Friday, October 16, 2020

बेनीको बजार, खै कता छ मायाको नजर?


दिउँसो ३ बजेको उडानबाट पोखरा जानुपर्ने भएकोले मैले धुलिखेलबाट ११ बजेको सटल बस समातेँ । काठमाडौँ विश्वविद्यालयमा प्रवेश गरेदेखि सटल सेवाको अवधारणा मेरो मस्तिष्कमा थियो । केही साथीभाइसँग यसबारे छलफल पनि गरेको थिएँ । केही हप्ताअघि यो राम्रो काम सुरु भएको छ । इमेलमा आएको टिकट भने छाप्न बिर्सेछु । कोटेश्वर ओर्लेर पसल चाहार्दै हिँडेँ । इमेलबाट डाउनलोड गरी छाप्ने सुविधा भएका पसल कम छन् । एउटा पसलमा पुगेँ । रातो लुगामा सजिएकी अधबैँसे साहुनी फेला परिन् ।

 

‘प्रिन्ट गर्ने सुविधा छ त हजुरकहाँ ?’

 

‘छैन । अलिबार चलाएर बन्द गरियो ।’

 

‘किन बन्द गर्नु भो त नि ? ऊ परदेखि आएँ हजुरकहाँ होला भनेर ।’

 

‘के गर्नु बुढाबुढी मात्रै छौँ । छोराछोरी विदेशमा छन् । हामीलाई कम्प्युटर चलाउन कसले सिकाइदेओस् । मान्छे राखेर साध्य नहुने ।’

 

‘छोराछोरी विदेशमा’ यो समस्याले नेपालमा विकराल रूप लिँदैछ । सम्भवत: यो हाम्रो पुस्ताले झेल्ने एक मात्र प्रमुख सामाजिक समस्या होला । म चिन्तित भएँ ।

 

मैले अर्को पसलबारे सोच्न नपाउँदै कार्यशाला गोष्ठीका आयोजक स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) को कार्यालयबाट फोन आयो । कार्यशाला गोष्ठी म्याग्दीको बेनीबजारमा आयोजना गरिएको थियो । मलाई त्यसकै लागि एक पण्डितको रूपमा निमन्त्रणा गरिएको थियो ।

 

‘सर ! नमस्ते म इप्पानबाट बोल्दै छु । सरले एउटा कागजातको बाकस बेनी लगिदिनु पर्ने भयो ।’

 

मैले स्वीकृति दिएँ । यो अकस्मात् आइलागेको अतिरिक्त क्रियाले मेरो मस्तिष्कमा एक बुद्धि प्रत्युत्पन्न गरायो ।

 

‘तपाइँ को बोल्नु भएको रे?’

 

‘म मिस्सु बोल्दै छु ।’

 

‘मिस्सु मतलब एमआइएसएसयु हो ।”

नाम भनेको काम लाग्छ । मैले नाम बुझिँन भने म केरकार गर्छु । यथार्थ बुझ्ने कोसिस गर्छु । नामको अर्थ लगाउन लगाउँछु । यसरी एक निर्देशक सिद्धान्त जुर्मुराउँछ- कुनै मान्छे एक न एक दिन काम लाग्छ । त्यसकारण उसलाई चिनी राख ।

 

‘हो सर ।’

 

‘ल मिस्सुजी, मलाई पनि तपाइँले एक मदत गर्नुपर्ने भयो । मेरो टिकट प्रिन्ट गरेर सामान लिएर आउने व्यक्तिसँग पठाइदिनुस् न ल !’

 

मिस्सुसँग मैले तात्तातै काम लिने विचार गरेँ । मेरो काम हुने भयो । म सिधै घरतिर लागेँ । हरेक व्यक्तिलाई काम लाग्न सक्ने अर्को पनि सिद्धान्त फेरि एक पटक प्रतिपादित भयो-भइपरि आएको परिस्थिति आफ्नो अनुकूल पार्न सक्ने कला नेतृत्व कौशलको एक अभिन्न अङ्ग हो ।

 

यसैले अङ्ग्रेजीमा कसैले भनेको छ-

 

‘तुफान र आँधी जहिल्यै सक्षम जहाजचालकका पक्षमा हुन्छन् ।’

 

आन्तरिक टर्मिनल प्रवेशद्वारमा इप्पानको नासो सङ्कलन गरेर म भित्र पसेँ । झोला झ्याम्टा जाँच गर्ने एक्स-रे मेसिनबाट टिकट जाँच गर्ने काउन्टरसम्म बाकस लैजान महाभारत भयो । ट्रली भित्र लान नपाइने । बाकसको तौल १५ केजीभन्दा माथि ! उझिन्डो छैन । बाकससहित मेरा तिन झोला छन् । जाँच कक्षका प्रहरीलाई सोधेँ । ‘उनले पालै पालो लैजानोस्’ भने । यहाँनिर देश विकासको चिन्तन गर्नेका लागि अवसर देखेँ । विदेश सम्झेँ । त्यहाँ यी मसिना कुराको ठुलो विचार गरिन्छ । काउन्टरसम्म ट्रली लैजाने व्यवस्था हुन्छ ।काठमाडौ-पोखरा उडान २५ मिनटमात्र भएकाले अचेल चकलेट र पानीबाहेक अरू खानेकुरा बाँडिँदैन । मलाई यसको जानकारी थियो तर, यो उडानमा पानी पनि बाँडिएन । धन्य ! मैले जहाज उड्नुअघि हवाई सुन्दरीसँग मागेर एक गिलास पिएको थिएँ ।

 

ओर्लिने बेला मैले पुरानै पारा निकालेँ । अन्तिममा ओर्लिएँ । ओर्लिँदा आकाशका परीसँग बात मारेँ ।

 

‘बाहिर वर्षा भइरहेर हो कि किन हो भित्र पानी नबाँडेको ?’

 

‘देख्नु भएन मौसमको खराबी । पेटी बाँध्ने सङ्केत नै निभेन ।’

 

‘तर तपाइँले पानी बाँड्न असमर्थ भएको जानकारी त दिनु भएन नि ?’

 

बहस गर्ने सुन्दरीको बोली बन्द भो । मैले यो समस्याको सजिलो समाधान निकालेँ- पानीको सानो बोतल उड्नुभन्दा अगावै हरेक सिटमा राखिदिने ।

 

विद्युत् विकास विभागका उप-महानिर्देशक पुरुषोत्तम आचार्य पनि त्यही उडानमा हुनुहुन्थ्यो । वहाँ पनि गोष्ठीको अर्को पण्डित भएर जाँदै हुनुहुन्थ्यो । हामी दुईको ‘यात्रा एकत्व’ को जन्म भयो । पोखराबाट बेनी जान हामीलाई व्यवस्था गरिएको सवारी झन्डै हात्ती जत्रो, पर्यटक बोक्ने हायास ! भइपरि आएकोलाई स्विकार्दै हामी पोखराबाट ४ बजे बेनी प्रस्थान गर्‍यौँ ।

 

संयोग नै थियो त्यो । वातावरण विधामा स्नातक गर्ने काठमाडौँ विश्विविद्यालयका ५० विद्यार्थीको टोली मुस्ताङ गन्तव्य बनाएर शैक्षिक भ्रमणमा निस्केको थियो । उनीहरूको पनि त्यो दिन बेनीमा बास थियो । बेनीबजार र वरपरको सानो भू-गोल संसारमै प्रख्यात अवयव थिए । त्यो विद्यार्थीका लागि ज्ञानबर्धक हुने हुँदा मैले प्रत्येक विद्यार्थीलाई एक-एक वटा टोपो नक्सा लैजान सिफारिस गरेको थिएँ । मैले म्याग्दी बहुमुखी क्याम्पसका अध्यापक तारानाथ शर्मालाई सम्पर्क गरी बेलुका विद्यार्थीलाई बेनीबजार र म्याग्दीबारे जानकारी गराइदिन अनुरोध गरेँ ।

 

बेलुकी ८ बजे एक अभूतपूर्व कक्षा आयोजना भयो । तारा सर र म्याग्दी जिल्लाका खानेपानी इन्जिनियर मित्रले विद्यार्थीलाई विविध विषयमा जानकारी दिनुभयो । भोलिपल्ट बिहानै मुस्ताङका लागि प्रस्थान गर्ने विद्यार्थीको योजना थियो । यसैले बिहान ६ बजेदेखि ७ बजेसम्म कक्षा तय गरेँ तर, विद्यार्थीले बिहानै कक्षामा उपस्थित हुन जाँगर देखाएनन् ।

 

मैले विद्यार्थीलाई भनेँ-

 

‘यो आनन्द लिने भ्रमण होइन । आनन्दले घुम्ने परिवारसँग हो । यो भ्रमणमा सिक्ने कुरा अथाह छन् । नयाँ कुरा सिक्दा अलिकति दु:ख भए पनि सहनुपर्छ । हामीसँग भएको समय त्यही हो । अर्को विकल्प छैन ।’

 

बहुमतले सहमति जनायो । यो सूचनाको जानकारीसँगै हामीले त्यो दिन बिट मार्‍यौँ ।

 

म पौने छ बजे शिखर होटलमा पुगेँ । छ बजे केही विद्यार्थी आए । केहीबेरमा अरू पनि उदाए । कतिपयको अनुहारको भावले भन्थ्यो-‘यो मेरो जीवनकै सबैभन्दा सबेरै लिइएको कक्षा हो ।’

 

कक्षामा मैले टोपो नक्साबारे जानकारी दिएँ । विद्यार्थीको टोलीका साथ गएका अध्यापकद्वय डा. कुमदराज काफ्ले र राजेन्द्र भण्डारीले कक्षा लिन सहयोग गरे । संयोगवश इप्पानले आयोजना गरेको गोष्ठी हुने होटलमै भ्रमण टोलीका आधा विद्यार्थीबास बसेकाले मेरो विशेष अनुरोधमा सभा-कक्ष उपलब्ध गराइएको थियो । मैले सोचेकै ढङ्गले विद्यार्थीलाई केही ज्ञान दिन सकेँ । म दङ्ग परेँ ।

 

मलाई लाग्यो- काठमाडौँविश्वविद्यालयले आयोजना गरेका शैक्षिक भ्रमणको इतिहासमा यो कक्षा पानी ढलोको रूपमा स्थापित भयो ।

 

इप्पानको ‘जलविधुत्को विकास र वातावरणका पक्ष’ विषयको पुराणकाअतिरिक्त मेरा अन्य पुण्यकार्य पनि तय थिए । कलेजका विद्यार्थीलाई निद्राबाट जगाउने गरी साढे सात बजे एक प्रवचन दिनु थियो । यो कलेजको कक्षाका सूत्रधार थिए- मेरा अभिन्न मित्र एवं म्याग्दीका धर्तीपुत्र डा. युमेद पुन ।

 

म सवा सात बजे कलेजको सभा-कक्षमा पुगेँ ।

 

कालिगण्डकी एकोहोरो सुसाइरहेथ्यो । यो सुसाइले कलेजको वातावरणमा मादकता थपेको थियो । सभाकक्ष भने सबै असरल्ल ! कुर्सी सार्दा धुलो बुङ्बुङ्ती उड्ने । झ्यालमा पर्दा थिएन । झ्याल पसाङ्गिएका थिए । सबै बन्द गर्दा पनि उज्यालो छिर्थ्यो । कुर्सी एक आपसमा जोडेरराखिएका, कोच्चिएर बस्नु पर्ने । सहभागीले सुन्नमात्र सक्ने, लेख्न नसक्ने अवस्था थियो । एउटा थोत्रो प्रोजेक्टर थियो । ल्यापटपको स्क्रिनमा एउटा र भित्तामा अर्को रङ देखिन्थ्य्यो ।

 

एकैछिनमा सभा-कक्ष खचाखच भरियो । रातो सर्टमा सजिएका छात्राको बाहुल्य । केही शिक्षक पनि आए । म सकेसम्म कक्षालाई सहभागितामूलक बनाउने कोसिस गर्छु । विद्यार्थीलाई प्रश्नको भुमरीमा फनफन घुमाउँछु । यो कक्षामा भने एउटा अचम्म भयो । सोधेका कतिपय प्रश्नको उत्तर उत्साहित भएर शिक्षकले नै दिए । उनीहरूले प्रवचनका लक्षित समूह विद्यार्थी हुन् भन्ने बिर्सिए । यी दृष्टान्तले त्यहाँको सिकाइ र पढाइको स्तर मापन गर्‍यो । एउटा भने सबै नकारात्मक पक्षलाई माथ गर्ने सबल पक्ष पाइयो ।

 

‘सहभागीका आँखा धपधपी बले । मैले ती आँखामा नजिकै बगेकी कालीले मेट्न नसक्ने तिर्सना देखेँ ।’

 

सहभागीहरू मन्त्रमुग्ध भएको क्षण मेरो हृदयमा ढुङ्गाका अक्षर भएर कुँदियो । बिपी कोइरालाको उपन्यास तिन घुम्तीमा आधारित चलचित्रमा परम्परा तोडेर नेवारकी चेली बाहुन केटासँग विवाह गर्न तम्सिन्छिन् । केटीका बाबुले भन्छन्-

 

“मलमलको बिछ्यौना छोडेर मान्द्राको मोह ।”

 

विद्रोह गर्न तम्सिएकी छोरीको उत्तर आउँछ-

 

‘बिछ्यौनाको आसक्ति होइन निद्राको चाहना हो ।’

 

वास्तवमा भौतिक वस्तु सबथोक होइन । त्यसमा लुकेको अभौतिक अनुभूति बहुमूल्य कुरा हो ।

 

दिउँसो मूल कार्यक्रममा मैले प्रस्तुति गरेँ । प्रस्तुतिको सनातनी परम्परा तोड्दै केही नयाँ आयाम थपेँ । सहभागीले रुचाए । अर्का पण्डितको भूमिकामा रहनुभएका ऊर्जा खबर डट कमका प्रधानसम्पादक लक्ष्मण वियोगीले मेरो शैलीको निकै प्रशंसा गर्नुभयो ।

 

म यात्रा गर्दा मेरो झोला आफै मिलाउँछु । यसपटक एउटा भित्री लुगा ल्याउन बिर्सेछु । यसैले म यो दोष निवारणतर्फ लागेँ । रेडिमेड लुगा पाइने एउटा पसलमा पुगेँ । मेरो रोजाइको पाइएन । अर्कोमा पुगेँ । पसलमा गफिएका महिलाको बाक्लो उपस्थिति थियो । मेरो रोजाइको सामान त भेटियो तर  साइज मिलेन ।

 

‘यो त सानो हुन्छ । एक्स एल वा एल आकारको छैन ?’

 

‘हामीसँग भएको यही हो ।’

 

युवती साहुनीले यथार्थ बताइन् ।

 

‘भइ हाल्छ नि ! अलिकता त तन्किन्छ पनि ’ एक पाकी महिला बोलिन् ।

 

‘कसरी भइ हाल्छ ? आ-आफ्नो साइज हुन्छ नि ! हजुरले लाउने चुरा ऊ वहाँलाई मिल्छ त ?’

 

मैले नजिकै बसेकी अलि मोटी दारकी पाकी महिलालाई देखाउँदै भनेँ । मेरो स्पष्टीकरणले बेजोडको हाँसो सिर्जना गर्‍यो । हाँसो नथामिँदै म पसलबाट बाहिरिएँ ।

 

भोलिपल्ट बिहान पनि म चार बजे नै उठेँ । तयार भएर पौने पाँचमा भुइँतलामा ओर्लिएँ । सुनसान थियो । कोही उठेको थिएन । भुइँतलामा सुत्ने कोठा थिएन । भान्सा, रेस्टुरेन्ट र पार्किङमात्र थियो । बाहिर जाने निकास बन्द । सङ्कट आइलाग्यो । म कालो बादलमा चाँदीको घेरा खोज्न थालेँ । पहिलो तल्ला उक्लिएँ । सबै अतिथिका कोठा थिए । दोस्रो तला त्यस्तै । म माथि उक्लिँदै गएँ । पाँचौँ                   तलामा  एउटा ढोकाअघि लगभग एक दर्जन जुत्ता चप्पल देखिए । मैले त्यो ढोकामा टक टक आवाज दिएँ ।

 

‘को हुनुहुन्छ ? तपाइँहरू होटेल स्टाफ हो ?’

 

हो रहेछ । परिस्थितिजन्य सङ्कट सजिलै मोचन भयो । त्यो दिन होटलबाट बाहिर निस्कने पहिलो व्यक्ति म नै भएँ ।

 

म म्याग्दी र पर्वत जोड्ने पुलमा पुगेँ । नदी वारि म्याग्दी, पारि पर्वत । एक किलोमिटर पर अर्को जिल्ला-बागलुङ । राज्य पुनर्संरचनाले समेट्न नसकेको विषय यही हो । नदी वा बाटो सिमाना हुँदा सहर दुई प्रशासनिक एकाइमा बाँडिन्छ । बेनीबजार, नवलपरासीको गैंडाकोट, नगरकोट र पूर्वको रविबजार केही उदाहरण हुन् । नदी पारिको बेनीकै सानो टुक्रा बजार म्याग्दी नगरपालिकामा पार्न सक्दा त्यहाँका बासिन्दालाई कति सजिलो हुन्थ्यो ! पुलपारिका बासिन्दाले मालपोत तिर्न कुश्मा पुग्नुपर्छ । यो मुलुकको बिडम्बना हो !

 

ध्यान गर्न स्थान खोज्न थालेँ । नदीको पानी छोएको समथर ढुङ्गा र त्यहाँसम्म जान सकिने सजिलो बाटो खोजी गरेँ । सिँढीबाट जान मिल्ने गरी नुहाउने सानो घाट नै बनाएको पाइयो । भित्तामा केही लेखिएको थियो । नुहाउने घाटको निर्माण कुनै महिला समूहले गरेको रहेछ । यहाँनिर राज्यका निकाय फेरि निरीह देखिए । यस्तो पर्यटकीय महत्त्वको संरचना पनि महिला समूहले निर्माण गर्नुपर्ने ? यो पनि देशको दुर्भाग्य हो !

 

ध्यानपछि म मिठो चिया कहाँ पाइएला भनेर पसल चाहार्न थालेँ । नयाँ ठाउँमा यस्ता कुराको निर्णय लिन कठिन हुन्छ । मेरा केही सूचक अस्त्र छन् । बेलुकीको चियाका सामान कम पाइने पसलमा बिहानको चिया मिठो पाइन्छ ।  म बसपार्कबाट उकालो लागेँ । दायाँबायाँ हेर्दै बिस्तारै अघि बढेँ । फलफुल पसल मिलाउँदै गरेकी एक साहुनीको सहयोग मागेँ । मैले खोजेजस्तो एक पसल उनले देखाइदिइन् ।

 

सिफारिसको चिया पसलमा पुगेँ । दुई जना युवा ग्राहक रहेछन् । मैले चियाको मागे । तर, मैले खोजे जस्तो चिया आएन । म मिठै मानेर जसैतसै चियाको सुर्कोको मजा लिन थालेँ । एक अधबैँसे महिला डोकामा सिमी लिएर आइन् । चिया पसल्नीले आगन्तुकको पहलमा कुनै चासो दिइनन् । मैले मौका छोपेँ । मलाई सिमी किन्ने निहुँ बनाएर उनीसँग कुराकानी गर्ने इच्छा पलायो ।

 

‘के भाउ हो त नि सिमीको ?’

 

‘एक किलो जतिमात्र बाँकी छ । पचासमा दिन्छु ।’

 

‘हुन्छ । पोको पारिदिनु । म बेनीबजारमा हिजोमात्र आएको । मनमा एउटा खुल्दुली छ । हजुरलाई सोधौँ?’

 

‘हुन्छ । तर, म के पो जानौँला र ?’

 

‘बेनीबजारको बारेमा हो । हजुरलाई पक्कै थाहा छ । 'बेनीको बजार जता माया उतै छ नजर' भन्ने गीत नेपालभरि लोकप्रिय छ । यो बेनीबजारमा अरू ठाउँभन्दा मायापिरती धेरै नै लाइन्छ, हो ?’

 

‘त्यो जमाना गयो । बेनीको बजार भन्ने जस्ता गीतलाई यी ‘यसले’ खेदायो । आजभोलि त मान्छे जम्मा हुनै छोडे । जो पनि त्यसैमा झुन्डेका देख्छु । अब भेला भएर रमाइलो गर्नु, गीत गाउनु त पर भो । यस्तै हुँदै गए मान्छेले बोल्नै पो बिर्सने हुन् कि ?’

 

उनले ‘यसले’ भन्दा मैले हातमा बोकेको मोबाइल फोन देखाइन् । म चकित परेँ । वास्तवमै उनको अभिव्यक्तिमा गहिरो वेदना लुकेको थियो । त्यो वेदना उनको मात्र थिएन । सिङ्गो बेनीबासीको थियो । म्याग्दीको थियो । समग्र नेपालको थियो । उनको प्रत्युत्तरले मेरो ‘बेनी किन मायाको खानी !’ भन्ने प्रश्नको जवाफ खोज्ने जाँगर मरिसकेको थियो । पचास रुपैयाँमा मैले एक किलो सिमीमात्र पाइनँ । लाखौँ रुपैयाँ बराबरको सन्देश पाएको थिएँ । म उनको जवाफको गहिराइमा डुबेँ । आजसम्म मैले पचासका यस्ता हजारौँरौ  नोट  दिएर सामान किनेँ हुँला, यो अविस्मरणीय किनमेल भयो । मलाई चियाको नमिठोभित्र मिठो मसला प्राप्त भइसकेको थियो । भौतिक वस्तुले अभौतिक लाभको यो एक बेजोड नमुना थियो ।

 

म होटल फर्किएँ । तयार भएर माउन्टेन एभरेस्ट स्कुलतिर लागेँ । स्कुल अघिल्लो दिन गएको कलेज भन्दा अग्लो ठाउँमा रहेछ । म सोध्दै उकालो हिँड्न थालेँ । एक अर्कामा जोडिएका घर । कि त सडक छ कि त जोडिएका घर छन् । बेनी वास्तवमा साँघुरो रहेछ । मैले कल्पना गरेँ । यहाँ चाहिन्छ- इन्जिनियरिङ । यहाँ चाहिन्छ- आर्किटेक्चर ।

 

सडकको दाहिनेतिर पेटीमा मुढामा बसेर गीत गुनगुनाउँदै गरेकी एक युवतीले मेरो ध्यानाकर्षण गरिन् । उनको घरभित्र ठूलो स्वरमा गीत बजिरहेको थियो । उनका र मेरा आँखा जुधे । त्यो जुधाइको कुनै गन्तव्य थिएन । कुनै लक्ष्य थिएन । म त्यसलाई सामान्य सडकमा हिँड्ने मान्छेको स्वाभाविक क्रिया बनाएर अघि बढेँ ।

 

म आठ बजे पुन: एभरेस्ट स्कुल पुगेँ । मेरो प्रवचन नहुने भयो । म खिन्न मनले ओरालो झरेँ । गीत सुन्दै गरेकी तिनै चेली फेला परिन् । अहिले भने न त गीत बजेको थियो न त उनको गुनगुन थियो ।

 

‘खै त गीत गाएको ?’

 

‘बिहान एक छिनमात्र सुन्ने हो ।’

 

‘के गीत हो त नि त्यो हजुरले बिहान गाएको ?’

 

‘क्रिश्चियन भजन हो ।’

 

‘बेनीको बजार जता माया उतै छ नजर’लाई डाँडा कटाउने कहीँ यो दोस्रो कारण त होइन ! मलाई शङ्का लाग्यो । वास्तवमा यो पराई संस्कृति आयात गरी रैथाने संस्कृति लोप गराउने खेल हामी नेपालीलाई एक दिन धेरै महँगो पर्नेछ । विकास र संस्कृति कसरी समायोजन गर्ने भन्ने प्रश्न जटिल छ । म एकाएक जापानको ‘मात्सुरी’ सम्झिन पुग्छु । जापानमा क्रिसमस मनाइन्छ । अधिकांश जोडीले पश्चिमा शैलीमा विवाह गर्छन् । उनीहरूले यी क्रिश्चियन रीतिरिवाज या त व्यापार व्यवसाय या रमाइलोका लागि प्रयोग गर्छन् । तर, त्यहाँ आफ्नो परम्परागत आध्यात्मिक आस्था अटल छ, अभेद्य छ । परम्परागतरूपमा लाग्ने मेला अर्थात् मात्सुरीको मर्म मरेको छैन । संस्कृति जोगाउन सिङ्गो राज्य, नागरिक समाज र व्यावसायिक प्रतिष्ठानहरू लागेका छन् ।

 

हामी हिल भिउ होटेलमा बास बसेका थियौँ । बिहानको स्वाल्पाहार र रात्री खानाको प्रबन्ध यती होटलमा गरिएको थियो । यी दुवैका सञ्चालक एकै व्यक्ति रहेछन् । म सकेसम्म यस्तो मौकामा व्यवसायमा लागेका उद्यमीलाई भेट्ने कोसिस गर्छु । पहिलो भाटभटेनी सुपरमार्केटको नजिकै आफै कुक आफै मालिक भएका एक रेस्टुरेन्ट व्यवसायी थिए । म उनीकहाँ गएपछि ‘सरलाई मेरै हातको कफी पिलाउँछु’ भन्थे र भान्सामा पस्थे । उनलाई मैले कर्ण शाक्यको पुस्तक ‘सोच’ उपहार दिएको थिएँ ।

 

म स्वाल्पाहारका लागि होटलमा पुग्दा मेरा साथीहरूको अत्तोपत्तो थिएन । बरु होटलकी साहुनी पो भेट भइन् । मैले एकछिन उनीसँग भलाकुसारी गर्ने अवसर पाएँ । भोलिपल्ट लक्ष्मणजी र म सँगै पोखरा फर्किने कार्यक्रम तय भयो । हामी दुई भाइ अरूबाट छुट्टिएर दिवा भोजन गर्न यती होटल पुग्यौँ । उनै सञ्चालक साहुनी हातमा लिची बोकेर हामीले खाना खाइरहेको टेबलमा आइन् ।

 

‘ल ! पाहुनाहरूलाई मेरोतर्फबाट विशेष उपहार !’

 

उनीसँग फेरि भलाकुसारी भयो । उनका छोराछोरी सबै विदेशमा रहेछन् । उनी होटेल व्यवसायी मात्र नभर्इ समाजसेवी पनि रहिछन् । नेपाली भूगोलमा रमाउनुको मजा यही छ । मान्छे चिन्न बेर लाग्दैन । चिनेपछि आत्मा बोल्छ । मन बोल्छ । बाहाना हुँदैन । कुण्ठा हुँदैन । अभिनय हुँदैन ।

 

‘कान्छो छोरो अमेरिकामा बिजिनेसमा छ । यहीँ आइज, यत्रो कारोबार छ, सम्हाल् हामी डाँडामाथिको घाम भयौँ, भन्न त यसो भन्यो । तर के गर्नु आउने छाँटकाँट छैन । कहिलेकहीँ त सम्झेर औडाहा हुन्छ ।’

 

यती होटलकी सञ्चालिका, टिकट प्रिन्ट गर्ने क्रममा कोटेश्वरमा भेटिएकी साहुनीमात्र होइन यो विषयले घोच्दा सबै नेपालीलाई औडाहा हुन्छ । ‘बेनीको बजारमा’ भाका हालेर नाचेका र रोदीघरमा माया साटेका सबैको मन पोल्छ ।

 

म आशा मार्दिनँ । म्याग्दी बहुमुखी क्याम्पसका विद्यार्थीका आँखामा बलेको ज्ञानको तिर्सनाको आगो सम्झिन्छु । काम गर्ने ऊर्जा बढेको अनुभूति हुन्छ ।

 

लाग्छ- ‘बेनीको बजार’ मात्र होइन सिङ्गो देशको संस्कृति जगेर्ना गर्ने अभिभारा तिनै विद्यार्थीले बोकेका छन्।

 

जेठ २२, २०७४

 

प्रकाशक : उर्जाखबर डट कम

लिङ्क : http://www.urjakhabar.com/archives/3632

Monday, October 12, 2020

खाँदबारीका मावली

खाँदबारीमा शनिवार हाट लाग्छ भन्ने सुन्दै मलाई रमाइलो लागिसकेको थियो । म लगायत 'विद्युत् उर्जा विकास' विषयसँग कुम जोडेका एक दर्जनजति साथीहरु शुक्रवार दिउँसोको बुद्ध एयरको उडानबाट तुम्लिङ्टार अवतरण गरेका थियौँ ।  औपचारिक कार्यक्रम शनिवार दिनभरि नै आयोजना गरिएको थियो ।

यसकारण मेरो "हाट भर्ने दाउ" तुहिने हो कि भन्ने चिन्ता थियो । हामी बसेको होटल र हाट लाग्ने टुँडिखेल मैदान केही मिनेटको पैदल दुरीमा रहेकाले म खुसी थिएँ । नेपालका पूर्वी पहाडी जिल्लाको शानको रूपमा परिचित हाट लाग्ने परम्पराका केही लोभलाग्दा विशेषता छन् । बिहान सबेरैदेखि बेलुकासम्म चहलपहल हुने त्यो 'मेला' जस्तो 'भेला' मा कुनवेला गए ठिक होला भन्ने प्रश्न जन्मियो ।

"हाटमा कुन समयमा सबैभन्दा धेरै मान्छे भेला हुन्छन्?"

मेरो हाट भर्ने र धेरै मान्छे भेला हुने समय मिलाउन सक्दा 'सुनमा सुगन्ध' हुने ठानेर यो प्रश्न चिया पसलमा भेटिएका मानिसलाई सोधेको थिएँ ।

"धेरै भेला हुने भनेको त बिहान आठ बजेतिर हो ।"

हाम्रो कार्यक्रम साढे आठमा सुरु हुने योजना थियो । त्यतिन्जेलसम्मको समय मेरै नियन्त्रणमा थियो । म बिहान साढे पाँच बजे नै तयार भएर निस्केँ । खाँदबारीको मूल सडकले जीवन पाइसकेको थियो । म हाट लाग्ने ठाउँ'टुँडिखेल' को ठेगाना सोद्धै अघि बढेँ । केही कदम हिँडेपछि सडकको देब्रेतिरको एउटा चिया पसलमा ठूलै चहलपहल देखियो । म सरासर चिया पसलमा पसेँ । 'भुक भुक' गर्दै ठुलो भाँडोमा दुध उम्लिरहेको थियो । छेउमा माग अनुसारको चिया पाकिरहेको थियो ।

"ए ! भाइ यो दुध पाउडरको हो ?"

जीवनमा पहिलोपटक खाँदबारी टेकेको साँझमा मैले आम नेपालीकै लागि चिन्तित हुनुपर्ने एक विषय फेला पारेको थिएँ । हाम्रो भ्रमण कार्यक्रमको मूल आयोजक 'स्वतन्त्र उर्जा उत्पादक संस्था' का पदाधिकारी बसेको र  हामी सबैको लागि भोजनको व्यवस्था गरिएको होटलमा यो नमिठो यथार्थ सतहमा आएको थियो । मैले चिनी नभएको दुधको चिया मगाएँ तर चिया अलि अलि गुलियो थियो ।

"ए भाइ ! मैले त चिनी नराख्नू भनेको थिएँ नि त ?"

"सर ! यो चियामा चिनी राखेकै छैन । हामी पाउडरको दुध चलाउँछौँ । यसैले सरलाई गुलियो लागेको होला ।" चिया ल्याउने भाइले उसको जवाफ जबर्जस्ती स्वभाविक बनायो ।

सङ्खुवासभा जिल्लाको सदरमुकाम खाँदबारीमा पनि पाउडरको दुधको चिया खानु पर्ने ! चियाले मलाई तताएन, चिस्यायो । केही महिनाअघि लमजुङको बेसीशहरको होटेलमा कागती नपाएको र बन्दिपुरमा सुन्तलाको ताजा जुस नपाएको अनुभूति आलो भएर आयो । थरीथरीको विचार आउन थाल्यो । पाटन साउथ रोटरी क्लबको एक बैठकमा कृषि क्षेत्रका नामी उद्धमी एवं क्लबका पूर्व अध्यक्ष सन्तोष कुँवरले एक रोचक तथ्य भन्नु भएको थियो-

"नेपालमा हामी बाघ भालुको संरक्षणमा बाक्लै लागेका छौँ तर यहाँ त अहिले अर्कै आठौँ आश्चर्य भएको छ । दुध जस्तो अत्यावश्यक खाद्यवस्तु दिने गाईभैँसी पो लोप भइरहेका छन् ।"

खाँदबारीको पाउडर दुधको चियाले मैले सन्तोष कुँवरको अभिव्यक्ति चरितार्थ भएको ठानेँ । त्यसकारण निर्क्यौल गर्ने ध्येयले मैले चिया पसलमा सिधै ठाडो पाराले सोधेँ ।

"कहाँ हुनु सर ! यो त एकछिन अघि गाउँबाट ल्याएको भैँसीकै दुध हो ।" चिया पकाइरहेको अधबैसेले भन्यो । चिया पसलका सञ्चालक र काम गर्ने सबै मधेसी मूलका थिए । 

"पक्का हो त ।" मैले खेरेँ ।

"पक्का हो । शङ्का नमाने हुन्छ । खाँदबारीमा पनि पाउडर दूध हो कि भनेर सोध्नु पर्ने कस्ता दिन आए नि ।"

अहिले भने ग्राहक बस्ने बेन्चमा बसेर चियाको चुस्की लिइरहेकी महिला बोलिन् ।

नेपालमा अहिलेसम्म जोगिएर रहेको संस्कृतिमध्ये यो एउटा हो । आत्मकेन्द्रित पटक्कै नहुने । नचिनेका नजानेका मान्छेको हुलमा पनि भइ-परिआएको परिवेशमा आफ्नो कुरा स्वभाविक भएर राख्न आँट गर्ने । मैले मेरो ध्यान महिला र उनी सँगै चियापान गरिरहेका पुरुषतर्फ मोडेँ । एक कप चिया अर्डर पनि गरेँ ।

"कहाँ पर्‍यो त नि हजुरहरुको घर ?"

"इलाम हो ।"

"लौ जा ! मावली पर्नु भयो । अब आज मैले चियाको पैसा तिर्नु नपर्ने भो ।"

मेरो बोलीले भुइँ नछुँदै चिया पसलका केही ग्राहकको ध्यान चुम्बकले झैँ तान्यो । "पैसा नतिर्ने कुरो" सुन्ने जति सबै मजैले हाँसे ।

"झोलीका देउतालाई चिया त के घरै लगेर मेजमान गराँउला नि ।" इलामे मामाले पुर्वेली भाका टिपे ।

"हुन्छ नि । अनि इलामको मान्छे खाँदबारी के कामले आउनु भयो त ?"

"मेरो माइती चैनपुर हो नि ।"

अहिले भने माइतीघरको मोहले महिलाको मौनताको बरफ पगाल्यो । कुरो स्पष्ट थियो । उनीहरु दम्पती थिए ।

"ए अचम्म, चैनपुरकी चेलीले त्यत्रो टाढाका हाम्रा मामालाई झुक्याउने आँट कसरी गरिछन् त ?"

मेरो यो उद्गारले राम्रै बजार पायो । अब रेस्टुरेन्टमा हाम्रो बोलीले अन्य आवाजहरुलाई सर्ल्लक्कै निलेको थियो ।

"देखेको हैन लेखेको हुन्छ भनेको यही हो नि त भान्जा बाबु ।"

साइनोको जुइनो कसिन् माइजूले । उनी के कम, माइती गाउँमा पनि फुर्तीफार्ती नगर्ने को चेली होलान् र !

"माइतीको कुकुर पनि प्यारो" भन्ने त उखानै छ । 

"हजुरको चैँ घर कहाँ हो ?"

"जन्म पाँचथरको स्याब्रुम्बा, हुर्केको मोरङको उर्लाबारीमा अहिले काठमाडौँको कोटेश्वरमा छोराछोरीको घरमा बस्छु ।"   

हिजोआज मलाई यस्तो 'तिन ठामे' ठेगाना  दिँदा रमाइलो लाग्छ । मेरो कामको बारेमा पनि उनीहरुले सोधे । हामी एक छिन गफमा डुब्यौँ । म भैँसीको दुधको चियाको मजा लिँदै थिएँ । कतै सुनेको सम्झिएँ ।

"मोमो खायो भने गोठ मासिने क्रियाकलापमा सहयोग पुग्छ, खीर खायो वा दुध पियो भने गोठ सप्रिने ।"

हुन पनि अहिले भोजभतेरमा पनि मदिरा र माछा मासुका परिकारले अड्डा जमाउन थालेको छ । सेल रोटी, खिर, ढकने र सिकर्नी जस्ता हाम्रा मौलिक परिकार पनि सन्तोष कुँवरले घरपालुवा जनावर लोप हुन थाले भने जस्तै हराउन थालेका छन् ।   

आखिर छुट्टिने बेला भयो ।

"वहाँ सरको चियाको पैसा म दिन्छु ।"

मामाले साहुजीलाई इसारा गरे ।

"पर्दैन, पर्दैन । मैले त रमाइलो पो गरेको ।"

क्षणभरमा नै नाता लागेका मेरा मामा र माइजू बाहिरिए । मेरो चिया सकिए पछि मैले चियाको मोल तिर्ने जमर्को गरेँ । साहुजी अटेसमटेस गरेनन् । आखिर उसको पनि त व्यापार-धर्मको कुरो थियो । 

मेरो शिर फेरि एक पटक नुहियो । नेपाली हुनु र आफ्नै भूगोलमा चर्नुको मजा यही छ । अहिले म अमेरिका वा अस्ट्र्लियामा भएको भए यसरी अपरिचितसँग तुरुन्त कुनै नाता जोडेर उनकै आतिथ्य सत्कार पाउनु आकाश खस्नु बराबर हुन्थ्यो । विदेशमा भएका मेरा समकक्षी मित्रहरु भन्दा मलाई केही दु:ख अवश्यै बढी होला तर हरेक बस्ती बस्तीमा भेटिएका प्रत्येक नेपालीसँग भेटिने यो आत्मीयताको खजाना अमूल्य छ । यो स्वर्गीय आनन्दको अघि बाँकी सुखहरु सबै तपसिलका भएका छन् । मेरा अभिन्न मित्र सूर्यमान शाक्यले भनेको सम्झिन्छु ।

"विदेशमा एक थोक मात्र राम्रो छ, अरू केही पनि राम्रो छैन । त्यो एक थोक हो,  पैसा । नेपालमा त्यो एक थोक चैँ राम्रो छैन तर अरू सबै थोक राम्रो ।" 

हाटमा पुग्दा बिक्रेता र सामान ओसार्नेको हुल थियो । खरिद गर्ने खासै थिएनन् । कोही माटो मिलाउँदै थिए । कोही घोचा गाड्दै थिए । केही हिजो बेलुका परेको पानीले बनाएका स- साना डोबिल्का पन्छाउँदै थिए ।

जापानको कानागावा प्रिफेक्चरको हायामा भन्ने ठाउँमा भरेको हाटको स्मरण ताजा भएर आयो । तिन चोटिसम्म खराब मौसमका कारण हाट लाग्ने मिति सरेको थियो । चिसो मौसममा वर्षा भयो भने हाट लाग्न असम्भव प्राय: हुन्छ । हाट लाग्न खुला ठाउँ र राम्रो मौसम पूर्व सर्त हुन् । तेस्रो पक्ष संस्कृति हो । हाटबजारको आवश्यकता बुझेर यो ठाउँमा यो बार या यो तिथिमा हाट लगाउने भनेर कसैले सुरु गर्नु पर्छ । अनि अरूले निरन्तरता दिनु पर्छ । म जन्मेको स्थान पाँचथरको स्याब्रुम्बाले यासोकमा भर्ने हाट ओँसी र पूर्णिमामा लाग्थ्यो । 'हाट जाने' भने पछि उम्रेदखि खुम्रेसम्म हुरुक्क हुन्थे । नेपालमा हाट लाग्ने एउटा कारण वर्षको नौ महिना मौसम सफा हुनु हो । जापानमा पानी पर्ने को ठेगान हुँदैन । पश्चिम नेपालमा पूर्वको जस्तै मौसम हुने भएता पनि 'हाट संस्कृति' छैन । 

हाटमा बेच्न राखिएका सुन्तला मेरा लागि प्रमुख आकर्षण थिए । भाग लगाएका सुन्तलामा ध्यान गयो । चार दानाको जग बनाएर ती माथि तिन दाना खप्टेर पिरामिड आकारका भागलोभलाग्दा थिए ।  एक युवा व्यपारी सामुन्नेमा थिए ।  

"कति दाम हो भाइ सुन्तलाको ?"

"भागको सय रुपैयाँ हो ।"

"किलोको हिसाबले लिन मिल्दैन ।"

"मिल्दैन । यहाँ त भागमा बिक्री हुन्छ ।"

मेरो कुरा र सोधाइले सायद युवा व्यापारीले 'यो ग्राहक खाँदबारीको रैथाने होइन" भन्ने ठहराए होला । मैले केही मोलमोलाइ गर्ने सुर झिकेँ ।

"भागको नब्बेमा देऊ न भाइ ।"

"हुँदैन । सय नै पर्छ ।"

"उसो भए भागमा एक दाना थपि देऊन ।"

"हुँदैन ।"

मैले तिन भाग लिएँ । कर गरेर एक दाना चैँ थप्न लगाएँ । मेरो 'दुब्लाएको माग' पुरा भयो । दिउँसो जलविद्युत् परियोजनाको वातावरणीय प्रभाव मुल्याङ्कन विषयमा मेरो प्रस्तुति थियो । भारतको एक कम्पनीको लगानीमा अरुण नदीमा बाँध बाँधेर ९०० मेगावाटको जलविद्युत् आयोजना निर्माण गर्ने कार्य अघि बढेको विषयलाई मेरो प्रस्तुतिमा सुन्तलाको किनबेचसँग जोडेँ ।

"सुन्तला खरिदमा युवा व्यापारीको भाग बिक्री पद्धति मैले स्विकार्नु पर्‍यो । 'किलोको हिसाब' ले मात्र किन्छु भन्ने अडान राखेको भए हाम्रो किनबेचको मिलन बिन्दु फेला पर्ने थिएन । उनको मन जितेर मैले एक दाना सुन्तला भए पनि थपाएँ । त्यसैगरी प्रवर्तक कम्पनी र स्थानीयको बिचमा मन जित्ने समझदारी भएमा जलविद्युत् आयोजना निर्माण कार्य निर्धारित समयमा सकिन्छ । एउटाले अर्कोको पद्धतिको आदर नगर्दा र आआफ्नै अडानमा बस्दा व्यवधान उत्पन्न हुन सक्छ ।"

मैले हाटमा बयरको धुलो, कैलो तिल, टिमुर र लहरामा फल्ने सानो टमाटर किनेँ । सानो टमाटरको चटनी भने पछि म हुरुक्कै हुन्छु । पाकेका टमाटर सिधै सिलौटामा पिँधेको को चटनी छ भने मलाई अरू सितन नभए पनि हुन्छ । मेरा पिताश्रीलाई पनि यो परिकार औधी मन  पर्थ्यो ।

भोलिपल्ट खाँदबारीबाट हिँड्नु अघि म झोला किन्न गएँ । पसलमा एक अधबैँसे महिला थिइन ।

"दिनको पचास हजार सम्मको बिक्री त हुँदो हो ।"

मैले उनको मनसाय बुझ्न शब्दको पासो फ्याँकेँ ।

"कहाँ हुनु । पाँच हजारको भयो भने भाग्य ।"

उनले बिक्री राम्रो नहुनुका दुई कारण दिइन्- टाढाबाट आउने ग्राहक घटे र पोके व्यापारीहरुले सस्तोमा हाटमा सामान बेच्न थाले । नेपालमा नाम मात्रको सरकार हुनुको पीडा यही छ । ती बिक्रेता जस्तै स-साना व्यापारीलाई सहयोग हुने गरी कुनै नीतिगत परिवर्तन ल्याउन सके कति राम्रो हुने थियो ।

फर्कने क्रममा विमानस्थलको द्वारमा सवा खोलाको एक पेरुङ्गो सुकुटी माछा, एक पोको कागती र एक मुठो साग किनेँ । कागती किन्दा पनि रमाइलो भयो ।

"कति हो एक पोको कागतीको ?"

"दुई सय ।"

"एक सय पचासमा दिनु ।"

"मेरो हैन । यो कागतीको मालिक्नीले मलाई बेच्न जिम्मा दिएर गएकी छिन् । दुई सयमा एक रुपैँया पनि कम नगर्नु भनेकी छन् ।"

"उसो भए दुई दाना थपि दिनु न त ?"

"पोका पोका पारेका छन् । एक जनालाई थपेपछि अर्को पोकाको हिसाबै मिल्दैन ।"

उनले 'चट्टान' जस्तै व्यापार पद्धति बनाएकी रहिछन् । मलाई सकस भयो ।

"उसो भए यो पोकाका दुईवटा साना कागती अर्को पोकाको अलि ठूलासँग साटिदिनुस ।"

साहुनी मौन बसिन् । मेरो जित भयो । मैले कागती किनेँ । 

अहिले तुम्लिङ्टारको मनकामना मन्दिर पर्यटक र तिर्थालुको मुख्य आकर्षण केन्द्र बनेको रहेछ । विमानस्थल पुग्नु अघि हामीले मन्दिरको दर्शन गर्‍यौँ । पूर्व आयुक्त सूर्यनाथ उपाध्याय, आयोजक संस्थाका अध्यक्ष शैलेन्द्र गुरागाइँ र म एउटैगाडीमा थियौँ ।  खेम गुरुङले गाएको अत्यन्तै चर्चित गीत "वारि जमुना पारि जमुना" को प्रसङ्ग चल्यो ।

"जमुना भनेर अरुण नदीलाई भनिएको होला ।"

मैले मनकामना मन्दिर परिसरमा भेटिएका स्थानीयवासीलाई सोधेँ । उनीहरुको व्याख्या हाम्रो अनुमान भन्दा फरक थियो ।

"मनकामनाको अहिलेको यो मन्दिर पहिला अरुणको किनारमा थियो । त्यहाँ एउटा जमुनाको रुख थियो । नदी पारि पनि जमुनाको ठूलो रुख थियो । खेमले गीतमा यिनै दुई जमुनाका रुखलाई जोडेका हुन् ।"

मलाई भने खेमको गीतका अन्य दुई हरफले ध्यानाकर्षण गरे ।

एकादशी बजारैमा फन्के रोटी थालमा

कसको छोरा कसको छोरी पर्‍यो माया जालमा 

एकादशीमा लाग्ने हाटमा पाइने फन्के रोटीको मजा लिँदै 'माया जाल' मा कति तन्नेरी र तरुनीहरु परे होला ! मैले खाँदबारीमा भेटेका ईलामे मामा र चैनपुरे माइजुले पनि कुनै हाट बजारमै 'पिरतीको डोरी' बुनेका थिए कि !

"फेरि भेट भए यही कुरा जोडेर अर्को एक कप चिया जुराउने थिएँ ।"

मैले मन मनमा कल्पना गरेँ । त्यस्तो दिन यो जुनीमा फेरि आउला कि !

माघ २५, २०७३

साभार:

http://ujyaaloonline.com/news/70704/tea/