Friday, August 21, 2015

कसरी उकास्ने उच्चशिक्षाको गुणस्तर ?



अहिले भावी नेपालको दिशानिर्देश गर्ने संविधानको दस्तावेजलाई अन्तिम रूप दिने कार्य भइरहेको छ । सर्वसाधारणले नेता, मन्त्री र सभासदको न्युनतम शैक्षिक योग्यता घटीमा पनि स्नातक हुनुपर्ने राय पेस गरे । यो ऐतिहासिक कालखण्डमा बुद्धिजीवी एवं सर्वसाधारणले उच्च शिक्षाप्रति प्रदर्शन गरेको सम्मान र विश्वासको महत्त्व विशिष्ट प्रकृतिको छ । यसले मुलुक हाँक्ने अगुवाहरू शिक्षित भए भने ‘सबै ठीक हुन्छ’ भन्ने सर्वमान्य अवधारणा रहिआएको प्रमाणित गर्छ ।

तर एउटै स्वरमा यस्तो जनमत प्रकट गर्ने लाखौं नागरिकको उत्साह सेलाउन नपाउँदै छापामा ‘उच्च शिक्षामा २ लाख विद्यार्थी घटेको’ समाचार प्रकाशित भएको छ । नेपालका उच्चशिक्षा प्रदान गर्ने विश्वविद्यालय र चिकित्सा विज्ञान प्रतिष्ठानहरूमा अध्ययन गर्ने विद्यार्थीको सख्या गतवर्ष ७ लाखको हाराहारीमा रहेकोमा यस वर्ष यो २९ प्रतिशतले घटेको तथ्याङ्क प्रकाशित भएको छ । उच्चशिक्षा प्रदान गर्ने शिक्षालयहरूमा विद्यार्थी संख्या घट्नुका पछि धेरै कारण होलान् । नेपालमा हाल अध्यापन गराइने शिक्षालयहरूको भित्री वातावरण र विशेषगरी पढाइ भैरहेको कक्षाकोठामा देख्न सकिने केही गतिविधिलाई पनि नियाल्न जरुरी हुन्छ । एउटा उदाहरण हेरौं, स्नातक तहको पढाइ भइरहेको छ । कक्षामा बीसजना जति विद्यार्थी छन् । बीसमध्ये चारजना मोबाइल चलाइरहेका छन् । चारजना मस्तले निदाइरहेका छन् । अरु केही गफ गर्नमा व्यस्त छन् । शिक्षक निरीह प्राणीझंै पढाइरहेका छन् । अगाडि बसेका चार, पाँचजना विद्यार्थीहरू भने अनुहारमा पीडाभाव लिएर प्रवचन सुनिरहेका छन् ।

यो प्रसंगले कलेजमा पुगेपछि त ‘राम्रो पठनपाठन हुन्छ’ र हाम्रो दायित्व अलिकति भए पनि कम हुन्छ भन्ने मान्यता राखेका अभिभावकहरूलाई थप चिन्तित बनाएको अनुमान गर्न सकिन्छ । सर्वसाधारण अभिभावकमात्र नभएर नीति निर्माता, विश्वविद्यालयका पदाधिकारी वा नेपालको भविष्यका शुभचिन्तकहरूका लागि माथि उल्लेखित परिदृश्य चिन्ता लाग्ने विषय हो । उच्चशिक्षा प्रदान गरिने कक्षाकोठाहरूमा देख्न सकिने यो दुरावस्थाको सामान्य विश्लेषणले मात्र पनि थप दुई परिदृश्यहरू चित्रित गर्छ । पहिलो, कक्षाकोठामा खालि जागिर पकाउन वा दिन कटाउने मनसायले उपस्थित भएका शिक्षकहरूले उनीहरू विद्यार्थी हुँदा कक्षाकोठामा उँघेर वा पढाइमा ध्यान नदिएर समय बिताएको हुनुपर्छ । त्यसबेला ‘अन्यत्र केही रोजगारी पाइएन भने शिक्षण पेसा त कहीं नजा’ भन्ने सोच हावी भएको हुनुपर्छ । दोस्रो, यो बेथितिको सिकार भएका आजका विद्यार्थीले पनि भविष्यमा उनीहरू शिक्षक पेसामा आबद्ध भए भने कक्षामा मोबाइल चलाउने विद्यार्थीलाई पढाइमा ध्यानाकर्षण गर्न लगाउने सम्भावना न्युन रहन्छ । किनभने उनीहरूको सोचाइले पनि ‘हामीले पनि त यसैगरी पढ्यांै, मैलेमात्र नैतिक दबाब दिएर के नै हुन्छ र ?’ भन्ने धार समात्न सक्छ ।

आखिर किन आजका उच्चशिक्षा प्रवाह गर्ने कक्षाकोठाहरू नतिजामूलक बन्नसकेका छैनन् त ? सामान्य अनुभवले बताउँछ, सम्बन्धित सरोकारवालाहरू आ–आफ्नै बहाना वा गुनासाहरू बोकेर कलेज वा विश्वविद्यालय धाइरहेका छन् । कक्षामा ध्यान नदिने विद्यार्थीले भन्लान्, ‘यो मेरो रुचिको विषय परेन वा यो शिक्षकलाई पढाउनै आउँदैन वा शिक्षकलाई सुन्न के रमाइलो मोबाइलमा फेसबुक हेर्दा पो रमाइलो ! आखिर कक्षामा पढाइइत्तर काममा संलग्न हुँदा पनि कसैले केही भन्दैन ।’ शिक्षकले भन्लान्, ‘यति तलबमा टोकियो वा हार्वर्ड विश्वविद्यालयको जस्तो पढाइ खोजेर पाइन्छ ? विद्यार्थी ध्यान नै दिँदैनन् त मैले के गरुँ ? वा मैले मेरो कर्तव्य पुरा गरेकै छु, सुन्ने काम त विद्यार्थीको हो नि !

शिक्षकलाई नियुक्ति दिने वा भरणपोषण गर्ने पदाधिकारीले भन्लान्, ‘कम्तीमा विद्यार्थी कक्षामा त बसेको छ वा विद्यार्थी नै गम्भीर छैन वा जग नै धमिराले खाएको छ, अनि कसरी हुन्छ वा शिक्षकलाई अलिकति कडाइ गरेमा यो जागिर छोडेर भोलि नै हिँडिदियो भने के गर्ने ?’ अभिभावकले भन्लान्, ‘विश्वविद्यालयले तोकेको शुल्क तिरेर अन्य आवश्यक सुविधा जुटाइदिएर कक्षामा पठाइदिएपछि पनि फेरि हामी नै गोठालो लाग्ने हो भने पदाधिकारी वा शिक्षकको कामचाहिँ के हो ?’

अहिले मुनाफा कमाउने हिसाबले एउटा साँघुरो सुविधाविहीन कक्षाकोठामा पचासदेखि एक सयभन्दा बढी विद्यार्थी कोचेर राख्ने प्रवृत्ति हावी छ । मेडिकल पढ्नेहरूको कक्षामा त माइकसम्म प्रयोग गरिन्छ भन्ने सुनिएको छ । कतिपय कक्षाकोठामा एउटै मेचमा पाँच जनासम्म विद्यार्थी राखेको पाइन्छ । सिटमा बस्दा साथीलाई छोइने र स्वतन्त्र भएर लेख्नसम्म पनि नसकिने कक्षाहरू छन् । आफ्नो विधामा पोख्त शिक्षकहरूको संख्या न्युन छ । परम्परागत शैलीमा अध्यापन गराउनेभन्दा प्रेरक सहजकर्ताको भूमिका निर्वाह गर्नसक्ने शिक्षकलाई संलग्न गराउने कार्यमा शिक्षालयका पदाधिकारीहरूले असक्षमता प्रदर्शन गरेका छन् । उच्च शैक्षिक उपाधि प्राप्त गरेका कतिपय शिक्षकहरू विना प्रशिक्षण पचास जवान विद्यार्थी भएको कक्षामा पसेर पेसागत जीवनको सुरुवात गर्न बाध्य पारिएका छन् । कक्षामा उपस्थित सम्पूर्ण विद्यार्थीलाई मन्त्रमुग्ध पारेर आफ्नो कुरा सुन्ने गराउन सक्नु शिक्षकमा हुनुपर्ने अपरिहार्य गुण हो । कुन बेला रोचक प्रसंग जोड्ने ? कुन बेला नैतिक दबाब दिने ? भन्ने कुरा शिक्षकले जान्नु जरुरी छ । टेपरेकर्डर बोलेजस्तो एकहोरो आफूले मात्र बोल्दा त्यो कक्षा विद्यार्थीका लागि पट्यारलाग्दो र अल्छिलाग्दो हुनसक्छ । विद्यार्थीको ‘सुन्ने इच्छाशक्ति’ उच्च तहमा राख्न सक्ने दक्षता भनेको शैक्षिक उपाधिले मात्र प्राप्त हुने विषय होइन ।

विद्यार्थीले भने या त पढाइलाई अभिभावकको इच्छा पुरा गरिदिने साधनको रूपमा लिएकोले या अध्ययनपश्चात रोजगारीको कुनै सम्भावना नदेखेकोले कक्षामा ध्यान नदिएको हुनसक्छ । विद्यार्थीसँग जोडिएको अर्को पक्ष भनेको बाध्यात्मक परिस्थिति सिर्जना नहुन्जेल उनीहरूको लक्ष्य त्यो सेमेष्टर वा वार्षिक परीक्षा उत्तीर्ण गर्नेसम्म मात्र निर्धारित भएको हुन्छ । हाम्रो शैक्षिक पद्धति र कमसल प्रतिस्पर्धाले यस्तो बनाएको हो । छिमेकी मुलुक भारतमा स्नातक तहको विद्यार्थीले अन्तिम परीक्षालाई होइन, त्यसपछि खरो उत्रनुपर्ने लोकसेवा आयोगको परीक्षा वा स्नातकोत्तर तहको भर्ना परीक्षालाई अन्तिम गन्तव्य बनाएको हुन्छ । यसो हुँदा उसले कक्षाकोठाको पढाइलाई आधारभूत र अनिवार्य रूपले पार गर्नैपर्ने खुड्किलोको रूपमा लिएको हुन्छ । यसकारण कक्षामा ध्यान नदिने प्रश्नै हुँदैन ।

कक्षाकोठाको व्यवस्थापन कसरी गर्ने वा ठूलो समूहका विद्यार्थीहरू भएको कक्षालाई कसरी मर्यादित र उत्पादनमूलक बनाउने भन्ने ज्ञानको अभाव देखिन्छ । कलेज सञ्चालकहरू यस्ता जल्दाबल्दा समस्यामा ध्यान दिनुभन्दा गैरप्राज्ञिक, आडम्बरी र प्रचारमुखी कार्यहरूको माध्यमवाट धेरै विद्यार्थी तान्ने र मुनाफा कमाउने होडबाजीमा व्यस्त देखिन्छन् । उदाहरणको लागि स्नातकोत्तर तहमा भर्ना भएका विद्यार्थीलाई पाँचतारे होटल वा रिसोर्टमा ‘आवासीय अभिमुखीकरण कार्यक्रम’मा सरिक गराउन थालिएको छ । कलेज सञ्चालक वा विश्वविद्यालयका पदाधिकारीहरूको अधिकांश समय कक्षाकोठाको व्यवस्थापमा देखिएका वा शिक्षक र विद्यार्थीसँग जोडिएका जल्दाबल्दा समस्याको समाधान गर्नेभन्दा किनाराका बाह्य समस्याहरूको सम्बोधन गर्न खर्च हुन्छ । उनीहरूका सूचीमा राजनीतिक समीकरण मिलाउने, चन्दा असुली गर्नेहरूसँग समन्वय गर्ने, अख्तियार वा अदालत धाउने र आफ्नो पद जोगाउने कार्यहरू प्राथमिकताको क्रममा हुन्छन् ।

सानो कक्षाकोठा धेरै विद्यार्थी, कक्षाकोठामा अनुशासन पालना गराउन असक्षम शिक्षक, पदाधिकारीहरूबाट निरीक्षण र अनुगमन नहुनु, विद्यार्थीले सेमेष्टर अन्त्यमा हुने वा वार्षिक परीक्षालाई मात्र गन्त्व्य बनाउनु आदि ‘अध्यापन र सिकाइ’का समस्यासँग जोडिएका कारक विषय हुन् । विद्यार्थी अनुशासितमात्र भएर हुँदैन । शिक्षकले पढाएको विषय विद्यार्थीले बुझ्नुपर्छ । अनिमात्र ऊ रोजगारीको बजारमा विक्छ र आफूमाथि गरिएको लगानी छोटो समयमा नै फिर्ता गर्न सक्छ ।

मुलुकको द्रुत आर्थिक विकास गर्नका लागि ‘फास्ट ट्रयाक’को काम गर्ने उच्चशिक्षाको महत्त्व बुझेर अन्य राष्ट्रहरूले उच्चशिक्षाको लगानीलाई बढाएका छन् । अमेरिका र दक्षिण कोरियाले प्रतिवर्ष कुल गार्हस्थ उत्पादनको २.५ प्रतिशतभन्दा बढी उच्चशिक्षामा लगानी गर्छन् । अन्य विकसित मुलुकमा यो सूचकांक १ देखि २.५ प्रतिशतको बीचमा रहेको पाइन्छ । आर्थिक वर्ष २०७२ र ७३ को नेपालको बजेटमा उच्चशिक्षा गुणस्तर सुधार र विश्वविद्यालयको पूर्वाधार विकासका लागि रु ८ अर्ब ७ करोड विनियोजन गरिएको छ । यो लगानी कुल गार्हस्थ उत्पादनको ०.५ प्रतिशतमात्र हुन आउँछ ।

अन्य राष्ट्रहरूमा उच्चशिक्षालाई धेरै महत्त्व दिनुको विशेष कारण के होला त ? उच्च शैक्षिक उपाधि हासिल गर्नाले व्यक्ति, परिवार र समग्र मुलुकलाई नै दूरगामी फाइदा पुग्छ । एक निमुखा परिवारको सन्तानका लागि उच्चशिक्षा भनेको आर्थिक समृद्धि प्राप्त गर्ने एकमात्र वैधानिक राहदानी हो । खासगरी नेपालजस्तो आर्थिक विकासमा पछि परेको मुलुकमा उचित शिक्षा र त्यही अनुरुपको पेसागत संलग्नताले न्युन आय समूहमा भएको कुनै व्यक्तिले आफ्नै जीवनकालमा आफूलाई मध्यम वर्गको श्रेणीमा उकाल्न सक्छ । अध्ययन गर्दा अभिभावकले गरेको लगानीलाई विद्यार्थीले पढाइपश्चात काम सुरु गरेको केही समयमा नै असुली गर्न सक्छ । नेपालको सन्दर्भमा सबै विधामा यो लागू नहुन सक्छ । जस्तै— मेडिकल । यसो हुँदा सम्बन्धित व्यक्तिका परिवारले परम्परागत निर्वाहमुखी व्यवसायमा आश्रित हुनु नपर्ने हुनसक्छ ।

डिग्रीमात्र हातमा भएको तर सिप र दक्षता नभएको व्यक्ति अकर्मण्यताको सिकार हुनसक्छ । कक्षाकोठामा बसेर निदाउने वा मोबाइल चलाउने व्यक्तिले परेका बेलामा मुलुकको अगुवाइ गर्नु त के एउटा सामान्य जिम्मेवारी पुरा गर्ने काम गर्न पनि सक्दैन । आय आर्जन र तात्तातो लोक सम्मानका हिसाबले शिक्षण पेसामा धेरै आकर्षण नभए तापनि आत्मसन्तुष्टि र स्वाभिमानका हिसाबले यो सबैभन्दा विशिष्ट पेसा हो । आफ्ना अवधारणा, विचार र सिर्जनात्मक अभिव्यक्तिलाई ‘भोका स्रोता’माझ पुर्‍याउने यो एक सशक्त बाटो हो । त्यसकारण शिक्षक वर्गले आफ्नो अभिव्यक्तिमा कक्षाकोठामा उपस्थित सम्पूर्ण विद्यार्थीले केही न केही ‘घर लैजाने कोसेली’ प्रदान गर्ने तरिकाले अध्यापन गराउनु जरुरी हुन्छ । माथिल्लो निकायले आफूले अध्यापन गरेको अनुगमन गर्दैन भन्ने कुण्ठा पाल्नु हुँदैन । किनभने शिक्षकले पढाएको अनुगमन गर्ने सबैभन्दा विशिष्ट अनुगमनकर्ता त विद्यार्थी नै हुन्छन् ।

यस्तै पदाधिकारी वा कलेज सञ्चालकहरूले के बुझ्नु जरुरी छ भने गुणस्तरीय शिक्षाको सबैभन्दा महत्त्वपूर्ण पाटो भनेको ‘कक्षाकोठाको उपलब्धि’ वा ‘विद्यार्थी–शिक्षक’ बीचमा हुने बौद्धिक अन्तरक्रिया नै हो । जबसम्म त्यो निम्छरो हुन्छ, शिक्षाको गुणस्तर उक्सिन सक्दैन । आशा गरौं, संविधान जारी गर्ने मौकामा व्यक्त भएको जनदबाबले उच्चशिक्षामा देखिएका समस्याहरूलाई सम्बोधन गर्ने अवसर सिर्जना हुनेछ ।

खतिवडा काठमाडौं विश्वविद्यालयका सह–प्राध्यापक हुन् ।
nawa.khatiwada@gmail.com

(कान्तिपुर, श्रावण २६, २०७२) 
(August 11, 2015)

Saturday, July 4, 2015

सुदेशाको सम्बोधन



सुदेशा स्कूल, नक्खु, ललितपुरमा आयोजित एस एल सी उत्तिर्ण विद्यार्थी तथा शिक्षक बिदाई कार्यक्रममा प्रमुख अतिथी डा. नवराज खतिवडाले गर्नु  भएको सम्बोधन
एस एल सी उत्तिर्ण विद्यार्थी तथा शिक्षक बिदाई कार्यक्रम
आषाढ १९, २०७२
कार्यक्रमका सभाध्यक्ष महोदय, विद्यालय परिवार तथा उपस्थित महिला एवँ सज्जन वृन्द !
सर्वप्रथम आजको यस बिदाई कार्यक्रम मार्फत सम्मान गरिएका २०७१ सालको समूहमा एस एल सी उत्तिर्ण विद्यार्थीहरुलाई बधाई ज्ञापन गर्दै उनीहरुको उज्जवल भविष्यको कामना समेत गर्न चाहान्छु । यस पवित्र अवसरमा सफलताको यो सगरमाथा चुम्ने बिद्यार्थीहरुका वुवा, आमा, दाजु भाई, दिदी वहिनी, हजुरवा हजुरआमा, काका काकी, मामा माईज्यू लगायत सम्पूर्ण नाता कुटुम्बलाई समेत बधाई दिन चाहान्छु । किनभने यो उपलब्धीको अशियार वहाँहरु सवै हुनु हुन्छ । यस्तै यो अनुष्ठान लाई पूर्णता दिनेकार्यमा सारथीको रुपमा अनवरत परिश्रम गर्ने सम्पूर्ण शिक्षक, शिक्षिका र विद्यालय प्रशासन समेत बधाईका सुपात्र भएको कुरा स्मरण गर्न चाहान्छु ।

प्यारा विद्यार्थी भाई वहिनीहरु !
एक दशक भन्दा लामो बाटो हिँडेर तिमीहरु यो चौतारीमा आई पुगेका छौ । चौतारी आई पछि के हुन्छ ? चौतारीमा सुसाएको अनुभव भएको व्यक्तिले भन्नेछ-  चौतारीमा पुगे पछि बाटोको प्रकृतिमा परिवर्तन आँउन सक्छ । अव कि त वाटो उकालो लाग्छ, कि तेर्सो कि त ओरालो । तर प्रश्न के हो भने किन सवै वाटो हिड्नेहरु चौतारीमा पुग्न सक्दैनन् ? एउटै वाटो हिडेका, एउटै कक्षामा पढेका, एउटै गुरुले दीक्षा दिएका शिष्यहरु किन फरक फरक क्षमताका हुन्छन त?
एउटा खेल खेलौ । म एउटा काम गर्न निर्देशन दिन्छु । तिमीहरु सबैले गर्नु है । सबै जना तयार हो ?
हात माथी उठाउ । अझ माथी उठाउ । दुवै हात उठाउ ।
हात उठाउने कार्य वाट के शिक्षा लिन सकिन्छ ? ल कसले भन्छ ? 
हामी सँग एकै झड्कामा १००% नतिजा निकाल्ने क्षमता हुन्छ । तर विभिन्न कारणले गर्दा हामी एकै पटकमा त्यो पूर्ण क्षमता प्रयोग गर्दैनौ । एकै पटकमा वा पटक पटक गरेर पनि आफू सँग भएको शतप्रतिशत क्षमता प्रयोग गर्न सक्ने सिद्धपुरुषहरुको सँख्या सानो छ । जो हरेक कार्यमा आफ्नो पुर्ण क्षमता प्रयोग गर्न सक्छ त्यो जीवनका हरेक चौतारीमा पुग्न सक्छ । अरुलाई उछिन्न सक्छ । अरुले गर्न नसकेको काम गर्न सक्छ ।
आज भन्दा ३६ वर्ष अघि दुईहजार छत्तिस सालमा मैले एस एल सी परिक्षा दिएको थिँए । त्यस वेला मैले परीक्षाफल प्रकाशित भएको ३ दिन पछि मात्र म पास भएको जानकारी पाएको थिँए । अहिलेको जस्तो मोवाईल फोनको सुविधा थिएन । अहिले भाई वहिनीहरुका हात हातमा भएका ल्यापटप कम्प्युटर, ट्याबलेट, र ईमेल, ईन्टरनेट जस्ता सुविधाको जन्म नै भएको थिएन । मेरो जीवनको पहिलो रँगिन फोटो हँङ्कङमा धुलाएर ल्याईएको थियो । आफ्नो अनुहारको रँग फोटोमा देखेर म दगँदास परेको थिँए । अहिले त फोटो धुनु पनि पर्दैन  मोवाईले खिचेर कम्प्युटरमा हेरे पुग्छ । कस्तो सुविधा ! आज विहान मैले यो सम्बोधनको लेखोट फेसबुककै माध्यम वाट मधु सरलाई पठाँए ।  अहिले यस्तो सुविधा छ । उहिले त्यस्तो थिएन । अझ मैले ‘क’ ‘ख’ लेख्न सिकेको तरिका त झनै रोचक छ । मैले काठको फल्याँटोमा धुलो माटो फिँजाएर सिन्काले लेख्न सिकेको हुँ ।
प्यारा विद्यार्थी भाई वहिनीहरु !
मेरो वाल्यकालको कुरा यहाँ जोड्नुको अर्थ के हो भने मेरा वुवा आमाले देखेको सँसार र मैले देखेको सँसारमा आकाश जमिनको फरक छ । यस्तै तिम्रा वुवा आमाले भोगेको अहिलेको सँसार र तिमीहरु वयस्क भएको वेलामा भेटिने सँसारको पनि तुलना नै हुन सक्दैन । अबको ३०, ४० वर्ष पछि कस्तो मोवाईल फोन आउला? कस्तो कम्प्युटर वन्ला? कस्तो हवाईजहाजमा उड्न पाईएला? हामीलाई कल्पना गर्न पनि कठिन छ । यसको मतलव सँसारमा हरेक पल पलमा हरेक क्षण क्षणमा अकल्पनीय परिवर्तनहरु भईरहेका छन । यसको रमाईलो पक्ष के हो भने भाईवहिनीहरु सँग ती परिवर्तनहरुले ल्याएका सेवा सुविधाको हकदार हुने अवसर छ । तिमीहरुका अघि त्यस्ता परिवर्तनकारी अभियानका नायक नायिका हुने समेत अथाह सम्भावनाहरु छन ।
तर अहिले एस एल सी पास गरेका कतिपय विद्यार्थीलाई अन्यौल होला । अब के विषय पढ्ने हो ? भविष्यमा के बन्ने हो ?
कतिपयले सोचेका होलान विज्ञान विषय लिने । भविष्यमा ईन्जिनियर, डाक्टर वन्ने ।
कतिपयले निर्णय लिएका होलान- व्यवस्थापन विषय पढ्छु । बैकँको मेनेजर हुन्छु । वा कर्मचारी हुन्छु ।
कतिले मानविकी वा सम्बन्धित विषय पढ्ने सोच वनाएका होलान । अनि वकिल हुने । पत्रकार हुने । शिक्षक हुने । अर्थशास्त्री हुने । सपना देखेका होलान ।  
कतिले व्यावसायिक विषय पढ्लान । नर्स, पाईलट, प्लम्बर वा ईलेक्ट्रिसियन होलान ।
तर मलाई लाग्छ । यो सोच्ने तरिकामा केही परिवर्तन गर्न जरुरी छ । अहिले यहाँ उपस्थित हुनु भएका अभिभावकहरुलाई ”अहिले तँपाई के गर्नु हुन्छ ? तँपाईको पद के हो ? तपाईको आदेश पालना गर्ने कति कर्मचारी छन ? “ भनेर सोध्ने हो भने वहाँहरुले दिएको जवाफमा एसएलसी पछि कुन विषय पढेको हो भन्ने कुरा गौण हुन सक्छ ।  
यहाँ कोही सरकारी कर्मचारी होला । कोही अन्तराष्ट्रिय सँघ सँस्थामा काम गर्ने अधिकृत होला । कोही आफ्नै व्यवसाय चलाउने व्यावसायी होला वा कार्यकारी अधिकृत होला । कोही प्रधानाध्यापक होला । कोही शिक्षक होला ।
यसर्थ के पढ्ने भन्दा पनि के बन्ने भन्ने कुरा महत्वपूर्ण हो । यसैले भाईवहिनीहरुको पहिलो काम भविष्यमा के बन्ने वा को जस्तो बन्ने भन्ने कुरा सोच्ने हो ।
ल फेरी एउटा प्रश्न सोधौ । दश कक्षामा पढ्दा रोल न ५ भएको विद्यार्थी को हो उठ त ।
तिम्रो आदर्श व्यक्ति वा रोल मोडेल को हो ?
स्यावास ! अरु सबै विद्यार्थीका पनि आआफ्ना आदर्श व्यक्ति होलान । नभए पनि आज देखी मनमा एक आदर्श व्यक्तिको नाम बोकी राख्न जरुरी छ । आफ्नो आदर्श व्यक्तिको वारेमा सकेसम्म धेरै जानकारी वटुल्न जरुरी छ । अरुले गर्न सकेको काम म पनि गर्न सक्छु । म पनि भविष्य कसैको आदर्श व्यक्ति वन्ने छु भन्ने अवधारणा लिएर अघि बढ्नु जरुरी छ । अघि मैले अवसरको कुरा गरेको थिँए । भाई वहिनीहरुका लागि हाम्रै देशमा पनि अथाह अवसरहरु छन ।
फेरी अर्को प्रश्न ।
ललितपुर जिल्ला निवासी नेपालको प्रधानमन्त्री को थियो ?
नेपालको पहिलो महिला प्रधानमन्त्री को होला ?
महिला प्रधानन्यायधिश, महिला गभर्नर को पद अझै खाली छ । मेची महाकाली चल्ने विद्युतिय रेल अर्थात वुलेट ट्रेन वनाउने ईन्जिनियरको पद खाली छ । युगान्तकारी परिवर्तन गर्न सक्ने वैज्ञानिक, ईन्जिनियर, डाक्टर, पत्रकार, वकिल, शिक्षक सबैको पद खाली छ । किनभने हामीले सोचेको जस्तो भएको छैन । हाम्रा अघि बेथिती छ । वेरोजगारी छ । सडक फोहोर छ । नदी प्रदुषित छ । मेची महाकालीको सडक यात्रालाई २४ घण्टा लाग्छ ।  मेरो मान्यता के छ भने आफ्नो अगाडि केही नमिलेको केही नपुगेको परिस्थिति देखियो भने त्यो मेरो लागि अवसर हो । यसकारण जति पनि नमिलेका, नपुगेका र नभएका कार्यहरु छन तिनीहरुले भाई वहिनीहरुलाई अथाह अवसर पस्केका छन । खाली ध्येय निर्माणको जरुरी छ । दृष्टिकोणको आवश्यकता छ । सँकल्पको खाँचो छ ।

आदरणिय अभिभावक वर्ग !
तँपाईका वावु नानी को आफ्नो जीवनकालको आदर्श व्यक्ति वन्ने यो अभियानमा तँपाईको भूमिका अपरिहार्य छ । अघि नै मैले उल्लेख गरि सकेँ । अहिले जमाना बदलिएको छ । बोलेर वा भेटेर मात्र सम्पर्कमा आउने वा परिचय हुने भन्ने दिनहरु ईतिहास भएका छन । मोवाईलका स्क्रिनमा साथी भेटिन्छन । फेसबुकका भित्तामा आफन्त भेटिन्छन । एकातिर यो सुविधाले ‘केटाकेटीको गोठालो’ लाग्नु पर्ने समस्यावाट मुक्त भएका छौ हामी । अर्कातिर यो परिवेशले एकाँकीपन बढ्ने र परिवारमा आपसी सम्पर्क र सहयोगको अवसरलाई समेत वन्चित गरिदिएको छ । यसले हाम्रा सन्ततिहरु कम सामाजिक वन्ने हुन कि भन्ने चिन्ता बढेको छ ।
अर्को तर्फ तँपाईहरुका वावु नानीहरुले वाल्य अवस्था पार गरेको स्थिति छ । हिजो अस्तिका केही प्रसँगहरु स्मरण गरौ ।  आफ्नो लुगा आफै धुने, आईरन गर्ने, कोठा मिलाउने, किताव मिलाउने, अन्य सामान टुँगोमा राख्ने, पाउरोटि सेकाउने, बजार वाट दुध वा तरकारी किनेर ल्याउने, हजुरवा हजुरआमा सँग एकछिन गफ गर्ने, साना भाई वहिनीलाई अल्मल्याउने जस्ता काम गर्न अटेरी गर्दा हामी सोच्ने गर्थ्यौ- अहिले उमेर भएको पनि त छैन । पछि वेला भए पछि गरिहाल्ला नि ।

आदरणिय वुवा आमाहरु !
यहाँहरुले विचार गर्नु पर्ने यो अति नै सँवेदनशिल विषय हो । मैले कतिजना वुवा आमालाई वच्चालाई वस स्टप सम्म पुर्याउँदा आफूले झोला वोकिदिएको देखेको छु । खास गरी आमाहरुले ‘मैले त घरको काम सिन्को पनि भाँच्न दिएको छैन ।” भनेको सुनेको छु । मेरो घरमा मोजा आतङ्क छ । मोवाईल फोनको आतङ्क छ भनेको पनि सुनेको छु । महिनाको पन्ध्र हजार सम्म पाकेट खर्च गर्दा तिमीले के के शीर्षकमा खर्च गर्यौ भनेर सोध्न नसक्ने अभिभावक पनि भेटेको छु । तर अव ‘व्यवहारका नियमहरु’ अर्थात रुल्स अफ ईन्गेजमेन्टलाई परिवर्तन गर्न जरुरी छ । किन भने अब पनि अटेरी गर्ने बानी निरन्तर भएमा वा आफ्नो काम आफैले गर्ने बानीको ‘श्री गणेश’ नभएमा त्यो गम्भिर विषय हुन जान्छ ।
मेरा पनि दुई सन्तान छन । छोराको उमेर २३ वर्षको भयो भने छोरीको १९ वर्ष । उनीहरुले आफ्ना बाबुका बारेमा केही धारणा बनाएका छन भन्ने मलाई लाग्छ-यसले आफ्नो सम्पति खर्च गरेर अमेरिका पढ्न पठाउँदैन । यसले चार लाख पर्ने पल्सर बाईक पनि किनि दिँदैन । यसले एक करोड रुपैया खर्च गरेर डाक्टर पनि बनाउँदैन । यसले कहिल्यै पनि स्कूलको बस स्टप सम्म छोड्न जाँदा मेरो झोला बोकेन । घरको सम्पति खर्च गरेर यसले स्नातक सम्म पढाउँछ तर डिग्री भने पढाउँदैन । पाँच सय रुपैया माग्दा कहिले कही रु एक हजार पनि दिन्छ । थप पाँच सय मैले पनि नसोचेको नौलो काममा खर्च गर्नु भन्छ । 
मेरो मान्यता यहि हो- अव ‘व्यवहारको नियम’ बदलिन्छ । अवको माया नि: शर्त हुँदैन । त्यो श: शर्त हुन्छ । तिम्रो आवश्यकता म पुरा गरिदिन्छु तर सट्टामा तिमीले यो गर्नु पर्छ । ‘कापी कलम किन्नका लागि म पैसा दिन्छु तर बजारवाट फर्कदा तिमीले तरकारी पनि किनेर ल्याउनु पर्छ ।‘ किन भने बाध्यात्मक परिस्थिति सिर्जना नभई अनुशासन कायम हुँदैन । विना अनुशासनको सीप अनुत्पादक हुन्छ । सृष्टीको नियम पनि यही हो । नि: शर्त माया पोखेर वयस्क मान्छेले सीप सिक्दैन । व्यवहार गरेपछि मात्र मान्छे सीप सिक्छ ।
शास्त्रले भन्छ-
लालयेत पन्च वर्षाणी दश वर्षाणी ताडयेत ।
प्राप्तेतु पुत्रे शोडषे वर्षे पुत्रमा मित्रम समाचरेत ।।

अर्थात पाँच बर्षमा माया गर । दश वर्ष सम्म डर त्रास पनि देखाउ । तर सोह्र वर्ष पुगे पछी सन्तानलाई मित्रको जस्तै व्यवहार गर ।
‘व्यवहारका नियम’ एकै नाशका हुँदैनन भन्ने शिक्षा यो श्लोकले पनि हामीलाई दिन्छ ।
शैक्षिक उपाधिले मात्र जीवन चल्दैन । जीवन चलाउन विभिन्न कर्म गर्नु पर्छ । कर्म गर्न सीप चाहिन्छ । पढेर मात्र सीप सिकिन्न । परेर सिकिन्छ । तपाईले ‘व्यहारका नियम’ फेर्नु भएन भने तपाईका बाबु नानीले आवश्यक सीप नसिक्न सक्छन । जीवन नबुझ्न सक्छन । अकर्मण्यताको भासमा पुरिन सक्छन ।   

आदरणीय शिक्षक तथा कर्मचारी वर्ग !
आज केही शिक्षक साथीहरु बिदाई भएर जान लाग्नु भएको छ । सुदेशा स्कूललाई वहाँहरुले पुर्याउनु भएको योगदानको म मुक्त कण्ठले प्रशँशा गर्छु । तँपाईहरुले लाउनु भएको बालीको प्रतिफल हामीले आफ्नै अघि प्रत्यक्ष देखि सकेका छौ ।
म काठमाण्डौ विश्वविद्यालयमा पढाउँछु । त्यहाँ सुदेशा स्कूल जस्तै देशका विभिन्न भूगोलवाट विद्यार्थीहरु उच्च शिक्षाको अध्ययनका लागि आउँछन । ती विद्यार्थीहरुलाई अध्यापन गराउने क्रममा उनीहरुले विद्यालयमा सिक्न पर्ने तर कुनै कारणवश सिक्न नसकेका विषयहरु उजागर हुन्छन । उदाहरणको लागि नापो तथा स्केलका अध्यायहरु, भाँती नपुर्याईएका हस्तलिपि अर्थात ह्याण्डराईटिङ्का विषयहरु, र विश्लेषणात्मक क्षमताका कुराहरु केही हुन । कतिपयलाई मिलिमिटर, सेन्टिमिटर र किलोमिटरको बीचको भिन्नता पनि थाहा नभएको पाईन्छ । प्रायजसो विद्यार्थीहरुलाई अक्षर लेख्दा सही तरिकाले धर्को कसरी तान्ने भन्ने चुरो कुरो नै थाहा हुँदैन । कतिपयको विश्लेषणात्मक क्षमता अति कमजोर हुन्छ । यो सभाकक्षमा उपलब्ध हावा आयतननको कति होला अनुमान गर त या तिम्रो कलमले लेखेको धर्को को मोटाई कति होला ? भन्ने जस्ता सामान्य अनुमान गर्ने प्रश्नको उत्तर दिने क्षमता पनि हुँदैन ।   त्यस्तै: कुर्सी आकाशमा कसरी उड्छ ? या प्रमाणित गर: त्रिभुजका भित्री तीनवटा कोणको योगफल २००° हुन्छ भन्ने जस्ता प्रश्न सोधिएमा यी गलत प्रश्न हुन भन्न सक्ने क्षमता पनि हुँदैन । गलत प्रश्नको सही उत्तर दिन सकिँदैन । यसैले अध्ययन क्रममा सहि र गलत प्रश्नहरुको पहिचान गर्न सक्नु पर्छ भन्ने ज्ञान पनि तँपाईहरुले विद्यार्थीहरुलाई दिन अत्यावश्यक हुन्छ । हरेक विद्यार्थीका हस्तलिपी अर्थात ह्यण्डराईटिङ् राम्रा हुन सक्छन । यदि तँपाईले समयमा सहि तरिका सिकाईदिनु भयो भने । मैलै जापानका विद्यालयमा पढ्ने विद्यार्थीहरु कसैका पिन हस्तलिपी ‘कागले छेरेका जस्ता’ देखिन । किनभने उनीहरु अक्षर लेख्दा सही तरिकाले धर्का तान्ने सिद्धान्तको प्रयोग गर्छन । अक्षरहरु एकै तिर ढल्काएर लेख्छन । 
यस्ता उच्च शिक्षा आर्जन गर्नका लागि छिचोल्नु पर्ने प्रारम्भिक खुड्किलाहरुमा अनिवार्य पाईला टेकाई सम्पूर्ण विद्यार्थीलाई सक्षम बनाउने जिम्मेवारी यहाँहरुको काँधमा छ । यदि विद्यार्थीहरुले यी आधारभूत ज्ञानका आयामहरु विद्यालयमा सिकेनन भने एकातिर त्यसको एक मात्र अपजस शिक्षकलाई लाग्ने छ भने अर्कोतिर उनीहरु प्रतिस्पर्धामा पछि पर्ने छन । यसकारण म यो सँवेदनशील विषयमा  म यहाँहरुको ध्यानाकर्षण गर्न चाहान्छु ।   
शिक्षण पेशा भनेको आय आर्जन र जिम्मेवारीका हिसाबले ‘तुलनात्मक भकारी’को भुँई तिरको तहमा हुन्छ । तर यस कार्यवाट प्राप्त हुने सम्मान उच्चकोटिको हुन्छ । यी विद्यार्थीहरुले भविष्यमा आर्जन गर्ने ‘एश्वर्य’ र ‘श्री’ का श्रेयहरुको सबैभन्दा ठूलो हिस्सा तँपाई शिक्षकहरुको पोल्टामा जानेछ । जीवनमा प्राप्त हुने यो भन्दा ठूलो उपलब्धी अन्य के हुन सक्छ ? यो भन्दा ठूलो पुण्य प्राप्ती के हुन सक्छ ?
शास्त्रले भन्छ-
आचार्यात पादामादत्ते पादम शिष्य स्वमेधया ।
काल चक्रेन पादमा दत्ते पादम स्व: व्रम्ह चारिभि ।।
अर्थात ज्ञान आर्जन गर्ने विषयका चार कारक हुन : गुरु, विद्यार्थी आँफै, प्रकृया अर्थात समय र सिकेको ज्ञानको व्यवहारिक प्रयोग । सिकाई लाई शतप्रतिशत भार दिने हो भने यी चार कारकले एक एक चौथाई भार वोकेका हुन्छन् ।
यसरी शिक्षक सँग सिकाई प्रकृयाको आधा भार अर्थात पचास प्रतिशत अँश निहित हुन्छ । यसकारण विद्यार्थीलाई द्वेषविहिन वनाउने क्षमता शिक्षक सँग हुन्छ । आशा गरौ र सरस्वती देवी सँग प्रार्थाना पनि गरौँ- सुदेशा स्कूलका सम्पूर्ण शिक्षक र कर्मचारीगण यो सिकाई प्रकृयाको अनुष्ठानको अग्र भागमा आफूलाई स्थापित गराउन सकुन ।

र अन्त्यमा,
मलाई यो कार्यक्रममा निमन्त्रणा दिएर यसरी मेरा केही विचारहरुलाई शब्दमा परिणत गर्ने मौका दिएकोमा म मधु सर लगायत सम्पूर्ण सुदेशा स्कूल परिवार लाई धन्यवाद दिन चाहान्छु । उपस्थित सम्पूर्ण महिला एवँ सज्जनवृन्दको जय होस ।
धन्यवाद