Saturday, March 11, 2017

खाँदबारीमा मावली नाताले जुराएको चिया

खाँदबारीमा शनिबार हाट लाग्छ भन्ने सुन्दै मलाई रमाईलो लागि सकेको थियो । म लगायत 'विद्युत उर्जा विकास' विषयसँग कुम जोडेका एक दर्जन जति साथीहरु शुक्रबार दिउँसोको बुद्ध एयरको उडानवाट तुम्लिङ्टार अवतरण गरेका थियौँ ।  औपचारिक कार्यक्रम शनिबार दिनभरि नै आयोजना गरिएको थियो ।

यसकारण मेरो "हाट भर्ने दाउ" तुहिने हो कि भन्ने चिन्ता थियो । तर हामी बसेको होटल र हाट लाग्ने टुँडिखेल मैदान केही मिनेटको पैदल दुरीमा रहेकाले म खुशी थिएँ । नेपालका पूर्वी पहाडी जिल्लाको शानको रुपमा परिचित हाट लाग्ने परम्पराका केही लोभलाग्दा विशेषताहरु छन । बिहान सबेरैदेखि नै बेलुकासम्म चहलपहल हुने त्यो 'मेला' जस्तो 'भेला' मा कुनबे गए ठीक होला भन्ने प्रश्न जन्मियो ।

"हाटमा कुन समयमा सबैभन्दा धेरै मान्छे भेला हुन्छन ?"

मेरो हाट भर्ने र धेरै मान्छे भेला हुने समय मिलाउन सक्दा 'सुनमा सुगन्ध' हुने ठानेर यो प्रश्न चिया पसलमा भेटिएका स्थानीयलाई सोधेको थिएँ ।

"धेरै भेला हुने भनेको त विहान आठ बजे तिर हो ।" 

हाम्रो कार्यक्रम साढे आठमा सुरु हुने योजना थियो । त्यतिन्जेलसम्मको समय मेरै नियन्त्रणमा थियो । म बिहान साढे पाँच बजे नै तयार भएर निस्किएँ । खाँदबारीको मूल सडकले जीवन पाईसकेको थियो । म हाट लाग्ने ठाँउ 'टुँडिखेल' को ठेगाना सोद्धै अघि बढेँ । केही कदम हिँडेपछि सडकको देब्रेतिरको एउटा चिया पसलमा उल्लेखनीय चहलपहल देखियो । म सरासर चिया पसलमा पसेँ । 'भुक भुक' गर्दै ठूलो भाँडोमा दूध उम्लिरहेको थियो । छेउमा माग अनुसारको चिया पाकिरहेको थियो ।

"ए ! भाइ यो दूध पाउडरको हो ?"

जीवनमा पहिलोपटक खाँदबारी टेकेको साँझमा मैले आम नेपालीकै लागि एक चिन्तित हुनुपर्ने विषय फेला पारेको थिएँ । हाम्रो भ्रमण कार्यक्रमको मूल आयोजक 'स्वतन्त्र उर्जा उत्पादक सँस्था' का पदाधिकारी बसेको र  हामी सबैको लागि भोजनको व्यवस्था गरिएको होटलमा यो नमिठो यथार्थ सतहमा आएको थियो । मैले चिनी नभएको दूधको चिया मगाएँ । तर चिया अलि अलि गुलियो थियो ।

"ए भाइ ! मैले त चिनी नराख्नु भनेको थिएँ नि त ?"

"सर ! यो चियामा चिनी राखेकै छैन । हामी पाउडरको दूध चलाउँछौ । यसैले सरलाई गुलियो लागेको होला ।" चिया ल्याउने भाईले उसको प्रत्युत्तरलाई जबर्जस्ती स्वभावजन्य बनाउँदै भनेको थियो ।

सँखुवासभा जिल्लाको सदरमुकाम खाँदबारीमा पनि पाउडरको दूधको चिया खानु पर्ने । चियाले मलाई तताएन, चिस्यायो । केही महिनाअघि लमजुङ्को बेँसीशहरको होटेलमा कागती नपाईएको र बन्दिपुरमा सुन्तलाको ताजा जुस नपाएको अनुभूति आलो भएर आयो । थरीथरीका विचार आउन थाले । पाटन साउथ रोटरी क्लबको एक बैठकमा कृषी क्षेत्रका नामी उद्धमी एवँ क्लबका पूर्व अध्यक्ष सन्तोष कुँवरले एक रोचक तथ्य भन्नु भएको थियो ।

"नेपालमा हामी बाघ भालुको सँरक्षणमा बाक्लै लागेका छौ । तर यहाँ त अहिले अर्कै आठौँ आश्चर्य छ । दूध जस्तो अत्यावश्यक खाद्यवस्तु दिने गाईभैसी पो लोप भैरहेका छन ।" 

खाँदबारीको पाउडर दूधको चियाले मलाई सन्तोष कुँवरको अभिव्यक्ति चरितार्थ भएको लागेको थियो । त्यसकारण यो तथ्यलाई निर्क्यौल गर्ने ध्येयले मैले चिया पसलमा सिधै ठाडो पाराले सोधेको थिएँ ।

"कहाँ हुनु सर ! यो त एकछिन अघि गाँउबाट ल्याएको भैँसीकै दूध हो ।" चिया पकाईरहेको अधवैसेले भन्यो । चिया पसलका सँचालक र काम गर्ने सबै मधेसी मूलका थिए ।  

"पक्का हो त ।" मैले खेरेँ ।

"पक्का हो । शँका नमाने हुन्छ । खाँदबारीमा पनि पाउडर दूध हो ? भनेर सोध्नु पर्ने कस्ता दिन आए नि ।" अहिले भने ग्राहक बस्ने बेन्चमा बसेर चियाको चुस्की लिईरहेको महिला बोलिन ।

नेपालमा अहिलेसम्म जोगिएर रहेको सँस्कृतिमध्ये यो एउटा हो । आत्मकेन्द्रित पटक्कै नहुने । नचिनेका नजानेका मान्छेको हुलमा पनि भै-परिआएको परिवेशमा आफ्नो कुरा स्वभाविक भएर राख्न आँट गर्ने । मैले मेरो ध्यान महिला र उनी सँगै चियापान गरिरहेका पुरुषतर्फ मोडे । साहजीलाई एक कप चियाको अर्डर गरेँ ।

"कहाँ पर्यो त नि हजुरहरुको घर ?"

"ईलाम हो ।"

"लौ जा ! मावली पर्नु भयो । अब आज मैले चियाको पैसा तिर्नु नपर्ने भो ।"

मेरो बोलीले भुँई नछुँदै चिया पसलका केही ग्राहकको ध्यान चुम्बकले झै तान्यो । "पैसा नतिर्ने कुरो" सुन्ने जति सबै मजैले हाँसे ।

"झोलिका देउतालाई चिया त के घरै लगेर मेजमान गरौला नि ।" ईलामे मामाले पुर्वेली भाका टिपे ।

"हुन्छ नि । अनि ईलामको मान्छे खाँदबारी के कामले आउनु भयो त ?"

"मेरो माइती चैनपुर हो नि ।" अहिले भने माइतीघरको मोहले महिलालाई जगायो । कुरो स्पष्ट थियो । उनीहरु दम्पती थिए ।

"ए अचम्म, चैनपुरकी चेलीले त्यत्रो टाढाका हाम्रा मामालाई झुक्याउने आँट कसरी गरिछन त ?"

मेरो यो उद्गारले राम्रै बजार पायो । अब रेष्टुरेन्टमा हाम्रो बोलीले अन्य आवाजहरुलाई सर्ल्लक्कै निलेको थियो । 

"देखेको हैन लेखेको हुन्छ भनेको यहि हो नि त भान्जा बाबु ।"

साईनोको जुईनो कसिन माईजुले । उनी के कम, माईती गाँउमा पनि फूर्तिफार्ति नगर्ने को पो चेली होला र ? 

"माइतीको कुकुर पनि प्यारो" भन्ने त उखानै छ ।  

"हजुरको चै घर कहाँ हो ?"

"जन्म पाँचथरको स्याब्रुम्बा, हुर्केको मोरङ्को उर्लावारीमा अहिले काठमाण्डौको कोटेश्वरमा छोराछोरीको घरमा बस्छु ।"    

हिजोआज मलाई यस्तो 'तीन ठामे' ठेगाना  दिँदा रमाईलो लाग्छ । मेरो कामको बारेमा पनि उनीहरुले सोधे । हामी एक छिन गफमा डुब्यौँ । म भैँसीको दूधको चियाको मजा लिँदै थिएँ । कतै सुनेको सम्झिएँ ।
"मोमो खायो भने गोठ मासिने कृयाकलापमा सहयोग पुग्छ । खीर खायो वा दूध पियो भने गोठ सप्रिने ।"
हुन पनि अहिले भोज भतेरमा पनि मदिराजन्य पेय पदार्थ र माँशाहारी परिकारले अड्डा जमाउन थालेको छ । सेल रोटी, खीर, ढकने र सिकर्नी जस्ता हाम्रा मौलिक परिकार पनि सन्तोष कुँवरले घरपालुवा जनावर लोप हुन थाले भने जस्तै हराउन थालेका छन ।    

आखिर छुट्टिने बेला भयो ।

"वहाँ सरको चियाको पैसा म दिन्छु ।"

मामाले साहुजीलाई ईशारा गरे ।

"पर्दैन, पर्दैन । मैले त रमाईलो पो गरेको ।"

मेरा क्षणभरमा नै नाता लागेका मामा र माईजु बाहिरिए । मेरो चिया सकिए पछि मैले चियाको मोल तिर्ने जमर्को गरेँ । साहुजी अटेसमटेस गरेनन । आखिर उस्को पनि त व्यपार-धर्मको कुरो थियो ।  

मेरो शीर फेरि एक पटक नुहियो । नेपाली हुनु र आफ्नै भूगोलमा चर्नुको मजा यही छ । अहिले म अमेरिका वा अष्ट्रेलियमा भएको भए यसरी अपरिचितसँग तुरुन्त कुनै नाता जोडेर उनकै आतिथ्य सत्कार पाउनु भनेको शायद आकाश खस्नु बराबर हो । विदेशमा भएका मेरा समकक्षी मित्रहरु भन्दा मलाई केही दु:ख अवश्यै बढी होला । तर हरेक बस्ती बस्तीमा भेटिएका प्रत्येक नेपालीसँग भेटिने यो आत्मियताको खजाना अमूल्य छ । यो स्वर्गिय आनन्दको अघि वाँकी सुखहरु सबै तपसिलका भएका छन । मेरा अभिन्न मित्र सूर्यमान शाक्यले भनेको सँझिन्छु ।

"विदेशमा एक थोक मात्र राम्रो छ, अरु केही पनि राम्रो छैन । त्यो एक थोक हो,  पैसा । नेपालमा त्यो एक थोक चैँ राम्रो छैन तर अरु सबै थोक राम्रो छ ।"  

हाटमा पुग्दा बिक्रेता र सामान ओसार्नेको बाहुल्यता भेटियो । खरिद गर्ने खासै थिएनन । कोही माटो मिलाउँदै थिए । कोही घोचा गाड्दै थिए । केहि हिजो बेलुका परेको पानीले बनाएका स- साना दह पन्छाउँदै थिए । 

जापानको कानागावा प्रिफेक्चरको हायामा भन्ने ठाउँमा  भरेको हाटको प्रसँग ताजा भएर आयो । तीन चोटीसम्म खराब मौसमका कारण हाट सरेको थियो । चिसो मौसममा वर्षा भयो भने हाट लाग्न असम्भव प्राय: हुन्छ । हाट लाग्नको लागि खुला ठाउँ र राम्रो मौसम पूर्व शर्तहरु हुन । तेस्रो पक्ष भनेको सँस्कृति हो । हाटबजारको आवश्यकता बुझेर यो ठाँउमा यो बार या यो तिथिमा कसैले सुरु गर्नु पर्छ । अनि कसैले सुरु गरेको राम्रो ठानेर अरुले निरन्तरता दिनु पर्छ । मेरो स्याब्रुम्बाले यासोकमा भर्ने हाट औसी पूर्णिमामा लाग्थ्यो । 'हाट जाने' भने पछि उम्रेदखि खुम्रेसम्म आफ्नो दिनचर्यालाई थाती राखेर भए पनि हुरुक्क हुन्थे । नेपालमा हाट लाग्नको लागि बर्षको नौ महिना मौसम सफा हुनु एउटा कारण हो । जापानमा बर्षातको ठेगान हुँदैन । तर पश्चिम नेपालमा पनि पूर्वको जस्तै मौसम हुने भएता पनि यो 'हाट सँस्कृति' को विकास नभएको पाईन्छ ।  

हाटमा बेच्न राखिएका सुन्तला मेरा लागि प्रमुख आकर्षणका केन्द्र थिए । भाग लगाएर बेच्न राखिएका सुन्तलामा ध्यान गयो । चार दानाको जग बनाएर ती माथि तीन दाना खप्टेर पिरामिड आकारका भागहरु लोभलाग्दा थिए । सुन्तला बेच्ने एक युवा थिए ।   

"कति दाम हो भाइ सुन्तलाको ?"

"भागको सय रुपैयाँ हो ।"

"किलोको हिसाबले लिन मिल्दैन ।"

"मिल्दैन । यहाँ त भागको हिसाबले बिक्रि हुन्छ ।"

मेरो कुरा र सोधाईले शायद युवा व्यापारीले 'यो ग्राहक खाँदबारीको रैथाने होईन" भन्ने ठहराए होला । मैले केही मोलमोलाई गर्ने सुर झिकेँ ।

"भागको नब्बेमा देउ न भाइ ।"

"हुँदैन । भागको सय नै पर्छ ।"

"उसो भए भागमा एक दाना थपि देउन ।"

"त्यो पनि हुँदैन ।"

मैले तीन भाग लिएँ । कर गरेर एक दाना चै थप्न लगाएँ । मेरो 'दुब्लाएको माग' भने पुरा भयो । दिउँसो जलविद्युत परियोजनाको वातावरणीय प्रभाव मुल्याङ्कन विषयमा मेरो प्रस्तुति थियो । भारतको एक कम्पनीको लगानी मा अरुण नदीमा बाँध बाँधेर ९०० मेगावाटको जलविद्युत आयोजना निर्माण गर्ने कार्य अघि बढेको विषयलाई मेरो प्रस्तुतीमा मैले सुन्तलाको किनबेच सँग जोडेँ ।

"सुन्तलाको खरिदमा युवा व्यापारीको भाग विक्रि पद्धति मैले स्वीकार्नु पर्यो । 'किलोको हिसाब' ले मात्र किन्छु भन्ने अडान राखेको भए हाम्रो किनबेचको मिलन बिन्दु फेला पर्ने थिएन । उनको मन जितेर मैले एक दाना सुन्तला भए पनि थप पाएँ । त्यसैगरी प्रवर्तक कम्पनी र स्थानीयको बीचमा मन जित्ने समझदारी भएमा जलविद्युत आयोजना निर्माण कार्य समयमा सकिन्छ । एउटाले अर्कोको पद्धतिको आदर नगर्दा र आआफ्नै अडानमा बस्दा व्यवधान उत्पन्न हुन सक्छ ।"

मैले हाटमा बयरको धुलो, कैलो तिल, टिमुर र लहरामा फल्ने सानो टमाटर किने । सानो टमाटरको चटनी भने पछि म हुरुक्कै हुन्छु । पाकेका टमाटरको सिलौटामा काँचै पिँधेको चटनी छ भने मलाई अरु सितन नभए पनि हुन्छ । मेरो दिवगँत पिताश्रीलाई पनि यो परिकार औधी मन  पर्थ्यो ।

भोलिपल्ट खाँदबारीबाट हिँड्नु अघि म झोला किन्न गएँ । पसलमा एक अधवैसे महिला थिईन ।

"दिनको पचास हजार सम्मको बिक्रि त हुँदो हो ।" मैले उनको मनशाय बुझ्न शब्दको पासो फ्याँके ।

"कहाँ हुनु । पाँच हजारको भयो भने भाग्य ।"

उनले बिक्रि राम्रो नहुनुका दुई कारण दिईन-लामो दुरी तय गरेर आउने ग्राहक घटे र पोके ब्यपारीहरुले सस्तोमा हाटमा सामान बेच्न थाले । नेपालमा नाम मात्रको सरकार हुनुको पीडा यही छ । ती बिक्रेता जस्तै स-साना व्यपारीलाई सहयोग हुने गरी कुनै नीतिगत परिवर्तन ल्याउन सके कति राम्रो हुने थियो । 

फर्कने क्रममा विमानस्थलको द्वारमा सवा खोलाको एक पेरुङ्गो सुकुटी माछा, एक पोको कागती र एक मुठो साग किने । कागती किन्दा पनि रमाईलो भयो ।

"कति हो एक पोको कागतीको ?"

"दुई सय ।"

"एक सय पचासमा दिनुन ।"

"मेरो हैन । यो कागतीको मालिक्नीले मलाई बेच्न जिम्मा दिएर गएकी छिन । दुई सयमा एक रुपैया पनि कम नगरिदिनु भनेकी छन् ।"

"उसो भए दुई दाना थपि दिनु न त ?"

"पोका पोका पारेका छन । एक जनालाई थपेपछि अर्को पोकाको हिसाबै मिल्दैन नि ।"

उनले 'चट्टान' जस्तो नपग्लिने,  प्लास्टिक जस्तो नबाँङ्गिने ब्यपार पद्धति बनाएकी रहिछन । मलाई सकस भयो ।

"उसो भए यो पोकाका दुईवटा साना कागती अर्को पोकाको अलि ठूलासँग साट्छु ।"

साहुनी मौन बसिन । मेरो जित भयो । मैले कागती किने ।  

अहिले तुम्लिङ्टारको मनकामना मन्दिर पर्यटक र तिर्थालुलाई मुख्य आकर्षण केन्द्र बनेको रहेछ । हामीले विमानस्थल पुग्नु अघि मन्दिरको दर्शन गरेका थियौँ । दर्शन गर्न जाँदा पूर्व आयुक्त सूर्यनाथ उपाध्याय, आयोजक सँस्थाका अध्यक्ष शैलेन्द्र गुरागाई र म एउटै गाडीमा थियौँ ।  खेम गुरुङले गाएको अत्यन्तै चर्चित गीत "वारी जमुना पारी जमुना" को प्रसँग चल्यो ।

"जमुना भनेर अरुण नदीलाई भनिएको होला ।"

मैले मनकामना मन्दिर परिसरमा भेटिएका स्थानीयलाई सोधेँ । उनीहरुको व्याख्या हाम्रो अनुमान भन्दा फरक थियो ।

"मनकामनाको अहिलेको यो मन्दिर पहिला अरुणको किनारमा थियो । त्यहाँ एउटा जमुनाको रुख थियो । नदी पारी पनि जमुनाको ठूलो रुख थियो । खेमले गीतमा यिनै दुई जमुनाका रुखलाई जोडेका हुन ।"

मलाई भने खेमको गीतका अन्य दुई हरफले ध्यानाकर्षण गरे ।
एकादशी बजारैमा फन्के रोटी थालमा
कसको छोरा कसको छोरी पर्यो माया जालमा  

एकादशीमा लाग्ने हाटमा पाईने फन्के रोटीको मजा लिँदै 'माया जाल' मा कति तन्नेरी र तरुनीहरु परे होला । मैले खाँदबारीमा भेटेका मामा र माईजुले पनि कुनै हाट बजारमा नै 'पिरतीको डोरी' बुनेका थिए होला । नभए चैनपुरले ईलामलाई कसरी सजिलै भेट्न सक्छ र ?

"फेरि भेट भए यही कुरा जोडेर अर्को एक कप चिया जुराउने थिएँ ।"

मैले मन मनमा कल्पना गरेँ । तर अफसोच ! त्यो दिन शायद यो जुनीमा फेरि आँउदैन होला ।
Published by Ujyaaloonline
http://ujyaaloonline.com/news/70704/tea/

Saturday, January 21, 2017

अलबिदा दादाजी




रोटरी क्लबको बैठक सकेर हिँड्दा साँझको सात बजिसकेको थियो । पुसको महिना । अघिल्लो दिन परेको हिँउदे झरि । कठ्याङग्रिएको काठमाडौं उपत्यका । म पुत्ररत्न सिरिनसँग कारमा पुल्चोकबाट युएन पार्कको बाटो हुँदै कोटेश्वरतिर जाँदै थिएँ । चालकको सिटमा ऊ थियो । हामी दुवैलाई कति बेला घर पुगौं भन्ने लागिरहेको छभन्ने मलाई लागेको थियो । तर त्यस्तो भएन । भाटभटेनी सुपरमार्केट पुगेपछि गाडी रोक्दै उसले भन्यो ।
मलाई पाटन ढोकाको किताब पसलमा दुईवटा छन्दका कविताको किताब किन्नु छ । एटियमबाट पैसा निकाल्ने हो कि ?’
दिउँसो मेरो खल्ती रित्तिएको उसले बुझेको थियो । यसर्थ एटियमबाट पैसा निकाल्ने काममा मेरो विमति थिएन । तर त्योभन्दा पनि एकाएक उदाएको कविताको किताब खरिद योजनाले मेरो ध्यानाकर्षण भएको थियो । मुम्बईमा अर्थशास्त्रमा स्नातकोत्तर गर्ने विद्यार्थी जसले राम्रो कम्पनीमा स्थायी जागिर पनि पाइसकेको छ, उसको यो छन्द कविता मोह ?
मैले यस विषयमा केही अनुमान गर्न सकेको भए तापनि भोलिपल्ट बिहान फेसबुक खोलेर हेर्दा सबै कुरा छर्लङ्ग भयो ।
हजुरले नै मलाई नेपाली कविताबाट कसरी आनन्द लिने भन्ने तरिका सिकाइ दिनुभयो । तपाईं सम्झनामा सदैव रहिरहनु हुनेछ ।
यस्तो सन्देशसँग जोडिएर भानुभक्तिय रामायणको सुन्दरकाण्डका श्लोकहरू वाचन गरिएको भिडियो सिरिनको फेसबुक पेजमा अपलोड गरेको पाएँ । शार्दुलविक्रिडित छन्दमा लय मिलाएर गाइएका श्लोकहरूमा तलका हरफहरू पनि थिए ।

राक्षसका बीचमा बसी जिउनु धिक् मर्नु निको मर्दछु ।
चुल्ठो लामु छ झुन्डिनाकन यहाँ डोरी त यै गर्दछु ।। 

भिडियोको पुछारमा छन्दफरदादाभन्ने शीर्षक हृयास ट्याग गरिएको थियो । रातो बंगला स्कुलका अन्य पूर्व विद्यार्थीले फेसबुक सञ्जालमा दादाजी अर्थात् कमल दीक्षितको सम्झनामा यसरी कविता वाचन गरी सम्प्रेषण गरेका रहेछन् ।
त्यही दिन दिउँसो समकालीन सृजनात्मक लेखनको मियो घोष्ट राइटिङ् नेपालको समूहमा मिसिएर म र सिरिन पाटनढोकास्थित दीक्षित निवास पुगेका थियौं । समवेदना प्रकट गर्न आउने आगन्तुकहरूका लागि निर्धारित गरिएको स्थानमा अटाईनअटाई मान्छे थिए । दादाजीकी छोरी रूपा जोशीले केही रचना वाचन गरेर किरियापुत्रीलगायत अन्य श्रोतालाई सुनाइरहेकी थिइन । त्यो सामग्री दादाजीले नै लेखेको संस्मरणात्मक निबन्ध रहेछ । हरेक दिन तीनवटा रचना वाचन गर्ने निधो गरिएको रहेछ । घोष्ट राईटिङ्का हामी एक बीस संख्याका सदस्यहरू पनि श्रोता गणमा मिसिएका थियौं । रूपाजी पछि प्राडा माधवप्रसाद पोखरेलले पनि एउटा अर्को निबन्ध वाचन गरेर सुनाउनुभयो । पछि थाहा भयो ती निबन्धहरू कदीको सम्झेको बिर्सेकोपुस्तकबाट लिइएका रहेछन । मृत आत्माको चिरशान्तिको कामना गर्न र आफन्तजनलाई शोकाकुल स्थितिबाट सामान्य अवस्थामा फर्कन सघाउनका लागि यस्तो बेलामा गरुड पुराणश्रवणको प्रचलन नेपाली समाजमा विद्यमान छ । तर संसार छोडेर गएका व्यक्तिले नै लेखेको रचना वाचन गरेर दीक्षित परिवारले अझ विशिष्ट काम गरेको अनुभूति मलाई भएको थियो ।
तर यो दृष्टान्तले मेरो मनमा एउटा तर्क भने जन्मियो
आफ्नो जीवनकालमा साहित्य लेखन नगरेका वा अन्य पेशामा लागेका व्यक्तिहरूको काज क्रियामा त यो सम्भव नहुने भयो । वाह कलमको शक्ति वाह साहित्य लेखनको कमाल ∕’
कमल दीक्षित स्रोत व्यक्ति भएको घोष्ट राईटिङ्ले आयोजना गरेका दुईवटा कक्षामा विद्यार्थी भएर बस्दाका अविष्मरणीय अनुभूतिहरू छन् । उहाँको जाज्वल्यमान अनुहार, प्रत्युत्पन्न मति र भैपरि आउने परिवेशलाई रोमाञ्चक बनाउने अद्वीतिय कलाको अहिले पनि झलझली सम्झना आइरहेको छ ।
यो जाडोको समयमा यति बिहानै हजुरलाई दुःख दियौं हामीले ।कक्षा सुरु हुनै लाग्दा आयोजकले भनेका थिए ।
यस्ता चन्द्रमा जस्ता मुहार भएका छात्राहरू अगाडिको बेन्चमा बसेका छन् । यस्तो रौनक भएको कक्षामा पढाउन पाउनु नै ठूलो कुरो हो । बिहान, दिउँसोको के कुरा भयो र ?’
कतिको प्रत्युत्तरले हामी सबै मन्त्रमुग्ध भएका थियौं ।
साहित्य लेखन र पुस्तक सङ्ग्रह नै कदीको जीवनको अनुराग रहेछ । कक्षामा उहाँले अमेरिकामा आयोजना गरिएको रोटरी ईन्टरनेशनलको सम्मेलनमा सहभागी हुन जाँदाको एक प्रसंग सुनाउनुभयो ।
कामल हृवाट यु डु ईन फ्याक्ट ?’ एक अमेरिकनले कदीको पेशाको बारेमा यसरी रैथाने उच्चारण शैलीमा सोधेका रहेछन् ।
आई लिभ बुक्स ।मुस्कुराउँदै कदीको जवाफ आएछ ।
हृवाट ?’ उत्तर सुनेर ती विदेशीले विस्मय भावमा जिब्रो काडेछन् ।
आई रिड बुक्स । आई राईट बुक्स । आई पब्लिस बुक्स । आई कलेक्ट बुक्स । मिनिङ् आई लिभ बुक्स ।
आफ्नो कर्मसाधनाको ईन्द्रासनमा दशकौ बिताएर अथाह अनुभव सगाँलेका पेशाधर्मीको जस्तो अत्यन्तै शालीन जवाफ पाएर विदेशी मित्र दँग परेछन् ।
साहित्य लेखनमा भर्खर शिशु कक्षामा प्रवेश गरेका तर उमेरले नेटो काटिसकेका हामी वृद्ध विद्यार्थीलाई उहाँका केही सुझाव र टिप्पणीहरू मननयोग्य थिए । टिपोट गर्न भ्याइएका केही यस प्रकार थिए
श्रीमद्भागवत गीतामा भनिएको छस्वधर्मो निधनम श्रेयः परधर्मो भयाभयः । यसकारण तपाईंको बारेमा अथाह जानकारी भएको व्यक्ति तपार्इं आफैं हो । आफ्नो विषयमा लेख्नु होस् ।

मदन पुरस्कार स्थापना नभएको भए कमलमणि साहित्यकार हुने थिएन ।
साहित्य लेखनका विगत १५० वर्षको महान् शिल्पी बालकृष्ण सम हुन् ।
कमल दीक्षितलाई बुझ्न ७७ वटा पुस्तक पढ्नुपर्छ ।
साहित्यकारमा एउटा अहं हुनुपर्छ । म लेख्न जान्दछु । मेरो लेखनमा पूर्णता छ । मैले लेखेको हुन्छ । पक्कै पठनीय हुन्छ । मेरो लेख पढ्ने भोक समाजमा छ । मेरो लेखनले स्थान पाउँछ । लेखकले यस्तो ठान्नुपर्छ ।
मैले धेरै अघिदेखि पालेर राखेको एक प्रश्न थियो । आफू प्राविधिक कित्ताको विद्यार्थी भएकोले साहित्यका कतिपय कथनहरू अजिबका लाग्थे र अझै पनि लाग्छन् । मैले मौकामा चौकाको दाउ हान्ने सुर झिकेँ ।
मेरो गणितमा एकमा एक घटाउँदा एक नै बाँकी रहन्छ । यो कसरी हुन्छ ?’
महाकवि लक्ष्मीप्रसाद देवकोटाको पागल कवितामा उल्लेखित गणित र विज्ञानका स्थापित मान्यताहरूलाई नै हाँक दिने यो अभिव्यक्तिलाई कसरी बुझ्ने ? म अन्योलमा थिएँ । प्रश्नको तीर दीक्षित गुरुतिर फ्याँकेर म अधैर्य भएर उत्तरको पर्खाइमा बसेँ ।
तपाईंको थर के हो ?’
खतिवडा । ब्राहृमण पुत्र हुँ ।
उसो भए संस्कृत केही बुझ्या होला । ॐ पूर्णमदं पूर्ण मिदंभन्ने मन्त्र थाहा छ ?’
थाहा छ । ॐ पूर्णमदः पूर्णमिदं पूर्णात्पूर्णमुदच्यते । पूर्णस्य पूर्णमादाय पूर्णमेवावशिष्यते ।।
मैले न्वारानदेखिको बल निकालेर भने ।
बस एकमा एक घटाउँदा एक हुन्छ भनेको यही मन्त्र हो ।
म खुशीले पागल जस्तै भएँ । अनि पूर्णताको अर्थ लगाउने त्यो मन्त्रको सरल व्याख्या सम्झेनदीमा लोटा लिएर जानु होस् । नदीको पानीले लोटा भर्नु होस् र भन्नुहोस्
यो लोटामा पानी भरिएको पूर्णता त्यो नदीको पूर्णताबाट आयो । तर यस्तो भए तापनि नदी अझै पूर्ण नै छ ।
मेरो इन्जिनियरिङको विद्यावारिधिसम्मको पढाइले छुन नसकेको ज्ञान पाएको अनुभूति भएको थियो । त्यसै दिन मैले मेरा गुरुको समूहमा आदरणीय कमलमणि दीक्षितलाई राखेँ । कक्षाको केही दिनपछि म हानिएर ढोकैमा क्याफे परिसरमा रहेको उहाँको कार्यालयमा पुगेँ । अभिवादन गरेँ ।
मलाई यतिले पुग्दैन । कृपया शिरमा हात राखेर आशीर्वाद दिनु ।
सम्भवतः मेरो माग अनौठो थियो । उहाँलाई सम्झाउनु परेन ।
त्यो पूर्णता विषयमा प्रश्न गर्ने घोष्ट राईटिङ्को मेधावी छात्र होइन त तपाईं ?’
म धन्य भएको थिएँ । उहाँले मलाई सहजै चिन्नु भयो ।
हामीले गुरु पूर्णिमाको दिनमा नेपाल विकास अनुसन्धान प्रतिष्ठान (नेविअप्र) मा एउटा कार्यक्रमको आयोजना ग¥यौं । कदी गुरुलाई प्रमुख अतिथिको निम्तो दियौ ।
यो त आश्चर्य भयो । अहिलेसम्म नभएकै काम भयो । कमल दीक्षितलाई गुरु पूर्णिमाको अतिथि ?’ उहाँले नेविअप्रको सभाकक्षमा प्रवेश गर्दै भन्नुभयो ।
शिष्यात इच्छेत पराजयम् । हजुरको गुरुत्वले यो वाक्यको मर्म चरितार्थ गरेको जस्तो लागेकोले निमन्त्रणा गरेका हौँ ।नेविअप्रका प्रमुख डा. जयकुमार गुरुङले भन्नु भएको थियो ।
उहाँले हामीलाई फेरि एकपटक राम्ररी हेर्नुभयो । म लगभग टोलाएको स्थितिमा थिएँ । मैले दिन नसकेको नेपाली भाषा साहित्यको संंस्कार मेरो छोराले उहाँको रातो बङ्ला स्कूलको नेपालीको एउटा कक्षाबाट पाएको थियो । मैले मेरा जिबालाई सम्झिए । मेरा ६५ वर्ष पनि नकटेका पिताश्रीलाई सम्झिए । म त्यति भाग्यमानी नाति थिइन, जो हजुरबुवासँग लामो समयसँगै बिताउन पाओस् । मेरो छोरा सिरिन पनि त्यति भाग्यमानी नाति भएन, जसले उसका हजुरबुबासँग विधाताले सबैलाई दिएका केही समानान्तर दशक बिताउन पाओस् । तर म यस्ता धरोहरको अघिल्तिर उभिएको थिएँजसले रातो बङ्ला स्कुलमा अध्ययन गर्ने सयौं नाति नातिनालाई हजुरबाले दिने संस्कार पस्किदिएका थिए । संस्कार सिक्ने उमेर हुन्छ । सम्भवतः हजुरबा र हजुरआमाले नाति नातिनालाई सिकाउने संस्कार नै सबैभन्दा ओजस्वी र दिगो हुन्छ । एकल परिवार र सीमित सन्तानमा चित्त बुझाउनुपर्ने अहिलेको समाजमा बाल्यकालमा पाउनुपर्ने माया ममता र हाँसखेलको रमाइलोबाट हामीले अधिकांश बालबालिकालाई वञ्चित गरेका छौं । यस्तो कालखण्डमा शिष्यात इच्छेत पराजयमअर्थात् शिष्यबाट पनि पराजयको ईच्छा गर्नुभन्ने अभिप्रायले शिक्षा र दीक्षा दिनु । कस्तो उदारता ? कस्तो महानता ? 
पुत्रात् इच्छेत पराजयम् । अर्थात् पुत्रबाट पनि पराजयको इच्छा गर्नु । यो पनि शास्त्रमा छ । थाहा छ ?’ कदी गुरुबाट फेरि हाम्रो परीक्षा लिएझंै सोधनी भयो ।
अहिलसम्म थाहा थिएन । अब थाहा भयो ।मैले सबैभन्दा सजिलो जवाफ दिएँ । मलाई पुत्र वा पुत्रीलाई पनि यस ढंगले शिक्षा वा संस्कार दिनुपर्छ भनेर शास्त्रले भनेको छ भन्ने थाहा थिएन ।
नेपाली वाङ्मयको उत्थान र समृद्धिका लागि आठ दशक बज्रझै ंआफ्नो उपस्थिति देखाएर एउटा नमुना जीवनयापन गर्न दादाजी सफल भए । स्रष्टा र साहित्यको अभिभावकत्व ग्रहण गरे । नेपाली भाषालाई पनि कम्प्युटरमैत्री बनाउन योगदान गरे । आगोझैं सल्किएर फेसबुकमा भाइरल बनेको छन्दफरदादाजीको हृयास ट्यागले त्यही बताएको छ । छन्दका १०१ कविताले त्यही बताएको छ । भूकम्पले भत्किए पनि बाँस र माटोको गारोको सहारामा पुनः ठडिएको मदन पुरस्कार पुस्तकालय भवनले त्यही संकेत गरेको छ । कमल दीक्षित डटकममा खुला किताबको रूपमा राखिएका ७५ वटा पुस्तकहरूले त्यही बताएका छन् ।
यो आलेखको आरम्भमा उल्लेखित श्लोकमा रामायणकी नायिका सीताले विकट परिस्थितिमा पनि आफ्नो आदर्श र सत्यनिष्ठाबाट विचलित हुन नहुने सन्देश दिएकी छन् । कुनै उपाय नभएको परिस्थितिमा बरु मृत्युवरणको विकल्प उत्तम हो भन्ने भाव पनि उनले उल्लेख गरेकी थिइन् । यही उपमा युवा कमलमणिमा पनि पाउन सकिन्छ । विद्या पुरस्कार निबन्ध प्रतियोगितामा रचना पठाएर गोरखापत्रमा छाप्ने काम नै मदन पुरस्कार स्थापना गर्ने रणनीतिअनुरूप गरिएको थियो । राणाशासनकाल जस्तो साहित्य र वाङ्मयको समृद्धिका लागि प्रतिकूल परिस्थितिमा पनि कालो बादलमा लुकेर रहेको चाँदीको घेरालाई देख्न सकेका थिए अर्जुन दृष्टिका धनी कमल दीक्षितले । राणाशासनकालदेखि साइबरकालसम्म अनवरत नेपाली भाषा साहित्यको सेवा गरी भविष्यका सन्ततिलाई समेत मार्गदर्शन गरिदिने सरस्वती साधकलाई नमन र हार्दिक श्रद्धाञ्जलि । 
पुस २१, २०७३
- See more at: http://ehimalayatimes.com/bichar-sahitya/6697#sthash.Cpvid25Q.S3TpAcdt.dpuf

Saturday, December 24, 2016

सिसियुमा १२ घण्टा



सिसियु वार्डमा एघार जना विरामी राख्न मिल्ने सुविधा रहेछ । ह्विलचेयरमा राखेर मलाई आकस्मिक कक्षवाट त्यहाँ ल्याईयो । म पुग्दा मुटुको समस्या भएका रोगीहरुलाई राखिने त्यो सँवेदनशिल उपचार कक्षमा दुई जना मात्र विरामी थिए । मेरो लागि बेड नँ २०३ तोकियो । त्यहाँ विरामी हेर्ने आफन्त वा कुरुवाले 'एकै छिन मात्र उभिन मिल्ने' नियम रहेछ । त्यसकारण अन्यत्र जस्तो बेडको छेउमा वस्ने कुर्सीको सुविधा हुने त कुरै भएन । विहानको चार बजेको थियो । मेरो अवस्था अरुको जस्तो असामान्य भने थिएन । यसैले म कम्बल ओडेर निदाउने कोशिशमा लागेँ ।

विहान ६ बजेतिर म आफै विउँझिए । केही विरामी थपिएका थिए । ड्युटिमा रहेका चिकित्सक र नर्सहरुको चहलपहल बढेको थियो । अड्कल काटे-उनीहरुको पालो अदलबदल हुने समय भएको हुनु पर्छ ।

"न्यु पिन्च छ है सबैलाई ।"

रातो स्वीटर र निलो पाईन्टमा सजिएर आएकी एक आगन्तुकले ड्युटिमा रहेका सवै नर्सको ध्यानाकर्षण गरिन । नयाँ लुगा लगाउनेलाई खास गरी दौतरीहरुले चिमोटेर यस्तो अभिव्यक्ति 'दिने' बुझेको थिएँ । तर यहाँ लुगा लगाएकाले चै अरुलाई पो 'न्यु पिन्चको बधाई दिएको' सुनियो ।

मेरो काम बेडमा पल्टिनु सिवाय केही थिएन । यसर्थ मष्तिष्कले मात्र पनि गर्न सक्ने विकल्पहरु सिमित थिए । अब फेरी निदाउने सक्ने कुरै थिएन । उपचार कक्षमा भित्तामात्र थिए, झ्याल थिएनन । यसकारण प्राकृतिक उज्यालो भित्र पस्ने सभाँवना समेत शुन्य थियो । यसले गर्दा झ्यालवाट वाहिर हेरेर समय कटाउने विकल्पमा दर्हो विर्को लागेको थियो । तर पनि मैले धैर्य गर्दै केही सोच्नु पर्ने बाध्यातमक परिस्थिती थियो । तीनवटा उपाय सुझे- छिमेकी विरामीलाई हेर्ने,  नर्सहरुको गतिविधि नियाल्ने वा केही चिन्तन गर्ने । तेस्रो कठिन थियो । पहिलोले दु:ख थप्ने मात्र जोखिम थियो । जे जस्तो भए पनि दोस्रो गतिविधि अर्थात नर्सहरुकै कृयाकलापमा ध्यान केन्द्रित गर्नु नै मेरो लागि सर्वोत्तम विकल्प थियो । किनभने त्यसमा 'निरोगी कृयाकलाप' प्रशस्त देखिन्थे ।   

वार्डमा पस्ने ढोकामा चहलपहल बढ्यो । एउटा नयाँ विरामी ल्याईयो ।

"कुन बेडमा राख्ने होला ?" कसैले उभिएर रमिते भएकाहरु माझ प्रश्न हुत्यायो ।

"तिनलाई चारमा सार्ने । अनि तीनमा यसलाई राख्ने ।"

यो निर्णय गर्ने अधिकारी थिईन- रातो युनिफर्म लगाएकी एक महिला । त्यसो त पहिरनको रँगका आधारमा त्यहाँ विरामीलाई सेवा दिने कर्मचारीलाई चार भागमा बाँड्न सकिन्थ्यो । खैरो, रातो, निलो र सेतो लगाउने । खैरो लगाउनेहरु सबैभन्दा कनिष्ठ थिए । उनीहरु भुँई पुछ्ने वा शौचालयको रेखदेख गर्ने जस्ता कार्यमा खटिएका देखिन्थे । रातो लगाउनेहरु विरामी ल्याउने, लैजाने र तन्ना फेर्ने जस्ता काम गर्थे । नर्सहरुले निलो लुगा लगाएका थिए भने चिकित्सकहरुले सेतो कोट ।    

"तँलाई" भन्ने शब्द आदरार्थीको कित्तामा सबैभन्दा तुच्छ मानिन्छ । यो प्राय आफूले हेपेका, उमेरले साना वा गाली गर्दा प्रयोग गरिन्छ । यसकै हाराहारीमा निर्जिव वस्तुलाई सम्बोधन गर्दा "यसलाई" भनिन्छ । रातो लुगा लगाएकी महिलाले प्रयोग गरेको यो शब्दले मलाई आश्चर्यको दु:खद कित्तामा पुर्यायो ।

"किन मलाई ४ नँ मा सार्ने ? के बेड नँ ३ मा नयाँ बिरामीलाई सहज हुन्छ ? कि ४ नँ मा मलाई सजिलो हुन्छ ?"
सँभवत: यी प्रश्नहरुको त्यहाँ कुनै अस्तित्व थिएन । म यी प्रश्नको जिवन्तता भन्दा पनि नयाँ विरामीलाई प्रयोग गरिएको  
"यस" भन्ने सर्वनामको सेरोफेरोमा हराएँ ।

"तँपाईलाई ४ नँ मा सार्नु पर्ने भो ।" मलाई निर्णय सुनाईयो । त्यसो गर्नुको कारण सुनाईएन । मैले पनि कुनै चासो राखिन । आदेश पालना गरेँ । निचोड निकालेँ-कसलाई कुन बेडमा राख्ने भन्ने निर्णय कनिष्ठ कर्मचारीले हचुवामा गर्दा रहेछन ।

चार नँ बेड सबै भन्दा कुनामा थियो । मेरो लागि भित्तो अझ नजिक भएको थियो भने ढोका र नर्सहरु भेला हुने स्टेशन झन टाढा । अब भने नर्सहरुको हो हल्ला बाक्लिएको थियो । उनीहरुको आफ्नै हल्लाले 'त्यो क्रिटिकल केयर युनिट अर्थात सिसियू हो' भन्ने यथार्थ ओझेलमा परेको थियो । सघन उपचार कक्षमा वा चिरफार गर्ने ठाँउमा कति आवाज वा उज्यालो हुनु पर्छ भन्ने मापदण्ड पक्कै हुनुपर्छ । जाडो मौसममा शीत-ताप यन्त्र चलाएर तापक्रम कति डिग्रीमा स्थिर राख्ने भन्ने पनि हुन्छ ।  सेवा दिनेहरु नै विरामी वा उपचार सम्बन्धि भन्दा पनि आफ्ना व्यक्तिगत कुराहरु वा "हिजो के भयो?" वा "फेसबुकमा फलानाले राखेको फोटो हेरिस ? भन्ने जस्ता गन्थनले गाँजिएका देखिन्थे । घरिघरि त "वाँसघारीमा रुप्पी कराएको जस्तो" भान हुन्थ्यो ।  केही बेर पछि नर्स स्टेशनको कल्याङ्मल्याङ् बेड तिर सर्यो । उनीहरु दुई दुई जना भएर हरेक विरामीको छेउमा फाईल लिएर आए । आफ्नो जिम्माको विरामीलाई अर्को लाई सार्न थाले ।

"डा. फलानाको पेसेन्ट । विहान चार बजे चेस्ट पेन भएर ईमरजेन्सीमा ल्याएको । औषधी यो चलाएको छ।" यस्तै वार्तालापले वार्ड भरियो ।

दुई जना नर्सले मेरै अघिल्तिर मेरै वारेमा कुरा गरे । तर यस्तो लाग्थ्यो- उनीहरुलाई मेरो उपस्थितिको कुनै पर्वाह छैन । उनीहरु तृतिय पुरुष अर्थात "तँ" वा "त्यो" को भाषा प्रयोग गरिरहेका थिए । मलाई भने 'अड्डासार' भन्ने शब्दको स्मरण भयो । जसरी प्रहरीको जिम्मामा भएको कैदीलाई एक ईलाका वाट अर्कोमा सरुवा गर्दा यसो गरिन्छ । त्यहाँ भने सही छाप र साक्षीको समेत प्रावधान हुँदो हो ।

"पाँच नम्बरको मान्छेलाई बोलाईदे ।" अर्कीले झन अर्कीलाई भनेको सुनियो ।
पाँच नम्बरमा एक बुढी आमा थिईन । एकै छिनमा एक अधवैसेँ महिला आईन ।

"नरुनु आमा । किन रुनू भएको ? केही हुँदैन । म जान्न । हजुर सँगै बस्छु ।" आगन्तुकले भनिन् ।
शायद जीवनवाट हरेश खाई सकेकी थिईन । या त कुनै कारणले धेरै नै सँवेदनशिल भएकी थिईन । एकातिर बिरामीको यस्तो रोदन थियो भने अर्कातिर नर्सहरुको एक आपसको रमाईलो र हँसिमजाक ।   
चिकित्सकहरुको टोली आयो ।

"नमस्ते दाई । हजुरलाई के भएको हो ?" मलाई हेर्ने चिकित्सकले गरेको यो सम्बोधन भने शालिन थियो । मैले सकारात्मक हुने एउटा सिँढी भने फेला पारेको थिएँ । हुन ता नर्सहरुले कामै पर्दा वा कुनै जानकारी दिँदा "बुवा" या 'अङ्कल' ले सम्बोधन नगरेका होईनन । तर कुनै विरामीका बारेमा एक आपसमा कुरा गर्दा भने तृतिय पुरुषकै प्रयोग गर्थे । सेवाप्रदायक र सेवाग्राही सँग जोडिएको एउटा रोचक विषय छ-दुई पक्षका विच विद्यमान सूचनाको असन्तुलित रुप । मेडिकल विधामा त यो झन प्रखर हुन्छ । चिकित्सक र विरामीको विचमा एकहोरो सूचना प्रवाह हुन्छ । रोग वा अव गर्नु पर्ने उपचारका विषयमा चिकित्सकसँग भएको ज्ञान वा सूचना विरामी सँग हुँदैन । यस अर्थमा चिकित्सकले  पेशागत आदर्शको कित्ता नाघेर नियतमा कुनै विचलन ल्याएमा विरामीले त्यसको अथाह मूल्य चुकाउनु पर्दछ । 

मेरो समस्या मुटु सम्बन्धित नभएको निचोड निस्कियो । तर दुईवटा परीक्षण गरेर मात्र डिस्चार्ज गर्ने निधो भयो ।
चिकित्सकहरुको टोली मेरो बेडवाट प्रस्थान गरेपछि मैले ड्युटिमा रहेकी नर्सलाई मेरो हातमा रोपिएको सुई निकाल्न भने । मलाई असामान्य तवरमा दु:खाईको अनुभुति भएको थियो । सुई लगाउँदा प्रशस्त उज्यालो चाहिन्छ । नशा फेला परेन र जथाभावी घोचियो भने विरामीलाई पिडा हुन्छ । नर्सले मलाई घोच्दा सुन्दा सामान्य लाग्ने तर यस महत्वपूर्ण विषयमा ध्यान नपुगेको जस्तो लागेको थियो । न त आकस्मिक कक्षमा न त सिसियुमा नै नशा देखिने सक्ने उज्यालो थियो । म त्यही परिस्थितिको शिकार भएको थिँए । मेरो दु:खाईले त्यही वताएको थियो । उनले सुई निकाल्न नमिल्ने तर्क राखिन । मैले धैर्यता गुमाईन ।

केही समय पश्चात नर्स स्टेशनमा अलि चर्कै स्वरको आवाज सुनियो ।

"एन्जिओप्लाष्ट गरेको विरामीलाई त्यस्तो लापरवाही गर्ने हो ? यही पारा हो भने तिमीहरुले केही पनि सिक्दैनौ । राम्रो डाक्टर बन्ने त सपना मात्र हुन्छ ।"

एक युवा जस्तै देखिने फूर्तिला चिकित्सक ड्युटिमा रहेका उनको मातहतका प्रशिक्षार्थीहरुलाई हप्काउँदै थिए । उनी हिँड्नासाथ विहान रातो स्वेटर लगाएर आउने तर अहिले सेतो कोट लगाएकी युवतीको आक्रोसयुक्त वोली सुनियो ।

"यो डाक्टर आयो भने ईरिटेशनको सगरमाथा नै बोकेर आउँछ । हरेक कुराको सीमा हुन्छ नि !"
मेरै आँखा अघि ति युवा चिकित्सकको अर्ति प्रशिक्षार्थीलाई विष भएको थियो । विद्यार्थीको हैसियतमा रहेका उनीहरुको रोषले स्पष्ट सँकेत गरेको थियो- आफ्ना अग्रजको अभिव्यक्तिले उनीहरुमा न कुनै ग्लानीबोध पलाएको थियो न त सिक्ने तिर्सना नै। अहिले मेडिकल शिक्षामा देखिएको ठूलो समस्या नै यहि हो । पैसा पेलेर डाक्टर हुने परिपाटी विकसित भएको छ । नसिकिकन र नजानिकन हचुवाका भरमा चिकित्सक बनिदैन । आगामी पुस्ताको लागि यो एउटा ठूलो चुनौति पहाड बनेर प्रस्तुत हुने कुरा अवस्यम्भावी छ ।    

"समोसा खाने वेला भएन । एक छिन त आफुले चाहेको कुरा पनि गरौन । कति यो भुमरीमा मात्रै रुमल्लिरहनु ?"
अर्ति तितो मानीरहेकीले प्रशिक्षार्थी चिकित्सकले मिठो समोसाले तितो मेट्ने रणनीति अपनाईन ।
एक अर्को आक्रोशयुक्त गुनासोले मौनता भँग भयो ।

"बाँदर्नीले चाबी कहाँ राखेर हिडी ?"

जिम्मेवारी हस्तान्तरण गरेर गएकी नर्स उपर उनकी दौतरीको आरोप थियो त्यो । आर्तनादको कित्तामा उम्रिएको यो हँसिमजाकको सेरोफेरोमा मैले एउटा निचोड निकाले । एक आपसमा कुरा गर्दा या नर्स स्टेशनमा भएका बेला उनीहरुको कुरा गर्ने शैली, अनुहारको भाव या व्यवहारको रुप अर्कै हुन्थ्यो । उनीहरु प्रसन्न मुद्रामा हुन्थे । अनुहारमा कान्ती हुन्थ्यो । जब उनीहरु विरामीका वार्डमा आँउथे त्यो कान्ती कालो छाँया मा परिणत हुन्थ्यो । त्यहाँ भने औपचारिकताको ध्वाँस पिट्थे । अनुहारको प्रसन्नताको धर्को एकाएक गायब हुन्थ्यो । कतिपय अवस्थामा विरामी वा उनका आफन्तलाई हप्काउँथे । निषेधात्मक आदेशहरुको फरमान जारी गर्थे । यस्तो लाग्थ्यो-पेट्रोल पम्पमा पेट्रोल भरेर उर्जावान भएको सवारीसाधन जस्तो उनीहरु पनि नर्स स्टेशनमा विरामीलाई आतङ्कित पार्ने उर्जा भर्न जान्थे ।  

शौचालय प्रयोगमा पनि नर्सहरुको नियमन थियो । सिसियुका विरामीले धेरै शौचालय प्रयोग गर्न पाईन्न भन्ने मान्यता पालेको देखियो । तर उनीहरु 'धेरै शौचालय प्रयोग नगर्नु" भन्ने आदेश जारी मात्र गर्थे । तर विकल्पको बारेमा बताउँदैन थिए । मेरो शारिरिक स्थिति सामान्य भएकोले म आफै हिँडेर शौचालय जान्थे । एक पटक त्यहाँ पुगेर फर्किदै गर्दा रातो पहिरनमा रहेकी महिलाले भनिन्- 

"किन शौचालयको ढोका बन्द गर्नु भएको ?"

"किनभने अघिल्लो पटक म भित्रै हुँदा एक महिला विरामी पनि भूलवश भित्र आईन । अरुको अघि शौच गर्दा तपाईलाई लाज लाग्दैन र ?"

मेरो स्पष्टिकरण मिश्रित मुखभरिको जवाफले पनि उनलाई बुझो लागेन ।

"तपाईको ड्युटि नर्सले यहाँ पहरा दिनु पर्ने हो नि त ।"

"खै त नर्स ? तपाईँ बेफ्वाँकको भाषण किन छाँट्नु हुन्छ ? उनलाई काम लगाउने पनि तपाईको जिम्मेवारी भए किन रातो लुगा लाउनुहुन्थ्यो होला र ?"

अब भने उनी चुप लागिन । शौचालयमा टिस्यु पेपर पनि थिएन । कतिपय विरामीहरुको दिसा गरेपछि सफा गर्न पुछ्ने पनि बानी हुँदैन । उनीहरु दिसा गरेपछि पानीले धुन्छन् । बेड नँ २०३ का विरामीले दिसा धुन पानी र मग माग गरेको मैले स्पष्ट सुने । खासगरी कतिपय महिला वा बृद्धबृद्धाहरु शौच सम्बन्धि र आफ्नो सँस्कार सम्बन्धिका केही चलनहरु खुलेर व्यक्त गर्न पनि सक्दैनन । यस्तो स्थितिमा सेविकाहरुको आक्रोसले आगो निभाउने भन्दा दन्काउने काम गर्छ ।  
केही समय अघि वीर अस्पतालमा एक हजुरआमाले गरेको विद्रोह सुन्नमा आएको थियो । उनको भित्री अङ्गको चिरफार गर्नु पर्ने काम थियो । सबै तयारी भयो । नर्सले बिरामीलाई अपरेशन गर्नका लागि लुगा फेर्न भनिन्। 

"म बरु त्यसै मर्न तयार छु । तर अहिले सम्म नलगाएको यस्तो फ्याँग्लो लुगा लगाउँदिन ।" हजुरआमाको थरथर काँपेको आवाज सुनियो ।

सम्भवत यो दृष्टान्तले हाम्रो परिवेशमा मेडिकल फिल्डमा गर्नु पर्ने अनुसन्धानका विषयहरुलाई सँकेत गर्छ । हाम्रै सँस्कार र सँस्कृति अनुकुल चिकित्सा पद्धतिलाई हिँडाउन सकिन्छ । खाली चिन्तन र अनुसन्धानको मात्र खाँचो छ ।  

सिसियुवाट मेरो प्रस्थान हुँदा वातावरण तनावग्रस्त बन्यो । विहान देखि म भित्र घाउको पिपजस्तो जमेका मलाई प्रदान गरिएको सेवामा देखिएका विसँगति र लापरवाहीका अवशेषहरुको वेलुन एकैपटक विस्फोट भयो ।  लगभग बारह् बजे तिर मेरा दुईवटा परिक्षणहरु भए । तीनका रिपोर्टले पनि मेरो स्थिति सामान्य देखायो । मैले फेरी ड्युटिकी नर्सलाई मेरो हातमा रोपिएको सूई निकाल्न अनुरोध गरेँ । उनले अपत्यारिलो तर्कले त्यसलाई अस्विकार गरिन ।

असह्य पिडाका बिच मैले दुई वटा निचोड निकालेँ- पहिलो, सिसियुको विरामीलाई त्यहाँ राखुन्जेल स्थिति गम्भिर भएको सँकेत दिनका लगि सूई रोपेरै राखिन्छ । दोस्रो- विरामी उपचार शुल्क नतिरि भाग्न नसकोस भन्ने आशय हो ।

आखिर बेलुकाको पाँच बजे मात्र शुल्क बुझाएको कागजात देखाएपछि नर्सले मेरो हातमा टेपले बाँधिएको सुई निकालिन ।
"चिकित्सकको निर्णय अनुरुप यस्को काम त दिउँसोको १२ बजे नै सकिएको थियो । त्यसै वेला यसलाई निकालेको भए 

मैले पाँच घण्टा दु:खाई सहनु पर्ने थिएन, हैन र ?"

मैले रोष प्रकट गर्दै मेरो आलो घाउमा अलिकति भए पनि मल्हम लगाउने कोशिष गरेँ । तर कुनै ठोस तर्क उनीहरुले दिन सकेनन ।

विदा हुनु अघि मैले वार्डमा रहेका सारा विरामी, तिनका कुरुवा र ड्युटिमा रहेका नर्स र चिकित्सकहरुको ध्यानाकर्षण गर्दै अभियन्ताको रुप निकालेर ठूलो स्वरमा भने-        

"यी सबै विरामीहरु जिउँदा मान्छे हुन, मरेका लाश हैनन । यिनीहरु अहिले विरामी मात्र हुन । मरे भने मात्र लाश हुन्छन । यिनीहरु मरे भने मात्र चितामा पोलिन्छन। तर बाँचे भने घर जान्छन । मरेको लाश मात्र वस्तु हो, जिउँदो मान्छे वस्तु होईन । यो 'पानी राख्ने भाँडो' बस्तु हो । त्यो 'कुर्सी' वस्तु हो । तर म वस्तु होईन विरामी मान्छे हुँ । तपाईहरुले मलाई 'वस्तु' को व्यवहार गर्नु भयो, जिँउदो मान्छेको हैन। यसकारण म तपाईहरुको सेवावाट असन्तुष्ट छु ।"

एक छिन सन्नाटा छायो । उनीहरु सबैका आँखा बलेका थिए । म चाहान्थे यो उनीहरुको जागीरे जीवनकालकै सम्झिन पर्ने सुत्रवाक्य वनोस । मैले गुनासो-पत्र मागेँ र भारी मन लिएर सिसियुवाट प्रस्थान गरेँ ।

घरमा आएपछि सबैले मैले बिद्रोहको बिगुल फुकेको कुरा सुने । तनावग्रस्त पटाक्षेपकी साक्षी मेरी बहिनीले पटक पटक अभिनय शैलिमा परिवार सदस्यहरुलाई घटना विवरण सुनाईन ।

"सिसियुमा बसेर १२ घण्टामा बत्तिस हजार तिरेको असुल पनि त गर्नु पर्यो नि ।" मेरी धर्मपत्नीको प्रतिकृया आयो ।
म भने निभेको आगोले छोडेका कोईलाको कल्पना मात्र गरिरहेको थिँए ।

पौष ०८, २०७३
कोटेश्वर, काठमाण्डौ