दिउँसो ३ बजेको उडानबाट पोखरा जानुपर्ने
हुँदा मैले धुलिखेलबाट ११ बजेको सटल बस समातेँ । काठमाडाैं विश्वविद्यालयमा
प्रवेश गरेदेखि सटल सेवाको अवधारणा मेरो मस्तिष्कमा थियो । केही
साथीभाइसँग यसबारे छलफल पनि गरेको थिएँ । केही हप्ताअघि यो राम्रो काम सुरु
भएको छ । तर, इमेलमा आएको टिकट भने छाप्न बिर्सेँछु । कोटेश्वर ओर्लेर पसल
चाहार्दै हिँडे । इमेलबाट डाउनलोड गरी छाप्ने सुविधा भएका पसल कम छन् ।
एउटा पसलमा पुगेँ । रातो लुगामा सजिएकी अधबैंँसे साहुनी फेला परिन् ।
‘प्रिन्ट गर्ने सुविधा छ त हजुरकहाँ ?’
‘छैन । अलिबार चलाएर बन्द गरियो ।’
‘किन बन्द गर्नु भो त नि ? वहाँ परदेखि आएँ हजुरकहाँ होला भनेर ।’
‘के गर्नु बूढाबूढी मात्रै छौं । छोराछोरी विदेशमा छन् । हामीलाई कम्प्युटर चलाउन कसले सिकाइदेओस् । मान्छे राखेर साध्य नहुने ।’
‘छोराछोरी विदेशमा’ यो समस्याले नेपालमा विकराल रूप लिँदैछ । सम्भवत: यो
हाम्रो पुस्ताले झेल्ने एक मात्र प्रमुख सामाजिक समस्या होला । म चिन्तित
भएँ ।
तर, मैले अर्को पसलबारे सोच्न नपाउँदै कार्यशाला गोष्ठीका आयोजक
स्वतन्त्र ऊर्जा उत्पादकहरूकाे संस्था (इप्पान) को कार्यालयबाट फोन आयो ।
कार्यशाला गोष्ठी म्याग्दीको बेनीबजारमा आयोजना गरिएको थियो । मलाई त्यसकै
लागि एक पण्डितको रूपमा निमन्त्रणा गरिएको थियो ।
‘सर ! नमस्ते म इप्पानबाट बोल्दै छु । सरले एउटा कागजातको बाकस बेनी लगिदिनु पर्ने भयो ।’
मैले स्कीकृती दिएँ । तर, यो अकस्मात आइलागेको अतिरिक्त क्रियाले मेरो मष्तिष्कमा एक बुद्धि प्रत्युत्पन्न गरायाे ।
‘तपाई को बोल्नु भएको रे?’
‘म मिस्सु बोल्दै छु ।’
‘मिस्सु मतलब यमआइएसएसयु हो ।”
नाम भनेको काम लाग्छ । मैले नाम बुझिन भने म केरकार गर्छु । यथार्थ
बुझ्ने कोसिस गर्छु । नामको अर्थ लगाउन लगाउँछु । यसरी एक निर्देशक
सिद्धान्त जुर्मुराउँछ- कुनै मान्छे एक न एक दिन काम लाग्छ । त्यसकारण
उसलाई चिनी राख ।
‘हो सर ।’
‘ल मिस्सुजी, मलाई पनि तपाईंले एक मद्दत गर्नुपर्ने भयो । मेरो टिकट प्रिन्ट गरेर सामान लिएर आउने व्यक्तिसँग पठाइदिनुस् न ल ।’
मिस्सुसँग मैले तात्तातै काम लिने विचारले यसो भने । मेरो काम हुने भयो ।
म सिधै घरतिर लागेँ । हरेक व्यक्तिलाई काम लाग्न सक्ने अर्को पनि
सिद्धान्त फेरि एक पटक प्रतिपादित भयो-भैपरि आएको परिस्थिति आफ्नो अनुकूल
पार्न सक्ने कला नेतृत्व कौशलताको एक अभिन्न अंग हो ।
यसैले कसैले अंग्रेजीमा भनेको छ- ‘तुफान र आँधी जहिल्यै सक्षम जहाजचालकका पक्षमा हुन्छन् ।’
आन्तरिक टर्मिनल प्रवेशद्वारमा इप्पानकाे नासो संकलन गरेर म भित्र पसेँ ।
तर, झोला झ्याम्टा जाँच गर्ने एक्स-रे मेशिनबाट टिकट जाँच गर्ने
काउन्टरसम्म बाकस लैजान महाभारत भयो । ट्रली भित्र लान नपाइने । बाकसको तौल
१५ केजीभन्दा माथी ! उझिन्डाे नभएको अवस्था । बाकससहित मेरा तीन झोला ।
जाँच कक्षका प्रहरीलाई सोधेँ । ‘उनले पालै पालो लैजानोस्’ भने । यहाँनिर
देश विकासको चिन्तन गर्नेका लागि अवसर देखेँ । विदेश सम्झेँ । त्यहाँ यी
मसिना कुराको ठूलो विचार गरिन्छ । काउन्टरसम्म ट्रली लैजाने व्यवस्था हुन्छ
।
काठमाडाैं-पोखरा उडान २५ मिनटमात्र भएकाले अचेल चकलेट र पानीबाहेक अरू
खानेकुरा बाँडिदैन । मलाई यसको जानकारी थियो । तर, यो उडानमा पानी पनि
बाँडिएन । धन्य ! मैले जहाज उड्नुअघि हवाई सुन्दरीसँग मागेर एक गिलास पिएको
थिएँ ।
ओर्लिने बेला मैले पुरानै पारा निकालेँ । अन्तिममा ओर्लिएँ । ओर्लिँदा आकाशका परीसँग बात मारेँ ।
‘बाहिर वर्षा भइरहेर हो कि के हो ? भित्र पानी नबाँडेको ?’
‘तर तपाईंले पानी बाँड्न असमर्थ भएको जानकारी त दिनु भएन नि ?’
बहस गर्ने सुन्दरीको बोली बन्द भो । मैले यो समस्याको सजिलो समाधान
निकालेँ- पानीको सानो बोतल उड्नुभन्दा अगावै हरेक सिटमा राखिदिने ।
विद्युत विकास विभागका उप-महानिर्देशक पुरुषोत्तम आचार्य पनि त्यही
उडानमा हुनुहुन्थ्यो । वहाँ पनि गोष्ठीको अर्को पण्डित भएर जाँदै
हुनुहुन्थ्याे । हामी दुईकाे ‘यात्रा एकत्व’ को जन्म भयो । तर, पोखराबाट
बेनी जान हामीलाई व्यवस्था गरिएको सवारी झन्डै हात्ती जत्रो-पर्यटक बोक्ने
हायास ! भैपरि आएकोलाई स्वीकार्दै हामी पोखराबाट ४ बजे बेनी प्रस्थान
गर्याैं ।
संयोग नै थियो त्यो । वातावरण विधामा स्नातक गर्ने काठमाडाैं
विश्विवद्यालयका ५० विद्यार्थीको टोली मुस्ताङ गन्तव्य बनाएर शैक्षिक
भ्रमणमा निस्केको थियो । उनीहरूको पनि त्यो दिन बेनीमा बास थियो । बेनीबजार
र वरपरको सानो भू-गोल संसारमै प्रख्यात अवयव थिए । त्यो विद्यार्थीका लागि
ज्ञानबर्धक हुने हुँदा मैले प्रत्येक विद्यार्थीलाई एक-एक वटा टोपो नक्शा
लैजान सिफारिस गरेको थिएँ । मैले म्याग्दी बहुमुखी क्याम्पसका अध्यापक
तारानाथ शर्मालाई सम्पर्क गरी बेलुका विद्यार्थीलाई बेनीबजार र
म्याग्दीबारे जानकारी गराइदिन अनुरोध गरेँ ।
बेलुकी ८ बजे एक अभूतपूर्व कक्षा आयोजना भयो । तारा सर र म्याग्दी
जिल्लाका खानेपानी इन्जिनियर मित्रले विद्यार्थीलाई विविध विषयमा जानकारी
दिनुभयो । भोलिपल्ट विहानै मुस्ताङका लागि प्रस्थान गर्ने विद्यार्थीको
योजना थियाे । यसैले बिहान ६ बजेदेखि ७ सम्मकाे कक्षा तय गरेँ । तर,
विद्यार्थीले बिहानै कक्षामा उपस्थित हुन जाँगर देखाएनन् ।
मैले विद्यार्थीलाई भने-
‘यो आनन्द लिने भ्रमण होइन । आनन्दले घुम्ने भनेको परिवारसँग हो । यो
भ्रमणमा सिक्ने कुरा अथाह छन् । नयाँ कुरा सिक्दा अलिकति दु:ख भए पनि
सहनुपर्छ । हामीसँग भएको समय त्यही हो । अर्को विकल्प छैन ।’
अब बहुमतले सहमति जनाए । यो सूचनाको जानकारीसँगै हामीले त्यो दिनलाई बिट मार्यौं ।
म पौने छ बजे शिखर होटलमा पुगेँ । छ बजे केही विद्यार्थी आए । केहीबेरमा अरू पनि उदाए । कतिपयको अनुहारको भावले भन्थ्यो-
‘यो मेरो जीवनकै सबैभन्दा सबेरै लिइएको कक्षा हो ।’
कक्षामा मैले टोपो नक्शाबारे जानकारी दिएँ । विद्यार्थीको टोलीका साथ
गएका अध्यापकद्वय डा. कुमदराज काफ्ले र राजेन्द्र भण्डारीले कक्षा लिनमा
सहयोग गर्नुभयो । संयोगवश इप्पानले आयोजना गरेको गोष्ठी हुने होटलमा नै
भ्रमण टोलीका आधा विद्यार्थी बास बसेकाले मेरो विशेष अनुरोधमा सभा-कक्ष
उपलब्ध गराइएकाे थियो । मैले सोचेकै ढंगले विद्यार्थीलाई केही ज्ञान दिन
सकेँ । म दंग परेँ ।
मलाई लाग्यो- काठमाडाैं विश्वविद्यालयले आयोजना गरेका शैक्षिक भ्रमणको इतिहासमा यो कक्षा पानी ढलोको रूपमा स्थापित भयो ।
इप्पानकाे ‘जलविदुतको विकास र वातावरणका पक्ष’ विषयको पुराणअतिरिक्त
मेरा अन्य पूण्यकार्य पनि तय थिए । साढे सात बजे कलेजका विद्यार्थीलाई
निद्राबाट जगाएर एक प्रवचन दिनु थियो । यो कलेजको कक्षाका सुत्रधार थिए-
मेरा अभिन्न मित्र एवं म्याग्दीका धर्तीपुत्र डा. युमेद पुन ।
म सवा सात बजे कलेजको सभा-कक्षमा पुगेँ ।
कालिगण्डकी एकाेहाेराे सुसाइरहेथ्याे । याे सुसाइले कलेजको वातावरणमा
मादकता थपेकाे थियाे । तर, सभाकक्षा भने सबै असरल्ल ! कुर्सी सार्दा धुलो
वुङ्बुङ्ती उड्ने । झ्यालमा पर्दा थिएन । झ्याल पसाँगिएका थिए । सबै बन्द
गर्दा पनि उज्यालो छिर्थ्याे । कुर्सी एक आपसमा जोडाएर राखिएका । कोच्चिएर
बस्नु पर्ने । सहभागीले सुन्नमात्र सक्ने, लेख्न नसक्ने अवस्था थियाे ।
एउटा थाेत्राे प्रोजेक्टर थियाे । ल्यापटपको स्क्रिनमा एउटा रङ भित्तामा
अर्को देखिन्थ्याे ।
एकैछिनमा सभा-कक्ष खचाखच भरियो । रातो सर्टमा सजिएका छात्राको बाहुल्यता
। केही शिक्षक पनि आए । म सकेसम्म कक्षालाई सहभागितामूलक बनाउने कोसिस
गर्छु । विद्यार्थीलाई प्रश्नको भुमरीमा फनफन घुमाउँछु । तर, यो कक्षामा
भने एउटा अचम्म भयो । कतिपय सोधेका प्रश्नको उत्तर उत्साहित भएर शिक्षकले
नै दिए । उनीहरूले प्रवचनका लक्षित समूह विद्यार्थी हुन भन्ने बिर्सिए । यी
दृष्टान्तले त्यहाँको सिकाइ र पढाइको स्तर मापन गर्याे । तर, एउटा भने सबै
नकारात्मक पक्षलाई माथ गर्ने सवल पक्ष पाइयो ।
‘सहभागीका आँखा धपधपी बले । मैले ती आँखामा नजिकै बगेकी कालीले मेट्न नसक्ने तिर्सना देख्रेँ ।’
सहभागीहरू मन्त्रमुग्ध भएको क्षण मेरो ह्रदयमा ढुंगाका अक्षर भएर
कुँदियो । विपी कोइरालाको उपन्यास तीन घुम्तिमा आधारित चलचित्रमा परम्परा
तोडेर नेवारकी चेली बाहुन केटासँग विवाह गर्न तम्सिन्छिन् । केटीका बाबुले
भन्छन- “मलमलको विछ्यौना छोडेर मान्द्राको मोह ।”
विद्रोह गर्न तम्सिएकी छोरीको उत्तर आउँछ- ‘विछ्यौनाको आशक्ति होइन निद्राको चाहना हो ।’
वास्तवमा भौतिक वस्तु सबथोक होइन । त्यसमा लुकेको अभौतिक अनुभूति बहुमुल्य कुरा हो ।
दिउँसो मूल कार्यक्रममा मैले प्रस्तुति गरेँ । प्रस्तुतीको सनातनी
परम्परालाई तोड्दै केही नयाँ आयाम थपेँ । सहभागीले रुचाए । पण्डितको
भूमिकामा रहनुभएका ऊर्जा खबर डट कमका प्रधानसम्पादक लक्ष्मण वियोगीले मेरो
शैलीको निकै प्रशंसा गर्नुभयो ।
म यात्रा गर्दा मेरो झोला आँफै मिलाउँछु । तर, यसपटक एउटा भित्री लुगा
ल्याउन बिर्सेछु । यसैले म यो दोष निवारणतर्फ लागेँ । एउटा रेडिमेड लुगा
पाइने पसलमा पुगेँ । मेरो रोजाइको पाइएन । अर्कोमा पुगेँ । पसलमा गफिएका
महिलाको बाक्लो उपस्थिति थियो । मेरो रोजाइको सामान त भेटियो तर साइज
मिलेन ।
‘यो त सानो हुन्छ । यक्स यल वा यल आकारको छैन ?’
‘हामीसँग भएको यही हो ।’ युवती साहुनीले यथार्थ बताइन् ।
‘भै हाल्छ नि ! अलिकता त तन्किन्छ पनि ?’ एक पाकी महिला बोलिन् ।
‘कसरी भै हाल्छ ? आ-आफ्नो साइज हुन्छ नि ! हजुरले लाउने चुरा उ वहाँलाई
मिल्छ त ?’ मैले नजिकै बसेकी अलि मोटी दारकी पाकी महिलालाई देखाउँदै भनेँ ।
मेरो स्पष्टिकरणले बेजोडको हाँसो सिर्जना गर्यो । हाँसो नथामिदै म पसलवाट
बाहिरिएँ ।
भोलिपल्ट बिहान पनि म चार बजे नै उठेँ । तयार भएर पौने पाँचमा भुँइतलामा
ओर्लिएँ । सुनसान् थियो । कोही उठेको थिएन । भुँइतलामा सुत्ने कोठा थिएन ।
भान्सा, रेष्टुरेन्ट र पार्किङमात्र थियो । बाहिर जाने निकास दुवै बन्द ।
संकट आइलाग्यो । म कालो बादलमा चाँदीको घेरा खोज्न थालेँ । पहिलो तल्ला
उक्लिएँ । सबै अतिथिका कोठा थिए । दोस्रो तला त्यस्तै । म माथि उक्लिँदै
गएँ । पाँचौं तलामा एउटा ढोकाअघि लगभग एक दर्जन जुत्ता चप्पल देखिए । मैले
त्यो ढोकामा टक टक आवाज दिएँ ।
‘को हुनुहुन्छ ? तपाईहरू होटेल स्टाफ हो ?’
हो रहेछ । परिस्थितिजन्य संकट सजिलै मोचन भयो । त्यो दिन होटलबाट बाहिर निस्कने पहिलो व्यक्ति म नै भएँ ।
म म्याग्दी र पर्वत जोड्ने पुलमा पुगेँ । नदी वारि म्याग्दी, पारि पर्वत
। एक किलोमिटर पर अर्को जिल्ला-बागलुङ । राज्य पुनर्संरचनाले समेट्न
नसकेको विषय यही हो । नदी वा बाटो सिमाना हुँदा सहर दुई प्रशासनिक एकाइमा
बाँडिन्छ । बेनीबजार, नवलपरासीकाे गैंडाकोट, नगरकोट र पूर्वकाे रविबजार
केही उदाहरण हुन् । नदी पारिकाे बेनीकै सानो टुक्रा बजार म्याग्दी
नगरपालिकामा पार्न सक्दा त्यहाँका बासिन्दालाई कति सजिलो हुन्थ्यो ?
पुलपारिका बासिन्दाले मालपोत तिर्न कुश्मा पुग्नुपर्छ । याे मुलुकको
बिडम्बना हाे !
ध्यान गर्न स्थान खोज्न थालेँ । नदीको पानी छोएको समथर ढुँगा र
त्यहाँसम्म जान सकिने सजिलो बाटोको खोजी गरेँ । सिँढीबाट जान मिल्ने गरी
नुहाउने सानो घाट नै निर्माण गरिएको पाइयो । भित्तामा केही लेखिएको थियो ।
नुहाउने घाटको निर्माण कुनै महिला समुहले गरेको रहेछ । यहाँनिर राज्यका
निकाय फेरि निरिह देखिए । यस्तो पर्यटकीय महत्त्वकाे संरचना पनि महिला
समूहले निर्माण गर्नुपर्ने ? याे पनि देशकाे दुर्भाग्य हो !
ध्यानपछि म मीठो चिया कहाँ पाइएला भनेर पसल चाहार्न थालेँ । नयाँ ठाउँमा
यस्ता कुराको निर्णय लिन कठिन छ । तर, मेरा केही सूचक अस्त्र छन् ।
बेलुकीको चियाका सामान कम पाइने पसलमा बिहानको चिया मीठो पाइन्छ । म
बसपार्कवाट उकालो लागेँ । दायाँवायाँ हेर्दै विस्तारै अघि बढेँ । एक फलफूल
पसल मिलाउँदै गरेकी साहुनीको सहयोग मागेँ । मैले खोजेजस्तो एक पसल उनले
देखाइदिइन् ।
सिफारिसको चिया पसलमा पुगेँ । दुई जना युवा ग्राहक रहेछन् । मैले चियाको
माग राखेँ । तर, मैले खोजे जस्तो चिया आएन । म मिठै मानेर जसैतसै चियाको
सुर्कोको मजा लिन थालेँ । एक अधबैँसे महिला डोकोमा सिमी लिएर आइन् । चिया
पसल्नीले आगन्तुकको पहलमा कुनै चासो दिइनन् । मैले मौका छोपेँ । मलाई सिमी
किन्ने निहुँ बनाएर उनीसँग कुराकानी गर्ने इच्छा पलायो ।
‘के भाउ हो त नि सिमीको ?’
‘एक किलो जतिमात्र बाँकी छ । पचासमा दिन्छु ।’
‘हुन्छ । पोको पारिदिनु । म बेनीबजारमा हिजोमात्र आएको । मनमा एउटा खुल्दुली छ । हजुरलाई सोधौं ?’
‘हुन्छ । तर, म के पो जानौंला र ?’
‘बेनीबजार बारेमा हो । हजुरलाई पक्कै थाहा छ । बेनीको बजार जता माया उतै
छ नजर भन्ने गीत नेपालमा नै लोकप्रिय छ । यो बेनीबजारमा अरु ठाउँभन्दा
मायापिरती धेरै नै लाइन्छ, हो ?’
‘त्यो जमाना गयो । बेनीको बजार भन्ने जस्ता गीतलाई यी ‘यसले’ खेदायो ।
आजभोलि त मान्छे जम्मा हुनै छोडे । जो पनि त्यसैमा झुन्डेकाे देख्छु । अब
भेला भएर रमाईलो गर्नु, गीत गाउनु त पर भो । यस्तै हुँदै गए मान्छेले
बोल्नै पो बिर्सने हुन कि ?’
उनले ‘यसले’ भन्दा मैले हातमा बोकेको मोबाइल फोन देखाइन् । म चकित परेँ ।
वास्तवमै उनको अभिव्यक्तिमा गहिरो वेदना लुकेको थियो । त्यो वेदना उनको
मात्र थिएन । सिंगाे बेनीबासीको थियो । म्याग्दीको थियो । समग्र नेपालको
थियो । उनको प्रत्युत्तरले मेरो ‘बेनी किन मायाको खानी ?’ भन्ने प्रश्नको
जवाफ खोज्ने जाँगर मरिसकेको थियो । पचास रुपैयामा मैले एक किलो सिमीमात्र
पाइनँ । लाखौँ रुपैयाबराबरको सामाग्री पाएकाे थिएँ । म उनको जवाफको
गहिराइमा डुबेँ । आजसम्म मैले पचासका यस्ता हजारौं नोट दिएर सामान किनेँ
हुँला ! तर, यो भने अविस्मरणीय किनमेल भयो । मलाई चियाको नमीठोभित्र मीठो
मसला प्राप्त भइसकेको थियो । भौतिक वस्तुले अभौतिक लाभको यो एक बेजोड नमुना
थियो ।
म होटल फर्किएँ । तयार भएर माउन्टेन एभरेष्ट स्कुलतिर लागेँ । स्कुल
हिजाे गएको भन्दा अग्लो ठाउँमा रहेछ । म सोध्दै उकालो हिँड्न थालेँ । एक
अर्कामा जोडिएका घर । कि त सडक छ कि त जोडिएका घर छन । बेनी वास्तवमा
साँघुरो रहेछ । मैले कल्पना गरेँ । यहाँ चाहिन्छ- इन्जिनियरिङ । यहाँ
चाहिन्छ- आर्किटेक्चर ।
सडकको दाहिनेतिर पेटीमा मुढामा बसेर गीत गुनगुनाउँदै गरेकी एक युवतीले
मेरो ध्यानाकर्षण गरिन् । उनको घरभित्र ठूलो स्वरमा गीत बजिरहेको थियो ।
उनका र मेरा आँखा जुधे । त्यो जुधाइको कुनै गन्तव्य थिएन । कुनै लक्ष्य
थिएन । म त्यसलाई सामान्य सडकमा हिँड्ने मान्छेको स्वभाविक क्रिया बनाएर
अघि बढेँ ।
म आठ बजे पुन: एभरेष्ट स्कुल पुगेँ । मेरो प्रवचन नहुने भयो । म खिन्न
मनले ओरालो झरेँ । तिनै गीत सुन्दै गरेकी चेली फेला परिन् । तर, अहिले भने न
त गीत बजेको थियो न त उनको गुन् गुन् थियो ।
‘खै त गीत गाएको ?’
‘बिहान एक छिनमात्र सुन्ने हो ।’
‘के गीत हो त नि त्यो हजुरले बिहान गाएको ?’
‘क्रिश्चियन भजन हो ।’
‘बेनीको बजार जता माया उतै छ नजर’लाई डाँडा कटाउने कहीँ यो दोस्रो कारण त
होइन ? मलाई शंका लाग्यो । वास्तवमा यो पराई संस्कृति आयात गरी रैथाने
संस्कृति लोप गराउने खेल हामी नेपालीलाई एक दिन धेरै महँगो पर्ने छ । विकास
र संस्कृति कसरी समायोजन गर्ने ? प्रश्न जटिल छ । म एकाएक जापानको
‘मात्सुरी’ सम्झिन पुग्छु । जापानमा क्रिसमस मनाइन्छ । अधिकांश जोडीले
पश्चिमा शैलीमा विवाह गर्छन् । उनीहरूले यी क्रिश्चियन रितिरिवाज या त
व्यापार व्यावसाय या रमाइलोका लागि प्रयोग गर्छन् । तर, त्यहाँ आफ्नो
परम्परागत आध्यात्मिक आस्था अटल छ । अभेद्य छ । परम्परागतरूपमा लाग्ने मेला
अर्थात मात्सुरीको मर्म मरेको छैन । संस्कृति जोगाउन सिंगाे राज्य, नागरिक
समाज र व्यावसायिक प्रतिष्ठानहरू लागेका छन् ।
हामी हिल भिउ होटेलमा बास बसेका थियौं । बिहानको स्वाल्पहार र रात्री
खानाको प्रबन्ध यती होटलमा गरिएको थियो । तर, यी दुवैका सञ्चालक एकै
व्यक्ति रहेछन् । म सकेसम्म यस्तो मौकामा व्यवसायमा लागेका उद्यमीलाई
भेट्ने कोसिस गर्छु । पहिलो भाटभटेनी सुपरमार्केटको नजिकै आँफै कुक आँफै
मालिक भएका एक रेष्टुरेन्ट व्यवसायी थिए । म उनीकहाँ गएपछि ‘सरलाई मेरै
हातको कफी पिलाउँछु’ भन्थे र भान्सामा पस्थे । उनलाई मैले कर्ण शाक्यको
पुस्तक ‘सोच’ उपहार दिएको थिएँ ।
म स्वाल्पाहारका लागि होटलमा पुग्दा मेरा साथीहरूको अत्तोपत्तो थिएन ।
बरु होटलकी साहुनी पो भेट भइन् । मैले एकछिन उनीसँग भलाकुसारी गर्ने अवसर
पाएँ । भोलिपल्ट लक्ष्मणजी र मेरो सँगै पोखरा फर्किने कार्यक्रम तय भयो ।
हामी दुई भाइ अरूबाट छुट्टिएर दिवा भोजन गर्न यती होटल पुग्यौं । उनै
सञ्चालक साहुनी हातमा लिची बोकेर हामीले खाना खाइरहेको टेबलमा आइन् ।
‘ल ! यो पाहुनाहरूलाई मेरोतर्फबाट विशेष उपहार !’
उनीसँग फेरि भलाकुसारी भयो । उनका छोराछोरी सबै विदेशमा रहेछन् । उनी
होटेल व्यवसायी मात्र नभइ समाजसेवी पनि रहिछन् । नेपाली भूगोलमा रमाउनुको
मजा यही छ । मान्छे चिन्न बेर लाग्दैन । चिनेपछि आत्मा बोल्छ । मन बोल्छ ।
बाहाना हुँदैन । कुण्ठा हुँदैन । अभिनय हुँदैन ।
‘कान्छो छोरो अमेरिकामा बिजिनेसमा नै छ । यहीँ आइज । यत्रो कारोबार छ ।
सम्हाल । हामी डाँडामाथिको घाम भयौं । भन्न त यसो भन्यो । तर के गर्नु आउने
छाँटकाँट छैन । कहिलेकहीँ त सम्झेर औडाहा हुन्छ ।’
यती होटलकी सञ्चालिका, टिकट प्रिन्ट गर्ने क्रममा कोटेश्वरमा भेटिएकी
साहुनीमात्र हाेइन यो विषयले घोच्दा सबै नेपालीलाई औडाहा हुन्छ । ‘बेनीकाे
बजारमा’ भाका हालेर नाचेका र रोदीघरमा माया साटेका सबैको मन पोल्छ ।
तर, म आशा मार्दिनँ । म्याग्दी बहुमुखी क्याम्पसका विद्यार्थीका आँखामा
बलेको ज्ञानको तिर्सनाको आगो सम्झिन्छु । काम गर्ने ऊर्जा बढेको अनुभूति
हुन्छ ।
लाग्छ- ‘बेनीकाे बजार’ मात्र हाेइन सिंगाे देशकाे संस्कृति जगेर्ना गर्ने अभिभारा तिनै विद्यार्थीले बाेकेका छन्।
प्रकाशक : उर्जाखबर डट कम
लिङ्क : http://www.urjakhabar.com/archives/3632
नयाँ वर्षको पहिलो दिनको अघिल्लो रातलाई प्रायः
‘न्यु इयर्स इभ’ भनेर मनाउने चलन छ । अर्कोतिर त्यसलाई ‘गएको
वर्षको रात’ अर्थात् ‘ओल्ड इयर्स नाइट’
भनेर
पनि कतिपय मुलुकहरूमा मनउने चलन रहेछ । यसरी एउटै पर्व वा उत्सवलाई कस्तो रङले
पोत्ने भन्ने कुरा सँस्कार लगायतका विविध विषयसँग जोडिएको छ । प्रश्न विगत सम्झेर
रमाउने कि आगतलाई कल्पेर खुशी हुने भन्ने हो । अवकाश लगायतका कतिपय सवालमा यो ‘आगत’
र ‘विगत’
को
शृङ्खलासँग जोडिएका गहन विषयहरू छन् ।
मेरा अभिन्न मित्र कुन्दनदास श्रेष्ठले केही
दिनअघि एक रोचक प्रसङ्ग सुनाउनुभयो ।
एकान्तको एक कार्यालयमा सधैँ ढोका ढप्क्याइएको
हुन्थ्यो । कार्यालय खुल्ने समय भएपछि एउटा किशोर हातमा पत्रिका च्यापेर ढोकामा
देखा प¥यो । उसले ढोकामा टक् टक् आवाज दियो ।
‘को हो ?’ भित्र कोही थियो
। झर्केको बोली सुनियो ।
‘मन्त्रीज्यूले हजुरलाई मिटिङमा बोलाउनु भएको छ
।’ किशोरले खबर भन्यो ।
‘त्यो मूला मन्त्री ! मलाई बोलाउने ! आउँदैन रे
भन्दे । हा.. हा. हा. ।’ भित्रबाट अट्टाहसपूर्ण आवाजमा जवाफ आयो
।
किशोरले यो काम निरन्तर गथ्र्याे । यी तिन
क्रियाहरू सधैँका नियति थिए– दश बजे ढोकाको ढक् ढक्, मिटिङको
खबर र भित्रबाट आक्रोशित जवाफ । एक दिन कसैले यो उदेकलाग्दो हर्कतका बारेमा चाल
पायो र किशोरलाई प्रश्न ग¥यो ।
‘के को तमासा हो यो ?’
‘मलाई केही थाहा छैन तर मैले ढोका ढक्ढक्याएर
खबर भने वापत महिनाको ४ हजार तलब पाउँछु ।’ किशोरलेगम्भीर हुँदै जवाफ दियो ।
त्यो कृत्रिम कार्यालय एक अवकाशप्राप्त सचिवको
थियो रे ! उनलाई अति नै पीडा दिएका एक मन्त्रीसँग बदला लिनका लागि उनले त्यो
प्रपञ्च रचेका थिए रे !
कुनै पदीय दायित्वको समायावधि सकिएपछि अवकाश
पाइन्छ तर अवकाश कसरी लिने ? आफू कार्यरत संस्था वा निकायबाट
बहिर्गमन हुँदा कस्तो रणनीति अपनाउने ? राष्ट्रसेवक, व्यावसायिक
प्रतिष्ठानको कर्मचारी वा राजनीतिक नियुक्ति पाएर सार्वजनिक निकायमा पदवहाली गरेको
प्रमुख कार्यकारी जो कोही भए तापनि सेवा प्रवेश गर्दा जुन किसिमको महत्वकाङ्क्षा,
उत्साह
या कार्ययोजना हुन्छ,सेवानिवृत्त
हुँदा त्यो किसिमको रौनक प्रायःजसो हुँदैन । सरकारका उपल्ला निकायका
पदाधिकारीहरूको हकमा त पहिलो एकसय दिनको मूल्याङ्कनसमेत गरिन्छ । यो अवधिलाई ‘हनिमून
पिरियड’ को सङ्ज्ञा समेत दिइन्छ तर सबै हनिमून अवधि एकैनासका हुँदैनन् ।
यस्तै सबै बहिर्गमनका पदचिहृनहरू पनि उस्तै हुँदैनन् । विभिन्न किसिमका सेवाप्रवेश
र सेवानिवृत्त हुने तौरतरिका प्रतिविम्बित गर्ने विषयमा कुन्दनजी र मेरो थप
वार्तालाप भयो ।
मैले कुन्दनजीको मनासाय बुझ्न प्रश्न गरेँ–
‘कुनै ठूलै समारोह वा कार्यक्रममा सयौँ
व्यक्तिहरूको सहभागिता हुन्छ । ती सहभागीहरू सबै विभिन्न समयमा कार्यक्रमको थलोमा
आउँछन् र विभिन्न समयमा प्रस्थान गर्छन् । कार्यक्रममा सामान्यतयाः सबैभन्दा ढिलो
प्रवेश गर्ने सहभागी को होला ?’
‘त्यो व्यक्ति हो– प्रमुख अतिथि ।’
‘अनि, सबैभन्दा चाँडो प्रस्थान गर्ने नि ?’
‘त्यो पनि प्रमुख अतिथि नै हो ।’
कुन्दनजीका जवाफ सही थिए ।
रोचक कुरा के छ भने प्रमुख अतिथि समारोहमा
प्रवेश हुँदा र उनको प्रस्थान हुँदा सबै सहभागीहरू गडगडाहट ताली बजाउन लालायित
हुन्छन् । कतिपय कार्यक्रममा उनीहरूले उठेर प्रमुख अतिथिको स्वागत तथा बिदाइ
गर्छन् ।
‘अर्कोतिर तोकिएको अवधिको अन्तिम समयसम्म
कार्यक्रम स्थलमा को बस्छ होला ?’
‘आयोजक ।’
कुन्दनजीको लागि त्यो प्रश्नमा कुनै खास चुनौती
थिएन । वहाँको सहज प्रस्फुटित जवाफ थियो त्यो ।
आयोजक वा सेवाप्रदायकको अलावा पनि त्यहाँ दुई
तीन अन्य समूहहरू हुन्छन् जसलाई ‘कार्यक्रम सकियो’ भन्ने
जानकारी समेत दिनुपर्छ । ती हुन्– माइक, कार्पेट वा
कुर्सी आदि उपलब्ध गराउने सेवाप्रदायकका कर्मचारीहरू, मदिराले लठ्ठ
परेर होश गुमाएकाहरू र अझै केही पाइन्छ कि भनेर आस गर्नेहरू । वृत्तिविकास वा
अवकाशका जानिफकारहरू भन्छन्– कुनै पनि कर्मचारीको आगमन वा
बहिर्गमनको शैली समारोहमा आएका प्रमुख अतिथिको जस्तो हुनुपर्छ । आगमन र बहिर्गमन
दुवै समयमा सम्मानित हुने । यहाँ त अवकाश हुने अधिकांशको समारोहको अन्त्यसम्म
बस्ने ‘आसे’ हरू वा मदिराले लठ्ठ परेर होश गुमाएका
हुस्सुहरूको जस्तो हुन्छ । कतिपय त जन्ममिति वा जागिरबहाली मिति सच्याएरअवकाश हुने मिति पर सार्न समेत उद्यत हुन्छन् ।
कोही कोही कुर्सीमा टाँसिन आफ्नै पिँधमा खोटो दल्ने काम गर्न शक्तिकेन्द्रको
द्वारमा लम्पसार पर्छन् । कतिपयचाहिँ अवकाश हुँदा आफूसँग राखेका सवारीसाधन वा अन्य
सरसामानहरू गायब पार्ने ध्याउन्नमा लाग्छन् । मन्त्रीनिवास जस्ता सरकारी सुविधा त
पर्दा च्यात्ने, बैठक कोठामा दिसापिसाब गर्ने र हुनेसम्मको
उपद्रो गरेरमात्र आवासगृह छोड्ने कार्य भएका छन् ।
तीस वर्षअघिको अतीतको सम्झना हुन्छ । लोकसेवा
आयोगको परीक्षा उत्तीर्ण गरी म जाजरकोटको खानेपानी कार्यालय मार्फत श्री ५ को
सरकारको सेवामा म हाँजिर भएको थिएँ । जाजरकोट बसाइमा मैले तीन जना हाकिम
व्योहोर्ने मौका पाएँ– दामोदर भट्टराई, रामलखन मण्डल र
हरिश्चन्द्र शाह । अहिले वहाँहरू तीनै जनाको अवकाश भइसकेको छ । दामोदर भट्टराईका
घतलाग्दा फेसबुक पोस्टहरू पढ्न पाउँछु । रमाइलो लाग्छ । अरू दुई भूतपूर्व हाकिम सा’बहरूसँग
भने सम्पर्क छैन । मण्डलसरको भने अवकाशसँग जोडिएको एक प्रसङ्ग छ ।खानेपानी विभागवाट सेवानिवृत्त हुनुअघि विभागकै
अर्का इन्जिनियर दीपक पुरीसँग वहाँले यस्तो वातमार्नु भएछ–
‘पुरीजी, ल भन्नुहोस् त
अवकाशपछि के गर्ने होला ?’
‘बजारमा परामर्शदाताको कामको लाइन लागेको छ नि त
सर !’
‘मलाई त्यस्तो केही त आउँदैन । अहिलेसम्म रिपोट
सिपोटको काम गरिएकै छैन । कसरी होला र !’
मण्डलसरको अभिव्यक्तिमा ठूलो सन्देश लुकेको
मैले पाएँ । कतिपयले ‘आ.. सकिहालिन्छ नि ! त्यो कन्सल्टेन्सी भनेको
रकेट साइन्स होइन क्यारे भन्ने ठानेर जीवनभरिकै ठूलो दुःख व्यहोरेका छन् ।
मैले काठमाडांै तराई द्रुतमार्ग लगायत केही
परियोजनामा अन्तर्राष्ट्रिय परामर्शदाता डेभिड ग्रीनसँग सहकार्य गर्ने मौका पाएको
थिएँ । एशियाली विकास बैङ्क (एडिबी) लगायतका दातृ संस्थाहरूका लागि परामर्श
सेवासम्बन्धी कार्य गर्दा ‘के गर्न हुन्छ’ वा ‘के
गर्न हुँदैन’ भन्ने विषयमा मैले डेभिडबाट धेरै सिकेको छु । म
संलग्न नभएको एडिबीकै एक परियोजनामा नेपाल सरकारको सेवावाट अवकाशप्राप्त एक
वातावरण विज्ञ डेभिडसँग काम गर्थे । तिनको कार्य सम्पादनबाट डेभिड खुशी थिएनन् ।
‘टाइफाइड भएको बहानामा उनले हप्तौँसम्म कुनै
सम्पर्क गरेनन् । इमेल पनि आफू लेख्न सक्दैनन् । छोरालाई लेख्न लगाउँछन् । उनको
भाषाको स्तर पनि निम्न कोटीको छ । त्यस्तो पाराले काम हुन्छ त ?’
यस्तै विश्व बैंकको सहयोगमा सञ्चालित वृद्ध
भत्ता बैङ्कमार्फत भुक्तानि दिने एक अध्ययन गर्ने कार्यका लागि परामर्शदाताहरूको
टोलीमा राष्ट्र बैङ्कबाट अवकाश प्राप्त दुई अधिकृतहरू पनि रहेछन् । उनीहरूलाई
दिइएको काम पार लगाउन महाभारत भएछ । तथ्याङ्क विश्लेषण गरेर ग्राफ र चार्ट
बनाउनेजस्ता सामान्य प्राविधक कामहरूका लागि पनि उनीहरूले खेताला लगाउनु परेछ । जीवनभर
आदेश दिएर वा निर्णयात्मक सहीछापमात्र गरेकाहरूका लागि जीवनको उत्तराद्र्धमा आएर
इमेल र इन्टरनेटको भरमा सम्पूर्ण काम गर्नु भनेको फलामको च्युरा चपाउनुजस्तै हो ।
कतिपयले रहरले वा कतिपयले ‘लक्ष्मी भित्रायाउने’ मनसायले
नदुखेको कपाल डोरी लगाएर दुखाएका छन् ।
केही छट्टुहरूले फाइदा पनि लुटेका छन् । कुनै
प्राविधिक मन्त्रालयमा काम गर्ने एक विशिष्ट श्रेणीका कर्मचारी अवकाश हुनु दुई
वर्षपूर्वदेखि कार्यालयको आधिकारिक इमेलभन्दा आफ्नो व्यक्तिगत जिमेल प्रयोग गर्थे
। मैले एक दिन उनीसँग यसको औचित्यको बारेमा जिज्ञासा राखेँ ।
‘सरकारी इमेल प्रयोग गरेर अवकाश भएको भोलिपल्ट
के हामीले घोघो खाने ? डलरखेती गर्नु परेन ?’ यस्तो जवाफ आयो
।
म जाजरकोट खानेपानी कार्यालयमा हुँदा क्षेत्रीय
निर्देशक थिए, राजधानीका रैथाने । उनले मलाई एकपटक पुरानो
मितिमा खानेपानीको पाइप खरिद गर्ने कार्यमा संलग्न गराउन खोजेका थिए । त्यस्ता
कामको के दुरगामी प्रभाव पर्दथ्यो मलाई जानकारी थिएन । उनले मलाई गुन पनि लगाएका
थिए । नेपालगन्जमा खानेपानीको एक परियोजना कार्यालय थियो । ती हाकिम पप्लुका शौखिन
थिए । उनी र अरू केही वरिष्ठ इन्जिनियरहरूसँग बसेर मैले जीवनमा पहिलो पटक दश
रुपियाँ प्वाइन्ट पप्लु खेलेको थिएँ । पछिसम्म पनि काठमाडौंको आफ्नो निवासमा
साथीभाइ र वहालवला इन्जिनियरहरूसँग बसेर उनी पप्लु जमाउँथे । अवकाशप्राप्त जीवन
भने उनको पदमा आसीन भएजस्तो रसिलो भएन ।
‘आजभोलि त मकहाँ कोही पनि तास खेल्न आउँदैन ।’
यसरी उनले विरक्तिभाव पोखेको अझै पनि स्मरण
गर्नेहरू छन् । दौँतरीहरूको तुलनामा उनी चाँडै बिते । बित्नुभन्दा केही अघिसम्म
पनि परिवारमा केही असामान्य व्यवहार गर्थे रे ! उनलाई नजिकबाट चिन्नेहरू भन्छन्–
उनको
अवकाश जीवन सहज हुन सकेन ।
नेपाल प्रशासनिक प्रतिष्ठानले गरेको एक
अध्ययनमा पूर्वकर्मचारीहरूले अवकाश भएको औसत सात वर्षमा इहलिला समाप्त हुने उल्लेख
छ । यसको मतलब ७० काट्ने भाग्यमानीहरू कमै हुन्छन् । छोराछोरी विदेशमा हुनेहरूलाई
झन् सकस छ । नातिनातिनाको मुख हेर्दै समय बिताउने अवसर समेत छैन ।
सुभद्रा पन्तले राष्ट्रिय वाणिज्य बैङ्कबाट एक
वर्षअघि अवकाश प्राप्त गर्नुभएको रहेछ । केही दिनअघि योगसाधना केन्द्रमा वहाँसँग
भेट भयो । साइत पारेर वहाँलाई सोधेँ–
‘अर्थात हीराकै हारको के कुरा ! कानको मुन्द्री
भनौन, थुतेर लगिदियो । हजुर चैँ बुच्चे कान लिएर हिँड्ने बाध्यता छ होइन त ?’
‘हो त ।’
यसरी जागिरलाई नै सर्वस्व ठानेकाहरू जमात पनि
ठूलो छ । जागिरसँग आफ्नो दिनचर्याको नङ र मासुको सम्बन्ध बनाएकाहरूले जागिरको
अन्त्यलाई एक विकराल सङ्कटको रूपमा लिएका छन् । अझ त्यसमा अवकाशपश्चात के गर्ने
भन्ने प्रश्नको उत्तर नखोजेका, आफ्ना सन्तान विदेश पठाएका र कुनै इलम
नजानेका वा विशेष रुचि नपालेका अवकाशेहरूको सेवानिवृत्त भएपछिको जीवन सकसपूर्ण
भएको छ ।
गतसाल वेत्रावती किनारमा नब्बे काटेका एक वृद्ध
फेला परेका थिए । उनी हाम्रो साहित्यिक जमघटमा अतिथि भएर मिसिएका थिए । दौड
प्रतियोगिता गरेमा हामी जस्तालाई सहजै पछार्लान् जस्तो उनको जिउडाल थियो । यस्ता
फूर्तिला सज्जनलाई मैले सोधेँ–
‘तपाईंको दीर्घ जीवनको रहस्य के हो ?’
उनले दिएको जवाफमा अवकाशेहरूलाई काम लाग्ने गहन
सन्देश पाएको थिएँ ।
उनले भनेका थिए–
‘मलाई लाग्छ, म नपुगे कुनै
कार्यक्रम नै हुँदैन । यसैले यस्ता कार्यक्रम म छोड्दिनँ । कुनै बाधा अड्चन आए
मेरा अनुभव सुनाइदिन्छु । त्यसैका भरका कति गाँठा आफैँ फुक्छन् । सबैले मलाई मान
पनि दिएका छन् । मलाई लाग्छ मेरो बुढ्यौलीको खाँबो यही हो ।’
जापानका पूर्व राजदूत केदारभक्त माथेमाका
पिताश्रीसँग पनि नब्बेकै हाराहारीमा जापानमा भेट भएको थियो । वहाँको पनि दिनचर्या
र फूर्ति देखेर मैले माथेमा सरलाई सोधेको थिएँ–
‘के हो हजुरका पिताश्रीको यो तन्नेरीपनको गाँठी
कुरो ?’
‘विशेष रुचि ।’
नौ दशक काटेका बुढा त्यस बेलासम्म पनि घरका
नातिनातिना वा बुहारीहरूसँग फिल्म हेर्न जान्थे रे ! कोही खाली बसेको देख्यो कि
किताब पढ्न लगाएर सुन्थे रे ! अनि भित्री लुगाहरू सकेसम्म आफैँ धुन्थे रे !
यसरी बाँकी जीवनलाई हेर्ने आँखा नभएकाहरूका
लागि अवकाशे जीवन एक बोझ बन्न पुग्छ । यसकारण अवकाश हुनुपूर्व नै ‘मैले
जे पाएको छु, यथेष्ट छ । अब बाँकी जीवनमा यो गर्छु’ भन्ने
धारणा उमार्ने हो भने जो कोहीले पनि नवजीवन पाउनसक्छ । विगत जति लम्ब्यायो,आगतको आयु अझै घट्छ । यो सामान्य
सिद्धान्त हो । अन्य केही गर्न नसके आफ्नो जीवनको गाथा लेख्न त पक्कै सकिन्छ ।
किनभने कलमकापी लिएर लेख्न नजान्ने अहिलेको जमाना मा को पो छ र !
पूर्वी नेपालमा प्रचलित केही शब्दहरु मध्ये
एउटा हो-लोदर । यसपटकको पश्चिम नेपालको यात्रामा मलाई पनि नराम्रो सँग लोदर लाग्यो
। तर सृष्टिको सिद्धान्त छ- कुनै परिस्थिति जति तल खस्छ त्यसले उतिकै नापोमा
राम्रो हुने सँभावना पनि बोकेर ल्याउँछ । लिङ्गे पिङ् एकातिर जति मचिन्छ त्यतिकै
उचाईमा अर्को तिर पनि मचिन्छ । एउटै पहाडमा उकाली र ओराली उस्तै प्रकृतिका हुन्छन्
।
बुद्ध एयरको अपरान्हको अन्तिम उडानबाट म
नेपालगन्ज जान लागेको थिएँ । नेपालगन्जमा नेपाल र भारतका राप्ती नदी सरोकार
समूहलाई वातारणीय प्रभाव मूल्याङ्कन विषयमा तालिम दिनु थियो । बुद्ध एयरका हवाई
सुन्दरीहरुको कालो पहिरन मलाई कत्ति पनि जँचेन । बँगालादेशमा कालो बुर्का किन
लगाउँछन ? भन्ने विषयलाईजोडर लेखिएको
नियात्रा छापिएको पत्रिकाको अँक झोलामा थियो । मैले आफूलाई जानी जानी जहाजबाट
ओर्लने अन्तिम यात्रु बनाएँ । ‘नेपाल’ थरकी हवाई
सुन्दरीलाई त्यो पत्रिका दिँदै भने ।
“बँगालादेशमा कालो बुर्का किन लगाउँछन ? यसमा
लेखिएको छ । तँपाईहरुको पहिरन पनि कालो भएछ । पढेर व्यवस्थापनलाई केही सुझाव दिनु
होला ।”
उडानमा निति फाउन्डेशनका सौमित्रजी र म सँगै
थियौ । वास्तवमा नेपालगन्जमा आयोजना गरिएको कार्यशाला गोष्ठीमा मलाई पण्डितजी को
भूमिका दिनै उनै थिए । म यस्ता गोष्ठीलाई हलुका स्नायूमा भन्नु पर्दा “विकासे
रुद्रि” को सँज्ञा दिन्छु । गोष्ठी नेपालगन्जको अहिले नयाँ खोलिएको होटेलमा
आयोजना गरिएको रहेछ ।
म
तोकिएको कोठामा पुग्ना साथ रुद्रि वाचनको तयारीमा जुटेँ । मिनि बार खोलेर हेरेँ ।
क्यान वियर र जुस आदि देखिए । मलाई भने एकाएक वोतलको वियर पिउँदै स्लाईडमा काम
गर्ने सुर चढ्यो । रुम सर्भिसलाई फोन गरेर वियर मगाएँ । तर वियरको आगमनले एउटा
अचम्म लाग्ने परिस्थिति सिर्जना गर्यो । वियर ल्याउने केटाले त्यसको विल पनि साथमा
ल्यायो र नगद भुक्तानी गर्नु पर्ने नियम भएको जिकिर गर्यो । यो नौलो काईदा मलाई पचेन
। मैले वियर फिर्ता गरेँ । एकैछिनमा फोन आयो ।
“आपने दारु मगाया था ना । उसके लिए आपको क्यास
देना पडेगा ।”
“वो दारु नही था । वो तो वियर था ।”
मैले पनि भित्तैमा पुग्ने गरी जवाफ दिएँ ।
जवाफको पहिलो वाक्य हिन्दी बोलेर मैले भाषाको गियर परिवर्तन गरेर अँग्रेजी बोल्न
थालेँ । आफ्नै मुलुक भित्र भएको भाषिक गन्जागोल मलाई बिझाईरहेको थियो । मगाएको
सामान पनि फिर्ता गर्नु पर्ने स्थिति लोदर लाग्नुको पहिलो प्रमाण भयो ।
रुद्रिमा पनि भाषाको ठूलो समस्या सिर्जना भयो ।
भारतका सहभागी गोरखपुर तिरका बासिन्दा थिए । उनीहरु हिन्दिमा बोल्थे । नेपालीहरु
मध्ये केही हिन्दि नबुझ्ने थिए । अँग्रेजी दुवैलाई समस्या थियो । मलाई केही हिन्दी
आँउथ्यो । तर औपचारिक कार्यक्रममा मैले हिन्दिमा बोल्ने जमर्को नगर्ने मान्यता
राखेको थिएँ । अन्ततोगत्वा मैले कठिनाईका साथ तिनवटै भाषा प्रयोग गरि रुद्रिवाचनलाई
विट मारेँ । तर श्रोताका भावशून्य अनुहार, पूर्व वक्ताका रुखा प्रस्तुती,
सहभागीहरुको
असमान स्तर र निरस विषयवस्तु आदिको कारण रुद्रि वाचनमा पनि मजैले लोदर लाग्यो ।
मेरो अपरान्ह ५:१० को बुद्धकै उडानबाट
काठमाण्डौ फर्किने टिकट थियो । सौमित्रको अरु दुई दिन बस्नु पर्ने काम भएकोले यो
फिर्ती यात्रामा म नितान्त एक्लो थिएँ । विमानस्थलका लागि तिन बजे तिर प्रस्थान
गरेँ । होटल परिसर वाहिर के निस्कनु थियो, नेपालगन्जको गर्मीले हार्दिक स्वागत
गर्यो । सडकमा रिक्साको सवारीको नामोनिसाना थिएन । रिक्सालाई तिन पाङ्ग्रे
टेम्पोले विस्थापन गरेछ । तराईका शहरमा यो रिक्सा हटाउ अभियानले अभूतपूर्व सफलता
प्राप्त गरेको छ ।
राँझा विमानस्थलमा पुगेर सामान जाँच गराएँ ।
कार्यशालामा आफ्नो प्रस्तुतिमा रङ् भर्नका लागि मैले वातावरणीय प्रभाव मुल्याङ्कन
सम्बन्धित एक कार्टुन सामाग्री ल्याएको थिएँ । त्यसले गर्दा सूरक्षा जाँचको ट्याग
लगाउनु पर्ने मेरा दुई पोका भए । हातमा पछाडि भिर्ने झोला थियो । विमानस्थलमा
असामान्य चहल पहल देखियो । मनमा चिसो पस्यो । सामान जाँच गर्ने प्रहरी जवानहरुले
नै नचिताएको सूचना प्रवाह गरे ।
“पाँच बजेको उडान सात बजेलाई सरेको छ ।”
नभन्दै काउन्टरमा बुझ्दा पनि त्यहि जानकारी
पाईयो । मौसमको खराबीका कारण चौतर्फी उडानहरु प्रभावित भएका रहेछन । मेरो
निर्धारित उडान भन्दा अघि काठमाण्डौ जानु पर्ने जहाजकै अत्तो पत्तो रहेनछ ।
बुद्धकै कार्यालयमा सामान राखेर म हाते झोला च्यापेर टर्मिनल भवनवाट बाहिर
निस्किएँ । हिजो वियरपान गर्न नपाएको रनाहाको अवशेष बाँकि नै थियो । म विमानस्थल
परिसरको चमेना गृहमा पुगेँ । त्यहाँ पनि अत्यधिक भीड थियो । ग्राहक धेरै भएको
ठाउँमा सेवा निम्छरो हुन्छ । यसैले मैले टर्मिनल भवन वाहिर गएर केही खाजा पनि खाने
सोच बनाएँ ।
लगभग एक घण्टा बाहिर विताएर फर्किँदा चहल पहल
अझ बढेको पाएँ । बस्ने ठाउँ पनि मुश्किलले भेटियो । चिनजानका साथीभाई कोही
भेटिन्छन कि भनेर आँखा डुलाएँ । कोही पनि भेटिएन ।हाम्रो भन्दा अघिल्लो जहाज त आयो तर त्यो
विमानस्थलमा नै थला पर्यो भन्ने सुनियो । ‘जहाज पनि थला पर्दो रहेछ’ भन्ने
ज्ञान मलाई अस्ति बँगालदेश बाट फर्किदाँ भएको थियो ।
त्रिभुवन विमानस्थलमा जहाज अवतरण गर्दा बँगाली
हवाई सुन्दरीले उदघोषणमा भनेकी थिईन-
“विमान पूर्ण रुपले थला पर्छिन ।”
“जहाज पूर्ण रुपले नरोकिए सम्म मोवाईल फोनको
प्रयोग नगर्नु होला” भन्ने वाक्यलाई बँगालीमा भन्दा जहाज थला पर्ने
कुरो आएको थियो । यो अविष्मरणिय प्रसँग फेरी एक पटक ताजा भयो ।
साँझको छ बज्यो । न त थला परेको जहाजले उड्ने सुरसार गर्यो न त हाम्रो
जहाजको टुङ्गो लाग्यो । शौर्य एयरले उडान रद्द भएको घोषणा गर्यो । हामीलाई भने अझै
टुङ्गो नलागेको जानकारी दिईयो । अनिश्चयका बादलहरु बुर्कुसी मार्दै रमाउन थाले ।
उडान रद्द हुने लगभग पक्का भयो । तर मौषम विदले घनघोर बर्षा हुने भविष्यवाणी गरे
जस्तै बुद्ध एयरका सम्पर्क कर्मचारीले आज रद्द भएको उडान भोलि सुचारु हुन सक्ने
झिनो सँभावना मात्र व्यक्त गरे । मेरो मानसपटलमा भैपरिआएको परिस्थिति सँग जोडिएको
यक्ष प्रश्नको जन्म भै सकेको थियो ।
“अब के गर्ने ?
सौमित्रजीलाई फोन गरेर स्थिति अवगत गराएँ ।
उनले मेरो लागि लोदर लागेको होटेलमा कोठा आरक्षण गराईदिने बचन दिए । तर चिन्ता
बस्ने भन्दा पनि कहिले फर्कने भन्ने थियो । मेरो जस्तै अनिश्चयको आँधीले सातो
उडाएका यात्रुहरुको सक्रियता एकाएक बढ्यो । कसैले नयाँ जानकारी ल्याउला कि ?
वा
कुनै वैकल्पिक व्यवस्था होला कि ? भन्नेमा सबैले चासो राख्न थाले । म पनि
चनाखो भएँ । नेपालीहरुले त नेपालीको भाषा बुझ्दथे । के भई रहेको छ भन्ने सहजै
अनुमान गर्थे । तर नेपाली भाषा नबुझ्ने र एक्लै यात्रा गरिरहेका विदेशीहरुका लागि
भने यो सन्त्रासको छेउ टुप्पो थाहा हुने कुरो थिएन । मेरो मनमा यो भाव मडारिनुको
एक कारण थियो । मँगोलियन मूलका एक विदेशी मोवाईल चलाई रहेका थिए । म उनी छेउ गएँ ।
“एक्सक्युज मि, आर यु अल्सो
टेकिङ बुद्ध एयर ?”
उनले “हो” भने । जापानिज
रहेछन । मैले जापानी भाषामा अभिवादन गरेँ । उनलाई स्थितिको अवगत गराएँ । मैले
उनलाई दिएको जानकारी सुखद थिएन । तर त्यसले उनको अन्यौललाई चिरेको थियो । यसकारण
भनिएको छ-
“अनिश्चयको साँझमा रुमल्लिनु भन्दा अब झन
अन्धकार हुन्छ भन्ने थाहा पाउनु जाती हुन्छ” । किनभने यसो
हुँदा जडताको शिकार भएको व्यक्तिले अन्धकार सँग सामना गर्न आफूलाई तयार गर्ने अवसर
पाउँछ ।
उनले मेरो जानकारीको प्रशँशा गरे । तर त्यो
कष्टकर थियो । हरेक कालो बादलमा चाँदीको घेरा हुन्छ । यसले कुनै व्यक्ति वा
पद्धतिलाई जडताको शिकार हुन वाट बचाउँछ । हाम्रो स्थितिमा पनि त्यस्तै भयो ।
“हजुर नवराज सर हुनुहुन्छ, होईन
।” एक पुरुष पात्रले मलाई औल्याएर सोधे ।
“हो । तर, कसरी चिन्नु
हुन्छ मलाई ?” मेरा आश्चर्य र हर्षका ढोका एकाएक खुले ।
“मलाई रीता म्याडमले पढाउनु भएको हो । फेसबुकमा
देखेको हजुरको तस्विर सँझिए ।”
उनी सुवेन्द्र ताम्रकार रहेछन । पोखरामा
शिक्षकको काम गर्दा रहेछन । उनी मेरा लागि भुँईचालो गएर भत्केको घरले थिचिएको
व्यक्तिलाई उद्दार गर्न पुगेको उद्दारकर्मि जस्तै भएर उदाए । विलखबन्दमा एक अर्का
यात्रुसँग उनको केही क्षण अघि परिचय भएको रहेछ । उनी भने मोवाईलमा कसैसँग कुरा
गर्दै थिए । जीप भाडामा दिने साहुसँग कुरा गर्दै रहेछन । जीप पाईयो भने टिकट रद्द
गरेर त्यसमा जाने उनको सोच रहेछ । केही समय अघि एक आपसमा परिचय भएका दुई युवती पनि
त्यो अवसर छोप्ने दाउमा रहेछन । यसरी म सहित पाँच जनाको समूह भै सकेको कुरा
सुवेन्द्रले भने ।
मैले पनि त्यो विकल्पलाई नगुमाउने विचार गरेँ ।
आखिर एउटा स्कर्पियो पाईयो । मैले सुवेन्द्रसँग सल्लाह गरि जापानिजलाई पनि हामीले
सडकमार्गवाट जाने निधो गरेको र एउटा सिट खाली भएको व्यहोरा अवगत गराएँ । उ दँग
पर्यो र हाम्रो प्रस्तावलाई सहर्ष स्विकार गर्यो ।
जे होस,हवाई यात्रामा पूर्ण विराम लागे पनि
सतहमार्गको यात्राको तयारी भएको थियो । हामी ६ जनाको शशक्त दस्ताको निर्माण भएको
थियो । साढे सात बजे हामी राँझाबाट काठमाण्डौको लागि प्रस्थान गर्यौ । जिपमा दुई
युवतीहरु बीचको सीटमा बसे । मैले पछाडिको सिट रोजेँ । कारण थियो जापानिज मित्रलाई
साथ दिनु । सन्दिपजी, जसले गाडि मिलाउनु भएको थियो वहाँ अगाडि चालक
सँगैको सिटमा बस्नु भयो । सुविन्द्रजी युवतीहरुको देब्रेतिर झ्यालपट्टि बस्नु भयो
।
नेपालगन्जवाट कोहलपुर आउने सडक स्तरोन्नति
गरिएको छ । रात्रीको समय । स्तरीय सडक । सडकमा नगण्य सवारी साधन । तय गर्ने
निर्धारित दुरी ५०० किमि भन्दा पनि बढी । स्कर्पियो लाई बतासिनका लागि यि कारणहरु
काफि थिए । यात्राको शुरु भएर होला गफ गर्ने हाम्रो तीन समूह बन्यो । जापानिज
मित्र र म उस्का र मेरा पेशागत सँलग्नताका कुरा खोतल्न थाल्यौ । सुवेन्द्र र
सन्दिपजी सवारी साधनका कुरा गर्न थाले । दुई युवतिहरु आ-आफ्ना भूगोलका ।
केही बेर पछि मैले सबैको ध्यानाकर्षण गर्दै
भने-
“हाम्रा गफ गर्ने पार्टि धेरै भए । अब एउटै
पार्टि गर्ने । तर गफमा लैङ्गिक समानता हुनु पर्छ । सबै भन्दा पहिला चेलिहरुको
पुरा परिचयवाट शुरु गरे कसो होला ?”
मेरो प्रस्तावमा पुरुषवर्गले सहमति जनाएँ ।
चेलिहरु भने मौन बसे ।
“घर कहाँ पर्यो त नि चेलिहरुको ?”
“मेरो कपिलवस्तु हो ।”
झ्यालतिर बसेकी चेलीले रँगमन्च सम्भालिन ।
“अनि बीचमा बस्ने चेलीको ?”
“सोधेर फटाफट उत्तर दिनु भन्दा हजुरहरुले नै यस
बारेमा अनुमान गरे कसो होला ?”
उनको भने गफको रँगमन्चमा प्रवेश घुमाउरो थियो ।
हामीले धानखोलामा खाना खायौ । त्यतिन्जेलमा
हामी एक अर्कामा धेरै खुलिसकेका थियौ । घुमाउरो जवाफ दिने चेलीको नाम करिश्मा रहेछ
। उनी मध्य-पश्चिमान्चल क्षेत्रमा आधारशिविर बनाएको एक गैरसरकारी सँस्थाको
कार्यक्रम सँयोजक पदमा काम गर्दिरहिछन । एक दिने अभिमुखिकरण तालिमका लागि राजधानी
जाँदै रहिछन । सन्दिपजी भने पेशाले ईन्जिनियर हुनु हुँदो रहेछ । लगनखेलमा वहाँको
आफ्नै फर्म रहेछ । रँगमन्चमा सहज प्रवेश गर्ने चेलीको नाम शर्मिला रहेछ । उनी भने
काठमाण्डौमा वसेर परीक्षा दिने तयारी गर्दै रहिछन । उनको अमेरिका जाने निधो भै
सकेको रहेछ ।
“किन जान लाग्नु भो त नि अमेरिका ?”
“नर्स अमेरिका किन जान्छन ?सर पनि कुरा बुझ्न ट्युबलाईट जस्तै हो
कि क्या हो ?”
शर्मिलाले मलाई फूलको जवाफ काँडाले दिईन । सबै
गलल हाँसे । करिश्मा र शर्मिला दुवैले नर्सिङ्को स्नातक तहको अध्ययन सकेका रहेछन ।
नारायणघाट सम्मको यात्रामा कुनै लोदर लागेन ।
दु:ख सुख हामी निधायौ । रात्रीको दुई बजे तिर हामी फेरी गफको रँगमन्चमा प्रवेश
गर्यौ । स्कर्पियो सयौँ सवारी साधनको वीचमा चेपिएको थियो । नारायणघाट-मुग्लिन
खण्डको सडकको स्तरउन्नति गर्ने कार्य बर्षौ पुरानो भएको थियो । कतिपयले नेपालमा
किन पूर्वाधारका यस्ता काममा अनपेक्षित ढिलाई हुन्छ भन्ने विषयमा सिधा सपाट धारणा
बनाएका छन । निर्माण कार्यमा नगद फल्छ । काम जति लम्ब्यायो उती धेरै नगदको बाली
लाग्छ । लोडसेडिग हुँदा पनि यस्तै भन्थे । आखिर कुलमान भ्रमभन्जक भएर निस्किए ।
सडक निर्माणमा पनि कुलमान जस्ता भ्रमभन्जक अवश्य निस्केलान । म अरु चुपलागेका बेला
यस्तै कल्पना गर्दै थिएँ ।
“गाडीको सँकेत सुईले हुने सम्मको कम स्पिड
देखाउँछ ।” चालकले भने ।
हुन पनि हामी दश किमि प्रति घण्टाले पनि गुडेका
थिएनौ । यस हिसाबले मुग्लिन पुग्न मात्रै पाँच घण्टा लाग्ने भो । चालिस किलोमिटरको
दुरीलाई पाँच घण्टा लगाउनुको एउटा पिडा एकातिर थियो । अर्कातिर मेरो दाहिने घुँडो
एकाएक दु:ख्न थाल्यो । पछाडिको सिट अलि अप्ठ्यारो नै थियो । फेरी मेरा दाहिनेतिरका
झोला शत्रु वनेर उदाएकाथिए । घरि घरि
तिनले मलाई ठेलेर मेरो बसाई झन असहज बनाउँथे । मैले साथीहरुलाई मेरो पिडा भने ।
विहानको तिन बजे तिर हामीले सिट साट्यौ । म अगाडिको सिटमा गएँ । जापानिज मित्रलाई
चेलीहरु सँगैको सिट दियौँ । सुविन्द्रजि र सन्दिपजि पछाडिको सिटमा बस्नु भयो ।
सात बजे मुग्लिन पुगियो । सुविन्द्रजीको पोखरा
जानु पर्ने भएकाले वहाँ त्यहाँवाट छुट्टिनु भयो । मुग्लिनमा हामीले चिया नास्ता
सेवन गर्यौ । मैले हाम्रो यात्रा खर्चको फेरीहस्त निकालेँ । सुविन्द्रजीसँग नगद कम
रहेछ । जापानिज सँग डलर मात्र रहेछ । मुग्लिनको एटियमले काम गरेन । यी भने झिना
मसिना लोदर थिए । तिनलाई हामीले मिचमाच पार्यौ ।
मुग्लिनबाट प्रस्थान गर्दा मैले जापानिजलाई
अगाडिको सिटमा बस्न अनुरोध गरेँ । अब भने म चेलिहरुको साथमा थिएँ । मैले
देब्रेतिरको झ्यालकै सिट पाएँ। वीचमा
करिश्मा थिईन । तर उनको र मेरो बीचमा एउटा पछाडि भिर्ने झोला थियो । यात्राको
शुरुवात देखि नै त्यो झोलाले मेरो ध्यानाकर्षण गरेको थियो । सबैका झोला पछाडि
राख्ने वेलामा करिश्माको पनि पछाडि राख्न सोधिएको थियो ।
“मलाई सजिलो हुन्छ । म यसलाई साथ मै राख्छु ।”
उनी
रक्षात्मक भएकी थिईन । नचिनेका पुरुषहरुसँग गाडीमा सँगै बस्दा पक्कै पनि उनलाई असजिलो
भएको हुँदो हो । त्यो असजिलोको आयतन घटाउन उनले झोलाको सहारा लिएकी थिईन । कुरो
स्पष्ट थियो ।
“करिश्माजी, यो झोलाको बार
हाम्रो विदेशी मित्रलाई पनि लगाईयो ?” मैले उनको मन चोर्ने प्रयास गरेँ ।
“विदेशी त झन पराई भएन र ?”
“चिनजान भै सक्यो । उज्यालो पनि भयो । अब त यो
बार भत्काए हुँदैन ?”
हाम्रो गफको रगँमन्चमा झोलाको बारले विशिष्ट
स्थान पायो । सार्वजनिक स्थलमा सेक्सुवल ह्यारासमेन्ट अर्थात यौनजन्य उत्पिडनका
दृष्टान्तहरुको पनि वहस भयो ।
मलेखु र गल्छीको बीचतिर गाडि रोकियो ।
राजमार्गको देब्रेतिर शौचालय र एक किराना पसल थिए । पसलको नाम तिर मेरा दृष्टि परे
। सटरको शीरमा लेखिएको थियो: साला-भेना किराना पसल । पसलमा दुई जना अधवैसे
पुरुषहरु थिए ।
“यो पसलको नाम किन साली-भेना भएन ?” मैले
मुस्कुराउँदै सोधेँ ।
“शायद राम्रा साली नभएर होला ।” उत्तर
दिने व्यक्ति शायद मूल साहुजी थिएनन् ।
मैले उनीहरुलाई केही समय अघि सुनेको ‘राम्रा
साली’को चुटकिला सुनाएँ ।
असाध्यै राम्रा साली भएको एक भिनाजु ससुराली
पुगेछ । गफगाफको सिलसिलामा सासु र ससुरालाई भनेछ ।
“हजुरहरु सँग रसबरी र लालमोहन हुँदा हुँदै मलाई
कसार किन भिडाईदिएको ?”
त्यो क्षणसम्म आफ्नै काममा ध्यान दिएका साहुजी
एकाएक हाँसोको धर्को पुरै तन्काएर हाँसे । उनका साथी पनि बेजोडले नै हाँसे ।
हाँसो थामिए पछि साहुजीले भने-
“हो सर । त्यस्तै भएको हो । रसबरीको स्वाद लिने
अरु नै जौडै निस्किए ।”
रसबरी र कसारको यो चुटकिला मैले मेरा सहयात्रीलाई
पनि सुनाएँ । मलाई लाग्यो-लोदरलाई परास्त गर्ने यी अस्त्रहरु प्रस्फुटन हुन समूह
मिल्नु पर्दो रहेछ । परिस्थित अनुकुल हुनु पर्दो रहेछ । यस पटकको भैपरि आएको सडक
यात्रामा यस्तै भयो । तर लोदरको सिलसिला भने घर नपुगुन्जेल सम्म कायम नै रह्यो ।
जापानिज मित्रलाई त्रिपुरेश्वरमा छोडेर ठमेल
पुग्दा दिनको एघार बजेको थियो । ठमेलको मर्स्याङ्दी होटेलमा करिश्माको तालिम चलेको
रहेछ । उनलाई त्यहाँ पुर्याएर शर्मिलालाई छोड्न चावहिल गयौँ । चावहिलमा हामी
गणेशस्थान तिर लागेछौ । चावहिल चोक वाट गौशाला हुँदै आउने ध्येयले गाडि चक्रपथमा
के पुगेको थियो त्यहाँ त भीमकाय जाम देखियो । फेरी फर्केर गएकै बाटो आउदाँ लगभग
आधा घण्टा जाममा परियो । मलाई कोटेश्वरमा छोडेर सन्दिपजीको बालकुमारी जाने योजना
थियो । मेरो घरमा भने एक जना मित्र मलाई भेट्न आई सक्नु भएको थियो । यसैले
गृहमन्त्रिको फोन तारन्तार आईरहेको थियो । कोटेश्वर पुलिस चौकीवाट भित्र छिरेका
मात्र के थियौ-भेटियो मेलम्चिको खाडल । गाडि घुमाएर महादेवस्थान मार्ग हुँदै वीचको
सानो गल्ली भएर श्रीशान्ती मार्ग निस्कने प्रयास गरियो । सानो गल्लीमा फेरी विपरित
दिशाबाट आएको सानो मालबाहक टिपरले बाटो छेक्यो । टिपर चालकको अनुहारमा बेफ्वाँकको
आक्रोस देखियो । बाटो उस्कै बाउको सम्पति हो झै गरी आखाँ रातो पारेर हामीलाई हेर्न
थाल्यो । हामी सँयमित भयौँ । त्यसले फेरी२० मिनटको लोदर थप्यो । यसरी नेपालगन्ज-काठमाण्डौको ढोका देखि ढोका सम्मको
२२ घण्टे लोदर यात्राको समापन भयो ।मैले
घर पुगेर निचोड निकालेँ । मच्चिएको लिङ्गे पिङ्को जस्तै यो यात्राका चरम सीमाहरुको
खोजी गरेँ-एकातिर लोदर भेटियो भने अर्को तिर ‘भत्केको बार’
।
चैत्र ३०, २०७३
सिद्धार्थ होटेल, सुर्खेत
शुक्रवार, बैशाख
१, २०७४ मा मिर्मिरे अनलाईनमा प्रकाशित