Monday, October 17, 2016

कथा नायिकासँगको भेट




घोष्ट राईटिङ्ले आयोजना गरेको सिर्जनात्मक लेखनको कक्षा सकेर धुलिखेल जाने वस समात्न म नयाँ वानेश्वरको वस बिसौनी आईपुग्दा विहानको साढे नौ वजेको थियो । प्राय यो रुटको वस भीड हुन्छ । तर आज भने लगभग आश्चर्य भएको थियो । आधा जति सिट खाली थिए । खाली सीट पाए पछि म कुन सिटमा वस्ने भनेर केही न केही तर्क गर्छु आफ्नै मनमा । दाहिने तिरको घाम लाग्ने सिट खोज्दै म वसको पछिल्लो भाग तिर लम्किएँ । अन्तिमका तीन सिट मेरा रोजाईमा परेका थिए । तर पहिलो, चक्का माथी थियो । दोस्रो, अलि साँघुरो थियो । तेश्रो, अन्तिमको लामो सिट थियो । मेरा रोजाईमा यि तिनवटै परेनन । म पु:न अघिल्तिर लम्किएँ र दाहिने तिरकै सिटमा एक युवती सँग वस्न पुगेँ । उनी झ्याल तिर थिईन । म सिटमा वस्दा वस्दै उनी नै पहिले वोलिन ।

“ओहो हजुर पो हुनु हुँदो रहेछ । म पनि कहाँ देखेको देखेको जस्तो लागेर सोच्दै थिँए । ”

मैले उनलाई नियालेर हेरेँ । निलो कोट लगाएकी थिईन । कोटको सतहमा उनका केश राशीहरु नदीका दुई भँगाला जस्ता भएर सपक्क वसेका थिए । हिँउदको नदीको पानीमा देखिएको जस्तो चमक उनको केशमा देखिएको थियो । अनुहार थियो उज्यालो र प्रसन्न । उनी मँगोलियन मूलकी जस्ती देखिन्थिन । अधवैशे युवती थिईन । वाटुलो चेहरामा थेप्चो नाक र मझौला आकारका आँखा विछट्टै शोभायामान देखिएका थिए । निधारमा टिको लगाएकी थिईन । मैले केही दिन अघि धुलिखेलवाट काठमाण्डौ जाँदा उनीसँगै सिटमा परेको र लामो कुराकानी भएको प्रसँग सम्झिएँ ।

“त्यैत मलाई पनि अनुहार परिचित जस्तो लाग्यो । अस्ति हामी सँगै कुरा गर्दै धुलिखेलवाट आएका थियौ नि होईन त ।”

“हो त नि सर ! कस्तो रमाईलो कुराकानी भयो । त्यस दिन म कति तनावमा थिँए तर हजुरको कुराले मलाई ठूलो सान्त्वना मिलेको थियो ।“

उनले एकदमै आदरका साथ सरको नाता जोडिन । त्यो “सर” भित्र विश्वविद्यालयमा पढाउने व्यक्तित्व लुकेको थियो । तनाव भएका वेला पनि उनले मन भुलाउने विषयहरु मेरो गफमा उनले पाएकी थिईन । उनलाई मैले अस्तिको भेटमा मेरो पेशाको वारेमा पनि भनेको थिँए । उनले पनि उनको व्यक्तिगत कुराहरु धेरै भनेकी थिईन । धुलिखेलको एक सरकारी कार्यालयमा काम गर्दिरहिछन । काठमाण्डौ उपत्यकाको पश्चिम पट्टिको ग्रामिण ईलाकावाट हरेक दिन सार्वजनिक यातायातमा धुलिखेल आउने जाने गर्दिरहिछन ।   

म वनेपा पुगिसकेको थिँए। घरिघरि वसको झ्यालवाट छिरेको घामले ल्यापटपको स्क्रिन एकदमै धमिलो वनाई दिएको थियो । यसैले मैले बाध्यतावश मेरा औलाहरुलाई विश्राम दिनु पर्यो । ल्यापटपमा एकै छिन अघि भेटिएकी युवतिको अधुरो कथा कैद भएको थियो। अहिले म झ्याल पट्टि नै वसेको थिँए जहाँ केही समय अघि उनी बसेकी थिईन । यति तात्तातो लेखन पस्किने ईच्छा शक्ति शायद उम्रने थिएन । यदि आज विहान डा. दयाराम श्रेष्ट “सम्भव” ले कथा कसरी लेख्ने भनेर नसिकाउनु भएको भए । ति युवती सँग छुट्टिना साथ उनी सँग भएको भेटलाई विषय वनाएर  कथा लेख्ने सुर चढि सकेको थियो । आजै कथा सक्न पाए भोलि प्रशिक्षणमा सहभागी साथीहरुलाई मेरो रचना वाँड्न सकिन्थ्यो । कथाकी नायिकाको वास्तविक नाम मलाई थाहा थिएन । मैले सोधिन पनि । सोधेकै भए पनि वास्तविक नाम राख्ने कुरा पनि भएन । यसैले अहिले म उनको काल्पनिक नाम सोचिरहेको छु । यस्ता नारी पात्रलाई दिईने नाम मध्ये मलाई एकदम मन पर्ने एउटा नाम सिमा हो । मैले थाईल्याण्डको फि फि टापुमा भेटिएकी ‘सिमा” को वारेमा पनि एउटा नियात्रा लेखेको थिँए । तर दयाराम गुरुले दिनु भएको ज्ञान अनुरुप त्यो नियात्रा होईन “कथा” नै हो । साँच्चिकै निर्णय गरेँ यहि नाम राखिदिन्छु । तर चिन्ताको विषय भने अव  कथामा ज्यान कसरी भर्ने भन्ने छ । मलाई यो कथा लेखन आजै सक्न मन छ ।

सिमासँग कुरा अघि बढ्यो ।

“मैले हजुर सँग भएको कुराकानी दाईहरुलाई पनि सुनाएँ । मेरो कस्तो भाग्य रहेछ कस्ता राम्रा मान्छेहरुसँग भेट हुन्छ वस यात्रामा भने ।” उनले हाम्रो पहिलो भेट र मेरो कुराकानीले उनीमाथी पारेको प्रभावलाई आँकलन गर्दै भनिन ।

“ए ! साँच्ची ! कसरी सुरुवात भयो त्यो दिन हाम्रो कुरा ? ” मैले साँच्चि नै विर्से छु त्यो पहिलो भेटमा कुराकानी शुरु भएको प्रसँग । मौका परे म त वोल्न खोज्दछु मेरा यात्रामा भेटिएका छिमेकी सँग । तर सधै परिस्थिति अनुकुल हुँदैन । पात्र पनि सिमा जस्ता विरलै हुन्छन् ।

“हजुर छेउ तिर अलि अप्ठेरो सँग वसेको जस्तो लागेर मैले वस्न सजिलो भएन कि हजुरलाई भनेकि थिँए ।” उनले सम्झिईन ।

शायद मेरो शरिरको आकारको कारण हो या साँघुरो सिटको कारण हो त्यस्तै भएको थियो । उनले आफूलाई सकेसम्म सानो वनाएर मलाई सिट छोडिदिएकि थिईन । यात्रामा यस्ता छिमेकी शायदै पाईन्छन् । अरुको दु:ख देख्ने अनि आफूले सकेको सहयोग गर्ने भावना धेरै कममा हुन्छ । मनमा भए पनि कतिपयले व्यक्त गर्न सक्दैनन् ।

“त्यही त हजुरको पनि अरुको अप्ठेरो देख्ने आँखा र सहयोगी भावना भएको मन भएर नै हाम्रो कुराकानी भयो । यसरी भावना मिल्यो भने त हो नि फेरी भेट हुँदा पनि वोल्न मन लाग्ने । अनि त्यो व्यक्ति प्रति श्रद्धा पनि जाग्ने होईन त ।” मैले पनि मन फोरेँ ।

हाम्रो पहिलो यात्रामा उनको मोवाईल पटक पटक बजेको थियो । उनकी आमा एकास्सी वेहोस भएकीले उनले कार्यालय पुग्ना साथ काठमाण्डौ फर्किनु परेको थियो । चक्रपथ भन्दा धेरै वाहिरवाट विरामी ल्याउनु पर्ने भएकोले ट्याक्सी पाईएको थिएन । उनको भाई पनि कहि काममा गएको थियो । सिमा उनका वुवा सँग र भाई सँगै पटक पटक फोन सम्पर्कमा थिईन र मलाई सुनाउदै पनि थिईन । उनका श्रीमान विदेशमा रोजगारी गर्न गएका रहेछन । उनी माईतिमा सानो छोरा लिएर वसेकी रहिछन । धुलिखेल आसपास मा नै डेरा लिएर वस्ने सुर उनको रहेछ । तर छोरालाई अहिले सम्म मनाउन नसकेकि रहिछन । मैले म सँग भएका  धुलिखेल र वनेपाका केही विद्यालयहरुका वारेमा पनि उनी सँग चर्चा गरेको थिँए ।

“आज पनि हजुर सँगै कुरा गर्दै जानु हुन्थ्यो तर म कोटेश्वरमा ओर्लिएर वाईकमा जानु पर्ने छ ।“ उनले म सँग कुरा गर्ने अवसर गुमाउनु पर्ने बाध्यतालाई ईगित गर्दै भनिन ।

“ए ! हो र ! तर त्यो पनि मेरो लागि राम्रै हुने भयो ।” मैले परिस्थितिलाई नजिक वाट नियाले । त्यसमा ठाडो, सकारात्मक र रोमान्चक भर्याङ् लगाएँ । उनले म वाट त्यो अपेक्षा गरेकी थिईनन् ।

“ए ! तपाईले गफ गर्नुको सट्टा केही पढ्न पाउने हुनु भयो हो ? यसैले राम्रो भन्नु भएको हो ।” मैले सँकेत गरेको ‘राम्रो’लाई अनुमान गर्दै सीमाले भनिन ।

“होईन । म झ्याल तिर वस्न पाउने भएँ र घाम ताप्दै जान पाउने भएँ भनेर हो ।”

उनी हाँसिन । हिमालमा घाम लागेको जस्तो भयो । वान्की परेका सेता दाँत देखिए ।

“कस्तो मनासिव कुरा गर्नु भयो । यसरी नै त हो नि मान्छेले खुशी प्राप्त गर्ने । खुशी ठूलै हुनु पर्छ भन्ने के छ र । कति मान्छेहरु छन यस्ता स साना कुराले दिने आनन्दको वारेमा विचार नै गर्दैनन् ।“ उनले पनि मेरो अभिव्यक्तिमा भर्याङ् लगाईन ।

मैले म स्नातक पढ्दा एक जना मित्र सँग पदयात्रामा गएको वेला भेटिएका एक सहयात्रीले भनेको कुरा सँझिए । उनले भनेका थिए- मान्छे खुशीको ठूलो नदी प्राप्त गर्न चाहान्छ । त्यसकै खोजीमा भौतारिन्छ । यात्रामा निस्कन्छ । यस क्रममा उ कैयन स-साना खोल्सी र खोलाहरु पार गर्छ । उसलाई त्यो ठूलो नदीको नशा लागेको हुन्छ र खुशीका ति स-साना खोल्सी र खोलाहरु तरेको अनुभूति नै गर्दैन । आखिर तिनै स-साना खोल्सीहरु मिलेर नै नदी बन्ने त हो ।

उनी जाँदा जाँदै मैले यो खुशीको आकारको वारेको मेरो मष्तिष्कमा रहेको अनुभूति सुनाउन भ्याँए । अनि विदाईका हात हल्लाउदै भनेँ-हाम्रो दैनिकीमा एउटै रुट छ । फेरी अवश्य नै भेट होला ।

अपरान्ह ३:०० वजे
काविवि पुस्तकालय
धुलिखेल
पौष १४, २०७१

Wednesday, August 24, 2016

नअराएको काम


एकसुरले हिँडिरहेको थिएँ । एकाएक टक्क रोकिएँ । सिधै अघिल्तिर देखिएको दृष्यमा एक निमेष पनि नबिराई हेरीरहेँ ।

उ एकाग्र भएर लेखिरहेको थियो । काखमा अस्ति हाम्रो वैवाहिक जीवनको रजत महोत्सवमा उपहार आएको नयाँ डायरी थियो ।

ढोकाको छेउको प्लगमा जोडेर मोबाईल चार्जमा राखिएको रहेछ । भवन बाहिर निस्कन लागेको व्यक्तिले सजिलै देख्न सक्ने, लेख्न पनि मिल्ने र मोबाईल चार्ज गर्न पनि मिल्ने बेन्च खोजेर उ त्यसमा बसेको रहेछ । एक भन्दा वढि कामहरुलाई एकैसाथ गर्न विशेष बुद्धि लगाउनु पर्छ । उसको हाउभाउ र गतिविधिले मैले निचोड निकालेँ-उ विशेष बुद्धि लगाएरै केही लेख्दै छ ।

वरिपरि बाक्लो भीड थियो । धुलिखेल सामुदायिक अस्पतालको तहखानाको विवरण सँकलन केन्द्रवाट म रगत परीक्षणको कागजात लिएर फर्कदै थिएँ । उ गाडीको पाङ्ग्रामा हावा भर्ने काम सकेर मलाई पर्खन त्यो बहुआयामिक बेन्चमा आसिन थियो । उसको पर्खने शैलीको मैले मनमनै मुक्त कण्ठले प्रशँसा गरेँ ।  

"के भै रहेको छ ?"

मेरो प्रश्नले उसको ध्यान बिथोलियो । पुलुक्क मतिर हेर्यो । विशेष ध्यान दिएर कुँदिएका राम्रा हस्तलिपीले डायरीको आधा पृष्ठ भरिएको थियो । उत्कृष्ट कलमले उत्कृष्ट कापीमा लेख्नु पर्छ भन्ने मैले अपनाएको एक 'सरस्वती-मन्त्र' उसले सर्लक्कै टिपेको छ । मेरा परिवारका दुई सदस्यलाई मिहिनेत गरेर कुँदिएका राम्रा अक्षरले लेखिएका चिठ्ठि पठाएर हस्तलिपी उत्कृष्ट बनाउने प्रेरणा दिन म सफल भएको छु । एउटा पनि केरकार नगरी एउटै आकारका अक्षर सिर्जना गरेर आफ्नो भावना कापिमा उतार्नु भनेको वास्तवमा एक किसिमको तपस्या नै हो । शास्त्रले पनि राम्रा अक्षरको परिभाषा दिएको छ-अक्षराणी वाटुलानी घनानिच पृथक: पृथक: ।

"समय पाएको वेलामा लेखिहाल्न मन लाग्यो । तात्तातो लेखाईमा ठूलो ज्यान हुन्छ ।"

उसले आज भोली मलाई पनि घत लाग्ने गरी उत्तर दिन्छ । कहिले कहि त म ट्वाल्ल पर्छु । कहिले मन्त्रमुग्ध हुन्छु । तर प्रायजसो समयमा मेरो भाव भित्रै लुँकाउँछु । व्यक्त गर्दिन । आज भने मैले अनुमान गर्न भ्याँए, उसले के लेखिरहेको छ भनेर ।

एक छिन अघि मात्र हामी काठमाण्डौ विश्वविद्यालयका पूर्व उपकूलपति प्रा.डा. सुरेशराज शर्माको निवासमा थियौँ । वहाँ सँग लगभग एक घण्टा विताएर फर्केका थियौँ ।

"नेपालमा यस्ता पनि मान्छे रहेछन ।" सुरेश सरसँग विदा भएर कारमा बस्दै गर्दा सिरिनले पहिलो प्रतिकृया दिएको थियो ।  

सिरिन मेरी धर्मपत्नी रीता र मेरो एक मात्र पुत्ररत्न हो । अहिले चौबिस बर्षको लक्का जवान भएको छ । मुम्बईको ईन्दिरा गान्धि विकास अनुसन्धान सँस्थानमा अर्थशास्त्र विषयमा स्नातकोत्तर गर्दैछ । छुट्टिमा घर आएको मौकामा मैले 'एक पन्थ दो काज' उखान चरितार्थ हुने अभिप्रायले उसलाई लिएर धुलिखेल गएको थिँए ।    

यसपटक घर आए देखि उसले मलाई एउटै प्रश्न तारन्तार सोधिरहेको थियो ।
"बाबा अव म के गरौ ?"

अर्थात "अव म कुन वाटोमा पाईला राखौँ ?" उस्को प्रश्नको मैले अर्थ लगाएको थिँए ।
 वयस्क उमेरका आफ्ना सन्तानले सोधेको यो प्रश्नको चपेटामा अहिले धेरै बाबुआमा परेका छन । आफ्नै कोखमा जन्मेर हुर्केका सन्तानले सोधेका यस्ता प्रश्नका दुईवटा सपाट अर्थ निस्कन्छन् भन्ने मेरो मत छ ।

पहिलो अर्थ हो- प्रश्नकर्ताहरु अझै सम्म पनि कुनै ठोस निर्णय लिनु अघि आफ्ना बुबाआमाको राय सल्लाहा लिन्छन । आफ्ना रगतको नातालाग्ने मान्यजनहरुलाई महत्व दिन्छन् । यस्ता कठिन प्रश्नका सहज उत्तरहरु बा आमा सँग छन भन्ने उनीहरुलाई लाग्छ ।

दोस्रो हो-प्रश्न सोधिने व्यक्तिको 'श्री' को उचाई घटेको छैन । अहिले सूचना प्रविधिको अभूतपूर्व विकासले गर्दा नयाँ पुस्ताको जो कोही पनि सामाजिक सन्जाल लगायत अन्य सन्चार सुविधाहरुको प्रयोग सहजै गर्न सक्छ । त्यो नगर्नेले वृति विकासका अवसर र बजारको स्थिति आँकलन गर्न कठिनप्राय हुन्छ । यसकारण उच्च शिक्षा हासिल गरिरहेको आफ्नो सन्तानले यो जमानामा 'मेरो अभिभावक'  समय सापेक्ष हिँड्छ । सन्ततिको लागि आवश्यक सूचनाको आवधिक ज्ञान राख्छ । उ सँग मेरो वृतिविकासको लागि पनि काम लाग्ने जानकारी हुन सक्छ भन्ने ठानेर राय माग्नु भनेको अझ ठूलो कुरो हो ।  

खाना खाएको दुई घण्टा पछि पनि अस्पतालमा रगतको नमूना दिनु पर्ने भएकाले हामी सँग एउटा राम्रै बैठक गर्न सकिने समय थियो । मैले सोचेँ-यो मौकामा सुरेश सरलाई भेट्न किन नजाने ? मेरो सोच कार्यमा परिणत हुन बेर लागेन । हामी काठमाण्डौ विश्वविद्यालयका चित्रकारको धुलिखेलको सिरानमा अवस्थित निवासमा पुग्दा आगन्तुक कक्ष निर्जन थियो । सहयोगीको माध्यमवाट भित्र खबर पठाईयो । म भने आगन्तुक कक्षमा राखिएको सानो पुस्तकालयको अवलोकन गर्न थालेँ । एकै छिनमा सुरेश सरको आगमन भयो । हामी भाग्यमानी यस अर्थमा ठहरियौ कि त्यस वेला वहाँका श्रोता हामी दुई मात्र थियौँ र हामी बसुन्जेल वहाँलाई भेट्न अन्य कोही देखा परेन ।  

मेरो मष्तिष्कमा सिरिनको प्रश्न "बाबा अव म के गरौ ?' गुन्जिरहेको थियो ।  मलाई लाग्यो-यो यक्ष प्रश्नको उत्तर दिन सक्ने हाम्रो जीवनकालको युधिष्ठिरको साक्षात रुप हाम्रा सामुन्नेमा प्रसन्न मुद्रामा आसिन छ । सम्भवत नेपालको शिक्षासँग जोडिएका कुनै पनि विषयको मिहिन विश्लेषण गर्न सक्ने धरोधर वहाँ वाहेक अर्को नहोला ।  जसरी गीतामा अर्जुनका कुनै पनि प्रश्नको कालजयी उत्तर भगवान श्रीकृष्णले दिनु भएको छ । त्यसरी नै म पनि सिरिनको प्रश्नको कालजयी उत्तरको खोजिमा थिँए । यो हिरा फोर्ने मौका थियो । मैले प्रसँग मिलाएर सुरेश सरको ध्यानाकर्षण गराएँ ।  

'सरको पालामा नेपालमा गर्नु पर्ने महत्वपूर्ण काम मध्ये एउटा नयाँ विश्वविद्यालयको स्थापना थियो । जुन यहाँको अगुवाईमा पूरा भयो ।  नेपालमा अबको पुस्ताले गर्नु पर्ने त्यस्तै विराट महत्वको काम के हुन सक्ला ?'  मैले 'अबको पुस्ता' भन्दा सिरिन तिर हातले ईशारा गरेँ ।

मेरो कौतुहलताको पारो बेजोडले आकाशियो । सिरिनको अनुहारमा पनि त्यही भाव देखेर मेरो खुशीको सीमा रहेन । मैले दिनु पर्ने एक जटिल प्रश्नको उत्तर भुँईमा खस्न लागेको थियो । हामी दुवै श्रोताको पूर्ण ध्यान सुरेश सरको उत्तर तिर थियो ।     

'नअराएको काम गर्ने ।'

"अहिले मलाई धेरै मान्छेले प्रश्न गर्छन- तँपाईलाई यो विश्वविद्यालय निर्माण गर्ने काम कस्ले अराएर गर्नु भयो । मेरो उत्तर रहने गरेको छ-कसैले पनि अराएको होईन ।"

"मेरो ब्रम्हज्ञानले भन्छ- अबको पुस्ताले पनि नअराएको काम गर्नु पर्छ । त्यस्त कामको विस्कुन नेपालमा बाक्लो छ । काम सम्पन्न भए पछि सयौ त के हजारौ मान्छेले सोधुन-यो काम कस्ले अराएर गर्नु भयो ?"

भविष्यमा सुरेश सरलाई सँझदा मष्तिष्कमा अवतरण गर्ने विषयहरु मध्ये उच्च स्थान ओग्ट्ने यो कर्म मन्त्र हामीलाई प्राप्त भै सकेको थियो । वास्तवमा 'नअराको' काम फत्ते गरेर नै कुनै सामान्य अभियन्ता नेतृत्वको ईन्द्रासनमा पुग्न सक्छ । नअराको कामको प्रकृति असामान्य हुन्छ । असामान्य कामले नै अलौकिक लोकप्रियता वटुल्न सक्छ ।   

धुलिखेल अस्पतालमा विवरण सँकलन गर्ने कार्य सकिएको थियो । हामी अरनिको राजमार्ग हुँदै काठमाण्डौ विश्वविद्यालयको केन्द्रिय क्याम्पस आउँदै थियौ । चालकको सीटमा सिरिन थियो । म उसँगै अगाडिको सीटमा थिएँ ।

"यसपटकको मेरो बिदा धेरै उत्पादनमूलक भएको अनुभुति भएको छ ।" उसले पृष्टभुमिको गाडिको नबुझिने आवाजलाई मिचेर हामी वीच विद्यमान मौनतालाई चिर्ने पहल गर्यो । 

सिरिनले सोधेको जटिल प्रश्नको उत्तर सुरेश सरले दिएको "कर्म मन्त्र" ले समेटेको थियो । उसको डायरीमा त्यो तात्तातो अभिव्यक्ति 'आजको सिकाई' रुपमा प्रवेश गरिसकेको थियो भन्ने निचोड मैले निकालेँ । मेरो रणनीतिले राम्रै काम गर्यो । कहिलेकहीँ यस्तै जुर्छ । आफ्नो थाप्लोमा अनुत्तिर्ण हुने प्रावधान नभएको परीक्षामा बस्नु पर्ने क्षण आईलाग्छ । तर यसपाला भने मलाई अभूतपूर्व सफलता हासिल गरेको अनुभूति भयो ।

सिरिन छुट्टिमा आएको वेला मैले पनि उ वाट धेरै नौला जानकारी र सूचना पाउने अवसर जुटेको छ । यस पटक उसले मलाई प्राध्यापक जोन कावात जिनको भिडिओ उपहार दिएर गयो । 'विपस्यना ध्यान' विधालाई विज्ञानको मूलधारमा समाहित गर्ने व्यक्ति रहेछन- जोन कावात । भिडिओमा उल्लेखित उनका केही टिप्पणीहरु रोचक र आजको पुस्तालाई समेत प्रभाव पार्ने किसिमका रहेछन ।

"जतिसुकै पारगँत साधक किन नहोस ? जतिसुकै महँगो र जटिल बाजा किन नहोस ? सँगित सिर्जना गर्नु अघि वा बाजा बजाउनुपूर्व ताल मिलाउनु पर्छ । मनको ताल मिलाउने काम विपासना ध्यान हो ।"   

"डुईङ (कर्म गर्नु) र विईङ् (अस्तित्व हुनु) मा धेरै फरक छ ।"

"भविष्य र विगत भनेका दुवै अवधारणा हुन ।"

"चेतनामा हुनु भनेकै ध्यान हो । चेतना असिमित छ ।"

भिडिओमा जोनले अगाडि भनेका रहेछन-हामी 'त्यहाँ' सम्म पुग्ने भनेर गन्तव्यको तय गर्छौ । कसरी पुग्ने भनेर 'मोडलिङ्' पनि गर्छौ ।  तर समस्या हामीलाई 'यहाँ' नै थाहा हुँदैन ।  यस्तो अवस्थामा गन्तव्य तय गर्नु र 'त्यहाँ' पुग्ने बाटो रोज्नुको कुनै अर्थ हुन्छ र ? '  

भिडिओ सिफारिश गर्दा सिरिनले आश्चर्य व्यक्त गरेको थियो-"यो जोन भन्ने प्रवचन दिने व्यक्ति घण्टौ सम्म एउटै आसनमा उभिएर वक्तव्य दिन सक्दो रहेछ । वक्तव्य दिँदा न त उ पानी  पिउँछ । न त उस्को शरीरमा कतै चिलाउँछ । न त उ विश्राम नै लिन्छ । हामी भने एक छिन पनि धैर्य भएर कुनै काममा लाग्न सक्दैनौ । कुनै विषयमा केही मिनट सम्म पनि एउटै सोच पाल्न सक्दैनौ ।"

अक्षर शिरोमणि भनेर चिनिने नेपालका अध्येता मदनमणि दीक्षितले "अनन्त चैतन्य" नामक उहाँको पछिल्लो कृतिमा महाभारतको एक श्रलोक उद्धृत गरेका छन्-
ईष्टँ दत्तँ तपोअधितम ब्रतानी नियमच्च ये
सर्वमेतविज्ञानियात्  ज्ञानस्यान्तो न विद्यते ।

अर्थात मित्रता दान धर्म पठन-पाठन, ब्रत र अनुशासनका नियमहरुका विनाश र अन्त्य हुन्छन तर ज्ञानको कुनै अन्त्य छैन ।

दीक्षितले लेखे-

'मानिसको चेतना बेगर ब्रम्हाण्डको अस्तित्वसमेत रहँदैन ।'

दीक्षितका "ज्ञान" र "चैतन्य" सम्बन्धित टिप्पणीहरु जोनका "अवेरनेस" सँग सम्बन्धित निचोडसँग समानान्तर हिँडेको पाएँ । तर मलाई लाग्दैन- दीक्षित र जोन एक अर्कामा परिचित छन वा एकले अर्कालाई पढेका छन । तर आ-आफ्नो कित्तामा उत्तिकै उचाईमा छन । उत्तिकै लोकप्रिय छन । लाखौ नरनारीलाई आफ्ना श्रोता वनाउन सकेका छन ।  

मैले सहज निचोड निकालेँ - सुरेश सरले भने झै पक्कै तिनीहरुको प्रसिद्धि पनि "नअराको" काम फत्ते गरेरै नै भएको होला ।

भाद्र ०३, २०७३
सिनेट हल
काठमाण्डौ विश्वविद्यालय
साभार : http://ujyaaloonline.com/news/category/25/blog/

Friday, July 15, 2016

थरीथरीका भोक


आधुनिक घरका वैठक कोठामा कस्ता सजावट सामग्री राखिन्छन् ? 

यो प्रश्नको उत्तर दिँदा विकसित देश र नेपालको तुलना गर्दै कसैले भनेका थिए ‘उनीहरुको बैठक कोठामा पुस्तकहरु राखिएका हुन्छन् । आगन्तुकले त्यहाँ राखिएक पुस्तकहरुमध्ये कुन कुन नपढिएका रहेछन् भन्ने जानकारी पाउँछ छन् । हाम्रा सभ्रान्तहरुका बैठक कोठामा भने मदिराका बोतलहरु सजाएर राखिएका हुन्छन् । आगन्तुकले त्यहाँ राखिएकामध्ये कुन कुन जातका मदिराको स्वाद लिन बाँकी रहेछ भन्ने चाल पाउँछन् ।’   

एउटा ‘ब्ल्याक लेबल’ मदिराको बोतलको दाम पचास डलर अर्थात पाँच हजार रुपैयाँ पर्दो हो । अहिलेका नाम चलेका पुस्तक किन्ने हो भने त्यही रकमले अंग्रेजीमा लेखिएका चारवटा वा नेपालीमा लेखिएका दशवटा किताब पाइन्छन् । साझाले निकालेको ‘मुनामदन’ वा ‘जय भुँडी’ जस्तो हाँस्यव्यँग्य निबन्ध सँग्रह हो भने पचास वटा नै पाइएला । तर मान्छे मदिरा दिल खोलेर किन्छ । किताब किन्दैन । 

अहिले विदेश आईजाई गर्ने नेपालीको लर्को लामो छ । सरकारी कर्मचारी होस वा कुनै पढे लेखेका सभ्रान्त नयाँ दिल्ली, बैँकक वा दुबई नपुगेको छैन । त्यहाँको ‘ड्युटि फ्रि’ क्षेत्रमा उ ‘रेड लेबल’ ‘ब्ल्याक लेबल’ वा ‘ब्ल्यु लेबल’ किन्छ । तर ‘ह्वाई नेशन फेल्स’, ‘दि क्यापिटल’ वा ‘थिङ्किङ्ग फास्ट एण्ड स्लो’ किन्दैन । 

प्रश्न ‘तिमीलाई कस्तो किसिमको भोक लाग्छ ?’ भन्ने हो । अनि त्यो भोक शान्त पार्न के औषधि गरिन्छ भन्ने पनि हो । ‘बाबा, यो के हो ?’ भनेर विदेशबाट आएको आफ्नो बाउलाई कुनै सानो बच्चाले सोध्यो भने ‘यो रक्सी हो । खायो भने मातिन्छ । माते पछि चुरोट तान्न मन लाग्छ’ भन्ने मदिरा सँग जोडिएको सत्य तथ्य भन्ने आँट सायद कुनै पनि बाउलाई हुँदैन । तर यसको विपरित ’ब्ल्याक लेबल’को ठाँउमा उसले ‘गीता’ को किताब किनेर ल्यायो र बच्चाले त्यसरी नै सोध्यो भने बाउलाई उत्तर दिन कति सजिलो हुँदो हो । त्यो सानो बच्चालाई कति दुरगामी मनोवैज्ञानिक असर पर्दो हो ।
एक वर्ष अघिको कुरा हो । जेठी सासु ‘कमला दिदी’ को घर हिलेमा पुगेको थिएँ । साडु दाइले संकलन गरेर दराजमा राखेका पुस्तकले मेरो ध्यानाकर्षण गर्यो । शास्त्रीय ग्रन्थहरु तेर्सो ढल्काएर खात लगाएर राखिएका थिए । ‘महाभारत’ को कथा केन्द्रित एक पुस्तक निकालेर सरसर्ति आँखा दौडाउन थालें । एउटा नीति वाक्यमा पुगेर टक्क अडिएँ ।  

‘सबैभन्दा उच्च श्रेणीको स्वादिष्ट भोजन सवैभन्दा विपन्नले खान्छ ।’

यो वाक्यले गहन अर्थ बोकेको छ भन्ने लाग्यो । एकातिर विशिष्टता बोकेको भोजन, अर्कातिर विपन्नताको भुईं चट्टानमा उभिएको गरीव जन । एकातिर हिमालय पर्वतको टाकुरा अर्कोतिर कालिगण्डकीको पाताल छुने गल्छी । एक दक्षिणपन्थी । अर्को उत्तरपन्थी । ’भोजन’ र ‘आर्थिक हैसियत’ का प्रकारहरु समेटेर समानान्तर वर्णक्रम बनाउने हो भने एउटाको पुच्छरतिर अर्काको टाउको हुन्छ ।  खाने मान्छेको आर्थिक हैसियतले उसको गाँसको स्वादिष्टता निर्धारण गर्ने । म यस विषयमा घोरिन थालेँ ।

स्वादिष्टतालाई भोकले परिभाषित गर्ने हो । किनभने त्यही परिकार । उति नै मिहिनेत गरिएको । एउटै ताउलोमा पकाईएको । उही भान्सेले पस्केको । कसैलाई मीठो लाग्न सक्छ । कसैलाई सामान्य । कसैलाई नमीठो । कारण के हो त ?

कारण स्पष्ट छ, भोजनको स्वाद भोकमा निहित छ । भोक छैन भने चौरासी व्यन्जन नै पस्केर दिए पनि केही अर्थ छैन । टाइफाइडले रन्थनिएको बिरामीले ताकत भर्नका लागि पनि खान सक्दैन । तर भोकले रन्थनिएको भरियाले गुन्द्रुकको सितन नै किन नहोस स्वादिष्ट मानेर खान्छ । यसैले नेपाली जनजिब्रोले भन्छ, भोक मिठो कि भोजन मिठो ? पक्कै पनि पहिलो नै मिठो हुन्छ । यसैले नीति शास्त्रले भनेको कुरो सर्वमान्य हिसाबले सत्य नै हो भन्न सकिन्छ ।

भोकसँग जोडिएको महाकविको कविता अँशले भन्छ 
छ भोक मीठो, रसिलो छ प्यास
छ अन्तमा व्यन्जनको सुवास ।  

महाकविको भनाईलाई चरितार्थ गर्ने केही प्रसँगहरु मेरै जीवनका कुइनेटाहरुका रुपमा स्थापित भएका छन् ।

जागिरे जीवनको पहिलो अनुभव । छयालिस सालको चुनाव । मतदान अधिकृतको पगरि भिरेर जाजरकोटको सीमा गाविसमा खटाईएको थिएँ । चुनाव सकेर मतपेटिकाहरु साथै लिएर सदरमुकाम पुग्नु पर्ने आदेश थियो । तर राती हिँड्ने कुरो भएन । हामी छेडा खोला किनारमा बास बस्यौँ । त्यहाँ ‘नुन खोर्सानीको सितनसँग ‘रोटो’ अर्थात मोटो रोटी खानु पर्ने बाध्यता हाम्रो सामु थियो । तर अहिलेसम्म पनि त्यसको स्वाद जिब्रोमा झुण्डिएको छ । जापान र थाईल्याण्डका भव्य रेष्टुरेन्टमा हजम पारिएका पिज्जाहरुको कुनै विशेष सम्झना छैन । तर छेडा खोलाको ‘रोटो’ अझै बिर्सेको छैन ।
म जापानमा बस्दा सुनेको थिएँ, त्यहाँ हरेक वर्ष प्रत्येक व्यक्तिले एक दर्जन पुस्तक पढ्छ । रोचक कुरा त के हो भने उसले सातवटा पुस्तक पुस्तकालयबाट लिएर पढ्छ भने पाँचवटा नयाँ आफूले किन्छ । पुस्तक पढ्नु भनेको जापानमा मात्र नभएर सँसारमा नै प्रत्येक व्यक्तिको एक आवश्यकता हो । यसैले पुस्तक लेखन, प्रकाशन र बिक्रिको बिशाल बजार छ ।    

बजारमा निस्केको कुनै नयाँ किताब पढ्न मान्छे किन लालायित हुन्छ त ?
यो प्रश्नको सिधा जवाफ हुन्छ ‘भोक वा धोको मेटाउन । तर यसमा थप केही कारणहरु पनि हुन सक्लान ।’ बजारमा नयाँ निस्कन लागेको पुस्तक वा मोवाइल वा आइपोड जस्तो उपकरण किन्दा पनि उस्तै मनोविज्ञानले काम गर्छ । यस्ता सामग्रीका ग्राहकहरु तीन किसिमका हुन्छन अरे । पहिलो समूहमा कुनै पुस्तक वा उपकरण बजारमा निस्कँदै छ भन्ने जानकारी राख्ने र निस्कनासाथ घण्टौ लाम लागेर भए पनि खरिद गर्ने । यस्ता ग्राहकहरु कुल सँख्याको दश पन्ध्र प्रतिशत मात्र हुन्छन् । दोस्रो समूहमा समीक्षा पढेर वा अरु कसैको सिफारिशमा खरिद गर्ने पर्छन ।

तेस्रो समूहमा पर्ने ग्राहकहरु भने बाध्यात्मक परिस्थिति आईलाग्यो वा लोकको लाजबाट बच्नुपर्यो भने मात्र सामाग्री खरिद गर्छन । सम्भवत पहिलो समूहमा पर्नेको भोक वा तलतल अत्यधिक हुन्छ । यस्ता व्यक्तिहरुको जीवनका अन्य पाटाहरु पनि सामान्य व्यक्तिका भन्दा फरक हुन्छन ।    

केही विशिष्ट पाठकलाई पढ्ने भोक लागे जस्तै केहीलाई लेख्ने भोक लाग्छ ।  कहिलेकाहीँ त्यो भोक कुनै भवितव्यले उदाएको घटना, प्रसँगले सिर्जना गर्छ । भूँईचालो गएर सुख्खाग्रस्त क्षेत्रमा पनि पानीको मूल उम्रे जस्तो । हाम्रो कालखण्डमा सर्वाधिक बिक्रिको कीर्तिमान तोड्न सफल भएको एउटा पुस्तक भक्तराज बुढाथोकीको ‘ड्राईभिङ शिक्षा’  हो । दुई वर्ष अघि उनीसँग एउटा तालिमको सिलसिलामा भेट भएको थियो ।

‘सवारी साधन चलाउन सिक्दा म ठूलो दुर्घटनामा परेँ । त्यसले मेरो चेत खोलिदियो । अरु सिकारुलाई मलाई जस्तो नपरोस भनेर किताव लेखेँ ।’ बुढाथोकीले भने ।

यतिसम्म भएछ कि उनको किताबको हुबहु नक्कल गरी उनकै नाममा अरुले पनि त्यही पुस्तक छापेछन् । दुर्घटनामा पर्नु अघि पुस्तक लेख्ने उनी भित्रकी सरस्वतीको नामो निसाना थिएन ।
निएल पसरिचा नामक एक सामान्य व्यक्ति एकाएक सँसार प्रसिद्ध भए । लाखाै‌ डलर कमाए । उनले ‘तिम्रो जीवनका १००१ अद्वित्तिय चिजहरु’ नामक पुस्तक लेखे । पुस्तक लेख्नुअघि त्यही विषयको वेवसाईट बनाए । यो सब गर्नको लागि उनको प्रेरणाको श्रोत वन्यो ’श्रीमतीको उनीसँग पारपाचुके गर्ने निर्णय ।’

अन्य खाले भोकहरुमा नेतृत्व लिएर समाजमा परिवर्तन ल्याउने,  अमूल्य सेवा दिएर कसैको भलो गर्ने वा दान दिएर पुण्य कमाउने पनि पर्छन ।

सात आठ महिना अघि मेरो पूर्व विमान परिचारिका उमा गुरुङ्सँग परिचय भयो । केही दिन अघि उनले एकाएक फोन गरिन ।

‘नक्खु कारागारमा बन्दी जीवन बिताई रहेका दाजुभाईले लेखेका साहित्यिक रचनाको मुल्याँकन गरी पुरस्कार दिने कार्यक्रममा हजुरको सहयोग चाहियो ।’

मैले सहर्ष स्वीकारेँ । कविता, निबन्ध र चित्रकलामा उत्कृष्ट ठहराईएका एक दर्जन बन्दीलाई पुरस्कृत गरियो ।

कहाँको विमानमा यात्रुहरुलाई सेवा गर्ने उमा ? विमान भित्रको कहाँको त्यो सुविधा सम्पन्न व्यवस्था ? कहाँको कारागार भित्रको हेर्दैमा कहालीलाग्दो वातावरण ?   उमाजीलाई सेवा गर्न लागेको ’भोक’ देखेर मलाई उदेक लाग्यो ।  

उनले कार्यक्रमको समीक्षा गर्दै भनिन्

‘भित्री घाउमा मल्हम लगाउने त साहित्य पो रहेछ ।’

मैले मन मनमा भने

‘बन्दीहरुको घाउमा कति मल्हम लाग्यो त्यो त समयले बताउला । तर यो अनुष्ठानले पूर्व परिचारिकाको सेवा गर्ने भोक भने भने अलिकति भए पनि मरेको हुनु पर्छ ।’ 

साभार : http://ujyaaloonline.com/news/58732/blog/