Wednesday, June 1, 2016

यात्रा होस त यस्तो !




बेलुकी ६ बजे कलंकी आइपुग्ने उर्दी थियो सूचनाजी को । उहाँको नाम सुलोचना भएता पनि सूर्यमान सर र मैंले उहाँको नामलाई एक अक्षरले छोट्ट्याउने निधो गरेका थियौँं । किनभने उहाँले हाम्रो भुवनेश्वरको यात्राको व्यवस्थापन विभाग सम्भाल्नु भएको थियो । बस र रेलको टिकट आरक्षण गर्ने र त्यस सम्बन्धित सूचना उपलब्ध गराउने कामको जिम्मा सुलोचनाजीले लिनु भएकाले सूचना नाम राख्यौं ।

हाम्रो यात्रा आरम्भ हुने दिन फागु पूर्णिमा परेको थियो । होली मनाउने चक्करमा मेरो कार ग्यारेजवाट निकाल्नै नमिल्ने गरि कुनै वरिष्ठ महानुभावले आफ्नो गाडी थन्क्याई दिएकोले घरबाट निस्कने बेलामा समस्या उब्जियो । तर चाड पर्वको दिन भएता पनि ट्याक्सी सहजै फेला परेकोले एक निकासको सहजै विकास भयो । सूर्यमान सरलाई ग्वार्कोमा टिपेर कलकीँ पुग्दा घडिको सूईले ६ बजाएकै थिएन । सूचनाजीले तोकेको समयसीमा अगावै गन्तव्यमा पुगेकोमा हामी दङ्ग थियौं । 

भारतको उडिसा राज्यको भुवनेश्वरमा सम्पन्न हुन लागेको रोटरी क्लबको कार्यशाला गोष्ठीमा सहभागी हुने १६ जनाको टोली सडक र रेलमार्ग भएर जाने तय भएको थियो । सूचनाजीले पानस यातायात बसको टिकट मिलाउनु भएको रहेछ । तर बसको सिटमा बस्दा बस्दै नेपालमा यात्रुलाई दिईने गुणस्तरीय सेवा सुविधाको पद्धतिको विकास अझै भैनसकेको भान हुने प्रसंग सिर्जना भयो ।

हाम्रो लागि आरक्षण गरिएका केही सिट अरु यात्रुलाई नै बेचिएका रहेछन । सूचनाजीले न्यायालयमा वकिलले गरे जस्तो बहस गर्न थाल्नु भयो । टिकट उपलब्धकर्तालाई सर्त मिचिएको, बोली फेरिएको र अन्याय गरिएको आदी तर्क मिसाएर नम्र गाली, उच्च स्वरमा प्रस्तुत गर्दा पनि उ एक कानले सुनेर अर्को कानले उडाउथ्यो । आखिर अलिकति त्याग गरेर भए पनि उहाँले गतिलै सिट मिलाएरै छोड्नु भयो । सूचनाजीको अडान लिने र तर्क गर्ने क्षमताको हामीले मुक्त कण्ठले प्रशंसा गर्यौ ।

सिटमा अलिकति किचकिच परे ता पनि बसका अन्य सुविधाहरु भने प्रशंसनीय थिए । मिनिरल वाटर र दालका प्याकेटहरु बाँडिए । ४२ ईन्चको टिभी स्क्रिनमा चलचित्र देखाइयो । ठाँउ ठाँउमा शौच गर्न बस रोकियो । सिट भन्दा बढि यात्रु राखिएन यस्तै थियो यात्रा । 

पूर्वान्हको साढे एक बजे हेटौंडा नजिकको मनहरीमा बसले छोटो विश्राम लियो । ओर्लेर हेर्छु त चिया पिउनेको लर्को । अर्को एक बस पनि सँगै रोकिएको रहेछ । यात्राको आरम्भमा सूर्यमान सरले पाब्लो नेरुदाले लेख्नु भएको एउटा महत्वपूर्ण कविता अंश सुनाउनु भएको थियो । 

तिमी विस्तारै मर्न सुरु गर्दछौ
यदि तिमी यात्रा गर्दैनौ
पढ्दैनौ
जीवनका आवाज सुन्दैनौ
आफूले आफूलाई प्रशंसा गर्दैनौ

तिमी विस्तारै मर्न शुरु गर्दछौ
यदि तिमी लुगाको रगं फेर्दैनौ
अपरिचितहरु सँग बोल्दैनौ
कुनै सपनाको पछि पनि लाग्दैनौ, र
अरुले दिएको एकाध सल्लाहा पन्छाउन सक्दैनौ ।  

कविताको मर्म यही यात्रामा चरितार्थ हुने प्रवल सम्भावना थियो । किनभने यो यात्राका एक सारथी हुनुहुन्थ्यो सूर्य सर । मेरा लागि उहाँ बाहेक अधिकांश सहयात्रीहरु अपरिचित थिए । उहाँसँग हिड्नुको रमाईलो यही छ । म ठोकुवा गर्छु सूर्यमान शाक्यसँग प्रत्युत्पन्न बुद्धिको खानी छ । जस्तो सुकै परिवेशमा पनि हास्य भाव सिर्जना गर्न सक्ने । जसलाई पनि भक्कानो फुट्ने गरी हँसाउन सक्ने ।

हामी चियाको चुस्की लिन थाल्यौ ।

'दमकलको फोन नम्बर राखेको छ ?' सूर्य सरको कडा स्नायू मिश्रित ठूलो स्वरको बोली सुनियो ।
'किन चाहियो र हजुर दमकलको नम्बर ?' चिया साहुनीको आसनमा विराजमान भएकी अधवैसेँ महिलाले प्रत्युत्तर दिइन । सबैले आश्चर्यचकित मुद्रामा रंगमञ्चको केन्द्रमा उभिएको नायकलाई हेर्न थाले ।
'यत्रो ठूलो आगोमा चुरोट सल्काउँदा मेरो जुँगामा डढेलो लाग्यो भने तपाईँहरुले निभाउन सक्नुहुन्छ ?' हाँसोको ज्वालामुखी नै बिस्फोट भयो ।

उहाँले साहुनीसँग सलाई माग्नु भएको रहेछ । साहुनीले सखुवाका दाउराले हुर्र हुरी दन्किरहेको बडेमानको आगो तिर देखाईदिईछन् । त्यही विषयलाई जोडेर जुँगाको डढेलो शीर्षकमा अविस्मरणीय प्रसंग सिर्जना भएको थियो । 
विहान तीन बजे वीरगन्ज पूगियो । अब केही घण्टा आराम गर्ने निधो भयो । सूचनाजीको अलावा हाम्रो टोलीमा विनिताजी पनि हुनुहुन्थ्यो । उहाँलाई भने हामीले शिष्टाचार महापालको पगरी गुथाउन अबेर गरेनौं। उनको चिटक्क परेको जीउडाल, हँसिलो चेहरा र आकर्षक व्यक्तित्वले हाम्रो यात्राको नायकत्व उत्कर्षमा पुगेको भान हुन्थ्यो ।  

"ल त्यो होटेलमा कोठा पाईएको छ । चार चार जनाको समूहले एउटा कोठा लिनु होला ।" शिष्टाचार महापालको आदेश आयो । हामी निन्द्रा र थकाईले चुर भैसकेका थियौ । लडाईमा जर्नेलले दिएको आदेश जवानले तुरुन्त पालना गरेझैँ हामी पनि आफ्ना झिटिगुन्टा सम्हालेर कोठातिर लम्कियौं ।

सूर्य सर, प्रल्हादजी, सुशीलजी र म गरि चार जनाको समूह एक कोठामा भेला भयौ । सुशीलजी पल्टिनु भयो । बाँकी तीनजनाले भने गफ गर्न आरम्भ गर्यौ । एकाएक हामीसँग मिसिने ध्येय राखेर एक अर्को साथी हाम्रो कोठामा छिर्नुभयो । हाम्रो अनुहारमा आश्चर्यका धर्का कोरिए । दाल मे कुछ काला है भन्ने उखान सम्झिन बाध्य भयौ । यो शिष्टाचार महापालको आदेशको ठाडो उलङ्घन थियो । हाम्रो कोठामा छिर्ने पाँचौ व्यक्ति हुनुहुँदो रहेछ अर्का मृदुभाषी मित्र मोहन कार्की । 

'हिसाब नै मिलेन । हामी पाँचजना यो कोठामा बस्नु पर्ने भयो ।' मोहनजीले गुनासो भावमा कारण प्रस्तुत गर्नु भयो ।
'किन हिसाब मिलेन ?' मैंले प्रश्न राखेँ ।

'हामी जम्मा १६ जना छौँ । आठ पुरुष र आठ महिला । चार चार जनाको दरले चार वटा कोठामा बस्न मिल्नु पर्ने ।' प्रल्हादजीको तर्क थियो ।

मलाई भने मेरा एक अनन्य मित्र कोमल धमलाले भनेको एक सुत्र वाक्यको स्मरण भयो । एक आपसमा चिनजान नभएका एक जोडी वयस्क पुरुष र स्त्रीले सँगै रात विताउँदा निम्नानुसार भए बात लाग्दैन कुनै गोष्ठी जस्तो कार्यक्रम भए उनीहरु अलग अलग कोठामा बस्न सक्छन । दुवै कुनै अभियानका सारथी भए र आवश्यक परेमा एउटै कोठामा दुई अलग अलग खाटमा सुतेर रात विताउन सक्छन् । तर यदि युद्ध वा विपद जस्तो भयाभयको स्थिती भएमा उनीहरु एउटै खाटमासमेत सुत्न सक्छन् ।       

तर हिसाब नमिलेको कारण मर्यादा पालकसँग भेट नहुन्जेल प्रष्ट हुने सम्भावना थिएन । भोलिपल्ट चिया खाने बेलामा प्रल्हादजीले हिसाब नमिलेको कारण पत्ता लगाई छोड्नुभयो । काले काले मिलेर खाँउ भाले भने जस्तो जोडी जोडी मिलेर मोहनजीलाई बिजोडी पारेछन् । प्रल्हादजीले स्पष्ट पार्नु भयो ।

हाम्रो समूहमा तीन दम्पती पनि रहेछन् । दुई दम्पतीले एउटा सिँगै कोठा लिएछन् । अर्को एक दम्पतीले एउटा । यसरी पाँच पुरुष र पाँच महिलाको समूह वन्न पुगेछ र शिष्टाचार महापालको सोझो गणित खोलै खोला गएछ ।
मैंले रमाईलो थपेँ 'यस्तै गोलमाल हुन्छ भनेर हामीले ईन्जिन मात्र लिएर हिँडेका हौँ । हाम्रा त डिब्बा घरमै छन् । के सम्झिनु भएको छ र..'

'हाम्रा पनि डिब्बा घरमा छन । ईन्जिन तपाईको अघि छ ।' विनिताजीले थप्नु भयो । अहिलेको जमानामा आखिर को भन्दा को कम  हुन्छ र ।

यसपटक लुगा मिलाउँदा टाई राख्न विर्सेछु । यो यात्रालाई व्यवस्थित बनाउन खटिनु भएका केन्द्रिय सूचना प्रमुख राजीब पोखरेलजीको दौरा सुरुवालको उर्दी  भने मैंले पूर्ण रुपले पालना गरेको थिएँ । मैंले दुईजोर दौरा सुरुवाल, एउटा कोट, एक जोर सुट र तीनवटा ढाका टोपी बोकेको थिएँ । घरमा उपहार पाएका ढाका टोपीको खात लागेको थियो । तर सबै टोपी मेरो टाउको मा नछिर्ने । यसैले केही दिन अघि नेपाल विकास अनुसन्धानका कार्यालय सहयोगी कृष्ण कार्कीलाई मैंले दुईवटा नयाँ टोपी साट्न पठाएको थिएँ ।

म‌ंगलबजार जानु । सकेसम्म साटेर एक साईज ठूलो ल्याउनु । साट्न नसके एउटा नयाँ किन्नु ।
कृष्णलाई काम मात्र दिनु पर्छ । जे पनि फत्ते हुन्छ । स‌ंभवत यति निपुण कार्यालय सहयोगी विरलै पाईन्छन् होला । आखिर कृष्णले टोपी साटेर ल्याई छाड्यो । भुवनेश्वरको सम्मेलनमा म यी दुई टोपीको उद्घाटन गर्ने योजनामा थिएँ । तर टाई विर्सेकोमा थक्क थक्क लागेको थियो । एक मनले भन्यो आखिर सुट लगाउने सम्मेलनको दोस्रो दिन हो भुवनेश्वरमानै किने त भै हाल्छ नि ।   

चिन्ता नलिनुस । मैंले दुई वटा ल्याएको छु । काम चलाउला । सूर्य सरले उपाय निकाल्नुभयो ।
टाईको कुरा निस्के पछि वहाँले व्युनस आयर्स जाँदाको एउटा प्रसँग सुनाउनु भयो । करिब दुई दशक अघि वहाँ एक शिष्टमण्डलको सहभागी भएर अर्जेन्टिनाको राजधानी पुग्नु भएको रहेछ ।  शिष्टमण्डलका नाईके एक सहायक मन्त्री रहेछन । सम्मेलनको मूल समारोहमा सहभागी हुन जानुअघि मन्त्री महोदयले बास बसेको होटल कै अर्को कोठावाट सूर्य सरलाई फोन गरेछन् ।

"शाक्यजी मलाई एउटा कन्ठ लगौटी चाहियो ।"

सूर्य सरले टाई पठाईदिनु भएछ । माननीयले फेरि फोन गरेछन् ।

"शाक्यजी  तपाईले किन कुरो नबुझेको । कन्ठ लगौटीको गाँठो नपारी पठाईदिनु भयो । गाँठो पार्न जानेको भए त मैंले फुल मन्त्री पड्काई हाल्थे नि .."

भोलि पल्ट विहान चार बजे हावडा स्टेशनमा ओर्लियौ । प्लेटफर्म नं २३ को नजिकको क्लोक रुममा सामान थन्क्याएर कलकत्ताको प्रख्यात काली मन्दिर दर्शनार्थ निस्कियौं ।

हावडाबाट मन्दिर जाने सिधा बस सेवा रहेछ । बिचमा र अगाडि ढोका भएको ठूलो बस । प्लास्टिकका सिट । उभिएकाले समात्ने डण्डी र लोतीको व्यवस्था । मलाई भने जापानमा गरिएका बस यात्राहरु ताजा भएर आए । हाम्रा नेपालका शहरी क्षेत्रमा सेवा दिने बसमा भने लोती को त कुरै छोडौं समात्ने डण्डी समेत हुँदैन । शहरी यातायात सेवा प्रदायकले बुझ्नु पर्ने विषय यही हो । शहरमा यात्रा गर्दा धेरै जसो यात्रुहरु केही स्टप पछि ओर्लने हुन्छन् ।

सबैजनालाई बस्नै पर्ने बाध्यता पनि हुँदैन । जेष्ठ नागरिक, गर्भवती र काखे नानी च्यापेकाहरु छोटो दुरीमा यात्रा आक्कल झुक्कल मात्र गर्छन् ।

यसकारण बसभित्र राम्ररी समातेर उभिने ठाँउ भयो भने काफी हुन्छ । गद्दावाल सिट चाहिदैन । वीचमा ढोका भयो भने यात्रु चढ्दा र ओर्लदा अरु यात्रुलाई कम बाधा पुग्छ । यसरी एउटै बसमा धेरै यात्रुले सहज यात्रा गर्न पाउँछन् ।        
बसबाट ओर्लेर हिँड्दै थियौं। शुशीलजीले काली मन्दिरको बारेमा सुनाउनुभयो ।
योगीको आत्मकथा भन्ने विश्व प्रसिद्ध पुस्तकमा यो मन्दिरको बारेमा उल्लेख गरिएको छ । त्यो पुस्तकका पात्रद्वय लाहिरी महाशाय र परम हंश स्वामीको यो मन्दिरसँग भावनात्मक सम्बन्ध जोडिएको छ ।
प्रल्हादजी अर्थात पिथ्रीले पनि एक जमानाका नेपालका लोकप्रिय राजनीतिज्ञ जोगमेहर श्रेष्ठको बारेमा एक रोचक प्रसंग सुनाउनुभयो । उहाँको पूरा नाम रहेछ प्रल्हादप्रसाद पराजुली । मैंले वहाँको नयाँ न्वारान गरिदिँए, पिथ्री ।  

एक पटक भाषण गर्दा जोगमेहरले भनेछन् ... 'सके ठिटी मिलाउने हो नसके छोरी दिने हो ।'

विहानको समय भएकाले सडकमा दर्शन गर्ने मान्छे भन्दा माग्ने धेरै थिए । हाम्रो टोली ससाना समूहमा विभाजित थियो । प्रल्हाद जीका कुरा साह्रै मिठा थिए तर सुन्ने श्रोता हामी दुई तीन जना मात्र भयौँ । हामी दिल खोलेर हाँस्यौ ।
नेपाली हास्यव्यँग्य साहित्यमा सूर्यबहादुर पिवाको पनि नाम उच्चकोटीमा रहेछ । मैंले केही दिनअघि उहाँको स्वास्नीका बारेमा लेख्ने पिवा हुँ मू भन्ने निबन्ध पढेको थिएँ । उहाँले कलास्का (स्वास्नी चाहियो) भन्ने नेवारी शब्दलाई कलाकारसँग जोड्नु भएको छ । जोगमेहरको भाषणमा पनि त्यस्तै भएछ । खाटी नेवारको जिब्रोलाई तू र ड भन्न महाभारत हुन्छ । उनले भन्न खोजेको यस्तो रहेछ 'सके स्थिती मिलाउने हो नसके छोडि दिने हो ।'

कालीदेवीको मन्दिर भएको हुनाले म उच्च स्वरमा नौरथामा चण्डी पाठ गर्दा पढिने मन्त्रहरु उच्चारण गर्न थालेँ ।

शरणागत दिनात्रम परिताण परायणे
सर्वस्याती हरे देवी नारायणी नमस्तुते ।

केही बर्षअघि मनकामना देवीको दर्शन गर्न जाँदा लाममा उभिदाँ उभिदै मैंले यो दुई हरफ कण्ठस्थ गरेको थिएँ । यी लगायत अन्य केही श्र्लोकहरु मन्दिरको पर्खालमा लेखिएको पाएको थिएँ । बडो प्रिय लाग्छन चण्डिमा लेखिएका मन्त्रहरु । भगवतीको मन्दिरमा दर्शन गर्दा ठूलो स्वरमा मन्त्र जप्नुको आनन्द बेग्लै छ । 
कालीमाताको दर्शन गर्दा एक रोचक घटना भयो । म नजिकैका दर्शनार्थी र पुरोहितहरुले मजाले सुन्ने गरी मन्त्र जप्दै अघि बढ्दै थिँए । मान्छेको घुँईचो बाक्लो थियो । म भन्दा अघिका दर्शनार्थीलाई एक पुरोहितले भनेको सुने 'दान पेटिकामे एक सय रुपैयाँ डालना ।'

म भने हातमा दुई रुपैयाँको सिक्का बोकेर काली माताको अघि उभिएको थिएँ । देवी देवताको दर्शन गर्ने मेरो आफ्नै शैली छ । म सिक्का चढाउन रुचाउँछु । मन्त्र उच्चारण गर्छु । देवी देवताको अघि उभिएर मन मनमा यसो भन्छु अहिलेसम्म मलाई जे प्राप्त भएको छ त्यसमा म खुशी छु र यसको लागि हजुर प्रति धन्य छु ।

शायद मन्त्र जप्दै गरेकोले होला मलाई भने अरुलाई भने जस्तो यति उतिु भनेनन् । मैंले सिक्का दान पेटिकामा खसालेँ । अरु दर्शनार्थी भन्दा फरक भएको महशुश भयो । टिका लगाई मागेँ र कालीमाता सँग विदा माग्दै बाहिरिएँ ।  

हामीसँग हावडा भुवनेश्वरको यात्राका लागि कोरोमण्डल एक्सप्रेसको दिउँसोको टिकट थियो । कालीमन्दिरको दर्शन पश्चात मेट्रो रेल चढेर न्यू मार्केटको भ्रमणमा निस्केका थियौँ । तर त्यो समय हाम्रो लागि मात्र विहान थियो । न्यू मार्केटका लागि भने मध्य रात बराबर । चहलपहल शून्य थियो । पसलहरु खुलेकै थिएनन । धेरै मिहिनेतका वावजुद स्वल्पहारका लागि एक रेष्टुरेन्ट फेला पार्यौ । त्यसपछि बस चढेर सिधै हावडा स्टेशन पुग्यौ ।    

हाम्रो १६ जनाको समूहमा दमौली रोटरी क्लबका ३ साथीहरु मिसिनु भएको थियो । अब हामी एक अर्कामा परिचित भैसकेका थियौँ । हाम्रा परिचयका गाँठाहरु विस्तारै खुल्दै गए । कोरोमण्डल एक्सप्रेस र रक्सौल हावडाको घ्याघ्याचे मिथिला एक्सप्रेसले कछुवा र खरायोको कथा स्मरण गराएका थिए ।

हावडा भुवनेश्वरको रेलयात्रामा हामीले विभिन्न विषयमा कुराकानी गर्यौ । छोरा छोरीका, नाती नातीनाका, कलेज पढ्दाका, आ आफ्ना व्यावसायका, राजनीतिका र जीवन भोगका विषयहरुले हामीलाई ओघटे । सबैभन्दा रमाईलो त हाम्रो समूहका तीन दम्पतीका व्यवहारहरु थिए । आखिर मानवीय स्वभाव न हो अलि अलि घोचपेच त भै हाल्छ । श्रीमतिजीहरुले श्रीमानजीहरुलाई भनेको सुनियो लौ ब्रस गरी हाल्नु ।  दार्ही खौरी हाल्नु । ट्वाईलेट गै हाल्नु । हाम्रो सुटकेश एक पटक चेक गर्नु त ।

"खै हजुरको मोबाइल  हराउला नि । म राखि दिन्छु भन्दा नमान्ने । वहाँको त कुरै नगरौ । मलाई त केही खान मन लाग्यो व्यवस्था गर्नु आदि ।"

श्रीमानजीहरुले भनेको सुनियो- "ए ! कस्तो गरि पल्टेको?  मेरो औषधी निकाल त ।  सम्झाउनु पर्छ नि । मलाई कसरी सबै कुरा थाहा हुन्छ?  मैंले उनको सिट साटि दिएँ । लेडिज लेडिजसँगै भए सजिलो होला भनेर आदि ।" 
मैंले सूर्य सरको यस विषयमा  खुसुक्क ध्यानाकर्षण गरेँ । उहाँले भन्नुभयो 'त्यति मात्र हो र  कुन एगँलमा औषधि खाने । कति आँ गर्ने एक चक्की औषधीलाई किन त्यत्रो पानी आम्मा मा ...'

सूचनाजी व्यवस्थापनमा मात्र होईन सेवा भावमा समेत पोख्त हुनु हुँदो रहेछ । चिसो दुध कफी बनाएर सबैको प्यास बुझाईदिनु भयो । रेल भित्रै दही च्युराको खाजाको व्यवस्था गर्नु भयो । तर समस्या भने प्लेटको पर्यो । मैंले बुद्धि निकालेँ दुई लिटरको मिनरल वाटर बोटलको पिँध काटेर कचौरा बनाउने । काम भयो । दहि च्युरा खाँदा खाँदै मैंले प्रसंग निकाले मलाई अति मन पर्ने मोही भातको । अरुले पनि आफ्ना मन पर्ने खानाका प्रसंग उधिने ।

हामी राती दश बजे भुवनेश्वर पुग्यौ । होटलमा चेक ईन गर्ने, सुटकेश कोठामा पुर्याउने, वाई फाईको बारेमा बुझ्ने, कोठाका सुविधाले काम गर्छन गर्दैनन पत्ता लगाउने, लुगा आईरन गर्न दिने र फ्रेस हुने काम विजुलीको गतिमा भए । मैंले होटलको सेवा कक्षमा फोन गरेर कान सफा गर्ने ब्रस, सेम्पु आदि मगाएँ ।

सूर्य सरले हामीलाई रेल्वे स्टेशनबाट होटल ल्याउने गाडीको चालकसँग नजिकै रहेका रेष्टुरेन्टको बारेमा जानकारी लिनु भएछ । हामी होटल पुगेको २०-२५ मिनटपछि नजिकैको ढाबामा पुग्यौ । हामी बलियो भाग्य लिएर त्यहाँ पुगेका रहेछौ । ढाबा बन्द हुन लाई केही मिनट मात्र बाँकी रहेछ । परिकार प्याकिङ मात्र हुने जानकारी पाईयो । तर त्यो भने हाम्रा लागि सुखद समाचार थियो ।       

यसरी घरबाट हिँडेको तेस्रो दिनमा हामी भुवनेश्वर पुगेका थियौ । दैलोदेखि दैलोसम्म अर्थात डोर टु डोरको हिसाबमा हामीले ५३ घण्टाको यात्रा गरेका थियौँ । तर मलाई यो यात्रा अविष्मरणीय हुनुका साथै पूर्ण पनि लागेको थियो । किन भने सबै यात्रामा यस्तो रमाईलो उब्जदैन । रोटरी सम्मेलनको रात्री भोजको साँस्कृतिक कार्यक्रममा प्रस्तुत गरिएको योग नृत्यको गीतको बोलले पनि त्यही अर्थ लगाएको थियो ।

ॐ सर्वेशाँ स्वस्तिर्भवतु । ॐ सर्वेशाँ पूर्णँभवतु ।।      
अर्थात
सबैको भलो होस । सबै कुरा पूर्ण होस ।।

मार्च २६, २०१६

सूर्यास्ना होटेल, भुवनेश्वर, उडिसा

साभार : http://ujyaaloonline.com/news/56807/nawaraj-yatra/

Thursday, March 17, 2016

जन्मदिनको प्रसाद

यो हप्ता मेरो मन र मष्तिस्क अधिकाँश समय एउटै विषयले भरिए । त्यो थियो-प्रियजनका शुभकामना सन्देश । तीन दिनको अन्तरालमा एक दुई गर्दै चार सय भन्दा बढी शुभकामना सन्देशहरु मेरो सँसारमा आईपुगेका थिए । यसरी सयौँको सँख्यामा प्राप्त भएका सन्देशको विषय थियो – मेरो ५२ औ जन्मोत्सव ।

यति धेरै दिव्य आत्माहरुले एकै साथ मलाई सँझिनु भनेको चानचुने विषय थिएन । सँसारमा लगभग सात अर्ब मान्छेहरु बसोबास गर्छन् । औसत हिसाबले ३६५ मध्ये कुनै पनि दिनमा दुई करोड चानचुनको जन्मोत्सव पर्छ । मैले यो धरतीमा अवतरण गरी श्वास फेर्न शुरु गरेको दिन अर्थात फागुन ११ (फेब्रुअरी २४) गते पनि पृथक हुन सक्दैन् । अहिले जिवित रहेका लाखौ व्यक्तिले यही दिनमा जन्म लिएका हुनु पर्छ । यसकारण यस दिनमा लाखौ जन्मोत्सव मनाईनु स्वभाविकै हो । त्यसैले कुनै आत्माको रोजाईमा “नवराजको जन्मोत्सव” पर्नु मेरो शौभाग्य हो । यसकारण मेरो लागि त्यो “दिव्य आत्मा” हो । फागुन ११ गते अनि ‘नवराज’ को व्यक्तित्वले एक साथ कसैको मनमा महत्वपूर्ण स्थान पाउनु भनेको ‘नवराज’ का लागि विराट महत्व वोकेको विषय हो । किनभने उ एउटा सानो घेराका सिमित श्रोताको सँसार भएको व्यक्ति हो । राज नेता वा अभिनेता होईन, जसको श्रोता सँसार असिमित हुन्छ । अझ कलात्मक शब्दहरुले मेरो जन्मदिन शुशोभित भएकोमा यसलाई मैले सर्वोत्कृष्ट सम्मानको रुपमा चित्रण गरेँ । मलाई लाग्यो-मेरो श्री चुलिएर सगरमाथा भएको छ । मेरो व्यक्तित्वले ओज प्राप्त गरेको छ । मेरो कद स्वाट्टै बढेको छ ।

महाकवि लक्ष्मिप्रसाद देवकोटाले लेखेका छन्-
"त्यही स्वर्ग हो, जहाँ निर्मल आत्माहरु सानिध्यमा बास पाँउछन् ।"

महाकविले भने झै दिव्य आत्माहरुको शुभकामनाले घेरिँदा मैले पनि स्वर्गकै आनन्दको अनुभूति गरेँ ।  मेरो सँसारमा आईपुगेका ती ओजस्वी शब्दहरुलाई पटक पटक पढेँ । अभिव्यक्त भावलाई शूक्ष्म दृष्टिले नियालेँ । तिनको रुप र सारको विश्लेषण गरेँ । रोचक कुरा-तिनमा उल्लेखनीय विविधता पाईयो । ईन्द्रधनुषमा रँगको वर्णक्रम भए जस्तो । कुनै सन्देश एक शब्दमा सिमित थिए । कुनै मझौला त कुनैले भने अनुच्छेदको पहाड नै बोकेका थिए । केही सन्देश भने विशेष तस्बीरमा गहन अर्थ वोकेका वाक्य कुँदेर वनाईएका थिए । एउटै उमेरका फुल बगैचामा एकै दिन फुले जस्तो अधिकाँश सन्देश फेसबुकको टाईमलाईनमा उदाए । कति मेसेन्जरमा अरुले भेउ नपाउने गरी आए । कति ईमेल मार्फत आए । केही सन्देश मौखिक रुपमा पनि आए । अधिकाँश अँग्रेजी भाषामा लेखिएका थिए । तर केही नेपालीमा त केहीले सँस्कृतका ओजस्वी श्र्लोक समेत वोकेका थिए । यी सन्देश उदगम भएका स्थानको भूगोलले पनि हुन सक्ने सम्मको वर्णक्रम वनाएको पाईयो । एकातिर यी सन्देशहरु पठाउने दिव्य आत्माहरुको बसोबासको क्षेत्र पुर्वमा आसाम देखि नेपालका अधिकाँश भू-भाग समेट्दै पश्चिममा भारतको मुम्बाई सम्म फैलिएको पाईयो। अर्कातिर राष्ट्रको हकमा यो फैलावटले बँगालादेश, थाईल्याण्ड, ब्रुनाई, जापान, अष्ट्रेलिया, अमेरिका, ओमान, जर्मनी हुँदै स्वीडेन सम्म समेटेको थियो ।   

चिठ्ठाको बाकसवाट एउटा नम्बर झिकेर विजेता छान्ने शैलीमा मैले एउटा शुभकामना सन्देशलाई समूहवाट छुट्ट्याएँ ।  
“जन्मदिनको शुभकामना, मित्र !”

यी तीन शब्दहरुले आत्मियताको अनमोल भाव सिर्जना गरेको अनुभूति भयो । अन्य सन्देशहरुमा अगाडिका दुई शब्द उही थिए । तर अन्तिमको ‘मित्र’ शब्दलाई भने अन्य सर्वनामले विस्थापन गरेका थिए । ती सर्वनामले अझ रोचक वर्णक्रम बनाएका थिए । ‘मित्र’ को वर्णक्रममा एकातिर प्रियतम, बाबा, दाई, भाई, अँकल, नाती, मामा, भान्जा, भतिज, ब्रदर, दाजु, दादा र ज्वाई साहेव थिए भने अर्कोतिर सर, गुरु, नवराजजी, नेपाल नरेश, डा. खतिवडा, डा. साहेब, बन्धु र मेरो साथी आदि थिए । यसरी ती सन्देशका सर्जकहरुमा मेरा परिवारजन देखि लिएर नातेदार, विद्यालय देखि विश्वविद्यालय सम्मका सहपाठीहरु, विगत तीन दशकको कर्म यात्रामा भेटिएका सहकर्मीहरु र मेरो सदैव भलो चिताउने शुभचिन्तकहरु थिए । मलाई सन्देश पठाउने चार सय प्रियजनहरु मध्ये कतिपय सँग मेरो एक पटक पनि देखभेट भएको छैन । केही सँग एक दुई पटक मात्र कतै भएको होला । तर त्यही छोटो भेट पनि शुभकामनाको बृक्ष वनेर उदाउनु मेरो खुशीको तलाउमा अर्को नदी मिसिनु बराबर थियो ।        

सन्देशहरुको थुप्रो उधिन्दा केही मौलिक भाव प्रकट भएका सन्देशहरु पनि पाईए । त्यस मध्ये दीक्षा चुँडालले यस्तो लेखेकी रहीछन्-

“जन्मदिनको शुभकामना अङ्कल, म हजुरलाई राम्ररी त चिन्दिन । तर हजुरसँग एकचोटी बोल्दा नै कोही आफ्नो (मान्छे) सँग बोले झैँ लागेको थियो । त्यसदिन एकदमै खुशी लागेको थियो । भगवानको हजुरलाई आशिष लागोस ।“
दिव्य शक्तिको प्रभाव नपरि शायद यस्तो हुँदैन । अपरिचित सँग पहिलो पटक बोल्नु अनि त्यसैमा बन्धुत्वको डोरी बाटिन शुरु हुनु । कस्तो साईत ! कस्तो भाग्य ! हुन पनि हो । धेरै जना सँग यस्तै भएको छ । कुनै प्रसँगले भेट हुन्छ । कहिले कहीँ दीक्षा सँग भएको जस्तो छोटो कुराकानी मात्र हुन्छ तर आत्मियताको डोरी बाटि सकिएको हुन्छ । अनि अहिलेको फेसबुक मार्फत त्यो डोरीले दीर्घ जीवन प्राप्त गरिहाल्छ ।  

अमेरिकामा पढ्दै गरेकी रुबीले लेखिन-

"हजुरलाई सँझने जन्मदिन भन्दा अर्को राम्रो दिन के होला र ? म अहिले अरिजोना स्टेट विश्वविद्यालयमा स्नातकोत्तर गर्दैछु । स्नातक तहमा गरे जस्तै शोध पनि गर्दैछु । हजुरले हामीलाई एकल प्रोजेक्ट गर्न लगाउँदा हामी सबै दु:खी भएको मलाई सम्झना छ । तर त्यो किन गराउनु भएको रहेछ भनेर अहिले बुझेँ । हामीलाई अझ शशक्त वनाउन हजुरले गर्नु भएको योगदानको म मुक्त कण्ठले प्रशँशा गर्दछु । जन्मदिनको शुभकामना।"   

अर्की पूर्ब विद्यार्थी बबिनाले क्यानाडाबाट लेखिन-

“मैले प्राध्यापकको रुपमा चिन्ने मौका पाएको एक अद्वित्तिय व्यक्तित्वलाई जन्मदिनको शुभकामना । हजुर, कक्षाकोठा भन्दा वाहिर पनि एक प्रेरणादायी व्यक्तिको रुपमा रहनु भएको छ । मैले हजुरबाट धेरै सिकेकी छु । सँधै स्वस्थ्य र खुशी रहनु होला ।“

कतिपय विद्यार्थीलाई आफूलाई पढाएको शिक्षकको नाम समेत थाहा हुँदैन । आफूले अध्यापन गराएका कुनै पनि विद्यार्थीको पनि नाम नसम्झिने शिक्षकहरु समेत मैले पाएको छु । मैले पाएका कक्षा कोठा वा वाहिरका परिवेश पनि यस्तै हुन । तर कसैले मेरो कर्मपथको प्रशँशा गर्नु र त्यसवाट केही टिप्नु अवश्य नै विशाल महत्वको विषय हो । रुबी र बबिनाले मलाई जुन सम्मान दिएकी छन, त्यो अत्यन्तै विराट छ । शायद एउटा शिक्षकको कर्म-भवनमा यो भन्दा माथीको अर्को तला हुँदैन । यो भन्दा विशिष्ट अर्को सम्मान हुँदैन ।   
कलेज पढ्दाको साथी प्रभाले लेखिन्-

“जन्मदिनको शुभकामना नवराजजी । प्रत्येकदिन आनन्दका क्षणहरुले भरिउन । म तपाईका जीवन भोगाईका ती क्षणहरुको बारेमा लेखिएका तपाईँका विचार पढ्ने आशा गर्दछु ।“

प्रभासँग पहिलो भेट भएको तीन दशक भन्दा बढि भएको छ । कलेजमा हामीले दुई बर्ष चानचुन सँगै विताएका थियौ ।  विगत पाँच बर्षमा मैले फेसबुकमा निकै लेखेँ । मेरो लेखाईको वारेमा प्रशँसा गर्दै कलेज पढ्दाकी सखाको प्रेरणादायी सन्देश पढ्दा हर्षले मेरो मन उम्लियो ।

पृष्टभूमीमा गुरुस्तोत्रको भुमिका राखेर सुपुत्र सिरिनले लेख्यो-
“जीवनका हरेक पाईलामा प्रेरणा प्रदान गरेकोमा म कृतज्ञ छु । म उभिएकै कित्तामा उभिएर मलाई आँट भरोसा दिनु भएकोमा धन्यवाद छ । म अहिले जहाँ छु तपाई विना त्यहाँ पुग्न किमार्थ सक्ने थिईन । प्रत्येक बच्चाले कल्पना गरेको नमूना बुबा तपाई जस्तै हो । जन्मदिनको शुभकामना छ । विगतका जन्मदिनले ल्याएको भन्दा अधिक खुशी र एश्वर्य यो जन्मदिनले ल्याओस ।“

शँकर कोईरालाले भनेका छन्-

“प्रत्येक मान्छेमा भएको एउटा गुण के हो भने उसँग केही अवगुण हुन्छ ।“ 

सिरिनले भने जस्तो बाबु हुनुको यति ठूलो अभिभारा मैले वहन गरेको जस्तो लाग्दैन । ‘नमूना बाबु’ को पगरी गुथ्नका लागि मलाईभन्दा शायद अरु नै विशिष्ट बाबुहरु लाई सुहाउला । मैले त खाली मलाई विधाताले सुम्पिएको भूमिका मात्र निर्वाह गरेको हुँ । 

यसैले मेरा पुत्र लगायत हाम्रो कालखण्डका युवा पुस्तालाई यस्तो दिन मन लाग्छ-

“शँकरले भनेजस्तो अरु जस्तै म पनि केही न केही अवगुणको मुहान पनि हुँ । यसैले महान त तिमी हौ जसले म सँग भएका अवगुणहरु लिएनौ । सतगुण मात्र लियौ । म तिम्रो त्यो सतचरित्रलाई नमन गर्छु । तिम्रो निर्णायक क्षमताको प्रशँशा गर्छु । जसले राजहँशले जस्तो पानी र दुध छुट्ट्याउन सक्यो । मौरीले जस्तो फूलको रस र प्रदुषित ढल छुट्ट्याउन सक्यो । म भित्र त खलनायक तत्वहरुको पनि बाक्लै उपस्थिति छ । तर तिमीले त्यसलाई पाखा लगायौ । आफूलाई चाहिने मात्र लियौ ।“

गुरु हरिकृष्ण खतिवडाले अथर्ववेदकै श्र्लोक उद्धृत गरी आशिर्वचन दिनु भयो-

'आफ्नो जीवनलाई उत्तम र उत्कृष्ट बनाउ, बललाई श्रेष्ठ बनाउ, कार्य पनि उत्तम गर, कर्तव्यलाई पनि उत्कृष्ट बनाउ, बुद्धिलाई तिक्ष्ण तुल्याउ र ईन्द्रिय सामर्थ्यलाई बढाउ। आत्मनिरीक्षणको यो उदात्त प्रेरणा नै जन्मदिनको शुभकामना ।"

मामा लीला उदासीले लेख्नु भयो-
“जन्मदिनको शुभकामना, आगत सुखद रहोस्, प्रगतिको रहोस्, सफलताले शिखर टेक्ने समय होस् ।“

थाईल्याण्डबाट प्राध्यापक भिसुका यस्ता प्रेरणादायी शब्द आए-

“यो दिनले धेरै खुशीको प्रतिफल प्रदान गरोस । तिमी पनि मेरै उमेर तिर ढल्केको चाल पाँए । जीवन रमाईलो वितोस । अरुलाई मदत गर्ने कामलाई निरन्तरता दिनु । यो नै जीवनलाई खुशी बनाउने उत्तमा उपाय हो ।“  

दिव्य शक्तिका श्रोत अष्टचिरन्जिवीको प्रार्थाना मन्त्र समेटेर ज्योति दाहालजीले शुभकामना सन्देश पनि प्राप्त भयो ।

सम्मान तिन किसिमको हुन्छ अरे । भारतका एक प्राध्यापकको एक लेखमा केही समय अघि पढेको थिँए । पहिलो-जन्मदै लिएर आएको सम्मान । दोस्रो-जीवनकालमा आर्जन गरेको सम्मान । तेस्रो-अरुका कारणले सिर्जित सम्मान । म तेस्रो वर्गमा पर्छु । किनभने एक त यसमा प्रतिस्पर्धा धेरै कम छ । अर्को यस दावीलाई प्रमाणित गर्नका लागि मेरो उत्तरोत्तर प्रगतिका लागि सम्प्रेषण गरिएका शुभकामना सन्देश दिने  मेरा आफन्त, मेरा अग्रज र मैले सेवा गर्ने मौका पाएका मेरा विद्यार्थीहरुको प्रसिद्धिलाई नियाले हुन्छ । वहाँहरु यति शशक्त भूमिकामा हुनुहुन्छ कि वहाँहरुको पाथी भरिएर बिटमाथीबाट पोखिएको लोकप्रियता मलाई पनि प्राप्त हुन्छ । यसले मेरो ‘श्री’ अलौकिक हुन पुग्छ ।  यसर्थ मैले तेस्रो किसिमको सम्मान प्राप्त गर्ने कारण मेरा प्रियजनहरुको मौलिक उपलब्धि र लोकप्रियता नै हो ।

अनि मान्छेहरु मलाई भेट्दा सुनाउँछन ।
“तपाईँको फलानो आफन्तले सम्मान पदक पाएछन ।”
“तपाईँको भाई सर्वोत्कृष्ट भएछ ।”
“तपाईँको मिल्ने साथीका श्रोता सँख्याले करोड नाघेछ ।”
“तपाईको सहकर्मीले बर्षको विशिष्ट कर्मचारीको उपाधि पाएछन ।”
“तपाईँको ढिस्कानो विद्यार्थीले स्वर्ण पदक प्राप्त गरिछिन ।”
“तपाईको प्रशिक्षार्थी अन्तर्वार्तामा उत्तिर्ण भयो ।”

मैले सोद्धै नसोधि लोकले मलाई सुनाउँछ । मैले नहेरे पनि लोकले मलाई त्यस तर्फ ध्यानाकर्षण गराउँछ । कोही तेस्रो व्यक्ति मलाई मेरो प्रियजनको खबर सुनाँउन आतुर हुन्छ । मलाई भेट्ना साथ उ न त मेरो  कुरा गर्छ । न त उसको आफ्नै । म चकित हुन्छु- एकाएक त्यो म सँग जोडिएको व्यक्तिको कुरा सुरु गर्छ जो सम्मानित भएको छ । जो आदर्शवान छ । सतगुणी छ । जसले समाजमा केही योगदान दिएको छ । मेरो अनुहार देख्नासाथ उसलाई सम्झनु भनेको चानचुने कुरा हैन । यो त त्यो व्यक्तिको प्रसिद्धि या उसको ‘श्री’ को कारणले गर्दा हो । उसको सुवासको कारणले गर्दा हो । उसको सेवाको कारणले गर्दा हो । मेरो दावी प्रमाणित हुन्छ । मेरा प्रियजनहरुलाई ओढाईएको सम्मानको दोसल्लाको सुवासले मलाई सम्मानित गर्छ । यसकारण मेरा चिनजानका व्यक्तिहरुको प्रसिद्धिको कारणले सम्मानित हुने सबैभन्दा भाग्यमानी व्यक्ति म हुँ । यसर्थ म आल्हादित हुन्छु । गर्व गर्छु । लुँडो खेलको गोटि भरेङ्को फेदमा आईपुग्दा लामो भरेङ् एकै फटकामा उक्ले जस्तो म पनि खुशीले भुँईचट्टान बाट एकै चोटि शिखरमा हुत्तिन्छु । तृप्त हुन्छु । अनि ठान्छु-मेरो जीवन सफल भएको छ ।
मेरा प्रियजनलाई भन्न मन लाग्छ- म त एक फलामको टुक्रो मात्र हुँ । चुम्बकत्व त तिमी सँग छ । जसले म मा अन्तरनिहित सतचरित्रका अँशहरुलाई तानेर लैजान्छ ।

कसैले लेखेका छन् ।
“म गुरु हुँ किनभने तिनीहरु मेरा शिष्य हुन ।“
म यो उक्तिमा अन्तर्निहित दायरालाई मेरै किसिमले फराकिलो बनाउँन चाहन्छु ।  
“म एक शौभाग्यशाली व्यक्ति हुँ किनभने तपाईँहरु जस्ता दिव्य आत्माहरुले मलाई प्रियजनको सँज्ञा दिनु भएको छ। जन्मदिनको शुभकामना दिनु भएको छ ।“

"मलाई जन्मदिनको शुभकामना दिनुहुने सबै प्रियजनलाई साधुवाद ।"

फागुन १८, २०७२
कोटेश्वर, काठमाण्डौ 
साभार: 
हाम्रो पात्रो (hamropatro.com) 
सूचना / ब्लग सेक्सन 

Friday, February 12, 2016

मुम्बईको मोमो र गोवाको काजु

धुलिखेलबाट कोटेश्वर पुग्दा बिहानको ११ बजी सकेको थियो । दिँउसो दुई बजेको उडान थियो । अन्तर्राष्ट्रिय उडानमा तीन घण्टा अघि विमानस्थल पुग्नु पर्छ । यो नियमलाई मूल मन्त्र बनाउँदा बनाउँदै पनि भने जस्तो हुँदैन । दश थरीका काम निस्कन्छन् । धर्म निर्वाह गर्नै पर्यो । अन्यथा पछुतो हुन्छ फेरि । साढे एघारमा नेपाल वायु सेवाको टिकट जाँच कक्षमा पुग्दा सोच्दै नसोचेको सूचना प्राप्त भयो । 
“उडान तीन घण्टा ढिलो छ ।“
एक पटक फोन गर्नु पर्ने थियो । गरिएन ।
“अब तीन घण्टा के गर्ने ?” प्रश्न पहाड बनेर उभियो ।
आफू त मियो भैयो । सबै समस्याको समाधान अन्तिम निकाय । अरु थोक नभए-ल्यापटप खोल्यो । लेख्न बस्यो । तर यस पटक साथमा थिए- श्रीमती र छोरी पनि । खासगरी छोरीका लागि समस्याले भीमकाय रुप नै लिएको थियो । उसले अमिलो अनुहार पारी सकेकी थिई । तर मेरो मनमा भने एउटा भने परिस्थितीलाई सामना गर्ने एक सकारात्मक पाटो उदायो ।
“यात्रामा यस्तै नसोचेको आई पर्छ । त्यस्तो बेलामा के गर्ने त ? यस्तै भै-परि आउने परिस्थितीबाट त छोरीले  सिक्छे नि !”
यो विचारलाई व्यक्त भने गरिएन । भित्रै उदायो । भित्रै अस्तायो ।
तर टिकट जाँच कक्षमा भएका अधिकृत कर्मचारीले कालो बादलमा चाँदीको घेरा पनि देखाए
“कोशिश जारी छ । जहाज बदलेर भए पनि पाँच नबजाउने ।”
हामी अध्यागमन तिर लाग्यौ । एक पुराना मित्र सँग भेट भयो । विदेशमा नै जन्मेर हुर्केका दुई छोराहरु लिएर केही दिनको नेपाल भ्रमण पश्चात वहाँ बैँकक फर्कन लाग्नु भएको रहेछ । केटाहरुले ‘गमन पत्र’ आफै भर्ने जिकिर गरे । तर उनीहरु परे नेपाली लेख्न नजान्ने ।    
“नेपाली भाषामा भर्नु पर्छ । तिमीहरुलाई गार्हो होला ।” मित्रले अभिभावकको भूमिका निभाए । 
“हजुरले सिकाई दिनु हामी आफै लेख्ने हो । आखिर समय छँदैछ ।” उनीहरुको स्वाभिमान कुर्लियो ।
मित्र छोराहरुलाई मदत गर्न थाले । हामी पनि आफ्नो विवरण भर्न थाल्यौ । उनको कान्छो छोरोले झेल झिक्यो ।  उ त रिसाएर ठूलो ठूलो स्वरमा कराउन थाल्यो ।  
“नेपालीमा लेख्नु पर्छ भन्ने अनि फेरि किन अँङ्ग्रेजी अक्षर लेख्ने ?”
उसको भनाई सोर्है आना ठीक थियो । ‘गमन पत्रमा’ विवरण भर्दा अँग्रेजी ठूलो अक्षरमा लेख्नु भनेर नेपालीमा जानकारी दिईएको थियो ।  जन्म मिति पनि ईश्वी संवतमा लेख्नु पर्ने । हामी परनिर्भर रहेछौं भन्ने कान्छोलाई परेछ । यो बेला हरेक नेपालीलाई यस्तै महसुस हुँदो हो । मेरो मथिँगल भने मडारिन थाल्यो ।
“के यस्ता कागजात भर्न नेपाली भाषा अक्षम छ त ? कि अहिलेसम्म पगरी गुथेका नीति निर्माता र कार्यकारीहरु अक्षम भएका हुन् ?”
भाग्यवश उडान एक घण्टा मात्र ढिला भयो । नेपाल वायु सेवा निगमका हरेक दृष्यहरुले दुर्दशा पस्किन्छन् । टिकटमा दुई बजेको उडान समय छ । बोर्डिङ् पासमा पाँच बजे छापिन्छ । अनि उडान हुन्छ तीन बजे । यस्तो गाईजात्रा अरु विमान सेवाले नगर्लान् । यो अरु केही होईन । व्यवस्थापकिय अक्षमताको एक झिनो उदाहरण मात्र हो । बोर्डिङ पासमा बाघ भैरब अझै जिँउदो छ । लोगोमा यसको गर्जन छँदैछ । ‘शाही नेपाल वायू सेवा’को टाउको ‘शाही’ लाई मसानघाटमा पुर्याउनेहरुलाई यसको छोटो रुप ‘आरए’ लाई ‘यनए’ बनाउनु पर्छ भन्ने चेत नभएको जगजाहेर छ । जहाज भित्रका दृष्य त्यस्तै छन् । एक तिहाई सिट मात्र भरिएका छन् । चलचित्र हेर्ने संयन्त्र छैन । सिटका खोल पनि मैला छन् । उडान सम्बन्धी सूचना दिने स्क्रिन पनि छैन । पत्रिका पल्टाएर हेर्न थालेँ । नेपाल वायु सेवाको उडान सम्बन्धित एक जानकारीमूलक रचनाले ध्यानाकर्षण गर्यो । अङ्ग्रेजी र नेपाली दुवै भाषामा उही अभिव्यक्ति प्रस्तुत गरिएको थियो ।   
“सिटमा बसेको बेलामा र जहाजमा टर्बुलेन्स (अधिक हलचल) भएको बेलामा सुरक्षा पेटी बाँध्न सिफारिस गरिन्छ ।“ भन्ने आशयको महत्वपूर्ण सूचनाको हलुका र सामान्य अनुवाद गरेको पाईयो ।”  
“सिटको पेटी सधै‌ैै नै बाँधी राख्नु राम्रो हुनेछ । अनुदित हरफ यस्तो थियो । यसमा टर्बुलेन्स शब्दको अर्थ खुल्ने गरी अनुवाद गरिएको थिएन ।”
विजिनेस क्लास, ग्राउण्ड स्टाफ र कुजिन जस्ता महत्वपूर्ण शब्दहरुका अनुदित रुपहरु न त एकनासका पाईए न  त अर्थपूर्ण । कतिपय पत्रिकामा प्रयोग भएका शब्दहरु उडान अवधिमा गरिएका उदघोषणमा पनि प्रयोग भएका थिए । तर तिनीहरुमा एकरुपता र अर्थको विशिष्टता थिएन । मानक निर्धारण गर्ने यस्तै शुक्ष्म विश्लेषणले हो । देश निर्माण गर्ने अभियन्ताहरुले पल्टाउनु पर्ने ढुंगा यस्तै हुन् ।  
यस्ता अवसरमा म शिशिर योगीको गीत सँझन्छु ।
‘यो देशमा म एउटा मानिस खोजी रहेछु ।‘
मलाई लाग्छ-एउटा मानिस मात्र होईन । नेपाल राष्ट्रमा सयौँ अभियन्ताका लागि अवसरहरु लम्पसार परेका छन् । जता ततै केही बिग्रेको वा धेरथोर नपुगेको देखिन्छ । समस्याहरु नेतृत्व नपाएर चुलिएका पहाड भएका छन् ।  उपलब्ध प्रविधिको प्रयोग भएको छैन । केही सुरुवात नभएको हैन । तर मलजल नपाएर सुक्न लागेको बृक्ष जस्तो भएका छन सार्वजनिक सेवा सुविधाहरु । यस्ता बृक्ष जता जतै छन । नेपाल वायूसेवा, नेशनल ट्रेडिङ् लिमिटेड, खाद्य संस्थान, प्रज्ञा प्रतिष्ठान, नेपाल आयल निगम र  काठमाडौं  उपत्यका खानेपानी लिमिटेड सामान्य सिँचाई र हलुका मलजलले मात्र पनि तुरुन्तै तङरिन सक्ने केही प्रतिनिधि उदाहरण हुन ।
केही दिन अघि विविसीमा एउटा रोचक जानकारी दिईएको थियो । मुम्बईको सुकुम्बासी क्षेत्रमा शौचालयको समस्याका बारेमा । घरमा शौचालय बनाउन आवश्यक जमिन नहुने । यसैले लघु शौचका लागि पनि सार्वजनिक सेवा प्रयोग गर्नु पर्ने । तर महिलाहरुको लघु र दीर्घ शौच गर्नका लागि अलग अलग सुविधा उपलब्ध नहुने । दिनको छ सात पटक सेवा लिँदा धेरै शुल्क तिर्नु पर्ने । पुरुषहरुको भने लघु शौच सित्तैमा हुने । यसैले सालाखाला दिनको एक पटक मात्र दीर्घ शौचका लागि शुल्क तिरे पुग्ने । शहरी आवास र सार्वजनिक शौचालय सँग जोडिएको यो विषय रोचक थियो ।   
“झ्यालतिरको सिट रोज्नु । अवतरण गर्दा मुँबईको शहरी बसोबासको कुरुपता छर्लङ्ग हुन्छ ।“ मित्र सूर्यमान शाक्यको सल्लाहा थियो । विमान पुरै नभरिएको फाईदा मैले लिँए। अवतरण गर्नु पूर्ब नजिकैको झ्यालको सिटमा आसन जमाएँ ।
नभन्दै त्यस्तै देखियो । एकातिर आकाश छुने महल । अर्कातिर अव्यवस्थित झुपडीको लर्को । मैले भियतनामको हनोईमा पनि यस्तो अब्यवस्था देखेको थिँए । त्यहाँ भने लाम्चो आकारका बाकस जस्ता घर । सबै घर जोडिएका । यस हिसाबमा मुम्बई र हनोईलाई काठमाडौं, पोखरा र धरानले जिते । तर हामीले त विशिष्ट सँग दाँजिनु पर्छ । बसोवासका लागि उत्कृष्ट ठहरिएका शहर केप टाउन या भ्यानकुभरलाई भेट्नु छ । फेरि अर्को अभियन्ताको खोजीमा लाग्छ मेरो मन ।
छत्रपति शिबाजी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण पश्चात एउटा भने आनन्द लाग्ने क्षण सिर्जना भयो । हाम्रो विमानले पनि सुरुङ्सँग जोडिन पर्‍यो । काठमाडौंमा यो सुविधा छैन । विमानमा जान हिँडेरै या बस चढेर जानु पर्छ । एक मनले भने लाग्यो हाम्रो आरए पनि के कम छ र ? आखिर शिशा त छ नि ! व्यावस्थापकीय अक्षमताको कसिँगरले पुरिएको मात्र न हो ! त्यो कसिँगर पुछ्ने अभियन्ता चाहिएको त हो ।  
यस पटको यात्राको मौलिक र सुखद पक्ष थियो-सन्तान सुखको अनुभुति । सुपुत्र सिरिन विमानस्थलमा लिन आएको थियो । हामीले पहिलेनै कुरा मिलाएका थियौ । वस टर्मिनलमा भेट्ने भनेर । अन्यथा यो भवसागरमा एक अर्कालाई भेट्नु नै विकराल समस्या हुने ।
भेट हुना साथ उसले मोवाईल चलाउन थाल्यो । केही बेरको कसरत पछि उसले गजबको सूचना जारी गर्यो ।
“दश मिनट लाग्छ रे उबरलाई आइपुग्न । ”
उबर नामको यो पद्धति अचम्मकै रहेछ । मोवाइलमा ‘उबर एप’ डाउनलोड गर्नु पर्ने । पुरै शहरको नक्शा देखिने । अनि स्क्रिनमा आफू उभिएको ठाँउ खोज्ने । त्यसपछि गन्तव्य निश्चित गर्ने । यति गर्ना साथ सबै भन्दा नजिक भएका खाली ट्याक्सीहरुको चित्र देखिन्छ । स्क्रिनमा चालकको नाम र मोवाइल नम्बर पनि उदाँउछ । गन्तव्यमा पुग्ने अनुमानित समय र भाडाको रकमको जानकारी पनि पाईन्छ । सबै कुरा चित्त बुझे- ओके थिच्ने र ट्याक्सी बोलाउने ।
नभन्दै दश मिनट जतिमा उबर आईपुग्यो । सामान राख्न चालकले सघाईदियो । नाकनिक केही गरेन । मिलिक्क गर्दा हामी मुम्बईको सडकमा गतिमान भएका सवारी साधनको हुलमा मिसिई सकेका थियौँ ।
फिल्म सिटि गेटको समिपमा रहेछ-ईन्दिरा गान्धी विकास अनुसन्धान संस्थानको परिसर । हाम्रो आवासको व्यवस्था सिरिनले यो सँस्थाकै अतिथि गृहमा गरेको थियो । सर्वसाधारणले “ईन्दिरा विकास” भन्दा रहेछन् । सिरिनले यो संस्थानमा अर्थशास्त्रमा स्नातकोत्तर गर्न छात्रबृति पाएको हुनाले यो सम्भव भएको थियो । यो संस्थान भारतको केन्द्रीय बैंकको मातहतमा ‘सोच केन्द्र’ अर्थात थिङ्क ट्याङ्क को रुपमा स्थापित भएको रहेछ । नेपालका अभियन्ताहरुका लागि यो अर्को अवसर हो । मेरो मन फेरी हौसिन्छ । अहिलेसम्म नेपालमा औपचारिक रुपमा सोच केन्द्र स्थापना गर्ने अवधारणा नै स्थापित भएको छैन ।
भोलिपल्ट हाम्रो यात्राको साथी भएको थियो- उही उबर क्याब । गन्तव्य थियो साडी बिक्रीको लागि प्रख्यात ठाउँ-दादर । नेपालीका लागि साडी वा सलवार कुर्ता अझै पनि प्रिय छ । हुन ता अहिले काठमाडौं या अन्य शहरमा यस्तो लुगा लगाएका नारीहरु मुश्किलले देखिन्छन् । मुँबईमा भने अझै यी पहिरनले मूलधारका वस्त्रको शंज्ञा पाएका रहेछन् । सडकमा एक त महिलाको बाहुल्यता नदेखिने । अर्को प्रायले साडी नै लगाएका हुने । यो मामिलामा छिमेकीहरुको तुलनामा हामी अग्रस्थानमा छौ । अर्थात हाम्रो परिवेशमा ‘परम्परागत जडताको चट्टान’ फुटाउन सजिलो छ । हामीसँग ‘तुरुन्तै सिक्ने’ क्षमता तुलनात्मक रुपमा उच्च गुणस्तरको छ । उच्च प्रविधियुक्त सेवा-सुविधा मात्र पाईयोस । विना वर्दीका प्रहरीहरुले निमेषभरमा नै तिनलाई आत्मसात गर्नेछन् ।  तर के गर्नु ! विदेशमा सहजै पाईने सुविधा आफ्नो देशमा प्रयोग गर्न नपाएर आशामा नागरिक काकाकुल भएका छन् । समाज बदल्ने सोच राख्ने नेपाली अभियन्ताले बुझ्नु पर्ने यो एक उच्च महत्वको विषय हो ।
“यत्रो ठूलो साडीको दोकान त अहिले सम्म गैएकै थिएन ।” रीताको उद्गार सुनियो । मैले अनुमान लगाएँ-सय जना भन्दा बढी त बिक्रिमा सँलग्न कामदार नै छन् । साडी लगाएकै केही महिला कामदार पनि झुल्किए । अन्यथा प्राय पुरुष कामदार मात्र हुने । तर महिलाहरुको भूमिका भने ग्राहकलाई सम्बन्धित कक्षमा पुर्याईदिने मात्र हुँदो रहेछ । श्रीमति र छोरीले राम्रै खरिद गरे । मैले पनि दुई जोर कुर्ता पाईजामा किने ।  
दादरको किनमेल पश्चातको  गन्तव्य तय भयो-तिनैतिर समुद्र भएको पुरानो प्रशिद्ध शहर भित्रको शहर अर्थात चर्च गेट । त्यहाँ जानुको मूलकारण थियो- मौलिक समुद्रि खाना अर्थात सिफुड को स्वाद लिने । यस अघिका थाईल्याण्ड र जापान बसाईका कारण मेरो परिवारको जिब्रोमा समुद्रि जलचरवाट बनेका स्वादिष्ट परिकारको रस भिजि सकेको थियो । अर्डर पछि झिँगे माछा अर्थात लोबस्टर रोजाउन ल्यायो । हाम्रो रोजाईमा पर्यो-लगभग ३५०० को जिँउदो जलप्राणी । स्वादिष्ट भोजन पश्चात हामी लाग्यौ-जुहु समुद्रि किनार । फेरी उबर क्याबले काम पायो । एक तर्फी बाटोका कारण यस पटक भने उबर भेट्न अलिकता हिँडाईमा परियो । तर उबर ट्याक्सी चढे पछि फेरि यात्रा सहज भयो ।
आज भन्दा लगभग तीस वर्ष अघि बिरला प्राद्यौकि संस्थान, राँचीमा स्नातक गर्दा मैले जीवनमा पहिलो पटक समुद्र देखेको थिँए । त्यो थियो- उरिसा राज्यको पुरी शहरको समुद्र । समुद्र किनारमा बालुवामा खेलिन्छ । नुनिलो पानीका छालसँग पौठेजोरी खेल्न मिल्छ । नदीको भेलमा जस्तो हेलिन मिल्छ । समुद्री किनारा भएका मुलुकहरुको लागि यो प्राकृतिक सम्पदा पर्यटनको महत्वपूर्ण आधार हो । मलाई भने आँखाले प्रत्यक्ष देखेर यी विषयको ज्ञान भएको थियो । त्यस वेला मेरा सहयात्री मित्र थिए-सुनिल सिमखाडा । जो अहिले परिवार सहितै अष्ट्रेलिया भासिएका छन् ।
जुहु समुद्री किनारामा अपेक्षित चहल पहल थिएन । विदेशी पर्यटकहरु नगण्य । अधिकांश भारतियहरु नै थिए । हरिया नरिवलको पेय लगायत केही परिकारहरु पाईने । पर्यटन विभागको कुनै खास ध्यान पुगेको जस्तो देखिएन । समूद्रको पानी पनि दुर्गन्धित । ढलनिकासको गन्ध प्रचुर मात्रामा । हामी हिड्दै अगाडि बढ्यौ । एक ठाँउमा जुत्ता खोलेर नै पानीको भुल्को तर्नु पर्यो । फड्किने कुनै उपाय थिएन । पर्यटकिय स्थलमा यस्तो अव्यवस्था हुनु भनेको पराकाष्टा नै हो ।
अर्को दिनको कार्यक्रम भने मुम्बईको आकर्षणको केन्द्र- एसेल वर्ल्ड थियो । त्यो दिन आईतवार परेको हुनाले अतिथि गृहकै चमेना गृहमा विहानको स्वल्पहार (निबन्धकार धनुषचन्द्र गोतामे को शब्द सापटी) को आनन्द लिईयो । सिरिनका साथीहरु मिसिए । रमाईलो भयो । भारत भरिकै खुला प्रतिस्पर्धाबाट हजारौको सँख्यामध्येबाट चुनिएका तीस जनाले मात्र प्रवेश पाउने “ईन्दिरा विकास” को नियम । त्यही समूहका केही हाम्रो साथमा थिए । कुराकानीमा जुनसुकै प्रसंग निस्के पनि आफ्नो माझिएको विचार प्रस्तुत गर्न सक्ने उनीहरुको क्षमता हुँदो रहेछ । कुराकानीलाई स्वादिला परिकारले साथ दिए । चिया त झनै मिठो । ल जे पर्ला- मैले एक कप थपिदिँए ।
सिरिनले फेरि उबर क्याब मगायो । हामी समुद्रि घाटमा पुग्दा पारी जान लामबद्ध पर्यटकहरुको हुल देखियो । लाममा हामी पनि जोडियौ । हामीले चढ्न पर्ने समुद्रि सवारी साधन अर्थात फेरीको पनि अनुहार देखियो । फेरी अर्थात सानो पानी जहाज । नेपालको सन्दर्भमा भन्नु पर्दा ठूलो डुङ्गा । नजिकै थुप्रेका फोहोरका रासले पनि स्वागत गरे । समुद्रको पानीमा पनि तैरिएका फोहोरले विस्कुन सुकाएको जस्तो देखियो । मैले केही तस्विर लिएँ । आखिर समस्या उस्तै हो । नेपाल होस या भारत । विकसित मुलुकले मात्र यस्ता पर्यटकिय महत्वका स्थानमा बिशेष ध्यान दिएका छन् । अहिले यो ठाँउ जापानमा या सिँगापुरमा होस त ? रुपै अर्को हुन्थ्यो । झट्ट हेर्दा व्यवस्थापनमा कुनै खोट लगाउने पक्ष देखा पर्ने थिएन ।
एसेल वर्ल्ड भनेको डिसने ल्याण्डको अवधारणामा बनाईएको साहसिक र मनोरन्जनात्मक खेलहरुको आनन्द लिन मिल्ने सुविधाले भरिपूर्ण एक विशाल परिसर रहेछ । सन २००१ मा टोकियोमा सपरिवार डिसने ल्याण्ड घुम्न गईएको थियो । तर त्यसवेला सिरिन र दीक्षा साना थिए । हिजो अस्ति जस्तो लाग्छ । तर पन्ध्र वसन्तहरु अतितमा विलिन भै सकेछन् । मध्यान्ह भैसकेको हुनाले पानीजन्य खेलमात्र खेल्ने कि जमिनमा भएका खेल पनि खेल्ने भन्नेमा हाम्रो मत मिलेन । दुवैको टिकट लिएर आखिर खेल्न पाईएन भने के मजा भयो र ? समूहका वयस्कहरुको तर्कले यो धार समात्नु स्वभाविकै थियो । आखिर किशोर मनोविज्ञान कै जित भयो । दुवै समुहको टिकट किनियो । तर सर्वप्रथम जलविहारको पालो आयो । जल-चिप्लेटि देखि लिएर सुरुङ् भित्र छिर्ने लगायतका खेलहरु रहेछन । ईच्छा मात्र भएर नहुने । आँट पनि चाहिने । टाउका पछाडि हात राखेर उत्ताने पर्दै ओरालो सुरुङ् भित्र चिप्लिने खेल मैले पनि खेलेँ । आफ्नो पालो आएपछि प्रस्थान विन्दुबाट शरिरलाई छोडिदिए पछि एकै चोटि गन्तव्यमा गएर रोकिने । अर्थात “हिँडे पछि हुँईकिने” । बीचमा पुगेपछि “एकछिन रोकिन्छु” भन्न नमिल्ने । सिरिन र दीक्षाले भने ठाडो चिप्लेटि पनि खेले । मेरो भने आँट पुगेन ।
जलबिहार पछि हामी भूमिविहार तिर लाग्यौ । ५९ नँ को खेलस्थल नजिकै रहेको पन्जाबी ढाबामा खाना खाईयो । जमिनको समूहतिर रहेका खेलहरुमा सबैभन्दा आकर्षणको केन्द्रमा थियो- सट एण्ड पुल खेल । यसको रुप र चाल देखेर हामी मध्ये तीन जनाले आँट गरेनौ । तर छोरीले भने जिद्धि गरी । उसले पटक पटक दाईलाई साथ गै दिने आग्रह गरी । आखिर उसकै जीत भयो । सिरिन र दीक्षा खेल्ने लामको पुछारमा गएर उभिए ।  
चारकुने सँरचनाको चार तिर छ, छ जनाको समूहमा लहरै कुर्सिमा बसे जस्तो चौबिस जना बस्न मिल्ने सुविधा थियो । सँरचनाको बीचमा लगभग एक सय मिटर अग्लो बडेमानको मियो ठिङ्ग उभिएको थियो। सबै जनाको सुरक्षा सँयन्त्रले शरिर टमक्क बाँधेपछि स्पीकरमा ठूलो आवाज आयो ।
“सट एण्ड पुल खेलमा यहाँहरुलाई स्वागत छ । अब खेलको काउण्ट डाउन शुरु हुन्छ । दश, नौ, आठ………….तीन, दुई एक ।”
गन्ती अन्त्य हुनासाथ चौबिस जना खेलाडी बोकेको त्यो चारकुने सँरचना केन्द्र भागमा रहेको मियोको आड लिएर आकाश तिर एकै झट्कामा हुँईकियो । सबैजनाको सामूहिक चित्कार “आ……………ई” सुनियो । त्यस पछि तल झर्ने र माथी हुँईकने क्रिया प्रतिकृया केही बेर कायाम रहे । मेरो काम भने मोवाईलमा भिडियो र तस्विर खिच्नु थियो । त्यस्तो चलायामान साधनको भिडियो खिच्न अभ्यस्त नभएको हुनाले आफ्नो बुद्धिले भ्याए सम्म भरमग्दुर प्रयास गरेँ । खेल सकेर दुवैजना ठूलो बाजी जितेको भावले हँसिलो मुद्रामा हामी तिर आए ।
लोअर परेल भन्ने ठाँउको एक थाई-बरमिज रेष्टुरेण्टमा हाम्रो रात्रीकालिन भोजनको कार्यक्रम बन्यो। उबर क्याबले अलिक टाढै छोडिदिएकोले केहीबेर हिँड्नु पर्यो । तर गुगल म्यापको सहारामा गल्ली भित्र अवस्थित ‘उसागो’  नाम गरेको त्यो रेष्टुरेन्ट पनि सहजै फेला पर्यो । हाम्रो भोजनमा फेरी समुद्रि जलचर नै प्राथमिकतामा परे । तर उसागीमा भने एउटा अविस्मरणीय रोचक घटना घट्यो । 
हामीले नेपालीमा कुरा गरेको सुनेर हामीलाई परिकार पस्कने एक सेवकले नेपालीमा सोधे-
“तँपाईहरु नेपाली हो ? ”
“हो । तँपाई कहाँको ?”
“कन्चनपुर । हामी धेरै छौ यहाँ । भान्सामा काम गर्नेहरु पनि कन्चनपुरे नेपाली छन ।”
अब हाम्रो बोलचालको भाषा हिन्दीवाट नेपालीमा रुपान्तरण भएको थियो । भित्तिको पुच्छर छिने जस्तो “भाईसाहब” को लामो पुच्छर काटिएर “भाई”  भै सकेको थियो । “म्याड्याम और कुछ ?” को त्यहाँ कुनै अस्तित्व थिएन । रँगमन्चमा “दिदि अरु केही चाहिएला ?” को पदार्पण भएको थियो । औपचारिकता आत्मियतामा बदलियो ।  सँयोगले परिकार पकाउने, टेबलमा ल्याएर पस्किदिने र स्वाद मानी मानी खाने हामी ठूलो परिवार अर्थात एउटै देशका नागरिक थियौ । टेकेको भुँईमात्र मात्र नेपाल थिएन । त्यो मौलिक क्षणको अर्को रोचक पक्ष परिकार सूचिमा मोमो हुनु पनि थियो । मोमो पनि माग गर्नेकी भन्ने कुराकानी भएको थियो । तर अरु परिकारले नै मिचेका थिए ।
हामी भोजनको अन्तिम चरणमा पुगेका थियौ । एउटा सानो ढाकी टेबलमा आई पुग्यो ।
“यो त मोमो रहेछ ।” छोरीले ढाकीको बिर्को खोल्दै भनी ।
“ए भाई ! मोमो त कुरा मात्र भएको थियो तर अर्डर भएको थिएन त ।”
“यो नेपाली भाईहरुको तर्फवाट तँपाईहरुलाई कोसेली ।”
हामी नतमस्तक भयौ । गर्वले शिर ठाडो भयो ।  हर्षले मन चुम्यो । म पाँचथरमा जन्मेको नेपाली । हामी पूर्वेली । उनीहरु सुदुर पश्चिमका । जीवनमा पहिलो पल्ट भेट हुँदैछ । एकै छिन अघि सम्म अपरिचित । तर हामी एउटै देशका । एउटै भाषा बोल्ने । नाता यति त हो । तर कत्रो सदभाव ! कत्रो पर्म ! कत्रो गुन ! कत्रो सत्कार ! आफ्नो पोल्टामा भएको सबैभन्दा गहकिलो पोको फुत्त अर्कालाई दिनु । यो भन्दा महान अरु के हुन सक्ला । धन्य ! मैले नेपाली भएर जन्म लिन पाँए । यति त हो । नगर्दा पनि हुन्थ्यो । नबोल्दा पनि हुन्थ्यो । कोसेली न दिए पनि हुन्थ्यो । तर देखे पछि, बोले पछि, भेटे पछि त्यो आफैँ हुन्छ । भित्रैवाट गरौ गरौ लाग्छ । मन लाग्छ ।  एउटा नेपालीले अर्को नेपालीलाई गर्नु पर्ने सबैभन्दा विशिष्ट कर्म यही हो ।
अर्को दिन भिस्टारा विमान सेवावाट गोवा जाने अग्रिम योजना थियो । काठमाण्डौ आएका बेलामा सिरिनले मुम्बई-गोवाको हवाई र गोवा-मुम्बईको रेलको टिकट किनिदिनुका साथै गोवाको होटल पनि आरक्षण गरिदिएको थयो । यो सब काम उसले  ईन्टरनेट मार्फत गरेको थियो । आफ्नो मुम्बईमा रहेको बैँकको खाता प्रयोग गरि अग्रिम भुक्तानी समेत गरिदिएको थियो । ईण्डियामा विगतमा भएको सूचना प्रविधिको विकास र यसको समाजका तल्लो तप्का सम्म गरिएको प्रयोग प्रशँशनीय छ । सँचार क्षेत्रमा भने हाम्रो मुलुकमा पनि धेरै प्रगति भएको छ । अहिले मोवाईल प्रयोगकर्ताहरु देशका कुना कुनामा पुगे । तर उबर क्याब र ईन्टरनेट पेमेन्ट जस्ता पद्धति भित्र्याउन भने हामी पछि परेका छौ ।
भारतको अग्रपङ्क्तिको उद्दमगृह ‘टाटा’ को लगानीमा शुरु भएको रहेछ-भिस्ताराको सेवा । टिकट जाँच कक्षदेखि लिएर परिचारिकाको सेवासम्म खोट लगाउने कुनै अँश फेला परेन । सरसफाई देखि लिएर यात्रु सँगको व्यवहार सराहनीय थियो । त्यत्रो लामो इतिहास भएको  नेपाल वायु सेवालाई भिस्टारासँग तुलना गर्न पुग्छु म ।
जहाजमा एउटा भने खट्किने घटना सिर्जना भयो । हामी सँयोगवश अन्तिम सिटमा थियौँ । हाम्रा अघि दाहिने र देब्रेतिर गरि करिब दश जना जतिको समूह थियो । उनीहरु ठूलो ठूलो स्वरमा गैर हिन्दी भाषामा कुरा गर्थे । उडान शुरु हुना साथ आफैले ल्याएको समोसा हसुर्न थाले । जहाज उड्न लाग्दा पनि एउटाले भने मोवाईलमा सँवाद जारी राखेकोले परिचारिकाको हप्की खायो । उनीहरु जहाज भित्र छन । जहाजमा अरु पनि यात्रु छन् । जहाजमा यात्रा गर्दाका लिखित र अलिखित दुवै नियम पालना गर्नु पर्छ । एक जना मित्रले ‘सरोकारवालाको सहभागिता’ शब्दजोडीको परिभाषा दिँदै एक पटक भनेका थिए ।
“जहाजमा यात्रा गर्दा तँपाई एक सरोकारवाला पक्कै बन्नु हुन्छ । तर तँपाईले तोकिएको सिटमा बस्नु पर्छ । सीटको पेटी बाँध्नु पर्छ । परिकार छनौट गर्न सक्नु हुन्छ । सरोकार छ नि त भन्दैमा ककपिट भित्र जाने वा त्यहाँ गएर जहाज उडाउन सघाउने ईच्छा गर्नु भयो भने त्यो अमान्य हुन्छ ।”
तर यी अग्रपङ्तिमा बसेका मान्छेहरु राक्षसी प्रवृतिका लाग्थे । जहाज धावन मार्गमा गुडिसक्दा पनि जबरजस्ती उठ्न खोज्थे । परिचारिकाले केही भन्दा नाजावाफ देखिन्थे । तर एक छिन पछि केही त्यस्तै हर्कत गर्थे । यो मामिलामा जापान या कोरियाले धेरै प्रगति गरेका छन । लाम लाग्दा, समूहमा हिँड्दा वा सेवा लिँदा अनुशासनको पालना गर्ने त्यहाँ जस्तो जमात शायद अन्यत्र नहोला ।    
जहाजले गोवा विमानस्थलमा शकुशल अवतरण गर्यो । अन्तिम सिटमा बसेको हुनाले म ओर्लने पनि अन्तिम व्यक्ति बने । मधुर मुस्कानका साथ परिचारिकाहरुले बिदाई गरे । मेरा अघि बसेका दैत्य रुप धारण गरेका पात्रको तुलनामा आफूलाई फरक सावित गर्ने लहड चल्यो । तर त्यसको लागि के गर्ने त ? एउटा उपाय सुझ्यो ।  परिचारिका सँग अन्तिम तर मीठो अनौपचारिक सम्वाद गर्ने ।
“यो जहाजमा कतिवटा सिट छन् त ?” मैले मुस्कान पस्किरहेकी परिचारिकासँग आँखा जुधाउँदै सोधेँ ।
“एक सय अटचालिस छन, सर !” सम्भवत: उनको अभिव्यक्तिमा रहेको सँख्याको जानकारी भन्दा अन्तिमको ‘सर’ सम्बोधन प्रिय थियो ।
फूलको जवाफ फूलले नै दिँए । “फुलको आँखामा फुलै सँसार” । त्यसै भनिएको हैन ।   
“विवेकीले मौका पारेर काँडाले पनि सियोको काम लिन सक्छ ।” भने जस्तै मैले पनि यी दानवी प्रवृतिका झुण्डवाट एक काम लिन समर्थ भएँ । सामान संकलन गर्न दुई तिरका सर्ने पेटी चालु थिए । म एकैछिन अन्यौलमा परेको थिएँ । सूचना खोज्न लागेँ । तर यो झुण्ड हल्ला गर्दै दोस्रो स्थान तिर लाग्यो । म पनि त्यतै लागेँ । नभन्दै हाम्रो सामान त्यसैमा भेटियो ।
अग्रिम शुल्क तिरिएको ट्याक्सी लिने लामै लाईन रहेछ । म पनि त्यसको पुच्छरको एक अँश भएँ । छ सय पचासको बिल बन्यो । भाडा भने सवारी चालकले नै पाउने नियम रहेछ । तर यति हुँदा हुँदै पनि बाटोमा भने उसले चुलोमा अर्को भाँडो बसाल्ने कोशिष गर्न थाल्यो । “डन्ट कुक अन सेभेरल स्टोभ्स” अर्थात “धेरैवटा भाँडामा नपकाउ” भन्ने यो उखान बैँककमा हुँदा जर्मनका एक प्राध्यापकले सुनाएका थिए । बडो सान्दर्भिक लाग्छ यस्ता वेलामा ।
“ ओयो रुम भन्ने सेवा गतिलो हुँदैन । कहिले होटल भेटिन्न । खै तिम्रो होटलको पनि ठेगाना स्पष्ट छैन । समुद्र किनारमा कस्ता राम्रै सुविधा भएका होटल पाईन्छन् ।” आदि । चालकको भनाईको आशय थियो ।
 यस्तै वेला त हो मोवाइलको फाइदा । तर मैले मुश्किलले ओयोको ग्राहक सेवा केन्द्र मार्फत चालक सँग सम्पर्क गराएँ । सेवा केन्द्रले उसालई होटलको ठेगाना अर्थ्याईदियो । यसैले उसका दाबी र तर्कमा हाम्रो ध्यान गएन ।  त्यसपछि उसको मुखमा बडेमानको बुझो लाग्यो ।    
‘ओयो रुम’ भन्ने यो सुविधा उपलब्ध गराउने काम खासमा एक ‘बिचौलिया’ कम्पनीले गर्दो रहेछ । लगभग चालिस मिनटको यात्रा पछि हामी ‘फोर पिलर’ नामको होटेल पुग्यौँ ।
तर होटलमा पुग्ना साथ “पहिलो गाँसमा नै ढुङ्गा” को उखान चरितार्थ भयो । सर्वप्रथम त होटल अलि निर्जन ठाँउमा रहेछ । दोस्रो-ईन्टरनेट सुविधाको लागि आवश्यक वाईफाई पनि उपलब्ध रहेनछ । तेस्रो-तिन व्यक्तिको मूल्य तिरिएको भएता आरक्षित कोठामा बेड भने दुई मात्र । श्रीमती र छोरीको दिक्कलाग्दो प्रतिकृया आयो । तर के गर्ने ? समस्या निस्कियो भनेर प्रतिकृया दिनु मात्रको कुनै अर्थ हुँदैन । म समाधान खोज्न तिर लागेँ । सम्झौता भयो । अर्को कोठा उपलब्ध गराईयो ।    
गोवाको पहिलो दिन पर्यटकलाई घुमाउने बसबाट यात्रा गर्ने निधो भयो । दुई विकल्प थिए ।  समुद्री किनारमा अवस्थित पर्यटकिय स्थलहरुको बाहुल्यता भएको उत्तरी भेक जाने कि ? मन्दिर र चर्च को बाहुल्यता भएको दक्षिणि भेक जाने ? हाम्रो रोजाईमा पहिलो पर्नु अस्वभाविक थिएन । तर तोकिएको समय भन्दा आधा घण्टा ढिलो आएको बसले अरु डेढ घण्टा यात्रु संकलन गर्दैमा बितायो ।
जे होस हामी कोको समुद्री तट पुग्दा विहानको एघार बजिसकेको थियो । यो पहिलो गन्तव्यको प्रमुख आकर्षण थिए- कोको समुद्रमा नौकाबिहार र डल्फिनको डुबुल्कीको दृष्यपान । हाम्रा पथप्रदर्शक मित्र बडा रसिला रहेछन् । उनका चोटिला अभिव्यक्तिले हामीलाई मन्त्रमुग्ध बनायो ।
“साईत पर्यो भने दुई डल्फिन एकै साथ देख्नु हुनेछ । ती मायामा बाँधिएका प्रेमी र प्रेमिका जोडि हुन भन्ने बुझ्नु होला । तर यहाँ तँपाईहरुले पारपाचुके गरेका श्रीमान र श्रीमती मात्र भेट्नु हुनेछ ।”
यो स्मरणीय बयान उनैको थियो । यसले कुनै रोचक गतिबिधि नपाएर ओईलाएका यात्रु गलल हाँसेका थिए ।
ब्यागाटर समुद्री तटको अवलोकनका लागि प्रस्थान गर्नु अघि भ्रमण सहजकर्ता मित्रले अर्को महत्वपूर्ण जानकारी दिए ।  
“यो समुद्र तटको चट्टान लोकप्रिय हुनुको विशेष कारण छ । रँगिला फिल्मकी नायिका उर्मिला मन्टोनडकरले यहि चट्टानमा नाचेकी थिईन । तर आज त्यहाँ तँपाईहरुले चट्टान चैँ देख्नु हुनेछ तर त्यहाँ उर्मिला भने भेटिने छैनन् ।“    
कालागुँटे तटमा भने हामीले साढे एक घण्टा बिताउन पायौँ । सुन जस्तो बालुवा र सागरको कन्चन पानीले हाम्रो दिल खोलेर स्वागत गरे । यहाँ भने पर्यटकको घुँईचो नै देखियो ।   
गोवाको एउटा विशेषता भने नरिवलका रुख मिसिएको जँगल रहेछ । यस्ता सुरिला रुखहरु आकाशै छुने गरी अग्ला भएका लाग्छ मलाई । नरिवलका रुखले आकाशमा बनाएको छाता हेरिरहुँ जस्तो लाग्छ ।  वनजँगलको सघनता र पानीको प्रचुरता गोवाका गहना रहेछन् । समुद्रको अलावा ठूला ठूला पानीका दहहरु र नदीहरु पनि बाक्लै देखिए ।   
गोवा भ्रमणको दोस्रो दिन पनि हामीले कालागुँटे सागरमा नै बितायौँ । हामी बसेको ठाँउ पान्जिमबाट सार्वजनिक बसमा त्यहाँ पुग्यौँ । यो यात्रा दुरीको हिसाबमा १६ किमी, भाडाको हिसाबमा भारु २५ र समयको हिसाबमा एक घण्टाको थियो । गोवामा ट्याक्सीको भाडा भने प्रति किमी सालाखाला रु २५ पर्दो रहेछ । बस मालिक, प्रहरी, महिला सहायता र बालबालिकाको सहायताका सम्पर्क फोन नँ हरु बसका भित्तामा लेखेको मन पर्यो । यस्तै बसको सीटको सँख्या र उभिने संख्या पनि स्पष्ट लेखिएको पाईयो ।    
हामीले पानीका छालसँग अरु पर्यटक जस्तै कुस्ती खेल्यौ । स्थिर पानीमा डुबुल्की मार्दा मात्र शरीर भिज्दछ भने निश्चित उचाई भएको गतिशिल पानीमा खाली उभिए मात्र पुग्छ । परवाट सर्दै आएका उर्जाशील छालहरु किनारमा पुगे पछि अस्तित्व विहिन हुने । बडो रमाईलो भयो । बालुवाको विस्कुनको पनि मजा लिँदै हामीले अधिकांश समय सागरमा नै बितायौं । त्यसपछि हामी बजार घुम्न गयौँ । गोवाको केही न केही कोसेली ल्याउने रहर थियो । पान्जिम र कालगुँटेका बजारको एक मुख्य आकर्षणको रुपमा काजुका पसलहरु देखिए । ठाउँ ठाउँमा खुद्रा बिक्रेता । कुनै कुनै थोक बिक्रेताका साईनबोर्डहरु पनि देखिए । हामी गल्लीतिर अलि एकान्तको एउटा पसलमा पुग्यौ । विभिन्न किसिम र विभिन्न दामका काजुका पोकाहरु देखिए । बोक्रा भएको, बोक्रा नभएको, सतहमा चकलेट राखिएको जस्ता काजुका प्रकारहरु देखिए । काजुबाट बनेका चकलेटहरु पनि हुँदा रहेछन् । काजुले गोवाको कोसेलीको रुप धारण गर्न बेर लागेन । गोवाकै उपज ल्याउन पाएकोमा हामी दँगदास भयौँ ।        
अर्को दिन मारगाँउबाट रेल चढेर मुम्बई आउने योजना थियो । दुरन्तो एक्सप्रेसको टिकट थियो । हामी रेल छुट्ने निर्धारित समय भन्दा एक घण्टा अगावै स्टेशन आईपुगेका थियौ । एक छिन त दुरन्तो रेलको बारेमा कुनै जानकारी नभेटेर रनभुल्लमा परेका थियौँ । गोवामा ठाउँको नामले पनि अलमल्ल पार्दो रहेछ । “यम ए डि” को हिज्जे भएकोले मैले त शुरुमा यसलाई म्याडगाउँ भने । यसको शाब्दिक अर्थ हुन्छ-पागल गाउँ । यसले मैले अहिले सम्म पढ्न नभ्याएको तर पढ्ने सूचिमा राखेको सरुभक्तको कृति पागल बस्तीको स्मरण गरायो ।
रेलको यात्रा आरामदायी नै भयो । तीन पटक त खाना नै वितरण गर्दो रहेछ । रेल भित्रको वातानुकुलित सुविधाले गर्दा भने अलि जाडो महशुश भयो । शायद वातावरणको तापक्रम सँग तालमेल हुन नसकेर होला ।   
हामीले मुम्बाईमा पुन एक रात बितायौँ ।  
काठमाडौं  आउने फिर्ति उडान समय अपरान्ह ५:२५ को थियो । यसैले बिहान मुम्बईका प्रख्यात देवता सिद्धिविनायकको दर्शन गर्न जाने योजना बन्यो । सम्भवत मैले दर्शन गरेका गणेशजीका मन्दिरहर मध्ये यो अहिले सम्मकै ठूलो थियो । मन्दिर जाँदा पनि प्रहरी चेक जाँच हुने नियम चै अनौठो नै लाग्यो । नेपालमा मैले दर्शन गरेका गणेशजीका आस्था पीठहरु कमलादीको सिद्धि विनायक, खोकनाको कार्यविनायक, चोभारको जलविनायक र वातावरण मन्त्रालय सिँहदरबारको बुद्धिविनायकको स्मरण ताजा भयो । व्यवस्थित लाईन, सफा परिसर, चिटिक्क परेका सफा लुगा लगाएका पुजारीहरु र मन्दिर व्यवस्थापन समितिले नै वितरण गरेर बेच्ने पोका-प्रसाद आदि आकर्षणका केन्द्र बने ।     
भिस्टारा वायु सेवा वाट गोवा जाँदा अन्तिम घडीमा मात्र विमानस्थल पुगेकाले यस पटक भने हामी चनाखो भएका थियौ । यसैले टिकट जाँचकक्षमा पुग्दा काउण्टर खुलेकै थिएन । तर यसपटक भने नेपाल वायु सेवाको उडान निर्धारित समयमा नै छ भन्ने जानकारीले हामीलाई उत्साहित बनायो । अध्यागमन कक्षको समेत काम सकेर ड्युटि फ्रि क्षेत्रमा पुग्दा पनि हामी सँग दुई घण्टा समय बाँकी थियो । अब के गर्ने ? प्रश्न उभियो । मलाई भने कतिखेर समय पाईएला र यो नियात्राका शब्दहरु टँकन गर्न पाईएला भन्ने थियो । तर सहयात्री श्रीमति र छोरीलाई अल्झाउने काम न भै यो सँभव थिएन । चमेना गृहमा गएर हामीले केही पेय पदार्थ र खाजा खायौँ । त्यसपछि लाग्यौ-वाईफाईको खोजीमा । कसैले जानकारी दियो- यो सूचना कक्षमा पाईन्छ । हामी त्यसकै खोजीमा लाग्यौ । एक जना गाढा रातो साडी लगाएकी युवती सेवामा हाजिर भेटिईन । उनले हाम्रो पासपोर्ट र बोर्डिङ् पास मागेर रजिष्टरमा विवरण भर्न थालिन । त्यस पछि हामी लाई गोप्य सँकेत भएका दुईवटा चिट दिईन । जाबो वाईफाईको सुविधा दिन पनि यो परम्परागत तरिका प्रयोग गरेको देखेर मुम्बई विमानस्थललाई पूर्ण आधुनिक हुन अझै समय लाग्ने देखेँ । किनभने आजभोलि अरु विमानस्थलमा वाईफाई भनेको कुनै औपचारिकता विना सित्तैमा प्रयोग गर्न पाईन्छ । यसैलाई चुरो बनाएर मैले ति युवतीसँग एक अनौपचारिक प्रसँग सिर्जना गरेँ ।
“सहयोगको लागि धन्यवाद ।’ मेरो अभिव्यक्ति  ।  
“तपाईलाई स्वागत छ ।” युवतीको जवाफ ।  
“म आशा गर्छु यात्रुको नाम लेखेर दर्ता गर्ने यो तरिकाले चाँडै विश्राम पाओस । यसलाई डिजिटल पद्धतिले विस्थापन गरोस ।” मैले उनको अगाडिको खाताका भरिएका पृष्ट देखाउँदै भने ।
“……………….।” जवाफमा उनका शब्द निस्केनन् । अहिलेसम्म गम्भीर भाव पोतिएको अनुहारमा एकाएक जँगलको बीचमा फूल फुलेझैँ मुस्कान उम्रियो । त्यसले सुनमा सुगन्ध थप्यो । एकाएक लालुपातेको फेद देखि शिर सम्म नै ‘लालीमय’ भयो । मुम्बई-गोवा यात्राको सबैभन्दा अन्तिम मुस्कान पनि यहि बन्यो ।   
नेपाल वायु सेवा निगमले फेरी अनिश्चितता पस्केको थियो । अपरान्हको ५:२५ को उडान समय भएता पनि जहाज ६ बजे मात्र अवतरण गरेको थियो । निर्धारित समय भन्दा एक घण्टा ढिलो मात्र हामीले विमानमा प्रवेश गर्न पाएका थियौँ भने लगभग अर्को एक घण्टा धावन मार्गमा उड्नका लागि पर्खनु परेको थियो । यो यात्रामा नेपाल वायू सेवाले पस्केको अन्तिम गाँसको ढुँगा बन्यो- साम्यवादी खानाको परिकार । रोजाईको अवसर थिएन । शाकाहारी परिकार मात्र थियो । ‘किन यस्तो’ भन्ने प्रश्नको गैरजिम्मेबारी उत्तर आयो।
“मांशाहारी परिकार सिरानतिर बसेका यात्रुलाई बाँडेर सकियो ।”
जबकी जहाज आधा मात्र भरिएको थियो र हामी बीच भाग तिर बसेका थियौ ।
महाराष्ट्र र गोवामा “न” को ठाँउमा ”ण” को प्रयोग अधिक हुँदो रहेछ । जस्तै- ‘पानी’ लाई ‘पाणी’, ‘अनि’ लाई ‘अणि’, ‘पान्जिम’ लाई ‘पणजी’ आदि भनिदो रहेछ। रीता र दिक्षाले मलाई पनि “णवराज” भनेर जिस्क्याए । मैले पनि ‘न’ र ‘ण’ को विस्थापन गरेर एक वाक्यको अनौठो कल्पना गरेँ । 
‘णवराज अणि णमुणाले णहरको पाणीले णुहाए ।‘
अर्थात
‘नवराज अनि नमुनाले नहरको पानी ले नुहाए ।‘
साभार :  http://ujyaaloonline.com/news/52861/blog/