Friday, February 12, 2016

मुम्बईको मोमो र गोवाको काजु

धुलिखेलबाट कोटेश्वर पुग्दा बिहानको ११ बजी सकेको थियो । दिँउसो दुई बजेको उडान थियो । अन्तर्राष्ट्रिय उडानमा तीन घण्टा अघि विमानस्थल पुग्नु पर्छ । यो नियमलाई मूल मन्त्र बनाउँदा बनाउँदै पनि भने जस्तो हुँदैन । दश थरीका काम निस्कन्छन् । धर्म निर्वाह गर्नै पर्यो । अन्यथा पछुतो हुन्छ फेरि । साढे एघारमा नेपाल वायु सेवाको टिकट जाँच कक्षमा पुग्दा सोच्दै नसोचेको सूचना प्राप्त भयो । 
“उडान तीन घण्टा ढिलो छ ।“
एक पटक फोन गर्नु पर्ने थियो । गरिएन ।
“अब तीन घण्टा के गर्ने ?” प्रश्न पहाड बनेर उभियो ।
आफू त मियो भैयो । सबै समस्याको समाधान अन्तिम निकाय । अरु थोक नभए-ल्यापटप खोल्यो । लेख्न बस्यो । तर यस पटक साथमा थिए- श्रीमती र छोरी पनि । खासगरी छोरीका लागि समस्याले भीमकाय रुप नै लिएको थियो । उसले अमिलो अनुहार पारी सकेकी थिई । तर मेरो मनमा भने एउटा भने परिस्थितीलाई सामना गर्ने एक सकारात्मक पाटो उदायो ।
“यात्रामा यस्तै नसोचेको आई पर्छ । त्यस्तो बेलामा के गर्ने त ? यस्तै भै-परि आउने परिस्थितीबाट त छोरीले  सिक्छे नि !”
यो विचारलाई व्यक्त भने गरिएन । भित्रै उदायो । भित्रै अस्तायो ।
तर टिकट जाँच कक्षमा भएका अधिकृत कर्मचारीले कालो बादलमा चाँदीको घेरा पनि देखाए
“कोशिश जारी छ । जहाज बदलेर भए पनि पाँच नबजाउने ।”
हामी अध्यागमन तिर लाग्यौ । एक पुराना मित्र सँग भेट भयो । विदेशमा नै जन्मेर हुर्केका दुई छोराहरु लिएर केही दिनको नेपाल भ्रमण पश्चात वहाँ बैँकक फर्कन लाग्नु भएको रहेछ । केटाहरुले ‘गमन पत्र’ आफै भर्ने जिकिर गरे । तर उनीहरु परे नेपाली लेख्न नजान्ने ।    
“नेपाली भाषामा भर्नु पर्छ । तिमीहरुलाई गार्हो होला ।” मित्रले अभिभावकको भूमिका निभाए । 
“हजुरले सिकाई दिनु हामी आफै लेख्ने हो । आखिर समय छँदैछ ।” उनीहरुको स्वाभिमान कुर्लियो ।
मित्र छोराहरुलाई मदत गर्न थाले । हामी पनि आफ्नो विवरण भर्न थाल्यौ । उनको कान्छो छोरोले झेल झिक्यो ।  उ त रिसाएर ठूलो ठूलो स्वरमा कराउन थाल्यो ।  
“नेपालीमा लेख्नु पर्छ भन्ने अनि फेरि किन अँङ्ग्रेजी अक्षर लेख्ने ?”
उसको भनाई सोर्है आना ठीक थियो । ‘गमन पत्रमा’ विवरण भर्दा अँग्रेजी ठूलो अक्षरमा लेख्नु भनेर नेपालीमा जानकारी दिईएको थियो ।  जन्म मिति पनि ईश्वी संवतमा लेख्नु पर्ने । हामी परनिर्भर रहेछौं भन्ने कान्छोलाई परेछ । यो बेला हरेक नेपालीलाई यस्तै महसुस हुँदो हो । मेरो मथिँगल भने मडारिन थाल्यो ।
“के यस्ता कागजात भर्न नेपाली भाषा अक्षम छ त ? कि अहिलेसम्म पगरी गुथेका नीति निर्माता र कार्यकारीहरु अक्षम भएका हुन् ?”
भाग्यवश उडान एक घण्टा मात्र ढिला भयो । नेपाल वायु सेवा निगमका हरेक दृष्यहरुले दुर्दशा पस्किन्छन् । टिकटमा दुई बजेको उडान समय छ । बोर्डिङ् पासमा पाँच बजे छापिन्छ । अनि उडान हुन्छ तीन बजे । यस्तो गाईजात्रा अरु विमान सेवाले नगर्लान् । यो अरु केही होईन । व्यवस्थापकिय अक्षमताको एक झिनो उदाहरण मात्र हो । बोर्डिङ पासमा बाघ भैरब अझै जिँउदो छ । लोगोमा यसको गर्जन छँदैछ । ‘शाही नेपाल वायू सेवा’को टाउको ‘शाही’ लाई मसानघाटमा पुर्याउनेहरुलाई यसको छोटो रुप ‘आरए’ लाई ‘यनए’ बनाउनु पर्छ भन्ने चेत नभएको जगजाहेर छ । जहाज भित्रका दृष्य त्यस्तै छन् । एक तिहाई सिट मात्र भरिएका छन् । चलचित्र हेर्ने संयन्त्र छैन । सिटका खोल पनि मैला छन् । उडान सम्बन्धी सूचना दिने स्क्रिन पनि छैन । पत्रिका पल्टाएर हेर्न थालेँ । नेपाल वायु सेवाको उडान सम्बन्धित एक जानकारीमूलक रचनाले ध्यानाकर्षण गर्यो । अङ्ग्रेजी र नेपाली दुवै भाषामा उही अभिव्यक्ति प्रस्तुत गरिएको थियो ।   
“सिटमा बसेको बेलामा र जहाजमा टर्बुलेन्स (अधिक हलचल) भएको बेलामा सुरक्षा पेटी बाँध्न सिफारिस गरिन्छ ।“ भन्ने आशयको महत्वपूर्ण सूचनाको हलुका र सामान्य अनुवाद गरेको पाईयो ।”  
“सिटको पेटी सधै‌ैै नै बाँधी राख्नु राम्रो हुनेछ । अनुदित हरफ यस्तो थियो । यसमा टर्बुलेन्स शब्दको अर्थ खुल्ने गरी अनुवाद गरिएको थिएन ।”
विजिनेस क्लास, ग्राउण्ड स्टाफ र कुजिन जस्ता महत्वपूर्ण शब्दहरुका अनुदित रुपहरु न त एकनासका पाईए न  त अर्थपूर्ण । कतिपय पत्रिकामा प्रयोग भएका शब्दहरु उडान अवधिमा गरिएका उदघोषणमा पनि प्रयोग भएका थिए । तर तिनीहरुमा एकरुपता र अर्थको विशिष्टता थिएन । मानक निर्धारण गर्ने यस्तै शुक्ष्म विश्लेषणले हो । देश निर्माण गर्ने अभियन्ताहरुले पल्टाउनु पर्ने ढुंगा यस्तै हुन् ।  
यस्ता अवसरमा म शिशिर योगीको गीत सँझन्छु ।
‘यो देशमा म एउटा मानिस खोजी रहेछु ।‘
मलाई लाग्छ-एउटा मानिस मात्र होईन । नेपाल राष्ट्रमा सयौँ अभियन्ताका लागि अवसरहरु लम्पसार परेका छन् । जता ततै केही बिग्रेको वा धेरथोर नपुगेको देखिन्छ । समस्याहरु नेतृत्व नपाएर चुलिएका पहाड भएका छन् ।  उपलब्ध प्रविधिको प्रयोग भएको छैन । केही सुरुवात नभएको हैन । तर मलजल नपाएर सुक्न लागेको बृक्ष जस्तो भएका छन सार्वजनिक सेवा सुविधाहरु । यस्ता बृक्ष जता जतै छन । नेपाल वायूसेवा, नेशनल ट्रेडिङ् लिमिटेड, खाद्य संस्थान, प्रज्ञा प्रतिष्ठान, नेपाल आयल निगम र  काठमाडौं  उपत्यका खानेपानी लिमिटेड सामान्य सिँचाई र हलुका मलजलले मात्र पनि तुरुन्तै तङरिन सक्ने केही प्रतिनिधि उदाहरण हुन ।
केही दिन अघि विविसीमा एउटा रोचक जानकारी दिईएको थियो । मुम्बईको सुकुम्बासी क्षेत्रमा शौचालयको समस्याका बारेमा । घरमा शौचालय बनाउन आवश्यक जमिन नहुने । यसैले लघु शौचका लागि पनि सार्वजनिक सेवा प्रयोग गर्नु पर्ने । तर महिलाहरुको लघु र दीर्घ शौच गर्नका लागि अलग अलग सुविधा उपलब्ध नहुने । दिनको छ सात पटक सेवा लिँदा धेरै शुल्क तिर्नु पर्ने । पुरुषहरुको भने लघु शौच सित्तैमा हुने । यसैले सालाखाला दिनको एक पटक मात्र दीर्घ शौचका लागि शुल्क तिरे पुग्ने । शहरी आवास र सार्वजनिक शौचालय सँग जोडिएको यो विषय रोचक थियो ।   
“झ्यालतिरको सिट रोज्नु । अवतरण गर्दा मुँबईको शहरी बसोबासको कुरुपता छर्लङ्ग हुन्छ ।“ मित्र सूर्यमान शाक्यको सल्लाहा थियो । विमान पुरै नभरिएको फाईदा मैले लिँए। अवतरण गर्नु पूर्ब नजिकैको झ्यालको सिटमा आसन जमाएँ ।
नभन्दै त्यस्तै देखियो । एकातिर आकाश छुने महल । अर्कातिर अव्यवस्थित झुपडीको लर्को । मैले भियतनामको हनोईमा पनि यस्तो अब्यवस्था देखेको थिँए । त्यहाँ भने लाम्चो आकारका बाकस जस्ता घर । सबै घर जोडिएका । यस हिसाबमा मुम्बई र हनोईलाई काठमाडौं, पोखरा र धरानले जिते । तर हामीले त विशिष्ट सँग दाँजिनु पर्छ । बसोवासका लागि उत्कृष्ट ठहरिएका शहर केप टाउन या भ्यानकुभरलाई भेट्नु छ । फेरि अर्को अभियन्ताको खोजीमा लाग्छ मेरो मन ।
छत्रपति शिबाजी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण पश्चात एउटा भने आनन्द लाग्ने क्षण सिर्जना भयो । हाम्रो विमानले पनि सुरुङ्सँग जोडिन पर्‍यो । काठमाडौंमा यो सुविधा छैन । विमानमा जान हिँडेरै या बस चढेर जानु पर्छ । एक मनले भने लाग्यो हाम्रो आरए पनि के कम छ र ? आखिर शिशा त छ नि ! व्यावस्थापकीय अक्षमताको कसिँगरले पुरिएको मात्र न हो ! त्यो कसिँगर पुछ्ने अभियन्ता चाहिएको त हो ।  
यस पटको यात्राको मौलिक र सुखद पक्ष थियो-सन्तान सुखको अनुभुति । सुपुत्र सिरिन विमानस्थलमा लिन आएको थियो । हामीले पहिलेनै कुरा मिलाएका थियौ । वस टर्मिनलमा भेट्ने भनेर । अन्यथा यो भवसागरमा एक अर्कालाई भेट्नु नै विकराल समस्या हुने ।
भेट हुना साथ उसले मोवाईल चलाउन थाल्यो । केही बेरको कसरत पछि उसले गजबको सूचना जारी गर्यो ।
“दश मिनट लाग्छ रे उबरलाई आइपुग्न । ”
उबर नामको यो पद्धति अचम्मकै रहेछ । मोवाइलमा ‘उबर एप’ डाउनलोड गर्नु पर्ने । पुरै शहरको नक्शा देखिने । अनि स्क्रिनमा आफू उभिएको ठाँउ खोज्ने । त्यसपछि गन्तव्य निश्चित गर्ने । यति गर्ना साथ सबै भन्दा नजिक भएका खाली ट्याक्सीहरुको चित्र देखिन्छ । स्क्रिनमा चालकको नाम र मोवाइल नम्बर पनि उदाँउछ । गन्तव्यमा पुग्ने अनुमानित समय र भाडाको रकमको जानकारी पनि पाईन्छ । सबै कुरा चित्त बुझे- ओके थिच्ने र ट्याक्सी बोलाउने ।
नभन्दै दश मिनट जतिमा उबर आईपुग्यो । सामान राख्न चालकले सघाईदियो । नाकनिक केही गरेन । मिलिक्क गर्दा हामी मुम्बईको सडकमा गतिमान भएका सवारी साधनको हुलमा मिसिई सकेका थियौँ ।
फिल्म सिटि गेटको समिपमा रहेछ-ईन्दिरा गान्धी विकास अनुसन्धान संस्थानको परिसर । हाम्रो आवासको व्यवस्था सिरिनले यो सँस्थाकै अतिथि गृहमा गरेको थियो । सर्वसाधारणले “ईन्दिरा विकास” भन्दा रहेछन् । सिरिनले यो संस्थानमा अर्थशास्त्रमा स्नातकोत्तर गर्न छात्रबृति पाएको हुनाले यो सम्भव भएको थियो । यो संस्थान भारतको केन्द्रीय बैंकको मातहतमा ‘सोच केन्द्र’ अर्थात थिङ्क ट्याङ्क को रुपमा स्थापित भएको रहेछ । नेपालका अभियन्ताहरुका लागि यो अर्को अवसर हो । मेरो मन फेरी हौसिन्छ । अहिलेसम्म नेपालमा औपचारिक रुपमा सोच केन्द्र स्थापना गर्ने अवधारणा नै स्थापित भएको छैन ।
भोलिपल्ट हाम्रो यात्राको साथी भएको थियो- उही उबर क्याब । गन्तव्य थियो साडी बिक्रीको लागि प्रख्यात ठाउँ-दादर । नेपालीका लागि साडी वा सलवार कुर्ता अझै पनि प्रिय छ । हुन ता अहिले काठमाडौं या अन्य शहरमा यस्तो लुगा लगाएका नारीहरु मुश्किलले देखिन्छन् । मुँबईमा भने अझै यी पहिरनले मूलधारका वस्त्रको शंज्ञा पाएका रहेछन् । सडकमा एक त महिलाको बाहुल्यता नदेखिने । अर्को प्रायले साडी नै लगाएका हुने । यो मामिलामा छिमेकीहरुको तुलनामा हामी अग्रस्थानमा छौ । अर्थात हाम्रो परिवेशमा ‘परम्परागत जडताको चट्टान’ फुटाउन सजिलो छ । हामीसँग ‘तुरुन्तै सिक्ने’ क्षमता तुलनात्मक रुपमा उच्च गुणस्तरको छ । उच्च प्रविधियुक्त सेवा-सुविधा मात्र पाईयोस । विना वर्दीका प्रहरीहरुले निमेषभरमा नै तिनलाई आत्मसात गर्नेछन् ।  तर के गर्नु ! विदेशमा सहजै पाईने सुविधा आफ्नो देशमा प्रयोग गर्न नपाएर आशामा नागरिक काकाकुल भएका छन् । समाज बदल्ने सोच राख्ने नेपाली अभियन्ताले बुझ्नु पर्ने यो एक उच्च महत्वको विषय हो ।
“यत्रो ठूलो साडीको दोकान त अहिले सम्म गैएकै थिएन ।” रीताको उद्गार सुनियो । मैले अनुमान लगाएँ-सय जना भन्दा बढी त बिक्रिमा सँलग्न कामदार नै छन् । साडी लगाएकै केही महिला कामदार पनि झुल्किए । अन्यथा प्राय पुरुष कामदार मात्र हुने । तर महिलाहरुको भूमिका भने ग्राहकलाई सम्बन्धित कक्षमा पुर्याईदिने मात्र हुँदो रहेछ । श्रीमति र छोरीले राम्रै खरिद गरे । मैले पनि दुई जोर कुर्ता पाईजामा किने ।  
दादरको किनमेल पश्चातको  गन्तव्य तय भयो-तिनैतिर समुद्र भएको पुरानो प्रशिद्ध शहर भित्रको शहर अर्थात चर्च गेट । त्यहाँ जानुको मूलकारण थियो- मौलिक समुद्रि खाना अर्थात सिफुड को स्वाद लिने । यस अघिका थाईल्याण्ड र जापान बसाईका कारण मेरो परिवारको जिब्रोमा समुद्रि जलचरवाट बनेका स्वादिष्ट परिकारको रस भिजि सकेको थियो । अर्डर पछि झिँगे माछा अर्थात लोबस्टर रोजाउन ल्यायो । हाम्रो रोजाईमा पर्यो-लगभग ३५०० को जिँउदो जलप्राणी । स्वादिष्ट भोजन पश्चात हामी लाग्यौ-जुहु समुद्रि किनार । फेरी उबर क्याबले काम पायो । एक तर्फी बाटोका कारण यस पटक भने उबर भेट्न अलिकता हिँडाईमा परियो । तर उबर ट्याक्सी चढे पछि फेरि यात्रा सहज भयो ।
आज भन्दा लगभग तीस वर्ष अघि बिरला प्राद्यौकि संस्थान, राँचीमा स्नातक गर्दा मैले जीवनमा पहिलो पटक समुद्र देखेको थिँए । त्यो थियो- उरिसा राज्यको पुरी शहरको समुद्र । समुद्र किनारमा बालुवामा खेलिन्छ । नुनिलो पानीका छालसँग पौठेजोरी खेल्न मिल्छ । नदीको भेलमा जस्तो हेलिन मिल्छ । समुद्री किनारा भएका मुलुकहरुको लागि यो प्राकृतिक सम्पदा पर्यटनको महत्वपूर्ण आधार हो । मलाई भने आँखाले प्रत्यक्ष देखेर यी विषयको ज्ञान भएको थियो । त्यस वेला मेरा सहयात्री मित्र थिए-सुनिल सिमखाडा । जो अहिले परिवार सहितै अष्ट्रेलिया भासिएका छन् ।
जुहु समुद्री किनारामा अपेक्षित चहल पहल थिएन । विदेशी पर्यटकहरु नगण्य । अधिकांश भारतियहरु नै थिए । हरिया नरिवलको पेय लगायत केही परिकारहरु पाईने । पर्यटन विभागको कुनै खास ध्यान पुगेको जस्तो देखिएन । समूद्रको पानी पनि दुर्गन्धित । ढलनिकासको गन्ध प्रचुर मात्रामा । हामी हिड्दै अगाडि बढ्यौ । एक ठाँउमा जुत्ता खोलेर नै पानीको भुल्को तर्नु पर्यो । फड्किने कुनै उपाय थिएन । पर्यटकिय स्थलमा यस्तो अव्यवस्था हुनु भनेको पराकाष्टा नै हो ।
अर्को दिनको कार्यक्रम भने मुम्बईको आकर्षणको केन्द्र- एसेल वर्ल्ड थियो । त्यो दिन आईतवार परेको हुनाले अतिथि गृहकै चमेना गृहमा विहानको स्वल्पहार (निबन्धकार धनुषचन्द्र गोतामे को शब्द सापटी) को आनन्द लिईयो । सिरिनका साथीहरु मिसिए । रमाईलो भयो । भारत भरिकै खुला प्रतिस्पर्धाबाट हजारौको सँख्यामध्येबाट चुनिएका तीस जनाले मात्र प्रवेश पाउने “ईन्दिरा विकास” को नियम । त्यही समूहका केही हाम्रो साथमा थिए । कुराकानीमा जुनसुकै प्रसंग निस्के पनि आफ्नो माझिएको विचार प्रस्तुत गर्न सक्ने उनीहरुको क्षमता हुँदो रहेछ । कुराकानीलाई स्वादिला परिकारले साथ दिए । चिया त झनै मिठो । ल जे पर्ला- मैले एक कप थपिदिँए ।
सिरिनले फेरि उबर क्याब मगायो । हामी समुद्रि घाटमा पुग्दा पारी जान लामबद्ध पर्यटकहरुको हुल देखियो । लाममा हामी पनि जोडियौ । हामीले चढ्न पर्ने समुद्रि सवारी साधन अर्थात फेरीको पनि अनुहार देखियो । फेरी अर्थात सानो पानी जहाज । नेपालको सन्दर्भमा भन्नु पर्दा ठूलो डुङ्गा । नजिकै थुप्रेका फोहोरका रासले पनि स्वागत गरे । समुद्रको पानीमा पनि तैरिएका फोहोरले विस्कुन सुकाएको जस्तो देखियो । मैले केही तस्विर लिएँ । आखिर समस्या उस्तै हो । नेपाल होस या भारत । विकसित मुलुकले मात्र यस्ता पर्यटकिय महत्वका स्थानमा बिशेष ध्यान दिएका छन् । अहिले यो ठाँउ जापानमा या सिँगापुरमा होस त ? रुपै अर्को हुन्थ्यो । झट्ट हेर्दा व्यवस्थापनमा कुनै खोट लगाउने पक्ष देखा पर्ने थिएन ।
एसेल वर्ल्ड भनेको डिसने ल्याण्डको अवधारणामा बनाईएको साहसिक र मनोरन्जनात्मक खेलहरुको आनन्द लिन मिल्ने सुविधाले भरिपूर्ण एक विशाल परिसर रहेछ । सन २००१ मा टोकियोमा सपरिवार डिसने ल्याण्ड घुम्न गईएको थियो । तर त्यसवेला सिरिन र दीक्षा साना थिए । हिजो अस्ति जस्तो लाग्छ । तर पन्ध्र वसन्तहरु अतितमा विलिन भै सकेछन् । मध्यान्ह भैसकेको हुनाले पानीजन्य खेलमात्र खेल्ने कि जमिनमा भएका खेल पनि खेल्ने भन्नेमा हाम्रो मत मिलेन । दुवैको टिकट लिएर आखिर खेल्न पाईएन भने के मजा भयो र ? समूहका वयस्कहरुको तर्कले यो धार समात्नु स्वभाविकै थियो । आखिर किशोर मनोविज्ञान कै जित भयो । दुवै समुहको टिकट किनियो । तर सर्वप्रथम जलविहारको पालो आयो । जल-चिप्लेटि देखि लिएर सुरुङ् भित्र छिर्ने लगायतका खेलहरु रहेछन । ईच्छा मात्र भएर नहुने । आँट पनि चाहिने । टाउका पछाडि हात राखेर उत्ताने पर्दै ओरालो सुरुङ् भित्र चिप्लिने खेल मैले पनि खेलेँ । आफ्नो पालो आएपछि प्रस्थान विन्दुबाट शरिरलाई छोडिदिए पछि एकै चोटि गन्तव्यमा गएर रोकिने । अर्थात “हिँडे पछि हुँईकिने” । बीचमा पुगेपछि “एकछिन रोकिन्छु” भन्न नमिल्ने । सिरिन र दीक्षाले भने ठाडो चिप्लेटि पनि खेले । मेरो भने आँट पुगेन ।
जलबिहार पछि हामी भूमिविहार तिर लाग्यौ । ५९ नँ को खेलस्थल नजिकै रहेको पन्जाबी ढाबामा खाना खाईयो । जमिनको समूहतिर रहेका खेलहरुमा सबैभन्दा आकर्षणको केन्द्रमा थियो- सट एण्ड पुल खेल । यसको रुप र चाल देखेर हामी मध्ये तीन जनाले आँट गरेनौ । तर छोरीले भने जिद्धि गरी । उसले पटक पटक दाईलाई साथ गै दिने आग्रह गरी । आखिर उसकै जीत भयो । सिरिन र दीक्षा खेल्ने लामको पुछारमा गएर उभिए ।  
चारकुने सँरचनाको चार तिर छ, छ जनाको समूहमा लहरै कुर्सिमा बसे जस्तो चौबिस जना बस्न मिल्ने सुविधा थियो । सँरचनाको बीचमा लगभग एक सय मिटर अग्लो बडेमानको मियो ठिङ्ग उभिएको थियो। सबै जनाको सुरक्षा सँयन्त्रले शरिर टमक्क बाँधेपछि स्पीकरमा ठूलो आवाज आयो ।
“सट एण्ड पुल खेलमा यहाँहरुलाई स्वागत छ । अब खेलको काउण्ट डाउन शुरु हुन्छ । दश, नौ, आठ………….तीन, दुई एक ।”
गन्ती अन्त्य हुनासाथ चौबिस जना खेलाडी बोकेको त्यो चारकुने सँरचना केन्द्र भागमा रहेको मियोको आड लिएर आकाश तिर एकै झट्कामा हुँईकियो । सबैजनाको सामूहिक चित्कार “आ……………ई” सुनियो । त्यस पछि तल झर्ने र माथी हुँईकने क्रिया प्रतिकृया केही बेर कायाम रहे । मेरो काम भने मोवाईलमा भिडियो र तस्विर खिच्नु थियो । त्यस्तो चलायामान साधनको भिडियो खिच्न अभ्यस्त नभएको हुनाले आफ्नो बुद्धिले भ्याए सम्म भरमग्दुर प्रयास गरेँ । खेल सकेर दुवैजना ठूलो बाजी जितेको भावले हँसिलो मुद्रामा हामी तिर आए ।
लोअर परेल भन्ने ठाँउको एक थाई-बरमिज रेष्टुरेण्टमा हाम्रो रात्रीकालिन भोजनको कार्यक्रम बन्यो। उबर क्याबले अलिक टाढै छोडिदिएकोले केहीबेर हिँड्नु पर्यो । तर गुगल म्यापको सहारामा गल्ली भित्र अवस्थित ‘उसागो’  नाम गरेको त्यो रेष्टुरेन्ट पनि सहजै फेला पर्यो । हाम्रो भोजनमा फेरी समुद्रि जलचर नै प्राथमिकतामा परे । तर उसागीमा भने एउटा अविस्मरणीय रोचक घटना घट्यो । 
हामीले नेपालीमा कुरा गरेको सुनेर हामीलाई परिकार पस्कने एक सेवकले नेपालीमा सोधे-
“तँपाईहरु नेपाली हो ? ”
“हो । तँपाई कहाँको ?”
“कन्चनपुर । हामी धेरै छौ यहाँ । भान्सामा काम गर्नेहरु पनि कन्चनपुरे नेपाली छन ।”
अब हाम्रो बोलचालको भाषा हिन्दीवाट नेपालीमा रुपान्तरण भएको थियो । भित्तिको पुच्छर छिने जस्तो “भाईसाहब” को लामो पुच्छर काटिएर “भाई”  भै सकेको थियो । “म्याड्याम और कुछ ?” को त्यहाँ कुनै अस्तित्व थिएन । रँगमन्चमा “दिदि अरु केही चाहिएला ?” को पदार्पण भएको थियो । औपचारिकता आत्मियतामा बदलियो ।  सँयोगले परिकार पकाउने, टेबलमा ल्याएर पस्किदिने र स्वाद मानी मानी खाने हामी ठूलो परिवार अर्थात एउटै देशका नागरिक थियौ । टेकेको भुँईमात्र मात्र नेपाल थिएन । त्यो मौलिक क्षणको अर्को रोचक पक्ष परिकार सूचिमा मोमो हुनु पनि थियो । मोमो पनि माग गर्नेकी भन्ने कुराकानी भएको थियो । तर अरु परिकारले नै मिचेका थिए ।
हामी भोजनको अन्तिम चरणमा पुगेका थियौ । एउटा सानो ढाकी टेबलमा आई पुग्यो ।
“यो त मोमो रहेछ ।” छोरीले ढाकीको बिर्को खोल्दै भनी ।
“ए भाई ! मोमो त कुरा मात्र भएको थियो तर अर्डर भएको थिएन त ।”
“यो नेपाली भाईहरुको तर्फवाट तँपाईहरुलाई कोसेली ।”
हामी नतमस्तक भयौ । गर्वले शिर ठाडो भयो ।  हर्षले मन चुम्यो । म पाँचथरमा जन्मेको नेपाली । हामी पूर्वेली । उनीहरु सुदुर पश्चिमका । जीवनमा पहिलो पल्ट भेट हुँदैछ । एकै छिन अघि सम्म अपरिचित । तर हामी एउटै देशका । एउटै भाषा बोल्ने । नाता यति त हो । तर कत्रो सदभाव ! कत्रो पर्म ! कत्रो गुन ! कत्रो सत्कार ! आफ्नो पोल्टामा भएको सबैभन्दा गहकिलो पोको फुत्त अर्कालाई दिनु । यो भन्दा महान अरु के हुन सक्ला । धन्य ! मैले नेपाली भएर जन्म लिन पाँए । यति त हो । नगर्दा पनि हुन्थ्यो । नबोल्दा पनि हुन्थ्यो । कोसेली न दिए पनि हुन्थ्यो । तर देखे पछि, बोले पछि, भेटे पछि त्यो आफैँ हुन्छ । भित्रैवाट गरौ गरौ लाग्छ । मन लाग्छ ।  एउटा नेपालीले अर्को नेपालीलाई गर्नु पर्ने सबैभन्दा विशिष्ट कर्म यही हो ।
अर्को दिन भिस्टारा विमान सेवावाट गोवा जाने अग्रिम योजना थियो । काठमाण्डौ आएका बेलामा सिरिनले मुम्बई-गोवाको हवाई र गोवा-मुम्बईको रेलको टिकट किनिदिनुका साथै गोवाको होटल पनि आरक्षण गरिदिएको थयो । यो सब काम उसले  ईन्टरनेट मार्फत गरेको थियो । आफ्नो मुम्बईमा रहेको बैँकको खाता प्रयोग गरि अग्रिम भुक्तानी समेत गरिदिएको थियो । ईण्डियामा विगतमा भएको सूचना प्रविधिको विकास र यसको समाजका तल्लो तप्का सम्म गरिएको प्रयोग प्रशँशनीय छ । सँचार क्षेत्रमा भने हाम्रो मुलुकमा पनि धेरै प्रगति भएको छ । अहिले मोवाईल प्रयोगकर्ताहरु देशका कुना कुनामा पुगे । तर उबर क्याब र ईन्टरनेट पेमेन्ट जस्ता पद्धति भित्र्याउन भने हामी पछि परेका छौ ।
भारतको अग्रपङ्क्तिको उद्दमगृह ‘टाटा’ को लगानीमा शुरु भएको रहेछ-भिस्ताराको सेवा । टिकट जाँच कक्षदेखि लिएर परिचारिकाको सेवासम्म खोट लगाउने कुनै अँश फेला परेन । सरसफाई देखि लिएर यात्रु सँगको व्यवहार सराहनीय थियो । त्यत्रो लामो इतिहास भएको  नेपाल वायु सेवालाई भिस्टारासँग तुलना गर्न पुग्छु म ।
जहाजमा एउटा भने खट्किने घटना सिर्जना भयो । हामी सँयोगवश अन्तिम सिटमा थियौँ । हाम्रा अघि दाहिने र देब्रेतिर गरि करिब दश जना जतिको समूह थियो । उनीहरु ठूलो ठूलो स्वरमा गैर हिन्दी भाषामा कुरा गर्थे । उडान शुरु हुना साथ आफैले ल्याएको समोसा हसुर्न थाले । जहाज उड्न लाग्दा पनि एउटाले भने मोवाईलमा सँवाद जारी राखेकोले परिचारिकाको हप्की खायो । उनीहरु जहाज भित्र छन । जहाजमा अरु पनि यात्रु छन् । जहाजमा यात्रा गर्दाका लिखित र अलिखित दुवै नियम पालना गर्नु पर्छ । एक जना मित्रले ‘सरोकारवालाको सहभागिता’ शब्दजोडीको परिभाषा दिँदै एक पटक भनेका थिए ।
“जहाजमा यात्रा गर्दा तँपाई एक सरोकारवाला पक्कै बन्नु हुन्छ । तर तँपाईले तोकिएको सिटमा बस्नु पर्छ । सीटको पेटी बाँध्नु पर्छ । परिकार छनौट गर्न सक्नु हुन्छ । सरोकार छ नि त भन्दैमा ककपिट भित्र जाने वा त्यहाँ गएर जहाज उडाउन सघाउने ईच्छा गर्नु भयो भने त्यो अमान्य हुन्छ ।”
तर यी अग्रपङ्तिमा बसेका मान्छेहरु राक्षसी प्रवृतिका लाग्थे । जहाज धावन मार्गमा गुडिसक्दा पनि जबरजस्ती उठ्न खोज्थे । परिचारिकाले केही भन्दा नाजावाफ देखिन्थे । तर एक छिन पछि केही त्यस्तै हर्कत गर्थे । यो मामिलामा जापान या कोरियाले धेरै प्रगति गरेका छन । लाम लाग्दा, समूहमा हिँड्दा वा सेवा लिँदा अनुशासनको पालना गर्ने त्यहाँ जस्तो जमात शायद अन्यत्र नहोला ।    
जहाजले गोवा विमानस्थलमा शकुशल अवतरण गर्यो । अन्तिम सिटमा बसेको हुनाले म ओर्लने पनि अन्तिम व्यक्ति बने । मधुर मुस्कानका साथ परिचारिकाहरुले बिदाई गरे । मेरा अघि बसेका दैत्य रुप धारण गरेका पात्रको तुलनामा आफूलाई फरक सावित गर्ने लहड चल्यो । तर त्यसको लागि के गर्ने त ? एउटा उपाय सुझ्यो ।  परिचारिका सँग अन्तिम तर मीठो अनौपचारिक सम्वाद गर्ने ।
“यो जहाजमा कतिवटा सिट छन् त ?” मैले मुस्कान पस्किरहेकी परिचारिकासँग आँखा जुधाउँदै सोधेँ ।
“एक सय अटचालिस छन, सर !” सम्भवत: उनको अभिव्यक्तिमा रहेको सँख्याको जानकारी भन्दा अन्तिमको ‘सर’ सम्बोधन प्रिय थियो ।
फूलको जवाफ फूलले नै दिँए । “फुलको आँखामा फुलै सँसार” । त्यसै भनिएको हैन ।   
“विवेकीले मौका पारेर काँडाले पनि सियोको काम लिन सक्छ ।” भने जस्तै मैले पनि यी दानवी प्रवृतिका झुण्डवाट एक काम लिन समर्थ भएँ । सामान संकलन गर्न दुई तिरका सर्ने पेटी चालु थिए । म एकैछिन अन्यौलमा परेको थिएँ । सूचना खोज्न लागेँ । तर यो झुण्ड हल्ला गर्दै दोस्रो स्थान तिर लाग्यो । म पनि त्यतै लागेँ । नभन्दै हाम्रो सामान त्यसैमा भेटियो ।
अग्रिम शुल्क तिरिएको ट्याक्सी लिने लामै लाईन रहेछ । म पनि त्यसको पुच्छरको एक अँश भएँ । छ सय पचासको बिल बन्यो । भाडा भने सवारी चालकले नै पाउने नियम रहेछ । तर यति हुँदा हुँदै पनि बाटोमा भने उसले चुलोमा अर्को भाँडो बसाल्ने कोशिष गर्न थाल्यो । “डन्ट कुक अन सेभेरल स्टोभ्स” अर्थात “धेरैवटा भाँडामा नपकाउ” भन्ने यो उखान बैँककमा हुँदा जर्मनका एक प्राध्यापकले सुनाएका थिए । बडो सान्दर्भिक लाग्छ यस्ता वेलामा ।
“ ओयो रुम भन्ने सेवा गतिलो हुँदैन । कहिले होटल भेटिन्न । खै तिम्रो होटलको पनि ठेगाना स्पष्ट छैन । समुद्र किनारमा कस्ता राम्रै सुविधा भएका होटल पाईन्छन् ।” आदि । चालकको भनाईको आशय थियो ।
 यस्तै वेला त हो मोवाइलको फाइदा । तर मैले मुश्किलले ओयोको ग्राहक सेवा केन्द्र मार्फत चालक सँग सम्पर्क गराएँ । सेवा केन्द्रले उसालई होटलको ठेगाना अर्थ्याईदियो । यसैले उसका दाबी र तर्कमा हाम्रो ध्यान गएन ।  त्यसपछि उसको मुखमा बडेमानको बुझो लाग्यो ।    
‘ओयो रुम’ भन्ने यो सुविधा उपलब्ध गराउने काम खासमा एक ‘बिचौलिया’ कम्पनीले गर्दो रहेछ । लगभग चालिस मिनटको यात्रा पछि हामी ‘फोर पिलर’ नामको होटेल पुग्यौँ ।
तर होटलमा पुग्ना साथ “पहिलो गाँसमा नै ढुङ्गा” को उखान चरितार्थ भयो । सर्वप्रथम त होटल अलि निर्जन ठाँउमा रहेछ । दोस्रो-ईन्टरनेट सुविधाको लागि आवश्यक वाईफाई पनि उपलब्ध रहेनछ । तेस्रो-तिन व्यक्तिको मूल्य तिरिएको भएता आरक्षित कोठामा बेड भने दुई मात्र । श्रीमती र छोरीको दिक्कलाग्दो प्रतिकृया आयो । तर के गर्ने ? समस्या निस्कियो भनेर प्रतिकृया दिनु मात्रको कुनै अर्थ हुँदैन । म समाधान खोज्न तिर लागेँ । सम्झौता भयो । अर्को कोठा उपलब्ध गराईयो ।    
गोवाको पहिलो दिन पर्यटकलाई घुमाउने बसबाट यात्रा गर्ने निधो भयो । दुई विकल्प थिए ।  समुद्री किनारमा अवस्थित पर्यटकिय स्थलहरुको बाहुल्यता भएको उत्तरी भेक जाने कि ? मन्दिर र चर्च को बाहुल्यता भएको दक्षिणि भेक जाने ? हाम्रो रोजाईमा पहिलो पर्नु अस्वभाविक थिएन । तर तोकिएको समय भन्दा आधा घण्टा ढिलो आएको बसले अरु डेढ घण्टा यात्रु संकलन गर्दैमा बितायो ।
जे होस हामी कोको समुद्री तट पुग्दा विहानको एघार बजिसकेको थियो । यो पहिलो गन्तव्यको प्रमुख आकर्षण थिए- कोको समुद्रमा नौकाबिहार र डल्फिनको डुबुल्कीको दृष्यपान । हाम्रा पथप्रदर्शक मित्र बडा रसिला रहेछन् । उनका चोटिला अभिव्यक्तिले हामीलाई मन्त्रमुग्ध बनायो ।
“साईत पर्यो भने दुई डल्फिन एकै साथ देख्नु हुनेछ । ती मायामा बाँधिएका प्रेमी र प्रेमिका जोडि हुन भन्ने बुझ्नु होला । तर यहाँ तँपाईहरुले पारपाचुके गरेका श्रीमान र श्रीमती मात्र भेट्नु हुनेछ ।”
यो स्मरणीय बयान उनैको थियो । यसले कुनै रोचक गतिबिधि नपाएर ओईलाएका यात्रु गलल हाँसेका थिए ।
ब्यागाटर समुद्री तटको अवलोकनका लागि प्रस्थान गर्नु अघि भ्रमण सहजकर्ता मित्रले अर्को महत्वपूर्ण जानकारी दिए ।  
“यो समुद्र तटको चट्टान लोकप्रिय हुनुको विशेष कारण छ । रँगिला फिल्मकी नायिका उर्मिला मन्टोनडकरले यहि चट्टानमा नाचेकी थिईन । तर आज त्यहाँ तँपाईहरुले चट्टान चैँ देख्नु हुनेछ तर त्यहाँ उर्मिला भने भेटिने छैनन् ।“    
कालागुँटे तटमा भने हामीले साढे एक घण्टा बिताउन पायौँ । सुन जस्तो बालुवा र सागरको कन्चन पानीले हाम्रो दिल खोलेर स्वागत गरे । यहाँ भने पर्यटकको घुँईचो नै देखियो ।   
गोवाको एउटा विशेषता भने नरिवलका रुख मिसिएको जँगल रहेछ । यस्ता सुरिला रुखहरु आकाशै छुने गरी अग्ला भएका लाग्छ मलाई । नरिवलका रुखले आकाशमा बनाएको छाता हेरिरहुँ जस्तो लाग्छ ।  वनजँगलको सघनता र पानीको प्रचुरता गोवाका गहना रहेछन् । समुद्रको अलावा ठूला ठूला पानीका दहहरु र नदीहरु पनि बाक्लै देखिए ।   
गोवा भ्रमणको दोस्रो दिन पनि हामीले कालागुँटे सागरमा नै बितायौँ । हामी बसेको ठाँउ पान्जिमबाट सार्वजनिक बसमा त्यहाँ पुग्यौँ । यो यात्रा दुरीको हिसाबमा १६ किमी, भाडाको हिसाबमा भारु २५ र समयको हिसाबमा एक घण्टाको थियो । गोवामा ट्याक्सीको भाडा भने प्रति किमी सालाखाला रु २५ पर्दो रहेछ । बस मालिक, प्रहरी, महिला सहायता र बालबालिकाको सहायताका सम्पर्क फोन नँ हरु बसका भित्तामा लेखेको मन पर्यो । यस्तै बसको सीटको सँख्या र उभिने संख्या पनि स्पष्ट लेखिएको पाईयो ।    
हामीले पानीका छालसँग अरु पर्यटक जस्तै कुस्ती खेल्यौ । स्थिर पानीमा डुबुल्की मार्दा मात्र शरीर भिज्दछ भने निश्चित उचाई भएको गतिशिल पानीमा खाली उभिए मात्र पुग्छ । परवाट सर्दै आएका उर्जाशील छालहरु किनारमा पुगे पछि अस्तित्व विहिन हुने । बडो रमाईलो भयो । बालुवाको विस्कुनको पनि मजा लिँदै हामीले अधिकांश समय सागरमा नै बितायौं । त्यसपछि हामी बजार घुम्न गयौँ । गोवाको केही न केही कोसेली ल्याउने रहर थियो । पान्जिम र कालगुँटेका बजारको एक मुख्य आकर्षणको रुपमा काजुका पसलहरु देखिए । ठाउँ ठाउँमा खुद्रा बिक्रेता । कुनै कुनै थोक बिक्रेताका साईनबोर्डहरु पनि देखिए । हामी गल्लीतिर अलि एकान्तको एउटा पसलमा पुग्यौ । विभिन्न किसिम र विभिन्न दामका काजुका पोकाहरु देखिए । बोक्रा भएको, बोक्रा नभएको, सतहमा चकलेट राखिएको जस्ता काजुका प्रकारहरु देखिए । काजुबाट बनेका चकलेटहरु पनि हुँदा रहेछन् । काजुले गोवाको कोसेलीको रुप धारण गर्न बेर लागेन । गोवाकै उपज ल्याउन पाएकोमा हामी दँगदास भयौँ ।        
अर्को दिन मारगाँउबाट रेल चढेर मुम्बई आउने योजना थियो । दुरन्तो एक्सप्रेसको टिकट थियो । हामी रेल छुट्ने निर्धारित समय भन्दा एक घण्टा अगावै स्टेशन आईपुगेका थियौ । एक छिन त दुरन्तो रेलको बारेमा कुनै जानकारी नभेटेर रनभुल्लमा परेका थियौँ । गोवामा ठाउँको नामले पनि अलमल्ल पार्दो रहेछ । “यम ए डि” को हिज्जे भएकोले मैले त शुरुमा यसलाई म्याडगाउँ भने । यसको शाब्दिक अर्थ हुन्छ-पागल गाउँ । यसले मैले अहिले सम्म पढ्न नभ्याएको तर पढ्ने सूचिमा राखेको सरुभक्तको कृति पागल बस्तीको स्मरण गरायो ।
रेलको यात्रा आरामदायी नै भयो । तीन पटक त खाना नै वितरण गर्दो रहेछ । रेल भित्रको वातानुकुलित सुविधाले गर्दा भने अलि जाडो महशुश भयो । शायद वातावरणको तापक्रम सँग तालमेल हुन नसकेर होला ।   
हामीले मुम्बाईमा पुन एक रात बितायौँ ।  
काठमाडौं  आउने फिर्ति उडान समय अपरान्ह ५:२५ को थियो । यसैले बिहान मुम्बईका प्रख्यात देवता सिद्धिविनायकको दर्शन गर्न जाने योजना बन्यो । सम्भवत मैले दर्शन गरेका गणेशजीका मन्दिरहर मध्ये यो अहिले सम्मकै ठूलो थियो । मन्दिर जाँदा पनि प्रहरी चेक जाँच हुने नियम चै अनौठो नै लाग्यो । नेपालमा मैले दर्शन गरेका गणेशजीका आस्था पीठहरु कमलादीको सिद्धि विनायक, खोकनाको कार्यविनायक, चोभारको जलविनायक र वातावरण मन्त्रालय सिँहदरबारको बुद्धिविनायकको स्मरण ताजा भयो । व्यवस्थित लाईन, सफा परिसर, चिटिक्क परेका सफा लुगा लगाएका पुजारीहरु र मन्दिर व्यवस्थापन समितिले नै वितरण गरेर बेच्ने पोका-प्रसाद आदि आकर्षणका केन्द्र बने ।     
भिस्टारा वायु सेवा वाट गोवा जाँदा अन्तिम घडीमा मात्र विमानस्थल पुगेकाले यस पटक भने हामी चनाखो भएका थियौ । यसैले टिकट जाँचकक्षमा पुग्दा काउण्टर खुलेकै थिएन । तर यसपटक भने नेपाल वायु सेवाको उडान निर्धारित समयमा नै छ भन्ने जानकारीले हामीलाई उत्साहित बनायो । अध्यागमन कक्षको समेत काम सकेर ड्युटि फ्रि क्षेत्रमा पुग्दा पनि हामी सँग दुई घण्टा समय बाँकी थियो । अब के गर्ने ? प्रश्न उभियो । मलाई भने कतिखेर समय पाईएला र यो नियात्राका शब्दहरु टँकन गर्न पाईएला भन्ने थियो । तर सहयात्री श्रीमति र छोरीलाई अल्झाउने काम न भै यो सँभव थिएन । चमेना गृहमा गएर हामीले केही पेय पदार्थ र खाजा खायौँ । त्यसपछि लाग्यौ-वाईफाईको खोजीमा । कसैले जानकारी दियो- यो सूचना कक्षमा पाईन्छ । हामी त्यसकै खोजीमा लाग्यौ । एक जना गाढा रातो साडी लगाएकी युवती सेवामा हाजिर भेटिईन । उनले हाम्रो पासपोर्ट र बोर्डिङ् पास मागेर रजिष्टरमा विवरण भर्न थालिन । त्यस पछि हामी लाई गोप्य सँकेत भएका दुईवटा चिट दिईन । जाबो वाईफाईको सुविधा दिन पनि यो परम्परागत तरिका प्रयोग गरेको देखेर मुम्बई विमानस्थललाई पूर्ण आधुनिक हुन अझै समय लाग्ने देखेँ । किनभने आजभोलि अरु विमानस्थलमा वाईफाई भनेको कुनै औपचारिकता विना सित्तैमा प्रयोग गर्न पाईन्छ । यसैलाई चुरो बनाएर मैले ति युवतीसँग एक अनौपचारिक प्रसँग सिर्जना गरेँ ।
“सहयोगको लागि धन्यवाद ।’ मेरो अभिव्यक्ति  ।  
“तपाईलाई स्वागत छ ।” युवतीको जवाफ ।  
“म आशा गर्छु यात्रुको नाम लेखेर दर्ता गर्ने यो तरिकाले चाँडै विश्राम पाओस । यसलाई डिजिटल पद्धतिले विस्थापन गरोस ।” मैले उनको अगाडिको खाताका भरिएका पृष्ट देखाउँदै भने ।
“……………….।” जवाफमा उनका शब्द निस्केनन् । अहिलेसम्म गम्भीर भाव पोतिएको अनुहारमा एकाएक जँगलको बीचमा फूल फुलेझैँ मुस्कान उम्रियो । त्यसले सुनमा सुगन्ध थप्यो । एकाएक लालुपातेको फेद देखि शिर सम्म नै ‘लालीमय’ भयो । मुम्बई-गोवा यात्राको सबैभन्दा अन्तिम मुस्कान पनि यहि बन्यो ।   
नेपाल वायु सेवा निगमले फेरी अनिश्चितता पस्केको थियो । अपरान्हको ५:२५ को उडान समय भएता पनि जहाज ६ बजे मात्र अवतरण गरेको थियो । निर्धारित समय भन्दा एक घण्टा ढिलो मात्र हामीले विमानमा प्रवेश गर्न पाएका थियौँ भने लगभग अर्को एक घण्टा धावन मार्गमा उड्नका लागि पर्खनु परेको थियो । यो यात्रामा नेपाल वायू सेवाले पस्केको अन्तिम गाँसको ढुँगा बन्यो- साम्यवादी खानाको परिकार । रोजाईको अवसर थिएन । शाकाहारी परिकार मात्र थियो । ‘किन यस्तो’ भन्ने प्रश्नको गैरजिम्मेबारी उत्तर आयो।
“मांशाहारी परिकार सिरानतिर बसेका यात्रुलाई बाँडेर सकियो ।”
जबकी जहाज आधा मात्र भरिएको थियो र हामी बीच भाग तिर बसेका थियौ ।
महाराष्ट्र र गोवामा “न” को ठाँउमा ”ण” को प्रयोग अधिक हुँदो रहेछ । जस्तै- ‘पानी’ लाई ‘पाणी’, ‘अनि’ लाई ‘अणि’, ‘पान्जिम’ लाई ‘पणजी’ आदि भनिदो रहेछ। रीता र दिक्षाले मलाई पनि “णवराज” भनेर जिस्क्याए । मैले पनि ‘न’ र ‘ण’ को विस्थापन गरेर एक वाक्यको अनौठो कल्पना गरेँ । 
‘णवराज अणि णमुणाले णहरको पाणीले णुहाए ।‘
अर्थात
‘नवराज अनि नमुनाले नहरको पानी ले नुहाए ।‘
साभार :  http://ujyaaloonline.com/news/52861/blog/

Saturday, January 2, 2016

कोरियाको उपहार




त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको प्रस्थान कक्षमा बसेर ल्यापटपमा यिनै हरफहरु लेखिरहेको छु। चारैतिर यात्रुहरु बसेका छन्। सिधै अगाडिको सोफामा बसेको व्यक्ति आफ्नै काँधलाई सिरानी बनाएर निधाएको छ। उसकै नजिकै बसेकी मँगोलियन मूलकी महिला एक हातले स्याउ टोक्दै अर्को हातले पुस्तक समातेर पढ्दैछिन। कोही मोबाईल चलाउँदै छन भने केही जोडिहरु गफमा मस्त छन। कोही पेय पदार्थले तिर्खा मेट्दै रमाएका देखिन्छन्।
यस्तो समयमा लेख्न बडो आनन्द आँउछ। आफूले गर्नु पर्ने मुख्य काम एउटा मात्र। खाली ‘पर्खने’। यो जस्तो सजिलो काम अरु के होला ? पर्खदाँ कोही पुस्तक पढेर आनन्द लिँदा हुन्। कोही फोन वा इन्टरनेट मार्फत आफ्ना प्रियजनसँग कुरा गरेर। तर यस्तो बेला कतिपयलाई पट्ट्यार पनि लाग्दो हो। उनीहरु छिन छिनमा घडी हेर्ने र अनुहारले भने अधैर्यता वा बैचनी बाक्लै पस्किन्छन्। पर्खँदा कसरी आनन्द लिन सकिन्छ भन्ने तरिका सबैलाई कहाँ थाहा हुन्छ र? 
आज मलाई ११ बजे विमानस्थल आइपुग्नु पर्ने थियो। थाई विमान सेवाको उडान दिउसोको २ बजे हुन्छ। दुई दशक भन्दा बढी भएछ म पहिलो पटक बैँकक गएको। वातावरण इन्जिनियरिङमा स्नातकोत्तर तहको पढाईका लागि छात्रवृत्ति पाएको थिएँ। त्यसबेला सँगै यात्रा गर्ने परिचित साथीहरु भएकाले यात्रामा म एक्लो थिइन। त्यसपछि विदेश आईजाईको लर्को नै लाग्यो। कैयन पटक एक्लै उडेको छु। कहिलेकहीँ परिवारसँग पनि मैले काठमाडौं-बैँककको यात्रा गरेको छु। थाई एयरवेजको उडान तालिका उही छ। सेवा उस्तै छ। जहिले पनि जहाज टनाटन हुन्छ। आज पनि सीट पुरै भरिएको कुरा टिकट जाँच कक्षमा जानकारी पाएको थिएँ।

मोबाइलमा बजेको घण्टीले ध्यान बिथोलिदियो। रीताको रहेछ।

“के के किन्नु भयो त?” उनको स्वभाविक प्रश्न।

“तीनवटा ढाकाको मफ्लर र एउटा लेडिज पर्स।” मैले यथार्थ बताएँ।

“लेडिज पर्स चैँ कल्लाई हो?” मेरो अभिव्यक्तिलाई उनले च्याप्प समातेर नारीत्व सल्बलाएको अभिनय गरेकी थिइन्। तीनवटा पुरुषले लगाउने मफ्लरलाई उछिनेर एउटा लेडिज पर्सको महत्व आकासिएको थियो। सायद कतिपय मान्छेको मनमा यसै गरी साच्चिकै चोर पस्ने गर्छ। आज बिहान मात्र साधना केन्द्रमा यसको चर्चा चलेको थियो। हामीले आदरणीय गायक फत्तेमानलाई सुनेका थियौँ।

होश नराखी हिँड्दा यात्री मनमा चोर पसेछ
भ्रममा पारी उल्टो बाटो लान सुर कसेछ

“कोरियन प्रेमिकालाई।” मैले यसो भनेको भए गज्जब हुने थियो। तर कहाँ त्यस्तो जवाफ फुर्नु? सत्य कुरा भने। यो तहको प्रत्युत्पन्न सम्प्रेषण गर्ने मामलामा म कमजोर छु। अरु किनाराका दौँतरीहरुसँग बस्दा भने फुर्दो हो। आफ्नै अर्धाङ्गिनीसँग उमेर ढल्किँदै गए पछि अधिकांश समय औपचारिक ब्यवहार गर्ने सुर मात्र हुँदो रहेछ। अरुलाई पनि यस्तै हुँदो हो। उमेर बुढो हुँदै गएपछि बन्धनको मात्रा अधिक भएर होला।

कोरियाका मेरा मित्रहरुलाई नेपाली ढाकाको टाई उपहार लैजाने योजना बनाएको थिएँ। मिर्मिरेको साधना, त्यसपछिका सामान र सुटकेस मिलाउने, जुत्ता टल्काउने र मोबाइल रिचार्ज गर्ने काम सकेर मैतिदेवीको पाल्पाली ढाकाको पसलमा पुग्दा दश बजेको थियो। टाई राम्रो पाइएन। टाउको मात्र ढाकाको र पुच्छर भने अर्कै कपडा राखेर बनाईने नेपाली टाई विदेशी मित्रहरुले कति मन पराउलान्? टाई लगाउने चलन हाम्रो होइन। तर ढाका हाम्रो परम्परागत उत्पादन हो। कस्तो सामग्री ग्राहकले मन पराउलान भन्नेमा हाम्रो शोध छैन। सामान राम्रो हुन्छ तर त्यसलाई बेर्ने ‘पोको’ गतिलो हुँदैन। राख्ने ‘झोला’ पनि गतिलो हुँदैन। आखिर राम्रो प्याकेट बनाएर त्यसको भार पनि सामानकै मूल्यमा जोडे के बिग्रिन्छ र?
उडान अवधिमा कसैसँग बोल्ने मौका नै परेन। पेय पदार्थ र खानाको परिकारको छनौट गर्ने बाहेक। बैँकक विमानस्थलमा पुगेर मोबाइल फोन चार्ज गर्दै फेरि लेख्न बसेँ। वरीपरी यात्रु नै यात्रु भए पनि मेरा लागि सबै अपरिचित। विदेशमा काम नपरी वा परिचय नभैकन कसैसँग बोल्ने कुरो हुँदैन। अगाडिको बस्ने सिटमा एक जोडी पुरै शरीर जोडाएर पल्टेका थिए। सार्वजनिक स्थलमा यसो गर्नु उनका लागि सामान्य होला। तर अहिलेसम्म पनि त्यो हाम्रा लागि लाज लाग्ने विषय हो। कुनै दिन आउला- दम्पतिले वासनाको प्यास मेटाउने उपल्लो गतिविधि पनि सार्वजनिक स्थानमा गर्ने। आखिर जनावरले त अहिले पनि त्यसै गर्छन्। खै उनीहरुलाई लाज छैन। चाल-चलन पनि अजब गजबका हुन्छन्। म सन १९९८ मा ब्राजिलको राजधानी साओपाउलो गएको थिएँ। अन्तराष्ट्रिय सम्मेलन थियो। स्वागत गर्ने क्रममा एक युवतीले मलाई च्याप्प समातेर दुबै गालामा म्वाई खाइदिई। म त हेरेको हेर्‍यै भएँ। त्यस्तो अनौठो अभिवादन फर्काउने कसरी भन्ने पनि थाहा थिएन। लाजले अनुहार रातो पिरो भएको थियो। भाषा पनि नबुझिने।  बडो विचित्रको क्षण झेलेको थिएँ। 
म एक सुरले शब्द सिर्जनामा लिन थिएँ। मेरो देब्रेतिरको सिट खालि थियो। कसैले ध्यानाकर्षण गर्‍यो।

“मे आई सिट हियर (के म यहाँ बस्न सक्छु)?” एउटी युवतीको आवाज। मेरा कान ठाडा भए। आँखाले आवाजको श्रोतलाई नियाले। कालो पाइन्ट र सेतो टिसर्ट लगाएकी हातमा मोबाइल बोकेकी सुनौलो कपाल भएकी केटी। अपरिचित पात्रहरुको त्यो अथाह सागरमा मसँग बोल्ने पहिलो व्यक्ति भएकी थिई ऊ।

“ह्वाई नट (किन नहुनु)। दिस ईज योर सिट वन्ली (यो तिम्रै सिट त हो)।”

ऊ मुस्कुराँउदै बसी। मेरो दोस्रो वाक्यले थप कुरा गर्ने बाटो खोलेको थियो। यस्तो बेला कुरा अघि बढाउन पनि खुबी चाहिन्छ। घमण्ड गरेको अर्थ नलागोस्। मसँग त्यो केही मात्रामा छ भन्ने मलाई लाग्छ। तर अब अघि के सोध्ने? मेरो अन्तष्करणमा कसरत हुन थाल्यो- अपरिचितसँग हुने पहिलो कुराकानीको विषय सान्दर्भिक हुनु पर्छ र असम्वेदनशील हुन पर्छ। मैले आँट गरेँ।

“आर यु गोइङ सम ह्वेर अर रिटर्निङ् ब्याक? (तिमी कतै जाँदै हो कि फर्कदैँ हो?)” उसले पक्कै बुझी होली। यो ताक न तुकको प्रश्न हो। कोही कहीँ जाओस् वा कहीँबाट फर्कोस्। अर्को लाई के मतलब? तर ग फेरि मुस्कुराई। सेता दाँत। लामो नाक। मृदुभाषी बोली। चस्स बिझाउने केही थिएन उस्को व्यक्तित्वमा।

स्विडेनकी रहिछ। हाई स्कुल मात्र पढेकी। पूर्णकालीनको सट्टामा पढाउने काम गर्दिरहिछ। अस्ट्रेलिया र थाइल्याण्ड घुमेर घर फर्कन लागेकी। मेरो बारेमा पनि सोधी। नेपालको नाम सुन्नासाथ ‘मेरो त्यहाँ घुम्ने रहर छ” भनी हाली।
हामी आ-आफ्नो संसारमा फर्कियौँ। अहिले उ मोबाइलमा केही हेर्दै छे। म यिनै शब्दहरु सिर्जना गर्दैछु। यसपटक भने मेरो धोको पुगेको छ। ‘रियलटाइम’ मा अर्थात ‘तत्कालै’ लेख्ने धोको। घटना पनि घट्दै छ लेखकले पनि लेख्दैछ। नेपालमा सिर्जनात्मक लेखनको अभियन्ता घोस्ट राइटिङको कक्षामा मैले निबन्धकार युवराज नयाँघरेलाई सोधेको थिएँ-

“रियलटाईम निबन्ध लेखन को बारेमा यहाँको के धारणा छ ?“

उहाँले सामान्य उत्तर दिनु भएको थियो। म त अब अझ यो भन्दा एक पाइला अघि बढ्ने कल्पनामा छु। “हिँड्दै छ पाइला मेट्दै छ” भने जस्तो “लेख्दैछ पाठकले तात्तातो पढ्दैछ।” अब घटना घट्ने, लेखकले लेख्ने र पाठकले पढ्ने तिनवटै काम एकै साथ गर्ने। कसो नहोला? 

बोर्डिङ गेटतिर जाने बेला भएछ। जिन्दगीकै पछिल्ली परिचित व्यक्तिसँग छुट्टिने वाक्यांशको कल्पना गर्दै अहिलेको बसाईलाई बिट मार्न थालेँ। 

“आई एम नव। रिमेम्बर मी ह्वेन यु आर इन नेपाल। (मेरो नाम नव हो। नेपाल आयौ भने सम्झनु।)” मैले बिदाईको हात मिलाउँदै भने।

उसले हातले प्रत्युत्तरको आशातित कृया गरी तर अनुहारमा भने अलमलको भाव देखाई।
मैले बुझेँ। मैले उसलाई ‘सम्झनु’ त भने तर हामीले सम्पर्कको ठेगाना भने साटेका थिएनौ। उसको मनमा अन्यौल भाव सिर्जना हुनु स्वभाविक थियो। मेरो मनमा भने यो कुराको हेक्का हुनासाथ बिजुलीको चट्याङ परे जस्तो भयो। दिमागले गजबको काम गर्‍यो।

“डु यु ह्याभ फेसबुक (के तिम्रो फेसबुक छ)?” मैले सोधेँ।

“ह्वाट एन आइडिया (कस्तो राम्रो विचार)।” ऊ पुलकित भई।

मैले मेरो मोबाइल उसलाई दिएँ। मेरो फेसबुकको खाता खुलै थियो। उसले नाम खोजी र मित्रताको अनुरोध पठाई। मैले स्वीकारेँ।

लाग्यो- यो दृष्टान्त भने अविष्मरणीय हुने भयो। अकस्मात भैपरिआएको परिचयको ताजा प्रसंगलाई आत्मसात गर्दै तोकिएको गेट तिर लागेँ।

भोलिपल्ट मिर्मिरेमा सोल पुग्दा केही अनौठा घटना भए। झ्यालबाट बाहिर हेर्दा मसिना झिल्काको मुस्लो जहाजको विपरित दिशामा उडेको देखियो। चट्याङ पर्दा बिजुली चम्के जस्तो दुई तीन चोट प्रकाशको विशाल ज्योति प्रस्फुटन भयो। निचोड निकालेँ- आजको अवतरण सहज छैन। मनमा चिसो नपस्ने कुरै थिएन। एकै छिन पछि पाइलटको उद्घोषण सुनियो।

“बाहिरको तापक्रम शून्य डिग्री छ। अहिले हलुका हिउँ परेको अवस्था छ।” 

हिँउ परेको सुन्दा एक किसिमको रोमान्च पनि सिर्जना भयो। हिमालयको देशमा जन्मेको भएता पनि हिउँको रमाइलो लिने अवसर विदेशमा गएर नै पाएँ। जापानमा बस्दा स्कि खेलेको समेत अनुभव बटुलेको छु। इन्चोन विमानस्थलवाट लिमोजिन बसमा सोल जाँदा मजैले हिउँ परेको देखियो। सेताम्मे भुईँ। बिसौनीमा राखिएका गाडीहरु, भवन र रुखविरुवाले सेतो टोपी लगाएका छन्। ‘सेतो’ भनेको ‘कालो’ को अर्को छत्तिसको रुप हो अर्थात उल्टो रुप। अक्षर लेख्दा सेतो भूईँमा लेखिन्छ। कालो भूईँमा लेख्न सायद असजिलो हुँदो हो। “सेतो” भूईँमा “कालो” हिउँ पर्ने भए कस्तो हुँदो हो?
निर्धारित गरिएको आवास गृहमा पुग्दा वर्षा र मिन्सोमियाङ्ले स्वागत गरे। वर्षा मसँग काम गर्ने अनुसन्धान सहायक हुन भने मिन्सोमियाङ् प्राध्यापक दोक्कोसँग विद्यावारिधि गर्दै गरेका विद्यार्थी। वर्षा म भन्दा दुई दिन अघि सोल आएकी थिई। 

दिउसो उनले हामीलाई विश्वप्रसिद्ध पुर्न:स्थापित खोल्सी “चेँग जे च्योन” घुमाउन लगे। एक जमानामा त्यो खोल्सोमा पानी बग्ने गर्दथ्यो।

कोरियन युद्ध पश्चात त्यो खोल्सो मासेर त्यहाँ पहिले सडक बनाइयो। त्यस पछि एक्सप्रेस वे। अहिले त्यहाँ फेरि पानी बग्छ। यो सम्भव भएको थियो-लगभग ९० अरब को लागतको “खोल्सी जिर्णोद्वार परियोजना” मार्फत। परियोजनाको सँग्रालय घुमेपछि मेरो निचोड निस्कियो-यो वातावरण इन्जिनियरिङको एक ‘बेजोड उपलब्धी’ हो।

भोलिपल्ट सम्मेलनमा मेरो प्रस्तुती थियो। त्यहाँ प्राय सबै कार्यहरु औपचारिक। परिचय गर्ने, सुन्ने अनि सुनाउने काम हुन्छ। युधिष्ठिरको धर्म निर्वाह गर्ने हो भने मलाई लाग्छ-यी सब यान्त्रिक काम हुन। अब यस्ता काम रोबटलाई सुम्पिदिए हुन्छ। तर के गर्ने- जिम्मेवारी निभाउने पर्यो। मैले पलान्चोक भगवती खानेपानी योजनाका केही चुनौतिहरुको बारेमा बोलेको थिएँ। काम सकेर आफ्नो सीटमा फर्किएँ। कसैले मसिनो स्वरमा भन्यो।

“तपाईलाई बुझ्न सजिलो होस भनेर कोरियन भाषामा अनुवाद गर्ने काम मलाई सुम्पिएको छ।”
एकछिन त अलमल्लमा परेँ। के भन्छे यो बाला भन्ने लाग्यो। आफ्नै अनुहार जस्तै सेतो स्वीटर लगाएकी फरासिली केटी मेरै सीटमा बस्न आई पुगिछे। पछि कुरा बुझेँ। उसले कोरियन भाषामा प्रस्तुत गरिएका प्रवचनहरुलाई सानो स्वरमा अँग्रेजीमा अनुवाद गर्ने भूमिका पाएकी रहिछ। अरु कसैलाई यस्तो सुविधा दिइएको थिएन। मलाई लाग्यो-यो जिम्मेवारी दिने काम प्राध्यापक दोक्को कै हुनु पर्छ। युवतीको विश्लेषणात्मक क्षमता, भाषाको स्पष्टता र प्रस्तुतीले मोहनी लगायो। प्रस्तोताहरुको बीचमा मैले उसको प्रसंसा गरेँ।

“तिम्रो अनुवाद गर्ने तरिका र भाषिक क्षमता उच्च कोटीको रहेछ।”

केमिकल इन्जिनियरिङ्मा स्नातक गर्दै रहिछ। एउटा कोसेली यसलाई पनि दिन पाएको भए कस्तो राम्रो हुन्थ्यो। मसँग अतिरिक्त उपहार थिएन। तर फेरि एउटा प्रत्युत्पन्न विचार पलायो। मैले डेनियल कानेम्यानको “थिङ्किग फास्ट एण्ड स्लो” भन्ने पुस्तक सम्झिएँ। कागतमा पुस्तकको नाम लेखेर उसलाई दिँदै भने-

“तिमीलाई म यो पुस्तक पढ्न शिफारिस गर्छु।”

उसले मेरो कोसेलीको दिल खोलेर प्रसंसा गरी। अप्सरा मुस्कुराए जस्तै मुस्कुराई। ‘धैरै धेरै धन्यवाद’ भनी। मलाई लाग्यो-
“यसले यो पुस्तक साँच्चै पढी भने जिन्दगी भर मलाई सम्झन्छे।”

सम्मेलनको भोलिपल्ट प्राध्यापक दोक्कोले रात्रीभोजको आयोजना गर्नुभयो। सोलको बीचभागमा रहेको परम्परागत कोरियन रेस्टुराँमा म पुगेँ।

चिनियाँ प्राध्यापक झाओ दम्पती पुगिसकेका रहेछन। केही बेरमा श्रीमती दोक्को आइपुगिन। म उनीहरुसँग गफिन थालेँ। गत वर्ष दोक्को नेपाल आएको बेला मैले प्रयोग गरेको “फर्स्ट लेडी” भन्ने सम्बोधन दोक्कोलाई खुब मन परेछ। आज प्रत्यक्ष देख्न पाइयो। “कस्ती राम्री श्रीमति पाएछ मोराले” भन्ने तहकी सुन्दरी रहिछन् दोक्कोकी जाहान। हुन त जापानिज र कोरियन अधबैसेँहरु सकेसम्म शरीरमा एक पाउ पनि अनावश्यक मासु थोपर्दैनन्। हाम्रो जस्तो भ्यात्ल्यक्क पेट हुँदैन। पाखुरा र तिघ्रामा अटाई नअटाई मासुको पोको हुँदैन।

दोक्को आइपुग्यो। हाम्रो खाने काम सुरु भयो। मेरा लागि खान बन्देज भएका परिकारको बारेमा भने। तर आपत आइलागिहाल्छ। प्राय प्रत्येक आइटममा मेरो अखाद्य चिज कुनै न कुनै रुपमा मिसिएको हुन्छ। एउटै प्लेटमा थुप्रेका परिकारमा पनि मैले ‘बार्ने गरेको’ पदार्थ मिसाएको हुने। उनीहरु भने चामलबाट बियाँ निकाले जस्तो गरेर मलाई पस्किदिने। मलाई जोगिन हम्मे हम्मे पर्यो। तर राम्रो पक्ष-यस्तो बेलामा पनि मलाई वाकवाकी लाग्दैन।   

हाम्रो छलफलको केन्द्र भागमा थिए- हाम्रा सन्तान। दोक्को दम्पतिका दुई छोरी। चिनियाँको एक छोरो। मेरा एक छोरा र एक छोरी। हाम्रो सम्मेलन सोल नेसनल विश्वविद्यालयको एक सभागृहमा  भएको थियो। कोरियाको द्रुत आर्थिक विकास हुनुमा यो विश्वविद्यालयको ठूलो भूमिका रहेछ। अहिले बीस हजार विद्यार्थी अध्ययनरत रहेछन। विशाल परिसर समेटेको रहेछ। छिचोल्न नै सात आठ किलोमिटरको दुरी तय गर्नु पर्ने। दोक्कोकी ठूली छोरीको त्यसै दिन कलेजको प्रवेश परीक्षा रहेछ। संयोग पनि कस्तो ! यता मेरी छोरीको पनि त्यसै दिन प्रवेश परीक्षा थियो।

“छोरीलाई सोल नेसनल विश्वविद्यालयमा पढाउने है न त?” चिनियाँ फर्स्ट लेडीको प्रश्न थियो।

“हाम्री छोरीले नाम निकाल्न सक्दिन। धेरै कठिन हुन्छ त्यहाँको प्रवेश परीक्षा।” कोरियन फर्स्ट लेडीको जवाफ थियो।
मैले यस विषयमा अरुवाट पनि सुनेको थिएँ। त्यहाँ पढ्न पाउनु भनेको ठूलो बाजी जित्नु हो। अभिभावकका लागि गर्वको कुरा हो। छोरा छोरीको पढ्ने विधाको बारेमा हाम्रो सोचाई मिल्यो।

“विज्ञ बनाउने हो भने प्राविधिक विषय पढाउने। उद्दमी वा व्यापारी बनाउने हो भने अर्थोक पढाउने।”
दोक्कोको भनाई अनुसार अहिले छोराछोरीलाई पढाउनु पर्ने, अंश दिनु पर्ने र जग्गा र आवासको मूल्य आकासिएको कारणले गर्दा कोरियामा विवाह नै नगर्ने वा एक भन्दा बढी सन्तान नजन्माउने प्रथा चलेको रहेछ। उसले कोरियामा प्रचलित एक उखान समेत सुनायो।

“दुई छोरी हुनु सुन। एक छोरा एक छोरी चाँदी। एक छोरी वा छोरा तामा र दुई छोरा हुनु आत्महत्या।“  
रात्री भोज पछि हामी सिटीहलको छेउछाउ हुँदै ‘चेँग जे च्योन’ खोल्सी तिर लाग्यौ। यो त नामी पर्यटकीय स्थल पो रहेछ। बगेको पानीको छेउमा उभिएर फोटो खिच्नेहरुको भीड। हामीले पनि मौकाको फाइदा उठायौँ।
अहिले सुवर्णभूमि विमानस्थलमा बसेर लेखिरहेको छु। अबको केही घण्टामा घर पुगिनेछ। यात्राको अन्त्य हुन लागेको छ।  
“दैलोदेखि दैलो” सम्मका गतिविधि चलचित्र झैँ मस्तिष्कमा घुम्न थाले। हिजो इन्चोनमा घटेको बाहेक अन्य प्रसंगहरु सामान्य र सोचे जस्तै भए।

साथमा भएको सुटकेसमा सामान नअट्ने भए पछि मैले एउटा अर्को झोलाको व्यवस्था गरेँ। तर समस्या भयो तालाको। अन्तिम खरिदमा वर्षाले मेरो साथ दिई। हामीले रेल्वे स्टेसन वरपर चहार्यौ। तर झोलामा लगाउने ताला भने पाइएन। यसले मलाई समस्यामा पार्ने छाँट ल्यायो। तर विमानस्थलमा त पाइएला भनेर एक घण्टा अगावैको लिमोजिन बस समातेँ। ताला पाइयो। चेक इन लगायतका सबै काम सहजै भए। म फेरि केही सामान खरिद गर्ने, खाजा खाने, ट्याक्सको रकम फिर्ता गर्ने र बाँकी भएको नगदको डलर किन्ने काममा लागेँ। सबै काम सकेर बोर्डिङ गर्ने समय भन्दा आधा घण्टा अघि गेट नम्बर ४३ मा पुगेँ। आसन जमाएँ। मोवबाइल र कम्प्युटर खोलेँ। इन्टरनेटको मजा लिन थालेँ। बोर्डिङ्को समय २०:५५ को थियो। म एक सुरले इन्टरनेटमा हराइरहेको थिएँ। यसो घडी हेर्छु त नौ बजिसकेको छ तर केही चाल चुल छैन। मनमा अब भने शंका पर्यो। फेरि बोर्डिङ् पास हेर्छु त मेरो बोर्डिङ् गेट नम्बर १२३ पो छ। म त अर्कै नम्बर हेरेर ढुक्क भएर बसेछु। मेरो सातो गयो। मिलिक्क गर्दा ल्यापटप झोलामा हालेर दगुरेँ। जब दशा लाग्छन् राहु, केतु, उल्का सबै खनिन्छन भने जस्तो भयो। किन भने १०० नम्बर भन्दा माथीका गेटहरु अर्को परिसरमा थिए। यै बेलामा मेरो पूर्ब विद्यार्थी सचिनको तीन पटक फोन आयो-२१:०३, २१:०४ र २१:०८ मा। पहिलो फोन आउँदा म तेर्सो सर्ने भर्‍याङमा दगुर्दै थिएँ। दोस्रो आउँदा म भूमिगत रेल चढ्नका लागि ओर्लने भर्‍याङमा थिएँ।र भर्‍याङ पनि थोरा हो र ! चार चार वटा रहेछन्। ओर्लने र दगुर्ने क्रियालाई सकेसम्म समायोजन गरेँ। तेस्रो घण्टी बज्दा म रेलबाट ओर्लेर फेरि भर्‍याङ उक्लन थालेँ। बोर्डिङ् सुरु भएको पन्ध्र मिनट बितिसकेको थियो। म गेट नम्बर १२३ मा पुगेँ। तर दुर्भाग्य त्यहाँ कोही पनि थिएन। मलाई लाग्यो-गेट पो बन्द भै सकेछ। एक मनले भन्यो- दुबै हात टाउकामा लगाएर बस अब। अर्को मनले भने केही उपाय छ कि यता उता हेर्न लगायो। ठूलो भाग्य रहेछ- ढोकामा टाँसिएको एक सूचनामा आँखा परे।
“बोर्डिङ् गेट सिफ्टेङ टु टु टु फाइभ (बोर्डिङ् गेट २२५ मा सारिएको छ।)”

म फेरि न्वारान देखिको बल निकालेर अगाडि दगुरेँ। थाई एयरवेजका दुई युवती परैबाट देखिए। सायद म अन्तिम यात्रु थिएँ। एउटीले मेरो बोर्डिङ् पास मागी। मैले लामो सास फेरेँ। केही मिनटमात्र ढिला भएको भए म बिचल्लिमा पर्थेँ। त्यसको मूल्य अथाह हुन्थ्यो। विकल्पहरु त केही निस्कन्थे होला तर तिनको फेरसम्म पुग्न नै महाभारत हुन सक्दथ्यो। आज भने मेरो पर्खने सिद्धान्त भडखालामा परेको थियो। मेरो पर्खाई ‘बेढंगको’ भएको थियो। पसिना खलखली आएको थियो। 

जहाजमा गएर बस्दा पनि “जहाज छुटेको भए मेरो के हाल हुन्थ्यो” भन्ने तर्कले मनको पुरै हिस्सा ओगटेको थियो। ठूलो संकट टरेको थियो। गहन शिक्षा पनि पाइएको थियो।

भोलिपल्ट एउटा बुद्धि पलायो। मैले भोगेको संकटका बारेमा विमान कम्पनीलाई बताइदिने। यसैले मैले सबैभन्दा अन्तिममा ओर्लिने बिचार गरेँ। परिचारिकासँग विषय उप्काएँ। उसले भुईँका कर्मचारीलाई भेट्ने सल्लाह दिई। भुईँ-कर्मचारीले टर्मिनल भवनको चार तलामा अवस्थित थाई एयरवेजको कार्यालयमा जाने सल्लाह दिई। मैले उसलाई मेरो गुनासो एउटा कागतमा लेख्न लगाएँ। उसले थाई भाषामा सानो नोट लेखी।

चार तलाको कार्यालय अध्यागमन भन्दा बाहिर पर्ने भएको र म ट्रान्जिटमा भएकोले जाने कुरो भएन। तर काठमाडौंमा अवतरण गर्नु भन्दा अघि गुनासो टिपाउने नयाँ तरिका सुझ्यो। मैले परिचारकसँग एक सुझाब पत्र मागेर मेरो गुनासो लेखेँ। व्यहोरामा अरु कथा भए पनि तर्क युक्त कुरा भने एउटा पक्कै थियो।

“गेट परिवर्तन भएको सूचना माइकमा भनिएको भए मेरो दुर्दशा नहुन सक्दथ्यो।”

घर आइपुगेँ। मैले लेडिज पर्स दोक्कोकी फर्स्ट लेडिलाई दिएको थिएँ। सट्टामा उनले मेरी फर्स्ट लेडीलाई पनि एक उपहार दिएकी थिइन्। म उनको प्रतिकृया को पर्खाईमा थिएँ। 
गहना राख्ने सानो सुन्दर बट्टा रहेछ।

“कस्तो राम्रो उपहार रहेछ।” श्रीमतीजीको प्रतिकृया आयो।

“यो बट्टा त के राम्रो ! दोक्कोकी श्रीमती त उल्काकी राम्री पो रहिछ। कस्तो भाग्यमानी रहेछ मोरो।” मैले बट्टा उपहार दिने व्यक्ति तिर ध्यानाकर्षण गरेँ। उनको प्रतिकृया नियाल्न मन, ध्यान र आँखा तिनै उनी तिर खन्याएँ।

“होला। त्यही भएर त उखान छ- श्रीमति अरुका राम्रा। छोराछोरी आफ्ना। हाम्रो रुपलाई पनि मन पराउने अरुका श्रीमानहरु होलान नि।” उनको प्रत्युत्पन्न र सटीक विश्लेषणले मलाई झापड दियो।
म अभिव्यक्ति शून्य भएँ। खाली मुस्कुराएँ मात्र।

नोभेम्बर १२, २०१५
कोटेश्वर, काठमाण्डौ
साभार : पहिलो पोस्ट अनलाईन पत्रिका
http://www.pahilopost.com/content/-11348.html