Monday, April 9, 2018

कमिला र फट्याङ्ग्रा (नेपाली सँस्करण)



कथाको मूल रुप

कमिलाले बर्खामा धेरै मिहिनेत गरेर घर बनाउँछ र हिउँदको लागि रसद जम्मा गर्छ । फट्याङ्ग्रालाई लाग्छ- यो मूर्ख कमिलो ! उ हाँस्छ, नाच्छ र खेलकुद गरेरै पुरै बर्खा बिताउँछ । हिउँद लागे पछि कमिलो सुरक्षित हुन्छ र भण्डारण गरिएको रसदपानीले गुजारा गर्छ । उता फट्याग्राको न त वासको ठेगान हुन्छ न त गाँसको । यसैले उ पानी समेत जम्ने जाडोमा कठ्याङ्ग्रिएर मर्छ ।

कथाको नेपाली सँस्करण

बर्खा लागेपछि कमिलो अनवरत काम गर्छ, घर बनाउँछ, खाद्द सामाग्रीको जोहो गर्छ । फट्याँग्रो भने रसरगँमा हराउँछ । तर उ हिँउद शुरु भए पछि दशैँ तिहारको छुट्टी अघि नै पत्रकार सम्मेलन गर्छ । 

सम्मेलनमा उसको माग हुन्छ-

आजको यक्ष प्रश्न हो- किन कमिलाहरु आनन्दको जीवन विताईरहेका छन ? फट्याङ्ग्रा पनि यही धरतीका सन्तान हुन तर हामी लगायत अन्य जीवहरु भने चिसो र भोकले आक्रान्त छौँ । यो विभेद हो कि होईन ?”

सिएनएन, विविसी, भारतीय सन्चार माध्यम र एउटै समाचारले सँसारमा भाईरल तरङ्ग सिर्जना गर्ने आधुनिक सामाजिक सन्जालहरुले एकातिर लुगलुग कामेको फट्याङ्ग्राको र अर्कोतिर आलिशान महलमा भोज भतेर र मोज मस्तीमा रमेको कमिलाको तस्विर र भिडिओहरु सार्वजनिक गरिदिन्छ्न । नेपालमा देखिएको यो विभेदले सँसारमा नै तहलका ल्याउँछ । राजा विरेन्द्रको हत्याकाण्ड हुँदा जस्तै मुलुक फेरी एक पटक चर्चाको शिखरमा पुग्छ ।  

डा. गोविन्द के. सी. लाई विर्साउने गरी नेपालका चर्चित मानवअधिकारवादी कमिलाको घर वाहिर आमरण अनसन वस्छन् । कृष्ण पहारीको नेतृत्वमा फट्याङ्ग्रालाई न्यानो मौसम भएका शहरहरु धरान र हेटौडा आदिमा सारिनु पर्ने माग राख्दै जुलुस, आमसभा र विरोधका कार्यक्रमहरु तय हुन्छ्न् । कतिपय राजनैतिक पार्टीहरु अवसरको सदुपयोग गर्ने भन्दै भूमिगत भएको घोषणा गर्छन् ।   

सरकारकै पूर्व मन्त्रि र सचिवहरु फट्याङ्ग्रा लगायत अन्य जीवलाई अन्याय भएकै होभन्ने लाईनमा भाषणहरु गर्छन् ।

युरोपियन युनियन, नर्वेजियन सँघसँस्था, यु यस एआईडि र डिफिड आदि विकास साझेदारी सँस्थाहरु यो विषयमा अनुसन्धान गर्न र फट्याङ्ग्रा हितकारी कार्यक्रम ल्याउन आतुर हुन्छन् । समाज कल्याण परिषदमा फट्याङ्ग्राकै  समुदायको हितैषीलाई कार्यकारीमा नियुक्त गर्ने दवाव सिर्जना हुन्छ ।

गैससलाई प्रतिवन्ध लगाएको कर्णाली प्रदेशको कम्युनिष्ट सरकारले गर्मि मौसममा कमिलालाई कडा परिश्रम गर्न रोक लगाउने कानून सर्वसम्मतले पारित गर्छ । किनभने यसो गर्दा कमिला र अन्य जीवहरुको वीचको विभेदको खाडल पुरिने दाताको सल्लाहा हुन्छ ।     

वस व्यवसायी महासँघले राज्य भरिका यातायातमा फट्याँग्राको आवत जावतमा गर्दा भाडादरमा ५० प्रतिशतको छुट आह्वान गर्छ ।

सँसदमा फट्याङ्ग्रा हकहित र अधिकार सँरक्षण गर्न बनेको ‌ऐन २०७४पेश हुन्छ । त्यसमा कुनै खास बहस हुँदैन ।  ऐन सहजै पारित हुन्छ ।

फट्याङ्ग्रा हकहित ‌ऐन २०७४ कै मर्म अनुरुप नेपालका मन्त्रिहरुले  आईयलओ १६९ लगायतका आदिवासी जीवको हकहितको वहस पैरवी गर्ने अन्तर्राष्ट्रिय सँझौताहरुमा सही गरेका समाचारहरु छापिन्छन् ।  ऐन पालना गर्दै सरकारले कमिलालाई दण्ड जरिवाना गर्छ । कमिलाको वासस्थानमा भारी कर लाग्ने नियम समेत पारित गर्छ । कमिलाले कर तिर्न सक्दैन र अन्तत: कमिलाको घर सरकारले अधिग्रहण गर्छ । एक भब्य समारोहका वीच अधिग्रहण गरिएको घर सित्तैमा फट्याङ्ग्रालाई हस्तान्तरण गरिन्छ । समारोहको प्रत्यक्ष प्रसारण सियनयन, विविसि र स्वदेशी नेटिभि र कान्तिपुरले समेत प्रत्यक्ष प्रसारण गर्छन् ।    

नेपालको ईतिहासमै फट्याङ्ग्रा अभियानले एक युगान्तकारी परिवर्तन भएको आभास दिन्छ ।

ऋषि धमलालाई विर्साउने नेपालका सर्वाधिक सफल पत्रकारले मेडिया क्लवमा निमुखा र पिडितहरुको जीत भनी कार्यक्रमको आयोजना गर्छन् ।

खगेन्द्र सँग्रौलाको धुँवाधार लेख कान्तिपुर दैनिकमा छापिन्छ ।

विप्लव ढकालले भूपिको सपुत मरेर नगए लाई विर्साउने कविता लेख्छन् ।

प्राध्यापक कृष्ण खनाल र डा. पिताम्बर शर्माले यो सामाजिक रुपान्तरणको व्याख्या गर्न नयाँ सिद्धान्त प्रतिपादन गर्छन् ।

केन्द्रिय सरकारले पाठ्यक्रम विकास केन्द्रलाई उल्लेखित युगान्तकारी परिवर्तनको वारेमा आगामी शैक्षिक सत्र देखि लागु हुने गरी शैक्षिक सामाग्रीमा उल्लेख गर्ने निर्णय लागु गर्न सर्कुलर पठाउँछ ।

नेपालका वामघटकहरु यसलाई शोषित र पिछडा बर्गको हितमा गरिएको युगान्तकारी परिवर्तन को सँज्ञा दिँदै विजय सभा र दिपावलीहरुको आयोजना गर्छन् । यसले बामहरुलाई गठबन्धन गर्ने मार्ग प्रसस्त गर्छ । काँग्रेस र अन्य दक्षिणपन्थी दलहरु समयको यस्तै माग भएकोले परिवर्तनको विरोध नगर्ने रणनीति अख्तियार गर्छन् । धमिलो पानीमा माछा मार्ने धेयले विदेशको आकर्षक नोकरी छोडेर रबिन्द्र मिश्र र डा. सूर्यराज आचार्यहरु नयाँ पार्टी खोल्छन् ।

क्रान्ति भएको धेरै वर्षपछि-

कमिलाले अमेरिकाको सिलिकन भ्यालीमा बसाईसराई गरेर अरबौँ लागतको एक कम्पनी स्थापना गर्छ ।

आरक्षणको कानून लागु भएता पनि यता नेपालमा भने अझै सयौँको सँख्यामा फट्याँग्राहरु अनिकाल लागेर मरिरहेका हुन्छन् ।

…….अनि

कडा मिहिनेत र परिश्रम गर्न सक्ने लाखौँ कमिलालाई गुमाएर फट्याँग्रालाई पालनपोषण गर्ने राज्य भने गरिबीको दलदलमा भासिएको भासियै हुन्छ ।

नोट: मलाई थाहा छैन यो सिर्जनात्मक मष्तिष्क कस्को हो ? तर यो लेख भने उल्कापात राम्रो लाग्यो । अरुलाई बाँडनु भयो भने त्यसलाई हार्दिकताका साथ सराहना गरिने छ । 

नोटको पनि नोट : बिआईटी ह्वाट्स अपमा सँप्रेषण गरिएको यो भारतिय सँस्करणको नेपाली भावानुवाद मैले गरेको हुँ । मन परे अरु साथीभाईलाई बाँडी पुण्य कमाउन नभुल्नु होला ।  

Wednesday, April 4, 2018

An email from a former student

 
One of my former students wrote:
 
Dear Prof. Nawaraj Khatiwada,

I was one of your student in the class entitled Environmental Engineering, at Kathmandu University 2011 AD and at present i am doing my postgraduate education.

Environmental Engineering was the course that has no direct relation with my major, but now I feel like that was one of the course which has broaden my horizon. If there was no course on that topic, i would have been remained very ignorant about the environmental impact analysis of projects, Life cycle assignment and many more. I have already forgotten many of the things that i studied there, but 3 things remain deep rooted in my mind. Environmental and socio cultural impact of the projects, Life cycle assignment of the product and estimation. I really like the way you focused on teaching us how to give a quick and rough estimate on everything we see. And I do still remember the question that you threw to our class "Roughly estimate the density of this pillar". Back then i didn't realized the importance of estimation and just said a number back to you because i was just supposed to give u an estimation. And my perception on estimation was no answer is wrong, so its easy to answer. I can say any random number. BUT, after 7 years i feel everything start with a estimation before the deeper analysis. Thank you once again for that awesome lecture.

Well that was some background on how I came to know you. Now, coming to the point, I saw some news on social media and some mainstream media that local are objecting the construction of fast track also regarding some pond construction in Dharan, Bijayapur panitanki.Since there are no news on media and also the fact that media is so biased in nepal. Similarly, I was also hearing those sort of news from Khokana since long back but never believed that and though deeper into it. However, during last week my social media account was flooded with pictutes that boiled my blood. An old grandfather being harshly thrashed for ordering the deaf government to conserve our cultural heritage. An old grandmother with placards asking government to stop road expansion and not to crush few of the existing monuments. All these pictures forced me to rethink why these grandpa, grandma are out on the street ? Are they similar to the people who comes down the street under the political flag ? Obviously not! Those grandpa and grandma are the one who were brave enough to struggle at that age to save the culture and hand it to our generation, but will we be able to handover these monuments to out upcoming generations ? These sort of many questions hit my mind time and again. The inhumane police action is another part of the story and is well imprinted on the brain of youth. But today i wanted to have some answers from you regarding the analysis that is carreid out before the start of these mega projects.

While thinking of all these, i remembered one of your lecture. I do still remember one of another question that you asked to our classroom. "If you were a planner, will you go for on-surface road or underground tunnels in basantapur area ?" and the conclusion to this question was "we would go for underground tunnels because on-surface road construction on that area will disturb the cultural monuments of that place.". Now what i cannot believe is, if these sort of things are taught for every engineering students(even computer engineers like me), weren't the planners of those mega projects unaware about these stuffs ? This is nothing to blame you, but as far as i remember, you told us during the lectures that you were also the part of environmental impact analysis of the fast track project. Therfore, I would kindly like to know from you if such environmental, socio-economic and cultural impact analysis was made or not in the planning phase of these sort of projects. You are the closet person i can reach and trust on these sort of informations because you are my guru. Being specific, i am sorry to state, i don’t trust Nepalese media, government and the so called planners of our country. Till 26 years of life enough has been seen from them and expecting something form these curropt system is making myself fool. Therefore, i couldn't stop writing this email to you and know the fact of these issues. As you were a part of this analysis team of fast track, could you please answer few of the questions below:

1. Are the current issues(social economic and cultral aspects) related to the domain of imapct analysis you taught us ? If yes, please answer me following two questions, else it was nice talking to you. See you soon some day at KU for ramailo guff.

2. Was socio-economic and cultural impact analysis made at the time of making environmental impact analysis of fast track, if yes, what kind of analysis was this ? Why did planners closed eyes when their design was going to wipe out one of the cultural heritage. if NO, why not ? Is our planners missing knowledge on such issues ? If so lets drag them to classroom for the lessons.

3. If such analysis was done and identified, why were alternatives not searched for these issues ?

4. What are your recommendations to youths for these sort of issues ? What would be the role of youths in these sort of issues ?

Before wrapping up this email, I repeat, I am not writing this email to blame you or your impact analysis. I understand that even though experts have pointed such issues, that might not have been implemented due to various other issues. Hope you will write back to me or it would even be between if you could allow us to read an article on this issue on papers or your social media. This is my sincere request to you to prevent the ethnic clash that might occur in our society. Now this issue is been seen more as an ethnic issue than the cultural issue. We are Nepalese and cultural heritage that will be destroyed will not be a loss of a particular ethnic group but a loss of we Nepalese. Therefore, as you are one of the person who can clarify these sort of issues, if possible, please give us an opportunity to understand what is the root of the cause. and needless to say, this will help our society to go on a ethnic clash.

Finally, I really want you to thank you for teaching us one special thing on that class. i.e. Estimation. I still remember you saying engineering starts with estimation and as an engineering student you must be able to roughly but correctly estimate the things. Yes, back then i use to think that it was useless thing, but nowadays i also apply these sort of estimation on my research and then do the microanalysis of the things. The point i wanted to say is you have changed my way of thinking and perceiving things. Thank you professor. Still a lot to learn. This hot issue gave me an opportunity to talk to you again. See you soon Professor.

PS: Suryaman sir sanga padne mauka na paye ni sir ko stroy telling youtube ma sune thiye. Same questions nepal ko first Environmental Engineer sir lai pani. Hajur ko chai yo kura ma k cha bichar. Ani hami jasta yuwa lai k sughab dina huncha ?

Thank You. Waiting for your reply.
 
My reply to him: 
 
Dear 77854 Raj :
Good to know that your name also contains the word Raj. I really love this word 'Raj'.
(1) Thank you for appreciating my style of teaching and the themes I have included in the course. I am really pleased to take a note that the skills your learned in my class are useful to your career and thinking process.
(2) Regarding the Fast Track, the original alignment did not encroach any heritage site ( I am not sure if they have changed the alignment now). We had by-passed both historic settlements, Khokana and Sano-Khokana. However, it takes plenty of agriculture land and I believe the project must have compensated the acquisition.
(3) I was also deeply saddened by the incident occurred between the protesters and police. It was very unfortunate. I take this as a serious lapse in the side of the project executors and the government. I was told that in a similar mega project in Seoul, South Korea, they have conducted at least 4000 nos. of public hearings. I very clearly remember that we had done one Public Hearing in Khokana. That was in 2009, I guess. So, they could have done many more such events and addressed the concerns of the local public.
(4)  As per the media, the construction of the Fast Track Road has been entrusted to Army. I believe they must be following the environmental mitigation we have included in the EIA report. 
(5) After reading your email, what I really appreciate is the way you remember us ( Sun Jodi) and put forward your views. Thank you for considering us as your Gurus, I am really pleased to tell you that I am proud of my disciples like you who understand a difference between a teacher and a guru. I see a tremendous potential in you to become a Guru in future.
Keep up the good work going and keep in touch.

With best regards,
Nawa


 


Sunday, February 25, 2018

चारमिनारकी भाग्यलक्ष्मी

हामी सात जनाको समूहमा थियौँ । आधा दिनका लागि सवारीसाधन भाडामा लिएका थियौँ । चारमिनारको बिसौनी पुगेपछि चालकले छैठौँ इन्द्रिय सतर्क गराए । उनले टुटे फुटेको हिन्दीमा भने– होश गर्नू, पाकेटमारले सफाचट पारिदिन सक्छ ¤
चालकको आहृवानले मेरो ध्यान साथमा भएका बहुमुल्य सामानमा गयो । भर्खरै ‘एस बैँक’ को एटिएमबाट दश हजार दाम निकालेको थिएँ । मेरो आधुनिक थैली अर्थात वालेटमा तीनवटा बैँकका भिसा कार्ड थिए । मैले पछाडिको खल्तीबाट वालेट अगाडि सारेँ । 
रात्रिको आठ बजेको थियो । बत्तीको झिलिमिलीमा जगमगाएको चारमिनार हाम्रो सामुन्ने थियो । चारमिनार दक्षिण भारतको तेलंगना प्रदेशको राजधानी हैदरावादको प्रसिद्ध पर्यटकीय स्थल रहेछ । चारमिनारको अर्थ ‘चार स्तम्भ’ रहेछ, चारवटा विशाल खम्बामा उभिएको भवनजस्तो विशाल संरचना । भवनका चार कुनाबाट उम्रिएर आकाशिएका चारवटा स्तम्भ यो भव्य स्मारकका आकर्षण रहेछन् । चारवटा सडकको मिलन बिन्दुमा बनाइएको यो स्मारकको पहिलो तलामा एक मस्जिद रहेछ । हामी चारमिनारलाई दाहिने पारेर एक फन्को मार्न अघि बढ्यौँ । 
‘सूर्यसरको पछि चन्दा, चन्दाको पछि निर्मल गर्दै सबै एक लहर बनाएर हिँड्ने । यसो गरे हराइँदैन ।’
मेरो आदेशको पालना भयो । 
सूर्यसर र मबाहेक टोलीका अरू पाँच जनाका लागि भारत भ्रमण नौलो थियो । समूहका सुवास, निवेश र पुष्पाले भारतमा केही लामो यात्रा गरेका रहेछन् । बाँकी रक्सौल र जोगबनीसम्म पुगेका रहेछन् । यो जानकारीले कुनै जमानामा सुनेको संसार घुम्ने एक सुत्र सम्झायो– हिन्दुस्तान एक्लै घुम्न सक्ने आँटीले ससार सजिलै घुम्न सक्छ ।
घुमेकै भए पनि नयाँ ठाउँ र नयाँ परिवेशमा सतर्क हुनै पर्छ । पाकेटमारले ‘यो घुमेको रहेछ वा लालबुझक्कड रहेछ, यसको पाकेट अहिलेलाई नचलाऊँ’ भन्दैन । 
हामी चारमिनार वरिपरि जम्मा भएका हजारौँ नरनारीको हुलमा मिसिएका थियौँ । कालो बुर्का लगाएरका मुस्लिम महिलाहरू बाक्लै देखिन्थे । काला पहिरनले छोपिएका ती नारीहरूतिर संकेत गर्दै चन्दा र पुष्पालाई भनेँ– कति भाग्यमानी तिमीहरू ¤ टाइट पाइन्ट र बुट लगाएर हिँड्न पाएका छौ, तिम्रा समकक्षीसँग आफूलाई तुलना गर र जीन्दगीमा गर्व गर ।
सडक किनारा खुद्रा पसलले भरिएका थिए । मैले बिहान विकिपिडियामा चारमिनारबारे पढेको थिएँ । प्लेगको माहामारीले आक्रान्त भएको शहरलाई हैदराबादको नयाँ नाम दिँदै सुल्तान कुतुव शाहले चारमिनारको जग शिलन्यास गरेका थिए अरे । ग्रेनाइट, चुनढुंगा र सिंगमरमरले बनाइको यो प्राचीन स्मारक लगभग चार सय वर्ष पुरानो मानिँदो रहेछ । सम्राट कवि पनि भएकाले शिलान्यास गर्दा उनले कविताको रूपमा यस्तो भनेका थिए अरे– हे अल्लाहा ¤ यो मेरो शहरलाई नदीलाई माछाले भरिदिए जस्तै मान्छे मान्छेले भरिदिनू ।
सूर्यसर एकाएक मूल बाटो छोडेर दाहिने मोडिनुभयो । हामीले पिछा ग¥यौँ । अव हामी मान्छेको कम घनत्व भएको ठाउँ मूल सडक र चारमिनारको मध्यवर्ती क्षेत्रमा थियौँ । अचम्म भयो । हामी त एक भव्य मन्दिरअगाडि आइपुगेका थियौँ । मन्दिरको सिरानमा हिन्दीमा लेखिएको थियो– श्री भाग्यलक्ष्मी मन्दिर, चारमिनार । 
अंग्रजी र अन्य एक भाषामा पनि यो शीर्षक लेखिएको थियो । शीर्षकको दाहिनेतिर गणेशजीको तस्विर थियो, देब्रेतिर सरस्वतीको र बीचमा लक्ष्मीको । यो मुस्लिम समुदायको तीर्थस्थलमा एकाएक उदाएकी लक्ष्मी देख्दा सयपत्री टिप्न वगैँचामा जाँदा पारिजात भेटिएको अनुभूति भयो । म दर्शन गर्न तम्सिएँ । फूलै फूलले सजिएकी, आँखामा गाजल, ओठमा रातो लिपिस्टिक, देब्रे नाकमा कालो फुली, नाकमा दाहिनेपट्टि नत्थी, कानमा सुनका झुम्का, आज्ञाचक्रमा वृत्ताकार रातो टीका, निधारमा अर्को रातो टीका र शीरमा मुकुट– यस्ती साक्षात देवीको दर्शन पाउनुलाई मैले आफ्नो अहोभाग्य सम्झेँ । भाग्यलक्ष्मीको दर्शन मेरो जीवनकै पहिलो अवसर थियो । मैले झल्याँस्स काठमाण्डू विश्वविद्यालयको प्रांगणकी सरस्वतीदेवी सम्झेँ । जसको अनुहारमा देवीको रूपअनुरूपको आभा नभएजस्तो लाग्छ । ती मूर्तीकारलाई यहाँ ल्याएर भाग्यलक्ष्मीको मुस्कान देखाउन मन लाग्यो । 
मैले सूर्यसरलाई सोधेँ– भाग्यलक्ष्मी देवीको यो मुस्कान सरलाई कस्तो लाग्यो ?
‘भव्य, मोनालिसा मुस्कान जस्तो ।’
यसो भनेर वहाँ पनि भाग्यलक्ष्मी देवीझैँ मुस्कुराउनु भयो । 
झट्ट हेर्दा गम्भीर मुद्रा जस्तो र अलिक गहिरिएर हेर्दा मधुर मुस्कान देखिने यो मूर्तिका शिल्पकारलाई मैले नमन गरेँ । वास्तवमा मेरो अगाडि उनको कल्पना मुस्कुराइरहेको थियो । 
चारमिनारको नामले नयाँ दिल्लीको कुतुवमिनारको झल्कोसँगै आगराको ताजमहलको पनि सम्झना दिलाउँदो रहेछ । मुगल सम्राट साहजाँहले मुमताजको सम्झनामा प्रेमको प्रतीक निर्माण गरे । त्यसलाई ताजमहल भनियो । यस्तै, सुल्तान कुतुव शाहले हरिजन समुदायकी चेली भाग्यवतीको सम्झनामा चारमिनार निर्माण गरेका रहेछन् । कुतुव शाहले भाग्यवतीको दर्शन पाएकै ठाउँमा चारमिनार बनाएका हुन् भन्ने किंवदन्ती रहेछ । धर्म परिवर्तन गरेर हरिजन युवती मुस्लिम भइछन् । सम्राटकी रानी हुने शौभाग्य पाएकाले ती नारीलाई भाग्यवतीको नाम दिइएको हुनसक्ने अनुमान गरेँ । मुसलमानको आस्थाको केन्द्रमा यसरी हिन्दु मन्दिर हुनु अपत्यारिलो र अनौठो हुने नै भयो । नेपालमा पनि कतिपय धार्मिक स्थलमा हिन्दु देवीदेवता र बुद्धका मूर्तिहरू एकै परिसरमा राखिएका छन् । 
‘ठोस फोहोरमैला व्यवस्थापन’ विषयमा आयोजना गरिएको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन सूर्यसर र म (सुनजोडी) स्नातकोत्तर तहका छ जना विद्यार्थी लिएर हैदरावाद गएका थियौँ । सम्मेलनमा विद्यार्थीका चार र सुन जोडीको एक गरी पाँच प्रस्तुति नेपालको तर्फबाट थिए । नेपालको सीमाबाहिर नटेकेका विद्यार्थीहरूका लागि संसार भरका अध्येताहरूसँग भेट गर्ने यो सुनौलो अवसर थियो । सम्मेलनका गतिविधमा कसरी परिणाममुखी हुने भन्ने विषयमा हाम्रो निर्देशन पाएकाले उनीहरूको हौसला बढेको थियो । विद्यार्थीलाई हँसाई हँसाई ब्रहृम खुल्नेगरी ज्ञान दिने सूर्यसरको शैलीले त्यहाँ पनि अवसर पायो । हाम्रो समूहका एक प्रस्तोताले सबै श्रोतासँग आँखा जुधाउन सकेनन् । अधिकांश समय उनी एक दुई जनामा केन्द्रित भए । उनको प्रस्तुति सकिएपछि सूर्यसरले सोध्नुभयो– तिमीले किन एउटी युवतीलाई मात्र हेरेको ?
प्रस्तोताले चुप रहे । सूर्यसरको पारो अलिकति चढ्यो । 
‘एउटीलाई मात्र हेरेपछि त्यसले मानिन भने तेरो गति के हुन्छ ?’
हामी सभाकक्षै थर्किने गरी हाँस्यौ । 
हामीले ढाकाकपडाले बनेका केही उपहार लगेका थियौँ । सम्मेलन आयोजक प्राध्यापक सज्जन घोष, बंगालादेशको खुल्ना विश्वविद्यालयका उपकुलपति प्राध्यापक आलमगिर, थाइल्याण्डका प्राध्यापक भिसु लगायतलाई हार्दिकता साथ लगाइदियौँ । 
‘तपाईंको लागि र यो तपाईंको उपल्लो आधा अर्थात बेटर हाफका लागि यो ।’ मैले अंग्रेजीमा भने । 
सूर्यसर धुरा पस्दै भन्नुभयो– यु मेड अ मिस्टेक । इट इज नट बेटर हाफ, इट इज नाइन्टी परसेन्ट ।
आफ्नो अर्धाङ्गिनीको प्रशंसा कसलाई राम्रो लाग्दैन र ¤ एक हिसाबले हेर्दा हाम्रा धर्मपत्नीहरू हाम्रालागि आधाभन्दा बढी नै हुन् । सूर्यसरको हस्यौलीभित्रको मर्म जसले पनि बुझ्न सक्थ्यो । उपहार पाउनेहरू दंग परे । 
त्यस दिन दिउँसो हैदरावादको प्रसिद्ध संग्रहालय भ्रमणबाट अनौपचारिक गतिविधि शुरू भयो । राजा महाराजा अर्थात नाजिमहरूले उनीहरूका हुकुमतमा प्रयोगमा ल्याएका सरसामान, हतियार र आभूषणहरूको संग्रह रहेछ । गिनिज बुकमा सूचीकृत सुल्तानकी बेगमको लुगा राख्ने दराज पनि देखियो । 
संग्रहालयपछि हैदराबादका प्रसिद्ध खरिद केन्द्रहरूमा गयौँ । मैले मोतीका दुईवटा हार किने । सूर्य सरले त्यहाँ पनि रमाइलो सिर्जना गर्नुभयो । साहुजीले हाम्रो समूहका केटाहरूलाई भने– आप लोग भी कुछ ले लिजिए ।
‘इन लोगोँका शादी नहि हुआ है ना । इसीलिए ये लोग खालि फोटो लेगेँ ।’ सुवास रयुगदीतिर देखाउँदै सूर्य सरले भन्नुभयो । 
क्यामेरा जडित मोवाइल फोन त जोसँग पनि हुन्छ तर सुवाससँग साँच्चै राम्रो क्यामेरा नै थियो । 
हाम्रा पथप्रदर्शक चालकले अत्तर पाइने पसललाई हाम्रो दोस्रो गन्तव्य बनाइदिए । किसिम किसिमका अत्तर र आवश्यकताअनुसार सानो बोतलमा खन्याएर पनि बेच्ने चलन रहेछ । स्प्रे गर्ने सुविधा पनि राख्न मिल्ने रहेछ । कोसेली स्वरूप केही किनेँ । 
मोती पसलमा सामानको न्युनतम र अधिकतम मूल्यको जानकारी लिएको थिएँ । भारु एक हजारदेखि लिएर १५–२० लाखसम्मका सामान उपलब्ध रहेछन् । चारमिनारमा हात हातमा बोकेर ल्याएका मोतीहारको दाम सुनेर म छक्क परेँ । मोल मोलाई गर्दा एउटाको भारु सयमा पनि पाइयो । मैले आँखा चिम्लेर तीन वटा हार किने । 
सूर्यसरले एउटा मोती व्यपारीलाई तानेर साउती गर्नुभयो । 
‘दो बिबियाँ हैँ, थोडा और कम करो ।’
व्यापारी मजैले हाँस्यो । उसको कालो अनुहारमा सेता दाँत टल्किए । अर्को व्यापारी आयो । हारको दाम घट्न थाल्यो । 
चन्दाले भनिन्– लौ सर ¤ हजुरले सयमा लिएको हार त यसले सयको तीनवटा दिन्छु भन्छ ।
चन्दा र पुष्पाले पछिल्लोसँग किने । पहिलोले मलाई एउटा थपिदियो । यो मेरो लागि नौलो अनुभव थियो । चारमिनारको बजार अर्थशास्त्र बुझ्न हामीलाई हम्मे परेको थियो । 
हैदरावादमा सम्मेलनस्थल त्यहाँको प्रसिद्ध कृषि विश्वविद्यालय परिसरमा थियो । परिसरको फैलावटले मलाई आश्चर्यचकित बनायो । धेरै मुलुकका विश्वविद्यालय भ्रमण गरेको छु तर घुमेका मध्ये यो अहिलेसम्मकै विशाल लाग्यो । त्यहाँको अतिथि गृह मैले स्नातक तह पढेको राँचीको विरला प्राद्यौकिक अध्ययन संस्थान जस्तै रहेछ । मलाई तीन दशकअघिको सम्झनाले भावुक बनायो । 
हाम्रा विद्यार्थीहरू फर्कने टिकट रेलकै थियो । सूर्यसर र म भने हवाई मार्गबाट कलकत्ता आउने योजना थियो । 
कलकत्तामा हामी हिन्दुस्तान पार्कको ५५ बी नामको अतिथि गृहमा बस्यौँ । भोलिपल्ट एउटा उबर लिएर विमानअड्डाका लागि प्रस्थान ग¥यौँ । ब्रिटिशको समयदेखिको प्रख्यात यो शहरका सडकमा अम्बेस्याडर कार र प्राचीन युगीन ट्रामले हाम्रो ध्यानाकर्षण ग¥यो । 
सडक खुला थियो, गाडीको लहर पालतो । म पछाडि बसेर ल्यापटपमा टाइप गर्न थालेँ । सूर्यसर र चालकको संवाद जस्ताको तस्तै उतार्ने विचार आयो । सूर्यसर बोल्न थाल्नुभयो– मेरे पास भी अम्बेस्याडर जैसा ही पुराना मारुती कार है ।
‘हाँ जी ।’
‘एक बार मेरी बिबी बोले– गाडी पुराना हो गया, नये खरिद क्यो नही करते हो । मैने जवाफ दिया– बात तो सही है लेकिन क्या करुँ, पुराना चिज तो मेरे पास और भी है ।’
चालक हाँस्यो । सूर्यमान शाक्यसरसँग प्रत्युपन्न बुद्धिको खानी छ । मैले यो वाक्य मनमा दोहो¥याएँ । कुराकानी जारी रहृयो ।
‘ये क्या बन रहा है ?’ 
‘मेट्रो बन रहा है, साहब ।’
‘उपर क्यो बन रहा है ?’
‘कलकत्तामे तो अन्दर नदी है ना साहब ।’
मैले अनुमान गरेँ । भूमिगत मेट्रोको अनुभवले होला अहिले आकाशे मेट्रो बनेको । चालकले ठीकै भनेको थियो । 
हामीले आधा बाटो तय गरिसकेका थियौँ । मुख्यमन्त्री ममता बेनर्जीले हात जोडेर अभिवादन गरेको ठूलो कदको तस्विर देखियो । अब संवादमा ममताको कार्यसम्पादन क्षमताले प्रवेश पायो । 
‘दिदी ने गरिबका हक मार दिया ।’
चालकले गम्भीर भएर भन्यो । उसको इशारा टाटा स्टिल र मारुतीको कम्पनीले पश्चिम बंगालमा स्थापना गर्ने योजना बनाएका कारखानाहरूतर्फ थियो । जसलाई ममताले अस्वीकार गरेकी थिइन् । त्यसपछि तिनले भारतका अन्य राज्यमा त्यस्ता ठूला कारखाना खोलेका थिए । त्यस्तो एउटा कारखानाले मात्र हजारौँलाई रोजगारी दिन सक्छ र अर्थतन्त्रलाई ठूलो टेवा दिन्छ । 
सफा सडक, निर्माण पूरा भएको हवाईअड्डा र म्यारिबोट जस्ता अन्तर्राष्ट्रिय होटलको आगमनले कलकत्ता निद्राबाट बिउँझेको अनुमान मैले गरेँ । 
सूर्यसरले अध्यागमनमा पनि एक जना सुरक्षाकर्मीलाई मजैले हसाउँनुभयो । वहाँ मभन्दा अघि हुनुहुन्थ्यो । हाम्रा हातमा बोर्डिङ कार्ड थिए । बोर्डिङ कार्डको पछाडिको भागमा पहेँलो सारीमा सजिएकी चर्चित भारतीय नायिक प्रियंका चोपडाको तस्विर रहेछ । हट्टाकट्टा शरीका सुरक्षाकर्मी गम्भीर मुद्रामा थिए । वहाँले प्रियंकाको तस्विर माथि पारेर कार्ड दिँदै भन्नुभयो– दुसरी तरफ नही इस तरफ देखो ना ।
सुरक्षाकर्मी मुस्कुराए । मैले कल्पना गरेँ– मैले पनि यो तरिका सोच्न सक्थेँ तर बुद्धि आएन । 
यसपालिको भारत यात्राको अन्तिम चरणमा थियौँ हामी । सुन जोडीको अर्को सुन्दर विदेश यात्राको कल्पना गर्दै म प्रष्ट देखिएका हिमालमा हराएँ ।

साथको माटो, गुमेको हिरा

एकाएक छैठौँ इन्द्रिय सचेत भयो । लाग्यो, केही ठूलो गडबड भएको छ । सधैँ साथमा हुने सामान कतै छुट्यो । पाइन्टको दाहिने खल्ती जाँचेँ, छैन । देब्रे जाँचेँ, छैन । कोटका चारवटै खल्ती छामेँ, छैन । सटको खल्तीमा पनि छैन । निष्कर्ष निस्कन बेरै लागेन । 

‘ए ! भाइ ! मेरो मोबाइल छैन त ?’

म ट्याक्सीमा थिएँ । चालक भाइलाई मेरो स्थिति अवगत गराएँ । सिँहदरबारको पूर्वी दक्षिण कुनोमा अवस्थित हनुमान स्थानबाट पुल्चोक जाँदा यो घटना भयो । घडीको सुइले अपराहृनको ४ः१५ देखाएको थियो । नेपाल विकास अनुसन्धान प्रतिष्ठानमा ४ बजे शुरु हुने एक गोष्ठीमा सहभागी हुन म ट्याक्सीमा हुइँकिएको थिएँ । केही कार्यक्रम त छुटिसकेको थियो । साढे चारका लागि तय भएको प्रा.डा. माधवप्रसाद पोखरेलको ‘वक्तृत्व कला’ विषयको प्रस्तुति छुट्ला भन्ने पिर थियो । पन्ध्र मिनटअघिसम्म दुईवटा सिमकार्ड भएको मेरो सामसुङ ग्यालाक्सी जे सेभेन मोबाइल साथमै थियो । दुर्भाग्य ! अहिले त्यो छैन । 

आफ्नो प्रिय वस्तु एकाएक गायब हुँदाको यो क्षणले मलाई एक दिव्य ज्ञान दियो । हराउनु र हराएको थाहा पाउनु दुई सम्बन्धित तर अलग अलग विषय रहेछन् । हामीसँग भएका कैयन वस्तुहरू, विचारहरू या सम्झनाहरू हराएका होलान् । ती हराएका छन् भन्ने हामीलाई थाहासम्म नहोला । जब हराएको थाहा हुन्छ अनि पीडा हुन थाल्छ । जति चाँडै हराएको थाहा हुन्छ, भेटिने सम्भावना पनि त्यति नै प्रबल हुन्छ ।

हराउँदाको क्षण कस्तो हुन्छ ? यो प्रश्नले रामायणको एक प्रसंग स्मरण गराउँछ । कुटीबाट सीता गायब भएको क्षणलाई पण्डित सोमनाथ सिग्देलले आदर्श राघव काव्यमा यसरी व्यक्त गरेका छन्– 

हा ! हा ! डाहा दिई हृदयको हार कहाँ हरायो 
संसार–श्री गुम हुन गयो, शान्ति–धारा बिलायो ।
प्रेमी साथी अलप हुनगयो, अस्त भो भव्य तारा
हाहा पारी सहज हरियो प्राण सर्वस्व सारा ।।

पछाडि भिर्ने झोला पनि जाँचे । मोबाइल त्यहाँ पनि छैन । थापाथलीको पुलमा पुग्दा शतप्रतिशत यकिन भयो २५ हजार रुपियाँ परेको मोबाइल फोन हराएकै हो ।   

कहाँ छोडियो त !

दुई वटा प्रबल सम्भावना सतहमा आए । पहिलो, बिजुलीबजारको एन्फो कार्यालयमा, जहाँ मैले आधा घण्टा बिताएको थिएँ । दोस्रो, बिजुलीबजारमा चढेको ट्याक्सी, जसले मलाई हनुमानस्थानसम्म ल्याइदिएको थियो । त्यसको चालकले ‘घट्टेकुलोतिर जानुछ’ भनेर मलाई सडकमा छोडेको थियो । 

‘ट्याक्सी फर्काऊँ त सर ?’

चालकले मलाई गर्न सक्ने सबभन्दा ठूलो सहयोग त्यही थियो । नाटकीयरूपमा मेरो गन्तव्यमा १८० डिग्रीको परिवर्तन आयो । मैले ट्याक्सी फर्काऊ भने ।  उसले ट्याक्सी कानदेवता स्थानबाट थापाथलीतिर मोड्यो । पहिलो ट्याक्सीमा छोडिएको भए भेटिने सम्भावना झिनो थियो । एन्फोमा छोडिएको भए भेटिन सक्थ्यो । मलाई एकाएक संकट आइलागेको थियो । घटनाक्रम सम्झन थालेँ । जब म हनुमानस्थानमा यो ट्याक्सीमा चढेको थिएँ, चालकभाइ मोबाइलमा कुनै खेलमा व्यस्त थिए । मैले उनको ध्यानाकर्षण गरेको थिएँ । 

‘पुल्चोक जाने हो भाइ ?’

‘जाने हो तर पचास रुपियाँ थपिदिनू है ।’

‘म त मिटरमा जान्छु । चालकले त सेवा दिएर पो कमाउने हो त । यसरी ठाडै माग्नु त भएन नि ¤ माग्ने काम त चोकमा उभिएका मगन्तेले पो गर्छन् ।’

ढोका खोलेर पछाडिको सिटमा बसेँ । ऊ थप केही नबोली गाडी स्टार्ट गरेर अघि बढ्यो । मेरो ट्याक्सीयात्राको परम्परागत संवादशैली सुरु भयो ।  

‘भाइलाई युधिष्ठिर भनेको को हो थाहा छ ?’

‘छैन त !’

‘पाँच पाण्डव भनेको थाहा छैन र ?’

‘छैन त !’

‘पोखरीको पानीमा हेरेर आकाशमा निशाना लगाउने धनुर्धारी अर्जुन क्या त ¤’

‘थाहा भएन ।’

‘पाँच जना लोग्नेमान्छेकी एउटै श्रीमती द्रौपदी क्या त !’

‘ए ! कता कथामा सुनेको जस्तो लाग्यो ।’

उसले दिक्क भएर पनि यो सकारात्मक जवाफ दिएको हुनसक्थ्यो । अथवा म उसको ज्ञान भण्डारमा अस्तित्वमै नभएको कित्तामा बाली लगाउने प्रयास गर्दै थिएँ । हामी माइतीघर हुँदै थापाथलीतिर लाग्यौँ । मैले युधिष्ठिर र यक्षको प्रश्नोत्तरको प्रसंग निकालेँ । 

‘संसारमा सबैभन्दा हलुका के हो ?’

यक्षले मुर्छा भएका भाइहरूलाई व्युँताउने शर्तमा युधिष्ठिरलाई यी दार्शनिक प्रश्न गरेका थिए । मैले त्यही प्रश्न चालकलाई सोधेँ । 

‘तपाईंको विचारमा यो संसारमा सबैभन्दा हलुका के हो ?’

‘कागज त होला अरू के होला र !’

अहिले भने उसले स्नायु कडा पारेको थियो । 

‘कागज भन्दा त कपास हलुका हुन्छ । युधिष्ठिरले त्यस्तो साधारण उत्तर दिएनन् ।’

‘के दिए त सर ?’

‘माग्नु सबैभन्दा हलुका हो रे ! तपाईंले पनि  ५० रुपियाँ थपिमाग्नु भयो नि ! मगन्तेले गरेको जस्तो हलुका भयो क्या !’

उसँग कुरा गर्दाको मेरो हलुका स्नायु गियर कित्ता परिवर्तन गरी कडा भइसकेको थियो । म मोबाइल हराएको त्रासको दास भएको थिएँ । ट्याक्सी वाग्मतीको पुल काटेर थापाथली तिर लाग्यो । मैले फेरि खल्ती छामेँ । पाइन्टका अगाडिका दुई, कोटका चार र सटको एक गरी सात वटा खल्ती खाली थिए । एकाएक मेरो हात पाइन्टको पछाडिको खल्तीमा गयो । पछाडिको खल्तीमा म वालेटमात्र राख्छु । सार्वजनिक यातायातमा हिँड्दा म त्यसलाई विशेष ध्यान दिन्छु । खल्तीको टाँक लागे नलागेको विचार गर्छु । बसमा ज्यादै भिड छ भने वालेट कोट वा सटको खल्तीमा राख्छु । यहाँ अचम्म भयो । जगदीश घिमिरेले भनेजस्तो अन्धकारमा भेटिएको अप्रत्यासित उज्यालोले आँखा तिरमिराए । वालेटको खल्तीभित्रको बीचमा मोबाइल थियो । हत्तपत्त झिकेँ । 

‘मेरो मोबाइल भेटियो...... !’ 

मनमनमा आफैँलाई मात्र भनेँ । मोबाइल हातमा खेलाउन थालेँ । यतिबेला हामी थापाथली क्याम्पसछेउ पुगेका थियौँ । 

‘ए भाइ ! अचम्म भयो । मेरो मोबाइल भेटियो । पछाडिको खल्तीमा र’छ !’ 

‘ए ! लौ ! तपाईं पनि घरि हरायो भन्नुहुन्छ घरि फेला प¥र्यो भन्नुहुन्छ ।’

‘भाइ ! तपाईंको इच्छा पूरा हुने भयो, पचास होइन त्यो भन्दा बढी नै थप पाउनु हुने’भो ¤’ 

उसले माइतीघर मण्डला परिक्रमा गरेर ट्याक्सी रोक्यो । मैले उसले मागेजति दाम थपिदिएँ । ‘माग्नु हलुका हो’ भनेर युधिष्ठिरको दर्शन छाँट्ने म आफैँ हलुका भएको थिएँ । आफ्नो सिद्धान्तमुखी टिप्पणीलाई व्यवहारको उकेरा दिन सकेको थिइनँ । 

मोबाइल प्रकरणको घटना शुक्रबार अपराहृन भएको थियो । उक्त हप्ता अरू दुई अमूल्य सामग्री मेरो संसारबाट हराएका थिए । पहिलो थियो– नागरिकताको प्रमाणपत्र । 

छत्तीस सालको प्रवेशिका परीक्षाको नतिजा सार्वजनिक भएको थियो । म मोरङको उर्लावारीस्थित राधिका माध्यमिक विद्यालयबाट उत्तीर्ण भएको थिएँ । उक्त विद्यालयबाट प्रथम श्रेणीमा उत्तीर्ण हुने म पहिलो विद्यार्थी थिएँ । म कलेज पढ्न जाने सुरसारमा थिएँ । नागरिकताको प्रमाणपत्र बनाउने कुरा आयो । नैसर्गिक थलो पाँचथरको स्याबरुम्बा भएकोले फिदिमबाटै नागरिकता लिने घरसल्लाहअनुसार बडाबापुत्र गोपालदाइसँग फिदिम पुगेँ । ‘भोट हाल्न चाँडै पाओस्’ भनेर मेरा कान्छा काकाले नाम दर्ता गर्दा उमेर तीन वर्ष बढाइदिएका रहेछन् । सोह्रको उमेरमा १९ वर्षको उमेर भएको नागरिकताको प्रमाणपत्र मैले पाएँ । यता विद्यालयको अभिलेखमा पनि मेरो जन्ममिति असली थिएन । प्रवेशिका परीक्षा दिन १६ वर्ष पुगेको हुनुपर्ने नियमका कारण मेरा बुवाले फागुन ११ लाई मंसिर ८ बनाइदिनुभएछ । यसरी असली जन्ममितिबाहेक दुई नक्कली जन्ममिति बुवा र काकाले दिएको बक्सिसमा  पाएको थिएँ । 

स्नातकोत्तर अध्ययनका लागि म २०५० सालमा थाइल्याण्ड जाने भएँ । विदेश जान राहदानी चाहियो । अब विद्यालयको चारित्रिक प्रमाणपत्र र नागरिकताको जन्ममितिहरूको द्वन्द्व भयो । पहिलोले बाजी जित्यो । नागरिकताभित्रको नक्कली जन्ममितिको भारी मैले केही वर्षअघि बिसाएँ । नागरिकता र अन्य कागजातको जन्ममिति मिलाएँ । आमाले दिएको जन्ममिति भने जन्मदिन मनाउन र फेसबुकमा शुभकामना लिन प्रयोगमा छ । बुवाले राखिदिएको जन्ममिति आधिकारिक भयो ।  

मलाई ‘नेपालको नागरिक’ बनाउने यो अमूल्य कागज केही दिनअघि हरायो । लब्धांकपत्र र राहदानी लगायतका महत्वपूर्ण कागजात राख्ने गरेको स्थानमा त्यो पाइन । मेरो राखनधरन म आफैँ गर्छु । उमेरको कारणले हो कि मेरो निजी व्यवस्थापन क्षमता र स्मरण शक्तिमा केही ह्रास आएको महसुस भएको छ । 

‘तपाईंको नम्बर यस पटक स्वाट्टै घट्यो ।’

परिवारका सदस्यहरूको टिप्पणी थियो । कहिले पनि अनुत्तीर्ण नभएको विद्यार्थी यो पटक गर्लम्मै ढलेजस्तो भयो । घरमा भुइँपाताल खोजेँ, फेला परेन । ‘तिते करेलालाई निमको थाँक्रो’ त्यसबेला भयो जब त्यही हराएको वस्तु नभई नहुने भयो । दक्षिण कोरिया जान राहदानी कोरियन राजदुतावासमा बुझाएको थिएँ । त्यसैवेला नयाँ दिल्ली जानुपर्ने भयो । भारत जाँदा राहदानी चाहिँदैन, नागरिकताले काम चल्छ तर मेरो त नागरिकतै हराएको छ । अब के गर्ने ¤  आफूसँग भएका अन्य कागजातले काम गर्ला कि भन्ने सोचेँ ।  

‘तपाईंको छुट्टै सुटकेस ठीक पार्नू । विमानस्थलबाटै फर्किनुपर्ने हुन सक्छ ।’

नागरिकता भेटिने ठाउँमा नराखेको रोष मिसाएर श्रीमतीले आदेश जारी गरिन् ।  

‘पुरानो राहदानीले काम गर्ला । आखिर इन्डिया जाँदा चाहिने परिचय पत्र न  हो !’  

‘हो, हो, हजुरलाई दिन्छ । कोदारीपारिको चीनको बजार जाँदा पनि विश्वविद्यालयको परिचयपत्रले भइहाल्छ भनेको होइन ! चिनियाँ पुलिसले सातो बोलाएको बिर्सनुभो ?’

त्यसवेला नागरिकता नहुने ममात्र थिएँ ।  सीमावारि नै झोक्राएर बसेको थिएँ । 

म भएभरका अन्य प्रमाण बोकेर हिँडे । जेट एयरको जाँच कक्षमा श्रीमती र छोरीको सँगै मेरो पुरानो राहदानी दिएँ । 

‘यो पासपोर्ट त पुरानो हो । भएन नि त हजुर !’

‘परिचय खुल्ने प्रमाणमात्र चाहिने होइन र ?’

‘हो, तर यसको वैधता छैन नि त सर !’ 

म खङग्रङ्ग भएँ । यसरी मैले किन सोचिनँ भन्ने बुद्धि बंगारो बल्ल उम्रियो । 

श्रीमतीतिर हेर्दै हेरिनँ । मेरो नम्बर अझै घट्ने प्रमाण थपिएको थियो । जाँचकक्षकी कर्मचारी विराटनगरकी ‘खतिवडा’ वंशकै चेली परिछिन् । मैले नागरिकता नहुँदाको वैकल्पिक उपाय सोधेँ । 

‘मतदाता परिचयपत्रले हुन्छ ।’

काम भयो । विमानस्थलबाट फर्कनु परेन । यसपटक पहाडकी बडीआमा बितेकी हुनाले तिहारमा टीका लगाउनु थिएन । यसैले तिहारकै समयमा दिल्लीको भ्रमण तय भएको थियो । पुत्ररत्न सिरिनसँग गुरगाउँमा केही दिन बिताएर काठमाण्डौ फर्केपछि पनि नागरिकता खोज्न थालेँ । यहीबीचमा कोरियाबाट प्राध्यापक जिउङको एउटा इमेल आयो । एक वर्षअघि सम्पन्न एक अनुसन्धान परियोजनाका सक्कल बिलभरपाई मागिएको थियो । अन्यथा खर्च गर्ने व्यक्तिले बिलभरपाईमा उल्लिखित रकम फिर्ता गर्नुपर्ने जानकारी थियो । 

मैले त्यो परियोजनामा डा. अनिश घिमिरे र शीला डंगोेललाई अनुसन्धानकर्ता बनाएको थिएँ । परियोजनाको काम उनीहरूले हेर्थे । एक चरण खोजी हेर्दा ती कागजातहरू फेला परेनन् । अनिशसँग सम्पर्क भयो । 

‘म हिँड्नु अघि फाइलमा राखेर सबै कागजात मैले सरको टेबलमा छोडेको थिएँ ।’

म सन् २००२ मा जापानबाट स्वदेश फर्केपछि मेरो टेबलमा व्यवस्थित तरिकाले कागजात र फाइलहरू राखिएका हुन्थे । अहिले यी बिलभरपाई र नागरिकताको हराएको प्रकरणले के जनायो भने त्यो व्यवस्थापनको इन्द्राशन ‘भताभुङ्गे राजाको लथालिङ्ग दरबार’ जस्तो भएको थियो । मान्छेले आफूलाई जहिले पनि इन्द्राशनमै राख्छ । आफ्नो बानीव्यहोरा र शैली उत्कृष्ट नै ठान्छ । बहाना बनाएरै भए पनि आफ्नो तरिका नै उत्तम भन्ठान्छ । अथवा ‘मेरो बानी नै यस्तो हो’ भन्छ । विभिन्न विधाका समकालीन सन्दर्भ लेख्ने विश्वप्रसिद्ध पत्रिका ‘दि इकोनोमिस्ट’ का स्तम्भकारहरूको पनि कार्यकक्ष भद्रगोल नै हुन्छ भनेर त्यही पत्रिकामा पढेको स्मरण ताजा भयो । 

यहाँ पीडा हराउनुको थियो । आफूसँग हुँदा त्यही वस्तु माटो बराबर हुन सक्छ तर हरायो भने त्यो सुन वा हिराको रूपमा चित्रित भइदिन्छ । भारतका चर्चित गजल गायक जोडी जगजित सेन र चित्रा सेनले ‘ये दुनियाँ जादुका खिलौना है’ गाएका छन् ।

‘मिल जाये तो मिट्टी है, खोजाये तो सोना है ।’

यस अर्थमा हराएको नागरिकताको मूल्य अझ बढेको थियो । त्यसमा विवरण भर्ने कर्मचारीले बढो राम्रा अक्षर लेखेका थिए । 

नयाँ दिल्लीबाट फर्केपछिको कुरा हो । एक दिन नेपाल विकास अनुसन्धान प्रतिष्ठानमा बिहानको बैठक सकेर म कोटेश्वर गएँ । त्यहाँबाट बैंकमार्फत केही रकम पठाइदिनु थियो । काम सकेर सार्वजनिक बसमा काठमाण्डौ विश्वविद्यालय गएँ । केन्द्रीय क्याम्पस धुलिखेलमा सिँढी चढ्ने र ओर्लने काम मनग्यै हुन्छ । विज्ञान संकायतिर जाने सिँढी ओर्लदै थिएँ । एक पत्र भाँचेर भुईंमा फालिएको पाँच रुपियाँको नोटमा मेरो आँखा प¥यो । टिपेर हेर्छु त रातो रङ पोतिएको रहेछ । पक्कै पनि कसैले दशैँ वा तिहारमा पूजा गरेको हुनुपर्छ भन्ठान्दै देवीको प्रसाद मानेँ ।  

‘मेरा हराएका कागत आज भेटिन सक्छन् । साइत राम्रो छ ।’

यस्तो कल्पना मनमा आयो । यसले मलाई एक पटक जमेर खानतलासी गर्ने ऊर्जा दियो । कार्यकक्षमा गएर पहिलो काम त्यही गरेँ । फाइलको पत्रपत्र हेरेँ । प्लास्टिकका खाममा हेरेँ । एक–एक कागजात केलाएँ । अनिशले कालो मसिले ‘बिल भरपाई‘ लेखेको छ भनेका थिए । रोटरी क्लबका बिलहरू भएको प्लास्टिकको खाममा ध्यान गयो । खोलेर बिल पन्छाउँदै हेरँ । 

आम्मैइइइ.... ! 

लौ ! नागरिकता भेटियो ! विश्वकप मैदानमा खेलाडीले गोल गरेको खेलाडी कुदेझैँ कुदौँ जस्तो भयो । मेरो हिरा मेरै हातमा थियो । 

‘यो नागरिकता भेटिनेगरी राखिएको होइन । यो तेरो सोहै्रआना लापरबाही हो ।’ नागरिकता हराउने मलाई भेट्ने मले यसरी गाली ग¥यो । खोजेको बिलभरपाई भेटिएन । अहिले सोचिरहेको छु– एकपटक हराएर भेटिएका नागरिकता र मोबाइल प्रकरणहरूमा के समानता होला ! आखिर हराउने र भेटिने सिद्धान्त त विधाताले एउटै न बनाएका छन् !
साभार :  https://ehimalayatimes.com/sahitya-bibidh/19553

सूर्यले निम्त्याएको धर्मसंकट


दुईवटा उत्तिकै महत्व र विशेषताका विकल्पहरू दाउमा छन् । एक से एक विज्ञको सहारा लिएर पनि वा उपलब्ध वैज्ञानिक पद्धतिहरूको प्रयोग गरेर विश्लेषण गर्दा पनि दुई उम्मेदवारको क्षमता र सम्भावनामा तात्विक फरक पाउन सकिन्न । सामान्य जिब्रोले भन्छ– तराजुमा दुईतिर राख्दा रौँ पनि फरक छैन । यस्तो बेलामा दुईमध्ये एक छान्न अरायो भने उसले पुर्पुरोमा हात राखेर भन्नेछ– म त धर्मसंकटमा परेँ ।

मलाई अहिले त्यही भएको छ । आगामी प्रतिनिधिसभाको निर्वाचनमा काठमाडौँ क्षेत्र न २ बाट पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल उम्मेदवार छन् । उनको चुनाव चिहृन सूर्य हो । अर्कोतिर त्यही क्षेत्रमा डा. सूर्यराज आचार्य पनि उम्मेदवार छन् । म यो क्षेत्रको मतदाता हुँ । यसैले मैले यी दुई सूर्यमध्ये एक छान्ने दिन अब नजिकिँदै छ । राजनीतिक हिसाबमा म एक तटस्थ व्यक्ति हुँ । म शिक्षक हुँ, विज्ञानको विद्यार्थी । मेरो मुख्य काम विद्यार्थीहरूलाई पढाउनु हो । मैले दिने ज्ञानको कुनै राजनीतिक धार हुँदैन । यस अर्थमा म राजनीतिक दलको पृष्ठभूमिलाई आधार बनाएर मत दिन सक्दिनँ । यो सर्वमान्य सिद्धान्तका आधारमा मैले अरू उम्मेदवारलाई किनारा लगाइदिएँ । किनभने अरू दललाई चिने पनि तिनका उम्मेदवारलाई व्यक्तिगत रुपले चिन्दिनँ । माधव र सूर्य दुवैलाई म व्यक्तिगतरूपले चिन्छु । यसर्थ अहिले म यी दुई सूर्यको रापले रन्थनाएको छु ।

अब के आधारमा कसरी निर्णय लिने त ?

यो प्रश्नले केही दिन देखि मेरो मथिङ्ग खाएको छ । म उत्तर विद्यावारिधि गरेको एक नेपाली नागरिक हुँ । मैले पनि आफ्नो विवेक वस्तुगत विश्लेषणका आधारमा गर्न सकिनँ भने अरू सामान्य मतदाताले कसरी सक्लान् ¤ मलाई धर्मसंकट परेको छ भन्ने कुरा कतिपयलाई हास्यास्पद पनि लाग्न सक्छ तर सत्य यही हो ।

केही महिनाअघि काठमाडाँै विश्वविद्यालयका भौतिकशास्त्रका प्राध्यापक दीपक सुवेदीले ‘गुरु’ भनेको को हो भन्ने प्रश्नको उत्तर दिँदा एक दृष्टान्त प्रस्तुत गर्नुभएको थियो । उहाँका अनुसार मूर्तिकार र गुरु उस्तै पात्र हुन् । पहिलोले, एउटा पत्थरको टुक्रा ताछेर मूर्ति बनाउन सक्छ । यसो गर्दा उसले मूर्तिको काल्पनिक चित्र मस्तिष्कमा कोरेर पत्थरको सतहमा भएका ससाना अंशहरूलाई सावधानीपूर्वक उप्काउनु पर्छ । एउटै घनत्व र मणिक संरचना भएका सम्भाव्य टुक्राहरूमध्ये कुन मूर्तिको शरीरमै छोड्ने र कुनलाई उप्काउने भन्ने निर्णय गर्नुपर्ने हुन्छ । यसमा शूक्ष्म विश्लेषण र अतिशय सावधानी चाहिन्छ । जति मिहिन तहमा निर्णय हुन्छ त्यति नै राम्रो मूर्ति बन्छ । काभ्रेको पलाञ्चोक वा काठमाडौँको नक्सालमा अवस्थित दशौँ हात भएकी भगवतीको मूर्ति बनाउँदा कति सावधानीपूर्वक निर्णय गर्नु प¥यो होला ¤ सामान्य जनलाई त कल्पना गर्दा नै सकस हुन्छ ।

यस्तै मिहिन तहको निर्णय गुरुले पनि गर्नुपर्छ । कुनै विशेष ज्ञान मेरो शिष्यलाई आवश्यक छ कि छैन वा त्यसले उसलाई असल मार्गमा लगाउँछ कि लगाउँदैन भन्ने विषयको निक्र्याैल गर्ने काम गुरुको हो । यस अर्थमा मेरो मत कुन उम्मेदवारलाई दिने भन्ने निर्णय गर्ने काम पनि मूर्तिकार वा गुरुको जस्तै मिहिन तर महŒवपूर्ण छ । मेरो एक मतले हार्नेको एक भोट काटिनेमात्र होइन त्यसले जित्नेलाई एक भोट थपिदिन्छ । त्यो विजयी नेताले मुलुकको कायापलट गर्न सक्छ । भोलि प्रधानमन्त्री पनि बन्न सक्छ । अहिलेको मेरो एक सुत्रीय चाहना विजयी हुने उम्मेदवार चयन हो ।

यस विषयमा मेरो चिन्तन अघि बढ्यो । मेरो ध्यान गुगलको खोजी इन्जिनतिर गयो । यी महारथीहरूलाई गुगलले कसरी तुलना गर्दो रहेछ त ? यो प्रश्नको उत्तरले मेरो काम पक्कै सजिलो हुन्छ भन्ने लाग्यो ।

माधवकुमार नेपालको २००९ को जन्म भएकोले उमेर ६५ वर्ष रहेछ । डा. आचार्यको उमेर ५७ वर्ष । नेपालले गौरको जुद्ध माध्यमिक विद्यालयवाट प्रवेशिका परीक्षा दिएका रहेछन । वीरगन्जको ठाकुरराम क्याक्पसबाट बिकमसम्म पढेका रहेछन् ।

डा. आचार्यले चाहिँ चितवन पटियानीको अमर माध्यमिक विद्यालयबाट पढाइ सुरु गरी सिभिल इन्जिनियरिङमा स्नातक, एआइटी बैँककबाट स्नातकोत्तर र टोकियो विश्वविद्यालयवाट विद्यावारिधिसम्मको अध्ययन गरेका रहेछन् ।

शिक्षा आर्जनको हिसाबले माधवलाई सूर्यले पहलमानले नक आउट गरेजसरी पछारे । गिरिजाप्रसाद कोइराला र केपी ओलीजस्ता नेताको नजीरलाई ध्यानमा राख्दा शिक्षालाई मात्र उम्मेदवार छनौटको आधार बनाउन सकिएन ।

‘जनता कहिल्यै हार्दैन’ र ‘जनताको बहुदलीय जनवाद’ जस्ता माधवका विचार समेटिएका पुस्तकहरू विष्णु रिजालको सम्पादनमा प्रकाशित भएका रहेछन् । कम्युनिष्ट आन्दोलनमा यी कृतिले महत्वपूर्ण योगदान गरेको अनुमान गर्न सकिन्छ । कतिपय नेताको कलम हस्ताक्षर गर्नेभन्दा अन्य लेखपढको काममा चल्दैन । गुगलले

माधवको कलम चलेको पुष्टि ग¥यो ।

अर्कोतिर डा. आचार्यले सहलेखन र सम्पादन गरेका ‘ट्रान्सपोर्ट पोलिसी इन एशिया’ र ‘राज्य पुनरसंरचानका वैज्ञानिक आधार’ जस्ता प्राविधिक कित्ताका महŒवपूर्ण पुस्तकहरू रहेछन् । केही वर्षयता छापाहरूमा डा. आचार्यका विकास र पूर्वाधार विषयमा धेरै लेख रचनाहरू प्रकाशित भएको पुष्टि गुगलले गरिदियो ।   
मस्तिष्क मन्थनको क्रममा थिएँ । यही साताको एकदिन बिहानै साढे पाँच बजेतिर यही उम्मेदवार छनौटको विषयलाई लिएर एकजना मित्रसँग तातो बहस भयो । कोटेश्वर महादेवस्थानबाट घर फर्किने क्रममा मेरा एकजना मित्रसँग भेट भयो ।

‘के छ खबर ?’ उनको स्वाभाविक प्रश्न थियो ।

‘धर्मसंकटमा छु ।’ मैले अस्वाभाविक उत्तर दिएँ ।

उनले कारण जान्न चाहे ।

‘दुई सूर्यले सिर्जना गरेको अन्यौलको फेर समातेर हिँडेको छु ।’

मैले माधवको सूर्य र सूर्यराज आचार्यमध्ये एक छनौट गर्ने सोच भएको कुरो बताउनसाथ उनको आक्रोश आकाशियो ।

‘के कुरा गर्नुभको । माकुनेलाई मत दिने । किन दिने ? के लछारे तिनले ? ल भन्नुुस् कति वर्ष सत्ता खाए तिनले ? तपाईंलाई थाहा छ ? यी सबै खाडीका कामदार हुन् । माकुनेले यिनलाई रोक्ने तगारो बनाए ? सिन्को पनि बनाएनन् ।’

उनले सडकमा कोटेश्वर बहुमुखी कलेजतिर जान लागेका युनिफर्ममा सजिएर फटाफट हिँडिरहेका विद्यार्थीलाई देखाउँदै सडक नै थर्काएर आक्रोश पोखे ।

‘अनि अर्को तपाईंको उम्मेदवार सूर्य आचार्य । अहिलेसम्म कुन दुलामा लुकेका थिए उनी । सक्रिय जीवन जति अर्कै मुलुकमा अर्पेर बुढेसकालमा वृद्ध भत्ता खान आएका हुन् ? के लछार्न सक्छन् तिनले ? किन हाल्ने तिनलाई भोट ?’

‘उसो भए के गर्ने त मित्र ?’

‘कुनै पानीमरुवालाई पनि नहाल्ने । मैले त माथिका कोही पनि मेरो छनौटमा पर्दैन भन्ने कुरा जनाउने मतचिहृन राख्नुपर्छ भन्ने वहस पैरवी गर्दै आएको छु ।’

‘त्यस्तो प्रावधान राख्नुपर्छ भन्ने मेरो पनि मान्यता हो तर अहिले त त्यो सुविधा छैन, भोट त दिनैपर्छ ।’ मैले मेरो निचोड सुनाएँ ।

मित्रले उठाएका सवाल सम्भवत गहन प्रकृतिका हुन् । उम्मेदवारहरूसँग उनका प्रश्नका सहि जवाफ होलान् । बाराक ओबामाले चुनाव जितेर पदभार ग्रहण गरेको वेला दि इकोनोमिष्ट पत्रिकाले लेखेको थियो–

कार्यान्वयन गर्ने क्षमता र वैदेशिक कूटनीतिको मामलमा ओबामाको धरातल कमजोर छ ।

राज नेतामा हुनुपर्ने प्रमुख गुण भनेको कार्यान्वयन क्षमता हो । यही भएर कुनै पनि संस्था वा निकायको बागडोर ‘प्रमुख कार्यकारी’ को जिम्मामा हुन्छ । प्रमुख कार्यकारी वा राजनेताले अनुयायी वा कार्यकर्तालाई परिचालन गरेर निर्धारित समयमा अपेक्षित परिणाम हासिल गर्नसक्नु पर्छ ।

मैले गुगलबाट प्राप्त जानकारीको आधारमा र अन्य स्रोतको सहाराले वहसको केन्द्रबिन्दुमा राखिएका दुई नेताको ‘नेतृत्व कौशल’ को यो कडीको पनि तुलना गरेँ ।

विपक्ष्ीा दलका नेता, उपप्रधानमन्त्री हुँदै प्रधानमन्त्रीको पदभार ग्रहण गरिसकेको हुनाले माधव नेपालको कार्यान्वयन क्षमता समकक्षीहरूको दाँजोमा उत्कृष्ट भएको अनुमान सहजै गर्न सकिन्छ । अर्कोतिर लोकसेवाको परीक्षा उत्तीर्ण गरेर जिल्ला सिँचाइ कार्यालयको प्रमुख भई कार्यअनुभव हासिल गरेका डा. आचार्यले बैँककको युनको एक निकायमा र जापानको प्रमुख थिङ्क ट्याङ्क इन्स्टिच्युट फर ट्रान्सपोर्ट पोलिसी स्टडिजमा वरिष्ठ कर्मचारीको जिम्मेवारी निर्वाह गरेका छन् । यस अर्थमा उनको पनि कार्यान्वयन क्षमता अब्बल श्रेणीको रहेको देखिन्छ तर नेपालको जस्तो राजनीतिक परीक्षामा कहिले फेल र कहिले पास भएको अनुभव आचार्यसँग छैन ।       
नेपालमा पछिल्लो पटकको महाभूकम्पको एक वर्षपछि नेपाल विकास अनुसन्धान प्रतिष्ठानले आयोजना गरेको ‘अमर मातृत्व’ शीर्षकको नाटक सर्वनाम थिएटरमा प्रदर्शन भएको थियो । त्यसको उद्घाटनका प्रमुख अतिथि थिए पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल । निम्ता गर्ने जिम्मेवारी मैले पाएको थिएँ । यस क्रममा म उनको निवासमै गएको थिएँ । यस्तै, उनी प्रधानमन्त्री भएको वेला एक पटक म शिक्षा क्षेत्रका केही अगुवाहरूको साथ लागेर सिंहदरवारमा ज्ञापनपत्र बुझाउन गएको थिएँ । वातावरण दिवसमा प्रज्ञा प्रतिष्ठानमा आयोजित अधिकांश श्रोता विद्यार्थीहरू भएको एक समारोहमा उनको भाषण सुन्ने मौका पनि पाएका थिएँ । यसरी मैल केही पटक माधव नेपाललाई नजिकबाट नियाल्ने अवसर पाएको थिएँ ।

अर्कातिर डा. सूर्यराज आचार्यलाई म एआइटी बैँककमा स्नातकोत्तर तहको विद्यार्थी हुँदादेखि चिन्छु । नेपालमा यश कमाएका नेता डा. बाबुराम भट्टराई जस्तै डा. आचार्य पनि कक्षामा दोस्रो हुन नजान्ने मेधावि विद्यार्थी थिए ।  नेपाल फर्केर एक थिङ्क ट्याङ्क अर्थात सोच केन्द्र स्थापना गर्ने धेयले म र डा. आचार्य जापानका लागि तात्कालीन नेपाली राजदूत तथा त्रिभूवन विश्वविद्यालयका पूर्वउपकूलपति केदारभक्त माथेमासँग राय मस्यौरा गर्न गएका थियौँ । माथेमाले हामी दुवैलाई धाप मार्दै हाम्रो सोचको प्रसंशा गर्नुभएको थियो । नेपाल विकास अनुसन्धान प्रतिष्ठान अहिले एक अगुवा संस्थाका रूपमा नेपालमा स्थापित भएको छ ।

यसरी विगतमा दुवै उम्मेदवारसँग जोडिएका मेरो संलग्नताहरू केलाउँदा पनि मैले निर्णय लिन सकेको छैन । निर्वाचनको समय अझै केही दिन बाँकी भएकोले म थप मन्थन गर्ने र समय किन्ने उपक्रमतिर लाग्छु । यसै बीचमा मैले दुवै उम्मेदवारलाई एक एक प्रश्न यही लेखमार्फत सोधेको छु ।

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई मेरो प्रश्न छ–

तपाईंका प्रतिद्वन्द्वी विवेकशील साझा पार्टीका उमेदवार डा. सूर्यराज आचार्यलाई भोट दिनु नपर्ने एक सुत्रीय कारण के होला ?

डा. सूर्यराज आचार्यलाई यस्तै प्रश्न छ–

तपाईंका प्रतिद्वन्द्वी बाम गठबन्धनका उम्मेदवार माधवकुमार नेपाललाई भोट दिनु नपर्ने एक सुत्रीय कारण के होला ?

यो प्रश्नको उत्तर पाए मलाई धर्मसंकट टार्न सजिलो हुने थियो ।

हिमालय टाईम्स
मँसिर ०२, २०७४