका श्रोता समेत हाँसे । सेविकाले मौन मुस्कानको मात्र जवाफ दिईन ।

"आई थिङ्क कफि क्यान बी एज हट एज दि एङ्गर अफ युर वाईफ ।"

अब हाँसोको आयतन अझ बढ्यो । मैले त्यो सन्देशको फोटो खिँचे ।

सन २००६ मा म जापानको आईजिईयस भन्ने सँस्थामा काम गर्थेँ । भारतको पन्जाबमा घर भएकी एक युवती मेरो परिवारकी साथी थिईन । अहिले उनी सोलमा नै कोरियन भाषाको पढाईमा लागेकी रहीछन । उमेर ढल्किसके पनि उनको वैवाहिक जीवनको ढोका भने खुल्न सकेन । मैले उनलाई भेट्ने प्रस्ताव राखेँ ।

"मेरा तो कलेजका प्रोग्राम है शायद मुश्किल होगा ।"

"पूजाजी, तो आप कलेज जाती हो ।"

"जी हाँ ।"

"तब तो मेरे को आपसे मिल्ना और भी जरुरी हो गया ।"

"वो क्योँ नवराजजी ।"

"लाईन मार्नेके लिए । कलेज जाने वाली लड्कीको कोई लड्का लाईन न मारे, ये कैसे होगा ।"

मेरो तर्क सुनेर उनी मोवाईल नै फुट्ला जस्तो गरी हाँसिन । तर अफसोच ! पूजासँग स्टारबकमा कफि पिउने मात्र पनि शौभाग्य जुर्न सकेन ।       

अहिले भने म ईन्चोन अनर्तराष्ट्रिय विमानस्थलको द्वार नँ २१ को प्रतिक्षालयमा छु । देब्रे तिर शीशाको पर्खाल छ बाहिरको दृष्य हेर्न बाक्लो पाईएको छ । भर्खरै उज्वेकिस्थानको जहाज गुडेको देखियो । कोरियन एयरको जहाजलाई तान्ने यन्त्रले विपरित दिशामा लिएर गयो । मजाले घाम लागेको छ । होटलबाट हिँड्दा त पानी पनि छिट्याएको थियो । मेरो देव्रेतिर एक मोटी महिला सानो किताव पढ्दै छिन । सिधै अगाडि एक फाटेको पाईन्ट लगाएकी युवती छिन । शायद उनी नेपाली मूलकी हुन । युवती बसेकै लहरमा एक जना छालाको जुत्ता र ज्याकेट लगाएका नेपाली पुरुष छन् । उनी भने सीटको छेउमा राखेको सामान राख्न बनाईएको बेन्चमा बसे । उनी केही अघि अर्को एक युवा सँग नेपालीमा बोल्दै थिए । दाहिने पट्टि एक जना मँगोलिन पुस्तक नै पढ्दै छन् । उनी शायद कोरियन हुन ।
अहिले भने ती युवक पनि आएर मिसिए । उनीहरु एक अर्कालाई चिन्दा रहेछन् । युवकले भने एउटा झोला काँधमा तेर्सो पारेर भिरेका छन् ।

युवकले बोलेको सुनियो ।

"चाँडै आएसी समस्या हुने ।"  

उनको मोवाईल बज्यो । उनी एकान्तमा गएनन । सबैका अघि नै बोल्न थाले । सबै कुराकानी बुझिएन । तर एउटा वाक्य भने बुझियो ।  
"आफ्नो खातामा आउँछ ।"

अव युवतीको मोबाईल बज्यो । तिनले भने बोलेको बुझिएन । मसिनो बोलिन ।

सीधै अगाडि सामसुङ्को टेलिभिजन राखिएको छ । लोटे भन्ने कम्पनीको विज्ञापन आईरहेछ । हिजोको कुरा अनुसार डा. पदम प्रसाद खतिवडा आउनु पर्ने । सँयोगवश हाम्रो एउटै उडानमा टिकट परेछ । तर वहाँ अहिले सम्म भेटिनु भएको छैन । तर अस्ति म आउँदा सँगै आएका आमा छोरी भने भेट भए । उनीहरु देब्रेतिर अगाडि बसेका छन् । नियात्राको थप कथा बुन्ने उन भेटिँदैन । म आमा र छोरी बसेकै सीटमा जान्छु । छोरीको छेउमा बस्छु ।

"मा लाई एउटा कुरा सोध्न मन लागेर आएको ।"

माले कान सुन्दिनन् । वोल्न पनि सक्दिनन् । यसैले छोरीको साथलागेर बहिराहरुको कुनै कार्यक्रममा भागलिन कोरीया आएकी । माले आफ्नो परिचय पत्र म तिर बढाईन ।

'लक्ष्मी देवकोटा, अध्यक्ष, बहिरा तथा सुस्त श्रवण राष्ट्रिय समाज '

कार्डमा लेखिएको पद र सँस्थाले भन्दा उनको थरले मलाई आश्चर्यचकित बनायो । मैले उनीहरुको समुदाय नेवार होला भन्ने ठोकुवा नै गरेको थिएँ ।   

"आम्मामा ! तपाईहरुको थर देवकोटा पो हो ?"

दुवै हाँसे । छोरीले दोभाषेको काम गरेकी थिईन । मैले जति आमा छोरीको कुरामा चाख मानेको थिएँ त्यो भन्दा पनि धेरै माँ ले मेरो कुरामा मानेकी थिईन भन्ने मलाई लाग्यो । मैले पनि मेरो परिचय पत्र छोरीलाई दिएँ । छोरीले आमातिर बढाईन । आमाले केही सँकेत गरिन । 

"हजुरको डिग्री र पद देखेर माँ लाई पनि आम्ममा ! भयो रे ।"

अब हामी तीनै जना एउटै लय मा हास्यौँ । लक्ष्मीले प्रवेशिका सम्मको अध्ययन गरेको रहेछ । नौ बर्षको उमेरमा विफर भएर विरामी परेपछि उनको श्रवण शक्ति गुमेछ । त्यस पछि आफू जस्तै कान नसुन्ने बाहुन केटा सँग प्रेम विवाह भएछ । केटा भने जन्मजातै श्रवणशक्ति विहीन रहेछन् । मेरो दिमागमा विजुली तोडमा दुई प्रश्न सिर्जना भए ।

"तपाईँ नेवारकी छोरी र बाहुनकी बुहारी । दुवै समुदायको सँस्कारको राम्रो अनुभव छ । यी दुई सँस्कृतिमा एक अर्कामा नपाईने राम्रा कुरा के हुन् ?"

"जन्मजातै श्रवणशक्ति नभएका र पछि कुनै दुर्घटनामा परी नसुन्ने स्थितिमा पुगेकाहरुमा के फरक हुन्छ ?"

पहिलो प्रश्नको सामान्य उत्तर आयो । तर दोस्रो प्रश्नको उत्तरले भने अहिले सम्म मैले कल्पना नगरेको तथ्य उजागर गरिदियो । एक पटक एक दृष्टिविहिन सह-यात्रीले पनि यस्तै कहिल्यै नविर्सने उत्तर दिएका थिए । मेरा अन्यन्य मित्र स्वर्गीय हिमप्रसाद गौतमले यो 'अन्धा' को सट्टा प्रयोग गरिने आदरार्थी मानिएको शब्द 'दृष्टिविहिन' पनि उपर्युक्त नभएको तर्क राखेका थिए । उनको विचारमा  

"दृष्यविहिन" शब्द उपर्युक्त हो अरे ।

"जन्मजातै श्रवणशक्ति गुमाएकालाई बोल्दा ओठ कसरी चलाउने भन्ने सिकाउन कठिन हुन्छ ।"

लक्ष्मीले यो भन्दै गर्दा मैले उनको अनुहारमा हेरेँ । उनको हाउभाउ र ओठको चाल बोल्नेको जस्तै थियो । उनी खाली आवाज विहिन थिईन । मैले हाम्रो कालखण्डकै प्रख्यात सरस्वति साधिका झमक घिमिरेको वारेमा लेखेको 'पराजित अशक्तता' शिर्षकको लेख को चर्चा गरेँ ।

यत्तिकैमा जहाजमा प्रवेश गर्ने समय भयो । मैले उठेर सामान मिलाएँ । वरिपरि घुमिघुमि हेर्न थालेँ-पदम काकाको उपस्थिती थिएन । लामबद्ध यात्रुको नजिकै गएर नियालेर हेरेँ । देखिन । अचम्म लाग्यो ।

तर मेरो अन्यौललाई चिर्दै वहाँ झुल्किनु भयो । विविध कारणले गर्दा ढिलाई हुन गएछ । मेरो दुई वर्ष अघि यहि विमानस्थलमा आफ्नै हुस्सुपनले गर्दा झण्डै जहाज छुटेको घटना काकालाई सुनाउँदै हामी जहाजमा प्रवेश गर्‍यौँ ।

मैले प्रवेशद्वारमा भेटिएकी हवाई सुन्दरीलाई सोधि हालेँ ।

"डु यु ह्याभ दि ईकोनोमिस्ट म्यागाजिन ?"

"लेट मि चेक । ह्वाटस युर सीट नम्बर ?"

अन्तराष्ट्रिय उडानमा धेरै यस्ता सुविधा हुन्छन् । थाई विमान सेवामा कोट पनि राखिदिन्छन् । तर धेरै यात्रुले यस्तो विषयमा चासो लिँदैनन् । कतिपयलाई यस्तो ज्ञान र बुद्धिले यात्रा सहज हुन्छ भन्ने थाहा हुँदैन ।
गज्जब भयो । त्यसले मलाई ईकोनोमिस्ट र टाईम पत्रिकाका हालैका दुई अँक ल्याएर भनी ।

"थ्याङ्क यु फर रिडिङ् सर ! हियर ईज युर म्यागाजिन ।"

म दङ्ग परेँ । मैले दाहिने तिरको झ्यालको आसनीमा थिएँ । पदम काका पनि सँयोगले त्यही लहरमा तर देब्रेतिर पर्नु भएछ । मेरा देब्रेतिरको सँगैको पहिलो सीट भने खाली नै थियो । तर दोस्रोमा एक भद्र देखिने कोरियन थिए ।

लगभग जहाज भरिएको थियो । अधिकाँश जत्था कोरियनहरुकै थियो । देश आर्थिक रुपले सम्पन्न हुँदै गए पछि डुल्ने उदेश्य लिएर विदेश जानेको पनि सँख्या बढ्छ । कम्बोडियामा जाँदा पुरै पर्यटकिय स्थल कोरियनहरुले भरिएको पाएको थिएँ । ईन्चोनवाट काठमाण्डौको सिधा उडान भएको र आँखा अघिको हुल देख्दा अब नेपाल पनि कोरियनहरुको गन्तव्य सूचिमा परेको रहेछ भन्ने लाग्यो ।

मेरो छेउमा एक दुरुस्तै कोरियन देखिने एक यात्रु वस्न आए । उनी सँगै आएका विमान परिचारकले भनेको सुनियो ।

"आई विल ह्यान्डओभर युर पासपोर्ट ईन काठमाण्डु ।"

मलाई चिसो पस्यो । "के यी व्यक्ति नेपाली नै हुन त ?" मष्तिष्क प्रश्नले हुँडलियो । उनी केही नबोली बसे । मैले पत्रिकामै ध्यान दिएँ । प्रवेशद्वारमा मैले फाईनान्सियल टाईम्सको पनि एक प्रति उठाएको थिएँ । म सँग प्रशस्त सामाग्री थियो । सीटको भिडियोमा पनि श्रव्यदृष्यमा मन वहलाउने चिजविज थिए । राम्रो तयारी भए जहाजमा यो उडानको छ घण्टा त के दश घण्टा पनि सजिलै विताउन सकिन्छ !

"यति सारो त नगर्नु नि ।"

उनी आँफैमा वर्वराए । मेरो शँकाको बादल हरायो ।

"! तपाई त नेपाली नै हुनो हुँदो रहेछ । म त दोधारमा पो थिएँ ।"

हाम्रो कुरा शूरु भयो । मलाई लाग्यो-अब कुरा समेत गर्न पाईने भयो । तर उनका एक पछि अर्को गर्दै उदेक लाग्दा अभिव्यक्ति र गतिविधि उजागर हुन थाले । उनका अनुसार तीन वर्ष अघि उनी कोरियामा श्रमिकको रुपमा प्रवेश गरेका थिए । तर कम्पनीले भिसा थपका लागि पहल गरेको रहेनछ । अध्यागमन प्रहरीले समातेर नेपाल फिर्ता पठाईदिएको रहेछ । सात दिन सम्म थुनामा पनि राखिएछ ।

"सात दिन भयो चुरोट, खैनी केही पनि मुखमा राख्न नपाएको । कति वेला प्लेनवाट ओर्लेर चुरोट तानौ भएको छ ।"
उनले मलाई मेरो काम र कोरिया यात्राको वारेमा सोधे । मेरो जवाफ सुने पछि उनले आक्रोसित अभिव्यक्ति दिए ।
"केही हुन्छ र नेपालमा ? कोरियनले दिएको सब नेताले झ्वाम पार्छन् ।"

"तपाईँको भिसा किन थपिदिएन त कम्पनिले ?"

"मैले धेरै काम गरेको उनीहरुलाई मन परेन छ ।"

मेरो टाईम पत्रिका मलाई नसोधि मेरो अगाडिको पत्रिका राख्ने थैलोवाट केही नभनी लिएर हेर्न थाले । एक छिन हेरेर आफ्नोमा राखे । त्यसमा विमान परिचारकलाई फिर्ता गर्ने टिपोट थियो । मैले पत्रिका फिर्ता माँगे ।

मैले उनका परिवारका बारेमा सोधेँ ।

"मेरो उमेर ४० भयो अहिले सम्म विहे भएको छैन । अब नेपालमा गएर गर्ने विचार छ ।"  

खाना बाँड्दै हवाई सुन्दरीहरु आए । कोरियन परिकार विविम्पाप र कुखुराको मासु रहेछ ।

"विविम्पाप कम्स विथ द विफ, राईट ?"

"‌ओ यु नो दिस ।" तिनै मेरा सह-यात्रीलाई हतेरेर ल्याउने विमान परिचारक वोले ।

मैले कुखुराको मासु भएको परिकार रोजेँ ।

मेरा मित्रको भने खाना भन्दा पनि पेय पदार्थमा ध्यान गयो । उनीहरुले 'ह्वीच ड्रिन्क यु वान्ट?' भनेर सोध्नु अगावै उनले भने-
"अल्कोहल !"

उनले वियर, वाईन वा ह्विस्की भन्न सकेनन् । शायद उनीले यो पेय नभेटाएको पनि धेरै भएको थियो । परिचारकले वाईन राखिदियो हामी खानामा केन्द्रित भयौँ । उनले कुरै कुरामा भने-

"एक चोटी मलाई धेरै रक्सि लागेछ । म त सिधै ककपिटमा पुगेँछु ।'

"के यही कोरियन एयरलाईन्समा हो त ?"

"होईन, दुबईवाट आउँदा ।"

खाना खाएर म सुतेँ । उठ्दा उनी स्क्रिनमा सोदोकु खेल्दै थिए । धन्य आफूलाई व्यस्त राख्ने केही सीप त रहेछ भन्ने लाग्यो । उनीसँग 
कुरा गर्नुको कुनै तुक थिएन । मैले आफूलाई ईकोनिमिष्टमा नै हराएँ । कार्यस्थलमा हुने यौन उत्पीडन अर्थात सेक्सुअल ह्यारासमेन्ट शीर्षकमा दुईवटा लेख रहेछन । भेरोनिकाले पठाएको ईमोजी जस्तो यौन उत्पीडनको पनि सानो तर साँकेतिक चित्र लेखमा थियो । यस्तो चित्र मैले यसभन्दा अघि देखेको थिईन । अहिले सारा सँसार यौन उत्पिडितहरुको 'म पनि' भन्ने अभिव्यक्तिको प्रसारले आन्दोलित भएको छ । ह्यास ट्याग मि टु को सन्देश सामाजिक सन्जालमार्फत सार्वजनिक गरेर 'म पनि यौन उत्पिडनको शिकार भएकी छु' भन्ने खबर सारा दुनियाँले पत्तो पाउँछ । हलिउडका हस्तीहरुले समेत यस्तो दुर्व्यवहार गरेर कुख्याती कमाएका प्रसँगहरु लेखमा पढेँ । मेरो समय मज्जाले वित्यो । दुईवटा 'फ्रेन्डस' शीर्षकका हास्य टेलिभिजनका सो हरु पनि हेरेँ ।    

तर मेरो रमाईलो मा शत्रु पसे झै मेरा छिमेकी साथी बाधक बनेका थिए । घरी घरी केही न केही उदेकलाग्दा कुरा निकाल्थे । 

"यो ओड्ने कम्बल लैजान पाए त एउटा राम्रो सँझनाको चिनो हुन्थ्यो । लान मिल्ला नि हगि ?"

फौजदारी अभियोगमा परेर प्रहरीले अड्डासार गर्दै ल्याएको व्यक्तिको चेत अझै नखुल्नु मेरो लागि रहस्यमय विषय भएको थियो ।   
मैले सबैभन्दा अन्तिममा आईसक्रिम खाएको थिएँ । चम्चा र आईसक्रिमको बट्टा भने हवाई सुन्दरीहरुले सँकलन गर्न बाँकी थियो । मित्रले त्यसमा पनि आँखा लगाए ।

"यो चम्चा खुसुक्क झोलामा हाल्ने कि ?"      

घरिघरि मैले सोचेँ- हामी दुवै कोरिया पुगेर आएका नेपाली । सँगै बसेका छौँ । तर हैसियत फरक छ । यो के हो ? विधिको खेल ? या राज्यको दुराअवस्थाको परिणाम ? व्यक्तिको भाग्य ?

विदेशमा केही नेपाली कामदारले गर्ने यस्ता गैरकानुनी गतिविधि र यात्रा गर्दा समेत देखाउने अमर्यादित व्यवहारले गर्दा सामान्य यात्रुले समेत झन्झट र  दु:खसास्ती व्योहोर्नु परेको छ । यसपटक त्रिभुवन विमानस्थलको कोरियन एयरलाईन्सको चेक-ईन काउन्टरमा मैले पनि तनाव झेल्नु पर्यो । मेरो राहदानी र टिकट हेरेपछि काउन्टरका कर्मचारीले मलाई सोधे-

"तपाई किन जान लाग्नु भो कोरिया ?"

"तपाईको प्रश्न गलत भयो । यो प्रश्नको उत्तर दिन म जरुरी ठान्दिन् ।"

मेरो जवाफले तिनको कन्पारो तात्यो । उनले उनका हाकिमलाई वोलाएर ल्याए ।

"हामीलाई यात्रु विवरण सूचि बनाउनको लागि यो प्रश्नको जवाफ आवश्यक छ ।"

"म सँग म्याद नगुज्रेको राहदानी, वैध भिसा र राम्रो श्रेणीको ईकोनोमी क्लासको टिकट छ । यसको आधारमा मेरो चेक ईन हुँदैन भने म फिर्ता जान तयार छु । तर गलत प्रश्नको जवाफ म दिँदिन ।"

मैले अडान कायाम राखेँ । उनीहरु गले । पछि अध्यागमनका अधिकृतसँग बुझ्दा उनले पनि मेरो तर्कमा सहि थपे ।  

यसरी यो यात्रको शुरुवात र अन्त्यमा केही विधर्मी सँस्कारसँग जुझ्नु पर्यो । तर प्रत्येक कालो वादलमा चाँदीको घेरा हुन्छ भने झै भयो मेरा छिमेकीको 'सामान झ्याप पार्ने' कुबुद्धिले पनि मलाई भने एउटा विचार जन्माईदियो । मलाई ईकोनोमिष्ट पत्रिका मागेर लैजान मिल्ला कि ? भन्ने प्रश्न गर्ने विचार आयो । तर मैले यसमा अलिकति बुद्धि खर्च गरेँ ।

मैले अरु यात्रुलाई अघि जान दिएँ । एक हवाई सुन्दरी नजिकै आईन ।

"डु यु ह्याभ एनि सोभेनियर ?"

"वेट ए मिनट "

उनले एउटा एयरबस ३८० को पोष्टकार्ड दिईन । मैले पत्रिका फिर्ता गर्ने आशयले उनीतिर बढाएँ । मैले टाईम चै फिर्ता गर्न र ईकोनोमिष्ट चै शौजन्य सामाग्रीको रुपमा माग्ने विचार गरेको थिएँ ।  

"ईफ यु वान्ट यु क्यान अल्सो टेक देम ।"

"! यु आर सो काईन्ड, थ्याङ्क यु ।"

चेक ईन काउन्टरको अप्रसन्नतालाई सोभेनियर र दुई पत्रिकाको प्राप्तीले पखालिदिएको अनुभूति भयो । घर आएर फ्रान्सिस्काले पठाएको ईमोजीको वारेमा थप अनुसन्धान गरेँ । कम्प्युटर विषयका ज्ञाता साथीहरुलाई समेत सोधेँ । जसरी शौचालयमा राखिएको पुरुष र महिलाको सँकेत चिन्ह जसले पनि बुझ्छ, ईमोजि पनि त्यस्तै लाग्यो । त्यसलाई पढ्न अक्षर नचिने पनि हुने । चित्र चिने हुने । चिसो वियरलाई पूर्व प्रेमिकाको मुटुसँग दाँजेको सन्देशमा पनि पानको पातको एक सँकेत चिन्ह राखेको थियो । रातो पानको पातले 'प्रेम' बुझाउँछ भन्ने अहिले प्राथमिक तहको नानीहरुले पनि बुझ्छन् । कोरिया यात्राले पूर्व प्रेमिकाको चिसो मन वा फन्किएकी श्रीमतिको तातेको मुड जनाउने ईमोजि पनि हुन्छन् कि भनेर शोध गर्ने चाहना पलाएको छ ।

कार्तिक २२, २०७४
कोटेश्वर धुलिखेल बस यात्रा   
     

Monday, January 22, 2018

पोखरामा साक्षात देवी

नेपाली नारीको औसत उचाई भन्दा अग्लो कद । कदको धारणशक्ति अनुरुप जत्रो आकारको देखिँदा शौन्दर्यको चरम बिन्दु छुन्छ त्यत्रै जिउडाल । कालो रंगको कोट र पाईन्ट मिश्रित औपचारिक पहिरन ।

कोटको शिरान तिरका खुलै छोडिएकाले टाँकले छातीमा 'भि' आकारको डिजाईन बनाएका । वाह्य आवरणको त्यो आकर्षक डिजाइनले उघारेको भु-भाग छोप्न सेतो रंगको भित्री । कोटको माथिको गोजी रहने स्थानमा एयरलाईन्सको लोगो र नामथर स्पष्ट लेखिएको ट्याग । दबेका जस्ता देखिने सम्याइएका शालीन वक्षस्थल । हरेक मान्छेमा विद्दमान सबैभन्दा अर्थपूर्ण गहना कपालको भने पछाडि लगेर आकर्षक जुरो बनाइएको । मैले गहिरिएर उनको तस्विर हेर्नुको विशेष कारण थियो । 'दक्षताको उडान' शीर्षक दिईएको एक विज्ञापन बुद्ध एयरकै उडान पत्रिकामा छापिएको थियो । निलो आकाशमा रुमल्लिएको सेतो बादलको पृष्ठभूमिमा सहकर्मीहरुका साथमा उनको मन्द मुस्कानको आभा पस्किएको फोटो विज्ञापनको एक आकर्षण बनेको थियो । मनले भन्यो- मैले यी नमूना हवाई सुन्दरीलाई कहिँ देखेको छु । 

"अघि प्रवेशद्वारमा यात्रुहरुलाई स्वागत गरेर उभिने क्या त !"

आफैले सोधेको प्रश्न आफैले उत्तर दिनुको मजा छुट्टै छ । आफ्नै अन्तष्करणबाट उत्तर उदायो । पानी बाँड्न आउँदा फेरी नियालेर तस्विर र उनलाई पालै पालो हेरेँ । निश्चित भयो-तस्विर उनकै थियो । पत्रिकाको तस्विरमा देखिएको व्यक्ति उही पहिरनमा आफ्नै आँखा अघि भेटिनु एक सुखद सँयोग थियो । निमेषभरमा नै बुद्ध एयरको पोखरा-काठमाण्डौ उडान नम्बर ६०४ को सबैभन्दा विशेष यात्रु हुने योजना परिकल्पना गर्न मैले भ्याईसकेको थिएँ ।
 
जाहाजवाट ओर्लने यात्रुको लाममा मैले आफूलाई सबैभन्दा अन्तिममा पारेँ । अनि उनको विदाईको अभिवादनलाई थाँती राखेर मैले प्रश्न गरेँ । 

"फ्लाइट म्यागेजिनमा दक्षताको उडान शीर्षकको विज्ञापनमा भएको तस्विर तपाईको हो ?"
 
"हो ।"
 
"सुन्दर लाग्यो ।"

शिष्टाचारको अभिवादन पस्किरहेको मुस्कानले कित्ता परिवर्तन गर्यो । अनुहारको आभाको तेज अझै गाढा भयो ।  पात्रहरुको परिचय फेरियो । हवाई सुन्दरी र यात्रुको स्थानमा साक्षात आकाश देवी र उनका प्रशँशक विराजमान भए । यात्रुलाई गरिने सामान्य विदाई विनोदप्रीय वार्तालापमा परिणत भएको थियो ।  

हवाई सुन्दरीलाई 'साक्षात देवी' को उपमा दिनु को पछि उनको सुन्दरता प्रमुख कारण थियो । यसमा मुल्य थप गरेको थियो- यात्रा गरिएको दिनमा परेको नौरथाको तृतिया तिथीले । नौ पचासको पूर्वान्हको उडान भए पनि मैले आठ बजे नै हामी बसेको पोखराको नामी होटेल माउन्ट कैलाश बाट प्रस्थान गर्ने योजना बनाएको थिएँ । कुनै ठोस कार्य नहुँदा त्यतिकै हल्लिएर वरालिनु भन्दा म आजभोली समय अगावै विमानस्थल आईपुग्न रुचाउँछु । यसको एक विशेष फाईदा छ-म केही लेखपढ गर्न पाउँछु । तर आज दिउँसो भने मलाई रामबाबु-ज्ञानु समाजसेवा पुरस्कार समारोहमा मन्तव्य ज्ञापन गर्नु थियो । मैले त्यसलाई सँस्कारी भाषणको कित्तावाट बाहिर निकालेर एक प्रस्तुतीमा परिवर्तन गर्ने निधो गरेको थिएँ । त्यसको स्लाईड बनाउन बाँकी थियो । 

तर बुद्ध एयरको काउन्टरमा पुग्दा अर्कै नौलो परिदृष्य उदायो ।
 
"हजुरको कति बजेको उडान हो ।"
 
"नौ पचासको हो ।"
 
"अहिले त नौ विसको लागि जाँच भै रहेको छ नि त सर !"
 
डेनियल कानेम्यानले भने जस्तो मेरो मष्तिष्कको प्रणाली-२ सचेत भयो । मैले पलभरमा नै एक निर्णय लिएँ । 
 
"हजुरहरु त चमत्कार गर्न सिपालु हुनुहुन्छ । नौ विसको उडानमा नै पठाईदिनुस न मलाई ।"
 
मैले शब्द चमत्कार देखाएँ । विधाताले बनाएको विधानको धारा लागु भयो । अर्थात क्रियाको प्रतिकृया भयो । काउन्टरका कर्मचारीले पनि चमत्कार देखाए । मैले नौ विसको उडानकै बोर्डिङ् पास पाएँ । 

होटलवाट हिँड्नु अघि पनि आतिथ्य सत्कारको अग्र भूमिकामा खटिएका देवीहरुले मलाई विदाई गरे । काउन्टरमा दुई हल्का हरियो रगँको साडीमा सजिएका दुई अधवैसेँ कर्मचारी थिए । मैले उनीहरुलाई म एक वर्ष अघि आउँदाको एक प्रसगँ सुनाएँ ।   

म यही होटलमा एक गोष्ठीमा सहभागी हुन आएको थिएँ । रात्री भोजको मूल खानाको कर्म सके पछि म मिठाई फिँजाईएको टेबल तिर लाँगे । दुई किसिमका केकहरु राखिएका थिए । कुन चहिँ रोज्ने भन्ने दोधार भयो । ‘विना तर्क हचुवामा निर्णय नगर्ने’ प्राविधिक बानीले कहिले कही मलाई हैरान पारेको छ । त्यसैवेला एक सेविका नजिकै आईपुगिन । 

“यी कुन कुन जातका केक हुन ।” मैले ठट्यौली पारामा सोँधे ।
 
“ब्ल्याक फरेष्ट र ह्वाईट फरेष्ट ।”
 
“उ त्यो ताल पारीको जँगल चहिँ कुन फरेष्ट ?” मैले जुनको उज्यालोमा टल्किएको थुम्कोमा फैलिएको हरियो वन देखाउदै भने । हाम्रो समूहमा अरु सेवक र सेविका पनि थपिए । रोचक कुरा सुनेर ति लोभिए ।
 
“त्यो त क्विन फरेष्ट ।” अहिले भने गोष्ठीमा सहभागी एक मित्रले उछिने ।
 
“अनि खै त यहाँ त क्विन फरेष्ट छैन ?” मैले विस्कुन जस्तै गरी राखिएका केक देखाँउदै भने ।
 
“क्विन फरेष्ट अर्थात रानी वनमा दिँउसो मात्र जान मिल्छ । राती मिल्दैन ।” गोष्ठीमा सहभागी अर्का एक मित्रले हाम्रो छलफलमा मिसिँदै भन्नु भयो । हामीलाई केन्द्रविन्दु पारेर उभिएका एक हुल होटल कर्मचारी गलल हाँसेका थिए । 

जुन स्थानमा मैले एक बर्ष अघि 'क्विन फरेष्ट' केकको प्रसँग निकालेर रमाईलो पस्केको थिएँ, म यस पटक पनि विहानको सात बजे ब्रेकफास्ट लिन त्यही स्थानमा पुगेँ ।

हाम्रो गोष्ठीमा बैँककबाट सहभागी हुन आएका दुई 'जापानी देवी' हरु पनि थिए । उनीहरुको पनि ब्रेकफास्ट लिने समय सात बजे नै तय भएको रहेछ । आगन्तुक कक्षमा नै भेट भयो । अब यिनीहरु सँग रमाईलो हुने भयो भन्ने मैल लख काटेँ । नभन्दै हामी तीन जना मात्र एउटै टेबल लिएर बस्यौ । लगभग एक घण्टा हामी तिन जना मात्र गफियौँ। हामी बसेको ठाउँबाट फेवाताल किनारको सडक र नेपाली सेनाको क्याम्पको पर्खाल देखिन्थ्यो । पछाडि भिर्ने झोला भिरेका एक हुल पर्यटकहरु होटेल छोडेर पैदलै लेक साईड तिर लागे । देवीहरुको ध्यानाकर्षण भएछ । 

"आर दे गोईङ टु क्लाईम्ब दि माउन्टेन ?" अकिको सानले सोधिन् ।
'सान' को नेपाली रुप 'जी' हुन्छ । नामको पछिल्तिर जोडिने यो जापानी सम्बोधन बडो प्रिय लाग्छ मलाई । जापानीहरुले मलाई भने 'नावाराजी सान' भन्छन् । मेरो जापानीकरण गरिएको नामको चर्चा मैले अन्य लेखहरुमा गरेको छु ।

उनीहरुले पोखराका वरपर भेटिने हिमालहरु सराङ्ककोट वा शान्ती स्तुपा भएको डाँडो जस्तै नजिकै छन होला भन्ने ठानेका रहेछन । मैले आधारभूत भूगोलको व्याख्यावाट शुरुवात गरि पोखराबाट 'बेस क्याप' सम्मको विवरण बताएँ । त्यहाँ सम्म पुग्न लाग्ने समय बताईदिएँ । नोरिको सानले जापानको सबैभन्दा अग्लो टाकुरो माउन्ट फुजी को प्रसँग निकालीन ।

"म तीन बर्ष जापान बसेँ तर फुजि हिमाल हेर्न जाने अवसर जुराउन सकिन ।" मैले अँग्रेजीमा भने ।
सामान्य तयारीले पनि फुजी पर्वतको टाकुरैमा नपुगे पनि अलि तल सम्म पुग्न सकिन्छ । पोखराको माछापुच्छ्रे वा अन्नपूर्ण भने जस्तै जापानको एक पर्यटकिय गहना हो । हाम्रो वार्तालाप अघि बढ्यो ।  

"पोखरा छेउछाउ भएका अग्ला हिमालको उचाई कति छ ?"
 
"केहीको ८००० मि भन्दा पनि बढी छ । अर्थात फुजी पर्वत भन्दा दुई गुणाले बढी ।"
 
म यो उचाईको विषयको उठानको साईत पर्खिरहेको थिएँ । जापानी वा अन्य विदेशीहरुसँग गफ गर्दा नेपाल सम्बन्धित तथ्यपरक विषयहरुको चर्चा होस, अनि तिनलाई उनीहरुको मुलुकका समकक्षी विषयहरु सँग तुलना गर्न पाईयोस, नेपाली हुनुको अर्थ त्यसवेला खुल्छ ।  

"ए……… हो न तो (साँच्चै हो त )?"
 
अकिको सानले आश्चर्य व्यक्त गरिन ।
 
'फुजी पर्वतको ३७७६ मिटर छ ।' अकिको सानले तथ्य नै उजागर गरिन । हामीलाई सगरमाथाको उचाई ८८४८ मिटर भन्ने कण्ठ भए जस्तै उनलाई फुजीको उचाई थाहा रहेछ ।  

त्यति अग्ला त सयौँ चुचुरा छन् नेपालमा । तर अफसोच फुजी पर्वत एउटै भए पनि जापानीहरुले हुनु सम्मको विकास गरेका छन् । पर्यटकहरु रेलमार्ग, सडकमार्ग वा हवाईमार्गबाट फुजी पर्वतको नजिकै सम्म यात्रा गर्न सक्छन् । हामीले धेरै गर्न बाँकी छ । केही हप्ता अघि धुलिखेलमा एक कफि क्याफेमा पुगेको थिएँ । जापानमा सात वर्ष काम गरेर फर्केका एक काभ्रेली भाईले जापानको अनुभवलाई वीउ बनाएर आफ्नै माटोमा रोपेका रहेछन । परिवारका सदस्यहरु नै कामदार भएर सम्हालेको त्यो चमेनागृहले म र मेरा केही साथीहरुलाई निकै प्रभाव पार्यो । मैले त्यस दिन एउटा सपना देखेँ- विदेशवाट फर्केका हरेक नेपालीले यस्तो इलम समात्ने हो भने हामी केही वर्षमा नै सम्पन्न देशका नागरिक हुन्छौ ।  

अघिल्लो दिन हाम्रो एक दिवसिय गोष्ठीको कार्यक्रम थियो । नेपाल जेयसपियस अल्मुनाई एशोशिएसन अर्थात एन्जाको आयोजनामा वार्षिक साधारण सभा सँगै यो गोष्ठीको आयोजना गरिएको थियो । एन्जालाई हामीले केही वर्ष अघि स्थापना गरेका थियौ । जापान सोसाईटि फर प्रोमोशन अफ साईन्स नामक जापानको एक प्रतिष्ठित सँस्था सँग एन्जाको आबद्धता रहने प्रावधान छ । यसले खासगरी उत्तर विद्यावारिधिको विद्वत वृतिमा जापानमा अनुसन्धान गर्ने अवसर प्रदान गर्छ । गोष्ठीमा मेरो जिम्मेवारी थियो- उद्घोषण गर्नु ।

प्राय: जसो हाम्रा यस्ता कार्यक्रमहरुमा औपचारिकता निभाउने परम्परा रही आएको छ । वक्ताहरुले रगँ न ढँगका लामा लामा भाषण गर्छन् । यसकारण श्रोतालाई जगाएर कार्यक्रम अवधि भरी उनीहरुको रुचि यथास्थितिमा कायम राख्न सक्नु लरतरो काम होईन ।  म यस विषयमा सचेत थिएँ । तर मेरो काम भीर मौरीको मह काड्नु जस्तै थियो । विविध पृष्टभूमि भएका श्रोता । सामान्य कृषक देखि प्राध्यापकहरु सम्म । अँग्रेजी नबुझ्ने देखि नेपाली नबुझ्नेहरुको उल्लेख्य उपस्थिति । तर कार्यक्रममा मैले केही रोचकता थप्ने भरभग्दुर प्रयास गरेँ । केही प्रसँग ताजै छन् ।   

गोष्ठीका मुख्य वक्ता बैँककबाट आएका प्रा.डा. कुनियाकी यामासिताको प्रस्तुतीको लागि परिचयका साथ मन्चमा वोलाउनु थियो । "यामासिता सेन्से, तपाईको हिजो जहाज एक घण्टा ढिलो भए जस्तै आज भने प्रस्तुतीको समय पनि एक घण्टा नै ढिलो भएको छ ।"सबै गलल हाँसे । जापानी अध्येता पनि हाँसे । अतिथी प्राध्यापकलाई समेत त्यसरी हसाँउन सकेँ । सबैले राम्रै मानेको जस्तो लाग्यो । 

कृषि तथा वन विश्वविद्यालयका रजिष्ट्रारको थर भने 'कोलाछापति' रहेछ । उनी गोष्ठीका प्रमुख अतिथि थिए ।  मैले उनको थरको उच्चारण अन्यथा हुन गएछ । सबै हाँसे । 

"यो अंग्रेजी - के- अक्षर बाट शुरु हुने थर जति एकै हुन कि के हो ? मेरो थर –खतिवडा- पनि त्यस्तै छ । कतिजनाले  - कतिवटा- भन्छन ।"
 
त्यसले फेरी श्रोतालाई प्रफुल्ल बनायो ।

नेपाल विज्ञान तथा प्रविधी प्रतिष्ठानका सदस्य सचिव डा. बुद्धिरत्न खड्गीलगायतले मेरो उद्घोषणको तारिफ गर्नु भयो । म दङ्ग परेँ । कार्यक्रम सकेर म कोठामा आएँ । चार्जरले काम नगरेकोले मोवाईल बन्द भयो । घरमा हालखबर आदान प्रदान हुन पाएन । म वैकल्पिक उपायहरु खोज्न थालेँ । रात्री भोजमा जान अबेर भयो ।  

म रात्रीभोज-कक्षमा पुग्दा सबैजना जमिसकेको पाएँ । एक युवतीले जँगे तरल पदार्थमा कोक मिसाउँदै गरेको देखेँ । आखिर आधुनिक देवीहरु पनि के कम ? मैले गमे । म भने बजारमा नयाँ आएको 'नरम अर्ना' अर्थात अर्ना लाईट वियर तिर लागेँ । कता बसौ भनेर आँखा डुलाउन थालेँ । त्रिदेवी बसेको एक टेवलमा मेरो ध्यान गयो । म त्यतै लम्किएँ । 

"नौरथा अर्थात नवरात्रीमा तीन देवीहरुलाई मात्र एक ठाउँमा बस्न दिनु हुन्न रे ।"
 
"किन होला त्यस्तो ?"
 
"भैरवीको रुप धारण गर्न वेर लाउँदैनन रे !"
 
"यहाँलाई हार्दिक स्वागत छ । आज राम्रो उदघोषण गर्नु भयो ।" बीचमा बसेकी देवीले स्वागत र प्रशँशा दुई फुलले मेरो स्वागत गरिन । देवीहरु प्रसन्न हुनु भनेको शुभ सँकेत थियो । 
 
"धन्यवाद ।"
 
उनीहरुसँग मिसिँदै परिचयको आदान प्रदान भयो । पोखराको एक मेडिकल कलेजमा पढाउने डाक्टर साहिवाहरु रहेछन् ।
 
"डाक्टरसँग त औपचारिक मात्रै कुराकानी हुन्छ । त्यो पनि विरामी भएको वेला । यसैले जीन्दगीमा अहिलेसम्म खुलेर कुरा गर्न पाईएको छैन ।"
 
"ल आज पाउनु भयो । धक फुकाएर बोल्नु होला ।" देवी नम्बर दुईले भनिन् ।  

तीनै जना छिमेकी मित्र राष्ट्र चीनवाट चिकित्सा विज्ञामा उच्च डिग्री लिएर फर्केका रहेछन । उनीहरु त निकै फरासिला रहेछन् । विरामीको नारी छाम्ने परम्परागत चिकित्सा पेशाधर्मभन्दा अन्य विधा अँगालेर वृत्तिविकास गर्ने सोच पालेका रहेछन् । इलम गरेर सर्वाधिक धन कमाएका नेपालका नामी ईन्जिनियर र चिकित्सकहरुको प्रसंग निस्कियो । सुई डाक्टर र फुँई डाक्टरका भेदको चर्चा मैले चलाएँ । चिकित्सकले विरामीको संवेदना र मानवीय मूल्यलाई कसरी लिएको हुन्छ भन्ने विषयमा पनि बहस भयो । गम्भीर विषयले प्रवेश पाएर श्यामश्वेत हुँदै गएको छलफलमा रंग थप्न मैले विरामी र डाक्टरको एक चुटकिला पनि सुनाएँ ।  

चुट्किला यस्तो थियो-

एक श्रीमानले श्रीमतीलाई लिएर प्रसुति तथा स्त्री रोग विशेषज्ञकहाँ गएछन् । उनीहरु त्यस दिनका अन्तिम ग्राहक बन्न पुगेछन् । नर्सले नाम दर्ता गरेर विरामीलाई भित्र पठाइदिइछन् । डाक्टरले विरामीलाई बेडमा पल्टने आदेश दिएछन् । उनले जाँच शुरु गर्नैलाग्दा विरामीले अनौठो माग राखिछिन ।
 
"डाक्टरसाहेब कृपया मेरो श्रीमानलाई भित्र बोलाउनु होस् ।"
 
"तपाईँलाई मेरो विश्वास छैन र ! म एक आदर्श र नियमले बाँधिएको पेशाकर्मी हुँ । "
 
"हजुरसँग मेरो पूर्ण विश्वास छ ।"
 
"अनि किन हजुरको श्रीमानलाई भित्र बोलाउने ?"
 
"मलाई मेरो श्रीमानप्रति एक रत्ति विश्वास छैन । किनभने बाहिर की नर्स विछट्टै राम्री रहिछिन् ।"

उनीहरु उच्च स्वरमा हाँसे । मेरो निवास रहेको स्थान कोटेश्वरमाथिबाट ठूला जहाजहरु उड्दा भुँईका आवाजहरु एकै छिन ओईलाउँछन् । त्यस्तै भयो । हाम्रो टेबलको संयुक्त हाँसोको आवाज वोईङ् भएर निस्कियो । अन्य टेवलका ध्वनी भुँईका आवाज भएर विलाए । अब केही दूरीमा उभिरहेका केही पुरुष श्रोता हाम्रो समूहमा थपिए । आजको उद्घोषकले तीन/तीन जना देवीहरुसँग एक्लै रजाईँ गरेको देखेर उनीहरुको मन सायद कुँडियो ।  देवीहरुसँग परिचय गर्ने र आफ्ना गफले उनीहरुलाई मोहित पार्नेमा प्रतिस्पर्धा बढ्यो । यस्तो बेला जँगे पेयपदार्थले उत्प्रेरकको भूमिका खेल्छ । मैले भने आफ्नो गियर घटाउन श्रेयकर सँझे ।  

गोष्ठी सम्पन्न भएको दिनमा म बिहान चार बजे नै उठेको थिएँ । सुखद संयोग जुरेको थियो । नौरथामा पोखरामा बास बसेको थिएँ । बिहान कुनै औपचारिक संलग्नता थिएन । विन्द्यवासिनीको दर्शन गर्नका लागि यो भन्दा उत्तम समय अर्को हुन सक्दैनथ्यो । म पौने पाँच बजे होटल परिसरवाट बाहिर निस्किएँ । कसरी पुग्ने त विन्ध्यवासिनी मन्दिर ? पाए बस नपाए ट्याक्सी भन्ने त थियो नै । तर प्रवेशद्वारका सुरक्षाकर्मीसँग सूचना संकलन गरेँ । उनले पृथ्वीचोकमा गएर बस परिवर्तन गर्ने सुझाए । फर्किँदा सजिलो होस् भनेर त्यो ठाँउको नामसमेत सोधेँ । "आम्पोट" रहेछ । मैले फेवातालको पुछारतिर जाने सडक समातेँ । ट्याक्सी चढेर मन्दिर परिसरमा पुग्दा मान्छेहरुको लर्को देखियो । तर अचम्म लाइनमा देवीहरु मात्रै थिए । म पनि मिसिएँ । 

"हजुरले त्यता उभिन मिल्दैन । पुरुषको लाइन यता हो ।"सुरक्षाकर्मीले मलाई सचेत गराएँ । लाममा उभिएका देवीहरु मुस्कुराए । अचेतन मनको निर्णयले अधिकांश समयमा धोका दिन्छ । "यो लाममा पुरुष किन छैनन् ?" यो प्रश्नको जवाफ खोज्न घोत्लिएको भए हाँस्य पात्र हुने थिइन । 

"जति नै दर्शन गरे पनि मन्दिर भित्रकी देवी मुस्कुराउँदिनन् । दर्शन गर्दा देवी मुस्कुराएको अनुमान गरी आफ्नै मन मुस्कुराउने हो । तर यहाँ त मन्दिरमा उभिएका साक्षात देवीहरु मुस्कुराएका छन् । त्यो मेरो क्रियाकलापले हो । यसमा हर्षित नहुने कारण छैन ।"

आफूले आफूलाई सान्त्वना दिएँ । घुमेर अर्को दिशातिरको लहरमा मिसिँए । पुरुष एक दुई जना मात्र । देवीको थानमा सरफाई भैरहेकोले एक चलायमान मूर्तिलाई ढोका बाहिर ल्याएर राखिदिएँ । यो तरिका नौलो लाग्यो । नरिवल फुटाउने पनि देवीस्थान बाहिर एउटा साँचो राखिएको रहेछ । अक्षताको टिका र ‌भित्तामा टाँसिएको ऐना खोज्न भने मुश्किल भयो । होटेल फर्किँदा भने बसमा पृथ्वीचोक हुँदै फर्किएँ ।     

पोखरा जाँदा हाम्रो सात जनाको समूह थियो । समूहमा आधा दर्जन फुँई डाक्टर थिए । सबैले जापानवाट उत्तरविद्यावारिधि शोधको कार्य गरेका अर्थात छ जना नै एन्जाका सदस्यहरु । पुष्प अधिकारी, तारा पाण्डे र  युमेद पुनको कृषिक्षेत्रसँग सम्बन्धित ज्ञाता भने रिजनभक्त कायस्थ,   कुन्दनलाल श्रेष्ठ र मेरो वातावरणसँग । 
अघिल्लो दिन मेरो ताराजीसँग यात्राबारे फोनवार्ता भएको थियो । वहाँले एक अविष्मरणीय यात्रा मन्त्रको ज्ञान दिनु भयो । "खै ! जाने त भनियो । मादल र महिला बिनाको यात्रा के रमाइलो होला र ? "

तर अलिअलि भए नि मादलको काम भने थियो । मेरो मोबाइल, ब्लुटुथ र गाडीको स्पिकरले । मैले केही व्यङ्य प्रधान श्रवण सामाग्री सुनाएँ । हाम्रो मिनिबसमा मलेखुबाट एक अधवैसेँ महिला पनि चढेकी थिइन् । उनी गाडिमा चढ्दा पनि रमाइलो सिर्जना भयो । 

"विमला नानी सर हरुलाई नमस्ते गर ।"ताराजीले आगन्तुकलाई आदेश दिनु भयो । उनले लजाउँदै भनिन्- गरिसकेँ त । "नमस्ते गर । अब अलिकता माइत लैजान लागेको कोसेली पनि निकाल । अनि सरहरुलाई बाँड ।"
मैले मौका छोपेँ । प्रत्युत्पन्न शैलीमा अभिव्यक्ति उमारेँ । त्यो तारा सरतर्फ लक्षित थियो । "हजुरले नौरथामा चेलीबेटीलाई भन्ने यही त होला, होइन र तारा सर ? "

मेरो निशाना अचुक भयो । त्यसले विमलाको लज्जा मिश्रित मुस्कानलाई तन्काएन मात्र त्यसमा रहेको गाम्भिर्यको बरफ पगालेर त्यसलाई ठट्टाको बाफसमेत बनायो । फुईँ डाक्टरसाहेबहरुको हाँसोले गाडी भरियो । विमलाको घर मलेखुबाट नजिकै रहेछ । उनी घर नजिकको एक विद्यालयमा पढाउँदी रहिछन् । 

"घटस्थापनाको दिनमा भेटिएकी देवीलाई त हामीले पो नमस्ते गर्नु पर्ने हो । या देवी सर्वभूतेषु लज्जा रुपेण संस्थिता । नमस्तस्यै । नमस्तस्यै । नमस्तस्यै नमो नम: ।"

मैले कुरोको कुलो वनाएर देवी स्तुतीसँग जोडेँ । कुरिनटारमा खाना खाएर अघि बढेपछि हामीले गर्मी महसुस गर्दै एसी चलाउने आदेश दियौँ । तर चालकले बाङ्गा कुरा निकाल्यो ।   

"हजुरहरुले साहुसँग एसी चलाउने गरी भाडा तय गर्नु भएको हो र ?"

नेपालमा रु १०० पर्ने कुनै सेवा लिन चाहनु भयो भने रु ६० सम्मको मात्र पाउनु हुन्छ । बाँकी ४० प्रतिशत सेवा लिन चाकडी गर्नु या विशेष पहल गर्नु पर्ने हुन्छ । कसैले कतै भनेको सम्झिएँ । 

"एसी नचलाउने, एसी चलाउने तर चिसो नपार्ने, एसी चलाउने अलिअलि चिसो पार्ने अनि पसिनै सुकाउने गरी एसी चलाउने गरी चार किसिमको दररेट हुन्छ होइन त गुरुजी ?"

"भाडाको शर्त निर्धारण गर्दा गाना बजाउने कि नबजाउने भन्ने पनि निर्णय भएको हुनुपर्छ ! साहुजीलाई गाना चैँ सरहरुकै मोबाइलवाट बजाउनु भएको छ भन्न नबिर्सनु ।"

हामीलाई परिस्थितिले पस्केको नयाँ विषयवस्तु अर्थात "एसी चलाउने" का बारेमा यस किसिमका एक दुई ठट्यौली सुनाए पछि गुरुजी गले । उनले चिसो हुने गरी मजैले एसी चलाए ।  

हाम्रा जापानिज अतिथीहरु थाई विमान सेवाबाट काठमाडैं ओर्ले लगत्तै आन्तरिक उडानवाट पोखरा आउने योजना थियो । तर अन्तराष्ट्रिय टर्मिनलवाट आन्तिरकमा आउनका लागि कुनै व्यवस्था नभएकोले हामीलाई चिसो पसेको थियो । फेरि फोन गरेर बुझ्दा पोखरा विमानस्थल मौसमको कारणले नखुलेको हुनाले पोखराको उडान प्रभावित हुने पक्का थियो । कथमकदाचित उनीहरुको उडान रद्द भएमा अर्को वैकल्पिक व्यवस्थाको खोजी गर्ने जिम्मासमेत हाम्रो हुन जान्थ्यो ।

हामीले अपनाउन सक्ने कुनै सजगता नभएका कारण हाम्रा अतिथिहरुले दु:ख पाउनु भनेको हाम्रा लागि लाज लाग्ने विषयवस्तु हुन सक्थ्यो । जापानिजहरु भनेका संसारकै पूर्णप्राप्तिमा रमाउने जाति हुन् । अपुरो काम गर्ने वा मिहिनेत नपुर्यापई काम अधुरो राख्ने भन्ने कुराहरु उनीहरुका कार्यसूचिमा नहुने कुरा हुन् । जापानका सार्वजनिक सेवा सुविधाहरु यिनै निर्देशक सिद्धान्तका आधारमा निर्धारित गरिएका छन् । उमेदजीले आफ्नो सन्जालको माध्यमवाट हामीलाई विकसित घटनाक्रमका बारेमा जानकारी दिन सक्ने व्यक्तिहरुसँग सम्पर्क स्थापित गरेरै छोड्नु भयो । तर भाग्यवश उडानमा एक घण्टामात्र ढिलाई भयो । हामी पोखरा पुग्नु र अतिथिहरु पुग्नु लगभग एउटै समयमा भयो ।        

यसपटकको पोखरा यात्रा घटस्थापनाको दिनमा भएको थियो । रिजनजी र मेरो कोटेश्वरमा भेट हुने र भाडाको सवारीसाधन पनि त्यहीँ बोलाउने निधो भएता पनि त्यसो भएन । कोटेश्वर आएको मात्र २००० रुपैयाँ बढी लिने माग गाडीको साहुले राखेको रहेछ । रिजनजिले ल्याएको ट्याक्सी प्रयोग गरी हामी ठमेल पुग्दा युमेदजी र कुन्दनजी भने हामीलाई पर्खिरहेको पाइयो । सवारीसाधन आउन केही बेर लाग्ने देखियो ।

हामी त्रिदेवी मार्गमा हिमालयन वैँक अघि उभिएका थियौँ । यात्राको आरम्भमा "देवी" को झझल्को सडकको नामले दिनु पनि एक सुखद संयोग थियो । सडक पारीको कफी पसलमा एक देवी देखिइन् । बिहानको समय । फुक्का भएको मन । पसलमा पाइने स्वादिलो अर्ग्यानिक कफी । अनि पसलमा अरु कोही ग्राहक नभएको अवस्था । प्राय विदेशी जाने ठमेलको पसलमा त्यहाँकी देवीले मलाई दिल खोलेर पस्कने आतिथ्यता । मेरो मन मानेन । साथीहरु पनि मानेनन् । तर म पसलतिर लम्किएँ । 

"म किन आएँ होला तपाईँको पसलमा ?"
 
"कफि पिउन त होला नि । अरु के होला र ?"

उनले मुस्कानको धर्को मजैले तन्काइन् । मान्छेले मन खुशी भएपछि नराम्रो काम गर्दैन । अरुको अहित चिताउँदैन । सकेको राम्रै गर्छ ।  मैले उनको विशिष्ट सेवा पाउने पक्का थियो । उनको घर रामेछाप रहेछ । अहिले स्नातक पढ्दै रहिछिन् । यसरी परिश्रम गर्दै अध्ययन गर्नु भनेको सर्वोत्कृष्ट हो । 'अब पढिसकेर आफ्नै पसल खोल्नु' भनेर अर्ति दिएँ । उनले ज्ञानी शिष्य झैँ मुन्टो हल्लाइन् । यो नै पोखरा यात्रामा देवी हर्षित भएको पहिलो संकेत थियो । 

आश्विन २१, २०७४
तीनकुने, काठमाण्डौ      
साभार :  http://ujyaaloonline.com/news/85501/pokharama-sakshat-devi/