Monday, October 12, 2020

खाँदबारीका मावली

खाँदबारीमा शनिवार हाट लाग्छ भन्ने सुन्दै मलाई रमाइलो लागिसकेको थियो । म लगायत 'विद्युत् उर्जा विकास' विषयसँग कुम जोडेका एक दर्जनजति साथीहरु शुक्रवार दिउँसोको बुद्ध एयरको उडानबाट तुम्लिङ्टार अवतरण गरेका थियौँ ।  औपचारिक कार्यक्रम शनिवार दिनभरि नै आयोजना गरिएको थियो ।

यसकारण मेरो "हाट भर्ने दाउ" तुहिने हो कि भन्ने चिन्ता थियो । हामी बसेको होटल र हाट लाग्ने टुँडिखेल मैदान केही मिनेटको पैदल दुरीमा रहेकाले म खुसी थिएँ । नेपालका पूर्वी पहाडी जिल्लाको शानको रूपमा परिचित हाट लाग्ने परम्पराका केही लोभलाग्दा विशेषता छन् । बिहान सबेरैदेखि बेलुकासम्म चहलपहल हुने त्यो 'मेला' जस्तो 'भेला' मा कुनवेला गए ठिक होला भन्ने प्रश्न जन्मियो ।

"हाटमा कुन समयमा सबैभन्दा धेरै मान्छे भेला हुन्छन्?"

मेरो हाट भर्ने र धेरै मान्छे भेला हुने समय मिलाउन सक्दा 'सुनमा सुगन्ध' हुने ठानेर यो प्रश्न चिया पसलमा भेटिएका मानिसलाई सोधेको थिएँ ।

"धेरै भेला हुने भनेको त बिहान आठ बजेतिर हो ।"

हाम्रो कार्यक्रम साढे आठमा सुरु हुने योजना थियो । त्यतिन्जेलसम्मको समय मेरै नियन्त्रणमा थियो । म बिहान साढे पाँच बजे नै तयार भएर निस्केँ । खाँदबारीको मूल सडकले जीवन पाइसकेको थियो । म हाट लाग्ने ठाउँ'टुँडिखेल' को ठेगाना सोद्धै अघि बढेँ । केही कदम हिँडेपछि सडकको देब्रेतिरको एउटा चिया पसलमा ठूलै चहलपहल देखियो । म सरासर चिया पसलमा पसेँ । 'भुक भुक' गर्दै ठुलो भाँडोमा दुध उम्लिरहेको थियो । छेउमा माग अनुसारको चिया पाकिरहेको थियो ।

"ए ! भाइ यो दुध पाउडरको हो ?"

जीवनमा पहिलोपटक खाँदबारी टेकेको साँझमा मैले आम नेपालीकै लागि चिन्तित हुनुपर्ने एक विषय फेला पारेको थिएँ । हाम्रो भ्रमण कार्यक्रमको मूल आयोजक 'स्वतन्त्र उर्जा उत्पादक संस्था' का पदाधिकारी बसेको र  हामी सबैको लागि भोजनको व्यवस्था गरिएको होटलमा यो नमिठो यथार्थ सतहमा आएको थियो । मैले चिनी नभएको दुधको चिया मगाएँ तर चिया अलि अलि गुलियो थियो ।

"ए भाइ ! मैले त चिनी नराख्नू भनेको थिएँ नि त ?"

"सर ! यो चियामा चिनी राखेकै छैन । हामी पाउडरको दुध चलाउँछौँ । यसैले सरलाई गुलियो लागेको होला ।" चिया ल्याउने भाइले उसको जवाफ जबर्जस्ती स्वभाविक बनायो ।

सङ्खुवासभा जिल्लाको सदरमुकाम खाँदबारीमा पनि पाउडरको दुधको चिया खानु पर्ने ! चियाले मलाई तताएन, चिस्यायो । केही महिनाअघि लमजुङको बेसीशहरको होटेलमा कागती नपाएको र बन्दिपुरमा सुन्तलाको ताजा जुस नपाएको अनुभूति आलो भएर आयो । थरीथरीको विचार आउन थाल्यो । पाटन साउथ रोटरी क्लबको एक बैठकमा कृषि क्षेत्रका नामी उद्धमी एवं क्लबका पूर्व अध्यक्ष सन्तोष कुँवरले एक रोचक तथ्य भन्नु भएको थियो-

"नेपालमा हामी बाघ भालुको संरक्षणमा बाक्लै लागेका छौँ तर यहाँ त अहिले अर्कै आठौँ आश्चर्य भएको छ । दुध जस्तो अत्यावश्यक खाद्यवस्तु दिने गाईभैँसी पो लोप भइरहेका छन् ।"

खाँदबारीको पाउडर दुधको चियाले मैले सन्तोष कुँवरको अभिव्यक्ति चरितार्थ भएको ठानेँ । त्यसकारण निर्क्यौल गर्ने ध्येयले मैले चिया पसलमा सिधै ठाडो पाराले सोधेँ ।

"कहाँ हुनु सर ! यो त एकछिन अघि गाउँबाट ल्याएको भैँसीकै दुध हो ।" चिया पकाइरहेको अधबैसेले भन्यो । चिया पसलका सञ्चालक र काम गर्ने सबै मधेसी मूलका थिए । 

"पक्का हो त ।" मैले खेरेँ ।

"पक्का हो । शङ्का नमाने हुन्छ । खाँदबारीमा पनि पाउडर दूध हो कि भनेर सोध्नु पर्ने कस्ता दिन आए नि ।"

अहिले भने ग्राहक बस्ने बेन्चमा बसेर चियाको चुस्की लिइरहेकी महिला बोलिन् ।

नेपालमा अहिलेसम्म जोगिएर रहेको संस्कृतिमध्ये यो एउटा हो । आत्मकेन्द्रित पटक्कै नहुने । नचिनेका नजानेका मान्छेको हुलमा पनि भइ-परिआएको परिवेशमा आफ्नो कुरा स्वभाविक भएर राख्न आँट गर्ने । मैले मेरो ध्यान महिला र उनी सँगै चियापान गरिरहेका पुरुषतर्फ मोडेँ । एक कप चिया अर्डर पनि गरेँ ।

"कहाँ पर्‍यो त नि हजुरहरुको घर ?"

"इलाम हो ।"

"लौ जा ! मावली पर्नु भयो । अब आज मैले चियाको पैसा तिर्नु नपर्ने भो ।"

मेरो बोलीले भुइँ नछुँदै चिया पसलका केही ग्राहकको ध्यान चुम्बकले झैँ तान्यो । "पैसा नतिर्ने कुरो" सुन्ने जति सबै मजैले हाँसे ।

"झोलीका देउतालाई चिया त के घरै लगेर मेजमान गराँउला नि ।" इलामे मामाले पुर्वेली भाका टिपे ।

"हुन्छ नि । अनि इलामको मान्छे खाँदबारी के कामले आउनु भयो त ?"

"मेरो माइती चैनपुर हो नि ।"

अहिले भने माइतीघरको मोहले महिलाको मौनताको बरफ पगाल्यो । कुरो स्पष्ट थियो । उनीहरु दम्पती थिए ।

"ए अचम्म, चैनपुरकी चेलीले त्यत्रो टाढाका हाम्रा मामालाई झुक्याउने आँट कसरी गरिछन् त ?"

मेरो यो उद्गारले राम्रै बजार पायो । अब रेस्टुरेन्टमा हाम्रो बोलीले अन्य आवाजहरुलाई सर्ल्लक्कै निलेको थियो ।

"देखेको हैन लेखेको हुन्छ भनेको यही हो नि त भान्जा बाबु ।"

साइनोको जुइनो कसिन् माइजूले । उनी के कम, माइती गाउँमा पनि फुर्तीफार्ती नगर्ने को चेली होलान् र !

"माइतीको कुकुर पनि प्यारो" भन्ने त उखानै छ । 

"हजुरको चैँ घर कहाँ हो ?"

"जन्म पाँचथरको स्याब्रुम्बा, हुर्केको मोरङको उर्लाबारीमा अहिले काठमाडौँको कोटेश्वरमा छोराछोरीको घरमा बस्छु ।"   

हिजोआज मलाई यस्तो 'तिन ठामे' ठेगाना  दिँदा रमाइलो लाग्छ । मेरो कामको बारेमा पनि उनीहरुले सोधे । हामी एक छिन गफमा डुब्यौँ । म भैँसीको दुधको चियाको मजा लिँदै थिएँ । कतै सुनेको सम्झिएँ ।

"मोमो खायो भने गोठ मासिने क्रियाकलापमा सहयोग पुग्छ, खीर खायो वा दुध पियो भने गोठ सप्रिने ।"

हुन पनि अहिले भोजभतेरमा पनि मदिरा र माछा मासुका परिकारले अड्डा जमाउन थालेको छ । सेल रोटी, खिर, ढकने र सिकर्नी जस्ता हाम्रा मौलिक परिकार पनि सन्तोष कुँवरले घरपालुवा जनावर लोप हुन थाले भने जस्तै हराउन थालेका छन् ।   

आखिर छुट्टिने बेला भयो ।

"वहाँ सरको चियाको पैसा म दिन्छु ।"

मामाले साहुजीलाई इसारा गरे ।

"पर्दैन, पर्दैन । मैले त रमाइलो पो गरेको ।"

क्षणभरमा नै नाता लागेका मेरा मामा र माइजू बाहिरिए । मेरो चिया सकिए पछि मैले चियाको मोल तिर्ने जमर्को गरेँ । साहुजी अटेसमटेस गरेनन् । आखिर उसको पनि त व्यापार-धर्मको कुरो थियो । 

मेरो शिर फेरि एक पटक नुहियो । नेपाली हुनु र आफ्नै भूगोलमा चर्नुको मजा यही छ । अहिले म अमेरिका वा अस्ट्र्लियामा भएको भए यसरी अपरिचितसँग तुरुन्त कुनै नाता जोडेर उनकै आतिथ्य सत्कार पाउनु आकाश खस्नु बराबर हुन्थ्यो । विदेशमा भएका मेरा समकक्षी मित्रहरु भन्दा मलाई केही दु:ख अवश्यै बढी होला तर हरेक बस्ती बस्तीमा भेटिएका प्रत्येक नेपालीसँग भेटिने यो आत्मीयताको खजाना अमूल्य छ । यो स्वर्गीय आनन्दको अघि बाँकी सुखहरु सबै तपसिलका भएका छन् । मेरा अभिन्न मित्र सूर्यमान शाक्यले भनेको सम्झिन्छु ।

"विदेशमा एक थोक मात्र राम्रो छ, अरू केही पनि राम्रो छैन । त्यो एक थोक हो,  पैसा । नेपालमा त्यो एक थोक चैँ राम्रो छैन तर अरू सबै थोक राम्रो ।" 

हाटमा पुग्दा बिक्रेता र सामान ओसार्नेको हुल थियो । खरिद गर्ने खासै थिएनन् । कोही माटो मिलाउँदै थिए । कोही घोचा गाड्दै थिए । केही हिजो बेलुका परेको पानीले बनाएका स- साना डोबिल्का पन्छाउँदै थिए ।

जापानको कानागावा प्रिफेक्चरको हायामा भन्ने ठाउँमा भरेको हाटको स्मरण ताजा भएर आयो । तिन चोटिसम्म खराब मौसमका कारण हाट लाग्ने मिति सरेको थियो । चिसो मौसममा वर्षा भयो भने हाट लाग्न असम्भव प्राय: हुन्छ । हाट लाग्न खुला ठाउँ र राम्रो मौसम पूर्व सर्त हुन् । तेस्रो पक्ष संस्कृति हो । हाटबजारको आवश्यकता बुझेर यो ठाउँमा यो बार या यो तिथिमा हाट लगाउने भनेर कसैले सुरु गर्नु पर्छ । अनि अरूले निरन्तरता दिनु पर्छ । म जन्मेको स्थान पाँचथरको स्याब्रुम्बाले यासोकमा भर्ने हाट ओँसी र पूर्णिमामा लाग्थ्यो । 'हाट जाने' भने पछि उम्रेदखि खुम्रेसम्म हुरुक्क हुन्थे । नेपालमा हाट लाग्ने एउटा कारण वर्षको नौ महिना मौसम सफा हुनु हो । जापानमा पानी पर्ने को ठेगान हुँदैन । पश्चिम नेपालमा पूर्वको जस्तै मौसम हुने भएता पनि 'हाट संस्कृति' छैन । 

हाटमा बेच्न राखिएका सुन्तला मेरा लागि प्रमुख आकर्षण थिए । भाग लगाएका सुन्तलामा ध्यान गयो । चार दानाको जग बनाएर ती माथि तिन दाना खप्टेर पिरामिड आकारका भागलोभलाग्दा थिए ।  एक युवा व्यपारी सामुन्नेमा थिए ।  

"कति दाम हो भाइ सुन्तलाको ?"

"भागको सय रुपैयाँ हो ।"

"किलोको हिसाबले लिन मिल्दैन ।"

"मिल्दैन । यहाँ त भागमा बिक्री हुन्छ ।"

मेरो कुरा र सोधाइले सायद युवा व्यापारीले 'यो ग्राहक खाँदबारीको रैथाने होइन" भन्ने ठहराए होला । मैले केही मोलमोलाइ गर्ने सुर झिकेँ ।

"भागको नब्बेमा देऊ न भाइ ।"

"हुँदैन । सय नै पर्छ ।"

"उसो भए भागमा एक दाना थपि देऊन ।"

"हुँदैन ।"

मैले तिन भाग लिएँ । कर गरेर एक दाना चैँ थप्न लगाएँ । मेरो 'दुब्लाएको माग' पुरा भयो । दिउँसो जलविद्युत् परियोजनाको वातावरणीय प्रभाव मुल्याङ्कन विषयमा मेरो प्रस्तुति थियो । भारतको एक कम्पनीको लगानीमा अरुण नदीमा बाँध बाँधेर ९०० मेगावाटको जलविद्युत् आयोजना निर्माण गर्ने कार्य अघि बढेको विषयलाई मेरो प्रस्तुतिमा सुन्तलाको किनबेचसँग जोडेँ ।

"सुन्तला खरिदमा युवा व्यापारीको भाग बिक्री पद्धति मैले स्विकार्नु पर्‍यो । 'किलोको हिसाब' ले मात्र किन्छु भन्ने अडान राखेको भए हाम्रो किनबेचको मिलन बिन्दु फेला पर्ने थिएन । उनको मन जितेर मैले एक दाना सुन्तला भए पनि थपाएँ । त्यसैगरी प्रवर्तक कम्पनी र स्थानीयको बिचमा मन जित्ने समझदारी भएमा जलविद्युत् आयोजना निर्माण कार्य निर्धारित समयमा सकिन्छ । एउटाले अर्कोको पद्धतिको आदर नगर्दा र आआफ्नै अडानमा बस्दा व्यवधान उत्पन्न हुन सक्छ ।"

मैले हाटमा बयरको धुलो, कैलो तिल, टिमुर र लहरामा फल्ने सानो टमाटर किनेँ । सानो टमाटरको चटनी भने पछि म हुरुक्कै हुन्छु । पाकेका टमाटर सिधै सिलौटामा पिँधेको को चटनी छ भने मलाई अरू सितन नभए पनि हुन्छ । मेरा पिताश्रीलाई पनि यो परिकार औधी मन  पर्थ्यो ।

भोलिपल्ट खाँदबारीबाट हिँड्नु अघि म झोला किन्न गएँ । पसलमा एक अधबैँसे महिला थिइन ।

"दिनको पचास हजार सम्मको बिक्री त हुँदो हो ।"

मैले उनको मनसाय बुझ्न शब्दको पासो फ्याँकेँ ।

"कहाँ हुनु । पाँच हजारको भयो भने भाग्य ।"

उनले बिक्री राम्रो नहुनुका दुई कारण दिइन्- टाढाबाट आउने ग्राहक घटे र पोके व्यापारीहरुले सस्तोमा हाटमा सामान बेच्न थाले । नेपालमा नाम मात्रको सरकार हुनुको पीडा यही छ । ती बिक्रेता जस्तै स-साना व्यापारीलाई सहयोग हुने गरी कुनै नीतिगत परिवर्तन ल्याउन सके कति राम्रो हुने थियो ।

फर्कने क्रममा विमानस्थलको द्वारमा सवा खोलाको एक पेरुङ्गो सुकुटी माछा, एक पोको कागती र एक मुठो साग किनेँ । कागती किन्दा पनि रमाइलो भयो ।

"कति हो एक पोको कागतीको ?"

"दुई सय ।"

"एक सय पचासमा दिनु ।"

"मेरो हैन । यो कागतीको मालिक्नीले मलाई बेच्न जिम्मा दिएर गएकी छिन् । दुई सयमा एक रुपैँया पनि कम नगर्नु भनेकी छन् ।"

"उसो भए दुई दाना थपि दिनु न त ?"

"पोका पोका पारेका छन् । एक जनालाई थपेपछि अर्को पोकाको हिसाबै मिल्दैन ।"

उनले 'चट्टान' जस्तै व्यापार पद्धति बनाएकी रहिछन् । मलाई सकस भयो ।

"उसो भए यो पोकाका दुईवटा साना कागती अर्को पोकाको अलि ठूलासँग साटिदिनुस ।"

साहुनी मौन बसिन् । मेरो जित भयो । मैले कागती किनेँ । 

अहिले तुम्लिङ्टारको मनकामना मन्दिर पर्यटक र तिर्थालुको मुख्य आकर्षण केन्द्र बनेको रहेछ । विमानस्थल पुग्नु अघि हामीले मन्दिरको दर्शन गर्‍यौँ । पूर्व आयुक्त सूर्यनाथ उपाध्याय, आयोजक संस्थाका अध्यक्ष शैलेन्द्र गुरागाइँ र म एउटैगाडीमा थियौँ ।  खेम गुरुङले गाएको अत्यन्तै चर्चित गीत "वारि जमुना पारि जमुना" को प्रसङ्ग चल्यो ।

"जमुना भनेर अरुण नदीलाई भनिएको होला ।"

मैले मनकामना मन्दिर परिसरमा भेटिएका स्थानीयवासीलाई सोधेँ । उनीहरुको व्याख्या हाम्रो अनुमान भन्दा फरक थियो ।

"मनकामनाको अहिलेको यो मन्दिर पहिला अरुणको किनारमा थियो । त्यहाँ एउटा जमुनाको रुख थियो । नदी पारि पनि जमुनाको ठूलो रुख थियो । खेमले गीतमा यिनै दुई जमुनाका रुखलाई जोडेका हुन् ।"

मलाई भने खेमको गीतका अन्य दुई हरफले ध्यानाकर्षण गरे ।

एकादशी बजारैमा फन्के रोटी थालमा

कसको छोरा कसको छोरी पर्‍यो माया जालमा 

एकादशीमा लाग्ने हाटमा पाइने फन्के रोटीको मजा लिँदै 'माया जाल' मा कति तन्नेरी र तरुनीहरु परे होला ! मैले खाँदबारीमा भेटेका ईलामे मामा र चैनपुरे माइजुले पनि कुनै हाट बजारमै 'पिरतीको डोरी' बुनेका थिए कि !

"फेरि भेट भए यही कुरा जोडेर अर्को एक कप चिया जुराउने थिएँ ।"

मैले मन मनमा कल्पना गरेँ । त्यस्तो दिन यो जुनीमा फेरि आउला कि !

माघ २५, २०७३

साभार:

http://ujyaaloonline.com/news/70704/tea/

 

Tuesday, July 7, 2020

खिइँदै गएको वैवाहिक सम्बन्धको डोरी

शब्द र लय बुनेर कालजयी सिर्जना पस्कने सक्ने स्रष्टा थिए भीम विराग । मधु क्षेत्रीको स्वरमा घन्केर वनपाखा थर्काएको उनको एउटा गीतमा देउता र ढुङ्गा एकै साथ उदाएका छन् ।

‘देउता बन्ने रहरमा, ढुङ्गा बन्छ मानिस’


अवास्तविक महत्वाकांक्षाको यति सशक्त उदाहरण शायदै अन्त कतै पाइएला ।
देउता बन्ने कल्पनामा डुबेको मानिस कसरी ढुङ्गा बन्छ त ?
सन् २०१७ मा नोबेल पुरस्कार पाएका अध्येता रिचर्ड थेलरले विवाह र पारपाचुकेको प्रसङ्ग जोडेर यो विष अथ्र्याएका छन् ।

मानौं यो लेख पढ्दा पढ्दै कसैले गुगल महारानीलाई प्रश्न सोध्यो रे :

‘अहिले विश्वमा पारपाचुके गर्ने दर के छ ?’
महारानीले फटाक उत्तर दिनेछिन् !
‘विश्वमा अहिले लगभग पचास प्रतिशत दम्पतीको लगनगाँठो चुँडिने गरेको छ ।’
‘अर्थात एक दिनमा विश्वका ५० हजारभन्दा बढी जोडीले छोडपत्रको कागजातमा सहीछाप गर्छन् ।’

तपाईंले हालसालै अग्निसाक्षी राखेर विवाहको मन्त्र सुन्नुभएको छ भने मुटु दह्रो बनाउनुहोस् मित्रवर !

‘तपाईंले यो लेख पढ्न सुरु गरेको आधा मिनेट भएको छ । यति समयमा विश्वभरिका २० जोडीको पारपाचुके भएको छ ।’

यसै विषयलाई उधिनेर रिचर्ड र सन्सटियनले आफ्नो विश्वप्रसिद्ध पुस्तक ‘नज’ मा एउटा रोचक वर्णन गरेका छन् ।
यो व्याख्या अझै घनिभूत पार्न एउटा कल्पना गरौँ ।

मानौँ, अत्यन्तै मिल्ने एक साथीको विवाह भइरहेको मण्डपमा तपाईं पुग्नुभयो ।

स्वयम्बरको माला र औँठी आदान–प्रदान गरेर सोफामा बसेका दुलाहा वा दुलहीलाई कानमा खुसुक्क साउती गर्दै तपाईंले भन्नुभयो : ‘विश्वमा अहिले हरेक दुई जोडीमध्ये एकको सम्बन्धमा छोडपत्रको कालो बादल मडारिने गरेको छ । तिम्रो विवाहको हकमा यस्तो दुरवस्था हुने सम्भावना कति होला ?’

सम्भवत: तपाईंका दुलाहा मित्रले यस्तो प्रश्न गर्नेलाई विवाह स्थलबाट बाहिर निकाल्ने छन् । अथवा पागल भन्नेछन् ।

यदि समाजमा विध्वंशकारी कित्तामा नाम कहलाएको खलनायक दुलाहाको स्थानमा रहेछ भने उसले आफ्ना साथीभाइलाई फिल्मी शैलीमा भन्न सक्नेछ : ‘कच्याक कुचुक पारिदेऊ साथी हो यसको थुतुनो !’

मण्डपका नायक या नायिका तपाईंका एकदम मिल्ने दौँतरी परे रे । रिसको काँचो वायु मित्रताको कवचले थाम्दै तीनले भन्लान् : ‘शून्य प्रतिशत । त्यो तथ्यांक अरूलाई लागु होला तर हामीलाई लाग्दैन ।’

किन यस्तो हुन्छ त ?

किनकि सदियौँदेखि चलेको यो संसारको रीत हो । विवाह बन्धनमा बाँधिन लागेका शतप्रतिशत जोडीले वाचा गर्छन् : ‘जस्तोसुकै विषम परिस्थिति आए पनि हाम्रो सम्बन्धको डोरी छिन्दैन ।’

तारादेवीले ‘सोचेजस्तो हुन्न जीवन’ भनेर गाएजस्तो हुन्छ सबै विवाहित जोडीको सम्बन्धको डोरी । सोचेजस्तो हुन्न, छिन्न पनि सक्छ । मैले केही समयअघि लेखेको एक निबन्धमा यसको बाक्लो चर्चा गरेको छु ।

‘कुनै एक समयमा इष्ट देवताको आँगनमा कसम खाई प्रणयसूत्रमा बाँधिएका जोडीहरू मायाको मर्करी शुन्यमा झारेर बिछोडिन पनि पुग्छन् ।’

अर्थात गुगल महारानीले भनेको सत्य हो । अहिले संसारमै विवाह गराउने पण्डितको भन्दा छोडपत्र गराउने वकिलको कमाइ बढी छ ।

नेपालमै पनि सर्वसाधारणदेखि समाजका धनाढ्य वा प्रतिष्ठित कुलघरानाका दम्पतीहरूको सम्बन्ध विच्छेद हुने दर उर्लंदो भेलजस्तै बढ्दो छ ।

वैवाहिक स्थितिको यो जोड–घटाउको विडम्बनालाई रिचर्ड र सन्सटियनले अनरियलिस्टिक अप्टिमिज्म अर्थात अवास्तविक महत्वकांक्षाको एक बलियो उदाहरण भनेका छन् ।

उदेकलाग्ने कुरा त के छ भने पहिलो सम्बन्धमा पूर्णविराम लागेर दोस्रो विवाह गरेकाहरू पनि यो महत्वाकांक्षाको सिद्धान्तको सिकार हुन्छन् ।
अमेरिकामा दोस्रो विवाह गरेका ६० प्रतिशत दम्पतीको सम्बन्ध विच्छेद हुने गरेको छ ।

‘महत्वाकांक्षाको पूर्वाग्रह’ शीर्षकमा विश्वप्रसिद्ध प्रवचन शृङ्खला ‘टेड टक’ मा बेलायती अध्येता ताली सारोतले भनेकी छन् : ‘उदेक लाग्दो कुरो त सम्बन्ध विच्छेद गराउने वकिलहरूले पनि आफ्नो हुन लागेको छोडपत्रका बारेमा पूर्वानुमान गर्न सक्दैनन् ।’

सारोतका अनुसार प्रत्येक व्यक्तिले आफू र आफ्ना परिवारका बारेमा धेरै आशावादी सोच पालेको हुन्छ तर आफ्नो छिमेकी, प्रतिस्पर्धी वा राष्ट्रप्रति भने निराशावादी सोच पालेको हुन्छ । अझ भनौँ, अरूको उन्नति या प्रगतिको बारेमा त जसले पनि मात्सर्य नै पालेको हुन्छ । यसकारण उसको महत्वाकांक्षा कालान्तरमा अवास्तविक कित्तामा अवतरण गर्न सक्छ ।

नेपाली चलचित्रमा नाम कमाएकी कलाकार प्रियंका कार्कीले २२ वर्षको उमेरमा रोचक मैनालीसँग प्रेमविवाह गरिन् । बिस्तारै उनीहरूको सम्बन्धमा दरार आयो । अहिले प्रियंका र रोचक दुवैले दोस्रो विवाह गरिसकेका छन् ।

नेपाली चलचित्रका सदावहार नायक भुवन केसीको दोस्रो विवाहमा पनि पूर्णविराम लाग्यो । छापाहरूका अनुसार उनी अहिले तेस्री महिलाको सान्निध्यमा छन् ।
अमेरिकाकै तथ्यांकले भन्छ, तेस्रो विवाह गर्नेमध्ये लगभग तीन चौथाईको सम्बन्धविच्छेद हुनेगरेको छ ।

वैवाहिक सम्बन्धमा चरम विचलन आएका र नेपालको राजनीतिसँग जोडिएका पात्रहरूमा पूर्वप्रधानमन्त्री प्रचण्डका छोरा प्रकाशको पनि नाम आउँछ । उनले पहिलीसँग सम्बन्ध विच्छेद गरी दोस्रो विवाह गरेका थिए । फेरि उनले तेस्री महिला ल्याए । दैवको लीला ! जवानीमै प्रकाशको निधन भयो ।

नेपाली समाजको इतिहासमा पुरुष वा महिलाले दोस्रो विवाह गर्ने प्रचलन नभएको होइन । पुरुषले बहुविवाह गरी एउटै घरमा दुई वा तीन श्रीमती राख्ने चलन सामान्य थियो । अहिले पनि यदाकदा त्यस्तो हुने गरेको छ ।

विद्यालय पढ्दाका मेरा एक सहपाठी साथीले दोस्रो विवाह गरे । जेठी श्रीमतीबाट सन्तान भएका थिएनन् । यसलै उनको कदमको लोकले आलोचना गरेन । कान्छीपट्टीवाट दुई सन्तान भए ।

दुई वर्षअघि हामी पढेको विद्यालयको स्वर्ण महोत्सव मनाइयो । म कार्यक्रममा सहभागी हुन मोरङको उर्लाबारी गएँ । ती साथीको बसाइ उर्लाबारीमै छ । महोत्सवकै अवसरमा मेरी अर्की एक सहपाठी र म ती साथीको घर गयौँ ।

हामी दुई जना बैठक कोठामा एकातिरको सोफामा बसेका थियौँ । ती साथी र उनका दुईवटी अर्धाङ्गिनीले हाम्रो विशिष्ट सत्कार गरे । चियाको चुस्की लिँदै हामी गफमा मस्त भयौँ ।

मलाई अहिले पनि हाम्रो विपरीतको सोफामा बसेका तीन पात्रको तस्वीर एकमुष्ट आफ्नै अघि आइरहेको छ । बीचमा साथी थिए । दाहिनेतिर उनकी जेठी श्रीमती बसेकी थिइन् भने देब्रेतिर कान्छी ।

मेरो लागि यो जीवनकै एक अविस्मरणीय अनुभूति हुन गयो ।

पढेको थिएँ । सुनेको थिएँ । आफ्नै आँखाअघि आफ्नै साथीका दुई अर्धाङ्गिनी देख्दा म किन हो पुलकित भएँ ।
मैले बुझेको दम्पतीको समीकरण त्यहाँ भत्किएको थियो । दुवै श्रीमती एकै पटक आफ्नो श्रीमानको अनुहार हेर्थे । अनि हामीतिर हेर्थे ।

अरूले सामान्यरूपमा लेलान् तर मलाई ताज्जुब लागेको मुख्य कुरो मेरो अराजक कल्पना थियो । यसले अझै पनि कहिलेकाहीँ मेरो मष्तिष्कमा हलचल ल्याउँछ । म आफूलाई मेरा ती सहपाठीको स्थानमा राखेर हेर्छु ।

‘मेरा दायाँ–बायाँ दुई श्रीमती भएको भए के हुन्थ्यो होला ?’

मेरा अनन्य मित्र अर्थात ‘सुन जोडी’ का उपल्लो अंशियार सूर्यमान शाक्यले आफूले जानेको एक परिवारको ‘बहुल श्रीमती व्यवस्थापन’ को पक्ष चोटिलो रहेको बताएका थिए ।

‘एक दिन जेठीको कोठामा रात बिताउने । त्यसको लगत्तै भोलिपल्ट कान्छीको कोठामा । जेठीको कोठामा जति जोडी लुगा हुन्छन् कान्छीकोमा पनि उही रङ्गका उति नै थान हुन्छन् । अनि बिहान उठेर इस्त्री गर्दा दुवैको प्रतिस्पर्धा हुन्छ । कसको क्रिज धारिलो, इत्यादि । जिन्दगीको मजा यसैमा छ !’

केही हिम्मतीहरूका लागि बहुल श्रीमती राख्नु यो ‘साहसिक पर्यटन’ खेलजस्तो होला । कतिका लागि फगत एक मात्सर्य । मेरा लागि भने यो खुकुरीको धारमा हिँड्न पर्ने जोखिम यात्रा हुन्थ्यो । अनि अधिकांश पुरुषका लागि पनि त्यस्तै होला भन्ने ठान्दछु । त्यसैले यो प्रचलन समाजविकासक्रमको मूलधारमा नआएको होला ।
महिलाले दोस्रो विवाह गर्ने भन्ने चलन पनि थियो । कसैले यस्तो साहस गरे ‘पोइल गई’ भनिन्थ्यो । यसो गर्नेप्रति हेयको दृष्टि हुन्थ्यो । अर्काकी स्वास्नी फकाएर ल्याउने काम पराक्रमसँग जोडिन्थ्यो । यसलाई ‘जारी प्रथा’ भनिन्थ्यो । शब्दकोशले ‘जारी’ लाई पुरुषप्रधान र ‘पोइल’ लाई स्त्रीप्रधान बनाई प्रस्तुत गरेको छ । ‘स्वास्नी पोइल गई’ भन्नुको अर्थ आफूखुशी अर्को लोग्ने खोजेर गई भन्ने अर्थ लाग्दो रहेछ ।

यहाँनिर ‘जारी’ र ‘पोइल’ को तात्विक भिन्नतामा भेदभावको गन्ध देखिन्छ ।

त्यसो त यौन विचलन र यौनतृप्तिसँग जोडिएका ‘अवास्तविक महत्वाकांक्षा’ का उदाहरणहरू इतिहासमा बाक्लै पाइन्छन् ।

धनुषचन्द्र गोतामेले आफ्नो एक निबन्ध संग्रहमा २०१८ सालतिरको एक प्रसङ्ग उल्लेख गरेका छन् । त्यसेला स्थानीय निकायका अधिकारी अञ्चलाधीश हुन्थे रे । चरम दरिद्रतामा जीवनयापन गरेका जुम्लातिरका जनता ती अधिकारी र दौडाहामा आएका मन्त्रीलाई गुनासो र उजुरी गर्थे रे ।

उनीहरूका गुनासा र उजुरी अधिकांश यौन र सामाजिक अन्यायका विषयमा केन्द्रित हुन्थे रे । नवयौवना आइमाईहरू साहसिला पुरुषको याचना गर्दै यतिसम्म भन्थे रे :

‘पोइ सानु भो, साटिपाऊँ ।’

यसरी पहिलो सम्बन्धमा आफूले अपेक्षा गरेको जस्तो रूप र पराक्रम नभेटिनुका कतिपय जायज कारण पनि होलान् । सत्य कुरा के हो भने विवाह गर्दा हाम्रो वैवाहिक जीवनमा दरार आउन सक्छ भनेर कसैले कल्पना गर्दैन ।

राजनीतिक पृष्ठभूमिसँग जोडिएकी र चलचित्र क्षेत्रमा नाम कमाएकी एक पात्र हुन् मनीषा कोइराला । उनले काठमाडौँका धनाढ्य व्यापारी सम्राट दाहालसँग विवाह गरिन् । हनिमुनको दुई वर्षपछि नै उनीहरू अलग्गिए । मनीषाले दोस्रो विवाह गरेको समाचार आएको छैन । उनको जीवनशैलीमा भने आकाश–जमिनको परिवर्तन आएको छ ।

सम्बन्ध विच्छेद गरेर दोस्रो विवाह नगर्नेको संख्या पनि बढ्दो छ । उता विकसित देशमा भने विवाह नै नगरी एकल जीवन बिताउनेको संख्या यथेष्ठ छ । यसरी बढ्दो सम्बन्ध विच्छेद, समलिङ्गी विवाह, विवाहपूर्वको सहवास, एकल जीवनशैली आदिका कारण विवाहको संस्थागत संरचना जोखिममा परेको छ ।

अष्ट्रेलियाजस्ता मुलुकमा जाने नेपाली युवायुवतीले त हाडनातामा पनि नक्कली विवाह गर्ने गरेका छन् । अहिले परम्परागतरूपमा लगन नहुने महिनामा पनि विवाह हुने थालेको छ ।

यसरी हजारौँ वर्षदेखि जीवन्त रहेको विवाहपद्धतिमा आएको स्खलन नै सम्बन्ध विच्छेद आदि हुनुको एक कारक हो भन्नेमा धेरै अध्येताहरूको निचोड छ । ‘एक व्यक्ति एक जीवनसाथी’ जस्तो हाम्रो परम्परागत र स्थापित मान्यता भत्किन थालेको छ ।

सनातन पद्धतिअनुसार विवाह गर्दा मण्डपमा दुलाहा–दुलहीले अग्नि साक्षी राखेर केही प्रतिज्ञा गर्नु पर्दथ्यो ।
दुलहीले दुलाहालाई यसरी वाचा गराउँथिन् : ‘कन्याको रूपमा तपाईंसँग यो पनि वर माग्दछु कि तपाईं मबाहेकका अन्य स्त्रीलाई आमा समानको दृष्टिले हेर्नुहुन्छ । हामी पति–पत्नीको प्रेमको अंशियार अरू कसैलाई बनाउनु हुन्न । तपाईंलाई यो स्वीकार्य छ भने म तपाईंकी पत्नी हुन मञ्जुर छु ।’

अनुशासन र मर्यादाको यो विराशतमा धमिरा लागेको छ । यसैले दाम्पत्य जीवनका विपरीतधर्मी गतिविधिहरू मौलाएर वृक्ष भएका छन् ।

देउता बन्ने महत्वाकांक्षा लिएर ढुङ्गा बन्ने मान्छेको गीत गाएका मधु क्षेत्रीले यसको कारण पनि त्यही गीतमा खोलेका छन् :

अरूलाई कुल्चेर अघि बढ्छ मानिस ।
देउता बन्ने रहरमा ढुङ्गा बन्छ मानिस ।।

साभार :  https://www.khabarhub.com/2020/02/159248/

Saturday, July 4, 2020

ह्याप्पी गुरु पूर्णिमा !



त्यस रात म धुलिखेलमै बसेँ । गुरु पूर्णिमाको रात भए पनि जूनको उज्यालोको नामोनिशान थिएन । बादलको बाक्लो उपस्थिति थियो । काठमाण्डौ विश्वविद्यालयको धुलिखेल केन्द्रीय क्याम्पस हातामा थिएँ ।  बेलुकीको खाना विद्यार्थीको क्यान्टिनमा हुने तय थियो । विश्वविद्यालय परिसरमा हिँडडुल गर्दा उकाली ओरालीको आनन्द लिन पाइन्छ । म क्यान्टिन ताकेर तल ओर्लदै थिँए । एक हुल  छात्रा माथि उक्लँदै रहेछन् । उनीहरुसँग जम्काभेट भयो ।
उनीहरुले अभिवादन गरे ।

“गुड इभिनिङ सर । ”

“गुड इभिनिङ एन्ड………….।”

अभिवादन फर्काउँदै उनीहरुलाई अलिकता अन्यौल पस्किदिँए । मेरो स्वभाव यस्तै छ । सिर्जित परिस्थितिको भरपुर उपयोग गर्ने । उनीहरु एक अर्काको अनुहार हेर्न थाले । मैले मेरो “एण्ड” लाई कायम राखेँ ।

“एन्ड ?”

उनीहरु चकित भावले मौन बसे ।

“एन्ड ?”

मौनता झाङ्गियो तर उनीहरुले मेरो प्रश्न बुझे । त्यो दिन केही विशेष हो भन्ने उनीहरुलाई पर्‍यो । पछिल्तिरको समूहकी एक छात्राले आत्तिएको स्वरमा भनिन् ।

“ह्याप्पी बर्थ डे सर !”

कौतुहलको भाव एकाएक बेजोडको हाँसोले विस्थापित भयो । मैले “मिलेन” भनेँ । सरले सोधेको प्रश्नको उत्तर सकेसम्म मिलाउन पाए हुन्थ्यो भन्ने उनीहरुलाई लाग्छ । त्यस कारण सही परिस्थितिमा सही प्रश्न सोध्न पनि विशेष कौशल चाहिन्छ । यसरी परिस्थितिलाई उचित प्रसङ्गमा बदल्न सक्ने कला चानचुने हुँदैन । जुन शिक्षकसँग त्यो कला हुन्छ त्यो भविष्यमा गुरु बन्न सक्छ भन्ने मेरो मान्यता छ ।  कक्षाकोठामा पनि यही हुन्छ । म सकेसम्म उनीहरुबाटै सही जवाफ निकाल्ने अभियान टुङ्गोमा नपुगुन्जेल प्रश्न सोधि रहन्छु । उनीहरुको मष्तिष्कको शान्त तलाउमा ढुँगा हानेर हलचल ल्याउने प्रयास गर्छु । उनीहरुका अन्दाजी उत्तरहरुमा छलफल चलाउँछु ।  सृष्टिको नियम नै यही छ । हरेकको सोच्ने तरिका अलग अलग छ । हरेकको उभिएको धरातल फरक छ । पृष्ठभूमि फरक छ । दिइएको परिस्थिति वा प्रश्नलाई उनीहरु कुनै न कुनै पृष्टभूमिसँग जोडेर सही उत्तर निकाल्ने प्रयास गर्छन् । मसँग भएको गुरुत्वको सानो अँश त्यसैमा रमाउँछ ।  सिर्जना त्यहीँ फुल्छ । ज्ञान त्यहीँ फुल्छ ।

फेरि मौन ! तर त्यो अझ झाँगिन पाएन । हुलमध्येकी एक जनालाई फुरेछ । उनले तिव्र गतिमा हाँस्दै भनिन्-

“ ए ! ह्याप्पी गुरु पूर्णिमा सर । ”

“ हाउ वन्डरफुल ! थ्याङ्क यु सो मच !”

भए भरका सबैले एकै स्वरमा भने-  “ह्याप्पी गुरु पुर्णिमा सअअअअअर ।”

म सुत्रधारको भुमिकामा थिँए । रगँमन्च तयार भइसकेको थियो । मैले रँगमन्चकी नायिका तिर हत्केला ठाडो पारेर हात वढाएँ । उनको हात त्यसै गरेर मेरो हात तिर आयो । आकाशमा “हाई फाईभ” सिर्जना भयो । स्यावासी पाएकोले उनको अनुहारमा चमक थपियो । खुशीको सीमा आकासियो । एकाएक अरु वेलाको जस्तै सामान्य परिस्थितिमा रोचक प्रसँगको पहाड उभियो । समूहमा प्रश्न सोध्नुको आनन्द यही छ । विलक्षण प्रतिभा भएको कोही न कोही निस्कन्छ र खोजेको जवाफ प्रस्फुटन हुन्छ । सही जवाफ दिनेलाई हौसला दिँदा प्रेरणाको थप श्रोत हुन्छ । यसरी विद्यार्थीहरु सँगको भेटले यो पालाको गुरु पूर्णिमाको दिन साँच्चै रमाईलो भयो ।       

भोलिपल्ट विहान म एकै छिन घुम्न निस्के । बाहिरको मौसम एकदमै राम्रो थियो । आकाशमा बादल, जमिनमाथि कुहिरो, पातलो घनत्वमा बर्सिरहेको जुम्रे पानी र कागको काँकाँको सँगीत । अस्ताउन लागेको आषाढ । उदाउन लागेको श्रावण तर रँगमन्चमा त्यो रमणीय क्षणको रसास्वादन गर्ने नरनारी एकाध दुई मात्र थिए । उनीहरु आनन्दमा हराउने भन्दा पनि काम विशेषमा लीन थिए । काठमाण्डौ विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थी वा अध्यापन गराउने प्राध्यापक कोही बाटोमा भेटिन्छ कि भन्ने आशा त्यतिकै बिलायो । यो विहान ढिलो उठ्ने सँस्कृतिको नतिजा हो । कागको काँकाँको सँगीत अझ प्रखर भयो । योग साधना केन्द्रमा धेरै जना सहभागी भएर एकै साथ ॐ को उच्चारण गर्दा जुन उचाईको आनन्द प्राप्त हुन्छ सायद सृष्टिकर्ताले कागहरुको सामूहिक बोलीमा पनि त्यही प्रकृति पस्केका होलान् भन्ने कल्पना पलायो ।

म विश्वविद्यालय परिसर छिचोलेर व्यक्तिगत घर र पसलहरु भएको स्थानमा पुगेँ । दारी खौरने क्रिम किन्ने विचार आयो तर आश्चर्य ! एउटा पनि पसल खुलेको थिएन् । सेवाग्राही नभए पछि सेवा प्रदायकहरु जाग्ने कुरै भएन । काग र अन्य चरा उठेर नित्य कर्ममा लागिसकेका थिए । राति चराहरु पनि बास बस्छन् । मध्य रातमा एक तमासले काग कराएको कसैले सुनेको छैन होला । ईश्वरले यो सब मिलाएर बनाएका छन् । रातको समयमा मान्छे लगायतका अन्य प्राणीहरुको गतिविधि शून्य प्राय हुन्छ । यसलाई मिलाउन निद्राको आविष्कार गरेका छन् ती विशिष्ट चित्रकारले ।
केही समय अघि लाङटाङ उपत्यका घुमेर आएका वातावरण विज्ञान र ईन्जिनियरिङका केही विद्यार्थीलाई मैले सोधेको थिँए-

“तिमीले यस भ्रमणवाट सिकेको सबैभन्दा विशिष्ट कुरा के हो ? “

उनीहरुले सामान्य उत्तर दिए । नयाँ ठाँउमा पुग्ने पर्यटकले पनि त्यस ठाँउको मौलिकपन, भूगोल र प्राकृतिक सुन्दरता देख्छ र त्यही भन्छ तर म चाहान्थे शैक्षिक भ्रमणमा उनीहरुका विज्ञान र ईन्जिनियरिङ आँखा खुलुन र उनीहरुले यस्तो उत्तर दिऊन्-

“मैले प्रकृतिको विधानलाई नजिक वाट नियाल्ने मौका पाँए सर । वाह ! त्यो ईन्जिनियरिङ । वाह ! त्यो कलाकारिता ।  चट्टानमा चट्टान खप्टिएर पहाड बनेको छ । प्रत्येक कण कण नियमले वाँधिएको मात्रै छैन त्यहाँ विचित्रको जादु छ । चट्टानमाथि माटो छ । माटोमाथि घाँस छ । एउटाले अर्को लाई धानेको छ । अनौठा नियमहरु छन् । पानी तल वग्छ । तातो वायु माथि । माटोको आफ्नै नियम छ । पानीको आफ्नै विधान छ । वनस्पतिको आफ्नै शास्त्र छ । जरा पातलिन्छ । वोट आकाशिन्छ । कीट पतङ्ग, पुतली, चरा, प्राणी हरेकको आफ्नै विज्ञान छ । एउटा डाँडोको रुप अर्कोसँग मिल्दैन् । पाखाहरु फरक छन् । जँगलहरु फरक छन् । कसरी भयो त्यो सिर्जना ? कसरी त्यति धेरै विविधतालाई सुत्रबद्ध गरिएको छ ? कसरी समेटिएका छन् यी हरेकका जीवन कथाहरु ? कागको आवाज अर्कै छ । भँगेराको चिँचिँ अर्कै छ । बाह्य रुप, शरीरको बनावट, जन्मने, बाँच्ने सबै तरिका फरक फरक छन् । फरक हुनुको पनि कारण छ । त्यो कारणको पनि विधान छ ।  विज्ञानले ठेलीका ठेली पुस्तक निकालेको छ यिनै प्रकृतिले सिर्जना गरेका ज्ञान समेटेर ।  मैले पुस्तकमा पढेको र  त्यँहा देखिएको दृष्य र त्यसको सँरचना भित्रको तत्वज्ञानमा समानता देँखे । यसले मेरो मन प्रसन्न भयो सर ! मैले आफ्नो ज्ञानभण्डारमा थुप्रेको कितावी ज्ञान आफ्नै आँखा अगि देखिएको त्यो वास्तविकता सँग दाँज्ने अवसर प्राप्त गरेँ । लाङटाङ भ्रमणको उपलब्धि यही हो सर !“

केही बर्षअगि म चितवनको देवघाट पुगेको थिँए । काली गण्डकी र त्रिशूलीको विशाल जल प्रवाह एक अर्कामा त्यति सहज र शालीन तरिकाले मिसिएको देखेर मलाई लागेको थियो-

 “वाह ! प्रकृति ! विराट अनुष्ठान भनेको यही हो त !“

एउटा अम्खोराको पानी अर्कोमा खन्याउँदा आवाज आँउछ । सानो धारोको पानी पनि धरर गर्दै बग्छ । तर हजारौ क्युबिक मिटर प्रति सेकेण्डको बहाव बोकेर सयौ किलो मिटर यात्रा तय गरेर आएका ती जलप्रवाहहरु कति शान्त पाराले मिसिएका छन् । जलप्रवाहको परिमाणकै तुलनाको आवाज निस्कने हो भने कस्तो हुन्थ्यो होला ! यसरी मेरा कल्पनाका तरङ्ग हरु अगि बढेका थिए । यहि प्रकृतिलाई गुरु थापेर विज्ञान यहाँ सम्म आईपुगेको छ । प्रकृतिमा भएकै ज्ञान समेटेर ईन्जिनियरिङको ढोका खुलेको छ । चट्टानको खातले खपेको भार देखेर धैरै तला भएको भवन वनाउने ज्ञान पलायो । भुईँमा खसेको स्याउले रकेट जन्मायो । आकाशमा उडेको चिलले हवाईजहाज वनाउने प्रेरणा दियो तर प्रकृतिमा उपलब्ध ज्ञानको तुलनामा हाम्रो बुझाई सार्‍है अल्प छ । हाम्रै जीवनकालमा या हाम्रा सन्ततिका समयमा अझ कस्ता कस्ता आविष्कार होलान ? कल्पना गर्न समेत चर्को छ ।

मलाई कहिलेकाहीँ लाग्छ, यस चराचर जगतका सम्पूर्ण प्राणी र वनस्पति ती जगत पिता प्रभु अर्थात प्रकृति आमाप्रति अनुगृहित छन् जसको कल्पना, सिर्जना र ओतले हरेकको अस्तित्व र श्री यस जगतमा फुल्न पाएको छ । गुरु जनहरु प्रति अनुगृहित हुने यो विशेष तिथिको साईत पारेर म तिनै चामत्कारिक सर्जकलाई स्मरण गर्न चाहान्छु-

“ हे प्रकृति ! हे प्रभु ! गुरु पूर्णिमाको यस पवित्र अवसरमा कोटी कोटी नमन ! “ 

सौराहा, साउने सोमवार, श्रावण ०५, २०७१

शब्दाङ्कुर (साहित्यप्रधान मासिक), वैशाख २०७३, अङ्क १७५

“झोलाको बार” नियात्रा सँग्रहमा समाविष्ट रचना