Monday, November 21, 2016

विराटनगर हवाई यात्राको साजी नियात्रा : लुगा छोप्न लाज लगाइन्छ

त्रिभुवन विमानस्थलको नवनिर्मित आन्तरिक टर्मिनल भवनमा निर्धारित समयभन्दा पन्ध्र मिनट जति अगावै पुगेँ । कात्तिकको पहिलो हप्ताको पारिलो घामसँग प्रत्यक्ष भेट भयो । यो साल मनसुनी वर्षा ढिलोसम्म टिकेको थियो ।  यसैले भर्खरै ज्यान पाएका घामका सुनौला किरणहरु लोभलाग्दा हुने नै भए ।

नयाँ टर्मिनल भवन पश्चिम मोहोडाको बनाइएको हुनाले प्रतिक्षालय न्यानो र घमाइलो हुने रहेछ । म घाम मज्जाले लागेको कुर्सी खोजेर बसेँ ।  तर तिम्ल्याहा कुर्सीहरु एक आपसमा जोडिएकाले छुट्टै कुर्सीमा एक्लै बस्ने अवसर मिलेन ।  लक्षित कुर्सीको देब्रेतिर पहाडे मूलका दुई पुरुष बसेका थिए । दाहिने तिरको कुर्सी भने खाली थियो । म चुपचाप ल्यापटप खोलेर लेख्न थालेँ ।

आज मेरो अनलाइन लेख्ने योजना छ । जे देखिन्छ, जे भेटिन्छ त्यसलाई जस्ताको तस्तै शब्दमा तात्तातै परिणत गरिहाल्ने । लेखनमा सकेसम्म वर्तमान काल नै प्रयोग गर्ने । यसलाई मैले अनलाइन लेखन अर्थात साजी लेखनको सँज्ञा दिएको छु । यात्रामा सिर्जना हुने भनेका कि त नौला दृष्य हुन,  कि त परिचित वा अपरिचित व्यक्तिसँग बोलिने सम्वादहरु ।

मेरो ध्यान बिथोलियो । दाहिने तिरको कुर्सीमा भने एक मधिसे मूलका व्यक्ति हातमा बोर्डिङ् पास र नागरिकता च्यापेर बस्न आई पुगे ।   

"आप किधर जा रहे हैँ ?" उनले हामीतिर लक्ष्य गरी हिन्दीमा प्रश्न सोधे ।
हाउभाउ र प्रश्नले उनी कुनै सूचनाको खोजीमा छन् जस्तो लाग्यो । बसको खलासीले यात्रुको शिकार गर्दा सोध्ने प्रश्न यही हो । उसँग 'बस कहाँ जान्छ' भन्ने सूचना हुन्छ तर उ यात्रुलाई सोध्छ- 'कहाँ सम्म हो' ? तपाईँ जुन सुकै ठाउँ जानुहोस् वा उसको बस जुनसुकै ठाउँमा जाने होस् । उसले सकेसम्म रुट मिलाएर तपाईलाई लैजाने सपना पालेको हुन्छ ।

"कसलाई ? मलाई भन्नु भएको ?"  मैले हिन्दीको सट्टा नेपाली वोलेँ । जवाफ दिइन । प्रश्न नै सोधेँ ।
उनी अकमकाए ।  

"आप कहाँ जा रहा है ?"  मेरा देब्रेतिर बसेका मित्रले आगन्तुकलाई सोधे ।

"हातमा नेपाली नागरिकता भएपछि नेपाली बोल्न सम्म त जानेका होलान्" भन्ने मेरो अनुमान थियो । आगन्तुकले भने 'त्यहाँ भेटिएका सबै यात्रुले हिन्दी बुझ्दछन्' भन्ने अनुमान गरेका थिए होला । मेरो सोचाई ठ्याक्कै मिल्यो । उनी सिमरा जानेरहेछन् । प्रस्थान कक्षको सूचनाको खोजीमा रहेछन् । हामीले प्रस्थान कक्ष देखाईदियौ ।

अहिले म मुख्य प्रतिक्षालयमा दक्षिणतिर फर्केर बसेको छु । अब के को बरेमा लेख्ने भनेर नौला दृष्यहरु खोज्दै छु । कोही ईष्टमित्र भेटिन्छ कि भनेर आँखा डुलाउँदै छु ।  एकाएक दृष्टिपटको रँगमन्च जाज्वल्यमान हुन्छ ।  खैरो रगँको बुट लगाएर अर्को लहरमा तर ठ्याक्कै मेरो सामुन्नेमा कुर्सीमा बसेकी एक युवती पर्छिन् । म सकेसम्म उनको रुप,  बसाई र व्यक्तित्वलाई शब्दमा उतार्ने प्रयासमा गर्छु । तर हौसिएको मनको महल गर्ल्यामगुर्लुङ् ढल्छ । सास अलि फुलेको जस्तो हुन्छ । उकुस मुकुस बढ्छ । शरीरको तापक्रममा बृद्धि भएको जस्तो हुन्छ । पसिना आएको जस्तो पनि अनुभूति हुन्छ ।

"खुब साजी खजाना बटुल्ने भएको । भेटिस ! तथाकथित नियात्राकार । आयो निदुली अब तेरो काल !" म भित्रको लेखकलाई कसैले साउती गरे जस्तो लाग्यो ।

"नक्कलीले आजै त्यस्तो भिर्नु परेको । अनि त्यही सामुन्नेको लहरमा बस्नु परेको । मलाई दशा लागेका । आज अनलाईन लेख्ने बाचा बाँधेको अनि यही सिटमा अन्मरिन परेको ।" अर्को मनले भैपरिआएको परिवेशलाई अस्वीकार नगर्नका लागि केही सान्त्वना बटुल्यो । 

तर नियात्राकारले हिम्मत हार्ने कुरो भएन । बरु लेखाईको गियर परिवर्तन गर्ने निधो गर्यो ।

मेरो दृष्टिपटलमा रहेकी युवतीले एक थान मात्र लुगा लगाएकी छन् । उनको जीउ र खुट्टा गरी दुई तिहाई मात्र ढाकिएको छ। रातो रगँको लुगा भएकोले उनको व्यक्तित्व त्यसमा राम्रैसँग खुलेको छ । गर्धनदेखि घुँडा सम्मको शरीर ढाक्ने यो लुगालाई के भन्दा हुन थाहा भएन । नेपालीमा त नाम पनि नहुँदो हो । कम्मरमा बाँधेर गोलीगाँठा सम्म ढाक्नेलाई जामा भनिन्छ । जामा जस्तै तर ती भन्दा छोटा वस्त्रलाई स्कर्ट भनिन्छ ।  उनका हातका बाहुला भने घडी बाँधिने ठाउँसम्म आईपुगेका छन् । लुगाले घुँडाबाट पाँच अँगुल जति माथी सम्मको भाग ढाकिएकोले बाँकी प्रष्ट देखिएका छन्।

"धन्य प्रभु ! तिम्रो कृपाले यिनले बस्दा एक आपसमा गोडा जोडाएकी छन् । नत्र यो प्रतिज्ञारत लेखकको आज हविगत के हुने थियो । यी हातले लेख्ने आधुनिक कलमले अनेकथरी चिजबिजको वर्णन गर्नु पर्ने थियो ।" मैले विधातालाई सम्झिएँ ।

स्कर्ट लाउने जो कोही लाई भैपरिआउने यो ठूलो फसाद होला । कुर्सीमा वा सोफामा बसेका बेला गोडाको भाग एक अर्कामा नजोड्ने हो भने भित्री लुगासमेत देखिन सक्छ । कतिपय गोडा खप्ट्याएर छड्के पारी बसेका हुन्छन । 

"भित्री लुगा पनि नलगाउने वेसोमतिहरु हुन्छन रे ।" कहिँ पढेको सम्झन्छ नियात्राकार ।

"आज यिनको पनि बुद्धि बिग्रेको भए ।" उसको मनको ढुकढुकी अझै बढ्छ ।

"विदेश होइन । नेपाल हो । यस्तो पराकाष्टा हुँदैन ।" मन थामथुम पार्छ ऊ । 

उनको मझौला कद र अलि मोटो शरीर भएर पनि होला गोडा जोड्न सजिलो भएको ।  लामतिघ्रेलाई त यति गर्न पनि कठिनै हुँदो हो । तिघ्रा जोडाउनुको अर्थ पनि पनि जे नदेखिनु पर्ने हो त्यही नदेखियोस् भनेर होला । सार्वजनिक स्थलमा भन्दा औपचारिक बैठकमा झन सकस पर्दो हो ।

"गर्नेलाई भन्दा देख्नेलाई लाज ।"  मैले लोकोक्ति सँझिए ।

यसैले स्कर्टको अझ त्यसमा पनि छोटो स्कर्टको पहिरन मलाई अनौठो नै लाग्छ । म भने त्यही दृष्यमा केन्द्रित भएर ल्यापटपमा लेखिरहेको छु । म त्यता निरन्तर हेर्न सक्दिन । घरि घरी चोरी दाउले मात्र हेर्छु ।
"बाबै ! शाकाहारी भएर सबै स्थानमा कहाँ व्यवहार चल्छ र ?" मैले नियात्राकार महोदयलाई सान्त्वना दिएँ । 
यिनै हरफहरु लेख्दा लेख्दै उनी उठेर गइन । मेरो प्रेतरुपी नियात्राकारलाई ठूलो राहत मिल्यो ।
युवती हिँडेको केही क्षणमा भने कथाले अर्को नाटकीय मोड लियो । त्यही सिटमा एउटा मोटो मान्छे आएर बस्यो । उसले जिन्सको पाइन्ट लगाएको छ । उस्का भने तिघ्रा जोडिएका छैनन् । मलाई अचम्मको अनुभूति भै रहेको छ ।  स्वभाविक हो उस्को भित्री लुगा र लाजको अस्त्र छोपिएको छ । तर उसको बारेमा लेख्दा भने मलाई अघिको जस्तो कुरी कुरी लाग्दैन । म निर्धक्क भएर त्यस व्यक्ति लाइ हेर्छु । नियात्राकार निर्धक्क मात्र होइन छाती फुलाएर लेख्छ । म पुरुष भएको हुनाले यसो हुनु स्वभाविकै होला । यहाँ निर म नियात्राकारको कमजोरी फेला पार्छु । वास्तवमा एउटा लेखक भनेको तटस्थ हुन सक्नु पर्ने हो । शाकाहारी होस् या माँशाहारी होस् । तरुनी होस् या तरुनो होस् ।  वेश्या होस् या अप्सरा । कुनै विषयको लेखनमा पनि आग्रह या पुर्वाग्रह नहुनु पर्ने हो ।

यस विषयको एउटा उल्लेखनीय पक्ष छ । महिलाको तुलनामा पुरुषका भने अङ्ग प्रदर्शन गर्ने खालका पहिरन खासै भए जस्तो लाग्दैन । शरीरको आकार वा माँशपेशी प्रदर्शन गर्ने भन्ने छुट्टै कुरो हो । वास्तवमा गुन्यु वा जामाकै छोटो रुप स्कर्ट हो । कट्टुको लामो रुप सुरुवाल । यी दुई खालका लुगामा भएको तात्विक भिन्नता भनेको भुँई हुनु र नहुनु हो । गुन्यु, साडी वा फरियाको भुँई हुँदैन, ह्वाँगै हुन्छ,  तर कट्टु, सुरुवाल र पाईजामाको भुँई हुन्छ । चाहे त्यो सिरानमा नै किन नहोस् ।  

यो लुगा लगाउने कुरा पनि गजबकै हो । अनुहार देखाउन हुने । टाउको, हात, खुट्टा सार्वजनिक गर्न हुने ।  तर केही सँवेदनशील अङ्गहरु छोप्नु पर्ने । कथमकदाचित सार्बजनिक भै हालेमा शरम लाग्ने । नदेखिनु पर्ने अङ्ग देखिन्छ कि भनेर सतर्क हुनु पर्ने । हुन त मुस्लिम समुदायमा अझै पनि युवतीहरुले अनुहार पनि सार्वजनिक स्थलमा छोपेर हिँड्नु पर्ने परिपाटी छ । हाम्रै नेपाली समाजमा पनि केही समय अघि सम्म शरिरका अङ्ग पुरै छोपेर लुगा लगाउने चलन थियो । तर अहिले साडी लगाउने महिलाहरुले पनि चोलोको पछाडिको भाग आधा ह्वाङ्गै पारेको देख्छु । पाईन्ट लगाउने युवा युवतीले च्यातिएर प्वालै प्वाल पारिएको लगाएको देख्छु । सार्वजनिक स्थलमा पनि पृथ्वीका अप्सरा र परीहरुले पारदर्शी लुगा लगाएर तिघ्रा टल्काएको वा बक्षस्थलको आकार प्रष्ट्याएको वा तिनलाई छोप्ने ढकनी र तुना देखाएको पाँउछु ।

अनि कसैले भनेको सम्झन्छु-


उहिले बाजेका पालामा
लाज छोप्न लुगा लगाइन्थ्यो ।
हाम्रा बाआमाका पालामा
लाज उघार्न लुगा लगाइन थाल्यो ।
अहिले हाम्रा पालामा
लुगा छोप्न लाज लगाइन्छ ।

जानी जानी लाज उघार्ने लुगा लगाउनु र कहिलेकाहि अन्जानमा दुर्घटना भएर भित्री अङ्ग देखिनुमा फरक छ । बैँकक विमानस्थलमा घटेको मेरो आफ्नै जिपर काण्ड सम्झिएँ । वेसुरे भएँछु, पाइन्टको जिपर त खुलै रहेछ । अध्यागमनको काम सकेर सुरक्षा जाँचको लागी पेटी आदी फुकाल्ने क्रममा कसो कसो जिपर पनि खुलेछ । एउटी औपचारीक पहिरन लगाएकी हातमा शरीर जाँच्ने लट्ठी बोकेकी अग्ली सुरक्षाकर्मीले हातले ईशारा गरेर देखाइदिई । म त लाज र शरमले पानी पानी भएँ । हत्तपत्त अरु कसैले पनि देख्ला कि भनेर जिपरको व्याकरण मिलाएँ । जहाज भरी त्यसको मात्रै सम्झना आयो । अरु  चिनजानका साथीभाइका अघि 'यो हरिलठ्ठकको जिपर खुलै थियो' भनेर त्यही युवतीले भन्दिने कुयोग आइलागेको भए अझ कति लाज लाग्थ्यो होला । कन्त बिजोगै हुन्थ्यो होला ।

त्यसो त यस्तो बेलामा केटाहरु मात्र भएको स्थिति भयो र परिस्थितिको सामना गर्न जान्यो भने रमाइलो पनि सिर्जना हुन्छ । मेरो जागिरे जीवनको दोस्रो खुट्किलोमा पाइला राखेको बेला जाजरकोटमा एउटा रोचक प्रसँग सिर्जना भएको थियो । मेरा हाकिम बडो रौसे थिए । एक पटक जिल्लाका प्रमुखहरु समेत भएर बाटामा हिँडेको बेला बुढाको जिपर खुलै रहेछ ।

"सरको पोष्ट अफिस पो खुलै रहेछ ।" कसैले उनलाई सतर्क गराईदियो ।

"के भन्छ यो खोपजङ्ग ?" उनले अलि आत्तिएको स्वर निकाले  । उनी आफ्ना दौँतरी र कनिष्ठलाई ठट्टा गरेर "खोपजङ्ग' भन्थे ।

तर तुरुन्तै आफूलाई सम्हाले अनि स्वभाविक भएर भने- 
"पोष्ट अफिस खुलेर के भो त ! आखिर चिट्टी पत्र आएका छैनन् क्यारे ।" कान्लो छुने गरी बाटामा हाँसो पोखिएको थियो।

त्यसो त नग्नतालाई सार्वजनिक गर्न मिल्ने र नग्न जमात भए पनि एकले अर्कालाई क्वारक्वार्ती नहेर्ने स्थानहरु नभएका होईनन् । समुद्रिकिनारमा बालुवामा पल्टिँदा वा छालसँग खेल्दा लगौटी आकारका न्युन क्षेत्रफल भएका वस्त्रले सँवेदनशील अङ्ग ढाक्ने चलन छ । थाईल्याण्ड र जापानका समुद्रितटमा घुम्न जाँदा यस्ता पर्यटकीय स्थलहरुमा शरिरका सँवेदनशील अङ्ग मात्र ढाकेका नारीपुरुष नदेखिएको होईन । अझ जापानमा त तातोपानीका दहहरुमा निवस्त्र भएर मजा लिने चलन छ । प्राय यस्ता दहहरुमा स्त्री र पुरुषका लागि अलग अलग कक्षहरु हुन्छन् । तर केही यस्ता दहहरु पनि छन् रे जहाँ नरनारी दुवै निवस्त्र भएर तातोपानीमा डुबुल्की मारेर आनन्द लिन्छन रे । तर आफूलाई भने तीन-तीन वर्ष जापानमा बस्दा यस्तो अवसर जुरेन ।

पराईजनको नङ्नतालाई नचाहँदा नचाहँदै हेर्नु पर्ने बाध्यता भने बैँककमामा रहँदा अनुभुति गरिएको छ ।  स्वीमिङ् पुलमा पौडि खेली सकेपछि स्नानघरमा नुहाएर लुगा फेर्दा यो अनौठो दृष्य देखिन्थ्यो । स्नानघरमा पुरै भित्ता ढाक्ने गरि ऐना राखिएको थियो । खासगरी चिनिया मित्रहरु एक धरो पनि लुगा नलगाई ऐना तिर फर्केर आफ्नो शरिर नियाल्ने वा तौलियाले जीउ पुछ्ने गर्थे । आफू भने स्नानकक्षमा नै जीउ पुछेर कट्टु लगाई बाहिर निस्कने ।

"हरामी त पशुपतिनाथ परिसरका कालभैरवले जस्तो अस्त्र ठड्याएर बसेको । कस्तो कु-साईत पर्यो ।" ऐनामा देखिएको दृष्य देखेर यसरी मुरमुरिएका सम्झना ताजा छ ।

शायद आफ्नो नग्नताको गोपनियतालाई सार्वजनिक नगर्ने सँस्कार भएर नै यसो भएको होला । किनभने केही समय अघिसम्म पनि र अहिले पनि गाउँघरमा सार्वजनिक धारामा वा नदी खोलामा नुहाउने चलन छ । यस्तो वेला पुरुषले कट्टु लगाएर वा स्त्रीले पेटीकोट माथी सारेर वक्षस्थल समेत छोप्ने चलन छ ।  अरुको अघि नाङ्गै नुहाउने काम भनेको स-साना नानीहरुको हकमा बाहेक ठूलाले गर्दैनन् ।
बुद्ध एयरको काठमाण्डौ-विराटनगरको उडानमा दुईवटा भने उल्लेखनीय घटना घटे । मैले टिकट जाँच कक्षमा देब्रे तिरको झ्यालको सिट मिलाउन भनेको थिएँ । नभन्दै मैले रोजेकै सीट पाएँ । तर म पुग्दा एक भलादमीले मेरो सीटमा आसन जमाएको पाँए । सँयोगवश एक एयर होस्टेज अर्थात हवाई सुन्दरी नजिकै थिईन । मैले उनलाई बोर्डिङ् पास दिँए । उनले मेरो सीट देखाईदिईन । भलादमी मलामी-गाम्भिर्यताको काँचुली ओड्दै ओल्लो सीटमा सरे । तर बसीबसी मलाई झ्यालको सीटमा जाने ईशारा गरे । त्यसरी जान सँभव थिएन । उनलाई मैले उठ्ने आदेश नै दिनु पर्यो ।

"यो मान्छे भलादमी होईन । तन्तु नभएको जन्तु हो । यो सँग मेरो भाषा मिल्दैन । कुरो गर्नु वेकार छ । तर अन्तिम मौका दिन्छु । हेरौ यसले चकलेट कति लिन्छ । मुठ्ठीभरी लियो भने पक्कै यो गड्यौल्यान्छे नै हो । म यो सँग बोल्दै बोल्दिन ।" मेरा छिमेकी सह-यात्रीका बारेमा मष्तिष्कमा यिनै भावनाहरु उम्रिए ।
नभन्दै उसले एक मुठी चकलेट हडप्यो । मैले हवाई सुन्दरी सँग आँखा जुधाउँदै दुईवटा लिएँ । सुन्दरी पनि तन्तु नभएकै परिछिन कि क्या हो !  या त उनको हिँड्ने वेलामा लोग्नेसँग झगडा गरेकी थिईन । मलामी गाम्भिर्यताको काँचुली भिरेको मुस्कानरहित अनुहार । नत्र मैले दुईवटा मात्र चकलेट लिएर उनी तिर हेर्दा मुस्कुराउनु पर्ने !

सेवा प्रदायक र सेवाग्राहीको स्नायू मिल्यो भने रमाईलो सिर्जना हुन्छ । दुवैको काम पनि सहजताका साथ सम्पन्न हुन्छ । त्रिभुवन विमानस्थलको टिकट जाँच कक्षमा सिर्जना भएको एक रोचक प्रसँगको स्मरण ताजा भयो ।

म र सूर्यमान सर गोमा एयरको उडानवाट सुर्खेत जाने क्रममा थियौँ ।

जाँच कक्षमा वहाँ भन्दा अघि थिएँ । मेरो काम सकियो । वहाँको पालो आयो ।

"श्रीमतिको मोवाईल नम्बर दिनु त, सर ।" सूर्य सरलाई टिकट जाँच गर्ने युवतीले भनिन । म सँग पनि नजिकका आफन्तको रुपमा श्रीमतिको सम्पर्क नम्बर मागेकी थिईन ।  
"कुन चहीँको दिँउ ?" वहाँले बडो सहजताका साथ प्रतिप्रश्न राख्नु भयो । युवती र उनका सहकर्मीहरु डल्लो परेर हाँसे ।

वास्तवमा कुनै पनि पेशाकर्मी वा सेवा प्रदायकको लागि यो बडो महत्वको विषय हो ।
मेरो शँका यथार्थमा परिणत भयो जब तिनै हवाई सुन्दरीले विराटनगर विमानस्थलमा जहाज थामिए पछि अन्तिम सन्देश सुनाईन ।

"लोड ब्यालेन्सको कारणले पहिला पछाडिबाट ओर्लि दिनु होला ।"
मलाई उनको भाषिक त्रुटि भएको अभिव्यक्ति भन्दा उनको खुम्चिएको खाप्चो र आक्रोस मिश्रित बोलीमा चासो थियो । उनले गाम्भिर्यताको मखुण्डो यथावत राखिन । 

रोड शेषको एक होटलमा मेरोलागि बासको ब्यवस्था गरिएको थियो । कोठामा पुगेर मलाई काजमा खटाउने कार्यालय प्रमुखलाई फोन गरेँ ।

"तपाईँको यात्रा ईभेन्टफुल त भएन ?" वहाँको आशय थियो-कुनै अप्ठ्यारो त आईलागेन ।

"मेरो यात्रा ईभेन्ट नै ईभेन्टले भरिपूर्ण भयो सर !" मैले भने ।

यदि यात्रामा रोचक घटनाहरु भए । कोही अपरिचितसँग कुरा गर्ने मौका पर्यो । हवाई सुन्दरीहरु पनि उस्तै फरासिला र मुस्कानको धर्को तनक्क पार्ने वर्गका भेटिए भने त्यो यात्रा ईभेन्टफूल हुन्छ । अर्थात पट्यारलाग्दो हुँदैन । यो विद्या सिकाउने मेरा गुरु थिए-जर्ज टेलर । अमेरिकी सहयोग नियोगको एउटा परियोजनामा म उनी सँग काम गर्थे । उनले आफ्नो नेपाली नाम राखेका थिए- गोर्गे दर्जी ।

विराटनगरमा मेरो एक दिनको मात्र बसाई थियो । भोलिपल्ट अपरान्हकै उडानवाट फर्किने योजना थियो । लगभग एक घण्टा अगावै विमानस्थल आईपुगेँ । टिकट जाँचकक्षमा फेरी एउटा रमाईलो सिर्जना भयो ।
"मलाई दाहिने तिरको झ्यालको सिट दिनु होला ।" मेरो हिमाल हेर्ने रहरलाई मैले यथावत राखेँ ।
"डा. साहेबले पनि वाहिर हेर्न मजा मान्नु हुँदो रहेछ ।" जाँच-कक्षका कर्मचारी बोले । उनले टिकटमा मेरो नामको अघि लेखिएको "डाक्टर" को उपाधिलाई उधिन्न भ्याए । मलाई यिनीसँग भने स्नायू मिल्ला जस्तो लाग्यो ।

"यस्तै हो । कसैलाई बाहिर हेर्दा मजा लाग्छ । कसैलाई नहेर्दा मजा लाग्छ ।" मैले अलि ठूलै स्वरमा प्रत्युत्तर दिएँ ।

मेरा पछिल्तिर म भन्दा पाका व्यक्ति लाममा थिए । उनी भन्दा पछि एक युवती थिईन । बुढालाई मेरो कुराले छोएन । युवती भने एकाएक खित्का छोडेर हाँसिन । मेरो जवाफ उनलाई जँचेछ । मैले उनलाई माथी देखि तल सम्म हेरेँ । जीउ पुरै ढाकिएको लुगा लगाएकी थिईन । भुँई भएको पाईन्ट र कोट । मलाई भने स्कर्टको धँगधगीले छोडेको थिएन । 

"तपाई पनि बाहिर हेर्दा मजा मान्ने व्यक्ति पर्नु भो ?" मैले मौकामा चौका हाने ।

"हो नि । मलाई पनि दाहिने तिर झ्यालकै सिट चाहियो ।" उनले माग प्रस्तुत गरिन । 

काठमाण्डौ आईपुग्दा झमक्कै साँझ पर्यो । म सँग कागजातले भरिएको एउटा बोरा पनि भएकोले ट्रलीको खोजीमा निस्किएँ । ट्याक्सी पार्किङ् क्षेत्र सम्म आउँदा बल्ल एउटा फेला पर्यो ।
ट्रलिमा सामान राख्दै थिएँ । मेरै छेउमा सम्भालिनसक्नु सँख्यामा झोलाझ्याम्टा भएका सहयात्रीहरुको कल्याङ्मल्याङ्ले ध्यानाकर्षण गर्यो । उनीहरु मध्येका तीनजना मेरै उडानमा थिए ।  विराटनगरमा जहाज चढ्दै गर्दा उनीहरुलाई फोटो खिच्दै गरेको देखेको थिँए ।

"यो ट्रलिमा राखे हुन्छ केही सामान ।" मैले उनीहरुको ध्यानाकर्षण गराएँ ।

"हुन्छ नि । ल यो ठूलो चै राख त ।" अधवैसै महिलाले उनीहरुको समूहको एक युवकलाई अराईन ।

"नानी अङ्कललाई ट्रली ठेल्न सघाउ त ।" उनैले युवतीलाई पनि अराईन । शायद युवती उनकी छोरी थिईन ।
एक अर्थमा हाम्रो यात्रा की नायिका यिनै थिईन । उनको पहिरन र हाउभाउले मैले निचोड निकालेँ । एकै छिन भए पनि नायिकासँग सँगै हिँड्न आईलागेको यो मौकालाई उपयोग गर्ने सुर निकालेँ । तर प्रेतको रुपमा म सँग हिँडेको नियात्राकार भने उनको पहिरन नियाल्न थाल्यो ।

"लौ! यिनले पनि भुँई ह्वाँगै भएको घुँडा भन्दा माथी सम्म मात्र छोप्ने वस्त्र लगाएकी छन ।" नियात्राकारको निचोड निक्लियो ।

"यात्रामा पनि स्कर्ट जस्ता छोटा वस्त्र लगाउनुको अर्थ के हो ?" मेरो मनमा प्रश्न जन्मियो तर उनलाई सोध्न सकिन ।

तर मैले मेरा हाकिमलाई मेरो यात्रा वृतान्तको निचोड यसरी सुनाउने निधो भने गरेँ ।
"सर ! मेरो यात्रा ईभेन्टफूल मात्र हैन स्कर्टफूल पो भयो ।


यात्रा गरिएका दिनाङ्क : कार्तिक ०६ र ०७ गते
नियात्रा विट मारिएको दिन : कार्तिक १४, २०१६
कोटेश्वर, काठमाण्डौ ।
साभार : http://ujyaaloonline.com/news/65781/niyatra/

Monday, October 17, 2016

कथा नायिकासँगको भेट




घोष्ट राईटिङ्ले आयोजना गरेको सिर्जनात्मक लेखनको कक्षा सकेर धुलिखेल जाने वस समात्न म नयाँ वानेश्वरको वस बिसौनी आईपुग्दा विहानको साढे नौ वजेको थियो । प्राय यो रुटको वस भीड हुन्छ । तर आज भने लगभग आश्चर्य भएको थियो । आधा जति सिट खाली थिए । खाली सीट पाए पछि म कुन सिटमा वस्ने भनेर केही न केही तर्क गर्छु आफ्नै मनमा । दाहिने तिरको घाम लाग्ने सिट खोज्दै म वसको पछिल्लो भाग तिर लम्किएँ । अन्तिमका तीन सिट मेरा रोजाईमा परेका थिए । तर पहिलो, चक्का माथी थियो । दोस्रो, अलि साँघुरो थियो । तेश्रो, अन्तिमको लामो सिट थियो । मेरा रोजाईमा यि तिनवटै परेनन । म पु:न अघिल्तिर लम्किएँ र दाहिने तिरकै सिटमा एक युवती सँग वस्न पुगेँ । उनी झ्याल तिर थिईन । म सिटमा वस्दा वस्दै उनी नै पहिले वोलिन ।

“ओहो हजुर पो हुनु हुँदो रहेछ । म पनि कहाँ देखेको देखेको जस्तो लागेर सोच्दै थिँए । ”

मैले उनलाई नियालेर हेरेँ । निलो कोट लगाएकी थिईन । कोटको सतहमा उनका केश राशीहरु नदीका दुई भँगाला जस्ता भएर सपक्क वसेका थिए । हिँउदको नदीको पानीमा देखिएको जस्तो चमक उनको केशमा देखिएको थियो । अनुहार थियो उज्यालो र प्रसन्न । उनी मँगोलियन मूलकी जस्ती देखिन्थिन । अधवैशे युवती थिईन । वाटुलो चेहरामा थेप्चो नाक र मझौला आकारका आँखा विछट्टै शोभायामान देखिएका थिए । निधारमा टिको लगाएकी थिईन । मैले केही दिन अघि धुलिखेलवाट काठमाण्डौ जाँदा उनीसँगै सिटमा परेको र लामो कुराकानी भएको प्रसँग सम्झिएँ ।

“त्यैत मलाई पनि अनुहार परिचित जस्तो लाग्यो । अस्ति हामी सँगै कुरा गर्दै धुलिखेलवाट आएका थियौ नि होईन त ।”

“हो त नि सर ! कस्तो रमाईलो कुराकानी भयो । त्यस दिन म कति तनावमा थिँए तर हजुरको कुराले मलाई ठूलो सान्त्वना मिलेको थियो ।“

उनले एकदमै आदरका साथ सरको नाता जोडिन । त्यो “सर” भित्र विश्वविद्यालयमा पढाउने व्यक्तित्व लुकेको थियो । तनाव भएका वेला पनि उनले मन भुलाउने विषयहरु मेरो गफमा उनले पाएकी थिईन । उनलाई मैले अस्तिको भेटमा मेरो पेशाको वारेमा पनि भनेको थिँए । उनले पनि उनको व्यक्तिगत कुराहरु धेरै भनेकी थिईन । धुलिखेलको एक सरकारी कार्यालयमा काम गर्दिरहिछन । काठमाण्डौ उपत्यकाको पश्चिम पट्टिको ग्रामिण ईलाकावाट हरेक दिन सार्वजनिक यातायातमा धुलिखेल आउने जाने गर्दिरहिछन ।   

म वनेपा पुगिसकेको थिँए। घरिघरि वसको झ्यालवाट छिरेको घामले ल्यापटपको स्क्रिन एकदमै धमिलो वनाई दिएको थियो । यसैले मैले बाध्यतावश मेरा औलाहरुलाई विश्राम दिनु पर्यो । ल्यापटपमा एकै छिन अघि भेटिएकी युवतिको अधुरो कथा कैद भएको थियो। अहिले म झ्याल पट्टि नै वसेको थिँए जहाँ केही समय अघि उनी बसेकी थिईन । यति तात्तातो लेखन पस्किने ईच्छा शक्ति शायद उम्रने थिएन । यदि आज विहान डा. दयाराम श्रेष्ट “सम्भव” ले कथा कसरी लेख्ने भनेर नसिकाउनु भएको भए । ति युवती सँग छुट्टिना साथ उनी सँग भएको भेटलाई विषय वनाएर  कथा लेख्ने सुर चढि सकेको थियो । आजै कथा सक्न पाए भोलि प्रशिक्षणमा सहभागी साथीहरुलाई मेरो रचना वाँड्न सकिन्थ्यो । कथाकी नायिकाको वास्तविक नाम मलाई थाहा थिएन । मैले सोधिन पनि । सोधेकै भए पनि वास्तविक नाम राख्ने कुरा पनि भएन । यसैले अहिले म उनको काल्पनिक नाम सोचिरहेको छु । यस्ता नारी पात्रलाई दिईने नाम मध्ये मलाई एकदम मन पर्ने एउटा नाम सिमा हो । मैले थाईल्याण्डको फि फि टापुमा भेटिएकी ‘सिमा” को वारेमा पनि एउटा नियात्रा लेखेको थिँए । तर दयाराम गुरुले दिनु भएको ज्ञान अनुरुप त्यो नियात्रा होईन “कथा” नै हो । साँच्चिकै निर्णय गरेँ यहि नाम राखिदिन्छु । तर चिन्ताको विषय भने अव  कथामा ज्यान कसरी भर्ने भन्ने छ । मलाई यो कथा लेखन आजै सक्न मन छ ।

सिमासँग कुरा अघि बढ्यो ।

“मैले हजुर सँग भएको कुराकानी दाईहरुलाई पनि सुनाएँ । मेरो कस्तो भाग्य रहेछ कस्ता राम्रा मान्छेहरुसँग भेट हुन्छ वस यात्रामा भने ।” उनले हाम्रो पहिलो भेट र मेरो कुराकानीले उनीमाथी पारेको प्रभावलाई आँकलन गर्दै भनिन ।

“ए ! साँच्ची ! कसरी सुरुवात भयो त्यो दिन हाम्रो कुरा ? ” मैले साँच्चि नै विर्से छु त्यो पहिलो भेटमा कुराकानी शुरु भएको प्रसँग । मौका परे म त वोल्न खोज्दछु मेरा यात्रामा भेटिएका छिमेकी सँग । तर सधै परिस्थिति अनुकुल हुँदैन । पात्र पनि सिमा जस्ता विरलै हुन्छन् ।

“हजुर छेउ तिर अलि अप्ठेरो सँग वसेको जस्तो लागेर मैले वस्न सजिलो भएन कि हजुरलाई भनेकि थिँए ।” उनले सम्झिईन ।

शायद मेरो शरिरको आकारको कारण हो या साँघुरो सिटको कारण हो त्यस्तै भएको थियो । उनले आफूलाई सकेसम्म सानो वनाएर मलाई सिट छोडिदिएकि थिईन । यात्रामा यस्ता छिमेकी शायदै पाईन्छन् । अरुको दु:ख देख्ने अनि आफूले सकेको सहयोग गर्ने भावना धेरै कममा हुन्छ । मनमा भए पनि कतिपयले व्यक्त गर्न सक्दैनन् ।

“त्यही त हजुरको पनि अरुको अप्ठेरो देख्ने आँखा र सहयोगी भावना भएको मन भएर नै हाम्रो कुराकानी भयो । यसरी भावना मिल्यो भने त हो नि फेरी भेट हुँदा पनि वोल्न मन लाग्ने । अनि त्यो व्यक्ति प्रति श्रद्धा पनि जाग्ने होईन त ।” मैले पनि मन फोरेँ ।

हाम्रो पहिलो यात्रामा उनको मोवाईल पटक पटक बजेको थियो । उनकी आमा एकास्सी वेहोस भएकीले उनले कार्यालय पुग्ना साथ काठमाण्डौ फर्किनु परेको थियो । चक्रपथ भन्दा धेरै वाहिरवाट विरामी ल्याउनु पर्ने भएकोले ट्याक्सी पाईएको थिएन । उनको भाई पनि कहि काममा गएको थियो । सिमा उनका वुवा सँग र भाई सँगै पटक पटक फोन सम्पर्कमा थिईन र मलाई सुनाउदै पनि थिईन । उनका श्रीमान विदेशमा रोजगारी गर्न गएका रहेछन । उनी माईतिमा सानो छोरा लिएर वसेकी रहिछन । धुलिखेल आसपास मा नै डेरा लिएर वस्ने सुर उनको रहेछ । तर छोरालाई अहिले सम्म मनाउन नसकेकि रहिछन । मैले म सँग भएका  धुलिखेल र वनेपाका केही विद्यालयहरुका वारेमा पनि उनी सँग चर्चा गरेको थिँए ।

“आज पनि हजुर सँगै कुरा गर्दै जानु हुन्थ्यो तर म कोटेश्वरमा ओर्लिएर वाईकमा जानु पर्ने छ ।“ उनले म सँग कुरा गर्ने अवसर गुमाउनु पर्ने बाध्यतालाई ईगित गर्दै भनिन ।

“ए ! हो र ! तर त्यो पनि मेरो लागि राम्रै हुने भयो ।” मैले परिस्थितिलाई नजिक वाट नियाले । त्यसमा ठाडो, सकारात्मक र रोमान्चक भर्याङ् लगाएँ । उनले म वाट त्यो अपेक्षा गरेकी थिईनन् ।

“ए ! तपाईले गफ गर्नुको सट्टा केही पढ्न पाउने हुनु भयो हो ? यसैले राम्रो भन्नु भएको हो ।” मैले सँकेत गरेको ‘राम्रो’लाई अनुमान गर्दै सीमाले भनिन ।

“होईन । म झ्याल तिर वस्न पाउने भएँ र घाम ताप्दै जान पाउने भएँ भनेर हो ।”

उनी हाँसिन । हिमालमा घाम लागेको जस्तो भयो । वान्की परेका सेता दाँत देखिए ।

“कस्तो मनासिव कुरा गर्नु भयो । यसरी नै त हो नि मान्छेले खुशी प्राप्त गर्ने । खुशी ठूलै हुनु पर्छ भन्ने के छ र । कति मान्छेहरु छन यस्ता स साना कुराले दिने आनन्दको वारेमा विचार नै गर्दैनन् ।“ उनले पनि मेरो अभिव्यक्तिमा भर्याङ् लगाईन ।

मैले म स्नातक पढ्दा एक जना मित्र सँग पदयात्रामा गएको वेला भेटिएका एक सहयात्रीले भनेको कुरा सँझिए । उनले भनेका थिए- मान्छे खुशीको ठूलो नदी प्राप्त गर्न चाहान्छ । त्यसकै खोजीमा भौतारिन्छ । यात्रामा निस्कन्छ । यस क्रममा उ कैयन स-साना खोल्सी र खोलाहरु पार गर्छ । उसलाई त्यो ठूलो नदीको नशा लागेको हुन्छ र खुशीका ति स-साना खोल्सी र खोलाहरु तरेको अनुभूति नै गर्दैन । आखिर तिनै स-साना खोल्सीहरु मिलेर नै नदी बन्ने त हो ।

उनी जाँदा जाँदै मैले यो खुशीको आकारको वारेको मेरो मष्तिष्कमा रहेको अनुभूति सुनाउन भ्याँए । अनि विदाईका हात हल्लाउदै भनेँ-हाम्रो दैनिकीमा एउटै रुट छ । फेरी अवश्य नै भेट होला ।

अपरान्ह ३:०० वजे
काविवि पुस्तकालय
धुलिखेल
पौष १४, २०७१

Wednesday, August 24, 2016

नअराएको काम


एकसुरले हिँडिरहेको थिएँ । एकाएक टक्क रोकिएँ । सिधै अघिल्तिर देखिएको दृष्यमा एक निमेष पनि नबिराई हेरीरहेँ ।

उ एकाग्र भएर लेखिरहेको थियो । काखमा अस्ति हाम्रो वैवाहिक जीवनको रजत महोत्सवमा उपहार आएको नयाँ डायरी थियो ।

ढोकाको छेउको प्लगमा जोडेर मोबाईल चार्जमा राखिएको रहेछ । भवन बाहिर निस्कन लागेको व्यक्तिले सजिलै देख्न सक्ने, लेख्न पनि मिल्ने र मोबाईल चार्ज गर्न पनि मिल्ने बेन्च खोजेर उ त्यसमा बसेको रहेछ । एक भन्दा वढि कामहरुलाई एकैसाथ गर्न विशेष बुद्धि लगाउनु पर्छ । उसको हाउभाउ र गतिविधिले मैले निचोड निकालेँ-उ विशेष बुद्धि लगाएरै केही लेख्दै छ ।

वरिपरि बाक्लो भीड थियो । धुलिखेल सामुदायिक अस्पतालको तहखानाको विवरण सँकलन केन्द्रवाट म रगत परीक्षणको कागजात लिएर फर्कदै थिएँ । उ गाडीको पाङ्ग्रामा हावा भर्ने काम सकेर मलाई पर्खन त्यो बहुआयामिक बेन्चमा आसिन थियो । उसको पर्खने शैलीको मैले मनमनै मुक्त कण्ठले प्रशँसा गरेँ ।  

"के भै रहेको छ ?"

मेरो प्रश्नले उसको ध्यान बिथोलियो । पुलुक्क मतिर हेर्यो । विशेष ध्यान दिएर कुँदिएका राम्रा हस्तलिपीले डायरीको आधा पृष्ठ भरिएको थियो । उत्कृष्ट कलमले उत्कृष्ट कापीमा लेख्नु पर्छ भन्ने मैले अपनाएको एक 'सरस्वती-मन्त्र' उसले सर्लक्कै टिपेको छ । मेरा परिवारका दुई सदस्यलाई मिहिनेत गरेर कुँदिएका राम्रा अक्षरले लेखिएका चिठ्ठि पठाएर हस्तलिपी उत्कृष्ट बनाउने प्रेरणा दिन म सफल भएको छु । एउटा पनि केरकार नगरी एउटै आकारका अक्षर सिर्जना गरेर आफ्नो भावना कापिमा उतार्नु भनेको वास्तवमा एक किसिमको तपस्या नै हो । शास्त्रले पनि राम्रा अक्षरको परिभाषा दिएको छ-अक्षराणी वाटुलानी घनानिच पृथक: पृथक: ।

"समय पाएको वेलामा लेखिहाल्न मन लाग्यो । तात्तातो लेखाईमा ठूलो ज्यान हुन्छ ।"

उसले आज भोली मलाई पनि घत लाग्ने गरी उत्तर दिन्छ । कहिले कहि त म ट्वाल्ल पर्छु । कहिले मन्त्रमुग्ध हुन्छु । तर प्रायजसो समयमा मेरो भाव भित्रै लुँकाउँछु । व्यक्त गर्दिन । आज भने मैले अनुमान गर्न भ्याँए, उसले के लेखिरहेको छ भनेर ।

एक छिन अघि मात्र हामी काठमाण्डौ विश्वविद्यालयका पूर्व उपकूलपति प्रा.डा. सुरेशराज शर्माको निवासमा थियौँ । वहाँ सँग लगभग एक घण्टा विताएर फर्केका थियौँ ।

"नेपालमा यस्ता पनि मान्छे रहेछन ।" सुरेश सरसँग विदा भएर कारमा बस्दै गर्दा सिरिनले पहिलो प्रतिकृया दिएको थियो ।  

सिरिन मेरी धर्मपत्नी रीता र मेरो एक मात्र पुत्ररत्न हो । अहिले चौबिस बर्षको लक्का जवान भएको छ । मुम्बईको ईन्दिरा गान्धि विकास अनुसन्धान सँस्थानमा अर्थशास्त्र विषयमा स्नातकोत्तर गर्दैछ । छुट्टिमा घर आएको मौकामा मैले 'एक पन्थ दो काज' उखान चरितार्थ हुने अभिप्रायले उसलाई लिएर धुलिखेल गएको थिँए ।    

यसपटक घर आए देखि उसले मलाई एउटै प्रश्न तारन्तार सोधिरहेको थियो ।
"बाबा अव म के गरौ ?"

अर्थात "अव म कुन वाटोमा पाईला राखौँ ?" उस्को प्रश्नको मैले अर्थ लगाएको थिँए ।
 वयस्क उमेरका आफ्ना सन्तानले सोधेको यो प्रश्नको चपेटामा अहिले धेरै बाबुआमा परेका छन । आफ्नै कोखमा जन्मेर हुर्केका सन्तानले सोधेका यस्ता प्रश्नका दुईवटा सपाट अर्थ निस्कन्छन् भन्ने मेरो मत छ ।

पहिलो अर्थ हो- प्रश्नकर्ताहरु अझै सम्म पनि कुनै ठोस निर्णय लिनु अघि आफ्ना बुबाआमाको राय सल्लाहा लिन्छन । आफ्ना रगतको नातालाग्ने मान्यजनहरुलाई महत्व दिन्छन् । यस्ता कठिन प्रश्नका सहज उत्तरहरु बा आमा सँग छन भन्ने उनीहरुलाई लाग्छ ।

दोस्रो हो-प्रश्न सोधिने व्यक्तिको 'श्री' को उचाई घटेको छैन । अहिले सूचना प्रविधिको अभूतपूर्व विकासले गर्दा नयाँ पुस्ताको जो कोही पनि सामाजिक सन्जाल लगायत अन्य सन्चार सुविधाहरुको प्रयोग सहजै गर्न सक्छ । त्यो नगर्नेले वृति विकासका अवसर र बजारको स्थिति आँकलन गर्न कठिनप्राय हुन्छ । यसकारण उच्च शिक्षा हासिल गरिरहेको आफ्नो सन्तानले यो जमानामा 'मेरो अभिभावक'  समय सापेक्ष हिँड्छ । सन्ततिको लागि आवश्यक सूचनाको आवधिक ज्ञान राख्छ । उ सँग मेरो वृतिविकासको लागि पनि काम लाग्ने जानकारी हुन सक्छ भन्ने ठानेर राय माग्नु भनेको अझ ठूलो कुरो हो ।  

खाना खाएको दुई घण्टा पछि पनि अस्पतालमा रगतको नमूना दिनु पर्ने भएकाले हामी सँग एउटा राम्रै बैठक गर्न सकिने समय थियो । मैले सोचेँ-यो मौकामा सुरेश सरलाई भेट्न किन नजाने ? मेरो सोच कार्यमा परिणत हुन बेर लागेन । हामी काठमाण्डौ विश्वविद्यालयका चित्रकारको धुलिखेलको सिरानमा अवस्थित निवासमा पुग्दा आगन्तुक कक्ष निर्जन थियो । सहयोगीको माध्यमवाट भित्र खबर पठाईयो । म भने आगन्तुक कक्षमा राखिएको सानो पुस्तकालयको अवलोकन गर्न थालेँ । एकै छिनमा सुरेश सरको आगमन भयो । हामी भाग्यमानी यस अर्थमा ठहरियौ कि त्यस वेला वहाँका श्रोता हामी दुई मात्र थियौँ र हामी बसुन्जेल वहाँलाई भेट्न अन्य कोही देखा परेन ।  

मेरो मष्तिष्कमा सिरिनको प्रश्न "बाबा अव म के गरौ ?' गुन्जिरहेको थियो ।  मलाई लाग्यो-यो यक्ष प्रश्नको उत्तर दिन सक्ने हाम्रो जीवनकालको युधिष्ठिरको साक्षात रुप हाम्रा सामुन्नेमा प्रसन्न मुद्रामा आसिन छ । सम्भवत नेपालको शिक्षासँग जोडिएका कुनै पनि विषयको मिहिन विश्लेषण गर्न सक्ने धरोधर वहाँ वाहेक अर्को नहोला ।  जसरी गीतामा अर्जुनका कुनै पनि प्रश्नको कालजयी उत्तर भगवान श्रीकृष्णले दिनु भएको छ । त्यसरी नै म पनि सिरिनको प्रश्नको कालजयी उत्तरको खोजिमा थिँए । यो हिरा फोर्ने मौका थियो । मैले प्रसँग मिलाएर सुरेश सरको ध्यानाकर्षण गराएँ ।  

'सरको पालामा नेपालमा गर्नु पर्ने महत्वपूर्ण काम मध्ये एउटा नयाँ विश्वविद्यालयको स्थापना थियो । जुन यहाँको अगुवाईमा पूरा भयो ।  नेपालमा अबको पुस्ताले गर्नु पर्ने त्यस्तै विराट महत्वको काम के हुन सक्ला ?'  मैले 'अबको पुस्ता' भन्दा सिरिन तिर हातले ईशारा गरेँ ।

मेरो कौतुहलताको पारो बेजोडले आकाशियो । सिरिनको अनुहारमा पनि त्यही भाव देखेर मेरो खुशीको सीमा रहेन । मैले दिनु पर्ने एक जटिल प्रश्नको उत्तर भुँईमा खस्न लागेको थियो । हामी दुवै श्रोताको पूर्ण ध्यान सुरेश सरको उत्तर तिर थियो ।     

'नअराएको काम गर्ने ।'

"अहिले मलाई धेरै मान्छेले प्रश्न गर्छन- तँपाईलाई यो विश्वविद्यालय निर्माण गर्ने काम कस्ले अराएर गर्नु भयो । मेरो उत्तर रहने गरेको छ-कसैले पनि अराएको होईन ।"

"मेरो ब्रम्हज्ञानले भन्छ- अबको पुस्ताले पनि नअराएको काम गर्नु पर्छ । त्यस्त कामको विस्कुन नेपालमा बाक्लो छ । काम सम्पन्न भए पछि सयौ त के हजारौ मान्छेले सोधुन-यो काम कस्ले अराएर गर्नु भयो ?"

भविष्यमा सुरेश सरलाई सँझदा मष्तिष्कमा अवतरण गर्ने विषयहरु मध्ये उच्च स्थान ओग्ट्ने यो कर्म मन्त्र हामीलाई प्राप्त भै सकेको थियो । वास्तवमा 'नअराको' काम फत्ते गरेर नै कुनै सामान्य अभियन्ता नेतृत्वको ईन्द्रासनमा पुग्न सक्छ । नअराको कामको प्रकृति असामान्य हुन्छ । असामान्य कामले नै अलौकिक लोकप्रियता वटुल्न सक्छ ।   

धुलिखेल अस्पतालमा विवरण सँकलन गर्ने कार्य सकिएको थियो । हामी अरनिको राजमार्ग हुँदै काठमाण्डौ विश्वविद्यालयको केन्द्रिय क्याम्पस आउँदै थियौ । चालकको सीटमा सिरिन थियो । म उसँगै अगाडिको सीटमा थिएँ ।

"यसपटकको मेरो बिदा धेरै उत्पादनमूलक भएको अनुभुति भएको छ ।" उसले पृष्टभुमिको गाडिको नबुझिने आवाजलाई मिचेर हामी वीच विद्यमान मौनतालाई चिर्ने पहल गर्यो । 

सिरिनले सोधेको जटिल प्रश्नको उत्तर सुरेश सरले दिएको "कर्म मन्त्र" ले समेटेको थियो । उसको डायरीमा त्यो तात्तातो अभिव्यक्ति 'आजको सिकाई' रुपमा प्रवेश गरिसकेको थियो भन्ने निचोड मैले निकालेँ । मेरो रणनीतिले राम्रै काम गर्यो । कहिलेकहीँ यस्तै जुर्छ । आफ्नो थाप्लोमा अनुत्तिर्ण हुने प्रावधान नभएको परीक्षामा बस्नु पर्ने क्षण आईलाग्छ । तर यसपाला भने मलाई अभूतपूर्व सफलता हासिल गरेको अनुभूति भयो ।

सिरिन छुट्टिमा आएको वेला मैले पनि उ वाट धेरै नौला जानकारी र सूचना पाउने अवसर जुटेको छ । यस पटक उसले मलाई प्राध्यापक जोन कावात जिनको भिडिओ उपहार दिएर गयो । 'विपस्यना ध्यान' विधालाई विज्ञानको मूलधारमा समाहित गर्ने व्यक्ति रहेछन- जोन कावात । भिडिओमा उल्लेखित उनका केही टिप्पणीहरु रोचक र आजको पुस्तालाई समेत प्रभाव पार्ने किसिमका रहेछन ।

"जतिसुकै पारगँत साधक किन नहोस ? जतिसुकै महँगो र जटिल बाजा किन नहोस ? सँगित सिर्जना गर्नु अघि वा बाजा बजाउनुपूर्व ताल मिलाउनु पर्छ । मनको ताल मिलाउने काम विपासना ध्यान हो ।"   

"डुईङ (कर्म गर्नु) र विईङ् (अस्तित्व हुनु) मा धेरै फरक छ ।"

"भविष्य र विगत भनेका दुवै अवधारणा हुन ।"

"चेतनामा हुनु भनेकै ध्यान हो । चेतना असिमित छ ।"

भिडिओमा जोनले अगाडि भनेका रहेछन-हामी 'त्यहाँ' सम्म पुग्ने भनेर गन्तव्यको तय गर्छौ । कसरी पुग्ने भनेर 'मोडलिङ्' पनि गर्छौ ।  तर समस्या हामीलाई 'यहाँ' नै थाहा हुँदैन ।  यस्तो अवस्थामा गन्तव्य तय गर्नु र 'त्यहाँ' पुग्ने बाटो रोज्नुको कुनै अर्थ हुन्छ र ? '  

भिडिओ सिफारिश गर्दा सिरिनले आश्चर्य व्यक्त गरेको थियो-"यो जोन भन्ने प्रवचन दिने व्यक्ति घण्टौ सम्म एउटै आसनमा उभिएर वक्तव्य दिन सक्दो रहेछ । वक्तव्य दिँदा न त उ पानी  पिउँछ । न त उस्को शरीरमा कतै चिलाउँछ । न त उ विश्राम नै लिन्छ । हामी भने एक छिन पनि धैर्य भएर कुनै काममा लाग्न सक्दैनौ । कुनै विषयमा केही मिनट सम्म पनि एउटै सोच पाल्न सक्दैनौ ।"

अक्षर शिरोमणि भनेर चिनिने नेपालका अध्येता मदनमणि दीक्षितले "अनन्त चैतन्य" नामक उहाँको पछिल्लो कृतिमा महाभारतको एक श्रलोक उद्धृत गरेका छन्-
ईष्टँ दत्तँ तपोअधितम ब्रतानी नियमच्च ये
सर्वमेतविज्ञानियात्  ज्ञानस्यान्तो न विद्यते ।

अर्थात मित्रता दान धर्म पठन-पाठन, ब्रत र अनुशासनका नियमहरुका विनाश र अन्त्य हुन्छन तर ज्ञानको कुनै अन्त्य छैन ।

दीक्षितले लेखे-

'मानिसको चेतना बेगर ब्रम्हाण्डको अस्तित्वसमेत रहँदैन ।'

दीक्षितका "ज्ञान" र "चैतन्य" सम्बन्धित टिप्पणीहरु जोनका "अवेरनेस" सँग सम्बन्धित निचोडसँग समानान्तर हिँडेको पाएँ । तर मलाई लाग्दैन- दीक्षित र जोन एक अर्कामा परिचित छन वा एकले अर्कालाई पढेका छन । तर आ-आफ्नो कित्तामा उत्तिकै उचाईमा छन । उत्तिकै लोकप्रिय छन । लाखौ नरनारीलाई आफ्ना श्रोता वनाउन सकेका छन ।  

मैले सहज निचोड निकालेँ - सुरेश सरले भने झै पक्कै तिनीहरुको प्रसिद्धि पनि "नअराको" काम फत्ते गरेरै नै भएको होला ।

भाद्र ०३, २०७३
सिनेट हल
काठमाण्डौ विश्वविद्यालय
साभार : http://ujyaaloonline.com/news/category/25/blog/